काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये चार जना खेलाडीमा कोरोनाबाट भाइरसको सङ्क्रमण पुष्टी भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा छन् ।
नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सोही प्रयोजनका लागि एन्फाले बिहीबारदेखि प्रशिक्षण थालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरू भएको प्रशिक्षणमा ३० खेलाडी मात्र उपस्थित छन् ।
नेपालले बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ मा खेल्नेछ । दोस्रो मैत्रीपूर्ण खेल २ मंसिरमा तय भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय सहभागिता जनाउन लागेको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी थालेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा छन् ।
काठमाडौं । दक्षिण कोरियाली सर्वोच्च अदालतले भष्ट्राचार गरेको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई १७ वर्ष जेल सजाय सुनाएको छ । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका थिए । यसअघि उनी धरौटीमा रिहा भएका थिए । अदालतले मुद्दाको फैसला नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
ली माथि आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको छ । पछिल्लो फैसला अनुसार पूर्व राष्ट्रपति लीले पुनरावेदनको सुविधा समेत पाउने छैनन् । वर्तमान राष्ट्रपतिबाट सजाय माफ गर्न सक्ने प्रावधान छ । त्यो अस्वीकृत भएमा भने उनी तोकिएको अवधिभर जेलमा बस्नु पर्ने छ ।
लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले उनीमाथि १७ वर्षको सजाय तोकेको थियो ।
अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुुस स्वीकार गरेको ठहर गरेको छ । उनीमाथि अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्न रहेको आरोप छ । एजेन्सी
काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो ।
कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चालन गर्ने गरी तालीका सार्वजनिक गरेको हो । यो स्थानमा २०७३ सालबाट पुल निर्माण थालिएको हो ।
पुल र रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिएको थियो । लकडाउनका कारण सन्चालनमा ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन् । यहाँ ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्म निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।
अहिले विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज हुनेछ ।
मकाउको मकाउ टावरस्थित बन्जी मानव निर्मित टावरमा बनेको हो । कुश्मामा भने प्राकृतिक खोँचमा बन्जी गर्न पाइनेछ । यहाँ विश्वकै अग्लो स्वीङ समेत बनेको छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको कम्पनीले जनाएको छ ।
टेण्डम (जोडि) स्वीङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ । सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको कम्पनीले जनाएको छ ।
यहाँ गुलेलीको शैलीमा निर्माण गरिएको छ । पिङ खेल्न प्रतीव्यक्ति २ सय ५० रुपैयाँ तोकिएको छ । यहाँ स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ समेत तयार गरिएको छ । विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ।
दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्छ । स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि हुने भएको छ । कम्पनीले बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ुद क्लिफ रिसोर्टु समेत निर्माण गरेको छ । यो परियोजनाको कुल लगानी २८ करोड रहेको कम्पनीको भनाई छ ।
काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ ।
इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।
एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ ।
अमेरिकी धनाढ्य जेफ बेजोसको अनलाइन व्यापार कम्पनी अमेजन विश्वको दोस्रो ठूलो ब्रान्ड भ्यालू भएको कम्पनी बनेको छ ।
कोरोनाकालमा आक्रमक व्यापार विस्तार गरेको अमेजनले सन् २०२० मा ब्रान्ड भ्यालू ६० प्रतिशले वृद्धि गरी २ खर्ब ६ अर्ब डलर पुर्याएको छ ।
विश्वका चर्चित सार्वजनिक सामाजिक सञ्जाल फेसबुक भने टपटेन वाट नै बाहिरिएको छ । फेसबुक १४ औं स्थानमा पुगेको छ । गत वर्ष पनि १४ औं स्थानमा फेसबुक नै रहेको थियो ।
यो वर्ष विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डको सूचिमा प्रविधिका ब्राण्डको प्रभुत्व देखिएको छ । इन्टरब्राण्डका अनुसार टेक्नोलोजी ब्राण्डले बढि हिस्सा ओगटेका छन् ।
ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ ।
सूचना प्रविधि कम्पनी माइक्रोसफ्ट तेस्रो स्थानमा रहेको छ । विश्वको चौथो ठूलो मूल्यवान कम्पनी बनेको गुगलको ब्रान्ड भ्यालू १ खर्ब ६५ अर्ब डलर रहेको छ ।
विश्वका मूल्यवान कम्पनीहरुको सूचीमा सामसङ पाचौं स्थानमा रहेको छ । यसको ब्रान्ड भ्यालू गत आवको भन्दा २ प्रतिशतले बढेर ६२ अर्ब २८ करोड पुगेको छ ।
ब्रान्ड भ्यालूका आधारमा पेयपदार्थ उत्पादक कम्पनी कोकाकोला छैटौं स्थानमा रहेको छ ।
ब्रान्ड भ्यालूकै आधारमा गाडी उत्पादक कम्पनी टोयोटा सातौं, मर्सिडिज बेन्ज आठौं, फास्टफूड कम्पनी म्याक डोनाल्ड नवौं र डिज्नी दशौं स्थानमा रहेको छ ।
विश्वको सर्वाधिक लोकपिय भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युब विश्वको ३० औं लोकप्रिय ब्राण्ड बनेको छ । सूचीको १९ औँ स्थानमा फेसबुक मातहतको इन्स्टाग्राम रहेको छ ।
काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो ।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
बारा । बारामा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । यस क्रममा १४ वर्षीय बालक र तीन जना जना प्रहरी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । बाराको सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे झडप भएको थियो । प्रहरीले स्थितिलाई काबुमा राख्न १२ राउन्ड हवाइफायर गरेको बताइएको छ । सोही क्रममा बालकको टाउकोमा चोट लागेको हो ।
स्थानीयले तस्करी गरी ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीको भनाई छ । प्रहरीमाथि आक्रमण गरी गाडी तोडफोड गर्न थालेपछि प्रहरीले १२ राउन्ड हवाईफायर गरेको बताएको छ । घाइते बालकको बयोधा अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ । पूर्व र मध्य नेपालका नाकामा अत्यधिक कडाई भएका कारण अहिले तस्करीका लागि सुदुरपश्चिमका नाका प्रयोगमा आइरहेका छन् ।
यसअघि कंचनपुरमा तस्करले दुई प्रहरीको हत्या गरिसकेका छन् । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका अनुसार महेन्द्रनगरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँच गर्दा सिटमुनि लुकाएर ल्याएको १० बोरा पटाका बरामद भएको हो ।
प्रहरीले बस चालक कञ्चनपुरका ३० वर्षिय नविन जोशीलाई नियन्त्रणमा लिएको छ । नागढुंगाबाटै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद भएको प्रहरीले जनाएको छ ।
ना ६ ख ७११४ नम्बरको बसमा चेकजाँच गर्दा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएर आएको खुलेको छ ।
पेरिस । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच फ्रान्सले देशव्यापी लकडाउन शुरु गरेको छ । फ्रान्समा दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । लकडाउन शुक्रबारबाट शुरु भएको हो । लकडाउन नोभेम्बर महिना भर लागु हुने भएको छ ।
अहिले यूरोपमा कोरोना भाइरसको संक्रमणले फैलावट लिएको छ । राष्ट्रपति इम्यानुयल म्याक्रोका अनुसार लकडाउन घोषणा गरेको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग खुला राखिएको छ ।
रेष्टुरेन्ट्स, बारसहित मानिसको भिडभाड हुने व्यवसाय बन्द गरिएको छ । अन्तरर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार फ्रान्समा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने मानिसको संख्या अप्रिल महिनापछि अहिले सबैभन्दा माथि पुगेको छ ।
यस मुलुकमा पछिल्लो २४ घण्टामा ३३ हजार नयाँ संक्रमित पुष्टी भएको छ । राष्ट्रपति म्याक्रोले कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगेको उल्लेख गरेका छन् । फ्रान्समा अस्पतालका आइसीयू बेडसमेत भरिएको उनले जानकारी गराएका छन् ।
काठमाडौं । तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ । नेपाल—चीनबीचको प्रमुख व्यापारिक नाका आजबाट औपचारिक रुपमा पुनः सञ्चालनमा आएको हो । यसअघि बाढीपहिराका कारण बन्द भएको यो नाका असोज १९ मा सञ्चालनमा आएको थियो ।
खुलेको पहिलो दिनमै केही नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले असोज २० गतेदेखि नाका एकलौटी रुपमा बन्द गरेको थियो। दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्ने गरी बुधबारबाट नाका खुलेको हो । बिहीबारबाट मालवाहक कन्टेनर भित्रन शुरु गर्ने भन्सार कार्यालयले जनाएको छ ।
नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएको छ । अब नेपाली कामदार सीमा पारि जानु पर्ने छैन ।
यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखिने छ । त्यसपछि जाँचपास गरी पठाइने भएको छ ।
काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन शेयर बजारमा ४१.२० अंकको वृद्धि कायम भएको छ । यस दिन लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा झुम्मिएका छन् । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७।४६ विन्दुमा पुगेर बन्द भएको छ ।
कारोबार अवधिभर कुल सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ पटक किनबेच भएको छ । आज कुल कारोबार रकम २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
बुधबार बैंकिङ क्षेत्रको सूचक ५५.१५, जीवन बीमा ११०.६८, विकास बैंक ६०.९७ अंकले बढ्यो । निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युचअल फण्ड ०.१३ तथा अन्य १४.५७ अंकले बढेको छ । व्यापार समूहको सूचक ८.८३ अंकले घट्यो ।
आज प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । आज ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै २० करोड ६५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक स्थगित भएको छ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै नकपाको बैठक स्थगित गरिएको हो । यसअघि कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने गरी मिति निर्धारण गरिएको थियो ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालका अनुसार बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना हुने गरी मिति तोकिएको छ । कोरोना भाइरसको संक्रमण दशैंको चहलपहल पछि अझ बढ्ने अनुमान गरिएको छ ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । देशभरका प्रयोगशालाबाट कुल ८२४८ नमुना परीक्षण गरिएको थियो । यसमध्ये ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
यसमध्ये ८८७ जनाको मृत्यु भएको छ । १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएको तथ्यांक आएको छ । पछिल्लो २४ घण्टामा २९८१ जनाले कोरोनालाई जित्न सफल भएका छन् । मन्त्रालयका अनुसार संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा बसेका छन् ।
मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।
मोरङका २५३ जना, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११\११ जना, उदयपुर र तनहुँका १०\१० जना, सोलुखुम्बु र सिराहाका ९\९ जना तथा धनुषा र काभ्रेका ८\८ जनामा संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीका ७ जना, सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६\६ जना, नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४\४ जना, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३\३ जना, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २\२ तथा ओखलढुंगा, भोजपुर, पर्वत, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १\१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर कोरोना भाइरसको उपचार हुने बताएको समेत देख्नु/सुन्नु पर्यो । दिनमा सयवटासम्म ट्विट गर्छन् । यस्तो लाग्छ- उनी ट्विटरबाटै देश चलाइ रहेका छन् ।
प्रभात भट्टराई
यी अनेक प्रहशनबीच आठ महिना देखि अमेरिकालाई गाँजेको कोरोना भाइरसले ट्रम्पको नेतृत्व कौशल उदाङ्गो पारिदिएको दिएको छ । ८५ लाख बढि संक्रमित र सवा दुई लाख बढिको मृत्यु सहित भाइरस संक्रमणमा अमेरिकाले विश्वलाई उछिनेको छ । विश्वको पाँच प्रतिशत जनसंख्या रहेको अमेरिकामा भाइरसबाट ज्यान गुमाउने भने विश्वभरी मृत्यु हुनेको संख्यामा २० प्रतिशत हाराहारी छन् । संसारको सबैभन्दा शक्तिशाली एवं सम्पन्न मुलुकको हविगत कसरी यस्तो हुन पुग्यो ?
