Category: फिचर

  • युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

    युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

    काठमाडौँ, ५ जेठ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ ।मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ । मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचारसंहिता लागू गरिएको हो ।

    सो आचारसंहिताले कार्यालय अनुशासनसम्बन्धी व्यवस्था स्पष्ट पारेको छ । कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोशाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ । साथै सरकारी निर्णय, कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ ।

  • विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    किन्शासा, ५ जेठ (रासस–एएफपी) । कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ । हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र पुनः उच्च सतर्कतामा पुगेको हो ।

    अझ चिन्ताजनक पक्ष, फैलिएको ‘बुन्डिबुग्यो’ प्रकारको इबोलाविरुद्ध अहिलेसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन । रुवान्डा समर्थित एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको प्रमुख सहर गोमामा सङ्क्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ । अत्यधिक जनघनत्व भएको गोमामा सङ्क्रमण देखिएसँगै यो प्रकोप कङ्गोभित्र सीमित नरही क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्कटमा रूपान्तरण हुन सक्ने चेतावनी स्वास्थ्य निकायहरूले दिएका छन् ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शङ्कास्पद सङ्क्रमणका घटना दर्ता भएका छन् । सङ्क्रमणको वास्तविक दायरा अझै स्पष्ट नभएको भन्दै अधिकारीहरूले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरेका छन् । कङ्गोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन–ज्याक मुयेम्बेले एएफपीसँग कुरा गर्दै गोमामा एउटा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित महिला बुनियामा इबोलाबाट मृत्यु भएका पुरुषकी पत्नी हुन् । पतिमा सङ्क्रमण पुष्टि भएपछि उनी गोमा पुगेकी थिइन्, जहाँ परीक्षणपछि उनमा पनि सङ्क्रमण पुष्टि भएको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यो अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरिएको बताए । यद्यपि उनले हालको अवस्थाले अझै पूर्ण ‘महामारी’ को स्तर भने नपुगेको स्पष्ट पारे । जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनले अहिले आफ्नो दोस्रो उच्च सतर्कता लागू गरेको छ । सङ्गठनका अनुसार सङ्क्रमित व्यक्तिको वास्तविक सङ्ख्या र सङ्क्रमण फैलिएको भौगोलिक क्षेत्रबारे अझै ठूलो अनिश्चितता कायम छ ।

    चिकित्सा सहायता संस्था ‘डाक्टर्स विदआउट बोर्डर्स’ अर्थात् एमएसएफले सङ्क्रमणको फैलावटलाई ‘अत्यन्त चिन्ताजनक’ भन्दै ठूलो स्तरको स्वास्थ्य प्रतिकार योजना अघि बढाइरहेको जनाएको छ । कङ्गोका स्वास्थ्यमन्त्री सामुएल–रोजर कम्बाका अनुसार यो प्रकोप निम्त्याउने बुन्डिबुग्यो प्रकारको इबोलामा मृत्युदर अत्यन्त उच्च छ, जुन ५० प्रतिशतसम्म पुग्न सक्छ । यो प्रकार पहिलो पटक सन् २००७ मा पहिचान गरिएको थियो ।

    अधिकारीहरूका अनुसार यही सङ्क्रमणले छिमेकी युगान्डामा पनि एक कङ्गोली नागरिकको ज्यान लिइसकेको छ । सङ्क्रमण फैलिन सक्ने जोखिम बढेपछि युगान्डाले आइतबार वार्षिक शहीद दिवस तीर्थयात्रा स्थगित गर्ने घोषणा गरेको छ । उक्त धार्मिक कार्यक्रममा सामान्यतया पूर्वी कङ्गोबाट हजारौँ श्रद्धालु सहभागी हुने गर्दछन् । हाल उपलब्ध इबोला खोपहरू भने केवल ‘जाइर’ प्रकारको भाइरसविरुद्ध मात्र प्रभावकारी मानिन्छन् । सन् १९७६ मा पहिचान गरिएको उक्त प्रकारको इबोलामा मृत्युदर ६० देखि ९० प्रतिशतसम्म पुग्ने गरेको छ ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पछिल्लो सङ्क्रमण पहिलो पटक उत्तरपूर्वी कङ्गोको इटुरी प्रान्तमा पुष्टि भएको थियो । युगान्डा र दक्षिण सुडानको सीमासँग जोडिएको यो क्षेत्र अहिले सङ्क्रमणको मुख्य केन्द्र बनेको छ । स्वास्थ्यमन्त्री कम्बाका अनुसार पहिलो सङ्क्रमित एक नर्स थिइन्, जसले अप्रिल २४ मा इटुरी प्रान्तको राजधानी बुनियास्थित स्वास्थ्य केन्द्रमा ज्वरो, रक्तस्राव र बान्ताजस्ता लक्षणसहित उपचारका लागि सम्पर्क गरेकी थिइन् । पछि परीक्षण गर्दा उनमा इबोला सङ्क्रमण पुष्टि भएको थियो ।

    इबोलाका मुख्य लक्षणमा उच्च ज्वरो, शरीरभित्र तथा बाहिरी रक्तस्राव, कमजोरी, वान्ता र अङ्ग विफलता समावेश छन् । सङ्क्रमित व्यक्ति लक्षण देखिएपछि मात्र अरूमा सङ्क्रमण फैलाउन सक्षम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । भाइरस सङ्क्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । यसको इन्क्युबेसन अवधि २१ दिनसम्म हुन सक्छ ।

    फ्रान्सभन्दा चार गुणा ठूलो भूभागमा फैलिएको कङ्गोमा कमजोर यातायात र सञ्चार पूर्वाधारका कारण स्वास्थ्य सामग्री तथा चिकित्सक परिचालन ठूलो चुनौती बनेको छ । दुर्गम क्षेत्रमा सङ्क्रमण केन्द्रित भएकाले धेरै नमूनाको परीक्षणसमेत हुन सकेको छैन । तर विश्व स्वास्थ्य सङ्गठनले प्रारम्भिक परीक्षणमा उच्च दरमा सङ्क्रमण पुष्टि भइरहेको, दुई देशमा सङ्क्रमण फैलिसकेको तथा शङ्कास्पद घटनाहरू निरन्तर बढिरहेकाले अहिले देखिएकोभन्दा धेरै ठूलो प्रकोप हुन सक्ने चेतावनी दिएको छ । सङ्गठनले यसबाट स्थानीय मात्र नभई, क्षेत्रीय र विश्वव्यापी जोखिम उत्पन्न हुन सक्ने जनाएको छ ।

    कङ्गोमा यसअघि पनि इबोलाका धेरै प्रकोप देखिएका छन् । यो देशमा पुष्टि भएको यो १७औँ इबोला प्रकोप हो । गत वर्ष अगस्टमा देखिएको अर्को प्रकोप डिसेम्बरमा नियन्त्रणमा आएको घोषणा गरिए पनि त्यस क्रममा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो । पछिल्ला ५० वर्षमा इबोलाले अफ्रिकामा करिब १५ हजार मानिसको ज्यान लिइसकेको छ । सन् २०१८ देखि २०२० सम्म कङ्गोमा फैलिएको सबैभन्दा घातक प्रकोपमा मात्रै झण्डै दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।

    चमेरोबाट उत्पत्ति भएको विश्वास गरिने इबोलाले शरीरमा गम्भीर रक्तस्राव, अङ्ग विफलता तथा तीव्र शारीरिक क्षति पुर्‍याउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न प्रकोपमा यसको मृत्युदर २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म पुगेको देखिएको छ ।

  • स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

    स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

    जेनेभा, ५ जेठ (रासस–एएफपी) । घातक हान्ता भाइरस र इबोला सङ्क्रमणको नयाँ चुनौतीसँग जुधिरहेको विश्व स्वास्थ्य क्षेत्र अहिले अर्को जटिल मोडमा पुगेको छ । अमेरिका र अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० बाट बाहिरिने घोषणा गरेपछि उत्पन्न अनिश्चितताका बीच सदस्य राष्ट्रहरू सोमबार जेनेभामा वार्षिक विश्व स्वास्थ्य सभाका लागि भेला भएका छन् । विश्वव्यापी स्वास्थ्य संयन्त्रको भविष्य, महामारी तयारी र सङ्गठनको वित्तीय स्थायित्व यसपटकको बैठकका प्रमुख चिन्ताका विषय बनेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठनको निर्णय गर्ने सर्वोच्च निकायका रूपमा रहेको यो वार्षिक सभा शनिबारसम्म सञ्चालन हुनेछ । तर यस वर्षको बैठक नियमित स्वास्थ्य एजेन्डाभन्दा धेरै फरक र संवेदनशील विषयहरूले प्रभावित बनेको छ । विश्वव्यापी ध्यान तानेको क्रुज जहाजमा फैलिएको दुर्लभ हान्ता भाइरसको सङ्क्रमण औपचारिक एजेन्डामा नरहे पनि बैठकका अधिकांश छलफलमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ । त्यस्तै, कङ्गो लोकतान्त्रिक गणतन्त्रमा पुनः देखिएको इबोला सङ्क्रमणले पनि सदस्य राष्ट्रहरूको चिन्ता बढाएको छ ।

    कूटनीतिक स्रोतहरूका अनुसार डब्लुएचओले यस्ता महामारी र स्वास्थ्य सङ्कटलाई विश्वव्यापी सहकार्य तथा संस्थागत समर्थनको आवश्यकता देखाउने अवसरका रूपमा प्रयोग गर्ने सम्भावना छ । एक कूटनीतिक स्रोतले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै अमेरिका र अर्जेन्टिनालाई सङ्गठन नछाड्न दबाब सिर्जना गर्न यस्ता सङ्कटले भूमिका खेल्न सक्ने सङ्केत गर्‍यो ।

    विश्व स्वास्थ्य सङ्गठनका लागि पछिल्लो वर्ष अत्यन्त चुनौतीपूर्ण रह्यो । अमेरिकी फिर्ती घोषणासँगै वित्तीय सहयोग कटौती भएपछि संस्थाले बजेट घटाउनुका साथै कर्मचारी सङ्ख्या पनि कम गर्नुपरेको थियो । त्यसले विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा प्रत्यक्ष असर पारेको थियो । यद्यपि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अप्रिल अन्त्यमा संस्थाले अहिले स्थायित्वतर्फ फर्कँदै अगाडि बढिरहेको दाबी गरे । उनका अनुसार सङ्गठनले कठिन अवस्थाबीच पनि आवश्यक कार्यलाई निरन्तरता दिन सक्ने अवस्था बनाएको छ ।

    कूटनीतिज्ञ र स्वास्थ्य क्षेत्रका पर्यवेक्षकहरूले पनि अहिलेको अवस्था अझै संवेदनशील भए पनि डब्लुएचओले आगामी दुई वर्षका लागि आवश्यक अधिकांश स्रोत जुटाउन सफल भएको बताएका छन् । जेनेभास्थित ग्राजुएट इन्स्टिच्युटको विश्व स्वास्थ्य केन्द्रकी सह–निर्देशक सुरी मुनले हान्ता भाइरस सङ्कटले प्रभावकारी, निष्पक्ष र पर्याप्त वित्तीय स्रोत भएको विश्व स्वास्थ्य सङ्गठन किन आवश्यक छ भन्ने कुरा फेरि स्पष्ट पारेको बताए ।


    तर संस्थाभित्रका विभाजनहरू भने अझै कायम छन् । विशेषगरी धनी र विकासशील राष्ट्रबीचको मतभेदले सन् २०२५ मा पारित ऐतिहासिक महामारी सन्धिको महत्त्वपूर्ण अधुरो पक्षमा सहमति जुट्न सकेको छैन । त्यससम्बन्धी वार्ता अब अर्को वर्षसम्म लम्बिने अपेक्षा गरिएको छ । अमेरिका र अर्जेन्टिनाको फिर्ती घोषणाले पनि बैठकमा विशेष चासो पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा कार्यकाल सुरु गरेको पहिलो दिन नै अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्ने सूचना दिनुभएको थियो । त्यसको केही समयपछि अर्जेन्टिनाले पनि त्यही बाटो अपनाएको थियो ।


    यद्यपि डब्लुएचओको संविधानमा सदस्य राष्ट्र बाहिरिने स्पष्ट व्यवस्था नरहेकाले संस्थाले अहिलेसम्म ती फिर्तीलाई औपचारिक रूपमा स्वीकार गरेको छैन । अमेरिका सन् १९४८ मा डब्लुएचओमा आबद्ध हुँदा एक वर्षअघि सूचना दिएर र बाँकी वित्तीय दायित्व पूरा गरेर बाहिरिन सक्ने अधिकार सुरक्षित राखिएको थियो । तर सूचना अवधिको समय सकिँदासमेत वासिङ्टनले २०२४ र २०२५ का लागि तिर्न बाँकी करिब २६ करोड अमेरिकी डलर बुझाएको छैन । यसले अमेरिकाको कानूनी स्थिति अझ अन्योलपूर्ण बनाएको छ ।

    यसैबीच जनवरीमा बसेको डब्लुएचओ कार्यकारी बोर्ड बैठकमा इजरायलले अर्जेन्टिनाको फिर्तीलाई अनुमोदन गर्ने प्रस्ताव पेश गरेको थियो । त्यस विषयमा अहिलेको सभामा छलफल हुन सक्ने अनुमान गरिएको छ । तर अमेरिकाको बहिर्गमनबारे भने औपचारिक रूपमा कुनै प्रस्ताव अघि सारिएको छैन । कूटनीतिज्ञहरूका अनुसार धेरै देश अहिले अमेरिकाको स्थिति अस्पष्ट नै रहन दिन इच्छुक देखिएका छन् । एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा अमेरिका चुपचाप संस्थाबाट अलग हुने अवस्था बनोस् भन्ने अपेक्षा रहेको बताए ।


    यसपटकको सभा अर्को महत्त्वपूर्ण कारणले पनि चासोको केन्द्रमा छ । आगामी वर्ष डब्लुएचओको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ । अहिलेसम्म कसैले उम्मेदवारी घोषणा नगरे पनि सेप्टेम्बर २४ को मनोनयन समयसीमाअघि यसै साताभित्र केही नाम सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । बैठकमा युक्रेन, प्यालेस्टिनी भूभाग र इरानसँग सम्बन्धित संवेदनशील प्रस्तावहरू पनि प्रस्तुत हुने भएका छन् ।

    ती विषयमा सदस्य राष्ट्रबीच चर्को बहस हुन सक्ने अनुमान गरिएको छ । यस वर्षको सभाको मुख्य केन्द्र भने विश्व स्वास्थ्य संरचनाको पुनर्गठन बन्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य निकायबीचको समन्वय अभाव, कार्य दोहोरिने प्रवृत्ति र जिम्मेवारीको अस्पष्टतालाई सुधार गर्ने औपचारिक प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्ने विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

    महामारी तयारी तथा प्रतिकारसम्बन्धी स्वतन्त्र प्यानलकी सह–अध्यक्ष तथा न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले विश्वव्यापी र क्षेत्रीय तहमा कुन काम कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्नेबारे स्पष्ट जिम्मेवारी निर्धारण आवश्यक रहेको बताए । क्यानाडाकी स्वास्थ्यमन्त्री मार्जोरी मिचेलले पनि प्रमुख सदस्य राष्ट्रहरूको बहिर्गमनले डब्लुएचओलाई आफ्ना सदस्य राष्ट्रसँग रणनीति पुनरावलोकन गर्ने अवसर प्रदान गरेको बताइन् । अन्तर्राष्ट्रिय सहायता कोष घट्दै गएको अवस्थामा जलवायु परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य अधिकारजस्ता विवादास्पद मानिएका विषयहरू उपेक्षामा नपरोस् भन्ने विषयमा पनि सदस्य राष्ट्रहरू सचेत देखिएका छन् ।

    एक कूटनीतिक स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न निकायबीच राम्रो समन्वय सुनिश्चित गर्दै कुनै समुदाय वा स्वास्थ्य कार्यक्रम पछाडि नछुटोस् भन्ने उद्देश्यसहित सुधार प्रक्रिया अघि बढाउन खोजिएको हो । तर ‘नलेज इकोलोजी इन्टरनेसनल’ नामक गैरसरकारी संस्थाका थिरु बालासुब्रमण्यमले डब्लुएचओले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी केही गतिविधि पहिले नै सीमित बनाउन थालेको आरोप लगाए । उनका अनुसार वित्तीय सङ्कट गहिरिँदै जाँदा कतिपय संवेदनशील स्वास्थ्य कार्यक्रमहरू प्रभावित हुन थालेका छन् ।

  • क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

    क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

    ओटावा, ४ जेठ (रासस–सिन्ह्वा) । क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन् । पीएचएसीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ब्रिटिश कोलम्बियाबाट संकलन गरिएका नमूनाहरू पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो ।

    प्रयोगशाला परीक्षणपछि एक व्यक्तिमा शनिबार हान्ताभाइरस संक्रमण पुष्टि भएको एजेन्सीले जनाएको छ । सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण भने नेगेटिभ आएको छ । हालसम्म थप सङ्क्रमित फेला नपरेको जनाइएको छ । पीएचएसीका अनुसार, उच्च जोखिममा रहेका सम्पर्कहरू आइसोलेसनमा छन् र स्थानीय स्वास्थ्य अधिकारीहरूले उनीहरूको निरन्तर निगरानी गरिरहेका छन् । साथै, क्यानडाको सर्वसाधारण जनतामा हालका लागि संक्रमणको जोखिम कम रहेको एजेन्सीले स्पष्ट पारेको छ ।

    यो सङ्क्रमण ध्रुवीय क्षेत्रमा भ्रमण गर्ने ‘एमभी होन्डियस’ नामक अभियानात्मक क्रुज जहाजमा देखिएको हो । यस प्रकोपका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार, हान्ताभाइरसको इन्क्युबेशन अवधि सामान्यतया एकदेखि आठ सातासम्म हुन सक्छ ।

    यो भाइरस प्रायः संक्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्‍यालसँग सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ । हान्ताभाइरस संक्रमणले ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका गम्भीर लक्षण निम्त्याउन सक्छ । गम्भीर अवस्थामा यसले फोक्सो र मुटुमा असर पुर्‍याएर ज्यानसमेत लिन सक्छ ।

  • विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

    विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

    तेहरान, ५ जेठ (रासस–एएफपी) । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र बनाउँदै इरानको राष्ट्रिय फुटबल टोली सोमबार टर्की प्रस्थान गरेको छ । संयुक्त राज्य अमेरिका जानुअघि मैत्रीपूर्ण खेल खेल्नुका साथै अमेरिकी भिसा प्रक्रियासमेत पूरा गर्ने उद्देश्यले टोली अन्टालिया पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    इरानी समाचार संस्था तस्निमका अनुसार राष्ट्रिय टोली सोमबार बिहान टर्कीको अन्टालियातर्फ प्रस्थान गरेको हो । टोलीमा प्रशिक्षक समूहसहित घरेलु लिगमा खेलिरहेका २२ खेलाडी समावेश छन् । विश्वकपअघि अन्तिम तयारीलाई व्यवस्थित बनाउने योजनाअनुसार टोलीले टर्कीमा प्रशिक्षण र मैत्रीपूर्ण खेल दुवै कार्यक्रम सञ्चालन गर्नेछ । मुख्य प्रशिक्षक अमिर घालेनोईले शनिबार टोली टर्कीमा रहँदा अमेरिकी भिसाका लागि आवश्यक प्रक्रिया पनि पूरा गरिने जानकारी दिनुभएको थियो । इरान र अमेरिकाबीचको जटिल राजनीतिक सम्बन्धका कारण भिसा प्रक्रिया टोलीका लागि विशेष चासोको विषय बनेको छ ।

    संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ विश्वकपमा इरानको सहभागिता दुई देशबीचको संवेदनशील राजनीतिक परिस्थितिका बीच हुँदैछ । फेब्रुअरी २८ बाट सुरु भएको ४० दिन लामो युद्धपछि इरान र अमेरिकाबीच हाल नाजुक युद्धविराम कायम छ । इस्लामिक क्रान्तिपछि अमेरिकी दूतावासमा भएको बन्धक सङ्कटका कारण अमेरिकाले सन् १९८० मा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ, जसको प्रभाव खेलकुद गतिविधिमा समेत देखिने गरेको छ ।

    इरानले टर्कीको अन्टालियामा कम्तीमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । टोलीका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल व्यवस्थापन गर्ने कम्पनीका प्रमुख इरानी–क्यानेडियन साम मेहदिजादेहका अनुसार इरानले मे २९ मा गाम्बियाविरुद्ध खेल्ने खेल निश्चित भइसकेको छ । अर्को मैत्रीपूर्ण खेलबारे भने छलफल जारी रहेको बताइएको छ ।

    इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले बिहीबारसम्म खेलाडीहरूको अमेरिकी भिसा जारी नभएको जानकारी दिएका थिए । उनका अनुसार भिसा प्रक्रियाअन्तर्गत खेलाडीहरूले टर्कीमा औँठाछाप दिनुपर्ने व्यवस्था गरिएको छ । तर टोलीले अन्टालियाबाट अङ्कारासम्म करिब ३८० किलोमिटरभन्दा बढी यात्रा गर्न नपरोस् भन्ने चाहना राखिएको ताजले उल्लेख गरे । त्यसैले प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए ।

    यसैबीच अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले शनिबार टर्कीमा इरानी फुटबल महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई उनले ‘उत्कृष्ट र रचनात्मक’ भएको प्रतिक्रिया दिए । इरानी फुटबल महासङ्घका अध्यक्ष ताजले पनि बैठक सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको बताउनुभयो । यद्यपि छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन ।

    विश्वकपका लागि अमेरिका पुगेपछि इरानी टोलीले एरिजोनाको टक्सनमा आफ्नो आधार शिविर स्थापना गर्नेछ । समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ । त्यसपछि इरानले सोही सहरमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सिएटलमा इजिप्टविरुद्ध खेल्नेछ । विश्वकपअघि भइरहेको टर्की भ्रमणलाई इरानी टोलीले खेल तयारी मात्र नभई, राजनीतिक तथा प्रशासनिक चुनौती व्यवस्थापनसँग पनि जोडेर हेरिएको छ ।

  • कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु

    कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु

    अबुजा, ५ जेठ (रासस–एपी) । विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यो प्रकोप हालको अवस्थामा कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ । सङ्गठनले देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ ।

    सङ्गठनले कङ्गोको राजधानी किन्शासामा समेत प्रयोगशालाबाट पुष्टि भएको इबोला सङ्क्रमण भेटिएको जनाएको छ । किन्शासा, प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट करिब एक हजार किलोमिटर टाढा पर्छ । सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको बताइएको छ । उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । उक्त क्षेत्र कङ्गोको अत्यधिक जनसङ्ख्या भएको क्षेत्रमध्ये एक हो र इतुरीसँग सीमा जोडिएको छ ।

    पूर्वी कङ्गोको सबैभन्दा ठूलो शहर गोमामा पनि पहिलो इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ । सङ्क्रमित व्यक्ति इतुरीबाट आएको र हाल आइसोलेसनमा राखिएको बताइएको छ । गोमा शहर सन् २०२५ मा विद्रोही समूहहरूको तीव्र आक्रमणको केन्द्र बनेको थियो । कङ्गो सरकार र रुवाण्डा समर्थित एम–२३ विद्रोही समूहबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

    इबोला अत्यन्त सङ्क्रामक रोग मानिन्छ । सङ्क्रमित व्यक्तिको रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थमार्फत यो भाइरस सर्ने गर्दछ । यो रोग दुर्लभ भए पनि गम्भीर र प्रायः घातक हुने चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको आपत्काल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

    अफ्रिकास्थित विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले ३५ जना विशेषज्ञहरूको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको जनाएको छ । टोलीसँग सात टन आपत्कालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ । यसअघि पनि अफ्रिकामा विभिन्न संक्रामक रोग फैलिँदा विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । तर आवश्यक खोप, परीक्षण सामग्री र औषधि प्रभावित देशहरूमा समयमै नपुगेको भन्दै आलोचना हुने गरेको छ ।

  • पाकिस्तानले इरानी प्रतिक्रिया अमेरिकालाई बुझायो, वासिङ्टनको प्रतिक्रिया आउन बाँकी

    पाकिस्तानले इरानी प्रतिक्रिया अमेरिकालाई बुझायो, वासिङ्टनको प्रतिक्रिया आउन बाँकी

    इस्लामावाद, ५ जेठ (रासस–सिन्ह्वा) । अमेरिकी सञ्चारमा इरानले दिएको प्रतिक्रिया आइतबार पाकिस्तानले प्राप्त गरेको र कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको पाकिस्तानी स्रोतले सोमबार जनाएको छ । “संयुक्तराज्य अमेरिकाले इरानको प्रतिक्रियाको समीक्षा गरिरहेको र वासिङ्टनबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतहरूले सिन्ह्वासँग बताएका छन् ।

    पछिल्लो आदान–प्रदान तेहरान र वाशिङ्गटनबीच शान्तिको पहलका लागि जारी अप्रत्यक्ष सम्पर्कको प्रयास हो । क्षेत्रीय तनाव कम गर्ने र सम्भावित कूटनीतिक प्रगतिको खोजी गर्ने प्रयासहरूको बीचमा पाकिस्तान मार्फत सहजीकरण गरिएको छ। इरानी अधिकारीहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ताको सट्टा अप्रत्यक्ष रूपमा मध्यस्थकर्ताहरू मार्फत संवाद भइरहेको बताउँदै आएका छन्।

    फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानले धेरै चरणमा प्रस्तावको आदानप्रदान गरिरहेका छन् । अप्रिल ८ देखि जारी युद्धविरामबीच दुवै पक्षबीच अहिलेसम्म एक चरणको वार्ता भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार एक पत्रकार सम्मेलनमा भने, “हामीले हिजो घोषणा गरेजस्तै हाम्रो चासो अमेरिकी पक्षलाई अवगत गराएका छौँ ।”

    तेहरानले विदेशमा रोकिएको इरानी सम्पत्ति र लामो समयदेखिको प्रतिबन्ध फुकुवा गर्नेलगायतका इरानको मागको विदेशमन्त्री बकाईले बचाउ गर्नुभएको थियो । उनले भने, “उठाइएका बुँदाहरू इरानका मागहरू हुन्, जसलाई इरानको वार्ता टोलीले हरेक चरणको वार्तामा दृढतापूर्वक बचाउ गरेको छ।”


    उनले अमेरिकाले युद्धको क्षतिपूर्ति दिनुपर्ने इरानको शर्तको बचाउ गर्दै द्वन्द्व ‘गैरकानुनी र आधारहीन’ भएको बताए । अर्को सैन्य मुठभेडको सम्भावनाबारे विदेशमन्त्री बकाईले इरान कुनै पनि परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

  • माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत शरिर फेला

    माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत शरिर फेला

    रोम, ५ जेठ (रासस–एएफपी) । माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ । पानीमा वेपत्ता भएका मध्ये एक जनालाई मृत अवस्थामा बिहीबार नै पानीबाहिर ल्याइएको थियो । माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल (एमएनडिएफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेपत्तामध्ये थप चारजना गोताखोरको मृत शरीर ‘वाभु एटोल’ गुफाभित्र फेला परेको छ ।”


    इटालीको विदेश मन्त्रालयले उक्त समाचारको पुष्टि गरेको छ । “मृतकलाई अझै सतहमा ल्याइएको छैन”, एमएनडीएफले भनेको छ, मृतकलाई पानी बाहिर ल्याउने काम छिट्टै गरिनेछ ।” इटालीका एक सरकारी अधिकारीले एएफपीसँग भने, “यो एक कठिन काम हो र शवहरू सतहमा ल्याउन ‘केही समय लाग्न’ सक्छ।” गत बिहीबार इटालीको संलग्न पाँच जनाको एक समूह अनुसन्धानका लागि गहिरो पानीमुनिको गुफामा गएका तर सतहमा फर्कन असफल भएका थिए ।

    एक जनालाई सोही दिन मृत अवस्थामा पानी बाहिर ल्याइएको थियो । उनीहरुको खोजीमा खटिएका एक गोताखोरको उद्धारका लागि खटिएका समय शनिबार मृत्यु भएको थियो । यो दुर्घटना हिन्द महासागरको पर्यटकीय गन्तव्यमा सबैभन्दा घातक ‘डाइभिङ’ दुर्घटना हो।

  • नाइजेरियाको दक्षिणमा अधिकांश बालबालिकासहित ४६ जना अपहरित, क्रिश्चियन समूहमाथि आक्रमण

    नाइजेरियाको दक्षिणमा अधिकांश बालबालिकासहित ४६ जना अपहरित, क्रिश्चियन समूहमाथि आक्रमण

    लागोस, ५ जेठ (रासस–एएफपी) । दक्षिणपश्चिम नाइजेरियाका तीन विद्यालयहरूमा भएको आक्रमणमा कम्तीमा ४६ जनालाई अपहरण गरिएको छ । “अपहरणमा पर्नेमा अधिकांश बालबालिका रहेका छन्,” नाइजेरियाको क्रिश्चियन एसोसिएसनले सोमबार भनेको छ। दक्षिणपश्चिमी राज्यमा भएको आक्रमणमा अपहरणमा परेका दुईदेखि १६ वर्षसम्मका बालबालिकासहित ४६ जना रहेको ओयो राज्यका अध्यक्ष एलिशा ओलुकायोड ओगुन्डियाले शुक्रबार बताए ।


    नाइजेरिया फिरौतीका लागि अपहरण गर्ने र ग्रामीण क्षेत्रलाई निशाना बनाउने डाकु भनिने आपराधिक गिरोहको सङ्कटसँग जुधिरहेको छ। सबैभन्दा बढी द्वन्द्व देखिएका देशको उत्तरी र मध्य भागमा विद्यालयमा आक्रमण र अपहरण हुने गरेको छ। बन्दुकधारीहरूले यावोटाको ब्याप्टिस्ट नर्सरी र प्राइमरी र एसिलका अन्य दुई विद्यालयहरूमा एकैसाथ आक्रमण गरेका थिए ।

    “आक्रमणकारीहरूले विद्यालयका केही शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरी लगेका थिए,” प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। आक्रमणले ‘ओयो स्टेट युनिभर्सल बेसिक एजुकेशन बोर्ड’लाई ‘कुनै पनि ठूला घटनाहरू रोक्न र सुरक्षा निकायहरूलाई यस क्षेत्रमा पूर्ण रूपमा स्थिरता ल्याउन सघाउन वरपरका विद्यालयहरू शुक्रबारदेखि अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको थियो। सोमबारबाट विद्यालयहरू खुलेका छन् ।

  • रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

    रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

    म्याग्दी, ५ जेठः सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल ९वायोकस० नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो ।

    बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिए । “क्यामेरामा कैद हुने दृष्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्नेछ”, उनले भने, “यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवि ९किरा÷जुका०को अवस्थाका विषयमा पनि अध्ययन भइरहेको छ ।”

    हाब्रेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरि अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको छ । समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ््कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । यसअघि जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको कार्यक्रम अधिकृत राइले बताउनुभयो । सो क्षेत्रमा छवटादेखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको उनले भने ।


    स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्विर भिडियो सार्वजनिक गरेका थिए । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए । रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्छ ।

    रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजार वटा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ ।

  • प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ, ५ जेठः प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

    गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिने जनाइएको छ । यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ ।

  • केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

    केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

    काठमाडौँ, ५ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

    कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • बाँकेमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

    रासस
    नेपालगञ्ज, ५ जेठः प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेको जानकारी दिए ।


    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, आर्थिक अपराधसम्बन्धी ३४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । चालु मुद्दाका प्रतिवादी पक्राउ अभियानअन्तर्गत वैशाख महिनामा १८७ जना पक्राउ परेका छन् । सार्वजनिक चासो रहेका १९ वटा ‘पेन्डिङ’ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक वटा मुद्दासमेत दर्ता भएको जानकारी दिइएको छ ।


    जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियानअन्तर्गत वैशाख महिनामा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल १० वर्ष दुई महिना २० दिन कैद सजाय कार्यान्वयन बाँकी छ । उनीहरूलाई अदालतबाट तोकिएको रु ४७ लाख २७ हजार ४३० बिगो तथा क्षतिपूर्ति रकम असुलका लागि पक्राउ परेकालाई अदालत बुझाइएको छ ।

    बीस सवारी दुर्घटनामा चार जनाको मृत्यु

    जिल्ला प्रहरी कार्यालय बाँकेले गत वैशाख महिनामा जिल्लाभर २० सवारीसाधन दुर्घटना भएको जनाएको छ । प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सवारीसाधन दुर्घटनाका कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिएको छ । तथ्याङ्कअनुसार १९ दुर्घटना चालकको लापरबाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवन ९मापसे० का कारण भएको प्रहरीले जनाएको छ ।

    यसैबीच, सवारी जाँच अभियानअन्तर्गत वैशाख महिनामा दुई हजार ७८ सवारीसाधनका चालकमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले गते वैशाख महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०४ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये ८३ वटा उजुरी फछ्र्योट गरिएको तथा २१ वटा उजुरी फछ्र्योट हुन बाँकी छ ।
    त्यस्तै, घरेलु हिंसातर्फ वैशाख महिनामा झै–झगडासम्बन्धी ७४ उजुरी दर्ता भएका छन् । तीमध्ये ५४ घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ५ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९छ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०० पैसा र बिक्रीदर ४१ रुपैयाँ, १६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २४ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

    जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

    जुम्ला, ५ जेठः जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रशासनको आयोजनामा सोमबार भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताए । जिल्लामा हुने विपद्को बैठकमा पटकपटक अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनुवाइ नभएको उल्लेख गर्दै उनले विनादर्ता र अनुमतिविना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताए ।


    नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडलेको भनाइ छ । जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताए । नदीनालाबाट जबर्जस्ती ढुङ्गा, गिट्टी, बालुवा उत्खननले भविष्यमा ठूलो विपद्को समस्या खडा गर्न जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले जानकारी दिए ।


    स्थानीय सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व सङ्कलनमा वृद्धि गर्न जथभावी उत्खनन गरेका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवालाई कानुन दायरमा ल्याइने चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताउनुभयो । विपद्का बेला समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रुपमा सञ्चालन हुने गरेको जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • झापामा आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

    झापामा आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

    रासस
    झापा, ५ जेठः चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यन्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री वितरण भइराखेकामा चिन्ता व्यक्त गर्दै आम उपभोक्ताको स्वास्थ्यमा असर पु¥याउन यस्ता नुनलाई बजार अनुगमन गरेर जफतसमेत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

    अर्कोतर्फ सरकारले नुन बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड एवं गुणस्तरअनुसार आयोडिनको मात्रा नभएको नुन बिक्रीवितरण हुँदा भविष्यमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको उनीहरुको तर्क छ । बालरोग विशेषज्ञ डा टङ्क बह्राराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढ्ने हो भने विशेष गरेर बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औँल्याए । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार यहाँ आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी’कार्यक्रममा उनले भने, “आयोडिनविहीन नुनको प्रयोग बढ्ने हो भने आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिन सक्छ । यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ । तत्काल आयोडिनविहीन नुन बिक्री वितरणमा प्रतिबन्ध लगाइनुपर्छ । ”

    श्रीलङ्काले हाल आयोडिनविहीन नुनले उत्पन्न गरेको जनस्वास्थ्य समस्या भोगिरहेका छ । यस्तो नियति नेपालमा आउन दिन नहुने उनको तर्क छ । सरकारले २०८२ साल साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीवितरण गर्न बाटो खुलाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँले गत वैशाख ४ गते मात्र ‘हिमालयन पिङ्क रक साल्ट’को गुणस्तर परीक्षण गर्दा आयोडिनको मात्रा नभेटिएको ‘रिपोर्ट’ सार्वजनिक समेत गरेको जनाइएको छ ।

    यहाँका बजारमा ‘ब्लाक साल्ट’ नामका भारतीय गुणस्तरहीन र मापदण्डविपरीतका नुन खुला बिक्री वितरण हुँदै भएका छन् । भारतीय सरकारले नुनमा उत्पादन तहमा ३० पिपिएम र भान्सामा पुग्दा १५ पिपिएम निर्धारण गरेको छ । विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नेपाल सरकारले विसं २०५७ माघ २३ देखि आयोडिनयुक्त नुन उत्पादन तहमा ५० पिपिएम हुनुपर्ने, बिक्री गर्ने स्थानसम्म आइपुग्दा ३० पिपिएम र उपभोक्ताले प्रयोग गर्दासम्म अनिवार्य १५ पिपिएम हुनुपर्ने नियम कार्यान्वयन गरिरहेको छ । चिकित्सकका अनुसार आयोडिनयुक्त नुनमा जलांश अधिकतम छ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत, पानीमा नघुल्ने पदार्थ अधिकतम एक प्रतिशत हुनुपर्छ । यदि ९६ प्रतिशत सोडिमय नभएको अवस्थामा रक्तचापसम्बन्धी समस्या हुने गर्छ ।

    साधारण नुनका हकमा पनि जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा सरकारले निर्धारण गरेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिवसमेत रहनुभएका डा बह्राराकोटीका अनुसार ‘आयोडिन’ शरीरलाई दैनिकरूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो । नुनले थाइरोड ग्रन्थीबाट थाइरोेइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्नजस्ता मुख्यमुख्य काममा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ ।

    उनले भने, “बालबालिका तथा गर्भवतीलाई आयोडिन नुनको आवश्यकता पर्दछ । यस्तो अवस्थामा दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन सही मात्रा मिलाएर खानुपर्छ ।” सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्र खान आग्रह गर्दै आएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्ने बताए ।

    उनले भने, “वयस्कमा आयोडिनको कमी भएमा गलगाँड आउने, थाइराइड, मानसिक, शारीरिक क्षमतामा कमीजस्ता असर देखिन्छन् । बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै हो । थाइराइडका क्यान्सर, प्रजनन क्षमतामा ह्रास, गर्भपतनजस्ता समस्या पनि देखिन सक्छ । यस्तो अवस्थालाई न्यून गर्न साल्ट ट्रेडिङ कर्पोरेशनको दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्रा मिलाएर प्रयोगमा ल्याउनुपर्छ ।” जथाभावी नुनको प्रयोग नगर्न उनले आग्रह गर्दै आयोडिनको कमी हुँदा जनस्वास्थ्यमा समस्याको जोखिम देखिनसक्ने बताए ।
    कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले बजार अनुगमन गरेर स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने आयोडिनविहीन नुन बिक्रीवितरण गर्न नदिईने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्र भान्सामा सही रुपमा प्रयोग गर्नलाई जनचेतना जगाउनुपर्छ ।”

    सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले सीमानाकाका भन्सारबाट नुन आयातमा कडाइ र आयोडिनविहीन नुन बिक्रीवितरण रोक्न बजार अनुगमन गरिने जानकारी दिँदै यसका लागि उपभोक्ता स्वयं सचेत बन्नुपर्छ भने । अन्य प्रयोजनका लागि भनेर व्यापारीले भन्सारबाट नुन ल्याउने जनाइएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले मानव शरीरलाई अति आवश्यक पर्ने सूक्ष्म पोषकतत्व आयोडिनयुक्त नुन भएकाले यसको प्रयोगका बारेमा सचेतना आवश्यक पर्ने जनाउँदै नुन आयातमा अनुमति नदिएको जानकारी दिए । उनले भने, “नुन आयातमा अनुमति नदिए पनि बजारमा आयोडिनविहीन नुन देखिन्छ । यसलाई निरुत्साहित गर्नुपर्छ ।”

    कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन कर्पोरशनका सहायक प्रबन्धक ब्रजेश झाले हालसम्म विषम अवस्थामा पनि नुनको आपूर्ति भेराखेको जानकारी दिए । उनका अनुसार गत आवमा कर्पोरेशनले दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरेको थियो । अर्कोतर्फ कर्पोरेशनले नुन आपूर्तिमा तत्काल अवरोध आउन नदिन छ महिनासम्मलाई पुग्ने नुन आफ्ना गोदाममा मौज्दातमा राख्दै आएको छ । उनले भने, “सरकारको कार्यादेशअनुसार नै आयोडिनयुक्त नुनको नियमित आपूर्ति र वितरण हुँदै आएको छ ।”

    कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनको अर्को विकल्प नभएको चर्चा गर्दै तत्काल बजार अनुगमन गरेर आयोडिनविहीन नुन जफत गर्नुपर्छ भने । उनले भने, “नुनको विक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराउँदा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भयो । बजारमा आयोडिनविहीन नुन देखिन थाल्यो । यस्तो अवस्थालाई तत्काल रोक्नुपर्छ । ”

    पहुँच शतप्रतिशतः गलगाँडको समस्या शून्य

    पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलताप्राप्त गरेको छ । सन् १९६५ भन्दा अघिसम्म दुई जनामध्ये एक जनालाई आयोडिनको कमीले हुने विभिन्न किसिमका रोग लाग्ने गर्दथ्यो । अनुसन्धानले ५५ प्रतिशत मानिसलाई गलगाँड भएको पुष्टि भएपछि सन् १९७३ देखि अनिवार्य रूपमा आयोडिन भएको नुनको आयात गर्न निर्देशन दिएको थियो ।

    विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड ९डल्लो० नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । यस्तो विकृतिका विरुद्धमा सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रममार्फत आयोडिनयुक्त नुनको वितरण अभियानलाई देशव्यापि सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या शून्यमा झरेको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शतप्रतिशत पुग्दा आयोडिनयुक्त नुनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको हो । सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पु¥याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शून्यमा झरेको हो ।

    राष्ट्रिय योजना आयोगद्वारा गरिएको सो कार्यक्रमको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त नुन वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको हो । दशकमा विशेष गरेर पहाडी एवं हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ भने अन्य ‘हाइपरथाइरोइडिज्म’, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्यामा गिरावट हुँदै गएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ देखि गत आर्थिक वर्षसम्म कण्ठरोग निवारणका कार्यक्रमले शतप्रतिशत नै सफलता प्राप्त गरेको छ ।

  • ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी

    ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी

    नुक, ग्रिनल्याण्ड, ५ जेठ (रासस–एएफपी) । ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सोमबार बताएका छन् । निल्सनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँगको भेटवार्ता पछि ग्रिनल्याण्डलाई हेर्ने अमेरिकी दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताएका हुन् । प्रधानमन्त्री निल्सनले अमेरिकी कुटनीतिज्ञ जेफ ल्यान्ड्रीसँगको भेटलाई ‘रचनात्मक’ बताएपनि अमेरिकी दृष्टिकोणमा परिवर्तन नआएका कारण कुनै ठूलो उपलब्धिको अपेक्षा नगरिएको बताए ।


    प्रधानमन्त्री निल्सनले एक पत्रकार सम्मेलनमा भने, “यो एक रचनात्मक बैठक थियो, जहाँ सकारात्मक भावना र ठूलो सम्मानका साथ संवादमा हामी संलग्न हुन सफल भयौँ ।” उनले अगाडि भने, “हामीले ग्रिनल्याण्डका जनता बिक्रीका लागि होइनन् र ग्रिनल्याण्डवासीलाई आत्मनिर्णयको अधिकार छ भनेर वार्तामा स्पष्ट रूपमा दोहोर्याएका छौँ ।” ल्यान्ड्रीको भ्रमण यस क्षेत्रमा ट्रम्पको बारम्बार दाबीको बारेमा ट्रान्सएटलान्टिक तनाव केही हदसम्म कम भएको तर नहटेको समयमा भएको छ ।

    ग्रिनल्याण्डका विदेशमन्त्री म्युट एगडेले पनि उक्त भूमि अधिग्रहण गर्ने आफ्नो लक्ष्यलाई अमेरिकाले नछोडेको बैठकपछि पत्रकारहरूसँग बताए । उनले भने, “हामीसँग हाम्रो सीमारेखा छ। अमेरिकीहरूको शुरुवात बिन्दु पनि परिवर्तन भएको छैन।” गत जनवरीमा डेनमार्क र नेटोका अन्य सहयोगीहरूले भीषण प्रतिरोध प्रदर्शन गरेपछि ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्कीबाट पछि हटेका थिए ।


    त्यसपछि कोपेनहेगन र नुकका अधिकारीहरूले वाशिङ्गटनमा गरेको पहिलो बैठक गरिएको थियो त्यसपछि अमेरिकी स्थितिबारे छलफल गर्न ग्रिनल्याण्डले एक कार्यदल गठन गरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार राष्ट्रिय सुरक्षाको चासोका कारण अमेरिकाले ग्रिनल्याण्डलाई नियन्त्रण गर्न आवश्यक रहेको तर्क गर्दै आएका छन् ।

    उनको तर्क रहेको छ, “यदि अमेरिकाले आर्कटिक टापु (ग्रिनल्याण्ड) कब्जा गरेन भने त्यो चीन वा रुसको हातमा पर्न सक्नेछ।” ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूतका रुपमा लुजियानाका गभर्नर ल्यान्ड्री पहिलो पटक आइतबार यहाँ आएका हुन् । उनले मङ्गलबार र बुधबार ग्रिनल्याण्डको राजधानीमा हुने आर्थिक मञ्चमा भाग लिने कार्यक्रम छ ।

  • समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

    समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

    वासिङ्टन, ५ जेठ (रासस–एएफपी) । युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समय घर्किँदै गएको भन्दै इरानलाई चेतावनी दिएका छन् । “उनी (इरानी) हरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन”, उनले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, “कुनै पनि कुराको समय हुन्छ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग पनि टेलिफोन वार्ता गरेको बताइएको छ । उनीहरूबीच के बिषयमा कुरा भयो भन्ने बिषय समाचार तयार पार्दासम्म सार्वजनिक गरिएको छैन । इरानका सञ्चारमाध्यमले युद्ध अन्त्यका लागि तेहरानले पठाएको पछिल्लो प्रस्तावबारे कुनै मूर्त धारणा दिन अमेरिकाले विफल भएको जनाएका छन्।

    वाशिङ्टनबाट सम्झौतामा लचिलोपना नदेखाइएमा त्यसले ‘वार्तालाई गतिरोध’तर्फ डो¥याउने अर्धसरकारी समाचार एजेन्सी मेहर न्यूज एजेन्सी मेहरले उल्लेख गरेको छ। ट्रम्पको पछिल्लो सन्देशले अप्रिलको सुरुमा युद्ध विराम घोषणा हुनुभन्दा केही समयअघि इरान युद्ध अन्त्यको निम्ति सम्झौता गर्न तयार नभएमा इरानले उसको ‘सम्पूर्ण सभ्यता’ नै गुमाउनुपर्ने भनी दिएको उनको धम्कीलाई प्रतिध्वनित गरेको ठानिएको छ।

    गत हप्ताको सुरुमा तेहरानको माग ‘पूर्ण रूपमा अमान्य’ भन्दै अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले युद्धविराम ‘व्यापक लाइफ सपोर्ट’ मा पुगेको चेतावनी दिएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले आफूहरू ‘जिम्मेवार र उदार’ रहेको बताएका छन् ।

  • समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

    काठमाडौँ, ५ जेठः सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।

    समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब रु ४६ अर्ब रकम फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका सचिवालयले जनाएको छ । रु पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र रु पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये रु पाँच लाखभन्दा बढी बचत गर्ने १८ हजार रहेका समितिले जनाएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताइन् । उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले रु दुई करोडभन्दा बढी ऋण फिर्ता गरेका छन् । ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ ।

  • महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

    महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

    काठमाडौँ, ५ जेठः राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणहिटीस्थित नयाँ भवनबाट सुरु भइसकेको छ भने एक साताभित्र सम्पूर्ण सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

    अहिले आयोगको ११४५ हेल्पलाइन सेवा र उजुरीसम्बन्धी काम भद्रकालीस्थित कार्यालयबाट सञ्चालन भइरहे पनि केही दिनभित्र ती सेवा नारायणहिटीबाटै सञ्चालन हुने बताइएको छ । आयोगकाअनुसार नयाँ भवनमा आन्तरिक व्यवस्थापन सम्पन्न भइसकेको छ । स्थापनाकालदेखि आयोग भद्रकालीस्थित भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो । पछिल्लो समय आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवनसमेत प्रयोग गर्दै आएको थियो । आयोगले पानी, बिजुलीसहित मासिक चार लाख रुपैयाँ भाडा तिर्दै आएको जनाएको छ ।

    “अब भाडा तिर्नु पर्दैन, संवैधानिक आयोगको गरिमा पनि कायम हुन्छ । नारायणहिटीस्थित भवन तुलनात्मक रूपमा सुविधासम्पन्न भएकाले सेवाग्राहीलाई पनि सहज हुन्छ भन्ने विश्वास लिएका छौँ,” सदस्य पौडेलले भनिन् । तत्कालीन मन्त्रिस्तरीय निर्णयअनुसार २०८० असोज २१ गते नै आयोगलाई नारायणहिटीस्थित भवनमा सार्ने निर्णय भएको थियो । तर विभिन्न प्रशासनिक कारणले प्रक्रियाअघि बढ्न सकेको थिएन ।

    सरकारको प्रशासनिक सहजीकरणपछि कार्यालय सार्ने काम अघि बढेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत वैशाख २२ गते नै आयोगलाई सरकारी भवन प्रयोगमा ल्याउन पत्राचार गरेको थियो । प्रयोगविहीन सरकारी भवन उपयोगमा ल्याउने तथा संवैधानिक आयोगलाई भाडा खर्चबाट मुक्त गरी आर्थिक रूपमा मितव्ययी बनाउने उद्देश्यले आवश्यक प्रशासनिक व्यवस्थापन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री कार्यालयको सहजीकरणमा साविक राहदानी विभागले प्रयोग गरेका कोठामा रहेका पुराना कागजात तथा सरसामान व्यवस्थापन गरी आयोगलाई कार्यालय सञ्चालनका लागि स्थान उपलब्ध गराइएको हो ।

    आयोगले महिला तथा बालबालिकामाथि हुने हिंसा र विभेदसम्बन्धी उजुरी तथा सेवा प्रवाह गर्दै आएको छ । आयोगका अनुसार दैनिक २० देखि २५ जनाले प्रत्यक्ष सेवा लिने गरेका छन् भने ११४५ हेल्पलाइनमार्फत देश तथा विदेशबाट दैनिक औसत ५० जनाभन्दा बढिले सेवा लिने गरेका छन ।

  • एमालेले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

    एमालेले पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

    भक्तपुर, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा आज सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको जानकारी दिए । बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको थियो ।

    पार्टी अध्यक्ष ओलीले सम्बोधन गरेको सचिवालय बैठकमा पदाधिकारीहरुको वरियता क्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव पेस गरिएको थियो । बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेसको जानकारी दिँदै नेता भट्टले अर्को बैठक यही जेठ ८ गते शुक्रबार बस्ने बताए ।

  • गैरकानूनी बसेका जापानी नागरिक अध्यागमन विभागको नियन्त्रणमा

    गैरकानूनी बसेका जापानी नागरिक अध्यागमन विभागको नियन्त्रणमा

    काठमाडौँ, ४ जेठ । भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । उनी सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । नेपालमा अनुमति नलिई छ वर्षसम्म गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गरेको र स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि सरकारलाई बुझाउनुपर्ने कर तिरेको नदेखिएको विभागले जनाएको छ ।

    नेपाली महिलासँग विवाह गरेका नेपाली भाषा प्रष्टसँग बोल्न सक्ने जापानी नागरिक, निजले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माइन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गरेका थिए । सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत चार वर्षदेख ललितपुरको झम्सिखेलमासमेत कफी सप सञ्चालन गरिरहेका थिए ।

    उक्त कफी सप दर्ताविना सञ्चालन गरिरहेको विभागले जनाएको छ । नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले विदेशी लगानी स्वीकृत गरी व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्ने वा काम गर्ने भएमा ‘वर्किङ’ भिसा लिएको हुनुपर्छ । भिसाको उद्देश्यविपरीत क्रियाकलापमा संलग्न बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ ।


    नेपालमा भिसाको उद्देश्य विपरित बसेका वा शंकास्पद गतिविधिमा संलग्न निज विदेशी नागरिकलाई अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । विभागले उक्त नागरिकको नाम भने खुलाएको छैन ।

  • नेपाल बारको ध्यानाकर्षण

    नेपाल बारको ध्यानाकर्षण

    काठमाडौँ, ४ जेठ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु प्रशासनको अधिकार बाहिरको र न्यायमार्गमा अवरोध पुर्‍याउने कार्य भएको ठहर गरेको छ । बारको आज बसेको आकस्मिक बैठकले विगत केही समयदेखि संवैधानिक महत्त्वका विभिन्न विषयमा सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदनहरु सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएको र त्यसउपर परेको निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध गरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

    नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी सम्माननीय कामु प्रधान न्यायाधीशबाट दरपीठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिनुभएको र सर्वोच्च अदालत प्रशासनले सोको समेत अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ ।

  • सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

    सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

    काठमाडौँ, ४ जेठः चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ ।
    गत बिहीबार (मे १४) को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ्ने पहिलो टोली बनेको हो । उक्त टोलीमा नेपाली गाइड निङ्मा दोर्जे तामाङ र दावा नुरु शेर्पा छन् ।


    हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प २ झरेर पुनः लोत्सेको सफल आरोहण गरेको हो । उक्त टोली ‘रोप फिक्सिङ’ टोलीपछि सगरमाथा चुचुरो पहिलोपटक पुगेको थियो । एक्सपिडिसनका सञ्चालक उत्सव पाठक (८८४८.८६) मिटर उचाइको सगरमाथा र (८५१६) मिटर उचाइको लोत्से आरोहण गर्ने पहिलो टोली बनेको बताए ।


    सामान्यतया सगरमाथा चढेपछि आरोहीहरु क्याम्प ४ मै बसेर लोत्से आरोहण गर्ने भए पनि उक्त टोली भने क्याम्प २ मा झरेर पुनः लोत्सेको आरोहण गरेको हो । हिमालयन माउन्टेरियरिङ एक्सपिडिसनमार्फत हाल सगरमाथामा ६ जना र सगरमाथा तथा लोत्सेमा तीन जनाको टोली आरोहणका लागि गएको छ ।


    साथै, हिमाल आरोही कामिरिता शेर्पाले आइतबार बिहान ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् भने महिला आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको गरेर आफ्नै रेकर्ड तोडेकी छिन् ।

  • इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

    इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

    काठमाडौँ, ४ जेठ । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी इरानको किश्म टापुमा अवैध सामान तस्करी एवं ओसारपसारको आरोपमा पक्राउ परी थुनामा रहेका झाको सम्बन्धमा निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको स्पष्ट गरेको हो ।

    सो मुद्दाको निरुपण इरानको कानुनअनुसार हुने भएकाले उपलब्ध सबै माध्यमको प्रयोग गरी निजको निष्पक्ष सुनुवाइलगायत आवश्यक कानुनी प्रक्रियाका लागि कूटनीतिक पहल जारी राखिएको मन्त्रालयले जनाएको छ । इरानको स्थानीय अदालतमा सोसम्बन्धी मुद्दा विचाराधीन रहेको जानकारी दिँदै मन्त्रालयले झा थुनामै रहेको अवस्थामा यसअघि निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक भएसँगै सिर्जना भएको अन्योल र असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

    अमेरिका–इजरायल र इरानबीच गत ‘२८ फेब्रुअरी’ २०२६ मा द्वन्द्व सुरु हुनुभन्दा अघि एक महिनाअघि झासहित अन्य छ जना विदेशीलाई इरानी सुरक्षाकर्मीहरूले उक्त टापुबाट नियन्त्रणमा लिएको थियो । गत ‘अप्रिल १५’ का दिन इरानका लागि नेपाली ‘अनररी कन्सल’ शाहराम शान्तियले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएकोसम्बन्धी खबर पठाउनुभएको थियो । परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखाले झा रिहाइ भएको व्यहोरासहितको प्रतिवेदन परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईलाई बुझाएको थियो । मन्त्रालयले सोही जानकारीका आधारमा उनी जेलमुक्त भएको भनी स्पष्ट गरेको थियो ।

    परारष्ट्रमन्त्री खनालले आफ्नो सामाजिक सञ्जालबाट सो विषय विषय सार्वजनिक गरका थिए । निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको थियो । परराष्ट्रमन्त्री खनाल र मन्त्रालयका उच्च अधिकारीहरू तथा निज झाको परिवारसँग मन्त्रालयमा भएको भेटमा यस विषयमा जानकारी गराइएको मन्त्रालयले स्पष्ट गरेको छ ।

    यसै सन्दर्भमा निजलाई नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको तर नेपाली नागरिक झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको भन्ने जानकारीसमेत यसअघि नै सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

    वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

    काभ्रेपलाञ्चोक, ४ जेठ । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको जनाइएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकको तीन स्थानबाट पुनःनिर्माण भइरहेको छ । हाल दुई स्थान चारसयबेँसी र बोक्सेकुनामा अस्थायी रुपमा पुरानै सडकबाट गाडी सञ्चालन गर्न सकिने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार रोशी खोलामा बाढी आए पुरानै सडकबाट यातायात सञ्चालन गरिनेछ ।

    सम्भावित जोखिम तथा निर्माणलाई मध्यनजर गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको योगेशले बताए । “सडक पूर्वाधार स्वरूप आरसीसी पर्खाल तथा प्लम पर्खाल निर्माण भइरहेको छ, वर्षा नहुँदा निर्माण कार्यमा निकै सहज भएको छ”, उनले भने । उनका अनुसार राजमार्गको जोखिमयुक्त स्थानमा आगामी वर्षाअघि पूर्वाधार निर्माण सम्पन्न हुने र राजमार्गबाटै यातायातका साधन सञ्चालन गर्ने गरी निर्माणको गति अघि बढाइएको छ । यसअघि रोशी खोलामा बाढी आउने वित्तिकै अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

    सो पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कूल २५ प्रतिशत काम भएको छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चारमध्ये बाँकी एक खण्ड वर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडक निर्माण जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माण गर्दैछ ।

    क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको डिभिजनल प्रमुख योगशले जानकारी दिए । यस्तै, डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको छ । गतवर्ष र यसवर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ ।

    यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका स्थानमा संरचना बनाइ कालोपत्र गरिने जनाइएको छ । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।

    अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, उनले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ ।

    डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का दिइएको छ । चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँ, नेपालथोकदेखि वर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनःनिर्माणका लागि ६१ करोड रुपैयाँ ९भ्याटसहित० मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव ५ किमी सडकमध्ये वर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।

    जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेका विषय कार्यान्वयनमा जोड

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेका विषय कार्यान्वयनमा जोड

    काठमाडौँ, ४ जेठः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषय उत्कृष्ट भएकाले व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफलमा भाग लिँदै सांसदहरूले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयन नहुने विगतदेखिको समस्या अब समाधान हुनुपर्नेमा जोड दिए ।


    सांसद आशीष गजुरेलले पूर्वाधार विकासका लागि रु चार खर्ब बजेट आवश्यक पर्ने र त्यो राजश्वबाट पूर्ति नहुने बताए । डायस्पोरा पुँजी ल्याउने वातावरण नबनेकाले नीतिगत र प्रक्रियागत व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याए । लगानी बोर्डलाई पुनर्संरचना गरी निजी लगानीलाई आकर्षित गरिनुपर्नेमा उनले जोड दिए ।


    सांसद शाहजान खातुनले सांसदहरूको प्रश्नको उत्तर दिनुपर्ने सरकारका प्रमुख संसद्मा अनुपस्थित हुनु स्वाभाविक नभएको बताए । सांसद गुरुप्रसाद बरालले कति जिल्लामा कक्षा ११ र १२ मा विज्ञान विषयमा कक्षा सञ्चालन नभएकाले तत्काल विज्ञान विषय सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरे । उनले मानव संसाधन विकास बैङ्क स्थापना गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।


    सांसद परशुराम तामाङले संविधानको निर्देशक सिद्धान्त एवं सौह्रौँ योजनालाई जोडेर सिद्धान्त र प्राथमिकता आउनुपर्नेमा सोअनुसार नआएको बताए । सांसद राधिका रम्तेलले डिजिटल नेपालको कुरा गर्दा कर्णालीका विद्यालयमा अझै इन्टरनेट नपुगेकाले बजेट बनाउँदा ध्यान दिन माग गरे । सांसद सोम शर्माले राज्यबाट गरिने खर्चमा मितव्ययिता र पारदर्शिता हुनुपर्ने बताए ।


    सांसद मोहम्मद फिरदोस आलमले सहरमा सुविधा थपिँदै जाँदा गाउँमा स्वास्थ्य सुविधा पनि नपाइने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । नेपालमा उत्पादन हुने चिकित्सक र विदेश पलायन हुनेको सङ्ख्या उस्तै रहेको उनले बताए । उपचार खर्च महँगो भएकै कारण नेपाली गरिबीको रेखामुनि झर्दै गएका उनको भनाइ छ ।

    सांसद ऐनबहादुर महरले संविधानको मर्मसँग मेल नखाने किसिमले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आएको बताए । वित्तीय सङ्घीयताको स्पष्ट मार्गचित्र पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नरहेको उनको भनाइ छ । सांसद वर्षमान पुनले इगभर्नेन्सका लागि अनिवार्य रूपमा पूर्वाधारको विकास गरिनुपर्ने बताए । कृषि क्षेत्रको रुपान्तरणबाट उत्पादन र रोजगारी बढ्ने भएकाले यसतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । कृषि, उद्योग, पर्यटन, ऊर्जामध्ये कुनमा प्राथमिकता हो भन्ने पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नखुलेको उनको भनाइ छ ।

    सांसद आरेन राईले पुराना विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पनि उत्कृष्ट हुने गरेका भए पनि कार्यान्वयन नभएकाले नतिजा नआएका भन्दै अहिलेको पनि विधेयकका सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएकाले प्रभावकारी कार्यान्वयन गर्न लाग्नुपर्ने बताए । छ सय ७० मेगावाट विद्युत् उत्पादन हुने दूधकोशी हाइड्रोपावरलाई प्राथमिकता दिन उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराउनुभयो । गुणस्तरीय शिक्षा र नतिजाका लागि शिक्षा क्षेत्रमा व्यापक सुधार गरिनुपर्नेमा उनले जोड दिए ।

  • विश्वकप क्रिकेट लिग–२ स्कटल्यान्डमाथि नेपालको जित

    विश्वकप क्रिकेट लिग–२ स्कटल्यान्डमाथि नेपालको जित

    काठमाडौँ, ४ जेठः राजधानीमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ७४ रनको योगदान गरेका हुन् । इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहायतामा ५५ रन बनाउँदै मैदानबाट बाहिरिए भने आसिफ शेखले २९ रन जोड्दा कुशल भुर्तेलले २८ रन जोडे ।

    बलिङतर्फ स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिँदा ब्राण्डन म्याकमुलनले एक विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो । स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४४ बलमा छ चौका र छ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरेका हुन् । त्यसैगरी माइकल इङ्ग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए । जर्स मुन्सीले २१ रन बनाउँदा मार्क वाटले २० रन जोडे ।

    बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे । त्यस्तै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एकरएक विकेट लिए । यो जितसँगै विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोतिगामा नेपाल २२ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यता पराजित स्कटल्यान्ड भने ३८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा यथावत छ ।

  • नेप्सेमा आज पनि गिरावट

    नेप्सेमा आज पनि गिरावट

    काठमाडौँ, ४ जेठः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अङ्कले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । कुल तीन सय ३९ कम्पनीको ५८ लाख २८ हजार छ सय चार कित्ता शेयर रु दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ मूल्यमा खरिद बिक्री भएको छ ।

    कारोबार भएका कम्पनीमध्ये एक सय १९ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने एक सय ३२ कम्पनीको ओरालो लागेको छ । कुल १८ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कारोबारका आधारमा साहस ऊर्जा, रिलायान्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपी पावर कम्पनी र शिवम् सिमेन्ट शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । त्यस्तै, इङ्गवा हाइड्रोपावर, बुङ्गल हाइडङोपावर, सगरमाथा जलविद्युत् कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र प्रभु बैंकको विडेञ्चरका लगानीकर्ताले कमाएका छन् । निफ्रा ऊर्जा ऋणपत्र, एसवाई प्यानल नेपाल, पाल्पा सिमेन्ट, भगवती हाइड्रोपावर र बोटलर्स नेपालका लगानीकर्ताले भने गुमाएका छन् ।

  • करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

    करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

    कच्छ, गुजरात, ४ जेठ (रासस–एएफपी) । पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका बीच लगभग २० हजार टन खाना पकाउने ग्यास लिएर गणतन्त्र मार्शल (मार्शल टापु) को ध्वजाबाहक एलपीजी ट्याङ्कर आइतबार गुजरातको कान्डलाको दीनदयाल बन्दरगाहमा आइपुगेको छ। अमेरिकाले इरानमा आक्रमण गरेपछि बदलामा इरानले अमेरिकी सेनाका शिविरहरू र शिबिरहरू रहेका देशका अन्य संरचनामा आक्रमण थालेको थियो । यसले हर्मुज जलडमरुमध्य भएर निर्यात हुने विश्वको करिब २० प्रतिशत इन्धन तथा अन्य सामान रोकिएपछि भारतमा इन्धन सङ्कट छाएको छ।

    जहाजको आगमनले खुशी त ल्याएको छ तर यसको खतरनाक यात्राले सामान्य मानिसलाई झस्काउन सक्छ । इरानी नौसेनाको कडा निगरानी, अमेरिकी नाकाबन्दी र युद्धको खतराका बीच जहाजको सुरक्षित निकासी कुनै ठूलो सैन्य कारबाहीभन्दा कम नभएको चालक दलका सदस्यले बताएका छन् । जहाजको स्वचालित पहिचान प्रणाली (एआईएस) पनि दुश्मनको राडारबाट बच्न बन्द गर्नुपरेको उनीहरूले बताए ।

    यो राहत भारतका लागि पनि निकै महत्वपूर्ण छ किनभने युद्धका कारण देशको इन्धन भण्डारमा दबाब लगातार बढिरहेको छ । यस्तोमा यो आपूर्ति देशको भान्सा र ऊर्जा सुरक्षा दुवैका लागि निकै महत्वपूर्ण मानिन्छ । खास कुरा के छ भने जहाजले विश्वको सबैभन्दा संवेदनशील र खतरनाक समुद्री मार्गमध्ये एक ‘स्ट्रेट अफ हर्मुज’ पार गरेर यो यात्रा पूरा गरेको छ । मध्यपूर्वमा पछिल्लो ७५ दिनदेखि जारी युद्धका कारण यो समुद्री मार्ग पूर्ण रुपमा तनावमा छ ।

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले कतारको रास लाफान टर्मिनलबाट यो ग्यास खरिद गरेको थियो । जहाजमा सवार २१ जना विदेशी चालक दलका सदस्य पनि पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ । इरानी नौसेनाको कडा निगरानी र अमेरिकी नाकाबन्दीका बीच ओमानको खाडीमा यो जहाजको सुरक्षित उद्धार कुनै ठूलो मिसनभन्दा कम थिएन ।

    स्रोतका अनुसार युद्धक्षेत्र हुँदै जाँदा जहाजले निकै सावधानी अपनाएको थियो । जहाजको ‘अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम’ अर्थात् एआईएसलाई दुश्मनको राडार र सर्भिलेन्स मेकानिजमबाट बच्न अस्थायी रुपमा बन्द गरिएको थियो । आइएस बन्द भएपछि उक्त जहाज इरानको लाराक टापुको पूर्वी भागबाट निकै सावधानीका साथ अघि बढेको थियो । यही कारण जहाज कुनै पनि प्रकारको निगरानी वा आक्रमणको चपेटामा नपरी सुरक्षित रूपमा भारतीय सीमामा पुग्न सक्थ्यो ।

    यो सम्पूर्ण अभियानलाई सफल बनाउन भारत सरकार र सम्वद्ध मन्त्रालयले महत्वपूर्ण भूमिका खेलेका छन् । स्रोतका अनुसार जहाजलाई कुनै पनि गोलाबारी वा सैन्य कारबाहीबाट टाढा राख्नका लागि चौबीसै घण्टा निगरानी भइरहेको छ । मार्च महिनाको सुरुदेखि स्ट्रेट अफ हर्मुज पार गरेर भारत पुग्ने यो १३ औं जहाज हो ।

    भियतनामको अर्को ट्याङ्कर ‘एनवी सनशाइन’ पनि त्यही समुद्री मार्गबाट भारततर्फ जाँदैछ । ट्याङ्कर न्यू मङ्गलोर बन्दरगाहमा पुग्नेछ । यस्तोमा आगामी दिनमा भारतलाई खाना पकाउने ग्यासको आपूर्तिमा केही राहत मिल्न सक्ने विश्वास गरिएको छ। वास्तवमा पश्चिम एसियामा जारी युद्धको प्रभाव भारतको ऊर्जा भण्डारमा पनि स्पष्ट देखिन्छ । देशको रणनीतिक कच्चा तेलको भण्डारमा करिब १५ प्रतिशतले गिरावट आएको छ ।

    तथ्याङ्क अनुसार भारतको तेल भण्डार १०।७ मिलियन ब्यारेलबाट घटेर ९.१ मिलियन ब्यारेलमा झरेको छ । यही कारण केन्द्र सरकारले लगातार ऊर्जा बचतमा जोड दिइरहेको छ । हालै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशवासीलाई पेट्रोल र डिजेलको विवेकपूर्ण प्रयोग गर्न र इन्धन बचाउन अपिल गर्नुभएको थियो । विश्लेषकहरुका अनुसार यदि मध्यपूर्वमा तनाव थप बढ्यो भने भारतसहित विश्वका धेरै देशका लागि ऊर्जा आपूर्ति ठूलो चुनौती बन्न सक्छ । अहिले मार्सलको ध्वजाबाहक जहाजको भारतमा सकुशल आगमन भारत सरकार र ऊर्जा क्षेत्रका लागि ठूलो सफलता मानिएको छ ।