Category: अर्थतन्त्र

  • रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    काठमाडौँ, २१ असोजः नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका हुन् ।


    नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयमा रहेको ‘समुन्नति कार्यक्रम’ मार्फत् सो नगद प्रदान गर्ने जनाएको छ । यसका लागि ती दुई निकायबीचमा सम्झौतासमेत भएको छ ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रवहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीले मङ्गलबार सो सहकार्यमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसी नेपाल प्रमुख डेभिड फिसरको उपस्थिति थियो ।

    सम्झौताअनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउनेछ । बाढीबाट प्रभावित परिवारका तत्कालीन तथा प्राथमिक आवश्यकता सम्बोधन गर्दै उनीहरूको जीवनयापन सहज बनाउन, पुनर्लाभ तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता प्रदान गर्न लागिएको महामन्त्री खनालले जानकारी दिए ।


    महामन्त्री खनालले भने, “प्रभावित व्यक्तिहरूको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उपलब्ध गराइनेछ । बाढीबाट प्रभावित झन्डै छ हजार परिवार रहेको प्रारम्भिक अनुमान छ । प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ ।

    यसबाट सहायता वितरण प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । प्राप्त रकम परिवारले आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन् ।”

    नगद सहायता प्रदान गर्दा बाढीबाट प्रभावित तथा विशेष जोखिममा रहेका महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य विशेष आवश्यकता भएका व्यक्ति तथा परिवारलाई प्राथमिकता दिइनेछ ।

    सम्झौतामा उल्लेख भएअनुसार मन्त्रालयको विशेष जिम्मवारी नीतिगत निर्देशन, कार्यक्रमको अनुगमन तथा समन्वय रहनेछ । सम्बन्धित स्थानीय तहले लाभग्राहीको पहिचान, प्रमाणीकरण तथा स्थानीय समन्वयमा सहयोग पुर्याउनेछ भने नेपाल रेडक्रस सोसाइटीले नगद तथा भौचर सहायता वितरण, समुदायसँग समन्वय, अनुगमन तथा जवाफदेहितासम्बन्धी कार्यमा सहयोग गर्नेछ ।

    मन्त्रालयले ‘समुन्नति कार्यक्रम’लाई समावेशी कार्यक्रमका रूपमा कार्यान्वयन गरिरहेको छ । यस कार्यक्रमको उद्देश्य महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्करणमा परेका समूह, विपद् प्रभावित व्यक्ति तथा विशेष आवश्यकता र जोखिममा रहेका अन्य व्यक्ति तथा परिवारलाई सहयोग गर्नु हो ।

    बाढी प्रभावितलाई मानवीय सहायता निरन्तर जारीः नेपाल रेडक्रस

    नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशीमा गत भदौ १० गते गएको बाढीले पारेको प्रभाव र मानवीय कार्यहरूको समीक्षासमेत गरेको छ । सो अवसरमा महामन्त्री खनालले बाढीलगत्तैदेखि रेडक्रसले सुरु गरेको मानवीय सहायताको कार्य निरन्तर रहेको जानकारी दिनुभयो । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न नेपाल रेडक्रसले सरोकारवालासँगको साथ र सहयोगका लागि समन्वय गरिरहेको जानकारी दिनुभयो ।

    रसुवा भोटेकोशी बाढीपश्चात् नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूको कार्य प्रशंसनीय रहेको जनाउँदै आइएफआरसी नेपालका प्रमुख फिसरले बाढी प्रतिकार्यका लागि आइएफआरसीले सहयोगको अपिल गरेको र अपिलअनुसारको आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिए । उनले बाढी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि निरन्तर जारी रहने जानकारी दिए ।

    रेडक्रसको अन्तरराष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन झोला र बेपत्ता परिवारको खोजीमा नेपाल रेडक्रस सोसाइटीसँग मिलेर काम गरेको बताए । कार्यशालाले आगामी तीन महिनाका लागि गर्नुपर्ने तत्कालीन योजनाको सूची तयार गरेको छ । नेपाल रेडक्रसले प्रभावित क्षेत्रमा बहुउद्देश्य नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैङ्गिक र समावेशीकरणलगायतका क्षेत्रमा निरन्तर सहयोग जारी राखेको छ ।

  • ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    बाजुरा, २१ असोजः बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उहाँले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् । गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उहाँले उदाहरण प्रस्तुत गरेका छन् । विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गरेका जैसी त्यसपछि गाउँ फर्किए ।


    गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गरे । केही वर्ष कृषि तथा पशुपालनमा लागेपछि फरक र नयाँ प्रकारको व्यावसायिक खेती गर्ने सोच आएपछि उनी ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भए । “केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आयो,” जैसीले भने, “कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदानमा ड्रागन फ्रुटखेती सुरु गरेँ ।”

    सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाएर उक्त खेती सुरु गरेका जैसीले उत्पादन राम्रो हुन थालेपछि त्यसलाई विस्तार गरेका हुन् । हाल उनले पाँच रोपनीमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाएका छन् । ड्रागन फ्रुटका बिरुवाले दुई वर्षमै फल दिन थालेपछि जैसीको उत्साह थपिएको छ । गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री गर्नुभएको उनदे यस वर्ष भने उत्पादन बढेको बताए । “जेठ महिनादेखि फल्न सुरु हुन्छ र असोजसम्म यसको सिजन हुन्छ,” उनले भने, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो । यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु । अझै केही पाक्ने क्रममा छ ।”

    जैसीका अनुसार ड्रागन फ्रुटको बिक्रीबाट वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी भएको छ । उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ । मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म पुर्याएर बिक्री गर्दै आएका छन् ।


    उत्पादन बढ्दै गएमा आम्दानी बढाउन सकिने उहाँको भनाइ छ । जैसीका अनुसार राम्रो मलजल र व्यवस्थापन गर्न सके एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ । “ड्रागनखेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,” उनले भने, “तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन । गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ ।” जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा कृषि सम्भावनाको एउटा उदाहरण बनेको छ । जिल्लामै ठूलो क्षेत्रफलमा खेती गर्ने उहाँ पहिलो कृषक हुन् । अन्य स्थानमा केही वर्षअघि खेती सुरु भए पनि व्यावसायिक हुन सकेको छैन ।

    बाजुरामा कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ । यहाँ करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा हालसम्म सिँचाइ सुविधा पुगेको छैन । वर्षभरि लगाएको खेतीले छ महिना पनि खान पुग्दैन । कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागनखेती सुरुआत गरिएको थियो ।

    केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागनखेती हुन्छ । “नयाँ बाली भएकाले यहाँ थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,” उनले भने, “जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त रहेको छ । मेहनतका साथ लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।”

  • बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    म्याग्दी, २१ असोजः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढेको हो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।


    “अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा कटान भएर सडक भत्किँदा बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ”, उनले भने, “दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरे पनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षणको विकल्प छैन ।”

    साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पास हुने पर्याप्त ठाउँ छैन । कतिपय ठाउँमा सवारीसाधन भुइँमा ठेक्किन्छन् । ह्युम पाइप राखिएको ठाउँमा बाढी आएर बगाउने जोखिम पनि उत्तिकै छ । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चाप पनि यो सडकमा छ ।

    गण्डकी प्रदेश सरकार मातहतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार करिब १०० मिटर दूरीमा कालोपत्र डिलदेखि कुनासम्मै सडकको पूरै भाग भत्किएको छ । सडक भत्किएको ठाउँमा पैदलयात्रा गर्न पनि जोखिम छ । खोलाको किनारदेखि पक्की पर्खाल उठाएर सडकलाई पुनर्निमाण गर्नुपर्ने कार्यालय प्रमुख उलकले बताए । डिलतिर ठाउँ छैन, भित्ता काटेर सडक बनाउँदा बस्तीलाई जोखिम हुन्छ । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पहिरोका कारण करिब १४० घरपरिवारको बसोबास रहेको दुखुबेँसी गाउँलाई जोखिम बनाएको बताए ।


    कटान रोकथाम, सडक सञ्चालन र बस्ती संरक्षणको काम गर्नुपर्ने दुखुबेँसीका बासिन्दाको भनाइ छ । बेनी–दरवाङ सडकको पछिल्लोपटक चुनौती बनेको बालौटे खण्डको सडक पुनर्निर्माणको काम अघि बढाउन मङ्गलबार म्याग्दी १ ९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँको टोलीले निरीक्षण गरे ।