उत्तर सहज छ- नेतृत्वको हेलचेक्राँइ । ट्रम्प राष्ट्रसामु कहिल्यै भाइरस बारे गम्भीर रुपमा प्रस्तुत भएनन् । बन्द कोठामा गरिएका पुराना वार्ताको अडियो सुनेपछि थाहा भयो उनी आफुलाई भाइरस सर्ला कि भनेर चरम त्रासमा थिए । तर, मुलतः आफ्ना समर्थक माझ भाइरस गम्भिर छ भन्ने सूचना पुर्याउँदा आफूलाई राजनीतिक वेफाइदा पुग्ने आँकलनले सधैँभरि झूठ बोलिरहे ।
गत शुक्रबार र शनिबार अमेरिकामा सर्वाधिक दैनिक संक्रमणको नयाँ रेकर्ड कायम भएर ८० हजार नाघ्दा पनि ट्रम्प भाइरस नियन्त्रणमा रहेको दावी दोहोर्याइ नै रहेका थिए । मिडियाले कोरोना भाइरसको अधिक चर्चा गरेर आफुलाई चुनाव हराउन खोजेको आरोप लगाएका छन् । हुँदा हुँदा दैनिक मृत्युदर ५०० मा झरि सकेको झूठो विवरण दावी गर्दै मिडियाले संक्रमितको संख्यालाई अनावश्यक उछालेर हल्ला गरेको तर्क समेत गरेका छन् । दैनिक हजार हाराहारीमा अमेरिकीको मृत्युलाई ट्रम्पले मजाकको विषय बनाएका छन् । त्यति मात्र होइन अरु रोगबाट मृत्यु भएकाहरुलाई समेत कोरोनाका कारण मरेको बताएर स्वास्थ्यकर्मी र अस्पतालले पैसा कमाउन खोजेको आरोप समेत ट्रम्पले लगाएका छन् ।
अर्थतन्त्रको भ्रम
ट्रम्प सन् २०१६ मा निर्वाचित हुँदासम्म अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामा र जो बाइडेनले अन्तिम तीन बर्षमा निरन्तर बढेको अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ओबामाको अन्तिम तीन बर्षमा जति रोजगारी अमेरिकामा सिर्जना भयो ट्रम्पले त्यसलाई भेट्टाउन सकेनन् । तर, उनी आफुले इतिहासकै उत्कृष्ठ अर्थतन्त्र सिर्जना गरेको दावी गरिरहे । एउटै झूठ सय पटक बोलेपछि सत्य हुन्छ भन्ने नेपाली उखान जस्तै ट्रम्पको उक्त दावी पत्याउने अमेरिकीको संख्या ठूलै छ ।
सन् २०१४, २०१५ र २०१६ मा ओबामाले क्रमशः मासिक औषत २ लाख ५० हजार, २ लाख २७ हजार र १ लाख ९५ हजार रोजगारी सिर्जना गरेका थिए । ट्रम्पले ओबामाको यो कुनै पनि अंक छुन सकेनन् । सन् २०१७ मा मासिक औषत एक लाख ७६ हजार रोजगारी सिर्जना भयो । त्यही बेला ट्रम्पले धनी वर्गलाई भारी कर छुट दिने कानून पारित गराउन सफल भए । कम्पनीहरुले नाफा बापत तिर्नु पर्ने कर्पोरेट आयकर ३५ प्रतिशतबाट २१ प्रतिशतमा झारियो । कर बापतको ठूलो रकम बचाउन सफल भएपछि कम्पनीहरुले केही रोजगारी बढाएजस्तो पनि गरे ।
ओबामाले महामन्दी पार लगाएर सहज बढ्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । स्केचः वासिंटन पोष्ट
फलस्वरुप २०१८ मा मासिक औषत १ लाख ९३ हजार रोजगारी सिर्जना समेत भयो । तर, २०१९ मा यो १ लाख ७८ हजारमा झरि सकेको थियो । यसरी ओबामा सरकारको अन्तिम तीन बर्षभन्दा ट्रम्पको सुरुवाती तीन बर्षको रोजगारी सिर्जनामा १५ लाखले कमी आएको थियो । २०२० को सुरु देखिनै ट्रम्पले भाइरस संक्रमणमा वेवास्ता गर्दा मार्च दोस्रो साता यता अमेरिकामा भयावह अवस्था आयो । परिमाण स्वरुप दुई करोड बढिले एकै पटक रोजगारी गुमाए । अहिले आधा हाराहारी काममा फर्किए पनि आठ प्रतिशत काम गर्ने उमेरका अमेरिकी बेरोजगार छन् ।
यति हुँदा पनि ट्रम्प आफुले अर्थतन्त्र फिर्ता ल्याउने दावी गर्न छोड्दैनन् । त्यसको कुनै प्रष्ट खाका र एजेन्डा उनीसँग छैन । प्रतिश्पर्धी जो बाइडेन र मिडियालाई व्यक्तिगत आक्षेप र गालीगलौजको भरमा आफ्नो राजनीतिक उठानको सपना देखि रहेका छन् ।
घृणाको जगमा उठान
ट्रम्पको राजनीतिक उदयनै घृणा र रंगभेदको बलमा भयो । चुनाव जितेर ह्वाइट हाउस छिरेपछि पनि उनी त्यही चरित्र निभाइ रहे । सन् २०११ मा उनले पहिलो पटक राष्ट्रपति ओबामा अमेरिकामा नजन्मिएको दावी सुरु गरे । अमेरिकी आमा र केन्याका आप्रवासी पिताबाट हवाइमा जन्मिएका ओबामाले त्यही बर्ष आफ्नो जन्मदर्ता सार्वजनिक गरिदिए । त्यतिले मात्र नपुगेर हवाइ राज्य सरकारले नै ओबामाको जन्मदर्ता सार्वजनिक गर्यो । तर, ट्रम्पले ओबामा अमेरिकामा नजन्मिएको दावी गर्न छोडेनन् । उनलाई तर्कहरु जुटाउन सहज थियो, किनभने ओबामा काला जातिका थिए । कुनै स्वेत पुरुष विरुद्ध अमेरिकामा यस्तो मुद्दा कहिल्यै उठ्दैन । फरक छाला हुने वित्तिकै पहिलो आक्रमण उसको नागरिकताबाट सुरु हुन्छ ।
