२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको निर्वाचन क्षेत्रमा आज राती बाटै मतगणना सुरु हुने भएको छ । अहिले झापा ५ मा सर्वदलीय बैठक बसिरहेको छ । चितवन २ को भने १२:३० बाट मतगणना थाल्ने तयारी छ ।
Category: समाचार
-

काठमाडौं ३ मा मतगणना सुरु
२१ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका–१ बाट मतगणना सुरु भएको छ । मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ । यो क्षेत्रमा कुलमान घिसिङ प्रतिस्पर्धामा छन् ।
-

इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि
फिक्कल (इलाम), २१ फागुनः इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
प्रजिअ ढकालका अनुसार जिल्लामा ६२ हजार ७७७ महिला, ६८ हजार २६१ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ मा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५३ हजार ६४६ महिला, ५८ हजार ६७३ पुरुष र एकजना अन्यसहित एक लाख १२ हजार ३२० मतदाता थिए ।
त्यस्तै, क्षेत्र नं २ मा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५८ हजार ५१२ महिला, ६० हजार ९७५ पुरुष र दुई तेस्रो अन्यसहित एक लाख १९ हजार ४८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५७ दशमलव ४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।
इलाममा १५० मतदानस्थलमा २९० मतदान केन्द्रमा विहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान भएको थियो । निर्वाचन जिल्लाभर शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न प्रजिअ ढकालले बताउनुभयो । यो समाचार तयार पार्दासम्म मतपेटिका सङ्कलनको क्रम जारी रहेको छ ।
मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु गर्ने तयारी छ । सबैतिरबाट मतपेटिका ल्याइसक्न समय लाग्ने भएकाले मतगणना सुरु गर्न केही ढिला हुने प्रजिअ ढकालले बताए । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ । “दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याइपु¥याउन बिहान १ः०० देखि २ः०० बजेसम्म लाग्नसक्छ”, प्रजिअ ढकालले रासससँग भने, “बिहान ८ः०० देखि ९ः०० बजेभित्र सर्वदलीय बैठक राख्ने तयारी छ । सो बैठकले निर्णय गरेबमोजिम मतगणना सुरु हुनेछ ।”
मतगणनाका लागि क्षेत्र नं १ का लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल्) मा र क्षेत्र नं २ का लागि सूर्योदय नगरपालिकाको सभाहल तयार गरिएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । दुवै हलमा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको गजुरेलले जनकारी दिए । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । यहाँको क्षेत्र नं १ मा १३ दल र २ मा एक स्वतन्त्रसहित १४ गरी २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
-

चितवनमा ६४ प्रतिशत मत खस्यो
चितवन, २१ फागुनः आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज बिहानदेखि भएको मत दानका क्रममा दुई लाख ८३ हजार ४२८ मत खसेको हो । जसमध्ये ६७ दशमलव २५ प्रतिशत महिला र ६० दशमलव ८९ प्रतिशत पुरुष रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । आज राति १०ः०० बजे सम्ममा तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका गणना स्थलमा आइपुग्ने छ ।
निर्वाचन आयोगका तर्फबाट गणनाका लागि सम्पूर्ण तयारी भएको भन्दै उहाँले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेर गणना थाल्ने बताए । चितवन क्षेत्र नम्बर १ को भुवानी शङ्कर कलेज खैरहनी, क्षेत्र नम्बर २ को उद्योग सङ्घको प्रदर्शनी केन्द्र भरतपुर र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा गणना हुने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । जसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी थिए ।
जिल्लाका १६२ स्थल र ४९४ केन्द्रबाट मतदाताले मतदान गरेका हुन् । जिल्लामा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ उम्मेदवार रहेका छन् । मतदान सकिएसँगै मग गणना स्थलमा मतपेटिका ल्याउने क्रम सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए । सो समयमा ६७ दशमलव १४ प्रतिशत मत खसेको थियो ।
-

काठमाडौँको मतगणना कहाँ कहाँ हुँदैछ ?
काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को २ को ज्येष्ठ नागरिक कार्यालयमा गणना हुँदैछ ।
क्षेत्र नं ५ को श्री समाज भवन टोखा नगरपालिका–५ को भवनमा र क्षेत्र नं ६ को तार्केश्वर नगरपालिका, धर्मस्थलीमा मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । क्षेत्र नं ७ को जुडो हल नयाँबजार, क्षेत्र नं ८ को जनउद्धार मावि हरिसिद्धी, काठमाडौँ, क्षेत्र नं ९ को चन्द्रगिरि नगरपालिका, बलम्बु र क्षेत्र नं १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा मतगणना हुँदैछ ।
-

दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै
काठमाडौँ, २१ फागुनः नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न भएपछि रासससँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताए ।
“निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो”, सैनिक प्रवक्ता बस्नेतले भने । आमनागरिकको सूचना र अन्य सुरक्षा निकायको सहयोगमा निर्वाचनलाई लक्षित गरी भएका शङ्कास्पद गतिविधिलाई समयमै सुरक्षित तवरमा निस्तेज तुल्याइएको उनको भनाइ छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि निर्वाचनका लागि सेना परिचालित भएको थियो । निर्वाचन अवधिमा शङ्कास्पद वस्तु तथा विस्फोटक पदार्थलगायत ७१ वटा फेला परेका थिए । ती विस्फोटक पदार्थ प्रतिकार्यका लागि ८१६ वटा टोली परिचालित भएको थियो । निर्वाचनपूर्व र मतदानका दिन सुरक्षाका लागि तैनाथ गरिएको हेलिकोप्टर अब मतपेटिका ओर्सान प्रयोग गरिनेछ । निर्वाचन आयोगको योजनाका आधारमा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट ती मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ ।
-

प्रचण्डको क्षेत्रमा मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिँदै, मतगणना शुक्रबार
रुकुमपूर्व, २१ फागुन : रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । सडक सञ्जालको पहुँचमा नरहेका र हिँडेर एक दिन लाग्ने यी तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको हो । सिस्ने गाउँपालिका–१ पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका¬–२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको हो ।
अन्य मतदान केन्द्रका मतपेटिकाहरु ल्याउने क्रम जारी छ । मध्यरातिसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदिले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिनेछ ।
५६ मतदान केन्द्र रहेको रुकुमपूर्वमा ३४ हजार ७७२ मतदाता थिए । सबै ठाउँमा टेलिफोन सम्पर्क नभएकाले जिल्लामा खसेको कुल खसेको मतको परिणाम भने आइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
-

देशभर ६० प्रतिशत खस्यो मत : आयोग
२१ फागुन, काठमाडौं । निर्वाचन आयोगका अनुसार देशभर करिव ६० प्रतिशत मत खसेको छ । यसको विस्तृत विवरण अझै सङ्कलनको क्रममा रहेको आयोगले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । आयोगका अनुसार देशभर शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । दिउँसो विवाद भएका केही स्थानमा अझै मतदान जारी रहेको समेत आयोगले जनाएको छ ।
-

काठमाडौंमा आज रातिबाटै मतगणना
२१ फागुन, काठमाडौं । काठमाडौंमा आज राती बाटै मतगणना सुरु हुने भएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार काठमाडौंको १० वटै क्षेत्रमा अहिले मतपेटिका सङ्कलनको काम सुरु भएको छ । सो काम सकिए सङ्गै मतगणनाको प्रक्रिया थालिने छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लामा ६० प्रतिशत माथी भोट खसेको अनुमान छ ।
-

कांग्रेस सभापति थापाले दिए : आभार, सम्मान र बधाई
२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताका लागि आभार, सम्मान र बधाई दिएका छन् । उनले यसबाट लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् ।निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।’
उनले केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गरेका छन् । साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
-

बालेनले प्रधानमन्त्रीलाई “आमा” सम्बोधन गर्दै लेखे यस्तो स्टाटस
२१ फागुन, काठमाडौं । भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएका बालेन शाहले निर्वाचन सफल बनाएकोमा प्रधानमन्त्री सुशीला कार्कीप्रति सम्मान व्यक्त गरेका छन् । उनले आमा सम्बोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’ अनेक चूनौतिका बीच प्रधानमन्त्री पद सम्हालेकी कार्कीले अन्ततः आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकी छिन् । उनको अहिले प्रशंशा गरिएको छ ।
-

सकियो मतदान, शान्तिपुर्ण वातावरण
२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानको समय सम्पन्न भएको छ । प्रहरीका अनुसार देशभर सामान्य घटनाबाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । निर्वाचन आयोगले साझ ६:१५ बजे अध्यावधिक विवरण सार्वजनिक गर्ने भनेको छ । प्रारम्भिक तथ्यांक अनुसार देशभर ५५ प्रतिशत भन्दा माथी मत खसेको अनुमान छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएकोमा ५ बजे मतदानको समय सकिएको हो ।
-

प्रथम महिला पौडेलद्वारा मतदान
दमौली (तनहुँ), २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिए ।
-

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान
चन्द्रपुर (रौतहट), २१ फागुनः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले राससलाई जानकारी दिए ।
-

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास
चितवन, २१ फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताए । संयोजक दाहालले भने, “समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।”
-

कांग्रेस उपसभापति शर्माद्वारा मतदान
झापा, २१ फागुनः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयको मतदानस्थलको ‘च’ केन्द्रमा मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन् । झापाका पाँच निर्वाचन क्षेत्रमा सात लाख १३ हजार ५३७ जना मतदाता छन् । यहाँ ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
-

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान
काठमाडौँ, २१ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिकरुपमा जनमत लिइनु सकारात्मक भएको बताइन् ।
-

प्रधानमन्त्री कार्कीद्वारा मतदान
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”
-

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान
काठमाडौँ, २१ फागुनः उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् ।
-

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
काठमाडौँ, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरे । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।
यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरे । काठमाडौँ महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार छन् ।
-

देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २१ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ ।
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ । लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
-

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राससलाई जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हँुदैछ । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।
-

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।
यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको छ ।
यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् ।
-

निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
काठमाडौँ, २१ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु(याइसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ ।आज हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले आज पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्व अनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको स्मरण गराउँदै तयारी पूरा भएको जनाएको हो । “निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो’’, कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने, “आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र होइन, लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो ।’’
सो पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसअघि परेका उजुरीबाहेक हालसम्म अन्य उम्मेदवारहरुको अयोग्यताको विषयमा कुनै उजुरी नपरेको र छानबिनको क्रममा नरहेको स्पष्ट पारे ।
गणना सुरु भएको २४ घन्टाभित्र परिणाम दिने तयारी
आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए ।मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, “मतपेटिका संकलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै संकलन गर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन । यसका शङ्का गरिरहनु पर्दैन ।’’
कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे । यस निर्वाचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पधामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।
त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन् ।
-

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
काठमाडौँ, २० फागुन राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
-

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
काठमाडौँ, २० फागुन । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ ।
बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए । राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।
-

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
पूर्णप्रसाद मिश्र–रासस
काठमाडौँ, २० फागुनः निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण दिएर खटाइएको आयोगले जनाएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन आयोगले भनेको छ । मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन), कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन यही फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइने भएको छ ।
मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था भएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टाअघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ । आयोगले अनुमतिप्राप्त संस्थाका करिब पाँच हजार पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको जनाएको छ ।
-

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
काठमाडौँ, २० फागुनः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे ।
कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । एक सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका कावा प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।
-

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
काठमाडौँ, २० फागुनः गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।
बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिए । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ ।
बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिए । गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिएका थिए ।
-

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन
काठमाडौँ, २० फागुनः निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ ।यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो । विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा व्यापक सामाजिक सञ्जालको प्रयोग भएकोले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन सम्बन्धमा सूक्ष्म पर्यवेक्षणका लागि इओसी नेपालको केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरिएको सो संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले जानकारी दिए ।
आफूहरुले मौन अवधि सुरु भएयता डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण, उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेयरलगायतका गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उनको भनाइ छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगबाट ३९ राष्ट्रिय संस्था र चार अन्तरराष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिइएको छ ।