    सांसद जुग्जालीले यातायात सञ्चालन, सडक पुनर्निर्माण, कटान नियन्त्रण र बस्ती संरक्षणको कामलाई समानान्तर रुपमा अघि बढाउन प्रस्ताव गरे । तत्काल बस्तीलाई असर नपुग्ने गरी सडक पुनर्निर्माण गरी दसँैअघि सवारी सञ्चालन गर्ने र आगामी बर्खाअघि नै नदी नियन्त्रण गर्नुपर्ने जुग्जालीले बताए ।


    सचिव शर्माले पूर्वाधार विकास कार्यालयले सडक मर्मत शीर्षकको मौजुदा र अख्तियारीप्राप्त भएको बजेटमार्फत ग्यावियन जाली खरिद र मजदुरको ज्यालाको व्यवस्थासँगै थप बजेटको प्रक्रिया अघि बढाउने, मन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने र छिटो काम गर्नका लागि जलविद्युत् आयोजनाहरूका उपकरण परिचालन गर्ने समझदारी बनेको बताए । मन्त्रालयले प्रदेश सरकार मातहतका गण्डकीका अन्य जिल्लाका विपद्बाट क्षतिग्रस्त सडक आयोजनालाई पनि तत्काल मर्मत गरी सञ्चालनका लागि बजेटको अभाव हुन नदिने र कतिपय जिल्लामा काम भइरहेको सचिव शर्माले बताए ।

  • दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

    दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

    काठमाडौँ, २० असोजः वडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको जनाएको छ ।

    बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल सङ्घ नेपाल, होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी सङ्घसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जनाएको छ ।

    सम्झौताअनुसार विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी दसैँको अवधिभर सञ्चालन गरिनेछ । विशेषगरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो । नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा सङ्घसंस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने उल्लेख छ ।

    दसैँको कार्यक्रम सम्पन्न भएपछि पिङ हटाइ निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ । नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले दसैँमा लिङ्गे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाएको जनाएको छ ।

  • घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

    घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

    काठमाडौँ, २० असोज । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवालाको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो । बैठकले यही असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।


    उनका अनुसार सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी सञ्चालनका क्रममा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिइने व्यवस्था मिलाइनेछ । दसैँमा ठूलो सङ्ख्यामा यात्रु राजधानीलगायत सहरी क्षेत्रबाट आआफ्नो गाउँघर जाने भएकाले यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    दसैँका समयमा यात्रुले अनावश्यक दुःख पाउन नपरोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । दसैँको समयमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सञ्चालन, टिकट व्यवस्थापन, सडकको अवस्था तथा यात्रुको सुरक्षामा विशेष ध्यान दिइने विभागले जनाएको छ ।

  • रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौँ, २० असोजः भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३\८४ मा सुस्त भई तीन दशमलव सात प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (बिल्डिङ ब्याक डिफरेन्ट्ली फर द फ्युचर) मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ ।


    प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष २०८४\८५ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ । बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व बैंकको आकलन छ । त्यस्तै, व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।

    कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व बैंकलेल प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पु¥याएको बताउँदै यसलाई नेपालको पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

    उनले सडक तथा सञ्चार सञ्जाल, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाका पूर्वाधारमा जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राखेर उत्थानशीलता तथा वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाललाई अझ बढी उत्थानशील र दिगो विकासको मार्गमा अघि बढाउन आवश्यक प्रणालीमा लगानी तथा उपयुक्त नीति कार्यान्वयन गर्न विश्व बैंक नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

    नेपाल उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने कार्यमा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्याङ्कन गर्न विश्व बैंकले सुझाव दिएको छ । प्रतिवेदनले पूर्वाधारको स्थान र डिजाइनबारे सावधानीपूर्वक विचार गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा थप वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । विपद् पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने तथा सङ्कटासन्न घरपरिवारलाई विपद्पछिको सहायता तीव्र रूपमा उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।

    दक्षिण एसियाको आर्थिक वृद्धि ६.९ प्रतिशत हुने प्रक्षेपण

    विश्व बैंकको पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदन ‘आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ ले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातप्रति दक्षिण एसियाली अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । सन् २०२७ मा भने यस क्षेत्रको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

    प्रतिवेदनले कृत्रिम बौद्धिकताको रणनीतिक प्रयोगमार्फत आर्थिक वृद्धिका नयाँ स्रोत निर्माण गर्न सकिने सम्भावनाको समेत विश्लेषण गरेको छ । दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै न्यून रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि एआईको प्रयोग तीव्र रूपमा बढिरहेको र व्यवसायहरूले बजारका नयाँ अवसर पहिचान गर्न यसको उपयोग गरिरहेको विश्व बैंकले जनाएको छ । एआईको प्रयोगमा अत्यधिक निर्भर दक्षिण एसियाली आपूर्तिकर्ताका लागि विश्वव्यापी मूल्य शृङ्खलासँगको सम्बन्धमार्फत नयाँ अवसर विस्तार भइरहेको पछिल्ला तथ्याङ्कको विश्लेषणले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

    स्वास्थ्य, शिक्षा र कृषिजस्ता दक्ष जनशक्तिको अभाव रहेका क्षेत्रमा सार्वजनिक सेवा प्रवाहका लागि एआईको प्रयोगलाई अर्को महत्वपूर्ण सम्भावनाका रूपमा प्रतिवेदनले औँल्याएको छ । विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले एआईको प्रयोगले श्रम उत्पादकत्व वृद्धि, निर्यातका अवसर विस्तार तथा सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत दक्षिण एसियाको विकासको दिशालाई रूपान्तरण गर्ने सम्भावना रहेको बताए ।


    उनले एआईबाट अपेक्षित लाभ हासिल गर्न सरकारले यसको प्रयोगमा अवरोध खडा गर्ने आधारभूत कमीकमजोरीलाई सम्बोधन गर्नुपर्ने बताए ।
    प्रतिवेदनले जनशक्तिको सीप सुदृढ गर्ने, व्यवसायमैत्री वातावरण निर्माण गर्ने तथा भौतिक र डिजिटल पूर्वाधारमा सुधार गर्नेलगायतका नीतिगत उपाय अवलम्बन गर्न सुझाव दिएको छ । साथै, साना व्यवसायले एआईको उपयोगमा सामना गर्ने अवरोध हटाउने, स्थानीयस्तरमा एआईसम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा स्पष्ट नियामक संरचना स्थापना गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ । यस्तो नियामक संरचनाले अनिश्चितता घटाउनुका साथै तथ्याङ्कको सुरक्षा र गोपनीयता सुनिश्चित गर्नुपर्ने विश्व बैंकले जनाएको छ ।

  • विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

    विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

    लन्डन, २० असोज (रासस–एएफपी) । जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको बताएका छन् । आपूर्ति अभावको जोखिम अझै कायम रहेको उनको भनाइ छ ।

    साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादक कम्पनीका प्रमुख नासेरले सोमबार लन्डनमा आयोजित ‘इनर्जी इन्टेलिजेन्स फोरम’मा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाब बढिरहेको बताए । ऊर्जा क्षेत्रका नेता सहभागी दुईदिने सम्मेलनमा उनले विश्वसँग तेल आपूर्तिका अन्य विकल्प अत्यन्त सीमित रहेकाले आपूर्ति व्यवस्थाको लचिलोपन र सुरक्षा घेरा निकै कमजोर रहेको बताए ।
    अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा उत्पन्न चिन्ता कम गर्न जी–७का राष्ट्रले अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए)सँगको समन्वयमा शुक्रबार तत्काल १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए । अमेरिकासहितको जी–७को उक्त निर्णयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजेल मौज्दात प्रयोग गर्न वा अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिएका थिए ।

    सामुद्रिक गतिविधि निगरानी गर्ने संस्था केप्लरका अनुसार हर्मुज जलसन्धिमा जहाजमाथि आक्रमण भए पनि गत साता इरानबाहेक मध्यपूर्वका देशबाट भएको तेल निर्यात युद्धपूर्वको स्तरभन्दा माथि पुगेको थियो । नासेरले मौज्दातसम्बन्धी कुल तथ्याङ्कलाई मात्र आधार नमान्न चेतावनी दिँदै वास्तविक रूपमा प्रयोग गर्न मिल्ने तेल मौज्दात १० प्रतिशतभन्दा कम रहेको बताए ।


