Category: अर्थतन्त्र

  • नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन धेरै मुल्य बढ्ने कम्पनी

    नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन धेरै मुल्य बढ्ने कम्पनी

    काठमाडौं । साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१५ कम्पनीको २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.५४ प्रतिशतले बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । आइतवार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्री इन्भेष्टमेन्द, मल्टीपर्पस फाइनान्स र राधी विद्युत् कम्पनीक शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, रिभर फल्स पावर, पञ्चकन्या माइ हाइड्रोपावर, अपर हेवाखोला, राष्ट्र उत्थान लघुवित्त, हिमालयन ऊर्जा कम्पनी र सेन्टर फाइनान्सका शेयर मूल्य करिब १० प्रतिशतको हाराहारीले बढेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ साढे १२ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोड बढीको कारोबार भएको छ ।

  • आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

    आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

    काठमाडौ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडी सोमबार पनि रोकिएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गाडी बीच बाटोमै रोकिदिएका हुन् । सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जनाएका छन् ।

    हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी गरेका छन् । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।

  • बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन

    बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन

    ढाका । बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्दा विरोध प्रदर्शन शुरु भएको छ । यस देशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको त्यहाँको सरकारको तर्क छ । दक्षिण एशियामा यसअघि श्रीलंकामा चरम आर्थिक संकटले जनजीवन नराम्रोसँग प्रभावित भइसकेको छ । बंगालादेशमा समेत यस्तो अवस्थाको आंकलनसहित हजारौं मानिस सडकमा आएका हुन् ।

    बंगलादेशमा इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ। डिजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ।


    झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको यस मुलुकमा अब महंगीको मारमा जनता परेका छन् । गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ । यस देशमा पनि विदेशी मुद्राको सञ्चिति भने कम भइरहेको छ।

  • बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

    बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

    काठमाडौं । काठमाडौंबाट बल प्रयोग गरी फोहोर बन्चरे डाँडा लैजान खोजिएपछि आइतबारबाट पुनः फोहोर लैजाने काम प्रभावित बनेको छ । स्थानीयले आइतबार दिनभर जसो बाटोमा अवरोध गरिरहे । साथै महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी फोहोर ल्याउन नदिने भन्दै राजनीतिक दलका नेतृत्वको हस्ताक्षरमा एक विज्ञप्ती जारी भएसँगै महानगरपालिकाका मेयर बालेन साह भने आक्रोसित बनेका छन् ।

    उनले सामाजिक सञ्जालमा उक्त विज्ञप्ती राख्दै उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको बताएका हुन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकामा उनको आपत्ति छ । यसलाई उनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गरेका हुन् । उनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् ।

    ‘‍‍‍‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन’, बालेनले भनेका छन् ।

    आइतबारदेखि दैनिक २५० देखि ३५० वटा गाडीले काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजाने जानकारी गराएपछि आइतबार नै दुई स्थानमा अवरोध भएको र त्यसलाई समाधान गरेपछि धुनिवेशीका सत्तारुढ तीन दलले विज्ञप्ति जारी गरेर अवरोध गर्न खोजेको भन्दै बालेनले यसलाई विडम्बनापूर्ण बनेका छन् ।


    ‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापूर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ’ उनले भनेका छन् ।

    उनले यी कामहरु झुक्याएर नगरेको भन्दै विगतमा गरेका सहमति कार्यान्वयन गर्नु सबैको कर्तव्य भएको बताएका छन् । ‘यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ती सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो’ बालेनले भनेका छन् ।

  • रोकिएन नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    रोकिएन नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौ. । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमै नेप्से झन्डै १०८ अंकले घटेको छ ।

    आइतबार नेप्से २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ ११ करोड शिवम् सिमेन्ट ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ । त्यस्तै, हिमालयन डिस्ट्रलरी ६.१०, इमर्जिङ नेपाल , नेपाल लाइफ, मल्टीपर्पस फाइनान्स, हिमालयन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

  • शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

    शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

    काठमाडौं । शनिबारबाट काठमाडौंमा फोहोर संकलन शुरु भएको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी गराएका छन् । उनका अनुसार शनिबार १५२ वटा गाडी फोहोर बञ्चरे डाँडामा पुगेको छ । शनिबार स्थानीयले समेत अवरोध नगरेको उनले जानकारी गराएका छन् । अब कुनै अवरोध नभए दैनिक २५० देखि ३५० वटा गाडी बन्चरे डाँडा लैजाने लक्ष्य छ । काठमाडौं महानरपालिकामा दैनिक ७५ र अन्य पालिकाबाट दैनिक ७५ गरी दैनिक १५० गाडी फोहोर उठ्ने गरेको छ ।

    मेयर बालेनका अनुसार फोहोर व्यवस्थापनमा सरोकारवाला सबैको सहयोगको अपेक्षा महानगरपालिकाले गरेको छ । उनले कुनै पनि हालतमा बन्चरे डाँडाको अवस्था सिस्डोलको जस्तो नहुने प्रतिवद्धता समेत जनाएका छन् । बन्चरे डाँडामा विभिन्न माग राख्दै स्थानीयले गरेको अवरोधले पटक पटक फोहोर संकलनको काम प्रभावित बनेको छ । यसले काठमाडौं उपत्यका कुरुप बनिरहेको छ ।

  • गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

    गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

    काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितलाई भदौ ५ गते सम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ(आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णय गरी यस अपराधलाई नियन्त्रण गर्न सक्ने उपायहरू सिफारिस गर्न डा. भीष्मकुमार भूसालको संयोजकत्वमा कार्यदल बनेको थियो।

    सो कार्यदल बनेसँगै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिइरहेका नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाका पीडितहरूसँग पनि छलफल गरेको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भएको थियो। यस्तै नवलपरासी पश्चिममा मात्रै नभई तराईका अधिकांश जिल्लाहरूमा मिटरब्याजबाट पीडित भएकाहरू हुनसक्ने भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो।

    ‘देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरूद्ध आ(आफ्नो जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

  • वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

    वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

    काठमाडौं । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै यस्तो घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको हो ।

    मुलुकमा विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेपछि बैंकिङ प्रणालीबाट भित्रिने रेमिट्यान्सको परिमाण बढाउन सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था घोषणा गरेको थियो ।

    बोर्डले संशोधन गरी पठाएको नियमावलीमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा १० प्रतिशत आरक्षण पाउने उल्लेख छ । यो व्यवस्थाअनुसार अब संगठित संस्थाले आईपीओ जारी गर्दा सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएकालाई वितरण गर्नुपर्नेछ । यसरी छुट्याइएको सेयर बिक्री नभएको अवस्थामा मात्र अरूलाई बिक्री गर्न पाइनेछ ।

    वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओमा आवेदन दिन नेपालमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स खाता खोल्नुपर्नेछ । त्यही रेमिट्यान्स खातामार्फत सेयरमा आवेदन दिनुपर्नेछ । मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भएसँगै अब बोर्डले त्यससम्बन्धी निर्देशिका बनाउनेछ । निर्देशिकामा सेयरमा आवेदन दिने प्रक्रिया, आवश्यक कागजातलगायत सबै कुरा उल्लेख गरिने धितोपत्र बोर्डले जनाएको छ ।

  • चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

    चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः एकतर्फी रुपमा नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको बताइएको छ । नाका बन्द भएपछि तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन नपाएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार बुधबारदेखि चीनबाट सामान आयात रोकिएको छ ।

    तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको कार्यालयले जनाएको छ । सो नाकाबाट दैनिक ४ देखि ८ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुदैंआएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, कोरोना महामारीलगायतका बिपद्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदैंआएको छ ।

  • अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल

    अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल

    काठमाडौं । सरकारले अर्थ सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा पुष्करलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।

    मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ । दंगाल अहिले सुदुरपश्चिम प्रदेशको मूख्यसचिव थिए । उनी सहसचिव हुँदा अर्थ मन्त्रालयमा राजस्व महाशाखामा काम गरिसकेका छन् ।

  • पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

    पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

    काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । यसअघि भएका सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै व्यवसायीले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

    ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

    ‘आगामी भदौ भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

    गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

    बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् ।

  • रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ ।

    कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोवार रकम पनि घटेको छ । बुधवार १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ ।

    घट्दो बजारमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । बुद्धभूमिको ७.५७ र हिमालयन एभरेष्ट इन्सोरेन्सको ५.९४ प्रतिशत घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ७ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    हिमालय डिस्टिलरीको ६ करोड १२ लाख र नेष्डो लघुवित्त ५ करोड बढीको कारोबार भएको छ ।

  • काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

    काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

    काठमाडौं । चिनियाँ भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्कासँगको औपचारिक भेटमा चीनका विदेश मन्त्री वाङ यीले दिएको आश्वासनपछि काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको छ । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यो आयोजना अहिले पनि अन्यौलमा छ । चीनले आश्वासन मात्र दिएको आशंकाका बीच पुनः यो आयोजनाले गति लिने अपेक्षा गरिएको छ । भेटमा चीनले नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा समेत गरेको छ ।

    यसअघि काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सहमति भएको थियो । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसमा दुई देशका उच्च अधिकारी सहमत थिए । तर त्यसपछि अध्ययनका लागि चिनियाँ प्राविधिक टोली आएको छैन ।

    काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने २०७५ मंसिरमै भएको थियो । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार भएका थिए । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहन्छ । रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउनु पर्नेछ ।

  • नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड

    नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड

    काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको नेपाल विद्युत प्राधिकरणले एक वर्षको अवधिमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८\७९ को अपरिस्कृत तथ्यांक अनुसार संस्थाको वार्षिक नाफा १६४ प्रतिशतले बढेको हो । आव २०७७\७८ मा ६ अर्ब १० करोड मात्र खुद नाफा थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ।

    ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको उनले बताए । यस वर्ष विद्युत निर्यात समेत बढेको छ । प्राधिकरण स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन १६ प्रतिशतले बढ्दा समेत मुनाफा बढेको उनले बताए । आव २०७२\०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा गएको छ । त्यसयता कुलमान नै नेतृत्वमा छन् ।

    प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो। विद्युत चुहावट १५.३८ प्रतिशतमा झरेको छ ।

    प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ। ‘चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । आव २०७८\७९मा भारतर्फको विद्युत निर्यात बढेको छ । आयात घटेको छ।

  • नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

    नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

    काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति गरेका थिए ।


    तर काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार नै नर्भिक अस्पतालले दिएको रिट बुधबार नै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भयो । उक्त इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिनुका साथै आगामी सोमबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । सर्वोच्चले नर्भिकको संरचना भत्काउन खोज्नुको कारणबारे लिखित जवाफ पनि माग गरेको छ । नर्भिकले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि महानगरपालिकाले त्यसलाई भत्काउन आग्रह गरेको हो ।

    सर्वोच्चको आदेशपछि मेयर बालेन शाह भने भड्किएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नक्सा पास नगरी बनाएका संरचनालाई कारवाही गर्ने र नक्सा पास गर्ने अधिकार समेत सर्वोच्च अदालतलाई नै दिन अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘ नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारवाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान संशोधन नै गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं ।’

  • एक वर्षमा कामनपाको खर्च ७ अर्ब ३१ करोड

    एक वर्षमा कामनपाको खर्च ७ अर्ब ३१ करोड

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।

    बुधबार राष्ट्रिय सभा गृहमा वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो। काठमाडौं महानगले करिब १९ अर्बको बजेट ल्याएकोमा साढे १६ अर्बमा झार्दा पनि ४४.२४ प्रतिशत मात्रै खर्च गरेको तथ्यांकले देखाएको छ ।

    बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले, समीक्षाबाट गएको वर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने राम्रा कामलाई निरन्तरता दिन, कमजोरी सुधार गर्न तथा अभाव कम गराउन मद्दत हुने बताए ।

    प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तुतिहरुमा समस्यासँगै समाधानका उपाय सुझावका रुपमा आउनुपर्ने बताए। उनले समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ। विगतमा देखिएका कमजोरी दोहोरिन दिनु नहुने बताए।

    समीक्षामा महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धरले जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।

    गत वर्षको स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको महानगरले जनाएको छ। बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतिकरण हुनेछ।

  • नेपाली शेयर बजारको ओरालो यात्र कायमै, तीन दिनमै नेप्से ६५ अंकले घट्यो

    नेपाली शेयर बजारको ओरालो यात्र कायमै, तीन दिनमै नेप्से ६५ अंकले घट्यो

    काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ५.११ अंकले घटेर २०५७.६८ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१८ कम्पनीको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको ४६ लाख ४० हजार८४४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोवार रकम पनि घटेको छ । मंगलवार २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको कारोवार भएको थियो ।

    पछिल्ला तीन कारोबार दिनमै नेप्से ६५ अंकले घटेको छ । मंगलवार ४५.४२ अंकले घटेको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये लगानी र उत्पादनमूलक बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.४९ प्रतिशतले घटेको छ ।

    आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज हिमालय एभरेष्ट इन्सोरेन्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको हो ।

    त्यसैगरी, हिमालयन पावर, गुडविल फाइनान्स, सिद्धार्थ इक्वीटी फण्ड, लक्ष्मी लघुवित्त, कर्णाली डेभपलमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स पावरको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १० करोड ६८ लाख भन्दा बढीको कारोवार भएको छ ।

    शिवम् सिमेन्टको ६ करोड ८८ लाख, हिमालय डिस्टिलरीको ६ करोड ७१ लाखको कारोवार भएको छ ।

  • चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

    चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

    रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडक पहिरोले बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने पहुँच नै अवरुद्ध बनेको छ । गतराति ठूलो वर्षाका कारण आएको पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएपछि सम्पर्क टुटेको हो ।

    सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या देखिएको छ । पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

  • कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

    कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

    काठमाडौं । नेपाल उद्योग परिसंघले १७–२० कात्तिकसम्म सीएनआई रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति समेत हुने बताए । मेलमा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क तथा छलफल गर्न सकिने उनले बताए ।

    अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजार भन्द बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको उनको भनाइ छ । परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास गरेको छ ।

    सरकार तथा अन्य सरोकारवालाहरुलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरुको समेत पहिचान हुने विश्वास परिसंघले लिएको छ । नेपालमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ ।

  • कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

    कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

    काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन लागेको हो ।

    ईपीएस कोरिया शाखाका अनुसार रोस्टरमा नाम पठाउने सूचीमा रहेका उम्मेदवारको व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणको रिपोर्टसहित रोजगार आवेदन फारमसहितको नाम रोस्टरमा पठाइएको छ । दक्षिण कोरिया सरकारले कृषि तथा पशुुपालनतर्फ दुई हजार ७४१ जना श्रमिकको माग आएकोमा पहिलो चरणमा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । परीक्षाका लागि जम्मा छ हजार ५९७ जनाले आवेदन दिएकोमा छ हजार १०६ जनाले परीक्षा दिएका थिए ।

    कृषितर्फको दोस्रो चरणका लागि असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा एक हजार १०३ जना उत्तीर्ण भएका छन् । दोस्रो चरणमा उत्तीर्ण भएका उम्मेदवारको स्वास्थ्य परीक्षण, व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदनसहित रोजगार आवेदन फारम भराउने काम भइरहेको छ । कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर दुई हजार ९१२ जना उत्तीर्ण भएका छन् । ईपीएस शाखाका उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । मागको सङ्ख्या र उत्तीर्ण सङ्ख्या हेर्दा १७१ जना बढी हुन आउँछ ।

    सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि पहिलो चरणको परीक्षण साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ । ईपीएस शाखाका अनुसार उत्पादनतर्फको पहिलो चरणको परीक्षाका लागि १५ हजार ३८३ जनाले आवेदन दिएका छन् । यस्तै उत्पादनतर्फको दोस्रो चरणको परीक्षा आउँदो भदौ २० गतेबाट असोज २१ गतेसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    सो शाखाका अनुसार दोस्रो चरणको परीक्षाका लागि १८ हजार ९९५ जनाले आवेदन दिएका छन् । उक्त परीक्षाबाट यस वर्षका लागि उत्पादनतर्फ माग भएको छ हजार ९१३ जना छनोट गरिनेछ । सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आवेदन माग गरिएको थियो ।

  • काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने फोहरबाट मल उत्पादन गर्ने

    काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने फोहरबाट मल उत्पादन गर्ने

    काठमाडौं । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ ।

    पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।

    उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।

    योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु-याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो ।

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ ।

    हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उनले बताए । फोहर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ । फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ ।

    निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याइँदै

    काठमाडौँको कुल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ ।

    कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

    निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ । जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ ।

    ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने जनाउँदै यसका लागि सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने धारणा राखे । फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुर्नेमा उनको भनाइ छ ।

    फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सह लगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चात्को उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ ।

    त्यसैगरी विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको सुझाव छ ।

    अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उनले जोड दिए । उनका अनुसार फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ ।

    आगामी दिनमा फोहर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा अन्य स्थानीय तहको प्रमुखको पनि जोड रहेको छ ।

    वैकल्पिक बाटोको खोजी

    हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोकै कारण उपत्यकाको फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ । हाल फोहर व्यस्थापन भइरहेको स्थान बञ्चरेडाँडासम्म फोहर व्यवस्थापन गर्नका लागि कामपासहित अन्य १७ वटा स्थानीय तहको पनि सहकार्यमा काम अघि बढेको हो ।

    मुड्खुखोलादेखि बञ्चरेडाँडासम्म कै बाटोमा पटक पटक समस्या आएका ले हप्तौसम्म उपत्यकाको फोहर व्यवस्थापनमा समस्या अएको हुँदा आगामी दिनमा त्यस्ता समस्या नआयोस भनेर विकल्पको तीव्र खोजी गरिएको हो । मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने भएको छ । यसको लागि कामपामा चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको छ ।

  • शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१४ कम्पनीको २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको ६५ लाख २७ हजार ४४१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै २.५४ प्रतिशतले घटेको छ ।

    दोहोरो अंकले घटेको शेयरबजार घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो ।

    आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०० रुपैयाँ पुगेको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५०।८० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २० करोड ७१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    नबिल बैकको १० करोड ८५ लाख र सीआइटीको ८ करोड २१ लाखको कारोबार भएको छ ।

  • त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

    त्रिभुवन विमानस्थलको सेवा चुस्त पार्न पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुका साथै यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापन चुस्तदुरुस्त राख्न व्यवस्थापन पक्षलाई निर्देशन दिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन निर्देशन दिएका हुन् । उनले विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै रनवे क्षेत्रको पनि निरीक्षण गरेका थिए ।


    निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले विमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको भन्दै ७३ बुँदे कार्ययोजनामा समेत विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताए । विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए

  • १ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    १ जनवरी २०२३ बाट संचालनमा आउने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सञ्चालनमा आउने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    यो नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । चिनियाँ सरकारको सहुलीयतपूर्ण ऋणमा यो विमानस्थल निर्माण भएको हो । विमानस्थलको लागत २२ अर्ब रुपैयाँ रहेको छ । प्राधिकरणका अनुसार अब विमानस्थलको अगाडी रहेको सानो डाँडा कटान र फोहोर फाल्ने स्थानको व्यवस्थापनबाहेक भौतिक संरचना निर्माणको काम पुरा भएको छ ।

  • नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा,सुरुङ खन्ने काम ६० प्रतिशत पूरा

    नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा,सुरुङ खन्ने काम ६० प्रतिशत पूरा

    काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै दुई तिहाई सम्पन्न हुन लागेको हो ।

    नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार साउन २२ गतेसम्म सुरुङ खन्ने काम ६० प्रतिशत पूरा भएको छ । हालसम्म ३ हजार २७६ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

    कोभिडकालमा समेत निरन्तर काम हुँदै आयोजनाको कुल ५ हजार ४९९ मिटरमध्ये हालसम्म ३ हजार २७२ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो ।

    आयोजनका अनुसार मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ४७५ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७७० मिटर र धादिङतर्फ ७०५ मिटर मुख्य टनेल खनिएको छ ।

    त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ६१३ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ९२१ मिटर र धादिङतर्फ ६९२ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

    त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ६२ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ ३० मिटर निर्माण गरिएको छ ।

    हालसम्म आयोजनाको समग्रमा ४१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ४७ प्रतिशत प्रगति भएको छ ।

    आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार २२३ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

    नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

    नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा थप ८६ दिन म्याद थप गरिएको छ । उक्त समय अनुसार नागढुंगा सुरुङमार्गको कुल निर्माण सम्पन्न हुन अब करिब ११ महिना बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरोे अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१९ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको को परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा होटल तथा पर्यटन समूह २.१६ प्रतिशतले बढेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मनकामना स्मार्ट लघुसवत्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यसैगरी, तेह्रथुम पावर ९.६५ प्रतिशत, उपकार लघुवित्त ९.१३, गुह्येश्वरी मर्चेन्ट ८.५७, साहस ऊर्जा ६.११, बुद्धभूमि नेपाल ५.९१, मैलुङखोला ५.७१, स्वरोजगार लघुवित्तको शेयर मूल्य ४.११ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ ।

    यसको आज १३ करोड ८९ लाख भन्दा बढीको कारोबार भएको छ । नविल बैंकको १२ करोड ७३ लाखको कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्स झन्डै १० करोडको कारोबार भएको छ ।

  • क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

    क्याथे प्यासिफिकले काठमाडौं उडान थाल्दै

    काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौं–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५, ९अक्टोबर (तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।
    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ ।

    प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए । क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङ्कङ–काठमाडौं–हङ्कङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङ्कङको ड्रयागन एयरलाइन्सअन्तर्गतकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्रयागन एयरलाइन्सले हङ्कङ–काठमाडौं गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हङ्कङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्रयागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो ।

    क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङ्कङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ । अहिले काठमाडौं–हङ्कङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङ्कङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौंबाट हङ्कङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ । हाल क्याथेले हङ्कङ–काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

  • नेप्सेमा उच्च अंकको गिरावट कायमै, यी धेरै गुमाउने कम्पनी

    नेप्सेमा उच्च अंकको गिरावट कायमै, यी धेरै गुमाउने कम्पनी

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

    कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३४.८५ अंकले घटेर २११३.३० विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार (शुक्रवार २ घण्टाको कारोबारमा) २१५ कम्पनीको २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँ बराबरको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेको छ ।
    सबैभन्दा धेरै गुमाउने फाइनान्स समूह ३४० प्रतिशतले घटेको छ ।

    नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट ६.४२, युनाइटेड इदीमर्दी ६.३७, सामलिङ पावर ५.६९, इमर्जिङ नेपाल ५.४४, तेह्रथुम पावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, गुराँस लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १५ करोड ६६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    नविल बैकको १४ करोड १४ लाख, हिमालय डिस्टिलरीको ९ करोड ६४ लाखको कारोबार भएको छ ।

  • नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

    नेपालमा भारतपछि अमेरिकी पर्यटक बढी, बढ्दैछन् चिनियाँ पनि

    काठमाडौं । नेपालमा कोरोना महामारीपछि अमेरिकाबाट उल्लेख्य पर्यटक आएको देखिएको छ । भारतपछि अमेरिकी पर्यटकको आगमन दोस्रो स्थानमा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । पछिल्लो सात महिनाको तथ्यांक अनुसार अहिले पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२२ मा ४४ हजार ४६२ जना पर्यटक नेपाल आएका छन् । यसमा १७ हजार २९९ जना भारतीय पर्यटक छन् ।

    दोस्रो स्थानमा रहेको अमेरिकाबाट एक महिनामा ५ हजार २२८ जना पर्यटक आएका छन् । जनवरीदेखि जुलाई सम्मको सात महिनामा भने कुल २ लाख ८५ हजार ३६३ जना पर्यटक नेपाल आएका छन् । कोभिड १९ महामारीपछि चीन सरकारले आफ्ना नागरिकलाई समेत विदेश भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय यस्तो कडाइ खुकुलो बन्दै गएपछि चिनियाँ पर्यटकको समेत आगमन बढ्न थालेको छ ।

    जुलाईमा मात्र चीनबाट १५ सय ९३ जना पर्यटक आएका छन् । यो कोभिड(१९ यता एक महिनामा आएका चिनियाँ नागरिकको सबैभन्दा ठूलो संख्या हो । यद्दपि यो संख्या साविकको जत्ति भने होइन । सन् २०१९ मा जुलाईमा १० हजार ८०८ जना चिनियाँ नागरिक आएका थिए । जुलाईमा भारतीयपछि अमेरिकाबाट बढी पयर्टक आएका छन् ।

    सन् २०२२ जुलाईमा बढी पर्यटक आएका ५ मुलुक

    भारत : १७ हजार २९९
    अमेरिका : ५ हजार २२८
    बेलायत : ३ हजार ९५३
    बंगलादेश : १ हजार ८७४
    चीन : १ हजार ५९३

  • नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं । वर्षायामपछि हरेक दिनजसो पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध बनेको छ । यसले यात्रुलाई भने सास्ती पुगेको छ । सरकारले यो राजमार्गको विकल्प खडा नगर्दा हरेक वर्ष मानिसहरुले सास्ती भोग्य बाध्य छन् । चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको हो ।

    आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । पहिरो हटाउन सुरुमा तीनवटा डोजर प्रयोग गरिए पनि एउटाको टायर पन्चर भएपछि अहिले दुईवटा डोजरमात्र प्रयोग गरिएको छ ।