Category: फिचर

  • डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

    डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो । अहिले १० लाख मानिसको ज्यान गइसकेको छ ।

    डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले यस्तो चेतावनी दिए । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ । सन् २०१९ को डिसेम्बर अन्त्यमा चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको हो ।

    त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएकाको संख्या तीन करोड २० लाखभन्दा माथि पुगिसकेको छ ।

    डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्ने उनको भनाई छ ।

  • मत सर्भेक्षणमा लगातार पछि परेपछि  बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

    मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

    न्यूयोर्क

    मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने ।

    विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् ।

    ‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको भनाइ छ- केही सातामै कुपन वितरण सुरु हुन्छ ।’ आफुले सधैं बृद्धहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेको तर बाइडेनले त्यसो नगर्ने उनको दावी छ ।

    सन् २०१६ मा बुढापाकाबाटै धेरै भोट पाएको कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । तर, यसपाली त्यस्तो अवस्था छैन । कोरोना भाइरसप्रति उनको वेवास्ताका कारण धेरै बुढापाका उनीसँग चिढिएका छन् । केही दिन अघि ट्रम्पले एक चुनावी सभामा भाइरसले युवालाई केही असर नगर्ने र ज्यान गुमाउनेमा अधिकांश बृद्ध बृद्धा रहेको टिप्पणी गरेका थिए ।

    ती सबै यथार्थमाझ बुढापाकालाई आफुले हेर्ने दावी भने उनले दोहोर्याउने छोडेका छैनन् । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख बढिले ज्यान गुमाइ सकेका छन् । अधिकांश मत सर्भेक्षणमा ६५ बर्ष माथिका बहुमत बुढापाका यसपाली बाइडेनको पक्षमा देखिएका छन् । २०१६ मा आफुले जितैका सबै उमेर समूहमा थप कमजोर भएपछि ट्रम्प यसपालीको चुनावमा धाँदली हुने दावी समेत निरन्तर दोहोर्याइ रहेका छन् ।

    यसरी बुढापाकालाई २०० को दरले स्वास्थ्य कुपन बाँढ्दा छ अर्ब ६० करोड अमेरिकी डलर खर्च हुने देखिएको छ । यो रकम मेडिकेयर कार्यक्रमबाट चलाइने ह्वाइट हाउस अधिकारीहरुको दावी छ ।

  • साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

    साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशबाट नेपालीले आफ्नो मुलुक र परिवारका लागि उत्साहजनक रुपमा रेमिट्यान्स पठाएका छन् । नेपालीबाट एक महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह अघिल्लो महिनाको तुलनामा मात्र २ प्रतिशत बढी थियो ।

    तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो तथ्यांक मात्र ०.७ प्रतिशतले बढी थियो । साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ९९.२ प्रतिशतले घटेको छ ।

    कोरोना महामारीका कारण नेपालबाट विदेश जानेहरु भने निकै कम छन् । त्यस विपरित विदेशबाट नेपाल फर्कनेको संख्या भने उच्च छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशत कम भएको थियो ।

    राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यो अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशत कम भएको थियो ।

  • अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

    अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

    सन्धीखर्क । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा भीषण पहिरो गएको छ । पहिरोले १७ वटा घर बगाएको छ । दिउँसोको समयमा आएको पहिरोका कारण मानवीय क्षतिको भने कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने स्थानमा पहिरोेले १७ वटा घर बगाएको बताइएको छ ।

    पछिल्लो तीन दिनयता निरन्तर वर्षा भएको थियो । अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । भिरालो जग्गामा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म भने बगेका छन् । यसले ठूलो भौतिक क्षति भएको छ । नगद, जिन्सी, अन्नपात, पशु चौपाया समेत बगाएको गाउँलेले जानकारी दिएका छन् ।

    गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई भने सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले विस्थापित परिवारलाई बसोबासको व्यवस्थापनमा सहयोग गरेका छन् । यो घटनाका थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

  • नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

    नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप १४५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५१ हजार ८६६ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्।

  • नेपालीको मोबाइल मोह:  डिजेलभन्दा मोबाइलको आयात बढी

    नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

    काठमाडौं । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। पछिल्लो समय रहरले भन्दापनि बाध्यताले नेपालीहरुमा मोबाइलको मोह बढेको छ ।

    विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले मोबाइलको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा ९ लाख ९५ हजार मोबाइल सेट आयत भएको छ ।