मुस्लीमलाई अमेरिकामा यात्रा प्रतिबन्धको कार्यकारी आदेश जारी गर्दै ट्रम्प । तस्वीर: सिएनएन
ट्रम्पले त्यहि रणनीति अपनाए । पछि थाहा भयो ट्रम्पले २०१२ कै राष्ट्रतपिय चुनावमा ओबामालाई चुनौती दिने महत्वाकांक्षा पालेका थिए । राजनीतिक एजेन्डा या प्रतिबद्धता नभइ व्यक्तिगत आक्रमण र घृणाको बलमा चुनाव लड्ने रणनीति अनुरुप ट्रम्पले उक्त तुरुप फ्याँकेका थिए । राष्ट्रपति चुनाव लड्ने ट्रम्पको तयारी भित्र भित्रै तुहिए पनि ट्रम्पले ओबामा विरुद्धको घृणात्मक प्रचार रोकेनन् । किनभने उनी २०१६ को चुनावमा उदाउने त्यो भन्दा ठूलो अस्त्र अरु हुन सक्दैन भन्नेमा प्रष्ट थिए । ट्रम्पलाई यो आधार दिएको थियो ‘कन्जरभेटिभ’ मिडिया ‘होष्ट’लाई विश्वास गर्ने जमातले । सन् २००८ मै कन्जरभेटिभ मिडियालाई पत्याएर ओबामालाई मुस्लिम ठान्ने एवं अमेरिकालाई उनले माया नगर्ने बताउने ठूलै जमात तयार भइ सकेको थियो । मुद्दाका आधारमा राजनीति गर्ने त्यसबेलाका रिपब्लिकन राष्ट्रपतिय प्रत्याशी जोन म्याकेनले यस्ता घृणात्मक दावीलाई आफ्नो क्याम्पेनमा ठाउँ दिएनन् । उल्टो समर्थकहरुलाई ओबामाले जितेमा राष्ट्रिय सुरक्षामा खलल पुग्ने कुनै सम्भावना नरहेको तर राष्ट्रपतिका रुपमा आफुले राम्रो काम गर्ने विश्वासका साथ चुनावमा उठेको जवाफ दिएर साम्य पार्ने प्रयास गरेका थिए ।
ट्रम्पले त्यही घृणाको पोखरीमा हाम फाले । रिपब्लिकन प्राइमरी जितेर अन्तिम चुनावको तयारीका बेला भने ओबामा अमेरिकामै जन्मिएको मान्न आफु अब तयार रहेको भन्दै बोली फेरे । कारण थियो रिपब्लिकन प्रति झुकाव राख्ने काला जातिका मतदाताको भोट तान्नु ।
ट्रम्प कुनै दर्शन र सिद्दन्तबाट प्रेरित व्यक्ति होइनन् । उनी जे बन्छन् या गर्छन् सिर्फ फाइदा र नाफाका लागि गर्छन् । यस्ता मान्छेसँग संगत गर्छन् जो कुनै न कुनै विवादमा मुछिएकै होस् । सोही कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएयता दर्जन हाराहारी उनका निकट सहयोगी अदालतबाट बिभिन्न मुद्दामा दोषी प्रमाणित भइ सके । जब आफ्ना कोही निकटतमको अपराध छताछुल्ल हुन्छ ट्रम्प उनीहरुलाई नचिनेझैँ गर्न थाल्छन् । यसरी नै उनको राष्ट्रपतिसम्मको यात्रा तय भएको छ ।
हामी र ट्रम्प
ट्रम्पको प्रहसनले अमेरिकालाई दीर्घकालका लागि पारेको असर त भोलीका दिनमा थप सतहमा आउँदै जाला । यो आलेखको मूल ध्येय ट्रम्पका रंगभेदी हर्कतले अमेरिकी समाजमा सिर्जना गरेको विभाजन र त्यसले हामी आप्रवासीको जीवनमा पार्ने प्रभाव माथिको चर्चा गर्नेछ । उनले लिएका गोरो छाला भएका बाहेक अरु जाति र मूलका मानिस लक्षित नीति नियमले हामी सबै नराम्रोसँग प्रभावित भएका छौँ । हामीमध्ये कतिपयलाई भ्रम छ- ‘ट्रम्पले अमेरिकी नागरिक भइ सकेका व्यक्तिलाई त समान व्यवहार गर्छन् । आप्रवासीप्रति जुन रुखो व्यवहार छ, त्यो त केवल नयाँ आउनेहरुका लागि मात्र हो ।’ यो बुझाइ सरासर एउटा भ्रम मात्र हो ।
सबैभन्दा पहिले चर्चा गरौँ ट्रम्प हावी भइ सकेपछिको रिपब्लिकन पार्टीको । सन् २०१९ को सुरुवातमै टेक्सास स्थित टेरान्ट काउन्टीको रिपब्लिकन पार्टी उपाध्यक्षमा शहिद साफी चयन भए । उनको चयन काउन्टीका चल्तापुर्ता रिपब्लिकन नेतालाई खपिसाध्ये भएन । ‘मुस्लिम पनि हाम्रो पार्टीको नेता ? चर्च नजाने मान्छले रिपब्लिकन पार्टी हाँक्ने?’ शाफी माथि यहि शैलीको आक्रमण सुरु भयो । भारतीय आप्रवासी एवं पेशाले ३० बर्ष देखि चिकित्सक रहेका शाफि सन् २००९ मा ‘न्याचुरलाईजेसन’ विधीबाट अमेरिकी नागरिक बनेका थिए । उनलाई विरोध गर्नेहरुले उनको योग्यताको पाटो उधिन्नै मानेका थिएनन् । धर्मकै कारण रिपब्लिकन पार्टीको नेता बन्न निमल्ने तर्क गर्नेहरुलाई बल दिएको थियो ट्रम्प निर्णयले । राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नीति लिएका थिए । त्यसले उनका धेरै समर्थकमा ‘मुस्लिम जति सबै अपराधी हुन्’ भन्ने पर्न गयो ।
