Category: फिचर

  • प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

    प्रधानमन्त्रीको ब्रिफिङ : ‘खतरा टाढा छैन, संकटको सामना गर्न तयार होऔं’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइपर्न सक्ने राजनीतिक संकटको सामना गर्न तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

    बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि चौतर्फी हमला भइरहेको आइपर्न सक्ने संकटको सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

    उनले यो संकट थप जटिल बन्ने दिशतार्फ गईरहेकाले खतरा टाढा नरहेको सामना गर्न तयार रहन निर्देशन दिएको एक मन्त्रीले बताए ।

    ‘प्रधानमन्त्री चिन्तित मुद्रामा हुनुहुन्थ्यो, ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन ।

    कुनै हालतमा म पछि हट्दिनँ’ ओलीउहाँले पार्टीको आन्तरिक राजनीति संकटमा परेको र यसले मूलुकलाई पनि संकटमा पार्न आँटेको बताउनुभयो’ एक मन्त्रीले भने, ‘सबै प्रकारका संकटहरुको सामना गर्न हामी तयारी अवस्थामा रहनुपर्छ भन्ने उहाँको आशय थियो ।’

    ‘प्रधानमन्त्रीले कस्ता खालका जतिल आएका छन् र जटिलता कसरी सिर्जना भयो भनेर चाँही भन्नुभएन, तर पार्टीभित्र देखिएका गतिरोधलाई नै उहाँले संकेत गर्नु भएको हो’ ती मन्त्रीले भने ।

    अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ ।

  • बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

    बाइडेनलाई अमेरिकी चुनाव इतिहासकै सबैभन्दा धेरै मत

    काठमाडौं । डेमोक्रेटिकबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासकै लोकप्रिय मत प्राप्त गरेका छन् ।

    बाइडेनले सन् २००८ को निर्वाचनमा बाराक ओबामाले प्राप्त गरेको मतभन्दापनि धेरै मत प्राप्त गरिसकेका छन् ।

    २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए भने यस पटक जो बाइडेनले अहिलेसम्म ७ करोड २१ लाख ५०.५३ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छन्

    केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ ।

    समाचार तयार पार्दाको समसम्म डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् भने ट्रम्प २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् ।

    पेन्सिलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, अलास्का र नेभादा जस्ता स्थानमा मतगणना जारी नै रहेको कारण मतदानको अन्तिम निर्णय आउन अझै केही समय लाग्ने बताईएको छ ।

  • कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

    कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ ।

    अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो त नेपालमा समेत पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अर्थातः ३० जनाको मृत्यु भयो । यही ट्रेण्ड विश्वभर देखिएको छ ।

    युरोपेली मुलुकमा पछिल्लो २४ घण्टामा ३ हजार ९२८ जनाको मृत्यु भएको छ । यी मुलुकहरुमा कोरोनाको दोस्रो लहरले समेत ठूलो मानवीय क्षति निम्याउन थालेको हो । अब युरोपेली मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ८९ हजार ७४८ पुगेको छ ।

    विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिले विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख पुगेको छ ।

    संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । १ करोड २५ लाख १६ हजार ७३१ को उपचार जारी छ । त्यसमध्ये ८९ हजार २१६ जना गम्भीर अवस्थामा छन् ।

  • बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई

    बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई

    काठमाडौं । बंगलादेशसँगको दुई मैत्रिपूर्ण फुटबलको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरणको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

    टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाइ गरे। टोली बिहीबार ढाका पुग्दैछ । टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी रहेका छन् ।

    प्रारम्भिक प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये रोहित चन्द र कोरोना संक्रमण देखिएका ७ जना खेलाडी बाहेक सबै टोलीमा अटाएका छन् । चन्दले प्रशिक्षणकै क्रममा चोट बोकेका छन् ।

    नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल नेपालले कोरोना भाइरसपछि रंगशालामै पुगेर गरेको पहिलो प्रतिस्पर्धा हुनेछ ।

    मुख्य प्रशिक्षक योहान कालिन कोरोनाका कारण स्विडेनमै अड्किएका छन् । सोहीकारण टीमलाई बालगोपाल महर्जनले प्रशिक्षण दिए । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल छन्।

    यस्तो छ नेपाली टीम
    किरण चेम्जोङ (कप्तान) अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

  • चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

    चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् ।

    निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको हो । मृत पोथी गैँडाको खाग भेटिएको छैन ।

    सोहीकारण उनलाई तस्रले मारेको उनसक्ने अनुमान गरिएको छ । यो आर्थिक वर्ष भित्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ। नौ वटा गैँडा कालगतिले मरेका हुन् । दुई गैँडा भने तस्करको निसान भएको अनुमान छ ।

  • राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

    राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

    वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धाका बीच बिहीबार बिहानसम्म बाइडन बलियो देखिएका छन् । कुल २ सय ७० इलेक्टोरल मत ल्याउने उमेदवार विजयी हुन्छन् ।

    एशोसिएशन प्रेसले गरेको अपडेट अनुसार अहिलेसम्म बाइडनले २६४ मत प्राप्त गरिसकेका छन् । अब उनी जितबाट मात्र ६ मत कम छन् । उता, ट्रम्प भने अहिले निकै तल छन् । उनको मात्र २१४ मत रहेको छ ।

    अधिकांश राज्यको नजिता सार्वजनिक भइसकेको छ । अब ४ वटा राज्यको मात्र मत आउन बाँकि रहेको छ । उता, दुबै उमेदवारले आफ्नो जित भएको दावि गरिरहँदा महत्वपूर्ण राज्यहरुमा ट्रम्पलाई झट्का लाग्ने देखिएको छ ।

    ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने चेतावनी समेत दिइसकेका छन् । ट्रम्पले पेन्सल्भेनियामा धाँधलीको आरोप लगाएका छन् । यद्दपी यहाँ उनकै सामान्य अग्रता रहेको छ ।

  • कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

    कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु

    नवलपुर । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोरको काममा खटिएका मजदुर सुख्खा पहिरोमा परी पुरिएको थिए । उनीहरुको मृत्यु भएको हो । यो घटना बुधबार साँझको हो । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा साँझ माथिबाट ढुंगा खसेर मजदुर पुरिएका थिए । त्यसपछि प्रहरी र स्थानीयले उद्धार थालो थिए । प्रहरीका अनुसार मृत्यु हुने सबै बुलिङटार–४ का बासिन्दा हुन् ।

    मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन् । पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएको समेत प्रहरीले जनाएको छ । उनीहरुको चितवनमा उपचार जारी रहेको छ ।

  • भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

    भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

    काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए ।

    त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर पुगेर कुमारीको दर्शन गरेका थिए । त्यहाँ उनलाई नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले कडा सुरक्षा व्यवस्था मिलाएका थिए । उनले बसन्तपुर क्षेत्रको चाखपूर्वक भ्रमण गरे । त्यसपछि भने उनी पशुपतिनाथ मन्दिर दर्शनमा पुगेका छन् ।

    उनलाई सैनिक प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ । नरवणेको नेपाल भ्रमणको मुख्य कार्यक्रम भने बिहीबार आयोजना हुँदैछ । उनलाई राष्ट्रपति भवन शितलनिवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिने छ । सोही दिन उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् ।

    शुक्रबार बिहान उनी आर्मी स्टाफ कलेज शिवपुरी पुगेर त्यहाँ तालीम लिइरहेका सैनिकसँग अन्तरक्रियाको कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम समेत सोही दिन राखिएको छ । उनी शुक्रबार नै स्वदेश फर्कने छन् ।

  • नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

    नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?

    काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।

    बुधबार नेपाल एयरलाइन्सले यस्तै गुनासो गरेको छ । नेपाली ल्यावमा गरिएको परीक्षणमा नेगेटिभ आएका यात्रुमा समेत विदेश पुगेपछि पुनः परीक्षण गर्दा कोरोना संक्रमित देखाउन थालेको कम्पनीले जनाएका छन् । यसले ल्यावको विश्वसनीयतामा प्रश्न उठ्न थालेको नेपाल एयरलाइन्सले जनाएको छ ।

    अर्कोतर्फ स्वयमः यात्रु पनि पिसिआर परीक्षण गरेपछि आइसोलेसनमा बस्नु पर्छ । तर, नेपालमा भने यात्रुले स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गरेका छैनन् । ल्यावमा परीक्षण गरेर आएपछि भिडभाडमा जान पाइदैन । तर, नेपालमा त्यसको पूर्ण पालना भएको छैन । यसले स्वाव दिएपछि पनि संक्रमण भएको हुन सक्छ ।

    सोहीकारण अब कुनै पनि यात्रुमा विदेश पुगेपछि कोरोना भाइरसको संक्रमण देखिएमा नेपाल एयरलाइन्स जिम्मेवार नहुने कम्पनीले स्पष्ट पारेको छ । आफ्नोतर्फबाट प्रोटोकल पालनामा कुनै कमजोरी नभएको भन्दै सबै सरोकारवालाई गम्भीर हुन समेत नेपाल एयरलाइन्सले आग्रह गरेको छ ।

  • वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

    वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

    काठमाडौं । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

    राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल डंगोल, डा. सन्तोष कुमार साह, डा. राकेशकुमार सिंह लगायत रहेका छन्।

    राजीनाम पत्रमा कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको आरोप लगाएका छन्।

    उनीहरुले उपचारमा खटिएका चिकित्सकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दशैंतिहार भत्ता समेत नदिएर मनोवल गिराउने काम गरेो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    धम्कीयुक्त आवाजमा विभिन्न ठाउँमा २४ घण्टा ड्युटी गराउने त्यो पनि हप्तको ९६ घण्टाजस्ता विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको जानकारी गराउन चाहन्छौं,” १६ जना चिकित्सकहरुले सामूहिक राजीनामापत्रमा भनेका छन्, “उल्लेखित स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुनेछ ।”

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो

    काठमाडौं । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।

  • नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

    नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क

    वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेद्वारले प्रतिक्रिया दिएका छन् ।

    चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन्।

    नेपाली राष्ट्रिय समाचार समितीले जनाएको अनुसार मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरु मार्फत उहाँहरुले अन्तिम नतिजा आफ्नो पक्षमा पर्ने दाबी पनि गरेका छन्।

    नेपालको समय अनुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधवार बिहानदेखि मतगणना शुरु भएको थियो ।

    अहिले विभिन्न राज्यका मत गणनाका परिणामहरु आउने क्रम जारी छ । नयाँ प्रक्षेपणअनुसार महत्वपूर्ण मानिएको फ्लोरिडामा ट्रम्प विजयी भएका छन् ।

    कुल २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा अघिल्लो निर्वाचनमा पनि ट्रम्पले नै जित्नु भएको थियो । त्यसअघि सन् २००८ र २०१२ को निर्वाचनमा भने डेमोक्रेट तर्फका उम्मेदवार बाराक ओबामा विजयी भएका थिए।

    नेब्रास्कामा पनि ट्रम्पले नै जित्ने अनुमान गरिएको छ । त्यहाँ पाँच इलेक्टोरल मत मध्ये चार ट्रम्पलाई र एक बाइडेनलाई आउने देखिएको छ । यसअघि सबै ट्रम्पलाई नै गएकोमा अहिले बाइडेनले एक मत खोस्ने देखिएको हो ।

    कुल १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जित्ने र १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडेनले जित्ने प्रक्षेपण गरिएको छ ।

    यी सबै राज्यमा अघिल्लो निर्वाचनमा जस्तो नतिजा आएको थियो अहिले पनि उस्तै नतिजा आउने देखिएको छ ।

    प्रत्यक्ष मतदान मंगलबार भएपनि सोमबारसम्म हुलाकबाट झण्डै नौ करोड अमेरिकी नागरिकले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौ मतदाताले मतदान गर्दछन् ।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर झण्डै ९ करोडले हुलाकमार्फत् मतदान गरेका हुन् ।

    हुलाक मार्फत पठाइएका मत आउने क्रममा रहेको र गणना गर्न समय लाग्ने भएकाले अन्तिम नतिजा आउन केही दिन लाग्न सक्ने बताइएको छ ।

    अमेरिकामा इलेक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसंख्याका आधारमा इलोक्टरल मत तोकिएको हुन्छ ।

    यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत जित्नु पर्दछ ।

    अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्र्याटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । परम्परावादी तर्फका ट्रम्प ७४ वर्ष र उदारवादी तर्फका बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेबारी बुढा नेतालाई नै पर्ने भएको छ ।

    बाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाउनु भएको थियो भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

    चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो ।

    अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

    सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।

    यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि कुल मतदानमा हिलारी क्लिन्टनले धेरै पाएपनि इलेक्टोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी नै विजयी हुने प्रक्षेपण गरेका थिए ।

    अमेरिकामा हरेक चार चार वर्षमा नोभेम्बर ३ तारिखका दिन निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

  • मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

    मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’उनले अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत नै बसेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा स्थिरताका लागि काम गर्ने बताएका छन् ।

    ‘बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,’ उनले भने, ‘तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् ।

    धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।’

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला उनको यस्तो भनाई बाहिर आएको हो ।

  • सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो

    सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो

    काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार मंगलबार केही सुधार देखिए पनि आज फेरि ओरालै लागेको छ ।

    सूचकमा सामान्य गिरावट आए पनि आज कारोबार रकम भने ह्वात्तै घटेको छ । हिजोको तुलनामा कारोबार रकम ४७ करोडले घटेको छ ।

    सेयर बजार मापक सूचक नेप्से २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा पुगेको छ । यसदिन २०२ कम्पनीको १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ । ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचकमा गिरावट आएको छ । आज सबैभन्दा धेरै व्यापार समूहको परिसूचक २५.३१ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ८८.६८ अंकले घटेको छ ।

    आज लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै ९ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण काबेली पावर र नेपाल टेलिकमको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    घट्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी र आजैदेखि कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज शिवश्री हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.१७ प्रतिशतले गुमाएका छन् ।

  • ‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प

    ‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी मतगणनामा धाँधली भएको कारण आफू सर्वोच्च अदालतमा जाने बताएका छन् ।

    बुधबार ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरुले मतदान सकिएपछि पनि भोट हालेको कारण सर्वोच्च अदालत जान लागेको बताएका हुन् ।

    ‘हामी मतदानको विषयमा अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं।’ उनले भने।

