Category: फिचर

  • नेपालमा थप १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

    नेपालमा थप १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २०५ जनाको पीसीआर परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १०५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५६ हजार ४ सय २८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर २० हजार८९१ जना सक्रिय संक्रमित छन्।

  • कुवेतका राजा सवाहको अमेरिकामा निधन

    कुवेतका राजा सवाहको अमेरिकामा निधन

    काठमाडौं । कुवेतका राजा शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनी जुलाई १८ मा अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएपनि स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारको लागि उनी जुलाई २३ मा अमेरिका गएका थिए ।

    उनमा अमेरिकी अस्पतालमा के को उपचार भइरहेको थियो भन्ने चाँही खुलाइएको छैन । उनी सन् २००६ देखि कुवेतको राजा बनेका थिए । सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आएका नेता हुन् । उनको निधनमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा भएको छ ।

    तीन दिनका लागि सबै कार्यालय बन्द भएका छन् । सभा अलको निधनपछि अब कुवेतमा उनका भाइ शेख नवाफ अल अहमद अल सबाहले राज्य सम्हालेका छन् । भाई ८३ वर्षीय हुन् । यसअघि शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि राज्य उनैले सम्हालेका थिए ।

  • रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

    रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

    काठमाडौं । मंगलबार विश्वभर एक खबर सनसनिपूर्ण रुपमा फैलियो, रसियाले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालले साढे २ करोड डोज खरीद गर्न सम्झौता गरेको छ । त्यो सम्झौता पनि सरकारी निकायले होइन, निजी कम्पनीले ।

    धेरैका लागि अपत्यारिलो लाग्ने यो खबर वास्तविक भएको पुष्टी त्यति बेला भयो, जब रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले यसको घोषणा गर्यो र भन्यो, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’ ‘स्पुतनिक–भी’ रसियाले बनाइरहेको नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो ।

    यस खबरबारे विश्वभर प्राथमिकताका साथ समाचार बनेका छन् । रोयटर्सदेखि भारतीय मिडियासम्मका समाचारमाध्यमले यसलाई समाचारमा समेटेका छन् । तर, यता सरकारी नियका भने यो सम्झौताबारे बेखर देखिएका छन् ।

    महामारीविरुद्ध खोप ल्याउने र जनतालाई वितरण गर्ने दायित्व सरकारको हो । तर, खोपको अन्तिम परीक्षण नहँदै नेपालका लागि यो खोपको आयातकर्ताका रुपमा एक निजी कम्पनीले सम्झौता गरिसकेको छ । तर, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभागलगायत नेपालका सरकारी आधिकारी निकायलाई भने यसबारे खबरै नभएको पाइएको छ ।

    अहिले ‘स्पुतनिक–भी’को तेस्रो चरणका परीक्षण भइरहेको छ । मध्यअक्टोवरसम्म यसको परीक्षण पुरा हुने अपेक्षा गरिएको छ । त्यसो भएमा छिट्टै खोप बजारमा आउने तथ्य भने पक्का भएको छ । तर, खोपको उत्पादन थालिएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति अनिवार्य हुन्छ ।

    विश्वभर १ सय ४० भन्दा बढी खोपको परीक्षण भइरहेको छ । यसमा मुलुकहरुले अर्बौ रुपैयाँ खर्च गरिरहेका छन् । उनीहरु त्यो खर्च खोप बेचेरै उठाउन चाहन्छन् । सोहीकारण अब मुलुकहरुले आफ्नो बजारको खोजी शुरु गरिसकेका छन् ।

    त्यसक्रममा रुसले नेपालको निजी कम्पनीमार्फत नेपाल छिर्न खोजेको स्पष्ट भएको छ । यसमा अप्रत्यक्ष रुपमा सरकारी मान्छेहरुले समेत साथ दिएका छन् । किनकी ट्रिनिटी नामक कम्पनी तत्कालीन एमाले निकट स्वास्थ्य सामाग्री आपूर्तिकर्ता विशाल पण्डित संलग्न रहेको कम्पनी हो ।

  • ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…

    ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…

    काठमाडौं । मेहेन्दी एक सौन्दर्य प्रशासन हो । यसले सुन्दरता थप्ने विश्वासमा प्रयोग गरिन्छ । तर, नेपालमा केही व्यक्तिले ब्रोइलर कुखुराको चल्लालाई लोकल कुखुरा बनाउन मेहेन्दी प्रयोग गर्ने खुलेको छ । रोचक तथ्य त यसरी लोकलमा परिणत भएको कुखुरा सधैभरी लोकल नै बन्दैन ।

    १०\ १२ दिनपछि यसको आफ्नो वास्तविक स्वरुप खुल्छ र ग्राहकले आफु ठगिएको पत्ता पाउँछ । आज यस्तै ठगीमा संलग्न व्यापारीहरु पक्राउ परेका छन् । आज चार जना भारतीय नागरिक ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेका हुन ।

    प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह छन् ।

    उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा बिक्री गर्दै आएको खुलेको छ । १० रुपैयाँ प्रतिगोटा मूल्यमा किनेका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु. १५० सम्ममा विक्री गर्ने गरेको समेत प्रहरीले बताएको छ ।

    प्रहरीलाई आएको सूचनाका आधारमा प्रहरी उनीहरुसमक्ष पुगेको थियो । प्रहरीले उनीहरुको साथबाट रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला बरामद गरेको छ ।

  • लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने

    लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने

    काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले चालेको लकडाउन तथा निषेधाज्ञाका कारण मिटर रिडिङ हुन नसकेका वा छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । बन्दाबन्दीको समयमा नेपाल विद्युत प्राधिकरणका धेरै ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ छुटेको छ ।

    प्राधिकरण आफैले मिटर रिडिङ नगर्ने र उल्टो जरिवाना हुन लागेको गुनासो ग्राहकबाट आउन थालेपछि उर्जा मन्त्री वर्षमान पुनले जरिवाना नउठाउन निर्देशन दिएका हुन् ।

    ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

    उनले जरिवाना लिइसकेको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न समेत निर्देशन दिएका छन् । मन्त्री पुनले यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसक्ने अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन समेत उनले निर्देशन दिएका छन् ।

    सोहीअनुसार प्राधिकरणले जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिएको छ । मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न समेत निर्देशन दिएका छन् ।

    कुलमानको विदाईसँगै प्राधिकरण व्यवस्थापनलाई सोहीअनुसार चुस्त राख्न अहिले उर्जा मन्त्री पुनलाई निकै हम्मेहम्मे परिरहेको छ ।

  • तातोपानी नाका १९ असोजबाट खुल्ने

    तातोपानी नाका १९ असोजबाट खुल्ने

    काठमाडौं । दशैंको मुखमा सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ । नाका १९ असोजबाट खुल्ने निर्णय भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ बाट चीनबाट सामान नेपाल आइपुग्ने नेपाली संचारमाध्यमलाई जानकारी दिएका छन् ।

    मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वमा वार्ता भएको थियो । यी दुई टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको बताइएको हो । उनका अनुसार दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको हो ।

    नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुे सहमती भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ र २९ जनाको दुई वटा श्रमिक टोली तयारी अवस्थामा राखिने भएको छ ।

    सबै श्रमिकको हरेक ५, ५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति समेत भएको छ । चीनतर्फको रसुवागढी नाकाबाट भने सामान आउन थालेको छ ।

  • नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

    नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो।

    योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

    देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

  • नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य

    नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ।

    सरकारले कात्तिक १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार मापदण्ड जारी गरेको हो ।

    यही असोज ९ गते स्वीकृत भएको मापदण्डमा नेपाल आउने पर्यटकको लागि शर्तैशर्त राखिएको छ ।

    शर्त अनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ ।

    तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

    नेपाल आउजे पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टिनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर (करीब रू. ६ लाख)को बीमा गरिएको कागजात पेश गर्नुपर्नेछ ।

    नेपाल प्रवेशपश्चात पर्यटकले न्युनतम ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। होटल क्वारेन्टिन अवधिको पाँचौ दिन पर्यटककै खर्चमा पिसीआर परीक्षण गर्नुपर्ने र नेगेटिभ रिपोर्ट आएमा पदयात्रा वा पर्वतारोहणमा जान पाइने जनाइएको छ।

