Category: फिचर

  • आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

    आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

    दशरथचन्द (बैतडी), ८ जेठः बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् । “समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्”, विष्टले भने, “हामीले आलुसँगै अन्य सिजनअनुसारका तरकारीखेती पनि गर्दै आएका छौँ ।”

    बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका लागि पकेट क्षेत्र हुन् । विष्टजस्तै यहाँका अधिकांश किसान आलुखेतीसँगै अन्य मौसमअनुसारका तरकारीखेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् । बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिए ।


    आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीतभण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । यस क्षेत्रमा एउटा शीतभण्डार छैन, आलुको बीउ राख्नका लागि यहाँबाट डडेल्धुरा लैजानुपर्ने बाध्यता रहेको किसानहरूले बताउँदै आएका छन् ।
    शीतभण्डार सञ्चालनमा नआउँदा मर्कामा किसान

    प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौैँदेखि प्रयोगविहीन छन् । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको शीतभण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर विष्ट बताउँछन् । यस क्षेत्रमा बनेका शीतभण्डार पनि प्रयोगमा छैनन्, शीतभण्डार सञ्चालन गर्न सरोकरवाला निकायले चासो नदेखाएको उनको गुनासो छ ।

    पाटन नगरपालिका–८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीतभण्डार सञ्चालनमा आएको छैन । आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शीतभण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको रु १५ लाख अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् ।

    शीतभण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए । त्यसैगरी, खोडपे क्षेत्रमै बनेको अर्को शीतभण्डारको काम सम्पन्न हुनसकेको छैन । साविकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रूपैयाँ लागतमा बनेको शीतभण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन ।

    विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीतभण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए ।

  • कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

    कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

    कास्की, ८ जेठः कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए । अनुगमन समितिका संयोजकसमेत रहनुभएका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थपन मापदण्ड, २०७७ बमोजिम निर्णय गरिएको बताए ।

    “बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वय गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्क प्रचलित कानुनबमोजिममात्र गर्ने, अवैध उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरी प्रहरीबाट नियन्त्रणमा लिइने छ”, पौडेलले भने ।

    नदी खोला, वन क्षेत्र खेतीयोग्य जमिन विपद् जोखिम क्षेत्र बस्तीमा वातावरणीय विनास नहुने गरी मात्र उत्खनन व्यवस्थापन गर्ने, स्थानीय तहहरूले नदीजन्य वस्तुको उत्खनन समय बिहान ८ः०० देखि बेलुका ६ः०० बजेसम्म तोक्नेसमेत निर्णय बैठकले गरेको छ । समयको पालना नभएका क्षेत्रमा अनुगमन गरी रोक लगाउने, उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी हुने अवस्था सुनिश्चित गर्न कारोबार बिनाबिलबिजक जारी गर्न रोक लगाउने निर्णयसमेत गरिएको छ ।

    बैठकले पालिकाहरूले नदीजन्य खानीजन्य पदार्थको उत्खनन र सङ्कलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेरमात्र गर्न, तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र सङ्कलन हुन नदिन स्वीकृत दिइएको क्षेत्रमा सम्बन्धित गाउँनगरपालिकाले अनुगमन गर्ने र उत्खनन तथा सङ्कलनको अभिलेख राख्न आग्रह गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।


    उत्खनन सङ्कलन वा ढुवानीकर्ताले ढुवानी गरेको परिणामको दैनिक अभिलेख र दैनिक पटके बिक्री तथा ढुवानी अभिलेख राख्ने, फेवातालको जलाधार क्षेत्रबाट कानुनविपरीत ढुङ्गा, बालुवा र अन्य प्रकारको माटो खन्ने, झिक्ने वा ओसारपसार गर्ने कार्य रोक्न लगाउन र कोही कसैले उक्त कार्य गरेमा कानुनबमोजिम कारबाही गर्न लेखी आएकामा उल्लेखित कार्य पूर्ण रूपमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

    त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्याद समाप्त हुनुभन्दा अगावै उठाइसक्नुपर्ने र यदि म्यादभित्र नउठाएमा पालिकाले जफत गरी प्रचलित कानुनबमोजिम लिलाम बिक्री गरी स्थानीय सञ्चित कोषमा आम्दानी जनाउनुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्यादभित्रै उठाई अन्यत्र मौज्दात राखेकामा म्यादभित्रै पालिकाले मौज्दात प्रमाणित गरी प्रमाणित गरेको मौज्दात विवरण अनिवार्य रूपमा जिल्ला अनुगमन समितिमा पठाउन निर्देशन दिइएको समन्वय अधिकारी बरालले बताए ।

  • मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    झापा, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ सालयता दुईवटा अन्तरराष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

    फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरेका छन् ।


    खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताउनुभयो । “खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो”, नगरप्रमुख पोखरेलले भने, “यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।”

    पछिल्लो समय भद्रपुरमा अन्तरराष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युत्को मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ ।

    फ्लडलाइट प्रणाली जडानकार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

  • आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

    आजको मौसमः पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा

    काठमाडौँ, ८ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज केही जिल्लामा भारी वर्षा समेत भएको छ । आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानमा, मधेश प्रदेश लगायत कोसी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातोलहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

    यसैगरी, कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्म वर्षा\हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    नयाँदिल्ली, ७ जेठ (रासस–एपी) । उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ ।

    भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार अधिकतम तापक्रम करिब ४५ डिग्री सेल्सियस (११३ फरेनहाइट) पुग्ने पूर्वानुमान गरेको छ । अत्यधिक गर्मीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले नागरिकलाई राहत दिन विभिन्न स्थानमा अस्थायी ‘कुलिङ जोन’ स्थापना गरेका छन् । त्यस्ता ठाउँमा मानिसहरूले केही समय शीतल वातावरणमा बिताउन सक्ने व्यवस्था गरिएको छ ।

    मौसम विभागले आगामी दिनहरूमा उत्तरी क्षेत्रका धेरै स्थानमा तापक्रम मौसमी औसतभन्दा अझै माथि रहने चेतावनी दिएको छ । अधिकारीहरूले विशेषगरी दिउँसोको अत्यधिक गर्मीमा घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन र गर्मीजन्य स्वास्थ्य समस्या रोक्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा मैदानी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सियस (८६ फरेनहाइट) वा सोभन्दा बढी पुगेको अवस्थालाई गर्मीको लहर (हीटवेभ) घोषणा गरिन्छ ।

    भीषण गर्मीले विशेषगरी उत्तर प्रदेशसहित उत्तर भारतका धेरै राज्यहरूमा जनजीवन ठप्प जस्तै बनाएको छ । दिउँसोको समयमा सडक र बजारहरू बन्दजस्तै भएका छन् भने मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । दिउँसोको तापक्रम असहनीय बनेसँगै केही व्यापारीहरूले कामको समय बिहानतर्फ सार्न थालेका छन् भने किसानहरूले पनि खेतमा काम गर्ने समय राति सार्न थालेका छन् ।

    शिक्षा क्षेत्रमा पनि गर्मीको असर गहिरो देखिएको छ । विभिन्न स्थानका अधिकारीहरूले विद्यालयहरूमा गर्मी बिदा घोषणा गरेका छन् र कक्षाहरू स्थगित गरिएको छ । यसैबीच, मङ्गलबार बान्दा सहरमा अधिकतम तापक्रम ४८.२ डिग्री सेल्सियस (११८.८ फरेनहाइट) पुगेको थियो । यो यस वर्षको अत्यधिक उच्च रेकर्डमध्ये एक हो ।

    स्वास्थ्य अधिकारीहरूले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनीहरूले दिउँसोको अत्यधिक घाममा बाहिर ननिस्कन, पर्याप्त मात्रामा पानी पिउन र चक्कर लाग्ने, अत्यधिक थकान वा उच्च ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सा सहायता लिन सुझाव दिएका छन् । राजधानी नयाँदिल्लीमा समेत राहतका उपायस्वरूप विभिन्न स्थानमा शीतलन आश्रय (कुलिङ शेल्टर) स्थापना गरिएको छ । यी स्थानहरूमा एयर कुलर, पङ्खा, पिउने पानी र मौखिक पुनर्जलीकरण झोल (ओआरएस) उपलब्ध गराइएको छ, जसले नागरिक र पर्यटकलाई केही राहत दिएको छ । बुधबार एउटा शीतलन टेन्टभित्र मानिसहरू एयर कुलरको छेउमा बस्दै गर्मीबाट राहत लिइरहेका देखिएका थिए । त्यहाँ अधिकारीहरूले नुन मिसाइएको पानी वितरण गरिरहेका थिए ।

