Category: समाचार

  • ‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

    ‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

    जेनेभा, २८ फागुन (रासस–एएफपी) । मध्यपूर्व युद्धले मानवीय सहायता आपूर्ति गर्ने मार्गहरूलाई असर गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले बुधबार मानवीय सहायता आपूर्तिहरू ढुवानी ‘छूट’ गर्न आग्रह गरेका छन् । मध्य पूर्वमा युद्धले हर्मुजको स्ट्रेट प्रभावकारी रूपमा बन्द गरेको छ, इन्धन आपूर्ति अवरोधले मालभाडाको दरहरू बढाइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले बढ्दो युद्ध र स्ट्रेट अफ हर्मुजमा परेको प्रभावले हाम्रो मानवीय सहायताका लागि हुने आपूर्तिमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले तत्काल खासगरी उप–सहारा अफ्रिकाका प्रमुख आवश्यकता भएका क्षेत्रहरूको आपूर्तिमा असर परेको छ।

    “द्वन्द्वको थप वृद्धिले अन्य आपूर्ति मार्गहरूलाई पनि क्षति पुर्याएको छ,“ उनले जेनेभामा पत्रकारहरूसँग भने । “युद्धले मूल्य बढाउँछ र अधिक मानिसहरूलाई सामानहरूको थप आवश्यकतातर्फ धकेल्छ,”उनले भने । उनले अगाडी भने, “त्यसैले हामी सबै पक्षहरूलाई हाम्रो मानवीय सहायता बोक्ने यातायातको लागि ‘स्ट्रेट अफ हर्मुज’सहित ती मार्गहरू सुरक्षित गर्न प्रयास गर्न अपील गर्दछौँ । हामी राजनीतिको आधारमा नभई आवश्यकताको आधारमा जोसुकै, जहाँसुकै, पुग्न सक्छौँ।”

    “हामी अहिले गम्भीर खतराको क्षणमा बाँचिरहेका छौँ,“ फ्लेचरले भने । “हामी यी सङ्कटहरू द्रुत रूपमा बढिरहेको र खतरनाक तरिकामा बढ्दो टकराइरहेको देखिरहेका छौँ,” उनले भने । “पछिल्ला दुई हप्ताको लडाइँले ‘हामी क्रूरता, दण्डहीनता र उदासीनताबीच बाँचिरहेका छौँ’ भन्ने थप पुष्टि गरेको छ,” उनले भने, “युद्धको सबैभन्दा खराब ज्यादतीलाई रोक्नको लागि नियममा आधारित अस्थायी ढाँचा नष्ठ हुँदैछ।” उनले थपे, “मानवीय चातुर्यलाई व्यापक रूपमा मार्ने अझ डरलाग्दो उपायहरू अवलम्बन भइरहेका छन् । नागरिकहरू अझ बढी घृणित हिंसाको सिकार भइरहेका छन्।”

  • अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने

    अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने

    सियोल, २८ फागुन (रासस–योन्हाप) । संयुक्त राज्य अमेरिकाले ‘टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स ९थाड०’ नामक क्षेप्यास्त्र विरोधी प्रणालीको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने प्रयास गरिरहेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।

    दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाले मध्यपूर्वमा युद्ध चर्किरहेका बेला थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका केही भागहरू बाहिर पठाएको समाचार सार्वजनिक भइरहेका बेला यो रिपोर्ट आएको हो । रिपोर्ट अनुसार पेन्टागनले थाडको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वमा सार्नेछ ।

    उत्तर कोरियाको क्षेप्यास्त्र खतराको सामना गर्न थाडलाई दक्षिण कोरियामा तैनाथ गरिएको थियो । अमेरिकी सेना कोरियाको स्वामित्वमा रहेको सैन्य सम्पत्तिको सम्भावित स्थानान्तरणले उत्तर कोरियाविरुद्धको प्रतिरोधात्मक अवस्थालाई असर नगर्ने राष्ट्रपति ली जे म्युङले बसधबारको मन्त्रिपरिषद्को बैठकमा बताएका थिए ।

  • बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

    कर्णाली, २८ फागुनः गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्ति भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक रहेको छ । महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा अपराधको घटनाहरू रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढीकरण बनाउन पनि सम्बन्धित पक्षहरूलाई ध्यानाकर्षण गर्दछौँ ।”

    मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक र मानवअधिकारका लागि महिला एकल महिला समह सुर्खेतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्य तथ्य छानबिन गरी पीडित परिवारलाई उचित न्याय दिनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

    कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन अनुसन्धान हुने तथा कानुनअनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको बताउनुभएको छ । सरकारका तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढाउने भदै पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते उजुरी दिएका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मङ्गलबार पक्राउ गरी अनुसन्धान थालिएको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

    प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शवपरीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

    गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर बिहान ९ः०० बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्था भेटिएकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तले यही फागुन २५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए ।

  • पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    काठमाडौँ, २८ फागुनः परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका खातिर सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा भएको थियो ।

    परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपालीको सुरक्षा सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने, आपत्कालीन नियन्त्रणकक्ष नेपालका नियोगसँग सम्पर्कमा आएकाहरूलाई सहयोग गर्ने निर्णय भएको छ ।

    यही फागुन २१ गते अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त रूपमा हवाई हमला गरेपछि पश्चिम एसियाली मुलुकमा तनाव बढेको छ । रोजगारीका सिलसिलामा ती मुलुकमा धेरै नेपाली छन् ।

  • पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

    पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौँ, २८ फागुनः जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट तेह्र जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट तेह्र जना पक्राउ

    काठमाडौँ, २८ फागुनः देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।

  • अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

    अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

    काठमाडौँ, २८ फागुन : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।

    सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरेको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

  • मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल

    भोजपुर, २८ फागुनः टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ । प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवद्र्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार संस्कृति र प्रकृतिको संरक्षण गर्दै पदमार्गको विकास भइरहेको छ । वन क्षेत्रमा जैविक विविधता जोगाउँदै पर्यावरणमैत्री पर्यटन विकास गर्ने नीति अवलम्बन गरिएको उनले बताए ।


    “प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव हुँदैन,” अध्यक्ष बस्नेतले भने, “यसैले संस्कृतिको संरक्षण र प्रवद्र्धनलाईसँगै अघि बढाएका छौँ ।” पदमार्ग क्षेत्रमा किराँत राई समुदायको संस्कार, संस्कृति र ‘मुन्दुम’ परम्परासँग सम्बन्धित संरचना, सांस्कृतिक प्रतीक र धार्मिक स्थलहरू अवलोकन गर्न सकिन्छ । ठूला घाँसे मैदान, चौँरी र भेडीगोठ, स्थानीय बस्तीको जीवनशैली तथा मौलिक परिकारले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।

    यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो पदमार्ग पर्न थालेको छ । पछिल्लो समय पदमार्ग आसपास विश्रामस्थल, धारा, सूचना बोर्ड तथा पर्यटन सूचना केन्द्रजस्ता पूर्वाधार निर्माण गरिएका छन् ।

    गाउँपालिकाले स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जन वृद्धि गर्ने लक्ष्यसमेत लिएको छ । घरबास सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई मौलिक अनुभव प्रदान गर्ने प्रयास भइरहेको जनाइएको छ । प्रकृति संरक्षण, सांस्कृतिक पहिचानको प्रवद्र्धन र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै मुन्दुम पदमार्ग पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

  • मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

    मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

    तनहुँ, २७ फागुनः आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्न गरी केन्द्रले पुनः विद्युत् उत्पादन सुरु गरेको हो ।

    नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विद्युत् केन्द्रहरूमध्ये क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठूलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव सात गिगावाट प्रति घण्टा विद्युत् उत्पादन गरेको थियो । चालु आर्थिक वर्ष २०८२\८३ को माघ मसान्तसम्म २९३ दशमलव पाँच गिगावाट घण्टा उत्पादन गरिसकेको यस केन्द्रको दिगो सञ्चालनका लागि फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मत कार्य अगाडि बढाइएको थियो ।

    यस पटकको सटडाउनका क्रममा वर्षौंदेखि थाती रहेका र निकै चुनौतीपूर्ण मानिएका कार्य सम्पन्न गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए । उनका अनुसार विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिकैको कटानले जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिनाका साथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको र सुरुङमा बालुवा छिर्न नदिन महत्वपूर्ण मानिने ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचनाको मर्मत गरी यसलाई सञ्चालन योग्य बनाइएको छ ।

    मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौंदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य पनि यसै अवधिमा सम्पन्न भएको केन्द्र प्रमुख मानजनले बताए । “लामो समयदेखि रोकिएका ठेक्का सम्झौताका कार्यहरू र मेकानिकल मर्मतलाई उच्च प्राथमिकता दिएर सम्पन्न गरिएको छ,” उनले भने, “विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारी र अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरूलाई संलग्न गराइएको थियो ।”

    बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो । केन्द्र प्रमुख मानजनले भने, “खोलाको बहाव न्यूनतम रहेको समयमा उत्पादनमा कम असर पर्ने गरी यो मर्मतको योजना बनाइएको थियो ।”

    तालुक कार्यालय, विभाग र निर्देशनालयको विशेष समन्वय र उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौंदेखि रोकिएका महत्वपूर्ण सिभिल कार्यहरू यस पटक सम्पन्न गर्न सफल भएका छौँ । प्लान्ट सटडाउनकै अवधिमा विद्युत् गृहमा एलटी टाइप ब्रेकर बदलीलगायतका अन्य आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतका कार्य समेत सम्पन्न भएका छन् । यस मर्मतसँगै केन्द्रको उत्पादन क्षमतामा सुधार आउने र प्राविधिक जोखिम कम हुने केन्द्रले जनाएको छ ।

  • सुदूरपश्चिममा ४१ हजार मत बदर

    सुदूरपश्चिममा ४१ हजार मत बदर

    महेन्द्रनगर, २८ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको छ ।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटले १७ लाख २९ हजार ४५० मतदाता रहेको सुदूरपश्चिममा आठ लाख ८४ १७७ मत खसेको थियो । जसमा ४१ हजार ६२४ मत बदर भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं १ मा ५९ हजार ३११ मत खसेकामा तीन हजार २५८ मत बदर भएको छ ।

    त्यसैगरी, कैलाली–२ मा ५६ हजार ९६७ मत खसेकामा दुई हजार ६४६ मत बदर भएको सूचना अधिकारी भाटले बताउनुभयो । त्यसैगरी, ६० हजार ३३२ मत खसेको कैलाली–३ मा दुई हजार ९१३ मत बदर भएको छ भने कैलाली–४ मा दुई हजार ९०७ मत बदर भएको छ । यहाँ कुल ६३ हजार ११७ मत खसेको थियो । कैलाली–५ मा ६६ हजार २९५ मत खसेकामा दुई हजार ८०७ मत बदर भएको छ ।

    त्यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ३६७ मत खसेकामा तीन हजार २३४ बदर भएको छ भने यहाँको निर्वाचन क्षेत्र नं २ मा तीन हजार ४३० मत बदर भएको छ । यहाँ कुल ६६ हजार ५४ मत खसेको थियो । त्यसैगरी, कञ्चनपुर–३ मा ५८ हजार ५४३ मत खसेकामा तीन हजार ३९९ मत बदर भएको छ ।

    त्यसैगरी, दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नं १ मा एक हजार ११९ मत बदर भएको छ । यहाँ कुल ३२ हजार २४३ मत खसेको थियो भने अछाम–२ मा ३२ हजार ६५० मत खसेकामा एक हजार ५३१ मत बदर भएको छ । एउटा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ४५ हजार ६६९ मत खसेकामा एक हजार २०० मत बदर भएको छ भने डोटीमा ५२ हजार ९०६ मत खसेकामा दुई हजार ४६९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

    दार्चुलामा एक हजार ६०८ मत बदर भएको छ । यहाँ कुल ५० हजार ९३० मत खसेको थियो भने बैतडीमा ७२ हजार ३०८ मत खसेको थियो । यहाँ चार हजार १२६ मत बदर भएको छ । यसैगरी, डडेल्धुरामा २६ हजार २११ मत खसेकामा दुई हजार २५ मत बदर भएको छ ।

    सुदूरपश्चिममा ५१.१२ प्रतिशत मतदान भएकामा ९५.२९ प्रतिशत सदर र ४.७१ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यहाँ १६ सिटमध्ये कैलालीका पाँच, कञ्चनपुरका तीन, बैतडी र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए भने डोटी, अछाम–१ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने बझाङ, दार्चुला र अछाम–२ मा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका थिए ।

  • कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    मोरङ, २८ फागुनः कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो । निर्वाचनमा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ तीन हजार ८९५, झापा–१ चार हजार २६९, झापा–२ चार हजार ४६९, झापा–३ पाँच हजार ६२९, झापा–४ चार हजार ७६८ र झापा– ५ चार हजार २१९ मत बदर भएको छ ।

    यसैगरी, सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । यसैगरी, मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएको कार्यालयले जनाएको छ ।

    यसैगरी, सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११, सुनसरी–४ मा छ हजार ६७४, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएको छ । सबैभन्दा बढी मत बदर मोरङको क्षेत्र नं ५ मा १० दशमलव ०६ र सबै कम झापा क्षेत्र नं ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको छ ।

  • मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    काठमाडौँ, २८ फागुनः नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनाको औसत मुद्रास्फीति भने एक दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ८६ प्रतिशत रहेको थियो ।

    केन्द्रीय बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६३ प्रतिशत, घ्यू तथा तेलको सात दशमलव ६१ प्रतिशत र फलफूलको सात दशमलव ४१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव १९, खाद्य तथा खाद्यजन्य पदार्थको दुई दशमलव ९७ र मरमसलाको दुई दशमलव ६१ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१ दशमलव ९८, शिक्षाको सात दशमलव ४६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २८, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेयपदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ०८ प्रतिशतले घटेको छ । त्यस्तै गत माघ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ५१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, मधेस प्रदेशको पाँच दशमलव १४, बागमती प्रदेशको तीन दशमलव १०, गण्डकी प्रदेशको दुई दशमलव ४२, लुम्बिनी प्रदेशको तीन दशमलव २९, कर्णाली प्रदेशको एक दशमलव ६२ र सुदूरपश्चिम प्रदेशको एक दशमलव ६४ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ४८ प्रतिशत, तराईको तीन दशमलव ६६ प्रतिशत, पहाडको दुई दशमलव ६८ प्रतिशत र हिमालको दुई दशमलव ५८ प्रतिशत रहेको छ ।

  • सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    काठमाडौँ, २७ फागुन । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२र८३ को सात महिना ९२०८२ माघसम्म० को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले बढेको थियो । गत माघ महिनामामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।

    गत माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु नौ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो । त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • ‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’

    ‘पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’

    काठमाडौँ, २७ फागुनः परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा कार्यरत श्रमिकलाई तत्कालै उद्धार गरिहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले युद्ध विस्तारै शान्त हुँदै आएको ‘ब्रिफिङ’ गर्दै केही हवाई ट्रान्जिटमा रहेका नेपाली नागरिकबाहेक श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने स्थीति नरहेको जानकारी दिए । “हामीले सम्बन्धित दूतावासमार्फत नियोगमा बुझेअनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरिहाल्नुपर्ने अवस्था छैन । हामी चिन्तित हुनुपर्ने स्थीति छैन”, मन्त्री शर्माले भने, “तर, ट्रान्जिटमा परेकाहरूको हकमा उद्धार काम भइरहेको छ ।”

    नेपाल सरकारले ‘इमर्जेन्सी रेस्क्यु’ टिमलाई बलियो बनाउने तयारीमा रहेको र भविष्यमा तत्काल उद्धार गर्ने पस्थिति आए तयारी रहने मन्त्री शर्माले जानकारी दिए । मन्त्रालयले प्राप्त गरेको सूचनाअनुसार अनलाइन फर्ममार्फत असुरक्षित भएको महसुस गर्नेमा पाँच हजार जना छन् । त्यस्तै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले युद्धग्रस्त क्षेत्रमा कार्यरत नेपाली श्रमिक अहिलेसम्म सुरक्षित रहेको बताए । दुबईमा कार्यरत एक जना नेपालीको मृत्यु भए पनि अहिलेसम्म त्यस्तो जोखिम पूर्ण अवस्थामा श्रमिक नरहेको उनले बताए ।


    युद्धको बाछिटाले १५ जना श्रमिक सामान्य घाइते भएको र अहिले १४ जना उपचारपछि निको भएर काममा फर्किएको उनले जानकारी दिए । उनका अनुसार दैनिक दुई÷तीन पटक फोन सम्पर्कमार्फत सम्बन्धित नियोगमा नेपाली नागरिकको अवस्थाबारे तथ्याङ्क र सूचना सङ्कलन गर्दै आएको पनि उनले बताए । “हाम्रा श्रमिक हालसम्म सुरक्षित छन्”, उनले भने, ‘नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्दैछौँ ।”

    त्यस्तै, बहराइनमा युद्ध प्रभावित दुई हजार ६०० जना सेल्टरमा छन् जसमध्ये, चार नेपालीसमेत सुरक्षित रहेको मन्त्रालयको आजको ब्रिफिङमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयले १२ दिनदेखि इजराइल अमेरिका र इरानबीचको युद्धको प्रभावले असुरक्षित महसुस गरेका नेपाली नागरिकलाई सुरक्षाको मनोभाव बढाउनसमेत आवश्यक रहेको सचिव राईले बताए। मन्त्रालयको तथ्याङ्कअनुसार खाडी मुलुकमा १७ लाख २९ जना नेपाली श्रमिक कार्यरत छन् ।

  • बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन

    बलात्कारपछि हत्या घटना : दोषीलाई कारबाही माग गर्दे माइतीघर मण्डलामा प्रदर्शन

    काठमाडौँ, २७ फागुनः गत शनिबार वीरेन्द्रनगर–४ सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिका इनिषा विकको बलात्कारपछि हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘जस्टिस् फर इनिषा विक’, ‘दलितमाथि बलात्कार र हिंसा बन्द गर’, ‘महिला अधिकार सुनिश्चित गर’ ‘वि वान्ट जस्टिस्’ र ‘महिला शोषणविरुद्ध एक हौँ’ लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए ।

    गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिषा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेको थियो ।

    मृतकका आफन्तहरूले सामूहिक बलात्कार गरेको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिषाको बलात्कारपछि मृत्यु भएको पुष्टि भएको जनाइएको छ । सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको जनाएको छ ।

  • समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

    समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

    काठमाडौँ, २७ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । सम्पूर्ण देशलार्ई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्पmबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।


    उनका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ सहित अग्रता हासिल गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख चार हजार ८५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत हासिल गरेका छन् । यी बाहेकअन्य दलले थ्रेस होल्ड कटाउन नसकेका उनले बताए ।


    न्यूनतम मत सीमा नकटाउने दलमा जनमत समाजवादी पार्टी (जसपा) नेपालको एक लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ७१ हजार ५०१, जनमत पार्टीले ७९ हजार, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३३, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२, एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २३ हजार ८५१, मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८०६, एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १३ हजार ४४५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।


    त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीको ९८०, स्वाभिमान पार्टीको आठ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०७, नेपाल जनता पार्टीको सात हजार १५३, राष्ट्रिय एकता दलको सात हजार ५०, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी)ले छ हजार १६२, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २४१, नेशनल रिपब्लिक नेपालले पाँच हजार १५७, नेपालका लागि नेपाली पार्टीले पाँच हजार सात, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले चार हजार ८२३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६६८, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले चार हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार ३१२, समाजवादी पार्टी नेपालको चार हजार २४८, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार २४८ प्राप्त गरेका छन् ।

    नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९२५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार २६६, नेपाल जनमुक्ति पार्टीले दुई हजार १६२, जनअधिकार पार्टीले दुई हजार १०५, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।

    पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका उनले बताए ।


    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ । निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू नहुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।


    उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन् ।

  • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै, यस्तो छ प्रक्रिया

    काठमाडौँ, २७ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

    संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिए । “सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ । यहीबीचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनुहुन्छ र उहाँले अरु सांसदलाई शपथ गराउनुहुन्छ”, उनले भने ।


    सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले जानकारी दिए । “संसद्को पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, साथै सभामुखको अनुपस्थितिमा भूमिका निर्वाह गर्नका लागि प्रत्येक दलबाट तीन जनाका दरले सांसदको नाम मागेर अनुमोदन गरिन्छ । त्यसपछि बस्ने पहिलो बैठकमा अध्यादेश छन् भने पेस गरिन्छन्”, उनले भने ।

    हलको भने अभाव
    निर्माणाधीन संसद् भवनको निर्माण सम्पन्न भइनसकेकाले अबको प्रतिनिधिसभाको केही समयसम्म अर्को प्रयोजनका लागि निर्मित हलमा बस्ने तयारी भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । “प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि निर्माणाधीन भवनको बीचमा रहेको उक्त हलमा बैठक तयारीका लागि आवश्यक प्राविधिक व्यवस्थापन काम भइरहेको छ”, उनले भने ।


    सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार सङ्घीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै हालसम्म उक्त भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

    एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ वटा हुनेछन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसका चार अतिरिक्त अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः १०० र ३०० जना अट्ने क्षमताका र ३९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।

  • वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    काठमाडौँ, २७ फागुनः प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।


    उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ ।

    विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए । मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध पनि गरिसकेको छ ।

  • सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार

    सभापति लामिछानेको चुनावी खर्च नौ लाख ८९ हजार

    चितवन, २७ फागुनः चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनी रास्वपा सभापति समेत हुन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ ।

    आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय प्रचारप्रसार रु ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिद रु एक लाख १२ हजार भएको जनाइएको छ ।

    यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिद रु ५५ हजार, खाद्यान्न तथा रासन खरिद रु एक लाख ९६ हजार, हवाई खर्च रु १३ हजार ६२६ र गोष्ठी भेलामा रु एक लाख ८० हजार खर्च भएको जनाइएको छ । सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मङ्गलबार निर्वाचन आयोगमा पेस गरेका हुन् ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    काठमाडौँ, २७ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।
    पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उहाँले बताउनुभयो ।

    समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ । यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

    गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ । नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन् ।

  • वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा ७ अर्ब ७ करोड २० लाख ऋण स्वीकृत

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा ७ अर्ब ७ करोड २० लाख ऋण स्वीकृत

    काठमाडौँ, २७ फागुनः विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ ।

    परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

  • फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा

    फक्सवागनद्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा

    जर्मनी, २७ फागुन (रासस–एएफपी) । जर्मनीको मोटर कम्पनी ‘फक्सवागन’ले मङ्गलबार कम्पनीले सन् २०३० सम्म जर्मनीमा करिब पचास हजार रोजगारी कटौती गर्ने योजना बनाएको घोषणा गरेको छ । फक्सवागनका प्रमुखले भने, “सन् २०३० सम्म जर्मनीमा भोल्क्सवैगन समूहभित्र कुल करिब पचास हजार रोजगारी कटौती हुनेछन् । यसअघि सन् २०२४ को अन्त्यमा पैंतीस हजार रोजगारी घटाउने सहमति भइसकेको थियो । अबको कटौती उच्च स्तरका ब्राण्ड र सफ्टवेयर कम्पनीमा हुनेछ ।”
    कम्पनीले यस निर्णयलाई चीनमा कडा प्रतिस्पर्धा, युरोपमा स्थिर माग र विद्युतीय सवारी साधनमा उच्च लगानी लागत जस्ता चुनौतीहरूको सामना गर्दै उठाइएको बताएको छ । फक्सवागन लामो समयदेखि चीनको बजारमा अग्रणी रहँदै आएको भए पनि स्थानीय प्रतिस्पर्धीहरूले कम्पनीको बिक्रीमा दबाब पारेका छन् ।

    प्रमुखले पत्रकार सम्मेलनमा थपे, “स्थानीय कम्पनीहरूले युरोपियन बजारमा प्रवेश गरेर मूल्य प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेका छन् । यसले हामीमाथि दबाब बढाउनेछ। हामीले लागत घटाउने उपायमा अझ गहन प्रयास गर्न आवश्यक छ ।” विशेषज्ञहरूले फक्सवागनको यो कदमलाई सस्तो र स्थिर उत्पादन लागत कायम राख्दै कम्पनीको दीगो सञ्चालन सुनिश्चित गर्ने रणनीतिको रूपमा विश्लेषण गरेका छन् । यो निर्णयले कर्मचारी, सङ्घसंस्था र बजारमा ठूलो असर पार्ने अपेक्षा गरिएको छ । कम्पनीले यस कटौतीबाट वर्षेनी ठूलो आर्थिक बचत हुने योजना बनाएको छ ।

  • राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    काठमाडौँ, २७ फागुनः संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।

    राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए ।

  • सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ, २७ फागुनःजापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।

    सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रमले जापान र सार्क मुुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २७ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।


    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ११ पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४० रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

    पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

    पर्वत, २७ फागुनस् पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमूना सङ्कलन गरी गरिएको ¥यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

    थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले रोगको शङ्का देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बङ्गुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायतका औषधि प्रयोग गरी निसङ्क्रमण गर्ने, बिरामी बङ्गुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उनले बताए ।


    शङ्कास्पद अवस्थामा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन तथा होटल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने उनले बताए । पर्वतका विभिन्न पालिकामा गरी ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म रहेका छन् । अहिले सदरमुकाम आसपास यो रोग पुष्टि भएको र आवश्यक सतर्कता नपनाएमा अन्य क्षेत्रमा सङ्क्रमण बढ्ने खतरा रहेकोले कृषकहरुलाई सचेत हुन आग्रह गरिएको छ ।

  • समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

    समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना, कुन पार्टीलाई कति मत ?

    काठमाडौँ, २७ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको राति १२ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १४ हजार १८५ मत प्राप्त गरेको छ ।

    नेपाली काग्रेसले १७ लाख ३८ हजार ९८, नेकपा ९एमाले०ले १४ लाख ४३ हजार ८६४, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ९६ हजार ६३२, श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार ७००, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ७३० मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार २०३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७० हजार ८३२ ,जनमत पार्टीले ७८ हजार ७९४ प्राप्त गरेको छ । मतगणना जारी छ ।

  • कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

    कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो

    भेरीगङ्गा (सुर्खेत), २६ फागुनः प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ । कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ ।

    यसैगरी नेकपा (एमाले)ले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा एक लाख सात हजार १०१ मत ल्याएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ । कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको छ ।

    कर्णालीभर ९० उम्मेदवारको जमानत जफत

    प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।
    प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ । छत्तीस उम्मेदवारले १०० मतसमेत ल्याउन सकेनन् । कर्णाली प्रदेशका १० जिल्लामा बदर मतको सङ्ख्या धेरै छ । दश जिल्लाको प्रत्यक्ष र समानुपातिक बदर मत ४३ हजार ५०० रहेको छ ।

  • मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

    मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

    काठमाडौँ, २६ फागुनः काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरे । “केही समययता उपत्यकालगायत मुलुकको अधिकांश स्थानमा मौसम सफा हुन सकेको छैन, घाम लागेको छैन र वर्षा पनि हुन सकेको छैन । हावा पनि चलेको छैन”, उनले भने, “मौसम सफा भएसँगै प्रदूषण कम हुने छ, वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ ।”

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आजदेखि नै मौसममा सुधार आउने र तुवालो हटेर जाने बताए । मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज ४ः०० बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १७४ पुगेको छ । यससँगै काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।

    वातावरणविद् भुषण तुलाधारले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी आवश्यक रहेको र व्यापक जनचेतना जरुरी रहेको बताए । एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

  • मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

    मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

    काठमाडौँ, १६ फागुनः हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

    विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरु नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ । त्यसैगरी, वन–जङ्गलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरु गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गरे ।
    वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उनले बताए । प्रदूषण बिहान–बेलुका समयमा उच्च हुने गरेको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ ।