Category: समाचार

  • राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

    राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

    काठमाडौँ, १ चैतः राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा रहेर काम गरिरहेका थिए । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी कानुन व्यवसायी हुन् ।

  • प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    काठमाडौँ, १ चैतः नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।

    गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिइन् ।

  • नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

    नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

    काठमाडौँ, १ चैतः कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो।

    दूतावासले भनेको छ, “मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिन्छ । भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिनुहुन अनुरोध छ ।”

  • साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका बने सांसद

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका बने सांसद

    काठमाडौँ, १ चैत । सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साहले आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध उम्मेदवारी कायम गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । अदालतको आदेशसँगै अब निर्वाचन आयोगको निर्णय सदर भएको छ। यससँगै मातृका यादव सांसद बनेका छन् ।

  • लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

    लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

    काठमाडौँ, १ चैतः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ ।

    न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ हुने भएको हो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आजका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

    आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

    रासस
    भोजपुर, १ चैतः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो ।

    समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो पोखरी घाँसेमैदानको बीचमा अवस्थित छ । वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । बाह्रै महिना पानीले भरिएको रहने यस पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गर्छ ।

    मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ । पदमार्गको यात्रामा निस्केका पर्यटक यहाँ पुगेर केही समय विश्राम गर्ने, फोटो खिच्ने र प्राकृतिक दृश्यावलोकन गर्ने गर्दछन् । पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ । पोखरी वरिपरि फैलिएको घाँसेमैदान र सुन्दर वातावरणले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ । वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

    पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको महत्व पनि बढ्दै गएको छ । स्थानीय तहले पदमार्गको प्रचारप्रसारसँगै मलुवा पोखरी क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र मुन्दुम पदमार्गसँगको सम्बन्धका कारण मलुवा पोखरी पछिल्लो समय जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

  • घुमाउनेमा पुल नबन्दा सास्ती

    घुमाउनेमा पुल नबन्दा सास्ती

    दमौली (तनहुँ), १ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए । घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए ।

    सोहीबमोजिम हजारौँ जनता मतदानमै सहभागी नहुने चेतावनीपछि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले पुल निर्माणस्थलमै पुगेर जसरी पनि पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरेपछि स्थानीय मतदानमा सहभागी भए । निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ भने यस क्षेत्रबाट रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले विजयी भए । अब बन्ने सरकारले घुमाउनेमा पुल निर्माणलाई सुरु गर्नेमा यहाँका स्थानीयवासी आशावादी छन् । चाँडै पुल निर्माणले गति लिनेमा आफूहरू आशावादी रहेको पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले बताए ।


    उनले भने, “नयाँ सरकार गठन हुँदैछ । अब यो बेला पनि पुल बनेन भने अरु बेला बन्न सक्दैन । हामी पुल निर्माण हुनेमा आशावादी छौँ ।” घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।

    बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

    गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्ला सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास–१३ र १४, बन्दिपुर–६, आँबुखैरेनी–५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउने घाटमा पुल निर्माण थालिएको थियो । तनहुँको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडक खण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ ।

    गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटर छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता भएको बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो ।

  • अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    सुगुरथला (म्याग्दी), १ चैत स् बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो ।

    आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो”, उनले भने, “परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।”

    हालको सुक्खायाममा १३।८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युत्गृह, पाइप लाइन, प्रसारण लाइन र विद्युत्गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो । विसं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

    सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । दुईवटा युनिट ९टर्वाइन० रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए ।


    यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हँुदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ ।

    रु पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख–जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युत्गृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।

    राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।


    राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

  • डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    काठमाडौँ, १ चैत । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।

    सो अवसारमा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आआफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् ।


    मन्त्रालयका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले डढेलो देशका सबै प्रदेशमा फैलिएको देखिएको बताए । उनका अनुसार विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम बढी देखिएको छ ।

    डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको उनले बताए । उनका अनुसार नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।

  • सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    मलङ्गवा ९सर्लाही०, १ चैतः लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी –१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए ।

    प्रहरीले घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएकामा उपचारकै क्रममा शनिबार राति ९ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।

  • चितवनमा तोरी उत्पादन घट्यो

    चितवनमा तोरी उत्पादन घट्यो

    चितवन, १ चैत । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।

    जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ । उनका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो । यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो । फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो ।

    चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ । नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन् । विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ ।

  • फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फुङ्लिङ (ताप्लेजुङ), १ चैत । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ ।

    फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

  • नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना

    नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना

    काठमाडौँ, १ चैतः गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

    सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।

  • रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    भरतपुर (चितवन), १ चैत स् नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ । तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताए ।

    लाइट जडानपछि पहिरो झरेको र ढुङ्गा खसेको सहजै देख्न सकिनेछ । यो सडकखण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठले बताए । शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो । यद्यपि चालकको होसियारीले दुर्घटना टरेको थियो । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भएको थियो ।

  • बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

    बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण

    बग्दाद, १ चैत, (रासस–एएफपी) । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् । बग्दादमा इरान समर्थित शक्तिशाली समूह काताइब हेजबुल्लाहलाई लक्षित गरी दुई वटा आक्रमणमा एक कमान्डरसहित यसका तीन सदस्यको मृत्यु भएको केही समयपछि दूतावासमा आक्रमण भएको थियो। लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान रहेको इराकलाई फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्व युद्धमा तानेको थियो।

    शनिबार बिहान विस्फोटको आवाज आएलगत्तै अमेरिकी कुटनीतिक नियोगमाथि कालो धुवाँको मुस्लो उठेको एएफपीका एक पत्रकारले बताएका छन् ।
    दुई सुरक्षा अधिकारीहरूले एएफपीलाई बताएअनुसार दूतावास परिसरमा ड्रोनद्वारा आक्रमण भएको थियो। घटनाबारे अमेरिकी दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन । युद्ध सुरु भएयता बग्दादस्थित अमेरिकी दूतावासमाथि दोस्रो पटक आक्रमण भएको छ ।

    तेहरान समर्थित धेरै सशस्त्र समूहहरूलाई वाशिङ्गटनले ‘आतङ्कवादी सङ्गठन’ को रूपमा घोषणा गरेको छ । इराकमा इस्लामिक प्रतिरोध भनेर चिनिने इरान सहयोगी अभियान अन्तर्गत विभिन्न गठबन्धन गरिएको छ । इराक र यस क्षेत्रमा अमेरिकी आधारशिविरहरूमा दैनिक ड्रोन र रकेट आक्रमणको दाबी ती सङ्गठनहरूले गर्ने गरेका छन् ।

    युद्ध सुरु भएदेखि इराकमा ती समूहका सदस्यहरूलाई लक्षित गरी गरिएका धेरै आक्रमणहरूमा अमेरिका र इजरायलमाथि आरोप लगाइएको छ। पहिलो आक्रमण इरान समर्थित धेरै समूहहरूको उपस्थिति रहेको अरासतको छिमेकमा रहेको एक घरमा भएको थियो। त्यसको दुई घण्टापछि नहरावान जिल्लामा एउटा गाडीमा दोस्रो आक्रमण भएको थियो । सुरक्षा स्रोतहरूले सुरुमा दुई समूहका सदस्यहरू मारिएको बताएका थिए ।

    इरान समर्थक स्रोतले एएफपीलाई बताएअनुसार पछि घरमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको पुष्टि भएको छ । कमाण्डर अबु अली अल–अमिरीसहित तीन लडाकुका लागि काताइब हेजबुल्लाहले बग्दादमा अन्त्येष्टि जुलुस निकालेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त समूहका उच्च नेता अहमद अल–हमिदावी उक्त समूहको घरमा भएको आक्रमणमा घाइते भएका बताइएको छ। इरान समर्थक स्रोतले उक्त आक्रमण ‘लक्षित हत्याको प्रयास’ भएको बताएको छ।

    अरासत जिल्लाका एक बासिन्दाले एएफपीसँग भने, “काताइब हेजबुल्लाहले कब्जा गरेको निकै साधारण देखिने घरबारे छिमेकमा कसैलाई पनि थाहा थिएन।” कुनै पनि स्रोतले इरान समर्थक गुटमाथि भएको आक्रमणमा कसको हात रहेको भन्ने कुरा बताएको छैन र कतैब हेजबुल्लाह समूहले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन।

  • ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    काठमाडौँ, ३० फागुनः नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

    निगमले आज विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भए पनि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्रीवितरणको व्यवस्था मिलाइरहेको जनाएको छ ।

    निगमले भनेको छ, “निगमले मुलुकभरिका ग्यास उद्योगीलाई आ-आफ्नो उद्योगबाट बिक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १०ः०० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पुनःअनुरोध गर्दछ । साथै सम्बन्धित उद्योगका बिक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नं र परिमाणसहितको विवरण राखी सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन हुन अनुरोध छ ।”

    निगमले हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने अवस्थाको सहजीकरणका लागि मिति शुक्रबारदेखि लागू हुनेगरी अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा सात दशमलव एक किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बजारीकरण गर्ने–गराउने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

  • मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

    मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

    गोरखा, ३० फागुनः यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनकाअनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । माइक्रोमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिँदै प्रहरी उपरीक्षक विकले घाइते तथा मृतकको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

  • एमालेले छान्यो समानुपातिक सांसद, को को हुने भए माननीय ?

    एमालेले छान्यो समानुपातिक सांसद, को को हुने भए माननीय ?

    काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद््मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ ।

    यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट हुनुभएको छ । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    काठमाडौँ, ३० फागुनः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिए । बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

    ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

    काठमाडौँ, ३० फागुनः काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ । ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको कामपाका प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए ।


    काफ्लेले भने, “ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्नेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डर रु ९५५ तोकेको छ । यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ ।” ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले बढी भण्डारण गर्ने गरेकाले पनि बजारमा अभाव देखिएको उनको भनाइ छ ।

    यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताले पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ”, काफ्लेले भने, “सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आआफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।”

    पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन भएर पनि छैन भनी सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पाइएको जनाउँदै उहाँले यसमा महानगरले निगरानी थालेको बताए । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा कामपाले निगरानी गर्नेछ । ग्यास बिक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । उहाँले सञ्चितिका लागि माग नगर्न उपभोक्तासँग आग्रह गरे ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

    काठमाडौँ, ३० फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मद बदर भएको हो । उनका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो ।

    विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो । आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।

  • इराकमा अमेरिकी इन्धन विमान दुर्घटनामा सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टी

    इराकमा अमेरिकी इन्धन विमान दुर्घटनामा सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टी

    वाशिङ्गटन, ३० फागुन (रासस–एपी) । इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ । अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र जिम्मेवारी लिने सेनाले अनुसार, दुर्घटना ‘मैत्रीपूर्ण हवाई क्षेत्र’ मा दुई विमानको संलग्नताको क्रममा भएको थियो र अर्को विमान सुरक्षित अवतरणमा सफल भएको छ ।

    ओहायो राज्यका गभर्नर माइक डेवाईनले सामाजिक सञ्जालमा दुर्घटनामा परेका ६ मध्ये ३ चालक दलका सदस्य ओहायो हवाई राष्ट्रिय गार्डको १२१औँ एयर रिफ्यूलिङ विङ्गमा कार्यरत रहेका जानकारी दिनुभयो । उहाँले परिवारप्रति शोक व्यक्त गर्दै उनीहरूको नाम खुलाइएको छैन । यो दुर्घटनाले सेनामा मृत्यु हुने सङ्ख्या कम्तिमा १३ पुगेको छ, जसमा सात जना युद्धमा मारिएका छन् र करिब १४० जना घाइते भएका छन् ।