अन्ततः शाफीले पदमा बस्न काउन्टीका सकृय रिपब्लिकन कार्यकर्ताबाट विश्वासको मत लिनै पर्ने निर्णय गरियो । त्यहाँ उनको पक्षमा १३९ र विपक्षमा ३९ मत आयो । यसले पुष्टि गर्यो कि रिपब्लिकन पार्टीभित्र सहिष्णुता सम्पुर्ण रुपले मरि नसके पनि ट्रम्प हावी हुन्जेल असहिष्णुहरुकै बोली हावी भइ रहनेछ । किनभने शाफीको पक्षमा गोप्य रुपले त्यति धेरै मत खस्ने अवस्था हुँदा पनि सार्वजनिक रुपमा भने उनको बचाउ गर्ने भन्दा विरोधी आवाज नै चर्को थियो ।
आप्रवासी, फरक छाला र रंग माथिको आक्रमणमा शाफी त एक बिम्ब मात्र हुन् । ‘ट्रम्पिजम’ अन्तर्गत चल्ने समाजको मूल चरित्र नै यही हो । मिडिया रिपोर्टहरुका अनुसार गोरा बाहेक अरु रंगका आप्रवासीलाई अमेरिका छिर्न नदिन ह्वाइट हाउसबाटै विषेश नीति र कार्ययोजना तइ भइ रहेका छन् । ट्रम्पले आप्रवासीप्रति व्यक्त गर्ने चरम घृणा त्यही नीतिको एउटा अंश हो । ट्रम्पले सुरु देखिनै चर्को विरोध गरेको आप्रवासी नीति हो- पारिवारिक आप्रवासन । ‘चेन माइग्रेसन’ नाम दिएर ट्रम्प यो व्यवस्था उल्टाउन हरसंभव प्रयास गरि रहेका छन् । आफ्ना सासु ससुरालाई यहि नीति अन्तर्गत अमेरिका ल्याएर नागरिकता दिलाएका ट्रम्प आम आप्रवासी अमेरिकीलाई यो सुविधा नहोस् भन्ने चाहन्छन् । हुनतः उनका लागि आफ्ना दाजु भाइ दिदी बहिनीको कुनै महत्व छैन । पैसा र पावर नै उनका लागि सबैथोक हो । त्यही भएर उनकी दिदीले सबैभन्दा निर्दयी पुरुषको रुपमा टिप्पणी गरेको हामीले केही समय अघि सुन्न पायौँ । भतिजीले ट्रम्पले आफ्नो परिवार कसरी भत्काए भनेर किताब नै लेखिन् ।
ट्रम्पले निरन्तर आक्रमण गरेको पारिवारिक आप्रवासन नीतिबाट हामी पहिलो पुस्ताका आप्रवासी नै सबैभन्दा धेरै प्रभावित हुने हौँ । आफ्ना दाजु भाइ दिदी बहिनीलाई बर्षौँको प्रतिक्षापछि भए पनि अमेरिका ल्याएर सँगै बस्ने अवसर हामीलाई यही नीतिले दिएको छ । एक जिम्मेवार अमेरिकी नागरिको पारिवारिक मिलन गराउने यो नीति अमेरिकाको राष्ट्रिय सुरक्षाका दृष्टिले पनि भरपर्दो र सुरक्षित छ । तर, ट्रम्प यहि भत्काउन चाहन्छन् । मुखले कानूनी प्रकृयाबाट आउने आप्रवासीलाई आफुले स्वागत गर्ने बताए पनि व्यवहारमा त्यस्ता कानूनी सुविधा सबै भत्काउन ट्रम्प लालायित छन् । आखिर किन? ट्रम्पलाई थाहा छ हामी जस्ता तेस्रो मुलुकका मान्छेलाई जति आफ्ना दाजु भाइ दिदी बहिनीको महत्व अरुलाई छैन । र, ट्रम्प प्रष्टसँग चाहन्छन् हामीजस्ताको संख्या यो देशमा नबढोस् । उनले मुखै फोरेर गरिब एवं अश्वेत नागरिकको बहुमत भएका देशलाई ‘सिटहोल’ भनेकै छन् । नर्वेजस्ता गोरा प्रधान देशबाट आप्रवासी ल्याउन जोड गर्नु पर्छ पनि भनेकै हुन् ।
नेपाली अमेरिकीको संख्या बढ्दै जाँदा राजनीतिक बहस हाम्रो समाजमा पनि तातिन थालेको छ । केही नेपालीले ट्रम्प जिताउन संगठित प्रयासकै घोषणा गरेका छन् । अहिलेसम्म हाम्रो संख्या कसैलाई जिताउन या हराउन पुग्ने त भइ सकेको छैन । तर, यो अमेरिकी इतिहासकै संगिन मोडमा हामी कहाँ उभिएका थियौँ भनेर भोली आफैँले समिक्षा गर्ने दिन अवश्य आउनेछ । छोरा छोरी नाती नातिनालाई जवाफ दिने दिन अवश्य आउनेछ ।
अमेरिकी सीमामा शरण माग्न आइपुगेका आप्रवासी । अहिले यस्ता शरणार्थी ट्रम्प प्रशासनको तारोमा छन् । तस्वीर: एनबीसी न्यूज
ट्रम्प विजयको कामना गर्दै गर्दा पल्लो कोठमा बस्ने हाम्रै नेपाली दाजुभाइलाई एक पटक सम्झौँ । ट्रम्पले उनलाई टिपिएस खारेज गरेर डिपोर्ट गरेका दिन हामी खुच्चिङ मनाउने कि एकछिन दुःखी अनुहार बनाएर गोहीको आँशु झार्ने ? सीमानामा बाबु आमाबाट छुट्याएर जेलमा कोचिएका तोते बोल्ने उमेरका लालाबालाको चित्कार सुनौँ र आफैँलाई सोधौँ तिनको रोदनमा नभक्कान्निने हाम्रो हृदयमा आखिर अहिले के भरिन पुग्यो? आफ्ना बाबु आमा एवं दाजु भाइ दिदी बहिनीलाई कुनै दिन अमेरिका ल्याएर सँगै बस्ने सपना ट्रम्प उदयसँगै हामीले भुल्यौँ ? हामी यति चाँडै यति बिघ्न नृशंश कसरी बन्न सक्यौँ ?
ल यी केहीले पनि हामीलाई छोएनछ रे । एक पटक आफ्नै छोरा छोरी नाती नातीनालाई सम्झौँ । ट्रम्पले निरन्तर मलजल गरेको स्वेत सर्बोच्चतायुक्त समाजमा तिनले आत्मसम्मानको दिन बिताउन पाउलान् ? ट्रम्पले वकालत गरेको जथाभावी बन्दुकको सान दिन पाइने वातावरणमा तिनले सुरक्षित सास फेर्न सक्लान् ? हरेक दिन उनीहरु स्कुलबाट सुरक्षित घर फर्केलान् नफर्केलान् भनेर हाम्रो हृदय नपोली समय बित्ला ? ट्रम्प राष्ट्रपति भएयता बन्दुकको हिंसाबाट कम्तिमा एक लाख अमेरिकीको ज्यान गइ सकेको छ । छ वटा हृदयविदारक ‘मास सुटिङ ‘बाट कम्तिमा १४३ जना मारिए । तर, ट्रम्प मेसिन गनजस्ता आम बिनासकारी हतियार नियमनको कानून बनाउन समेत कहिल्यै तयार भएनन् ।
हामी यो देशमा सपना देखेर आप्रवासी भएका जरुर हौँ । सहिष्णुता सहितको सम्बृद्धि हाम्रो सपना थियो । तर आज ट्रम्पले दिनहुँ सहिष्णुताको हत्या गर्दा ताली बजाउने अवस्थामा हामी कसरी पुग्यौँ ? जन निर्वाचित सांसदले ट्रम्प नीतिको विरोध गर्दा मन नपरे देश छोडेर जाने धम्की आउँछ । यो देशमा ट्रम्पका हजुरबा जुन सपना देखेर आएका थिए, सबै आप्रवासी त्यसैगरि आएका हुन् । कुनै एक शासकसँग असहमत हुने नागरिकलाई देश छोडेर जाउ भन्ने राष्ट्रप्रमुखको धम्की लोकतन्त्रमा कल्पना पनि गर्न सकिँदैन । हुँदाहुँदा १७ बर्षे गोरा तन्नेरीले रंगभेद विरुद्धको प्रदर्शनमा शान्तिपुर्ण तवरले उत्रिएका नागरिक माझ बन्दुक बोकेर गएर ठ्यांङठ्याङ गोली हानी तीन जनालाई ढालिदिने र राष्ट्रपतिले भोलीपल्ट उनलाई स्यावास भनेको पनि देख्नु पर्यो । हामीले सपना देखेको नेतृत्व र समाज कदापी यस्तो होइन ।
ट्रम्प आफ्नो व्यापारमा १० पटक ‘ब्यांक्रप्ट’ भइसके । देश त्यसरी चल्दैन । हरेक अफ्ठ्यारा र विरोधहरुलाई नेतृत्वले संगेलेर लैजान सक्नु पर्छ । तर, ट्रम्पका लागि नागरिक ती मात्र भए जो उनको भजन गाउन तयार छन् । ‘ट्रम्पिजम’को रंगभेदी आक्रमणको पछिल्लो शिकार भइन्, डेमोक्रेटिक उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिस । अमेरिकाकी जन्मसिद्ध नागरिक ह्यारिसलाई ट्रम्प र उनका भित्रियाहरुले उपराष्ट्रपतिका लागि योग्यता नपुगेको भनेर विरोध गरे । त्यसका लागि उनीहरुसँग कुनै प्रमाण थिएन मात्र कमलाको कालो छालाप्रतिको द्वेष थियो । ट्रम्प अहिले ह्यारिस पहिलो महिला राष्ट्रपति बने राष्ट्रिय लज्जा बन्ने बताउन थालेका छन् । आफ्नी छोरी मात्र त्यसका लागि लायक रहेको उनको दलिल छ । हुँदा हुँदा ह्यारिसलाई ‘मोन्सटर(कुरुप)’को संज्ञा दिएर व्यक्तिगत आक्रमण सुरु गरेका छन् ।
भारतीय आमा र जमैकन आप्रवासी पिताकी अमेरिकी छोरी कमलाको कहानी हाम्रै सन्तानसँग मिल्छ । एकछिन उनको स्थानमा आफ्ना सन्तालाई राखेर हेरौँ त । ‘ट्रम्पिजम’ कामय रह्यो भने हाम्रा सन्तानले अमेरिकामा केही गर्छु भन्दा भोली पाइलै पिच्छे राष्ट्रियताको परिक्षा दिनुपर्छ । त्यो पनि मात्र गोरो छाला नभएको कारणले मात्र । त्यसैले हामी आ -आफ्नो आत्मालाई जति झूठ बोलेर ट्रम्प भक्तिमा लागौँ, तर उनका लागि हामी ‘सिटहोल कन्ट्री’ कै नागरिक हौँ ।
काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
तीन दिन नेपाल भ्रमणमा रहँदा सेनाध्यक्ष नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गर्नेछन् ।
उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ । उनले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने छन् । भेट कात्तिक २१ का दिन तय भएको छ ।
काठमाडौं । बडादशैंको बिदाको अवसर पारी काठमाडौं उपत्यकामा चहलपहल घट्यो । यसको प्रभाव कोरोना भाइरसको परीक्षणमा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ७२५ नमुना परीक्षण भएको छ । यो संख्याबाट ५७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका ल्याबमा यो संख्यामा परीक्षण भएको हो ।
अब देशभर संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । यसमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १४ जनाको ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार ५ सय जना नेपाली घर फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन् । केन्द्रले हवाई मार्ग प्रयोग गरी आएका नेपालीको मात्र तथ्यांक राखेको छ । यसबीचमा भारतबाट आएका हजारौं नेपालीको भने यकिन तथ्यांक छैन ।
विदेशमा रोजगारी गुमाएका, घुमफिरका लागि विदेश पुगेर अड्किएका, आफन्त भेट्न विदेश पुगेका नेपालीलाई प्राथमिकताका साथ नेपाल ल्याइएको छ । पछिल्लो समय भने स्वच्छाले नेपाल आउनेहरु समेत बढेका छन् । तथ्यांक अनुसार ३२ मुलुकबाट नेपाली घर आएका छन् । घर आएका मध्ये अधिकांश खाडी मुलुकबाट छन् ।
यसअवधिमा सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना घर आएका छन् । कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएको तथ्यांक छ । अमेरिकाबाट ४ सय ३७ जना नेपाली घर आएका छन् ।
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्ने उपाय लकडाउन नभएको बताएको छ । पछिल्ला दिनमा यूरोपमा कोरोना संक्रमणको दोस्रो चरणको लहर चलेको छ । यसले यूरोपमा लकडाउन र प्रतिवन्ध शुरु भएको छ ।
