Category: फिचर

  • शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

    शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द

    काठमाडौं । कोरोना जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।

    काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्।

    दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए।

    विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए। तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए।

    तर पनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए। गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए।

    कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपीठहरुमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ।

    अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन्। तर, अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सीमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन्।

  • सप्तरीमा तस्कर समुह र प्रहरीबीच झडप, दुई प्रहरी घाइते

    सप्तरीमा तस्कर समुह र प्रहरीबीच झडप, दुई प्रहरी घाइते

    राजविराज । सप्तरीमा प्रहरी र तस्कर समुहबीच झडप भएको छ । मंगलबार राती भएको झडपमा दुई प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । राजविराज नगरपालिका १३ मुसहर्नियाँममा प्रहरी र तस्कर समुहबीच झडप भएको हो ।

    यो क्षेत्रमा पटक पटक प्रहरीसँग तस्करको मुडभेट हुने गर्छ । भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर आएका उनीहरुलाई सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेका थिए । त्यसपछि उनीहरुले स्थानीयलाई गुहारेका थिए। स्थानीयको ६०\७० जनाको भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

    सो क्रममा प्रहरीले ४ राउण्ड हवाई फायर समेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीको संख्या कम भएको र गाँउलेले भालालगायत घरेलु हतियार बोकेर निस्किएपछि प्रहरीले हवाई फायर गरेको हो ।

    उक्त घटनामा दुई जना प्रहरी घाइते भएका हुन् । घटनापछि प्रहरीले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा थप फोर्स मगाएको थियो । कोरोना भाइरसको संक्रमणसँगै सीमाना नाका बन्द छन् । सोहीकारण भारतबाट चोरी शिकारी गरी सामान नेपाल भित्रने गरेको छ ।

  • नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

    नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

    काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा मतदान भएको थियो । यसमा नेपाल विजयी भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य छ ।

    परिषद्मा कुनै एक मुलुक लगातार दुई कार्यकाल सदस्य रहन सक्छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको त्यँहास्थित नेपाली नियोगले जनाएको छ । नेपाल सन् २०२३ सम्म नेपाल परिषद्को सदस्य बनेको हो । एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भए ।

  • संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु

    संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु

    काठमाडौं । संसदीय समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नभएसम्म कित्ताकाट खुला गर्ने सम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकालाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन नगर्दासम्म कित्ताकाटसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।

    समितिले मन्त्रालयको निर्णय कानून संगत नभएको निष्कर्ष समेत निकालेको छ । त्यसो त यो निर्णयविरुद्ध अदालतमा समेत रिट दायर भइ अन्तरिम आदेश आइसकेको छ । जसले गर्दा सरकारले तत्काल यसको कार्यान्वयन गर्न सक्दैन ।

    कित्ताकाटसम्बन्धी कुनै पनि द्विविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा गर्न नमिल्ने समिति सभापति रामनारायण बिडारीले बताएका छन् । उनले भूउपयोगसम्बन्धी ऐन बमोजिम बनाउनुपर्ने नियमावली नबनाइकन गरिने अन्य निर्देशन मापदण्डलगायत कार्यान्वयन हुन नसक्ने उल्लेख गरे ।

    सरकारले नियमावली नबनाइ कित्ताकाट गर्न सकिने निर्णय गरेसँगै यो निर्णय आलोचित बनेको छ । उक्त छलफलमा भुमिसुधार मन्त्री पद्मा अर्यालले जग्गा कारोबारका नाममा हुने आर्थिक चलखेल रोक्न कित्ताकाट फुकुवा गरिएको बताएकी छिन् ।

  • एन्टिजेन प्रयोगबाट कोरोना परीक्षणको अनुमति, पीसीआर र एन्टिजेनमा फरक के ?

    एन्टिजेन प्रयोगबाट कोरोना परीक्षणको अनुमति, पीसीआर र एन्टिजेनमा फरक के ?

    काठमाडौं । सरकारले परीक्षणको दायरालाई फराकिलो र सहज बनाउने उद्देश्यले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न सकिने स्वीकृति प्रदान गरेको जानकारी दिए।

    जसबाट धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो निर्क्योल गर्नुपर्ने अवस्था रहे तथा एकै स्थानमा धेरैजना बसोबास गर्ने स्थान जस्तै ब्यारेक, कारागार तथा वृद्धाश्रम लगायतका स्थानमा एन्टिजेनमा आधारित द्रुत परीक्षण किटबाट परीक्षण गर्न सकिने छ ।

    ‘ ‘एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण गर्न राष्ट्रिय प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरुले पाउनेछन्। स्वास्थ्य सेवा विभाग र एफडिएबाट स्वीकृति प्राप्त किट मात्रै प्रयोग गर्न पाइनेछ।’ गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजारमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए।

    के हो एन्टिजेन किट ?

    सामान्य भाषामा भन्नुपर्दा एन्टिजेन परीक्षणमा कोरोना भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ । यदि नमुनामा सो प्रोटिन रहेको देखिए त्यसको उपस्थितिले शरीरमा भाइरस सक्रिय रहेको जनाउँछ ।

    एन्टिजेनकै प्रतिक्रिया स्वरुप शरीरले एन्टिबडी उत्पादन गर्छ । यो परीक्षण गर्ने प्रक्रिया र पहिला प्रयोग गरिएको एन्टिबडी परीक्षणको प्रविधि लगभग उस्तै नै हो ।

    पीसीआर र एन्टीजेन परीक्षणमा के फरक छ ?

    हालसम्म विश्वभर पीसीआर (पोलिमेरास चेन रियाक्सन) परीक्षणलाई कोरोनाको भाइरस पत्ता लगाउने भरपर्दो विधिको रुपमा मानिन्छ।

    यो परीक्षणमा जेनेटिक मेटेरियललाई एक स्वाब स्याम्पलबाट अलग गरिन्छ। केमिकल्सको प्रयोगले प्रोटिन र फ्याटलाई जेनेटिक मेटेरियलबाट हटाएर नमूनालाई मलिकुलर ल्याबमा एनालाइसिसका लागि राखिन्छ। यसले स्वाबमा भाइरस छ कि छैन भन्ने प्रष्टसँग देखाउँछ।

    तर, पीसीआर परीक्षण कम्तिमा पनि ७ घण्टा समय लाग्छ। स्वाबको तामक्रमलाई निश्चित डिग्री तापक्रम तल र माथि गरेर भाइरस हेर्ने गरिन्छ। पीसीआरमा रिएजेन्टको पनि तापक्रम कामय राख्नुपर्ने हुन्छ भने स्वाब कलेक्सनको पनि तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

    एन्टीजेन परीक्षणले भने मानिसको शरीरमा भएको प्रोटिनलाई अलग गर्छ। यो परीक्षणमा ५ देखि १० मिनेटभित्र रिपोर्ट निकाल्न सकिन्छ।

    तर, यो टेष्टको विश्वसनीयता पीसीआर परीक्षणको जति भने हुँदैन। यसको एक्युरेन्सी रेट पीसीआरको भन्दा कम हुन्छ। यसको प्रयोग मुख्यरुपमा हट स्पट एरियामा छिटो धेरै जनाको रिपोर्टका लागि गर्ने गरिन्छ।

  • मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो, सचेतकमा कुर्मराज नियुक्त

    मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो, सचेतकमा कुर्मराज नियुक्त

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ । मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो ।

    तीन मन्त्री र एक सचेतक पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हट्न राजी भएको हो । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही बहुमतमा पुगेका छन्।

    मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।

    शाही कालिकोटबाट निर्वाचित हुन् । हिजोमात्रै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर उनको ठाउँमा सीता नेपालीलाई ल्याएका थिए ।

    नेपाली पहिले सचेतकको जिम्मेवारीमा थिईन् । पार्टी यद्यपि ओली पक्षीय प्रदेश सदस्यहरुले भने हस्ताक्षर फिर्ता लिन आनाकानी गरिरहेका छन् ।

    नेपाल पक्षीय प्रदेश सभा सदस्यहरु भने हस्ताक्षर फिर्ता लिन सहमत भइसकेको एक प्रदेश सदस्यले जानकारी दिए । नेपाल पक्षका सांसदहरु आज असन्तुष्ट पक्षले बोलाएको संसदीय दलको बैठकमा समेत सहभागी भएनन् ।

    शाहीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि अध्यक्ष पुष्पकमल दाहालले नेता माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

    दाहाललले नेता नेपालसँग भेटेर कुरा गरेपछि नेपालले नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यलाई समस्या समाधान गर्न सुर्खेत पठाएका थिए । नेता आचार्यले सुर्खेत पुगेर हस्ताक्षरकर्ता नेता नेपाल पक्षधरका सांसदहरूसँग छलफल गरेका थिए ।

  • नेपालमा विद्युत अझै सस्तो हुने

    नेपालमा विद्युत अझै सस्तो हुने

    काठमाडौं । नेपालमा विद्युतको भाउ घटाउने तयारी गरिएको छ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको बैठकमा उर्जा मन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्ले ऊर्जा, जलश्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेटेर चार सदस्यीय समिति गठन गरेको थियो ।

    समितिको पहिलो बैठकमा उर्जा मन्त्री पुनले विद्युत महसुल घटाउने तयारी भएको जानकारी गराएका छन् । मुलुक भित्रै विद्युतको पर्याप्त बजार रहेको भन्दै उनले त्यसका लागि विद्युतको अधिकत खपतमा प्रोत्साहन गर्ने नीति लिइएको उनले बताए ।

    कार्यदललाई जलविद्युत उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाह्य बजारको अवस्था, उपभोग तथा खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्युतको परिणाम, हाल उपलब्ध विद्युत र निर्माणाधीन विद्युत आयोजनाहरुको समेत समग्र अध्ययन विश्लेषण गरी नीतिगत सुझाव पेश गर्न जिम्मेवारी तोकिएको छ।

    बैठकमा तीन वटै मन्त्रालयका सचिव समेत सहभागी भएका छन् । बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई कार्यदलको सदस्यसचिव तोकेको छ। ऊर्जा क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य, अर्थ, उद्योग, बाणिज्य र आपूर्ति र वन तथा वातावरण मन्त्रालयका सचिवलाई कार्यदलको स्थायी आमन्त्रित सदस्यको जिम्मेवारी समेत तोकिएको छ ।

  • मोरङ र बुटवलमा कोरोनाबाट थप चार जनाको मृत्यु

    मोरङ र बुटवलमा कोरोनाबाट थप चार जनाको मृत्यु

    विराटनगर । मोरङ र रुपन्देही जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको निधन भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो ।

    मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको अस्पतालले जनाएको छ । उता, मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जनाको ज्यान गएको हो ।

    सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको ज्यान गएको छ । यता, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो । मृतकहरुमा दीर्घरोगको समस्या रहेको बताइएको छ ।

  • आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?

    आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?

    काठमाडौं । अन्तरिक्षसम्बन्धी अध्येताहरुका लागि आज विशेष दिन हो । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुनेछन् । यसले पृथ्वीबाट मंगलग्रह निकै ठूलो र चम्किलो समेत देखिनेछ । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा रहने अमेरिकी अन्तरीक्ष निकाय नासाले उल्लेख गरेको छ । यस्तो संयोग हरेक २६ महिनामा एक पटक जुट्ने गर्छ ।


    पृथ्वी र मंगल ग्रह नजिक हुँदा चन्द्रमाकै आधारमा यो ग्रह देखिने छैन । तर, राती आकासमा हेर्दा अन्य ताराहरुको तुलनामा मंगल ग्रह बली बढि चम्किलो र ठूलो देखिने छ । आज सुर्यास्त हुनासाथ आकाशमा मंगल ग्रह रातो र चम्किलो स्पष्टसँग देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

    वैज्ञानिकहरुले यो अवसरलाई अध्ययन अनुसन्धानका रुपमा पनि प्रयोग गर्छन । हरेक दुई वर्षमा मंगल ग्रह र पृथ्वी नजिक हुने मौका पारेरै मंगल ग्रहमा जाने मिसन यही मौका पारेर पठाउने गरिन्छ । यसबाट कम समयमै मंगलग्रहसम्म एक्सेस प्राप्त हुनेछ ।

  • उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, तीन जिल्लाका अधिकारी पर्ख र हेरको अवस्थामा

    उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, तीन जिल्लाका अधिकारी पर्ख र हेरको अवस्थामा

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको छ।

    आइतबार देशभर संक्रमितको संख्या २ हजार ७१ जना थपिदा राजधानी काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना संक्रमितहरुको संख्या थप भयो ।

    पछिल्लो तथ्याङ्क अनुसार उपत्यका का तीन जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ४० हजार नाघेको छ भने मृत्यु हुनेहरूको सङ्ख्या भने १ सय ९२ छ।

    नेपालीको प्रमुख चाड दशैँ मुखैमा रहेको र सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको अवस्थामा धेरैमा अबको सरकारी कदम के हुन्छ भन्ने विषयमा व्यापक कौतुहलता रहेको पाइन्छ।

    विशेषतः चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा अबको एक हप्तामा सुरु हुने पर्वअघि के हुन्छ भन्ने विषयमा चासो बढेको हो।

    तर बढ्दो सङ्क्रमण दर अनि दशैँको आगमन नजिकिएको अवस्थामा सरकार र स्थानीय निकायहरुले कोरोना संक्रमणका कस्ता उपाय अबलम्बन गर्दछन त ? यसको स्पष्ट जवाफ सरकार जिम्मेवार निकायहरूसँग छैन।

    अधिकारीहरूले काठमाडौंका हकमा चुनौती रहेको र आइसोलेशन वार्डहरू भरिँदै गएको अवस्थामा विशेष व्यवस्था गर्नुपर्ने तर त्यसको समाधान भने लकडाउन नै हो भन्ने नरहेको बताउने गरेका छन्।

    अब राष्ट्रव्यापी रूपमा लकडाउन नहुने पनि बताउने गरिएको छ।

    पर्ख र हेर

    उपत्यकाका तीन जिल्लाका अधिकारीहरू हाल पर्ख र हेरको अवस्थामा देखिन्छन्।

    साप्ताहिक रूपमा दुई देखि तीन दिनसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक भइरहेको भए पनि निषेधाज्ञाका विषयमा भने छलफल केन्द्रित नभएको उनीहरूले बताएका छन्।

    ‘हामीले पछिल्लो अवस्थाको समीक्षा गरिरहेका छौँ। विज्ञहरूसँग पनि परामर्श गरिरहेका छौँ, ‘जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभएको छ,’अत्यावश्यक सेवा मात्रै सञ्चालनमा राखेर अरू सेवा स्थगन गर्ने हो कि भन्ने सोचमा छौँ। लकडाउन नै गर्ने नगर्ने चाहिँ कुरा भएको छैन। क्षेत्रगत रूपमा लकडाउन पनि गर्न सकिन्छ। त्यो भनेको कुनै वडा वा टोलको अवस्था हेरेर प्रतिबन्धात्मक व्यवस्था कायम गर्ने हो।’

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले पनि सरोकारवालाहरूसँग परामर्श भइरहेको र अबको केही दिनमा यस विषयमा स्पष्ट पार्न सकिने अवस्था हुने जानकारी दिनुभएको छ।

    चाडबाडका बेला सुरक्षा लगायतका अन्य विभिन्न विषयबारे प्रबन्ध गर्नुपर्ने हुँदा आफूहरू निरन्तर सम्पर्कमा रहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो।

    ‘यस्तै अवस्था रहे हालको योजना समीक्षा गर्नुपर्ने हुन्छ। हामीले अवस्थाबारे जानकारी सम्बन्धित निकायहरूलाई गराइरहेका छौँ ‘, पाण्डेले भन्नुभयो।

    लकडाउन जस्तो संवेदनशील विषयमा निर्णय गर्नका लागि माथिल्ला निकायको निर्देशन आवश्यक हुने र हालसम्म त्यस विषयमा कुनै पनि किसिमको सङ्केत प्राप्त नभएको तीनै जिल्लाका प्रमुख अधिकारीहरूका प्रमुखहरूको आशय छ।

    आफै जागरूक हुन जरुरी

    सङ्क्रमणको दर बढ्ने क्रम तीव्र रहेको अवस्थामा सर्वसाधारणहरू आफै सचेत हुनुपर्ने स्थानीय प्रशासकहरु बताउँछन्।

    सरकारले जारी गरेका मापदण्ड पालना गरेर अघि बढ्नुपर्ने अवस्था झन् बढ्दै गएका बेला सर्वसाधारणहरूकै भूमिका प्रमुख हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो।

    तर के लकडाउन नै हालको समस्याको समाधान हो त ?

    नेपालमा सङ्क्रमितहरूको सङ्ख्या १ लाख नाघिसकेको अवस्थामा जनस्वास्थ्यविद् डा. शरद वन्त भन्नुहुन्छ, ‘ जनघनत्व बढी भएका स्थानमा सङ्क्रमण बढेको छ र त्यस्ता ठाउँमा सङ्क्रमण समुदायमा स्थापित भइसकेको पाइन्छ। हामीसँग रोक्न सक्ने विधिको प्रभावकारी कार्यान्वयन भयो भने यही अवस्थामा सङ्क्रमण कम गराउन सक्छौँ। लकडाउन मात्रैले सङ्क्रमण रोकिने भए अहिले यसरी फैलिने नै थिएन। यसको सबैभन्दा बढी जिम्मेवार नागरिकहरूमा छ।’

    के भन्छ स्वास्थ्य मन्त्रालय ?

    स्वास्थ्य मन्त्रालयले पछिल्लो अवस्थाको मध्यनजर गर्दै उपत्यकाका तीन जिल्लामा लकडाउन गर्नुपर्ने ुब्रिफिङ गरेकोु भन्ने किसिमका विवरणहरू सार्वजनिक भए पनि प्रवक्ता जागेश्वर गौतमले भने त्यसको खण्डन गर्नुभएको छ।

    अस्पतालहरूमा शय्या व्यवस्थापन गर्न सकिने अवस्था भएसम्म लकडाउन गर्नु नपर्ने आफूहरूको धारणा रहेको अधिकारीहरू बताउँछन्।

    त्यसको अर्थ कोभिड-१९ का बिरामीहरूले हाल अस्पतालमा सहज रूपमा बेड पाउन सकिने अवस्था छ त ?

    बीबीसीको प्रश्नमा गौतम भन्नुहुन्छ, ‘अब हामी आइसोलेशन सेन्टरलाई पनि अस्पताल बेडका रूपमा परिणत गर्ने छौँ। अक्सीजन दिन सकिने पूर्वाधार भएका आइसोलेशन सेन्टरलाई त्यही अनुसार प्रयोगमा ल्याउने छौ।’

    चाडबाडको मुखमा कस्तो व्यवस्था हुनुपर्छ भन्ने विषयमा मन्त्रालयले यो हप्ता भित्रै निर्क्योल गर्ने उहाँले जानकारी दिनुभयो। (बीबीसी)

  • १० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत

    १० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत

    काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन निर्देशन दिएको छ ।

    आयोगले प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो ।

    ‘विद्युत खरिद विक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६’ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ ।

    आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवद्र्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले जानकारी दिए ।

    यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।

    कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवद्र्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युत्ले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

  • अब अत्यावश्यक अवस्थामा बाहेक अस्पतालले अपरेशन नगर्ने

    अब अत्यावश्यक अवस्थामा बाहेक अस्पतालले अपरेशन नगर्ने

    काठमाडौं । अब काठमार्डां उपत्यकामा अत्यावश्यक बिरामी बाहेक अन्य बिरामीको अपरेशन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेर अस्पताल तथा बेडको अभाव भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

    यो निर्णयपछि अब काठमाडौंमा बेडको चरम अभाव कम हुने अपेक्षा गरिएको छ । आईसीयू र भेन्टिलेटर वेडको अभावमा अहिले बिरामीले अकालमा ज्यान गुमाउने अवस्था आएको छ । देशभर औसतः ४ हजार दैनिक संक्रमित देखिएका छन् । उपत्यकामा २५ सय भन्दा माथि छन् । ६० प्रतिशत संक्रमित काठमाडौंमा देखिएपछि काठमाडौंमा चरम स्वास्थ्य संकट देखा परेको हो ।

  • काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड हस्पिटल बने

    काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड हस्पिटल बने

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । अब सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

    अब सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । यसले बिरामीको उपचारमा समस्या आइरहेको छ । मन्त्रालयले अब कोरोना भाइरसका संक्रमित बिरामी होटेलमा समेत रहन सक्ने गरी वैधानिक निर्णय गरेको छ ।

    यसअघि होटेलहरुमा आपसी समझदारीमा संक्रमित रहने गरेको भएपनि बैधानिकता थिएन । अब अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न सक्नेछन् । यसबाट बिरामीले अझ बढी केयर पाउने छन् । यस्ता होटेलमा भने संक्रमितबाहेक अन्य पाहुना भने राख्न सकिने छैन ।

  • अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई

    अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई

    काठमाडौं । दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो ।

    लिलामीले विभिन्न उत्पादन, कला, वस्तुहरु लगायत बेच्न सघाउँछ । यसमा विल्सनले किन खरिदकर्ताहरु आफूले खरिद गर्न लागेको वस्तुको आफूले सोचेको वास्तविक मूल्य भन्दा कम कबोल्छन् भन्ने सन्र्दभमा सिद्धान्त विकास गरेका थिए । मिलग्रोमले भने लिलामीमा भाग लिने खरिदकर्ताहरुको व्यक्तिगत मूल्य एकआपसमा कसरी फरक हुन्छ भन्नेमा अध्ययन गरेर सिद्धान्त विकास गरेका थिए ।

    यी सिद्धान्तहरुले लिलामीमा नयाँ ‘र्फम्याट’ विकास गरेको बताइएको छ ।यी दुई प्राज्ञहरुले आधारभूत सिद्धान्तबाट शुरु गरेको र त्यसबाट प्राप्त नतिजालाई व्यवहारिक प्रयोगमा ल्याएको पुरस्कार कमिटिका अध्यक्ष पिटर फेड्रिक्सनले जारी गरेको प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

    मिलग्रोम सन् १९४८ मा अमेरिकाको डेट्रोइटमा जन्मेका थिए । उनले अमेरिकाको स्टान्फर्ड विश्वविद्यालयबाट सन् १९७९ मा विद्यावारिधी गरेका थिए । यसैगरी विल्सन सन् १९३७ मा स्वीट्जरल्यान्डको जेनेभामा जन्मिएका थिए । उनले आफ्नो अध्ययन अमेरिकाको हार्वड विश्वविद्यालयबाट गरेका हुन् ।

  • नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

    नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ५३० जनाको पीसीआर परीक्षणमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्।

  • ‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

    ‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

    काठमाडौं । कोरोना भाइरस फोन, पैसा र स्टेनलेस स्टिल जस्ता केही वस्तुको सतहमा २८ दिनसम्म जीवित रहने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको नेश्नल साइन्स एजेन्सीले गरेको अध्ययनमा कोरोना भाइरस पैसा, फोनको स्क्रिनमा २८ दिनसम्म जीवित रहने देखाएको हो।

    पैसा र फोनको स्क्रिनमा २८ दिनसम्म भाइरस जीवित रहने अध्ययनको निष्कर्षमा केही जानकारले भने आशंका व्यक्त गरेका छन्। सतहमा रहेको भाइरसबाट मानिस संक्रमित हुने सम्भावना कति रहन्छ भन्ने उनीहरुको शंका छ। हालसम्म कोरोना संक्रमण मानिसको खोकी, हाँच्छ्यु वा कुरा गर्दा निस्कने थुकको कण र हावाका माध्यमबाट सर्ने देखिएको छ।

    अनुसन्धानमा के भनिएको छ?

    यो अध्ययन भन्दा पहिला ल्याब्रोटरीमा गरिएको परीक्षणबाट पत्ता लागेको थियो की बैंक नोट र काँचमा कोरोना भाइरस दुई वा तीन दिनसम्म जीवित रहन सक्छ। जबकी प्लास्टिक र स्टेनलेस स्टीलको सतहमा यो ६ दिनसम्म जीवित रहन सक्छ। यद्यपी ल्याब्रोटरीको परीक्षण र अष्ट्रेलियन एजेन्सीको अध्यनको नतिजामा फरक देखिएको छ।

    अष्ट्रेलियन एजेन्सी सीएसआईआरओको एक अध्ययनका अनुसार कोरोना निकै कडा भाइरसको हो। कोरोना भाइरस २० डिग्री सेल्सियसको तापक्रम र अध्यारोमा मोबाइलको काँच, प्लास्टिक र बैंक नोट जस्ता सतहमा २८ दिनसम्म जीवित रहन सक्छ।

    कोरोना भाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लूको भाइरस १७ दिनसम्म जीवित रहन सक्छ। भाइरोलोजी जर्नलमा प्रकाशित रिसर्चमा पत्ता लगेको छ की चिसो तापमानको तुलनामा गर्मी तापमानमा यो भाइरस कम समयसम्म जीवित हुन्छ। ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा भाइरस २४ घण्टा भित्र संक्रामक रहँदैन।

    के यसमा असहमति छन्?

    कार्डिफ यूनिभर्सिटीका कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्रोफेसर रोन एक्सेलले यो अध्ययनको अलोचना गरेका छन्। उनले भनेका छन् की भाइरस २८ दिनसम्म जीवित रहन सक्ने भन्ने कुराले मानिसमा अनावश्यक डर पैदा भइरहेको छ। उनले भनेका छन्, ‘यो भाइरस खोकी र हाँच्छ्युँबाट निस्कने थुक र फोहोर हातका माध्यमबाट फैलन्छ। तर यो अध्ययनमा भाइरस फैलने कारणकारुपमा मानिसको खकारको प्रयोग गरिएको छैन। मानिसको खकारमा ठूलो संख्यामा ह्वाइट सेल्स हुन्छन्। जसले भाइरसलाई नष्ट गर्नका लागि इन्जाइम बनाउँछन्। खकारमा भाइरससँग लड्नका लागि एन्टिबडी र केमिकलसमेत हुन सक्छन्। मलाई लाग्छ संक्रमक भाइरस सतहमा झरेको खकारमा केही घण्टासम्म जिवित रहन सक्छ। न की केही दिनसम्म।’

    यही वर्षको जुलाईमा रटगर्स युनिभर्सिटीमा माइक्रो बायोलोजीका प्रोफेसर इमानुएल गोल्डम्यानको एक पेपर लेन्सेट पत्रिकामा छापिएको थियो। यसमा भनिएको थियो की सतहमा परेका थुकका कणबाट संक्रमण सर्ने खतरा निकै कम छ। गत साता क्यालिफोर्निया युनिभर्सिटीका मेडिसिन प्रोफेसर मोनिका गान्धीले भनेकी थिइन् ‘कोरोना भाइरस सतहका माध्यमबाट फैलँदैन।’

    हात र टचस्क्रिनलाई सफा राख्ने बानि बसालौं

    कोरोना भाइरस मुख्यरुपमा हावाको माध्यमबाट फैलन्छ। अहिलेसम्म भएका अनुसन्धानबाट पत्ता लागेको छ की यो भाइरस हावामा रहेका कणमा तीन घण्टासम्म जीवित रहन सक्छ। अहिलेसम्म पैसा र टचस्क्रिनबाट कुन रुपमा भाइरस फैलन सक्छ भन्ने पूर्ण जानकारी आइसकेको छैन।

    नयाँ अध्ययनमा काँच, कागज, प्लास्टिक र स्टिल पर भाइरस कति समयसम्म जीवित रहन सक्छ भनेर पत्ता लगाइएको छ। यी सबै सतहमा २० डिग्री सेल्सियसमा २८ दिनपछि समेत भाइरस रहेको देखिएको छ। अध्यनको नतिजाले भन्छ की संक्रमणको खतरा कम गर्नका लागि नियमित हात धुने र टचस्क्रिनलाई धुने र स्यानिटाइज गर्न आवश्यक छ। साथै संक्रमणको खतरा काम गर्नका लागि हातले अनुहार छुन हुँदैन।

    किन महत्वपूर्ण छ यो रिसर्च?

    सीएरआईआरओका मुख्य कार्यकारी अधिकारी डा. लेरी मार्शल भन्छन्, ‘कुनै पनि सतहमा यो भाइरस कति समयसम्म टिकिरहन सक्छ। यो जानकारीले हामीलाई संक्रमणको जोखिम कम गर्न र मानिसहरुलाई बचाउन सहयोग गर्छ।’ अध्ययनमा सहभागी सदस्यहरुका अनुसार स्टेनलेस स्टिलमा कम तापक्रममा भाइरस धेरै समयसम्म जीवित रहनुले यो कुराको पुष्टि हुन्छ की कोरोना महामारीको गम्भीर असर मिट प्रोसेसिङ केन्द्र र कोल्ड स्टोरेजको आसपास किन देखिरहेको छ। विश्वभर मिट प्रोसेसिङ केन्द्र र कोल्ड सेन्टरमा काम गर्ने हजारौं मानिस कोरोना संक्रमित भएका छन्। यो भन्दा पहिला भाइरस संक्रमणको अधिकांश घटना बन्द कोठामा काम गर्ने र चिसो वातावरणमा काम गर्नेमा बढी देखिएको थियो। ठूलो आवाज आउने मेसिनको आसपास काम गर्दा ठूलो स्वरमा बोल्दासमेत भाइरस फैलिएको बताइएको थियो।

    बीबीसीबाट

  • झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

    झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

    काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । सोमबार नेप्से १.७४ अंकले बढेर १५७८. १ विन्दुमा कायम भएको छ ।

    यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

    आज सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ७९.१२ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८.३४ अंकले घटेको छ ।

    आज लगानीकर्ता विकास बैंकको सेयरमा झुम्मिएका छन् । यसअघि हाइड्रोपावरको सेयरमा झुम्मिएका लगानीकर्ता त्यसमा प्रफिट बुक गरेपछि आज विकास बैंकतर्फ डाइभर्ट भएका हुन् ।

    आज लगानीकर्ताको रोजाइमा मुक्तिनाथ विकास बैंक परेको छ । यसको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण भ्याली हाइड्रोपावर र कामना सेवा विकास बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज मुक्तिनाथ विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • चक्रपथ बिस्तार आयोजनाले गति पाउने

    चक्रपथ बिस्तार आयोजनाले गति पाउने

    काठमाडौं । सरकारले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको कामलाई गति दिने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले आयोजना गरेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । चक्रथप विस्तार अन्तर्गत अब कलंकी चावहिल खण्डमा काम भइरहेको छ ।

    मन्त्रालयका अनुसार आयोजनामा पर्ने पोल स्थानान्तरण एक महिना भित्र स्थानान्तरण गरिने छ । तीन महिना भित्र ‘हाई भोल्टेज टावर’ स्थानान्तरण भइसक्ने भएका छन् । सडक सीमामा रहेका जग्गाको मूल्यांकन गर्ने कामलाई गति दिइने भएको छ ।

    चक्रथप विस्तार अन्तर्गत कलंकी-चावहिल खण्डमा काम भइरहेको छ ।

    ३ महिना भित्र अनिवार्य रुपमा कारखाना चोक र सानोभर्याङ स्थित हाई भोल्टेज टावर स्थानान्तरण गरिसक्ने निर्णय आइतबार भएको हो । उता, स्वयम्भूस्थित चैत्य कार्तिक मसान्त भित्र हटाउन काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने र सडक विभाग, काठमाडौँ चक्रपथ सुधार योजनाबाट कार्तिक मसान्त भित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने कार्य सम्पन्न हुने गरी निर्णय गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कार्तिक मसान्तभित्र सम्पन्न गरिसक्ने भएको छ । यो आयोजनालाई चीनले सहयोग गरेको छ ।

  • काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

    काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

    काठमाडौं । नजिकिएको दशैंसँगै स्वाभाविक रुपमा बजारमा भिडभाड बढ्छ । सरकारले सोही प्रयोजनका लागि बजार पसल खुला राख्न दिने निर्णय समेत गरेको छ । तर, त्यस क्रममा अनिवार्य सामाजिक दूरी कायम गर्न भनिएको छ । अनिवार्य साबुन पानीले हात धुनुपर्ने, माक्स लगाउनु पर्ने र भिडभाड नगर्न समेत आग्रह गरेको छ ।

    तर, बजारमा त्यसको पालना छैन । मानिसले माक्स चिउडोमा पहिरिएर हिँडेका छन् । सार्वजनिक यातायातले एक लहरमा एक एक जना मात्र यात्रु राख्न पाउँछन् । तर, काठमाडौंका सार्वजनिक बसमा साविकमा जस्तै यात्रु यात्रा गरिरहेका छन् । उनीहरुमाथि कसैले नियमत गरेको छैन । तर, गाडीले भाडा भने ५० प्रतिशत थपेर लिने गरेका छन् । यसले व्यवसायीलाई दोहोरो फाइदा भएको छ । किनमेल निष्फिक्री भइरहेको छ ।

    यसले नागरिक स्तरबाट कोरोना महामारी फैलाउन ठूलो भूमिका खेलेको छ । रेष्टुरेन्टमा चिया र चुरोटमा रमाउने युवाको जमात समेत घटेको छैन । अर्को तर्फ कोरोना फैलन नदिने मूख्य जिम्मेवारी निर्वाह गर्नपर्ने निकाय स्थानीय सरकार र महानगरपालिकाहरु हुन् ।

    काठमाडौं महानगरपालिकाका मेयर र जनप्रतिनिधी निदाएका छन् । उनी कहाँ छन् के गर्दै छन् पत्ता छैन । यसको आक्रोस केन्द्र सरकारले समेत व्यक्त गरिसकेको छ

    काठमाडौं महानगरपालिकाका मेयर र जनप्रतिनिधी निदाएका छन् । उनी कहाँ छन् के गर्दै छन् पत्ता छैन । यसको आक्रोस केन्द्र सरकारले समेत व्यक्त गरिसकेको छ ।

    अन्य जिल्लाले जसरी कोरोना रोकिरहेका छन्, त्यसअनुसार काठमाडौं असफल भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाई छ । बढ्दो संक्रमणका बीच काठमाडौंमा आइसोलेसन वार्डको अभाव भएको छ । अस्पतालमा बेड भरिएका छन् ।

    यो अवस्थामा क्वारेन्टिन व्यवस्थापन गर्ने र संक्रमितलाई घरभन्दा छुट्टै राख्ने व्यवस्था काठमाडौंमा छैन । संक्रमित जब घरमै बसे, त्यसपछि संक्रमणको दर उच्च भएको हो । किनकी काठमाडौंमा एउटै डेरामा धेरैजना बस्नु पर्छ । यो अवस्थामा आइसोलेसनको सम्भावना छैन ।

  • बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

    बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्यूत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध कांग्रेसले निसाना बनाएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. भट्टराईलाई चुनौती समेत दिएको छ ।

    सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा मुछिदिएपछि कांग्रेस आक्रोसित बनेको हो ।

    गोरखामा बाबुराम भट्टराई कांग्रेसकै भोटको बलमा विजयी भएका हुन् । अहिले सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा मुछिदिएपछि कांग्रेस आक्रासित बनेको हो । डा. भट्टराईले भने गोरखौ पुगेर उक्त अभिव्यक्ति दिएका थिए । त्यसका लागि आफुसँग पर्याप्त प्रमाण समेत रहेको उनको भनाई थियो । कांग्रेसले भने विज्ञप्ती निकालेरै भट्टराईको अभिव्यक्तिको खण्डन गरेको छ । नेकपा भने यसमा मौन छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन् । आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै उनले त्यसको हेक्का राख्न आग्रह गरेका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल आफैंले निर्माण गर्ने भन्दै राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    समितिले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पुूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमुना बुढिगण्डकी बन्ने निष्कर्ष निकालेको थियो । कांग्रेसले उक्त प्रतिवेदन कहाँ थन्काइएको भन्दै प्रश्न समेत गरेको छ ।

    विदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पने तयारी भित्रको नियत के हो भन्दै उसले डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढिगण्डकीका लागि उठाइंदै आएको अर्बौंको रकमको स्थिति समेत सार्वजनिक गर्न माग गरेको छ ।

  • राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

    राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

    काठमाडौं । सरकारले कोरोना महामारी शुरु भएसँगै लगाएको महंगो विदेशी मदिरा र महंगा गाडीको आयात खुला गरेको छ । यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो ।

    असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। उता, ५० हजार डलर बढी मूल्यको सवारी साधन आयात माथिको प्रतिवन्ध समेत फुकुवा भएको छ ।

    सरकारले विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको छ । ५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाई परेकाले फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको भनाई छ ।

    तर, दशैंको समयमा हुने कारोबारबाट सरकारलाई बढी राजस्व प्राप्त हुने आश सरकारको छ । किनकी अहिले राजस्व संकलन प्रभावित भएसँगै सरकारलाई खर्च धान्न मुस्किल परिरहेको छ । यसका लागि सरकारले दशैं अगाडी नै आन्तरिक ऋण उठाएको छ ।

  • फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

    फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

    काठमाडौं । सरकारले बढ्दो संक्रमणका बीच काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी नियन्त्रणमा काठमाडौं उपत्यका पछि परेको भन्दै यसको संकेत गरेका छन् ।

    सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा हरेकजसो राजनीतिक तथा सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको स्पष्ट पारे ।

    यसबाट सरकार काठमाडौंमा कुनै न कुनै प्रकारको कडाई गर्ने मुडमा रहेको स्पष्ट भएको छ । उनले खासगरी तराईका जिल्लामा कोरोना नियन्त्रणमा प्राप्त सफलताबाट काठमाडौंले पनि सिक्न सक्ने भन्दै ‘काठमाडौं अहिले भने आफै पछि परेको बताए ।

    ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने चेतावनी समेत दिए ।

    धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने जिल्ला वा राजधानी शहर भएको भन्दै उनले महामारीमा काठमाडौं चुकिरहेको उल्लेख गरे । काठमाडौंका जनता, जनप्रतिनिधि र संघ संस्थाले कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँबाट सिक्नु पर्ने समेत उल्लेख गरे ।

    ती जिल्लामा कोरोना फैलिएपछि तत्काल लकडाउन गरी व्यापक परीक्षण बढाइएको थियो । यसको फलस्वरुप तराईमा अब कोरोनाको डरलाग्दो रुप मथ्थर भइसकेको छ । ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने चेतावनी समेत दिए ।

    अहिले ६० प्रतिशत संक्रमित काठमाडौंमा छन् । सोहीकारण गम्भीर प्रकृतिका बिरामीको संख्या समेत निरन्तर बढिरहेको छ । कोरोना महामारीलाई हल्का ढंगले लिन नहुने उनले उल्लेख गरे । उनले चाडबाड मनाउन घर जाने प्रवृत्तिका सम्बन्धमा समेत नेपालीलाई सचेत गराएका छन् । गाउँघरमा जेष्ठ नागरिक रहने र यात्राका क्रममा उहाँहरुमा जोखिम बढ्ने भन्दै उनले जेष्ठ नागरिकको सुरक्षालाई ध्यान दिन समेत आह्वान गरेका छन् ।

  • दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

    दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

    काठमाडौं । राष्ट्र बैंकले कोरोना संक्रमण जोखिमका कारण यस वर्ष दशैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ ।

    केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ ।

    प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा उल्लेख गरेको छ ।

    यस बैंकमा र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडा दसैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,”राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

    हिन्दू नेपालीहरुको महत्वपूर्ण चाड दशैंको विशेषता भनेकै राम्रो लगाउने र मिठो खाने, ठूलावडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोटको कुरा हुन आउँछ ।

    अघिल्ला वर्षहरुका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने गरेको थियो । गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नयाँ नोट सटही गरेको थियो ।

  • कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, यसरी जुट्यो बहुमत

    कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, यसरी जुट्यो बहुमत

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिविरुद्ध आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    नेकपाबाट कर्णाली प्रदेशको प्रदेशसभामा ३३ जना सांसद छन् । त्यो मध्येबाट १८ जनाले नेकपाको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शाहीविरुद्ध हस्ताक्षर गर्नेमा पुर्व माओवादीका ३ जना सांसद समेत रहेका छन् ।

    नेकपा संसदिय दलका प्रमुख सचेतक गुलावजंग शाह समेत शाहीलाई दल नेताबाट हटाउने पक्षमा छन् । उनकै सरकारमा मन्त्री रहेका नन्दसिंह वुढा र दल रावल समेत मुख्यमन्त्रीलाई दल नेताबाट हटाउनुपर्ने पक्षमा रहेको स्रोतको दावी छ ।

    मुख्यमन्त्री शाहीको कार्यशैली खराव रहेको र सरकारको काम समेत प्रभावकारी नभएको आरोप लाग्दै आएको थियो । उनि मुख्यमन्त्रीभन्दा पनि आफ्नो व्यापार व्यवसायमा बढी सक्रिय रहेको नेकपाका नेताहरु नै बताउंछन् । शाहीमाथी सुर्खेतभन्दा बढी काठमाण्डौंमा वस्ने गरेको र प्रदेशको पार्टीलाई समेत व्यवस्था गर्ने गरेको आरोप छ ।

    उनलाई सुरुदेखी नै मुख्यमन्त्री वन्न नदिन पुर्व एमालेका नेता यमलाल कंडेल सक्रिय थिए । केन्द्रका नेताहरुले पुर्व माओवादी र पुर्व एमालेले पाउने मुख्यमन्त्रीहरुको भागवण्डा गरेपछि पनि कर्णालीमा सरकार गठन गर्न अफ्ठेरो परेको थियो ।

    कंडेल पुर्व एमालेको तर्फबाट प्रदेश प्रमुख नेता थिए । उनले नै माधव नेपाल पक्षका प्रकाश ज्वालालाई अर्थमन्त्री र अन्य ३ जना आफु पक्षिय नेताहरुलाई मन्त्रीमा सिफारीस गरेका थिए । हाल शाहीको मन्त्रीमण्डलमा ६ जना मन्त्री छन् । कंडेल निकट मन्त्री खड्क खत्रीलाई मुद्दा लागेपछि उक्त मन्त्रालय पनि शाहीले ओगटेका छन् ।

    नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रदेशको भौतिक मन्त्रालयमा चन्द्रबहादुर शाहीलाई मन्त्री बनाउन गरेको आग्रह पनि मुख्यमन्त्री शाहीले अस्विकार गरेका थिए । मन्त्री बनाउन सिफारीस ष्रेका शाही वरिष्ठ नेता नेपाल निकट नेता हुन् ।


    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेता कंडेलले शाहीलाई दल नेताबाट हटाउन गरेको प्रयास माधव नेपाल पक्षिय सांसदहरुको सहयोगले असफल हुंदै आएको थियो । तर, नेपाल पक्षलाई पनि शाहीले मिलाउन नसकेपछि उनिविरुद्ध सजिलै बहुमत जुटेको हो । पुर्व माओवादीभित्र समेत शाहीविरुद्ध चर्को असन्तुष्टि थियो ।

    पुर्व माओवादीबाट प्रतिनिधीत्व गर्ने उपसभामुख पुष्पा घर्ती सांसदहरु ठम्मर विष्ट र धर्मराज रेग्मीले समेत शाही विरुद्ध हस्ताक्षर गरेका छन् । प्रदेशका गृहमन्त्री नरेन्द्र भण्डारीसंग समेत मुख्यमन्त्री शाहीको सुमधुर सम्बन्ध छैन् ।

    ‘मुख्यमन्त्रीको कार्यशैली नै यसको लागी मुख्य जिम्मेवार हो, उनले पार्टीलाई मिलाउन नसक्नु र कार्यसम्पादन राम्रो नगर्दाको परिणामले आज यस्तो अवस्था आएको हो ।

    मुख्यमन्त्री शाहीलाई दल नेताबाट हटाएर कंडेललाई दल नेता बनाउने तयारी छ । अहिले मुख्यमन्त्री शाही रप्रमुख सचेतक गुलावजंग शाहबीच छलफल भइरहेको छ ।

    उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउंदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन्।

  • नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

    नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४२७ जनाको पीसीआर परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १५५२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ। देशभर ३१ हजार ३ सय १५ जना सक्रिय संक्रमित छन्।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्युको नयाँ रेकर्ड, एकै दिन २२ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट मृत्युको नयाँ रेकर्ड, एकै दिन २२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १७ पुरुषको मृत्यु भएको हो । यो एकै दिन हालसम्मकै धेरै मृत्यु हो।

    काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।

    सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७, नुवाकोटमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    यस्तै, चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

  • सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको अनशन

    सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको अनशन


    काठमाडौं । सरकारसँग ८ बुँदे सहमति भएसँगै डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच केसीले अनसन तोडेका हुन्।

    बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए। अनशसन तोडे लगत्तै डाक्टर केसीलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ ।

    बुधबार सरकार र डा.केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

    सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

    त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।

    अनसन तोडिएसँगै आवासीय चिकित्सकले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ । हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका चिकित्सकले आन्दोलन फिर्ताको घोषणा गरेको हो ।

  • कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु

    कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु

    बुटवल । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही जिल्लामा थप चार जनाको ज्यान गएको छ । यसमध्ये बुटवल उपमहानगरपालिकामा नीन जनाको ज्यान गएको छ । एकजना तिलोत्तमा नगरपालिकाका छन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा ज्यान गएको प्रहरीे जानकारी दिएको छ ।

    बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल अथवा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजाने गरी रिफर भएको थियो । तर, उनको बाटोमै ज्यान गएको हो । उता, बुटवल ११ की ६१ वर्षीया महिलाको समेत उपचारका क्रममा कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको अस्पतालले जनाएको छ ।

    उनको समेत आइतबार बिहान २ बजे ज्यान गएको हो उनीहरु दुबै जना दीर्घरोगबाट पिडित थिए । यता, बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।उनी शनिबार अस्पताल भर्ना भएका थिए ।

    असोज २२ मा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो । यता, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।

    यो अस्पतालमा निधन हुने पहिलो बिरामी हुन् । उनलाई समेत बुटवलमा आईसीयू बेड नभएपछि दाङ लगिएको थियो ।

  • यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने

    यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने

    काठमाडौं । दशैंको फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा भब्य कार्यक्रम आयोजना गरी र्ष बढाई गर्छ । त्यसक्रममा देशभर शक्तिपिठहरुमा पूजाआजा समेत हुने गर्छ । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो वर्षको दशैं साविकमा जस्तै हुने छैन । त्यसकारण फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ ।

    कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले नेपालको राष्ट्रिय समाचार समितिलाई जानकारी गराएका छन् । यो वर्ष फूलपाती आगामी कात्तिक ७ मा परेको छ ।

    स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको पौडेलले बताएका छन् ।

    यसअघि बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४\८४ जनाको गुल्मले बढाइँ गर्थ्यो । यस पटक सामाजिक दूरी कायम गरी २५\२५ जनामा सीमित गरिएको छ । बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने परम्परा छ ।

    विगतमा जस्तै लामो कार्यक्रम आयोजना हुने छैन । छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गर्ने छ । विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा पाहुना बोलाएर टुडिखेलमा कार्यक्रम हुन्थ्यो । यो वर्ष सेनासहित मात्र १ सय जना पाहुना सहभागी हुनेछन् ।

  • बाँकेमा थप दुईको कोरोनाबाट मृत्यु

    बाँकेमा थप दुईको कोरोनाबाट मृत्यु

    नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका दुईजना कोरोना संक्रमितको ज्यान गएको हो ।

    नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको गत राती निधन भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो ।

    त्यसलगत्तै महिलाको समेत ज्यान गएको हो । पुरुष श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि अस्पताल भर्ना भएका थिए । अब बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । अन्य जिल्लाबाट उपचारका लागि आई ज्यान गुमाउने भने १२ जना छन् ।