    केसी–१३५ स्ट्राटोट्याङ्कर विमानले अन्य विमानलाई हवाईबाट इन्धन आपूर्ति गर्ने काम गर्छ, जसले लामो दूरीको मिशन पूरा गर्न मद्दत गर्छ । साथै यसलाई घाइते सैनिकको आपतकालीन निकासी र निगरानी अभियानमा पनि प्रयोग गरिन्छ । यो विमान १९६० दशकको डिजाइनमा आधारित छ र क्रमिक रूपमा नयाँ विमानले प्रतिस्थापन हुँदैछ ।

    संयुक्त राज्यको सेनाले दुर्घटनाको कारण तत्काल पत्ता नलागेको बताए पनि, यो ‘शत्रु वा मैत्रीपूर्ण गोलीबारीका कारण नभएको’ स्पष्ट पारेको छ । सेनाध्यक्ष जनरल ड्यान केनले भने, “ दुर्घटना मैत्रीपूर्ण क्षेत्रको वरिपरि भएको, जबकि चालक दल युद्ध मिशनमा थियो ।” रक्षा सचिव पीट हेगसेथले चालक दललाई वीरको रूपमा सम्बोधन गर्दै भने, “युद्ध नरक हो । युद्धमा अराजकता हुन्छ । हाम्रो विमानको दुखद दुर्घटनाले देखायो कि नराम्रो घटना कहिले पनि हुन सक्छ ।”


    सुरक्षा विशेषज्ञ याङ उकका अनुसार, युद्ध क्षेत्रमा इन्धन आपूर्ति गर्ने विमान शत्रु आक्रमणमा कम जोखिममा हुन्छ, किनभने यस्ता मिशन प्रायः अग्रभूमि भन्दा टाढा सम्पन्न हुन्छ । केसी–१३५ विमानले विगतमा केही घातक दुर्घटना भोगिसकेको छ । सन् २०१३ मा किर्गिस्तानमा एक विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्य मारिएका थिए । त्यस्तै, १९६६ मा स्पेनको पालोमारेसमा बमबारी विमानसँगको मध्य हवाई ठोक्कामा चार चालक दलको मृत्यु भएको थियो । यद्यपि विमानको सुरक्षा र मर्मत व्यवस्थापन उच्चस्तरीय रहेको बताइएको छ ।

    अधिकांश विमानमा छालाबाट बाहिर जानको लागि प्यारासुट नराखिएको हुन्छ । यसबारे पूर्व अनुसन्धानकर्ताका अनुसार, “विमानमा दुर्घटना हुने सम्भावना अत्यन्त कम हुन्छ। यसले गर्दा चालक दलले विमानमै रहनु सुरक्षा दृष्टिले बढी उपयुक्त हुन्छ ।” केसी–१३५ को चालक दल सामान्यतया तीन सदस्य हुन्छ । आवश्यक भएमा हवाई निकासीमा नर्स र चिकित्सक पनि सवार हुन्छन् ।

    इन्धन आपूर्ति प्रायः विमानको पछाडि बूमबाट गरिन्छ, जसले लडाकू वा अन्य विमानसँग जडान गर्दछ । यो दुर्घटना इरान–अमेरिका युद्धको क्रममा सार्वजनिक रूपमा देखिएका चौथो विमान दुर्घटना हो । यसले खाडी क्षेत्रमा सैन्य अपरेशनको चुनौती र लामो दूरीको मिशनमा इन्धन आपूर्तिको महत्त्वलाई झन् बढाएको छ ।

  • केन्यामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

    केन्यामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६२ पुग्यो

    नाइरोबी, ३० फागुन (रासस–सिन्ह्वा) । केन्यामा भारी वर्षा पछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६२ जना पुगेको सरकारले जानकारी दिएको छ ।
    आन्तरिक तथा राष्ट्रिय प्रशासन मन्त्रालयका अनुसार, मृतकमा ४६ पुरुष, ८ महिला र ८ बालबालिका रहेका छन् । मन्त्रालयले नाइरोबीमा सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको, त्यसपछि पूर्वी क्षेत्र १७ र रिफ्ट भ्याली क्षेत्रमा ७ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

    सरकारले बाढीले १० हजार भन्दा बढी परिवार प्रभावित भएको र ४ हजार ८४५ जनालाई सुरक्षित ठाउँमा सरेर बस्न बाध्य भएको जनाएको छ । भारी वर्षाका कारण पूर्वी अफ्रिकी राष्ट्रका विभिन्न भागमा बाढी आएको, सडक अवरुद्ध भएका, सम्पत्ति नष्ट भएका र प्रभावित समुदायमा असहज अवस्था सिर्जना भएको बताइएको छ ।

    मृत्युसँगै पूर्वाधार र जीविकोपार्जनमा पनि ठूलो क्षति भएको छ । केन्या मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको र जीवनरक्षाका लागि अत्यन्त सतर्क रहन स्थानीयबासीलाई आग्रह गरेको छ ।

  • इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै

    इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै

    वासिङ्टन ,३० फागुन (रासस–एपी) । अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्त्वपूर्ण खार्ग टापुमा सैनिक लक्ष्यमा बमबारी गरेको छ । यो टापु इरानको मुख्य तेल निर्यात टर्मिनल भएको स्थान हो । अमेरिकी सेनाले टापुमा रहेका सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरेको र आवश्यक परे तेल पूर्वाधारलाई पनि निशाना बनाउन सकिने चेतावनी ट्रम्पले दिएका थिए । यसअघि इरानी संसदको अध्यक्ष मोहम्मद बाघेर कालीबाफले यस्ता आक्रमणहरू इरानको कडा प्रतिक्रिया निम्त्याउने चेतावनी दिएका थिए ।

    इरानको राजधानी तेहरानमा शुक्रबार एक ठूलो विस्फोट भएको छ । विस्फोट त्यही क्षेत्रमा भएको थियो जहाँ हजारौं मानिसहरूले वार्षिक प्यालेस्टिनी समर्थक र्यालीमा सहभागी भई इजरायल र अमेरिकाविरुद्ध नाराहरू लगाएका थिए । यस र्यालीमा केही उच्च सरकारी अधिकारी पनि उपस्थित थिए । विस्फोटका कारण मानवीय क्षति नभएको जानकारी दिइएको छ, तर यस घटनाले द्वन्द्वमा दुबै पक्षको अडिग निर्णय र प्रतिकार क्षमतालाई स्पष्ट पारेको छ ।


    युद्धमा अमेरिकी बललाई थप सुदृढ गर्न ३१औँ मरीन एक्सपेडिसनरी युनिट र उभयचर हमला जहाज ट्रिपोली मध्यपूर्वमा पठाइएको छ । यी मरीन युनिटहरूले उभयचर आक्रमणमा मात्र होइन, दूतावास सुरक्षा, नागरिक उद्धार र विपद् राहतका कार्यमा पनि विशेषज्ञता राख्छन् । यो तैनाथीले अनिवार्य रूपमा कुनै भू–आक्रमणको सङ्केत नगर्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । पहिले नै अमेरिकी नौसेनाले अरब सागरमा एरोक्राफ्ट क्यारियर अब्राहाम लिङ्कन र आठ विध्वंसक जहाजसहित १२ जहाज परिचालनमा राखेको थियो । ट्रिपोली जहाज सामेल भएपछि यो बल क्षेत्रको दोस्रो सबैभन्दा ठूलो जहाज हुनेछ ।


    इरानले इजरायल र खाडी क्षेत्रका छिमेकी देशहरूमा मिसाइल र ड्रोन आक्रमण निरन्तर जारी राखेको छ । स्ट्रेट अफ होरमज, जहाँ विश्व व्यापारमा प्रयोग हुने तेलको करिब पाँचौं भाग जान्छ, प्रायः बन्द भएको छ । यसले खाडी क्षेत्रमा तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा दबाव सिर्जना गरेको छ ।

