Category: फिचर

  • बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    म्याग्दी, ४ जेठ । यहाँको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् ।
    हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गरेका हुन् । सडकबत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज, सुरक्षित महसुस र चितुवालगायत वन्यजन्तुको आवतजावत घटेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिए ।


    “नवदम्पतीलाई टोल सुधार समिति र स्थानीय बिहानी आमा समूहले सडकबत्तीको आवश्यकता दर्शाएका थियौँ”, उनले भने, “हाम्रो प्रस्ताव स्वीकार गरी प्रकाश र राधिकाले १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताको सडकबत्ती, तारलगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनुभयो ।” मङ्गला गाउँपालिकाले बिजुलीको पोलबाहेकका ठाउँमा सडकबत्ती राख्न तीनवटा पोल उपलब्ध गराएको छ । टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले दुई दिन लगाएर बत्ती जडान गरेका हुन् । सिम, कोत्रवाङ, कुहुँ जाने सडक र काफलचौरको झोलुङ्गे पुलसम्म बत्ती जडान गरिएको छ ।

    रात परेपछि बल्ने र उज्यालोमा निभ्ने स्वचालित सडकबत्ती जडान गरिएको हो । यसअघि रातको समयमा चितुवा बस्तीमा पस्ने गरेको थियो । झलमल्ल भएपछि चितुवा बस्ती पस्न डराएको र स्थानीयवासी ढुक्क भएको टोल सुधार समितिका अध्यक्ष विकले बताए । कोत्रवाङमा २२ घरपरिवारको बसोबास छ । प्रकाशका बुबा चित्रबहादुर र दाजु विकास खत्रीले यसअघि कोत्रवाङ हुँदै ताराखेत जोड्ने पदमार्ग निर्माण गरेका थिए । हाल प्रकाश र उनकी पत्नीले जडान गर्नुभएको सडकबत्तीले पनि वस्तीमा सुविधा पुगेको छ । रासस

  • सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

    सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

    खोटाङ, ४ जेठः सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो ।

    पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो ।

    मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनकोशीमा पानीको सहत बढेसँगै गत वैशाख २७ गतेबाट बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले जानकारी दिए । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

    बङ्शिलाघाटको अस्थायी बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो । बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाएपछि करिब छ महिना झोलुङ्गे पुलमार्फत पूर्वी तराईका जिल्ला आवतजावत गर्नुपर्ने बाध्यता पुनः दोहोरिएको स्थानीय युवराज मगरले जानकारी दिए ।
    बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाख बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो ।

    बङ्शिलाघाटको अस्थायी बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित रु ५७ लाख बजेटमा ठेक्का लिएको हो  । बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी कालिका–वेदांसी जेभीले सम्झौता गरेको छ । विसं २०७९ मङ्सिर १ गते सम्झौता गरेर निर्माण सुरु गरिएको मोटरेबल पुल निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भएको स्थानीयले आरोप लगाएका छन् ।

    फोक्सिङटारको अस्थायी बेलिब्रिज जेठ ३ गतेबाट पूर्णरूपमा यातायात बन्द गरेर निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले जानकारी दिए । सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।

    फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ उदयपुरले लिएको थियो । ठेकेदार कम्पनी एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारीले मूल्य अभिवृद्धि कर ९भ्याट०सहित रु ९६ लाख ७७ हजार ९३७ मा जठान र निकाल्नेगरी ठेक्का सम्झौता गरेको हो ।

    खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो । निर्माण सम्पन्न भएर सञचालनमा आएको वर्ष दिन नपुग्दै बाढीले बगाएपछि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको हो ।

    सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउँछन् । “फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाएपछि पूर्वी तराईका जिल्लाबाट खोटाङ भित्रिने यातायातका साधन घुर्मी–कटारी हुँदै जयरामघाट तारेर ल्याउनुपर्नेहुन्छ । खोटाङ्गे जनताका लागि यो घुमाउरो बाटो हो”, उनले भने, “मध्यपहाडी लोकमार्गमा पर्ने घुर्मी–कटारी हुँदै जयरामघाट तारेर ल्याइने दैनिक उपभोग्यवस्तुको मूल्यसमेत वृद्धि हुन्छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

    फोक्सिङटारमा बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माणका लागि अर्थमन्त्रालयले गत वर्षको चैतमा रु ३५ करोड बजेट सुनिश्चित गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिएका थिए ।

  • गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    गुल्मी, ४ जेठः कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।


    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका थापाकोे टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । उनीहरु दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गए राति मृत्यु भएको प्रहरी जनाएको छ ।

    दुर्घटनाको जानकारीप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । शवलाई आज बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पु¥याइएको प्रहरीले जनाएको छ ।

  • क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

    क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौँ, ४ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

    तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

    नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

  • आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, ४ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ¬सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    बेनी (म्याग्दी) ४ जेठ । यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो । आइतबार आयोजित शिविरमा ७७ जना किसानका करिब तीन हजार ५०० पशुपन्छीका लागि औषधि वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिए । उनका अनुसार शिविरमा गाईभैँसी, बाख्रा, कुखुरालगायतका लागि औषधि वितरणका साथै घरदैलो गरी पशुपन्छीको स्वास्थ्य जाँच तथा उपचारसमेत गरिएको छ ।

    शिविरमा नगरपालिकाका पशु चिकित्सक डा सुदीप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिकसहित प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले पशुपन्छीको उपचार तथा किसानलाई औषधि वितरण गरेका थिए । ग्रामीण भेगमा पशुपालन गर्ने किसानलाई घरदैलोमा औषधोपचार सेवा दिन शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको नगरपालिकाका पशु चिकित्सक पौडेलले जानकारी दिए । उनका अनुसार शिविरमा किसानलाई पशुपालनका सम्बन्धमा प्राविधिक परामर्श पनि प्रदान गरिएको छ ।

    शिविरमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा बाँझोपन निवारणको औषधि वितरण गर्नुका साथै पाचक, क्याल्सियम, मिनरललगायत औषधि वितरण गरिएको थियो । शिविरका क्रममा भकिम्लीका विभिन्न टोलबस्तीमा पशु प्राविधिकको टोलीद्वारा घरदैलो गरी पशुको स्वास्थ्योपचार, गर्भ परीक्षण, गाइभैँसीको पेटमा किल्लाकाँटीको परीक्षणका साथै गाईभैँसी र बाख्रामा जुम्रा, किर्ना, उपियाँ, लुतोलगायत समस्याको समेत औषधोपचार गरिएको थियो ।

    भकिम्लीमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा, गाइभैँसीपालन हुँदै आएको छ । नयाँ किसान प्राविधिक ज्ञान नहुँदा पशुपन्छीको स्वास्थ्योपचारमा अनविज्ञ भएको अवस्थामा शिविरबाट पशुपन्छीको उपचारसँगै प्राविधिक परामर्श सेवाबाट लाभान्वित बनेको वडाध्यक्ष पदमबहादुर पुनले बताए । बेनी नगरपालिकाले पशु सेवा शाखामार्फत वडा तहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेर पशुपालक किसानको समस्यामा सहजीकरण गर्दै आएको छ । नगरपालिकाले किसानलाई उत्पादनमा आधारित नगद अनुदानसमेत वितरण गर्दै आएको छ ।

  • कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

    कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

    घोराही (दाङ), ४ जेठः यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन् । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनी बताउँछिन् । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उनको अनुभव छ ।
    कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उनले बताइन् । “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उनले भनिन् । हाल मासिक १४–१५ हजार रुपैयाँ कमाउने गरेको उनको भनाइ छ ।

    उनीजस्तै सोही स्थानका अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त गर्दा जीविका चलाउन सजिलो भएको बताउँछिन् । “घरमा पाँच जनाको परिवार छ, श्रीमान् घर बनाउने काम गर्नुहुन्छ, मैले कृषि फार्ममा काम गर्दै आएको छु, आम्दानी पनि राम्रै भइरहेको छ । जसले गर्दा आफ्नो कमाइले घरखर्च चल्ने र श्रीमान्को कमाइ भने बचत गर्दै आएका छौँ”, उनले भनन्।

    पछिल्लो समय गाउँघरमै रोजगारी प्राप्त भएपछि उनीजस्तै धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन् । घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी स्थानीयलाई रोजगारी दिलाइ रहेका छन् । उमेरले ३७ वर्ष पुगेका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आएका छन् ।
    जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार त बन्नुभएको छ नै अरु ४० जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।

    जिसीले सात वर्ष अघिदेखि सञ्चालन गर्दै आउनुभएको फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्नेलगायतका काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन । विद्यार्थीसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन् । सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गर्नुभएको जिसीको तरकारीखेती अहिले १४ बिघामा फैलिएको छ । आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् ।

    वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसी कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च गर्छन् । जिसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काँक्रा, कोभीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ । उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालन गरेका छन् ।

    सानैदेखि तरकारीखेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारीखेतीमा लागेको भन्दै जिसीले भने, “तरकारीखेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु । जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ ।” उनले आजभोलि काँक्रा फार्मबाटै १७ रुपैयाँ र टमाटर २८ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दै आएका छन् । उनले उत्पादन गरेको तरकारी दाङ जिल्लासहित जिल्ला बाहिर बुटवल, कोहलपुर नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरिएको छ ।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ४ जेठः नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २३ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ २४ पैसा र बिक्रीदर ५०२ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    मुस्ताङ, ४ जेठः यहाँको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ । कोरलानाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो । कोरलानाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो ।

    कोरलानाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि माइक्रोवेब रेडियो लिङ्कका लागि उपकरण क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन । नेपाल विद्युत प्राधिकरणले विद्युत् पोल विस्तार गरिसकेको भए पनि प्रसारण लाइन सञ्चालनमा आएको छैन । नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य ऊर्जाको सहायताबाट टावर सञ्चालन गरिएको थियो । जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार कोरलानाकामा देखिएको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ ।

    कोरलानाकामा खटिएका प्राविधिकसहितको टोलीले यहाँ रहेको माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावरलाई सहज रूपमा सञ्चालन गर्न तथा टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअफ र सोलार प्यानलको सङ्ख्या बढाइएको प्रमुख भुजेलको भनाइ छ । उनका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको तीनवटा ब्याट्री ब्याकअफ थप गरिएको हो ।

    लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताए । कोरलानाका टुजी र फोरजीसहितको मोबाइल नेटवर्कमा सुधार गरिएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ ।

  • कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

    कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

    कङ्गो, ४ जेठ (रासस–एएफपी) । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
    स्वास्थ्य मन्त्रीका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन । यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।

    स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन् । यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ । स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरू घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

    इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

    तेहरान, ४ जेठ (रासस–एएफपी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीका लागि ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताएका छन् । मध्यपूर्वमा युद्ध चलिरहे पनि इरानले समूह चरणका तीनवटै खेल अमेरिकामै खेल्ने तालिका छ ।

    “हामीले इरान एफएसँग रचनात्मक वार्ता गरेका छौँ, वार्ता सफल भएको छ,” ग्राफस्ट्रमले भने । उनले भने, “मलाई लाग्छ हामी उनीहरूलाई विश्वकपमा स्वागत गर्न धेरै उत्सुक छौँ । यसका लागि सँगै मिलेर काम गरिरहेका छौँ।” “हामीले प्रत्येक सदस्य संघसँगजस्तै इरानी टोलीको परिचालनसम्बन्धमा छलफल गर्ने अवसर पाएका छौँ,” उनले अगाडि भने ।


    उनले थपे, “म धेरै खुसी छु, हामी छलफलबाट सकारात्मक कुराहरूको आदानप्रदान गर्न सक्षम भयौँ । इरान एफए र फिफा दुवै बैठकबाट धेरै खुसी छन् र संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा इरानी फुटबल टोली (टीम मेली) लाई स्वागत गर्न उत्सुक छन्।” इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले गत बिहीबार इरानको टोलीका लागि भिसा जारी नगरिएको बताएका छन् ।


    उनले शनिबारको बैठकलाई विवरणमा नगई ‘सकारात्मक र रचनात्मक’ पनि भनेका छन् । “हामीले हाम्रो चिन्ताको बारेमा छलफल गर्यौं र टीम मेलीको सहज सहभागिता सुनिश्चित गर्न हाम्रो संयुक्त प्रतिबद्धता व्यक्त गर्यौं,” उनले भने । टर्की फुटबल फेडरेशनको मुख्यालयमा आयोजित यो बैठक सोमबार बिहान टर्कीको प्रशिक्षण शिविरमा जाने तयारी गरिरहेका बेला भएको हो ।

    इरानले अन्टालियामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । उनीहरूले पहिले नै मे २९ मा गाम्बियाबिरूद्ध एक खेलको पुष्टि गरिसकेका छन्, इरानी टीमको लागि मैत्रीपूर्ण खेल सेट गर्ने कम्पनीको नेतृत्व गर्ने एक इरानीमुलका क्यानेडियाली नागरिकसाम मेहदीजादेहले भने ।


    इरान लगातार चौथो पटक फाइनलमा पुगेको छ र टोली अमेरिका पुगेपछि एरिजोनाको टक्सनमा रहनेछ । इरानले समूह–जीमा रहेर जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग विश्वकप अभियान सुरु गर्नेछ, त्यसपछि त्यही शहरमा बेल्जियम र त्यसपछि सिएटलमा इजिप्टको सामना गर्नेछ।

  • रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

    रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

    मस्को, ३ जेठ (रासस–एएफपी) । मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको छ । मारिएका तीन व्यक्तिमध्ये एक रूसमा कार्यरत एक भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको रूसका लागि भारतीय दूतावासले आइतबार जानकारी दिएको छ। मस्को क्षेत्रमा ड्रोन आक्रमणमा परी एक भारतीय कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    दूतावासका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेका छन् र अस्पतालमा घाइते कामदारहरूलाई भेटेका छन्। युक्रेनले शनिबार राति रुसको राजधानी मस्को लगायतका क्षेत्रमा करिब ६०० युक्रेनी ड्रोनद्वारा आक्रमण गरेको थियो । आक्रमणमा मस्को क्षेत्रमा तीन र बेलगोरोड क्षेत्रमा एक व्यक्तिको मृत्यु भएको थियो । युक्रेन युद्धको अवधिमा नै राजधानीमा भएको यो सबैभन्दा ठूलो आक्रमण थियो।

    युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा कम्तीमा २४ जनाको मृत्यु भएपछि युक्रेनले यसको बदला लिने प्रतिबद्धता जनाएको थियो। सन् २०२२ मा रुसको पूर्ण आक्रमणबाट उत्प्रेरित युक्रेन द्वन्द्वले लाखौँ मानिसको ज्यान लिएको छ र दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध भएको छ।

  • जङ्गली फल सेवन गर्दा एकको मृत्यु, आठ बिरामी

    जङ्गली फल सेवन गर्दा एकको मृत्यु, आठ बिरामी

    गलकोट (बागलुङ), ३ जेठ । यहाँको बडिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आज एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् । भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका–५ निवासी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको छ ।

    यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन् । बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

  • प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

    प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

    काठमाडौँ, ३ जेठः प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताए ।


    शेर्पाले आज बिहान १०ः१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका छन् । “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, प्रधानमन्त्रीले भने ।


    साथै, ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः३० बजे ११औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन् । “निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, प्रधानमन्त्री शाहले भनेका छन्, “खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुवैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

    नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उनको भनाइ छ । हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताए । “सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले भनेका छन् ।

  • सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    काठमाडौँ, ३ जेठः सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आज बिहान सशस्त्र प्रहरी सङ्गठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेका हुन् ।

    सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँहरू तेस्रो र चौथो सशस्त्र प्रहरी छन् । सङ्गठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
    इलामको सन्दकपुर गाउँपालिका माबु निवासी शेर्पा र राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछापको गोकुलगङ्गा गाउँपालिका १, चुचुरे निवासी कार्कीले पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका थिए ।

    उनीहरुले यसअघि मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालकोसमेत सफल आरोहण गरिसकेका छन् । यस ऐतिहासिक सफलताले सङ्गठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    काठमाडौँ, ३ जेठः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहेको बताएका छन् । ‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज यहाँ आयोेजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताए ।

    “पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका नेताको ठूलो पङ्क्ति बाहिर छ, १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरु जो हुनुहुन्न मेरो समितिभित्र, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु”, सभापति थापाले भने ।


    सभापति थापाले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताए । उनले महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति रहेको स्मरण गराउँदै त्यसमा पनि थप सदस्य राख्न आफू तयार रहेको बताए ।


    अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरेको जानकारी दिँदै उहाँले त्यसमा पनि कतिपय सदस्य समेट्न सकिने बताउनुभयो । पार्टीभित्रका नेतालाई अवसर दिने विषयमा आफू प्रष्ट रहेको उल्लेख गर्दै सभापति थापाले भने, “को विशेष महाधिवेशनबाट आएको हो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा हुँदैन ।” देशभर रहेका क्रियाशील सदस्यलाई पार्टीको सदस्यता अद्यावधिक गर्नसमेत सभापति थापाले आग्रह गरे ।


    पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गरे । ठूलो जनसमर्थनका साथ गठन भएको वर्तमान सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक विषय भएको उनको भनाइ थियो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण तथा विशेष अनुसन्धान जस्ता संवेदनशील निकायलाई प्रधानमन्त्री केन्द्रित नबनाउन महामन्त्री पौडेलले सुझाव दिए ।


    कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताए । उनले आयोगले संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उल्लेख गरे । संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको नेता केसीको भनाइ थियो ।

    “कुनै पूर्वप्रधानन्यायाधीशको अथवा राष्ट्रले चिनेको संविधानविद् र विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस्, संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व नगरी व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्र विन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्छ”, नेता केसीले भने ।


    समाजका अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानविद् विपीन अधिकारी, कूटनीतिक व्यक्तित्व शम्भुराम सिंंखडा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, समाजका पूर्वअध्यक्ष हरिहर दाहाल, प्रजातन्त्रवादी कानुन व्यवसायी सङ्घका अध्यक्ष सीताराम केसी र शेरबहादुर केसी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ पत्रकार गोकर्ण अर्याल, डा वासुदेव भण्डारीलगायतले मुलुकको समसामयिक राजनीतिमा नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

  • साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

    साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

    खोटाङ, ३ जेठः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव(२०८३’ सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा आजदेखि सुरु भई जेठ ९ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन रहेको छ । खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय खानाको प्रवर्द्धन गर्ने र क्षमतावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

    “खेलकुदका माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाका रूपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ । छ दिनसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने छ”, उनले भने । महोत्सवको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा बालबालिका, वृद्धवृद्धा, युवा सबैको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामा उत्पादन गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरे ।


    महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको खेलकुद प्रतिष्ठान खोटाङका सचिव मिलन कसजूले बताए । उनका अनुसार जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा आयोजना गरिएको महोत्सवमा देशभरका धावक, साहित्यकार तथा खेलाडीको सहभागिता छ ।

    आज एथलेटिक्स विद्याअन्तर्गत दौड प्रतियोगिता आयोजना गरिएको जनाउँदै उहाँले यसअन्तर्गत जिल्लाभित्र र बाहिरका गरी ७५५ जना धावक सहभागी भएका उल्लेख गरे । सचिव कसजुका अनुसार १५ वर्षभन्दा माथिका १० किलोमिटर खुला दौड प्रतियोगिताको महिलातर्फ खोटाङकी दीपा बस्नेत प्रथम, रणभीम गण मुडे ब्यारेककी जानुका राउत द्वितीय र मनिता खड्का तृतीय भएकी छन् । पुरुषतर्फ ताप्लेजुङका अमीर लिम्बू प्रथम, खोटाङका जगेन्द्र राई द्वितीय र सोलुखुम्बुका रुद्रधन कुलुङ तृतीय भएका छन् ।

    उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु १० हजार, रु सात हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी धावकलाई नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सुरक्षा प्रमुखलगायतले पुरस्कार वितरण गरे । पैँतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीका लागि सात किमी दौड प्रतियोगितामा उदयपुरका अनन्त राई प्रथम, सुनसरीका विमानसिंह तामाङ द्वितीय र खोटाङका शिवप्रसाद राई तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः रु १५ हजार, रु १० हजार र रु सात हजार पुरस्कार प्राप्त गरेका छन् ।

    आमाहरूका लागि पाँच किमी दौडमा जमुना कटवाल प्रथम, रोजना राई द्वितीय र भीमकुमार आचार्य तृतीय भएकी छन् । यसअन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु पाँच हजार ५५५, रु चार हजार ४४४ र तीन हजार ३३३ पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ । पन्ध्र वर्षमुनिका छात्रछात्राका लागि आयोजित सात किमी दौडमा छात्रतर्फ सम्पत राई प्रथम, न्यूजल राई द्वितीय र धीरज राई तृतीय भएका छन् । छात्रातर्फ अस्मिता कटवाल प्रथम, लक्ष्मी राई द्वितीय र कविता आचार्य तृतीय भएकी छन् । त्यस्तै, १२ वर्षमुनिका छात्रछात्रा तीन किमी दौड प्रतियोगिताअन्तर्गत छात्रतर्फ निशान केसी प्रथम, दर्शन राई द्वितीय र यञ्जल राई तृतीय भएका छन् भने छात्रातर्फ मन्दिरा श्रेष्ठ प्रथम, एलिसा कटवाल द्वितीय र रक्षा विश्वकर्मा तृतीय भएकी छन् ।

    आयोजकका अनुसार १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा छात्रतर्फ जालपा माविका अनिल राई प्रथम, श्री मावि बाँस्बोटेका अजय श्रेष्ठ द्वितीय, दिक्तेल बोर्डिङ स्कुलका रविशन खत्री तृतीय भएका छन् । दश वर्षमुनिका छात्रातर्फ जालपा माविका अपेक्ष राई प्रथम, सरस्वती मावि दिक्तेलकी युना राई द्वितीय र श्री मावि बाँस्बोटेकी श्रद्धा राई तृतीय भएकी छन् ।

    दिक्तेल बजारस्थित मानव अधिकार चोकलाई केन्द्र मानेर आयोजना गरिएको प्रतियोगितामा ५५ वर्षभन्दा माथिका पुरुषका लागि दुई किमी दौड प्रतियोगिता आयोजना गरिएको थियो । उक्त दौडमा धनीराम राई प्रथम, विचारी तामाङ द्वितीय र वुद्धवीर लामा तृतीय भएका छन् । यसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु पाँच हजार ५००, रु चार हजार ५०० र रु दुई हजार ५०० प्राप्त गरेका छन् ।

    बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किमी दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु सात हजार ५००, रु छ हजार ५०० र रु पाँच हजार ५०० प्राप्त गरेका छन् भने १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, रु दुई हजार र रु एक हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

    खुला बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार र रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । बुद्धिचाल प्रतियोगिता यही जेठ ६ गते र साहित्यिक प्रतियोगिता जेठ ९ गते आयोजना गरिने खेलकुद प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिए ।

    साहित्यतर्फ ख्यातिप्राप्त साहित्यकारबीच आ–आफ्ना सिर्जना सुन्ने, सुनाउने कार्यक्रम राखिएको छ । नेपाल प्रज्ञा(प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिने साहित्यिक महोत्सवमा कविता, गजल र मुक्तक सुन्ने, सुनाउने कार्यक्रम राखिएको उनले बताए । महोत्सव सम्पन्न गर्न रु ३० लाख १३ हजार २३२ बजेट लाग्ने अनुमान गरिएको आयोजक सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए ।

    महोत्सवका लागि जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको हो । महोत्सव उद्घाटनको अवसरमा आयोजकले पत्रकार सविना अछामे परियारलाई रु ११ हजार १११ नगदसहित पुरस्कृत गरेको छ । समापनको अवसरमा विभिन्न विद्यामा महत्वपूर्ण योगदान गर्ने पाँच जना व्यक्तिलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिए ।

  • मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

    मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

    मुस्ताङ, ३ जेठः नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ ।कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो ।

    कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए । शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो ।

    मुस्ताङ भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षा निकायले अवैध रूपमा लुकाईछिपाई विद्युतीय चुरोट (भेप) लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको जनाएको छ । उक्त सङ्ख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी विद्युतीय चुरोट (भेप) रहेको भन्सार कार्यालयले जनाएको छ ।


    भन्सार कार्यालयले हाल स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको रोहवरमा बरामद गरिएका भेपको परिमाण र अनुमानित मूल्यको भन्सार मुचुल्का गर्ने तयारी गरिहेको जनाएको छ । कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । कोरलास्थित स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुई वटा कन्टेनर नेपाल–चीन कोरलानाकाको २४ नं सीमास्तम्भ नजिक दुई दिनसम्म शङ्कास्पद रूपमा रोकिएका थिए ।

    चिनियाँ भन्सारबाट मालवस्तु लोड गरिएर कोरलानाकाबाट नेपाल भित्रिएका दुई कन्टेनर तल नझरेपछि भन्सार कार्यालयले कडा निगरानी बढाएको थियो । स्रोतका अनुसार अवैध रूपमा भेप ओसारपसार गर्ने गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई देखाउने नक्कली कागजपत्र तयार पारिराखेको बताइएको छ ।

    यसअघि चालु वर्षको पुस ९ गते पनि कोरलानाकाबाट रु दुई करोड २४ लाख मूल्य बराबरको १६ हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो । यसैगरी, गत वर्ष कोरलानाकाबाट भित्रिएका रु ६ करोड ८१ लाख मूल्य बराबरको विद्युतीय चुरोट (भेप) भन्सार र सुरक्षा निकायको टोली बरामद गरेको थियो ।

  • दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

    काठमाडौँ, ३ जेठः परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३–८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताए ।

    उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे । “अबको २०–२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने ।


    काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे । टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो ।

    मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ। उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताए ।


    बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए । सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गरे ।

    पूर्वमन्त्री डा वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताए । उनले स्थानीयको इच्छा आकाङ्क्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख गरे । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गरे ।


    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, विभिन्न खोलामा ‘करिडोर’ निर्माणलगायत कामहरू गरेको बताउनुभयो । एक लाख ३७ हजार जनसङ्ख्या भएको टोखामा हाल ११ वडा रहेका छन् ।

  • महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    काभ्रेपलाञ्चोक, ३ जेठः महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो । गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि सोहीअनुसार वितरण गरिएको जनाइएको छ । वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो । किसानको आकर्षण भए पनि मागअनुसार बिरुवा वितरण गर्न नसकिएको वडाअध्यक्ष रमेश लुङ्गेलीको भनाइ छ ।

    काभे्रपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम गाउँपालिका महाभारतमा गर्दै आएको व्यावसायिक कफी उत्पादनलाई आधुनिकमैत्री बनाउन थालिएको हो । यसका लागि गाउँपालिकाले कफी–किसानलाई बर्सेनि बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गरेको छ । किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीबाटै आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    “प्रत्येक वर्ष कफी किसानलाई आधुनिक कृषि सामग्री प्रयोग गरी कफी उत्पादन गर्नसहज हुने र उत्पादन वृद्धिमा उत्प्रेरण जाग्ने अपेक्षा गरेका छौँ”, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने । उनका अनुसार केही वर्षदेखि स्थानीय किसानका आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि गाउँपालिकाले किसानलाई बर्सेनि अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार हाल एक हजार ४३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकामा व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार २०० को हाराहारीमा रहेको बताइएको छ ।

    कफी उत्पादनलाई पकेट क्षेत्रका रूपमा विकसित गर्दै हरेक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको अध्यक्ष जिम्बाको भनाइ छ । यहाँका किसान कफीखेतीमा आकर्षित हुँदै परम्परागत रूपमा मकै, कोदोलगायत खाद्यान्न बाली छाड्दै मुख्य आम्दानीको स्रोत कफीलाई बनाउन थालेकाले बिरुवा वितरणलाई पनि अभियानकै रूपमा अगाडि बढाएको उनले बताए । यहाँका किसानले कफीखेतीबाट बर्सेनि रु पाँचदेखि १२ लाखसम्मको बिक्री गर्दै आएका वडा नं ५ का सुवास जिम्बाले बताए । उनका अनुसार यहाँ कफीखेती राम्रो हुने र बजारीकरणको समस्या हट्दै गएकाले पछिल्ला केही वर्षदेखि किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् ।

    गाउँपालिकाले किसानलाई उत्पादित भएकोमध्ये एक किलो बराबर रु २० अनुदान दिँदै आएको छ । विगत १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरू निकै खुसी हुँदै कफीखेतीलाई निरन्तरता दिँदै क्षेत्र बढाइएको बताए । डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले त्यहाँ हाल बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकिलो रु पाँच सयदेखि रु ६ सयसम्म पाउने गरेका छन् । एकपटक रोपेको बिरुवाबाट ५० वर्षसम्म आम्दानी दिने गरेको बताइन्छ । एक रोपनीमा वार्षिक रु २५ हजारदेखि रु ३० हजारसम्म कमाई हुने गरेको जिम्बाले बताए । उनका अनुसार महाभारतको आर्थिक समृद्धिको आधार नै कफी हुने सम्भावना छ ।

  • बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

    बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

    भोजपुर, ३ जेठः षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उनको भनाइ छ ।

    “हामीले स्थानीय रैथाने बालीको संरक्षण र विकासलाई प्राथमिकतामा राखेका छौँ”, प्रमुख उदासले भने, “बीउ बैंकमार्फत बीउ सङ्कलनसँगै किसानलाई वितरण गर्ने कामलाई निरन्तरता दिएका छौँ ।” बीउ बैंकमार्फत कोदो, फापर, जाँै, चिनो, कागुनो, गहत, भटमास, सिमी, मकैलगायत विभिन्न रैथाने बालीका बीउ सङ्कलन गरी संरक्षण गरिएको कृषि शाखा प्रमुख दिपेन थापाले जानकारी दिए । उनका अनुसार हालसम्म षडानन्द क्षेत्रमा उत्पादन हुने २७ बालीका ११५ जात सङ्कलन गरिएको छ ।

    “बीउ बैंकमा स्थानीय रैथाने बालीको व्यवस्थित सङ्कलन गरेका छौँ”, उनले भने, “सङ्कलित बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै रैथाने बालीको विस्तारमा टेवा पुर्याइरहेका छौँ ।” बीउ बैंकमार्फत किसानलाई बीउ छनोट, संरक्षण विधि तथा उत्पादन प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गरिँदै आएको छ । यसले परम्परागत ज्ञान र अभ्यासलाई आधुनिक कृषि प्रविधिसँग जोड्न मद्दत पुगेको छ ।

    नगरपालिकाका उपप्रमुख प्रमिला राईले रैथाने बालीको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक सञ्चालनमा ल्याइएको बताए । “स्थानीय बीउको अस्तित्व सङ्कटमा पर्न नदिन यो पहल प्रभावकारी बन्ने विश्वास लिएका छौँ”, उनले भने । नगरपालिकाले आगामी दिनमा बीउ बैंकलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विस्तार गर्ने योजना बनाएको छ । साथै, रैथाने बालीको बजारीकरण, ब्रान्डिङ तथा मूल्य अभिवृद्धिमा जोड दिँदै किसानको आयस्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

  • पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

    पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

    काठमाडौँ, ३ जेठः बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाही गरिएको हो ।

  • आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

    आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

    काठमाडौँ, ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ ।

    अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ । जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।

  • विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

    काठमाडौँ, ३ जेठःआज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ ।

    ‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाउँछ । विशेषगरी इन्टरनेट सेवा, प्रविधिको प्रयोग गर्ने सीप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरको उपलब्धता र अनुलब्धता हो । शहरबजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्तो सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो ।

    विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन प्रारम्भ भएको हो । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तरराष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ । सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न आइटियुको पूर्णाधिकार सम्मेलनले प्रस्ताव नं ४६ मार्फत यस दिवसलाई औपचारिक मान्यता दिएको हो ।

    त्यसैगरी, सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्युएसआइएस) ले सन् २००५ मा संयुक्त राष्ट्रसङ्घीय महासभालाई मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ घोषणा गर्न आग्रह गरेको थियो । सूचना समाजसँग सम्बन्धित विविध विषय तथा सूचना–प्रविधिको महत्वप्रति ध्यानाकर्षण गराउने उद्देश्यसहित महासभाले सन् २००६ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो ।

    राष्ट्रसङ्घका अनुसार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा हासिल गर्न सकिने अवसरबारे चेतना फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण सृजना गर्नु हो ।
    तस्बिरःअन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ

  • पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    काठमाडौँ, ३ जेठः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।

    आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति नै कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

  • हुम्लाबाट कैलाश यात्रा सुरु, चार दिनमा भित्रिए १६९ तीर्थालु

    हुम्लाबाट कैलाश यात्रा सुरु, चार दिनमा भित्रिए १६९ तीर्थालु

    अदानचुली (हुम्ला), ३ जेठः वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ ।
    सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।

    हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । उहाँका अनुसार वैशाख ३० गतेदेखि आउन सुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन् ।

    प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन् । आज आएका २३ जनामा कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नुपरेको हो । गत चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन् ।

    मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन सुरु भएको चार दिनको सङ्ख्या हेर्दा सो सङ्ख्या बढ्ने विश्वास गरिएको छ । विसं २०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन सुरु भएको थियो ।

    बीचमा कोरोना अवधिमा हिल्सानाका बन्द हुँदा पर्यटक आउन बन्द भएको थियो । गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष चार महिनामा ६ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिकयात्रा गरेका थिए । यस वर्ष गत वैशाख ३० गते पहिलोपटक तीर्थयात्री सिमकोट आइपुगेका थिए । रासस

  • गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

    गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

    काठमाडौँ, ३ जेठः गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनको सारांशमा लेखिएको छ । संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । संस्थानमा रहेको जग्गामध्ये धनुषा जिल्लामा ४३।५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा सात बिघा तथा काठमाडौँमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा दुई रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

    संस्थानले यसको पूर्ण लगत तयार नगरेकाले तयार गर्न र अन्य जिल्लामा अतिक्रमण भएको जग्गाको एकीकृत तथा अद्यावधिक लगत तयार गरी अतिक्रमित जग्गााको संरक्षण गरिनुपर्छ । संस्थान कार्यव्यवस्था विनियम, २०४९ को १७ ९१० बमोजिम अधिकार क्षेत्रभित्रको जग्गासम्बन्धी छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । संस्थानले विभिन्न ६८ जिल्लाअन्तर्गत पहाडमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३२० बिघा जग्गा गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • हुम्लामा विद्युत् सेवा अवरुद्ध

    हुम्लामा विद्युत् सेवा अवरुद्ध

    सिमकोट (हुम्ला), ३ जेठः हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोटसहित ती दुवै गाउँपालिका अन्धकारमय बनेका छन् । हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा बन्द भएको छ ।

    आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि यस वितरण केन्द्रबाट आपूर्ति हुँदै आएको सम्पूर्ण विद्युत् सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए । समस्याका कारण विद्युत् उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको हो । समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र मर्मतकार्य सम्पन्न नभएसम्म विद्युत् सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहको भनाइ छ ।

    यस केन्द्रबाट विद्युत् सेवा लिइरहेका विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष प्रभावित हुने भएका छन् । विशेषगरी रातिको समयमा विद्युत् सेवा बन्द हुँदा सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवसाय तथा दैनिक जनजीवनमा असर पर्ने देखिएको छ । वितरण केन्द्रले उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न आग्रह गर्दै विद्युत् उपकरण सुरक्षित रूपमा प्रयोग गर्न अनुरोध गरेको छ । विद्युत् सेवा बन्द हुँदा सिमकोट र खार्पुनाथका करिब दुई हजार ५ सय उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

  • संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

    कैलाली, ३ जेठः धनगढीमा शनिबारदेखि सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ अन्तर्गत ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे नीतिगत बहस’ सत्रमा सहभागी वक्ताहरूले संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने बताएका हुन् । प्रदेश सरकारका प्रमुख सचिव बैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजनाहरू निर्माणका लागि प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

    निजी क्षेत्र र अन्तरराष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले विकास तथा लगानी सम्मेलनको तयारी गरिरहेको बताउँदै उनले प्रदेशको दक्षिणी क्षेत्रमा कृषि उत्पादन, मध्यवर्ती क्षेत्रमा वनजन्य उत्पादन तथा उत्तरी क्षेत्रमा जडीबुटी र हिमाली पशुपन्छी उत्पादनको ठूलो सम्भावना रहेको जानकारी दिए । प्रमुख सचिव अर्यालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गरी सुदूरपश्चिमलाई स्वास्थ्य शिक्षा तथा चिकित्सकीय उत्पादनको केन्द्र बनाउन सकिने उल्लेख गरे ।


    प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले रामारोशन, खप्तड र बडिमालिकालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने बताए । उनले प्रदेश गौरवका योजनालाई आगामी बजेटमा प्राथमिकता दिइने जानकारी दिए । उनले सडक सञ्जाल गुरुयोजना, कृषि गुरुयोजना र पर्यटन गुरुयोजनालाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताउँदै प्रदेशलाई चिनाउने धार्मिक तथा पर्यटकीयस्थलमा बजेट विनियोजन गरिने बताए ।


    राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले गड्डाचौकी–अत्तरिया–चिसापानी सडकखण्डलाई चार लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिए । उनले हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न हुने र सेती लोकमार्गका लागि आगामी बजेटमा उल्लेखनीय रकम विनियोजन हुने बताए । उनका अनुसार खप्तड, रामारोशन र बडिमालिकालाई कर्णाली तथा सेती राजमार्गसँग जोड्ने योजना रहेको उल्लेख गरे ।


    ‘सङ्घीयताको अभ्यासः अनुभव, चुनौती र सुधारको बाटो’ विषयक अर्को सत्रमा सहभागी वक्ताहरूले सङ्घीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगर्दा सङ्घीयता कमजोर बनेको बताए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा उल्लेख भएका प्रदेशका अधिकार व्यवहारमा कार्यान्वयन नभएकाले सङ्घीयतामाथि नकारात्मक बहस भइरहेको बताए । साझा अधिकारसम्बन्धी कानुन समयमा नबन्दा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा प्रशासनिक र राजनीतिक सोचकै समस्या रहेको बताए ।


    पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीयता जनताको घरदैलोमा सरकार पुर्याउने उद्देश्यले ल्याइएको भए पनि माथिल्लो तहबाट अधिकार नदिने प्रवृत्तिका कारण यसको नकारात्मक प्रचार भइरहेको बताए । सङ्घीयताविज्ञ खिमलाल देवकोटाले संविधानले प्रदेशलाई प्रहरी अधिकार दिएको भए पनि सङ्घीय सरकारले अहिलेसम्म हस्तान्तरण नगरेको बताए । सङ्घीय निजामती सेवा ऐन नआउँदा प्रदेशले कर्मचारी व्यवस्थापनमा समस्या भोगिरहेको उनको भनाइ थियो ।

    वित्तीय सङ्घीयताविज्ञ सोमत घिमिरेले सङ्घीयताको मर्मअनुसार प्रदेश र स्थानीय सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण नदिइएको आरोप लगाए । सङ्घीयताविज्ञ परशुराम उपाध्यायले सङ्घीय व्यवस्थामार्फत ३५ हजार जनप्रतिनिधि प्रत्यक्ष शासनमा सहभागी भएको उल्लेख गर्दै महिलाको सहभागिता बढ्नु सङ्घीयताको सकारात्मक उपलब्धि भएको बताए । तेस्रो सत्रमा प्रदेशको इतिहास, पहिचान, साहित्य र सङ्गीतबारे छलफल भएको थियो ।

    सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पौराणिक महत्वका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले देवाटवी सर्किटअन्तर्गत सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक पर्यटनको प्रवर्द्धनका लागि स्पष्ट नीति आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य यज्ञराज उपाध्यायले प्रदेशमा सङ्गीत र इतिहास अध्ययन केन्द्र स्थापना हुनुपर्ने बताए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्रज्ञासदस्य वासुदेव पाण्डेले सरकारी निकायबाट थप खोज तथा अन्वेषण हुन आवश्यक रहेको उल्लेख गर्दै सुदूरपश्चिम अझै ओझेलमा रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकारहरु टीकाराम यात्री, मनमोहान स्वार र शिवराज भट्टले गरेका थिए ।

  • रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

    रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

    मस्को, जेठ ३ (रासस–एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तथ भएको क्रेमलिनले शनिबार जनाएको छ । भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ ।

    पुटिन र सीले “प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरुमा पनि विचार आदान–प्रदान गर्ने र वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ । भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए पछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन–रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भुमिका खेल्ने अपेक्षा गरिएको छ । चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ ।

    बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामाग्रीहरु प्रदान गरेको कुरा अस्वीकार गर्दै पश्चिमी देशहरूलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ । द्वन्द्वको विषयलाई लिएर रूस माथि लगाएको आर्थिक प्रतिबन्धको बीचमा रूसी जीवाश्म इन्धनको विश्वको शीर्ष खरिदकर्ताको रूपमा, चीन मस्कोको प्रमुख आर्थिक साझेदार बनेको जनाइएको छ ।