Category: फिचर

  • कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

    कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

    किन्शासा (कङ्गो), ३ जेठ (रासस–क्युएनए) । लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कङ्गोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तिमा २४६ वटा शंकासस्पद केसहरुमा निगरानी गरिरहेको बताएका छन् ।

    प्रकोपको प्रतिक्रियामा, कङ्गो सरकारले भाइरसको फैलावट रोक्न मद्दत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ । यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु, र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनाथ गर्ने लगायतका कार्य गरेको जनाएको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसि) ले उत्तरपूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो ।

  • भारतको हैदरावादमा ‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’

    भारतको हैदरावादमा ‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’

    हैदरावाद, ३ जेठ (रासस–एएनआई) । चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले भने, “तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रूपैयाँ प्रोत्साहन दिइनेछ।” चन्द्रबाबुले भन्नुभयो, “धेरै मानिसहरुलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन ।”

    दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि जनसङ्ख्या नियन्त्रण र यसको परिणामबारे कुनै न कुनै रूपमा आवाज उठाउँदै आएका छन्। चन्द्रबाबु नायडु र तमिलनाडुका पूर्व मुख्यमन्त्री एमके स्टालिनले विगत केही वर्षदेखि लगातार यस विषयलाई विशेष चासो दिएर पहल गर्न जोड दिने गरेको पाइन्छ ।

    मुख्यमन्त्री नायडुले विगतमा धेरै पटक ‘दक्षिणी राज्यहरूमा युवाहरूको सङ्ख्या बिस्तारै घटिरहेको छ र वृद्धहरूको सङ्ख्या बढिरहेको’ यसलाई सम्बोधन गर्न पहल थाल्न ढिलो गर्नुनहुने बताउँदै आएका छन् । उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए ।

  • मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

    मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

    सुरेश झा\रासस
    जनकपुरधाम, २ जेठः मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी÷एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी÷एड्सका बिरामी छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन् । प्रदेशअन्तर्गत धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् ।

    निर्देशनालयका एचआइभी÷एड्स फोकल पर्सन राजवीर यादवका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा मधेस प्रदेशमा १४ हजार जनाको एचआइभी परीक्षण गरिएको थियो । उक्त सङ्ख्या बढेर आर्थिक वर्ष २०८१\८२ सम्ममा ७६ हजार ७९२ पुगेको छ । आर्थिक वर्ष २०७५\७६ मा ४००, २०७७\७८ मा ४७५, २०७८\७९ मा ६७५, २०७९\८० मा ६०६, २०८०\८१ मा ५१० तथा २०८१\८२ मा ४७९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।


    चालु आर्थिक वर्षमा १६ जना गर्भवती महिलामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा समेत सङ्क्रमण सर्न सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मधेस प्रदेशमा १८ वर्षमुनिका १७५ बालबालिकामा एचआइभी सङ्क्रमण रहेको छ । तीमध्ये ४७ जना एकल अभिभावकविहीन तथा २० जना पूर्ण अनाथ रहेका छन् । सङ्क्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पोषणका लागि मासिक रु एक हजार नगद सहायता उपलब्ध गराइँदै आएको छ ।

    मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषधको प्रयोग, असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । प्रदेशमा हाल १० वटा सरकारी तथा एउटा गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा छन् । एचआइभी परीक्षण तथा परामर्श सेवा, भाइरल लोड परीक्षण तथा प्रारम्भिक शिशु परीक्षण सेवा आठै जिल्लामा उपलब्ध छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट नियन्त्रणका प्रयास भइरहे पनि समस्या समाधानमा अपेक्षित सुधार नभएको सर्लाहीका जनस्वास्थ्य अधिकृत नवलकिशोर झाले बताए ।

  • नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

    नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

    काठमाडौँ, २ जेठः बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरेको छ । नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

    त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवद्र्धन गर्नुका साथै नेपाल र बङ्गलादेशबीच विद्यमान साङ्गीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनु हो भने । उनले साझा सांस्कृतिक सम्पदाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको र जनस्तरको सम्बन्ध तथा आपसी समझदारीलाई निरन्तर मजबुत बनाइरहेको उल्लेख गरे ।


    कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका संस्कृति मामिलामन्त्री निताइ रोयचौधरीले महोत्सवको प्रशंसा गर्दै यसले नेपाल र बङ्गलादेशका जनतालाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक तथा जनस्तरको आदानप्रदानमार्फत मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने बताए ।


    बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक एसके रेजाउद्दिन अहमद, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल तथा बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोसिउर अहमदले पनि मन्तव्य व्यक्त गरेका थिए । साथै, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकार, बङ्गलादेश शिल्पकला एकेडेमीका कलाकार तथा बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सोरठी, सङ्ख्या, लाठी, सालैजो–झ्याउरे तथा कौरालगायत नेपाली मौलिक नृत्य तथा सङ्गीत प्रस्तुत गरिएको थियो । बङ्गलादेशी कलाकारले नेपाली नृत्य र नेपाली गजलका साथै आफ्ना लोकनृत्य तथा साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । महोत्सवमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संस्कृति तथा पाककला पारखी, नेपालका शुभेच्छुक, सञ्चारकर्मी तथा बङ्गलादेशस्थित नेपाली समुदायको सहभागिता थियो ।

  • चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

    चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

    दमौली ९तनहुँ०, २ जेठः मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए । उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ ।

    इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउनमा सम्झौता भएको थियो । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछन् । पुलको वारिपारी दुई÷दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेका छन् । उनका अनुसार फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ । उनले भने, “मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम भइरहेको छ ।”

    इन्जिनियर पाण्डेका अनुसार रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो । निर्माण कम्पनी अन्नक जेडआइष्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठले थपिएको म्यादभित्रै काम सम्पन्न गराउन आफूहरू लागिपरेको बताए । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

  • ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

    ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

    काठमाडौँ, २ जेठः नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिएको छ । राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई श्रव्यदृश्यका माध्यमबाट शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त कुरामा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार मन्त्री खनालले वैश्विक ऊर्जा तथा आपूर्ति शृङ्खलामा आइरहेका अवरोधहरु र त्यसले दिगो विकासमा पार्ने असरहरुबारे मन्तव्य व्यक्त गर्दै पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताए ।

    मन्त्री खनालले भने, “पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने २० लाखभन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले जीवनमा प्रत्यक्ष असर पारिरहेको छ ।” द्वन्द्वका कारण उत्पन्न सङ्कटमा सबैभन्दा बढी भार साना र अतिकम विकसित राष्ट्रहरुलाई परेकाले ती देशलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तरराष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताए ।

  • मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

    मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

    कास्की, २ जेठः मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो । सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए । उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो ।

    अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए । “अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन । हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ । चार घण्टासम्म कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ,” तामाङले भने ।


    मर्दीको लोक्याम्पमा बास बसेर भोलिपल्ट समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्युपोइन्ट पुगेका उनी ‘टिसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएका थिए । भिक्षु साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी गरेका थिए । दुई दिनसम्म खोजी गर्दा पनि हराएका व्यक्ति फेला परेका थिएनन् । शनिबार सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितले पुनः खोजी अघि बढाएका थिए ।

  • दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

    दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

    काठमाडौँ, २ जेठः महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव दिएको छ । आन्तरिक उत्पादन, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अवलम्बन गर्नुपर्ने कार्यालयको सुझाव छ ।
    कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार वैश्विक आर्थिक अस्थिरता, प्राकृतिक विपद् तथा बाह्य जोखिमका सम्भावित प्रभावलाई ध्यानमा राखी आर्थिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने दबाव न्यूनीकरण गर्न पूर्वतयारी र जोखिम व्यवस्थापन प्रणाली सदृढ गर्नुपर्ने सुझाव छ ।

    यस्तै, नगदमा आधारित आर्थिक गतिविधिलाई क्रमशः न्यूनीकरण गर्दै ‘डिजिटल’ भुक्तानी प्रणाली विस्तार गरी औपचारिक अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि डिजिटल सार्वजनिक पूर्वाधार निर्माण तथा विकासमा जोड दिँदै सबै प्रकारका कारोबारमा बिल बीजक लिने दिने व्यवस्था लागू गर्नुपर्ने सुझाव दिइएको छ । यसैगरी पर्यटन क्षेत्रबाट वैदेशिक लगानी र मुद्रा आर्जनमा वृद्धि गर्न पूर्वाधार विकास, सेवाको गुणस्तर सुधार, गन्तव्य पहिचान एवम् विविधकरण र निजी लगानी प्रोत्साहन गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ ।

  • कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

    कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

    काठमाडौँ, २ जेठः सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ । सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए । उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

  • चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना

    चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना

    काठमाडौँ, २ जेठः सरकारले चिनीमा परनिर्भर हुनुपर्ने विद्यमान अवस्था अन्त्यका लागि उन्नत जातका उखुमार्फत उत्पादन वृद्धिको योजना अघि सारिएको स्पष्ट पारेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत नेपालमा सञ्चालित चिनी उद्योगको उत्पादन क्षमता अभिवृद्धिका लागि सबै पक्षको समन्वयमा किसानलाई उखु खेतीमा आधुनिक प्रविधिको प्रयोगका सम्बन्धमा सहजीकरण गर्ने तयारी भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    भारत सरकारले हालै चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको परिस्थितिका बीच सरकारले उक्त तयारी थालेको हो । आम उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धताका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले हालै नेपाल चिनी उत्पादक सङ्घका पदाधिकारी र सरोकारवाला मन्त्रालयरनिकायका प्रतिनिधिसँग छलफल गरेको मन्त्रालयले जनाएको छ ।

    सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको छ । उद्योगीहरूले पनि बजारमा चिनीको सहज तथा सुलभ मूल्यमा नियमित आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । बजारमा चिनीको अभाव हुन नदिन आपूर्ति मन्त्रालयले उत्पादन प्रवद्र्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । उद्योगी–व्यवसायीले उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, स्वच्छ बजार र उपभोक्ता हित संरक्षणमा सहयोग पुर्‍याउनेछन् ।

    आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राखे चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध रहेको आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । नेपालमा सञ्चालित चिनी उद्योगमा भएको मौज्दात तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरेको चिनीले करिब आठ महिनाको माग पूरा उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपभोक्ता एवम् सरोकारवालामा चिनीको अनावश्यक सञ्चिति नगर्न तथा चिनीको उपलब्धता र आपूर्ति सम्बन्धमा कुनै किसिमको अन्योलमा नपर्न पनि अनुरोध गरेको छ ।

  • प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

    प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

    काठमाडौँ, २ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सुर्खेत घर भई काठमाडौँको शङ्खमुल बस्ने वर्ष २२ का प्रकाश खड्कालाई पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनकारी दिए ।


    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत उनले धम्की दिएको अडियो सार्वजनकि भएको थियो । उक्त अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।


    जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

    कुनै पनि व्यक्तिले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेमा त्यस्ता भ्रममा नपर्न पनि कार्यालयले अनुरोध गरेको छ । त्यस्ता शङकास्पद फोन, सन्देश वा संवादहरू आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन पनि भनिएको छ ।

  • प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

    प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

    काठमाडौँ, २ जेठः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा बढी सहायक कम्पनीमा प्रतिनिधित्व गराइएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्राधिकरणले विभिन्न कम्पनी स्थापना गरी सञ्चालन गर्दै आएको छ । ती कम्पनीमा कार्यकारी निर्देशक अध्यक्ष रहने व्यवस्था छ । उच्च तहका कर्मचारी सञ्चालकका रूपमा कार्यरत छन् । त्यसरी सञ्चालक नियुक्ति गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ । सो प्रावधानको ख्याल नगरि गरिएका नियुक्तिमा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

    प्राधिकरण ऐन, २०४१ अनुसार शेयर लगानी गर्दा सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ । सरकारको स्वीकृतिबिना ३५ निकायमा रु ५६ अर्ब आठ करोड ६० लाख बराबरको शेयर लगानी गरिएको छ । प्राधिकरणले विभिन्न कम्पनी स्थापना गरेको छ । त्यसमा सब्सिडिएरी, एशोसिएट तथा अन्य कम्पनी छन् ।

    गण्डकी प्रदेशका दुई मन्त्रालयबाट सङ्घीय सरकारको स्वीकृति नलिई रु ३८ करोड १३ लाख बराबरको रकम प्राप्त गरेकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्राधिकरणले २५३ स्वतन्त्र ऊर्जा उत्पादकसँग १६ हजार २७ मेगावाट बराबरको विद्युत् खरिद प्रक्रियामा तय गरिएको योजना र वास्तविक विद्युत् उत्पादनको तुलना गर्दा अधिकांश महिनामा योजनाभन्दा उत्पादन भएकाले प्राधिकरणलाई रु २६ करोड ८८ लाख किलोवाट घण्टा विद्युत् उत्पादन कम भएको देखिन्छ ।

    उत्पादनमा कमी भएकाले मित्रराष्ट्रबाट थप विद्युत् आयात गर्नुपरेको महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनमा जनाइएको छ । त्यसका लागि अनुमानित रु एक अर्ब २२ करोड ७९ लाख बराबरको व्ययभार पर्न गएको छ । सुक्खा महिनामा आयातित बिजुलीमा भर पर्नुपर्ने अवस्था छ । नदी प्रवाही प्रकृतिका आयोजनाबाट उत्पादित बिजुली बर्षायाममा खेर जाने र हिउँदामा प्राप्त नहुने अवस्था रहनुलाई पनि महालेखापरीक्षकको कार्यालयलले जिज्ञासा राखेको छ ।

    यसरी प्राधिकरणलाई घाटा भइरहेको विषयलाई ध्यान दिई व्यावसायिक विद्युत् योजनासहित खरिद सम्झौता गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ । यसैबीच प्राधिकरणले समयमा पोल नसर्दा सडक निर्माणको लागत बढ्न गएको समेत महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनमा उल्लेख छ । सडक विभाग र प्राधिकरणबीच २०७९ वैशाख १६ गते भएको सम्झौतामा राजमार्ग विस्तारका क्रममा साविकका पोल स्थानान्तरण, विद्युत् प्रणालीको सुदृढीकरण गर्दा नयाँ लाइन निर्माण गर्नुपर्ने भए सो को खर्च प्राधिकरणले गर्ने उल्लेख छ ।

    काँकडभिट्टा लौकहीखण्डको ११० किलोमिटर सडकको पुराना संरचना हटाउँदा रु ८८ करोड ६२ लाख बराबरको खर्च हुने देखिन्छ । त्यसमा नयाँ पोल राख्ने र पुरानो हटाउँदा रु ११ करोड ९८ लाख बराबरको रकम आयोजनाले व्योहोर्ने र बाँकी प्राधिकरणले खर्च गर्ने उल्लेख छ । सो सडक खण्डका तीन वटा ठेक्का प्याकेजबाट रु ७६ करोड ९० लाख अर्थात् ८६ दशमलव ७८ प्रतिशत रकम सडक आयोजनाले बेर्होने गरी सम्झौता भएको छ ।

    नयाँ संरचना बनाउँदाको सम्पूर्ण खर्च आयोजनाको लागतमा समावेश हुँदा थप महँगो हुन गएको छ । आयोजनाको लागत बढ्न गएको तथा प्राधिकरणसँगको सम्झौता कार्यान्वयन नभएकामा महालेखाले प्रश्न उठाएको छ । हुलाकी राजमार्गअन्तर्गत बर्दियाको मैनापोखरदेखि गुलरिया सडकखण्डमा पर्ने विद्युत् लाइन स्थानान्तरण कार्यका लागि पुराना पोल हटाउँदा त्यस्तै भएको छ । नयाँ पोल खरिद, पुरानो स्थानान्तरण, केबल, ट्रान्सफर्मरलगायतका सामग्री र ज्याला एवं ढ्वानीका लागि रु ९२ लाख ११ हजार भुक्तानी भएको छ ।

    दुई सय ६४ पोल स्थानान्तरण र १९५ पोल खरिद गरिएको छ । सम्झौताविपरीत विद्युत् लाइन सुदृढीकरणका लागि प्राधिकरणबाट गरिनुपर्ने खर्च आयोजनाबाट भुक्तानी गरिनु उचित नभएको महालेखापरीक्षकको कार्यालयले प्रतिवदेनमा उल्लेख गरेको छ ।

  • अमेरिकामाथि नेपालको सहज जित

    अमेरिकामाथि नेपालको सहज जित

    काठमाडौँ, २ जेठः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेट्टिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए ।

    यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव तीन ओभरमा १९५ रन बनाएको थियो । नेपालले एक विकेट गुमाउँदै ३६ दशमलव चार ओभरमा लक्ष्य पूरा ग¥यो । अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एक÷एक विकेट लिए ।

    अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए । उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन् । शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रदार गर्दै ५० रन बनाएर आउट भएका हुन् । यो जितसँगै सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । छैटौँ स्थानमा रहेको क्यानडाको २१, पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अङ्क छ । खेल तालिकाको अन्तिममा रहेको युएईले १४ अङ्क बनाएको छ भने स्कटल्यान्ड ३८ अङ्कसहित खेल तालिकाको अग्र स्थानमा छ ।

  • लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    नवीन पौडेल–रासस
    काठमाडौँ, २ जेठः हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ ।

    कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ । गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन् ।

    क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । “भुजुङ पर्यटकको रोजाइमा पर्न थालेको छ”, उनले भने, “विशेषगरी गुरुङ संस्कृति, मौलिक परिकार र प्राकृतिक जीवनशैली अनुभव गर्न आउने पर्यटकको सङ्ख्या बढिरहेको छ ।” गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास (होमस्टे)बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् ।

    गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ । स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताउनुभयो । गाउँपालिकाले भुजुङको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उहाँको भनाइ छ ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ । “पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ”, उनले भने । आयोजनाले लघुजलविद्युत् सञ्चालन, चियाबारी व्यवस्थापन तथा सरसफाइ अभियानमा स्थानीयलाई सहयोग गर्दै आएको छ । “गाउँलेसँग हातेमालो गरेर वातावरण संरक्षण र पर्यटन विकासमा सँगसँगै काम गरिरहेका छौँ”, रेग्मीले भने ।
    स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताइन् । “ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, माछा, खसी, गाउँकै सागपात, निगुरो र अचार पाहुनाले मन पराउनुहुन्छ”, उनी थप्छिन्, “स्थानीय स्वाद र आत्मीय व्यवहारकै कारण धेरै पाहुना फेरिफेरि आउनुहुन्छ ।”

    भुजुङ केबल प्राकृतिक सौन्दर्यका कारण मात्र चर्चित छैन, यो गाउँ गुरुङ संस्कृतिको जीवित सङ्ग्रहालयका रूपमा पनि परिचित छ । यहाँ स्थानीय लोपोन्मुख सांस्कृतिक नृत्य अझै जोगाइएका छन् । विशेष अवसर र पर्यटकीय मौसममा स्थानीय युवा तथा अग्रज मिलेर सांस्कृतिक प्रस्तुति देखाउने गर्छन् । स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष नौराजगुरुङका अनुसार असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखमा पर्यटकको चाप बढी हुन्छ । “सिजनमा घरबास भरिभराउ हुन्छ”, गुरुङ भन्छिन्, “विदेशीभन्दा आन्तरिक पर्यटक अहिले बढी आउन थालेका छन ।”

    भुजुङ पुगेका पर्यटकलाई गाउँको शान्त वातावरण, गुरुङ संस्कृति र आतिथ्यले आकर्षित गर्ने गरेको छ । काठमाडौँबाट घुम्न आउनुभएका सरस्वती गोतामेले गाउँमा पुग्दा आफूले पुरानो नेपाली जीवनशैली नजिकबाट अनुभव गर्न पाएको अनुभव सुनाइन् । “यहाँको वातावरण निकै शान्त र स्वच्छ छ, सहरको भीडभाडबाट टाढा केही दिन बस्नका लागि भुजुङ उत्कृष्ट गन्तव्य रहेछ”, उनले थपिन् । व्यवस्थित सडक हुने हो भने यहाँ पर्यटकको चाप बढ्ने उनको धारणा छ ।

    गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् । कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवद्र्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् ।

    प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ ।

  • आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    रासस
    महोत्तरी, २ जेठः मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रुपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।

    सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्षको फेदमा बर्तालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्छन् ।

    बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने भोलिदेखि अधिकमास सुरु हुने हुँदा भोलिको सूर्योदय हुनअगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउँछन् । सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ गरिन्छ ।

    साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ । प्राचीन पर्व संस्कृतिको जगेर्नासँगै यो पर्व आपसी भेटघाट र सँगसाथ खुलेर कुराकानी गर्ने अवसर पनि भएको बर्दिबास–९ पशुपतिनगरकी दुलारी ठाकुर बताउँछिन् ।


    मिथिलामा केही दशक पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका छन् । मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन् । पर्वले सांस्कृतिक एकता र परम्पराको जगेर्नाको सन्देश दिने उनको भनाइ छ ।

  • आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

    आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

    काठमाडौँ, २ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल जारी छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर बोर्डमा १९५ रन जोडेको छ । अब नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ । अमेरिकाका लागि समिट पटेलले ८३ र शेहान जयसूर्याले ५० रनको योगदान गरे ।

    मिलिन्द कुमारले २८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिएनन् । बलिङमा दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । सोमपाल कामीको नाममा दुई विकेट रह्यो । अब नेपाल जवाफी ब्याटिङमा निस्कने तयारीमा छ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

    नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

  • केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

    काठमाडौँ, २ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ ।

    कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भू–भागका र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

  • भक्तपुरमा आमा-हजुरआमाले गरे एसईई उत्तिर्ण

    भक्तपुरमा आमा-हजुरआमाले गरे एसईई उत्तिर्ण

    भक्तपुर, २ जेठः पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छिन् । उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाडेकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पुरा गरिदिएको छ । अधूरो शिक्षालाई जोड्दै उच्च शिक्षा पढ्ने चाहना बोक्नु भएकी राईले उक्त विद्यालयमा कक्षा आठमा आएर भर्ना भएर पढाइलाई निरन्तरता दिँदा यसवर्षको एसइई परीक्षामा सफलता हात परेको छ ।

    अष्ट्रेलियामा बसेको छोराको परिवारमा १०० वर्षकी सासुलाई घुमाउन लिएर गएकी राईले अष्ट्रेलियामा रहँदा नै आफू एसइई उत्तिर्ण भएको खबरले खुसी हँुदै हरेश नखाई निरन्तरको मिहेनतले सफलता दिन्छ भन्ने भनाइ चरितार्थ भएको बताइन् । विद्यालयकी निमित्त प्रधानाध्यापक बिना देउजाले राई मात्रै नभई यसवर्ष आठ जना आमा, हजुरआमाले एसइई परीक्षामा सफलता हात परेको बताइन् । उनले एकसाता पछि नेपाल फर्किएर राईले कक्षा ११ अध्ययन गर्ने चाहना व्यक्त गरेको बताइन् ।


    यसवर्ष राईसँगै ५९ वर्षीया राधिकादेवी आचार्य, ४२ वर्षीया ललिता आले मगर, २९ वर्षीया सुष्मा खड्का, २८ वर्षीया निर्मला चेपाङ, २२ वर्षीया रस्मी ऐरी, ४३ वर्षीया कृष्णमाया तको र ४१ वर्षीया कुमारी तामाङले पनि यस पटकको एसइई परीक्षा उत्तिर्ण गरेका उनले जानकारी दिइन् । उनले भनिन्, ‘यसवर्ष आठ जना आमा हजुरआमाले एसइई परीक्षा उतीण गर्नु भएको छ, यसअघि पनि हरेक वर्ष आमा, हजुरआमाले एसइई उत्तिर्ण गर्नु भएको थियो, कतिपय आमा, हजुरआमाले कक्षा १२ उत्तिर्ण गरेका छन् । पढ्ने रहर र चाहनालाई उमेरले छेक्दैन भन्ने उदाहरण हाम्रो विद्यालयमा धेरै छन् ।’

    पढ्ने उमेरमा विद्यालय र कक्षाकोठा कहिल्यै नदेखेकी बारा जिल्ला निजगढ घर भएकी ललिता आले मगरले ४२ वर्षको उमेरमा एसइई परीक्षा उत्तिर्ण गरिन् । आर्थिक अवस्था कमजोर भएका कारण स्कुल छाडेर गोठालो जाँदा थाति राखेको पढ्ने रहरलाई पुरा गर्नु भएकी मगरले कक्षा ११ भर्ना हुने बताउँछिन् । चौध वर्षकै उमेरमा विवाह गरेकी उनले ड्राइभिङ सिकेर गाडीको लाइसेन्स लिएर बनेपाको सलाई उद्योगको डेलिभरी भ्यान चलाएपछि चार वर्ष दुवई र दुई वर्ष कुवेत बसेर नेपाल फर्किएको आलेमगर एसइई पास भएपछि अब कक्षा ११ पढ्ने बताउँछिन् ।


    बिचमै पढाइ छाडेर पढ्ने रहर पुरा नगरेका महिलाहरुका लागि २०६५ सालमा स्थापना भएको विद्यालयबाट १७ वर्षे किशोरीदेखि ७२ वर्षकी हजुरआमासम्मले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेको उनी बताउँछिन् । विभिन्न कारणले विद्यालय जानबाट वञ्चित भएका महिलालाई औपचारिक शिक्षा दिएर विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताउदै उनले १२ वर्षको अवधिमा १६० जना आमा, हजुरआमाले एसएलसी र एसइई परीक्षा उत्तिर्ण गरिसकेको निप्रअ देउजा बताउँछिन् ।


    विद्यालयबाट एसइई उत्तिर्ण गर्ने एक दर्जनबढीले स्नातकसम्मको अध्ययन पुरा गरेर समाजमा स्थापित भएको पाउँदा निकै खुसी लाग्ने गरेको बताउदै उनले विद्यालयमा भक्तपुरका ग्रामिण क्षेत्रदेखि उपत्यका र विभिन्न जिल्लाबाट जिल्लाबाट विद्यार्थी आउने गरेको देउजाले बताइन् । धादिङ घर भएकी २८ वर्षीया निर्मला चेपाङको परिवारमै पहिलो पटक एसइई उत्तिर्ण गर्ने महिला हुन् । मध्यपुरथिमि–३ कौशलटारमा अर्काको घरमा काम गर्दै चेपाङले छ वर्ष आस्था महिला विद्यालयमा पढेर यसवर्ष एसइई उत्तिर्ण गरेकी हुन् ।

  • पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

    पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

    मुग्लिन (चितवन), २ जेठः तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालेको छ ।


    जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ । अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले बताए ।


    बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ । पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रमुख पाण्डेले बताए । कर्णाली प्रदेशका १० वटै जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि क्रमशः नियमित रूपमा यस्तो जाँच गरिने उनले बताए ।

  • बाख्रा चराउन गएका महिलाहरुमाथि कुटपिट गरी सुन लुटपाट

    बाख्रा चराउन गएका महिलाहरुमाथि कुटपिट गरी सुन लुटपाट

    राँझा (बाँके), २ जेठः बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ । अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारुमाथि आक्रमण गरी सुन लुटपाट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरुले डेढ तोलाभन्दा बढी सुन लुटेका छन् ।

    घाइते महिलाको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल लगिएको छ । अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । घाइते सबैको नेपालगन्जस्थित संजिवनी अस्पतालमा उपचार भइरहेकोे छ । प्रवक्ता पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका जानकारी दिए । राप्तीसोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

  • कङ्गोमा फेरि फैलियो इबोला

    कङ्गोमा फेरि फैलियो इबोला

    किन्शासा, २ जेठ (रासस–एपी) । कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार हालसम्म २४६ वटा संदिग्ध सङ्क्रमण देखिएको छ भने कम्तीमा ६५ जनाको मृत्यु भइसकेको छ । सीमित स्वास्थ्य पहुँच, असुरक्षा र सीमापार आवागमनका कारण रोग अझ फैलिन सक्ने जोखिम बढेको भन्दै क्षेत्रीय समन्वय तीव्र पारिएको छ । अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)ले शुक्रबार जारी गरेको वक्तव्यमा अधिकांश मृत्यु तथा संदिग्ध सङ्क्रमण मोङ्गवालु र रुवाम्पारा स्वास्थ्य क्षेत्रमा फेला परेको जनाएको छ ।

    इबोला अत्यधिक सङ्क्रामक भाइरस हो । यो बान्ता, रगत, वीर्य वा अन्य शारीरिक तरल पदार्थमार्फत सर्न सक्छ । यसले गम्भीर र प्रायः ज्यानै जाने प्रकृतिको रोग निम्त्याउने भएकाले स्वास्थ्य अधिकारीहरूले यसलाई अत्यन्त संवेदनशील प्रकोपका रूपमा लिएका छन् । एजेन्सीका अनुसार प्रयोगशालाबाट पुष्टि भएका बिरामीमध्ये चार जनाको मृत्यु भइसकेको छ । साथै इटुरी प्रान्तको राजधानी बुनियामा पनि केही संदिग्ध सङ्क्रमण देखिएको बताइएको छ, यद्यपि ती अझै पुष्टि हुन बाँकी छन् ।
    प्रारम्भिक परीक्षणका क्रममा जाँच गरिएका २० नमूनामध्ये १३ वटामा इबोला भाइरस पुष्टि भएको अफ्रिका सीडीसीले जनाएको छ । यो प्रकोप कङ्गोमा अघिल्लो इबोला महामारी अन्त्य भएको घोषणा गरिएको करिब पाँच महिनापछि देखिएको हो । त्यसअघिको प्रकोपमा ४३ जनाको मृत्यु भएको थियो । इटुरी प्रान्त कङ्गोको पूर्वी दुर्गम क्षेत्रमा पर्छ, जहाँ सडक सञ्जाल कमजोर छ र राजधानी किन्शासाबाट एक हजार किलोमिटरभन्दा बढी दूरीमा रहेको छ । यातायात र स्वास्थ्य पूर्वाधार कमजोर भएकाले त्यहाँ रोग नियन्त्रण थप कठिन बन्ने चिन्ता व्यक्त गरिएको छ ।

    अफ्रिका सीडीसीले तीव्र जनसङ्ख्या आवागमन, मोङ्गवालु क्षेत्रमा हुने खानी गतिविधि, असुरक्षा अवस्था, सम्पर्कमा आएका व्यक्तिको पूर्ण सूची तयार गर्न नसकिएको अवस्था तथा नियन्त्रणसम्बन्धी चुनौतीहरूले रोग थप फैलिन सक्ने जोखिम बढाएको जनाएको छ । युगान्डा र दक्षिण सुडानसँग प्रभावित क्षेत्रको भौगोलिक निकटताले सीमापार सङ्क्रमणको खतरा पनि बढाएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

    यसै कारण अफ्रिका सीडीसीले शुक्रबार कङ्गो, युगान्डा र दक्षिण सुडानका स्वास्थ्य अधिकारीहरूसँग संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूलाई समेटेर उच्चस्तरीय समन्वय बैठक बोलाएको छ । एजेन्सीका अनुसार बैठकमा तत्काल प्रतिकार्य योजना, सीमापार समन्वय, निगरानी, प्रयोगशाला सहयोग, सङ्क्रमण रोकथाम, जोखिम सञ्चार, सुरक्षित र सम्मानजनक अन्त्येष्टि तथा आवश्यक स्रोत परिचालनका विषयमा विशेष ध्यान केन्द्रित गरिनेछ ।

    सन् १९७६ मा पहिलोपटक इबोला पुष्टि भएयता कङ्गोमा यो १७औँ प्रकोप हो । सन् २०१८ देखि २०२० सम्म पूर्वी कङ्गोमा फैलिएको इबोलाले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । त्यसभन्दा अघि सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको ठूलो इबोला महामारीमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो क।

    नयाँ प्रकोपले पहिले नै हिंसा र अस्थिरतासँग जुधिरहेको कङ्गोका लागि थप चुनौती सिर्जना गरेको छ । देशको पूर्वी क्षेत्रमा एम–२३ विद्रोही समूहसहित विभिन्न सशस्त्र समूह सक्रिय छन् । एम–२३ ले गत वर्षदेखि तीव्र आक्रमण गर्दै केही महत्त्वपूर्ण सहर कब्जा गरेको थियो । विशेषगरी इटुरी क्षेत्रमा इस्लामिक स्टेटसँग सम्बन्धित मानिने एलाइड डेमोक्रेटिक फोर्स समूहको हिंसात्मक गतिविधिले पनि स्थानीय अवस्था असुरक्षित बनाएको छ । यस समूहको आक्रमणमा पूर्वी कङ्गोका विभिन्न क्षेत्रमा दर्जनौँ मानिस मारिइसकेका छन् ।

    अफ्रिकाको दोस्रो ठूलो भूभाग भएको कङ्गोले स्वास्थ्य सङ्कटका बेला बारम्बार रसद र पहुँचसम्बन्धी समस्या झेल्दै आएको छ । गत वर्षको तीन महिने इबोला प्रकोपका क्रममा पनि विश्व स्वास्थ्य सङ्गठनले सीमित पहुँच र अपर्याप्त बजेटका कारण खोप वितरणमा गम्भीर कठिनाइ सामना गर्नुपरेको थियो ।

  • ट्रम्प–सीबीच व्यापार सहमति

    ट्रम्प–सीबीच व्यापार सहमति

    बेइजिङ, २ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरेका छन् । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिए ।

    बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताए । फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा सीसँग सँगै हिँड्दै ‘दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरू सम्पन्न भएको’ उल्लेख गरे ।


    ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित बेइजिङ भ्रमण गरेका थिए । साथै मध्यपूर्वको तनावपूर्ण अवस्थादेखि विश्वव्यापी रणनीतिक मतभेदसम्मका विषयमा संवाद कायम राख्ने प्रयास पनि भ्रमणको प्रमुख एजेन्डामा रहेको बताइएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमणलाई ‘माइलस्टोन’ अर्थात् ऐतिहासिक महत्त्वको भ्रमणका रूपमा वर्णन गर्दै दुवै देशले ‘रचनात्मक रणनीतिक स्थिरतामा आधारित नयाँ सम्बन्ध’ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भविष्यमा सम्बन्धलाई थप सन्तुलित र स्थिर बनाउने दिशामा सहकार्य जारी रहने विश्वास व्यक्त गरे । सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसको रोज गार्डेनका लागि चिनियाँ फूलका बिउ पठाउने वाचा पनि गरेका थिए । यसलाई दुई नेताबीचको व्यक्तिगत सम्बन्धलाई मैत्रीपूर्ण बनाउन गरिएको साङ्केतिक पहलका रूपमा हेरिएको छ ।

    शिखर सम्मेलनको पहिलो दिनपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सी जिनपिङ अमेरिकी पक्षका धेरै प्राथमिकतामा सकारात्मक देखिएको बताए । उनका अनुसार चीनले अमेरिकी बोइङ कम्पनीका ‘२०० वटा ठूला जेट विमान’ खरिद गर्ने समझदारी जनाएको छ । यद्यपि यसबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन । ट्रम्पले चीनले अमेरिकी तेल र सोयाबिन खरिदमा पनि रुचि देखाएको जानकारी दिए । पछिल्ला वर्षहरूमा व्यापारिक कर र द्विपक्षीय तनावका कारण चीनले अमेरिकी कृषि उत्पादन खरिद घटाउँदै ब्राजिलतर्फ झुकेको थियो । त्यसैले नयाँ समझदारीले अमेरिकी कृषि बजारलाई राहत दिनसक्ने विश्लेषण गरिएको छ ।

    भेटवार्ताका क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको अमेरिकी पक्षले जनाएको छ । ट्रम्पका अनुसार सी जिनपिङले इरानलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा चीनको कुनै योजना नरहेको स्पष्ट पारेका थिए । साथै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी खुला राख्नुपर्ने पक्षमा चीन रहेको उनले उल्लेख गरे ।


    यसैबीच चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा ‘व्यापक र दिगो युद्धविराम’ को आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय ढुवानी मार्गहरू यथाशीघ्र सामान्य अवस्थामा फर्काइनुपर्ने बताएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प र सीबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सुरक्षित र जिम्मेवार प्रयोगका लागि साझा ‘गार्डरेल’ अर्थात् नियामकीय सीमारेखा निर्माणबारे पनि छलफल भएको जानकारी दिए ।

    उनले विश्वका ‘दुई एआई महाशक्ति’ बीच संवाद सुरु हुनु महत्त्वपूर्ण भएको बताए । यद्यपि उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र चिनियाँ प्रविधि पहुँचसम्बन्धी विवाद अझै संवेदनशील विषयका रूपमा कायम रहेको विश्लेषण गरिएको छ ।

  • नयाँ भवनमा इतिहास झल्काउँदै रुपा

    नयाँ भवनमा इतिहास झल्काउँदै रुपा

    रासस
    गण्डकी, २ जेठ । कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ । विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ प्रशासनिक भवनका संरचनालाई साविक गाविसका नामबाट नामकरण गरेको हो ।

    गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा निर्माण गरिएको आधुनिक एवं सुविधासम्पन्न प्रशासनिक भवनको पहिलो तलालाई सिद्ध, दोस्रो रुपा, तेस्रो देउराली, बैठक हललाई हंसपुर तथा सभाहललाई थुम्की नामकरण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । भवन उद्घाटन समारोहमा उहाँले यसबाट साविक गाविसहरूको प्रशासनिक तथा सामाजिक इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको बताए । उनका अनुसार नेपाल सरकारबाट हस्तान्तरण भएर आएको ९१ रोपनी ११ आना एक पैसा जग्गामा सात करोड ७८ लाख ५४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन हाल गाउँपालिकाको प्रशासनिक केन्द्र बनेको छ ।

    अध्यक्ष ओझाले भने, “विकाससँगै स्थानीय इतिहास र पहिचानलाई पनि संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरेर यस्तो अभ्यास थालिको हो । लिफ्टसहित अपाङ्गतामैत्री शौचालयको व्यवस्था गरिएको भवन आधुनिक प्रविधियुक्त छ ।” रमणीय भालभज्या डाँडामा अवस्थित भवनबाट गाउँपालिकाका सबै वडासहित पोखरा, मध्यविन्दु, शुक्लागण्डकी नागरपालिका र मादी नदी तथा हरिया फाँटहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सो स्थानमा स्वाथ्यचौकी, प्रहरी बिट, कृषि तथा पशु विकाससम्बन्धी कार्यालयसमेत स्थापना गरी सञ्चालन गरिने सोच रहेको अध्यक्ष ओझाले बताए ।


    यो भवन सम्झौता भएको एक वर्षको अवधिमा निर्माण सम्पन्न भएको थियो । विसं २०८२ वैशाख ३१ गते रमिता इन्फ्रास्ट्रक्चर र मन कन्स्ट्रकसन प्रालिको जेभीसँग एक वर्षमा निर्माणकार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । जेठमा निर्माण कम्पनी र पालिकाबीच भएको सम्झौताअनुसार सम्पूर्ण प्रक्रिया मिलाएर सुरु भई तोकिएकै समयमा सम्पन्न गरी निर्माण कम्पनीले गाविसलाई हस्तान्तरण गरेपछि उद्घाटन गर्न सफल भएको पालिकाका प्राविधिक अभिनव गौतमले बताए ।


    नौ वर्षअघि कालोपत्रले नछोएको पालिका रूपमा परिचित रुपामा अहिलेसम्म २०५ किलोमिटर सडक कालोपत्र गरिएको बताउँदै उनले भने, “यस वर्ष २४ किलोमिटर सडक निर्माणका क्रममा रहेको छ भने सबै वडा कार्यालयबाट प्रशासनिक भवन सडक सञ्जालबाट जोडिएको छ ।” पालिकाका सातै वडा कार्यालयका पक्की भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । कृषि, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धनका आधार तयार भएपछि मात्र प्रशासनिक भवन निर्माण गरिएको बताउँदै प्राविधिक गौतमले भने, “प्रशासनिक भवन निर्माणले रुपाको रुप नै फेरिएको झल्को दिएको छ ।”

    एक समारोहका बीच भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले विगतलाई स्मरण गर्ने लक्ष्यका साथ निर्माण सम्पन्न भएको प्रशासनिक भवनबाट जनताले सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कुनै समय खानेपानीको अभावमा बसाइँसराइ गर्ने प्रवृत्ति तीव्र रहे पनि पछिल्लो समय जनप्रतिनिधिको पहलमा सबै वडामा सडक, खानेपानीको सुविधा पुगेसँगै गाउँ फर्क अभियान सुरु हुनुपर्ने उनको जोड थियो ।

    सङ्घीयतासँगै सिहदरबारको अधिकार जनताको घरदैलोमा आएको बताउँदै भवन निर्माणबाट छिटोछरितो एवं प्राविधिमैत्री सेवा प्रदान गर्न सहयोग पुग्ने धारण बनेको उनको भनाइ छ । सो अवसरमा नवनिर्मित प्रशासकीय भवनको हातामा रुद्राक्षको बिरुवा रोपिएको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति कास्कीका पूर्वप्रमुख वैनबहादुर क्षेत्री अधिकारीलगायतले समृद्ध रुपाको अधियानसँगै विपद् व्यवस्थापनमा पनि जोड दिनुपर्ने बताए ।

    पायक पर्ने स्थानमा प्रशासनिक भवन निर्माणसँगै सञ्चालनमा आएपछि स्थानीय बासिन्दा बाजागाजासहित आफ्नो समुदायको सांस्कृतिक, वेशभुसामा सहभागी बनेका थिए । आधुनिक संरचनामार्पmत पुरानो इतिहास जोगाउने गाउँपालिकाको प्रयासलाई स्थानीय बासिन्दाले सकारात्मक रूपमा लिएका छन् ।

  • जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

    जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

    काठमाडौँ, १ जेठ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

    निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट रु २२ अर्बबराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट रु १२ अर्ब बराबरको ऋण लिएको थियो । कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई रु ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार र नागरिक लगानी कोषलाई रु २१ अर्ब १२ करोड १७ लाख बराबर रहेको छ ।

  • राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

    राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

    काठमाडौँ, १ जेठ । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् । कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

    राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब छ करोड ९७ लाख र ६९ दशमलव सात करोड अमेरिकी डलर रहेको छ । गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमात्रै सम्पन्न भएका छन् । समष्टिगत रूपमा भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने पाँचवटा आयोजना छन् । यस्तै, ५० देखि ८० प्रतिशत हासिल गर्ने चारवटा छन् । पचास प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजनाको सङ्ख्या नौ, भौतिक प्रगति नखुलेका चार र सुरु नै नभएका दुई आयोजना छन् ।

    आव २०७८–७९ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत नखुलेको प्रतिवेदनमा उल्लेख छ । अधिकांश आयोजना कार्यक्षेत्र थप गर्दै जाने तथा निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा नसकिएका कारण लगानीअनुसारको प्रतिफल हासिल हुनसकेको छैन । तोकिएको अवधिमा सम्पन्न हुनेगरी आयोजनाको व्यवस्थापन हुनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । यस्तै, आयोजनाको बारम्बार म्याद थपिने प्रवृत्ति देखिएको छ । सोही कारणले लागत वृद्धि हुनुका साथै आयोजनाको प्रभावकारितामा समेत प्रश्न उठेको छ ।

  • स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो

    स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो

    काठमाडौँ, १ जेठ । स्थानीय तहको बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ । आर्थिक वर्ष २०८०–८१ सम्मको कुल बेरुजु रु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख रहेकामा आव २०८१–८२ को बेरुजु रु १९ अर्ब चार करोड ७७ लाखसमेत गरी बाँकी रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख बेरुजु पुगेको हो । महालेखा परीक्षकको कार्यालयका अनुसार स्थानीय तहमा गत आवमा संपरीक्षणबाट रु आठ अर्ब १४ करोड ६४ लाख फर्स्योट, समायोजन तथा संपरीक्षणबाट रु २८ करोड २२ लाख थप भएको छ ।

    महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६३औँ प्रतिवेदनअनुसार गत आवमा ७२१ स्थानीय तहको रु ११ खर्ब नौ अर्ब ५२ करोड ३८ लाखको लेखापरीक्षण सम्पन्न भएको छ । लेखापरीक्षणबाट ७२१ स्थानीय तहको रु २१ अर्ब ४७ करोड ५० लाख बेरुजु देखिएकामा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि रु दुई अर्ब ४२ करोड ७३ लाख फस््र्योट गरेकाले रु १९ अर्ब चार करोड ७७ लाख फस््र्योट गर्न बाँकी रहेको देखिएको हो ।

    सोमध्ये असुल गर्नुपर्ने रु दुई अर्ब एक करोड ३३ लाख, नियमित गर्नुपर्ने रु १५ अर्ब १८ करोड ९४ लाख र म्याद नाघेको पेस्की रु एक अर्ब ८४ करोड ५० लाख बाँकी बेरुजु देखिएको छ । यो वर्ष लेखापरीक्षणबाट औँल्याइएपछि ४९१ स्थानीय तहले रु ३२ करोड १९ लाख र प्रारम्भिक प्रतिवेदन जारी गरेपछि ५०२ स्थानीय तहले रु ४७ करोड ९६ लाखसमेत रु ८० करोड १४ लाख असुली गरेका छन् । विगत वर्षको बेरुजु संपरीक्षणको क्रममा ४८२ स्थानीय तहबाट रु एक अर्ब एक करोड ८७ लाखसमेत यो वर्ष कुल रु एक अर्ब ८२ करोड एक लाख असुल भई सम्बन्धित राजस्व खातामा दाखिला भएको छ ।

    गत आवमा चार महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिका समेत ७२१ स्थानीय तहको रु ११ खर्ब नौ अर्ब ५२ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ । प्रतिवेदनअनुसार यो आवमा एक स्थानीय तहले लेखापरीक्षण गराएको छैन । प्रतिवेदनअनुसार गत आव सङ्घीय, प्रदेश, स्थानीय तह, सङ्गठित र सङ्घीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिसमेतको रु ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखापरीक्षण सम्पन्न भएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र घटनाको कारण १७९ कार्यालय तथा निकायको लेखा र सोसम्बन्धी स्रेस्ता पेस नभएकाले रु एक खर्ब ४७ अर्ब ९० करोडको लेखापरीक्षण गरिएको छैन ।

    लेखापरीक्षणबाट विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक व्यहोराका साथै गत आवमा कुल रु ८८ अर्ब नौ करोड बेरुजु औँल्याइएको छ । सङ्घीय सरकारी कार्यालयतर्फ रु ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ रु पाँच अर्ब २३ करोड, स्थानीय तहतर्फ रु १९ अर्ब पाँच करोड र समिति एवं अन्य संस्थातर्फ रु १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ ।

    गत आवसम्मको बेरुजुमध्ये यस प्रतिवेदन अवधिमा रु ६६ अर्ब ११ करोड संपरीक्षण तथा समायोजन भई बाँकी बेरुजु तथा चालु वर्षको बेरुजुसमेत अद्यावधिक बेरुजु रु सात खर्ब ५५ अर्ब १७ करोड पुगेको छ । यस अवधिमा विगतको बेरुजुको संपरीक्षण र यस वर्ष औंल्याइएको व्यहोराको फस््र्योटबाट रु १४ अर्ब ६३ करोड असुल भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । साथै लेखापरीक्षणको सुझावबमोजिम विभिन्न नीतिगत, कानुनी तथा प्रणालीगत सुधारहरू भएका प्रतिवेदनमा उल्लेख छ ।

  • मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, अधिकांश नीतिगत व्यवस्था यथावत

    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, अधिकांश नीतिगत व्यवस्था यथावत

    काठमाडौँ, १ जेठ स्।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ । बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको हो ।

    समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ । यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

    केन्द्रीय बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत रहने अपेक्षा गरिएको छ । प्रतिकूल मौसम तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर एक दशमलव ५८ प्रतिशतमा सीमित भए पनि उद्योग क्षेत्रको वृद्धिदर पाँच दशमलव ६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा कूल गार्हस्थ उत्पादनमा लगानीको हिस्सा बढेको छ । थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जलविद्युत्, वित्तीय तथा बिमा, यातायात तथा भण्डारण र सूचना प्रविधि क्षेत्रको विस्तारसँगै समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ ।

    समीक्षामा सरकारले शासकीय, आर्थिक तथा कानुनी सुधारलाई प्राथमिकतामा राखेकाले मौद्रिक नीतिको विद्यमान कार्यदिशाको निरन्तरताबाट लगानी अभिवृद्धि भई आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकले मुद्रास्फीति लक्ष्यभन्दा न्यून रहे पनि विश्वव्यापी भूराजनीतिक तनावका कारण मूल्यवृद्धिमा दबाब पर्ने जोखिम रहेको जनाएको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चापदार्थ तथा केही उपभोग्य वस्तुको आपूर्ति शृङ्खला प्रभावित भएको उल्लेख गर्दै फागुन १६ देखि वैशाख मसान्तसम्म पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको जनाएको छ ।

    यद्यपि चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म औसत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३९ प्रतिशत रहेको र वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्र रहने प्रक्षेपण गरिएको छ । बाह्य क्षेत्रतर्फ विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएकाले चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । तर नेपालमा करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाबाट आउने भएकाले उक्त क्षेत्रमा जारी तनावले विप्रेषण आप्रवाह, व्यापार घाटा र विदेशी विनिमय सञ्चितिमा दबाब पार्न सक्ने जोखिम औँल्याइएको छ ।

    समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढे पनि आर्थिक गतिविधिमा सुधारसँगै त्यस्तो कर्जामा सुधार आउने अपेक्षा गरिएको छ । २०८२ चैत मसान्तसम्म प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्र रहेको उल्लेख गर्दै समग्र वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको उल्लेख गर्दै यस्तो अवस्थाले समष्टिगत आर्थिक परिसूचकमा पार्न सक्ने प्रभाव व्यवस्थापन गर्न आवश्यक कदम चाल्न बैंक सजग रहेको जनाएको छ ।

  • दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

    दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

    काठमाडौँ, १ जेठः राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति भएको जनाएको छ । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा लिइएको लक्ष्यअनुसार प्रगति भएको हो । देशभर सात लाख १२ हजार व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए ।

    मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले गणना गरिएको हो । उनका अनुसार गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । विसं २०७५ मा पहिलोपटक गणना गरिएकामा यसपटक दोस्रो गणना भइरहेको छ ।

    देशको वास्तविक आर्थिक अवस्था मापन गर्ने लक्ष्य राखिएको उक्त गणनाका लागि तीन हजार ९०६ गणक तथा ५२६ सुपरीवेक्षक खटिएका छन् । सबै प्रकारका औपचारिक तथा अनौपचारिक उद्योग, व्यापार-व्यवसाय र सेवा क्षेत्रलाई समेट्न गणकले देशभर स्थलगत विवरण सङ्कलन गरिरहेका शाखाका निर्देशक डा ढकालले जानकारी दिए । उनले आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरे । सात हजार ४५३ व्यावसायिक प्रतिष्ठानले आफ्नो विवरण आफैँ ‘अनलाइन’बाट भर्ने प्रतिबद्धता जनाएका छन् ।

    देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्याङ्क प्रदान गर्ने अपेक्षा गरिएको उक्त कार्यक्रममा सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश आर्थिक गणना समन्वय समिति तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आर्थिक गणना समन्वय समिति गठन गरिएको छ । गणनालाई बढी भरपर्दो र विश्वासिलो बनाउन वडामा समेत समिति गठन गरिएको जनाइएको छ ।

  • एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

    एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

    काठमाडौँ, १ जेठः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध आज फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिए । उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राईलगायतले आज छलफल गरेपछि राखेपले निशर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिए ।


    पङ्कजविक्रम नेम्वाङ नेतृत्वको एन्फालाई यसअघि राखेपले तीन महिनाका लागि निलम्बन गरेको थियो । तहगत निर्वाचनसहित विधान संशोधन गर्न दिएको निर्देशनलाई एन्फाले अवज्ञा गरेको भन्दै राखेपले गत चैत ११ गते निलम्बन गरेको थियो । त्यसअघि राखेपले पटकपटक निर्देशन गरे तापनि एन्फाले गत चैत १३ गते निर्वाचन गर्ने आडान लिएपछि राखेपले निलम्बन गर्ने निर्णय गरेको थियो ।

  • नयाँ दिल्लीमा अब सातामा दुई दिन ‘घरबाट सेवा’ लागू

    नयाँ दिल्लीमा अब सातामा दुई दिन ‘घरबाट सेवा’ लागू

    १ जेठ, नयाँ दिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकुलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छिन् । निजी कम्पनीलाई पनि त्यसो गर्न आग्रह गरिने निर्णयमा उल्लेख गरिएको छ । निर्णयअनुसार सरकारले अब सार्वजनिक कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

    उनले भनिन्, “सरकारले केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन बचतका लागि वैकल्पिक उपाय सोच्न दिएको निर्देशन अनुसार इन्धन बचतका लागि ‘दुई दिन घरबाट सेवा’ गर्ने निर्णय गरेको छ । यो कार्यक्रम सरकारी र निजी दुई तहमा लागू गरिनेछ । श्रम विभागले यसको नियमन र अनुगमन गर्नेछ ।”
    सरकारले धेरै कामदार रहेका कम्पनीहरूलाई पनि उनीहरूको अनुकुलतामा हप्तामा दुई दिन घरबाट नै काम गर्ने वातावरण मिलाउनका आग्रह गरेको छ ।

    इन्धन बचत तथा आर्थिक मितव्ययीताका लागि सरकारका मन्त्री, विधायकलाई अनावश्यक विदेश भ्रमण स्थगित गर्न भनिएको छ । दिल्ली सरकारले तीन महिनासम्म ठूला सार्वजनिक कार्यक्रम नगर्ने भएको छ । मुख्यमन्त्री रेखा गुप्ताले ऊर्जा संरक्षण र स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि मल र बजारमा ‘मेड इन इन्डिया’ उत्पादनका लागि प्राथमिकता दिन भनेको छ ।

    मुख्यमन्त्रीले विद्युतीय सवारी नीति तयार भएको र छिट्टै कार्यान्वयन हुने बताइन् । सरकारी कार्यालयहरूमा एयर कन्डिसनर स्थायी रूपमा २४–२६ डिग्रीमा सेट गरिनेछ। पावर कन्ट्रोलका लागि सेन्सर जडान गरिनेछ । यो अभियान मे १५ देखि सुरु हुनेछ । यद्यपि, अत्यावश्यक सेवालाई यसबाट बाहिर राखिएको छ । मुख्यमन्त्री स्वयंले आफ्नो कार्यालयको सवारी साधनको सङ्ख्या १३ बाट घटाएर चारमा झार्नुभएको छ। दिल्लीले हप्तामा एक दिन सवारी साधनविहीन दिनको पनि घोषणा गरेको छ।