Category: फिचर

  • बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु

    बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु

    बुटवल र चितवनमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट एक\एक जनाको निधन भएको छ । बुटवलमा प्युठानका कोरोना संक्रमित पुरुषको ज्यान गएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको छ ।

    उनी कलेजो र फोक्सोमा निमोनियाको समस्याबाट ग्रसित रहेको बताइएको छ । उनी १० भदौमा मुटु अस्पतालमा भर्ना भएका थिए । मुटु अस्पतालमा अर्का एकजना कोरोना संक्रमितको समेत उपचार जारी रहेको छ ।

    उता, चितवनमा थप एकजना कोरोना संक्रमित महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा निधन भएको हो । उनी झाडापखाला, खोकी र कम सोडियमको समस्याले पिडित थिइन् । यससँगै चितवनमा मात्र कोरोनाबाट हालसम्म १८ जनाको मृत्यु भएको छ ।

  • बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

    बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । यहाँ गतराती गएको बाढी र पहिरोले दर्जनौं घर बगाएको छ । जसमा कम्तिमा १२ जना बेपत्ता भएको स्थानीय प्रशासनले जानकारस् गराएको छ । यस स्थानमा सुकुर्दुङ खोलाले वितण्डा मच्चाएको हो । बाढीले कम्तिमा १० घर बगेका छन् ।

    सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीय प्रहरीले जनाएको छ । बाढीले घर बगाउँदा कम्तिमा १२ जना सम्पर्क विहीन रहेको र थप क्षति भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुर्तिवाङले उल्लेख गरेको छ । रातिको समयमा भएको क्षतिका कारण यकिन विवरण संकलनको काम भइरहेको प्रहरीको भनाई छ ।

    बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले पुष्टी गरेको छ । अहिले उद्धारको काम जारी रहेको छ । घटनास्थलमा प्रहरी, सेना तथा स्थानीय बासी उद्धारमा खटिएका छन् । ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो खसेपछि आएको बाढीले ठूलो मानवीय क्षति गरेको हो ।

    प्रहरीका अनुसार लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन छन् । लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेको प्रहरीले जानकारी दिएको छ ।

  • अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

    अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

    न्यूयोर्क / डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनको क्याम्पेनले अगष्ट महिनामा ३६४.५ मिलियन डलर (३६ करोड ४५ लाख अमेरिकी डलर) चन्दा संकलन गर्न सफल भएको छ । अमेरिकामा कुनै पनि राष्ट्रपतिय उम्मेद्वारको क्याम्पेनले एकै महिनामा यति धेरै रकम उठाएको यो पहिलो पटक हो ।

    अगष्ट पहिलो साता सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेद्वार चयन गरेपछि बाइडेन क्याम्पेनको सहयोगका लागि चन्दाको ओइरो लागेको थियो । ह्यारिसलाई सहयात्री चुनेको दुई दिनमा ४८ मिलियन डलर संकलन भएको क्याम्पेनले त्यही बेला जनाएको थियो । त्यसपछि अगष्ट दोस्रो साता सम्पन्न डेमोक्रेटिक राष्ट्रिय सम्मेलनका बेला पनि ठूलो रकम उठेको थियो । चार दिन चलेको सम्मलेनमा कुल ७७ मिलियन संकलन भएको थियो । महिनाभर संकलित रकमको ५७ प्रतिशत स-साना दाताले अनलाइन मार्फत उपलब्ध गराएको बाइडेनले क्याम्पेनले जनाएको छ ।

    अमेरिकामा राजनीतिककर्मीको पहिलो सफलताको रुपमा चन्दा संकलनलाई नै लिइन्छ । जति धेरै पैसा उठायो जति नै प्रचार प्रसारमा खर्च गर्ने अवसर प्राप्त हुन्छ । रेकर्ड बन्ने गरि चन्दा संकलन भएपछि बाइडेनले समर्थकहरुलाई धन्यबाद दिँदै इमेल समेत पठाएका छन् ।

    सन् २०२० को सुरुवातमा बाइडेन क्याम्पेन आर्थिक संकटमा थियो । आर्थिक अभावमा उनले देशभर प्रचार गर्न समेत सकेका थिएनन् । साउथ क्यारोलिनाको प्राइमरी चुनाव जितेपछि मात्र उनको पक्षमा केही माहोल देखिन थाल्यो । पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउने निश्चित भएसँगै उनका लागि चन्दाको दिने संख्या निरन्तर उकालो लागेको हो ।

    जुलाईमा भने राष्ट्रपति डोनाल्ड ट्रम्प क्याम्पेनले बाइडेनलाई चन्दा संकलनमा २५ मिलियनले उछिनेको थियो । अघिल्लो महिना ट्रम्प र बाइडेन क्याम्पेनले क्रमशः १६५ मिलियन र १४० मिलियन उठाएका हुन् । त्यती हुँदा पनि जुलाई अन्त्यमा बाइडेन क्याम्पेनसँग खातामा ट्रम्प क्याम्पेनभन्दा छ मिलियन डलर मात्र कम थियो । ट्रम्प क्याम्पेनले अहिलेसम्म अगष्टको चन्दा संकलन सार्वजनिक गरेको छैन । तर, गत महिनाको चन्दा संकलनमा बाइडेन क्याम्पेनले ट्रम्पलाई सहजै उछिनेको राजनीतिक पण्डितहरुको अनुमान छ ।

    सन् २०१६ को अगष्ट्रमा डेमोक्रेटिक प्रत्यासी हिलारी क्लिन्टन क्याम्पेनले १४३ मिलियन डलर संकलन गर्दा ट्रम्प क्याम्पेनले ९० मिलियन डलर चन्दा संकलन गरेको थियो ।

  • ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

    ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

    काठमाडौं । अब ५ सय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएको जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । तर, २ सय सक्रिय संक्रमित नाघेको अवस्थामा भने लकडाउन घोषणा गर्न सकिने भएको छ । लकडाउन निषेधाज्ञाको तुलनामा केही खुकुलो हुन्छ ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने प्रावधान ल्याइएको छ । २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्नेछन् । उनका अनुसार अहिले १२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

    यसरी बढी संक्रमणको शिकार हुने जिल्लामा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही रहेका छन्। उता २ सय बढी सक्रिय संक्रमित भएका जिल्ला ६ वटा छन्। सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली यो सूचिमा छन् । काठमाडौंमा मात्र ५ हजार सक्रिय संक्रमित पुगेका छन् ।

  • स्थानीय प्रशासनको आदेश : काठमाडौं छिर्न पिसिआर नेगेटिभ अनिवार्य

    स्थानीय प्रशासनको आदेश : काठमाडौं छिर्न पिसिआर नेगेटिभ अनिवार्य

    काठमाडौं । काठमाडौं उपत्यका छिर्न पुनः कोरोना संक्रमण परीक्षण पिसिआर रिर्पोट नेगेटिभ आएको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ । उपत्यकामा निषेधाज्ञा लम्ब्याउदै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले यस्तो प्रावधान अनिवार्य गरेका हुन् । अत्यावश्यक काम परेमा उपत्यका छिर्न दिइने छ ।

    तर पिसिआर रिर्पोट भने अनिवार्य नेगेटिभ आएको हुनुपर्छ । तीन वटै जिल्ला प्रशासन कार्यालयबाट बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी भएको छ । आदेश अनुसार उपत्यकामा लकडाउन केही खुकुलो बनेको छ ।

    ११ बजेसम्म अत्यावश्यक वस्तुको खरीद गर्न सकिने भएको छ । औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनु पर्ने जस्ता कामलाई सरकारले अति आवश्यक सेवा भनेको छ ।

    अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सार जाँचपास गरी आएका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी काठमाडौंलाई उपत्यका प्रवेश गर्न पाउने गरी निर्णय भएको छ ।

    ती सवारी साधनका ड्राइभर र सहयोगी अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम समेत बनाइएको छ । निषेधाज्ञाको आदेशअनुसार हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट देखाएमा र पीसीआर परीक्षण सुविधा नभएको स्थानबाट काठमाडौं आउनुपरेमा काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता गर्नुपर्नेछ । साथमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य देखाउनुपर्नेछ ।

  • विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने

    विदेशी एयरलाइन्सले नेपाल एयरलाइन्सको भन्दा महंगो भाडा लिन नपाउने

    काठमाडौं । अहिले विदेशबाट फर्कने नेपालीलाई लक्षित गरी सरकारले अन्तर्राष्ट्रिय नियमित उडान खुला गरेको छ । तर, यही मौकाको फाइदा उठाउन वायुसेवा कम्पनीले मंहगो शूल्कमा टिकट बिक्रि गरिरहेका छन् ।

    यसै सन्दर्भमा पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको रुटमा निगमले तय गरेको भाडादर भन्दा महंगोमा यात्रु ल्याउने गरी विदेशी एयरलाइन्सलाई अनुमति नदिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

    पर्यटनमन्त्री योगेश भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीबाट अनियन्त्रित रुपमा कालोबजारी भएको गुनासो आएमा एयरलाइन्सबाटै नियन्त्रण हुनुपर्ने भन्दै यसको अनुगमन तथा सहजीकरण गर्न विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग एनआरएन)सँग सहयोग लिइने उल्लेख गरेका छन् ।

    आज मन्त्रालयमा बसेको बैठकमा हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्नरनगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय समेत भएको छ ।

    नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्न्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

    उता, २५ अगष्टमा १६१ जना यात्रु लिएर काठमाडौं आएको एयर अरेवियाले पीसीआर नेगेटिभ भएका सबै यात्रुको होटेल क्वारेन्टिन वापतको रकम तिर्नुपर्ने निर्णय बैठकले गरेको छ । सरकारले एउटै उडानबाट पिसिआर नेगेटिभ आएका र परीक्षण नगरेका यात्रु ल्याउन प्रतिवन्ध लगाएको छ ।

    तर, एयर अरेवियाले भने सारजहाबाट आउँदा १४२ जना पीसीआर गरेको, १८ जना आरडिटी गरेको र एकजना केही पनि नगरेको यात्रु ल्याएको थियो । मन्त्री भट्टराईले रकम फिर्ता नगरे कारवाही गर्न समेत निर्देशन दिएका छन् ।

  • उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

    उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलपछि भदौ १७ गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् ।

    उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।

    यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

  • नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

    नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन्।

  • अब हट्ला कोटेश्वरको जाम ?

    अब हट्ला कोटेश्वरको जाम ?

    काठमाडौं । काठमाडौं उपत्यकाका सबैभन्दा डरलाग्दो जाम हुने चोक हो कोटेश्वर । चारतर्फबाट अत्यन्तै ठूलो संख्यामा आउने सवारी साधनका कारण सामान्य अवस्थामा आधा घन्टासम्म जाममा पर्नु अनौठो होइन् ।

    किनकी चोकमा अण्डर पास वा फ्लाइओभर नभएका कारण चोकमा एक पटकमा कम्तिमा दुई तर्फका सवारी साधनले पालो कुर्नुपर्छ । यो समस्या हटाउन सरकारले कोटेश्वरबाट जडीबुटी चोकसम्मको सडक बिस्तार थालेको छ ।

    यो सडक अब आठ लेनको बन्ने छ । आगामी तीन महिनामा सक्ने गरी विमानस्थलले चर्चेको जग्गामा डोजर चलिसकेको छ । अहिले चार लेन रहेको यो सडकखण्डलाई आठ लेन बनाउन लागिएको सडक विभागले जानकारी दिएको छ ।

    यसले कोटेश्वरदेखि जडीबुटी चोकसम्मको सडकमा हुने गाडीको अधिक जाम कम गर्न सहयोग पुग्ने अपेक्षा विभागको छ । यसका लागि १२ करोड रुपैयाँ लागत लाग्ने भएको छ । यहाँ अन्य संरचनाको योजना रहेपनि तत्कालिन समस्या समाधानका लागि सडक बिस्तार थालिएको विभागको भनाई छ ।

  • वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

    वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

    वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज र नवलपरासीका एक-एक जनाको मृत्यु भएको हो । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ ।

    उनी मुटु र दमको समस्याबाट पिडित समेत रहेका थिए । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा ज्यान गएको हो । यससँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

    मृत्यु भएका ५५ जनामध्ये पर्साका ३९ जना, बाराका १२ जना र रौतहटका ४ जना हुन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन । उता, भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।

    रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । उनी भदौ १५ मा अस्पताल भर्ना भएकी थिइन् ।

  • काठमाडौंको निषेधाज्ञा आज सकिदै, थप एक साता लम्ब्याउने तयारी

    काठमाडौंको निषेधाज्ञा आज सकिदै, थप एक साता लम्ब्याउने तयारी

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि आज सकिदैछ । आज राती १२ बजेबाट यसको अवधि समाप्त हुनेछ । तर, निषेधाज्ञापछि अझ तिब्र गतिमा कोरोना संक्रमित बढेपछि काठमाडौंमा निषेधाज्ञा लम्ब्याउने निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ ।

    मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । यद्दपी यसको मोडालिटी भने केही परिवर्तन गर्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आज गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । सोही बैठकले निषेधाज्ञाबारे थप निर्णय लिने तयारी छ ।

    उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा लम्बिने भने निश्चित रहेको बताइएको छ । अब होम डेलिभरीलाई खुकुलो पारिने भएको छ ।

    उपत्यकामा रेष्टुरेन्टबाट टेकअवे सेवा समेत लिन सकिने गरी खुलाउने तयारी गरिएको छ । निर्माण सामग्री र भन्सारमा अड्किएका सामानको समेत निर्वाध आपूर्तिको व्यवस्था अब मिलाइने भएको छ ।

  • निगमले फेरी बढायो पेट्रोलको भाउ

    निगमले फेरी बढायो पेट्रोलको भाउ

    काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढेको छ ।

    अब काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ पुगेको छ । निगमका अनुसार अंग्रेजी महिनाको १ र १६ मा नियमित मूल्य समायोजनका क्रममा भाउ बढेको हो । इण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमको दावि छ ।


    डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने चलाइएको छैन । नयाँ समायोजन गरिएको मूल्य वीरगन्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको निगमको भनाई छ ।

  • प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

    प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

    काठमाडौं । नेपाल सरकारले बंगलादेश सरकारसँग यूरिया मल पैंचो मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बंगलादेशी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा बंगलादेश नेपाललाई यूरिया मल दिन सकारात्मक देखिएको प्रधानमन्त्री ओलीले टुइट गर्दै उल्लेख गरेका छन् ।

    नेपालमा समयमै यूरिया मलको खरीद गर्न नसकेपछि मूख्य धानबाली लगाउने बेलामै नेपालमा यूरिया मलको चरम अभाव छ । सरकारले आफ्नो लाचार बंगलादेशसँग प्रस्तुत गरेको छ । सोहीकारण नेपालले बंगलादेशबाट पैंचो पाउने अवस्था बनेको हो ।

    प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भएको समेत ओलीले बताएका छन् । नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि हसिना सकारात्मक रहेको प्रधानमन्त्रीको ट्विटमा उल्लेख छ ।

    नेपालमा मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन सकेको छैन । कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

  • नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

    नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २२ हजार १७८ उपचारपछि निको भएका छन्।

  • नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

    नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

    काठमाडौं । कोरोना भाइरस सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेस्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्।

    परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताएका छन्।

    चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको पनि तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्न कुराकानी भइरहेको अधिकारीले जनाएका थिए।

    एक सङ्क्रामक रोग विज्ञले नेपालले लाभ पाउने सर्तमा मात्रै खोपको परीक्षणमा सहभागी हुनुपर्ने भन्दै परीक्षणमा जोडिनेभन्दा पनि खोप उत्पादनमा लागेका कम्पनीसँग वार्ता गर्न सुझाव दिएका छन्।

    खोप परीक्षणबारे के निर्णय भयो ?

    परिषद्का अध्यक्ष डा. झाका अनुसार झन्डै ८० जना विज्ञसँगको बैठकपछि विस्तृत छलफल र अध्ययनपछि मात्रै खोपको परीक्षणमा सहभागिताबारे टुङ्गोमा पुग्ने निष्कर्ष निकालिएको छ।

    डा. झाले भने, ‘अहिले हामीले खोप विकास गरिरहेका संस्थासँग पत्राचार गरेर परीक्षणमा सहभागी हुन इच्छुक छौँ भनेर सोध्ने कुरा भएको छ।’

    हाल तेस्रो चरणको परीक्षणमा रहेका खोप विकास गर्ने संस्था तयार भएमात्रै थप प्रक्रिया अघि बढ्ने उनले बताए।‘अहिलेसम्म चीनबाट मात्रै हामीलाई औपचारिक रूपमा पत्राचार गरिएको छ। हामीले आवश्यक वैज्ञानिक कागजपत्र माग गर्दै जवाफ पठाएका छौँ। वैज्ञानिक प्रस्ताव आएपछि सल्लाह गर्छौँ।’

    सर्त र सुविधासम्बन्धी छलफल

    परीक्षणमा जानुअघि त्यसका विभिन्न सर्तहरूबारे पनि गहन छलफल गर्नुपर्ने अवस्था रहेकाले टुङ्गोमा पुग्न समय लाग्नसक्ने बताइएको छ।परिषद्का अध्यक्ष डा. झाले प्रस्ताव आइसकेपछि पनि प्राविधिक विषयहरू निरूपण हुनुपर्ने जनाए।

    उनले भने, ‘परीक्षण सफल भयो भने नेपालीले खोप किन्न पाउने या नपाउनेपनि टुङ्गो लाग्नुपर्यो। मानिसहरूमा नकारात्मक असर देखियो भने के गर्ने टुङ्गो लाग्नुपर्छ।’परीक्षणमा रहेका खोपहरू त्यसमा सहभागी मानिसहरूले निःशुल्क पाउने व्यवस्था छ।

    खोपका कारण कुनै नकारात्मक असर देखिए वा शारिरिक समस्या देखिए त्यसको उपचार गर्नुपर्ने र बीमाको व्यवस्था समेत गरिनुपर्ने डा. झा बताउँछन्।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोपको नेपालमा पनि परीक्षण गर्न सकिने गरी निर्णय गर्ने जिम्मेवारी परिषद्लाई दिइएको छ।

    उक्त निकायले दस्तावेज अध्ययन गरी प्रकियाहरू पूरा गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउने र आवश्यक पर्दा सरकारले खोप किनेर पनि उपलब्ध गराउनसक्ने उनले जानकारी दिए।

    विज्ञ के भन्छन् ?

    सङ्क्रामक रोग विज्ञ डा. अनुप सुवेदी अहिले राम्रा भनिएका खोपका ‘क्लिनिकल ट्रायल’ चार-पाँच महिनाअघि नै सुरु भएको भन्दै अब नेपालको ध्यान ती खोप प्रमाणित भए कसरी हासिल गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए।

    उनले भने, ‘हामी खोपको परीक्षणमा इच्छुक हो भने त्यहि बेला कुरा गर्नु पर्थ्यो। यतिबेला प्रस्तावहरू लेखेर हामीलाई फाइदा हुन्छ जस्तो लाग्दैन।’

    डा. सुवेदीले भने, ‘हामी खोपको परीक्षणमा सहभागी भए बापत थुप्रै खोप सुरुमा पाउँछौँ वा विशेष प्राथमिकताका साथ खोप उपलब्ध गराइयो भने हामीलाई फाइदा हुनसक्छ।’

    त्यस्तो परीक्षणका लागि ठूलो गृहकार्य चाहिने भन्दै उनले प्रभावकारी भएका खोप ल्याउन सरकारले संयन्त्र नै बनाएर खोप उत्पादनका अग्रणी देश र कम्पनीसँग सम्वाद अघि बढाउनुपर्ने बताए।

    अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोना भाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन्।

    अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेस्रो चरण अन्तर्गत ठूलो सङ्ख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ।

    -बीबीसी

  • चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

    चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

    भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीन जनाको ज्यान ज्यान गएको छ । कोरोना भाइरस पुष्टी नभएका तीन जनाकै मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको हो । जिल्लामा पिसिआर परीक्षण बीना अस्पतालहरुले भर्ना नलिने भएकाले बिरामी भएर गएका उनीहरुको सोमबार विभिन्न अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पतालमा निधन भएको हो ।

    जिल्लाका मेडिकल कलेज र अस्पतालमा अहिले गम्भीर बिरामीलाई सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै भर्ना लिइदैन । जसले गर्दा उपचारपछि निको हुने बिरामीले समेत अकालमा ज्यान गुमाउनु परेको छ ।

    भरतपुर अस्पताल स्रोतका अनुसार तीन जनामै निमोनियाको समस्या देखिएको थियो । उनीको मृत्युपछि गरिएको स्वाब सङ्कलन र परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । नतिजा सोमबार राती अबेर आएको छ ।

    चितवनमा ८ वर्षिय युवती, ५५ वर्षिय महिला र ६५ वर्षिय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको थियो । उनलाई मेडिकल कलेजले भर्ना लिन नमानेपछि भरतपुर अस्पताल लगिएको आफन्तले जानकारी दिएका छन् ।

    उता, भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल रिफर गरिएको थियो । उनको सोमबार ३ बजे मृत्यु भएको थियो । भरतपुर–११ कै १८ वर्षकी युवतीलाई नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो। उनको पनि ३ बजे मृत्यु भएको थियो ।

  • शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

    शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाएको शैक्षिक गतिविधि माथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएको छ । यसअघि १६ भदौबाट संचालनको योजना बनाइएका गतिविधिहरुलाई भदौ मसान्तसम्म सारिएको हो । अब कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ महिनाभर सञ्चालन गर्न पाइने छैन ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको हो । यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय भएको थियो । तर, यसबीचमा कोरोना भाइरसको संक्रमणको मात्र झनै बढेपछि सरकारले शैक्षिक गतिविधिमा रोक लगाएको हो ।

  • वैदेशिक रोजगारी थप खुकुलो, माग आएमा नयाँ कामदार पनि जान पाउने

    वैदेशिक रोजगारी थप खुकुलो, माग आएमा नयाँ कामदार पनि जान पाउने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई थप खुकुलो पारेको छ । कोरोना महामारी र लकडाउन पछि बन्द भएको वैदेशिक रोजगारीलाई प्रारम्भमा भिसा सम्झौता बाँकि रहेका र घर बिदामा आएकालाई मात्र जान दिने निर्णय भएको थियो । अब भने रोजगारदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुलासमेत दिने निर्णय गरेको हो ।

    आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको छ । माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले उल्लेख गरे । उनका अनुसार अब नेपाली कामदार लैजान बाटो खुला खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति दिइनेछ ।

    यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको थियो । अब नयाँ शर्तसहित श्रम स्वीकृति पनि जारी गर्न लागिएको हो ।

  • बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

    बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

    काठमाडौं । सरकारले लकडाउनपछि पहिलो पटक हिमाल आरोहणको अनुमति दिएको छ । सरकारले बहराइनका राजकुमार सहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको हो । उनीहरु चार्टर्ड जहाजबाट काठमाडौं आउनेछन् ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो । सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिकलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएको अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    यसरी आउने टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । सरकारले शरद ऋतुमा पर्यटकीय गतिविधि संचालनमा ल्याउने निर्णय यसअघि गरेको थियो ।

  • गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

    गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

    काठमाडौं । सरकारले लकडाउन र कोरानो महामारीका बीच गैरआवासीय नेपालीका लागि समेत नेपाल आउने ढोका खोलेको छ । तर, सबै गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् । सम्बन्धित मुलुकस्थित नेपाली कुटनीतिक नियोगको सिफारिसमा मात्र उनीहरुलाई नेपाल आउने अनुमति मिल्नेछ ।

    तर, सिफारिस लिने कन्डिसन भने विशेष मात्र तोकिएको छ । कुनै पनि गैरआवासीय नेपालीको एकाघरको आफन्त गम्भीर बिरामी रहेको वा घरको कुनै सदस्यको मृत्यु भएको अवस्थामा मात्र विदेशबाट गैर आवासीय नेपालीलाई नेपाल आउने अनुमति मिल्नेछ ।

    पहिलो चरणमा सरकारले मंगलबारबाट नियमित हवाई उडान खोल्दैछ । यसक्रममा नेपाली नागरिक र कुटनीतिक नियोगमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई मात्र नेपाल आउने अनुमति दिइनेछ । यसबाहेक विदेशी साझेदार कम्पनीका कर्मचारी र प्रतिनिधिले समेत नेपाल आउने अनुमति पाउने छन् ।

    तर, गैरआवासीय नेपालीबाट पनि नेपाल आउन पाउनु पर्ने दवाव सरकारमाथि दिइएको थियो । सोहीअनुसार गैरआवासीय नेपालीका लागि आंशिक रुपमा खुला गर्ने अनुमति दिइएको हो । उता, नेपाल आउन दिइने अनुमतिमा समेत दैनिक संख्या बढाइएको छ । यसअघि दैनिक ५ सय यात्रुलाई काठमाडौं आउन अनुमति दिने भनिएकोमा अब भने ८ सय मानिसलाई अनुमति दिइएको छ ।

  • काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

    काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    सचिवालयको अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार आएको नतिजामा उनमा कोराना पुष्टि भएको हो ।

    मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

    शाक्य निषेधाज्ञा लागू भएयता विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका थिए।

  • नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाटथप सात जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित तीन महिला र चार पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

  • नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय २९ पीसीआर परीक्षणमा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।

  • कतारमा श्रमिकको न्यूनतम आम्दानी मासिक १८ सय रियाल

    कतारमा श्रमिकको न्यूनतम आम्दानी मासिक १८ सय रियाल

    कतार । कतार सरकारले श्रमिकको न्यूनतम ज्याला १ हजार कतारी रियाल तोकेको छ । यो न्यूनतम ज्याला हो । यसमा खाना र बस्नका लागि अतिरिक्त क्रमशः ५ सय ३ सय रियालसमेत भुक्तानी गर्नुपर्नेछ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयबाट श्रमिकको न्यूनतम ज्याला तोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    अलजजिराका अनुसार यो नियम यसअघि करार सम्झौतामा उल्लेख हुने गरेको थियो । तर, कम्पनीहरुले भुक्तानी दिने गरेका थिएनन् । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल अनिवार्य प्राप्त गर्नेछन् ।

    कतार सरकारले अब श्रमिकले काम परिवर्तन गर्न चाहेमा समेत त्यसमा सहजिकरण गरिदिएको छ कामदारले चाहेमा रोजगारदाताको अनुमति नलिए पनि परिवर्तन गर्न सक्नेछ । श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्ने गरी सरकारले निर्णय गरेको छ ।

    श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी भने गराउनु पर्नेछ । कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिना भित्र कार्यान्वयनमा आइसक्ने बताइएको छ ।

    कतार सरकारको पछिल्लो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले स्वागतयोग्य भनेको छ । यो निर्णयबाट नेपाली नागरिक समेत लाभान्वित हुनेछन् । किनकी यहाँ ठूलो संख्यामा नेपाली कामदार छन् ।

  • कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

    कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

    मान्मा । कालिकोटमा आइतबार गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा एकै घरका चार जनासहित १० जनाको निधन भएको हो । दुइ जना भने घाइते भएका छन् ।

    उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो नाग्म बजार मै पहिरो गएको थियो । पहिरोले तीन घर पुरेको प्रहरीले जनाएको छ ।

    पहिरोमा परी ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाका छोराको निधन भएको छ । उता, अर्को परिवारका तीन सदस्यको ज्यान गएको छ ।

    तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको समेत पहिरोमा परी ज्यान गएको प्रहरीले जानकारी दिएको छ । तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर ज्यान गएको हो ।

    सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनको घरमा काम गर्ने २२ वर्षीय अमृत थापाको समेत पहिरोमा परी ज्यान गएको हो । मृतकको घटनास्थलमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउन लागिएको बताइएको छ । सदरमुकामसम्म शव ल्याउन सम्भव नभएपछि डाक्टरसहितको टोली घटनास्थल हिँडेका छ ।

  • लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

    लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

    काठमाडौं । नेपालमा लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएको छ । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित गरिएको थियो । तर, संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै सरकारले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान प्रतिवन्ध कायमै राख्ने निर्णय लिएको हो ।

    विद्यालय र कलेजसहितका शैक्षिक संस्था समेत भदौ मसान्तसम्म बन्द नै रहनेछन् । अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु शुँदैछ । सरकारले दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको छ ।

    आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यो संख्या बढाउनु पर्ने प्रस्ताव गरेका थिए । यसमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहेमा ५ सय भन्दा बढी समेत नेपालीलाई काठमाडौं ल्याउन पाइनेछ ।

  • पिसिआरको शुल्क कटौती, निःशुल्क परीक्षणमा भने कडाई

    पिसिआरको शुल्क कटौती, निःशुल्क परीक्षणमा भने कडाई

    काठमाडौं । सरकारले कोरोना भाइरसको सशुल्क पिसिआरको शूल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाइएको हो । अब शूल्क तिरेर गरिने पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ कायम भएको छ ।

    यसअघि यो मूल्य ५५ सय थियो । यो शूल्क सेवा शुल्क समेत जोडेर तोकिएका कारण कुनै पनि ल्यावले यो भन्दा बढी रकम दिन नपाउने मन्त्रालयले जनाएको छ । उता, सरकारले निशुल्क हुने पिसिआर परीक्षणमा भने अब कडाई गर्ने भएको छ ।

    अब सरकारले तोकेको मापदण्डमा नपर्ने मानिसले भनसुको भरमा पिसिआर निशुल्क गर्न पाउने छैनन् । अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी गरिएको छ ।

  • अब एटीएमबाट जुनसुकै बैंकको पैसा निकाले पनि शूल्क नकाटिने

    अब एटीएमबाट जुनसुकै बैंकको पैसा निकाले पनि शूल्क नकाटिने

    काठमाडौं । अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा समेत ग्राहकले अतिरिक्त शूल्क भुक्तानी गर्नु नपर्ने भएको छ । कोरोना भाइरसको महामारीका बीचमा आएको यो नीतिलाई स्थायी रुपमा लागु गर्नुपर्ने निर्णय नेपाल राष्ट्र बैंकले गरेको छ ।

    यसअघि बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, आइतबारबाट भने सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको छ ।

    लकडाउनका बेला बैंकर्स संघबाटै निर्णय भएर यस्तो शुल्क हटाइएको थियो । अब ग्राहकले जुन सुकै स्थानको एटीएमबाट पनि जुनसुकै बैंकको समेत रकम बीना शूल्क निकाल्न सक्नेछन् ।

    पछिल्लो समय नेपालमा एटीएमभन्दा बढी अनलाइन प्रणाली कार्यान्वयनमा आइसकेको छ । लकडाउन खुलेपछि पनि एटीएम प्रयोग गर्दा पुनः शुल्क काट्ने गरिएको थियो ।

  • तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी

    तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी

    काठमाडौं । काठमाडौं नेपालले थप तीन मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ । रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग नियमित उडानको बाटो खोल्न सरकारले हवाई सम्झौताको तयारी गरेको हो ।

    अहिले नेपालले ४० मुलुकसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको हो ।

    साथै बैठकले १६ भदौपछि हुने नेपालीहरुको स्वदेश फिर्ती अभियानलाई सहज बनाउन एक समिति समेत गठन गरेको छ । उडानको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।

    समितिमा विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।

    बैठकले नियमित उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन तर्फ सवै वायुृसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय समेत गरेको छ ।

    समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छन् ।

    बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको छ ।

    बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

  • एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

    काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार महिला रहेका छन्।

    सुनसरीका ७४ वर्षीय, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षीय महिला संक्रमितको मृत्यु भएको छ।

    त्यसैगरी, सुनसरीका ६० वर्षीय मोरङको ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहतका ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षीय र रुपन्देहरीको ५७ र ७६ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।