Category: फिचर

  • बंगलादेशबाट युरिया मल पैचौं ल्याउने औपचारिक निर्णय

    बंगलादेशबाट युरिया मल पैचौं ल्याउने औपचारिक निर्णय

    काठमाडौं । सरकारले बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने निर्णयलाई औपचारिकता दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता गरी मल पैचौं मागेका थिए ।

    प्रधानमन्त्रीको सहमतिसँगै मल ल्याउने बाटो खुलेको हो । अबको दुई महिना भित्र बंगलादेशबाट युरिया मल नेपाल आइसक्ने भएको छ । बंगलादेशसँग पैँचोमा मागिएको मल नेपालले ग्लोबल टेण्डर गरेर ८ महिनाभित्र बंगलादेशलाई फिर्ता दिनइसक्नु पर्ने छ । नेपाली ठेकेदार कम्पनीले मल ल्याउन नसकेपछि रोपाईको यो सिजनमा कृषकले मल नै राख्न पाएका छैनन् ।

  • आज जनकपुर आउँदै नेपाली रेल

    आज जनकपुर आउँदै नेपाली रेल

    काठमाडौं । नेपाल रेल्वेको नयाँ रेल आज जनकपुर आइपुग्ने भएको छ । नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर रुटमा चल्ने रेल बिहीवार साँझ जयनगरमा आइपुगेको थियो । जयनगरमै रोकिएको यो रेल शुक्रवार मध्यान्हसम्म जनकपुर स्टेशन ल्याइसक्ने योजना रहेको छ ।

    नयाँ रेलको धेरैजसो डिब्बा प्लाष्टिकले छोपेर ल्याइएको छ । रेलको रंग भने नेपालको राष्ट्रिय झण्डा अंकित रंगले छोपिएको छ । जनकपुरमा रेलको भब्य स्वागत हुने भएको छ । सरकारले ८६ करोड मूल्यमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरेको हो । रेल शुक्रवार जनकपुर आएपनि व्यवसायिक संचालनमा भने तत्काल आउने छैन ।

    मंसिरपछि मात्र औपचारिक संचालनमा ल्याउने गरी तयारी गरिएको छ । अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएको छ । रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा लामो समय बसेको थियो ।

    रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेसँगै रेल शुक्रबार जनकपुर आउन लागेको हो । रेलको परीक्षण भएपछि रेल्वे विभागले बुझ्नेछ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म यो रेल चल्नेछ ।

    भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा पूर्वाधार बनिसकेको छ । कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर कुल ५२ किलोमिटरमा रेल चलाउने तयारी भएको छ ।

  • नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

    नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४२ हजार ९ सय ४९ जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन्।

  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन


    काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउने छ ।

    जिल्ला प्रशासन कार्यलय काठमाडौंले एक सूचना जारी गर्दै दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी असोज ४ गतेबाट सेवा पुन सुचारु गर्न लागेको जानाकारी दिएको हो ।

    यसको लागि कार्यलयले कुन दिन कुन महानगरका व्यक्ति कामको लागि आउने एक हप्ते तालिका नै बनाएको छ।

    तालिकामा प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण जस्ता सेवाको लागि नगरपालिका अनुसार सेवा प्रवाह हुने दिन तय गरेको छ ।

    जसअनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन् । यस्तै कीर्तीपुर, नागार्जुन, चन्द्रागिरी नगरपालिका मानिसहरु सोमबार, बुधबार र शुक्रबार सेवा लिन सक्नेछन् ।

    त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन् ।

    पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ । शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ।

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले केही सेवाहरु स्थगित गरेको छ ।

  • लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

    लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

    काठमाडौं  । लकडाउनरनिषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन बिहीबारबाट सञ्चालनमा आएका छन् ।

    मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् ।

    सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

    चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

    यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ ।

  • काठमाडौं उपत्यकाको निषेधाज्ञामा परिवर्तन, जोरबिजोर कायम

    काठमाडौं उपत्यकाको निषेधाज्ञामा परिवर्तन, जोरबिजोर कायम

    काठमाडौं । काठमाडौं उपत्यकाका जारी भएको निषेधाज्ञामा परिमार्जन गरिएको छ । स्थानीय प्रशासनले ३ भदौबाट निषेधाज्ञा थालेको थियो । यस्तो आदेश पुनः २४ भदौबाट ७ दिनका लागि हुने गरी तोकिएको थियो । एक साताअघि भने खुकुलो पारेको थियो । बुधबार रातिबाट यो समय समेत सकिदैछ ।

    सोही सन्दर्भमा बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ। बैठकले निषेधाज्ञा खुलाएको छ । तर, जोर बिजोर प्रणाली भने लागु नै रहने भएको छ । उपत्यकामा अत्यावश्यक र कार्यालय प्रयोजनबाहेक सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर यथावत रहने भएको छ ।

    सरकारले लामो दूरीको यातायात खुला गरेका कारण अब उपत्यकाका सबै नाका खुला भए । नाकाबाट आवतजावत गर्दा हुने स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण आफै सचेत हुनुपर्ने निर्णय स्थानीय प्रशासनले गरेका छन् ।

    सार्वजनिक र निजी सवारीसाधन पूर्ववत् चल्न पाउनेछन् । सबै सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । मापदण्ड पालना भए नभएको प्रशासनले अनुगमन गर्ने गरी तोकिएको छ । बिहीबारदेखि सबै खालका पसल भने खुला हुनेछन् । यसअघि तोकिएको समय समेत हटेको छ ।

    होटल खोल्न लगाइएको बन्देज समेत अब हटेको छ । कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय हटेको छ। सपिङ मल पूर्ण रुपमा खुल्ने भएका छन्। टेक अवे सेवा र अनलाइन डेलिभरी सेवामा कुनै समय नलाग्ने गरी नियम आएको छ ।

    बैंक तथा वित्तीय संस्थाको सेवा समेत सूचारु हुने भएको छ । शिक्षालय भने तत्काल खुल्ने छैनन् । फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोर खुल्ने गरी निर्णय भएको छ ।

    बढी भिड हुने डान्स सेन्टर, बार, फिल्म हल भने खोल्न नपाइने गरी निर्णय भएको छ । मठ, मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेक काम गर्न नपाइने गरी तोकिएको छ । गोष्ठी, सेमिनार, स्पा, ब्युटी पार्लर, सैलुन खोल्न समेत रोकतोक कायम रहनेछ ।

  • ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान

    ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान

    काठमाडौं । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान संचालन गर्न पाउने निर्णयको विरुद्धमा वायुसेवा संचालकहरु उभिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्दा भाडा बढाउनु पर्ने र भाडा बढाउँदा यात्रु जहाज चढ्न आउने अवस्था नभएको भन्दै वायुसेवा संचालकहरुले यो निर्णय मान्य नहुने निर्णय गरेका हुन् ।

    बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै एयरलाइन्स कम्पनीले यस्तो निर्णय सुनाएका हुन् । सरकारले भने ५० प्रतिशत मात्र यात्रु राख्न र भाडाको माथिल्लो तहको भाडा असुल गर्न प्रस्ताव गरेको छ ।

    तर, वायुसेवा कम्पनी भने यो निर्णयमा सहमत देखिएका छैनन् । ५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयले लामो समयदेखि अवरुद्ध हवाई सेवा संचालनको वातावरण नबन्ने कम्पनीहरुको तर्क रहेको छ । यात्रुको संख्या परै राख्न पाउने शर्तमा भने कम्पनीहरुले ५ असोजबाट जहाज उडाउन तयार भएका छन् ।

  • ‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’

    ‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

    तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

    शवबाट नमूना निकाली कोरोना संक्रमण परीक्षण गर्ने काम नगर्न नगराउन भन्दै प्रवक्ता गौतमले यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने पनि बताए ।

    कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ ।

    यसरी परीक्षण गर्दा मृत्यु भएका धेरै जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

    तर अब सरकारले मृत्यु भइसककोहरुको कोरोना परीक्षण नगर्ने निर्णय गरेको हो ।

  • थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

    थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ७१ र ७४ वर्षीया महिला रहेका छन् ।

    त्यस्तै सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला, काभ्रेमा ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ।

    कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ।

    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

  • नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज

    नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षणमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३२७ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७ सय उपचारपछि निको भएका छन्।

    हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्। देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् ।

  • अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

    अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

    काठमाडौं । मध्यपूर्वी क्षेत्रमा शान्ती स्थापनार्थ एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो सम्झौतालाई राष्ट्रपति ट्रम्पले तारिफ गरेका छन् ।

    यी तीन मुलुकबीच एक आपसमा सम्बन्ध सामान्य बनाउने गरी ऐतिहासिक सम्झौता भएको हो । सम्झौतापछि टुईटरमार्फत राष्ट्रपति ट्रम्पले नयाँ मध्यपूर्वको सुरूवातको संज्ञा दिएका छन् । उनले तीन वटै मुलुकलाई बधाई समेत दिएका छन् । दशकौंको विभाजन र संघर्षपछि एउटा नयाँ मध्यपूर्वको सुरूवात गरेको उनको भनाई छ ।

    सम्झौता अनुसार अब इजरायल, युएई र बहराइन एकअर्को मुलुकमा दूतावास खोल्न र राजदूत नियूक्त गर्न सहमत भएका छन् । सम्झौता कार्यक्रम मंगलबार ह्वाइटहाउसमा भएको हो । यो सम्झौताप्रति प्यालेस्टाइनको भने असहमति रहेको छ । प्यालेस्टान खाडी मुलुकहरुले आफुलाई धोका दिएको रुपमा यो सम्झौतालाई लिन्छ ।

    उसको माग इजरायलसँगको विवाद समाधान नभएसम्म खाडी मलुकले इजरायललाई माफी दिन नहुने छ । यो सम्झौताका लागि राष्ट्रपति ट्रम्पको भूमिका महत्वपूर्ण छ । उनले गत जनवरीमा मध्यपूर्व शान्ति योजना ल्याएका थिए । जसमा तीन मुलुकीच शान्ती सम्झौता गर्ने उल्लेख थियो । नजिकिएको निर्वाचनलाई ट्रम्पले एक हतियारका रुपमा शान्ती सम्झौतालाई उपयोग गर्नेछन् । एजेन्सी

  • हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान

    हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान

    काठमाडौं । सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । उनीहरु आरोहणका लागि मंगलबार नेपाल प्रस्थान गरेका छन् । उनीहरुले नेपालमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्दैछन् । उनीहरु मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक आरोहण टोलीमा समावेश छन् । उनीहरु शेख ईशा एयरबेसको चार्टर्ड जहाज चढेर काठमाडौं उडेका हुन् । यो टोलीले नेपालमा २ महिना बिताउने छ । यस क्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् ।

    यो आरोहण आगामी सिजनमा सगरमाथा आरोहणको तयारीका रुपमा लिइएको समेत दूतावासले जनाएको छ । उनीहरुलाई मन्त्रिपरिषद्ले अनुमति दिएको हो । नेपालमा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भने उनीहरुले पालना गर्नुपर्नेछ । यो टोली कोरोनापछि नेपाल आउने पहिलो विदेशी आरोही टोली हुनेछ ।

  • नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

    नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु

    काठमाडौं । नेपालमा आज बिहान ६ रेक्टरको ६ सेक्टर स्केलको ठूलो भूकम्प गएको छ । बिहान ५ः१९ बजेको समयमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको शक्तिशाली धक्का काठमाडौं उपत्यकासहित यो आसपासका जिल्लामा महसुस भएको छ ।

    बिहान सबेरै आएको भूकम्पपछि सबै मानिस घर बाहिर निस्किएका थिए । उपत्यकामा केही मानिस खुला चौरतर्फ लागेका थिए । सिन्धुपाल्चोकमा केन्द्र भएर गएको ठूलो भूकम्पले गरेको क्षतिको विवरण भने आइसकेको छैन ।

    २०७२ सालपछि पहिलो पटक नेपालमा ६ रेक्टर स्केलमाथिको भूकम्प गएको हो । यो भुकम्पलाई नयाँ भूकम्प मानिएको छ । बिहानको ठूलो भूकम्पपछि सिन्धुपाल्चोकमा ३ रेक्टर स्केलको अर्को धक्का समेत महसुस गरिएको केन्द्रले जनाएको छ । बाढी र पहिरोका कारण आक्रान्त सिन्धुपाल्चोकमा भूकम्पले फेरी त्रास थपिदिएको छ ।

  • बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

    बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

    काठमाडौं । नेपाल विद्यूत प्राधिकरणबाट कुलमान घिसिङ बिदा भएका छन् । उनलाई प्राधिकरणले मंगलबार औपचारिक बिदाई गरेको छ । उनले आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पार गरी बिदा भएका हुन् । नेपालमा १८ घण्टासम्म लोडसेडिंग भइरहेको समयमा नेतृत्व सम्हालेका उनले अन्धकारबाट नेपाललाई पार मात्र लगाएनन्, प्राधिकरणलाई वार्षिक ५ अर्ब मुनाफा कमाउने संस्थामा परिणत समेत गर्न सफल भएका छन् ।

    उनलाई कर्मचारीले पुन नियुक्तिको शुभकामना समेत दिएका छन् । बिदाई समारोहणमा कुलमानले सबैको साझा प्रयासबाट आफुले सफलता पाएको भन्दै आगामी दिन समृद्ध नेपाल निर्माणमै खर्च गर्ने प्रतिवद्धता व्यक्त गरे । उता, सरकारले प्राधिकरणको निमिक्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ ।

    उनलाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशक तोकेका छन् । कोइराला नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकमा कार्यरत छन् । कुलमानको पुननियुक्तिमा सरकारलाई ठूलो जनदवाव रहेको छ । तर, सरकारले उनको कार्यकाल थप्ने निर्णय नगरेपछि उनी बाहिरिएका हुन् । सरकारले कसलाई कार्यकारी बनाउछ भन्ने अझै टुंग्गो लागिसकेको छैन ।

  • लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

    लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

    काठमाडौं । सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ । यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए ।

    तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको बताएका छन् । उनका अनुसार सार्वजनिक यातायातमा भने भाडा ५० प्रतिशत बढी लिन पाइने भएको छ ।

    स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न पाइने छ । उनका अनुसार संक्रमणको जोखिम बढेमा भने स्थानीय प्रशासनबाटै आवश्यक निर्णयहरु हुनेछन् । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ। जहाजमा समेत यस्तै गरी यात्रा गर्न पाइने भएको छ ।

  • नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषगरि थप ११ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमित रहेका छन् ।

    काठमाडौंमा ८६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ ।

    सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ।
    नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत हो ।

  • नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

    नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५६ हजार ७८८ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन्।

    हाल देशभर १५ हजार ७८९ जना सक्रिय संक्रमित छन्।

  • कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी

    कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी

    काठमाडौं । सरकारले कोरोना बीमाका नाममा फेरी झेल शुरु गरेको छ । यसअघि निजी ल्यावबाट भएको परीक्षण अमान्य हुने निर्णय गरेको बीमा समितिले त्यो निर्णय सच्याउँदै भुक्तानी हुने रकममा ७५ प्रतिशत कटौती गरेको छ । यसअघि कोरोना बीमा १ लाख रुपैयाँको थियो ।

    अब २८ भदौयता हुने कोरोना बीमा एक लाख रुपैयाँकै भएपनि भुक्तानी भने मात्र २५ हजारको हुनेछ । अर्थातः कोरोना लागेको व्यक्ति होम आइसोलेसनमा बसेर निको भएको अवस्थामा उसले कुल विमांकको मात्र २५ प्रतिशतसम्म मात्र पाउने गरी कोरोना बीमाको मापदण्ड संशोधन भएको छ ।

    आइसोलेसनमा बस्नु परेमा हकमा भने बिल भर्पाईका आधारमा ७५ प्रतिशतसम्म मात्र भुक्तानी हुनेछ । अर्थातः आइसुलेसनमा बस्दा कुल २ लाख खर्च भयो भने कोरोना बीमाले अधिकतम ७५ हजार रुपैयाँसम्म मात्र कभर गर्नेछ । यसअघि ५० हजार र १ लाख रुपैयाँको कोरोना बीमा गरिएको थियो । जुन, जस्तो सुकै अवस्थामा पनि भुक्तानी हुन्थ्यो ।

    तर, नयाँ मापदण्डमा सरकारले झेल गरेको छ । बीमा कम्पनीहरुको दवावमा बीमा समितिले यस्तो निर्णय गरेको हो । प्रारम्भिक दिनमा नेपालमा संक्रमित कम भएको अवस्था र धेरै मानिसले कोरोना बीमा गरेका कारण कम्पनीहरु नाफामा थिए ।

    पछिल्ला दिनमा संक्रमित बढेपछि उनीहरु डराएका हुन् । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुदैछ । उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ नै पाउने भएका छन् ।

  • कसले रोक्यो कुलमानको नियुक्ति ?

    कसले रोक्यो कुलमानको नियुक्ति ?

    काठमाडौं । तीब्र जन दवावका बीच सोमबार मन्त्रिपरिषद् बैठकले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुननियुक्ति दिने अपेक्षा धेरैको थियो । किनकी सरकारले जनप्रिय नियुक्ति दिएर पुनः एक पटक स्यावासी पाउने सम्भावना छ । तर, त्यस विपरित जनताले प्रत्यक्ष निर्वाचनमा हराएका बामदेव गौतमलाई सांसद बनाएर जनमतकै उपहास हुने निर्णय गर्यो, तर कुलमानको पक्षमा निर्णय आएन ।

    कुलमान नियुक्त कसले रोक्यो ? नेपालमा संचारमाध्यमबीच यो विवाद पुनः एक पटक बाझिएको छ । केही संचारमाध्यम लेख्छन्, यो प्रस्ताव उर्जा मन्त्रालयले आइतबार नै क्याविनेट लगेको थियो । तर, प्रधानमन्त्रीले यसलाई अगाडी बढाउन चाहेनन् । यसमा केही सत्यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको एक पेज लामो स्टाटसले पनि दिन्छ ।

    उसले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति पाउन खुला प्रतिस्पर्धाबाट आउनु पर्ने बताएका छन् । नियम अनुसार नै कार्यकारी निर्देशक नियुक्ति हुने र त्यसका लागि कुलमान खुला प्रतिूपर्धाबाट आउनु पर्ने उनको भनाई छ । तर, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने कुलमानलाई सरकारले पुननियुक्ति दिनु पर्ने पक्षमा छन् । उनले जनमतको कदर गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।

    अर्को पक्षका संचारमाध्यम लेख्छन्, उर्जा मन्त्रालयले नै कुलमानको प्रस्ताव लगेको थिएन, सोहीकारण कुलमानको नियुक्ति सोमबार हुन सकेन । यद्दपी प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेका भए, सोमबार कै बैठकमा उनको नियुक्तिको सम्भावना पनि थियो । किनकी यस्तो निर्णयमा प्रधानमन्त्री स्वयमले ठाडो प्रस्ताव लगेर पास गराउन खोज्छन् ।

    क्याविनेटमा पूर्व एमाले पक्षधर मन्त्रिहरु कुलमानलाई पुननियुक्तिको पक्षमा छैनन् । सोहीकारण पनि उनको पक्षमा मन्त्रिपरिषद् भित्र माहोल बन्न सकेको छैन । कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका हुन् । उनली २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनले नेपालबाट लोडसेडिंग सधैका लागि हटाएर स्यावासी कमाएका छन् ।

  • अन्ततः बामदेव गौतम बन्ने भए सांसद

    अन्ततः बामदेव गौतम बन्ने भए सांसद

    काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरिएको हो ।

    उनलाई भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिले नियुक्ति गर्ने एक सीट खाली रहेको छ ।

  • ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

    ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

    काठमाडौं । ५ असोजबाट लामो दुरीको यातायात सेवा र आन्तरिक हवाई उडान शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा १० चैत राती १२ बजेदेखि लामो दुरीको यातायात र हवाई यातायातमा प्रतिवन्ध लागेको छ । नजिकिएको दशैं र यात्रु तथा व्यवसायिको तिब्र दवावका बीच सरकारले यी दुबै यातायातका साधन चलाउने निर्णय गरेको हो ।

  • जग्गाको कित्ताकाट खुलाउने निर्णयमा सर्वोच्चको रोक

    जग्गाको कित्ताकाट खुलाउने निर्णयमा सर्वोच्चको रोक

    काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुलाउने सरकारी निर्णयमा रोक लगाएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासबाट जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

    अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी रीट दायर गरेका थिए । यो रीटमा सुनुवाई गर्दै सर्वोच्चले आगामी ८ असोजमा दुबै पक्षलाई छलफलका लागि डाकेको छ ।

    २०७४ साउन २६ मा मन्त्रालयले कित्ताकाट रोकेको थियो । तर, भदौ १८ मा मन्त्रालयले नै पुरानो निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो । यस निर्णयलाई भूमाफियाको चलखेल भएको भन्दै आम सर्वसाधारणबाट व्यापक आलोचना भएको थियो ।

    किनकी मन्त्रालयले कित्ताकाट फुकुवा किन आवश्यक थियो भन्ने बारे चित्तबुझ्दो जवाफ दिन सकेको छैन । भूउपयोग ऐन २०७६ अनसार एक प्रयोजनका लागि छुट्याएको जमिन अन्य क्षेत्रमा प्रयोग गर्न पाइदैन ।

  • मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश

    मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश

    काठमाडौं । सरकारसँग गरेको सम्झौता अनुसार मल ल्याउन नसकेका दुई कम्पनीमाथि सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । उता, उच्च अदालत पाटनले भने कारवाही तत्कालका लागि अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सम्झौता बमोजिम युरिया मल ल्याउन असफल भएका दुई कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको थियो ।

    शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो । यी दुई कम्पनीले ५० हजार मेट्रिक टन मल ल्याउने गरी ठेक्का पाएका थिए । तर, समयमै मल ल्याउन नसकेपछि सरकारले बंगलादेशसँग पैँचो माग्नु परेको छ ।

    दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको छ । मल साउनमै आउनु पर्ने थियो । मल ल्याउन नसकेका उनीहरुको सम्झौता समेत सरकारले खारेज गरिदिएको छ ।

    अदालतमा उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा आदेश जारी गरेको छ ।

    अदालतले भनेको छ, ‘दुवै कम्पनीलाई भदौ २१ मा गरिएको कारबाही तथा उक्त कारबाही कार्यान्वनय गर्न २२ मा पठाइएको पत्र तत्काल कार्यन्वयन नगर्नू नगराउनू, ।’ उच्च अदालतले दुबै पक्षलाई भदौ ३१ मा छलफलका लागि समेत बोलाएको छ ।

  • एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

    एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १५ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा काठमाडौंका मात्र ६ जना रहेका छन् । काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङमा ४० र ७० वर्षीय पुरुष, गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।

    यो नै हालसम्म मुत्यु भएको उच्च संख्या हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

  • नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

    नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३२९ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३९ हजार ५७६ उपचारपछि निको भएका छन्।

    हाल देशभर १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्।

  • नेपाल वायुसेवाका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

    नेपाल वायुसेवाका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।

    उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।

    कोरोना देखिएसँगै अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् ।

    दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

  • निजी ल्यावको रिर्पोटका आधारमा समेत अब कोरोना बीमा दावि गर्न सकिने

    निजी ल्यावको रिर्पोटका आधारमा समेत अब कोरोना बीमा दावि गर्न सकिने

    काठमाडौं । निजी ल्यावमा गरिएको परीक्षणमा कोरोना पुष्टी भएमा समेत अब कोरोना बीमा दावि गर्न सकिने भएको छ । यसअघि बीमा कम्पनीहरुले सरकारी ल्यावको रिर्पोटलाई मात्र मान्य हुने बताएका थिए । बीमा समिति कोरोना बीमा सम्बन्धी मापदण्ड संशोधन गर्दै यस्तो प्रावधान सुनिश्चित गरेको हो ।

    कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि अब भने कोरोना बीमा दाबी गर्न सकिने छ । यो प्रावधान आजबाट लागु हुनेछ । बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नु पर्ने मापदण्डले स्पष्ट पारेको छ ।


    समितिबाट यसअघि निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने निर्णय भएपछि त्यसमा बीमा कम्पनीको चलखेल भएको भन्दै चर्को आलोचना भएको थियो । त्यसकारण समिति मापदण्ड फेर्न बाध्य भएको हो ।

    संशोधित मापदण्डमा मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरिएको छ ।

    बीमा कम्पनीहरुलाई संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत मापदण्डले तोकेको छ । प्रकृया पूरा भएपछि ७ दिन भित्र दाबी भुक्तानी भइसक्ने भएको छ ।

  • चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

    चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

    भरतपुर । आज चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । यससँगै चितवन जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको हो । यसमध्ये १७ जना चितवनकै हुन भने १० जना भन्ने अन्य जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी हुन् ।

    चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो । उनी पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा हुन् । अस्पतालका अनुसार आइतबार राति उनको मृत्यु भएको हो । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि १५ भदौमा अस्पताल भर्ना भएकी हुन् ।

    त्यसपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनमा चितवनकै १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जना संक्रमितको निधन भएको हो ।

  • बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

    बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

    बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारार्थ एक महिलाको आज निधन भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालले पुष्टी गरेको हो ।

    उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको अस्पतालले जनाएको छ ।

  • विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

    विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं । संसकदीय समितिले विदेशमा समस्यामा रहेका सबै नेपालीको उद्धार एक महिना भित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको हो ।

    समितिको बैठक आइतबार सिंहदरबारमा बसेको हो । बैठकले वैदेशिक रोजगारीका लागि गई अलपत्र नेपालीलाई उद्धार गरी नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको हो । यसको कार्यान्वयन गर्ने निकाय भने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय हुन् ।

    समिति सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुलाई ल्याउने सम्बन्धमा प्रभावकारी कार्यसम्पादन हुन नसकेको समेत उल्लेख गरे ।

    वैदेशिक रोजगारीको रुपमा साउदी अरब, कतार, कुवेत, मलेसिया आदि देशमा गएका र कोभिड १९ को कारणबाट लामो समयसम्म रोजगार बिहिन भई अलपत्र अवस्थामा रहेका श्रमिकहरुलाई नेपाल ल्याउने सम्बन्धमा सम्बन्धित सरकारी निकायहरुबाट प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा समितिको गम्भिर ध्यानाकर्षण भएको उनको भनाई छ ।

    समितिले कोभिड १९का कारण रोजगारी गुमाएका नागरिकहरु भोकभोकै रहने अवस्था आइसकेकाले त्यसको तत्काल समस्या समाधान गर्न स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्य सम्पादन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

    विदेशबाट आफैँ आउन नसक्ने गरी अलपत्र परेका श्रमिकहरुको यथार्थ सूचना संकलन गरी त्यस्ता व्यक्तिहरुलाई राज्यले खर्च व्यहोरेर ल्याउने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको हो ।