कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

File : High-rise buildings are seen in the Shinjuku business area of Tokyo on December 8, 2025. (Photo by Kazuhiro NOGI / AFP)

टोकियो,७ जेठ (रासस–एएफपी) । जापानको आधिकारिक तथ्याङ्कअनुसार, मार्चमा रेकर्ड स्तरमा पुगेपछि अप्रिल महिनामा विदेशी पर्यटकहरूको संख्या घटेको छ। जापान नेशनल टुरिज्म अर्गनाइजेसनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, अप्रिलमा जापान आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घटेर ३६ लाख ९० हजारमा झरेको छ। यस गिरावटको मुख्य कारणमध्ये चिनियाँ पर्यटकहरूको ठूलो कमी हो। चीनबाट आउने पर्यटकहरूको संख्या ५६.८ प्रतिशतले घटेर ३ लाख ३० हजार ७ सयमा सीमित भएको छ। अधिकारीहरूका अनुसार, यस गिरावटको कारण चीन सरकारको यात्रा सम्बन्धी चेतावनी पनि हो।


मध्यपूर्वबाट आउने पर्यटकहरूको संख्या पनि २१.४ प्रतिशतले घटेको बताइएको छ। केही क्षेत्रहरूमा जारी तनाव र युद्धका कारण यात्रा रद्द हुने घटनाहरू बढेको जनाइएको छ। जापान र चीनबीचको सम्बन्ध पछिल्ला समयमा थप तनावपूर्ण बनेको बताइन्छ। नोभेम्बरमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवान सम्बन्धी सम्भावित सैन्य संलग्नताको संकेत गरेपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर पनि नियन्त्रणमा लिन सकिने धारणा राख्दै आएको छ।