Category: समाचार

  • लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन शिलान्यास

    लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन शिलान्यास

    काठमाडौँ, ४ चैतः नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ ।
    आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो ।

    जर्मनी सरकारको केएफडब्लु विकास बैंकमार्फत सह–वित्तपोषित यस परियोजनाअन्तर्गत करिब ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ‘ग्यास–इन्सुलेटेड सबस्टेसन’ स्थापना गरिने यहाँस्थित जर्मनी दूतावासले जनाएको छ ।

    करिब एक हजार मेगावाट प्रसारण क्षमता भएको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई सुदृढ बनाउने र तनहुँ जलविद्युत् आयोजनालगायतका जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत्को प्रभावकारी प्रसारण सुनिश्चित गर्नेछ । साथै, ग्रिडको भरपर्दोपन बढाउँदै नवीकरणीय ऊर्जाको समावेशलाई प्रोत्साहन गर्दै नेपालको दिगो आर्थिक विकास र ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

    जर्मन राजदूत भोल्जले भने, “नेपालको बढ्दो ऊर्जा आवश्यकतालाई पूरा गर्न विश्वसनीय प्रसारण पूर्वाधारको विस्तार अत्यन्त आवश्यक छ । नेपालसँग सहकार्य गर्दै यसको विद्युत् सञ्जाल सुदृढ गर्न र यसको विशाल नवीकरणीय ऊर्जा सम्भावनालाई उपयोग गर्न पाउँदा जर्मनी सरकार गर्व गर्छ । यस्ता परियोजनाले स्वच्छ ऊर्जा घरपरिवार, व्यवसाय र उद्योगसम्म पु¥याउँदै दिगो आर्थिक वृद्धिमा योगदान पु¥याउँन सहयोग विश्वास लिएको छु ।”

    उक्त परियोजनाले नेपाल–जर्मनीबीचको उन्नत ऊर्जा सहकार्यलाई पनि प्रतिविम्बित गर्दछ । जर्मन वित्तीय सहकार्यले दशकौँदेखि नेपालको ऊर्जा क्षेत्रमा योगदान गर्दै आएको छ, जसको सुरुवात तल्लो र मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाबाट भएको थियो । नेपालको विद्युत् प्रणाली विस्तारसँगै सहकार्य प्रसारण पूर्वाधार सुदृढीकरणतर्फ केन्द्रित हुँदै चिलिमे–त्रिशूली प्रसारण लाइन तथा राष्ट्रिय भार प्रशारण केन्द्रमा सहयोग प्रदान गरिएको छ ।

    साथै, घरेलु सौर्यप्रणाली, सौर्य सिँचाइदेखि ग्रिडमा जडित सौर्य परियोजनासम्म सहयोग गर्दै नेपालमा करिब ५५ मेगावाट सौर्य ऊर्जा उत्पादन क्षमतामा योगदान पु¥याइएको छ । आगामी दिनमा जर्मन वित्तीय सहकार्यले विद्युत् वितरण प्रणाली सुदृढीकरणमा अझ ध्यान केन्द्रित गर्नेछ, जसले उपभोक्ता र व्यवसायलाई भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

    यी भौतिक पूर्वाधार लगानीसँगै ‘जिआइजेड’मार्फत सञ्चालन हुने जर्मन प्राविधिक सहकार्यले नीति, प्रणाली तथा दक्षता विकासमा सहयोग गर्दै विद्युत् पूर्वाधार विस्तारको प्रत्यक्ष लाभ जनतालाई पुग्ने सुनिश्चित गर्दछ । गण्डकी प्रदेशमा यसले पोखरा महानगरपालिकालाई पाँच वर्षीय नगर ऊर्जा योजना निर्माणमा सहयोग पु¥याएको छ, जसले ऊर्जा दक्षता र स्वच्छ ऊर्जाको प्रयोगलाई मार्गदर्शन गर्नेछ । साथै, पोखरा र दमौलीमा दुई वटा विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ स्थापना तथा बागलुङका दुई साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा समाहित गर्न सहयोग गर्नेछ ।

    लेखनाथ–दमौली प्रसारण लाइनजस्ता पूर्वाधारले विद्युतीय सवारी तथा अन्य न्यून–कार्बन प्रविधिहरूको प्रयोग बढाउन आधार तयार पार्दै नेपाललाई आयातित जीवास्म इन्धनमा निर्भरता घटाउने लक्ष्यमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

  • केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

    केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

    काठमाडौँ, ४ चैतः जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिए । “भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, जेनजी आन्दोलनका क्रममा तीन हजार ५१७ कैदीबन्दी भागेका थिए ।

    तीमध्ये अधिकाशं कैदीबन्दी फिर्ता भए, हाल एक हजार २०० कैदीबन्दी अझै फरार छन्,”उनले भने । हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी छन् । जसमध्ये एक हजार ९२० कैदी, एक हजार ४९३ थुनुवा छन् । केन्द्रीय जेलमा एक हजार ७४९, भद्र जेलमा एक हजार २५० र महिला जेलमा ३१४ कैदीबन्दी रहेको सूचना अधिकारी रेग्मीले बताए । केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

    काठमाडौँ, ४ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।


    समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले बिहीबार बेलुकी ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ । आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार नै प्रमाणपत्र प्रदान गर्ने तयारी पूरा भएको पनि उनले सुनाए । कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो ।

    समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएको आयोगले सोमबार नै घोषणा गरिसकेको छ ।


    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एकरएक स्थानमा निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

  • बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

    बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

    केदार मगर–रासस
    खोटाङ, ४ चैतः केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो । चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परेका काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।

    घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट १२ः ३५ बजे नै उपचारका लागि काठमाडौँ पठाइएको छ । खार्तम्छाका वडाध्यक्ष मिलन राईका अनुसार काजीबहादुरलाई दुर्घटनाग्रस्त हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको हो । सो हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहरु आएका थिए । मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।

    आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत भोलि बिहीबार बालाबेँसी आइपुग्ने व्यवस्था मिलाइएको थियो । हेलिकप्टर दुर्घटनामा परेका आफन्त भने सकुशल रहेको वडाध्यक्ष राईले जानकारी दिए । दुर्घटनालगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए ।
    “घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ”, उनले भने, “यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ गर्नुभयो । चलिरहेको इञ्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ ।” एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कूल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन ।

    एयर डाइनेष्टीका प्रवक्ता एवम् वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ । बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा बारीको कुनामा थुप्रिएको छ । बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको अनुसन्धान तथा सर्जमिन गर्न अर्को हेलिकप्टरमा काठमाडौँबाट विज्ञ टोली आएर अनुसन्धानपछि फर्किएको स्थानीयले बताएका छन् ।

  • प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    काठमाडौँ, ४ चैतः प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्रीले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ, सहयोग प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरिन् ।

    यसैगरी उनले आगामी दिनमा देश थप उन्नतिको मार्गतर्फ अग्रसर होस् र सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति थियो ।

  • देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    ललितपुर, ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको स्पष्ट गरे ।

    “सञ्चारमाध्यममा विचार गरेर बोल्नुस् । बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेसमेत सोचेर जिम्मेवार भएर बोल्नुस् । नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनुस्”, उनले भने, “हामीले नागरिकसँग गरेका करारपत्रलाई राम्रोसँग पढ्नुहोला । हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ । जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्नुछ ।”

  • रास्वपा अभिमुखीकरणमा रविको परिपक्क भाषण, कसलाई के भने ?

    रास्वपा अभिमुखीकरणमा रविको परिपक्क भाषण, कसलाई के भने ?

    पाटन (ललितपुर), ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताएका छन् । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशन दिए ।

    सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गरे । “संसद्को लोगो लगाएपछि पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ, पारदर्शिता राजनीतिको महत्त्वपूर्ण पक्ष हो । सांसद निर्वाचित भएको व्यक्तिको जनतासँग सधैँ असल सम्बन्ध हुनुपर्छ, जनतासँग सुमधुर सम्बन्ध भएको नेतृत्व बन्नुस्, पाँच वर्ष जनताले आत्मसात् गर्नसक्ने, तपाईंको सम्बन्धले हरेक दिन उत्सव मनाउन सक्ने बनाउनुपर्छ”, उनले भने ।


    रास्वपालाई जनाताले कानुन बनाउने जिम्मेवारी दिएका भन्दै सभापति लामिछानेले कानुन निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राखे । उनले भने, “बाहना बनाउन नपाउने गरी जनताले जिम्मेवारी दिएका छन्, पुराना राजनीतिक दललाई जनताले ३६ वर्ष कुरेँ, हामीलाई ३६ महिना पनि कुर्दैनन् । हामीले आफूलाई केन्द्रमा राखेर हैन, जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

    सभापति लामिछानेले पार्टी जन्मेदेखि मुद्दा चलेको स्मरण गर्दै आफूहरूले संरक्षण गर्दै यहाँसम्म पुगेकाले आगामी दिनमा यसलाई थप मजबुत बनाउने जिम्मेवारी हाम्रै रहेको धारणा राखे । उनले भने, “नागरिकको चेतनामाथि विश्वास गरेर हामी अगाडि बढ्छौँ । विचौलियासँग बसेर चिया खानु अगाडि सहिदको बलिदानलाई सम्झिनु होला ।”

    यो सामान्य निर्वाचनबाट आएको जनमत नभएको भन्दै सभापति लामिछानेले विशेष परिस्थििमा जनतालाई रास्वपालाई विश्वास गरेकाले जिम्मेवारीबोध भई काम गर्न सबैलाई आग्रह गरे । “वैदेशिक सम्बन्धमा आँच आउने खालका सार्वजनिक अभिव्यक्ति नदिनुहोला, प्रभावकारी रूपमा सांसदको जिम्मेवारी निर्वाह गर्नुहोला । मत दिएका जनताको चुलो बल्ने व्यवस्था मिलाउनु होला, सरकारी अस्पतालमा उपचार गराउनु होला, सादगी जीवनशैली अपनाउनुहोला”, उनले भने ।


    सभापति लामिछानेले पार्टीले उठाएको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई मार्गनिर्देश गरे । “तपाईंको माध्यमबाट तपाईंको क्षेत्रका जनताले सुख पाउनुपर्छ । तपाईं अध्ययनशील हुनुपर्छ, नागरिकसँग सधैँसँगै हुनुपर्छ । संसद् चलेको समयबाहेक तपाईँ नागरिकसँग हुनुपर्छ । पार्टीले ज्ञान सीप र क्षमता हेरेर मन्त्री बनाउँछ”, उनले भने । उनले देशको सबैभन्दा ठूलो समस्या सामाजिक न्याय भएकाले त्यसका लागि पैरवी गर्नुपर्नेमा जोड दिए ।


    “सामाजिक न्याय नभएको समाज मानिस बस्ने समाज हैन, एउटा चुनावबाट अर्को चुनाव हैन एउटा पुस्ताबाट अर्को पुस्ताका लागि हामी लडेका हाँै”, सभापति लामिछानेले भने, “वर्तमान व्यवस्था र संविधानप्रति हामी प्रतिबद्ध छौँ । हामी विजयी हुनु भनेको जिम्मेवार हुनु हो, त्यसैले अनुशासित भएर आआफ्नो जिम्मेवारी निर्वाह गर्नेछौँ ।”

    सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने विश्वास व्यक्त गरे । उनले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसद्को नियमावली र पार्टीको विधानअनुसार मुलुक र जनताप्रति इमानदार भएर काम गर्न आग्रह गरे । “नेपाल लगानीका लागि सुरक्षित देश हो भनेर अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छौँ”, उनले भने ।

  • खोटाङमा हेलिकप्टर दुर्घटना, एक घाइते

    खोटाङमा हेलिकप्टर दुर्घटना, एक घाइते

    ४ चैत, काठमाडौं । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट खोटाङ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो । ९ एन -एएफक्यु हेलिकप्टर बिहान ११ बजे काठमाडौंबाट उडेको थियो । हेलिकप्टर खोटाङमा बारीको पाटोमा अवतरण गर्दागर्दै दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् । पाइलट सहित ६ यात्रु हेलिकप्टरमा सवार थिए ।

  • अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

    अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

    बेइजिङ, ४ चैत (रासस–सिन्ह्वा) । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्यमबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् ।

    अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए । चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको समेत लिनले पुष्टि गरे । चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए ।

  • ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

    ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

    गुल्मी, ४ चैत । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको हो । गम्भीर घाइते हुनुभएका उनको तम्घास अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • कफीको सुगन्धमा बुनिएका युवाका सपना

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    शङ्कर श्रेष्ठ–रासस
    मलेखु (धादिङ), ४ चैतः चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उहाँले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहेका छन् । धादिङका रोशन बरुवालको सोच अलि फरक छ । उनी यो सीपलाई परदेश जाने बलियो आधार र त्यहाँबाट फर्केर स्वदेशमै लगानी गर्ने पुँजी जुटाउने माध्यम बनाउन चाहन्छन् । विपना पोखरेल भने आफ्नै देशको माटोमा कफीको सुगन्ध फैलाउँदै व्यावसायिक बन्ने अठोटमा छिन् ।


    यो दृश्य, धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित आरोहण शिक्षालयको हो । जहाँ बागमती प्रदेशका २० युवा बारिष्टा अर्थात कफी बनाउने तालिममा व्यस्त हुनुहुन्छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरी, धादिङको आयोजनामा यो सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको हो ।

    तालिममा सहभागी युवामा देखिएको उत्साहले सीपप्रतिको बढ्दो आकर्षणलाई पुष्टि गर्छ । चितवनका प्रजा भन्छन्, “कफी बनाउनु एउटा आधुनिक कला रहेछ, अब म यही सीपलाई व्यवसायमा बदलेर आफ्नै खुट्टामा उभिन चाहन्छु ।” धादिङको नीलकण्ठ नगरपालिका–३ का बरुवालका लागि यो तालिम वैदेशिक रोजगारीमा जानुअघिको पूर्वतयारी हो । “बाहिर गएर राम्रो कमाउने र पछि नेपालमै फर्केर व्यवसाय गर्ने मेरो धोको छ”, तालिमको सैद्धान्तिक कक्षामा उनले भने ।


    सहभागीमध्येकी विपना पोखरेल भने सीप सिकेर स्तरीय कफी सप खोल्ने र अरूलाई रोजगारी दिने सोचमा छिन् । आफ्नो उद्देश्य स्पष्ट पार्दै उनी भन्छिन्,
    “हातमा सीप र लगानी गर्ने वातावरण भए आफ्नै गाउँ ठाउँ र आफ्नै देशमा काम गरेर आफू पनि स्वरोजगार बन्न सकिन्छ र अरूलाई रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । म यही लक्ष्यका साथ कफी बनाउने कला सिकिरहेकी छु ।”

    युवा बेरोजगार बस्नु नपरोस् र उनीहरुमा प्राविधिक दक्षता आओस् भन्ने उद्देश्यले वारिष्टा तालिम चलाइएको हो । यसले राज्यको लगानीलाई उत्पादनमूलक बनाउनेछ । दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ । तालिमले समाजमा पार्ने दीर्घकालीन प्रभावबारे उल्लेख गर्दै सामाजिक विकास कार्यालय गजुरीका प्रमुख रमेश घिमिरे भन्छन्, सीपमूलक कार्यक्रमले युवालाई केवल श्रम बजारमा मात्र पठाउँदैन, युवामा आत्मविश्वास भर्दै स्वरोजगारीको ढोका खोल्नेछ ।”

    स्थानीयस्तरमै सीपमूलक तालिम प्रदान गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ । बेरोजगारी समस्या समाधान गर्न र युवालाई उत्पादनसँग जोड्न मद्दत पुगेको नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । सिकेको सीपलाई खेर जान नदिई व्यावसायिक रूपमा अघि बढ्न प्रोत्साहन हुने खालका थप कार्यक्रम ल्याउने उनको भनाइ छ ।

    आरोहण शिक्षालय सञ्चालन भइरहेको बारिष्टा तालिम ३९० घण्टा कार्य अवधिको हो । यस अवधिमा सहभागीले कफीको छनोट, रोस्टिङदेखि विभिन्न प्रकारका कफी बनाउने र ग्राहकसँग गरिने व्यवहारसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान सिकिरहेका छन् । नेपालको वर्तमान परिवेशमा काठमाडौँ वा पोखरा जस्ता ठूला सहरमा पुगेर व्यावसायिक बारिष्टा तालिम लिन सामान्यतया रु १५ हजारदेखि रु ३० हजारसम्म शुल्क तिर्नुपर्छ भने एड्भान्स कोर्सका लागि रु ९० हजारसम्म खर्च गर्नुपर्छ ।

    खाने–बस्ने खर्च जोड्दा सामान्य परिवारका युवालाई सीप सिक्न नै चुनौतीपूर्ण बन्ने गर्दछ । तर, निशुल्क तालिमले सहभागी युवाको हौसला बढाएको देखिन्छ । तालिम संयोजक शोभा डङ्गोल भन्छन्, “ठूला सहरमा पुगेर हजारौँ खर्च गरी सिक्नुपर्ने यो सीपलाई हामीले गाउँघरमै निःशुल्क उपलब्ध गराउँदा विपन्न र जेहेन्दार युवाको पहुँच पुगेको छ ।”

    तालिम सुरु भएको दिनदेखि नै देखिएको उत्साहले भोलिका दिनमा सहभागी सफल उद्यमी वा दक्ष बारिष्टाको पहिचान बनाउने निश्चित छ । बागमती प्रदेश सरकारको यो प्रयासले युवालाई विदेशपलायन हुनबाट रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

  • भोजपुरमा रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    भोजपुरमा रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रासस
    भोजपुर, ४ चैतः भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा रकम भित्रिने गरेको छ । राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्यधिक हुने भएकाले किसानले यसबाट पर्याप्त आर्थिक लाभ लिनसक्ने अवस्था रहेको उनको भनाइ छ ।

    अध्यक्ष चापागाईंका अनुसार राम्रो आकारको २१ मुखे रुद्राक्षको एउटै दाना प्रतिगोटा रु ५५ लाखदेखि रु ६० लाखसम्ममा बिक्री हुने गर्दछ । रुद्राक्षमा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । सामान्यतया आठदेखि २९ मुखसम्मका दानालाई मुखदार रुद्राक्ष मानिन्छ । व्यापारीका अनुसार रुद्राक्षको मुखको सङ्ख्या जति धेरै हुन्छ, त्यति नै दुर्लभ र मूल्यवान मानिने भएकाले यसको बजार मूल्य सोहीअनुसार उच्च हुने गर्दछ ।

    दिङ्ला क्षेत्रमा यस वर्ष एउटा २९ मुखे रुद्राक्षसमेत फलेको अध्यक्ष चापागाईंले जानकारी दिए । २९ मुखे रुद्राक्ष दुर्लभ मानिने भएकाले यसको मूल्य निकै महँगो हुने गर्दछ । धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको छ । दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम रु एक लाखदेखि अधिकतम रु ५० लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए । गत वर्ष मात्र भोजपुरबाट करिब २१ लाख किलो रुद्राक्ष बिक्री भएको तथ्याङ्क रहेको अध्यक्ष चापागाईंले बताए ।


    “करिब ६ लाख किलो रुद्राक्ष चीनतर्फ निर्यात भएको थियो । बाँकी भारतमा निर्यात गरिएको तथ्याङ्क छ”, उनले भने । रुद्राक्षको मूल्य निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ । राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको मूल्य बजारमा धेरै हुने गर्दछ । भोजपुरमा करिब ३० हजारदेखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसायी सङ्घले जनाएको छ ।

    दिङ्ला क्षेत्रका किसानले उत्पादन गरेको रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घर–घरमासमेत आउने गरेका छन् । यो क्षेत्रमा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको छ । यहाँका किसानले उत्पादन गरेको रुद्राक्ष ती बजारमा लगेर बिक्री गर्ने गरेका छन् । खाँदबारीबाट भने रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ तथा चीन र भारतसम्म निर्यात हुने गरेको छ । पछिल्लो समय युरोप, अमेरिकालगायतका मुलुकमासमेत नेपाली रुद्राक्षको माग बढ्दै गएको व्यापारीहरू बताउँछन् ।

    इतिहासका अनुसार भोजपुरमा रुद्राक्ष खेतीको सुरुवात धेरै पुरानो मानिन्छ । विसं १९३२ भन्दा अघि भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्ला क्षेत्रमा रुद्राक्षको बिरुवा रोपेको पाइएको छ । त्यसपछि यहाँ क्रमशः यसको विस्तार हुँदै गएको स्थानीय बताउँछन् । अहिले भोजपुरको दिङ्ला क्षेत्र नेपालकै प्रमुख रुद्राक्ष उत्पादन केन्द्रका रूपमा चिनिन्छ ।

    रुद्राक्षले धार्मिक तथा आध्यात्मिक रूपमा पनि विशेष महत्व राख्छ । हिन्दू धर्मावलम्बीले रुद्राक्षलाई भगवान् शिवसँग सम्बन्धित पवित्र वस्तुका रूपमा लिने गर्छन् । त्यसैले पूजा, जपमाला तथा विभिन्न धार्मिक अनुष्ठानमा यसको प्रयोग हुने गर्दछ । सामान्यतया कालो रङको रुद्राक्षलाई सबैभन्दा राम्रो मानिन्छ । जुन रुद्राक्षमा प्वाल नपारीकन नै धागो छिराउन सकिन्छ । प्राकृतिक रूपमा बनेका यस्ता दाना दुर्लभ हुने भएकाले यसको मूल्य धेरै हुने गर्दछ ।

    भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत नेपालेडाँडा, कुदाकाउले, देउराली, मुलपानी, केउरेनीपानी लगायतका स्थानमा रुद्राक्ष खेती व्यापक रूपमा हुँदै आएको छ । यसबाहेक जिल्लाका अन्य विभिन्न स्थानमा पनि यसको उत्पादन बढ्दै गएको छ । यद्यपि किसानले रुद्राक्ष खेतीसँगै समस्या पनि भोगिरहेका छन् । विशेष गरी राम्रो दाना चोरी हुने, रुद्राक्षका बोट काटिदिने जस्ता समस्या बढ्दै गएको किसानको गुनासो छ । यसको संरक्षण तथा व्यवस्थित बजार व्यवस्थापन गर्न सकेमा रुद्राक्ष खेती अझ बढी लाभदायक बन्न सक्ने स्थानीयको भनाइ छ । उचित संरक्षण, बजार व्यवस्थापन र प्रवर्द्धन गर्न सकेमा रुद्राक्षले भोजपुरका किसानको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ४ चैतः नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४२ पैसा र बिक्रीदर २१ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४० रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    रासस
    चन्द्रपुर (रौतहट), ४ चैतः केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब रु डेढ करोड बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् ।

    चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेतीमा पूर्ण रुपमा क्षति पु¥याएको छ । चन्द्रपुर–३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ । यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।

    सोमबार आएको हावाहुरीले हजारौँ बोट केरा ढल्दा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताउनुभयो । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन् । केरा खेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ ।

    हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केरा खेती नष्ट हुने गरेको तर बिमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतम बताउँछन् । यस क्षेत्रमा व्यावसायिक रुपमा केरा खेती गर्ने किसान बढेपछि केरा खेतीको बिमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनवाइ नभएको उनले बताए ।


    बिमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उहाँले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् । रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेति भएको र हावाहुरीबाट रु तीन करोडभन्दा बढीको क्षति पुगेको छ ।

    यस्तै चन्द्रपुर–३ का अर्का किसान रमेश घिमिरेले केरा खेतीको बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताए । यहाँ बिमा नहुँदा किसान मारमा परेको उनले बताए । अहिलेको समयमा हरेक बालीको बिमा अपरिहार्य भएको घिमिरेले बताए । बिमा कम्पनीले जोखिम बढी हुने भन्दै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको उनको गुनासो छ । यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन् ।

    चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बिमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए । बालीका लागी बिमा अति आवश्यक भएकाले बिमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

  • तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

    तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

    काठमाडौँ, ४ चैतः चालु आर्थिक वर्ष २०८२–८३ को सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा रु २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र रु दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले रु १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र रु १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ । हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७ दशमलव १३ प्रतिशत हुन आउँछ ।

    सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच खर्ब ५९ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा रु दुई खर्ब ९५ अर्ब १९ करोड ऋण उठाइसकेको छ । जुन वार्षिक लक्ष्यको ५० दशमलव ४४ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि आन्तरिकतर्फ रु तीन खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ६७ दशमलव ३१ प्रतिशत अर्थात् रु दुई खर्ब ४३ अर्ब ६६ करोड बराबर उठिसकेको छ ।

    त्यस्तै, बाह्यतर्फ रु दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा २४ दशमलव ३१ प्रतिशत अर्थात् रु ५६ अर्ब ८० करोड मात्रै उठेको छ । त्यस्तै, सरकारी ऋणको साँवा–ब्याज तिर्नका लागि यस वर्ष सरकारले रु चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा फागुन मसान्तसम्ममा रु दुई खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भइसकेको छ । यो वार्षिक विनियोजनका आधारमा ५८ दशमलव ९४ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ९७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

  • यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

    यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

    काठमाडौँ, ४ चैतः गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसला कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । अयोगका अध्यक्ष दीपक सुवेदीसहित पदाधिकारीको टोलीले मन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो । त्यस अवसरमा गृहमन्त्री अर्यालले छिट्टै प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

    विसं २०८२ मङ्सिर २२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यातायात क्षेत्रसम्बन्धी राय सुझावसहितको प्रतिवेदन पेस गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको थियो । आयोगको सदस्यमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य छन् । कार्यादेशबमोजिम २०८२ पुस १६ गतेदेखि काम गर्न सुरु गरेको आयोगले एक महिनाको कार्यादेशसहित कार्य सुभारम्भ गरे पनि अध्ययन अनुसन्धानका लागि थप एक महिना म्याद थपिएको थियो ।

    सर्वोच्च अदालतबाट विसं २०६१ को रिट नं ३४०२ लगायत रिट तथा मुद्दामा जारी आदेश तथा फैसलाको संस्था दर्ता ऐन तथा नियमावलीबमोजिम नीतिगत र कानुनी व्यवस्था, यसअघि यातायात क्षेत्रमा हुनुपर्ने सुधारका सम्बन्धमा पेस भएका प्रतिवेदन तथा यातायात क्षेत्रमा सवारीसाधनको प्राविधिक गुणस्तर, सार्वजनिक सवारीसाधन चलाउन हुनुपर्ने सडकको न्यूनतम मापदण्ड बनाउने विषयमा आदेश भएको थियो ।

    यीलगायत अदालतको आदेशअुनसार प्रदूषणको अवस्था, रुट परमिट, यातायातका साधन र व्यवसायीको यातायात सञ्चालन विधि, सवारी तथा यातायात सञ्चालन र पारदर्शिता, सुरक्षा, क्षतिपूर्ति, दुर्घटनामा दायित्व निर्धाणका विषय, सिन्डिकेट, कार्टेलिङलगायत सम्बन्धमा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने जाँचबुझ आयोगको कार्यादेश तोकिएको थियो ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने

    काठमाडौँ, ३ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नेगरी तयारी सुरु भएको जानकारी दिए ।

    आयोगले सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार\चार जना सांसद निर्वाचित भएका छन् ।


    बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए । राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ ९१० अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।

  • आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

    आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

    दाङ, ३ चैत । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिएका छन् । उच्च अदालत तुलसीपुरको आज अवलोकन तथा निरीक्षणपश्चात् उपस्थित न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । प्रधानन्यायाधीश राउतले भने, “हामी खरानी भएको ठाउँबाट उठेर काम गरिरहेका छौँ । अब हामी सबै बदलिएर एउटा अठोटका साथ अपेक्षाकृत काम गर्न लाग्नुपर्ने छ ।”

    उनले जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा निर्माण गरिएको उच्च अदालतको कार्यालय भवन, इजलाश कक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरे । त्यस अवसरमा प्रधानन्यायाशीध राउतले आगामी आर्थिक वर्षमा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुने बताए ।

    उनले नवयुवाको आन्दोलनका क्रममा अदालत भवन, सवारीसाधनलगायत सम्पूर्ण संरचना ध्वस्त भए पनि अभिलेख जोगिएकामा खुसी व्यक्त गर्दै अब संरचना निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले अदालतको भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय परिसरको गाडी ग्यारेजमा अस्थायी इजलाश निर्माणगरी न्यायसम्पान भइरहेको जानकारी दिए ।

    कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताललगायत वक्ताहरूले विषम परिस्थितिमा अदालतले न्यायसम्पादन गरिरहेको भन्दै प्रशंसा गरे ।

  • दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा

    दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा

    गण्डकी, ३ चैतः जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ । तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट २०५८ वैशाख २० मा पुनःनेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । उनकाअनुसार निज व्यक्तिलाई नियन्त्रणमा लिई दोहोरो नेपाली नागरिकता लिएको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा एमालेप्रति आभार प्रकट

    काठमाडौँ, ३ चैतः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा (एमाले)लाई धन्यवाद दिएकी छिन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई आज बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।


    प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिइन् । उनले भनिन्, “यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि धन्यवाद दिन चाहन्छु ।”

    उनले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।”

    एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनको नेतृत्वको सरकारलाई बधाई दिए । मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद पनि दिए । उनीहरुले यस पटकको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गरे । साथै यसपालिका चुनावी अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि सुनाए ।

  • तलव नलिने सुदन गुरुङको घोषणा

    तलव नलिने सुदन गुरुङको घोषणा

    ललितपुर, गोदावरी ३ चैत । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पु¥याउन आएको बताएका छन् ।

    ललितपुरमा आज आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई जेन्जी आन्दोलनमा घाइतेहरूका लागि स्वास्थ्य शिक्षा तथा रोजगारजमा खर्च गर्ने बताए ।

    आन्दोलनमा उठेका मुद्दालाई संसद्मा पु¥याउने, महिला सशक्तीकरण, आधुनिक कृषि, दहेज–घरेलु हिंसाविरुद्ध कडा कानुन र सामाजिक न्यायका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सेवा, त्याग र उत्तरदायित्वका साथ जनताको पक्षमा उभिने स्पष्ट गरे ।

  • क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

    क्यासिनोहरूमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ

    काठमाडौँ, २ चैतः प्रहरीले क्यासिनोहरूमा हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जना नेपाली नागरिकलाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यकामा रहेका क्यासिनोहरूमा नेपाली नागरिकहरूले हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यहरू गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनले भने, “काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित रहेको लेमन ट्री होटलभित्र रहेको ग्राउन्ड क्यासिनोबाट १३ जना र काठमाडौँ महानगरपालिका–१४ सोल्टीमोडस्थित रहेको क्यासिनो महजोङबाट एक जना समेत गरी जम्मा १४ जनालाई पक्राउ गरिएको हो ।”

    पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद रु एक लाख ९० हजार, विभिन्न कम्पनीको मोबाइल १४ थान, नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको एक थान, सवारी चालक अनुमति पत्र दुई थान, नक्कली भारतीय भोटर कार्ड एक थान, सिसी क्यामेराको डिभिआर तीन थान तथा नेपाली खेलाडीले विभिन्न मितिमा नेपाली नगद साटेको ईन्ट्री बुक एक थान बरामद गरेको प्रवक्ता भट्टराईले बताए ।

  • २४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु

    २४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु

    काठमाडौँ, ३ चैत । मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ)का कारण तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरी चट्याङ र असिनापानीले ३० जिल्ला प्रभावित भएकामा तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर एक र हावाहुरीबाट दुई जनाको मृत्यु भएको हो । कुल ४१ वटा विपद्जन्य घटनामध्ये चट्याङबाट तीन र हावाहुरीबाट दुईजना घाइते भएका छन् ।

    प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हावाहुरीका मात्रै १७ र चट्याङका पाँच घटना भएका थिए । ती घटनामा छ पशु चौपाय मरेका छन् भने नौ लाख बढीको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नेपालमा पछिल्लो एक सातादेखि मौसम बदली भई हावाहुरी, चट्याङ र असिनापानी परिरहेको छ । मौसम विज्ञान विभागले यो क्रम अझै केही दिन जारी रहने जनाएको छ ।

  • चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

    चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

    काठमाडौँ, ३ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ । रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले पार्टीलाई प्राप्त पत्रबारे जानकारी दिएका थिए ।


    उनका अनुसार पत्रमार्फत सिपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरिएको छ । सो पत्रमा दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।

    सिपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएकोे रास्वपाका नेता खनालले जानकारी दिए । रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ।

  • नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

    नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

    काठमाडौँ, ३ चैत । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई आज भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो । एएनओका अन्तरराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चूडामणि भट्टराई, नेपाल च्याप्टरका अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई उक्त मागपत्र बुझाएको हो ।

    सो पत्रमा पुस्तौँदेखि विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिकलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘नेपाली ओरिजन’ का लागि छुट्टै डेस्क राख्न पनि माग गरिएको छ । साथै पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै सात हजारको सङ्ख्याका भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गरी मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग गरिएको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।

    त्यस अवसरमा मन्त्री शर्माले एएनओका मागहरु नेपालकै पहिचानको विस्तारलाई सघाउने प्रकृतिका रहेकाले यसलाई नेपाल सरकारले गम्भीर रुपमा लिने धारणा राखे । उनले आफू सैनिक सेवामा रहँदा पुस्तौँअघि बाहिरिएका नेपाली मूलका मानिसहरु भेट्ने अवसर पाएको अनुभव सुनाउँदै उहाँहरुलाई पुख्र्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।


    एएनओका अन्तरराष्ट्रिय अध्यक्ष अधिकारीले विश्वमा रहेका नेपाली जातिका नागरिकप्रति नेपाल सरकार सहयोगी बनेमा उनीहरुको ज्ञान, सीप र ठूलोमात्रामा लगानी नेपालमा भित्र्याउन सकिने बताए । एएनओका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र महासचिव चूडामणि भट्टराईले नेपालीमन र नेपालीपनलाई जोड्दै एएनओ अघि बढेको जानकारी दिँदै सरकारले यस विषयलाई राष्ट्रहितका पक्षमा विचार गर्न आग्रह गरे ।

  • हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

    हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

    उदयपुर (गाईघाट), ३ चैत स् उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको छ । यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।

    हुरीबतासकै कारण घाइते हुनेहरुमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन् । घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । कटारी–५ का ४६ वर्षीय लीलबहादुर दनुवार र अर्का २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई विटाटनगर रिफर गरिएको प्रहरीले बताएको छ । अन्य चार जनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले जनाएको छ ।

    शव परीक्षणका लागि कटारी अस्पतालमा ल्याइएको र अहिले परीक्षणको तयारी गरिएको सूचना अधिकारी थापाले बताए । हुरीबतास र वर्षाको कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडाएको र सामान्य क्षति भएको विवरणहरू प्राप्त भइरहेको प्रहरीले जनाएको छ।

  • मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

    मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

    म्याग्दी, ३ चैत । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही भएको पाइएको बताए ।

    “घाँस पलाउने बाहना, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो”, उनले भने, “खोरीया फडानी गरी खेती गर्न, हिंस्रक वन्यजन्तु धपाउन, वन्यजन्तुको सिकार, वन अपराध लुकाउन, वन कर्मचारी वा छिमेकी वन उपभोक्ता समूहसँगको रिसइवीका कारण डढेलो लगाउने गरेको पाइएको छ ।”

    फागुन, चैत, वैशाख र जेठमा बढी डढेलो लाग्ने गरेको छ । रुख बिरुवा, जडीबुटी, वन्यजन्तु र पन्छीको वासस्थान डढेलोबाट नष्ट हुने गरेको छ । डढेलो निभाउने क्रममा विगतका वर्षमा मानवीय क्षति भएको थियो । म्याग्दी डढेलोको जोखिमका हिसाबले नेपालका ७७ जिल्लामध्ये ३०औँ स्थानमा छ ।


    आर्थिक वर्ष २०७९÷८० मा १०२ ठाउँमा ७९० हेक्टर, २०८०÷८१ मा १४५ स्थानमा ८९० हेक्टर र २०८१÷८२ मा ११५ स्थानमा ८०५ हेक्टर वन डढेलोले क्षति गरेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । गोठालाले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने चलन छ । सिकारीले वन्यजन्तु र पन्छीलाई भगाउन डढेलो लगाउँछन् । चालु आर्थिक वर्षमा डढेलोको क्षतिको विवरण सङ्कलन गर्न थालिएको वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।


    जिल्लास्तरमा डढेलो रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाएर सुरक्षा निकाय, प्रशासन, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिएको उनले बताए । डढेलो लाग्न नदिन प्रतिकारात्मक र लागेको डढेलो नियन्त्रणमा लिन नियन्त्रणत्मक रणनीति बनाइएको छ । सम्भव भएको ठाउँमा मानवीय र भौतिक सम्पत्ति जोगाउने रणनीति लिइएको छ ।

    वन उपभोक्ता र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रमका साथै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराएको वन अधिकृत शान्तिकुमारी शाहीले बताए । उनका अनुसार डढेलो नियन्त्रणका लागि पानी सङ्कलन र वन्यजन्तुलाई पानीका लागि मानव बस्तीमा आउन नपरोस् भनेर यस वर्ष छवटा सामुदायिक वनमा पोखरी निर्माणको तयारी भएको छ । जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र छ । तीन सय ११ वटा सामुदायिक वन उपभोक्ता समूह छन् ।

  • रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

    रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

    काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरुआत गर्दैछ ।
    दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरेका छन् ।

  • चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

    चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

    काठमाडौँ, ३ चैतः कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।


    स्थलगत अध्ययन प्रक्रियाले किसानद्वारा उत्पादित धानको सही मूल्य सुनिश्चित गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रतिक्विन्टल मूल्य प्रस्ताव गर्ने विभागका महानिर्देशक सञ्जेलले बताए । “उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुन्छ । त्यसपछि मन्त्रिपरिषद्बाट निर्णय भएपछि सार्वजनिक गरिनेछ । सोही आधारमा धानको चिस्यान मापदण्डसमेत मूल्याङ्कन गरिनेछ”, विभागका महानिर्देशक प्रकाश सञ्जेलले भने ।


    धानको १८ प्रतिशतसम्म चिस्यान भएमा तोकिएको मूल्य लागू हुने जनाउँदै उनले १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा तौल घटाउने नियम लागू गरिने उल्लेख गरे । उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्नेछ । यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिए ।


    सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद हुने जनाएको छ । सरकारले गत वर्ष प्रतिक्विन्टल दुई हजार ८०० समर्थन मूल्य तोकेको थियो ।

  • समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

    समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

    काठमाडौँ, ३ चैतः निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।

    राजनीतिक दलकोतर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको छ । आयोगले राजनीतिक दलकोतर्फबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आज उपलब्ध गराइदिन आग्रह गरेको छ ।

    गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।

    कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ ।