Category: फिचर

  • तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा

    तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा

    ९ जेठ, काठमाडौं । तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थिति बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल, बलम्बु पुगेका छन् । जेठ ८ गते बिहीबार अस्पताल पुगेर उनीहरुलले हाँबिरामी जवानहरूको उपचार प्रक्रिया र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिएका हुन् ।

    गृह मन्त्रालयको जिम्मेवारीबाट बिदा भइसके तापनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूप्रति पूर्वगृहमन्त्री गुरुङको आत्मीयता र चासो उत्तिकै प्रगाढ देखिएको छ। नेपाली संस्कार र परम्परालाई आत्मसाथ गर्दै उनी बिरामी प्रहरी जवानहरूलाई भेट्न फलफूल र पौष्टिक आहारसहित अस्पताल पुगेका थिए । पदमा रहँदा मात्र नभई पदबाहिर रहँदा पनि सुरक्षा संगठन र यसका जनशक्तिप्रति उनले देखाएको सद्भाव र अभिभावकत्वलाई अस्पताल परिसरमा उपस्थित सुरक्षाकर्मी र बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएको गुरुङको सचिवालयले लेखेको छ ।

  • हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

    हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

    काठमाडौँ, ९ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हबल्दारमा बढुवा गरिने भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उक्त घोषणा गरेसँगै आवश्यक प्रक्रिया थालिएको पनि उनले बताए ।


    साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हार्दिक बधाई दिनाका साथै उनीहरुले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गरे ।

    उनले उच्च मनोबल र हौसलाका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा राष्ट्र र सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको चर्चा गर्नहुँदै उनीहरुले गरेको हिमाल आरोहणले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको बताए ।

    सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र सङ्गठनको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाललगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे । सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकाथिए ।


    सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेका थिए । सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुन् । उनीहरुलाई एपिएफ सम्मानबाट सम्मानित गरिने भएको छ ।

  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बागमती, ९ जेठः हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा।प्र।०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चाँैरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन् । जङ्गलको बाटो हुँदै आज बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई भिरबाट करिब ३५ मिटर तल खसेर स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बोगटीले जानकारी दिए । घाइते दुबै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

  • महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

    महोत्तरीमा चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९

    जलेश्वर (महोत्तरी), ९ जेठः विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो भने पुस २१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सबै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो ।

    सोही क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरेर २०८२ माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यसअनुसार नेपाली नागरिक आमाबाट नेपालमै जन्मिएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिहरुले आवश्यक स्वघोषणा र प्रक्रिया पूरा गरेर वंशजका आधारमा नागरिकता प्राप्त गर्न थालेका हुन् । त्यसै क्रममा जिल्ला प्रशासन कार्यालयबाट गत २०८२ माघ महिनाको ६ गतेदेखि २०८३ जेठ ९ गतेसम्म जम्मा २०९ जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

  • सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

    सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

    नारायणगढ (चितवन), ९ जेठ । भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर (डेरा) मा आज केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो । लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा सहिद राईकी छोरी आकृति राईले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि खुसी छाएको हो ।

    आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उनलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिकी आमा सुनिता राईले छोरीको सफलताले परिवारमा आशा र आत्मविश्वास बढाएको बताइन् । उनले भनिन्, “अब आँट आउन थालेको छ । मेरो नानीले केही गर्छे जस्तो लागेको छ ।” उनले छोरीको शिक्षामा सहयोग गर्ने गोल्याण ग्रुपप्रति आभार व्यक्त गर्दै दुःख र अन्योलबीच आएको सहयोग परिवारका लागि मलमसरह बनेको बताइन् । परिवारमा परेको पीडाले छोरी पहिलेभन्दा अझ आत्मविश्वासी र समाजमा केही गर्न सक्ने खालकी बनेको उनको भनाइ थियो ।

    उनले भने, “पहिले धेरै नबोल्ने छोरी अहिले तीन–चार जना मानिस भएको ठाउँमा बोल्न सक्ने भएकी छ । उसले मलाई सम्झाउने गर्छे ।” गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले आकृतिले पीडालाई पन्छाएर पढाइमा उत्कृष्ट नतिजा ल्याएको बताए । उनले आफूहरूसँगै शिक्षक र परिवारको सहयोगले आकृतिलाई विज्ञान विषय अध्ययनतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरे ।

    उनले भने, “पीडाबाट कसरी अगाडि बढ्ने भन्ने कुरा आकृतिको पढाइले सिकाउँछ । राम्रो अभिभावक र शिक्षक पाए विद्यार्थी अझ राम्रो गर्न सक्छन् । आकृतिकी आमाले पीडाका बाबजुद ठूलो साथ दिनुभएको छ ।” उनले विद्यार्थी पास मात्रै नभई आत्मनिर्भर बन्न सक्ने खालको हुनुपर्ने बताउँदै विद्यार्थीको चाहना र क्षमताअनुसार शिक्षा प्राप्त गर्न सहयोग गर्दै आएको जानकारी दिए ।


    उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएकी आकृतिले कक्षा ८ देखि भरतपुरस्थित मनशिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी छिन् । उनले विद्यालय परिवार र सहयोगी संस्थाको साथले पढाइ सहज भएको बताइन् । उनले भनिन्, “गोल्याण के हो भन्ने पहिले थाहा थिएन । भेट भएपछि आफ्नै परिवार जस्तो लागेको छ ।” आकृतिले अब भरतपुरस्थित आरोमा कलेजमा प्लस टु अध्ययन गर्ने बताउँदै भविष्यप्रति आशावादी रहेको धारणा राखिन् । प्लस टु अध्ययनपछि बिएससी नर्सिङ अध्ययन गरी देशमै सेवा गर्ने इच्छा रहेको उनले बताइन् ।


    मनशिक्षा मन्दिर माध्यमिक विद्यालय का प्रधानाध्यापक इन्द्रेश शाहले आकृति मेहिनती र जिम्मेवार विद्यार्थी रहेको बताए । उनले पारिवारिक पीडाका बाबजुद विद्यालय र पछि गोल्याण ग्रुपबाट प्राप्त सहयोगले आकृतिमा थप उत्साह आएको उल्लेख गरे । उनले भने, “परिवारमा पीडा नभई अनुकूल वातावरण भएको भए आकृतिको बढी अङ्क ल्याउने सम्भावना थियो ।” अब आृकतिले अध्ययन गर्ने कलेज आरोमा कलेज भरतपुरका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले आकृतिको अध्ययनका लागि कलेज पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताए । गोल्याण ग्रुपसँग समन्वय गरेर आवश्यक जिम्मेवारी लिने प्रतिबद्धता उनले व्यक्त गरे ।

    गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पीआर प्रमुख ज्योति गैरेले आकृतिको सफलताको सम्मान स्वरूप घरमा नै आएर भेटेर बधाई कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनका अनुसार आकृति जेनजी आन्दोलनका सहिद परिवारबाट एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान हुन् । जेनजी आन्दोलनका सहिदका ३२ जना बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीलाई मासिक रु ४० हजारका दरले वार्षिक रु चार लाख ८० हजार उपलब्ध गराइँदै आएको छ ।

