Category: समाचार

  • एमाले छाडेर हर्कको पार्टीमा लागेका ध्रुवराज : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

    एमाले छाडेर हर्कको पार्टीमा लागेका ध्रुवराज : स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

    टक्सार (भोजपुर), २४ फागुनः भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका धु्रवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् । नेकपा (एमाले)मा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । त्रिचालिस वर्षीय राई २०६२÷६३ को जनआन्दोलनमा अग्रपङ्क्तिमा उभिए ।


    विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बनेका थिए । सोही समय उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पु¥याउँदै गाउँ नै झिलीमिली बनाएका थिए । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित भए ।


    राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गरेका थिए । सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य भए । एमाले छोडेका ईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गरे । उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गरे ।

  • बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

    बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

    बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए ।

    त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार एक सय ८० मत र नेकपा (एमाले) की विमला विकले १० हजार सात सय ७२ मत ल्याए । उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए ।

  • काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

    काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्

    काभ्रेपलाञ्चोक, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए । यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन् । १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन् । काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा चार उम्मेदवारले एक हजारभन्दा कम मत ल्याएका छन् । सय मत नकटाउनेमा जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशिल लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६, समावेशी समाजवादीका विनोद लामाले ५०, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ तथा स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सबैभन्दा कम अर्थात् सात मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा एक हजारभन्दा कम मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७, मङ्गल नेशनल अर्गनाईजेशनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका हुन् ।

    काभ्रेपलाञ्चोक–२ मा भने दर्जनभन्दा बढी उम्मेदवार ५० मतभन्दा कममा सीमित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयअनुसार मितेरी पार्टी नेपालका हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपालका सुकमान तामाङले १५, मङ्गोल नेशनल अर्गनाइजेशनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले २८, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत तथा स्वतन्त्र उम्मेदवारहरू केशवराज तिमिल्सिनाले चार, लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन् ।

  • गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

    गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी

    गोरखा, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे ।

    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे । कूल एक लाख ५५ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा के छन् आर्थिक सुधारका ‘एजेन्डा’ ?

    पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा के छन् आर्थिक सुधारका ‘एजेन्डा’ ?

    काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने स्वाभाविक चासोको विषय हो । राससले रास्वपाको वाचापत्रमा राखिएका आर्थिक एजेन्डालाई केलाएको छ ।

    उत्पादकत्व वृद्धि र उद्यममैत्री वातावरण

    आर्थिक उन्नयनको मूल आधारका रूपमा थितिसहितको आर्थिक समृद्धि तथा उत्पादकत्वमा वृद्धि गर्ने रास्वपाको वाचापत्रमा उल्लेख गरेको छ । सीमित समय, पुँजी र साधनस्रोतको अधिकतम उपयोग गर्दै उच्च गुणस्तरीय, प्रतिस्पर्धी र दिगो उत्पादन हासिल गर्नुलाई दीर्घकालीन समृद्धिको मार्गका चित्रित गरिएको छ । यसका लागि जोखिम बहन गर्न तत्पर निजी लगानी र सक्षम, पारदर्शी तथा सहजीकरणमुखी सार्वजनिक भूमिकाको प्रभावकारी समन्वय आवश्यक रहेको वाचापत्रमा उल्लेख छ ।

    चुनावी घोषणापत्रमा निजी क्षेत्रले रोजगारी सृजना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानीयोग्य पुँजी प्रवाहमा अग्रणी भूमिका खेल्ने र सरकारको भूमिका नियामक तथा सहजीकरणकर्ताको मात्र हुने स्पष्ट पारिएको छ । त्यस्तै, नीतिगत दोहन तथा कृत्रिम अवरोधहरूको अन्त्य गर्दै नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने सर्वाधिक उद्यममैत्री व्यावसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको थियो ।

    युवा–केन्द्रित जनसाङ्ख्यिक लाभांशलाई अवसरमा रूपान्तरण गर्दै आगामी १०–१५ वर्षभित्र संरचनात्मक आर्थिक रूपान्तरण हासिल गर्न नसके दीर्घकालीन रूपमा न्यून आय जालमा फस्ने यथार्थप्रति पार्टी सजग रहेको जनाइएको थियो । त्यसैले उत्पादकत्व वृद्धि, सीप विकास, पुँजी निर्माण र प्रविधि–आधारित औद्योगिकीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउने उल्लेख छ ।

    नियामक सुधार र सामाजिक बजार अर्थतन्त्र
    कार्टेल, अस्वस्थ प्रतिस्पर्धा, रेन्ट–सिकिङ तथा नीतिगत दोहनजस्ता विकृतिहरू नियन्त्रण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, पेशागत, पारदर्शी र शक्तिशाली नियामकीय निकायहरूको निर्माण तथा सुदृढीकरण गरिने पनि वाचापत्रमा उल्लेख छ । राजनीति र नियमनबीचको अनुचित साँठगाँठ अन्त्य गर्दै नवप्रवर्तन, निष्पक्ष प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वलाई सन्तुलित रूपमा प्रवद्र्धन गर्ने सामाजिक बजार अर्थतन्त्रको रूपरेखाभित्र नेपालको यथार्थ अनुकूल, सन्तुलित र दिगो आर्थिक मोडल अवलम्बन गरिने पनि जनाइएको छ ।

    निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवद्र्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरणलाई सन्तुलित रूपमा संयोजन गरिने विषय वाचापत्रमा राखिएको छ । अबको लोककल्याणकारी राज्य लाभ वितरणमा मात्र सीमित नभई वृद्धिको स्वरूपलाई रूपान्तरण गर्दै दीर्घकालीन आर्थिक, सामाजिक र पर्यावरणीय सन्तुलनको आधार निर्माण गर्ने लक्ष्य पनि राखिएको छ ।

    वृद्धिको लक्ष्य र कानुनी सुधार
    आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज गरिने घोषणा गरिएको थियो । झन्झटिला ऐन र तजबिजी प्रक्रियाहरू शृङ्खलाबद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरूमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गरिने उल्लेख छ ।

    पहिलो दल रास्वपाले नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक’ बनाउन अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक सात प्रतिशत (स्थिर मूल्यमा) कायम गरेर जग बसाल्ने लक्ष्य राखेको छ । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य पनि लिइएको छ । कुन ऐन र नियमावली खारेज वा संशोधन गर्ने भन्ने निर्णयको आधार स्वतन्त्र विश्लेषण, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८१, एवं नेपाल उद्योग परिसङ्घ र उद्योग वाणिज्य महासङ्घका सुझाव लिइने पनि उल्लेख छ ।

    कर नीति र विनिमय दर पुनरावलोकन

    सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकाले निजी क्षेत्रसँगको उन्नत समझदारीका आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करको बोझ घटाइने बताइएको छ । कर कानुन तथा नियमहरू भूतप्रभावी ढङ्गले नलगाइने र नियोजित कर छली रोकिने उल्लेख छ । मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि ‘पारिवारिक भार’ का आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गरिने जनाइएको छ ।

    शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरूलाई प्रश्रय दिइने उल्लेख छ । त्यस्तै, भारतीय रूपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकामा विशिष्ट अन्तरराष्ट्रिय प्राज्ञहरूसमेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

    लगानी, सार्वजनिक संस्थान र आयोजना व्यवस्थापन

    स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्थासहित वान स्टप सेवा केन्द्रको कार्यान्वयन गरिने उल्लेख छ । डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रूपमा व्यवसाय दर्ता गराउने व्यवस्था मिलाइने जनाइएको छ । राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गरी भ्रष्टाचार नियन्त्रण गर्न चार्टर्ड एकाउन्टेन्टहरूको बाहुल्य रहेको दक्ष पेसागत इकाइ निर्माण गरिने पनि वाचापत्रमार्फत रास्वपाले आफ्नो नीति रहेको जनाएको छ ।

    सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी केहीलाई गाभ्ने, केही निजी–सार्वजनिक मोडलमा लैजाने, केहीमा रणनीतिक साझेदार भित्र्याउने र अन्यलाई विकेन्द्रित गर्ने, र केहीको अचल सम्पत्तिको स्वामित्व सरकारका नाममा ल्याउने विकल्पमा अघि बढ्ने उल्लेख छ । सार्वजनिक आयोजनाहरूलाई स्पष्ट उद्देश्य, सुनिश्चित बजेट र समयसीमासहित लक्ष्य–केन्द्रित कार्यशैली (मिसन मोड) मा कार्यान्वयन गरिने र आयोजना सम्पन्न नभएसम्म प्रमुख तथा खटिएका कर्मचारीको सरुवा नगर्ने व्यवस्था गरिने जनाइएको छ ।

    विगत १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी दुई वर्षभित्र अनिवार्य सम्पन्न गर्नेगरी ‘नतिजामुखी समयबद्ध कार्ययोजना’ लागू गरिने उल्लेख थियो भने अबको पाँच वर्षमा १० वटा नयाँ विविधीकृत क्षेत्रका आयोजनाहरूलाई ‘राष्ट्रिय गौरव’ को सूचीमा समावेश गरी ‘फास्ट ट्र्याक’ मोडेलमा अगाडि बढाइने पनि वाचापत्रमा उल्लेख छ ।

    वित्तीय क्षेत्र सुधार
    सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैर–बैङ्किङ वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष र शक्तिशाली सुपरीवेक्षण प्रणालीभित्र ल्याइने उल्लेख छ । त्यस्तै, रु ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तहरूलाई अनिवार्य रूपमा राष्ट्र बैङ्कको कडा नियमनमा ल्याइने र साना संस्थाहरूको व्यवस्थित सञ्चालनका लागि एक उच्चाधिकार सम्पन्न ‘दोस्रो तहको नियामक’ गठन गरिने वाचापत्रमा जनाइएको छ ।

    कर्जा प्रवाहमा हुने दोहोरोपन र ‘ऋणको पासो’ अन्त्य गर्न सहकारी र लघुवित्त दुवैलाई ‘कर्जा सूचना केन्द्र’ सँग जोडी वास्तविक क्षमताका आधारमा मात्र कर्जा प्रवाह हुने सुनिश्चित गरिने नीति रास्वपाले लिने वाचापत्रमा राखिएको छ । ब्याजदरलाई आधारदरसँग जोडेर केही प्रतिशत मात्र प्रिमियम लिन पाउने स्वचालित प्रणाली लागू गरी चर्को ब्याज र अनुचित सेवा शुल्कको अन्त्य गरिने बताइएको छ ।

    बचत सुरक्षा र मिटरब्याज अन्त्य

    सरकार गठन भएको सय दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गरिने र बचतकर्ताहरूको कमाई सुरक्षित गर्न राज्यका तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने उल्लेख छ । ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीतिअनुरूप बचत फिर्ता गर्न तयार सञ्चालक वा व्यवस्थापन पक्षलाई मिलापत्रका लागि कानुनी बाटो प्रशस्त गरिदिने पनि जनाइएको छ ।

    मिटर ब्याज र अनुचित लेनदेनलाई आर्थिक अपराधका रूपमा परिभाषित गर्दै आगामी पाँच वर्षभित्र यसका सबै जालोहरूलाई कानुनी र संरचनात्मक रूपमा ध्वस्त पारिने उल्लेख छ । विगतमा गरिएका सबै अवैध तमसुक र कपाली तमसुकहरूको न्यायिक छानबिन गरी पीडितहरूको जग्गा र सम्पत्ति फिर्ता गराउन एक अधिकार सम्पन्न ‘द्रूत न्याय कार्यदल’ गठन गरिने पनि वाचापत्रमार्फत सार्वजनिक गरिएको थियो ।

    पुँजी बजार र डिजिटल अर्थतन्त्र

    पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार गर्दै नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाइने, इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गरिने उल्लेख छ । पेन्सन फन्ड, बीमा, म्युचुअल फन्डलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्दै ऋण बजार र बन्ड बजारको विकास गरिने, गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति बनाइने र वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याइने जनाइएको थियो ।

    नेपालको विशिष्ट भूगोल र अवस्थालाई ध्यानमा राख्दै ‘सीमारहित अर्थतन्त्र’ को अवधारणालाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने र श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई सेवा निर्यातमुखी तथा ज्ञान–आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न डिजिटल रूपान्तरणलाई प्रमुख आधार बनाइने उल्लेख छ । यसका लागि परिमार्जित तथा विस्तारित बृहत् डिजिटल नेपाल फ्रेमवर्क निर्माण गरी नीति सुधार, पूर्वाधार विकास र सार्वजनिक–निजी लगानी अभिवृद्धि गरिने पनि घोषणापत्रमा उल्लेख थियो ।

    रास्वपाले गत निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी वाचापत्रमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने ‘रेमिट्यान्स’लाई उछिन्दै सूचना प्रविधि (आइटी) क्षेत्रलाई देशको प्रमुख आर्थिक आधार बनाउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो । आइटी क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने उल्लेख गर्दै यसलाई देशको सबैभन्दा ठूलो निर्यातजन्य क्षेत्र बनाउने लक्ष्य लिएको छ । सूचना प्रविधि क्षेत्रको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य रास्वपाले लिएको छ । यस लक्ष्यलाई साकार पार्न पार्टीले एक स्वायत्त ‘आइटी प्रवद्र्धन बोर्ड’ गठन गर्ने जनाएको छ । यस क्षेत्रको विकासका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा स्वदेश फिर्ता लैजान सरल नीति तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

    सातै प्रदेशमा डिजिटल पार्क, पाँच लाख रोजगारी

    नेपाललाई ‘ग्लोबल टेक हब’ का रूपमा विकास गर्न रास्वपाले सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । यसबाट प्रत्यक्ष रूपमा पाँच लाख युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । यसका लागि डिजिटल इकोसिस्टम निर्माणमा जोड दिँदै सञ्चार पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा र साइबर सुरक्षामा ठूलो लगानी गरिने उल्लेख छ ।

    ‘क्यासलेस सोसाइटी’ र स्वदेशी स्टार्टअपलाई प्राथमिकता

    रास्वपाले नेपाललाई ‘डिजिटल–फस्र्ट’ राष्ट्रका रूपमा चिनाउँदै सबै आर्थिक कारोबारलाई एकीकृत डिजिटल प्लेटफर्ममा आबद्ध गरी ‘क्यासलेस सोसाइटी’ निर्माण गर्ने योजना अघि सारेको छ । यसले भ्रष्टाचार र राजस्व चुहावट नियन्त्रणमा मद्दत पुग्ने वाचापत्रमा उल्लेख छ । स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न ‘अन्तरराष्ट्रिय पेमेन्ट गेटवे’ का कानुनी र प्राविधिक अवरोधहरू तत्काल हटाउने प्रतिबद्धता पनि पार्टीले जनाएको छ ।

    एआई र क्रिप्टोमा नेपालको सम्भावना
    रास्वपाले नेपाललाई कच्चा विद्युत् मात्र निर्यात गर्ने देशबाट ‘कृत्रिम बौद्धिकता’ (एआई) र ‘कम्प्युटेसन’ शक्ति निर्यात गर्ने देशमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । नेपालको स्वच्छ ऊर्जा, चिसो मौसम र भौगोलिक संरचनालाई डाटा सेन्टर सञ्चालनका लागि उपयुक्त मान्दै जलविद्युत् आयोजना नजिकै उच्च क्षमताका डाटा सेन्टर स्थापना गरिनेछ । यसबाट ‘ग्रिन जिपियु कम्प्युटिङ’ सेवा एसियालाई निर्यात गर्न सकिने रास्वपाको दाबी छ ।

    यस्तै, एक वर्षभित्र विश्वव्यापी अध्ययनका आधारमा क्रिप्टोकरेन्सीको नियमन र उपभोक्ता संरक्षणबारे स्पष्ट राष्ट्रिय नीति ल्याइने र क्रिप्टो माइनिङको सम्भावनालाई पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने जनाइएको छ ।

    डिजिटल रोजगारी र ‘रिमोट वर्क’
    विश्वव्यापी श्रम बजारको परिवर्तनलाई आत्मसात् गर्दै रास्वपाले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने जनाएको छ । यसका लागि श्रम ऐन संशोधन गरी रिमोट वर्क र डिजिटल रोजगारीलाई वैधानिक मान्यता दिइनेछ । साथै, ‘डिजिटल नोम्याड’ (घुमन्ते डिजिटल कर्मचारी) लाई आकर्षित गर्न विशेष भिसा र बसोबासको नीतिगत व्यवस्था गरिने वाचापत्रमा उल्लेख छ ।

  • धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी, निधि हारे

    धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी, निधि हारे

    जनकपुर, २४ फागुनः धनुषा जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवार विजयी भएका छन् । धनुषामा चार निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको हो । यसरी विजयी हुनेहरूमा निर्वाचन क्षेत्र नं २ बाट विनोद यादव, निर्वाचन क्षेत्र नं ३ बाट मनिष झा तथा निर्वाचन क्षेत्र नं ४ बाट राजकिशोर महतो विजयी भएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका यादवले ४१ हजार ६३७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गरेका छन् ।


    यस्तै, धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका झाले ४३ हजार ९८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका बिमलेन्द्र निधिले १६ हजार ६५२ प्राप्त गरे । यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका महतोले ४८ हजार २७० मत प्राप्त गर । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ प्राप्त गरे ।

    यसैबीच, निर्वाचन आयोगले धनुषा १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको सो आयोगले सूचना जारी गरी जनाएको छ । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

  • प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

    काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिए ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए । उनले भने, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’

    आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए । अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताए ।

  • धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

    धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

    काठमाडौँ, २४ फागुनः निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

    सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत (कानून) अधिकारीले बताए ।

  • हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक

    हर्क साम्पाङ सुनसरी–१ बाट विजयी, प्रधानमन्त्री बालेन हुन नहुने अभिव्यक्ति सार्वजनिक

    धरान (सुनसरी) २४ फागुनः सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उनले ३५ हजार ७४१ मत प्राप्त गरे । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गरे ।

    यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो । निर्वाचित भएसँगै हर्कले प्रधानमन्त्री बालेन हुन नहुने आसयको स्टाटस लेखेका छन् । संसदमा उठ्ने प्रश्नको जवाफ बालेनले दिन नसक्ने उनको तर्क छ ।

  • भोजपुरमा हर्क साम्पाङको पार्टीले खोल्यो खाता, श्रम संस्कृतिका राई विजयी

    भोजपुरमा हर्क साम्पाङको पार्टीले खोल्यो खाता, श्रम संस्कृतिका राई विजयी

    टक्सार (भोजपुर), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । राईले कूल १६ हजार ६६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले छ हजार ६०२ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ७२८ मत प्राप्त गरे ।


    भोजपुरमा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी मैदानमा थिए । जिल्लामा १६१ वटा मतदान केन्द्र कायम थियो । भोजपुरमा कुल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ जना रहेकामा ४६ दशमलव १७ प्रतिशत मतदान भएको थियो । जसमा ५८ हजार १६७ मतगणना भएको हो ।

  • कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी

    कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी

    सुदूरपश्चिम, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । निर्वाचन क्षेत्र नं ४मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे ।


    निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार यो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लेखराज भट्टले नौ हजार ४४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराम चौधरीले पाँच हजार ६०९ मत प्राप्त गरे । आजै सार्वजनिक गरिएको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित भए ।

    शनिबार निर्वाचन क्षेत्र नं १, ३ र ५ को मतगणनाको आन्तिम नतिजा सार्वजनिक गरिएको थियो । क्षेत्र नं १ मा रास्पपाका कोमल ज्ञवाली १७ हजार ८२६, क्षेत्र नं ३ मा रास्वपाका जगतप्रसाद जोशी १९ हजार ८९३ र क्षेत्र नं ५ मा पनि रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • दोलखामा रास्वपाका खरेल विजयी

    दोलखामा रास्वपाका खरेल विजयी

    दोलखा, १४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित भएका छन् । उनले ३२ हजार ३७६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरे ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    काठमाडौँ, २४ फागुनः देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४, रौतहटको परोहा नगरपालिका–८, रौतहटको चन्द्रपुर नगरपालिका-१, धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक–एक जनाको मृत्यु भएको हो ।

    त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक राप्ती नगरपालिका–९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    महेन्द्रनगर, २३ फागुनः प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन् ।
    यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । २४ हजार ३३२ मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरे । कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।

    त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी भए । उनले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गरे । बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेस उम्मेदवार साउदले १० हजार ८२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । त्यसैगरी एमालेका बचनबहादुर सिंह छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गरे । यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो ।

    त्यसैगरी यहाँको कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भए । यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले नौ हजार ४४३, नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरे । कञ्चनपुर ३ मा कुल ५८ हजार ३६१ मत खसेको थियो । जिल्लाका तीनवटा क्षेत्रमा निर्वाचित भएका धामी, बोहरा र महता पहिलोपटक सांसद निर्वाचनमा होमिएका छन् ।

  • रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

    रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

    चन्द्रपुर (रौतहट), २४ फागुन । रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए । नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे ।

    सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे । उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

  • पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी, विनोद चौधरी पराजित

    पश्चिम नवलपरासी–१ मा रास्वपाका खनाल विजयी, विनोद चौधरी पराजित

    नवलपुर (नवलपरासी), २४ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

    उनले नेपाली कांगे्रसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरे । यस क्षेत्रमा कांगे्रसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गरे । नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • पाल्पा–२ मा रास्वपाका थापा विजयी

    पाल्पा–२ मा रास्वपाका थापा विजयी

    तानसेन (पाल्पा), २४ फागुनः पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

    त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए । यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी भएका थिए ।

  • दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    खलङ्गा (दार्चुला), २४ फागुनः दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गरे । जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो । नव निर्वाचित सांसद उम्मेदवार ठगुन्नाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै ज्ल्लिाको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    भद्रपुर (झापा), २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे । झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।


    त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरे । झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे । त्यसैगरी, झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • गगन थापा भारी मत अन्तरले पराजित

    गगन थापा भारी मत अन्तरले पराजित

    २४ फागुन, काठमाडौ । काङ्ग्रेस सभापति गगन थापा पराजित भएका छन् । उनी रास्वपाका अमरेश सिंह सङ्ग भारी मतान्तरले पराजित भएका हुन् । सर्लाही ४ बाट चुनाव लडेका सिंहले ३५ हजार ६८८ मत पाए । गगनले २२ हजार ८३१ मात्र मत पाए ।

  • ओलीले भने : बालेन बाबू बधाई

    ओलीले भने : बालेन बाबू बधाई

    २३ फागुन, काठमाडौं । केपी शर्मा ओलीले बालेनलाइ बधाई दिएका छन् । सामाजिक संजालमा तस्वीर राख्दै उनले भनेका छन्, बालेन बाबू, विजयका लागि तपाईंलाई बधाई । तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्र सफल रहोस, हार्दिक शुभकामना ।

  • मोदीले दिए बधाई : के भने ?

    मोदीले दिए बधाई : के भने ?

    २३ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन सफल बनाएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् । उनले नेपालको लोकतान्त्रिक यात्रामा कोसेढुङ्गा सावित भएको समेत प्रतिक्रिया दिए । उनले नेपालको नयाँ सरकार सङ्ग मिलेर काम गर्ने समेत उल्लेख गरेका छन् ।

  • रोल्पामा नेकपाका वर्षमान पुन विजयी

    रोल्पामा नेकपाका वर्षमान पुन विजयी

    २३ फागुन, काठमाडौं । रोल्पाबाट वर्षमान पुन विजयी भएका छन् । उनले २७ हजार ४६० मत पाए । उनका निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका सुदन कुमार ओलीले १२ हजार ८ मत पाए । यहाँ रास्वपाको भने उपस्तिथि कमजोर देखियो ।

  • बालेनले पाए ऐतिहासिक मत

    बालेनले पाए ऐतिहासिक मत

    २३ फागुन, काठमाडौं । झापा ५ मा बालेन शाहले ऐतिहासिक जनमत पाएका छन् । उनले कुल ६८ हजार ३४८ मत पाए । जुन नेपालको संसदिय इतिहासमा एक उम्मेदवारले पाएको सर्वाधिक मत हो । उनका निकटतम प्रतिद्वन्दी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाए । काङ्ग्रेसले मात्र १८२१ मत पायो । अहिले मतगणना स्थलमा समर्थकको ठूलो भिड लागेको छ ।

  • भारी मतान्तरसहित बालेन विजयी

    भारी मतान्तरसहित बालेन विजयी

    २३ फागुन, काठमाडौं । झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । उनले अहिले सम्म ६६ हजार २ सय मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ९५ मत पाएका छन् । अब थोरै मात्र मत गन्न बाकी रहेकोले बालेनको जित सुनिश्चित भएको हो ।

  • राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही विजयी

    राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही विजयी

    २३ फागुन, काठमाडौं । राप्रपाले जुम्लाबाट खाता खोलेको छ । सो पार्टीका ज्ञानेन्द्र शाही विजयी भएका हुन् । उनले नेकपाका नरेश भन्डारीलाई हराए । शाहीले १४ हजार ८१६ मत पाए । भण्डारीले ११ हजार ६३६ मत पाए ।

  • सर्लाही २ मा रास्वपा उम्मेदवारसङ्ग हारे हेविवेट

    सर्लाही २ मा रास्वपा उम्मेदवारसङ्ग हारे हेविवेट

    २३ फागुन, काठमाडौं । सर्लाही २ मा रास्वपाले सानदार जित निकालेको छ । यस चुनाबले नेकपाका महिन्द्र राय यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोजस्ता उम्मेदवारलाई हराउदै रविन महतो विजयी भए । रविनले ४२ हजार ५१२ मत पाए । यादवले ८ हजार ५२३ मत पाए ।

  • ललितपुर १ बाट तोसिमा विजयी

    ललितपुर १ बाट तोसिमा विजयी

    २३ फागुन, काठमाडौं । ललितपुर १ बाट तोसिमा कार्की विजयी भएकि छिन् । उनी रास्वपाबाट उम्मेदवार थिइन । कुल ४३ हजार ९६ मत उनले पाइन । उनका प्रतिस्पर्धी काङ्ग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । एमालेका राजकाजी महर्जनले ६०२२ मत ल्याए ।

  • चितवन ३ मा सोविताको सानदार जित, एमाले–कांग्रेसको जमानत जफत

    चितवन ३ मा सोविताको सानदार जित, एमाले–कांग्रेसको जमानत जफत


    २३ फागुन, काठमाडौं । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोविता गौतमले सानदार जित निकालेकी छिन् । कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ । चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मत ल्याए भने एमाले उम्मेदवार शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् । कांग्रेस र एमालेका दुबै उम्मेदवारको जमानत जफत भएको छ । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डेले ३४ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । यसपटक भने राप्रपाका उम्मेदवार दिपक थापा मगरले जम्मा १ हजार २ सय २६ मत मात्रै ल्याए ।

  • अछाम १ मा काङ्ग्रेस विजयी, भिम रावल पराजित

    अछाम १ मा काङ्ग्रेस विजयी, भिम रावल पराजित

    २३ फागुन, काठमाडौं । अछाम १ मा नेकपाका वरिष्ठ नेता भिम रावल पराजित भएका छन् । उनलाइ काङ्ग्रेसका भरत बहादुर स्वारले हराए । स्वारले १० हजार ७५९ मत पाउँद रावलले १० हजार २३३ मत पाए ।