Category: स्वास्थ्य

  • बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु

    बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) नेपालमा आएको छैन । तर, नेपाली नागरिक भने यसको संक्रमणबाट अछुतो छैनन् । बेलायतमा कोराना कै कारण एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

    बेलायतमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनी संखुवासभा पुख्र्यौली भएका व्यक्ति हुन् ।

    उनी सपरिवार बेलायतमा बस्ने गरेको बताइएको छ । लण्डनबाट उत्तर पश्चिम २१ किलोमिटर पर पर्ने हृयारो सहरमा बस्दै आएका उनको संक्रमणका कारण मृत्यु भएको पुष्टी भएको छ ।

    उनको मंगलबार साँझ लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो । उनी सेवा निवृत्त भएपछि बेलायत नै बस्दै आएका थिए ।

    लिलाबहादुर मधुमेह र उच्च रक्तचापबाट पीडित भएको बताईएको छ । उनको दुई वर्ष अगाडी मृगौला प्रत्यारोपण गरिएको थियो ।

    अचानक बिरामीले थलिएका उनलाई अस्पतालले कोरोनाको संक्तमण भएको पुष्टी गरेको हो ।

    संचारमाध्यमहरुका अनुसार लिलाबहादुरकी श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ । उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली बनेका छन् ।

    कोरोना भाइरसले संसारभर १० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

  • इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन

    इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन

    रोम । यूरोपको इपिसेन्टर बनेको इटालीमा कोरोना भाइरस (कोभिड–१९)ले ठूलो मानवीय क्षति निम्त्याएको छ ।

    यस भाइरसको संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको विश्व स्वास्थ संगठनले पुष्टी गरेको छ । यो संख्या मृत्युको कीर्तिमानी संख्या हो ।

    संसारमा कुनै पनि मुलुकमा अहिलेसम्म यति ठूलो संख्यामा मानिस मरेका थिएनन् । शुक्रबार भएको हताहतीसँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या ४ हजार नाघेको छ ।

    इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित भएको बताइएको छ ।

    अझै २ हजार ६ सय ५५ मानिसको अवस्था गम्भीर रहेको संचारमाध्यमले उल्लेख गरेका छन् । इटलीमा उत्तरी क्षेत्र लोम्बार्डी बढी प्रभावित बनेको हो ।

    यहाँ अवस्था भयावह बनेको छ । सरकार सेना परिचालनको तयारीमा छ । मानिसले अनुशासन पालना नगरेकै कारण इटलीमा बढी भयाभह अवस्था आएको बताइएको छ ।

  • चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

    चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

    चितवन । कोरोना भाइरसको संक्रमण भित्रिहालेमा त्यसको उपचारका लागि काठमाडौं बाहिर अस्थायी अस्पताल निर्माणमा तिब्रता दिइएको छ ।

    संक्रमित भइहालेको उनीहरुलाई अलग्गै राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारले तल्लो तहमा ठूलो क्षमताका अस्थायी अस्पताल निर्माणमा तिब्रता दिएका हुन् ।

    चितवनस्थित भरतपुर महानगरपालिकाले तीन दिनमा ७०९ सैयाको अस्पताल निर्माण गरेको छ । अब यो अस्पताल आकस्मिक अवस्थामा उपयोगमा ल्याउन सकिने भएको छ ।

    यता, बुटबलमा समेत १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म निर्माण सम्पन्न हुने भएको हो ।

    बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाइदैछ । बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन लागिएको हो ।

    नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवा यसको निर्माणमा खटिएका छन् । पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।

    उता, प्रदेश १ सरकारले विराटनगरमा एकसाता भित्र कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल निर्माण गरी संचालनमा ल्याउने भएको छ ।

    कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रदेश सरकारले तत्काल ५० शैय्याको अस्थायी अस्पताल निर्माण थालेको हो । विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा अस्थायी अस्पताल बनाइने भएको छ ।

    यस अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका संक्रमितको उपचार गर्ने गरी तयारी गरिएको हो ।

    अस्पताललाई आवश्यक पर्ने सामाग्री भने तत्कालका लागि विराटनगरमा रहेका अस्पतालबाटै जोहो हुने छ प्रदेश १ मा ४४० जना अटाउने क्वारेन्टाइन समेत निर्माण भइसकेको छ ।

    प्रदेश सरकारले मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाँडीमा २००, झापाको भद्रपुरमा ४० र उदयपुरको बेलसोतमा २०० जना अटाउने क्वारेन्टाइनस्थल तयार पारिसकेको छ । अहिले कोरोना विरुद्ध देशभर तिब्रताका साथ काम भइरहेका छन् ।

  • ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

    ९ चैतबाट १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द, सार्वजनिक सवारी साधन रोकिने

    काठमाडौं । अब सरकारले नेपाल र विदेशबीच हवाई सम्पर्क टुटाउने भएको छ । ९ चैतबाट १८ चैतसम्म नेपाल भित्रने सबै वायुसेवा कम्पनीको उडान रद्द गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । उनका अनुसार सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ ।

    यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

    देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गने समेत उनले घोषणा गरेका छन् ।

    आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

    मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । महामारीको अवस्थालाई हेरी थप कदम पनि चाल्न सकिने उनले उल्लेख गरे ।

  • कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

    कोरोनाबाट चीनमा भन्दा इटलीमा धेरैको मृत्यु, मर्नेको संख्या १० हजार नाघ्यो

    काठमाडौं । कोरोना (कोभिड–१९)ले चीनमा भन्दा इटलीमा धेरै मानिसको ज्यान लिएको छ । बिहीबार इटलीले चीनलाई उछिनेको हो ।

    विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएको छ इटलीमा ३ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

    बिहीबार मात्र इटलीमा थप ४ सय २७ को ज्यान गएको छ । इटलीले हरेक दिन कीर्तिमान राखिरहेको छ ।

    मानिसहरुको मृत्युका कारण यहाँको जनजीवन समेत नराम्रोसँग प्रभावित बनको छ । कुल संक्रमितको संख्या इटलीमा भन्दा चीनमा बढी छ ।

    चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको छ । त्यसकारण मृत्युदर इटलीको धेरै भएको हो ।

    बिहीबार इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिए । चीनमा भने बिहीबार ३ जनाको मात्र ज्यान गएको छ ।

    देशभर कोरोनाका ३९ नयाँ बिरामी भेटिए । यो संक्रमणबाट बिहीबार सम्म कूल १० हजार ४८ मानिसको ज्यान गएको छ ।

    पछिल्लो समय चीले लगभग नियन्त्रणमा ल्याएको यो रोगको संक्रमण्बाट यूरोप र अमेरिका बढी प्रभावित भइरहेको छ ।

  • भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

    भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

    नयाँदिल्ली । भारतले कोरोना संक्रमणविरुद्ध ऐकिवद्धता जनाउन आइतबार जनता कर्फ्यु घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ जनताका नाममा सम्बोधन गरेका थिए ।

    उक्त अवसरमा उनले जनस्तरबाट कोरोनाविरुद्ध सचेतना जगाउन आइतबार जनता कर्फ्युको घोषणा गरे । यस दिन भारतमा सबै मानिस घरमै बसेर यो दिन मनाउने छन् ।

    प्रधानमन्त्री मोदीले आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लागू गरिएको घोषणा गरेका हुन्।

    भारतमा बिहीबार कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ ।

    उनी चौथो भारतीय बनेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पन्जावमा ७० वर्षीय वृद्धको ज्यान गएको हो । उनी इटालीबाट जर्मनी हुँदै मार्च ७ मा भारत आएका थिए ।

    मन्त्रालयका अनुसार मधुमेहको बिमारबाट ग्रस्त उनमा कोरोनाको पुष्टी भने बुधबार मात्र भएको थियो । बिहीबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरेको छ ।

    भारतमा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक सय ६७ पुगेको छ ।

    विश्वभर फैलिएको भाइरसबाट वृद्धवृद्धाहरु धेरै प्रभावित भएको भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।

    उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेका छन्। यस्तै, अत्यावश्यक काम परेको खण्डमा बाहेक प्रत्येक नागरिकलाई घरमै बस्न उनले आह्वान गरेका हुन् ।

  • नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

    नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

    काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएसँगै नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द भएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेको छ । मन्दिरमा २५ जना भन्दा बढीको भीड हुन दिइने छैन ।

    सार्वजनिक कार्यक्रममा प्रयोग हुने हलहरु बन्द भएका छन् । त्यहा निर्धारित कार्यक्रम स्थगित गरिएको छ । काठमाडौंस्थित एभिएशन म्यूजियम बन्द भएको छ ।

    ललितपुरस्थित सदर चिडियाखाना बन्द भएको छ । यो बन्द चैत मसान्तसम्म लागू हेनछ । उता, मनकामना केवलकार समेत बन्द गर्ने निर्णय गरिएको छ ।

    सार्वजनिक यातायातमा सीट भन्दा बढी यात्रु नचढ्न भनिएको छ । यससँगै अधिकांश मानिसले सडक प्रयोग गरेको पाइएको छ ।

    सार्वजनिक यातायातमा कम मात्र मानिसले यात्रा गरेका थिए । बिहीबार काठमाडौं छाड्ने मानिसको घुइचो बढेको छ ।

    किनकी बुधबारबाट धेरैजसो विद्यालको परीक्षा सकिएको छ । सरकारले एसईलगायत विद्याविद्यालयको परीक्षासमेत स्थगित गरेको छ ।

    लोकसेवा आयोगको परीक्षा स्थगित भएको छ । सरकारले अत्यावश्यक काम नपरेसम्म बाहिर ननिस्कन सर्वसाधारणमा आग्रह गरेको छ ।

    यससँगै नागरिकले समेत सचेतना अपनाउन थालेको पाइएको छ ।

  • कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या

    कोरोना आंशका गरिएको एक बिरामीद्वारा भारतमा आत्महत्या

    नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । दिल्लीको सफदरजंग अस्पतालमा बुधबार एक बिरामीले आत्महत्या गरेका हुन् ।

    उनी अस्पतालको भवनको ७ औं तलाबाट हाम फालेका थिए । प्रहरीका अनुसार उनी अष्ट्रेलियाबाट हालै फर्किएका थिए ।

    ३५ वर्षिय ति व्यक्ति सिड्नीबाट फर्किएका हुन् । विमानस्थलमै टाउको  दुखेको अनुभव भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।

    उनको ल्याव रिपोर्ट भने आइसकेको थिएन । तर, उनले पहिल्यै आत्महत्या गरेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    उनलाई अस्पतालले क्वारेन्टाइनमा राखेर परीक्षण गरिरहेको थियो । उनी पछिल्लो एक सालयता सिड्नीमा रहेका थिए ।

    त्यहाबाट उनी भारत फर्किएका थिए । उनले अस्पतालमा ल्याएर परीक्षणका लागि नमुना दिएसँगै अस्पतालबाट आत्महत्या गरेका हुन ।

    प्रहरीले उनको परिवारलाई घटनाका सम्बन्धमा जानकारी गराइसकेको छ ।

    भारतमा करव ३ सय जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमध्ये २ जनाको ज्यान गइसकेको छ । यससँगै भारतले पनि मानिसहरुको यात्रामा प्रतिवन्ध लगाइसकेको छ ।

  • इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित

    इटलीमा एकैदिन ४७५ को मृत्यु, वुहानमा शुन्य संक्रमित

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटलीमा कीर्तिमानी संख्यामा मानिसको ज्यान गएको छ । बुधबार यहाँ एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।

    कोरोना फैलिएयता एकै दिन धेरै मानिसको ज्यान बुधबार गएको हो । संचारमाध्यमहरुका अनुसार इटलीको लोम्बार्डीमा ३ सय १९ जनाको ज्यान गएको छ । बाँकी अन्य क्षेत्रका संक्रमितको मृत्यु भएको बताइएको छ ।

    लोम्बार्डी इटलीको मूख्य प्रभवित क्षेत्र हो । बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । इटलीले झण्डै चीनमा जति मानिस गुमाइसकेको छ ।

    थप २ सय ५९ जनाको निधन भएमा चीन र इटलीमा बराबर मानिस मर्छन् । तर, चीनमा भने बुधबार बुहान राज्यमा शून्य संक्रमित भएका छन् ।

    यसअनुसार चीनले कोरोनामाथि पूर्णतया सफलता हाँसिल गर्न सफल भएको छ ।

    सोहीकारण चीनले बुहानबाट ठूलो संख्यामा चिकित्सकहरुलाई आआफ्नो क्षेत्रमा बिदाई समेत गरिसकेको छ ।

    इटलीमा ३५ हजार ७ सय १३ मानिसमा यो रोगको संक्रमण फैलिएको छ । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् ।

    पछिल्लो २४ घण्टामा स्पेनमा १०५ र इरानमा १०७ जनाको मृत्यु भएको छ । स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३८ पुगेको छ ।

    फ्रान्समा बुधबार ८९ जनोका ज्यान गएको छ ।

  • आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

    आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

    न्यूयोर्क

    न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ ।  यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए । गभर्नर कुमोको अनुरोधमा राष्ट्रपति ट्रम्पले एक हजार बेडको पानी जहाज पठाउने सहमति जनाएका हुन । जहाजलाई न्युयोर्क हार्बरमा बिरामीहरुको उपचार गरिने तयारी गरिएको छ । सेनाको जहाज न्युयोर्क हार्बरमा उपचारका लागि ल्याउने तयारी गरिए पनि  कोरोना भाइरस प्रभावितहरुको उपचारमा भने तत्काल जहाज प्रयोग गरिने छैन तर अन्य रोगका बिरामीहरुलाई भने त्यो जहाजमा राखेर उपचार गरिने छ । जहाज कति दिनमा तयारी अवस्थामा न्युयोर्क हार्बर आई पुग्छ प्रष्ट पारिएको छैन ।  

    गभर्नर कुमोले भनेका छन् “हामीलाई न्युयोर्कमा ४५ दिन भित्र १ लाख १० हजार बेडको आवश्यकता पर्ने छ । हाल हामीसँग उपचारको लागि जम्मा ५३ हजार बेडहरु र ३७ हजार आई सि यु युनिट मात्र छन् । र ३ हजार मात्र भेन्टिलेटर छन् । “बुधबारसम्म न्युयोर्कमा भाईरस पोजेटिभको संख्या २३ सय पुगेको छ भने १६ को मृत्‍यु भै सकेको छ ।  हाल न्युयोर्कमा संक्रमित संख्या मध्ये २३ प्रतिशत मानिस अस्पताल भर्ना भएका छन् ।  यो संख्या विश्वकै संख्याको दाँजोमा भने  निकै धेरै हो । विश्वका अन्य देशहरुमा संक्रमितहरु मध्ये १० प्रतिशत मात्र अस्पातल भर्ना हुने आँकडा छ । अहिले न्युयोर्क राज्यले तयारी गर्दै गरेको १ लाख १० हजार बेडको तयारलाई आधार मान्दा मे महिनाको मध्यसम्म न्युयोर्कमा मात्र ५ लाख मानिस कोरोनाको संक्रमण हुने छन् ।

  • ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)

    ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)

    न्यूयोर्क

    संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ । महामारीको यो अवस्थामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।

    सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले जानकारी गराउनु भयो । उहाँले अगाडि भन्नु भयो – सावधानीनै आजको आवश्यकता हो। संक्रमणबाट आफू सुरक्षित हौं, अरुलाई पनि सुरक्षित बनाऔं ।

    भिडियो लिंक

  • अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

    अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

    काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो ।

    अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत अब नपाइने भएको छ ।

    यता, होटल र बसलाई संक्रमणरहित बनाउनुपर्ने नियम ल्याउँदै सरकारले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने बताएको छ ।

    सर्वसाधारणसँग सरकारले समेत भीडभाड गरी यात्रा नगर्न आग्रह गरेको छ ।

    समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिक महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने निर्णय समेत गरेको हो । सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ ।

    बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।

    सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

    सपिङ मलमा स्यानिटाइजर अनिवार्य गर्न भनिएको छ । होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकले हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरिएको छ ।

    टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्नु पर्ने भएको छ । तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय गरिएको छ ।

  • कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

    कोरोनाविरुद्ध सरकारको कडा निर्णय, देश करीव लकडाउन

    काठमाडौं । सरकारले यूरोप, मध्य एसिया र खाडी क्षेत्रका नागरिकलाई नेपाल आउन प्रतिवन्ध लगाउँदै करीव लकडाउन घोषणा गरेको छ ।

    यसअघि अनअराइभल भिसा मात्र रोकिएकोमा अब यी मुलुक र यी मुलकमा ट्रान्जिट भएर आउने संसारकका सबै मुलुकका नागरिकले अब नेपालमा प्रवेश पाउने छैनन् ।

    बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    सरकारले भारतसँगको सीमा नाका पनि सबै बन्द गर्ने तयारी गरेको छ । यद्दपी बुधबार यसको निर्णय भएको छैन । बिहीबार भारतसँगको समन्वयमा सीमा नाका बन्द गर्ने तयारी गरिएको छ ।

    अब होटेल, सार्वजनिक यातायात तथा अन्य धेरै मानिस जम्मा हुने क्षत्रे कोरोना भाइरस मुक्त पारेर मात्र संचालन गर्नुपर्ने भएको छ ।

    यसका लागि संचालकले त्यसको व्यवस्था गर्नुपर्ने छ । यूरोपमा धेरै मानिसमा यसको संक्रमण फैलिएको छ ।

    नेपाली नागरिक धेरै रहेको खाडी मुलुकमा पनि यसको फैलावट तिब्र रहेको छ । यससँगै सरकारले यी मुलुकसँगको हवाई सम्बन्ध तत्कालका लागि तोडेको छ ।

    जसले गर्दा नेपालमा तत्काल कोरोना नभित्रने आशा गरिएको छ । सरकारको यस निर्णयले करीव ५५ मुलुकबाट नेपाल आउने नागरिकको आवागमन रोकिने भएको छ । यसमा नेपाली पनि आउन पाउने छैनन् ।

  • आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

    आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

    काठमाडौं । आजबाट विद्यालय स्तरीय परीक्षा सकिएको छ । अब करीव ७० लाख विद्यार्थी सामुहिक रुपमा विद्यालयमा भेला हुनु पर्ने छैन ।

    सरकारले विद्यालयहरुलाई तत्काल भर्ना नखोल्ने र कुनै पनि औपचारिक कार्यक्रम नगर्न भनेको छ । यसको मतलव कम्तिमा चैतभर विद्यालय खुल्ने छैनन् ।

    यसले कोरोना विरुद्धको सचेतनामा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    शिक्षा मन्त्री गिरिराजमणी पोखरलेलले विद्यालय छुटटी भइसकेपछि कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगर्न सबै विद्यालयलाई निर्देशन दिएका छन् ।

    यससँगै करीव ७० लाख बालबालिका अब घरमै रहनेछन् । बिहीबारबाट एसइइ परीक्षासमेत संचालन हुँदैछ । एक सातापछि उक्त परीक्षा समेत सम्पन्न हुनेछ ।

    त्यसपछि भने स्कूलहरु पूर्णतया बन्द हुनेछन् । तर, कलेजहरुको हकमा भने के गर्ने भन्ने सम्बन्धमा सरकारले अझै निर्णय गरेको छैन ।

    कोरोनाको डरले नेपाललाई समेत नराम्रो प्रभाव पारेको छ । तर, नेपालमा भने संक्रमणको पुष्टी भइसकेको छैन ।

  • चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल

    चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल

    भरतपुर । भरतपुर महानगरपालिकाले चितवनमा कोरोना भाइरसको सम्भावित उपचारका लागि अत्याधुनिक सेवासहितको अस्पताल बनाउने भएको छ ।

    आगामी तीन दिनमा अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी महानगरपालिकाको रहेको छ ।

    भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याइने भएको हो ।

    महानगरपालिका यसको तयारीमा समेत जुटिसकेको छ । प्रदर्शनी केन्द्रमा रहेको भवनलाई तीन दिन भित्र अस्पतालमा परिणत गरिने भएको छ ।

    अस्पतालमा अत्याधुनिक उच्च प्रविधिको बेड १०, आईसीयू बेड १० र जनरल वार्ड बेड ५० गरी ७० बेड रहने भएका छन् ।

    यस कार्यमा चितवनस्थित विभिन्न अस्पतालबाट प्राविधिक सहयोग लिइने भएको छ ।

    आपतकालिन अवस्थामा पूर्वतयारी स्वरुप यो अस्पताल बनाउन लागिएको हो । चितवनका अस्पतालहरुबाटै जनशक्ति ल्याएर आवश्यक पर्दा सेवा सञ्चालन गरिने भएको छ ।

    तीन बिघा क्षेत्रफलमा रहेको प्रदर्शनी कक्षमा तीनवटा भवन छन् । कोरोनाको संक्रमणको जोखिम बढेसँगै अहिले देशभर सचेतना बढाइएको छ ।

  • एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

    एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

    काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको सरकारले जानकारी दिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक विज्ञप्तीमार्फत परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् ।

    उनका अनुसार परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछ । त्यसो त बुधबारसम्म सबै विद्यालयलाई वार्षिक परीक्षा सकाउन सरकारले यसअघि नै निर्देशन दिएको थियो ।

    बुधबारबाट कम्तिमा एक महिना विद्यालयहरु बन्द हुने भएका छन् । कोरोना संक्रमण फैलने डरले छिटो विद्यालयहरु बन्द गर्न सरकारमाथि दवाव रहेको छ ।