    चुनाव जित्नै लागेको अवस्थामा धाँधली गरेर आफूलाई पछाडी पारिएको आरोप समेत उनले लगाएका छन् । चुनावको अन्तिम मत परिणाम आउन अझै केही समय लाग्न सक्छ । ट्रम्पले यस्तो दाबी गरिरहेपनि धेरै राज्यहरुबाट अन्तिम मतपरिणाम आउन बाँकी नै छ । जर्जिया, मिचिगन, नेभादा, उत्तरी कारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनलगायत राज्यको मतगणना सकिनैं बाँकी छ । यसमध्ये धेरैजसो राज्यमा ट्रम्प अगाडि देखिएका छन् । यद्यपी, मतान्त निकै साँघुरो भएकाले यी राज्यको पूर्ण नतिजा नआएसम्म कसले जित्न भनेर ठोकुवा गर्न कठिन छ ।

    कोरोना भाइरसका कारण यस वर्ष हुलाकमार्फत भोट खसाल्ने मतदाताहरुको संख्या ठूलो देखिएको छ, उनीहरुले निर्वाचन मितिभन्दा केही दिनअघि नै भोट खसालेका थिए ।

    यद्यपी, निर्वाचन सकिएपछि मात्रै उनीहरुको मतगणना हुन्छ । उनीहरुको मतगणना गर्न समय लागेकाले केही राज्यको अन्तिम मतपरिणाम आउन पनि ढिलाई भएको हो । ती मतदाताको प्रभाव निर्वाचनमा ठूलो पर्नसक्ने ठानिएको छ । (एजेन्सी)

  • पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन

    पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परको छ । महराकी पत्नी सीता महराको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ । उनमा निमोनियाको समस्या देखिएपछि दाङबाट १४ कात्तिकमा हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

    त्यसपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनको बुधबार बिहान साढे ६ बजे निधन भएको हो । १५ दिनदेखि भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा माइस्थेनियाको समस्या थियो ।

    सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले भन्ने गाउँमा जन्मेकी हुन् । महरासँग उनको विवाह २०३५ सालमा भएको हो । महराका उनका दुई छोरा र दुई छोरी छन्।

  • भारतीय सेना प्रमुख आज नेपाल आउँदै

    भारतीय सेना प्रमुख आज नेपाल आउँदै

    काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउने भएका छन् । उनलाई नेपाली सेनाले मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नेछ । भारतीय सेनाको विशेष विमानमार्फत् उनी बुधबार अपरान्ह काठमाडौं अवतरण गर्नेछन् ।

    नेपाल भारत पछिल्लो सीमा विवाद पछि पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । सोहीकारण यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन् ।

    उनले सोही दिन प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । शुक्रबार स्वदेश फर्कनु अगाडी उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    नेपाल–भारत सीमा विवाद उत्कर्षमा रहेका बेला विवादास्तपद अभिव्यक्ति दिएका उनको भ्रमणबारे सामाजिक संजालमा भने चर्को विरोध सुनिएको छ ।

    यद्दपी यो भ्रमणले विवाद कम गर्न भूमिका खेल्ने अपेक्षा भने गरिएको छ । भारतीय सेनाध्यक्ष नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

  • राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता

    राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता

    वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । अब यहाँ नतिजा आउन समेत थालेको छ । बुधबार बिहानसम्म कूल ५० मध्ये ९ राज्यको मतगणना सकिएको छ । जसमा डेमोक्रेट उम्मेदवार वाइडनले राष्ट्रपति ट्रम्पविरुद्ध शुरुवाती अग्रता लिएका छन् । वाइडनका पक्षका इलेक्टोरल कलेजका प्रतिनिधिको संख्या धेरै देखिएको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित बन्न भने न्यूनतम २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ ।

  • कोरोनाले मृत्यु भएपछि सेनाले गाडेको शव निकालेर ५ महिनापछि दाहसंस्कार

    कोरोनाले मृत्यु भएपछि सेनाले गाडेको शव निकालेर ५ महिनापछि दाहसंस्कार

    अर्घाखाँची । अर्घाखाँचीको एक परिवारले कोरोनाका कारण मृत्यु भएपछि सेनाले शव गाडेका आफ्ना बुबाको शव निकालेर पुनः दाहसंस्कार गरेका छन् । परम्परागत धार्मिक संस्कार अनुसार बुवाको दाहसंस्कार गर्न नपाई सेनाले गाडेको शव उत्खनन् गरी उक्त परिवारले शव जलाएको हो ।

    नेपाली संचारमाध्यमहरुका अनुसार अर्घाखाँचीका बाबुराम खनालले साढे चार महिना भन्दा बढी समयपछि बुवाको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका हुन् । उनका ५७ वर्षीय पिता यमप्रसाद खनालको जेठ २८ मा कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

    जेठ ३० मा नेपाली सेनाले घर नजिकै रहेको ठूलढुंगा भन्ने क्षेत्रमा उनको शव गाडिदिएको थियो । त्यस समय सरकारको प्रोटोकल अनुसार कोरोना संक्रमितको शव परिवारले हेर्न पाउने प्रावधान थिएन । सबै शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको थियो ।

    भारतबाट नेपाल फर्किएका यमप्रसादमा क्वारेन्टिनमा बसेको समयमा जेठ २३ मा कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । उक्त स्वाव हराएको भन्दै उनको २८ जेठमा दोस्रो पटक स्वाब संकलन गरिएको थियो। दोस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट ३० जेठमा मात्र आएको थियो ।

    त्यतिन्जेल उनको शव परिवारसँगै थियो । तर, कोरोना पुष्टी भएपछि भने सेनाले जबर्जस्ती लगेर गाडिदिएको थियो । उनको शव गाड्ने विषयमा समेत स्थानीयले अवरोध गरेका कारण समस्या भएको थियो ।

    घर नजिकै ल्याएर शव गाडेका कारण मानसिक पिडा हुने भएकाले उत्खनन् गरी दाहसंस्कार गरेको परिवारले जनाएका छन् । उनको पवित्र धार्मिक स्थल गुल्मीको रिडीमा दाहसंस्कार गरिएको छ ।

  • पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह

    पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुग्दा पार्टी एकता नै धरापमा परेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय बनेकी छिन् । उनले मंगलबार नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छिन्।

    साँझ राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा भण्डारीले उपाध्यक्ष गौतम समक्ष पार्टी विवाद समाधान गर्न निर्णायक भूमिका खेल्न आह्वान गरेको बताइएको छ ।

    राष्ट्रपतिले विगतमा जस्तै पार्टी एकता बचाउन भूमिका खेल्न राष्ट्रपतिले आह्वान गरेकी हुन् । उनले पार्टीलाई फुटबाट जोगाउन समेत बामदेवको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । जवाफमा गौतमले आफु एकताको रक्षाका लागि दत्तचित भएर लागेको बताएका थिए ।

  • अमेरिकामा  ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प

    अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प

    १० करोड बढिले ‘अर्ली’ मतदान गरि सकेपछि अमेरिकामा निर्वाचनको दिन सुरु भएको छ । सन् २०१६ मा खसेको कुल मतको ७३ प्रतिशत मतदान चुनावको दिन अघि नै भइ सकेको हो । सोमबार मध्यराती न्यू ह्यामसरको डिक्सभिल नोट्चमा भोट खसाएर ‘इलेक्सन डे’को औपचारिक सुरुवात गरियो ।

    अघिल्लो शताब्धिमा रेलरोडमा काम गर्ने कामदारका लागि मध्यराती वुथ खोल्ने गरिएको थियो । त्यही चलन पछि गएर अमेरिकी चुनाव औपचारिक शुभसाइतको रुपमा विकास भयो । डिक्सभिल नोट्चमा पाँच मत खसेकोमा सबै डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनले पाएका छन् ।

    यो चुनाव डोनाल्ड ट्रम्पका लागि जनमत संग्रह बराबर देखिएको छ । डेमोक्रेटिक पार्टीबाट पूर्व उपराष्ट्रपति बाइडेन उम्मेद्वार रहे पनि दुई प्रतिश्पर्धीको एजेन्डाका लागि भन्दा ट्रम्प समर्थन र विपक्षमा धेरै भोट खस्दैछ । चार बर्ष अघि ट्रम्पले अप्रत्याशीत नतिजा निकाल्दै राष्ट्रपति चुनिएयता अमेरिका दुई कित्तामा बिभाजित छ । यहाँ अहिले कि ट्रम्प समर्थक या विरोधी मात्र छन् । फरक नेता, विचार र चिन्तन नै गौण बन्न पुगेको छ । ट्रम्प विरोधी र समर्थक दुबैमा चुनावप्रति अत्यधिक उत्साह देखिएको कारण यसपाली १६ करोडसम्म भोट खसेर नयाँ रेकर्ड बन्ने अनुमान गरिएको छ । यो संख्या अमेरिकामा मताधिकार पाएका बालिकहरुको दुई तिहाई हो ।

    सन् २०१६ मा ट्रम्पले जितेका दक्षिणी राज्यहरु टेक्सास, एरिजोना, नर्थ क्यारोलिना, फ्लोरिडा, जर्जिया जस्ता राज्यमा अत्यधिक अर्ली भोटिङ भएको छ । यी राज्यमध्ये कुनैमा ट्रम्पले ५० प्रतिशतभन्दा कम भोट ल्याएरै जितेका थिए भने कुनैमा ५० प्रतिशत टेकाएका थिए । अहिले भएका मत सर्वेक्षणहरुमा टेक्सास बाहेक यी सबै राज्यमा ट्रम्प पछाडि देखिएका छन् ।  

    मंगलबार विहानसम्म हवाई, टेक्सास, वासिङ्टन र मोन्टेनामा सन् २०१६ मा खसेको कुलभन्दा धेरै मतदान भइ सकेको छ । फ्लोरिडा, नर्थ क्यारोलिना , जर्जिया, न्यू मेक्सिको, नेभाडा, कोलोराडो लगायत दक्षिणी राज्यहरुमा चार बर्ष अघिको तुलनामा ९० प्रतिशत माथि मतदान भइ सकेको छ । साधारणतया अर्ली भोटिङबाट डेमोक्र्याटले फाइदा लिँदै आएका थिए । तर, कोरोना भाइरस संक्रमणका कारण यसपाली धेरैले अर्ली भोटिङ रोजेका कारण यसैलाई लाभ भयो भन्नसक्ने अवस्था छैन ।

    टेक्सासले चक्मा देला ?

    अमेरिकामा दोस्रो घना आवादी भएको राज्य टेक्सास रिपब्लिनका लागि महत्वपुर्ण आधारस्तम्भ रहँदै आएको छ । ५५ इलेक्टोरल मत रहेको क्यालिफोर्निया डेमोक्र्याटका लागि जस्तो आधार हो ३८ इलेक्टोरल भोट रहेको टेक्सास रिपब्लिकनका लागि त्यस्तै हो । तर, यसपाली टेक्सासको परिचय बदलिएको छ । तुलनात्मक रुपमा कम भोट खस्ने टेक्सासमा यसपाली अर्ली भोटिङमै मतदाताको उत्साह पोखियो । कुल ९७ लाख अर्ली भोटिङ भएकोमा १० लाख मेल इन ब्यालेट हो भने बाँकी मतदाताले बुथमै उपस्थित भएर भोट खसाएका छन् । यो आँकडा सन् २०१६ को तुलनामा १०८ प्रतिशत हो ।

    चार बर्ष अघि टेक्सासमा ५२ प्रतिशत मत ल्याएर ट्रम्प विजयी भएका थिए । तेस्रो पक्षको उम्मेद्वारलाई धेरै भोट गएको कारण हिलारी क्लिन्टन आठ प्रतिशत बिन्दुको मतान्तरमा पराजित भइन् । तर, त्यसको दुई बर्ष पछि भएको सिनेट चुनावमा डेमोक्रेटिक प्रत्याशी बेटो ओ’रर्कले रिपब्लिकन सिनेटर टेड क्रुजसँगको मतान्तर दुई प्रतिशत बिन्दुमा खुम्च्याए ।

    २०१६ पछि मात्र टेक्सासमा १६ लाख बढि नयाँ मतदाता थपिएका छन् । उनीहरुमध्ये धेरै युवा, आप्रवासी एवं अन्य राज्यबाट टेक्सासमा बसाइँ सरेर जाने छन् । उनीहरुको धेरै मत आफुले पाउने कारणले पनि डेमोक्र्याटहरु यसपाली टेक्सासप्रति आशावादी छन् । चार बर्ष अघि तेस्रो पक्षको उम्मेद्वारलाई गएको अधिकांश मत बाइडेनले पाउने र आफ्नो पक्षका बहुमत मतदाता पनि थपिएको अवस्थामा चमत्कारि नतिजा निकाल्न सक्ने उनीहरुको ठम्याइ छ । त्यसमाथि देशब्यापी रुपमा बाइडेनले गोरा मतदातासँग क्लिन्टनको भन्दा राम्रो अवस्था बनाएका छन् । त्यो सुधार टेक्सासमा पनि झल्किनेछ ।

    फाइभ थर्टी एटको औषत आँकडा अनुसार अहिले टेक्सासमा ट्रम्प र बाइडेन दुबै जना ५० प्रतिशतभन्दा कम समर्थनको अवस्थामा छन् । ट्रम्पले बाइडेनलाई एक प्रतिशत बिन्दुले उछिनेका छन् । तर, टेक्सासमा सर्वेक्षकहरुले सँधै डेमोक्र्याटलाई कम नम्बर दिने गरेको कारण एक प्रतिशत बिन्दुको अन्तर निर्वाचनमा मेटिने डेमोक्रेटिक रणनीतिकारहरुको दावी छ ।

    डेमोक्र्याटको अवस्था सुधार हुँदै आएका शहरी काउन्टीहरु ह्यारिस,  डाल्लास, टेरान्ट , बेक्सार, ट्राभिस जस्ता घनावस्ती भएका स्थानमा यसपाली धेरै अर्ली भोटिङ भएको छ । सबैभन्दा धेरै २४ लाख रजिष्टर मतदाता रहेको ह्यारिस काउन्टीमा ५८ प्रतिशतले भोट खसाइ सकेका छन् । हुस्टन नगर रहेको यो काउन्टीमा सन् २०१८ मा सिनेट उम्मेद्वार ओ’रर्कले ५८ प्रतिशत मत ल्याएका थिए । मतदान बढेको अहिलेको अवस्थामा बाइडेनको जित मार्जिन बढ्ने आँकलन गरिएको छ । ओ’रर्कले ७४ प्रतिशत भोट ल्याएको साढे आठ लाख मतदाता रहेको ट्राभिस काउन्टीमा ६४ प्रतिशतले भोट खसाइ सकेका छन् । यो काउन्टीमा अष्टिन नगर क्षेत्र पर्छ । डेमोक्र्याट तिर निरन्तर ढल्कि रहेको कोलिन काउन्टीमा ७० प्रतिशत रजिष्टर मतदाताले भोट खसाइ सकेका छन् । टेक्सासको नतिजा मंगलबार मध्यरातीसम्ममा आउनेछ । यदि यो राज्य डेमोक्र्याटले खोसे भने ट्रम्पको पुनर्निर्वाचित हुने सबै सम्भावना त्यँही अन्त्य हुनेछन् ।