    मानवीय सङ्कट गहिरो हुँदै गएको छ । लेबननमा इजरान समर्थित हिजबुल्लाह मिलिटनहरूमा इजरायली हमला हुँदा करिब ८०० जनाको मृत्यु भइसकेको छ भने आठ लाख ५० हजार जना विस्थापित भएका छन् । इजरायल–हिजबुल्लाह द्वन्द्वमा लेबननमा ७७३ जनाको मृत्यु भइसकेको छ, जसमा १०० भन्दा बढी बालबालिका र १८ स्वास्थ्यकर्मीहरू रहेका छन् ।


    अमेरिकाले युद्धको सुरुदेखि १५ हजार भन्दा बढी इरानी लक्ष्यमा हमला गरेको छ । अमेरिकी रक्षा सचिवले प्रतिदिन एक हजार भन्दा बढी लक्ष्यमा आक्रमण भइरहेको जानकारी दिनुभएका छन् । पश्चिम इराकमा अमेरिकी ईन्धन आपूर्ति विमान दुर्घटनामा परेर ६ चालक दलका सदस्यको मृत्यु भएको छ । यो दुर्घटना अमेरिकी सेनाका चारवटा सार्वजनिक रूपमा पुष्टि भएका विमान दुर्घटनाहरू मध्ये चौथो हो । यसअघि तीन अमेरिकी लडाकू जहाज कुवेतबाट आएको मित्र राष्ट्रको गल्तीपूर्ण फायरमा क्षतिग्रस्त भएका थिए ।


    यो द्वन्द्वले विश्वव्यापी अर्थतन्त्र, खाडी क्षेत्रको सुरक्षा स्थिति र मानवीय सङ्कटमा गम्भीर प्रभाव पारेको छ । तेल र ऊर्जा आपूर्तिमा जोखिम बढेको, लाखौं नागरिक विस्थापित भएका र सम्पत्ति नष्ट भएको स्थिति छ । दुबै पक्षको कडा प्रतिकार र युद्ध रणनीतिले यस द्वन्द्वलाई अझ जटिल र खतरनाक बनाएको छ ।

  • बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड

    बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड

    काठमाडौँ, ३० फागुनः अल्पविकसित मुलुक समूहका अध्यक्ष तथा संयुक्त राष्ट्रङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बहुपक्षीय सहकार्यलाई अघि बढाउन तथा विकासका दृष्टिले सबैभन्दा पछाडि परेका देशहरूका लागि विकास उपलब्धि सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ अपरिहार्य रहेको बताएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले कार्यादेश कार्यान्वयन समीक्षासम्बन्धी अनौपचारिक तदर्थ कार्यसमूहका सहअध्यक्षहरूसँग आयोजित राजदूतस्तरीय बैठकमा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।


    बैठकमा उहाँले कार्यादेश कार्यान्वयन प्रक्रियाप्रति अल्पविकसित मुलुक समूहको पूर्ण समर्थन रहेको पुनः दोहोर्याउँदै संयुक्त राष्ट्रसङ्घभित्र गरिने सुधारहरूले यसको विकाससम्बन्धी स्तम्भलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । राजदूत थापाले पर्याप्त स्रोतसाधन सुनिश्चित गर्न तथा कार्यादेशकाृ प्रभावकारी कार्यान्वयन गर्न तथा अल्पविकसित मुलुकहरूका लागि मापनयोग्य उपलब्धि हासिल गर्न आवश्यक भएको बताए ।

    उनले अल्पविकसित मुलुक, विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूका लागि संयुक्त राष्ट्रङ्घीय उच्च प्रतिनिधिको कार्यालयले दोहा कार्ययोजना कार्यान्वयनलाई अघि बढाउन तथा विश्वका सबैभन्दा कमजोर राष्ट्रहरूको विकास प्राथमिकतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसको सराहना गर्नुएको उक्त नियोगले जनाएको छ ।