    उनका अनुसार विभिन्न देशले रिपोर्ट गरेको मौज्दातको ठूलो हिस्सा पूर्वाधार सञ्चालनका लागि आवश्यक न्यूनतम परिमाण हो । जी–७सहित ३२ राष्ट्र सदस्य रहेको आईइएले शुक्रबार घोषणा गरेको १० करोड ब्यारेलतर्फ सङ्केत गर्दै नासेरले भने, “त्यसैले उनीहरू १० करोड ब्यारेल व्यवस्थापन गर्न सङ्घर्ष गरिरहेका छन् ।” उनले आपत्कालीन मौज्दातले आगामी जाडोयाम पार गर्न केही सहयोग गर्न सक्ने भए पनि दीर्घकालीन तेल आपूर्तिको समस्या समाधान गर्न नसक्ने बताए ।

  • बाढीले झोलुङ्गे पुलमा क्षति : आवतजावतमा समस्या

    बाढीले झोलुङ्गे पुलमा क्षति : आवतजावतमा समस्या


    दमौली ९तनहुँ०, २० असोजः यही असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको हो । पुल अवरुद्ध हुँदा सबैभन्दा ठूलो असर विद्यार्थीमा परेको छ । करूवाटार र बटौलिटार क्षेत्रबाट नदी पारी रहेको बौदीकाली–१ मचेडीस्थित धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब १५ देखि २० जना विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

    दैनिक विद्यालय आवतजावतका लागि यही पुल प्रयोग गर्दै आएका विद्यार्थी अहिले बाटो बन्द भएपछि घरमै बस्न बाध्य भएका छन् । नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष भीमबहादुर कुमालले बताए । पुल नहुँदा विद्यार्थी मात्र नभई स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने पैदलयात्रीसमेत प्रभावित भएको उनले बताए । “पुलमा क्षति पुगेपछि विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको छ । नदीको बहाव उच्च भएकाले वैकल्पिक रूपमा नदी तरेर जान सक्ने अवस्था छैन,” वडाध्यक्ष कुमालले भने ।


    पुल अवरुद्ध हुँदा बालबालिकाको पढाइ प्रभावित हुनुका साथै स्थानीयको दैनिक जीवनसमेत कष्टकर बनेको भन्दै स्थानीयले यथाशीघ्र पुल मर्मत गर्न वा तत्काल वैकल्पिक आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् ।

  • अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    लोथर (चितवन), २० असोजः राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइरहेको छ । जग्गा व्यवस्थापनसँगै सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिए । परियोजनअन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कट्ठामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ ।

    इन्डियन आयल कर्पोरेसशन (आइओसी)को मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिनेछ । अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटरको दूरीमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छ्याइनेछ । निगमले भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पदार्थ पाइपलाइनबाट ल्याइरहेको छ । सोही पाइपलाइनलाई अमलेखगन्जदेखि लोथरसम्म विस्तार गर्न लागिएको हो ।

    पाइपलाइनको नक्साङ्कन भइसकेको प्रमुख यादवले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन बिच्छ्याइने छ । त्यसका लागि सडक विभागसँग समन्वय भइसकेको निगमले जनाएको छ । हेटौँडा बजारमा ‘बाइपास’ गरेर पाइपलाइन बिच्छ्याउने गरी डिजाइन तय भएको छ ।

    “अमलेखगन्जबाट आउँदा रातोमाटेभन्दा अगाडि नै नदीको बीचबाट पाइपलाइन जानेछ, त्यो पाइपलाइन हेटौँडा बजार कटिसकेपछि राप्ती पुल नजिकै निस्कनेछ, हेटौँडा बजारमा पाइपलाइन जाँदैन”, उनले भने, “निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्नेगरी काम भइरहेको छ ।” अबको तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

    पाइपलाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा लोथरसम्म तेल आपूर्ति गर्न सकिने निगमले जनाएको छ । कुल ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकैबेला नियमित रुपमा ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ । निगमका उपप्रबन्धक ऋषिराम शर्माले परियोजना निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउने र परियोजना निर्माण थालनीको पूर्वतयारीका काम धमाधम चलिरहेको बताए । जग्गा तयार भएपछि निगमले भण्डारणसहितका संरचना निर्माणका लागि आइओसीलाई जिम्मा लगाउनेछ ।

    ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले पाएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले जग्गा पुर्नका लागि आवश्यक कच्चा पदार्थ सङ्कलन गर्ने र साइटमा ल्याउने काम भइरहेको जानकारी दिए । सो कम्पनीले गत भदौदेखि काम सुरु गरेको हो । परियोजना निर्माणस्थलमा बाहिरी पर्खाल लगाउने र माटो भर्न मोतीदान कन्स्ट्रक्सनले करिब रु ७९ करोडमा ठेक्का पाएको छ । ठेक्का अवधि एक वर्षको भए पनि आठ÷नौ महिनामा सम्पन्न गर्नेगरी कामलाई तीव्र पारिएको ठेकेदार कम्पनीले जनाएको छ ।

    पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिनेछ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि ८०० किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिनेछ ।

    यसै हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स ट्याङ्क निर्माण गरिनेछ ।

    हवाई इन्धन पनि पाइपलाइनबाटै

    लोथरमा हवाई इन्धन भण्डारणका लागि ट्याङ्क निर्माण भएपछि हवाई इन्धन पनि पाइपलाइनबाटै ल्याउन सकिनेछ । निगमले अहिले भारतको बरौनीबाट हवाई इन्धन ट्याङ्करमार्फत ढुवानी गरिरहेको छ । निगमले अहिले करिब ४०० किलोमिटर टाढाबाट हवाई इन्धन ल्याइरहेको छ । पाइपलाइनमार्फत लोथरमा हवाई इन्धन ल्याउन थालेपछि ढुवानीबापत प्रतिलिटर पाँच रुपैयाँ जोगिने निगमको भनाइ छ । पाइपलाइनबाट हवाई इन्धन ल्याउन थालेपछि वार्षिक करिब दुई अर्ब ढुवानी बराबरको खर्च जोगिने अनुमान छ ।

    पाइपलाइनबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावटको सम्भावना अन्त्य हुनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माणको लागत रु १४ अर्ब नौ करोड ६० लाख अनुमान गरिएको छ ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठमा गरेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको सुविधा सम्पन्न डिपो निर्माणको समझदारी भएको थियो । सो समझदारीमा दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले आपसी सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख थियो । सोही समझदारीअनुसार २०८१ असोजमा १७ गते इण्डियन आयल कर्पोरेशन ९आइओसी० र नेपाल आयल निगमबीच सम्झौता भएको थियो ।

    सो सम्झौतामा निर्माण कार्य सुरु भएको ५४ महिनामा परियोजना सञ्चालनमा ल्याइने उल्लेख छ । इण्डियन आयल कर्पोरेशनले सो परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।

    भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा आएको हो । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कुल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिनेगरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति गर्दै आएको छ । अमलेखगन्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    सो परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने विश्वास व्यक्त गरिएको छ । विसं २०२७ मा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरणका लागि निगमको स्थापना भएको थियो ।

  • बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बागलुङ, २० असोजः बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रुपमा निर्माण गर्न रु एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

    विवरणअनुसार, सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ । यस्तै, प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला खण्डमा क्षति पुगेको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, बागलुङ–बेनी सडकलगायतका राजमार्गमा रु ३० करोडको क्षति भएको छ ।

    मध्यपहाडी लोकमार्गको निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा ४०० मिटर सडकको ट्रयाक बगाउँदा बगरमा परिणत भएको छ । यस्तै घोडाबाधेदेखि हटियासम्मको लोकमार्गको सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो गएको छ । कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायत स्थानमा क्षति पुगेको छ । बागलुङ बजारहुँदै सिगाना जाने सडक तथा बागलुङ बजारदेखि तित्याङ जाने सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ ।

    यस्तै, पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेश सरकार मातहतमा काम भइरहेका क्षेत्रीय सडकमा रु २० करोडको क्षति भएको अनुमान गरिएको छ । कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर–ताराखोला सडकमा भएको छ । उनले आठ किलोमिटर लामो सडकको एक दर्जन स्थानमा पहिरो खसेको छ ।

    यस्तै शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट सडक तथा कुश्मिसेरा–राङ्खानी सडकमा क्षति पुगेको छ । “तथ्याङ्क सङ्कलनका क्रममै छौँ, सडक पूर्वाधारमा रु २० करोड बराबरको क्षतिको अनुमान गरिएको छ”, थापाले भने, “ठेक्काको अवधि बाँकी रहेको हरिचौर–ताराखोला सडक पुननिर्माणका लागि ठेकेदारलाई पत्र पठाएका छौँ ।”

  • सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    भोजपुर, २० असोजः सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन् । सुन्तला पहेँलो हुने र आफैँ भुइँमा खस्ने रोग फैलिएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानले बताए । फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएको सुन्तलामा अहिले फल झर्ने समस्या देखिएको उनको भनाइ छ ।

    प्रधानका अनुसार बगानमा अहिले फल झर्नेबाहेक हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट नै पहेँलो हुँदै जाने समस्या देखिएका छन् ।
    “पछिल्लो समय अनौठो रोग देखिन थालेको छ”, उनले भने, “यो वर्ष त झन् फल पहेँलो भएर झर्ने समस्याले व्यावसायिक खेती गरिरहेका हामी सबै किसानलाई ठूलो समस्यामा पारेको छ ।” करिब ४२ रोपनीमा सुन्तलाखेती विस्तार गरेको सुनाए ।


    टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले विगत केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या निरन्तर दोहोरिरहेको बताए । करिब १५ रोपनीमा सुन्तलाखेती गरेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएका राईले रोगका कारण उत्पादन घट्दै गएको जानकारी दिए ।

    भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्न थालेको बताए । समयमै यसको रोकथाम र नियन्त्रण हुन नसके पूरै बगान नै सखाप हुने स्थिति आएको भन्दै उनले चिन्ता व्यक्त गरे । सुन्तला बगानमा यस्तो रोगको प्रकोप देखिएकाले कृषि प्राविधिक तथा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीय किसानको माग छ।

  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरी, २० असोजः चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ ।
    दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ ।

    “अहिले खेतीपातीको अन्य धपेडी छैन, नवरात्र लागेपछि चाडबाडको तयारीमा लाग्नपर्छ । त्यसैले ओल खन्न लागेका छौँ”, भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव भन्छन्, “अहिले खनेर राखे दशहारा, दीपावली र छठका बेला बजार पु¥याउने काममात्र रहन्छ ।” यादव जस्तै उनका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव ओल खन्ने तयारीमा छन् ।


    मधेसमा ओल धनीमानीले खाने तरकारीका रुपमा मानिन्छ । यसको मूल्य अन्य तरकारीको तुलनामा बढी पाइने र उत्पादन पनि राम्रो हुने भएकाले महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानको रोजाइको बाली बनेको छ । जिल्लाका भङ्गाहा, बर्दिवास र गौशाला नगरक्षेत्रका बस्तीमा यसको खेती गरिएको छ । बलवा नगरपालिकाको धमौरा, लोहारपट्टी र मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले खेती गरेका छन् ।

    “व्यापारी घरमा आउने गरेका छन्, नआए पनि बजार पु¥याएपछि बिक्री भइहाल्छ”, बलवा–१० धमौराका नविजान कवारी भन्छन्, “राम्रो भाउ पाउनेबेला पारेर बेच्न सकिन्छ ।” एक कठ्ठामा १० क्विन्टलसम्म ओल फल्ने स्थानीय किसानको भनाइ छ । मधेसमा ओलको तरकारी, चटनी, अचार र तरुवा प्रसिद्ध परिकार मानिन्छ । पहिले रैथाने ओल हुनेखानेको भान्सामा मात्र पुग्थ्यो । अरु तरकारीभन्दा निकै महगो भएकाले यो धनीले मात्र खान सक्ने मानिन्थ्यो ।

    बजार भाउ र उत्पादन राम्रो हुने गरे पनि महोत्तरीमा यो खेती अझै व्यावसायिक बन्न सकेको छैन । यहाँका किसानले मुख्य खेतीका रुपमा ओललाई अझै स्वीकार गर्न नसकेको भङ्गाहाका कृषि शाखा प्रमुख सन्तोष कार्कीको भनाइ छ । किसानले यो खेतीका लागि व्यावसायिक चासो देखाए सुलभ मूल्यमा राम्रो बीउ, प्राविधिक रेखदेख र टाढाका बजारसँग आवश्यक समन्वय प्रबन्ध कृषि शाखाले गर्ने उनको भनाइ छ । पछिल्ला केही वर्षदेखि ओलखेती क्रमशः बढ्दै गएको र केही किसान प्रत्यक्ष सम्पर्कमा आएका उनले बताए ।


    थोरै सिँचाइमा पनि हुने र अन्य तरकारी बालीलेभन्दा बढी वर्षा खेप्नसक्ने भएकाले यसको खेती सहजै गर्न सकिने स्थानीय किसानको भनाइ छ । थोरै लगानी र कम मेहनतमा राम्रो उत्पादन लिन सकिने गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतोको भनाइ छ । अन्य बालीभन्दा घामपानी खप्नसक्ने र लामो समयसम्म घरमा भण्डारण गर्न सकिने हुनाले ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो रहेको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो बताउँछन् । दुई वर्ष पहिलेसम्म सम्पर्कमै नआउने यहाँका किसान अब भने ओलखेतीबारे सल्लाह लिन थालेकोे कृषि कार्यालयका फलपूmल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।

  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    राँझा (बाँके), २० असोजः भारतबाट दसैँ मनाउन स्वदेश फर्किने नेपालीको सहज र सुरक्षित यात्राका लागि नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा लुटपाट, ठगीलगायतका घटना हुन नदिन तथा सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन सहायता कक्ष सञ्चालन गरिएको बताए ।


    “नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भने, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।” सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ ।

    बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । प्रहरी उपरीक्षक जिसीका अनुसार भारतबाट फर्किने नेपालीलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । उक्त कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको छ ।

  • बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    म्याग्दी, २० असोजः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दूरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिए । “वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ”, उनले भने, “मालढुङ्गातर्फबाट बेनी बैसरी हँुदै कुनौटासम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।”

    कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतीपूर्ण मानिएको छ । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।

    राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ । “कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौँ”, आयोजना प्रमुख शर्माले भने, “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ ।”

    अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्रयाक खोलेर महभिर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई ठाउँमा गरेर करिब दुई सय पचास मिटर सडक कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलिएको छ । पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणमा मजदुर परिचालन भएका छन् । सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

    “सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने, “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।” रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उनले बताए । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

  • बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

    चितवन, २० असोजः बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

    ४१ वर्षीय प्रसाईंले सञ्चालन गरेको दीपक मोबाइलबाट विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङ चार थान, रेडमी दुई थान, एप्पल आइप्याड एक थान र भिभो एक थान गरी ५८ थान मोबाइल तथा उपकरण बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताए ।


    त्यसैगरी, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई नियन्त्रणमा लिएको छ । उनको साथबाट बिलबिजकबिना बोकेको सामसुङ कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको उनले बताए । पक्राउ परेका दुवै जनाबाट बरामद मोबाइलसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको उनले बताए । उनीहरुलाई यही असोज १८ गते पक्राउ गरिएको हो ।

  • अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    २० असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गा बीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो। 


    भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरे ।


    उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए । नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।


    अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

  • मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    काठमाडौँ, १९ असोजस्नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको हो ।

    मलेसियाको एफडब्ल्युसिएमएसमा नेपालका २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र २५० वटा संस्थालाई सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषय सार्वजनिक भएपछि छनोट प्रक्रिया, मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ । यस विषयमा वैदेशिक रोजगार विभागले समेत सूचीकृत २५० संस्थासँग उनीहरू छनोट भएको आधार र प्रक्रियाबारे स्पष्टीकरण मागेको छ ।

    सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले निश्चित व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेर एकाधिकार कायम गर्न नहुने बताए । “निश्चित व्यवसायी संस्थालाई सूचीकृत गरेर एकाधिकार गर्न पाइँदैन । सूचीकृत संस्थाहरू नै कति पारदर्शी छन् भन्ने प्रश्न छ,” उनले भने । उनले श्रमिकको हकहित संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराइएको बताए । अध्यक्ष खत्रीले “आज मलेसियाबाट सुरु भएको एकाधिकारको नजिर भोलि अन्य श्रम गन्तव्यमा पनि दोहोरिन सक्छ ।”

  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    मुस्ताङ, १९ असोजः दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ ।

    आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए । डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ । उनले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिए । यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उनको भनाइ छ ।

    डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुगेका हुन् । हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ। रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको उनले बताए ।


    माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएको रोकायाले बताए । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनको भनाइ छ । डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडा च्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको उनले बताए । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै रोकायासहितको टोली च्याङ्ग्रा लिएर जोमसोम आइपुगेको हो । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको रोकायाले बताए ।


    च्याङ्ग्रा व्यापारी शेरबहादुर रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजार बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो । बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने व्यापारी रोकायाले बताए । “हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ । दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो”, उनले भने ।

  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    बागलुङ, १९ असोजः लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४ स्थित झिवाखोला र कानाबगर बजारको ठूलो क्षेत्र बगरमा परिणत भएको छ । “मेरो घर यही थियो, अहिले त घरमाथिबाट निसीखोला बगिरहेको छ । जीवनको ४० वर्ष नाघ्यो, यत्रो बाढी निसीखोलामा कहिल्यै आएको थिएन । यही असोज ११ गते बिहान आएको बाढीले घरको नामोनिसान राखेन”, निसीखोला गाउँपालिका–४ झिवाखोलाकी डिलकुमारी रेग्मीले भावुक हुँदै भने ।


    उहाँको बस्ने बास छैन । जग्गा कहाँ थियो भन्ने पनि पत्तो छैन । अहिले दुई छोरासहित आफन्तको घरमा आश्रय लिएर बसेको उनले बताए । रेग्मीजस्ता झिवाखोला बजारको २४ घरको दुखेसो उस्तै छ । बाढीले यस क्षेत्रमा २४ घर बगाएको तथा २१ घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।

    निसीखोलाको पानीको सतह एक्कासी बढेपछि नदीले धार परिवर्तन गरी झिवाखोला बजारको पुरानो बस्तीमा प्रवेश गरेको थियो । बाढीले घर, गोठ, विद्यालय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि अहिले झिवाखोला र कानाबगर उजाड बनेको छ । “बाढी आउँदैछ भन्ने सामान्य अनुमान त थियो तर यति ठूलो बाढी आउला भन्ने कसैले सोचेको थिएन”, स्थानीय मिलन हमालले भने, “विद्यालयमा क्षति पुगेको छ । धेरै स्थानीयले घरभित्रका सामान सार्नसमेत पाएनन् ।”

    निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बाढीले झिवाखोला बजार र कानाबगरमा ठूलो क्षति पुर्याएको छ । बाढीले निसीखोला किनारमा रहेको मध्यपहाडी लोकमार्गको एक किलोमिटरभन्दा बढी पक्की सडक कटान गरेको छ । सडक कटान भएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । निसीखोला–४ मा रहेको निसीखोला आधारभूत अस्पताल, विद्यालय तथा झिवाखोला प्रहरी चौकीमा क्षति पुगेको छ । प्रहरी चौकीमा क्षति पुगेपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक र नहर बाढीले बगाएको छ भने एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

    बाढीबाट विस्थापित परिवारलाई सुरुमा जनजीवरा र प्रभा माध्यमिक विद्यालयमा बनाइएको अस्थायी शिविरमा राखिएको थियो । अहिले भने उनीहरूलाई आफन्त तथा छिमेकीको घरमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ । “राहत लिएरमात्र लामो समय शिविरमा बस्न सकिँदैन । पीडितपरिवारलाई सुरक्षित रूपमा बस्ने ठाउँ आवश्यक छ”, निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले भने, “आफन्त र छिमेकीको घरमा कोठा खोजेर अस्थायी बसोबासको व्यवस्था मिलाउने काम भइरहेको छ ।”

    बाढीले घरको जग तथा आसपासको जमिन कटान गरेपछि कतिपय परिवारलाई आफ्नो घर रहेको ठाउँ पहिचान गर्न कठिन भएको स्थानीय बताउँछन् । वर्षौँदेखि बस्दै आएको बस्ती एकै रातमा बगरमा परिणत भएपछि स्थानीयवासीमा पुनःस्थापनाको चुनौती थपिएको छ । अविरल वर्षापछि आएको पहिरोमा परी निसीखोला गाउँपालिका–३ हरधारामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् ।

    पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको थियो । बाढी तथा पहिरोका कारण गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । निसीखोला गाउँपालिका–४ कै चिनारेमा पहिरोका कारण १० घर विस्थापित भएका छन् ।

  • माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

    माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

    बागलुङ, १९ असोजः निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसार्इंले जानकारी दिए । पुरिएकामध्ये दुई जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएको छ ।

    घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिनुभयो । चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका मजदुर पुरिएका थिए ।

  • गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    बागलुङ, १८ असोजः गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।

  • विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सन्तोष गौतम\रासस

    म्याग्दी, १८ असोजः बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको म्याग्दीको दृश्य केही दिनअघिसम्म यस्तै थियो ।

    तर अहिले जिल्लाको दृश्य विस्तारै फेरिँदै गएको छ । विपद्ले थलिएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै स्थानीय बासिन्दा, युवा, सामाजिक संस्था, राजनीतिक दल र व्यवसायीहरू आ–आफ्नो ठाउँबाट जुटेका छन् । कोही सडक खुलाउन श्रम गरिरहेका छन्, कोही विद्युत्का पोल गाडिरहेका छन् । कसैले बजारका घरमा थुप्रिएको हिलो पन्छाइरहेका छन् भने कसैले बाढीले क्षति पुर्याएको तातोपानी कुण्ड सफा गरिरहेका छन् । विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनामा म्याग्दीमा देखिएको जनसहभागिता अहिले जिल्लाको पुनःउत्थानको मुख्य आधार बनेको छ ।

    सडक खुलाउन काँधमा इन्धन

    चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा क्षतिग्रस्त भयो । सडक मर्मतका लागि आवश्यक उपकरण पुगे पनि इन्धन अभाव चुनौती बन्यो । समस्या समाधानका लागि शनिबार ४५ जना सुरक्षाकर्मी, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक सङ्घसंस्थाका स्वयंसेवकको टोलीले राहुघाट खोलादेखि बैसरीसम्म ७२० लिटर डिजेल बोकेर पुर्यायो ।

    अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले सडक मर्मतका लागि दुई हजार ५०० लिटर डिजेल सापटी दिएको छ । “सडक सञ्चालनका लागि इन्धन अभाव भएपछि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गर्नुका साथै जलविद्युत् आयोजनासँग सापटी मागेका हौँ”, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले भन्नुभयो ।

    यसअघि बेनीका युवा प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले राहुपारे–कुनौटा खण्डमा श्रमदान गरेर पैदलयात्राका लागि भर्याङ राख्ने र डोरी तान्ने काम गरेका थिए ।

    पोल गाड्दै र तार तान्दै युवा

    बाढीपहिरोले पोल ढालेपछि म्याग्दी जिल्लाभर अवरुद्ध बनेको विद्युत् सुविधा अझै सञ्चालन हुनसकेको छैन । सदरमुकाम बेनी बाहिरका बस्तीमा युवा क्लबका पदाधिकारी तथा सदस्य र युवाहरू विद्युत् लाइन मर्मतमा जुटेका छन् । स्थानीयले ढलेका पोल गाड्ने र लत्रिएका तार तान्ने काममा सहयोग गरेपछि शनिबार बरंजा र ताकममा एक सातापछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति सञ्चालन भएको छ ।

    “समुदायले श्रमदान गरेर सहयोग गरेकाले विद्युत् आपूर्ति सञ्चालनलाई तीव्रता दिन सहज भएको छ”, नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले भन्नुभयो ।

    बजारको पहिरो पन्छाउँदै

    बेनी नगरपालिका–८ न्युरोडमा बुधबार खसेको पहिरोले १५ घरमा क्षति पुर्यायो । तीमध्ये १० घरमा बस्नै नमिल्ने गरी हिलो थुप्रियो । न्युरोड र गणेशटोल क्षेत्रका करिब एक सय घर जोखिममा परे । घर छाडेर सुरक्षित स्थानमा पुगेका स्थानीयका लागि आफ्नै टोल सफा गर्नु बाध्यतामात्र होइन, सामूहिक जिम्मेवारी पनि बन्यो । शनिबारदेखि स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, आमा समूह, टोल विकास संस्था, लायन्स क्लब र बजारवासी श्रमदानमा जुटेका छन् । आइतबार पनि श्रमदानमार्फत बाँस र काठ हटाए पनि ब्याकुहोलोडर र ट्याक्टर परिचालन गरेर पहिरो पन्छाउने तथा पानीको सुरक्षित निकास व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

    “पहिला बाँस र काठ हटाउन बजारवासीले श्रमदान गरका छन् । त्यसपछि मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम हुन्छ”, बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले भन्नुभयो ।

    तातोपानी कुण्डमा दसैँअघि नै पानी भर्ने चाहना

    बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पनि बाढीको चपेटामा पर्यो । म्याग्दी नदीको बाढी कुण्डभित्र पसेपछि गेगर, माटो र बालुवा थुप्रियो । कुण्डलाई दसैँअघि नै सञ्चालनमा ल्याउने उद्देश्यले स्थानीयले बुधबारदेखि सरसफाइ अभियान सुरु गरेका छन् । सिङ्गाका विभिन्न टोलले आलोपालो गरेर श्रमदान गरिरहेका छन् ।

