Category: अर्थतन्त्र

  • चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात

    चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आव पहिलो चौमासिकमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारत निर्यात गरेको हो ।

    चार महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को ‘डेअहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

    भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढी–पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताए ।

    सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी संरचनामा पहिरोले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द छ । अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन । काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाका करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

    जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुन पुगेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘यसबाट चालु आवमा राखिएको करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यात लक्ष्यसमेत प्रभावित हुने देखिएको छ,’ उनले भने । माथिल्लो तामाकोसीको पुनर्निर्माण धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइन पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानी बहाब घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ ।

    उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ । हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने छ । साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा थियो ।

    त्यस्तै भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युतको औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो । असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजारको विद्युत् निर्यात गरिएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ८ रुपैयाँ ०८ पैसा छ ।

    त्यसैगरी कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट विद्युत् निर्यात गरिएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसा छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

    नेपालले गत आव भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । गत आव आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

  • नेपालमा महंगी नियन्त्रण भित्र, ५ प्रतिशत भन्दा कम कायम

    नेपालमा महंगी नियन्त्रण भित्र, ५ प्रतिशत भन्दा कम कायम

    काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको देखिएको छ । यस आवमा पनि महँगी ५ प्रतिशतभन्दा तलकै बिन्दुमा रहन सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले देखाएको छ ।

    अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ७.५० प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले बढेको देखिन्छ ।

    असोजसम्म खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूह उपभोक्ता मूल्य सूचकांक २५.१५, दाल तथा गेडागुडी १०, खाद्य तथा खाद्यजन्य पदार्थ ९.५७ र खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत देखिन्छ । माछामासु, मरमसला र चिनी तथा चिनीजन्य पदार्थको मूल्य भने घटेको देखिएको छ ।

    ग्रामीण भेगमा ५ प्रतिशत र सहरी भेगमा ४.७६ प्रतिशत मूल्यवृद्धि देखिएको छ । प्रदेशगत हेर्दा कोशी प्रदेशमा ६.२६ प्रतिशत, मधेश ५.०८, बागमती ४.२४, गण्डकी ३.९८, लुम्बिनी ४.४२, कर्णाली ३.२५ र सुदूरपश्चिममा ६.५६ प्रतिशत छ । त्यस्तै काठमाडौं उपत्यकामा महँगी ४.५० प्रतिशत छ । पहाडमा ४.३२, तराई ५.२३ र हिमालमा ५.०८ प्रतिशत मूल्यवृद्धि भएको छ ।

  • नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च

    नेपालीले तीन महिनामा विदेश घुमफिरमा गरे साढे २३ अर्ब खर्च

    काठमाडौं । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

    यसमध्ये शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको हो । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेका हुन् । जुन २३ अर्ब ६० करोड रुपैयाँ देखिन्छ । यस अवधिमा भ्रमण आय १७ अर्ब ७२ करोड रुपैयाँ छ । अर्थात्, यो विदेशी नागरिकले नेपालमा गरेको खर्च हो ।

    यस प्रकार तीन महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्चमाथि रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार तीन महिनामा भ्रमण आय सामान्य मात्र बढेको छ । अघिल्लो आव पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब १३ करोड थियो । भ्रमण व्यय भने उकालो लागेको छ । अघिल्लो वर्ष यसै अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँमात्र थियो । जसमध्ये शिक्षामा ३२ अर्ब ९२ करोड विदेशिएको थियो । शिक्षामा विदेशिने रकम अघिल्लो आवको तुलनामा केही घटेको देखिन्छ ।

  • असोजमा रेमिट्यान्सको कीर्तिमान

    असोजमा रेमिट्यान्सको कीर्तिमान

    काठमाडौं । असोजमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । यो महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै हो । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आवको पहिलो तीन महिना (असोज मसान्तसम्म) ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

  • भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार

    भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्दै सरकार

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोगबारे अध्ययन गर्ने भएको छ । यस विषयमा अध्ययन गरी रोक्ने सम्बन्धमा मन्त्रालयले काम अगाडी बढाएको बताइएको छ । श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा भएको छलफलले श्रम मन्त्रालय सहसचिव एवं वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख जीवलाल भुसालको नेतृत्वमा भम्रण भिसा दुरुपयोग रोक्न अध्ययन गर्ने निर्णय गरेको छ ।

    श्रम मन्त्रालयका अनुसार छलफलमा श्रममन्त्री भण्डारी, श्रम मन्त्रालयका सहसचिव भुसाल अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलगायत सहभागि थिए ।


    मन्त्रालयका अनुसार भुसाल नेतृत्वको टोलीमा अध्यागमन विभाग, गृह मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयको प्रतिनिधि रहने छन् । उक्त टोलीले भम्रण भिसाको दुरुपयोग रोक्नेसम्बन्धमा १५ दिनभित्र अध्ययन गरी श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय गृह मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने छ ।

    पछिल्लो समयमा भ्रमण भिसामा वैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ । भ्रमण भिसामा वैदेशिक रोजगारीमा जान लाखौँ रकम ठगीमा पर्ने र भम्रण भिसामा गएर गन्तव्य देशमा भनेजस्तो काम नपाएर अलपत्र पर्नेको सङ्ख्या बढेपछि श्रम मन्त्रालयले अध्ययन टोली गठन गरेको जनाएको छ ।

  • चोभार सुक्खा बन्दरगाह चीनसँगको व्यापारमा पनि खुल्यो

    चोभार सुक्खा बन्दरगाह चीनसँगको व्यापारमा पनि खुल्यो

    काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अब पूर्ण क्षमतामा चल्ने बाटो खुलेको छ । चीनसँगको व्यापारका लागि समेत यो बन्दरगाह खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुल्ने गरी राजपत्रमा सूचना प्रकाशित भएको छ । आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने विभागले जनाएको छ ।

    अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९ (च) बमोजिम हालै राजपत्रमा एक सूचना प्रकाशित गरेको छ । जसले सीमास्थित भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका मालवस्तु उक्त कार्यालयबाट जाँचपास नगराइ बन्दरगाह भन्सारमा लगी जाँचपास गराउन चाहे त्यस्तो मालवस्तु बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिम सडकमार्गबाट लैजान आन्तरिक परिवहन सुविधा दिएको छ । यो चोभारस्थित सुक्खा बन्दरगाहका लागि दिइएको सुविधा हो ।

    यो सूचनामा आन्तरिक परिवहन सुविधा दिने भन्सार कार्यालय तोकिएको छ । वीरगञ्ज, मेची, विराटनगर, भैरहवा, तातोपानी, रसुवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह सिर्सिया पर्साबाट नेपाल प्रवेश गर्ने मालवस्तुका हकमा मात्र चोभार आउने गरी आन्तरिक परिवहन सुविधा दिइएको छ । यसअघि २०७८ सालमा प्रकाशित सूचनाले वीरगञ्ज भन्सार, मेची भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट आउने मालवस्तु समेत सिधै काठमाडौं आउने सुविधा थियो ।

    यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिले चीनसँगको व्यापार खुल्न नसक्दा बन्दरगाह अपेक्षित खुल्न नसकेको भन्दै खुला गर्न माग गर्दै आएको थियो । यसबाट काठमाडौं आउने मालवस्तु सीमा भन्सारमै अनलोड गरी पुनः अर्को गाडीमा ल्याउने प्रक्रियाले लागत र समय दुवै बढ्ने गर्छ । यसले पैठारीकर्ता र उपभोक्ता दुवैलाई फाइदा हुने समितिको भनाइ छ ।

  • निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन

    निर्वाचन स्थलमा आधारभूत पूर्वाधार बनाउन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायम भएका मतदानस्थल केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो ।

    संघीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारी साधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ । उपनिर्वाचनका लागि खटाउन सकिने कर्मचारीको विवरण अद्यावधिक गरी र निर्वाचन प्रयोजनका लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न पनि आयोगको अनुरोध छ ।

    यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आयोगले मतदानस्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

    स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदाता समक्ष पुर्‍याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ । उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्नेरनगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ ।

  • पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल बन्ने

    पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल बन्ने

    काठमाडौं । ६ अर्ब रूपैयाँको लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरेको हो । यसअघि उक्त स्थानमा होटल अन्नपूर्ण रहेको थियो । सोमबार भूमि पूजा गरी कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले होटल निर्माणको सुरुवात गरेका हुन् । सो क्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष समेत रहेका गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा होटल निर्माण थालिएको बताए ।

    निर्माण थालिएको स्कवायरको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको उनले सुनाए । दुई चरणमा काम सम्पन्न गर्ने योजना रहेको भन्दै उनले १ वैशाख २०८५ देखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । उनका अनुसार २५ तलाको हुने अन्नपूर्ण स्क्वायरमा ९ लाख स्क्वायर फिट क्षेत्रफलमा होटल रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउने गुरुङले बताए ।


    पुरानो संरचना भत्काउने काम भइरहेको र स्थानीय तहले जति छिटो अनुमति दिन्छ त्यति नै छिटो निर्माण अघि बढ्ने उनको भनाइ छ । ३ सय ५० कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गरिने भन्दै उनले मूल्य ‘रिजनेवल’ हुने बताए । ‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरूङले भने । आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए । गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो ।

  • ट्रम्पको जितपछि बिटक्वाइनको मूल्यले निरन्तर छुँदैछ आकास

    ट्रम्पको जितपछि बिटक्वाइनको मूल्यले निरन्तर छुँदैछ आकास

    काठमाडौं । विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई बिटक्वाइनको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता बिटक्वाइन मात्रै होइन, डजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको मूल्यले समेत आकास छोएको देखिन्छ ।


    क्रिप्टोकरेन्सीको यस्तो चामत्कारिक वृद्धिका पछाडि पछिल्लो अमेरिकी राजनीतिक र आर्थिक घटनाक्रमहरूले भूमिका खेलेका छन् । विशेषगरी ट्रम्पको जित र इलन मस्कको समर्थनले बिटक्वाइनसहितका क्रिप्टो मुद्राको मूल्य अकासिएका हुन् । ट्रम्पले क्रिप्टोकरेन्सीमैत्री नीति अपनाउने र अमेरिकालाई ‘पृथ्वीकै क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने वाचा गर्दै आएका छन् । कुनै बेला क्रिप्टोप्रति शंकालु ट्रम्प अहिले आफैं यसका लगानीकर्ता बनेका छन् । उनले चुनावी अभियानका बेला क्रिप्टोमा चन्दा स्विकारेका थिए ।

    टेस्ला र स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले पनि बिटक्वाइनको सार्वजनिक समर्थन गर्दै आएका छन् । टेस्लाले बिटक्वाइनमा गरेको ठूलो लगानीले बजारमा सकारात्मक प्रभाव पार्ने गरेको छ । मस्कका ट्विट र सार्वजनिक अभिव्यक्ति पनि प्रायः बिटक्वाइनको मूल्यमा तात्कालिक वृद्धिको कारण बन्ने गरेका छन् ।

    विश्वका सयभन्दा धेरै देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूमा सीमित मात्रामा कारोबार गर्न दिएका छन् भने अन्यले पूर्ण रूपमा यसलाई प्रतिबन्ध लगाएका छन् । अमेरिका, क्यानडा, युरोपेली संघ, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएका छन् । चीन, पाकिस्तान, साउदी अरेबिया र ट्युनिसियाले क्रिप्टोमा कारोबार गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।

    अलजजिराको विश्लेषणअनुसार पछिल्ला चार वर्षमा बिटक्वाइनको मूल्य उल्लेख्य रूपमा फेरबदल हुँदै आएको छ । आर्थिक गतिविधि, बजारको मनोविज्ञान र नियमनका कारण बिटक्वाइनको मूल्य कहिले माथि त कहिले स्वाट्टै तल झर्ने गरेको छ । सन् २०२० को मार्चमा विश्व बजार कोभिड महामारीसँग जुधिरहेका बेला बिटक्वानको मूल्य ५ हजार डलरमा झरेको थियो । त्यसको केही समयपछि सन् २०२१ को नोभेम्बरमा बिटक्वाइन त्यो बेलासम्मको सबैभन्दा उच्च मूल्य ६९ हजार डलरमा पुगेको थियो ।

  • अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो

    अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो

    काठमाडौं । नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो ।

    इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने पद्दतिका विशेषता विश्लेषण गरेको छ । प्रतिवेदन अनुसार नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये प्रायः नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने गरेको छ । साथै, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मार्फत समेत अनुसन्धान हुने गरेको छ ।

    ३० वर्षभन्दा कम उमेरका युवा र त्यसमा पनि विद्यार्थी साइबर ठगीमा बढी संलग्न हुने गरेको देखिन्छ । विभिन्न निकायबाट भएको अनुसन्धानले साइबर माध्यमबाट हुने ठगीमा कम उमेरका युवा संलग्न रहने गरेको देखाउँदा विशेषगरी विद्यार्थी र विभिन्न संस्थामा कार्यरत कर्मचारी साइबर ठगीमा संलग्न हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।

    वित्तीय जानकारी इकाइ प्रतिवेदनले १९–२४ वर्ष उमेर समूहका साइबर आधारित ठगीमा धेरै संलग्न हुने गरेको देखाएको हो । साइबर ठगीमा संलग्नमध्ये २५–३० वर्ष समूहका २१ प्रतिशत छन् । यस्तो ठगीमा प्रत्यक्ष वा अप्रत्यक्ष ७० प्रतिशत संलग्न ३० वर्ष वा त्यसभन्दा कम उमेरका छन् ।

    प्रतिवेदन अनुसार ठगीमा संलग्नको बैंक खाता समेत धेरैजस्तो विद्यार्थीको हुने गरेको छ । साइबर ठगीमा प्रयोग भएका खातामध्ये सबैभन्दा बढी ‘विद्यार्थी’ पेसा उल्लेख हुने गरेको छ । त्यसपछि विभिन्न संस्थाका ‘कर्मचारी, ‘किसान’, ‘पसल मालिक’, ‘गृहिणी’ र ‘बेरोजगार’ जस्ता अन्य महत्त्वपूर्ण पेसा पनि बैंक खाता विवरणमा उल्लेख हुने गरेको छ ।

  • नेपाल टेलिकममा राखिएको रोबोटले के काम गर्छ ?

    नेपाल टेलिकममा राखिएको रोबोटले के काम गर्छ ?

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । ‘कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौ,’ उनले भने, ‘सामान्य सोधपुछदेखि एनटीसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।’

    रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । रोबोटले सेवाग्राहीका एनटीसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।

  • विभागले गर्यो धेरै कर तिर्ने करदातालाई सम्मान

    विभागले गर्यो धेरै कर तिर्ने करदातालाई सम्मान

    काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

    विभागका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

    यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन् । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

  • अहिलेकै कामले राजस्व लक्ष्य भेट्न सकिन्न : अर्थमन्त्री

    अहिलेकै कामले राजस्व लक्ष्य भेट्न सकिन्न : अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले काम गरेर राजस्वको लक्ष्य भेट्न कठिन रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा उनले राजस्व संकलनमा गत वर्ष जति पनि काम हुन नसकेको बताए । ‘साथीहरुलाई दिइएको जिम्मेवारीको कार्यसम्पादन र लक्ष्य एवं प्रगतिको तुलनात्मक अध्ययन गर्दा प्रगतिको अवस्था सन्तोषजनक पाउन सकेको छैन । वक्यौता असुली, बेरुजु फस्र्योट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति सन्तोषजनक छैन । यस तथ्यले पनि म साथीहरुलाई कार्य सम्पादनमा थप गम्भीर हुन हार्दिकतापूर्वक आग्रह र निर्देशित गर्न चाहन्छु’, उनले भने ।

    मन्त्री पौडेलले संघीयताले आर्थिक केन्द्रहरु विस्तार गरेको र अर्थतन्त्रको आकार पनि बढ्दै गएको तर सँगसँगै खर्च पनि बढेको बताए । ‘अर्थतन्त्रको आकार बढ्दै गएको छ । तर सो अनुपातमा जसरी राजश्व संकलन बढ्नुपर्ने हो, त्यो बढ्न सकेको मैले पाएको छैन’, उनले भने । आफूले यो विषयलाई गम्भीर रुपमा लिएको भन्दै पौडेलले भने, ‘सामान्य हिसाबले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सम्भव छैन ।’ मन्त्री पौडेलले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने जस्ता काममा लाग्न आग्रह गरे ।

    करको दायरा विस्तार गर्ने, करदाता मैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने र कर छली रोक्न सक्रियता अपनाउन आवश्यक रहेको पनि उनले बताए । मन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको र सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका कारण स्रोतमाथि दबाब बढिरहेको बताए ।

  • बढ्यो डिजल र मट्टीतेलको भाउ

    बढ्यो डिजल र मट्टीतेलको भाउ

    काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

    यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।

    यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

  • बिजुली व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात गरिँदै

    बिजुली व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात गरिँदै

    काठमाडौं । नेपालले बिजुली व्यापारमा आज इतिहास बनाउँदै छ । आज पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुँदैछ । असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएको थियो । यस वर्षका लागि कात्तिक ३० गते एक दिन मात्र बङ्गलादेश विद्युत् निर्यात गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    भारत निर्यातका लागि नेपालले प्रस्ताव गरेका जलविद्युत् आयोजना स्वीकृति तथा अन्य प्रक्रिया मिलाउन समय लागेकाले सुरुवातका रूपमा एक दिनकै लागि भए पनि निर्यात गर्न लागिएको हो । गत असोजमा सम्पन्न सम्झौता अनुसार नेपालले पाँच वर्षका लागि हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने तालिका छ ।


    शुक्रबार नेपाल, भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीहरूले संयुक्त रूपमा विद्युत् निर्यात शुभारम्भ गर्ने कार्यक्रम तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । कार्यक्रमका अनुसार परराष्ट्र मन्त्रालयमा दिउँसो १२ः५५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशका ऊर्जा सल्लाहकार र भारतका पावर मिनिस्टरले संयुक्त शुभारम्भ गर्ने कार्यक्रम छ । शुक्रबार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाट चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेश पुर्‍याउँदै छ ।

    यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात् बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ ।

  • नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

    नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

    काठमाडौं । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने जानकारी दिए ।

    तर, यो याममा एक दिनमात्र निर्यात हुने उनले बताए । यसअघि भारतको सीईआरसीले अनुमति नदिएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात योजना अनिश्चित बनेको थियो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।


    विद्युत् निर्यात गर्न भारतको सीईआरसीको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म सीईआरसी अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।

    त्रीदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने छ । ऊर्जामन्त्री दीपक खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छलफल गरेका थिए । त्यस क्रममा १५ नोभेम्बरभित्र नेपालबाट बंगलादेश विद्युत् निर्यात अनुमति प्राप्त हुने आश्वासन प्राप्त भएको थियो । हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो ।

    नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
    बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ ।

    नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुने पनि सम्झौतामा छ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट बंगलादेश सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौता छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बेच्ने बिजुलीको भाउ बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान छ ।

    भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनभीभीएनबाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ । नेपालले १० हजार मेगावाट विद्युत भारत र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ ।

  • आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

    आइपीएल स्टार शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने

    काठमाडौं । विश्व क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल)मा आवद्ध भएका छन् । उनलाई कर्णाली याक्सले अनुवन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका स्टार क्रिकेटर धवनलाई अनुबन्ध गरेको हो । कर्णाली याक्सको टिम भारतमै पुगेर धवनसँग एनपीएलका लागि सम्झौता गरेको छ ।

    सम्झौतामा टिम मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे उपस्थिति थिए ।

    ३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतका लागि च्याम्पियन ट्रफी देखि एसिया कप जितेका छन् । यस्तै धवनले सनराइजर्स हैदरवादबाट इन्डियन प्रिमियर लिग (आईपीएल) समेत जितेका छन् । आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।

    धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व
    धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताए । शिखर धवनको अनुबन्धपछि कर्णाली याक्सको टिम अझ बलियो बनेको छ । कर्णालीले यसअघि नै पाकिस्तानका हुसेन तलात, वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

    नेपाली राष्ट्रिय टिमका सदस्य सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् । कर्णाली याक्सको अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे छन् ।

  • रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

    रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइयो ।

    करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताएका छन् ।
    लामिछाने प्रबन्ध निर्देशक रहेका बेला रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो । यो सहकारीबाट २ करोड रुपैयाँ रवि लामिछानेकै नाममा पनि निकास भएको भेटिएको थियो ।

    लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा पत्रकारले फोटो समेत लिन नपाउने गरी प्रहरीले कडा सुरक्षा घेरा बनाएको थियो । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्‍याइएको थियो । आजको बयान पछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले लामिछानेबिरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् ।

  • धनराज गुरुङसँग सीआइबीले लियो बयान

    धनराज गुरुङसँग सीआइबीले लियो बयान

    काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा उनी मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग बयान लिएको छ । साथै कागज गराइएको छ ।
    सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।

    तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागेको छ । सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको दावि गरेका छन् । आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनको भनाई छ ।

    धनराज गुरुङ र ज्योति गुरुङ श्रीमान श्रीमती भए पनि २९ फागुन २०७६ मा सम्बन्धबिच्छेद भएको थियो । तर सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप पनि गुरुङमाथि थियो । सीआईबीसँगको बयानमा उनले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको बताए ।

  • वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर

    वैदेशिक रोजगार व्यवसायीको माग : श्रमिकको लागत निर्धारण गर

    काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।

    पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले खाडी र मलेसिया जाने श्रमिक पठाउँदा लाग्ने लागत शुल्क निर्धारण तथा व्यवसायीको सेवा शुल्कबारेमा स्पष्ट भएमा श्रमिकलाई यथार्थ लागतमा पठाउन सकिने बताए । सरकारले खाडी र मलेसियाका लागि न्यूनतम लागत शुल्क १० हजार रुपियाँ तोकेको एक दशकभन्दा बढी भयो तर त्यो नीति न कार्यान्वयन हुन सकेको न खारेज नै ।

    अहिलेको महँगीमा विदेशबाट माग खरिद गरी ल्याएर १० हजार लागत सेवा शुल्क मात्रै लिएर श्रमिक पठाउन नसकिने भएकाले दक्षिण एसियाका देश (भारत, बङ्गलादेश, श्रीलङ्का) ले गर्दै आएका अभ्यासलाई कार्यान्वयन गरेमा हाल हुँदै आएको ठगीमा धेरै नियन्त्रण हुने सङ्घले दाबी गर्दै आएको छ । ती देशले खाडी र मलेसियामा श्रमिक पठाउँदा गन्तव्य देशमा श्रमिकले प्रतिमहिना प्राप्त गर्ने पारिश्रमिक बराबरको लागत खर्चबापत लिँदै आएको सङ्घले जानकारी गराएको छ ।

    वैदेशिक रोजगार व्यवसायीले मलेसिया र खाडीमा जाने श्रमिकका हातमा १० हजार रुपियाँको रसिद थमाएर बिनाप्रमाण साढे दुई लाखदेखि चार लाख रुपियाँसम्म लिने गरेका छन् ।

    सङ्घका अध्यक्ष भण्डारीले प्रतिश्रमिक १० हजार लागत शुल्क लिएर विदेश पठाउन सम्भव नभएको विषयमा सरकार जानकार हुँदाहुँदै मौन बस्दा सरकारको राजस्वमा नोक्सान, श्रमिकमाथि ठगी र इमानदार व्यवसायीलाई मर्का परेकाले लागत शुल्क निर्धारण गर्नु पर्ने बताए ।

  • उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै

    उद्योगहरुमा काटिएको बिजुली धमाधम जोडिँदै

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो ।

    त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।

    तर धेरै विद्युत् खपत गर्ने ठूला उद्योगहरुमा भने अहिलेसम्म जोडिएको छैन । भारत विद्युत् निर्यात भइरहेकाले त्यसमा असर नपर्ने गरी ठूला उद्योगहरुमा पछि लाइन जोड्ने जानकारी प्राधिकरणका कर्मचारीले दिएको एक उद्योगीले बताए । यसैबीच बक्यौता नउठाइ बिजुलीको लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता खडानन्द कँडेलले मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

  • ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक

    ट्रंक लाइन विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा निकै चासोका साथ हेरिएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । ०८० पुस २४ मा बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्ने र तत्काल बिजुली जोड्ने निर्णय गरेको थियो । ऊर्जा सचिव र उद्योग सचिव सदस्य रहने गरी गठित आयोगले गत वैशाख २३ मा तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेतसमक्ष प्रतिवेदन बुझाएको थियो ।

    आयोगले विद्युत् महसुल निर्धारण भई नसकेको अवधि ०७२ साउनदेखि ०७२ पुससम्मको रकम उठाउनुपर्ने जनाएको थियो । दोस्रो अवधि अर्थात् ०७२ माघदेखि ०७५ वैशाखसम्मको हकमा तोकिएको मापदण्डअनुसार ग्राहकहरूलाई विद्युत् आपूर्ति भएका दिन तथा अवधिहरू यकिन गरी पुनः हिसाब गरी छुट महसुल लिनुपर्ने आयोगको सुझाव छ । डेडिकेटेडको हकमा २४ घण्टा निरन्तर आपूर्ति हुनुपर्ने र ट्रंकलाइनको हकमा ६ घण्टा लोडसेडिङ भएको अवस्थामा समेत कम्तीमा निरन्तर २० घण्टा बिजुली आपूर्ति हुनुपर्ने मापदण्ड थियो ।

    तेस्रो अवधि अर्थात् ०७५ जेठदेखि ०७७ असारसम्मको हकमा लोडसेडिङ अन्त्य भइसकेकाले बक्यौता उठाउन नमिल्ने आयोगले सुझाएको छ । ०७२ माघदेखि ०७५ वैशाखसम्म उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता ६ अर्ब ६० करोड रुपैयाँ हो । तर बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न उद्योगीलाई प्राधिकरणले भन्दै आएको छ ।

  • कतार एयरवेजले पनि अब भैरहवामा दैनिक उडान गर्ने

    कतार एयरवेजले पनि अब भैरहवामा दैनिक उडान गर्ने

    काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ ।

    दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । भैरहवामा उडान गर्ने कतार अब पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।

  • यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

    यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने

    काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ । यो रुटमा यसअघि बुद्ध एयरले नियमित उडान गर्दै आएको छ ।

  • यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण

    यमनमा अमेरिकी सेनाले गर्यो आक्रमण

    काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू थिए।

    हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले राजधानी सानाको दक्षिणी अल सबिन जिल्लालाई लक्षित गरी तीन अमेरिकी र बेलायती आक्रमण भएको पुष्टि गरेको छ । “प्रत्यक्षदर्शीहरूले राजधानी सानाका विभिन्न भागमा विस्फोटका साथै तीव्र गतिमा भएका उडानको आवाज सुनेको बताएका छन्,” अल मसिराहले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

    संयुक्त राज्य अमेरिका र बेलायतले जनवरीदेखि यमनको हुथी समूहले रेड सी र एडेनको खाडीमा विद्रोहीहरूले गरेको आक्रमणको जवाफमा पटक–पटक आक्रमण गर्दै आएका छन्। विद्रोहीहरूले विश्वव्यापी रूपमा महत्त्वपूर्ण जलमार्गमा सामुद्रिक यातायात अवरुद्ध गरेको र ती आक्रमण इजरायलको स्वामित्व भएका वा यससँग जोडिएका जहाजहरूलाई लक्षित गरी भएका जनाएका छन् ।

    हुथीले गाजा युद्धका बेला प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आक्रमण गरेका बताइएको छ। यी आक्रमणहरूले विश्व व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने ‘रेड सी’ मार्गलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ। करिब एक वर्षको अवधिमा १०० भन्दा बढी हुथी आक्रमणमा चार नाविक मारिएका छन् भने दुई जहाज डुबेका छन् । त्यस्तै एउटा जहाज र यसका चालक दलका सदस्यलाई गत नोभेम्बरमा अपहरण गरी हिरासतमा राखिएको छ ।

    हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई समर्थन गरेको भन्दै आलोचना गरेको तीन दिनपछि शनिबारको आक्रमण भएको हो । ट्रम्पले मध्यस्थता गरेको अरब मुलुक र इजरायलबिच भएको सामान्यीकरण सम्झौताले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न नसकेको र उहाँको दोस्रो कार्यकालमा हुने मध्यस्थता पनि फेरि असफल हुने हुथी अधिकारीले बताएका छन् । रासस\एएफपी

  • टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय

    टीओडी मिटरका आधारमा उद्योगको बक्यौता उठाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा उद्योगीहरुसँग विवादित बक्यौता उठाउने निर्णय गरेको छ । ६ वर्षदेखि जारी विवाद निरुपणका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको हो ।

    आइतवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । आयोगकै प्रतिवेदनले गरेको सिफारिसका आधारमा उद्योगीहरुसँग बक्यौता अशुल गर्ने निर्णय भएको समेत बताइएको छ । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।


    मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगमा नेपाल विद्युत प्राधिकरणले काटिदिएको बिजुली लाइन जोड्न निर्देशन दिने निर्णय समेत गरेको छ । प्राधिकरणले ८ कात्तिकमा बक्यौता विवाद रहेका उद्योगहरुको लाइन काटेको थियो ।

  • हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

    हिमाल पारीको जिल्ला मनाङस्थित तिलिचो ताल वेश क्याम्पमा पुग्यो बिजुली

    काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।

    बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । सौर्य ऊर्जाको व्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

    ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’,’ बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने । ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्याँसको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिन्छ ।’ उहाँले उक्त क्षेत्रमा दाउरा महंगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गरे ।

    केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नु भएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याइएको बताए। वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने,‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्याउनमा केन्द्रीत थियौं, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायतका कामहरु उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

    लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३र११ केभी सबस्टेसनमा पुर्‍याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्‍याइएको हो ।


    प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

  • बढ्दो हवाई भाडा नियन्त्रण गर्न व्यवसायी र प्राधिकरणबीच यस्तो भयो सहमति

    बढ्दो हवाई भाडा नियन्त्रण गर्न व्यवसायी र प्राधिकरणबीच यस्तो भयो सहमति

    काठमाडौं । वायु सेवा कम्पनीहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज हुने भएको छ । त्रिभुवन विमानस्थल ट्याक्सी वे मर्मतका लागि दैनिक १० घण्टा बन्द रहेको बेलामा भइरहेको टिकटको मूल्यवृद्धि नियन्त्रण गर्ने उपायस्वरुप उड्डयन क्षेत्रको सरोकारवालाको बैठकले टीबीए खारेज गर्ने निर्णय गरेको हो ।

    नागरिक प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालक सहभागी बैठकले गरेको यो निर्णय अब सबै वायुसेवा कम्पनीहरूले पालना गर्नुपर्नेछ ।

    बैठकले हवाइ भाडा नियन्त्रणसँग सम्बन्धित विभिन्न ५ निर्णय गरेको छ । जस अनुसार सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाइ सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाइ भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ ।

    ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित सङ्ख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रहेर मात्र सेवा शुल्क लिने व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने जनाइएको छ । त्यस्तै सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त वमोजिमको हवाइ भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णय भएको पनि प्राधिकरणले जनाएको छ । २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरूले महँगो हवाइभाडा लिएको गुनासो आइरहेको छ ।

  • फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

    फ्लाइ दुबईले भैरहवाबाट थाल्यो दैनिक उडान

    काठमाडौं । फ्लाइ दुबईले भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थालेको छ । कम्पनीको जहाज शनिबार अपरान्ह यो विमानस्थलमा अवतरण गरेको छ । शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो । दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो ।

    यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् । बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाडौं आएका छन् । भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ । फ्लाई दुबईले अब भैरहवामा दुबईबाट नियमित दैनिक एक उडान गर्ने भएको छ ।

  • क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् ।

    पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई पठाउने भन्दै १९ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरु दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।