    ह्यारिक काउन्टीमा ड्राइभ थ्रु भोटिङका लागि जाँदै मतदाता । तस्वीरः हुष्टन क्रोनिकल्स

    डेमोक्रेटिक क्षेत्रको मतदान बढेपछि तिलमिलाएका रिपब्लकिनहरु सर्वसाधारणलाई मतदानमा कठिनाइ उत्पन्न गराउन हरतरहको प्रयास गरि रहेका छन् । ह्यारिस काउन्टीले मतदातालाई सहज पार्न ड्राइभ थ्रु भोटिङ बुथ सञ्चालनमा ल्याएको छ । त्यहाँबाट सवा लाख बढिले भोट खसाइसकेपछि रिपब्लिकहरु ती भोट बदरको माग गर्दै अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए । टेक्सासको सर्बोच्च अदातल र हुष्टन स्थित संघीय अदालत दुबैले रिपब्लिकनको रिट खारेज गरिदिएका छन् ।

    संशय बढाउँदै ट्रम्प

    मत सर्भेक्षणमा निरन्तर पछि परेपछि अमेरिकी राष्ट्रपति ट्रम्प भने निर्वाचनबारे भ्रमपूर्ण सूचना सम्प्रेषण गरि रहेका छन् । यसले शान्तिपुर्ण रुपमा चुनाव सम्पन्न हुने र विजेता घोषित हुने सम्भावनामा संकट देखिएको छ । ट्रम्पले चुनावको दिन हुलाकको छाप लागेको मेल इन ब्यालेट सम्बन्धित निर्वाचन अधिकारीले पछि पाए पनि मत गणना गरिने व्यवस्था बिरुद्ध निरन्तर भ्रम छरि रहेका छन् । यस्तो मतदानले धाँदली बढ्ने उनको दावी छ ।

    तर, अमेरिकामा यसरी मतदान भएको यो पहिलो पटक होइन । हरेक निर्वाचनमा राज्यहरुले पछि आएका मतपत्र स्वीकार गर्दै आएका छन् । बिशेष गरि पेन्सिलभेनिया जित्नै पर्ने दवावमा रहेका ट्रम्प त्यहाँ निर्वाचनको तीन दिन पछिसम्म आएका मतपत्र गणना गर्ने नियमको सख्त विरोधमा छन् । यो व्यवस्था खारेज गराउन ट्रम्प क्याम्पेन एवं रिपब्लिकन नेतृत्व सर्बोच्च अदालतसम्म पुगेको थियो । कतै पनि उपाय नलागेपछि उनी अहिले अदालत बिरुद्ध खनिन थालेका छन् ।

    चुनावकै दिन परिणाम नआए शान्ति खलबलिने भन्दै ट्रम्पले धम्की समेत दिएका छन् । आफुले भने जसरी निर्वाचन परिणाम नआए जे पनि हुन सक्ने भन्दै उनले गरेको ट्विटप्रति ट्विटरले चेतावनीको संकेत राखेको छ । आफ्ना समर्थकहरुले गरेको हुल हुज्जत एवं विपक्षी क्याम्पेनप्रतिको दुर्व्यवहारलाई ट्रम्पले बचाउ गर्दै आएका छन् । गत साता टेक्सासमा ट्रम्प समर्थकले हाइवेमा गुडि रहेको बाइडेन क्याम्पेनको बसलाई चारैतिरबाट घेरेर सडक छोड्न बाध्य बनाएका थिए । त्यो घटनामा एफबिआईले समेत अनुसन्धान सुरु गरेको छ । तर, ट्रम्प आफ्ना समर्थकले बसलाई सुरक्षा दिएको र उनीहरु निर्दोष रहेको दावी गर्दै आएका छन् । न्यूयोर्कमा पनि गत साता ट्रम्प समर्थकले जथाभावी गाडी रोकेर न्यूजर्सी जोड्ने एउटा प्रमुख पुल नै ठप्प पारिदिएका थिए ।

    राष्ट्रपतिले नै निर्वाचनको परिणामप्रति शंसय बढाएर अशान्ति फैलिने चेतावनी दिएपछि पहिलो पटक अमेरिकी लोकतन्त्र र शान्तिपुर्ण सत्ता हस्तान्तरण प्रकृयाप्रति चिन्ता बढेको छ । न्यूयोर्क जस्ता ठूला सहरका बैंक एवं व्यवसायीक भवनमा लुटपाटको डरले शिशा बाहिरबाट काठ ठोक्न थालिएको छ । ट्रम्प आफैँले ह्वाइट हाउस बाहिर अतिरिक्त बारबेरा लगाउन अह्राएका छन् । हरेक चार बर्षमा शान्तिपुर्ण तवरले हुँदै आएको चुनावमा यसपाली ह्वाइट हाउसलाई किन अतिरिक्त सुरक्षा बेरा चाहियो भन्ने बारे ट्रम्प प्रशासनले केही बताएको छैन ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको हो ।
    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ।

    गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २४ जनाको मृत्यु भएको थियो।

  • लयमा फर्कियो सेयर बजार, लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम

    लयमा फर्कियो सेयर बजार, लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम

    काठमाडौं । सेयर बजार लयमा फर्किएको छ । यस साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार आज सुधार आएको छ ।

    सेयर बजार मापक सूचक नेप्से ५.४० अंकले बढेर १६४३.०४ विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र विकास बैंक समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज सबैभन्दा धेरै निर्जीवन समूहको परिसूचक १७६.८६ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक १६.२१ अंकले घटेको छ ।

    आज लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम परेको छ । यसको सबैभन्दा धेरै १० करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा एनआइसी एशिया र प्राइम कमर्शियल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त, पाँचथर पावर र शिवश्री हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज महालक्ष्मी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै २.५५ प्रतिशतले गुमाएका छन् ।

  • ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?

    ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?

    काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ ।

    चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा रहेको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् ।

    जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको प्रतिष्पर्धामा रहेका छन् भने ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

    अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने गर्छ। त्यसैले आज नोभेम्बर ३ नेपाली समय अनुसार राती हुने निर्वाचनको परिणाम सबैको चासोको विषय बनेको छ।

    अमेरिकी राजनीतिक प्रणालीमा विशेषगरी दुईवटा पार्टीको वर्चस्व रहेको छ। ती दुईमध्ये एक पार्टीका उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने गर्छन्।

    रिपब्लिकनहरू अमेरिकाका परम्परावादी राजनीतिक पार्टीका हुन् र यो वर्षको निर्वाचनमा उनीहरूका उम्मेदवार पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प हुन्। उनी आगामी चार वर्षको कार्यकालका लागि पुनः निर्वाचित हुन चाहन्छन्।

    डेमोक्र्याटहरू अमेरिकाको उदारवादी भनिने राजनीतिक पार्टीका हुन् र उनीहरूका उम्मेदवार यो वर्ष जो बाइडन छन्।

    उनी एक अनुभवी राजनीतिज्ञ हुन् र यसअघि उनले राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आठ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका छन्।

    राष्ट्रपति पदका ती दुवै पुरुष उम्मेदवार उमेरले ७० वर्षभन्दा माथिका छन्। ट्रम्प ७४ वर्ष पुग्नै लागे भने बाइडन ७८ वर्षका भए।

    विजेताको निर्णय कसरी हुन्छ ?

    अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्नेछन्।

    अमेरिकाको प्रत्येक राज्यको हकमा निश्चित सङ्ख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ, जुन केही हदसम्म राज्यहरूको जनसङ्ख्याका आधारमा तोकिएको हुन्छ।

    जम्मा ५३८ वटा इलेक्टोरल कलेज मत उपलब्ध छ। जुन उम्मेदवारले २७० भन्दा बढी त्यस्तो मत प्राप्त गर्न सक्छ उही विजयी ठहरिन्छ।

    यसको अर्थ सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् राष्ट्रियस्तरमा होइन।

    यही कारणले गर्दा राष्ट्रिय स्तरमा वा देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजले गर्ने मतदानमा पराजित हुनसक्छ।

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यस्तै भएको थियो। देशभरि भएको कुल मतदानमा हिलरी क्लिन्टनले पाएको कुल मत धेरै थियो तर इलेक्टोरल कलेज वा निर्वाचक मण्डलमा धेरै मत पाएका डोनल्ड ट्रम्प राष्ट्रपति भएका थिए।

    अमेरिकामा दुईवटालाई छाडेर बाँकी सबै राज्यमा जो जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ।

    यस हिसाबले धेरैजसो राज्यहरू दुईमध्ये एक पार्टीको पक्षमा राम्रैसँग ढल्केको पाउन सकिन्छ। त्यसैले यसरी मतदाताको झुकावमा स्पष्टता नदेखिएका एक दर्जनजति राज्यमा नै चुनाव प्रचारप्रसार धेरै जसो केन्द्रित हुने गर्छ। यस्ता राज्यहरूलाई ब्याटलग्राउन्ड स्टेट वा सुइङ्ग स्टेट पनि भन्ने गरिन्छ।

  • कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

    कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

    पोखरा । व्यापारिक पृष्ठभूमीका सांसद सूर्यबहदुर केसीको निधन भएको छ । उनी प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्थे । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । उनको मंगलबार अन्तिम संस्कार हुने भएको छ ।

    उनी २०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए । उनलाई नेपाली कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्य बनाएको थियो । ६५ वर्षीय केसी मिर्गौलाको समस्यासँग जुधिरहेका थिए । सोमबार अचानक रक्तचाप कम भएको र ज्यान गएको बताइएको छ । उनले संसदमा राप्रपाको तर्फबाट पनि प्रतिनिधित्व गरिसकेका छन् ।

  • अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?

    अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?

    वासिंटन । अमेरिकामा आगामी चार वर्षे कार्यकालको छिनोफानो हुने गरी आज राती राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिकामा मुलुक बाहिर रहेका नागरिकले समेत मतदानमा भाग लिन सक्ने प्रावधान छ ।

    सोही अनुसार करोडौं मानिसले मतदान गरिसकेका छन् । यद्दपी अमेरिका भित्र हुने निर्णायक मतदानले राष्ट्रपतिका उमेदवारको भविश्य निर्धारण गर्नेछ ।

    कोरोना महामारीबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकाको बढ्दो स्वास्थ्य संकट, आर्थिक संकट र जातिय, वर्गिय तथा सामाजिक समस्या सम्बोधनमा जनतालाई आश्वस्त पार्न सक्ने उमेदवारले नै यो पटक निर्वाचन जित्ने छन् ।

    कोरोना महामारीबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकाको बढ्दो स्वास्थ्य संकट, आर्थिक संकट र जातिय, वर्गिय तथा सामाजिक समस्या सम्बोधनमा जनतालाई आश्वस्त पार्न सक्ने उमेदवारले नै यो पटक निर्वाचन जित्ने छन् ।

    अमेरिकी राष्ट्रपति पद संसारकै शक्तिशाली पद भएका कारण यो पदका लागि ठूलो प्रतिस्पर्धा हुने गर्छ । संसारभर चासोका साथ अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई लिने गरिन्छ । यो पटक मत सर्वेक्षणमा वाइडन केही अगाडी देखिएका छन् ।

    यद्दपी सर्वेक्षणको विश्वसनीयतामा भने सन् २०१६ कै निर्वाचनमा प्रश्न उठिसकेको छ । यो वर्ष ट्रम्प सर्वोक्षणमा निकै पछाडी थिए । तर, उनले निर्वाचन जितेका थिए । ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड छ । अमेरिकामा १८ वर्ष पूरा भएको नागरिकले मतदान गर्न पाउँछ ।

    अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जनताको प्रत्यक्ष मतसँगै इलोक्ट्रोल कलेजको मत समेत निर्णायक हुन्छ । कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिमा निर्वाचित हन्छ ।

    सोही व्यवस्था अनुसार जनमत अधिक ल्याए पनि उमेदवार राष्ट्रपति बन्नबाट रोकिन सक्छन् । इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसंख्या, सिनेटरको संख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।

  • अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

    अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

    चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् ।

    प्रभात भट्टराई

    तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो । लामो समय देखि डेमोक्र्याटले जित्दै आएका मिसिगन, पेन्सिलभेनिया र विसकनसन ट्रम्पले हत्याए । सवा करोड बढि मत खसेको तीन राज्यमा ट्रम्पको विजयी ‘मार्जिन’ थियो ७७ हजार भोट । यही अन्तरले उनलाई मिसिगनको १६, विसकनसनको १० र पेन्सिलभेनियाको २० गरि कुल ४६ इलेक्टोरल मत दिलायो । यी तीन राज्यमा उनले क्रमशः १० हजार, २२ हजार र ४४ हजार मतान्तरको जित निकालेका थिए । यही जितबाट कुल ३०६ इलेक्टोरल मत ल्याएर ह्वाइट हाउसको बाटो तय गरेका ट्रम्पले यी तीन राज्य गुमाएका भए इलेक्टोरल मत २६० मा खुम्चिने थियो । क्लिन्टनको इलेक्टोरल भोट २३२ बाट बढेर २७८ पुग्ने थियो र राष्ट्रपति निर्वाचित हुन चाहिने २७० इलेक्टोरल मतको ‘थ्रेसहोल्ड’ पार गर्ने थिइन् ।

    धेरैले निर्वाचन परिणामप्रति आश्चर्य माने । तर, राजनीतिक पण्डितहरुले तथ्यांकभन्दा धेरै आत्मविश्वासले हिलारी जित्ने आँकलन गरिदिएका थिए । राजनीतिक बाहिरिया त्यसमाथि अनेक विवादमा फसेका ट्रम्पलाई जनताले पत्याउँछन् भन्नेमा विश्लेषक सहमत थिएनन् । उनीहरुले आफुलाई जे लाग्छ त्यसैलाई प्राथमिकतामा राखेर बोले । अमेरिका मात्र होइन दुनियाँभरलाई नै लाग्यो- हिलारीको जित निश्चित छ । सबैभन्दा बढि आत्मविश्वास हिलारीमै देखियो । उनी ‘विसकनसन त त्यसै जितिहालिन्छ’ भनेर प्रचारका लागि समेत पुगिनन् ।

    राजनीतिक पण्डितहरुले हिलारीलाई विजेता घोषणा गर्न जस्तोसुकै होड चलाए पनि तथ्यांकले त्यसो भनि रहेको थिएन । अधिकांश मत सर्वेक्षणमा हिलारी अगाडी त थिइन् तर ठूलो संख्याका मतदाता अनिर्णित नै थिए । चुनावको एक साता अघिसम्म पनि देशब्यापी रुपमा २० प्रतिशत मतदाताले भोट हाल्ने उम्मेद्वार तय भइ नसकेको जवाफ मत सर्वेक्षकलाई दिएका थिए । क्लिन्टनले ५० प्रतिशतको थ्रेसहोल्ड छुन कहिल्यै सकेकी थिइनन् ।

    देशब्यापी सर्वेक्षणको तुलनामा प्रतिश्पर्धी राज्यका मतदाता झनै अनिर्णित थिए । अन्तिम समयसम्म अनिर्णित रहेका मतदातालाई एफबिआईका तात्कालिन निर्देशन जिम कोमीको एउटा कदमले ट्रम्पतिर धकेल्न मद्दत गर्यो । कोमीले चुनावको ११ दिन अघि क्लिन्टनले निजी सर्भरमा सरकारी इमेल चलाएको बारे अनुसन्धान नसकिएको जानकारी संसदलाई दिए । त्यो समाचारले क्लिन्टनको छवि माथि थप संशय बढायो । उनीसँग सुरु देखिनै बहुमत जनता असन्तुष्ट नै थिए । आम जनताको नजरमा क्लिन्टन र ट्रम्प दुबै लोकप्रिय उम्मेद्वार थिएनन् । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार निर्वाचनको दिन क्लिन्टनको फेवरिबिलिटी ऋणात्मक १३ पोइन्ट थियो भने ट्रम्पको ऋणात्मक २१ पोइन्ट । अर्थात क्लिन्टनलाई ४२ प्रतिशत सर्वसाधारणले मन पराउँथे भने उनलाई नरुचाउने संख्या ५५ प्रतिशत थियो । ट्रम्पलाई मन पराउनेको संख्या ३८ प्रतिशत मात्र थियो । उनीप्रति नराकात्मक धारणा राख्ने ५९ प्रतिशत थिए । यो पृष्ठभूमीमा पटक पटक राजनीतिक अवसर पाएर विवादित भएकी क्लिन्टनभन्दा राजनीतिक बाहिरिया ट्रम्पप्रति निर्णायक राज्यका बहुमत अमेरिकीले झुकाव राखे ।

    सबैलाई थाहा छ देशब्यापी रुपमा ट्रम्पले क्लिन्टनभन्दा ३० लाख कम भोट ल्याएका थिए । यो आँकडा चुनावको मुखमा गरिएको मत सर्भेक्षणको औषत तथ्यांकसँग ठ्याक्कै मिल्छ । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार चुनावको दिन बिहान हिलारी ट्रम्पभन्दा तीन प्रतिशत विन्दुले अघि थिइन् । र, उनलाई भोट हाल्न निश्चित भएका सर्वसाधारणको संख्या थियो ४७ प्रतिशत । ट्रम्प ४४ प्रतिशतमा थिए । कतिपय देशब्यापी सर्वेक्षणमा ट्रम्पले हिलारीलाई उछिनेका समेत थिए । त्यसैले दुई अलोकप्रिय उम्मेद्वारको भिडन्तमा त्यही शैलीको नतिजा २०१६ मा आएको हो ।

    २०१६ र २०२० को मत सर्वेक्षणमा फरक।

    पेन्सिलभेनिया, मिसिगन र विसकनसन कुनै पनि राज्य ट्रम्पले खसेको ५० प्रतिशत भोट ल्याएर जितेका होइनन् ।  ट्रम्प र क्लिन्टन दुबैप्रति आजित ठूलो संख्याका मतदाताले तेस्रो पक्षको उम्मेद्वारलाई भोट दिए । सोही कारण पेन्सिलभेनियामा ४८.२, मिसिगनमा ४७.३ र विसकनसनमा ४७.२ प्रतिशत मत ल्याएर पनि ट्रम्प विजयी हुन पुगे । सन् २०१२ र २००८ को दुबै निर्वाचनमा यी राज्यमा बाराक ओबामाले सहज ५० प्रतिशत माथि भोट ल्याएका थिए । यी तीन मात्र होइन फ्लोरिडा, नर्थ क्यारोलिना जस्ता राज्यमा पनि ट्रम्प ५० प्रतिशत मतको थ्रेसहोल्ड नछोइ विजयी भएका थिए । लामो समय रिपब्लकिन राज्यको रुपमा चिनिएको एरिजोनामा पनि ५० प्रतिशत मत नपुर्याई ट्रम्पले जितेका थिए । यसले पनि पुष्टि गर्छ ट्रम्पले कुनै लोकप्रियताका आधारमा २०१६ को चुनाव जितेका थिएनन् । क्लिन्टनको विवादित छवि र अलोकप्रियताको मात्र फाइदा उठाएका थिए, जहाँ उनले शंकाको सुविधा पाए ।

    यसपाली के फरक छ ?

    यसपालीको चुनावमा सबैभन्दा ठूलो फरक त उम्मेद्वारको व्यक्तित्वमा नै देखिएको छ । बाइडेन हिलारी जस्तो अलोकप्रिय छैनन् भने ट्रम्प चार बर्ष अघिकै ठाउँमा छन् । ओबामाको लोकप्रिय आठ बर्षे शासनकालमा उपराष्ट्रपति रहेका राजनीतिज्ञ बाइडेन कुनै गम्भीर विवादमा मुछिएका छैनन् । एफबिआई निर्देशकको कदमपछि २०१६ मा हिलारी क्लिन्टन पराजित भएको जस्तै घटनालाई यसपाली पनि ट्रम्प र उनका हितैषीले दोहोर्याउन नखोजेका होइनन् । बाइडेन पुत्र हन्टरले चिनियासँग ब्यापार गर्न खोजेको र त्यसमा जो बाइडेनले पनि साथ दिएको बनावटी घटना चुनावको मुखमा ट्रम्प भित्रियाहरुले तयार पारेका थिए । तर, उनीहरु सफल भएनन् किनभने अमेरिकी जनताले त्यसमा चासो दिएनन् ।

    सबैभन्दा ठूलोकुरा ट्रम्प अहिले २०१६ जस्तो राजनीतिक बाहिरिया होइनन् । उनी बहालवाला राष्ट्रपति हुन् र कोरोना भाइरसप्रति उनको हेलचेक्राइँको परिणाम स्वरुप दुई लाख ३० हजार अमेरिकीले ज्यान गुमाइ सकेका छन् । संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । भाइरसले सिर्जना गरेको आर्थिक मन्दीका कारण दशौँ लाखले रोजगारी गुमाइ सकेका छन् । सरकारी तथ्यांक अनुसार नै आठ प्रतिशत अमेरिकी बेरोजगार छन् । यी सबै तथ्यांक उपर जनताले ट्रम्पको जवाफ खोज्छन् ।  

