Category: फिचर

  • सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    गलकोट (बागलुङ), १२ जेठः बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउखेती विस्तार गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

    “गाउँपालिकाले वडा कार्यालयको संरक्षणमा स्याउ बगैँचा विस्तार गरेको र अहिले स्याउका एक हजार ४०० बिरुवा एक वर्षदेखि हुर्किरहेका छन्”, अध्यक्ष बुढाले भने, “चारदेखि पाँच वर्षमा स्याउ फल्ने गरी मुस्ताङबाट बिरुवा लिएर एक वर्षअघि लगाइएको छ, गाउँपालिकाले स्याउको प्रतिफल दिन थालेपछि स्थानीयलाई हस्तान्तरण गर्ने योजना छ, गाउँपालिकाले कार्यविधि बनाउँछ ।”

    पालिकाले गरेको लगानीको प्रतिफल उठाउने र समुदायमा संरक्षणका लागि स्याउ बगैँचा हस्तान्तरण गर्नेगरी अहिले वडा कार्यालयले स्याउ बगैँचा विस्तार र संरक्षणको काम गरिरहेको छ । गाउँपालिकाको ठूलो लगानीमा खेर गएको सार्वजनिक जग्गा सदुपयोग गर्दै कृषिलाई पर्यटनसँग जोड्नेगरी काम गरिरहेको तमानखोला गाउँपालका–४ का अध्यक्ष छ प्रसाद श्रीपालीले जानकारी दिए ।


    “गाउँपालिकाले उत्पादनको नीति ल्याएको हो, उत्पादनमा नोजोडिने हो भने गाउँको जमिन खाली हुन्छ, हामीले खेर गएको सार्वजनिक जग्गा व्यवस्थापन गरेर सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरेको हो”, श्रीपालीले भने, “चौबिस रोपनी जग्गामा एकसाथ स्याउ फल्दा कृषिमा जोडेर पर्यटनकोसमेत विकास गर्ने र बयलीमा स्याउ बगैँचाका बीचमा रिसोर्ट बनाउने योजना छ ।”

    गोरदीमा रु सात लाख र बयलीमा रु ३३ लाख खर्च गरेर तारबार, सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरिएको हो । सार्वजनिक जग्गालाई तारबार गरेर बिरुवा लगाउँदा संरक्षण भएको र उत्पादन खेर जाने समस्या अन्त हुने विश्वास गरिएको छ । मुस्ताङबाट पाँच वर्षभित्रै फल्ने गाला र गोल्डेन जातको स्याउको बिरुवा सम्भाव्यता अध्ययन गरेपछि लगाइएको गाउँपालिकाका कृषि प्राविधिक विधान बगालेले जानकारी दिनुभयो ।

    समुन्द्र सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा चिसो मौसममा स्याउ राम्रो फल्ने सम्भावना रहेको बगालेको भनाइ छ । स्याउले उत्पादन राम्रो दिएमा पर्यटनलाई लक्षित गरेर घरबास र रिसोर्ट लगायतको पूर्वाधारमा पालिकाले थप लगानी गर्ने योजना बनाएको छ ।

  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

    साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

    बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

  • आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

    आजको मौसम : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

    काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


    कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशखाले जनाएको छ ।

  • चीनको नयाँ अन्तरिक्ष यात्रा

    चीनको नयाँ अन्तरिक्ष यात्रा

    जियुकुआन (चीन), ११ जेठ (रासस–एपी) । चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार राति शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । तीन अन्तरिक्ष यात्री बोकेको यो मिसनमा एक जना सदस्यलाई अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष बसाउने योजना समावेश गरिएको छ ।

    यसलाई लामो अवधिको मानव अन्तरिक्ष बसाइसम्बन्धी महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । शेनझोउ–२३ अन्तरिक्ष यान उत्तरपश्चिम चीनस्थित जियुकुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाइएको हो । चीनले सन् २०३० भित्र पहिलोपटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्यतर्फ तयारी तीव्र बनाइरहेका बेला यो प्रक्षेपणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

    यस मिसनमा कमान्डर झु याङ्झु, झाङ झियुआन र लाइ का–यिङ सहभागी छन् । चिनियाँ अधिकारीहरूले लाइलाई उहाँको नामलाई म्यान्डारिन भाषामा उच्चारणअनुसार रूपान्तरण गरेर ‘ली जियायिङ’ नामले पनि चिनाउने गरेका छन् । हङकङमा जन्मिनुभएका तथा त्यहीँ हुर्किनुभएका लाइले कम्प्युटर फरेन्सिक विषयमा विद्यावारिधि हासिल गरेका छन् । उनलाई अन्तरिक्ष मिसनमा सहभागी हुने सहर पृष्ठभूमिबाट आएका पहिलो चिनियाँ अन्तरिक्ष यात्रीका रूपमा पनि प्रस्तुत गरिएको छ ।

    सरकारी सञ्चारमाध्यमका अनुसार शेनझोउ–२३ को टोलीले अन्तरिक्षमा दर्जनौँ वैज्ञानिक तथा प्रयोगात्मक परियोजनाहरू सञ्चालन गर्ने तयारी गरेको छ । यो टोलीले हाल २०० दिनभन्दा बढी समयदेखि टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा कार्यरत शेनझोउ–२१ का चालक दलसँग कक्षामा भेट गर्ने तथा कार्य हस्तान्तरण प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ ।


    यस मिसनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको तीन सदस्यीय टोलीमध्ये एक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा लगातार एक वर्ष राख्ने योजना हो । यो बसाइ सफल भएमा त्यसलाई अन्तरिक्षमा मानवको सबैभन्दा लामो एकल प्रवासमध्ये एक मानिनेछ । सरकारी सञ्चारमाध्यमका अनुसार यस प्रयोगको उद्देश्य लामो अवधिको अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूलन क्षमता, सहनशीलता तथा कार्यसम्पादन सीमाबारे विस्तृत अध्ययन गर्नु हो ।

    पछिल्ला वर्षहरूमा चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई तीव्र रूपमा विस्तार गर्दै आएको छ । टियाङ्गोङ अन्तरिक्ष स्टेशनलाई केन्द्रमा राखेर चिनियाँ अन्तरिक्ष यात्रीहरूले लगातार नयाँ मिसनहरू सञ्चालन गरिरहेका छन् । यो अन्तरिक्ष स्टेशन चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकी प्रतिबन्धका कारण प्रभावकारी रूपमा बाहिरिएपछि आफ्नै पहलमा विकास गरेको संरचना हो । विश्व अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिकालाई चीनको प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ ।

    अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि सन् २०२८ सम्ममा पुनः चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य अघि सारेको छ । यसले अन्तरिक्ष क्षेत्रमा दुई शक्तिबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ । चीनको अन्तरिक्ष स्टेशन टियाङ्गोङले पहिलोपटक सन् २०२१ मा चिनियाँ चालक दललाई स्वागत गरेको थियो । त्यसयता यो चीनको मानव अन्तरिक्ष अभियानको मुख्य आधार बनेको छ । टियाङ्गोङको अर्थ ‘स्वर्गीय महल’ भन्ने हुन्छ ।

    गत वर्ष शेनझोउ कार्यक्रममा आपतकालीन उद्धार मिसनसमेत सञ्चालन गरिएको थियो । ‘दिव्य पोत’ भन्ने अर्थ दिने यस कार्यक्रमअन्तर्गत क्षतिग्रस्त अन्तरिक्ष यानका कारण अन्तरिक्ष स्टेशनमा अड्किएका अन्तरिक्ष यात्रीहरूको टोलीलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको थियो । शेनझोउ–२३ को प्रक्षेपणसँगै चीनले अब दीर्घकालीन अन्तरिक्ष बसाइ, वैज्ञानिक अनुसन्धान र चन्द्र अभियानतर्फ आफ्नो रणनीतिक तयारीलाई अझ अगाडि बढाएको सङ्केत दिएको छ ।

  • रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

    रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित

    नयाँदिल्ली, ११ जेठ (रासस–एपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको भारत भ्रमणले वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला महिनामा देखिएको व्यापार तनावबीच पनि रणनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यलाई पुनः सुदृढ गर्ने प्रयासलाई अघि सारेको छ । भारत–अमेरिका सम्बन्धमा देखिएका अस्थायी असहमतिका बीच दुवै देशले दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने सङ्केत दिएका छन् ।

    आइतबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटवार्तामा रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग व्यापार, ऊर्जा, रक्षा र समुद्री सुरक्षामा सहकार्य विस्तार गर्ने विषयमा जोड दिए । । उनले दुई देश रणनीतिक रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै व्यापक व्यापार सम्झौताप्रति सकारात्मक आशावाद व्यक्त गरे ।


    रुबियोको चार दिने भारत भ्रमणको एउटा महत्त्वपूर्ण पक्ष क्वाडअन्तर्गत हुने छलफल पनि हो, जसमा भारत, अमेरिका, अस्ट्रेलिया र जापान सहभागी छन् । इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न यो गठबन्धनलाई महत्त्वपूर्ण मञ्चका रूपमा लिइन्छ । हालका महिनामा भारत–अमेरिका सम्बन्धमा देखिएको व्यापारिक तनावले यस भ्रमणलाई थप अर्थपूर्ण बनाएको छ । अमेरिकी प्रशासनले भारतीय निर्यातमा लगाएको कडा शुल्क र त्यसमा भारतको रूसी तेल खरिदसम्बन्धी असहमतिको प्रभावले सम्बन्धमा केही असन्तुलन देखिएको थियो । उक्त कदमप्रति भारतीय पक्ष असन्तुष्ट बनेको र वासिङ्टनप्रति विश्वसनीयतासम्बन्धी प्रश्न उठेको बताइन्छ ।

    पछि दुवै देशबीच अन्तरिम व्यापार व्यवस्था भएको छ । सोअन्तर्गत केही शुल्कहरू घटाइएका छन् र अमेरिकी ऊर्जा उत्पादनसहितका वस्तुहरूको भारतीय खरिद विस्तार गरिएको छ । यद्यपि, विस्तृत व्यापार सम्झौतासम्बन्धी वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन । तनावका बाबजुद रक्षा र प्रविधि क्षेत्रमा सहकार्य निरन्तर अघि बढिरहेको छ । वासिङ्टनले भारतलाई इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने प्रमुख साझेदारका रूपमा हेर्दै आएको छ । आइतबार जयशङ्करसँगको वार्तामा रुबियोले भारतलाई अमेरिकाको अत्यन्त महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा उल्लेख गरेका थिए ।

    छिट्टै द्विपक्षीय व्यापार सम्झौता टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका थिए । उनले यसै वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीलाई वासिङ्टन भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणा पनि हस्तान्तरण गरेका छन् । क्वाडको भूमिकाबारे आगामी दिनमा हुने छलफललाई पनि यस भ्रमणले थप गति दिने अपेक्षा गरिएको छ । मङ्गलबार भारत, अस्ट्रेलिया र जापानका विदेशमन्त्रीहरूसँग हुने बैठकमा समुद्री सुरक्षा, आपूर्ति शृङ्खला र क्षेत्रीय रणनीतिबारे छलफल हुने बताइएको छ । चीनले इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो सैन्य तथा आर्थिक प्रभाव विस्तार गरिरहेको सन्दर्भमा क्वाडलाई महत्त्वपूर्ण रणनीतिक सन्तुलनकारी मञ्चका रूपमा हेरिन्छ ।

    विश्लेषकहरूका अनुसार, विशेषगरी इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्टीले चीनसँग सम्बन्धित अमेरिकी नीतिमा हुने कुनै पनि परिवर्तनले भारतको रणनीतिक महत्त्वमा असर पार्न सक्ने बताउनुभयो । उहाँका अनुसार भारतको विश्वव्यापी भूमिका धेरै हदसम्म चीनलाई सन्तुलन गर्ने क्षमतासँग जोडिएको छ ।

    यसैबीच इरान–सम्बन्धी युद्धले पनि भारतको ऊर्जा सुरक्षामा थप दबाब सिर्जना गरेको छ । हर्मुज जलघाँटीमार्फत हुने कच्चा तेल आपूर्तिमा देखिएको जोखिम र अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यले भारतीय अर्थतन्त्रमा थप चुनौती थपेको छ । विदेशमन्त्री जयशङ्करले भारतले ऊर्जा आपूर्तिकर्ता विविधीकरण गर्दै अमेरिका लगायत अन्य मुलुकबाट ऊर्जा आयात विस्तार गरिरहने बताएका छन् । उनका अनुसार भारतको उद्देश्य ऊर्जा बजारलाई स्थिर, खुला र उपभोक्तामैत्री बनाउनु हो ।

    युक्रेन युद्धपछि भारतले रूसी कच्चा तेल छुटमा खरिद गर्दै आएको विषयले पनि वासिङ्टनसँग कहिलेकाहीँ असहमति पैदा गरेको छ । त्यसका बाबजुद अमेरिका भारतलाई ऊर्जा स्रोत विविधीकरण गर्न अमेरिकी तेल र ग्यास खरिद बढाउन आग्रह गर्दै आएको छ । रुबियोले पनि आफ्ना भेटवार्तामा ऊर्जा सहकार्यलाई उच्च प्राथमिकतामा राखेका छन् ।

    आधिकारिक कूटनीतिक वार्ताका अतिरिक्त रुबियोको भारत भ्रमण सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको अवलोकनमा पनि केन्द्रित रहेको छ । उनले कोलकातास्थित मदर टेरेसाद्वारा स्थापित मिसनरीज अफ च्यारिटी मुख्यालयको भ्रमण गरेका छन् । साथै अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा नयाँदिल्लीमा आयोजित विशेष समारोहमा पनि उनी सहभागी भए । भ्रमणका क्रममा उनले भारतका ऐतिहासिक सहर आगरा र जयपुरको पनि भ्रमण गर्नेछन् । यी सहर आफ्नो सांस्कृतिक सम्पदा, किल्ला र स्मारकका कारण विश्वभर प्रसिद्ध पर्यटन गन्तव्यका रूपमा चिनिन्छन् ।

  • सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

    सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

    काठमाडौँ, ११ जेठः सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

    आदेशमा भनिएको छ, “माथिल्लो प्रकरण नं (८) मा उल्लेख र विश्लेषण गरिएअनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्कृय हुने देखियो, तसर्थ काठमाडौँ जिल्ला अदालतबाट निवेदकलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गरिएको आधारमा निवेदकलाई पक्राउ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।”

    अनुसन्धानका लागि प्रचलित कानुनको अधिनमा रही पक्राउ गर्न सकिने भए पनि त्यस्तो पक्राउ ‘स्वेच्छाचारी’ हुन नहुने र कानुनी प्रक्रिया तथा स्थापित पद्धतिको पालना नगरी गरिने पक्राउले व्यक्तिको स्वतन्त्रता हनन हुने भएकाले अदालत र अनुसन्धान निकाय सचेत हुनुपर्ने आदेशमा भनिएको छ ।

  • नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

    नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक

    काठमाडौँ, ११ जेठः नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।
    क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो । पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका छन् ।

    सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसीलाई ‘ए’ श्रेणीमा समावेश गरिएको छ । यस्तै ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् भने ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहव आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह परेका छन् ।

    विकासतर्फको ‘डी’ श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतिश जिसी र सागर ढकाल समावेश छन् । यसैगरी महिला क्रिकेट टोलीतर्फ इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सिता राना मगर ‘ए’ श्रेणीमा परेका छन् ।

    कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय ‘बी’ श्रेणीमा रहेका छन् । त्यसैगरी इन्दु रावल, कविता जोशी, रुवी पोदार र रिया शर्मा ‘सी’ श्रेणीमा समावेश हुँदा विकासतर्फको ‘डी’ श्रेणीमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनु पाख्रिन, साना प्रवीन, सवित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् ।

    क्यानले पुरुषतर्फ ‘ए प्लस’ श्रेणीका खेलाडीलाई मासिक रु एक लाख २० हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । ‘ए’ श्रेणीका खेलाडीले रु एक लाख, ‘बी’ श्रेणीका खेलाडीले रु ७५ हजार, ‘सी’ श्रेणीका खेलाडीले रु ५५ हजार तथा विकासतर्फ ‘डी’ श्रेणीका खेलाडीले मासिक रु ३५ हजार पाउनेछन् ।
    यस्तै महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीलाई मासिक रु ५५ हजार, ‘बी’ श्रेणीलाई रु ४० हजार, ‘सी’ श्रेणीलाई रु ३० हजार तथा विकासतर्फ ‘डी’ श्रेणीलाई मासिक रु २५ हजार पारिश्रमिक दिइने क्यानले जनाएको छ ।

  • शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतहरुको शिष्टाचार भेट

    काठमाडौँ, ११ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)मा आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

    नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिँदै आगामी दिनहरूमा यी देशहरुसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताए । मन्त्री पोखरेलले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे । शिक्षामा प्रविधिको पहुँच विस्तार, उच्च शिक्षामा साझेदारिता आदि विषयमा एक अर्का मुलुकहरूबीचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।

    मन्त्री पोखरेलले मन्त्रालयले चालेका कदमबारे थप प्रष्ट पार्दै शिक्षामा डिजिटाइजेसन, उच्च शिक्षामा विद्यार्थी मात्रै नभएर विश्वविद्यालयहरूका ‘फ्याकल्टी मेम्बर’ को एक्सचेन्जका कार्यक्रमहरू सञ्चालन गर्न तथा भविष्यमा शैक्षिक संस्था र विश्वविद्यालयहरूसँग थप सहकार्य तथा साझेदारीता बढाउन मन्त्रालय तयार रहेको उल्लेख गरे । मन्त्री पोखरेलले उच्च शिक्षाको पुनःसंरचना गर्न लागिरहेको सन्दर्भमा विभिन्न मुलुकको विज्ञता र अनुभव साझा गर्न आग्रह गरे ।

    उनले दुईदेशबीचमा खुला छलफलबाट आगामी दिनमा के कस्ता सहकार्य गर्न सकिने धारणा राखे ।
    युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खासगरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाउनुभएको थियो । साथै, उहाँहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य तथा साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिएका थिए ।

    साइप्रस, रोमानिया, नेदरल्याण्डलगायत मुलुकका राजदूतहरूले शिक्षाको क्षेत्र विशेषतः उच्च शिक्षाको क्षेत्रमा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताए । नेपालबाट साइप्रस, रोमानिया लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु जाने गरेका सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप बिस्तार गरेर अगाडि बढ्नुपर्ने उनीहरुको जोड थियो ।

  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त

    नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डङ्गोल नियुक्त

    काठमाडौँ, ११ जेठः सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डङ्गोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । यस्तै बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको प्रति क्विन्टल रु तीन हजार ६६० र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ८६० तोकेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ)को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए ।

  • विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    गाईघाट (उदयपुर), ११ जेठः त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् ।

    छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पतालमा लगेको राधा बुढाथोकीले बताए ।

    तीन जना योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्केको जिल्ला अस्पताल उदयपुरले बताएको छ । तर, २३ वर्षीया हेमा बुढाथोकीको अवस्था चिन्ताजनक भएका कारण थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा मुकेश झाले बताए । हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारमा विदेशमा रहेका छन भने घरमा हेमासहित छोरा योगेश र नन्दहरु यशोदा र यसिकासहित बस्दै आएको छिमेकीहरुले बताएका छन् ।

  • वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    काठमाडौँ, ११ जेठः सङ्गीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।
    अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम, कत्थकलगायत लोककला प्रस्तुत गरेका थिए ।

    यही मे १६ देखि २२ तारिखसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो । निर्णायक भूमिका निर्वाह गर्न पुणे पुग्नुभएका उहाँलाई प्रतिष्ठित कलाक्षेत्रमबाट सम्मान गरिएको हो । यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तरराष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै आएका उहाँलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा ‘सुरताल अन्तरराष्ट्रिय सम्मान पुरस्कार २०२५’, ‘विविधता मे एकता राष्ट्रिय सम्मान २०२०’, ‘इन्डियन बेस्टिज अवार्ड–२०१९’, पश्चिम बङ्गाल सरकारबाट ‘सङ्गीतमंजरी’ उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो । त्यसैगरी, सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट ‘स्वर्णपत्र’ प्रदान गरिएको थियो ।

    नेपालका सन्दर्भमा उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनुभएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेसन अवार्डलगायत पुरस्कार तथा सम्मान पाएका थिए । सरोदवादनबाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफुल म्युजिक फर मेडिटेसन, भारतबाट सुरिल म्युजिक इन २०१५ लगायत सिडी तथा क्यासेटहरू प्रकाशित भएका छन् ।

  • ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा

    ऊर्जामन्त्री भन्छन् : जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा

    काठमाडौँ, ११ जेठः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए ।

    मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनले यस्ता आयोजना विद्युत् उत्पादनका लागि मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार र पर्यटन प्रवद्र्धनका लागि समेत मेरुदण्ड बन्ने उल्लेख गरे ।


    कुलेखानीका तीनवटै जलविद्युत् केन्द्रका कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक जोखिम र अनियमित वर्षालाई मध्यनजर गर्दै भविष्यका लागि पानी भण्डारण गर्ने संरचनाको महत्व अझ बढेको उल्लेख गरे । “जलवायु परिवर्तनले हिमनदी पग्लिने र वर्षाको स्वरूप बदलिने जोखिम बढाएको छ, यस्तो अवस्थामा ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको विकल्प छैन”, मन्त्री श्रेष्ठले भने ।

    मन्त्री श्रेष्ठले औद्योगिक क्षेत्र, डाटा सेन्टर र सूचना प्रविधि उद्योगका लागि दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न जलाशययुक्त आयोजनाबाट ‘पिक आवर’ (उच्च मागको समय)मा बढी विद्युत् उत्पादन गर्न सकिने उल्लेख गरे । उनले नेपाल विद्युत् प्राधिकरणलाई जलाशययुक्त आयोजनाको एकीकृत विकास मोडल तयार गर्न निर्देशन दिँदै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए । सरकारले निजी क्षेत्रलाई आकर्षित गर्न यस्ता आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गरिसकेको जानकारी दिँदै उनले लगानीकर्तालाई यस क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।


    कुलेखानीलाई नेपालको ‘रोल मोडल’ परियोजनाका रूपमा व्याख्या गर्दै मन्त्री श्रेष्ठले स्थानीयस्तरबाट उठेका सामाजिक विषय र गुनासोलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए । उनले जलाशय वरपर बढ्दो पर्यटकीय गतिविधिसँगै फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको भन्दै इन्द्रसरोवर क्षेत्रको वातावरण जोगाउन स्थानीय तह र व्यवसायीसँग समन्वय गर्न आग्रह गरे ।

    मन्त्री श्रेष्ठले आइतबार आयोजना अवलोकन गरेपछि आयोजना क्षेत्रभित्रको जग्गा सीमाङ्कन गर्न, बाढीपहिरोबाट जलाशयमा आउने ढुङ्गा–माटो व्यवस्थापन गर्न र पुराना उपकरणको मर्मत तथा प्रतिस्थापनका विषयलाई चाँडो सक्न निर्देशन समेत दिएका थिए । सन् १९८२ मा निर्माण सम्पन्न भएको कुलेखानी आयोजना नेपालकै पहिलो जलाशययुक्त जलविद्युत् आयोजना हो । यसको कूल जडित क्षमता १०६ मेगावाट रहेको छ कुलेखानी–१ (६० मेगावाट) कुलेखानी–२ (३२ मेगावाट) र कुलेखानी–३ (१४ मेगावाट) रहेको छ ।

  • एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

    एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

    भक्तपुर, ११ जेठः नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई सथानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ ।

    एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सम्बोधन गर्दे पार्टीमा एकता कायम राख्न आग्रह गरेका थिए ।


    बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षालगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको भट्टले जानकारी दिए । समितिमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव पोखरेल, उपमहासचिव भट्ट, सचिवहरू छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल र आठ प्रदेशका इञ्चार्ज रहने निर्णय भएको नेता भट्टले बताए ।

    विसं २०७२ को भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि विभिन्न ठाउँमा कार्यालय सञ्चालन गर्द आएकामा सचिवालय बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए । सो पार्टीको केन्द्रीय कमिटीको बैठक आउँदो असार दोश्रो साता बस्ने तय भएको छ ।

  • फिलिपिन्समा भवन दुर्घटना

    फिलिपिन्समा भवन दुर्घटना

    मनिला, ११ जेठ (रासस–एपी) । फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् । प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बीच बिहान सबेरै निर्माणाधीन भवन एक्कासि ढलेको थियो । घटनापछि १०० भन्दा बढी प्रहरी, उद्धारकर्मी र सरकारी कर्मचारीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा खटिएका छन् ।

    दुर्घटनास्थलमै रहेका प्रहरी ब्रिगेडियर जनरल जेस मेन्डेजले तत्काल मृत्युको पुष्टि नभएको जानकारी दिए । उनका अनुसार भवनबाट बाहिर निस्कन सफल भएका २२ जना कामदारमध्ये केही घाइते भएका छन् । मेन्डेजले भग्नावशेषभित्र कति जना अझै फसेका छन् भन्ने यकिन तथ्याङ्क तत्काल उपलब्ध नभएको बताए । तर एन्जलस सिटी सूचना कार्यालय प्रमुख जे पेलायोले एक निर्माण फोरम्यानलाई उद्धृत गर्दै कम्तीमा ३० जना कामदार अझै भग्नावशेषमुनि फसेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।


    उद्धार टोलीहरूले भारी उपकरणसहित भग्नावशेष हटाउने, सम्भावित जीवित व्यक्तिको खोजी गर्ने तथा जोखिमयुक्त संरचनाको मूल्याङ्कन गर्ने काम जारी राखेका छन् । अधिकारीहरूले भवन किन ढल्यो भन्ने विषयमा पनि प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् । एन्जलस सहर फिलिपिन्सको प्रमुख आर्थिक र व्यावसायिक केन्द्रमध्ये एक मानिन्छ । यो क्षेत्र सन् १९९० को दशकको सुरुसम्म अमेरिकी मुख्य भूमिबाहिरका सबैभन्दा ठूला अमेरिकी वायुसेना अड्डामध्ये एकको केन्द्रका रूपमा परिचित थियो । अमेरिकी सैन्य अड्डा बन्द भएपछि एन्जलस र आसपासका क्षेत्रहरू क्रमशः व्यापार, सेवा र मनोरञ्जन केन्द्रका रूपमा विकसित भएका थिए ।

    पुरानो अमेरिकी वायुसेना अड्डा अहिले ‘क्लार्क फ्रिपोर्ट जोन’का रूपमा सञ्चालनमा रहेको छ । उक्त क्षेत्र एन्जलस सहरमा, मेट्रो मनिलाबाट करिब ८० किलोमिटर उत्तरतर्फ अवस्थित छ ।

  • गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    पेरिस, ११ जेठ (रासस–एएफपी) । ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ नीलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब एक हजार ८०० मिटर तल भेटिएको यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित बनाएको छ ।

    समुद्रको गहिराइमा वैज्ञानिकहरूद्वारा नियन्त्रित पनडुब्बीमार्फत गरिएको अवलोकनका क्रममा यो अक्टोपस पहिलो पटक देखिएको थियो । समुद्रजत्तिकै नीलो देखिने र आकारमा गल्फ बलभन्दा पनि ठूलो नभएको यो जीव देख्नेबित्तिकै एक वैज्ञानिकले उत्साहपूर्वक ‘ऊ सानो छ , यो नीलो छ ,’ भन्दै प्रतिक्रिया दिएको भिडियोमा रेकर्ड भएको थियो ।

    चार्ल्स डार्विन फाउन्डेसनको टोलीले पत्ता लगाएको यस नयाँ प्रजातिबारेको अनुसन्धान सोमबार सार्वजनिक गरिएको हो । अक्टोपससम्बन्धी विज्ञ जेनेट भ्वाइटका अनुसार पहिलो दृश्य हेर्नेबित्तिकै उनलाई यो अत्यन्तै विशेष जीव भएको अनुभूति भएको थियो । अनौठो प्रजातिको पहिचान गर्न आग्रह गरिएपछि उनले यसको अध्ययन सुरु गरेका थिए ।


    सुरुमा शिकागोस्थित फिल्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका क्युरेटरहरूले उक्त जीवको तस्बिर र विवरणको अध्ययन गरेका थिए । त्यसपछि संरक्षित नमूना हुलाकमार्फत उहाँसम्म पुगेको थियो । नमूना प्राप्त गरेपछि उनी चकित भए । उनका अनुसार त्यो जीव निकै आकर्षक र असाधारण देखिन्थ्यो ।

    यो प्रजातिप्रति उहाँको रुचि तत्काल बढ्नुको एउटा कारण यसको सबैभन्दा नजिकको ज्ञात प्रजाति उरुग्वेको तटमा, दक्षिण अमेरिकाको अर्कै समुद्री क्षेत्रमा बसोबास गर्ने तथ्य पनि थियो । यसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति, विकास र वितरणबारे थप प्रश्न उठाउन प्रेरित गरेको छ ।

    सामान्यतया नयाँ अक्टोपस प्रजातिको वैज्ञानिक विवरण तयार गर्न यसको शरीरको नमूना काटेर मुख, चुच्चो, दाँत तथा अन्य आन्तरिक संरचनाको परीक्षण गरिन्छ । तर यसपटक अनुसन्धानकर्ताहरूसँग एउटा मात्र नमूना भएकाले त्यसलाई काटेर जोखिम मोल्न उनीहरू इच्छुक थिएनन् ।

    त्यसको विकल्पस्वरूप फिल्ड म्युजियमको टोलीले आधुनिक प्रविधिको सहारा लिएको थियो । सीटी स्क्यान प्रयोग गरी हजारौँ एक्स–रे तस्बिरहरू तयार गरियो र ती सबैलाई संयोजन गरेर अक्टोपसको विस्तृत त्रिआयामिक (३डी) मोडेल बनाइयो । यस प्रक्रियाले बाह्य संरचना बिगार्नुपर्ने आवश्यकता बिना नै यसको भित्री बनावट अध्ययन गर्न सम्भव बनायो ।

    फिल्ड म्युजियमको एक्स–रे प्रयोगशालाकी प्रमुख स्टेफनी स्मिथले कुनै पनि व्यक्तिले पहिले कहिल्यै नदेखेको जीवको भित्री संरचना अवलोकन गर्दै दिन बिताउनु विशेष अनुभव हुने बताएका थिए । वैज्ञानिकहरूले यस नयाँ प्रजातिलाई माइक्रोएलडोन ग्यालापाजेन्सिस नाम दिएका छन् । यो प्रजाति आफ्नो नीलो रङका कारण विशेष रूपमा चिनिएको छ, किनभने प्रकृतिमा यस्तो रङ अपेक्षाकृत दुर्लभ मानिन्छ ।

    अनुसन्धानअनुसार यो अक्टोपस सम्भवतः मेगालेडोनिडे परिवारसँग सम्बन्धित देखिन्छ । यस परिवारका सदस्यहरू प्रायः आकारमा धेरै ठूला हुन्छन् र अन्टार्कटिका आसपासको दक्षिणी महासागरमा पाइन्छन् । तर नयाँ प्रजाति भने सानो आकारको छ र फरक वातावरणमा भेटिएको छ ।

    भ्वाइटका अनुसार यसको शरीरमा देखिने जिद्दी साना हात, प्रत्येक हातमा रहेको केवल एक पङ्क्तिको चुस्ने संरचना र पछाडिको सतहमा रहेको चिल्लो छालाले यसलाई धेरैजसो परिचित अक्टोपसहरूबाट अलग बनाउँछ । छोटा हात र एकल चुस्ने पङ्क्ति भएका अन्य प्रजातिसँग तुलना गर्दा पनि यसको रङ र छालाको बनावटले यसलाई विशिष्ट बनाएको उनले बताए ।


    रङको बनावट पनि रोचक देखिएको छ । यसको माथिल्लो भाग हल्का नीलो देखिन्छ भने तल्लो भाग निकै गाढा बैजनी रङको रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । वैज्ञानिकहरूको अनुमानमा यो रङ संयोजनले जीवलाई गहिरो समुद्रमा सुरक्षा प्रदान गर्न मद्दत गर्छ । भ्वाइटका अनुसार यदि अक्टोपसले प्रकाश उत्सर्जन गर्ने कुनै शिकार समात्यो भने त्यसबाट निस्कने उज्यालोले ठूला शिकारीलाई आकर्षित गर्न सक्छ । यस्तो अवस्थामा अक्टोपसले आफ्नो गाढा रङयुक्त भाग प्रयोग गरेर शिकारमाथि छोप्ने सम्भावना हुन्छ, जसले आफैँलाई शत्रुबाट जोगाउन सहयोग पुर्‍याउँछ ।

    वैज्ञानिकहरूले अझै पर्याप्त अध्ययन हुन नसकेका समुद्री क्षेत्रहरूमा गहिरो समुद्रका नयाँ अक्टोपस प्रजाति भेटिनु पूर्ण रूपमा असामान्य नभएको बताएका छन् । पृथ्वीको विशाल समुद्री भूभागको ठूलो हिस्सा अझै विस्तृत रूपमा अन्वेषण हुन बाँकी रहेको उनीहरूको भनाइ छ । यस सन्दर्भमा भ्वाइटले पृथ्वीको सम्पूर्ण स्थलीय भूभागलाई एकै ठाउँमा जोड्दा पनि प्रशान्त महासागर पूर्ण रूपमा नढाकिने उल्लेख गर्दै समुद्री गहिराइ कति विशाल र अझै अनपेक्षित रहस्यले भरिएको छ भन्ने कुरा औँल्याए ।


    उनले पछिल्लो पटक सन् २०२३ मा कोस्टा रिकाको तट नजिक नयाँ अक्टोपस प्रजाति अवलोकन गरिएको जानकारी पनि दिए । हाल चर्चामा रहेको यो नीलो अक्टोपस भने पहिलो पटक सन् २०१५ मा डार्विन टापु नजिक देखिएको थियो । उक्त टापुको नाम ग्यालापागोस भ्रमणबाट विकासवादको सिद्धान्त निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अङ्ग्रेजी वैज्ञानिक चार्ल्स डार्विनको नाममा राखिएको हो । यस नयाँ प्रजातिसम्बन्धी विस्तृत अनुसन्धान प्रतिष्ठित वैज्ञानिक जर्नल जुटाक्सामा प्रकाशित गरिएको छ ।

  • पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    कास्की, ११ जेठः पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने यस खोलाको अतिक्रमण हटाउने योजना अघिल्लो कार्यकालकै जनप्रतिनिधिको थियो । तत्कालीन प्रमुख मानबहादुर जिसीले डोजर चलाएर सुरुआतसमेत गर्नुभएको थियो । तर त्यो काम एक दिनपछि अघि बढ्न सकेन । फिर्के मापदण्डको विरोधमा स्थानीयले न्यायालयसम्म गुहारेका थिए । यसलगायत विविध कारणले अतिक्रमण हटाउने प्रयास सफल हुन सकेको थिएन ।

    अहिले भने पोखरा महानगरपालिकाले सङ्घीय सरकारको समेत बलियो साथ पाएपछि फिर्केको खोलाघर हटाउने कार्य आइतबारदेखि सुरु गरेको । पहिलो दिन शान्तिपूर्ण रुपमा सो कार्य सम्पन्न भयो । खोलघरमा निजी÷व्यक्तिगत स्थायी ३५ र अस्थायी ९७ संरचना बनेका छन् । यसैगरी संस्थागत स्थायी १८ र अस्थायी १० वटा संरचना छन् ।

    महानगरले अतिक्रमण हटाउने कार्य निरन्तर अभियानका रूपमा चल्ने जनाएको छ । स्थानीयले समेत खोलाघर हटाउने कार्यमा महानगरलाई साथ दिएका छन् । खोलाघरमै बनेका संरचना हटाउनपर्छ भने पनि त्यसपछिको मापदण्डको भने स्थानीयले विरोध गरेका छन् । फिर्के मापदण्ड छ मिटर वैज्ञानिक र व्यवहारिक नभएको गुनासो फिर्के क्षेत्रका नागरिकको छ ।

    फिर्केको खोलाघर खाली गरेपछि महानगरले फिर्के करिडोर परियोजना सुरु गर्ने योजना बनाएको छ । यस परियोजनाका लागि दातृ निकायबाट सहयोग प्राप्त हुने महानगरले जनाएको छ । पोखरालाई ‘हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहर’ का रूपमा स्थापित गर्ने दूरदर्शी अभियान फिर्के करिडोर परियोजना रहेको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्यका अनुसार फिर्के करिडोरको मुख्य अवधारणामा फिर्के खोलाको दायाँ–बायाँ कम्तीमा छ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, सुरक्षित साइकल लेन, ‘मर्निङ’ तथा ‘इभिनिङ’ वाकका लागि आकर्षक पदमार्ग निर्माण गरिनेछ ।

    “फिर्के खोलालाई प्राकृतिक सौन्दर्य, पर्यावरणीय सन्तुलन, पर्यटन र नागरिक जीवनशैलीसँग जोडेर नयाँ सहरी पहिचान दिने लक्ष्य राखिएको छ । खोलाको प्राकृतिक बहाव संरक्षण गर्दै दुवै किनार हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलइडी लाइटिङ तथा वातावरणमैत्री सार्वजनिक खुला क्षेत्रले सजाइनेछ,” महानगरले प्रमुख आचार्यले भने ।


    करिडोरभित्र ठाउँठाउँमा पोखरेली शैलीमा विश्रामस्थल, कफी पोइन्ट तथा खुला क्याफे, सेल्फी पोइन्ट र दृश्यावलोकनस्थल, सानो खुला पार्क तथा बस्ने चौतारी, सांस्कृतिक तथा कलात्मक संरचना, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री खुला क्षेत्र निर्माण गरिने महानगरको योजना छ । “फिर्के करिडोरलाई केवल हिँड्ने बाटो होइन, जीवनशैली र मनोरञ्जनको सार्वजनिक गन्तव्य बनाउने छौँ । यो भविष्यको पोखराको नयाँ सहरी पहिचान बन्नेछ, जहाँ प्रकृति, आधुनिक पूर्वाधार, पर्यटन, स्वास्थ्य, वातावरण र नागरिक जीवनशैलीको सुन्दर सङ्गम हुनेछ,” आचार्यले भने ।


    पोखरा गणेशटोलका लोकनाथ भण्डारी खोलाघर भत्काइसकेपछि उचित व्यवस्थापन र दिगो विकास योजना ल्याउनुपर्ने बताउँछन् । “फिर्केखोला खाली गर्ने कार्यमा हामी स्थानीयको सहयोगनै छ । तर मापदण्डको नाममा व्यक्तिको जमिनमा मनपरि मापदण्ड लागू गर्न पाइँदैन । महानगरलाई आवश्यक परे मुआब्जा दिनुपर्दछ । फिर्के वरपरका संरचना भत्काइसकेपछि यसको व्यवस्थित विकासको योजना ल्याउनुपर्छ”, भण्डारीले भने । पोखरा १८ अधेरिकुनादेखि वडा न २.४.५.७.८.१७ हुँदै वडा नं ६ स्थित पर्यटकीय गन्तव्य फेवाताल–गाईघाटसम्म फैलिएको फिर्के आठ किमी लामो छ ।

  • भारतमा तापलहर (लु) बाट कम्तिमा १६ को मृत्यु

    भारतमा तापलहर (लु) बाट कम्तिमा १६ को मृत्यु

    नयाँदिल्ली, १० जेठ (रासस–एएफपी) । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ । भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ ।

    दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ । त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरे । उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी उपायहरू अपनाउन निर्देशन दिइएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउन सक्छ, जसले रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अङ्गहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ ।

    तेलङ्गानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवतीलाई अत्यावश्यक नभएसम्म दिनको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ । यसैबीच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र लु जारी रहने चेतावनी दिएको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा यस हप्ता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले विद्युत मागलाई रेकर्ड स्तरमा पुर्‍याएको छ ।

    विशेषज्ञहरूका अनुसार दिउँसो मात्र नभई रातको तापक्रम पनि उच्च रहँदा मानिसहरूले पर्याप्त आराम नपाइरहँदा स्वास्थ्य जोखिम अझ बढाएको छ ।
    विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये तेस्रो स्थानमा पर्छ र विद्युत् उत्पादनका लागि कोइला उपयोगमा उच्च निर्भरता राख्छ । भारतले सन् २०७० सम्ममा शुद्ध–शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धता जनाएको छ । यो प्रतिबद्धता धेरै औद्योगिक पश्चिमी देशहरूको लक्ष्यभन्दा करिब दुई दशक पछिको हो । यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । यसलाई भारतमा हालसम्मको सबैभन्दा उच्च आधिकारिक तापक्रम मानिन्छ ।

  • आजको मौसम : हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा

    आजको मौसम : हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा

    काठमाडौँ, ११ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

    मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ ।

    आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

  • बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

    बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

    सिद्धार्थनगर (भैरहवा), ११ जेठः सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ ।

    आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि तय गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ ।

    आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ ।

    आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो । नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ । हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताए ।


    सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ । पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ ।

    आयोजनाको प्रारम्भिक लागत अनुमान करिब रु १० अर्ब रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब रु सात अर्बमा सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

  • रौतहटमा बाघ गणना जारी

    रौतहटमा बाघ गणना जारी

    चन्द्रपुर (रौतहट) । ११ जेठः बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताए । बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हँुदा बाघ मार्ने र बाघसँगको दुस्मनी कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।

    उनले भने, “रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ । लोपन्मुख अवस्थामा रहेको पाटेबाघ छ । लमाहा नदीको माथिदेखि तल्लो क्षेत्रमा, धन्सारको वन क्षेत्रमा, हातेमालो सामुदायिक वन उपभोक्ता समुह र रङ्गपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैँडाटारको वनक्षेत्र, बागमतीको जुडिबेला र पौराइको वनक्षेत्र, रामलाल वृन्दावन साझेदारीको वनक्षेत्र, फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको छ ।”

    बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिङ्गालगायत जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने उनले जानकारी दिए । नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिँदै डिभिजन वन प्रमुख साहले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि बाघको सङ्ख्या यकीन हुने बताए । उनले पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिँदै बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने, तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्नसक्ने बताए ।


    साहले बाघ संरक्षणको महत्व, चुनौती तथा रौतहटमा बाघको अवस्थाबारे जानकारी दिए । विसं २०७७ असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । चन्द्रपुर नगरपालिका नगरपालिका– ६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो । भण्डारीलाई खोज्न गएको दुई युवकलाई पनि सोही समयमा आक्रमण गरी घाइते बनाएको थियो ।

    यसैगरी, २०७८ साल असोज २१ गते रौतहटको लमहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए । बिहान घाँस लिन जङ्गल गएका रायमाझीलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको थियो । त्यस्तै, २०८१ मङ्सिर १५ गते रौतहटको गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । गुजरा–१ राईटोलमा आफ्नै घर नजिक रहेको आलुबारीमा पानी लगाउन गएकाबेला बौराहीमाथि बाघले आक्रमण गरेको देखेर बचाउन गएका गुजरा–१ का वडाध्यक्ष रामजीतलाई झम्टिएर घाइते बनाएको थियो ।

  • हावाहुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

    काठमाडौँ, ११ जेठ । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतको काम तीव्र पारिएको हो । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिइ मर्मत तथा पुनःसञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन्

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल मर्मतको काम अगाडि बढाउन प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका छन् । विवरणअनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डको टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकामा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ । हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

    यस्तै सोही खण्डको ९टावर नं १३६–१३७० मा तीन वटा रुख हटाइएको छ तथा लाइन पुनःसञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ ।

    अमलेखगञ्ज–कामाने खण्डको टावर नं ४६–४७ बीच एक रुखका कारण प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको छ । आइतबार दिउँसोको हुरीले देशका विभिन्न स्थानमा बिजुली आपूर्तिमा समस्या आएको थियो । सोमबार बिहानसम्म सहज रूपमा बिजुली आपूर्ति गराउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

  • मापसे गरेर सवारी चलाउँदा एक महिनामा १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    मापसे गरेर सवारी चलाउँदा एक महिनामा १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    काठमाडौँ, ११ जेठ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।


    उनका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् ।

    लुम्बिनी प्रदेशमा नौ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । उता कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।


    मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गरे । उनले विशेषगरी रातिको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढी देखिने गरेको जानकारी दिए । उनले मापसे गरी सवारी चलाउनु आफैँमा गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे ।


    ट्राफिक प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ । विशेषगरी शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेकजाँचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ । मापसे गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए ।


    उनले भने, “मापसे गरी सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सम्पूर्ण चालक तथा सर्वसाधारणलाई अनुरोध गर्दै ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।”उनका अनुसार मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहने गर्दछ । सवारी चलाउँदा पूर्ण रूपमा सतर्कता अपनाउन र ट्राफिक नियमको पालना गर्न उहाँले सबै चालकहरुलाई आग्रह गर्नु भएको छ ।

  • ह्वाइट हाउस नजिक गोलीकाण्डबारे अहिलेसम्म के थाहा छ ?

    ह्वाइट हाउस नजिक गोलीकाण्डबारे अहिलेसम्म के थाहा छ ?

    वासिङ्टन, ११ जेठ (रासस–एएफपी) । ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् । घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे पनि उनी सुरक्षित रहन सफल रहे । युएस सेक्रेट सर्भिसका सञ्चार प्रमुख एन्थोनी गुग्लिल्मीका अनुसार साँझ ६ बजेपछि ह्वाइट हाउसको सुरक्षा घेरानजिक एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए ।

    सेक्रेट सर्भिसका प्रहरी अधिकारीहरूले संदिग्धमाथि गोली चलाएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । गोली हानाहानका क्रममा घटनास्थलमा रहेका एक दर्शकलाई पनि गोली लागेको थियो, तर उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन । अमेरिकी सञ्चारमाध्यमहरूले मारिएका संदिग्धलाई मेरिल्यान्डका २१ वर्षीय नासिरे बेस्टका रूपमा पहिचान गरेका छन् । रिपोर्टहरूका अनुसार बेस्टको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको इतिहास थियो र यसअघि पनि उनको सेक्रेट सर्भिस सदस्यहरूसँग पटक–पटक सम्पर्क भएको थियो ।

    घटनामा कुनै पनि सेक्रेट सर्भिस अधिकारी घाइते नभएको जनाइएको छ । गोलीकाण्डपछि प्रहरी र सुरक्षा बलहरूले ह्वाइट हाउस वरपरको क्षेत्रलाई तत्काल घेरा हालेर नियन्त्रणमा लिएका थिए । नेसनल गार्डका सैनिकहरूले वासिङ्टनको डाउनटाउन क्षेत्रमा आवतजावतमा समेत कडाइ गरेका थिए ।

    घटनास्थल नजिक रहेका क्यानाडाली पर्यटक रिड एड्रियनले आफूहरूले सुरुमा आतशबाजी पड्किएको जस्तो आवाज सुने पनि केही क्षणमै ती आवाज गोलीका भएको बुझिएको बताए । उनका अनुसार त्यसपछि वरपर रहेका मानिसहरू भागाभाग गर्न थालेका थिए । त्यस समयमा ह्वाइट हाउसको नर्थ लन क्षेत्रमा रहेका पत्रकारहरूलाई तत्काल प्रेस ब्रिफिङ कक्षमा गएर आश्रय लिन निर्देशन दिइएको थियो । एबिसी न्युजकी संवाददाता सेलिना वाङ सामाजिक सञ्जालका लागि भिडियो रेकर्ड गरिरहेकै बेला गोली चलेको थियो र उनले उक्त घटनाको आवाज आफ्नो भिडियोमा कैद गरेका थिए ।


    “दर्जनौँ गोली चलेजस्तो महसुस भयो”, उहाँले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विगत केही समययता भइरहेका कथित सुरक्षा खतराको शृङ्खलासँग पनि जोडिएको देखिएको छ । ७९ वर्षीय ट्रम्प यसअघि तीन अलग–अलग कथित हत्या प्रयासको लक्ष्य बनेको बताइएको छ । सबैभन्दा पछिल्लो घटना अप्रिल २५ मा भएको थियो, त्यस क्रममा एक सशस्त्र व्यक्तिले ट्रम्प मिडिया गालामा भइरहेको कार्यक्रममा सुरक्षा चौकीमाथि आक्रमण गरेका थिए । ती व्यक्ति ट्रम्प वा कार्यक्रममा सहभागी पाहुनासम्म पुग्न भने सफल भएका थिएनन् ।

    यसअघि जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा एक दर्शकको मृत्यु भएको थियो भने तत्कालीन उम्मेदवार ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । त्यसको केही महिनापछि ट्रम्प गल्फ खेलिरहेको फ्लोरिडाको वेस्ट पाम बिचस्थित गल्फ कोर्सनजिक अर्को सशस्त्र व्यक्तिलाई पक्राउ गरिएको थियो । शनिबारको गोलीकाण्डपछि अमेरिकी हाउस रिपब्लिकनहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्प सुरक्षित रहेकोमा राहत व्यक्त गर्दै सेक्रेट सर्भिसको द्रुत प्रतिक्रियाको प्रशंसा गरेका छन् ।

    उनीहरूले राजनीतिक हिंसा अन्त्य हुनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् । यसैबीच, ट्रम्पले गत वर्ष पुनः कार्यभार सम्हालेपछि ह्वाइट हाउस परिसरमा निर्माणाधीन नयाँ बलरुम परियोजनाका लागि सुरक्षा आवश्यकतालाई एउटा प्रमुख कारणका रूपमा अघि सारेका छन् । न्युयोर्कका रियल इस्टेट व्यवसायीसमेत रहनुभएका ट्रम्पका अनुसार करिब ४० करोड डलर लागतको उक्त परियोजनामा भूमिगत सैन्य अस्पतालसहित अत्यधिक सुरक्षित तथा ‘ड्रोन–प्रतिरोधी’ संरचना समावेश गरिनेछ ।

  • पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु

    पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु

    क्वेटा (पाकिस्तान), ११ जेठ (रासस–एएफपी) । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन् ।
    प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ ।

    प्राप्त तस्बिरहरूमा रेलका डिब्बा पल्टिएको र क्षतिग्रस्त अवस्थामा देखिएको छ, जहाँ स्थानीय बासिन्दा र उद्धारकर्मीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् । घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य पनि देखिएको छ भने सुरक्षा बलले घटनास्थलमा कडा पहरा दिएको छ ।

    अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारीसाधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो । विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । अर्का अधिकारीले एएफपीलाई बताएअनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मङ्गलबारदेखि सुरु हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए ।

    बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचकाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ । यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ ।

  • इरान सम्झौता घोषणा सम्भावना

    इरान सम्झौता घोषणा सम्भावना

    नयाँदिल्ली, ११ जेठ (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन् । नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी केही घण्टाभित्रै विश्वले सकारात्मक समाचार पाउन सक्ने सम्भावना रहेको उल्लेख गरे । आफ्नो पहिलो भारत भ्रमणमा रहनुभएका रुबियोले उदीयमान सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुजसम्बन्धी चिन्तालाई सम्बोधन गर्ने बताए । स्ट्रेट अफ हर्मुज इरान–अमेरिका–इजरायल तनावपछि केही हदसम्म अवरुद्ध भएको अवस्थामा छ ।

    उनका अनुसार प्रस्तावित सम्झौताले यस्तो प्रक्रिया सुरु गर्न सक्छ जसले अन्ततः इरानको आणविक हतियारसम्बन्धी डर हटाउने अवस्थातर्फ लैजान सक्नेछ ।
    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी खोल्ने विषयमा भइरहेको छलफललाई ‘धेरै हदसम्म अघि बढेको’ बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका, इरान र अन्य देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया नजिक पुगेको दाबी गरे ।


    उदीयमान सम्झौताले अमेरिकाभित्रै पनि राजनीतिक बहस सिर्जना गरेको छ । सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओजस्ता ट्रम्पका निकट सहयोगीहरूले सम्भावित सहमतिबारे आलोचना गर्दै इरानलाई आर्थिक र रणनीतिक लाभ पुग्ने सम्भावनाप्रति आपत्ति जनाए । उनीहरु दुवै इजरायलका कट्टर समर्थक मानिन्छन् ।


    क्रुजले यस्तो सम्भावित परिणामलाई ‘विनाशकारी गल्ती’ हुन सक्ने चेतावनी दिए । आलोचनाबारे प्रतिक्रिया दिँदै रुबियोले इरानविरुद्ध सुरु गरिएको ‘एपिक फ्युरी’ नामक अभियानको उद्देश्य स्पष्ट रहेको बताए । उनका अनुसार यस अभियानअन्तर्गत इरानको नौसेना क्षमतामा ठूलो क्षति पुर्‍याइएको छ ।
    उनले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाउने र देशको रक्षा–औद्योगिक संरचनामा क्षति पुर्‍याउने लक्ष्य राखेको पनि उल्लेख गरे । रुबियोका शब्दमा, ‘एपिक फ्युरी’ अभियानका सबै प्रमुख उद्देश्यहरू पूरा भइसकेका छन् ।

  • अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते

    अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते

    न्यूयोर्क, ११ जेठ (रासस–सिन्हवा) । अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ, “आपतकालीन प्रतिक्रियाकर्ताहरूलाई स्थानीय समयअनुसार बिहान १ बजे एट्लान्टिक बीचको ‘साउथ ओशन बुलेभाडर्’ नजिकैको स्टेज क्षेत्रमा पठाइएको थियो।

    संस्थाका अनुसार घटनामा १९ जना व्यक्तिहरू चोटपटक लागेको मूल्याङ्कन गरिएको छ, जसमध्ये कसैको पनि जीवन खतरामा रहेको विश्वास गरिएको छैन । तीन जनालाई अस्पताल लगिएको थियो भने अन्यले आफैंले उपचार गराएको बताइएको छ। यो घटना मेमोरियल डे सप्ताहन्तमा आयोजित एक ठूलो वार्षिक भेला ब्ल्याक बाइक सप्ताहको समयमा भएको हो ।

  • बागमती नदीमा डुबेका दुई युवकको शव भेटियो

    बागमती नदीमा डुबेका दुई युवकको शव भेटियो

    बरहथवा (सर्लाही), १० जेठ । नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार दुई युवक बेपत्ता भएका थिए । खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका–९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका–६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका–११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो ।

    शनिबार खोला तर्ने क्रममा झप्सी झुलुङ्गे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका–५ का अन्दाजी २८ वर्षका सहमद मोमिन, २४ वर्षका मोहम्द अखतर र ब्रहमपुरी गाउँपालिका–३ का अन्दाजी २० वर्षका श्याम भण्डारीलाई समेत खोलाले बगाएको थियो । बगेका तीन जना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।


    उनी शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ । बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ ।

  • बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

    बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

    काठमाडौँ, १० जेठ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

    समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

    बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी थिए । यस्तै, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भिम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता थियो ।

  • एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

    एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

    काठमाडौँ, १० जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । प्रतियोगिता मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्य नेपाली खेलाडी छनोट गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । छनोट हुने टोलीको कप्तानीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामीलगायतका खेलाडी समावेश छन् । त्यसैगरी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की पनि रहेका छन् ।

  • जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    रासस
    म्याग्दी, १० जेठ । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना उजागर गर्न र समस्या पहिचान गरी त्यसलाई सुल्झाउने प्रयास सुरु गरिएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलाको सम्भावना उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरी जिल्ला, प्रदेश, सङ्घीय तहमा पहल गर्ने उद्देश्यले आइतबारदेखि सुरु भएको पर्यटन प्रर्वद्धन कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

    समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको र ढोरपाटन सिकार आरक्षमा समेटिएको जलजला म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को भूगोलमा पर्छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले ढोरपाटन र जलजलाबाट म्याग्दीले लाभ लिने वातावरण सृजना गराउने उद्देश्यले म्याग्दीका जनप्रतिनिधि, निजी क्षेत्र, स्थानीय सरोकारवालाको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


    “बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी– जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि सृजना भएको अवसरको सदुुपयोग र देखिएका समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको हो”, उनले भने, “सङ्घीय, प्रदेश सांसद, म्याग्दीका छवटै स्थानीय तह, जलजलासँग सरोकार राख्ने बागलुङको ढोरपाटन, पूर्वीरुकुमको पुथाउत्तरगङ्गा र भुुमे गाउँपालिकाका जनप्रतिनिधि, अगुवा र विज्ञहरूको उपस्थितिमा बृहत् छलफल गरी साझा धारणा र योजना तय गरिनेछ ।”

    कार्यक्रममा सहभागी हुुन अतिथिहरू आज दिउँसो जलजलामा पुुगिसकेका छन् । सोमबार बिहान जलजला घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिने तय भएको छ । गुर्जा, धवलागिरि, चुुरेन, पुथा, अन्नपूूर्ण हिमालको काँखमा समथर भूगोलमा रहेको जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यूप्वाइन्ट’ हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको दुईवटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा परे पनि सलामी दस्तुुर नपाएको र गुर्जाघाटलगायत ठाउँमा रहेको सीमा विवादको समस्या समाधानका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

    “गत फागुनमा मार्ग खुुलेको बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकलाई स्तरोन्नति गरी मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा विकास गराउन प्रदेश र सङ्घीय सरकारलाई दबाब दिन म्याग्दीको साझा मुद्दा तय हुुनेछ”, उनले भने, “जलजला घुुम्न आउने पाहुुनाहरूको सुविधा र सहजताका लागि पूर्वाधार तयार पार्न र सिकार आरक्ष वरपरका बस्तीका नागरिकले प्राकृतिक स्रोतसाधनको उपभोगमा भोगेको समस्या समाधानका लागि दबाब दिनलाई पनि सम्बन्धितस्थलमै कार्यक्रम गरिएको हो ।”

    समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनुु जलजला उपत्यकाको विशेषता हो । समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो ।

    गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका फुलबहादुर विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आउनुभएको छ । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।

    ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपाण्डा०को बासस्थान भएकाले थप महत्त्व रहेको छ ।

    दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।