    तर नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्मको अवधिमा होटल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्डमा उल्लेख छ।

    मापदण्डमा पर्वतारोहण वा पदयात्रामा जाने नेपाली टोलीकाे पनि अनिवार्य रूपमा कम्तिमा रू. १ लाखको कोरोना बीमा गराउनुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ।

  • विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

    विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

    काठमाडौं । यस वर्ष कुनै पनि श्रष्टाले पद्मश्री पुरस्कार नपाउने भएका छन् । यसअघि सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई यो पुरस्कार दिने निर्णय खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले गरेको थियो । तर, पात्रहरुबीच नै आरोप प्रत्यारोप र विवाद भएपछि अन्ततः पुरस्कार नै रद्द गरिएको छ ।

    आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय भएको थियो । पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप रहेकाले उनीसँगै उभिएर आफुले पुरस्कार लिन नसक्ने उप्रेतीले बताएका थिए ।

    सोमबार गलत आरोप लगाएर आफुलाई विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले पनि पुरस्कार नलिने घोषणा गरेका थिए । त्यसपछि प्रतिस्ष्ठानले यो वर्ष पुरस्कार नै वितरण नगर्ने घोषणा गरेको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर यसको पुष्टी गरेका छन् ।

    पुरस्कारका लागि छनोट भएका दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि उनीहरुको इच्छालाई कदर गर्दै यस्तो निर्णयमा पुग्नु परेको उनको भनाई छ । प्रतिष्ठानको उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने नभएको र उत्पन्न असहजताका लागि दुःखी भएको उनको भनाई छ ।

    प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्षको उत्कृष्ट कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र समग्र साहित्य क्षेत्रमा गरेको योगदानका आधारमा पद्मश्री साधना सम्मान प्रदान गर्दै आइरहेको छ ।

  • धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

    धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

    काठमाडौं । मंगलबार बाँकेको नेपालगन्ज र धरानमा गरी तीन जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । कलेजका अनुसार कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको ज्यान गएको हो ।

    अस्पतालका अनुसार नेपालगन्जका मृतक स्वास्थ्यकर्मी समेत हुन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार दुवैजनाको प्लाज्मा थेरापी र रेम्डिसिभिर विधिबाट उपचार भइरहेको थियो । उता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

    मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनी नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएर धरान ल्याइएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएको अस्पतालले जनाएको छ । त्यसपछि उनमा कोरोना पुष्टी भएको थियो ।

  • कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

    कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

    काठमाडौं । दशैं नजिकिएको छ । शहर बजारमा बस्नेहरु अधिकांश आफ्नो जन्मघर फर्कने यो चाडका लागि यातायात व्यवसायीलाई व्ववस्थापन निकै हम्मे हम्मे पर्छ । तर, यसपाली देशभर कोरोना महामारी छ । यस्तो अवस्थामा दशैं कसरी मनाउने भन्ने अन्यौलसमेत रहेको छ । तर, सर्वसाधारणमा चासो भने छ, दशैंमा घर जाने बसका अग्रिम टिकट कहिले खुल्छन् ?

    यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन व्यवसायीसँग अनौपचारिक प्रस्ताव भने गरिसकेको छ । यातायात व्यवसायीहरुसँग विभागको यस्तो प्रस्ताव आएको व्यवसायीले जानकारी दिएका छन् ।

    असोज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्ने र त्यसपछि नियमित प्रक्रियाबाट यातायात संचलन गर्ने प्रस्ताव विभागले गरेको हो । त्यसो त शहर बजारमा काम नभएका मानिसहरु अहिले पनि घर फर्किरहेका छन् । अहिले घर फर्कनेहरुका लागि तुलनात्मक रुपमा वातावरण सहज पनि छ ।

    किनकी सवारी साधनमा साविकमा जस्तो अधिक भिडभाड छैन । विभागका अनुसार यो वर्ष करिब ५ लाख व्यक्ति दशैं मनाउन उपत्यका बाहिर जाने अनुमान छ । त्यसो त उपत्यकाबाट मात्र हरेक वर्ष २० लाख भन्दा बढी मानिस दशैं मान्न बाहिरिने गरेका छन् । यो पटक आधा जती मानिस पहिला नै गाउँ गएर बसेका छन् ।

    केही मानिस भने कोरोनाको जोखिमका कारण काठमाडौं नछाड्ने मुडमा हुनेछन् । उता, व्यवसायी भने सवारी साधनमा सबै सिटमा यात्रु राख्न पाउनुपर्ने अडानमा छन् । अहिले बसमा एक सीटमा एक जना मात्र यात्रु राखेर यात्रा भइरहेको छ । सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम कार्यान्वयनमा ल्याएको हो ।

  • बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

    बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

    काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट पसल संचालनमा ल्याउने निर्णय गरेको हो । यस्तो पसल ६ मंसिरसम्म चल्नेछ । देशभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइने भएको छ । ‘काठमाडौं उपत्यकामा १३ वटा यस्ता पसल चल्ने भएक छन् ।

    सहुलियत पसलमा राख्ने सामानको टुंगो भने लागिसकेको छैन । सोमबारको निर्णयअनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच, साल्ट ट्रेडिङले पाँच, तथा दुग्ध विकास संस्थाले तीन गरी १३ वटा पसल सञ्चालनमा ल्याउने भएका हुन् ।

    उपत्यकाबाहिर खाद्यले २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने बताइएको छ ।

  • नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

    नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

    काठमाडौं । कृषि क्षेत्रमा इजरायली नमुना विश्व प्रसिद्ध छ । त्यहाको प्रविधिलाई नेपालमा भित्राउन सरकारी स्तरबाटै पहल थालिएको छ । यसै क्रममा नेपाल सरकारले इजरायलको अत्याधुनिक कृषि प्रविधिसहितको विशेष केन्द्र स्थापना गर्न अनुमति दिएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालमा विशेष कृषि केन्द्र स्थापना भएपछि कृषिको आधुनिकिकरण र विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

    उनका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच कृषि विशेष केन्द्र स्थापनामा इजरायल सरकारले सहयोग गर्ने सहमति भएको छ । त्यसका लागि एमओयु स्वीकृत गर्ने र नेपालका सात वटै केन्द्रमा कृषि केन्द्र स्थापना गर्न दिने निर्णय सरकारले गरेको हो ।

  • नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

    नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

    काठमाडौं । सरकारले एसिड आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कानूनी कारवाहीका प्रावधानसहित नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । एसिड आक्रमणका दोषिलाई कडा कारवाही गर्ने व्यवस्थासहित कानूनी व्यवस्था गर्न सरकारले आज अध्यादेश जारी गरेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिबाट आज एकै दिन तीन वटा अध्यादेश जारी भएका छन् ।

    एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ कानून हो । फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश हो। गत विहिबार मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो। सोहीअनुसार अध्यादेश जारी भएको हो ।

    नयाँ कानून अनुसार अब कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने भएको छ । अरुको शरीरमा एक थोपा मात्र पनि एसिड परेमा त्यसको कसुर कडा हुने भएको छ ।

    तेजाब आक्रमण गर्नेले कुनै पनि बाहनामा छूट नपाउने गरी कानून बनेको हो । महिला वा पुरुष, जो माथि आक्रमण भएपनि यो कानून आकर्षित हुने भएको छ । एसिड आक्रमण गरेको अवस्थामा जहिलेसुकै उजुरी दिन सक्ने प्रावधान रहेको छ । ।

    तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ। आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ।

    तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ। शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय राखिएको छ ।

  • एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

    एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

    काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

    कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले लकडाउन र निषेधाज्ञा पछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

    चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउन महिनामा मात्र मोबाइल बैंकिङ मार्फत १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    तथ्याङ अनुसार साउनमा मोबाइल बैंकिङबाट ५९ लाख २३ हजार ४११ पटक कारोबार भएको थियो ।

    यस्तै, असार महिनामा मोवाइल बैंकिङबाट ५८ लाख १७ हजार ६८१ पटक कारोबार हुँदा १८ अर्ब ८३ करोड ९० लाख बराबरको भुक्तानी भएको देखिन्छ ।

    राष्ट्र बैंकका अनुसार साउन महिनामा एटिएमबाटमात्रै ४७ लाख ६९ हजार ३ सय ४० वटा कारोबार भएका छन् ।

    जसबाट ३८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा डेबिट कार्डबाट पनि राम्रै कारोबार भएको छ ।

    साउन महिनामा मात्रै डेबिट कार्डबाट ५४ लाख २६ हजार ३ सय ६८ वटा कारोबार मार्फत ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना असारमा भने डेबिट कार्डबाट ३३ लाख १६ हजार ५ सय ५४ कारोबारमार्फत २५ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो ।

    बिशेषगरि कोरोना भाइरसको त्रास बढ्दै गएपछि नेपालमा पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको मात्रा बढ्दै गएको छ ।

    मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, आरटीजीएस मार्फत हुने कारोबार बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।

    विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले बताएको छ ।

    साउन महिनामा इन्टरनेट बैंकिङ मार्फत ३ अर्ब बराबरको कारोबार भएको छ ।

    यस्तै, सबैभन्दा बढी आरटीजीएस मार्फत भएको तथ्यांकमा देखिन्छ । आरटीजीएस मार्फत ८७ खर्ब १५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस्तै, कनेक्ट आईपीएसबाट ४७ अर्ब ३६ करोड बराबरको भुक्तानी भएको छ । यसैगरि इ कर्मसबाट १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

    नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८० जनाको पीसीआर परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ

    पछिल्लो २४ घन्टामा थप ७४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५४ हजार ६ सय ४० जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्।

  • सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

    सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

    काठमाडौं । सीमानामा रहेको विवादका क्रममा अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध भएको छ । विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थल र हवाई दुबै माध्यमबाट झडप भएको थियो । घटनामा केही घाइते रहेको बताइएको छ ।

    नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै गएको समयमा दुवै देशले एकअर्काको क्षेत्रमा हवाई आक्रमण गरेका थिए । अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाको छ । प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याङ्क ध्वस्त बनाएको दावि गरेको छ ।

    विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमिका रुपमा परिचित छ । यहाँ आदिवासी अर्मेनियनहरु बस्छन् । यस क्षेत्रमा झण्डै तीन दशकदेखि दुवै देशबीच विवाद जारी रहेको छ । आक्रमणपछि अर्मेनिया सरकारले सैन्य कानुन लागू गर्दै सैनिक परिचालन गर्ने निर्णय समेत गरिसकेको छ । अजरबैजानले अर्मेनियाको आक्रमणबाट आफ्ना सर्वसाधारण मारिएको दावि गरेको छ । एजेन्सी

  • कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे

    कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे

    काठमाडौं । कोरोना भाइरसबाट भएको मानवीय क्षतिको आंकडा १० लाख नाघेको छ । संसारभर सोमबार बिहानसम्म १० लाख ३ सय ५० जनाको ज्यान गइसकेको तथ्यांक छ । अमेरिकामा मात्र कोरोनाबाट ज्यान गुमाउने मानिस २ लाख पुगेका छन् । पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढी मानिसले ज्यान गुमाएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेहरुको संख्या १० लाख पुगेको छ ।

    विश्वमा दोस्रो धेरै संक्रमण भारतमा देखिएको छ । यहाँ मानवीय क्षति भने ९४ हजार रहेको छ । भारतमा ६ लाख मानिसमा संक्रमण देखिएको छ । अमेरिकामा भने कुल संक्रमित ७ लाख भन्दा माथि छन् ।

    तथ्यांक अनुसार विश्वभर ३ करोड ३१ लाख मानिसमा कोरोना पुष्टी भइसकेको छ । २४ घण्टा भित्र अमेरिकामा ८ हजार मानिसमा संक्रमण देखियो । ब्राजिलमा बढी मानिसको ज्यान जाने सूचिको दोस्रो र बढी संक्रमित हुनेको तेस्रो स्थानमा छ ।

    यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार नाघेको छ। रुसमा १ लाख ५१ हजार संक्रमित छन् । यहाँ २० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । नेपालमा अहिलेसम्म ४ सय ७७ जनाको मृत्यु भएको छ ।

  • अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

    अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

    न्यूयोर्क

    आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् ।

    ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक गर्न अटेर गर्दै आएका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेद्वारले कर विवरण सार्वजनिक गरेर आफ्नो आर्थिक पारदर्शिता देखाउने चलन उनले तोडेका थिए । आफ्नो कर विवरण माथि आयकर विभागको अडिट चलि रहेको र सक्ने वित्तिकै सार्वजनिक गर्ने उनको दावी रहँदै आएको छ ।

    तर, टाइम्सको खोजले ट्रम्पको दावी बहाना मात्र भएको सिद्ध गरिदिएको छ । वित्तिय विवरणहरुमा सर्वसाधारणलाई करौडौँ डलर नाफा कमाएको देखाउने ट्रम्पले सरकारलाई बुझाउने कागजातमा भने लगातार घाटा देखाएर कर छलि गर्दै आएको टाइम्सले खुलासा गरेको हो । त्यही क्रममा सन् २०१६ र २०१७ मा उनले ७५० अमेरिकी डलरको दरले मात्र कर तिरेको पाइएको हो ।

    नाफा देखाएर तिर्नु त होइन चरम घाटा भएको भन्दै उनले आयकर विभागसँग सात करोड २९ लाख अमेरिकी डलर फिर्ता लिन लामो गलफति गरेका थिए । दशक लामो अडिट एवं तानातान पछि घाटा देखाएर उनी त्यो रकम फिर्ता लिन सफल भए । उनले बाहिर प्रचार गरेझैँ नाफाको अवस्था रहेको भए उल्टो १० करोड डलर बढि तिर्नुपर्ने हुने थियो ।

    टाइम्सका अनुसार ट्रम्पले अमेरिकी जनता र आयकर विभागबीच देखाउने आफ्नो तस्वीरमा आकाश जमिनको फरक छ । उनी जनतामाझ अत्यन्त सफल, धनाड्य एवं ‘स्मार्ट’ नेताको रुपमा चिनिन चाहन्छन् । तर, आयकर विभाग सामु भने करौडौँ डलर घाटा खाएको एवं ऋण बोकेको ब्यापारीको रुपमा प्रस्तुत हुँदै आएका छन् । कर, छल्नकै लागि उनले छोरी इभान्कालाई आफ्नो कम्पनीमा परामर्शदाताको रुपमा भुक्तानी गरेका छन् भने आफ्नो कपाल बनाउने खर्च मात्र ७५ हजार डलर लागेको देखाएका छन् ।

    उनले पैसा आर्जनका लागि कैयन् स्वार्थ बाझिने काम गरेको तथ्य समेत टाइम्सले उजागर गरेको छ । टाइम्सले ट्रम्पको राष्ट्रपतिय कार्यकाल अन्तर्गत अघिल्लो दुई बर्ष सहित दुई दशक बढिको कर विवरण फेला पारेको हो । सन् २०१८ र २०१९ को विवरणमा आधारित समाचार भने पछि प्रकाशित गर्ने टाइम्सले जनाएको छ ।

    अमेरिकामा अर्बौँ डलरको ब्यापार गरेपनि ट्रम्पले यहाँभन्दा बाहिरका सरकारलाई धेरै कर तिरेको पाइएको छ । सन् २०१७ मा अमेरिकी सरकारलाई ७५० डलर तिरेका ट्रम्प र उनका कम्पनीले पनामामा १५ हजार ५९८ डलर तिरेका थिए । त्यही बर्ष भारतमा एक लाख ४५ हजार डलर र फिलिपिन्समा एक लाख ५६ हजार डलर कर भुक्तानी उनी एवं उनका कम्पनीले गरेको टाइम्सले उजागर गरेको छ ।

    ट्रम्पले सन् २०१४ मै आफु कुनै दिन राष्ट्रपतिका लागि प्रत्याशी भएमा कर विवरण सार्वजनिक गर्ने बताएका थिए । तर, २०१६ को क्याम्पेन अवधिभर उनले अडिटको बहाना बनाएरै टारे । उनले कर छली एवं पूँजी पलायन गरेको आशंका सहित न्यूयोर्क राज्य सरकारले अनुसन्धान समेत थालेको छ । न्यूयोर्क सरकारलाई आफ्नो विवरण दिन अस्वीकार गरेका ट्रम्पलाई अघिल्लो महिना अमेरिकी सर्बोच्च अदालतले अनुसन्धानलाई सघाउन आदेश दिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन पाँच साता मात्र बाँकी रहेको बेला सुरु भएको ट्रम्पको कर छली यात्रा उत्खननले निर्वाचनलाई थप रोचक बनाइदिएको छ ।

  • बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

    बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

    निजगढ । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरु सबैको घटनास्थलमै ज्यान गएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटलाई आइतबार साँझ ठक्कर दिएको हो । ठक्कर दिने बसका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

    नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १ सय २३ जनाको पीसीआर परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप ८८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५३ हजार ८ सय ९५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्।

  • विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

    विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ ।

    गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । तीमध्ये ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

    यस्तै नेपालमा मात्र ७१ हजार ८२१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये ५३ हजार १३ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४६७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ को निधन भएको छ । यस्तै विश्वभर एक लाख १० हजार ६० नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

    हावाबाट कोरोना सर्दैन

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाले भने, ‘दुई मिटरसम्मको दूरीमा एक अर्काका कोरोना भाइरस गर्दैन, कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।’

    स्वास्थ्य समितिले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन गर्न आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

    ७८ हजारको उद्धार

    कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकामा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३४३ नेपालीको उद्धार गरिएको छ ।

    चीनबाट कोरोना भाइरसको सङ्क्रमण भए लगत्तै गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको सङ्घले जनाएको छ ।

    सङ्घअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक सङ्घसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

  • त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

    त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना भाइरसको संक्रमणयता रोकिएका सबै परीक्षा छठपछि धमाधम सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन समेत गरिसकेको जानकारी विश्वविद्यालयले दिएको छ ।

    त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन विद्यविद्यालय मातहतका धेरै जसो परीक्षा कोरोनाको संक्रमणका कारण रोकिएका छन् ।

    यसअघि त्रिविले भदौ दोस्रो हप्तादेखि परीक्षा सुरु गरी दशैँअघि नै सबै सेमेस्टरको परीक्षा सक्ने तयारी गरेको थियो । तर, बीचमा सरकारले निषेधाज्ञा घोषणा गरेपछि त्रिविको समय असफल भएको थियो ।

    त्रिविले परीक्षा भने कक्षाकोठामै उपस्थित भएर दिनु पर्ने व्यवस्था गर्नेछ । घर पायक पर्ने ठाउँमा कक्षाकोठामै उपस्थित भएर परीक्षा दिनु पर्नेछ । भर्चुअल माध्यमबाट पढाई भइरहेको भए पनि परीक्षा भने त्यसरी लिइने छैन ।

  • तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

    तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

    बुटवल । सिद्धार्थ राजमार्ग पछिल्लो तीन दिनयता बन्द छ । जसले गर्दा मध्य नेपालको पहाडी भेगमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । अविरल वर्षापछि विभिन्न स्थानमा झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । यसमा खासगरी सिद्धबाबाको पहिरोले ठूलो जोखिम निम्त्याउँछ ।

    शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएको र यात्रु अलपत्र परेको प्रहरीले जनाएको छ । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ।

    शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनको प्रयास भएको थियो । तर, सफलता प्राप्त भएन । किनकी सिद्धबाबामा सानो झरीले पनि ठूलो पहिरो निम्त्याउने गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने भएकाले समय लागिरहेको हो । सिद्धबाबामा ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ। सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ । आइतबार बिहानैबाट पहिरो पन्छाउने काम शुरु भइसकेको छ ।

  • छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

    छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

    दार्जुला । नेपाल भारत विवादित भूमि नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म अब बाह्रैमास बस्ने भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् । त्यहा अहिले स्थायीरुपमा संरचना निर्माण भइसकेको छैन । सोहीकारण प्रहरी अहिलेलाई भाडाको घरमा बस्ने छ ।

    महानिरीक्षक खनालले प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले छाङरुमा सशस्त्र प्रहरीको भवनको शिलान्यास गरिसकेका छन् ।

    २८ असारमा मन्त्रिपरिषदले छाङरुमा गुल्म स्थापनाको निर्णय गरिसकेको छ । सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर तल बस्छ ।

    अब सशस्त्र प्रहरीको व्यवस्थापन छाङरुमा हुने र निर्माणाधिन भवन समेत छिट्टै सकिने जानकारी उनले दिएका छन् । ३१ वैशाखमा व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । २८ असारमा मन्त्रिपरिषदले छाङरुमा गुल्म स्थापनाको निर्णय गरिसकेको छ । सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर तल बस्छ ।

    अहिले सशस्त्र प्रहरीले छाङरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ ।

    ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । यहाँ ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् ।

  • कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

    कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने सैनिकको संख्या २ पुगेको छ । शुक्रबार एक जना सैन्य जवानको कोरोनाकै कारण ज्यान गएको हो । बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । उनी असोज ६ मा छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना भएको थिए ।

    त्यसपछि उनमा कोरोना पुष्टी भएको थियो । यसअघि एक जना सैन्य जवानको कोरोनाका कारण ज्यान गइसकेको छ । जङ्ग्गी अड्डाले दिएको जानकारी अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ५३९ जनाले कोरोनालाई जित्न सफल भइसकेका छन् ।

  • थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

    थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

    काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४६७ पुगेको छ।

  • नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

    नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप ११४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५१ हजार १३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।

  • रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

    रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

    बुटवल । रुपन्देहीमा रोहिणी नदी, सुखौरा खोला र तिनाउ नदीमा बढेको पानीको बहावले घरहरु डुबानमा परेका छन् । रातभर अविरल वर्षा भएपछि त्यसले बाढी निम्त्याएको हो । बाढीमा बस्तीमा पसेपछि ७ वटा घर बगेका छन् । ५० वटा घर भने डुवानमा परेको स्थानीय प्रहरीले जनाएको छ ।

    तिलोत्तमा नगरपालिका भित्रै विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको हो । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका, लक्ष्मीनगर डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन समेत बगाएको छ ।

    उता, तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले घरहरुमा क्षति पु¥याएको छ ।

    उता, रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

    सुखौरा खोलाको बाढीले सुखौरा खोला पुल नजिक विद्युत पोल ढालेको छ । यसले विद्युत आपूर्ति समेत बन्द भएको छ । तिलोत्तमा–११ गणेशनगर क्षेत्रमा नदी तटीय क्षेत्र कटान भइरहेको छ । उता, देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेको विवरण आएको छ ।

  • लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

    लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

    काठमाडौं । लकडाउनयता संसारका ३२ मुलुकबाट समस्यामा रहेका करीव ७७ हजार नेपाली घर फर्किएका छन् । विदेशमा काम गुमाएका, घुमघामका सिलसिलामा विदेश पुगेर अड्किएका, गैरकानूनी रुपमा बसिररहेका नेपाली घर फर्किएका छन् । नियमित उडान शुरु भएपछि भने स्वच्छाले घर फर्कने नेपालीसमेत यो सूचिमा थपिएका छन् ।

    कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी)ले जनाएको छ ।

    बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट नेपाली घर आएका हुन् । यसरी घर फर्कनेमध्ये सवैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट छन् । यो मुलुकबाट २२ हजार २१४ जना नेपाली घर आए । सबभन्दा कम श्रीलंकाबाट ५ जना आएका छन् ।

    तथ्यांक अनुसार अहिलेसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ जना घर आएका छन् ।

    स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले उल्लेख गरेको छ । ८हजार ४९७ जनाको भने प्रदेश विवरण खुलेको छैन ।