Category: समाचार

  • सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

    सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

    इस्लामाबाद, २० फागुन (रासस–एपी) । पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको छ ।

    पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक विफल पारिएको’ बताए । उनका अनुसार अफगान स्थल सेनाले बलुचिस्तान प्रान्तका किल्ला सैफुल्ला, नुस्की र चमन जिल्लामा रहेका १६ स्थानमा भूमि आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा पाकिस्तानी सेनाले २७ अफगान सैनिक मारिएको दाबी गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए ।


    उनका अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा पनि अफगान सेनाले २५ स्थानमा आक्रमण गरेको थियो । ती क्षेत्रमा भएको झडपमा ४० अफगान सुरक्षा बलका सदस्य मारिएको दाबी पाकिस्तानले गरेको छ । यसरी दुवै मोर्चामा गरी ६७ अफगान सुरक्षाकर्मी मारिएको इस्लामाबादको भनाइ छ । यी दाबीबारे काबुलबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । तर, दुवै देशले विगत बिहीबारदेखि एकअर्कालाई भारी क्षति पुर्‍याएको दाबी गर्दै आएका छन् ।

    अफगानिस्तानले अघिल्लो आइतबार भएको पाकिस्तानी हवाई आक्रमणको प्रतिशोधस्वरूप आक्रमण सुरु गरेको जनाएको थियो । त्यसयता पाकिस्तानले सीमाक्षेत्रमा निरन्तर सैन्य अपरेसन सञ्चालन गरिरहेको छ । सोमबार तरारले ४३५ अफगान सुरक्षाकर्मी मारिएको र ३१ स्थान नियन्त्रणमा लिइएको दाबी गरेका थिए ।
    यसबीच, अफगान पक्षले पनि आफ्ना कारबाहीबाट पाकिस्तानी सेनालाई ठूलो क्षति पुर्‍याइएको दाबी गर्दै आएको छ ।

    यद्यपि, स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि हुन सकेको छैन । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सोमबार अफगानिस्तानभित्र जारी सैन्य कारबाहीको बचाउ गर्दै इस्लामाबादले कूटनीतिक प्रयासका सबै विकल्प प्रयोग गरिसकेपछि मात्र उग्रवादीविरुद्ध कदम चालिएको बताएका थिए । उनले काबुललाई पाकिस्तानमा आक्रमणका लागि जिम्मेवार समूहहरूलाई निशस्त्र बनाउन आग्रह गरे ।


    पाकिस्तानले हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ का रूपमा वर्णन गरेको छ । सीमाक्षेत्र अल–कायदा र इस्लामिक स्टेट समूहजस्ता आतङ्कवादी सङ्गठनहरूको गतिविधि बढेको क्षेत्र मानिँदै आएको छ । पछिल्ला महिनाहरूमा पाकिस्तानभित्र हिंसा बढेको र त्यसका लागि प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० जिम्मेवार रहेको इस्लामाबादको आरोप छ । पाकिस्तानले टिटिपीले अफगान भूमिबाट सञ्चालन गर्दै आएको र अफगान तालिबान सरकारले सुरक्षित आश्रय दिएको आरोप लगाउँदै आएको छ, जसलाई काबुलले अस्वीकार गर्दै आएको छ ।

    हालको सीमापार द्वन्द्वले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामलाई प्रभावहीन बनाएको छ । इस्तानबुलमा सम्पन्न वार्ता स्थायी सहमति बनाउन असफल भएपछि दुवै पक्षबीच तनाव पुनः चुलिएको हो । पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारले टिटिपी र अन्य उग्रवादी समूहहरूविरुद्ध प्रमाणित र प्रभावकारी कदम नचालेसम्म सैन्य अपरेसन जारी रहने स्पष्ट पारेका छन् ।

  • यूरोपमा तीनमध्ये एक महिला हिंसाको सिकार

    यूरोपमा तीनमध्ये एक महिला हिंसाको सिकार

    भिएना, २० फागुन (रासस–एएफपी) युरोपेली सङ्घ (इयु) भित्र महिलाविरुद्धको हिंसा अझै पनि गम्भीर र व्यापक समस्याका रूपमा रहेको नयाँ प्रतिवेदनले देखाएको छ । इयुको अधिकारसम्बन्धी एजेन्सीले सार्वजनिक गरेको अध्ययनअनुसार करिब तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौन हिंसाको अनुभव गर्ने गरेको पाइएको छ । प्रतिवेदनले लैङ्गिक हिंसालाई ‘व्यापक, डिजिटल माध्यमबाट झन् तीव्र र संस्थागत रूपमा बेवास्ता गरिएको’ चेतावनी दिएको छ ।

    युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए) ले सार्वजनिक गरेको सर्वेक्षणअनुसार युरोपभरिका ३०।७ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि शारीरिक वा यौन हिंसाको सामना गरेको बताएका छन् । अध्ययनले घरेलु तथा साझेदारसँग सम्बन्धित हिंसा अझै गम्भीर रहेको देखाएको छ । प्रत्येक १० मध्ये एक महिलाले आफ्नो जीवनमा कम्तीमा एकपटक पार्टनरबाट शारीरिक चोट भोगेको बताएका छन् भने १७.२ प्रतिशतले बलात्कारसहित यौन हिंसा वा अन्य यौन आक्रमणको अनुभव गरेको उल्लेख गरेका छन् ।

    एफआरए, युरोस्ट्याट र लिथुआनियास्थित युरोपियन इन्स्टिच्युट फर जेन्डर इक्वालिटी (इआइजिई) ले संयुक्त रूपमा सञ्चालन गरेको यस अध्ययनले डिजिटल प्रविधिको विस्तारसँगै हिंसाको स्वरूप पनि परिवर्तन भएको औँल्याएको छ । प्रतिवेदनअनुसार ८.५ प्रतिशत महिलाले साइबर स्ट्याकिङको सिकार भएको बताएका छन् । सर्वेक्षणमा सहभागी १०.२ प्रतिशत महिलाले आफ्नो स्थान निगरानी गरिएको वा घनिष्ठ साथीले डिजिटल माध्यमबाट पछ्याएको अनुभव साझा गरेका छन् ।

    अध्ययनले महिलाविरुद्धको अधिकांश हिंसा अझै पनि व्यापक रूपमा कम रिपोर्ट हुने गरेको र सम्बन्धित निकायहरूले पर्याप्त रूपमा सम्बोधन नगरेको देखाएको छ । केवल ६.१ प्रतिशत महिलाले आफ्ना पार्टनरबाट भोगेको शारीरिक वा यौन दुर्व्यवहार अधिकारीसमक्ष उजुरी गरेका थिए । गैर–पार्टनरबाट आक्रमण भएको अवस्थामा पनि उजुरी दर ११.३ प्रतिशत मात्र रहेको पाइएको छ । उजुरी नगर्नुका कारणका रूपमा लाज, डर, आत्मदोष र प्रहरीप्रति विश्वासको कमी उल्लेख गरिएको छ ।

    एफआरएका निर्देशक सिर्पा राउटिओले विज्ञप्तिमार्फत भनिन्, “जब दुर्व्यवहारलाई सामान्य, लुकेको वा बेवास्ता गरिएको अवस्थामा छोडिन्छ, त्यसले अधिकार संरक्षणमा प्रणालीगत असफलता देखाउँछ ।” उनले हिंसा रोकथाम, पीडितको सुरक्षा र न्यायमा पहुँच सुनिश्चित गर्नु सदस्य राष्ट्रहरूको स्पष्ट दायित्व भएकोमा जोड दिइन् ।
    यो अध्ययन सन् २०१४ मा गरिएको प्रारम्भिक सर्वेक्षणपछि एफआरएद्वारा गरिएको दोस्रो प्रमुख अनुसन्धान हो । सर्वेक्षणका लागि सन् २०२० सेप्टेम्बरदेखि २०२४ मार्चसम्म १८ देखि ७४ वर्ष उमेर समूहका एक लाख १४ हजारभन्दा बढी महिलासँग अन्तर्वार्ता लिइएको थियो । केही देशमा सहभागीहरूले आफूलाई महिलाका रूपमा आत्मपहिचान गर्न सक्ने व्यवस्था गरिएको थियो, जसका कारण ट्रान्स महिलाहरूलाई पनि सहभागी हुन अनुमति दिइएको जनाइएको छ, यद्यपि यसबारे थप विवरण दिइएको छैन ।

    यसअघि सन् २०११ मा इयुले महिलाविरुद्ध हिंसा रोकथाम तथा नियन्त्रणका लागि इस्तानबुल महासन्धि अपनाएको थियो । तर बुल्गारिया, चेक गणतन्त्र, हङ्गेरी, लिथुआनिया र स्लोभाकियालगायत पाँच सदस्य राष्ट्रले उक्त महासन्धिको मुख्य प्रावधान अनुमोदन गर्न अस्वीकार गरेका छन् । नयाँ प्रतिवेदनले नीति निर्माण र कार्यान्वयनमा अझ सशक्त तथा समन्वित कदम चाल्न आवश्यक रहेको सङ्केत गरेको छ ।

  • इरान आक्रमणप्रति चीन असहम

    इरान आक्रमणप्रति चीन असहम

    बेइजिङ, २० फागुन (रासस–एएफपी) । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको सैन्य कारबाहीको विरोध गरेको बताएका राज्य सञ्चारमाध्यमले जनाएका छन् ।


    मध्यपूर्वमा सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको जनाइएको छ र त्यसयता द्वन्द्व व्यापक क्षेत्रमा फैलिएको छ । तेहरानको निकट साझेदार चीनले यसअघि नै युद्धविरामको आह्वान गर्दै खामेनीको हत्यालाई ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा गरेको थियो ।

    सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले इजरायली समकक्षीसँगको वार्तामा संवाद र परामर्शमार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले इरान र अमेरिकाबीच हालैका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेको अवस्थामा सैन्य आक्रमणले त्यस प्रक्रियालाई अवरुद्ध गरेको बताए । “हालैको इरान–अमेरिका वार्ताले स्पष्ट प्रगति गरिरहेको थियो, तर दुर्भाग्यवश गोली हानाहानले त्यो प्रक्रिया रोकिएको छ”, उनको भनाइ उद्धृत गरिएको छ ।

    वाङले अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति चीनको विरोध पुनः व्यक्त गर्दै बल प्रयोगले समस्या समाधान नगर्ने धारणा राखे । “बलले समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या र गम्भीर परिणाम निम्त्याउँछ”, उनले स्पष्ट पारे । उनले द्वन्द्व अझ फैलिन नदिन र नियन्त्रणबाहिर जानबाट रोक्न तत्काल सैन्य कारबाही रोक्नुपर्नेमा चीनको जोड रहेको उल्लेख गरे । चीनले संवादमार्फत समाधान खोज्ने प्रयासलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

  • धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

    धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

    जनकपुरधाम, २० फागुन । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा हुने भएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे । उनले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्ति, सुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए ।

    आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनेटमा थप सुरक्षा निकाय पुग्नेछ उनको भनाइ थियो । मतदानस्थलहरूको निमाण भइसकेको, मतपेटिका तथा मतदान अधिकृत तथा कर्मचारीहरू आ–आफ्नो मतदानस्थलमा पुगिसकेको उनले भने ।

    धनुषामा प्रतिनिधिसभा सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेको छ । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र तथ३२२ मतदानस्थल रहेको छ । एक सय ९४ वटा मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा राखिएको छ । सो निर्वाचनमा तीन हजार ८७५ कर्मचारी परिचालन भएको बताइएको छ । चार हजार ५०० निर्वाचन प्रहरी पनि छनोट भइसकेका छन् । यस जिल्लामा उम्मेदवारको सङ्ख्या १५४ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

    सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

    गोलबजार (सिरहा) २० फागुन । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो ।

    जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले जानकारी बताए । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

  • निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

    निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

    काठमाडौँ, २० फागुन । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ । जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता, सहयोग, समन्वय, निर्वाचनका चुनौती, आयोगको तयारी र निर्वाचन सुरक्षाको अवस्थाबारे अध्ययन गरेको हो ।

    राजनीतिक दल, मतदाता, उम्मेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटवार्ता र कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको जियोकका महासचिव कृष्णमान प्रधानले जानकारी दिए । प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय पर्यवेक्षकको स्थलगत अवलोकन प्रतिवेदनमा समग्रमा निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको छ ।”

    जियोकबाट निर्वाचनको राष्ट्रिय पर्यवेक्षणका लागि खटिनुभएका प्राध्यापक चिरञ्जीवी खनालले निर्वाचनको तयारी रफ्तारमा अघि बढिरहेको, कर्मचारी मतदानस्थलमा पुगिसकेको, मतदान केन्द्र निर्माण भइरहेको तथा सुरक्षा निकाय पनि जिम्मेवारीपूर्वक संवेदनशीलताका साथ आफ्नो स्थानमा तैनाथ भएको पाइएको जानकारी दिए । उनले भने, “विगतमा राजनीतिक दल र उम्मेदवाले ठूला आमसभा र जुलुसमार्फत मतदातालाई प्रभाव पार्ने गरेकामा यसपटक भने गाउँटोलमै पुगेर भेटघाट गरेको पाइयो, निर्वाचनप्रति राजनीतिक दल कटिबद्ध र मतदाता उत्साहित रहेको पाइएको छ ।”

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता एवं जियोकका राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले निर्वाचनको लागि शान्तिपूर्ण वातावरण रहेको तथा मतदान केन्द्रका लागि आवश्यक पर्ने सबै स्रोतसाधनसहित कर्मचारीसहितको टोली मतदानस्थल पुगिरहेको जानकारी दिए । उनले भने, “मतदाता, उम्मेवार, राजनीतिक दलका प्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारीसमेत सुरक्षा संयन्त्र निर्वाचन शान्तिपूर्ण हुनेमा ढुक्क हुनुहुन्छ । हालसम्मको अध्ययन र विश्लेषणले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनेको छ ।”

    अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय र वडा कार्यालय भवनमा रहेकाले समग्रमा मतदातामैत्री नै रहेको पाइएको जानकारी दिए । जियोकले सातै प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे जानकारी लिएको हो । प्रतिवेदनमा भनिएको छ, “जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयन, निर्वाचन तयारी प्रशासनिक र सुरक्षात्मक दृष्टिले सन्तोषजनक छ, दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण छ ।”

    देशभर निर्वाचन केन्द्रमा मतदान सामग्री र कर्मचारीको खटाइ योजनाअनुसार नै सम्पन्न भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । यसअघि उम्मेदवारको घरदैलो तथा चुनावी प्रचारप्रसार शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ । जियोकले मुलुकका ३६ जिल्लाका २५० स्थानीय तहमा ४०० को सङ्ख्यामा निर्वाचन पर्यवेक्षक खटाएको छ ।

  • आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    काठमाडौँ, २० फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    काठमाडौँ, २० फागुनः नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ।

    मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित हुँदै आएको छ ।

  • खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

    खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

    काठमाडौँ, २० फागुनः मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

    दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।

  • निर्वाचनको सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा र राजस्व भुक्तानी निरन्तर

    निर्वाचनको सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा र राजस्व भुक्तानी निरन्तर

    काठमाडौँ, २० फागुनः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य तथा सेवामा असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोधअनुरूप महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको उल्लेख गरिएको छ ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ । सो कार्यका निम्ति उक्त कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ ।

    भुक्तानीसम्बन्धी तथा आवश्यक प्रणालीको निर्वाध सञ्चालनको प्रबन्ध मिलाइएको आयोगले जानकारी दिएको छ । मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन भएकाले सो दिन वित्तीय एवं बैंकिङ सेवा सञ्चालन नहुने र सोको भोलिपल्ट फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

  • खाडी युद्ध : नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन

    खाडी युद्ध : नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन

    काठमाडौँ, १९ फागुनः नेपाल सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ । उक्त द्वन्द्वको अवस्थामा नेपाली नागरिकको अवस्था बारे नियमित जानकारी लिन, अन्तरसरकारी निकायसँग समन्वय गर्न तथा उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्ने प्रयोजनले आज उक्त टिम गठन गरिएको हो ।

    परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट परराष्ट्रसचिवको संयोजकत्वमा गठन भएको उक्त टिमले त्यस प्रयोजनका लागि मित्रराष्ट्र तथा अन्य अन्तरराष्ट्रिय संस्थासँग समन्वय गर्नेछ । टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा विज्ञान प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायललगायत निकायका प्रतिनिधि रहने व्यवस्था छ ।

    परराष्ट्र मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो टिम गठन र कार्यान्वयनका साथै पश्चिम एसियाको पछिल्लो अवस्थाबारेमा जानकारी दिइयो । मन्त्रालयको मध्यएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले उक्त टिमले कार्यादेशानुसार काम गर्न सुरु गरिसकेको जानकारी दिए । उनले सो क्षेत्रका ट्रान्जिट विमानस्थलमा रहेका नेपालीलाई खान बस्नको प्रबन्धका लागि सम्बन्धित विमान कम्पनी र निकायलाई आग्रह गरी समन्वय भइरहेको बताए ।
    संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार गरेको संयुक्त सैन्य आक्रमणविरुद्ध इरानले प्रत्याक्रमण गरेपछि पश्चिम एसियाको स्थिति तनावपूर्ण भएको छ । सुरुमा सो क्षेत्रका मुुलुकमा रहेका अमेरिकी सेनाका अखडाहरूलाई निशाना बनाएको इरानले पछिल्लो दिनमा विभिन्न मुलुकका विमानस्थल, पेट्रोलियम प्रशोधन केन्द्रलगायत अतिसंवेदनशील स्थानमा आक्रमण गरेको छ । युद्धले त्यस क्षेत्रका विभिन्न मुलुकमा रहेका १९ लाखभन्दा बढी नेपाली नागरिकमा अन्योलमा परेका छन् । अर्कोतिर त्यस क्षेत्रका दर्जनौँ उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कने तयारी अवस्थामा रहेका नेपाली नागरिक पनि अलपत्र परेका छन् ।

    मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको बताए । नेपाली नागरिकको सुरक्षा र समन्वयका लागि सो क्षेत्रका मुलुकमा अवस्थित नेपालका आठ दूतावास र दुई महावाणिज्य दूतावासबाट नियमित सूचना लिने र समन्वय भइरहेको उनले बताए । यसैगरी मन्त्रालयले एडभाइजरी जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको प्रवक्ता पौडेलको भनाइ छ ।

    मन्त्रालयले आजैदेखि सो क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वको अवस्थाबारे नियमित जानकारी दिन र समन्वयमा रहनका लागि अनलाइन पोर्टल बनाई फाराम भर्ने व्यवस्था गरेको छ । उक्त पोर्टलमा त्यहाँ रहेका नेपालीले आफूलाई परेको अप्ठेरो र जिज्ञासाबारेमा जानकारी गराउने काम सुरु भइसकेको कन्सुलर सेवा विभागका महानिर्देशक दुर्पदा सापकोटाले बताए । त्यस सूचना र जानकारीले सहायता गर्न तथा आगामी दिनमा सम्भावित उद्धारका लागि योगदान पुग्ने उनको भनाइ छ ।


    मन्त्रालयले त्यस क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रहन, नाआत्तिन र सम्बन्धित मुलुकले जारी गरेको सुरक्षासम्बन्धी सूचना जानकारी लिई पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले द्वन्द्वका क्रममा सर्वसाधारण नागरिकहरूको सुरक्षा, सुरक्षात्मक व्यवस्था तथा संरक्षण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग पुनः आग्रह गरेको छ । साथै सम्बन्धित जेनेभा महासन्धिहरू तथा अन्तरराष्ट्रिय मानवीय कानुनका प्रावधानहरूको सधैँ पूर्ण रूपमा सम्मान तथा पालना गरिनुपर्ने मन्त्रालयको जोड छ ।

    मध्यपूर्व र आसपासका मुलुकहरूमध्ये हाल इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा श्रम स्वीकृति लिएर गएका चार लाख ७८ हजार १४४ र भिजिट भिसामा गएका चार लाख ३७ हजार ४४ जना, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल करिब १९ लाख ४४ हजार ४७२ जना नेपाली नागरिक रहेका छन् ।

  • सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज

    सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज

    काठमाडौँ, १९ फागुन । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पारे ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज रासससँगको कुराकानीमा उनले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेनासहितका सुरक्षा फौज परिचालित भई कार्य क्षेत्रमा खटिइसकेको बताए । यही फागुन २१ गते मुलुकभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।


    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले देशभरका सबै मतदान स्थलमा निर्वाचन अधिकृत, निर्वाचन सामग्रीसहित नेपाल प्रहरीको टोली पुगिसकेको जानकारी दिए । मौनअवधिमा निर्वाचन विरोधी गतिविधि गर्ने, सामाजिक सञ्जालको दुरूपयोगलगायतका गतिविधि रोक्न सम्पूर्ण प्रहरीलाई विशेष निर्देशन दिइएको जानकारी दिँदै उनले त्यस्ता गतिविधिमा लाग्ने व्यक्तिको पहिचान, नियमन र नियन्त्रण गरी संलग्नलाई कारबाही गर्न खटाइसकेको बताए ।

    प्रवक्ता काफ्लेले निर्धक्क भएर अमूल्य मत दिन आग्रह गरे । उनका अनुसार देशभर २०० को सङ्ख्यामा रहेका साइबर प्रहरीले सामाजिक सञ्जालको निगरानी गरी त्यसखालको दुरूपयोग हटाउन सक्रिय रहेका छन् । त्यसक्रममा ३४ जना पक्राउ परेका छन् ।

    निर्वाचन विरोधी गतिविधिमा संलग्न पनि धमाधम पक्राउ परिरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट चारवटै सुरक्षा निकाय निकाय समन्वयात्मकरूपमा परिचालित भई सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए । “धेरै स्थानमा गस्ती तथा ‘चेकप्वाइन्ट’मार्फत निर्वाचन विरोधी गतिविधि रोक्न परिचालित भएका छौँ”, उनले भने ।


    सूचनाको विश्लेषण गरी एकीकृत सुरक्षा योजनाअनुसार थप सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै प्रवक्ता भट्टले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरे । एक सय ६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा वेस स्थापना भएका छन् । फागुन ७ गतेदेखि सबै क्षेत्रमा नियमित गस्ती टोली खटिइएका छन् । यसअघिको निर्वाचनको संवेदनशीलता हेरेर सुरक्षा विश्लेषण गरी मजबुत तुल्याइएको प्रवक्ता भट्टले जानकारी दिए । यस्तै सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी गरिएको र गए रातिदेखि अन्तरराष्ट्रिय सीमानाका बन्द भएको उनले जानकारी दिए ।

    धमाधम मतदान केन्द्र व्यवस्थापन गरिँदै

    यसैबीच, मतदान कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आज मतादन केन्द्र व्यवस्थापनमा जुटेको छ । निर्वाचनका लागि प्राप्त निर्वाचन सामग्री र स्थानीय स्रोतसाधन सङ्कलन गरी मतदान केन्द्र र मतदान स्थल निर्माण गरिएको छ । कतिपय स्थानमा आज सर्वदलीय बैठकसमेत सम्पन्न भएका छन् ।

    काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले मतदान केन्द्र निर्माण, सर्वदलीय बैठकलगायतका व्यवस्थापकीय काम धमाधम भइरहेको जानकारी दिए । उनले भने, “सम्पूर्ण मतदान अधिकृतले मतदान सामग्री सम्पूर्णरूपमा बुझिसकेका छन् । भोलि सबै मतदान केन्द्र तयार हुन्छन् । फागुन २१ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ ।”

  • भक्तपुरमा निजी कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते

    भक्तपुरमा निजी कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते

    भक्तपुर, १९ फागुनः नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

    घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिँदै उहाँले कार दुर्घटनामा घाइते थप दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

  • गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

    काठमाडौँ, १९ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरेको हो ।

    सो अवसरमा मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिससभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे । उनले भने, “स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ, त्यसैले मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दछु ।”

    गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै आफू पनि सुरक्षित रहेर मतदानस्थल र मतपेटिका सुरक्षित गर्न मतदान अधिकृत र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । उनले निर्वाचनमा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए ।


    मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिएका थिए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह गरेका छन् । निर्वाचनस्थलको अनुगमनपछि गृहमन्त्री अर्यालले शान्तिपूर्वक मतदान हुने र धेरैभन्दा धेरै जनता मतदानमा सहभागी हुने विश्वास व्यक्त गरे ।


    मन्त्री अर्यालले मतदानस्थलको मतपेटिका सुरक्षा प्रवन्ध, मतपेटिका, ढुवानीसम्मको समग्र अवस्थाको अनुगमन गरी जानकारी लिए । उनले मतदान स्थलमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी र स्थानीयवासीसँग कुराकानी गरेका थिए । यसअघि आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए ।


    त्यस्तै फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तक्र्रिया गरेको थियो ।

    गृह मन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ । निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचन अघि, निर्वाचनको अवधिमा र निर्वाचनपश्चात मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।

  • पास दुरूपयोग गरी व्यक्ति ओसारपसार नगर्न आयोगको अनुरोध

    पास दुरूपयोग गरी व्यक्ति ओसारपसार नगर्न आयोगको अनुरोध

    काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिसबमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ ।”

    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘झ’ र ‘त’, ऐ. कार्यविधिको दफा १५ समेतका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म जान–आउन पास आवश्यक नपर्ने व्यवस्था मिलाउन आयोगबाट नेपाल सरकारलाई सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीसमेत गराएको छ ।

    आयोगले नियमविपरीत गरे÷गराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

  • प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

    प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

    काठमाडौँ, १९ फागुनः सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज चारजना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

    मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानुनी थुनामा राखेको उल्लेख गर्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरणको रिट निवदेन दायर गरेका थिए । त्यस्तै, ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन निवेदन परेको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले थुनामा राख्नुको कारण पेस गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गरेको हो ।

  • प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

    प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

    काठमाडौँ, १९ फागुनः चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।

  • मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने

    मतदान गर्न राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मान्य हुने

    काठमाडौँ, १९ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।

    आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन् ।

  • कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

    कन्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

    महेन्द्रनगर, १९ फागुनः कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।

    सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए । यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो ।

    बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गरेका चौधरीले चलाएको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । दुवै जनाको धनगढीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

  • देशभरी छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

    देशभरी छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

    काठमाडौँ, १९ फागुन : देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

  • रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

    रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

    काठमाडौँ, १९ फागुनः रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताए । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् ।

    लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । निजको खोजी भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

  • नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौँ, १९ फागुनः काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी घर भई हाल भक्तपुर बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    गोरखाका विकाश थापा मगरले चलाएको प्र ३ –००१ ब ९४५ नम्बरको टिपरले सरकारी नम्बर प्लेट प्र ३ –००१ ब ९४५ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइराला गम्भीर घाइते भएका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

    पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

    वीरगन्ज (पर्सा), १९ फागुन । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिए । “फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको छ”, उनले भने, “निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्परा छ ।”

    सहायक प्रजिअ पोखरेलले फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई पनि सौहार्दपूर्ण र निर्वाचनमैत्री ढङ्गले मनाउनका लागि आह्वान गरेका छन् । “होली पर्वका अवसरमा सार्वजनिकस्थलमा भीडभाड गर्ने, होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गर्दछौँ”, उनले भने, “कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्नअङ्कित कपडा लगाएर पर्व मनाउनसमेत निषेध गरिएको छ ।”

    होलीको अवसरमा मोटरसाइकल दुर्घटनामा वृद्धि देखिएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको सूचनामा उल्लेख छ । फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभाजुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा डीजेलगायत ध्वनि प्रदूषण हुने खालका बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ ।

  • भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

    भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

    भोजपुर, १९ फागुन । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । गाउँका ४६८ घरमा ‘एक घर, एक धारा’ अभियानमार्फत पिउने पानी वितरण गरिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । घरघरमा धारा पुगेसँगै घण्टौँसम्म पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ ।

    स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ । पहिले घरमा धारा नहुँदा निकै सास्ती थियो, टाढाबाट बोकेर पानी ल्याउनुपथ्र्यो । अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ । अर्की स्थानीय सरस्वती भट्टराईले पनि विगत सम्झिँदै भनिन्, “घरभन्दा परका तीनवटा धाराबाट डोको बोकेर पानी ल्याउनुपथ्र्यो, अहिले आँगनमै धारा जडान भएपछि सरसफाइमा सहज भएको छ । खेर जाने पानी करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।”

    वडाध्यक्ष रामु थापामगरका अनुसार वडाभरिका सबै ४६८ घरमा धारा जडान सम्पन्न गरिएको छ । एक घर, एक धारा अभियान सफल भएको छ । अब स्थानीयले वर्षौँदेखिको पानीको समस्या भोग्नुपर्दैन । धारा जडानसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडाले ‘एक घर, एक फिल्टर’ अभियान पनि सञ्चालन गरेको जनाएको छ । पानीजन्य रोगबाट बच्न प्रत्येक घरमा पानी फिल्टरसमेत वितरण गरिएको छ ।