    ६ देखि १७ चैतसम्म हुने एसईई परीक्षामा भने देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदैछन् ।

    देशभर १ हजार ९९५ परीक्षा केन्द्र तोकिएका छन् । मन्त्री पोखरेलका अनुसार हरेक परीक्षा केन्द्रमा स्वास्थ्य केन्द्र हुनेछन् ।

    पर्याप्त सावधानीसहित परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ ।

    विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाइएको छ ।

    यसको व्यवस्थापन ७५३ वटै स्थानीय तहले मिलाउने छन् । मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आह्वान गरेको छ ।

    कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएपछि विद्यालय बन्द हुनेछन् ।

    परीक्षा सकिएपछि करीब ७० लाख बालबालिका घर परिवारमा हुनेछन् ।

    शिक्षा मन्त्रालयले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।

  • कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित

    कोरोनाले २१ वर्षिय स्पेनिस फूटबल कोचको ज्यान लियो, मृत्यु हुने विश्वकै कान्छा संक्रमित

    काठमाडौं । कोरोना भाइरसले युवालाई कम प्रभाव पार्छ भन्ने पुष्टी चीन र इटलीको तथ्यांकले गरेको थियो । किनकी इटलीमा ५० वर्ष मुनीका मानिसको ज्यान गएको थिएन ।

    चीनमा ३९ वर्षभन्दा मुनीका व्यक्तिको ज्यान गएको थिएन । तर, यूरोपका अन्य मुलुकबाट अझ डरलाग्दो खबर सार्वजनिक हुन थालेको छ ।

    फ्रान्समा अधिकांश ५० वर्ष मुनीका नागरिकमा कोरोनाको संक्रमण फैलिएको छ । यता, स्पेनमा भने २१ वर्षिय युवाकै ज्यान गएको छ ।

    संचारमाध्यमहरुका अनुसार स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

    फ्रान्सिस्को गार्सियाले मालागामा आधारित क्लब एटलेटिको पोर्टडा अल्टाको कनिष्ठ टोलीको प्रबन्ध गरेका थिए। उनको शनिबार ज्यान गएको हो ।

    २१ वर्षका उनी कोरोनाबाट ज्यान गुमाउने विश्वकै कान्छो संक्रमित भएको बताइएको छ । संक्रमण बढ्दै गएपछि स्पेनमा समेत आपतकालीन अवस्था घोषणा भएको छ ।

    विश्वमा महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमण १६२ देशमा फैलिएको छ। इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ।

    कोरोनाका कारण थप ३ हजार २ सय ३३ जना संक्रमति थपिएका छन्। चीनमा भने थप १३ जनाको ज्यान गएको छ। इरानमा १ सय २९ जनाको ज्यान गएको छ ।

  • मलेसियाले रोक्यो विदेशी, नेपाली पनि जान नपाउने

    मलेसियाले रोक्यो विदेशी, नेपाली पनि जान नपाउने

    क्वालालाम्पुर । मलेसियाले आफ्नो मुलुकमा विदेशीको प्रवेश रोकेको छ । साथै मलेसियाका नागरिक पनि अब विदेश भ्रमणमा जान पाउनै छैनन् ।

    मलेसियाले कम्तिमा दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले लागु गरेको यो नीति बुधबारबाट लागू हुने भएको छ ।

    प्रधानमन्त्री मुहिदिन यासिनका अनुसार यो नीति मार्च ३१ सम्म कायम रहने छ । मलेसियाको यो नीतिसँगै नेपालीको प्रवेश समेत रोकिएको छ ।

    त्यसो त नेपाल आफैले नयाँ कामदार पठाउन रोक लगाइसकेको छ । श्रम स्वीकृति बन्द भएको छ । मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ।

    शैक्षिक संस्था समेत बन्द गरिएको छ । यस देशमा सोमबार साँझसम्म ५५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

  • नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

    नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

    काठमाडौं । संसारका १५७ मुलुकमा फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट चीनको छिमेकी मुलुक नेपाल भने अझै पनि मुक्त छ ।

    संसारका विकसित र गुणस्तरीय स्वास्थ्य संरचना भएका मुलुकमा नराम्रोसँग मानिसहरु मरिरहँदा तुलनात्मक रुपमा कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा कोरोनाको संक्रमण नदेखिनुले धेरैलाई आश्चर्यचकित पारेको छ ।

    कतै नेपालको परिक्षण प्रभावकारी नभएर नदेखिएको हो की भन्ने आंशका समेत यस भाइरससँग मिल्दोजुल्दो लक्षणका कारण मानिसहरु बाहिरिएका छैनन् ।

    सोहीकारण सोमबार साँझसम्म नेपाल कोरोनामुक्त मुलुक नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार दुई महिनाअघि गरिएको परीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो।

    तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म ४ सय ७८ को परीक्षण भएको छ । उनीहरु सबैमा कोरोना भाइरस नेभेटिभ देखिएको हो ।

    अहिले काठमाडौंलगायत विभिन्‍न अस्पतालबाट ६ जना शंकास्पद बिरामीको ल्याब परीक्षणका लागि नमुना ल्याइएको छ। उनीहरुको रिपोर्ट आउन बाँकि रहेको छ ।

    यस रोगले संसारभर ६ हजार ६८ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमणको आंशकामा नमुना संकलन गरी परीक्षणका लागि १३ जनवरीमा हङकङ पठाइएको थियो ।