    साउन महिनामा ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको थियो । भदौं महिनमा दुईगुणा भन्दा बढीले वृद्धि भएको तथ्याङमा उल्लेख छ ।

    पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानु कोरोना महामारीको कारण अनलाइन कक्षा सञ्चालन हुनुले नै मोबाइलको माग बढेको व्यापारीको दाबी छ ।

    एकै परिवारमा अलग अलग कक्षामा पढ्ने विद्यार्थीको पढ्ने समय एकै हुनाले एक परिवारमा आवश्यक भन्दा बढी मोबाइल किन्नु पर्ने बाध्यता रहेको छ ।

    नेपालले बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । चीनबाट ८ लाख ५ हजार, भारतबाट १ लाख ७६ हजार र भियतनामबाट १२ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्क छ।

    मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ।

    मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ । त्यस्तै भारत, भियतनाम, हङ्कङ, जापान, कोरिया, मलेसिया लगाएतका देशबाट समान्य रुपमा मोवाइल सेट नेपाल आयात भएका छन् ।

    बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ।

    नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

  • काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

    काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

    काठमाडौं । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै बढेर गएको छ । काठमाडौं महानगरपालिकाले दिएको तथ्यांकअनुसार हाल वडा नं. ३ महाराजगञ्जमा ४ सय ३४ जना, वडा नं. ११ त्रिपुरेश्वरमा ४ सय ४७ जना, वडा नं. १३ कालिमाटीमा ४ सय १६ र वडा नं. १४ कलंकीमा ३ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    महानगरपालिकाका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नं. १५ रहेको छ । सो वडाको स्वयम्भू र आसपासको क्षेत्रमा बढी नै संक्रमित फेला परेका छन । सो वडामा ६ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नं. १६ सोह्रखुट्टे र आसपासको क्षेत्रमा ४ सय ९४ जना, वडा नं. २८ पुरानो बसपार्कमा ३ सय ६० जना र वडा नं. ३२ कोटेश्वरमा ३ सय ९९ जनामा संक्रमण देखिएको छ । महानगरपालिकाका अनुसार महानगरभित्रको ठेगाना नखुलेका ३ सय ६५ जनामा कोरोना संक्रमण भएको छ ।

  • ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

    ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमसँगै लागेको विदेशी नागरिक प्रवेशमाथिको प्रतिवन्ध ओमानले हटाएको छ । नयाँ प्रावधान भने १ अक्टोबरबाट लागु हुने भएको छ । अब ओमानले विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने घोषणा गरेको हो । यसले त्यहाँ कामको सिलसिलामा जाने नेपाली समेत लाभान्विन हुने भएका छन् ।

    किनकी नेपाल सरकारले समेत अब वैदेशिक रोजगारीमा जानेका लागि सबै गन्तब्य खुला गरिसकेको छ । ओमानको कोभिड १९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णय अनुसार आगामी १ अक्टोबर बाट लागु हुने गरी नेपाल लगायत विदेशबाट ओमान फर्किन सक्ने नीति ल्याएको हो ।

    ओमानस्थित नेपाली दूतावासले यसको पुष्टी गरेको छ । दूतावासका अनुसार ओमान फर्किन चाहने कामदारले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर समेत अब भने लिनु पर्ने छैन । ६ महिनाभन्दा बढी अवधि ओमान बाहिर रहनेको हकमा कम्पनीले फर्किन अनुमति दिएको कागजात ‘नो अब्जेक्शन लेटर’ चाहिन्छ ।

  • शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

    शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

    काठमाडौं । नेपालमा मनसुन लम्बिएको छ । यसले देशभर निरन्तर वर्षा समेत गराइरहेको छ । पछिल्लो तीन दिनदेखि जारी वर्षा शुक्रबार समेत थामिने छैन । मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशका विभिन्न स्थानमा पानी पर्नेछ । यसले तराईमा जलस्तर बढाउने भएको छ । पहाडमा पहिरोको जोखिम उत्तिकै रहनेछ ।

    भारतको मध्य प्रदेशको पुर्वी भूभागमा न्यून चापीय क्षेत्र उत्तर पुर्व सरेका कारण त्यसको प्रभावले नेपालमा वर्षा निम्त्याएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

    शुक्रवार राती पनि देशभर सामान्यदेखि अधिकांश बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षा हुने देखिएको छ ।

    आगामी २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ । यसले नदीमा पानीको बहाव बढाउने छ । पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै विभागले सचेत बनाएको छ ।

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

    विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

    काठमाडौं । संसारभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने संक्रमितको संख्या १० लाख नजिक पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । यो अवधिमा नेपालमा मात्र १८ जनाको ज्यान गएको छ । जुन सर्वाधिक संख्या हो ।

    २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थप भए । कोरोनालाई जित्नेको संख्या भने विश्वभर २ करोड ३९ लाख १६ हजार ९४० जना रहेको छ । संसारभर अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ७४ लाख ९७ हजार ५६० जनाको अवस्था भने अहिले पनि सामान्य रहेको तथ्यांक छ ।

    उनीहरु होम आइसुलेसन वा अस्पतालमा छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यहाँ २४ घण्टामा ४५ हजार ३२८ जनामा कोरोना देखियो । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेसकेको छ । यहाँ २४ घण्टामा ९४२ को ज्यान गएको छ । अमेरिकामा मृतक संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

    दोस्रो स्थानमा भारत छ । यहाँ एकैदिन ८५ हजार ९१९ संक्रमित थपिए । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । भारतमा ९२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

  • स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

    स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

    स्याङ्जा । स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको बिहीबार सामुहिक दाहसंस्कार गरिएको छ । उनीहरुको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार भएको नेपाल दलित सङ्घ स्याङ्जाले जनाएको छ । रामनदी धाम स्याङ्जा र पाल्पाको संगमस्थल हो । यो कालीगण्डकी नदीमा पर्छ ।

    नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ । ६ महिने बालक र उनकी १९ वर्षीया आमा बिनिता नेपालीको भने एउटै चितामा दाहसंस्कार गरिएको छ ।

    सबैजना एकैघरका भएको र दागबत्ती दिने परिवार भित्रैको समेत कोही सदस्य नभएपछि फन्त जीबलाल परियारले दागबत्ती दिएका थिए । प्रहरीका अनुसार सबैको पोस्टमार्टमपछि दासंस्कार गरिएको हो ।

    दासंस्कारको खर्चको जिम्मा भने वालिङ नगरपालिकाले लिएको छ । गाउँलेहरु छिमेकीको सामुहिक दाहसंस्कारका लागि घाटमा पुगेका थिए । एकै स्थानमा भएको ठूलो मानवीय क्षतिले गाउँ शोकाकुल बनेको छ ।

    पहिरोबाट एक जनाको भने जिवितै उद्धार गरिएको थियो । १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार जारी छ । मनिषाको सम्पूर्ण उपचार खर्च समेत नगरपालिकाले बेहोर्ने भएको छ ।

  • हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

    हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

    काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा उपलब्ध गराएको छ । यसअघि नेपाल एयरलाइन्सले मात्र नेपालमा ग्राउन्ड ह्यान्डलिङको सेवा गर्न पाउने गरी अनुमति पाएको थियो । सरकारले दिएको अनुमतिसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालयले आफ्ना जहाज र यात्रुको व्यवस्थापन कम्पनीले स्वयमःले गर्न पाउने छ ।

    कम्पनीले आवश्यक पर्ने उपकरण र जनशक्ति समेत आफैं राख्न सक्नेछ । यसले निगमको आम्दानी भने खुम्चिने छ । हिमालयले निगमलाई बुझाउनु पर्ने रकम जोगिने छ ।

    ग्राउन्ड ह्यान्डलिङअन्तर्गत विमानमा यात्रु लैजाने, विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्‍याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, विमानमा ब्यागेज हाल्ने र झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङसहितका काम कम्पनी अब आफैले गर्न सक्नेछ ।

    सातामा ३५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिन सकिने प्रावधान अनुसार हिमालयले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।

  • शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

    शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

    काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् ।

    भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन । तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सार्कमा विदेशमन्त्रीहरूको भर्चुअल बैठकमा विदेशमन्त्री जयशंकर सहभागी हुने पुष्टि गरेका छन्।

    पछिल्लो समय भारतले सार्कलाई प्राथमिकतामा राख्न लागेको छ । यसअघि भारतको प्राथमिकतामा सार्क थिएन ।

    सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने भएका हुन् । बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रको सहभागी हुने निश्चित भएको हो ।

  • कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

    कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्हिगमन भएको छ । सँगै नेपालमा विजुलीको आपूर्ति समेत अनियमित बनिरहेको छ । यसै त कुलमानको पुननियुक्ति माग गरिरहेक जनता सरकारप्रति रुष्ट छन् । त्यसमाथि पुनः विजुली जाने क्रम बढेसँगै उर्जा मन्त्रालयलाई भने तनाव थपिदिएको छ ।

    सोहीकारण उर्जा मन्त्री वर्षमान पुनःले बिहीबार मन्त्रालयमा प्राधिकरणका अधिकारीहरुसँग आकष्मिक बैठक राखेका छन् । कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङका कारण ६ दिनको होम आइसोलेसन पुरा गरी मन्त्री पुनः आज मन्त्रालयमा हाजिर भएका थिए ।

    हाजिर भएकै दिन उनले मन्त्रालयमा प्राधिकरणका अधिकारीलाई निमन्त्रणा गरे । उनले विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गरी गुनासो व्यवस्थापन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकलाई नै मन्त्रालयमा डाकेका थिए । उनले आलोचनालाई कामबाट जवाफ दिन समेत आग्रह गरे ।

    मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी गराउन समेत निर्देशन दिएको उर्जा मन्त्रालयले जनाएको छ ।

    मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा बताएको छन् ।

    मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएको विषय भएको भन्दै त्यस्तो संवेदनशील निकायमा एक मिनेटको पनि ठूलो महत्व हुने उनले बताए । कोभिड१९ को महामारी न्यूनिकरणका उपाय अनुसार विद्यालय बन्द छन् ।

    सोहीकारण अहिले अनलाइन कक्षाबाट पठनपाठन भइरहेको छ । विद्युती आपूर्तिमा हुने अनियमितताले उनीहरुको पठाईमा समेत असर पुग्ने मन्त्री पुनको भनाई छ ।

  • स्याङ्जा पहिरो : एकै परिवारका  ८  सहित ९ को मृत्यु

    स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

    स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसमा ८ जना एकै परिवारका सदस्य रहेका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिएको थियो । आज दिनभरको उद्धारका क्रममा ९ जनाकै शव निकालिएको छ । प्रहरीका अनुसार एक जनाको जिवितै उद्धार भएको छ ।

    बिहीबार बिहान माया नेपालीको घरमा पहिरो खस्दा उनीसहित ९ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी बिनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको मृत्यु भएको छ ।


    उनीहरु सबै जनाको शव पुरिएको घरबाट निकालिएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जनालाई भने जिवितै उद्धार गर्न सफल भएको छ । प्रहरीका अनुसार १७ वर्षिया मनिषा नेपालीको उद्धार भएको छ । उनी घाइते छिन् । उनको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

    नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

    काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो ।

    मृतयु हुनेमा काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको रहेका छन् ।

    यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

  • नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

    नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थप ४५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन्।

  • स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

    स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

    स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको बताइएको छ । यहाँ एकजनाको शव भेटिसकेको छ । प्रहरीका अनुसार एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको छ ।

    अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको खोजी थालेको छ । मानवीय क्षतिको यकिन विवरण आउन बाँकि रहेको छ । उता, स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार छन् । नेपालमा निरन्तर परेको वर्षाले देशभरको जनजीवन प्रभावित बनाएको छ ।

  • सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

    सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

    काठमाडौं । चीनतर्फको एक मात्र सक्रिय रसुवागढी नाका निरन्तर बन्द भएको ८ महिना पुगिसकेको छ । यो बीचमा केही दिन नाका सूचारु भएपनि कोरोना भाइरसको महामारीको बाहनामा चीनले निरन्तर नाका बन्द गराइदिएको छ ।

    बुधबारबाट भने नाका आशिंक रुपमा संचलनमा आएको छ । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएको भन्दै चीनले यो नाका बन्द गराएको थियो । बुधबार चिनियाँ पक्षले एक कन्टेनर स्वास्थ्य सामाग्री मितेरी पुलसम्म ल्याएर नाका संचालनमा आएको संकेत गरेका छन् ।

    रसुवा भन्सार कार्यालका अनुसार बुधबार एक कन्टेनर सामान नेपाललाई हस्तान्तरण भएको छ । बुधबार बिहान चिनियाँ पक्षले ल्याइदिएको कन्टेनरमा बालबालिकालाई लगाइने खोपको सिरिन्ज रहेको बताइएको छ । बिहिबारदेखि भने दैनिक ५ कन्टेनर सामान पठाउने जानकारी चिनियाँ पक्षले दिएको छ ।


    एक साताभित्र रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आउने दावि नेपाल सरकारको छ । यसले दशैंको मुखमा नाकामा रोकिएको सामान नेपाल आउने आशा बढेको छ ।

    व्यापारीहरुका अनुसार नाकामा करीव १२ सय कन्टेनर सामान आएर रोकिएको छ । सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले कुटनीतिक माध्यमबाट समस्या समाधान भएको भन्दै एक सातामा नाका पूर्ण रुपमा सुचारु हुने दावि गरे ।

  • शनिबारदेखि मात्र मौसममा सुधार

    शनिबारदेखि मात्र मौसममा सुधार

    काठमाडौं । बिहीबार र शुक्रबार नेपालमा अविरल वर्षा जारी रहने भएको छ । मौसममा शनिबारदेखि मात्र क्रमिक सुधारको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारबाट भने मौसममा क्रमिक सुधारको सम्भावना छ ।

    देशका अधिकांश स्थानमा आगामी दुई दिन वर्षा जारी रहने भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानमा भने अति भारी वर्षा भएको विभागको भनाई छ ।

  • नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

    नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

    पाल्पा । नेपालमा पछिल्लो ४८ घण्टायता अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । यसले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम समेत बढाएको छ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले ६ जना वेपत्ता पारेको र तीन वटा घर पुरिएको प्रहरीले जनाएको छ ।

    यद्दपी संख्यामा थपघट हुन सक्ने बताइएको छ । भर्खरै उद्दार थालिएको छ । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गतराती पहिरोमा पुरिएको छ । घरमा मानिस पुरिएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेर उद्दार थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

  • चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

    चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

    काठमाडौं । हुम्लामा नेपाली भूमि मिचिएको समाचारको नेपाल सरकार स्वयमले समेत खण्डन गरेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि चिनियाँ दूतावासले समेत यो समाचारको खण्डन गरेको थियो ।

    पछिल्लो समय चीनले नेपाली भूमिमा भवन बनाएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना भएको भएको पत्रकार सम्मेलनका दौरान उनले यस्तो स्पष्टिकरण दिएका हुन् । उनका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो।

    त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको उनले जानकारी दिए । चीनले बनाएका भनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभाग मै रहेको उनले बताए ।

    नेपाल चीनबीच सीमा समस्या नभएको समेत उनको भनाई छ । यो विषयमा मन्त्रालयको आधिकारिक धारणा बीनै मिडिया रिपोर्ट आएको उनले उल्लेख गरे ।

  • बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

    बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने गरी अन्तरिम आदेश जारी गरेको छ । उनी हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । उनका सांसद पद भने यथास्थितिमै रहने छ । गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

    विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम यो विषयलाई यथास्थितिमा राख्न आवश्यक देखिएको आदेशमा उल्लेख छ । उनको हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली बमोजिम विपक्षीका नाममा आदेश जारी गरेको सर्वोच्चले जनाएको छ ।

    सर्वोच्चले राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट हुने मनोनयनको विषयमा नेपालको संविधानले अंगीकार गरेको व्यवस्थाबारे गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने समेत बताएको छ । गौतम राष्ट्रियसभा सदस्य नियुक्त भई सपथ ग्रहणसमेत गरिसकेका छन् ।

    सोहीकारण उनको पद के हुने भन्ने विषयमा निर्णय गर्नुअघि विपक्षीको पनि कुरा सुन्नुपर्ने सर्वोच्चको निष्कर्ष छ त्यसका लागि अन्तरिम आदेशको छलफलमा असोज १४ गते दुबै पक्षलाई सर्वोच्चले डाकेको छ ।

    रिटमा निवेदक त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र बामदेव गौतमलाई विपक्षी बनाएका थिए ।

    संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक विवाद पहिलो पटक देखिएकाले यसको निरुपण संविधानवाद, सार्वभौम जनताप्रतिको उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गर्नुपर्ने पनि सर्वोच्चको भनाई छ ।

  • सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

    सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमित संख्या देशभर २५ हजार भन्दा माथि गएमा पुनः लकडाउन गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम बैठकले यस्तो निर्णय गरेको हो ।

    अब २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न मुस्किल हुने भन्दै यस्तो निष्कर्षमा पुगेको उनले जानकारी दिए ।

    मन्त्रालयका अनुसार बुधबारसम्म देशभर सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय थप एक महिना बन्द गर्न समेत सिफारिस गरेको छ । सरकारले भने अहिले सबैतिर लकडाउन खुला गरी आवतजावत समेत सूचारु गरिसकेको छ ।

  • थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

    थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार

    ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोर रहेका छन् ।

    यस्तै, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

  • नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

    नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित छन्।

  • बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

    बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

    काठमाडौं । कोरोना महामारीपछि पहिलो विदेशी आरोहीका रुपमा बहराइनका राजकुमारसहित १८ जनाको टोली यतिबेला नेपालमा छ । उनीहरुले मंगलबार मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार १८ जनालाई हिमाल आरोहण अनुमति दिइएको छ । यो जारी सिजनको दोस्रो अनुमति हो ।

    यसअघि एक नेपाली टोलीले आरोहणका लागि अनुमति लिइसकेको छ । यो सिजन सगरमाथाबाहेक अन्य हिमालमा आरोहीको भीड लाग्ने गर्छ । तर, यो पटक कोरोना महामारीका कारण सहजै भ्रमणमा आउन सक्ने अवस्था छैन ।

    तर, आरोहीलाई नेपालमा सहिजकरण भने गरिने विभागले जनाएको छ । यो टोली नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिन होटेल क्वारेन्टिनमा बसेको छ । त्यसपछि उनीहरुको पिसिआर परीक्षण गरिएको छ ।

    परीक्षणबाट नेगेटिभ आएपछि विभागले आरोहण अनुमति दिएको हो । अब उनीहरु निर्धक्क भ्रमणमा निस्कन सक्नेछन् । सरकारले पर्यटकीय गतिविधि शुरु गर्ने बताएको छ । यद्दपी त्यसका लागि पर्यटकको भिसा पोलिसीका सम्बन्धमा भने कुनै निर्णय भइसकेको छैन ।

  • नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

    नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

    काठमाडौं । नेपालमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अहिले उच्च वर्षा भइरहेको छ । यसले नदी किनारका वस्तीमा क्षति पुग्ने र पहाडी भेगमा पहिरोका डर हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । अहिले देशभरको मौसम बदली भई पानी परिरहेको हो ।

    मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि स्थानमा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज भरेसम्मै मौसम प्रतिकुल नै रहनेछ ।

    भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र बनेपछि त्यसको प्रभाव नेपाली आकासमा समेत परेको हो । यसले वर्षा निम्त्याउन भूमिका खेलेको छ । वर्षा भने आगामी शुक्रबारसम्म नै रहि रहनेछ ।

  • हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

    हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

    काठमाडौं । चीनले नेपाली भूमिमा भवन नबनाएको स्पष्ट पारेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको समेत चीनको दाबी छ । यसअघि हुम्लामा नेपाली सीमा मिचेर चीनले भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि नेपाली टोली हुम्ला पुगेपनि त्यसै फर्किएको छ ।

    चीनले भने नेपाली भूमिमा बनाएको भनिएका भवनको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने उल्लेख गरेको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले यो समाचारको खण्डन गरेको हो । दूतावासले चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको र दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएको उल्लेख छ । नेपाल–चीन निकटका छिमेकी रहेको भन्दै दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान समेत गर्ने बताएको छ ।

  • वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ ।

    परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर भएका रामलखन जैसवाल विगत सात वर्षदेखि थुनामा थिए । उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका हुन् ।

    तर, केन्द्रिय कारागारमा रहेकै अवस्थामा बिरामी परेका उनलाई वीर अस्पताल उपचारका लागि ल्याइएको थियो । अस्पताल ल्याउना साथ उनको ज्यान गएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टी भएको अस्पताल प्रशासनले जनाएको छ । तर, परिवारले भने यो हत्या हो भन्दै प्रशासनको दावि मान्न तयार छैनन् ।

    उता, वीर अस्पतालले मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएका विवादास्पद विषयप्रति आपत्ति प्रकट गरेको छ ।

    ‘कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको अस्पतालले जनाएको छ । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसको जानकारी परिवारलाई दिएका हौँ । सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकोमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा उल्लेख छ ।

    गर्मीका कारण ती व्यक्तिको शरीर बिग्रन लागेको र कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले शव राख्ने स्थानमा राखेको अस्पतालको भनाई छ ।
    ‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आशङ्का गरेको तर त्यस्तो नभएको अस्पतालले उल्लेख गरेको छ ।

    अस्पतालका अनुसार प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको छ । त्यसपछि शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक प्रचार भएको प्रति समेत अस्पतालले खण्डन गरेको छ ।