    त्यहाँ आएका २५ वर्षीय पर्यटक बशारत अहमद मल्लाले आफ्नो अनुभव सुनाउँदै अत्यधिक गर्मीका कारण बाहिर घुम्न गाह्रो भएको बताए । उनका अनुसार शीतलन केन्द्रले केही समयका लागि भए पनि सहजता प्रदान गरेको छ । जलवायु विज्ञहरूका अनुसार भारतमा देखिएको यो बढ्दो तापक्रम केवल मौसमी अवस्था मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । पछिल्ला वर्षहरूमा भारतले बारम्बार अत्यधिक गर्मीका लहरहरूको सामना गर्दै आएको छ र पछिल्लो दशक देशकै सबैभन्दा तातो दशकमध्ये एक रहेको तथ्याङ्कले देखाएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रतिवेदनसँग सम्बन्धित तथा पुणेस्थित फ्लेम विश्वविद्यालयका सार्वजनिक नीति प्राध्यापक अञ्जल प्रकाशका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण भारतको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ । उनका अनुसार उत्तरपश्चिम भारत अन्य क्षेत्रको तुलनामा अझ तीव्र रूपमा तातिरहेको छ ।

    उनले भारत गर्मीको मौसमसँग केही हदसम्म अभ्यस्त भए पनि जलवायु परिवर्तनले चरम र व्यापक स्तरका गर्मीका घटनाहरूलाई अझ तीव्र बनाइरहेको बताए । जनस्वास्थ्य क्षेत्रका अध्ययनहरूले सन् २००८ देखि २०१९ सम्म प्रत्येक वर्ष औसत एक हजार ११६ जनाको मृत्यु गर्मीका कारण भएको देखाएको छ । तर विज्ञहरूका अनुसार वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान छ । धेरै अवस्थामा मृत्यु प्रमाणपत्रमा गर्मीलाई प्रत्यक्ष कारणका रूपमा उल्लेख नगरेका कारण वास्तविक तथ्याङ्क आधिकारिक रूपमा कम देखिने गरेको छ ।

  • भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    काठमाडौँ, ७ जेठः आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् । भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो । भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ ।

    गतवर्ष गोआका मन्त्रीले पशुपतिनाथलाई ३५ किलो चन्दन अर्पण गरेका थिए । पशुपतिनाथका मूल अर्चकले बुझेको चन्दन आजै गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मालाई भण्डारणका लागि जिम्मा लगाएका छन् । नेपाल र भारतका जनता जनताबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धका कारण भारतमा हुने विशेष प्रकारको चन्दन प्रत्येक वर्ष आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई प्राप्त हुने गरेको छ ।

  • ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

    ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

    काठमाडौँ, ७ जेठ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडाँै महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

  • विपक्षीको विरोधका बीच सभामुखले पेलेरै चलाए संसद

    विपक्षीको विरोधका बीच सभामुखले पेलेरै चलाए संसद

    काठमाडौँ, ७ जेठः प्रतिनिधिसभाको आजको बैठकबाट तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रमुख प्रतिपक्षी दलको विरोधबीच ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

    प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटै प्रस्ताव प्रस्तुत गरेका थिए । तीनवटै प्रस्तावमा सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन नाम माग गरे पनि कसैको पनि नाम प्राप्त नभएको भन्दै स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै स्थानबाट उभिएर विरोध जनाएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले रोष्ट्रम अघि गएर नारा जुलुस गरेका थिए ।

  • महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

    महिला फुटबल टोलीको प्रगति प्रशंसनीयः मन्त्री पोखरेल

    काठमाडौँ, ७ जेठः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे । मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए ।


    उनले सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारकोतर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताए । कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झण्डा र जर्सी हस्तान्तरण गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले सरकारको नीतिअनुसार नेपाली फुटबलले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सांसदहरुको माग

    हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सांसदहरुको माग

    काठमाडौँ, ७ जेठः सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
    प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे । “हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ”, उनले भने, “दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ ।”

    सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुव्र्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले हिमाली गाउँपालिका साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरुले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयलाई प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुव्र्यवहार भएको बताए । उनले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको सरकारले उपचार गर्न माग गरे ।


    सांसद जनकराज गिरीले यही जेठ ४ गते हुम्ला र बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई साङ्घातिक आक्रमण गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । यस क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरे ।


    सांसद निस्कल राईले केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेको भए पनि सरकारले सदनको मर्यादा पालना नगरेको र परम्परा तोडने नाममा संसद्को मर्यादा पालना नगरेको आरोप लगाए । सांसद अशोक चौधरीले जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाका दमकल र एम्बुलेन्स क्षति भएको जनाउँदै तत्काल नयाँ दमकल र एम्बुलेन्स व्यवस्था गर्न माग गरे ।


    सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका वडा ७ मा २८ वर्षीय गणेश थापाको हिजो १२ः०० बजे गोठालो जाने क्रममा करेन्ट लागेर सिकिस्त घाइते भएको र नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित यस्ता समस्याहरु धेरै भएकोप्रति सदनमार्फत प्राधिकरण ध्यानाकर्षण गराइन् । सांसद शोभा खनालले गोरखामा कतिपय पालिकामा बत्तीको समस्या भएको स्थानीयवासीले दुःखेको गरेको हुनाले विद्युत् प्राधिकरण ध्यानाकर्षण गराइन् ।

  • सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

    सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

    काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरे । यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राईलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।

    उनले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए । सभामुख अर्यालले अध्यक्ष राईको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीका सांसदसँग आसन ग्रहण गर्न आग्रह गरेका थिए । सो दलका सदस्यहरूले सरकारको जवाफदेहिताको माग गर्दै सदनमा बुधबार ‘प्ले कार्ड’ समेत प्रदर्शन गरेको थियो ।

  • जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु

    मुस्ताङ, ७ जेठः कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो ।

    राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम–कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम–कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो । उक्त सडकको केही स्थानमा गतवर्षको साउन महिनामा सडक भाँसिएको, कतिपय स्थानमा सडक संरक्षणका लागि ड्रेन र सडक बाललगायत पूर्वाधार तयार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ ।

    कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम–कागबेनी सडक स्तरोन्नतिका लागि करिब रु सात करोड लागतमा ठेक्का भई सडक स्तरोन्नति सुरु भएको जानकारी दिए । कोरला जोड्ने सडकलाई दीर्घकालीन बनाउन जोमसोम–कागबेनी कालोपत्र सडकको संरक्षण तथा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढिसकेको उनले बताए । आयोजना प्रमुख शर्माका अनुसार जोमसोम–कागबेनी सडक स्तरोन्नतिका लागि कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ ।

    चालु आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता भएको जोमसोम(कागबेनी सडक स्तरोन्नति जेठको पहिलो हप्तादेखि सुरु गरिएको निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाले जानकारी दिए । चार महिनाको सम्झौता अवधि रहेको उक्त सडक स्तरोन्नति भदौ १५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने उनले उल्लेख गरे । कागबेनीबाटख सडक स्तरोन्नतिको काम सुरु गरिएको उनको भनाइ छ ।

    जोमसोम–कागबेनीअन्तर्गत नौ किलोमिटर दूरीमा एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट, ९०० घनमिटर आरसिसी ढलानलगायत कार्य गरिने आयोजना कार्यालयले जनाएको छ ।

    जोमसोमबाट माथि एक किलोमिटर दूरीमा वर्षाका कारण सडक भाँसिएर क्षति भएकाले उक्त स्थानमा सडक संरक्षणका लागि ग्याविन वाल लगाउने कार्य गरिने छ । जोमसोम-कागबेनी खण्डको पान्डाखोला पुलको उत्तरतर्फ पुलसँगै आरसिसी ढलान गरिने छ । साथै सडकको ड्रेन र प्रोट्रेक्सन वाल नभएका स्थानमा ड्रेन निर्माण र मेसिनरी वाल लगाइने स्थलगत इञ्चार्ज थापाले जानकारी दिए ।

  • छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    गण्डकी, ७ जेठः हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहण पछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । हर्जोजको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविरबाट गरेका थिए ।

    हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै हिमाल आरोहणको क्रम बढ्यो नै यसले अन्नपूर्ण क्षेत्र विश्वव्यापी चासो र चर्चाको विषय बन्यो । अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

    अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको पाइन्छ । हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै गण्डकी प्रदेशमा पर्यटकीय गतिविधि बढेको र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको विषयले यहाँको पर्यटनसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष रुपमा जोडिएको पर्यटनका जानकारहरू बताउँछन् ।

    अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्नकै लागि अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक २०७५ यता अन्नपूर्ण म्याराथन गर्दै आएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले बताए । “अन्नपूर्ण हिमालको महिमा र गरिमालाई विश्वमाझ पु¥याउनका लागि २०७४ सालमा हामीले तत्कालीन प्रतिनिधिसभाका विकास समिति सभापति रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा अन्नपूर्ण आधार शिविरमा पहिलोपटक अन्नपूर्ण महोत्सव गरेका थियौँ”, उनले भने, “त्यसयता २०७५ देखि अन्नपूर्ण म्याराथन गर्दै आइएकोमा यस वर्ष जेठ २० गते (जुन ३) का दिन छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन गर्न लागिएको छ ।”

    यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट दौडिएर धावकहरू ४२.१९५ किलोमिटर दूरीमा रहेको घान्द्रुकमा आउँछन् । समान्यतः पदयात्रीले तीन दिनको समय लगाउने यस पदमार्गमा पहिलो हुने धावकहरूले चार घण्टा बढीको समयमा यो दूरी पार गर्ने गरेका छन् । यसअघिका पाँचौ संस्करणसम्म प्रथम हुने धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको गुरुङले जानकारी दिए । “पदयात्राका क्रममा भने यो मार्ग पार गर्न तीन दिन लाग्छ”, उनले भने, “पदयात्राका क्रममा पहिलो दिन पदयात्रीहरू आधार शविरबाट बम्बो या दोभान, दोस्रो दिन छोम्रोङ र तेस्रो दिन घान्द्रुक आउँछन् ।”

    अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो म्याराथन माछापुच्छे« आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिए ।
    अन्नपूर्ण प्रथम हिमाल हिमाल आरोहणको ७६ वर्ष पुगेको जानकारी दिँदै उनले अघिल्लो पाँचौँ संस्करणको म्याराथनलाई हीरक उत्सवका रुपमा मनाइएको बताए । “यस संस्करणमा महिला तथा पुुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धाका लागि स्वदेशी एवं विदेशी धावकहरूले नाम दर्ता गराइरहनुभएको छ”, उनले भने, “हालसम्म १३ विदेशीसहित ४० जना धावकहरूले नाम दर्ता गराइसक्नुभएको छ ।”

    यस वर्ष अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटाले पनि म्यारथनमा भाग लिने निश्चित भएको उनले जानकारी दिए । म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो, दोस्रा र तेस्रो हुने धावकहरूले क्रमशः रु एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र पाउने प्रचारप्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिए । हिमाली भूगोल, साहसिक पदमार्गसँगै मनोरम प्राकृतिक सौन्दर्यका कारण यस म्याराथनप्रतिको आकर्षण बर्सेनि बढ्दै गएको उनको भनाइ छ । यस म्याराथनले अन्नपूर्ण प्रथमको मात्र नभएर समग्र गण्डकी प्रदेश र नेपालकै हिमाली पर्यटनमा विशिष्ट योगदान पु¥याउने उनले बताए ।


    आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथमसहित गण्डकी प्रदेशभित्र धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले अपेक्षित गति लिन नसकेको अवस्था यस किसिमका गतिविधिले विशेष महत्व राख्ने उनको भनाइ छ। गण्डकी प्रदेशमा अन्नपूर्ण, धौलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लम्जुङ आदि हिमाल रहेका छन् ।

  • कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

    कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

    काठमाडौँ, ७ जेठः कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन सार्वजनिक गरिएको छ । गत वैशाख २७ गते कानुन दिवसको अवसरमा घोषणा भएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकलाई प्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको बताइन् । उनले कानुनहरू नागरिककै लागि बन्ने भए पनि निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नभएको औँल्याउँदै यस पहलले कानुनी सचेतना विस्तार र नागरिक सहभागिता दुवै सुनिश्चित गर्ने जानकारी दिइन् ।

    कानुन मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानुनको दफामा संशोधन वा सुझाव दिन सकिने जनाइएको छ । त्यस्तै भाषागत कठिनाइ भए पनि मन्त्रालयले सुझावलाई कानुनी भाषामा रूपान्तरण गर्ने बताएको छ । तथापि सुझाव दिनुअघि सम्बन्धित कानुन अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सर्त राखिएको छ ।

  • बढघर हुनु त यस्तो पो….

    बढघर हुनु त यस्तो पो….

    रासस
    पकरियापुर (कैलाली), ७ जेठः मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा)को नेतृत्व गरिरहेका छन् । उनका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उजलाई सुन्न जान मन लागेनछ । किन जानुभएन ? उनले भने, “के पाउनु छ र ? भाषण सुन्न गएर । ताली बजाएर ? विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन् । आफँैले आफ्नाका सुरक्षा गर्नुपर्दछ ।”

    उनी सोही समयमा नेपाल रेडक्रस सोसाइटी र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह ‘प्याकेज’को परीक्षण र कार्यन्वयन तयारीको लागि सञ्चालन भइरहेको कृत्रिम घटना अभ्यासमा जुटिरहेका थिए । विपद्का अवस्थामा तत्काल अस्थायी आवास (सेल्टर) कसरी निर्माण गर्ने र समुदाय सहित नसर्ने रोग लागेका व्यक्तिहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर पूर्वाभ्यास गरिहेका थिए ।

    बाँसका टेका लगाएर नेपाल रेडक्रस चिह्न अङ्कित तारपोलियन मिलाउँदै उनले भने, “बाढी र डुबान नआउने समयमा यस्ता अभ्यास गर्दा भोलिका दिनमा सजिलो हुने रहेछ ।” उनका अनुसार मुख्य गरेर यहाँका कन्द्रा, मोहना, काँढा, पथरैयासहित कर्णालीले डुबान र कटानको कहर नल्याएको वर्ष हुँदैन ।

    बडघरका मानबहादुरकी श्रीमती ब्रेफानी चौधरी पनि समुदायमा विपद्को पूर्वसूचना ‘माइकिङ’ गर्न व्यस्त हुँदा भेटिएकी थिइन । ‘विपद्का सूचना र जानकारी कसरी समुदायमा पु¥याउने’ भनेर उनलाई भ्याइ नभ्याइ थियो । सूचना सम्प्रेषणका विधि र तरिका बारेमा उनले नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गरेको तालिममा सिकेकी थिइन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान सूचना बढघरसम्म आइपुग्नासाथ उन्ी ‘माइक’ बाकेर घरबाट निस्किएकी थिइन् ।


    उनले अफ्नो मातृभाषामा स्थानीयवासीलाई नदीमा पानीको उच्च बहाव बढ्दैछ, डुबान हुने सम्भावना छ सबै जना उच्च सतर्क रहनुहोला र अति सङ्कटासन्न व्यक्तिहरुले विशेष सतर्कता अप्नाउनु होला भन्दै सूचना प्रसार गराइन् । उनको पूर्वसूचना सन्देशमा नयाँ जानकारी थपिएको थियो । ब्रेफानीले दोहो¥याएर सम्प्रेषण गर्दै थिइन्, “बाढीका समयमा नसर्ने रोग लागेका व्यक्ति तथा हेरचाह गर्ने व्यक्तिहरुले ध्यान दिनुहोला । यस्ता विरामीले नियमित सेवन गर्ने औषधिको सुनिश्चितता गर्नुहोला । जोहो गर्नुहोला ।” ‘माइकिङ’ गरेर नसुन्ने स्थानमा नगरपालिकाले बहुउपयोगी ‘साइरन’मार्फत समेत सूचना सम्प्रेषण गर्ने गरेको छ ।

    ‘माइकिङ’ सुनेर महिला स्वयंसेविका किरणा जैसी झटपट झोला बोकेर घरबाट निस्केकी थिइन । झोलामा नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास)सहित झाडापखाला, ज्वरोका औषधिसहित केही प्राथमिक उपचार सामग्री पनि रहेका थिए । उनले भने, “विपदका अवस्थामा नसर्ने रोगको व्यक्तिको सेवा निरन्तरताका लागि चुनौती छ र यो कृत्रिम घटना अभ्यासले समुदाय तथा नसर्ने रोग लागेका व्यक्तिहरुको विपद् पूर्वतयारी तथा विपद्को पूर्वानुमानपश्चात् गरिने पूर्वकार्यको ज्ञान तथा सीपसमेत वृद्धि गर्नेछ । यसमा समुदायलाई अभ्यस्त बनाउन जरुरी छ ।”