    उनले चितवनमा आकृतिसहित कक्षा ४ मा अध्ययनरत अर्का एक सहिद परिवारका बालबालिकालाई सहयोग गरिरहेको बताइन् । देशभरका विद्यालय जाने तयारीमा रहेका तथा विभिन्न कक्षामा अध्ययनरत सहिद परिवारका बालबालिकालाई गोल्याण ग्रुपले सहयोग गर्दै आएको उनले बताइन् । आकृति राई ३.४० जीपीएसहित एसइई उत्तीर्ण भएकी भएकी हुन् । उनी पहिलो एसइई उत्तीर्ण हुने जेनजी आन्दोलनका सहिद परिवारको सन्तान हुन् ।

  • पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

    पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

    पाँचथर, ९ जेठः अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पु¥याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

    निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए ।


    यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ । गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए ।

  • तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

    तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

    काठमाडौँ, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर ९लु०सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको हो ।

    विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए । उनका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मिति यही ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

    प्रभावित जिल्लाहरू

    विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुुपर्ने जिल्लाहरुमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।

    विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ ।

    विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।

    यस्तै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ । विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।

  • अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

    काठमाडौं । ९ जेठः काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला_ ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो ।

    यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरे ।


    सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यहीँ जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताइएको छ । यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको राससलाई जानकारी दिए ।


    उनले भने, “सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको लगेज हराउने, चोरी हुने तथा अन्य अवाञ्छित गतिविधि रोक्न यो प्रणाली प्रभावकारी हुनेछ । यात्रुको सुरक्षालाई केन्द्रमा राखेर ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच सहकार्य गरिएको हो । प्रारम्भिक चरणमा जेठ १५ बाट यो व्यवस्था लामो दूरीका सवारी साधनमा लागू हुनेछ ।” राष्ट्रिय यातायात व्यवसायीक महासङघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागिएको जानकारी दिए । उनका अनुसार यात्रुको लगेज सुरक्षित राख्ने विषय लामो समयदेखि चुनौतीका रूपमा रहेको थियो ।

    उनले भने, “जहाजमा जस्तै अब बसमा पनि लगेज ट्याग प्रणाली लागू हुनेछ । यसले यात्रुको झोला साटिने, हराउने वा गलत व्यक्तिले लैजाने समस्या हटाउनेछ । यात्रुले ढुक्क भएर यात्रा गर्न सक्ने वातावरण बन्नेछ ।” यातायात व्यवसायीका अनुसार चाडपर्व, भीडभाड तथा रात्रीकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो । कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसारपसारमा सार्वजनिक सवारीको दुरुपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए । नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

    यस प्रणालीअन्तर्गत बस काउन्टरबाट यात्रुको लगेजमा कोड वा नम्बरसहितको ट्याग लगाइनेछ । सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ । गन्तव्यमा पुगेर ट्याग मिलाएपछि मात्रै सामान हस्तान्तरण गरिने व्यवस्था मिलाइने तयारी गरिएको छ । ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा प्रविधिमैत्री तथा डिजिटल प्रणालीसमेत जोड्ने योजना बनाइएको छ । आवश्यक परे क्युआर कोड वा डिजिटल रेकर्ड राख्ने अभ्यास पनि सुरु गर्न सकिने बताइएको छ ।

    यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजै “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३”को पनि शुभारम्भ गरेको जनाएको छ । वर्षायाममा हुन सक्ने सडक दुर्घटना, पहिरो, डुबान तथा सवारी अवरोधलाई लक्षित गर्दै उक्त अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरीले मनसुन अवधिमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सवारी साधनको प्राविधिक अवस्था परीक्षण, चालकको स्वास्थ्य जाँच, जोखिमयुक्त सडकको निगरानी तथा यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । सार्वजनिक यातायात क्षेत्रमा नयाँ सुरक्षा अभ्यासको रूपमा हेरिएको लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए यात्रुको विश्वास बढ्नुका साथै सार्वजनिक यातायात सेवा थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।

  • दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    काठमाडौँ, ८ जेठ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ ।

    कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त चलचित्रका निर्मातासमेत रहेका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गरे । उनले भने, “हामीले घरेलु दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने कुनै शब्द नै छैन । हामीलाई विश्वास गरेर चलचित्र हेर्न आएका दर्शक फर्किँदा सन्तुष्ट हुनुभएको छ, त्यो नै हाम्रो ठूलो सफलता हो । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरन्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो, कृतज्ञ छौँ ।”

    “हामीले चलचित्रमार्फत देखाउन खोजेको विषय र दिएको सन्देशलाई दर्शकले स्पष्ट बुझ्नुभएको छ, चलचित्र हेरिसकेका दर्शकको प्रतिक्रिया लिन मसहित हाम्रो चलचित्रमा आवद्ध कलाकार नेपालभर मुख्य सहरमा रहेका चलचित्र भवन पुगेका थियौँ, सबै ठाउँमा दर्शकले उस्तै राम्रो प्रतिक्रिया दिनुभयो । देशभर चलचित्रलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो”, अभिनेत्री खड्काले भनिन् ।

    उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

  • शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

    काठमाडौं, ८ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    समानता एवं इण्डो–प्यासिफिक हेर्ने बेलायतीमन्त्री मल्होत्रा तीनदिने भ्रमणका लागि आज बिहान नेपाल आएकी हुन् । भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो । साथै नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको ‘अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनबारे महत्त्वपूर्ण परामर्श भएको बताइएको छ ।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि मन्त्रालयले अघि सारेका प्राथमिकता र कार्ययोजनाबारे जानकारी गराउँदै अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गरे । उनले शिक्षाको पुनःसंरचनामा ‘प्याराडाइम सिफ्ट’ आवश्यक रहेको उल्लेख गर्दै अपाङ्गता भएका तथा विशेष गरी अटिजम भएका बालबालिकाका लागि विशिष्ट शिक्षण प्रणाली र सहयोग व्यवस्था विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री पोखरेलले बेलायत सरकारबाट बजेटरी सपोर्ट र मौद्रिक सहायतासँगै विज्ञता तथा ज्ञान हस्तान्तरणमार्फत क्षमता विकासमा थप सहयोगको अपेक्षा व्यक्त गरे ।
    भेटमा बेलायतीमन्त्री मल्होत्राले नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी तथा पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइन् । उनले बेलायतको नयाँ सरकारले शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै नेपाल जस्ता मुलुकमा शिक्षामा थप लगानी र साझेदारी विस्तार गर्ने योजना रहेको बताइन् ।

    मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षामा बेलायतीस्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने प्रस्ताव राखिन् । अन्तरदेशीय शिक्षा प्रणालीको प्रवर्द्धनका लागि आवश्यक कानुनी प्रावधान परिमार्जन गरी साझेदारी विस्तार गर्न बेलायत सरकार तयार रहेको उनले बताइन् ।

  • सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

    सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

    धरान (सुनसरी), ९ जेठः सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ । मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

    पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति गौरवकुमार केसीले गत वर्ष कोशी प्रदेशका इलाम र झापामा आएको ठूलो बाढीपहिरो तथा कोशी क्षेत्रमा देखिएको जटिल बाढीजन्य अवस्थालाई मध्यनजर गर्दै यस्ता अभ्यास समय समयमा सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले यस्ता अभ्यासले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    हालको मनसुनलाई लक्षित गर्दै पूर्वी पृतना हेडक्वार्टर इटहरीमा एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । उनले बाढीपहिरोजस्ता विपद्का समयमा त्यसलाई तत्काल परिचालन गर्न सकिने बताए । पृतनापति केसीले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्थानीयवासीको सक्रिय सहभागिता, क्षमता विकास तथा पूर्वाधार निर्माणमा जोड दिए । स्थानीय तह र समुदाय सक्षम भएमा विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