  • रास्वपा सचिवालय बैठक आइतबारलाई सर्यो

    रास्वपा सचिवालय बैठक आइतबारलाई सर्यो

    काठमाडौँ, ३० फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ । सभापति रवि लामिछानेको अस्वस्थताका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।

  • इथानोल मिश्रित पेट्रोलः ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

    इथानोल मिश्रित पेट्रोलः ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

    काठमाडौँ, ३० फागुनः सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।

    यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ । आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ । आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ ।

    इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थमा मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कास्साभा), सडेगलेको अन्न, मर्चा (यिस्ट) र अन्य आवश्यक रसायन समावेश छन् । खाद्यान्नको दुरुपयोग रोक्नका लागि खाद्यान्नका रूपमा प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ । उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्नेछ । यसले बजारलाई नियन्त्रित गर्दै इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित गर्ने नीति स्पष्ट गर्दछ ।

    उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री उपाय अपनाउनुपर्ने, गुणस्तर मापदण्ड कायम गर्नुपर्ने र गुणस्तर परीक्षणको जिम्मेवारी आफ्नै प्रयोगशालाबाट गर्नुपर्ने आदेशमा उल्लेख छ । निगमले पनि प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ । इथानोलको मूल्य निर्धारण सरकारद्वारा सिफारिस समितिको सुझावमा प्रत्येक आर्थिक वर्ष सुरु हुनु अघि हुने छ । मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ । निर्धारित मूल्य प्रत्येक वर्ष साउन १ गतेदेखि लागू हुनेछ ।

    नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ । उद्योगले सम्झौतामा उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको छ। इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ । अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ। मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ।

    सरकारले इथानोल मूल्य निर्धारण र उद्योगलाई सुविधा दिने सिफारिसका लागि समिति गठन गरेको छ। समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुनेछन् भने अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल आयल निगमका प्रतिनिधि सदस्य रहनेछन् । आदेशअनुसार समितिले कच्चापदार्थ लागत, कर छुट, सुविधा, राष्ट्रिय प्राथमिकता उद्योग मान्यता, उपकरण आयातमा कर छुट, कृषक र कृषि सहकारीलाई मल-बिज-विद्युत् महसुलमा सहुलियतलगायत विषयमा सिफारिस गर्नेछ ।

    यो नीति कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, नयाँ उद्योग स्थापना गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । यसको कार्यान्वयनको प्रभावकारिता भने उद्योगको क्षमता, कच्चापदार्थको उपलब्धता तथा सरकारको नियमनमा निर्भर हुनेछ ।

  • निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने

    निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने

    काठमाडौँ, ३० फागुनः हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

    उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।

  • हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा–हिमपात

    हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा–हिमपात

    काठमाडौँ, ३० फागुन । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
    हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

    आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

  • ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

    ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

    नारायणगढ ३० फागुन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष निगरानी बढाउने भएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त तथा अपाङ्गता भएका व्यक्ति तथा कोठा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइनेछ । यी लक्षित वर्गका व्यक्तिलाई ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६०–५६५२००१ मा सम्पर्क गरी जानकारी गराउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

    नेपाल आयल निगमको निर्णय अनुरुप ग्यास बिक्री वितरण गरी ग्यास उद्योगी तथा विक्रेताले आफूले प्राप्त गरेको र बिक्री गरेको परिमाणको स्पष्ट अभिलेख राख्नुपर्नेछ । उक्त विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विवरणमा अनियमितता भेटिएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

    प्रशासनले आम उपभोक्तालाई नजिकका विक्रेतासँग सम्पर्क गरेर ग्यास लिन, आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न तथा ग्यासको अभाव कम गर्न विद्युतीय चुल्हाको प्रयोग बढाउन आग्रह गरेको छ । कतै ग्यास लुकाइछिपाइ वा गैरकानूनी रूपमा बिक्री भइरहेको जानकारी पाएमा टोल–फ्री नम्बर वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत अनुरोध गरिएको छ । सूचनामा ग्यास वितरण प्रणालीलाई न्यायोचित बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।