    यहाँ बडघरले समुदायलाई एकताबद्ध, सङ्गठित, अनुशासित र विकासका काममा परिचालन गर्ने काम गरिरहेको छ । बडघर थारू समुदायको मौलिक प्रथा पनि हो । बडघरले थारूको मौलिक सञ्चार प्रणालीअनुसार सूचना प्रवाह गर्ने गर्छन् । बडघरको जिम्मेवारीमा रहेका व्यक्तिले स्वयं प्रत्येक गाउँको घरधुरीमा पुगेर सूचना दिने काम गर्ने परम्परा रही आएको छ । सूचना प्रवाह गर्दा गाउँका सबै घरमा पुगेर लिखित वा मौखिक सूचना दिने काम गर्ने गर्छन् । बडघर मानबहादुरले भने, “बडघर आफैँ खट्नु बढी विश्वसनीय हुने भएकाले समय भएसम्म म आफैँ खट्ने गर्दछु । ”

    बाढी र डुबानसहित नसर्ने रोगको उच्च जोखिम

    भजनी नगरपालिकाका प्रमुख केबल चौधरीका अनुसार नगरपालिकाका नौवटै वडा बाढी र डुबानका उच्च जोखिममा पर्दछ । विगत तीन वर्षदेखि यहाँ बाढी र डुबानका कारण मानवीय क्षति नभए पनि डुबान, कटान सहित कृषिबाली क्षति हुनेक्रम रोकिएको छैन । उनले भने, “पछिल्ला वर्ष नसर्ने रोगको वृद्धिले नगरवासीहरु बाढीको समयमा अझ प्रभावित बन्न थालेका छन् । यहाँको नसर्ने रोग को ‘ग्राफ’ निरन्तर उकालोमा छ ।” उनका अनुसार पालिकाभित्र बाढी र डुबानको उच्च जोखिमबाट समुदायलाई जोगाउन एकसयभन्दा बढी उच्च घर बनाउन सहयोग तथा विस्थापित राख्न १८ उच्च घर बनाइएका छन् ।

    गत माघ र फागुनमा नगरपालिकाले नगर क्षेत्रमा नसर्ने रोगसम्बन्धीे ‘स्क्रिनिङ’ अभियान नै सञ्चालन गरेको थियो । नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारुका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भजनी, आधारभूत स्वास्थ्य केन्द्र पल्तुपुर, मन्त्रिफाँटा, धरौना, गोडचौरासहित लालाबोझी स्वास्थ्यचौकी, थापापुर स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र चर्रा र खैलाड स्वास्थ्यचौकीमा ३० वर्षमाथिका एकहजार एकसय ८० को परीक्षण गर्दा रक्तचाप २५५, मधुमेह ९५, मिर्गौला १६, मोटोपना २४४ जना भेटिएको थियो । उनले भने, “समुदायमा नसर्ने रोगको व्यक्तिको खोजपड्ताल गर्नेक्रम जारी छ । पहिचानका लागि यस्ता व्यक्तिलाई ‘कार्ड’ वितरण भइराखेको छ । यसबाट विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि सहयोग पुग्ने छ । ”

    भजनी नगरपालिकामा नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजना अप्रिल २०२४ देखि मे २०२६ सम्म सञ्चालनमा रहेको छ । सोही परियोजनाले भजनीमा विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डि प्याकेज’ मार्फत निरन्तर पैरवी, सहजीकरणका गतिविधिमा सहयोग गरिराखेको नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा विभागका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनले जानकारी दिए ।
    ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजनाका संयोजक प्रमोद अधिकारीले भने, “विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरतालाई सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्र र विपद् जोखिम व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य उद्देश्य रहेको छ । विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्युको जोखिम कम हुन्छ साथै बिरामीको मानसिक तनावसमेत कम हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोगबाट गम्भीर अवस्था सिर्जना हुनबाट रोकेर मानिसलाई बचाउन सकिन्छ । पेन–डी प्याकेजलाई समावेश गरी नीतिगत रूपमा काम गरेमा विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरुले थप जटिलता भोग्नु पर्ने थिएन ।”

    भजनी विपद् र नसर्ने रोगको दोहोरो मारमा रहेको छ । नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त सहकार्यमा निर्माण भएको विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डी प्याकेज’ को अन्तिम मस्यौदा तयार भइसकेको र भजनी नगरपालिका आगामी वर्षदेखि उक्त प्याकेजलाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर कार्यन्वयन गर्ने तयारीमा रहेको छ । नगरपालिकाका प्रमुख चौधरीले भने, “ विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि यो प्याकेजले सहजीकरण गर्ने भएकाले भविष्यमा भजनी नगरपालिकामा नसर्ने रोगबाट प्रभावित रहेका व्यक्तिहरु विपद्का समयमा उपचारबाट वञ्चित हुनु पर्दैन ।”

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा सविन पराजुली विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि ‘पेन डी प्याकेज’ सहयोग पु¥याउने जानकारी दिँदै भजनी र लालझाडीको सिकाई अन्य पालिकामा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

  • मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ

    मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघ, ७ जेठ (रासस–सिन्ह्वा) । मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबाबमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना २०२६ मध्य–वर्षीय अद्यावधिकु प्रतिवेदनअनुसार सन् २०२६ मा विश्व कुल गार्हस्थ उत्पादन वृद्धि दर २.५ प्रतिशत रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले कम हो। सन् २०२७ मा भने २.८ प्रतिशतको सामान्य सुधार हुने अपेक्षा गरिएको छ।

    प्रतिवेदनमा उल्लेख भएअनुसार मध्यपूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ। आपूर्ति अवरोध, तेल तथा ग्यासको मूल्यवृद्धि, ढुवानी र बीमा खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको छ। ऊर्जा कम्पनीहरूले भने यसबाट ठूलो लाभ उठाएका छन्, तर घरपरिवार र व्यवसायहरूमा लागतको चाप बढेको छ। खाद्य मूल्यवृद्धि पनि गम्भीर चिन्ताको विषय बनेको छ। मलको आपूर्तिमा अवरोध आउँदा कृषि उत्पादन घट्न सक्ने र त्यसले खाद्यान्न मूल्य अझ बढाउने चेतावनी प्रतिवेदनले दिएको छ।

    सन् २०२३ देखि घट्दो क्रममा रहेको विश्व मुद्रास्फीति अहिले पुनः बढ्ने संकेत देखिएको छ। विकसित देशहरूमा मुद्रास्फीति २०२५ को २.६ प्रतिशतबाट २०२६ मा २.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने विकासशील देशहरूमा यो ४.२ प्रतिशतबाट ५.२ प्रतिशत पुग्न सक्ने उल्लेख छ। मजबुत श्रम बजार, उपभोक्ता माग तथा कृत्रिम बौद्धिकताबाट प्रेरित व्यापार र लगानीले केही राहत दिए पनि विश्व अर्थतन्त्रमा देखिएका चुनौती पूर्ण रूपमा समाधान गर्न पर्याप्त नहुने प्रतिवेदनले जनाएको छ। विशेषगरी इन्धन र खाद्यान्न आयातमा निर्भर विकासशील देशहरू बढी प्रभावित हुनेछन्।

    पश्चिम एशियामा सबैभन्दा गम्भीर असर देखिएको छ। त्यहाँको आर्थिक वृद्धि २०२५ को ३.६ प्रतिशतबाट घटेर २०२६ मा १.४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। यसको कारण ऊर्जा आपूर्ति संकट मात्र नभई पूर्वाधार क्षति, तेल उत्पादनमा अवरोध, व्यापार र पर्यटनमा आएको गिरावट पनि हुन्। संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिला विभागका प्रमुख तथा उपमहासचिव ली जुनह्वाले भने, “मध्यपूर्व संकटले विकासशील देशहरूमा थप आर्थिक दबाब सिर्जना गरेको छ। बढ्दो ऋण लागत र पूँजी बाहिरिने जोखिमले दिगो विकासका लागि आवश्यक स्रोत सीमित बनाउन सक्छ।”

  • द्वन्द्वको असर गाजाको स्वास्थ्य सेवामा, ७६ प्रतिशत उपकरण निष्क्रिय

    द्वन्द्वको असर गाजाको स्वास्थ्य सेवामा, ७६ प्रतिशत उपकरण निष्क्रिय

    गाजा, ७ जेठ (रासस–सिन्ह्वा) । गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण अस्पतालहरूमा प्रयोग हुने करिब ७६ प्रतिशत चिकित्सकीय स्क्यान उपकरण हाल सञ्चालनबाहिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले अत्यन्त सम्मानपूर्वक जानकारी गराएका छन्, जसले बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती उत्पन्न गरेको छ। गाजास्थित स्वास्थ्य निकायअन्तर्गत चिकित्सकीय स्क्यान विभागका निर्देशक इब्राहिम अब्बासका अनुसार, हाल सञ्चालनमा रहेका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच सेवा निरन्तरता दिने प्रयास गरिरहेका छन्।

    उनले अधिकांश उपकरण पुराना तथा जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै आवश्यक जगेडा पुर्जाको अभाव तथा मर्मतसम्भारमा आएको अवरोधका कारण नियमित सेवा प्रवाहमा थप कठिनाइ भइरहेको बताएका छन् । उनका अनुसार जारी द्वन्द्वका क्रममा गाजामा रहेका सबै चुम्बकीय अनुनाद स्क्यान उपकरण नष्ट भएपछि उक्त सेवा पूर्ण रूपमा बन्द भएको छ।

    साथै, गणनात्मक स्क्यान, विकिरण स्क्यान तथा जटिल शल्यक्रियामा प्रयोग हुने अन्य महत्वपूर्ण उपकरणहरूको ठूलो हिस्सा पनि सञ्चालनबाहिर रहेको जनाइएको छ। उपलब्ध विवरणअनुसार द्वन्द्वअघि रहेका उपकरणमध्ये ठूलो भाग क्षतिग्रस्त वा निष्क्रिय अवस्थामा पुगेको छ, जसका कारण आपत्कालीन अवस्था, गम्भीर घाइते तथा जटिल रोगका बिरामीहरूको समयमै परीक्षण तथा उपचारमा उल्लेखनीय कठिनाइ भएको छ।

    यस अवस्थाले अस्पतालहरूको दैनिक कार्यप्रणाली, विशेषगरी आकस्मिक उपचार र शल्यक्रियाका निर्णय प्रक्रियामा प्रत्यक्ष असर पारेको उनले उल्लेख गरेका छन् । साथै, स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आवश्यक मानवीय सहायता, प्राविधिक सहयोग तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग विनम्रतापूर्वक आग्रह गरिएको छ।

  • दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    म्याग्दी, ७ जेठः सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२–८३ मा करिब रु १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन् । पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ मा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ ।

    विसं २०८२ माघ, फागुन र चैत महिनामा ठेक्का सम्झौता भएका १७ वटै योजना चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएका आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले जानकारी दिए । “ठेक्का सम्झौता गरेका सबै योजनाका निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालित भएका छन्”, उनले भने, “आगामी असार १९ गतेसम्म ठेक्काको म्याद भएका सबै योजना निर्माण कार्य धमाधम भइरहेको छ ।”

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको पहिरो नियन्त्रण योजनाका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा र बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ती संरक्षण योजनाका लागि रु ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोला संरक्षण योजनाको रु ८७ लाख ४४ हजार ९८२ र अन्नपूर्ण–४ घराप बस्ती संरक्षण योजनाको रु एक करोड नौ लाख १६ हजार ७६० मा ठेक्का सम्झौता भएको छ ।

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीको बस्ती संरक्षण योजनाको रु एक करोड ९१ लख ४३ हजार ६९९, थासाङ गाउँपालिका–२ लार्जुङखोला संरक्षणका लागि रु ७८ लाख ४४ हजार ९८२, लुप्रा गाउँ संरक्षण योजनाको रु २६ लाख ८२ हजार ४५ र तिरिगाउँ स्याउ बगैँचा संरक्षण योजनाको रु २५ लाख ९७ हजार १०३ मा ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । कार्यालयमार्फत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा, वारागुङ मुक्तिक्षेत्रको फल्याक, झोङ, ढाकारजुङ, झोङ–फल्याक, छुसाङ र झारकोट सिँचाइ योजना कार्यान्वयन भएका छन् ।

    पर्वतको फलेवास नगरपालिका–३ लमायखोलामा बहुउद्देश्यीय तलाउन निर्माण गर्न रु ३२ लाख ३५ हजार ९३९, कुश्मा नगरपालिका–१० को उपल्लो बिर्ता माझीको खोला सिँचाइ योजना रु १५ लाख ५२ हजार ५७५ र जलजला गाउँपालिका–७ मिलनचोकमा लुङ्दीखोला संरक्षण योजनाको रु ९१ लाख ७८ हजार ९२० मा ठेक्का सम्झौता भएको छ ।

  • कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

    कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

    टोकियो,७ जेठ (रासस–एएफपी) । जापानको आधिकारिक तथ्याङ्कअनुसार, मार्चमा रेकर्ड स्तरमा पुगेपछि अप्रिल महिनामा विदेशी पर्यटकहरूको संख्या घटेको छ। जापान नेशनल टुरिज्म अर्गनाइजेसनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, अप्रिलमा जापान आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घटेर ३६ लाख ९० हजारमा झरेको छ। यस गिरावटको मुख्य कारणमध्ये चिनियाँ पर्यटकहरूको ठूलो कमी हो। चीनबाट आउने पर्यटकहरूको संख्या ५६.८ प्रतिशतले घटेर ३ लाख ३० हजार ७ सयमा सीमित भएको छ। अधिकारीहरूका अनुसार, यस गिरावटको कारण चीन सरकारको यात्रा सम्बन्धी चेतावनी पनि हो।


    मध्यपूर्वबाट आउने पर्यटकहरूको संख्या पनि २१.४ प्रतिशतले घटेको बताइएको छ। केही क्षेत्रहरूमा जारी तनाव र युद्धका कारण यात्रा रद्द हुने घटनाहरू बढेको जनाइएको छ। जापान र चीनबीचको सम्बन्ध पछिल्ला समयमा थप तनावपूर्ण बनेको बताइन्छ। नोभेम्बरमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवान सम्बन्धी सम्भावित सैन्य संलग्नताको संकेत गरेपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर पनि नियन्त्रणमा लिन सकिने धारणा राख्दै आएको छ।

  • मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

    मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

    काठमाडौँ, ७ जेठ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ ।

    सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन हुन सक्नेगरी जिल्लास्थित गण तथा गुल्ममा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । प्रदेशस्थित सबै पृतनामा आवश्यक उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ । यसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको छ ।

    विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको जनाइएको छ । काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक÷एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मनसुनको सुरुआतसँगै सातै प्रदेशमा परिचालन हुन सक्नेगरी अन्य हवाई साधनहरू काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ । मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त स्थानमा पूर्वतैनाथ गर्ने योजना रहेको सेनाले जनाएको छ । बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा ‘बेलिब्रिज’ तयारी अवस्थामा राखिएको छ । धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक÷एक सेट बेलिब्रिज राखिएको सेनाले जनाएको छ ।

    साथै गाडीमार्फत सजिलै आवश्यकता भएको स्थानमा पु¥याएर तुरुन्त सञ्चालन गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुलहरू गौचरस्थित ब्यारेकमा राखिएका छन् । विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई गौचर ब्यारेक, काठमाडौँमा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको निर्देशनालयले जनाएको छ । उक्त टोलीलाई हवाई साधनमार्फत तुरुन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिनेछ ।

    मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको छ । यसका साथै प्रत्येक पृतनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्री व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

    आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट ‘हेभी इक्विप्मेन्ट’ तथा ‘अपरेटर’सहितका सवारीसाधन तुरुन्त परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । यसले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतजस्ता कार्यमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

    विपद् व्यवस्थापन केवल एउटा निकायको प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय समुदाय र सबै सरोकार भएका निकायबीच समन्वयात्मक तथा योजनाबद्ध प्रतिकार्य आवश्यक रहेको नेपाली सेनाले जनाएको छ । विगतका मनसुनजन्य विपद्बाट सिकेका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई अझ प्रभावकारी बनाइएको छ ।

    यसै क्रममा सेनाको नेतृत्व तथा पहलमा नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा केन्द्रीय तहको एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’ सञ्चालन गरिएको थियो । उक्त अभ्यासमार्फत विपद्सम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको थियो । यसखालका अभ्यास क्रमशः प्रदेश तथा जिल्ला तहसम्म सञ्चालन गरिने जनाइएको छ ।

    यसैगरी, स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको छ । यस्ता अभ्यास र तालिमले विपद्को समयमा नागरिक र सुरक्षा निकायबीच समन्वयलाई अझ बलियो बनाउने विश्वास गरिएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार प्रत्येक वर्ष दोहोरिने मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि पूर्वतयारी योजनाअनुसार संयुक्त अभ्यास सञ्चालन गर्दै आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी योजनाको सफल कार्यान्वयनमार्फत जनधनको क्षति न्यूनीकरण गर्न नेपाली सेना कटिबद्ध रहेको छ ।

    मनसुनजन्य विपद्को चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा सेनाले गरेको यो व्यापक पूर्वतयारीले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउनाका साथै नागरिकमा सुरक्षा र भरोसाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

  • हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन

    हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन

    लन्डन, ७ जेठ (रासस–सिन्ह्वा) । ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलसन्धिबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजहरूले हर्मुज जलसन्धि पार गरेका छन् । यो संख्या अघिल्लो हप्ताको २५ जहाजको तुलनामा झन्डै दोब्बरभन्दा बढी हो, जसले समुद्री व्यापारमा तीव्र गतिशीलता देखाएको छ ।

    यो वृद्धि मुख्यतः इरानसँग जोडिएका व्यापारिक गतिविधिहरूमा आएको उछालका कारण भएको बताइएको छ। विशेषगरी तेल, ग्यास तथा अन्य मालसामान ढुवानीसँग सम्बन्धित गतिविधिहरू बढेको उल्लेख छ । प्रतिवेदनमा थप उल्लेख गरिएअनुसार अबु धाबी नेसनल आयल कम्पनीको स्वामित्वमा रहेको तरल प्राकृतिक ग्यास बोक्ने एउटा ठूलो जहाजले आफ्नो स्वचालित पहिचान प्रणाली बन्द गरेर खाडी क्षेत्रभित्र प्रवेश गरेको पाइएको छ । यस्तो प्रणाली सामान्यतः जहाजको स्थान र गतिविधि ट्र्याक गर्न प्रयोग गरिन्छ, र यसलाई बन्द गर्नु सुरक्षा तथा निगरानीका दृष्टिले संवेदनशील मानिन्छ ।

    लन्डनमा आधारित समुद्री विश्लेषण कम्पनी विन्डवार्ड का तथ्यांक अनुसार सोमबार मात्र १९ वटा जहाजहरूले उक्त जलसन्धि पार गरेका थिए । तीमध्ये ९ वटा जहाज भित्रिँदै गरेका र १० वटा बाहिरिँदै गरेका थिए । भित्रिने जहाजहरू मुख्यतः भारत र श्रीलङ्कालगायत देशका झण्डा बोकेका कार्गो जहाजहरू थिए । बाहिरिने जहाजहरूमा एक तेल ट्यांकर र नौ वटा कार्गो जहाजहरू समावेश थिए, जसमा पाँच वटा जहाज इरानको झण्डा बोकेका थिए । विश्लेषकहरूका अनुसार हर्मुज जलसन्धिमा हुने यस्तो उतारचढावले मध्यपूर्वको ऊर्जा व्यापार, विशेषगरी तेल तथा ग्यास आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ, किनकि विश्वको ठूलो हिस्सा यही समुद्री मार्ग हुँदै ओसारपसार हुन्छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    ७ जेठ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो ।

    आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।


    महाशाखाका अनुसार कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एकदुई स्थानहरूमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने मधेसलगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा\हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • गोसाइँकुण्डमा गङ्गादशहरा मेला : पाँच हजारले दर्शन गर्ने अनुमान

    गोसाइँकुण्डमा गङ्गादशहरा मेला : पाँच हजारले दर्शन गर्ने अनुमान

    रसुवा, ७ जेठः हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् । यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।

    शिव तपोभूमिः शास्त्रमा वर्णित गोसाइँकुण्ड

    पुराणहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको घातक कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुने अवस्था सिर्जना भएको थियो । सृष्टिको रक्षा गर्न भगवान् शिवले उक्त विष कण्ठमा धारण गरे । जसकारण उनी नीलकण्ठ नामले प्रसिद्ध भए । विषको ताप सहन नसकेपछि भगवान् शिव शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आएका धार्मिक विश्वास छ । त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट बनेको दिव्य कुण्ड नै गोसाइँकुण्ड भएको जनविश्वास रहिआएको छ । यही कारणले यस कुण्डको जललाई पाप नाश गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जल मान्नेहरू पनि छन् ।

    धार्मिक मान्यताअनुसार गङ्गादशहरामा स्नान गर्दा दश प्रकारका पाप नाश हुन्छन् । जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने विश्वास छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने मान्यता रहिआएको छ । कठिन यात्रा, दिव्य अनुभूति, समुन्द्र सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा अवस्थित यो तीर्थ पुग्न श्रद्धा, धैर्य र साहस आवश्यक पर्छ ।

    काठमाडौँबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुञ्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः पवित्र गोसाइँकुण्ड दर्शन हुन्छ । यात्रुहरूको अनुभवअनुसार उकालो चढ्दा सास फेर्न गाह्रो भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमङ्ग प्राप्त हुने अनुभूति मिल्छ ।

    धार्मिक सेवा र यात्रु व्यवस्थापन

    बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेका र खान–बस्नको उचित व्यवस्थापन गरिएको होटल व्यवसायी लामाले बताए । यही जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए ।

    स्वास्थ्य र सुरक्षित यात्रा सुझाव

    लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले निम्न सावधानी अपनाउन आग्रह गरेका छन् । धुञ्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग मिलाएर जान उपयुक्त हुने स्थानीयले बताएका छन् । अदुवा, कागती, लसुन, बिरेनुन साथमा लैजाने, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने, हतार नगरी बिस्तारै उकालो चढ्ने, पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा पनि उपलब्ध रहेको जनाइएको छ ।

    प्रकृति संरक्षण पनि धर्मकै अङ्ग

    यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न सबै यात्रुमा अनुरोध गरिएको छ । हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको धार्मिक तथा वातावरणीय सन्देश रहेकाले सोहीअनुसार आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताए ।
    आस्था, प्रकृति र अध्यात्मको सङ्गम

    धार्मिक विद्वानहरूका अनुसार भगवान् शिवले सम्पूर्ण प्राणीजगत्को रक्षा गर्न विषपान गर्नुभएको स्मरणस्वरूप भक्तजनले जीवनमा कम्तीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । कठिन हिमाली यात्रा, शुद्ध हिमजल, मन्त्र उच्चारणको गुञ्जन र गहिरो श्रद्धाले भरिएको वातावरणले गोसाइँकुण्डलाई केवल ताल मात्र नभई आत्मशुद्धि, आस्था र अध्यात्मिक जागरणको तीर्थ बनाएको छ । गङ्गादशहराको पावन अवसरसँगै गोसाइँकुण्ड हाल भक्तिभाव, विश्वास र धार्मिक उत्साहले भरिएको पुरोहित उपेन्द्र मिश्रले बताए ।

  • चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    झापा, ७ जेठ । झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् ।

    केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो चार वर्षमा नेपाली सेनाको अरिदमन गणस्थित यस केन्द्रमा तीन हजार ८०० जनाले उपचार गराएका छन् । गत वैशाखमा मात्रै यहाँ सर्पले डसेका ४७ जना बिरामीको उपचार गरिएको छ । २१ शय्या क्षमताको यस केन्द्रमा चार जना प्राविधिक कार्यरत छन् । यहाँ उपचार गराइरहेका बिरामीलाई थप जटिलता आएमा भद्रपुरस्थित प्रादेशिक अस्पतालले आवश्यकताअनुसार निःशुल्क सघन उपचार कक्ष (आइसियू) सेवा उपलब्ध गराउँदै आएको छ ।

    केही वर्षयता तराईमा मात्र नभई इलाम, पाँचथरलगायत पहाडी जिल्लामा समेत सर्पदंशका घटना बढ्दै गएका छन् । नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु छन्, जसमा सबैभन्दा बढी विषालु गोमनका तीन प्रजाति पर्दछन् । पहिले तराईमा मात्रै सीमित गोमन सर्प अचेल पहाडी भूभागमा समेत देखिन थालेको छ । खानेपानीको पाइप, काठ तथा अन्य सामग्रीमा बेरिएर बसेका तराईका सर्पहरू मालवाहक ट्रक तथा अन्य सवारीसाधनमार्फत पहाड पुग्ने गरेको केन्द्रका अध्यक्ष भट्टराईले बताए । पहाडी क्षेत्रमा भने विशेष गरी ‘गुर्बे’ नामक सर्पको बिगबिगी छ ।

    उनका अनुसार गोमनले डस्दा मानव शरीरमा २०० मिलिग्रामसम्म विष फैलाउन सक्ने क्षमता हुन्छ । करेतले १२ मिलिग्रामसम्म विष फाल्न सक्छ । गोमन वा करेतको १२ मिलिग्राम विष मात्रै शरीरमा प्रवेश गरे पनि मानिस बेहोस हुने हुन्छ । गुर्बे र हरेउले १५० मिलिग्रामसम्म विष फाल्न सक्छन् । तराईमा गोमन, करेत र भाइपरको टोकाइ ज्यानमारा हुने गर्दछ भने पहाडको गुर्बेले मानिसलाई गम्भीर बिरामी तुल्याउँछ ।

    प्राविधिकहरूका अनुसार गोमन र करेत जस्ता विषालु सर्प घर वरपरको घाँस, पतकर, दुलो, ओछ्यान, बाकस र झोलाहरूमा लुकेर बस्ने गर्छन् । असावधानीवश छुँदा वा टेक्दा सर्पले डस्ने गरेका छन् । यस्तै, पहाडमा पाइने गुर्बे सर्प भने घाँसमा बेरिएर बस्ने भएकाले घाँस दाउरा गर्न जाने स्थानीय बढी निशानामा पर्ने गरेका छन् । अध्यक्ष भट्टराईले सर्पले डसेका बिरामीलाई धामीझाँक्री वा झारफुकको भ्रममा पारेर समय बर्बाद नगर्न आग्रह गरेका छन् । सर्पदंश भएका व्यक्तिलाई जतिसक्दो चाँडो चारआली सर्पदंश उपचार केन्द्र वा नजिकैको अस्पताल पुर्याउन सके अकाल मृत्युबाट जोगाउन सकिने उनको भनाइ छ ।

  • जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

    जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

    रासस
    सिरहा, ७ जेठः सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ ।

    भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरे । जिल्लाको उत्तर–पश्चिमी सीमान्त गाउँमा कुल रु दुई करोड ८४ लाख ३२ हजार ३०१ लागतमा निर्माण सम्पन्न भएको उक्त १२ कोठे भवनका लागि भारत सरकारले रु दुई करोड २७ लाख ४५ हजार ८४१ अनुदान सहयोग उपलब्ध गराएको छ भने बाँकी रु ५६ लाख ८६ हजार ४६० सुरुङ्गा नगरपालिकाले व्यहोरेको हो ।

    उद्घाटन समारोहमा महावाणिज्यदूत मीनाले भवन निर्माण र हाल कार्यान्वयनमा रहेको परियोजना भारत–नेपालबीचको सुदृढ र जीवन्त विकास साझेदारीको उदाहरण भएको बताइन् । उनले मधेस प्रदेशमा भारत सरकारको सहयोगमा शिक्षा, स्वास्थ्य, सडक, पुल, सिँचाइ तथा विद्युतीकरणलगायत क्षेत्रमा भइरहेका विकास निर्माणबारे जानकारी गराइन् । महावाणिज्यदूत मीनाले भनिन्, “भारत सरकारले हालसम्म मधेस प्रदेशमा मात्रै ८७ वटा परियोजना स्वीकृत गरेको छ, जसमध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने २५ वटा निर्माणाधीन छन् । यी ८७ परियोजनामध्ये ५४ वटा शिक्षा क्षेत्रसँग मात्र सम्बन्धित छन्, जसले शिक्षाप्रतिको हाम्रो प्रतिबद्धता देखाउँछ ।”

    सप्तरी जिल्लामा मात्रै नौ वटा परियोजना सञ्चालनमा रहेका र सात वटा सम्पन्न भइसकेका उनले जानकारी दिइन् । यस्तै, भारत सरकारले मधेस प्रदेशमा २३२ वटा एम्बुलेन्स तथा ४० वटा विद्यालय बस उपलब्ध गराएको उल्लेख गर्दै सप्तरी जिल्लामा मात्रै २६ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस प्रदान गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

    महावाणिज्यदूत मीनाले ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा नगरप्रमुख चौधरीले विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरिन् । उनले नगरभित्रको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका निरन्तर सक्रिय रहेको बताउँदै विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशालाका लागि थप सहयोग आवश्यक रहेको धारणा राखिन् ।


    विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा नगरपालिका—१ का वडाध्यक्ष छत्रबहादुर राउतले सबै पक्षको सकारात्मक सहकार्य, समन्वय र सक्रियताका कारण विद्यालय भवन निर्माण सम्भव भएको बताए । उनले भवन निर्माण निर्धारित समयभन्दा छ महिना अगावै सम्पन्न भएको जानकारी दिए । विद्यालयका प्रधानाध्यापक दिनेशकुमार यादवका अनुसार हाल विद्यालयमा १२ कक्षासम्म हाल ६२७ जना विद्यार्थी अध्ययनरत छन् । उनले यस वर्षको एसइई परीक्षामा विद्यालयले सुरुङ्गा नगरभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिए ।


    यस विद्यालयमा सप्तरी, सिरहा र उदयपुर गरी तीनवटै जिल्लाका ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । नयाँ र सुरक्षित भवन निर्माणसँगै विद्यार्थीहरूका लागि अझ व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण तयार हुने विश्वास गरिएको छ । सोही विद्यालयको परिसरमा विद्यालयकै जग्गामा विगत एक दशकदेखि शिशुवारी क्याम्पससमेत सञ्चालनमा रहेको छ । ग्रामीण भेगका विपन्न तथा जेहेन्दार विद्यार्थी, खासगरी छोरी–बुहारीहरूका लागि यो क्याम्पस उच्च शिक्षा अध्ययन गर्ने भरपर्दो गन्तव्य बन्दै आएको क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाले बताए ।

  • बालबालिकामा कुपोषण बढ्यो

    बालबालिकामा कुपोषण बढ्यो

    काठमाडौँ, ७ जेठः सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषणको भएका बालबालिकाको सङ्ख्या बढेको बताए । उनका अनुसार कडा शीघ्र कुपोषण चार प्रतिशत बालबालिकालाई देखिएको छ । यसअघि उक्त सङ्ख्या एक प्रतिशतमा रहेको थियो ।

    “यसपटक हामीले देशभरि नै अभियान सञ्चालन गरेकाले कडा शीध्र कुपोषणका बालबालिकालाई धेरै देखिएको हो”, शाखा प्रमुख थापाले भने, “पहिले हामी प्रदेशमा मात्र कुपोषणको अवस्था पत्ता लगाउने गर्दथ्यौँ र कम देखिएका हुन् ।” उनका अनुसार कडा शीघ्र कुपोषण कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा बढी देखिएका छन् । कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालको हुने गर्दछन् ।

    कडा शीघ्र कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने र उक्त तयारी खाना खाएपछि बालबालिकालाई स्वस्थ्य हुने उनको भनाइ छ । तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशतिर २५ वटा पुनःस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताए । यसैगरी, मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको छ । मध्यम शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने तथा लुरे हुने गर्दछन ।

    अभियान जेठसम्म

    शाखा प्रमुख थापाका अनुसार साधनस्रोतको कमीले जेठ महिनासम्म अभियान सञ्चालन गरिने छ । सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख १५ देखि ३० गतेसम्म अभियान सञ्चालन गरेको थियो । बालबालिकाको उचाइ र तौल लिने उपकरणको अभावमा सबै पालिकामा अभियान सञ्चालन गर्न नसकिएकाले जेठ महिनासम्म अभियान विस्तार गरिएको हो ।

    अर्को वर्षदेखि यसलाई कार्यक्रमका रूपमा राखिने जानकारी दिए । सरकारले छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो । यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाउने गरिएको छ ।

  • अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

    अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

    गण्डकी, ७ जेठः पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्तिरसंस्था स्वयंले हटाउन निर्देशन दिएको हो ।

    महानगरको प्राविधिक टोलीले नाप गरी पोल गाडिएको क्षेत्रभित्रका सबै संरचना हटाइने भएकाले तोकिएको अवधिभित्र संरचना हटाउन सूचित गर्दै नहटाएमा महानगर आफैँले हटाउने र त्यसवापत लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ । यसअघि गत वैशाख ४ गते पनि सार्वजनिक सूचनामार्फत फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन ३५ दिनको समय दिएको थियो । यस्तै, महानगरले विसं २०८० कात्तिक १० गते पनि उक्त खोलको खोलाघर क्षेत्रभित्र पर्ने संरचनाहरू हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

    उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएकामा अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्नु नपर्ने भनी फैसला भइसकेको छ । अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको अघिल्लो सूचना समेतलाई आधार मान्दै यही जेठ ९ गतेभित्र फिर्केखोला क्षेत्रमा जग्गा अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन समयसीमा दिइएको हो ।

    महानगरले प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा पनि खाली गराई बसपार्क निर्माणलाई अगाडि बढाउने भएको छ । यही जेठ ८ गतेभित्र बसपार्कको जग्गामा बसोबास गर्ने सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले विवरण सङ्कलन गरिने भएको हो । बुधबार जारी सूचनामा यसअघि निस्सा पाएका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जेठ ८ गतेसम्म वडा नं ९ को कार्यालयमा आफ्नो र परिवारको विवरण बुझाउन पनि आग्रह गरिएको छ ।

    नगरपालिकाबाट वितरण भएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमूली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमूली आफैँले नाता खुलाएको स्वःघोषणापत्र बुझाउनुपर्ने जनाइएको छ । आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन पोखरा–९ पृथ्वीचोकमा विसं २०३१–३२ तिर दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणा पर्दै हाल करिब ६० रोपनी जग्गा मात्र बाँकी छ ।

    पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । “भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका नाममा करिब पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बसेका छन् । अब वास्तविक अवस्था छानबिन गर्दैछौँ, त्यसपछि सुकुमवासीलाई उचित व्यवस्थापन गर्छौं”, उनले भने, “बसपार्क बन्नुपर्छ भन्नेमा सर्वपक्षीय र सर्वदलीय सहमति छ । बसपार्कको गुरुयोजना पनि बनिसकेको छ, अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाउँछौँ ।”

  • उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    कीर्तिपुर (काठमाडौँ), ७ जेठः सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ । त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा विज्ञहरूले यस्तो बताएका हुन् ।

    कार्यक्रममा नेपालका साथै चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, भूटानलगायत देशका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर बज्राचार्यले कृत्रिम बौद्धिकताको सचेत प्रयोग गरी उच्चशिक्षालाई थप गुणस्तरीय, प्रभावकारी तथा विश्वपरिवेश अनुरूपको बनाउनुपर्नेमा जोड दिए । उनले कृत्रिम बौद्धिकताको प्रयोगबारे प्राध्यापक र विद्यार्थीलाई दक्ष बनाई संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने, अनुसन्धान दक्षता अभिवृद्धि गर्नुपर्ने र नीतिगत रूपमा सरकारले कृत्रिम बौद्धिकताको प्रयोगलाई सहज बनाउने नीति तथा कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।


    नेपालका लागि चीनका राजदूत छाङ म्याओमिङले कृत्रिम बौद्धिकताको विकासले मानवीय चिन्तन प्रणालीमा व्यापक परिवर्तन ल्याएको धारणा व्यक्त गर्दै कृत्रिम बौद्धिकताको दिगो प्रयोग र सम्भावित चुनौतीको सामना गर्न चीन सरकारले अनुसन्धानमा लगानी बढाएको बताए । उनले उच्चशिक्षामा कृत्रिम बौद्धिकताले अवधारणात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै सबै मुलुकहरूले आपसी सहयोग र सहकार्यमार्फत प्रविधिको सकारात्मक र मानवउपयोगी प्रयोगमा जोड दिनुपर्ने धारणा राखे ।


    कार्यक्रममा ‘अनलाइन’ शिक्षासम्बन्धी अन्तरराष्ट्रिय संस्था नेपालको प्रारम्भ गरिएको छ । उक्त निकाय प्रारम्भ गर्ने सहमति पत्रमा निमित्त शिक्षाध्यक्ष प्राडा शङ्करप्रसाद खनाल र बी सियाओहान, युनेस्को उपनिर्देशकबीच हस्ताक्षर भएको थियो ।

  • अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

    अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

    दुबई, ६ जेठ (रासस–एपी) । इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन् भने राजधानीका सडकमा सैन्य सवारीसाधनसहित मेसिनगन प्रदर्शन गरिँदै आएको छ ।


    एक सामूहिक विवाह समारोहमा इजरायलमाथि क्लस्टर बम प्रहार गर्न प्रयोग गरिएको जस्तै ब्यालिस्टिक क्षेप्यास्त्रसमेत मञ्चमा सजाइएको देखिएको थियो ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरानविरुद्ध पुनः युद्ध सुरु हुन सक्ने चेतावनी दिएपछि इरानले शक्ति प्रदर्शनलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ । विशेषगरी हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रण कायम रहे तनाव बढ्न सक्ने संकेत देखिएको छ ।

    रिपोर्टअनुसार अमेरिकाले इरानको उच्चस्तरीय संवर्धित युरेनियम भण्डार बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने संकेत दिएपछि इरानले जनस्तरमा पनि तयारी बढाएको हो । यसअघि ट्रम्पले कुर्द लडाकुमार्फत सरकारविरोधी प्रदर्शनकारीलाई हतियार पठाएको दाबीसमेत गर्नुभएको थियो ।


    यसबीच इरानमा बढ्दो महँगी, व्यापार बन्द, रोजगारी गुम्ने अवस्था तथा खाद्यान्न र औषधिको मूल्यवृद्धिका कारण सर्वसाधारणमा चिन्ता बढिरहेको छ। यस्ता कठिन परिस्थितिमा सरकार समर्थक कठोर समूहलाई उत्साहित गर्न तथा सम्भावित विरोध प्रदर्शन नियन्त्रणमा राख्न पनि हतियार प्रदर्शन उपयोग गरिएको विश्लेषण गरिएको छ ।


    तेहरानका ४७ वर्षीय अली मोफिदीले हतियार तालिम कार्यक्रममा सहभागी हुँदै “अहिलेको अवस्था युद्धजस्तै भएकाले सबै नागरिकले बन्दुक चलाउन जान्नु आवश्यक छ” भन्नुभएको एपीले उल्लेख गरेको छ ।

    पछिल्ला महिनाहरूमा सरकारी सञ्चारमाध्यम तथा सन्देशमार्फत नागरिकलाई “ज्यान अर्पण गर्न तयार हुने” अभियानमा सहभागी हुन आह्वान गरिएको छ। केही कट्टरपन्थी समूहहरूले १२ वर्षसम्मका बालबालिकालाई समेत सुरक्षा जाँच चौकीमा खटिन प्रोत्साहित गरेको आरोप लागेको छ, जसलाई मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले युद्ध अपराधको संज्ञा दिएको छ ।


    इरानी अधिकारीहरूले करिब ९ करोड जनसंख्या रहेको देशमा ३ करोडभन्दा बढी नागरिकले अनलाइन वा सार्वजनिक कार्यक्रममार्फत सरकारका लागि ज्यान दिन तयार रहेको दाबी गरेका छन् । यद्यपि उक्त तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

  • चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

    चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

    कुरु, फ्रेन्च गिआना, ६ जेठ (रासस–सिन्ह्वा) । चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) बीचको संयुक्त अन्तरिक्ष मिसनअन्तर्गत ‘सोलर विन्ड म्याग्नेटोस्फियर आयनोस्फियर लिङ्क एक्सप्लोरर (स्माइल)’ उपग्रह मङ्गलबार सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो उपग्रह युरोपको अन्तरिक्ष केन्द्रबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको हो।

    प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा पुगेको पुष्टि गरिएको छ । साथै, यसको सोलार प्यानलहरू पनि सफलतापूर्वक खुलिसकेका छन् र सम्पूर्ण प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको बताइएको छ । यो सफलतासँगै चीन र युरोपबीचको अन्तरिक्ष विज्ञान सहकार्यमा एक महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ ।

    ‘स्माइल’ चीन र ईएसए बीचको पहिलो मिशन–स्तरीय संयुक्त परियोजना हो, जसले पृथ्वीको चुम्बकीय क्षेत्र (म्याग्नेटोस्फियर)को ठूलो संरचनालाई पहिलो पटक समग्र रूपमा अवलोकन गर्ने लक्ष्य राखेको छ । उपग्रहले सॉफ्ट एक्स–रे इमेजिङ प्रविधिको प्रयोग गर्दै पृथ्वीको चुम्बकीय क्षेत्रको विस्तृत अध्ययन गर्नेछ । यस मिसनबाट अन्तरिक्ष मौसम पूर्वानुमान र चुम्बकीय क्षेत्रसम्बन्धी आधारभूत भौतिक विज्ञानमा महत्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।