    विपद्को उच्च जोखिममा रहेको कोशी प्रदेशमा बर्सेनि विभिन्न प्रकारका विपद्का घटना हुने गरेकाले यस्ता अभ्यास अत्यन्त आवश्यक रहेको उनले उल्लेख गरे । स्थानीय समुदायको सहकार्य तथा सुरक्षा निकायहरूको एकीकृत प्रयासमा सञ्चालन गरिने यस्ता अभ्यासले भविष्यमा आउने बाढीजन्य विपद्मा प्रभावकारी प्रतिकार्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ थियो ।

    अभ्यासका क्रममा विपद् उद्धार तथा व्यवस्थापनसम्बन्धी विभिन्न सामग्री प्रदर्शन गरिएको थियो । मनसुनका बेला बाढी, डुबान, कटान तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्न र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।

    अभ्यासका क्रममा सम्भावित विपद्का घटनाको कृत्रिम अवस्था सृजना गरी उद्धार, राहत व्यवस्थापन, घाइतेको उद्धार तथा समन्वयका विभिन्न पक्षको प्रदर्शन गरिएको थियो कार्यक्रममा श्री भगवती गण, श्री शिवदल गण, श्री कालीशक्ति गण, श्री सर्वभाग्य दल गण, अमरदल गण, भीमकाली गुल्म तथा नं १ विपद् व्यवस्थापन गणलगायतका विभिन्न गण तथा गुल्मका नेपाली सेनाका विपद् उद्धार टोलीको सहभागिता रहेको थियो ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

  • हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

    हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

    काठमाडौँ, ८ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरुलाई सम्मान गरे ।

    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिनुहुँदै हिमालको चुचुरोमा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए ।


    उनले उच्च मनोवल तथा आँट र साहस लिइ विश्वको सर्वोच्च शिखर सगरमाथामा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोवलमा हौसला, प्रेरणा र उत्साह मिलेको चर्चा गर्दै यस्ता प्रकृतिका कार्यहरूलाई सङ्गठनले अझै उच्च प्राथमिकता साथ अगाडि बढाउने बताए ।


    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूले विश्वको सर्वोच्च शिखरको सफल आरोहणका साथै हिमाली तथा उच्च पहाडी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ बनाउन मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयमा उच्च भू–भाग खोज तथा उद्धारलगायत तालिमहरूको सञ्चालनले हिमाली तथा उच्च पहाडी भू–भागहरूमा उद्धार तथा सीमा सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम हुँदै गएको बताए ।


    सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र सङ्गठनको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाललगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे ।


    सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेका थिए ।

    सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन् । उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।

  • रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

    रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

    गण्डकी, ८ जेठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने तर अन्य मुद्दा अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर तथा राष्ट्र बैंकसम्बन्धी कसुरअन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ ।

  • महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

    महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

    जलेश्वर (महोत्तरी), ८ जेठ । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो । सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो ।

    प्रहरीका अनुसार गौशाला नपा–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए । मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

    गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

    नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो ३ः४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ ।

    उक्त समयमा राजधानी नयाँदिल्लीको तापक्रम ४५.३ डिग्री सेल्सियस पुगेको थियो । मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ । यसअघि बुधवार २६५.४४ गिगावाटको रेकर्ड कायम भएको थियो, जसलाई एक दिनमै उछिन्दै नयाँ कीर्तिमान बनेको हो ।ऊर्जा मन्त्रालयले बढ्दो तापक्रमका कारण एयर कन्डिसनर, कुलर तथा अन्य शीतलन उपकरणहरूको प्रयोग अत्यधिक बढेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ ।

    मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा माग वृद्धिको मुख्य कारण यही भएको उल्लेख गरिएको छ । भारतको कुल विद्युत् उत्पादनमा अझै पनि थर्मल पावर, विशेषगरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ । हाल देशको कुल बिजुली उत्पादनमध्ये ६२ प्रतिशत हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ । सौर्य ऊर्जाबाट २२ प्रतिशत, हावा र जलविद्युत्बाट पाँच प्रतिशत तथा बाँकी अन्य स्रोतहरूबाट उत्पादन भइरहेको छ ।

    विश्वकै तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक भारतले सन् २०७० सम्म ‘शुद्ध–शून्य उत्सर्जन’ हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि ठूलो निर्भरता कायम रहेको देखिएको छ । रेकर्ड स्तरमा बिजुली उत्पादन भइरहेको सरकारी दाबीबीच सामाजिक सञ्जाल एक्समा धेरै प्रयोगकर्ताले भने आफ्ना क्षेत्रमा अझै पनि विद्युत् कटौती भइरहेको गुनासो गरेका छन् । अत्यधिक गर्मीका कारण पुराना विद्युत् तार र ट्रान्सफर्मरहरूमा अत्यधिक चाप परेर स्थानीय स्तरमा ब्ल्याकआउट हुने जोखिम बढिरहेको बताइएको छ ।

    दक्षिण एसियाको एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा अप्रिलदेखि जुनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ । वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन् । भारतको मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश राज्यको बान्दा सहरमा अधिकतम तापक्रम ४७.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो हप्ताको सुरुआतमा त्यही क्षेत्रमा पुगेको ४८.२ डिग्री सेल्सियसभन्दा केही कम भए पनि अवस्था अझै अत्यन्त गर्मीपूर्ण रहेको विभागले जनाएको छ ।

    भारतमा हालसम्म आधिकारिक रूपमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम राजस्थानको फलोदीमा सन् २०१६ मा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस हो । यसैबीच, अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म ‘एक्युआई’ ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा तातो ५० सहरमध्ये सबै भारतमै रहेको उल्लेख गरेको थियो । तापक्रम, सौर्य विकिरण, हावाको अवस्था, वर्षा र आद्र्रतासहितका विभिन्न सूचकलाई आधार बनाएर तयार गरिएको दैनिक ‘गर्मी सूचकाङ्क’ मा भारतीय सहरहरू अत्यधिक तापको चपेटामा परेको देखाइएको थियो ।

  • एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

    एमाले सचिवालय बैठक भोलि पुनः बस्ने, आज उठ्यो नेतृत्व परिवर्तनको विषय

    भक्तपुर, ८ जेठ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा प्रस्तुत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः०० बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ । साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए ।

    आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उहाँले नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिए । सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरी स्थगन भएको उनले जानकारी दिए । आजको बैठकमा उपाध्यक्षहरुले ओलीको नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन् ।

  • स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

    स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थलाई समितिको निर्देशन

    काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो । समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले उक्त निर्देशन दिएको जानकारी दिए ।

    कच्चापदार्थ आयात गर्दा लाग्ने उच्च कर र भन्सार महसुलका कारण नेपालमै उत्पादित वस्तुको लागत महँगो हुन गई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको स्वदेशी उद्योगीको गुनासो छ । उद्योगीहरूको यसै गुनासो र समस्यालाई सम्बोधन गर्न समितिले आज उद्योगमन्त्रीको उपस्थितिमा राजस्व सचिव, भन्सार विभागका महानिर्देशकसहित सम्बन्धित उद्योगी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।

  • विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

    विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको सानदार जित

    ८ जेठ, काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे ।

    अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए । साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६, कप्तान शैतेजा मुक्कामुल्लाले २२ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ८३ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३ कुशल भुर्तेलले २९ रन, आरिफ शेखले १८ रन र गुल्सन झाले १५ रन जोडे ।

    अमेरिकाका लागि शुभम रन्जाने तीन विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान एक–एक विकेट लिए । आजको जितसँगै नेपाल अङ्क तालिकामा २८ खेलपछि ११ जित, १५ हार र दुई वटा अनिर्णितसहित २४ अङ्क जोडेको छ ।

  • नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

    नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

    काठमाडौँ, ८ जेठः काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो ।

    उक्त समझदारीमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरे । नगरप्रमुख गिरीले काठमाडौँ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए । उनले सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


    प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । “सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ, स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको हामी उच्च कदर गर्दछौँ र समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले बताए ।


    हाल चन्द्रागिरि नगरपालिकाभित्र झण्डै ४०० सिसि क्यामेरा जडान गरिएका छन् । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाभित्र जडान गरिएका क्यामराको सङ्ख्या थप गरी एक हजार ५०० पुर्याइनुका साथै नगरभित्रको सुरक्षा गर्ने लक्ष्यका साथ सिसि क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सम्झौता गरिएको बताए ।

  • छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

    छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

    मुस्ताङ, ८ जेठः छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।

    एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको हो । झण्डै नौ घण्टा पैदल दूरीको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि पा हुँदै लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्यापअन्तर्गत दुई समितिले अगलअलग रुपमा काम गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।


    छुसाङदेखि पासम्मको दूरीमा छुसाङ समिति र ताङ्ग्यादेखि पासम्मको दूरीमा सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको प्रमुख पौडेलले जानकारी दिए । उपल्लो मुस्ताङ जाने पर्यटकीय पदमार्गको छुसाङदेखि पा हुँदै ताङ्ग्या पर्यटकीय पदमार्गको वैशाख १५ देखि पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य थालिएको एक्यापले जनाएको छ ।

    पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिले घरेलु औजारसहित कामकाजमा जनशक्ति परिचालन गरेको हो । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार छुसाङलेखि पा हुँदै ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत सुधारलगायत कार्य दुई साताभित्र सम्पन्न हुने जानकारी दिए । बर्सेनि बर्खायामको वर्षाका कारण हुने भेलबाढी र पहिरोका कारण उक्त पदमार्ग भत्किने र बिग्रिने गरेको र पदमार्गलाई बर्सेनि मर्मत सुधारको कार्य गरिरहनुपर्ने प्रमुख पौडेलको भनाइ छ । छुसाङदेखि पा हुँदै ताङ्ग्या पदमार्गका कतिपय स्थानमा ग्याविक प्रोटेक्सन गरिएको छ भने पदमार्ग दुई स्थानमा काठेपुल निर्माण गरिन लागिएको छ ।

    यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ध्ये खोलादेखि त्याङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य गरेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमको कार्यविधिअनुसार दैनिक ज्यालादारी दिनेगरी पदमार्ग मर्मत सुधारको कामकाजमा खटाएको उनले बताए ।


    पछिल्लो समय मुस्ताङका पर्यटकीय पदमार्ग सडक सञ्जालका कारण मासिँदै जान थालेका छन् । राष्ट्रिय गौरवको कोरला सडक र शाखा सडकको विकासले यहाँका पर्यटकीय पदमार्ग मासिन थालेको हो । कालीगण्डकी करिडोर सडकको पश्चिम छुसाङ, तेताङदेखि पा हुँदै ताङ्ग्या जोड्ने उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय पदमार्ग हो । पछिल्लो समय त्यहाँको पर्यटकीय पदमार्ग बर्खायामको भेलबाढी र पहिरोले क्षति पु¥याउँदा उपल्लो मुस्ताङ जाने विदेशी पर्यटक पदयात्रीले निकै ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने थियो ।

    पदमार्गको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने भन्दै विभिन्न ट्रेकिङ एजेन्सीलेसम्बन्धी निकायको ध्यानाकर्षण गराउँदै आइरहेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलले उपल्लो मुस्ताङ जाने छुसाङ–पा–त्याङ्ग्या पदमार्गको मर्मत तथा स्तरोन्नतिकार्यले विदेशी पर्यटकको पदयात्रा सहज हुने बताए ।

  • पाकिस्तानी प्रधानमन्त्रीको सरिफको बेइजिङ भ्रमण तय

    पाकिस्तानी प्रधानमन्त्रीको सरिफको बेइजिङ भ्रमण तय

    बेइजिङ, ८ जेठ (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् ।

    अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिएका छन् ।


    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री सरिफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा गहिरो विचार–विमर्श हुने बताए । उनका अनुसार दुवै पक्षले क्षेत्रीय स्थिरता र शान्तिसम्बन्धी मुद्दामा विशेष ध्यान दिनेछन् ।

    प्रवक्ता गुओले चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सकारात्मक योगदान दिन पाकिस्तानसँग सहकार्य जारी राख्ने स्पष्ट पारे । उनका अनुसार चीनले युद्ध अन्त्य र शान्ति प्रवद्र्धनका लागि निष्पक्ष तथा सन्तुलित मध्यस्थताको भूमिकामा पाकिस्तानलाई समर्थन गरिरहेको छ । पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीचको तनावमा पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको छ । गत महिना इस्लामाबादमा वार्ता आयोजना गर्दै पाकिस्तानले आफूलाई कूटनीतिक समन्वयको केन्द्रका रूपमा प्रस्तुत गरेको थियो ।

    यसैबीच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनिर बिहीबार तेहरान भ्रमणमा जाने कार्यक्रम रहेको इरानी मिडियाले जनाएको छ । यो भ्रमणलाई पनि क्षेत्रीय सुरक्षा संवादको भागका रूपमा हेरिएको छ । चीनले भने मध्यपूर्व सङ्कटमा हालसम्म तुलनात्मक रूपमा कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । फोन संवाद र सम्बन्धित खाडी देशका अधिकारीहरूसँगको बैठकमार्फत बेइजिङले संवादलाई निरन्तरता दिइरहेको छ ।

    गत हप्ता बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा चीनले हर्मुज जलघाँटी खुला राख्न सहयोग गर्ने प्रस्ताव गरेको दाबी गरेका थ्रिए । यो जलमार्ग युद्ध सुरु भएयता ऊर्जा आपूर्तिका लागि संवेदनशील विन्दु बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यस महिनामा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वमा कूटनीतिक प्रयास अझ बढाउन आग्रह गर्नुभएको थियो । उहाँका अनुसार क्षेत्रीय सङ्कट समाधानका लागि थप सक्रिय मध्यस्थता आवश्यक छ ।

    पछिल्ला दुई सातामा बेइजिङले अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत भ्रमण तथा संवादलाई स्वागत गरेको छ । यसलाई चीनको बढ्दो कूटनीतिक सक्रियताको सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।

  • अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित

    अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित

    नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी सङ्घले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। “महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला सङ्क्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत–अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका छन्,” भारतीय विदेश मन्त्रालयद्वारा दिइएको जानाकारीमा भनिएको छ। भारत–अफ्रिका मञ्च शिखर सम्मेलन मे २८ देखि ३१ सम्म नयाँ दिल्लीमा हुने तय भएको थियो । भारतले अफ्रिका सिडिसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ।

    विश्व स्वास्थ्य सङ्गठनले बुधबार भनेको छ, “घातक इबोला प्रकोपको जोखिम मध्य अफ्रिकामा उच्च छ तर विश्वव्यापी रूपमा कम छ, यो भाइरस सम्भवतः महिनौँंदेखि फैलिरहेको छ।” प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शुक्रबार सङ्क्रामक अत्यधिक रक्तस्रावी ज्वरो (इबोला) को प्रकोपको घोषणा गरिएको छ।


    अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १७ औँ पटकको इबोला प्रकोपबाट करिब ६०० जना सङ्क्रमित भएको र १३९ जनाको मृत्यु भएको आशङ्का गरिएको छ।

    दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार प्रजातान्त्रिक गणतन्त्र कङ्गो, छिमेकी युगान्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन सूचना जारी गरेको छ। नयाँदिल्लीले ‘महाद्वीपमा सार्वजनिक स्वास्थ्य तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ पार्न निरन्तर सहयोगको महत्त्व’ मा जोड दिएको छ, शिखर सम्मेलनको लागि नयाँ मिति पछि तय गरिने बताइएको छ।

  • स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

    स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

    न्युयोर्क, ८ जेठ (रासस–एपी) । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ ।

    फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ अर्ब ७० करोड डलर राजस्व कमाए पनि सञ्चालनतर्फ पाँच अर्ब ६० करोड डलर घाटा व्यहोरेको थियो । कम्पनीले यो वर्षको सुरुआती महिनाहरूमा पनि घाटा निरन्तर रहेको उल्लेख गरेको छ । कम्पनीले उठाउन चाहेको रकम औपचारिक रूपमा नखुलाए पनि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूले प्रस्तावको आकार ७५ अर्ब डलर वा त्योभन्दा माथि पुग्न सक्ने बताएका छन् । यदि त्यस्तो भयो भने, यो आइपिओले सात वर्षअघि २६ अर्ब डलर उठाएर कीर्तिमान बनाएको साउदी अरामकोलाई सहजै उछिन्नेछ ।

    औपचारिक नाम स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन रहेको स्पेसएक्सले यस सेयर बिक्रीबाट उठ्ने रकम मानवलाई बहुग्रहीय प्रजाति बनाउने महत्त्वाकांक्षी योजनामा प्रयोग गरिने जनाएको छ । कम्पनीका अनुसार चन्द्रमा र मङ्गल ग्रहमा मानव बस्ती स्थापना गर्ने परियोजनालाई आर्थिक रूपमा बलियो बनाउन यो पूँजी प्रयोग हुनेछ । फाइलिङमा सभ्यतालाई समाप्त गर्न सक्ने अस्तित्वगत जोखिमको चर्चा गर्दै ‘मानव जातिको भाग्य डायनासोरजस्तो नहोस् भन्ने हाम्रो चाहना हो’ भनिएको छ ।

    प्रोस्पेक्टसका केही अंश विज्ञान–कथाजस्ता देखिन्छन् । एउटा खण्डमा मस्कले ‘कम्तीमा १० लाख जनसङ्ख्या भएको स्थायी मानव उपनिवेश मङ्गल ग्रहमा स्थापना गर्न सफल भएमा’ मात्र विशेष क्षतिपूर्ति प्राप्त गर्ने उल्लेख गरिएको छ । यो आइपिओले मस्कलाई १० खर्ब डलरभन्दा बढी सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति बनाउने सम्भावना पनि बलियो बनाएको छ । फोब्र्सका अनुसार हाल मस्कको अनुमानित सम्पत्ति आठ खर्ब ३९ अर्ब डलर रहेको छ । मस्कले सन् २००२ मा स्थापना गरेको स्पेसएक्समा उहाँ प्रमुख स्वामित्वकर्ता हुनुहुन्छ ।

    पुनः प्रयोग गर्न मिल्ने रकेटमार्फत अन्तरिक्ष यात्रीलाई कक्षामा पु¥याउने मुख्य व्यवसायसँगै स्पेसएक्सले अन्य विविध व्यवसाय पनि सञ्चालन गरिरहेको छ । तीमध्ये सबैभन्दा सफल व्यवसायमध्ये स्टारलिङ्क एक हो । दस्तावेजअनुसार स्टारलिङ्कले गत वर्ष चार अर्ब ४० करोड डलर सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले न्यून पृथ्वी कक्षामा रहेका करिब १० हजार उपग्रहमार्फत १५० देश तथा क्षेत्रमा एक करोड मानिसलाई इन्टरनेट सेवा दिइरहेको जनाएको छ ।

    तर कम्पनीका सबै परियोजना सफल छैनन् । हालै स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म एक्स र कृत्रिम बौद्धिकता (एआई) एक्सएआई अधिग्रहण गरेको थियो । यी दुवै कम्पनी ठूलो घाटामा रहेका कारण केही लगानीकर्ताले उक्त खरिदलाई ‘बेलआउट’ भन्दै आलोचना गरेका थिए । प्रोस्पेक्टसले एआई व्यवसायले मात्र गत वर्ष छ अर्ब ४० करोड अर्ब डलर सञ्चालन घाटा व्यहोरेको जनाएको छ ।

    स्पेसएक्सको मुख्य रकेट तथा प्रक्षेपण व्यवसाय भने अमेरिकी सरकारी सम्झौतामा ठूलो मात्रामा निर्भर छ । दस्तावेजअनुसार कम्पनीको गत वर्षको कुल राजस्वमध्ये करिब पाँचौँ भाग अमेरिकी सङ्घीय सरकारबाट आएको थियो । नासा, अमेरिकी रक्षा मन्त्रालय र अन्य सरकारी निकायबाट स्पेसएक्सले पछिल्ला पाँच वर्षमा छ अर्ब डलरभन्दा बढीका सम्झौता प्राप्त गरेको युएसए स्पेन्डिङ डट जीओभीले देखाएको छ ।

    यसले मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमाथि फेरि प्रश्न उठाएको छ । मस्क ट्रम्पको चुनाव अभियानका सबैभन्दा ठूलो दातामध्ये एक थिए । सरकारी खर्च कटौती अभियान डजसँग पनि उनी जोडिएका थिए । सरकारी नैतिकता निगरानी समूहहरूले मस्कले सरकारी ठेक्का पाउन विशेष सुविधा पाएको हो कि भन्ने प्रश्न उठाउँदै आएका छन् । ट्रम्प प्रशासन समाप्त भएपछि यस्तो लाभ कायम रहन्छ कि रहँदैन भन्नेबारे पनि बहस भइरहेको छ ।

    प्रोस्पेक्टसले मस्कको पारिश्रमिक संरचना पनि खुलाएको छ । सन् २०२५ मा उनको आधारभूत वार्षिक तलब ५४ हजार ८० डलर मात्रै थियो । यो सन् २०१९ यता परिवर्तन भएको छैन । तर उहाँका मुख्य लाभ स्टक अनुदानसँग जोडिएका छन् । कम्पनीले करिब समान आकारका १५ वटा स्टक अनुदान प्याकेज उपलब्ध गराउने योजना बनाएको छ । यसमा प्रत्येकमा छ करोड ७० लाख सेयर रहनेछन् । ती सेयर कम्पनीले तोकेका बजार मूल्य लक्ष्य पूरा गरेपछि मात्रै हस्तान्तरण हुनेछन् ।

    मस्कले पूर्ण स्टक पुरस्कार प्राप्त गर्न स्पेसएक्सको बजार मूल्य ७५ खर्ब डलरसम्म पुग्नुपर्ने उल्लेख गरिएको छ । यस्तै अन्तरिक्षमा फुटबल मैदानजत्रा विशाल डाटा सेन्टर निर्माण गर्न कम्पनी सफल भएमा उहाँले थप स्टक पुरस्कार प्राप्त गर्ने व्यवस्था पनि राखिएको छ । कम्पनीको नियन्त्रण संरचनाले पनि लगानीकर्ताको ध्यान खिचेको छ । फाइलिङअनुसार मस्क र केही प्रमुख सेयरधनीले विशेष श्रेणीका सेयर पाउनेछन्, जसले प्रत्येक सेयरमा १० मताधिकार दिनेछ । यसमार्फत उनीहरूले कम्पनीको सञ्चालक समिति चयनमा निर्णायक प्रभाव राख्नेछन् ।

    स्पेसएक्सले सम्भावित लगानीकर्तालाई चेतावनी दिँदै ‘यसले कर्पोरेट मामिलाहरू तथा सञ्चालकहरूको निर्वाचनमा तपाईंहरूको प्रभाव सीमित वा रोक्न सक्छ’ भनेको छ । वाल स्ट्रिटको प्रचलित भाषामा ‘रोड शो’ भनिने लगानीकर्ता प्रस्तुति कार्यक्रम स्पेसएक्सले प्रोस्पेक्टस सार्वजनिक गरेको १५ दिनपछि सुरु गर्न सक्नेछ । हालको समयरेखाअनुसार त्यो प्रक्रिया जुन ४ देखि सुरु हुने अपेक्षा गरिएको छ ।

  • श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

    श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

    द हेग, ८ जेठ (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घको उच्च अदालत (आइसिजे) ले बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक प्रमुख सन्धिमा हडतालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ । यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ । ‘महासन्धि (कन्भेन्सन) ८७’ भनेर चिनिने सन् १९४८ को आइएलओ सन्धिले श्रमिकहरूको हडताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो ।

    आईसीजेका अध्यक्ष युजी इवासावाले भने, “अदालतले त्यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको सङ्गठनहरूको हडतालको अधिकार सुरक्षित गरेको छ।” यद्यपि, न्यायाधीश इवासावाले भन्नुभएको छ, “अदालतको राय बाध्यकारी छैन अर्थात् हडतालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।” “निष्कर्षले त्यो अधिकारको प्रयोगको लागि सटीक सामग्री, दायरा वा सर्तहरूमा कुनै आधार निर्धारण गर्दैन,” उनले भने । आईएलओ महासन्धि ८७ युनियन र रोजगारदाताहरूबीचको एक सम्झौता हो जसमा ‘पूर्ण स्वतन्त्रतामा, उनीहरूको प्रशासन र गतिविधिहरू व्यवस्थित गर्न’ अधिकारको समावेश गरिएको छ।

  • मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

    मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

    तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ । “अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भने। “तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,” उनले थपे । उनले भने, “तेहरानले सबै गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेको छ। तर अमेरिका पनि इमानदार हुनुपर्छ।”

    उनले विगत डेढ वर्षमा वाशिङ्गटनको इरानलाई हेर्ने नीति निकै अविवेकी छ, त्यसैले त्यहाँ गहिरो अविश्वास र वार्ताको वातावरण छ। उनले भने, “हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्ण रूपमा सतर्क छ ।” उनले इरानले सचेतताका साथ वार्ता जारी राख्ने पनि बताए । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन् ।

    नाक्वी यसै साता दोस्रो पटक तेहरान पुगेका हुन् । उनले इरानका राष्ट्रपति, आन्तरिक मामिलामन्त्रीसँग पनि वार्ता गरेका छन् । आइएसएनएको रिपोर्ट अनुसार राष्ट्रपति मसुद पेजेस्कियनले बैठकमा नक्वीसँग क्षेत्रीय अवस्था, अप्रत्यक्ष इरान–अमेरिका वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गरेका थिए ।

  • इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी

    इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी

    तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् । नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।” स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको भविष्यमा आक्रमणको लागि थप जोखिममा जाने सर्वोच्च नेता लगायतका उच्च अधिकारीहरूको राय रहेको छ।

    उनीहरूले भनेका छन्, “इरानमा संयुक्त राज्य अमेरिकाले आक्रमण गर्नुअघि शत्रुतामा विराम आउनुमा ‘गम्भीर शङ्का’ गर्ने ठाउ मिलेको छ । यो इरानको ‘सुरक्षाको भावना सिर्जना गर्न’ को लागि भएको ‘रणनीतिक छलकपट’ थियो। एक स्रोतले भन्यो, “इरानको संवर्धित युरेनियमको स्थानान्तरणको विकल्पमा यसलाई समाधान गर्न अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को सुपरिवेक्षणमा भण्डार घटाउनेजस्ता ‘सम्भाव्य सूत्रहरू’ लागु गर्न सकिन्छ।”

    आइएइएको अनुमानअनुसार इरानसँग ६० प्रतिशत शुद्धता भएको ४४० किलोभन्दा बढी युरेनियम छ । यो सन् २०२५ मा १२ दिने युद्धको क्रममा अमेरिका र इजरायलले बमबारी गरेको इरानको आणविक केन्द्रको भग्नावशेषमुनि भण्डार रहेको बताइएको छ। यसैबीच, इरानी स्ट्ुडेन्ट्स न्यूज एजेन्सी (आइएसएनए) ले बिहीबार दिएको जानकारीमा भनिएको छ, “इरानले संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्न पठाएको पछिल्लो मस्यौदा प्रस्तावमा आफ्नो प्रतिक्रियाको तयारी गरिरहेको छ।”

    आइएसएनएका अनुसार, अमेरिकी मस्यौदाले विद्यमान खाडललाई केही हदसम्म कम गरेको तर यसको थप कटौती गर्दै अमेरिकाको ‘युद्धको प्रलोभन’ को अन्त्य गर्न आवश्यक छ। इरानले हाल तेहरानमा व्यापक संरचना, केही विवरण र विश्वास–निर्माण उपायहरूको ग्यारेन्टीको रूपमा वार्ता गरिरहेको छ।

    पाकिस्तानका सेना प्रमुख असिम मुनीरको बिहीबार हुने तेहरान भ्रमणको उद्देश्य यी खाडललाई कम गर्नु र समझदारी पत्रको स्वीकृतिको आधिकारिक घोषणाको तयारी गर्नु रहेको आईएसएनएले जनाएको छ। इरान, अमेरिका र इजरायलले फेब्रुअरी २८ मा तेहरान र अन्य इरानी शहरहरूमा आक्रमण गरेपछि सुरु भएको ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम गरेका थिए।

    युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा कुनै सम्झौता हुन सकेको थिएन। विगतमा, दुई पक्षहरूले पाकिस्तानमार्फत् द्वन्द्व समाप्त गर्नका लागि सर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका छन्।

  • इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

    इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

    तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् । सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह आयोजना गरिएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको युद्धविरामको बीचमा इरानविरुद्ध नयाँ सैन्य कारबाहीको धम्की दिँदै युद्धकालीन मनोबल बढाउने प्रयासमा सरकारी टेलिभिजनमा ती समारोहलाई प्रसारण गरिएको थियो । इरानी मिडियाका अनुसार यसमा संलग्न व्यक्तिहरूले तथाकथित ‘स्वेच्छिक–बलिदान (जनफादा)’ योजनाको लागि हस्ताक्षर गरेका थिए र उनीहरूले पावर स्टेशनहरू बाहिर मानव साङ्लो बनाएर युद्धमा देशका लागि आफ्नो जीवन समर्पण गर्ने वाचा गरेका थिए ।

    इरानी अधिकारीहरूका अनुसार संसद्का सभामुख मोहम्मद बाघर गालिबाफ र राष्ट्रपति मसुद पेजेस्कियनजस्ता शीर्ष व्यक्तित्वहरू सहित लाखौं मानिसहरूले युद्धका लागि आफ्नो नाम अघि सारिसकेका छन्। इमाम हुसेन स्क्वायरमा सैनिक जीपमा मेसिन गन बोकेर आएका जोडीहरू एक धर्मगुरुको सभापतित्वमा आयोजित समारोहमा मञ्चमा विवाह गरेका थिए ।

    मञ्च बेलुन र युद्धको पहिलो दिन आफ्ना पिता र पूर्ववर्ती अली खामेनीको हत्यापछि पदोन्नति भएयता सार्वजनिक रूपमा देखा नपरेका सर्वोच्च नेता अयातोल्लाह मोजतबा खामेनीको विशाल तस्वीरले भरिएको थियो । “निश्चित रूपमा, देश युद्धमा छ, तर युवाहरूलाई पनि विवाह गर्ने अधिकार छ,” नाम नबताउने सेतो इस्लामिक बेहुलीको पोशाकमा रहेकी एक युवतीको भनाइलाई मेहर न्यूज एजेन्सीले प्रकाशित गरेको फुटेजमा देखाइएको छ।

    आफ्नी दुलहीको छेउमा गाढा सुट लगाएका एक व्यक्तिले ‘उनीहरू शिया मुस्लिमहरूले सम्मान गर्ने इमाम अलीको विवाहको वार्षिकोत्सवको अवसरमा खुशी रहेको’ बताए । “हामीले उहाँहरुको आशीर्वाद पायौँ । यसबाहेक, हामी सडकमा मानिसहरूलाई शुभकामना दिन आएका छौँ,” उनले भने।

    मेहरका अनुसार इमाम हुसेन स्क्वायर समारोहमा मात्र ११० जोडीले भाग लिएका थिए। एएफपीका तस्बिरमा शुभचिन्तकहरूको भीड गुलाबको फूल बोकेर हेरिरहेको देखिन्छ। युद्ध सुरु भएदेखि नै इरानी अधिकारीहरूले द्वन्द्वको बीचमा लोकप्रिय परिचालनलाई उजागर गर्न दैनिक रूपमा प्रमुख सरकार समर्थक भेलाहरू आयोजना गर्दै आएका छन्।

  • ‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

    ‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

    काठमाडौँ, ८ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।


    मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताइन् । भेटमा महानिर्देशक डा टेड्रोसेले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा गएकी हुन् ।

  • ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान

    ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान

    सन्तोष गौतम–रासस
    म्याग्दी, ८ जेठ । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ । “ऋण खोजेर रु १५० को बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने”, शर्मा सम्झन्छन्, “भदौमा प्रतिकिलो रु दुईमा पनि नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो ।”

    अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि तीन रोपनी जमिनबाट सुरु गरेको तरकारीखेतीले आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका शर्माले नाम र दाम कमाएका छन् । व्यावसायिक कृषि पेसाबाट सफलता पाएका औँलामा गन्न सकिने किसान भएको म्याग्दीमा शर्माको नाम अग्रपङ्तिमा आउँछ ।

    आफू उद्यमी बन्नुका साथै अरू धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएका शर्माले आफ्नै परिश्रम र मिहिनेतबाट मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी र करिब ५० हजार बचत गर्छन । छोरीलाई हेल्थ असिस्टेन्ट पढाएर विदेश पठाएका र छोरालाई पोखरामा स्नाकोत्तर पढाइरहेका सापकोटाले तरकारी र केराखेतीबाट भएको कमाइले खबरामा पक्की घर बनाउनुका साथै पोखराको लेखनाथमा घडेरी किनेको बताए ।


    तरकारी बेचेर कमाएको रु दुई लाखबाट खबराको दारिम्पाटामा खरिद गरेको सात रोपनी पहिरोले पुरिएको पाखोलाई थप १६ लाख रुपैयाँ खर्चेर पहिरो पन्छाउने र चक्लाबन्दी गरे । “बारीको बीच भागमा चारवटा टनेल र खुला जमिनमा तरकारी तथा डिल र कुनामा केरा लगाएको छु”, शर्माले भने, “गड्यौलाबाट तयार पारेको ‘भर्मी कम्पोष्ट’ मल, रासायनिक विषादीको विकल्पमा गहुँत प्रयोग गरी प्राङ्गारिक विधिबाट खेती गरेको छु ।”

    पाखोबारी अहिले हराभरा कृषि फार्म बनेको छ । परागशेचनका लागि १० घार मौरी पालेका शर्माले रोहोटे र खबरामा रहेको पुख्र्यौली ३८ रोपनी जमिनमा हजारी जातको केरा, कागती र डालेघाँसखेती गरेका छन् । शर्माले उत्पादन गर्ने केरा, गोलभेँडा, धनियाँ, खुर्सानी, साग, काँक्रो, सिमी, घिरौला, फर्सीलगायत मौसमी र बेमौसमी तरकारी सदरमुकाम बेनीबजार नजिकै भएकाले बिक्रीको समस्या छैन ।

    सोवित तीन वर्षको हुँदा बुबा भवदत्तको छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा जलेर निधन भयो । आमा सेतिले खेती किसानी गरेर दुई दिदी र बहिनीसँगै हुर्काएका सोवित पारिवारिक बाध्यताले १० कक्षामा पढ्दै गर्दा काम खोज्दै भारत पुगे । केही वर्ष भारतको दिल्लीमा भौतारिँदा आफ्नो र घरको आर्थिक अवस्थामा सुधार हुन नसकेपछि गाउँ फर्किएका सोवितले धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि धानको विकल्पमा तरकारीखेती गर्न माटोसँग मितेरी गाँस्नुभयो । धान रोप्न छाडेर तरकारीखेती गरेको सुनेर सोवितलाई घरमै भेट्न पुगेका तत्कालीन कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत हेम शर्मा तिवारीको प्राविधिक सल्लाह र सहयोगले उत्साह बढ्यो ।

    श्रीमती देवी बिरामी भएर उपचार गराउँदा लागेको ऋण तिर्न र देशमा चर्किँदै गएको द्वन्द्वका कारण सप्रिँदै गरेको तरकारीखेती श्रीमती र आमालाई जिम्मा लगाएर २०६१ सालमा मलेसिया पुगेका शर्माले त्यहाँको इलेक्ट्रोनिक कम्पनीका मालिकबाट प्रभावित भएर चार वर्षपछि घर फर्किएर पुनः तरकारीखेतीमै जोडिए । मलेसियाको कमाइले ऋण तिरे । र, केही पैसा बचत पनि गरेँ”, शर्माले भने, “देशमा शान्ति प्रक्रिया सुरु भएकाले आमा र श्रीमतीले निरन्तरता दिएको तरकारीखेतीलाई थप व्यावसायिक बनाउने र उद्यम व्यवसाय गर्ने वातावरण भयो ।”

    आफ्नो सफलताको पछाडि आमा, श्रीमती र छोराछोरीको राम्रो साथ रहेको सापकोटा बताउनुहुन्छ । दिन, साँझ र बिहान माटोसँगै खेलेर बिताउने उहाँको फार्ममा परिवारका सदस्यबाहेक अन्य तीन जनाले रोजगारी पाएका छन् । “पहिला गुजारा चलाउन गाह्रो थियो, दुईचार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो”, सोवितकी श्रीमती देविले भनिन्, “हामीलाई अहिले यो अवस्थामा ल्याएको तरकारीखेतीले हो ।” विसं २०७२ मा तत्कालीन कृषि विकास कार्यालयबाट पहिलोपटक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गर्नुभएका सोवितले कृषि मेलामा सहभागी भएर थुप्रै पुरस्कार पनि हात पारेका छन् ।

    बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, विभिन्न सङ्घसंस्थाबाट उनले तालिम र अनुदान सुविधा पनि पाएका छन् । आफ्नो व्यवसायसँगै कृषकसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र समूहमा आबद्ध सापकोटा कृषकलाई जैविक खेती प्रविधि सिकाउन एकीकृत कृषक पाठशालाको सहजीकरण गर्न जिल्लाभरका किसानको करेसाबारीमा पुग्छन् ।
    खबरामा व्यावसायिक तरकारीखेती सुरु गर्नेमा शर्मा र चन्द्रबहादुर घिमिरे छन् । उहाँहरूको मिहिनेत र सफलताबाट प्रभावित भएर खबराका धेरै किसान व्यावसायिक तरकारी र केराखेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । डेढ सय घरपरिवारको बसोबास रहेको खबराका करिब २५ जनाले व्यावसायिक तरकारीखेती गरेका छन् । पूरै गाउँको आयस्रोत केराखेती बनेको छ । उनीहरूले उत्पादन गरेको तरकारी र केरा बेनीबजारमा खपत हुन्छ ।

    किसानले उत्पादन लागत पहिचान गर्न नसक्नु, कामदार र सिँचाइ अभाव व्यावसायिक कृषिका लागि मुख्य चुनौती भएको सापकोटाको अनुभव छ । पछिल्लो समय केराको गाना कालो र टुप्पोका पात पहेँलो हुँदै सुक्ने समस्या चुनौतीका रूपमा देखिएको छ । पाङ्गारिक विधिबाट तरकारीखेतीलाई निरन्तरता दिँदै नमूना कृषि फार्म बनाउने सापकोटाको योजना छ ।

  • लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

    लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

    रासस
    सिरहा, ८ जेठ । यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।

    नगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौताअनुसार आगामी असार १५ गतेभित्रै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । हाल लहानमा प्रादेशिक अस्पताल सञ्चालनमा छ । तर, उक्त अस्पतालमा सिरहाका मात्र नभई छिमेकी जिल्ला सप्तरी र उदयपुरसम्मका नागरिक उपचारका लागि आउने गरेका छन् । तीनवटा जिल्लाको साझा उपचार केन्द्रजस्तो बनेकाले प्रादेशिक अस्पतालमा दैनिक रूपमा बिरामीको अत्यधिक चाप हुने गरेको छ, जसका कारण सर्वसाधारणले समयमा पालो नपाउने र सास्ती खेप्नुपर्ने बाध्यता छ ।

    अब सुविधासम्पन्न नगर अस्पताल बनेपछि प्रादेशिक अस्पतालमा बिरामीको चाप निकै घट्ने र व्यवस्थापन सहज हुने विश्वास लिइएको छ । लहान नगरवासीले आफ्नै नगर अस्पतालबाट आकस्मिक र विशेषज्ञ सेवा पाउने भएपछि प्रादेशिक अस्पतालमा छिमेकी जिल्लाबाट आउने सर्वसाधारणले पनि छिटोछरितो सेवा पाउने वातावरण बन्नेछ ।

    निर्माणाधीन नगर अस्पतालको भवन मूल्य अभिवृद्धि कर ९भ्याट०सहित कुल १२ करोड ५२ लाख १९ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको हो । लहान नगरपालिका र निर्माण कम्पनी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सबीच २०८० साल चैत १५ गते यसको निर्माण सम्झौता भएको थियो । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले यस अस्पताललाई आफ्नो कार्यकालको एक महत्त्वपूर्ण र गौरवको आयोजनाका रूपमा लिएको बताए । नगरप्रमुख चौधरीका अनुसार यो अस्पताल विशेषगरी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गरिब, विपन्न र ग्रामीण क्षेत्रका नागरिकका लागि वरदान सावित हुनेछ ।

    उनले भने, “लहानमा प्रादेशिक अस्पताल भए पनि छिमेकी जिल्ला सप्तरी र उदयपुरदेखिका बिरामी आउने भएकाले त्यहाँ सधैँ चाप हुन्थ्यो । हाम्रा नगरवासीले सामान्य उपचारका लागि पनि लामो समय कुर्नुपर्ने अवस्था थियो । नगरमै यो अर्को सुविधासम्पन्न अस्पताल बनेपछि त्यो चाप स्वतः सहज हुनेछ । यो १५ शय्याको अस्पतालमा मुख्य रूपमा प्रसूति (मातृशिशु) तथा बालरोगसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइनेछ । अहिले दुई तलाको काम सकिन लागेको छ भने तेस्रो तलामा आवश्यकताअनुसार थप संरचना व्यवस्थापनका लागि ट्रष्ट हाल्ने नगरको योजना छ ।”

    अस्पताल भवनको प्राविधिक तथा भौतिक संरचना निकै सुविधासम्पन्न र वैज्ञानिक ढङ्गले डिजाइन गरिएको छ । निर्माण व्यवसायी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रबन्धक महेशकुमार देवका अनुसार अस्पतालमा कोठाको सङ्ख्या र व्यवस्थापन बिरामी तथा चिकित्सकलाई सहज हुनेगरी मिलाइएको छ ।
    प्रबन्धक देवले निर्माणको प्रगतिबारे जानकारी दिँदै भने, “हामीले गुणस्तरमा कुनै सम्झौता नगरी दिनरात काम गरिरहेका छौँ ।

    अस्पतालको पहिलो तलामा प्रशासनिक, आकस्मिक (इमर्जेन्सी) र ओपिडी सेवासहित ४० वटा कोठा रहनेछन् भने दोस्रो तलामा जनरल वार्ड, प्रसूतिगृह र अपरेसन थियटरसहित ६२ वटा कोठा रहनेछन् । सम्झौताको म्याद आगामी असार १५ गतेसम्ममात्र छ । हामी निर्धारित समयभित्रै सम्पूर्ण काम दुरुस्त पारेर स्थानीय सरकारलाई भवन हस्तान्तरण गर्ने दाबी गर्दछौँ ।”

    हाल लहान नगरपालिकाको कुल जनसङ्ख्या एक लाख १० हजारभन्दा बढी छ । यो अस्पताल सञ्चालनमा आएपछि नगरका २४ वटै वडाका नागरिकले प्रत्यक्ष रूपमा गुणस्तरीय र सुलभ स्वास्थ्योपचार सेवा पाउनेछन् । विशेषगरी लहानको उत्तरी भेग र ग्रामीण क्षेत्रका गर्भवती तथा बालबालिका सामान्य उपचार र प्रसूति सेवाका लागि पनि टाढाका सहर वा निजी क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य छन् । नगरले भवन हस्तान्तरणलगत्तै अस्पतालको आन्तरिक व्यवस्थापन र जनशक्ति मिलाएर सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।