सोही सन्दर्भमा डब्लूएचओले कोरोना भाइरस रोकथामका उपाय पूर्ण रूपमा पालना गर्ने हो भने भाइरसको संक्रमण रोक्न लकडाउन र प्रतिवन्ध आवश्यक नपर्ने उल्लेख गरेको छ । पछिल्ला दिनमा स्पेन, इटली, फ्रान्ससहित विभिन्न मुलुकमा संक्रमितको संख्यामा गुणात्मक वृद्धि देखिएको छ ।
कोभिड–१९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धभन्दा सम्बन्धित मुलुकले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई बढाउनु पर्ने सुझाव दिएकी छिन् । अघिल्लो साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली मुलुकबाट आएका छन् । यसले पुनः एक पटक यूरोप कोरोनाबाट प्रभावित हुने देखिएको छ ।
खोटाङ । खोटाङमा ट्याक्सी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो । चार जना घाइते भएका छन् । ट्याक्सी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सडकबाट झन्डै साढे २ मिटर तल खसेको अवस्थामा भेटिएको थियो ।
दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
२८ वर्षीय छत्रबहादुर राई, ९ महिनाका शिषु दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते रहेको प्रहरीको भनाई छ । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । मंगलबार रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका सिलसिलामा निधन भएको हो ।
उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति निधन भएको हो ।
यता, चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको ज्यान गएको हो ।
काठमाडौं । सिरियामा रुसले गरेको हवाई हमलामा टर्की समर्थित लडाकुतर्फ ठूलो हताहती भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले हवाई हमला गरेको छ । यस घटनामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको ज्यान गएको हो । थुप्रै मानिस घाइते भएका छन् ।
इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम नामक स्थानमा हवाई हमला भएको हो । अहिले यो क्षेत्र अशान्त बनेको छ । रुसले फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण गरेको जनाएको बीबीसीले लेखेको छ ।
सिरियामा अहिले गृहयुद्ध चलिरहेको छ । यस गृहयुद्धलाई रुस र टर्कीले एक अर्का पक्षलाई समर्थन गरेका छन् । सिरियामा गत मार्चमा युद्धविराम घोषणा भएको थियो । यो आक्रमण त्यसयताकै ठूलो भएको बीबीसीको भनाई छ । सिरियामा नौ वर्षदेखि गृहयुद्ध जारी छ ।
काठमाडौं । आज बडादशैं, हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाइरहेका छन् । आज सर्वसाधारणले मान्यजनबाट टिका ग्रहण गरी आर्शिवाद लिएर बडा दशैं मनाएका छन् । यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्।
शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्। राष्ट्रपति भण्डारीले भने आफ्नी आमा र गुरुको हातबाट टिका ग्रहण गरेकी छिन् । प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली भने गृहजिल्ला झापामै थिए । सोहीकारण उनले छोरालाई टिका लगाउन सकेनन् ।
विजयादशमीको १० औं दिन आज टिका ग्रहण गरेसँगै दशैंको मूख्य दिन सकिएको छ । कुनै समुदायले पूर्णिमासम्म टिका लगाउँछन् भने कुनै समुदाय र स्थानमा भने आज मात्र टिका लगाउने गरिन्छ ।
भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा झडप भएको र त्यसले उग्ररुप लिँदा एक जनाको हत्या भएको पाइएको छ । घटनामा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई सोही कारखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शाहिवको हत्या अभियोगमा शाहिवसँगै काम गर्ने दुई जना भारतीय मजदुर भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल दुवाल मेटल कारखाना बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेका छन् ।
उनीहरुले शनिबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि राती ९ बजे कारखाना फर्कने क्रममा शाहिव, सानु र सलमानबीच एक प्रेमिकाका विषयमा विवाद भएको हो । प्रहरीका अनुसार हुसेनले अनुचित शब्द बोलेको र त्यसक्रममा विवाद उत्पन्न भएको बताइएको छ । त्यसपछि सानु र सलमानले शाहिदको अनुहार र टाउकोमा ढुंगा प्रहार गरेका थिए ।
शाहिदको शव आइतबार बिहान इटापाकेको प्लानिङस्थित नरकटघारी खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले तालीमप्राप्त कुकुरको सहायतामा अपराधीको खोजी गरेको थियो ।
प्रहरीले सलमान र सानुको कोठामा खानतलासी गरी दुवै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेपछि पोल खुलेको थियो । दुबै जनाले हत्या स्वीकार गरेका छन् ।
काठमाडौं । नेपालमा आइतबार थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यसबाट १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यस अवधिमा भाइरस निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुने मानिसको संख्या भने संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
कुन जिल्लामा कति थपिए ?
यो अवधिमा काठमाडौं जिल्लामा १२२५, मोरङमा २५७, भक्तपुरमा १६३ र ललितपुरमा १४७, चितवनमा १३४, सुनसरीमा १२९, झापामा ११४ र नवलपरासी पूर्व १०६ जना संक्रमित थपिएका छन् । दाङमा ८४, मकवानपुरमा ६८, नुवाकोटमा ६०, कैलालीमा ५६, तनहुँमा २९, धादिङमा २७, रुपन्देहीमा २५ संक्रमित थपिएको मन्त्रालयको तथ्यांक छ ।
बागलुङमा २४, बाँकेमा २२ जना, सप्तरीमा १८, धनुषामा १३, उदयपुरमा १२, कञ्चनपुरमा ११, महोत्तरी, सिराहा र रसुवामा १०\१० जना, संखुवासभामा ९, इलाम र अछाममा ८\८ जनामा संक्रमण पुष्टि भएको छ ।
उता, धनकुटा, काभ्रे, गोरखा र लमजुङमा ६\६ जना, दैलेखमा ५ जना, सर्लाही, काभ्रेपलाञ्चोक, स्याङ्जा र कपिलवस्तुमा ४\४ जना, भोजपुर, रौतहट, बर्दिया र सल्यानमा ३\३ जनामा संक्रमण देखिएको छ ।
दोलखा, सिन्धुली, म्याग्दी, अर्घाखाँची, पाल्पा र रोल्पामा २\२ जना र सोलुखुम्बु, बारा, रामेछाप, पर्वत, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम र दार्चुलामा १\१ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष चाडबाडका उपलक्ष्यमा कुनै पनि चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो समारोह गर्दै आएको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसले जनाएको छ ।
२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आइरहेको छ । यो वर्ष कोरोना महामारीका कारण कात्तिक १४ गतेको चियापान कार्यक्रम नगरिने कांग्रेसले स्पष्ट पारेको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेटबारे पार्टीमा कुनै जानकारी नभएको जानकारी दिएका छन् ।
भेटबारे सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री र रअका प्रमुखबीच गत बुधबार साँझ भेटवार्ता भएको थियो । भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने आशंका श्रेष्ठले गरेका छन् ।
श्रेष्ठ भन्छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपा पार्टीमा समेत जानकारी नभएको प्रवक्ताले उल्लेख गरेका छन् ।
‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो भन्दै उनले विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्ने उल्लेख गरेका छन् ।
काठमाडौं । विदेशमा थप एक जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको साप्ताहिक अपडेटमा उक्त जानकारी दिइएको हो । अघिल्लो साता साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।
गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले उल्लेख गरेका छन् ।
नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।
शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको तथ्यांक रहेको छ ।
काठमाडौं । साझा पार्टीका संयोजक तथा नेता रवीन्द्र मिश्रले नेपालका प्रधानमन्त्री भारतीय खुफिया एजेन्सीकै स्तरमा झरेको भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् । प्रधानमन्त्रीले अघिल्लो साता ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आई सुटुक्क प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
यो विषय आलोचित भइरहँदा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नाममा विभिन्न ८ प्रश्न राखेका छन् । जसमा उनले भेटको औचित्य पुष्टी गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटेका थिए ।
परराष्ट्र मन्त्री ज्ञवालीले भने भारतीय गुप्तर प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधिका रूपमा नेपाल आएको प्रतिक्रिया दिएका थिए । मिश्रले भने सामाजिक संजालमार्फत ज्ञवालीलाई प्रश्न राखेका हुन् । यस्ता छन् मिश्रले सरकारलाई सोधेका प्रश्न १. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको ?
२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन ?
३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ?
४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन् ?
५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन रु परराष्ट्र मन्त्रालयसँग सम्मन्वय भयो कि भएन ?
६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेको रु अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन ?
७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए ?
८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन् ?
जाजरकोट । जाजरकोटमा सुख्खा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका ३ को दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा पुरिएर दुई जनाको ज्यान गएको हो । अझै दुई जना घाइते भएका छन् ।
घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल छन् । घटनामा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ चौकी दशेरामा प्राथमिक उपचारपछि सुर्खेत लैजाने तयारी छ ।
काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने निर्णय गरेको छ । केन्द्र सरकारले हात झिकिसकेको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले उपचार र परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो ।
सङ्घीय सरकारले कोरोना सङ्क्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीका अनुसार मन्त्रिपरिषद्ले सङ्घीय सरकारले हालै हस्तान्तरण गरेको वीरेन्द्रनगरस्थित महिला विकास प्रशिक्षण केन्द्रको जग्गा प्रदेश सरकारका नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृति दिएको छ।
कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उडड्यन प्राधिकरणबीच सुर्खेत विमानस्थल विस्तारका सम्बन्धमा भएको समझदारीपत्र अनुमोदन गर्ने, साबिक घरेलु शिल्पकला भण्डारको पुरानो घर भत्काई सामग्री लिलाम गर्ने, प्रयोगशालासहितको प्राङ्गारिक कृषि विकास तथा अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्ने र भूमि समस्या समाधान आयोगमा मुसिकोट ५ रुकुम (पश्चिम)का बुद्धिप्रसाद शर्मालाई मनोनयन गर्ने निर्णय समेत भएको छ ।