    त्यसको १० दिनपछि उनमा संक्रमण देखिएको पुष्टि भएको थियो । त्यसयता नेपालमा कुनै पनि मानिसमा कोरोना देखिएको छैन । पछिल्ला दिनमा भने सरकारले विदेशी नागरिकलाई नेपाल प्रवेशमा समेत कडाई गरिसकेको छ ।

    सोमबार सरकारले सचेतना अपनाउन नागरिकसँग भने आह्वान गरेको छ । संक्रमण भित्रिहालेमा त्यसको रोकथाम गर्न सरकार तयार रहेको भन्दै मन्त्रालयले तर सचेत रहन भने आह्वान गरिएको छ ।

  • सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

    सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

    काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ ।

    उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ ।

    कोरोना भाइरस फैलिएमा त्यसको रोकथामका लागि यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक सोमबार बसेको थियो ।

    सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०\२० वटा आईसीयू वेड थप गर्ने भएको छ ।

    प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी निर्णय सरकारले गरेको छ ।

    बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको छ ।

    जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००\१०० आइसोलेटेड बेड तयार हुने भएको छ ।

    भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाउने निर्णय समेत गरेको छ ।

    बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीको भत्ता बढाउने निर्णय समेत गरेको छ । बैठकले २० हजार थान सेफ्टी किट, १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिदको निर्णय समेत गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडान हुने विमानस्थलमा प्रस्थान गर्ने यात्रुको स्क्यान गरिने भएको छ । भारतसँगको सीमा नाकामा कडाई गर्ने निर्णय समेत सरकारले गरेको छ ।

  • पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण

    पोर्चुगलमा नेपालीमा देखियो कोरोना, यूएइमा दुई नेपालीमा संक्रमण

    काठमाडौं । संसारभर महामारीका रुपमा फैलिएको कोरोना अहिलेसम्म नेपालमा देखिएको छैन । तर, नेपाल बाहिर भने यस भाइरसले नेपालीलाई संक्रमणको शिकार बनाइसकेको छ ।

    पछिल्लो समय यूरोपमा यो भाइरसको फैलावट तिब्र छ । सोही क्रममा पोर्चुगलमा एक नेपाली नागरिकमा कोरोनाको संक्रमण पुष्टी भएको छ ।

    पोर्चुगलमा कृषि मजदूरका रुपमा कार्यरतएक नेपालीमा संक्रमण पुष्टी भएको संचारमाध्यमले लेखेका छन् ।

    फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा कार्यरत एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउले पुष्टी गरेका छन् । यद्दपी उनको परिचय खुलाइएको छैन ।

    पछिल्ला दिनमा पोर्चुगलमा धेरै नेपाली पुगेका छन् । यस मुलुकमा २ सय ४५ जनामा कोरोना पुटी भएको छ ।

    केही दिन अगाडी यूएईमा दुई नेपाली कामदारमा कोरोना देखिएको थियो । उनीहरुलाई नेपाल ल्याउने पहल भइरहेको दूतावासले जनाएकाा छ ।

    अवस्था सामान्य रहेका कारण नेपालमै ल्याएर उपचारको पहल भइरहेको दूतावासको भनाई छ । यसबाहेक नेपाल भित्र भने कोरोना छिरिसकेको पुष्टी भएको छैन ।

  • इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो

    इटलीमा कोरोनाले लियो मेयरको ज्यान, १ सय ५७ देशमा फैलियो

    रोम। विश्वभर कोरोना भाइरस फैलिने क्रम तीब्र छ । विश्व स्वास्थ्य संठगनका अनुसार आइतबारसम्म कोरोनाले १ सय ५७ देशमा आफ्नो उपस्थिति देखाइसकेको छ । रोगको संक्रमणबाट मर्नेको संख्या ६५ सय नाघिसकेको छ ।

    कोरोना चीनको वुहानबाट ३१ डिसेम्बरमा पहिला पटक देखिएको थियो । तीन महिनाको बीचमा यस रोगले ६ हजार पाँच सय १५ जनाको ज्यान लिएको छ ।

    आइतबार एकै दिन कोरोनाले संसारभर ६ सय ८२ जनाले ज्यान गुमाए । इटलीमा विगत २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ ।

    इरानमा १ सय १३ जनाको निधन भएको छ । स्पेनमा एकै दिन ९६ जनाले ज्यान गुमाए ।

    कोरोनाको संक्रमण रहेका उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको समेत ज्यान गएको इटलीका सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।

    मेयर भ्यालोटीको शुक्रबार ज्यान गएको हो । उनी ७० वर्षीय थिए । ७ मार्चमा उनी अस्पताल भर्ना भएका थिए ।

    इटलीमा यस भाइरसको संक्रमणबाट ५० वर्षमुनीका नागरिकको ज्यान गएको छैन । इटलीमा मात्र यस भाइरसले १ हजार ८ सय ९ को ज्यान गएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९० नयाँ संक्रमित भेटिएका छन् । इरानमा १ हजार २ सय ९ जना नयाँ संक्रमित देखिएका छन् ।

    यस मुलुकमा कूल मृतकको संख्या ७ सय २४ पुगेको छ । संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ । जर्मनीमा आइतबार मात्रै थप एक हजार २सय १४ जनामा संक्रमण देखिएको । जर्मनीमा कूल ११ जनाको मृत्यु भएको छ ।

    चीनमा २४ घण्टा भित्र १४ जनामा संक्रमण देखिएको । त्यहाँ थप १४ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको विव स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

  • प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

    प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

    काठमाडौं । कोरोना रोगको संक्रमण भइहालेमा त्यसको निवारणमा जुट्नु पर्ने भएकाले अत्यावश्यक काम नपरेसम्म जिल्ला नछाड्ने सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

    स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार प्रजिअ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । उनले आइतबार राष्ट्रिय सभालाई कोरोना नियन्त्रणबारे सरकारको तयारीका सम्बन्धमा जानकारी गराएका छन् ।

    उनका अनुसार अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धित व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका आतंकलाई हटाउन सरकारको तर्फबाट आवश्यक पहल भइरहेको छ ।

    स्थल नाकामा स्वास्थ्य विन्दु स्थापना गरिएको छ । अहिले भारतसँग नेपालका चार वटा नाकामात्र खुला भएका छन् । अन्य नाका बन्द छन् ।

    तेस्रो मुलुकका नागरिक त्रिभुवन विमानस्थलबाट मात्र नेपाल छिर्न पाउँछन् । विमानस्थलबाट आएका सबै व्यक्तिलाई १४ दिनको क्वारेन्टाइनमा राखिने भएको छ ।

    तर, उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्नु पर्छ । होम क्वारेन्टाइनमा बस्दा सुख्खा खोकी, ज्वरोलगायतका इण्डिकेटर चेक गरिने छ ।

    लक्षण देखिएमा अस्पताल लैजाने र रिपोर्ट पोजेटिभ आए सबै उपचार सरकारले गर्नेछ । उनका अनुसार कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको परीक्षा ५ चैतमा सकिनेछ । त्यसपछि विद्यालय एक महिना बन्द हुनेछन् ।

  • कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

    कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

    काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ ।

    उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ ।

    कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ ।

    आजबाट नेपाल आउने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीति लागु गरेको सरकारले विदेशबाट नेपाल आउन समेत कडाई गरिसकेको छ ।

    तर, सम्भावित जोखिमसँग लड्न तयारीको काम समेत उत्तिकै भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

    चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस अहिले १२० देशमा पुगेको छ । तर, चीनको छिमेकी मुलुक नेपालमा भने एक जनामा मात्र संक्रमण पुष्टी भएको थियो ।

    उनी पनि निको भएर फर्किएका छन् । त्यसपछि नेपाल अहिले कोरोनामुक्त छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम बारे भएका प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिए ।

    उनले कोरोनाको संक्रमण नै नेपाल प्रवेश नहोस भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे । उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार हुने गरी व्यवस्थापन मिलाइएको छ ।

    वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । उनले नडराइकन सचेतना अपनाउन सर्वसाधारणमा आग्रह गरे ।

    रोगको संक्रमण भइहालेमा सरकारले निशुल्क उपचार गर्ने समेत उनले जानकारी गराए ।

    नेपालमा अहिलेसम्म ४ सय ६४ जनामा कोरोना परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएकोछ ।

    कोरोनाको सम्भावित जोखिमका आधारमा सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने उनले बताए । अहिले काठमाडौं उपत्यका भित्र सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड रहेका छन् ।

  • भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव

    भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव

    काठमाडौं । कोरोनाले प्रभावित बन्दै गएको सार्क क्षेत्रमा यस संक्रमणविरुद्ध सामूहिक रुपमा लड्न नेताहरु सहमत भएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुबीच भिडियो वार्ता सम्पन्न भयो ।

    वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिए । यस भिडियो वार्तामार्फत भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ स्थापनाको प्रस्ताव गरेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापना गर्ने प्रस्ताव राखे । उनले यस कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा समेत गरेका छन् ।

    अन्य देशबाट स्वेच्छिक रुपमा योगदान गर्न सक्ने उनको प्रस्ताव छ । यस कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुनसुकै देशले प्रयोग गर्न सक्ने उनले प्रस्ताव गरेका छन् ।

    यस प्रस्तावसँगै भारतीय प्रधानमन्त्रीले सार्कको साझा नेताका रुपमा उभ्याउन आफूलाई सफल भएका छन् ।

    भारतले विशेषज्ञ र डाक्टर संलग्न ¥यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको समेत उनले जानकारी दिए । भारतीय प्रधानन्त्री मोदीले कुनै देशलाई आवश्यक भए सहयोग गर्न भारत तयार रहेको उल्लेख गरे ।

    वार्तामा आपतकालीन कोष बनाउने मोदीको प्रस्तावको सबै मुलुकले स्वागत गरे । अन्य मुलुकबाट रकमको घोषणा भएको छैन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैले कोरोनाबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नु पर्ने बताए ।

  • आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

    आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

    काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ ।

    अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो ।

    कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरिएको हो ।

    अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल झर्ना साथ क्वारेन्टाइनमा बस्नका लागि एक फारम भर्नुपर्छ । विभागका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था स्वयमले मिलाउनु पर्छ ।

    क्वारेन्टानमा बसे वा नबसेको अनुगमन हुनेछ । नेपालमा तेस्रो मुलुकबाट आउने नागरिकको अनअराइभल भिसा बन्द गरिएको छ ।

    उनीहरुले दूतावासमा गएर निरोगिताको प्रमाणपत्र देखाएमात्र नेपाल आउन पाँछन् । त्यसरी आएकालाई समेत क्वारेन्टाइनमा राख्न लागिएको हो ।

    त्यसो त तेस्रो मुलुकका नागरिकले अब नेपाल आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र प्रयोग गर्न पाउँछन् ।

    आफैंले आफैंलाई अन्य मानिसहरूको सम्पर्कबाट पर राखी संक्रमणबाट जोगिने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो ।

    यसलाई चिकित्सकीय उपचारमा जानु भन्दा पनि सचेतनाको एक प्रक्रिया मानिन्छ । रोग लागेको भेटिएमा मात्र अस्पतालमा जानुपर्छ । क्वारेन्टाइनमा बसको अवधीमा समेत स्वास्थ्य जाँच भने गराउनु पर्छ ।

  • यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो

    यूरोपका मूख्य पर्यटकीय गन्तब्य बन्द, इटलीमा मर्ने १४ सय नाघ्यो

    पेरिस । चीनपछि सबैभन्दा प्रभावित यूरोपमा कोराना भाइरसले जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यूरोपका सबैजसो देशले मूख्य पर्यटकीय गन्तब्य बन्द गरेका छन् ।

    फ्रान्स र स्पेनले शनिबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् । फ्रान्सको इफेल  टावर भ्रमणमा रोक लगाइएको छ ।

    कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामो गुणात्मक वृद्धि भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    चीनपछि सबैभन्दा बढी मानिस इटलीमा मरेका छन् । यहाँ शनिबारसम्म १४ सय ४० जना मानिसको ज्यान गएको छ ।

    युरोपेली मुलुकहरुले व्यापक प्रतिबन्धको घोषणा गरेका छन्। इटलीमा अहिले पनि १५१८ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

    कोरोनाकै काण स्पेनमा १९६ र फ्रान्समा ९१ जनाको मृत्यु भएको छ । उता, चीनमा भने यो रोगको संक्रमण करीव नियन्त्रणमा आइसकेको छ ।

    फ्रान्समा क्याफे, रेस्टुरेन्ट, सिनेमाघर र पसल बन्द गरिएको छ ।

  • राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन

    राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन

    न्यूयोर्क

    कोरोना भाईरसको संक्रमणको शंकामा सो सम्वन्धि जाँच गरेका राष्ट्रपति डोनाल्ड     ट्रम्पको रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार साँझ ट्रम्पको जाँच गरिएको एक दिनपछि उनी संक्रमित नभएको रिपोर्ट आएको कुरा ह्वाईट हाउस श्रोतले पुष्टि गरेको छ ।  गत हप्ता राष्ट्रपति ट्रम्पले मार्गा लागोस्थित ब्राजेलियन प्रतिनिधि मन्डलसँग भेट गरेको र उक्त प्रतिनिधि मन्डलको एक ब्यक्ति कोरोना भाइरस संक्रमित भएपछि ट्रम्पको पनि जाँच गर्नु पर्ने जन दबाब अमेरिकामा बढेको थियो ।  

    अमेरिकामा अहिले हरेक घण्टा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने ठुलो जन घनत्व भएका ठुला शहरका सडक सुनसान हुँदै गएका छन् । मानिसहरु अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन छाडेका छन् । राष्ट्रपति ट्रम्पले युरोपसँगको आतेजाते बन्द गरि सकेका छन् भने बेलायत र आयरल्यान्डबाट पनि सोमबार मध्यरातदेखि अमेरिका आउने जाने क्रम बन्ध हुने गोषणा गरिसकेका छन् ।

  • कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

    कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

    न्यूयोर्क

    चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ ।  चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड  र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार ४ सय ३० ब्यक्ती संक्रमित भएको सरकारी आँकडा छ । शनिबार मार्च १४ सम्म अमेरिकामा कम्तिमा ५० को मृत्‍यु भै सकेको छ ।

    मृत्‍यु भएका ५० मध्ये सबै भन्दा धेरै वासिङ्टन राज्यमा ३७ क्यालिफोर्नियामा ५, फ्लोरिडा र न्यूयोर्कमा २/२, कोलोराडो जर्जिया कान्सस न्युजर्सी साउथ डकोटामा १ – १ जनाको कोरोना संक्रमणका कारण मृत्‍यु भै सकेको छ ।  यद्यपी कोरोना संक्रमितहरुको सरकारी तथ्यांक २४ सय ३० भए पनि परिक्षण गर्ने किटको अभाब भएको कारण थुप्रै संक्रमित परिक्षणको पर्खाईमा बसेको अनुमान गरिएको छ ।  

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरी सकेका छन् भने राज्य सरकारहरु संक्रमणको रोकथामको लागि खटीरहेका छन् । अधिकांस राज्यहरुको बिद्यालय बन्द गरिएको छ भने ठुलो जनसंख्या भएको न्युयोर्क राज्यको बिद्यालयहरु बन्द गरिएको छैन । कतिपय राज्यहरुले विद्यार्थीहरुलाई घरमा राखेर अनलाईन पढाउने ब्यबस्था गरेका छन् ।  सामान संचय गर्नेहरुको संख्या बढेपछि दैनिक उपभोग्य बस्तुहरुको अभाब हुन थालएको छ । दैनिक उपभोग्य बिक्रीगर्ने ठुला स्टोरहरुमा हजारौको लाइन हुन थालएको छ । मानिसहरुमा त्रास बढेको छ ।  

    अमेरिकामा हालसम्मको अवस्था यस्तो छ;

  • कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

    कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

    काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ ।

    कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् ।

    प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको डल्लुबाट कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की रहेको प्रहरीले उल्लेख गरेको छ ।

    यसैगरी काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेका छन् मञ्जुश्री सप्लायर्सबाट ३ रुपैयाँ पर्ने एउटा मास्कलाई ३१ रुपैयाँमा होलसेल दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरिरहेको पत्ता पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

    कोरोनाको मौका छोपेर बजारमा कृतिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा सामान बेच्ने गिरोह सक्रिय रहेका छन् ।