    अर्कोतर्फ बाइडेनप्रति बहुमत अमेरिकीको सकारात्मक धारणा देखिएको छ । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार उनीप्रति ५१ प्रतिशत अमेरिकीले सकारात्मक धारणा राखेका छन् । जस अनुरुप उनको फेवरिबिलिटी सात पोइन्टले धनात्मक छ । ट्रम्पको फेवरिबिलिटी १३ पोइन्टले ऋणात्मक छ । उनलाई मन पराउने अमेरिकी ४२ प्रतिशत छन् भने ५५ प्रतिशत उनीप्रति सकारात्मक छैनन् । देशब्यापी रुपमा भएका अधिकांश गुणस्तरीय सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा दोहोरो अंकले अघि छन् । सबै सर्वेहरुको औषत तथ्यांक निकाल्ने फाइफ थर्टी एटको विवरण अनुसार देशब्यापी रुपमा बाइडेन आठ अंकभन्दा ठूलो अग्रतामा छन् र उनलाई ५२ प्रतिशत अमेरिकीले भोट हाल्ने निधो गरि सकेका छन् । यो अग्रता सन् २००८ को चुनावमा बारक ओबामाले लिएको भन्दा पनि ठूलो हो । कुन्निपियाक विश्वविद्यालय, एनबिसी न्यूज /वालस्ट्रिट जर्नल, लस एन्जलस टाइम्स, सिएनएन जस्ता उच्च कोटीका सर्वेमा बाइडेन दोहोरो अंकको अग्रतामा छन् । फक्स न्यूज, सर्भे युएसए, सुफोल्क विश्वविद्यालय, न्यूयोर्क टाइम्स आदीको सर्वेमा आठ अंकको अग्रता बाइडेनलाई छ र प्रष्ट ५० प्रतिशत माथिको समर्थन पाएका छन् । चुनावको मुखमा चार बर्ष अघि प्रायः यी सबै सर्वेमा क्लिन्टनको अग्रता दुई देखि पाँच प्रतिशत हाराहारी मात्र थियो । लस एन्जलस टाइम्सको सर्वेमा त ट्रम्पले अग्रता लिएका थिए ।

    भर्जिनियाको फेयरफ्याक्स काउन्टीका मतदाता अर्लि भोट खसाउँदै, तस्वीरः फेयरफ्याक्स काउन्टी

    अति प्रतिश्पर्धी १० राज्यमध्ये आठ वटामा बाइडेनको अग्रता छ । सन् २०१६ मा हिलारीले जितेका राज्यमा उनी सहज अवस्थामा यथावत छन् । ती राज्य जितेको खण्डमा राष्ट्रपति चुनिन चाहिने पेन्सिलभेनिया, मिसिगन र विसकनसनमा बाइडेनलाई ५० प्रतिशत माथिको समर्थन छ भने छ देखि १० अंकसम्मको अग्रता लिएका छन् । सबै राज्यमा चार बर्ष अघि जस्तो तेस्रो पक्षको उम्मेद्वारलाई भोट हाल्ने मतदाता नगन्य छन् । फ्लोरिडा, जर्जिया, एरिजोना, नर्थ क्यारोलिना जस्ता ट्रम्पले जितेका राज्यमा पनि बाइडेनको निरन्तर अग्रता छ । लामो समय रिपब्लिकनको एकछत्र रहेको टेक्सासमा समेत बाइडेन र ट्रम्प बराबरको प्रतिश्पर्धामा देखिएका छन् ।  त्यसैले बाइडेन क्लिन्टनको तुलनामा धेरै सहज निर्वाचन लड्दैछन् ।

    कोरोना भाइरस महामारी, अन्तर्राष्ट्रिय जगतमा गिर्दो अमेरिकी छवी जस्ता कारणले आजित अमेरिकी ट्रम्पप्रति क्रुद्ध छन् । निर्वाचनको मुख्य दिन (नोभेम्बर ३) अघि नै २०१६ को तुलनामा दुई तिहाइ मत खसाएर अमेरिकी जनताले यो चुनावप्रतिको चासो पुष्टि गरि सकेका छन् ।

    बाइडेन अमेरिकी कामकाजी बर्गको प्रतिनिधित्व गर्छन् । क्लिटनलाई अभिजात बर्गको आक्षेप थियो । कामकाजी वर्गसँगको निकट सम्बन्धकै कारण रिपब्लकिनको आधार भनेर चिनिने कलेजको शिक्षा नलिएका गोराहरुको समेत उनलाई क्लिन्टनभन्दा धेरै समर्थन देखिएको छ । त्यसबाहेक महिला र बृद्धहरु पनि ठूलो संख्यामा बाइडेनसँग छन् । २०१६ को चुनावको पूर्व सन्ध्यामा क्लिन्टनलाई महिलाको साथ ट्रम्पभन्दा १४ पोइन्टले धेरै थियो । अहिले बाइडेन २१ पोइन्टले अघि छन् । ६५ बर्षमाथिका बुढापाका पाँच पोइन्ट बढि ट्रम्पसँग थिए । अहिले १० पोइन्ट बढिले बाइडेनको साथ दिएका छन् । कोरोना भाइरस प्रतिको वेवास्ताकै कारण धेरै बुढापाका र महिला ट्रम्पप्रति रुष्ट हुन पुगेका हुन् ।

    यो यथार्थबीच चार बर्ष अघिजस्तै चमत्कारी जित निकाल्ने दावी ट्रम्पले अहिले पनि दोहोर्याएका त छन् तर सबै घटनाक्रमले पुष्टि गरि सकेको छ यो चुनाव २०१६ को भाग दुई अवश्य होइन ।

  • बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ

    बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ

    काठमाडौं । बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । सरकारको सिफारिसमा नियुक्त भएका तीन राजदुतले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

    बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित उच्च सरकारी अधिकारी उपस्थित थिए । उनीहरुलाई सरकारले साढे दुई महिनाअघि राजदूतमा नियूक्त गरेको हो। यसबीचमा संसदीय सुनुवाईको प्रक्रिया पुरा भएसँगै उनीहरुले औपचारिक जिम्मेवारी पाएका हुन् ।

  • सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक

    सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानलाई अवरोध गरेको छ । सडकमा खाना खुवाउँदा सरकार र महानगरपालिकाको बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण बन्द गर्न निर्देशन दिएको अभियन्ताहरुलाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।

    सामाजिक अभियन्ताको पहलमा कोरोना भाइरसको महामारीपछि खुलामञ्चमा समस्याका कारण भोकै रहेका श्रमिक, गरीब तथा असहाय नागरिकलाई खाना खुवाउने गरिएको छ । तर, महानगरले भने नगर प्रहरी नै पठाएर खाना वितरणमा अवरोध गरेको हो ।

    पछिल्लो तीन दिन यता महानगरले यो अभियानमा रोक लगाउन थालेको हो । मेयरसावको आदेश भन्दै खाना वितरणमा अवरोध हुने गरेको छ । महानगरपालिकाले समेत खाना वितरण रोकेको स्वीकार गरेको छ ।

    अहिले सडकमा खाना वितरण गर्नु पर्ने कोही व्यक्ति नभएको निष्कर्ष निकाल्दै खाना वितरण बन्द गर्न लगाइएको महानगरपालिका स्रोतलाई उल्लेख गर्दै संचारमाध्यमले लेखेका छन् । सार्वजनिकस्थलमा फोहोर भएको तथा सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भएको निष्कर्षमा महानगर पुगेको हो ।

  • नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

    नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ४ सय ४६ पीसीआर परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार १ सय ५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ।