Category: फिचर

  • कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

    कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

    कुवेत । कुवेतमा काम गर्ने स्थानमा भएको दूर्घटनामा पुरिएर ४ नेपालीको ज्यान गएको छ । अन्य ३ जना घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार बालुवा र ग्राभेलसहितको ढिस्को खसेको थियो ।

    जसले कामदारहरुलाई पुरेको बताइएको छ । घटनामा ४ नेपाली कामदार परेको बताइएको छ ।

    परिचय भने सार्वजनिक गरिएको छैन । घाइतेको उपचार भइरहेको बताइएको छ ।

    त्यहाँ चिनियाँ कम्पनीले निर्माणको काम गरिरहेको थियो । समाचार अनुसार निर्माणस्थलको ब्लक ५ मा ढल निर्माणको काम भइरहेको थियो ।

    कुवेतमा ठूलो संख्यामा नेपाली कामदारको ज्यान गएको यो पहिलो पटक हो । कुवेत तुलनात्मक रुपमा सुरक्षित गन्तब्य मानिन्छ ।

  • चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार

    चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार

    काठमाडौं । सरकारले शनिबार चीनबाट झण्डै २ सय विद्यार्थीलाई नेपाल फर्काउँदैछ । उनीहरुलाई नेपाल ल्याएपछि घर परिवारसँग भेट गर्न भने दिइने छैन ।

    नेपाल एयरलाइन्सको विशेष विमानबाट नेपाल आउने उनीहरुलाई त्यहाबाट एम्बुलेन्समा राखेर सिधै खरीपाटीस्थित क्वारेन्टाइनमा लगिने भएको छ ।

    सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको बताएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गर्ने बताएको छ ।

    नेपाल फर्किएका नेपालीलाई उच्च शतर्कतामा साथ चिकित्सकको निगरानीमा राखिने भ्एको छ ।

    चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउन लागिएको छ ।

    उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा राखिदैछ ।

    स्वास्थ्य मन्त्रालयले यहाँ उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरेको हो ।

    उनीहरुबाट अरु मानिसलाई संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उनीहरुलाई ल्याउने सन्दर्भमा समन्वय गरिरहेका छन् ।

    अन्तर्राष्ट्रिय प्रावधान अनुसार संक्रमण फैलिएको स्थानबाट आइसकेपछि निश्चित समय क्वारेन्टाइनमा राख्नुपर्छ ।

    कोरोना प्रभावितबाट आएका मानिस कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।

    नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको छ । उनीहरुसमेत क्वारेन्टाइनमै बस्नुपर्छ ।

  • पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

    पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालविरुद्ध बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विवाद प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

    सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय भएका कारण पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दायर गरिएको हो ।

    मन्त्रीपरिषद्को निर्णयमा अख्तियारले हेर्न नमिल्ने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीलाई भने यस काण्डमा मुद्दा दायर गरेको थिएन ।

    तर, सोही मन्त्रिपरिषद्ले गरेको निर्णयमा मन्त्री र सचिवहरु भने फसिएका छन् ।

    बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका छन् ।

    अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उन्मुक्ति दिएको छ।

    सर्वोच्चले उक्त रिटको पेशी शुक्रबारका लागि तोकिसकेको छ ।

    ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाइएको छ । तर, प्रधानमन्त्रीहरु भने उम्कन सफल भएका हुन् ।

  • सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

    सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

    सल्यान । सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना भएको छ । दूर्घटनामा एक जनाको ज्यान गएको छ ।

    सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाही विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

    तिब्र गतिमा रहेको सेनाको ट्रक सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले बताएको छ। ट्रकमा ७ जना सवार रहेको प्रहरीको भनाई छ ।

    घाइते सैनिकहरु थप उपचार गर्न सेनाकै हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

    सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक पदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दूर्घटनामा परेको हो ।

  • १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    काठमाडौं । सरकारले विकास खर्चमा भारी कटौती गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएको जानकारी दिएका छन् ।

    चालु आर्थिक वर्ष २०७६\७७ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आधार घटाउने निर्णय गरेको हो ।

    अर्थमन्त्री अतिवडाका अनुसार आकार ९०.४ प्रतिशतमा झारेर १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको हो ।

    चालु बर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत) रहने गरी नयाँ संशोधन आएको छ ।

    पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) खर्च हुने भएको छ ।

    वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजन बजेटको ९२.२ प्रतिशत) खर्च हुने संशोधित अनुमान कायम गरिएको छ ।

    राजश्व लक्ष्य ५५ अर्ब रुपैयाँ घटाएर ९५.६ प्रतिशत कायम गरिएको । यस वर्ष ११ खर्ब राजस्व संकलनको लक्ष्य रहेको छ ।

    चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्ब ३२ अर्ब ५० करोड स्रोत व्यवस्थापन हुने भएको छ ।

    वैदेशिक अनुदानबाट ४३ अर्ब ५५ करोड ४६ लाख आउने भएको छ ।

    वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख परिचालन हुने अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजना, संघीय संसद भवन, काठमाण्डौं उपत्यकाभित्र सडक विस्तार तथा स्तरोन्नती, अधुरा आयोजना पुरा गर्दा धेरै बजेट खर्च हुने मन्त्रालयको भनाई छ ।

    सडक आयोजनाहरुमा समेत बजेटको ठूलो हिस्सा खर्च हुने भएको छ ।

    बजेटका अधिकांश सूचकांक सकारात्मक भएको भन्दै उनले आर्थिक वृद्धिदर भने कायम नै राखेका छन् । यस वर्ष सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

  • के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

    के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

    काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस जस्तै लक्षणमा संक्रमित बिरामी भेटिएपछि यसले नेपालको चिन्ता बढाइदिएको छ ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सोही रोगसँग मिल्ने प्रकृतिको लक्षण देखिएको भन्दै गाउँपालिकाले रोगको पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पत्राचार गरेको छ ।

    गाउँपालिकाकाको गुम्बा बस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोको लक्षण देखिएको छ । यसको प्रकृति ठ्याक्कै कोरोनासँग मिल्छ ।

    पछिल्लो समय चीन आफैले बिरामीको चेकजाँच कडा गरेपनि नेपालतर्फको फितलो कार्यान्वयनका कारण सरकारको आलोचना भइरहेको छ ।

    त्यसमाथि जुगल गाउँपालिकाको पत्रले भने झस्काइदिएको छ । संक्रमित भेटिएको स्थान चीनसँगको सीमा नजिकै पर्ने स्थान हो ।

    तर, यो स्थानबाट नाका खोलिएको भने छैन ।

    चीनबाट फैलिएको कोरोनाले अहिलेसम्म १ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । ४० हजार भन्दा बढीमा यसको संक्रमण देखिसकेको छ ।

  • चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

    चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

    काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने भएको छ ।

    मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मिति तोकेको हो । विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाइने भएको हो ।

    वुहानबाट १८० नेपाली विद्यार्थीले नेपाल आउन निवेदन लिएका छन् ।

    नेपालमा यति ठूलो संख्यामा मानिस बोक्न सक्ने जहाज नेपाल एयरलाइन्ससँग मात्र छ । नेपाल एयरलाइन्सको वाइडबडीले एकसाथ २ सय ७४ जना यात्रु बोक्न सक्छ ।

    वुहानबाट विद्यार्थी ल्याउन ढिलाई गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । वुहानमा मात्र १ हजार भन्दा बढी मानिसको कोरोना भाइरसले ज्यान लिएको छ ।

    चीनमा ३५ हजारभन्दा माथि यसको संक्रमण फैलिएको छ । चीनबाट नेपाल आएका विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ ।

    त्यसका लागि खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा तयारी गरिएको छ ।

    विद्यार्थीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मी खटिने छन् । चीनमा डिसेम्बरबाट यो महामारी फैलिएको हो ।

  • एभरेष्ट पानोरमा रिसोर्ट तीन महिना निलम्बित

    एभरेष्ट पानोरमा रिसोर्ट तीन महिना निलम्बित

    काठमाडौं । पाहुनाको सेवा सुविधामा लापरवाही गरेको भन्दै दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा परेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनस्थित एभरेष्ट पानारोमा रिसोर्ट तीन महिना बन्द गराउन निर्देशन दिएको हो ।

    यस रिसोर्टमा ७ माघमा ८ जना भारतीय पर्यटकको कोठामा निसास्सिएर ज्यान गएको थियो । ग्यास हिटर बालेर सुत्दा भारतीय पर्यटकको ज्यान गएपछि सरकारले छानविन समिति गठन गरेको थियो ।

    समितिले घटनामा रिसोर्टले पाहुनाको सेवा सुविधामा रिसोर्टले लापरवाही गरेको पाएको थियो । समितिको सिफारिसको आधारमा मन्त्रालयले रिसोर्टलाई निलम्बन गर्ने निर्ण गरेको हो ।

    मन्त्रालयले रिसोर्ट आवश्यक कानुनी प्रक्रिया पूरा गराएर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    मत्रालयका अनुसार माघ २६ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त रिसोर्टको स्तर वर्गीकरण नभएको, पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोर रहेकाले तीन महिना निलम्बन गरिएको हो ।

    पर्यटन ऐन २०३५ अनुसार होटल, लज, रेस्टुरेन्ट, रिसोर्ट तथा बार नियमावलीअनुसार वर्गीकरण, मापदण्डअनुसार प्रारम्भिक वातावरणीय परीक्षण, वातावरण प्रभाव मूल्यांकनसमेत सम्पन्न गराएर रिसोर्ट सञ्चालन गर्न निर्देशन दिइएको छ।

  • न्यू ह्यामसर प्राइमरी- वाइवा जितसँगै पिटको नयाँ माहोल, २०१६ को जगमा स्यान्डर्सको छलाङ प्रयास

    न्यू ह्यामसर प्राइमरी- वाइवा जितसँगै पिटको नयाँ माहोल, २०१६ को जगमा स्यान्डर्सको छलाङ प्रयास

    प्रभात भट्टराई/न्यू ह्यामसर
    गत फेब्रुअरी ३ मा सम्पन्न आईवा ककसमा चामत्कारिक जित हासिल गरेसँगै पूर्व मेयर पिट बुट्टिजजको राजनीतिक माहोल एकाएक चुलिएको छ । मंगलबार हुने न्यूह्यामसर प्राइमरीमा पनि उनले सिनेटर बर्नी स्यान्डर्सलाई कडा टक्कर दिने सर्भेक्षणहरुले देखाएका छन् ।

    आईवा ककसको मुखमा भएका सर्भेक्षणहरुमा पिट तेस्रो स्थानमा थिए । स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेनले उनलाई उछिनेका थिए । तर, जब डेमोक्रेटिक पार्टीका सदस्यहरु बुथमा उपस्थित भएर मत खसाले पिट सिधा माथि आए । लोकप्रिय मतमा स्यान्डर्स २५ सय हाराहारी मतले अगाडि रहे पनि राष्ट्रपतिको टिकट हत्याउन चाहिने गुणात्मक डेलिगेट्समा पिटले उछिने ।

    आईवा डेमोक्रेटिक पार्टीले ककसको अन्तिम नतिजा प्रकाशित गर्न चार दिन लगायो । यदि ३ तारिख राती नै यो नतिजा बाहिरिएको भए पिटको माहोल अझ व्यापक बन्ने विश्लेषकहरुले बताएका छन् । आईवा डेमोक्रेटिक पार्टीले दुई दिन अघि प्रकाशित गरेको अन्तिम नतिजा अनुसार पिटले आईवाका ४१ मध्ये १४ डेलिगेट्स हात पारेका छन् । स्यान्डर्सले १२, सिनेटर एलिजावेथ वारेनले आठ, बाइडेनले छ र सिनेटर एमी क्लोबुचारले एक डेलिगेट्स हात पारेका छन् ।

    यी डेलिगेट्सहरु आउँदो जुलाईमा विस्कनसनमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागि भएर आफ्नो उम्मेद्वारको पक्षमा मतदान गर्नेछन् । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउन कुनै पनि उम्मेद्वारले १९९० डेलिगेट्स पुर्याउनु पर्ने हुन्छ ।

    सुरुवातमा ककस एवं प्राइमरी निर्वाचन हुने राज्यबाट माहोल बनाउँदै डेलिगेट्सको संख्या बढाउने मिसनमा उम्मेद्वारहरु हुन्छन् । सोही कारण अघिल्लो सातासम्म सबैको ध्यान आईवामा थियो । एक साता यता सबै न्यू ह्यामसरमा केन्द्रित छन् भने मंगलबार पछि उनीहरु पश्चिमको नेभादा उड्नेछन् । फेब्रुअरी २२ मा नेभादा ककस र २९ मा साउथ क्यारोलिना प्राइमरी हुँदैछन् । ककसमा पार्टी सदस्यले मात्र मतदानको अधिकार पाउँछन् भने प्राइमरीमा स्वतन्त्र नागरिकले पनि चाहेको पार्टीको ब्यालेटमा भोट खसाल्न सक्छन् । फेब्रुअरीमा यी चार राज्यको ककस या प्राइमरीबाट धेरै डेलिगेट्स हत्याउँदै सुपर ट्युजडेमा भिडन्तमा पुग्ने उम्मेद्वारहरुको दाउ छ । बिदेशमा बस्ने डेमोक्रेटिक पार्टीको सदस्य (डेमोक्र्याट एब्रोड्स) सहित १६ राज्यमा एकै पटक ककस एवं प्राइमरी निवार्चन हुने सुपर ट्युजडे यसपाली मार्च ३ मा हुँदैछ । त्यो दिन कुल १३५७ डेलिगेट्सको छिनोफानो हुँदैछ । उक्त दिनलाई धेरै उम्मेद्वारले आफ्नो अन्तिम अवसरको रुपमा उपयोग गर्नेछन् ।

    आईवाको नतिजा चित्त नबुझाएर पिट र बर्नी क्याम्पेनले पुनः जाँचको माग समेत गरेका छन् । उनीहरुको माग अनुरुप अब यसअघि भएको मत घटाउलाई दोहोर्याएर जाँच गरिनेछ । तर, भोट भने पुनः नगनिने जनाइएको छ । अहिलेसम्मका सर्भेक्षणमा नेभादा र साउथ क्यारोलिना दुबै तिर पिट र बर्नी पछाडि छन् । उनीहरु सकेसम्म धेरै डेलिगेट्स लिएर आफ्नो प्रभाव ती राज्यमा देखाउन चाहन्छन् । मंगलबारको न्यू ह्यामसर प्राइमरीले २४ डेलिगेट्सको छिनोफानो गर्नेछ ।

    उम्मेद्वारी घोषणा गर्नु अगावै देखि ‘फ्रन्ट रनर’को रुपमा रहेका पूर्व उपराष्ट्रपति बाइडेन चुनावको मुखमा पुग्दा फिक्का बन्दै गएका छन् । आईवामा चौथो स्थानमा आएसँगै उनी न्यूह्यामसर सर्भेक्षणमा अचानक धकेलिए । केही सर्भेक्षणमा त उनी पाचौँ स्थानमा देखिएका छन् । यदि न्यू ह्यामसरको अन्तिम नतिजामा उनी पाचौँ स्थानमै रहे भने अहिलेसम्म बलियो देखिएको नेभादा र साउथ क्यारोलिनामा पनि पछि पर्न सक्छन् ।

    आईवाको कमजोर परिणामको प्रारम्भिक नतिजा उनले भोगि सकेका छन् । सोमबार सार्वजनिक भएको कुन्निपियाक विश्वविद्यालयको देशब्यापी सर्भेक्षणमा पहिलो पटक बाइडेनलाई स्यान्डर्सले उछिनेका छन् । स्यान्डर्सको पक्षमा २४ प्रतिशत मतदाता देखिएका छन् भने बाइडेन १७ प्रतिशतमा खुम्चिएका छन् । उनी देशब्यापी सर्भेमा २० प्रतिशत तल झरेको यो नै पहिलो पटक हो ।

    सन् २०१६ को प्राइमरीमा न्यू ह्यामसरमै सानदार जित हासिल गर्दै स्यान्डर्सले अन्तिमसम्म हिलारीलाई टक्कर दिन सफल भएका थिए । त्यसबेला उनले राज्यको प्राइमरीमा ६० प्रतिशत मत पाएका थिए । अहिले उनलाई औषत २५ प्रतिशत समर्थन देखिएको छ । अर्थात २०१६ को तुलनामा आधाबढि मत उनले गुमाएका छन् । तथापी चुनावी चन्दा संकलनमा अग्रस्थानमा रहेका कारण उनी यसपटकको टिकट हत्याउने आफ्नो मिसनमा सबैलाई पन्छाउने आत्मविश्वासमा देखिन्छन् । उनका समर्थकहरुले प्रतिश्पर्धी माथि आक्रामक रवैया अपनाएका छन् । प्राइमरीको पूर्व सन्ध्यामा न्यू ह्यामसर डेमोक्रेटिक पार्टीले गत साता आयोजना गरेको फण्ड रेजिङ डिनरमा बर्नी समर्थकले पिटको भाषणताका पटक पटक अवरोध पुर्याउन खोजेका थिए ।

    आईवा ककसको नतिजा नआउन्जेल चौथो स्थानमा रहेका पिटले न्यूह्यामसरमा स्यान्डर्सलाई उछिन्न सक्ने आंकलन समेत भइ रहेको छ । पिटले ‘फ्युचर फर्मर रिपब्लिकन’लाई आफु तिर तान्ने नारा दिएर स्वतन्त्र मतदातालाई आकर्षित गरेका छन् । उनको यो राणनीति आईवामा सफल भइ सकेको हुँदा न्यू ह्यामसरमा पनि त्यसलाई गम्भिरताका साथ लिइएको छ । त्यस अनुरुप पिटले न्यू ह्यामसरको घना बस्ती रहेको नासुआ, डोभर, म्यानचेष्टर लगायतका क्षेत्रमा आईतबार र सोमबार गरेको टाउनहलमा पाँच हजार बढि मतदाता सहभागि भएका थिए । सोमबार नासुआको टाउनहलमा १८ सय बढि ब्यक्ति उपस्थित भएर यो प्राइमरी सिजनको सबैभन्दा खचाखच सभा गर्न समेत पिट सफल भएका थिए । सोही कारण आईवा जस्तै चुनावी नतिजामा उनले चमत्कार गर्न सक्ने आँकलन भइ सकेको छ । नजिते पनि उनले बर्नीलाई कडा टक्कर दिनेमा भने सबै राजनीतिक पण्डितहरु सहमत छन् ।

    अर्कोतिर न्यू ह्यामसरको प्राइमरी सबैभन्दा अनुमान गर्न कठिन मानिन्छ । सन् २००८ को प्राइमरीताका सर्भेक्षणहरुमा बाराक ओबामा हिलारी क्लिन्टनभन्दा १० प्रतिशत बिन्दुले अघि थिए । तर, अन्तिम मतगणनामा हिलारी झन्डै तीन प्रतिशत बिन्दुको मतान्तर सहित विजयी भइन् । त्यसैले मंगलबार बेलुका जस्तो नतिजा पनि आउन सक्ने आंकलन भइ रहेको छ ।

    यदि न्यूह्यामसरमा पिटको जित या बर्नीसँग कम मतान्तरको हार भएमा बाँकी राज्यमा मध्यमार्गी डेमोक्र्याटको ध्यान अझ उनीतिर सोझिने सम्भावना बढ्नेछ । ३८ बर्षे तन्नेरी, आर्मी भेटरान एवं वासिंटनको बिबादित राजनीतिमा नमुछिएको जस्ता सुविधा उनीसँग छन् । अर्कोतिर आफुलाई सोसलिष्ट डेमोक्र्याटको रुपमा चिनाउने बर्नीले टिकट पाएमा डोनाल्ड ट्रम्पले कम्युनिष्ट आरोप लगाएरै पेल्न सक्ने डर डेमोक्रेटिक रणनीतिकारहरुमा छ । त्यसैले अहिलेसम्म बाइडेनले पाउँदै आएको मध्यमार्गी कार्यकर्ताको साथ पिटमा स्थानान्तरण हुन सक्ने सम्भावना धेरै रहेको विश्लेषण हुन थालेको हो । कैयन् राजनीतिक पण्डितहरुले उनलाई सन् २००७/०८ ताकाको बाराक ओबामाकै रुपमा समेत तुलना गर्न थालेका छन् ।

    (तश्विरहरु- एजेन्सी)

  • दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत

    दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत

    काठमाडौं । भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले लगातार तेस्रो पटक चुनाव जितेको छ ।

    केजरीवालको पार्टी आम आदमीले भारी बहुमतका साथ चुनाव जितेको हो । मंगलबार साँझसम्म अधिकांश सीटको नतिजा आइसकेको छ ।

    कूल ७० सीटका लागि भएको निर्वाचनमा आम आदमीले भारी बहुमत ल्याएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई समेत दिएका छन्।

    शनिबार दिल्लीमा भएको विधानसभा चुनावको नतिजा मंगलबार बिहानदेखि आउन थालेको छ ।

    साँझसम्म अधिकांश ठाउँको अन्तिम नतिजा आइसकेको छ। प्रधानमन्त्रीले आमआदमीलाई बधाई दिँदै दिल्लीका जनताको आकांक्षा पुरा गर्न शुभकामना समेत दिएका छन् ।

    मंगलबार साँझसम्म आमआदमी पार्टीले ४६ सिटमा जित निकालेको छ । १६ सिटमा अग्र स्थानमा छ ।

    बहुमत ल्याउन ३६ सीट भए पुग्छ । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीमा मात्र ६ सिटमा जीत निकालेको छ ।

    अब दुई सीटमा मात्र भाजपाको अग्रता छ । मंगलबार रातीसम्म सबै स्थानको नतिजा आइसक्नेछ ।

    आम आदमी पार्टीले ९० प्रतिशत सिट ल्याएको छ । अब उसले केजरीवालको नेतृत्वमा पुन सरकार चलाउने छ ।

    उनी यसअघि लगतार दुई पटक मुख्यमन्त्री बनिसकेका छन् ।

    केजरीवाल सन् २०१३मा ४९ दिनका लागि मुख्यमन्त्री बनेका थिए।

    सन् २०१५मा भएको विधानसभा चुनावमा ७० मध्ये ६७ सिट जित हासिल गरी उनको पार्टीले एकलौटी सरकार चलाएको थियो । अहिले पनि आम आदमी कै एकलौटी सरकार चल्नेछ ।

  • बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै

    बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै

    काठमाडौं । पछिल्लो समय नेपाल र बंगलादेशबीच उच्चस्तरीय भ्रमणले तीब्रता पाएको छ ।

    मंगलबार मात्र बंगलादेशी सेनापति अजिज अहमद नेपालको ५ दिने भ्रमण पुरा गरी स्वदेश फर्किएलगत्तै नेपालबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बंगलादेशको भ्रमण गर्ने भएका छन् ।

    यसअघि तीन महिनाअघि बंगलादेशका राष्ट्रपतिले नेपालका ५ दिने भ्रमण गरेका थिए ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली फागुन ५मा तीनदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीको भ्रमण स्वीकृत गरेको हो । फागुन ५ मा ढाका जाने मन्त्री ज्ञवालीको टोली ७ फागुनमा स्वदेश फर्कने छ ।

  • प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी

    प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी

    काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।

    अत्यन्तै कम प्रोफाइलमा बसेर इमानदारीसाथ काम गरेका ज्ञवालीलाई मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले आइजीपी बनाएको हो ।

    सर्वेन्द्र खनालको कार्यकाल सकिएसँगै उनी नेपाल प्रहरीको शक्तिशाली प्रमुख पदमा आइपुगेका हुन् ।

    ज्ञवाली निर्विवाद रुपमा आईजीपी बनेका छन् । ज्ञवालीले आगामी ५ महिना यो पद सम्हाल्नेछन् ।

    त्यसपछि नियमित अवकास पाएर उनी प्रहरी प्रशासनबाट बिदा हुनेछन् ।

    यस पटक भने प्रहरी प्रमुखको पदमा बीना कुनै विवाद नियुक्त भएपछि विवादमुक्त प्रहरी प्रशासन हुनेमा आशा पलाएको छ ।

    सेवाहदका कारण अनिवार्य अवकाश पाएर सोमबार सर्वेन्द्र खनाल महानिरीक्षकबाट बिदा भएका हुन् ।

    ज्ञवाली २८ औं आईजीपी नियुक्ति भएका हुन् । प्युठानको साविक बादीकोट गाविस हाल झिम्रुक गाउँपालिका–१० मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारका सदस्य हुन् । उनी २७ असार २०४७ सालबाट प्रहरी पेशामा छिरेका थिए ।

  • भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक

    भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक

    काठमाडौं । नेपाल आउने पर्यटक भ्रमण वर्ष २०२० को पहिलो महिनामै घटेका छन् ।

    यसले सरकारको वार्षिक २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य नराम्रोसँग प्रभावित हुने संकेत गरेको छ ।

    अझ रोचक तथ्थ्य, चीनबाट आउने पर्यटक कोरोना भाइरसका वावजुत बढेका छन् भने भारतीय पर्यटकको संख्यामा कमी आएको छ ।

    अमेरिकाबाट आउने पर्यटकको संख्यामा समेत जनवरीमा कमी आएको छ ।

    नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा कूल ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या जनवरी २०१९ को तुलनामा १५८७ अर्थात करीव ४ प्रतिशत कम हो ।

    २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्।

    सन् २०१९ मा भारतबाट १७ हजार ६ सय ६३ पर्यटक आएका थिए ।

    चीनबाट सन् २०१९को जनवरीमा १२ हजार ९ सय १९ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् ।

    अमेरिकाबाट सन् २०१९ जनवरीमा ६ हजार ५९२ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६३८६ पर्यटक आएका छन् ।

    जनवरीमा चिनियाँ पर्यटक बढेपनि आगामी दिनमा भने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घट्ने छ ।

    अर्कोतर्फ चीन हुँदै नेपाल आउने यात्रुलाई समेत अधिक कडाई गरिएका कारण समग्र रुपमा पर्यटक आवागमन कठिन भएको छ ।

    यसले नेपालको भ्रमण वर्ष असफल हुने चिन्ता सरोकारवालामा छ ।

  • नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा

    नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा

    काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि प्रवद्र्धनात्मक भाडादर सार्वजनिक गरेको छ ।

    जापानमा रहेका नेपाली र पर्यटकले नेपाल आउँदा होस वा नेपालबाट जापानमा जाँदा अब राष्ट्रिय ध्वजाबाहकमा मात्र ३७ हजार भाडा तिरेर नारितासम्म उड्न सकिने भएको छ ।

    नेपाल एयरलाइन्सले २ मार्च (१९ फागुन)बाट जापानमा उडान थाल्दैछ । उडानको तयारी पुरा भएको र टिकट बुकिंग धमाधम भइरहेको निगमले जनाएको छ ।

    नेपाल एयरलाइन्सले अहिले जापानकै ओशाकाबाट उडान गरिरहेको छ । नारिता शुरु भएपछि ओशाका उडान भने बन्द हुनेछ ।

    यस रुटमा नेपाल एयरलाइन्सले वाइडबडी ए३३० जहाज उडाउने छ । करीव साढे ६ घण्टा लामो यस उडानमा दुई तर्फी भाडादर भने ७६ हजार रुपैयाँ तोकिएको छ ।

    जापानबाट बीना ट्रान्जिट नेपालसम्म आइपुग्न सकिने भएकाले यो रुट नाफामा चल्ने नेपाल एयरलाइन्सको विश्वास छ ।

    नेपाल एयरलाइन्सले चीनमा समेत उडान बिस्तारको योजना बनाएको थियो । तर कोरोना भाइरसका कारण चीन उडान तीन महिना पछाडी धकेलिएको छ ।

  • गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

    गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

    काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ ।

    अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो ।

    खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै कांग्रेसले गच्छदारको हकमा भने पार्टीले काँध थाप्न नसक्ने भएको छ ।

    कानूनी रुपमा कमजोर धरातल र गलत व्यवहार भइसकेको अवस्थामा गच्छदारले आफै कानूनी लडाई लड्नु पर्ने भएको छ ।

    खासगरी गच्छदारलाई मुद्दा हालेर दुई पूर्वप्रधानमन्त्रीलाई किन छाडेको भन्ने कांग्रेसकै अभिव्यक्तिले गच्छदारसमेत दोषि थिए भन्ने प्रमाणित हुने भएकाले यो मुद्दालाई कांग्रेसले अब नउचाल्ने निष्कर्षमा पुगेको हो ।

    संसदको गतिरोध खोल्नेबारे औपचारिक निर्णय संसदीय दलबाट हुने भएको छ ।

    अख्तियारले २२ माघमा ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजनामन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै कांग्रेसले तीन पटकसम्म संसदमा अवरोध गरिसकेको छ ।

    सोमबार कांग्रेसका शीर्षनेताहरुबीच संसदको अवरोध हटाउने सहमति जुटेको हो ।

    पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नुभन्दा अगाडी शीर्ष नेताबीच छलफल भएको थियो । केन्द्रीय समिति बैठकमा उपसभापति गच्छदारले डेढ घन्टा लामो भाषण गरेका थिए ।

  • पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

    पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

    काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ । ललितपुर सानेपास्थित घरमै उनको सोमबार हत्या भएको हो ।

    उनको घरमा काम गर्ने कामदार विजय चौधरीले समेत घरमै झुण्डिएर आत्महत्या गरेका छन् ।

    कार्कीको हत्या चौधरीले नै गरेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कार्कीको निवासमा जडान गरिएको सीसीटीभी क्यामराको फूटेजमा चौधरीले कार्कीको घाटीमा समातेको देखिएको प्रहरीले जनाएको छ ।

    चौधरीले शुरुमा पिर्काले हिर्काएर भुईमा ढलाएको र त्यसपछि कपालमा समातेर भूईमा टाउको बजारेर विभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

    कार्कीलाई हत्या गरिसकेपछि चौधरी स्वयमले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेका हुन् । भान्छा छेऊ रहेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्यबाट कामदारले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

    तर, कारणबारे भने खुलेको छैन । चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेर पालेर हुर्काएको पाइएको छ ।

    प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की भने घरमा थिएनन् । उनी बिहानै पशुपतिनाथ दर्शनमा निस्किएका थिए ।

    फर्किएर घरमा आउँदा श्रीमती मुना अचेत अवस्थामा रत्ताम्य फेला परेकी थिइन् भने कामदार विजयले आत्महत्या गरेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले तत्काल मुलालाई अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

  • हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

    हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

    हङकङ । हङकङ चार दिनसम्म पानीजहाजमा थुनिएका ३६ सय मानिस मुक्त भएका छन् । कोरोना भाइरसको निगरानीका लागि भन्दै उनीहरुलाई जहाजमै बन्धक बनाइएको थियो ।

    उनीहरुलाई कोरोनाको परीक्षण गरि मुक्त गरिएको छ । जहाजका केही कर्मचारी र यात्रमा कोरोना रहेको आंशक गरिएकोपछि वर्ल्ड ड्रीम क्रुजमा करीव३ हजार ६ सय यात्रु र चालक दललाई सदस्य जहाजमै थुनिएका थिए ।

    जापानमा त्यस्तै पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित मानिस भेटिएपछि यो जहाजमा पनि आंशका बढेको थियो ।

    चीनबाट फैलिएको कोरोनाको संक्रमणले अहिलेसम्म ९ सय भन्दा बढी मानिसको ज्यान गइसेको छ ।

    चीनसहित २७ मुलुकमा यसको संक्रमण बढेको छ । ३५ हजार भन्दा बढी मानिसमो यसको संक्रमण फैलिएको छ ।

    यो रोगका कारण बढाईएको सुरक्षा निगरानीका कारण हरेक मुलुकमा मानिसको आवतजावत प्रभावित भएको छ ।

    त्यसमा पनि चिनियाँ नागरिकलाई अझ बढी सास्ती छ । चीनमा बसेर फर्कने अन्य मुलुकका नागरिकमाथि पनि उत्तिकै निगरानी गरिएको छ ।

  • पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने

    पशुपंक्षीमार्फत कोरोना भित्रन नदिन पूर्वनिगरानी गरिने

    काठमाडौं । नेपालमा मानिसबाट कोरोनाको संक्रमण नभित्रियोस भन्ने उद्देश्यले त्रिभुवन विमानस्थलसहित सीमा नाकामा कडा निगरानी अपनाइएको छ । उच्च ज्वरो आएका मानिसलाई नाका प्रवेश मै रोकिएको छ ।

    तर, पशुबाट पनि यसको संक्रमण छिर्न नदिने अब पूर्वनिगरानी गरिने भएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न पशु सेवा विभागले पूर्व निगरानी तथा अध्ययन कार्यदल गठन गरेको जानकारी दिएको छ ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकृतसमेत रहेको कार्यदलले कोराना रोग पहिचान प्रयोगशालालाई सक्रिय बनाउने छ ।

    पशुपंक्षीका कारण यो रोग भित्रिन नदिन निगरानी गरिने विभागले जनाएको छ । यो रोग पशुपंक्षीबाटै मानिसमा सरेका विश्व स्वास्थ्य संगठनले पुटी गरेको छ । यद्दपी कुन पशु वा पंक्षीबाट सरेको भन्ने खुलाइएको छैन ।

    चीनमा चमेराबाट यो रोग सरेको आंशका छ । पशुपन्छीमा भइरसको संकमण भए नभएको जाँच गर्ने तथा नेपाल भित्रिने पशुपंक्षीजन्य वस्तुमा कडा निगरानी गर्न कार्यदल सक्रिय हुने भएको छ ।

    देशभर रहेका पशु क्वारेन्टाइन कार्यालयलाई स्वस्थता जाँच प्रमाण पत्र बिना आयात भएका वस्तु नष्ट गर्न समन्वय समेत गर्ने छ ।

    जहाजबाट आउने पशुपन्क्षी तथा मासुजन्य पदार्थ बोकेर आउने यात्रुको जाँचका लागि नागरिक उड्ययन प्राधिकरणसँग यस कार्यदलले समन्वय गर्नेछ ।

  • क्यानडाका सभामुख आज नेपाल आउँदै

    क्यानडाका सभामुख आज नेपाल आउँदै

    काठमाडौं । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं उत्रदैछन् ।

    उनी नेतृत्वको संसदीय प्रतिनिधमण्डल सोमबार नेपाल भ्रमणमा आउन लागेको संसद सचिवालयले जानकारी दिएको छ ।

    उनी बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

    फ्युरीले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

    उनी सोमबार नै राष्ट्रिय सभा बैठक अवलोकनमा पुग्नेछन् । त्यसपछि उनी नेपाल–क्यानडा संसदीय मैत्री समूहसँग भेटवार्तामा सहभागी हुनेछन् ।

    उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नेछन् । उनी मंगलबार फिर्ता हुनेछन् ।

    पछिल्लो समय नेपालमा उच्चस्तरीय भ्रमणले गति लिएको छ । विभिन्न मुलुकबाट उच्चस्तरीय टोलीले भ्रमण गरिरहेका छन् ।

  • काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

    काठमाडौं उपत्यकाका सम्पदामा रात्रीकालिन भ्रमण हुने

    काठमाडौं । अब काठमाडौं उपत्यका भित्रका सम्पदालाई रातको समयमा समेत भ्रमण गर्न सकिने भएको छ ।

    ति क्षेत्रमा लाइटिंगको काम भइरहेको र काम सकिनासाथ रात्रिकालिन अवलोकनका लागि समेत खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकराी दिए ।

    आइतबार पुरातत्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब काठमाडौंका सम्पदा रातमा समेत ढुक्कसँग अवलोकन गर्न सकिने गरी तयार भएको जानकारी दिए ।

    भक्तपुरमा शुरुवात नै भएको र पाटन तथा बसन्तुपुरमा समेत त्यसको तयारी गरिएको उनको भनाई छ ।

    यसबाहेक काठमाडौं उपत्यका भित्रका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदालाई साइकल लेनमा जोड्ने तयारी समेत भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।

    सरकारले सम्पदासम्म मात्र पुग्ने गरी डेडिकेटेड बसको व्ववस्था गरी भ्रमण प्याकेज बनाउन पर्यटन व्यवसायीसँग आह्वान समेत गरिरहेको उनको भनाई छ ।

    उनले भूकम्पपछि भत्किएका सम्पदा पुनर्निर्माणको काम तिब्रताका साथ भइरहेको भन्दै आगामी दुई वर्ष भित्र पुनर्निर्माण सम्पन्न हुने बताए ।

    विभागका अनुसार भूकम्पले ९ सय २० सम्पदामा क्षति गरेको थियो ।

    त्यसमध्ये ४ सय वटा सम्पदाको पुनर्निर्माण सकिएको छ । चालु आवमा १ सय ५० वटा सम्पदा पुनर्निर्माणको काम जारी रहेको छ । यसमा धरहरा, नुवाकोट दरवार, रानीपोखरीलगायत सम्पदा रहेका छन् ।

  • कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु

    कोरोना भाइरसका कारण वुहानमा एक अमेरिकी नागरिकको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एक अमेरिकी नागरिकको ज्यान गएको छ ।

    चीनको हुबेई प्रान्तस्थित कोरोना प्रभावित शहर वुहानमा अमेरिकी नागरिकको मृत्यु भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

    आइतबार बेइजिङस्थित अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको पुष्टी गरेको हो ।

    ६० वर्षिय अमेरिकी नागरिकको मृत्यु भएको दूतावासले पुष्टी गरेको हो ।

    कोरोनाको संक्रमणबाट चीनमा पहिलो गैर–चिनियाँको मृत्यु भएको बताइएको छ । यस भाइरसले हालसम्म ८१३ जनाको ज्यान लिइसकेको छ ।

    मर्नेहरु धेरैजसो वुहान र यस आसपासको शहरमा बसोबास गरिरहेका व्यक्ति हुन् ।

    चीन बाहिर फिलिपिन्समा एक जनाले ज्यान गुमाइसकेका छन् । यो भाइरसको संक्रमण २७ मुलुकमा पुगिसकेको छ ।

    फ्रान्समा पाँच बेलायती नागरिकमा यसको संक्रमण भेटिएको छ ।

    नेपालमा एक जनामा यो रोगको संक्रमण भेटिएको भएपनि उनी निको भएर घर फर्किसकेका छन् । यतिबेला नेपाल कोरोना मुक्त क्षेत्र बनेको छ ।

  • चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह

    चीनमा रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह

    काठमाडौं । राष्ट्रिय मानवाधिकार आयोगले चीनमा रहेका नेपालीलाई सुरक्षित रुपमा घर फर्काउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    चीनबाट स्वदेश फर्किन चाहेका नेपालीलाई अतिलम्ब उद्धार गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

    आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन आयोगले निर्देशन दिने निर्णय गरेको छ ।

    आयोगको बैठक आइतबार बसेको थियो ।

    चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको आयोगका सचिव वेद भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय समेत गरेको छ ।

    चीनको हुवेई प्रान्तबाट १८० नेपालीले स्वदेश फर्कन चाहेका छन् । उनीहरुले चीनस्थित नेपाली दूतावासमा फारम समेत भरिसकेका छन् ।

    उता, चीन सरकारले भने चीनमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएको छ ।

    यता, नेपाल सरकारले भने चीनबाट फर्काइएका नेपालीलाई राख्ने क्वारेन्टाइनको व्यवस्था नगर्दा नेपाल फर्काउन ढिलाइ भइरहेको छ ।

  • प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

    प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरानै शैलीमा चलिरहेको स्वीकार गरेका छन् । खासगरी विकास निर्माणको काममा भएको प्रगतिबाट उनी कत्ति पनि संतुष्ट छैनन् ।

    आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले चाहेको गतिमा काम नभएको भन्दै असन्तष्टी व्यक्त गरे ।

    काम हुँदै नभएको होइन, तर जसरी विकास होस भन्ने चाहेको थियौं, त्यसरी हुन सकेन, उनले भने ।

    उनको असन्तुष्टी खासगरी पूँजिगत खर्च, विकास निर्माणमा भइरहेको ढिलाईप्रति धेरै थियो ।

    वैदेशिक लगानीका आयोजनाको प्रगतिबाट पनि उनी त्यति सन्तुष्ट देखिएनन् ।

    लगानी सम्मेलनबाट आएको प्रतिवद्धतालाई कार्यान्वयनको तहसम्म ल्याउन भइरहेको ढिलाईका सम्बन्धमा समेत प्रधानमन्त्रीको चासो थियो ।

    बैठकमा प्रधानमन्त्री आफ्नो स्वास्थ अवस्थाका कारण भने पुरै समय बसेनन् ।

    बैठकमा सातवटै प्रदेशका मूख्य मन्त्रीले कर्मकाण्डी रुपमा बस्ने यस बैठकको औचित्य नभएको भन्दै विकास खर्च कम हुनुमा केन्द्र सरकारको केन्द्रिकृत सोच दोषि रहेको प्रतिक्रिया दिएका थिए ।

    आइतबारको बैठकबाटै राष्ट्रिय आयोजना बैंकको औपचारिक शुभारम्भ गरियो ।

  • कोरोनाले लियो ८ सय १३ को ज्यान

    कोरोनाले लियो ८ सय १३ को ज्यान

    काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मर्ने बिरामीको संख्या ८ सय नाघेको छ । तथ्यांक अनुसार महामारीको रुपमा फैलिएको यस भाइरसले ८ सय १३ को ज्यान लिएको छ ।

    चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये सबैजसो वुहान शहरका छन् ।

    चीनको वुहान वाहेक हङकङ र फिलिपिन्समा समेत मानिसको ज्यान गएको छ ।

    ३५ हजार भन्दा बढीमा यसको संक्रमण भइसकेको छ । यो संख्या अझै बढ्ने क्रममा रहेको छ ।

    वुहान हरमा डिसेम्बरमा पहिलो पटक यो भाइरस देखिएको हो । त्यसयता करीव २ दर्जन मुलुक कोरोनाको संक्रमणबाट पिडित भएको छ ।

    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

    यद्दपी अनावश्यक अफवाह नफैलाउन समेत संगठने सचेत गराएको छ । यसअघि शनिबार चीनले मर्नेको तथ्यांक लुकाएको भन्दै अफवाह फैलिएको थियो ।

  • थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

    थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

    थाइल्याण्ड । थाइल्याण्डमा एक सैन्य अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जना मारिएका छन् । थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले पहिले आफ्ना कमाण्डरलाई मारेर हतियारसहित बाहिर आएका थिए ।

    त्यसपछि उनी मलमा पुगेर सर्वसाधारणको ज्यान लिएका हुन् । यस घटनामा दर्जनभन्दा बढी घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीले जनाएका छन् ।

    थाई शहर नाखोन रत्चासिमा शनिबार जुनियर सैनिक अधिकारी जाकाराफन्थ थोमाले यो नरसंहार गरेका हुन । कमान्डरको हत्या गरेपनि सैन्य क्याम्पबाट भागेर उनी सपिङ सेन्टर पुगेका थिए ।

    त्यहा उनले सर्वाधारणलाई लक्षित गरी गोली चलाए । उनी आक्रमणपछि पनि जिवित नै छन् । अझैसम्म पक्राउ समेत परेका छैनन् ।

    त्यसकारण थाइल्याण्डका यतिबेला डर छाएको छ । मानिसहरु त्रसित भएका छन् । आक्रमणको कारण नखुलेको र उनको खोजी भइरहेको थाई प्रहरीले जनाएको छ ।

  • अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

    अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

    काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो ।

    टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो ।

    जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका ४४.१ ओभरमा १५५ रन बनाउँदा अल आउट भयो । ब्याटिंगमा औसत प्रदर्शन गरेको नेपालले बलिंगतर्फ भने आफ्नो विश्वस्तरीय क्षमता प्रदर्शन गरेको छ ।

    नेपालका लागि करण केसीले ४ विकेट लिए । सुसन भारी र सन्दीप लामिछानेले क्रमशः ३ र २ विकेट लिए ।

    कुशल मल्लको नाममा एक विकट रह्यो । मल्ले आज डेब्यू गरेका थिए । १५ वर्षमै डेब्यू गरेका उनको प्रदर्शन भने सनसनीपूर्ण रह्यो ।

    ब्याटिंगमा अर्धशतक प्रहार गर्दै उनले सबैभन्दा कान्छो उमेरमा वान डे इन्टरनेशनमा अधशतक प्रहार गर्ने खेलाडीको रुपमा आफूलाई स्थापित गरे ।

    यो कीर्तिमान यसअघि नेपालकै रोहित पौडेलको नाममा थियो । उनले विकेट समेत लिएका हुन् ।

    जारी सिरिजमा अमेरिकाको यो दोस्रो हार हो । यसअघि ओमानले समेत अमेरिकालाई हराएको थियो । नेपाल पनि ओमानसँग हारेको थियो ।

    तर, अमेरिकासँग भने निकै बलियो टोलीका रुपमा नेपालले प्रदर्शन गर्यो ।

  • आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

    आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पद्धारा किकआउट

    वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोगमा साक्षी बस्ने दुई अधिकारीलाइ बर्खास्त गरेका छन् ।

    संसदको माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएपछि उनले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्तको निर्णय गरेका हुन् ।

    ह्वाइटहाउसका अनुसार यी दुबै अधिकारीले अब सरकारको जिम्मेवारी प्राप्त गर्ने छैनन् ।

    राष्ट्रपति पदको दुरुपयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग दर्ता गरिएको थियो ।

    यस प्रकरणमा अमेरिकी तल्लो सदनले दुवै अधिकारीसँग वयान लिएको थियो । बयानमा उनीहरु साक्षी बसेका थिए ।

    तल्लो सदनमा विपक्षीको बहुमत छ । सोही सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो ।

    तर, रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाए । ट्रम्पले आफ्ना विपक्षीलाई यसअघि पनि पटक पटक किकआउट गरेका उदाहरण छन् ।

  • सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

    सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक अज्ञात समूहले प्रहरी चौकीमा आक्रमण गरेको छ । खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई प्रहरी घाइते भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।

    मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा यो प्रहरी चौकी रहेको छ ।

    मोटरसाइकलमा १०\१२ जनाको समूहमा आएर आक्रमण गरिएको थियो । आक्रमणमा परी प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् ।

    उनीमध्ये झालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । मगरको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    आक्रमणकारी मध्ये सुनखानीका सोम थिङलाई प्रक्राउ गरेको छ ।

    अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना कसले किन के उद्देश्यले गराएको थियो भन्नेबारे थप अनुसन्धानले खुल्ने प्रहरीको भनाई छ ।

  • तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

    तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

    काठमाडौं । तपस्वीका नाममा चिनिने रामबहादुर बमजन पुनः एक पटक विवादमा तानिएका छन् ।

    आफ्नो आश्रममा गएका चार जना अनुयायी बेपत्ता पारेको आरोपमा उजुरी परेपछि प्रहरी उनलाई खोज्दै सिन्धुलीस्थित आश्रम पुगेको थियो ।

    तर, शुक्रबार प्रहरीले बमजनलाई फेला पार्न भने सकेन । सिन्धुलीको सिन्धुलीमाडीमा बमजनको आश्रम रहेको छ ।

    आश्रममा बिहानै प्रहरी पुगेको थियो । उनी सिन्धुलीमाडीमै रहेको बताइएको थियो । तर जिल्ला प्रहरी कार्यालयको टोली आश्रम गए पनि उनी नभेटिएको कार्यालयले जनाएको छ ।

    बमजनमाथि आश्रमबाट अनुयायी बेपत्ता पारेको सम्बन्धमा ४ जनाको अभिभावकले उजुरी गरेका थिए ।

    आफ्ना सन्तान बेपत्ता पारेको भन्दै उनीहरुले प्रहरीमा उजुरी दिएका हुन् । बमजन पटक पटक विवादमा आइरहने तपस्वी हुन् ।

    अनुयायीमाथि बलत्कारको आरोपसहित वेपत्ता पारेको आरोप लाग्ने गरेको छ । आफूलाई भगवान बुद्धको अनुयायी बताउने उनी नेपालका विवादित तपस्वी हुन् ।

  • श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

    श्री एयरलाइन्सले थाल्यो पोखरा उडान

    पोखरा । श्री एयरलाइन्सले पोखरामा उडान बिस्तार गरेको छ । शुक्रबार यस कम्पनीले दुई उडान गर्दै पोखरा उडान प्रारम्भ गरेको हो ।

    यसअघि बुद्ध, यति, सिम्रिक र नेपाल एयरलाइन्सले उडान गरिरहेको पोखरामा पाँचौं प्रर्तिपर्धीका रुपमा श्री एयर प्रवेश गरेको हो ।

    यसबाट पोखरामा अब मूल्य निकै प्रतिस्पर्धी हुने भएको छ । किनकी श्रीले पोखरामा प्रारम्भिक मूल्य २ हजार रुपैयाँ एकतर्फी टिकट राखिएको छ । यो टिकट अन्य कम्पनीको तुलनामा कम हो ।

    पोखरामा पर्यटकको बढी चाप हुन्छ । श्रीले पर्यटकलाई लािक्ष्त गर्दै डलर फेयरमा समेत सुधार गरेको छ ।

    अब पर्यटकले समेत सस्तो मूल्यमा पोखरा उड्न पाउने र्भका छन् । यसबाट श्री एयरलाइन्सले पोखरामा तुलनात्मक रुपमा राम्रो व्यापार गर्ने अपेक्षा गरेको छ ।

    श्री एयरलाइन्सको जहाज अन्य कम्पनीका तुलनामा ५ मिनेट छिटो पोखरा पुग्ने गरेको छ । श्री पछिल्लो समय आक्रामक बजार बजारको रणनीतिमा लागेको छ ।