  • तराईका जिल्लामा आज होली मनाइँदै

    तराईका जिल्लामा आज होली मनाइँदै

    रासस
    मध्यविन्दु (नवलपरासी), १९ फागुनः रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।

    मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए । “असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उनले भने, “धार्मिक महत्त्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”

    प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको भुर्तेलले बताए । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।

    पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूृर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउनका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहारलगायत गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछौँ”, उनले भने ।


    अपरिचित मानिससँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न उनले अनुरोध गरे ।

  • आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    काठमाडौँ, १९ फागुनः प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो । मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ ।

    आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोककल्याणकारीसहितका अन्य विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण गरिने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए । निर्वाचनको मौन अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील, सजग एवं सचेत रहन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा काउन्सिलले आग्रह गरेको छ ।

  • गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    रासस
    गण्डकी, १९ फागुनः आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमाण्ड पोष्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताए । “शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ”, उनले भने, “निर्धक्क भएर मतदानमा सहभागी हुन सबै मतदाताहरूमा आह्वान गर्दछौँ ।” सोमबार सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।


    मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेको संयोजक घिमिरेले बताए । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।

    जिल्ला कमाण्ड पोष्टसँगको समन्वयमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरिएको उनले बताए । “गण्डकी प्रदेशमा ठूलो सुरक्षा चुनौती छैन, सुरक्षा विश्लेषण र निगरानीको काम नियमित भइरहेको छ”, संयोजक घिमिरे भने, “सोमबारदेखि मतदानस्थल केन्द्रित सुरक्षा तयारी सुरु भएको छ ।”

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले सोमबार सबै मतदानस्थलमा प्रहरीको सुरक्षा टोली परिचालन भएका जानकारी दिए । एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभर सात हजारभन्दा बढी नेपाल प्रहरी परिचालित भएको उनले बताए । “मतदानस्थलमा गर्नुपर्ने सुरक्षाको पूर्वतयारीमा नेपाल प्रहरी जुटेको छ, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातवारणमा सम्पन्न गराउन नेपाल प्रहरी तयार छ”, प्रवउ कार्कीले भने । उनले निर्वाचनका बेला शङ्कास्पद गतिविधि गर्ने व्यक्ति र समूहलाई निगरानीमा राखिएको बताए । सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्वाचन शान्तिपूर्ण र भयरहित हुनेमा कुनै आशङ्का गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मतदानस्थलको अनुगमन र सुरक्षा विश्लेषणका आधारमा सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याइएको बताए । नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको उनको भनाइ छ ।

    नेपाली सेना र सशत्र प्रहरी बलले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ । प्रदेशभर एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन् ।

    एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने जनाइएको छ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । मतदानको दिन आउन दुई दिन बाँकी रहँदा प्रदेशभर निर्वाचन सुरक्षादेखि अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

    निर्वाचन सम्पन्न गर्न झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ । अठार निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता, एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् ।

  • निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?

    निर्वाचनका लागि मौन अवधि सुरु, कसले केके गर्न पाइँदैन ?

    काठमाडौँ, १९ फागुनः बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।

    मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

    मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्त्वपूर्ण रहन्छ ।

    निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सृजना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आआफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।

    मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ । भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइन्छ ।

    उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

    सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

  • चुनावमा पनि इन्धन नियमित : आयल निगम

    चुनावमा पनि इन्धन नियमित : आयल निगम

    काठमाडौँ, १९ फागुनः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भन्नुभएको छ, “पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।”

    उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराए । सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।

  • सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

    सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

    सुदूरपश्चिम, १९ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए ।

    उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका नौ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका भट्टले जानकारी दिए । उनका अनुसार प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आआफ्नो मतदान केन्द्रमा पुगेका हुन् ।

    मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदानकक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको कार्य अघि बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिशचन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको छ । निर्वाचन लक्षित सुरक्षा योजनाअनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् भने संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ ।