Category: फिचर

  • शनिबार २२२५ जनामा देखियो कोरोना

    शनिबार २२२५ जनामा देखियो कोरोना

    काठमाडौं । नेपालमा शनिबार थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपालमा अब कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । यस अवधिमा संक्रमण निको भई २८४६ जना घर फर्किएका छन् । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ ।

    रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२,२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९,१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३,१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुुषामा १० जनामा संक्रमण देखिएको छ ।

    पर्वत र डोटीमा ९,९ जना, अर्घाखाँची, डडेल्धुरा र बझाङमा ८,८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७,७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालीकोटमा ५,५ जना, काभ्रे, प्युठान र बैतडीमा ४,४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३,३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    इलाम, संखुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २,२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १,१ जनामा संक्रमण पुष्टि भएको छ ।

  • दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

    दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

    काठमाडौं । दशैंको घटस्थापनायताको ८ दिनमा सवा दुई लाख मात्र मानिसले काठमाडौं छाडेका छन् । यो संख्या अघिल्ला दशैंहरुको तुलनामा निकै कम हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ दिनमा कुल २ लाख १८ हजार ९ सय १६ जना मानिसले काठमाडौं छाडेका छन् । दशैँ सुरु भएयता भने पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस बाहिरिएका छन् ।

    महाशाखाको तथ्यांक अनुसार २४ घण्टामा ४८ हजार ९८ जना मानिस काठमाडौंबाट बाहिरिएका छन् । शुक्रबार भने ३३ हजार ४ सय ४६ जना मानिस बाहिरिएका थिए । घटस्थापनाको दिन २१ जहार ६ सय २ जना मात्र बाहिरिएका थिए ।

    त्यसपछि क्रमशः २१ हजार ४ सय ७८, २३ हजार ३ सय ९२, २३ हजार ३ सय ८३, २२ हजार २ सय ९९ र २५ हजार २ सय १८ जना मानिस बाहिरिएका थिए । अघिल्लो वर्षहरुमा भने दशैं लागेपछि दैनिक एक लाख हाराहारी मानिस बाहिरिने गरेका थिए ।

  • चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री

    चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री

    काठमाडौं । अमेरिकी विदेशीमन्त्री माइकल आर पोम्पेओले विभिन्न चार वटा एसिया मुलुकको भ्रमणका लागि निस्कने भएका छन् । पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसिया भ्रमणमा निस्कन लागेको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ ।

    मन्त्रालयले एक सूचना जारी गर्दै यसको पुष्टी गरेको हो । उनको भ्रमण आगामी आइतबारबाट शुरु हुनेछ । अमेरिकामा अहिले चुनावको पूर्वसन्ध्या चलिरहेको छ । वर्तमान सरकारको सन्देश लिएर उनी एसिया भ्रमणमा निस्कन लागेको बताइएको छ ।

    यसले चुनावी माहोललाई अन्तर्राष्ट्रिय गति दिने अपेक्षा अमेरिकी सरकारको रहेको छ । सर्वप्रथम भारतमा ओर्लने उनले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँबाट उनी श्रीलंका र माल्दिभ्स पुग्नेछन् ।

    त्यसपछि इन्डोनेसियाको राजधानी जाकार्ता पुग्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका दौरान चीन र नेपाल सम्बन्धमा भने दुई विदेशमन्त्री बीच छलफल हुनेछ ।

  • रुसी खोपको परीक्षण भारतमा समेत हुने

    रुसी खोपको परीक्षण भारतमा समेत हुने

    नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

    खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको उनीहरुको भनाई छ । यो परीक्षण दोस्रो चरणको हो । स्पुतनिक भी नामको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र तेस्रो चरणको परीक्षण समेत भारतमा हुने अधिकारीहरुको भनाई छ ।

    भारतमा डा रेड्डीज ल्याबरेटोरिजले खोपको परीक्षण गर्न पाउने गरी अनुमति पाएको छ । यो भारतको ठूलो औषधी उत्पादक कम्पनी हो । भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने छ । तेस्रो चरणको परीक्षण चाँही एक हजार ४ सय जनामा गरिने भएको छ ।

  • पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी

    पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिमा कोरोना पुष्टी

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले सामाजिक संजालबाट यसको पुष्टी गरेका हुन् । उनका अनुसार कात्तिक ७ मा गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

    उनले भनेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

    संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेको उनले जनाएका छन् । भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

  • नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

    नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

    काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले आफु नेपालका हिमाल र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित बनेको बताएका छन् । मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । राजकुमार खलिफाले हिमालबारे थाहा नभएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमा नै बसौं बसौं लागेको प्रतिक्रिया दिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

    राजकुमारसहित १८ जनाको टोली १ महिना ७ दिन नेपाल बसेको थियो । आफ्नो अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । राजकुमार खलिफाले भने, ‘नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।’

    नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।

    मोहम्मद हामद मोहम्मद अल खलिफा

    उक्त अवसरमा मन्त्री भट्टराईले नेपालको हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार गरेको भन्दै राजकुमार खलिफाप्रति आभार व्यक्त गरे । उनले बहराइनसँगको हवाइ उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गरेका छन् ।

    नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए ।

    उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो ।

    आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९०० किलो फोहोरमैला सफा गरेको थियो । लोबुचोको सबै फोहोर सफाइ गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

  • देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

    देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन, सजग भएर दशैं मनाऔं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको त्रासका बीच सचेत र सजग भएर दशैं मनाउन देशबासीलाई आह्वान गरेका छन् । शुक्रबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध भने सरकारले गर्ने दाबी गरे ।

    कोरोना भाइरसका कारण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको उनको भनाई छ । मान्यजनसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई ख्याल गर्न उनले सजग गराएका छन् ।

    प्रधानमन्त्रीले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भन्दै सचेत गराएका छन् । अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको भन्दै उनले महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकारले सम्पूर्ण प्रयास केन्द्रित गरेको बताए ।

    सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा कोरोनाको निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहने समेत उनले बताए ।

  • नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी

    नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, २४ घण्टामा ४४९९ जनामा पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या डेढ लाख नाघेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ हजार ८६३ नमुना परीक्षण गरिएको थियो । जसमा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको छ । नेपालमा अब संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

    नेपालमा मृत्यु हुनेको संख्या भने ८२९ जनाको मृत्यु भएको छ । १ लाख ५ हजार ४८८ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । अझै ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

    कुन जिल्लामा कति थपिए ?

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्न । जसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् । मोरङका २२३ जना, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८, २८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६\ १६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४\ १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०, १० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७, ७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६\ ६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५\५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४\ ४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३\३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २\२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १\ १ जनामा संक्रमण देखिएको छ ।

  • प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…

    प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान देशवासीलाई दिएको दशैंको शुभकामना विवादमा परेको छ । उनले शुभकामना सन्देशमा राखेको नेपालको निशान छापमा पुरानो नक्सा प्रयोग भएको छ । यसमा भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्‍पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ नक्सा भने छैन ।

    सरकारले निकै तामझामसहित ल्याएको नयाँ नक्सालाई प्रधानमन्त्री स्वयमःले गरेको उपेक्षालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीलाई अहिले सामाजिक संजालबाट निकै प्रश्नहरु आइरहेका छन् ।

    संसदबाट संविधान संशोधन गरेर नयाँ नक्सा निशान छापमा परिसकेको अवस्थामा प्रधानमन्त्री स्वयले यसको उपेक्षा गरेका हुन् । यसबाट प्रधानमन्त्रीको राष्ट्रवाद केवल देखावटी मात्र भएको भन्दै आलोचना भइरहेको छ । यसअघि यसै साता प्रधानमन्त्रीले भारतीय गुप्तचर रअका प्रमुखलाई भेटेपछि उनको चर्को आलोचना भइरहेको छ ।

  • नेपालमा शुरु भयो क्लिनफिड, करीव २ सय विदेशी च्यानलको प्रसारण रोकिँदै

    नेपालमा शुरु भयो क्लिनफिड, करीव २ सय विदेशी च्यानलको प्रसारण रोकिँदै

    काठमाडौं । नेपालमा आज राती १२ बजेबाट क्लिनफिड लागु हुँदैछ । यसले करीव २ सय विदेशी च्यानलको प्रसारण बन्द हुनेछ । खासगरी विज्ञापनरहित प्रसारणमा जानु पर्ने प्रावधानका कारण च्यानलहरुले अब विज्ञापनसहित प्रसारण गर्न पाउने छैनन् । यसले ठूलो संख्यामा विदेशी च्यानलको प्रसारण नेपालमा हुने छैन ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनुपर्ने प्रावधान लागु गरेको जानकारी गराएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ अनुसार विदेशी टेलिभिजन च्यानल कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनुपर्ने प्रावधान लागु गरेको जानकारी गराएको छ ।


    यसअघि सरकारलाई भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ लगायतले क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेका थिए । सरकार भने प्रावधान कार्यान्वयन गरेरै छाड्ने निष्कर्षमा पुगेको हो ।


    कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द हुनेछन् । यसअघि २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्षको अवधि दिएको हो ।

    नेपाल केबल टेलिभिजन महासंघका अनुसार शुक्रबार रातीबाट करीव तीन दर्जन विदेशी च्यानल मात्र नेपालमा देखिनेछन् । अन्य बन्द हुनेछन् । किनकी उनीहरुले क्लिन फिड लागु गर्ने गरी तयारी गरेका छैनन् ।

  • विराटनगरमा कोरोनाबाट दुई जनाको मृत्यु

    विराटनगरमा कोरोनाबाट दुई जनाको मृत्यु

    विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । कलेजका अनुसार शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।

    पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी थप समस्या थियो । उनी ५ कात्तिकमा अस्पताल भर्ना भएका थिए । मृतक महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी हुन् । उनी श्वासप्रश्वास र मधुमेह सम्बन्धी समस्यासँग लडिरहेकी थिइन् ।

  • औपचारिक रुपमै जोगियो कर्णालीका मूख्यमन्त्रीको पद

    औपचारिक रुपमै जोगियो कर्णालीका मूख्यमन्त्रीको पद

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । यससँगै उनको पद समेत अब औपचारिक रुपमा जोगिएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको छ ।

    कर्णाली प्रदेशको विवाद मिलाउन केन्द्रमा दुई अध्यक्षसम्मले निकै कसरत गर्नु परेको थियो । यहाँ प्रचण्ड र माधव नेपाल समुह मिलेर केपी ओली पक्षलाई एक्लाएसँगै राजनीतिक अस्थिरता निम्तनबाट जोगिएको हो । यहाँ प्रधानमन्त्री निकट पूर्व एमाले समुहले मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो ।


    नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

  • नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १ लाख नाघ्यो

    नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १ लाख नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार २५५ पीसीआर परीक्षणमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ। जना पुगेको छ। पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    योसँगै हालसम्म १ लाख २ हजार ८२० जना निको भएका छन्। देशभर ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्।

  • रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट विवादित

    रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट विवादित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई दिएको स्वागत विवादित बनेको छ । प्रधानमन्त्रीलाई भेट्न रअ प्रमुख सामन्तकुमार गोयल बुधबार अपरान्ह काठमाडौं आएका थिए । भारतीय एयरफोर्सको विशेष जहाजबाट काठमाडौं आएका उनी बिहीबार दिल्ली फर्किए ।

    प्रधानमन्त्रीले कुटनीतिक मर्यादा बिर्सेर रअका प्रमुखसँग करीव २ घण्टा भेटवार्ता गरेका थिए । यस कदमको नेपाल भित्र तिब्र आलोचना भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचको भेटलाई आपत्तिजनकको संज्ञा दिएका छन् ।

    उनले ट्विटरमार्फत नेता नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाको विचार नीति र घोषणाको विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको उल्लेख गरेका छन् । सामाजिक संजालमा यो भेटवार्तालाई लिएर प्रधानमन्त्रीको राष्ट्रवादबारे खरो टिप्पणी भइरहेको छ ।

  • सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु

    सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)का विभिन्न तहका परीक्षा ८ मंसिरबाट सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका परीक्षा पुनः सुर गर्न लागिएको सीटीइभिटीले जनाएको छ ।

    डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने निर्णय भएको छ । सिटीईभिटीका अनुसार परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन हुनेछ ।

    नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालनको तयारी गरिएको छ । कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था हुने भएको छ ।


    परीक्षा जुध्न गएका परीक्षार्थीहरूलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सक्ने संस्थाले जनाएको छ । सिटीईभिटीले डिप्लोमा÷प्रमाणपत्र तहको एक विषय मौका परीक्षाको मिति २२ कात्तिकलाई तोकेको छ ।

  • रअ प्रमुख गोयलले भेटे प्रधानमन्त्रीलाई

    रअ प्रमुख गोयलले भेटे प्रधानमन्त्रीलाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको पुष्टी गरेका हुन् ।

    यसअघि बुधबार सुटुक्क काठमाडौं आएका रअका प्रमुखसँगको भेटवार्ता गुपचुप राखिएको थियो । प्रधानमन्त्रीलाई भेट गरी उनी बिहीबार दिल्ली फर्किसकेका छन् । उनी विशेष विमान चढेर प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका हुन् । रअ प्रमुखले बुधबार बेलुका प्रधानमन्त्रीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेको थापाले पुष्टी गरेका छन् ।

    भेटका क्रममा गोलयले नेपाल र भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।

    उता, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र कांग्रेस सभापति शेर बहादुर देउवाले भने रअका प्रमुखसँग भेट नभएको स्पष्ट पारेका छन् । यसअघि नेपालका केही संचारमाध्यमले नेताहरुलाई समेत भेटेको बारे समाचार लेखेका थिए ।

    तीन वटै नेताको सचिवालयले यो खबरको खण्डन गरेका छन् । नेपाल र भारतको सम्बन्ध चिसिएको समयमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

    एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

    काठमाडौं । चीनमा फुड पोइजनिंगका कारण ९ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फ्रिजमा राखिराखेको करिब १ वर्ष पुरानो नुडल्स खाँदा ९ जनाको ज्यान गएको हो ।

    स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

    उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए । त्यसपछि १० अक्टोबरसम्म ७ जनालाई मृत घोषित गरिसकिएको थियो । आठौं व्यक्तिको मृत्यु २ दिनपछि १२ अक्टोबरमा भएको थियो ।

    अन्तिम बिरामीको मृत्यु यही सोमबार भयो । पीडित परिवार उत्तर पूर्वी चीनको हेलोंगजिआन प्रान्तमा बस्थे । घटनापछि चीनको स्वास्थ्य आयोगले राष्ट्रिय चेतावनी जारी गर्दै नागरिकहरुलाई फर्मेन्टेड पिठोबाट बनेको खाना नखान सल्लाह दिएको छ ।

  • अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु

    अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।

    केही सातायता संक्रमण दरमा केही कमी आएपनि पछिल्ला दुईतीन दिन यता संक्रमण पुनः बढ्न थालेको हो।

    वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार सात सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा त्यहाँ संक्रमणबाट एक हजार दुई सय १५ जनाले ज्यान गुमाएका छन्।

    मृत्यु र संक्रमणको यो संख्या पछिल्लो २४ घण्टामा विश्वका अन्य सबै देशको भन्दा धेरै हो।
    बुधबार अमेरिकामा दुई महिनापछि ठूलो संख्यामा कोरोनाका नयाँ बिरामी अस्पताल भर्ना भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

    बुधबार एकैदिन त्यहाँ ४० हजारको संख्यामा कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन्। यो अगस्ट यताकै सबैभन्दा धेरै हो।

    अमेरिकाका मध्यमश्चिमका राज्यहरूमा संक्रमण बढी देखिन थालेको छ। आयोवा, कन्सास, मिसौरी, नेब्रास्का, उत्तर डकोटा, दक्षिण डकोटा, विस्कॉन्सिन लगायतका राज्यमा संक्रमण दर उच्च रहेको रोयटर्सले जनाएको छ।

    गएको शुक्रबार अमेरिकामा ६९ हजार ४ सय ७८ जना नयाँ संक्रमित फेला परेका थिए।

    पछिल्लो २४ घण्टामा विश्वरभर संक्रमणबाट ६ हजार आठ सय ३९ जनाले ज्यान गुमाएका छन्। अमेरिकापछि भारतमा धेरैको मृत्यु भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा सात सय तीन जनाले ज्यान गुमाएका छन् भने ब्राजिलमा पाँच सय ७१ जनाले ज्यान गुमाएका छन्।

    पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३६ हजार एक सय ३० जनामा संक्रमण पुष्टि भएको छ। छिमेकी देश भारतमा हिजो एकै दिन ५६ हजारमा संक्रमण देखिएको छ।

    कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमा ११ लाख ३६ हजार तीन सय ३५ जनाले ज्यान गुमाएका छन् भने चार करोड १४ लाख ८४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

  • नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज

    नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको २० हजार ११८ पीसीआर परीक्षणमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

    योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

  • रानीपोखरीको उद्घाटन, तिहारमा सर्वसाधारणलाई खुला

    रानीपोखरीको उद्घाटन, तिहारमा सर्वसाधारणलाई खुला

    काठमाडौं । ऐतिहासिक सम्पदा रानीपोखरीको उद्घाटन भएको छ । पुननिर्माणको काम पुरा भएसँगै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको उद्घाटन भएको हो । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माणको काम भने २०७२ माघ २ बाट शुरु भएको थियो । त्यसबेला राष्ट्रपतिबाटै यसको शिलान्यास भएको थियो ।

    रानीपोखरी र त्यहाँस्थित बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भइसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार रानीपोखरी सर्वसाधारणको दर्शनका लागि भने तिहारमा भाइटिकाका दिन खुला हुने छ । काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणले अहिले गति लिएको छ ।

  • विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

    विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

    काठमाडौं । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ ।

    आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ ।

    सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दोस्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा महाशक्तीको दर्जा दिइएको छ । तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ ।

    प्रमुख शक्तिराष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अंक पाउन यो पटक भारत चुकेको छ । यो बर्ष करिब २ अंकको कमीले गर्दा भारत शक्ति राष्ट्रको दर्जा हासिल गर्न बन्चित भएको हो ।

    गतबर्ष अर्थात सन् २०१९ को सुचीमा भारत पनि विश्वको प्रमुख शक्ति राष्ट्रको दर्जामा थियो । यो बर्ष कोरोना भाइरस प्रकोपका कारण भारत यो सुचिबाट बाहिरिएको छ ।

    सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार सन् २०१९ मा भारतको पावर स्कोर ४१ थियो जुन यो बर्ष घटेर ३९ दशमलव ७ मा झरेको छ ।

    यो सुचीमा जुन देशको स्कोर ४० वा त्योभन्दा बढी हुन्छ त्यसलाई प्रमुख शक्ति मानिन्छ । अघिल्लो वर्ष शक्तिशाली बनेको छिमेकी यस पटक घटुवामा परेको हो।

    रिपोर्टमा इन्डो९प्यासिफिकका सबै देशमध्ये भारत कोरोना महामारीका कारण विकास क्षमता गुमाएको देश भनिएको छ। भारत एसियाको दोस्रो ठूलो जनसंख्या भएको देश हो।

    भारत र अर्को हाम्रो छिमेकी चीनमा पनि जनसंख्या विशाल छ। यी दुई देशको आवादी लगभग बराबर छ। अनुमान के गरिँदै छ भने, केही वर्षमा भारतले जनसंख्यामा चीनलाई उछिन्ने छ।

    केही बर्षपछि सम्भवत भारत जनसंख्याको मामिलामा चीनलाई पछाडी पार्नेछ । तर भारतिय समाजमा कोरोना भाइरसको मारले दुई देश बीच शक्तीको असमानता बढाएको छ ।

    हालको रुझान अनुसार यो दशकको अन्तसम्ममा भारत र चीनको कुल आर्थिक उत्पादन ४० प्रतिशत मात्र रहने पनि प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा यो पुर्वानुमान ५० प्रतिशत हुने आशा गरिएको थियो ।

    सन् २०३० सम्म भारतिय अर्थब्यवस्था मुल रुपमा महामारी पुर्वको पुर्वानुमानको तुलनामा १३ प्रतिशत कम रहनेछ । यसले भारतियहरुको खरिद गर्ने क्षमतामा पनि नकारात्मक असर पर्नेछ । यसले भविष्यको संसाधानको मापनमा भारतको स्कोर करिब पाँच अंकले गिरावत आएको लबी इन्स्टिच्युटले उल्लेख गरेको छ ।

    अष्ट्रेलियाको लवी इन्स्टिच्युट हरेक बर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क, राजनितिक तथा कुटनिटिक प्रभाव र सांस्कृतिक प्रभावको अध्ययन गरि यो सुची जारी गर्छ ।

    यो बर्षको सुचीमा सबैभन्दा तिब्र रुपमा अगाडी बढ्ने देशमा भियतनाम पहिलो स्थानमा पर्छ । दोस्रो स्थानमा अष्ट्रेलिया र तेस्रो स्थानमा ताइवान रहेको छ । एजेन्सी

  • कैलालीमा दुई प्रहरीको विभत्स हत्या गर्ने ७ तस्कर सार्वजनिक

    कैलालीमा दुई प्रहरीको विभत्स हत्या गर्ने ७ तस्कर सार्वजनिक

    कैलाली । कैलालीमा ड्युटीमा खटिएकै समयमा कब्जामा लिएर दुई प्रहरी कर्मचारीको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको अभियोगमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको छ ।

    उनीहरु नेपाल र भारतको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । प्रहरीले कुल १३ जनालाई पक्राउ गरेको थियो । असई विकले केराउको तस्करीमा अवरोध गरेपछि सामुहिक आक्रमण गरी प्रहरीको हत्या गरिएको उनीहरुले स्वीकार गरेका छन् ।

    शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चढेर नियमित गस्तीमा निस्किएका असई विक र जवान साउद माथि तस्कर समूहले आक्रमण गरेको थियो । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो । साउदको शव मंगलबार मात्र भेटिएको हो । तस्करहरुले घरेलु हतियारको प्रयोग गरी प्रहरीको हत्या गरेका छन् ।

  • दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने

    दशैं विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने

    काठमाडौं । दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएको छ । नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने जानाकारी गराएको हो ।

    यसअघि दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेको थियो ।

    बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

    वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।

  • कोरोनाको उपचार नि:शुल्क पाउने व्यक्तिहरूको वर्गीकरण, कसले पाउँछन् निःशुल्क ?

    कोरोनाको उपचार नि:शुल्क पाउने व्यक्तिहरूको वर्गीकरण, कसले पाउँछन् निःशुल्क ?

    काठमाडौं । सरकारले देशभर वर्ग र समूह निर्धारण गरेर मात्रै निःशुल्क कोरोना भाइरसको परीक्षण र उपचार गर्न निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ग र समुदाय लक्षित गर्दै कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको हो ।

    मन्त्रालयले निस्शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको छ। आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको निःशुल्क उपचार गर्ने भनिएको छ।

    अब कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको सरकारले निःशुल्क उपचार गर्नेछ।

    अब, सरकारले तय गरेको नयाँ मापदण्ड भित्र नपर्नेले कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउ ने छैनन् ।

    मन्त्रिपरिषद्को यही असोज १९ गतेको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिकले कोरोनाको निःशुल्क परीक्षण तथा उपचार सरकारबाट पाउनेछन्।

    अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी र सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निःशुल्क कोरोना जाँच र उपचार हुनेछ। त्यस्ता व्यक्तिहरूले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ।

    तर उल्लेखित आधार पुगेका संक्रमितहरूको विमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौति गरिने उल्लेख छ।

  • लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत

    लुम्बिनी प्रदेशमा लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत

    काठमाडौं, ४ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका कोरोना संक्रमितको नि:शुल्क उपचार यथावत रहेको जानकारी दिएका छन् ।

    सरकारले आर्थिकस्तर ठिक भएकालाई सशुल्क उपचार गराउने निर्णय लिएको बेला लुम्बिनी प्रदेशले भने लक्षण देखिएका विरामीलाई नि:शुल्क उपचार जारी राख्ने भएको हो ।

    मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट प्रदेशमा रहेका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिए ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

    सरकारले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै निस्शुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको छ ।

  • बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन

    बजार अनुगमन तीव्र, १ सय ३७ पसल कारवाहीमा ७८ लाख राजस्व संकलन

    काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ ।

    चाडवाड नजिकिएसँगैं सरकारले स्वच्छ, सर्वसुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको छ ।

    पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यावसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनको क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने बढी कारबाहीमा परेका छन् ।

    विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाही गरेको छ ।

    जसबाट जरिवानास्वरूप ७८ लाख ५७ हजार राजस्व असुल भएको विभागले जनाएको छ । १ महिना अवधिमा ८०१ फर्मको अनुगमन गर्दा १३७ फर्म कारबाहीमा परेको हो ।

    अनुगमनका क्रममा ९८ हजार ७८२ रुपैयाँ बराबरको खान अयोग्य तथा म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको थियो ।

    अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन्। गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्ये सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ ।

    ३३ ओटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारबाही गरिएको थियो । कारबाहीबाट १४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारबाही गरिएको छ, जसबाट १४ लाख रुपैयाँ जरीवाना संकलन भएको विभागले बताएको छ ।

    विभागका अनुसार अनलाइन पसलबाट ५ लाख ८० हजार, औषधि पसलबाट ५ लाख १५ हजार, खाद्य तथा किराना पसलबाट ९५ हजार र गार्मेन्टबाट ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी ग्यास पसलबाट १ लाख, पार्टी प्यालेसबाट ३ लाख, मार्टबाट ५ लाख र मासु पसलबाट ३ लाख, रेष्टुराँबाट २ लाख रुपैयाँ राजस्व असुली भएको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता

    दोहोरो अंकले बढ्यो नेप्से, फेरि हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से १३.५८ अंकले बढेर १५७०.३८ विन्दुमा पुगेको छ ।

    यसदिन १८९ कम्पनीको ९५ करोड ४६ लाख ५६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ । ३२ लाख २६ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९९.५२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक १.६९ अंकले घटेको छ ।

    कारोबारका आधारमा आज अपी पावर कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो । यसको सबैभन्दा धेरै ४ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल अरुण काबेली हाइड्रोपावर र एनसीसी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज लगानीकर्ता फेरि हाइड्रोपावर कम्पनीको सेयरमा झुम्मिएका छन् । कारोबारमा आएका अधिकांश हाइड्रो कम्पनीको सेयर सेयर मूल्य बढेको छ ।

  • ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो

    ग्लोवल हंगर इन्डेक्समा नेपालको सुधार,भारतलाई पछि पार्दै खराव सूचीबाट माथि उक्लियो

    काठमाडौं । देशमा खाद्य, पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरेर विश्वभरका देशहरुको अवस्था विश्लेषण गर्दै प्रकाशित गरिने ग्लोवल हंगर इन्डेक्समा नेपाल यो वर्ष ७३ औं स्थानमा परेको छ।

    ग्लोवल इन्डेक्स (जीएचआई) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११७ मुलुक सूचीकृत सो इन्डेक्समा नेपाल ७३ औं स्थानमा परेको हो। नेपाल यस बर्ष १९।५ स्कोरसहित ७३औं स्थानमा रहेर मध्यम अवस्थामा रहेको हो ।

    दक्षिण एसियामा नेपालको अवस्था तुलनात्मक रुपमा देखिए पनि २०१६ को भन्दा यो नाजुक अवस्था हो। २०१६ मा सूचीकृत ११८ मुलुक मध्ये नेपाल ७२ औं स्थानमा थियो। यो वर्ष ११७ मुलुक मध्ये नेपाल ७३ औं स्थानमा रहेको छ ।

    सार्वजनिक तथ्यांकअनुसार वंगलादेश २०.४ स्कोरसहित ७५ औं स्थानमा रहेको छ भने म्यानमार २०.९ स्कोर सहित ७८ औं स्थानमा, पाकिस्तान २४.६ स्कोरसहित ८८औं स्थानमा र भारत २७.२ स्कोरसहित ९४औं स्थानमा रहेको छ ।

    दक्षिण एशियाली मुलुकमा नेपालको भन्दा राम्रो अवस्थामा श्रीलंकाको रहेको छ । श्रीलंकाको स्कोर १६.३ रहेको छ ।

    २००० देखि प्रकाशित हुँदै आएको यो इन्डेक्समा देशको खाद्यन्नमा पहुँच, बालबालिकाको पोषण र मातृ मृत्यु दरलाई विश्लेषण गरिन्छ।

    यसरी हेर्दा नेपाल दक्षिण एसियामा खाद्यन्नमा सम्पन्न मुलुक जस्तो देखिएको छ। पोषणको अवस्था पनि दक्षिण एसियामा नेपाल राम्रो देखिएको छ भने मातृ मृत्यु दर पनि नेपालमा कम रहेको देखाउँछ।

    यो सूचीमा भुटान समावेस छैनन्।

  • चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?

    चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण, एउटा बस चार्ज गर्दा कति लाग्छ शुल्क?

    काठमाडौं । विद्युत् प्राधिकरणले विद्युतीय बसका चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण गरेको छ।

    असोजदेखि लागू हुनेगरी प्राधिकरणले विद्युतीय सवारी चार्ज गरेबापतको महसुल निर्धारण गरेको हो। विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई प्राधिकरणले महसुलको जानकारी दिँदै पत्राचार गरेको छ।

    विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई नै प्राधिकरणले कार्यान्वयनमा ल्याएको हो।

    अब विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट प्राधिकरणलाई चार रुपैयाँ ६० पैसा महशुल तिर्नुपर्ने छ। त्यस्ता स्टेसनले यसअघि प्रतियुनिट १० रुपैयाँ शुल्क तिर्दै आएका थिए।

    चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसामा थप २० प्रतिशत मात्र शुल्क लिन पाउने छन्।

    अब ठूला बस चार्ज गर्दा बढीमा साढे पाँच सय रुपैयाँ मात्रै शुल्क लाग्ने भएको छ। यस अघि यातायात व्यवसायीले १२ सय रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए।

    एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा पनि २ सय ५० किलोमिटर गुड्छन्। काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन गर्न सकिने व्यवसायीको भनाई छ। सुन्दर यातायातले काठमाडौं उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गर्दै आएको छ। सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए ।

    उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो हुने दाबी छ ।

    प्राधिकरणले कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउँदै छ।

  • कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा

    कोरोनाको उपचारबाट सरकारले हात झिक्यो, अब आफ्नै खर्चमा

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को परीक्षण र उपचारबाट सरकारले हात झिकेको छ । अर्थातः अब नागरिकले यी सबै काम आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

    उनीहरुमा समेत कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट सरकारले काटेर लिने भएको छ । अन्य सबै व्यक्तिले भने आफ्नै खर्चमा उपचार गराउनु पर्ने गरी निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भएको छ ।