    शनिबारमात्रै साविक सिङ्गा गाविस–७ का ३४ जना, तल्लो सिङ्गाका २८ जना, सुर्केमेला–बास्कुना–थामडाँडाका ६४ जना, छाप युवा क्लबका छ जना र तातोपानी युवा क्लबका ३५ जना सरसफाइमा सहभागी भए । कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार स्थानीयको निरन्तर श्रमदानले बाढीले थुपारेको गेगर हटाउने काम अघि बढेको छ ।

    दुःखमा साथ, पुनर्निर्माणमा हात

    विपद्पछि म्याग्दीमा स्थानीयस्तरको मात्र होइन, बाहिर रहेका म्याग्देली र गैरआवासीय नेपालीको सहयोग पनि जुटेको छ । प्रवासी म्याग्देलीहरूको संस्था प्रवासी नेपाली म्याग्देली सङ्घ ९मोना०ले रु १५ लाख तथा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले रु ११ लाखबराबरको राहत सामग्री सहयोग गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उद्धार र राहतसँगै सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालनमा जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था र समुदायको सक्रियताले विपद्को कठिन अवस्थालाई छिटो पार गर्न सहयोग पुगेको छ ।

    “सडक सञ्चालनदेखि विद्युत्का पोल गाड्ने, तार तान्ने, तातोपानी कुण्ड र बजारका घरमा थुप्रिएको हिलो पन्छाउने तथा गाउँका पदमार्ग मर्मत गर्न समुदायले श्रमदान गरिरहेको छ”, उहाँले भन्नुभयो, “जनसहभागिता र जनपरिचालनले असहज बनेको म्याग्दीको जनजीवन विस्तारै लयमा फर्कन थालेको छ ।”

    क्षतिको अवस्था

    पहिरोमा परि अन्नपूर्णमा पाँच र मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट म्याग्दीमा हालसम्म १११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ । तीन सय ४२ घर जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

    ग्रामीण क्षेत्रमा सञ्चार र विद्युत् सेवा सञ्चालन हुन थालेपछि क्षतिको विवरण सङ्कलन भइरहेको छ । त्यसैले क्षतिको तथ्याङ्ब अझै बढ्न सक्ने प्रशासनको भनाइ छ । जलविद्युत् आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण, खानेपानी, सडक पूर्वाधार, विद्यालय भवन, कृषि, पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलनकै क्रममा छन् ।

    अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, घिरवाङ र किन्दुकाका ११५ जनालाई हेलिकप्टरबाट उद्धार गरी शिख र घारमा राखिएको छ । अन्नपूर्ण–८ महभिरको बस्तीको पाखो चिराचिरा परेपछि त्यहाँका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

    गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका शब्दमा, विपद्ले दुःख दिए पनि सङ्कटमा एकजुट हुने र दुःखमा साथ दिने म्याग्दीको पुरानै अभ्यास हो । “एकता, सहयोग र श्रमको भावनाले म्याग्दीको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन ठूलो भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “सङ्कटमा एकजुट हुने, दुःखमा साथ दिने र हातेमालो गर्दै पुनर्निर्माणमा जुट्ने म्याग्दीको पुरानै असल अभ्यास हो ।”

    विपद्को पानी घटिसकेको छ, तर क्षतिको घाउ अझै बाँकी छ । ती घाउ पुर्न समय लाग्नेछ । अहिले भने म्याग्दीले एउटा सन्देश दिइरहेको छ– विपद्ले भत्काएको संरचना मेसिनले बनाउला, तर त्यसमा जीवनको रङ भर्न समुदायको हात चाहिन्छ ।

    फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

    यसैबीच म्याग्दी सदरुमकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाख २७ हजार सहयोग गरेको छ ।

    जलजला गाउँपालिका–७ खनियाघाटकी गौमती थापाको पहलमा पोखरेली सत्सङ्गद्वारा सहयोग गरिएको हो । संस्थाका अध्यक्ष देवी गुरुङ, उपाध्यक्ष ज्ञानु लामा र कोषाध्यक्ष सञ्जय लामाको टोलीले शनिबार फर्सेमा आएर जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

    प्राप्त भएको सहयोग रकम फर्सेका बाढी प्रभावितको पुस्र्थापनामा परिचालन गरिने वडाध्यक्ष जिसीले बताउनुभयो । यही असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवारलाई प्रभावित बनाएको छ ।

    जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

    घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । फर्सेको पुरानो बस्ती बगरमा परिणत भएर उजाडिएको छ ।

  • कृषि उद्यशिलताका लागि विशेष कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केकालाई प्राथमिकता

    कृषि उद्यशिलताका लागि विशेष कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केकालाई प्राथमिकता

    १७ असोज, काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशिलताका लागि विशेष कार्यक्रम ल्याएको छ । यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ । विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको हो । यो कार्यक्रमका लागि विभागले योजना छनोट दिग्दर्शन, २०८३ तयार पारेको छ ।

    भूमिगत जलस्रोतको दिगो उपयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उधमी तथा किसानलाई भरपर्दो सिंचाइ सुबिधा उपलब्ध गराउन र योजना छनोट तथा कार्यक्रम कार्यान्वयन लाई पारदर्शी, बस्तुगत एवं प्रभावकारी बनाउन सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐनबमोजिम यो दिग्दर्शन बनाइएको विभागमा महानिर्देशक दिनेश रजौरियाले बताए ।


    उनका अनुसार कृषि उद्यमीका लागि बिशेष भूमिगत जल सिंचाइ कार्यक्रम, योजना छनोट दिग्दर्शनमार्फत कृषि व्यवसाय संचालन गर्ने व्यक्ति, फर्म, सस्था वा समूहलाई छनोट गरी कार्यक्रममा समावेश गरिनेछ ।

    को को सहभागी हुन पाउँछन् ?

    यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइने उपमहानिर्देशक देव स्याङ्बोले बताए । उनका अनुसार महिला, आदिवासी जनजाति, दलित अल्पसंख्यक तथा पिछडिएको क्षेत्रलाई पनि प्राथमिकता दिइने छ । साथै कृषि सहकारी संस्था तथा महिला वा आमा समुहलाई प्राथमिकता दिने, प्राकृतिक प्रकोप प्रभावित परिवारलाई प्राथमिकता दिने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई प्राथमिकता दिने र स्थानीय तह, प्रदेश संघीय निकायहरुमा दर्ता भएको संस्थालाई प्राथमिकता दिने दिग्दर्शनमा उल्लेख छ ।

    यो कार्यक्रममा सहभागी हुन कम्तिमा ६ हेक्टर जमिन स्वामित्वमा वा भाडामा हुनुपर्ने, जग्गा भाडामा लिएको भए सोको कम्तिमा दश बर्षको सम्झौता पत्र, सम्बन्धित जग्गा धनीको ट्युबवेल निर्माण गर्न दिने मन्जुरीनामा पेश गर्नुपर्ने उल्लेख छ ।

    कस्ता उत्पादनलाई प्राथमिकता ?

    दिग्दर्शनअनुसार तरकारी तथा फलफूल, मसला बाली, बीउ उत्पादन तथा नर्सरी, अन्य नगदे बाली, पुष्प खेती, जडिबुटी, माछापालन, घाँस तथा पशुचारालाई प्राथमिकता दिइने उल्लेख छ । दिग्दर्शनअनुसार जग्गाको स्वामित्व तथा उपयुक्तताको स्थलगत प्रमाणीकरण गरिनेछ । भूमिगत जलस्रोत सम्भाव्यता रहेको स्थान पहिचान गरिनेछ । दिग्दर्शनअनुसार सम्बन्धित कार्यालयले योजनाको संचालन हुने सिंचाइ क्षेत्र, कृषि उत्पादन तथा संरचनाको मर्मत सम्भारको नियमित अनुगमन गर्नेछ ।

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

    १७ असोज, काठमाडौं । विश्व बैङ्क समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको छ। असोज १९ र २० गतेमा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, सम्पत्ति सुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैङ्क, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कोअपरेशनका उच्च पदस्थ अधिकारीका साथै जी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
    छलफलका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ। साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ।

  • बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    पर्वत, १७ असोज । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए । राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर आएको सूचना पुगेपछि तत्काल महत्वपूर्ण कागजात लिएर चौकी छाड्न र सुरक्षित स्थानमा जान निर्देशन दिइयो । प्रहरीले चौकी छाडेर आसपासका स्थानीयलाई समेत बस्तीबाट सुरक्षित स्थानमा जान आग्रह गरेको केही समयमै कालीगण्डकी र सेतीखोलाको बाढी बजारमा पस्यो ।

    बाढीले पर्वततर्फ नौ घर बगाएको र झण्डै ५० घर डुबानमा परेको स्थानीयले बताएका छन् । सँगै जोडिएको स्याङ्जाको गल्याङ नगरपालिका–५ को बजार क्षेत्रसमेत पूर्ण रूपमा डुबानमा परेको थियो । स्याङ्जातर्फका करिब २५ कच्ची तथा पक्की घर बाढीमा बगेका छन् । अहिले ती क्षेत्रमा बालुवा र गिटी थुप्रिएर बगरमा परिणत भएको स्थानीय रेशमलाल न्यौपानेले बताए । “असोज १० गते दिउँसो देखिएको क्षेत्र र अहिलेको अवस्था हेर्दा सपना जस्तै लागेको छ । कसरी यस्तो भयो भनेर विश्वास गर्न गाह्रो छ,” उनले भने ।


    बाढीले प्रहरी चौकीसहित खाद्यान्न, विद्युतीय सामग्री, भाँडाकुँडा, फेन्सी पसल तथा होटलमा क्षति पुर्‍याएको छ । नेष्डो समृद्ध लघुवित्त, विभिन्न सहकारीलगायत संस्थासमेत डुबानमा परेका छन् । न्यौपानेका अनुसार पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको छ । गुल्मीको अर्बेनीबाट सेतीवेणीमा आएर मोबाइल व्यवसाय गर्दै आएका एक युवाले करिब रु ३० लाख बराबरको क्षति भएको बताए । स्थानीय ७० वर्षीय रवि भट्टराईले आफ्नो जीवनकालमा बजारमा यसरी ठूलो बाढी पसेको पहिलोपटक देखेको बताए ।


    स्थानीय होटल व्यवसायी उमाकान्त न्यौपानेले घरसहित रु ४० लाखभन्दा बढीको क्षति भएको बताए । “अन्यत्र जाऊँ भने जग्गाजमिन छैन । यही जोखिम मोलेर बस्नुपर्ने बाध्यता छ । जीवनभरको कमाइ एकै रातमा बगरमा परिणत भयो,” उहाँले भन्नुभयो । उहाँ अहिले परिवारसहित स्थानीय विद्यालयमा आश्रय लिएर बबसेका छन् ।


    स्थानीय अगुवा व्यवसायी रेशमलाल न्यौपानेले घर तथा विभिन्न व्यवसायमा भएको क्षतिसमेत जोड्दा पर्वततर्फ मात्रै करिब रु १० करोडको क्षति भएको जानकारी दिए । बाढी प्रभावितलाई बिहादी गाउँपालिकाले स्थानीय शालिग्राम माध्यमिक विद्यालयमा बस्ने र खाने व्यवस्था मिलाएर आश्रय दिएको छ ।

    स्याङ्जातर्फको बजार क्षेत्र पनि बाढीपछि खण्डहरमा परिणत भएको छ । यहाँ सानाठूला गरी करिब २५ घरमा क्षति पुगेको छ । लामो समयदेखि होलसेल पसल सञ्चालन गर्दै आउनुभएका खिमप्रसाद पौडेलले स्वदेशमै केही गरौँ भनेर गरेको लगानी बाढीले क्षणभरमै बगाएको बताए । उनका अनुसार करिब रु ५० लाखभन्दा बढीका सरसामान बाढीले बगाएको छ ।

    गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार स्याङ्जातर्फ पनि करोडौँको क्षति भएको छ । भौतिक संरचनाबाहेक स्थानीयको रु १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको उनले बताए । बाढीले स्थानीय मन्दिर, सत्तल, शालिग्राम शिलासम्म जाने पैदलमार्गलगायत संरचनामा समेत क्षति पुर्‍याएको छ । बाढीपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको उनले बताए ।


    वर्षौँदेखिको लगानी, मेहनत र परिश्रम बाढीले बगाएपछि स्थानीय रोजगारी र व्यवसायविहीन भएका छन् । अब अन्यत्र बसाइँ सर्ने वा सोही स्थानमा पुनः घर तथा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा उनीहरू अन्योलमा छन् ।

    स्थानीय शालिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति बस्यालले बाढीले बजार क्षेत्र असुरक्षित बनाएपछि स्थानीय नयाँ ठाउँमा जाने वा जोखिम मोलेर पुनः सोही ठाउँमा बस्ने भन्ने विषयमा अन्योलमा रहेको बताए ।

  • अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

    अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

    भद्रपुर १७ असोज । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ । निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक सातदेखि ८०० मिटर कालोपत्र भइरहेको छ । “अझै चार महिना बाँकी छ । त्यसबेला सम्ममा ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,” उनले भने ।


    सडक निर्माणको तुलनामा पुलतर्फको प्रगति भने केही कम छ । आयोजना प्रमुख पन्तका अनुसार पुल निर्माणको समग्र प्रगति हाल ३१ प्रतिशत छ । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काईमा पनि निर्माण जारी छ । पश्चिम खण्डमा रतुवा, बक्राहा र लोहन्द्रामा पनि धमाधम पुल बनिरहेका छन् ।

    आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्टको काम सम्पन्न भइसकेको छ भने बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणलाई एकैसाथ अघि बढाइएको छ । पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ । चारआलीको जङ्गल क्षेत्रमा हात्तीका लागि अन्डरपास तथा पैदलयात्रीका लागि छ वटा क्रसिङ निर्माण हुनेछन् । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण तथा स्तरोन्नति जारी छ । पूर्वी खण्डअन्तर्गत ४५ किलोमिटर काँकरभिट्टा–सितापुरी स्तरोन्नतिका लागि रु १० अर्ब छ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको छ ।

  • प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, विपद्पछिको आवश्यकता मूल्याङ्कन जारी

    प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, विपद्पछिको आवश्यकता मूल्याङ्कन जारी

    काठमाडौँ, १६ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि यही असोज १६ गतेसम्म भएका कार्यप्रगतिका विवरण सार्वजनिक गरे ।


    कार्यालयले सुरु गरेको नियमित साप्ताहिक प्रेस ब्रिफ्रिङ रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण स्थगित भएको र आजदेखि पुनःनियमित रूपमा सुरु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । कार्यालयका प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले यही असोज ६ गतेदेखि १० गतेसम्म संयुक्त राज्य अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भइ यही असोज ९ गते सम्बोधन गरे । उक्त सम्बोधनका क्रममा उनले विशेषगरी हालै भोटेकोशीमा गएको विनासकारी बाढीले पुर्‍याएको क्षति र जलवायु सङ्कटलगायत विषयमा जोड दिए ।

    त्यसैगरी, यही असोज ५ गते बसेको सचिवस्तरीय बैठकले दसैँ, तिहार, छठजस्ता चाडपर्व र सक्रिय मनसुनलाई ध्यानमा राखी सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवाहरू नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूले जनशक्ति, स्रोतसाधन, यन्त्र तथा उपकरण चुस्तदुरुस्त राख्नेगरी कार्यतालिकासहित आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धि तथा अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउनेलगायत निर्णय भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सबै सङ्घीय मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा गत भदौ ९ देखि ११ गतेसम्म आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्ययोजना कार्यान्वयनको प्रगति समीक्षा र चालु आव २०८३–८४ को वार्षिक कार्ययोजना (नीति तथा कार्यक्रमको विस्तृत कार्यान्वयन योजना) नागरिकले तत्कालै अनुभूति गर्ने कार्यक्रमका सम्बन्धमा निकायगत छलफल एवं समीक्षा गरिएको छ ।

    साथै नीति तथा कार्यक्रम, बजेट, शासकीय सुधारका विषयलाई प्राथमिकता दिई सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार, नागरिकले अनुभूति गर्नेस्तरमा पुर्‍याउन तथा विकास व्यवस्थापनलाई चुस्त, समयबद्ध कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू र महाशाखा प्रमुखहरूबीच चालु आव २०८३–८४ का लागि भदौ १८ गते कार्यसम्पादन सम्झौता गरिएको थियो ।

    राष्ट्रिय योजना आयोगको नेतृत्वमा सञ्चालन भइरहेको रसुवा बाढीबाट भएको क्षति तथा आवश्यकता पहिचान भई काम सम्पन्न भइसकेको छ भने हाल विपद्पछिको आवश्यकता मूल्याङ्कन भइरहेको कार्यालयले जनाएको छ । सहसचिव अर्यालका अनुसार कार्यालयको आयोजनामा यही असोज ५ गतेदेखि ९ गतेसम्म नीति विश्लेषणका लागि तथ्याङ्कीय विश्लेषण क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । नीति विश्लेषण तथा नीतिगत निर्णय प्रक्रियामा तथ्याङ्क र प्रमाणको प्रभावकारी प्रयोग गर्न आवश्यक ज्ञान, सीप तथा व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय र कार्यालयका उपसचिव तथा शाखा अधिकृतस्तरका नीति तथा योजना तर्जुमा कार्यसँग सम्बन्धित २५ जना प्रशिक्षार्थीको सहभागिता थियो ।

    प्रधानमन्त्रीसँग निजी क्षेत्र, नेपाल निर्माण व्यवसायी महासङ्घ, होटल सङ्घ, महिला उद्यमी महासङ्घ, नेपाल हस्तकला महासङ्घ लगायतसँग भएको छलफलपछि भएका निर्णयहरू कार्यान्वयनको प्रगति सम्बन्धमा सरोकारवाला मन्त्रालय (अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन एवं कृषि, वन तथा पर्यावरण मन्त्रालय) सँग समीक्षात्मक बैठक सम्पन्न भएको छ ।

    त्यसैगरी, नीति प्रयोगशालाको प्रभावकारिता सम्बन्धमा प्रस्तुतिकरणसहितको छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । नीति अध्ययन तथा पुनरावलोकनका लागि विभिन्न १२ वटा विषयरक्षेत्रहरू नीति अनुसन्धान प्रतिष्ठानलाई पठाइएको छ ।

    सार्वजनिक निकायमा हुने निर्णय प्रक्रियालाई छिटो, सरल, पारदर्शी तथा परिणाममुखी, सूचना तथा सञ्चार प्रविधिमा आधारित, कागजरहित, समयसीमायुक्त तथा नागरिक केन्द्रित गर्न नेपाल सरकार, मन्त्रिपरिषद्ले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ बनाएको र उक्त नियमावली मिति २०८३ असोज १२ मा नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।

    कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्म रु १६ अर्ब २८ करोड ३१ लाख ३४ हजार १४२ जम्मा भएको छ । उक्त कोषबाट कोष सञ्चालन समितिको निर्णयतबाट गत भदौ १६ गते रु एक अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको छ । विपद् प्रभावित जिल्ला र स्थानीय तहबाट माग भई आएबमोजिम प्राधिकरणले आवश्यक रकम विपद्व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने गर्दछ ।

    गत असोज १६ गते मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि सङ्घीय समन्वय समितिको बैठक प्रगतिसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भइ आएबमोजिम १५ वटा फर्म तथा कम्पनीलाई यस कार्यालयको निर्णयानुसार कालोसूचीमा राखिएको छ । विभिन्सार्वजनिक निकायबाट निर्माण, परामर्श तथा मालसामान सेवा खरिद सम्बन्धमा राय परामर्शका लागि लेखिआएकामा ४९ वटा निकायलाई राय परामर्श प्रदान गरिएको छ ।

    यस अवधिमा सार्वजनिक खरिदसम्बन्धी तीनवटा तालिम सञ्चालन गरी विभिन्न सार्वजनिक निकायमा कार्यरत ८३ जना कर्मचारीलाई तालिम प्रदान गरिएको छ । विभिन्न सार्वजनिक निकायसँगको साझेदारीमा १२९ जना कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम प्रदान गरिएको छ । त्यसैगरी सार्वजनिक खरिद नियमावली (१६औँ संशोधन), २०८३ बमोजिम देहायबमोजिम नमूना बोलपत्रसम्बन्धी कागजात परिमार्जन र संशोधन गरी जारी गरिएको छ ।

    नीति अनुसन्धान प्रतिष्ठानबाट गत भदौ १० गते गएको विनासकारी बाढीबाट भएको क्षति तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखी अनुसन्धान कार्यहरू जारी रहेको कार्यालयको भनाइ छ । चालु आवमा अनुसन्धानतर्फ स्वीकृत २४ वटा परियोजना हाल कार्यान्वयनमा रहेकामा १९ वटा अनुसन्धान सम्पन्न भई प्रतिवेदन तयार भएका छन् । त्यसैगरी अनुसन्धानका तीनवटा प्रतिवेदनहरूको ‘कपि–एडिटिङ’ सम्पन्न भई प्रकाशनको लागि ‘लेआउट’ को प्रक्रियामा छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयले सूचना प्रविधिका प्रणाली खरिदलगायत विषयमा आवश्यक पर्ने दररेट तथा मापदण्ड तयार गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । सरकारी निकायको ‘डेटा स्ट्यान्र्डलाइजेसन’ का लागि विभिन्न मन्त्रालय तथा निकायमा भौतिक रूपमा नै उपस्थित भइ ‘डेटा म्यापिङ’ को काम भइरहेको छ । साथै नेपाल ‘इन्टरप्राइज आर्किटेक्चर फ्रेमवर्क’ को प्रतिवेदन परामर्शका लागि प्रकाशित भइसकेको कार्यालयले जनाएको छ ।

    हेलो सरकारअन्तर्गत वर्र्तमान सरकार गठन भएको गत चैत १३ गतेदेखि यही असोज १५ गतेसम्म कुल ७७ हजार १२८ वटा गुनासा प्राप्त भएकामा ३१ हजार २८० वटा फछ्र्यौट तथा १७ हजार ५३९ वटा समाधान भएका छन् । कार्यालयका अनुसार रसुवा बाढी, ग्यास अभाव, मलखाद, बिलबिजक जारी नगरेको, उपभोग्य सामग्रीको अभाव, वैदेशिक रोजगारी, चालक अनुमतिपत्र प्रणालीले काम नगरेको, सडक सञ्जाल अवरुद्धलगायत विषयलाई केन्द्रित गरी २४सै घण्टा हेलो सरकार सञ्चालन गरिएको थियो ।

  • वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

    वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

    काठमाडौँ, १६ असोजः रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसनसहित अन्य प्रक्रिया अघि बढाइएको थियो । हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् ।

    अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माणका सामग्री निर्माणस्थलसम्म पुर्याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिए । निर्माणस्थलमा आवश्यक सामग्री पुर्याउने काम भइरहेको र त्यससँगै बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध बनेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिनेछ । यससँगै रसुवातर्फको यातायात आवागमन सहज हुनुका साथै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनःस्थापना हुने अपेक्षा गरिएको छ ।

    बाढीले क्षति पुर्‍याएको सडकखण्डमा तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन रूपमा सडक पूर्वाधार पुनःस्थापनाका कामलाई सँगसँगै अघि बढाइएको मन्त्री लम्सालले बताए ।

  • २१ हजार बराबरको ल्युब आयल किन्दा १० लाख पुरस्कार

    २१ हजार बराबरको ल्युब आयल किन्दा १० लाख पुरस्कार

    १६ असोज, काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरे । नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो।


    उहाँलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।
    जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या २ लाख ४७ हजार ९७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या ३ करोड १५ लाख ७० हजार ३०७ थियो । असोज १ देखि १५ गतेसम्मको दैनिक एक लाखका दरले आउने उपहार विजेताहरूको कुपन तल तस्बिरमा पठाइएको छ।

  • हरेक नागरिकलाई आवास सुनिश्चित गर्दै नयाँ भवन ऐन दर्ता

    हरेक नागरिकलाई आवास सुनिश्चित गर्दै नयाँ भवन ऐन दर्ता

    १६ असोज, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालको नेतृत्वमा बनेको भवन ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरिएको हो ।

    सरकारको घोषणाअनुसार प्रत्येक नागरिक र उनका परिवारका लागि आवासको सुनिश्चितता गर्ने उद्देश्यले नयाँ भवन ऐनको विधेयक संसद सचिवालयमा दर्ता गरिएको हो । विधेयकले निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

    मन्त्रालयले दर्ता गरेको विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तै, गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको छ।

    गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। साथै, विपत, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

    नयाँ भवन ऐन तथा नियमावलीले मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ। २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घर ९ सयदेखि १ हजार ३ सय प्लिन्थ क्षेत्रका हुने प्रस्ताव गरिएको छ।

    नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रारम्भिक रूपमा ५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ। त्यस्तै, १० लाख रुपैयाँ अग्रिम भुक्तानीमा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्पसमेत प्रस्ताव गरिएको छ।

    निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले नयाँ भवन ऐन ल्याएको हो ।