Category: समाचार

  • दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    रासस
    घोराही (दाङ), ८ चैतः यहाँको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत् सेवाको पहुँच पुगेको छ । विद्युत् सेवा विस्तारसँगै स्थानीय खुसी भएका छन् । सैघा बोल्दीका स्थानीय धनबहादुर सार्कीका अनुसार गाउँमा विद्युत् सेवा पुगेपछि सबैभन्दा राहत भएको छ । उनको घरमा करिब एक महिनाअघि मात्र विद्युत्को सेवा पुगेको हो । “पहिले अँध्यारोमा बस्नुपथ्र्यो । बालबालिकाले टुकी वा सोलारको भरमा पढ्नुपथ्र्यो”, उनले भने, “अहिले घरमा बत्ती बल्दा सहज भएको छ ।”

    उनका अनुसार मोबाइल चार्ज गर्नकै लागि करिब ३० मिनेट टाढाको गाउँ जानुपर्ने बाध्यता थियो । गाउँमा विद्युत् पुगेपछि अहिले त्यो समस्या अन्त्य भएको छ । घरमा कोही बिरामी पर्दा रातिको समयमा उज्यालोको व्यवस्था गर्न कठिन हुने गरेको थियो । एकपटक बिरामी पर्दा घोराही बजारबाट सोलार ल्याएर बालेको दिन अझै सम्झनामा छ ।

    उपमहानगरपालिकाभित्र बसोबास गरे पनि आधारभूत सेवा नपाउँदा आफूहरू उपेक्षित महसुस गर्दै आएको उनको गुनासो छ । स्थानीयहरूका अनुसार विद्युत् सेवा नहुँदा साना व्यवसाय सञ्चालन गर्न पनि असहज थियो । मिल, सिलाइकटाइ, कम्प्युटर सेवा, वेल्डिङजस्ता काम सम्भव थिएनन् । अब भने केही सहज भएको छ । युवाहरूले गाउँमै केही गर्न सक्ने वातावरण बन्दै गएको स्थानीयको भनाइ छ ।

    घोराही–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले वडाका सबै बस्तीमा विद्युत् सेवा विस्तार गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए । यसका लागि आफू लागिपरेको उनले बताए । आफू निर्वाचित भएपछि २०७९ सालमा रु तीन करोड ६७ लाख लागतमा ठेक्का आह्वान गरी विद्युतीकरणको काम सुरु गरेको उनी बताउँछन् ।


    त्यसअघि प्रयास गरिए पनि सार्थकता पाउन सकेको थिएन । बाँकी रहेका ठाउँमा विद्युत् पुर्याउन २०८० सालको अन्त्यतिर पुनः अर्को ठेक्का प्रक्रियामार्फत कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए । तर ठेक्दार कम्पनीले समयमा काम नगर्दा योजना प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उनले बताए । नागरिकको घरमा छिटो विद्युत् पुर्याउने आफूहरूको योजनामा यसले समस्या भएको अध्यक्ष रायमाझीको भनाइ छ ।

    उनका अनुसार सैघामा धेरै बस्तीमा बिजुली बलेको छ तर लिथान, सातम, डाँडागाउँ, पाँचपोखरी र धनचौरलगायत बस्तीमा अझै सेवा पुग्न सकेको छैन । ती क्षेत्रमा काम छिटो सम्पन्न गर्न दबाब दिइरहेको उनले बताए । स्थानीयको अपेक्षा भने अब विद्युत्सँगै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्नेछ । यस वडा पहाडी क्षेत्र भएकाले सडक, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा समेत सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

  • राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    काठमाडौँ, ८ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन् । विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।


    राष्ट्रपति पौडेलले भने, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो, मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनयापनका हरेक पक्षलाई दिशानिर्देश गरेको छ । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए, वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ ।”

    भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको र जसले पारिस्थितिकीय प्रणालीलाई दिगो बनाउने र नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनास, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गइरहेको उनको भनाइ छ ।

    सन्देशमा भनिएको छ, “भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की भौतिक संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ, साथै अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ ।” भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाहरूको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

    समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखलाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदै छ ।

  • हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    मुस्ताङ, ८ चैतः मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो ।

    घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो । शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भूभाग सबै हिउँले ढाकिएका छन् ।

    घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमाथि ठूलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । घरपझोङ–५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले हिउँले ठिनी गाउँमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिए ।


    पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकामा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई राहत मिलेको च्याङबहादुर थकाली बताउँछन् । हुरीबतासबिनाको हिउँ परेकाले चरन क्षेत्रमा पूरै हिउँले ढाकिँदा पर्याप्त मात्रामा पशुचौपायाका लागि घाँस पलाउने उनको भनाइ छ ।

    मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुनाले पशुपालन व्यवसाय नै सङ्कटमा पर्न थालेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण उच्च लेकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै जान थालेकाले उच्च लेकमा अनधिकृत घाँस पलाउने गर्दा पशुचौपायालाई असर पुर्याउने गरेको किसान थकालीले उल्लेख गरे । त्यसैगरी, अनुकूल समयमा हिमपात भएकाले चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत कम हुने किसान थकालीको भनाइ छ ।

    यस्तै, यस वर्षको अनुकूल हिमपातले यहाँका कृषि पेसा अपनाउँदै आइरहेका किसानलाई पनि ठूलो राहत पुर्याएको छ । अनुकूल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँदयामको हिउँ किसानका लागि बरदान भएको थकालीले सुनाए । खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौँ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदैछ, उनले भने, यसपटक लगातार छपटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस् ।”

    अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूलखेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अग्र्यानिक विषादी भएकाले यहाँका किसान उत्साहित भएको उनले जनाए । मुस्ताङमा पर्यटकीययाममा जारी सिजनको छैटाँैपटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि उत्साहित भएको पाइएको छ । किसान थकालीले पर्यटकयाममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने दाबी गरे ।

  • आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    काभ्रेपलाञ्चोक, ८ चैतः काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा अहिले किसान धमाधम आलु खनिरहेका छन् । खेतका गह्राभरि आलुका बोरा ठडिएका छन् । सडक छेउमा पनि आलुको चाङ लागेको देखिन्छ । तर किसान भने खुसी देखिएका छैनन् । बजार मूल्य खस्किँदो छ । खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् ।

    “आलुको भाउ त घटेकै छ, तर व्यापारी पनि खेतबारीमा आउँदैनन्, व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ”, पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले भने, उनका अनुसार अहिले आलु प्रतिकिलो रु सातदेखि रु १० सम्ममा बिक्री भइरहेको छ । आलु सस्तोमा बिक्री गर्नुपर्दा किसान आलु ‘खन्ने या नखन्ने’ अलमलमा देखिन्छन् । सापकोटा भन्छन्, “खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।” यस वर्ष आलुको मूल्य घटेकाले लागत उठ्न हम्मेहम्मे हुने अगुवा किसान सापकोटा बताउँछन् । उनका अनुसार केही किसानले आफैँ काठमाडौँको कालीमाटीस्थित तरकारी बजार लैजाँदा आलु नबिकेकाले व्यापारीकै भाउमा छाडेर आउनुपरेको छ । यसकारण पनि किसानको लगानी जोखिममा परको छ ।

    अन्य बालीको तुलनामा आलुखेतीमा लागत खर्च बढी हुने गर्दछ । जमिन तयारी, प्राङ¬्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब गर्दा प्रतिकिलो रु १८ देखि रु २० सम्म पर्छ । विगत वर्षमा यही समयमा प्रतिकिलो रु २८ देखि रु ३५ सम्ममा आलु बिक्री हुने गरेको थियो । “छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकिलो रु १० सम्ममा बेचियो, तर पैसा समयमै पाइने÷नपाइने चिन्ताकै अवस्था छ”, स्थानीय विजय पराजुलीले भने ।


    पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब रु ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने आँकलन गरिएको छ । सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, सरकारबाट बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्नसके किसानको समस्या हल हुनसक्ने स्थानीय दामोदर अधिकारीको भनाइ छ ।

    मण्डनदेउपुर नगरमा किसान झरी, बादल, घाम नभनी धमाधम आलु खनिरहेका भेटिन्छन् । मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षीय पशुपति श्रेष्ठ भन्छन्, “यस वर्ष आलु गत वर्षभन्दा झण्डै दोब्बरले फलेको पाइयो, तर भाउ भने घटिरहेको छ, किसानलाई दुखैदुःख छ ।” ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक रूपमा आलुलगायत तरकारीखेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । उक्त फाँटमा यस सिजनमा दुई सय रोपनी जग्गामा आलु रोपिएको स्थानीय किसान नारायण श्रेष्ठले बताउनुभयो । उहाँले करिब १२ रोपनी जमिनमा आलु रोप्न थालेको पाँच वर्ष भइसक्यो ।

    श्रेष्ठ भन्छन् । “गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, अहिले भाउ पोहोरको भन्दा तेब्बरले घट्यो ।” यतिबेला मण्डनदेउपुरका ज्वाँनेटार, जोगिटार, माइटार, कुन्ताबेँसी तथा चाखोलाका हजारौँ रोपनी खेतबारीमा आलुखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ ।

    यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौँको बजारमा पुर्याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । यसमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडी बताउँछन् ।

  • अमेरिकी डलरको मूल्य १५० रुपैयाँ माथि, अन्यको कति ?

    अमेरिकी डलरको मूल्य १५० रुपैयाँ माथि, अन्यको कति ?

    काठमाडौँ, ८ चैत स् नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०१ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९० रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग

    इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग

    लण्डन, ८ चैत (रासस–सिन्ह्वा) । बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा जानकारी दिएको हो । वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो ।

    साथै बेलायतले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सुरक्षित गर्ने योजना बनाइरहेको जनाएको छ । यद्यपि, बेलायतले आफू ‘ठूलो द्वन्द्वमा तानिन नचाहेको’ स्पष्ट पारेको छ । यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार बेलायती समकक्षीलाई चेतावनी दिँदै अमेरिका र इजरायलको इरानविरुद्धको आक्रमणमा सहयोग नगर्न आग्रह गरेका छन् । उनले यस्तो सहयोगले क्षेत्रीय तनाव थप चर्काउने बताए ।


    गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान सहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा अली खामेनेई सहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इरानले जवाफस्वरूप इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणहरू गरेको जनाएको छ ।

  • इरानमाथि दबाब क्रमिक रूपमा घटाइने

    इरानमाथि दबाब क्रमिक रूपमा घटाइने

    वासिङ्टन, ८ चैत (रासस–सिन्ह्वा) । डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा भने, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।” ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्‍याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर्ने, परमाणु क्षमता प्राप्त गर्नबाट रोक्ने र क्षेत्रका अमेरिकी सहयोगीहरूलाई सुरक्षा प्रदान गर्ने समावेश छ ।

    तर ट्रम्पले शान्ति समझौता चाहँदैनन् भने पनि संवादको विकल्प खुला राखेको बताएका छन् । उनले पत्रकारहरूसँग भन्नुभयो, “तपाईं शान्ति समझौतामा जान सक्नुहुन्छ, तर म शान्ति समझौता गर्न चाहन्न । जब तपाईं अर्कोपक्षलाई पूर्ण रूपमा नष्ट गर्दै हुनुहुन्छ, तब यो सम्भव हुँदैन ।” ट्रम्पले इरानको नौसेना र वायुसेना ध्वस्त भइसकेको र उनका नेता सबै स्तरमा मारिएका बताए । हर्मुज जलमार्ग सम्बन्धमा ट्रम्पले यसलाई प्रयोग गर्ने देशहरूले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । अमेरिका आवश्यक परे सहयोग गर्नेछ ।

    पूर्वै ट्रम्पले नाटोका सहयोगीहरूलाई पनि ‘कायर’ भनेका थिए र युरोपले यस युद्धमा प्रत्यक्ष भूमिका नलिनेतर्फ संकेत गरेको छ । काजा कलासले भने । “यो युरोपको युद्ध होइन, तर युरोपका हित सिधै जोखिममा छन् ।” गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ढुवानीमा अवरोध, तेल मूल्य वृद्धि र आर्थिक प्रभाव देखिएको थियो ।

  • दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

    काठमाडौँ, ७ चैतः जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् १९७५ यता हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको छ । यसले ‘एसियाका वाटर टावर’ (पानीका स्रोत)बाट बग्ने पानीमा निर्भर तल्लो तटीय क्षेत्रका झन्डै दुई अर्ब मानिसका लागि खतराको सङ्केत देखाएको छ ।

    प्रतिवेदनहरूले यस क्षेत्रमा भइरहेको हिमनदी परिवर्तनको हालसम्मकै सबैभन्दा विस्तृत प्रमाण प्रस्तुत गरेका छन् । ‘सन् १९९० देखि २०२० सम्म हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीको परिवर्तनशील गतिशीलता’ र ‘हिन्दुकुश हिमालय (एचकेएच) हिमनदी परिदृश्य २०२६ : हिमाली हिमनदी अनुगमनको ५० वर्षका अन्तर्दृष्टि’ नामक उक्त प्रतिवेदनहरू इसिमोडले विश्व हिमनदी दिवसको अवसरमा शनिबार सार्वजनिक गरेको हो ।

    हिन्दुकुश हिमालयमा ध्रुवीय क्षेत्र बाहिर सबैभन्दा बढी हिउँ रहेको छ, जहाँ ६३ हजार ७०० भन्दा बढी हिमनदीहरूले करिब ५५ हजार ७८२ वर्ग किलोमिटर क्षेत्र ओगटेका छन् । यी हिमनदीहरू एसियाका कम्तीमा १० प्रमुख नदी प्रणालीका स्रोत हुन्, जसले अर्बौं मानिसको खाद्य, पानी, ऊर्जा र जीविकोपार्जनको सुरक्षामा सहयोग पु¥याउँछन् । समुद्री सतहबाट चार हजार ५०० देखि छ हजार मिटर उचाइमा रहेका करिब ७८ प्रतिशत हिमनदी क्षेत्रहरू ‘उचाइमा आधारित बढ्दो तापक्रमको उच्च जोखिम’मा रहेका प्रतिवेदनमा उल्लेख छ ।

    “यो कुनै टाढाको समस्या होइन, यो त हरेक गर्मी र मनसुनमा नयाँ विपद्का रूपमा प्रकट भइरहेको वास्तविक सङ्कट हो । यस शताब्दीमा हिउँ पग्लिने दर दोब्बर हुनुले हामी सबैलाई स्तब्ध बनाउँदै कार्यका लागि प्रेरित गर्नुपर्छ, “इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले भन्नुभयो, “हिन्दुकुश हिमालय अहिले एउटा दोबाटोमा छ । पानीको अनिश्चिततादेखि विनाशकारी बाढीसम्मका तीव्र रूपमा बढ्दो प्रभावहरूले हामी हिउँमण्डलका लागि निर्णायक दशकमा छौँ भन्ने स्पष्ट पारेको छ । हामीले अहिले नै अनुगमन बढाउन र अनुकूलनमा लगानी गर्नुपर्छ । यी ‘ब्लाइन्ड स्पट’ ९जानकारीविहीन क्षेत्र०बाट सुरु हुने अनपेक्षित घटना रहेनन्, यो हाम्रो नयाँ यथार्थ हो ।”

    हिमनदीको १२ प्रतिशत क्षेत्रफल ह्रास

    विस्तृत विश्लेषणले सन् १९९० र २०२० को बीचमा हिन्दुकुश हिमालयका हिमनदीले आफ्नो कूल क्षेत्रफलको करिब १२ प्रतिशत र अनुमानित हिउँ भण्डारको नौ प्रतिशत हिस्सा गुमाएको देखाएको छ । इसिमोडका रिमोट सेन्सिङ विश्लेषक तथा हिमनदी गतिशीलता प्रतिवेदनका मुख्य लेखक सुदनविकास महर्जनका अनुसार सबैभन्दा तत्कालको खतरा यस क्षेत्रका साना हिमनदीहरूबाट छ ।

    “सन् १९९० र २०२० को बीचमा हिमनदीले कूल क्षेत्रफलको करिब १२ प्रतिशत हिस्सा गुमाए तापनि यो क्षति शून्य दशमलव पाँच वर्ग किलोमिटरभन्दा साना हिमनदीहरूमा सबैभन्दा तीव्र छ, “विश्लेषक महर्जनले भन्नुभयो, “यसले उच्च हिमाली समुदायका लागि स्थानीयस्तरमा पानीको अभावको तत्काल जोखिम निम्त्याउँछ र हिमताल विष्फोटजस्ता खतरालाई तीब्र बनाउँछ । यस क्षेत्रका तीन–चौथाइ हिमनदी यही जोखिमपूर्ण आकारमा रहेकाले खतरा झन बढी छ ।”

    एचकेएच हिमनदी परिदृश्य प्रतिवेदनले ३८ वटा अनुगमन गरिएका हिमनदीहरूको तथ्याङ्कलाई सङ्कलन गरेको छ । जसले सन् २००० पछि हिउँको व्यापक ह्रास भएको देखाएको छ । यसले हिमाली हिउँमण्डलका केही भागहरू अपरिवर्तनीय विनाशतर्फको ‘टिपिङ पोइन्ट’ (निर्णायक मोड) नजिक पुगेको सङ्केत गर्छ । यद्यपि प्रतिवेदनले तथ्याङ्कमा रहेको एउटा ठूलो खाडललाई औँल्याएको छ । ती ३८ मध्ये केवल सात वटाले मात्र विश्व हिमनदी अनुगमन सेवा ९डब्लुजिएमएस०को विश्वव्यापी बेन्चमार्क मापदण्ड पूरा गरेका छन् । काराकोरम, सिक्किम, जान्स्कर र भुटानजस्ता प्रमुख हिमनदी क्षेत्रहरू अझै पनि अनुगमनको दायराभन्दा बाहिर छन् ।

    “हामी एक अधुरो नक्साको सहयोगमा तीव्र रूपमा परिवर्तन भइरहेको भविष्यतर्फ अघि बढ्न खोज्दैछौँ, “इसिमोडका हिउँमण्डल विशेषज्ञ तथा प्रतिवेदनका लेखकमध्येका एक मोहम्मद फारुक आजमले भन्नुभयो, “हिमालयको ठूलो हिस्सा अझै पनि अनुगमनको पहुँच बाहिर छ ।

    अनुगमन संयन्त्र विस्तार र पद्धतिमा एकरूपता नल्याई जलप्रवाह र हिउँमण्डलमा आएको तीव्र परिवर्तन पत्ता लगाउन कठिन हुन्छ । नेपालका ‘मेरा’ र ‘रिखा साम्बा’ तथा भारतको छोटा सिग्रीजस्ता प्रतिनिधिमूलक हिमनदीको निरन्तर अनुगमन महत्त्वपूर्ण छ, तिनीहरू सम्पूर्ण पर्वतीय प्रणालीका लागि हाम्रा ‘प्रारम्भिक चेतावनी’ सूचक हुन् ।”

    सबैभन्दा ठूलो क्षति सिन्धु, गङ्गा र ब्रह्मपुत्र बेसिनमा

    प्रतिवेदनले हिमनदीको क्षति भौगोलिक रूपमा फरक फरक रहेको देखाएको छ । पूर्वी ‘हेङ्दुआन शान’ पर्वतमालामा सबैभन्दा उच्च प्रतिशत ह्रास देखिएको छ, जहाँ केही क्षेत्रले केवल तीन दशकमा ३३ प्रतिशतसम्म हिमनदी क्षेत्र गुमाएका छन् । तर सबैभन्दा ठूलो क्षति सिन्धु, गङ्गा र ब्रह्मपुत्र बेसिनहरूमा केन्द्रित छ, जहाँ यस क्षेत्रका ७४ प्रतिशतभन्दा बढी हिमनदी अवस्थित छन् ।

    दश वर्ग किलोमिटरभन्दा ठूला हिमनदीले यस क्षेत्रको प्राकृतिक जल भण्डारको करिब ४० प्रतिशत हिस्सा ओगटेका छन् । पच्चिस ठूला हिमनदीमध्ये १८ वटा रहेको काराकोरम पर्वतशङ्खला दीर्घकालीन जल, खाद्य र विपद् जोखिमका हिसाबले उच्च जोखिममा छ, जसको प्रभाव समग्र क्षेत्रमा पर्नेछ ।

    सन् २०२५ लाई ‘हिमनदी संरक्षणको अन्तरराष्ट्रिय वर्ष’ र सन् २०२५–२०३४ लाई ‘हिउँमण्डल विज्ञानका लागि कार्य दशक’ घोषणा गरिएको सन्दर्भमा, यी निष्कर्षहरूले कार्यको तत्काल आवश्यकतालाई गम्भिर रूपमा स्मरण गराएका छन् । प्रतिवेदनका लेखकहरूले हिमनदी अनुगमनको दायरा बढाउन, पद्धतिहरूको सुदृढीकरण गर्न र द्रुत रूपमा परिवर्तन भइरहेको हिउँमण्डलको प्रभाव न्यूनीकरणका लागि जलवायु–उत्थानशील अनुकूलन योजनामा ठूलो लगानी गर्न आह्वान गरेका छन् ।

    हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्र एसियाभरि तीन हजार ५०० किलोमिटरमा फैलिएको छ । जसले अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानलाई समेट्छ । उच्च हिमाली शृङ्खला, मध्यपहाडी क्षेत्र र समथर भूभाग समेटिएको यो क्षेत्र झण्डै दुई अर्ब मानिसहरूको खाद्य, जल र ऊर्जा सुरक्षाका लागि महत्वपूर्ण छ । यो अनगिन्ती अतुलनीय प्रजातिहरूको वासस्थान पनि हो । यो क्षेत्र अत्यन्तै संवेदनशील छ । जलवायु परिवर्तन, प्रदूषण, र जैविक विविधताको विनाशजस्ता ‘त्रिपक्षीय ग्रह सङ्कट’को प्रभावबाट उच्च जोखिममा छ ।

  • पाथीभरामा पाँचौँ पटक हिमपात

    पाथीभरामा पाँचौँ पटक हिमपात

    ताप्लेजुङ, ७ चैतः ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ ।

    हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् । हिमपातसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन् ।

  • हिउँमा फसेका २५० यात्रुको उद्धार

    हिउँमा फसेका २५० यात्रुको उद्धार

    ढोरपाटन (बागलुङ), ७ चैतः भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिए । उनका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यमा परेका थिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे । उनले भने, “शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो । हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित खटेका थियौँ, सडक खुलाएर यात्रु पनि गन्तव्यतिर लागेका छन् ।”

    इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात नरोकिएको बताए । काठमाडौँ, पोखरालगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेखलगायत स्थानमा पुग्ने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको उनले बताए ।

  • उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

    उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

    काठमाडौँ, ७ चैतः उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो । चुनाव हुनेमा धेरैतिरबाट आशङ्का व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउनसक्नु चानचुने सफलता नभएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।’

    “चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ,” अध्यक्ष घिसिङले भने, “तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ । यसैमा खुसी छु । यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ । अब संसद्मा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।”

    प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै सरहाना गरिन् । यस्तै यस सरकारको सफलताका लागि घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन् । त्यस अवसरमा उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिकीकरणको माग पनि गरेको छ ।

  • प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

    प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

    रासस
    काठमाडौँ, ७ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा रु एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर अनुदान छुट्याउन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले वित्तीय समानीकरण अनुदानको रकम प्रदेश सरकारको हकमा रु ६१ अर्ब ५० करोड ३२ लाख र स्थानीय सरकारलाई रु ९० अर्ब २० करोड ४६ लाख बराबर उपलब्ध गराउन सिफारिस गरेको हो ।


    सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका लागि आयोगले नेपालको संविधान २०७२ को धारा ६०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार सिफारिस गर्दै आएको छ ।

    आयोगले यसरी वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानका वर्गीकरण गर्ने गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान रु १५ अर्ब ३७ करोड ५८ लाख निर्धारण गरिएको छ । जुन प्रदेश सरकारले पाउने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशत हुन आउँछ ।

    जनसङ्ख्या र क्षेत्रफललाई समान ५०÷५० प्रतिशत भार दिई प्रदेशले पाउने न्यूनतम अनुदानको हिस्सा निर्धारण गरिएको पनि आयोगले जनाएको छ । आगामी आर्थिक वर्षका लागि न्यूनतम अनुदान शीर्षकमा कोशी प्रदेशका लागि रु दुई अर्ब ८२ करोड ६४ लाख, मधेशका लागि रु एक अर्ब ९० करोड ६० लाख, बागमतीका लागि रु दुई अर्ब ७५ करोड ४२ लाख र गण्डकीका लागि रु एक अर्ब ८२ करोड २७ लाख बराबर सिफारिस गरिएको छ । त्यस्तै, लुम्बिनीका लागि रु दुई अर्ब ४६ करोड ५७ लाख, कर्णालीका लागि रु एक अर्ब ७८ करोड ७४ लाख र सुदूरपश्चिम प्रदेशका लागि रु एक अर्ब ८१ करोड ३४ लाख बराबर सिफारिस गरिएको छ ।

    आगामी आर्थिक वर्षका लागि स्थानीय तहले प्राप्त गर्ने न्यूनतम समानीकरण अनुदान रु ३० अर्ब ८३ करोड निर्धारण गरिएको पनि आयोगले जनाएको छ । जुन स्थानीय सरकारले पाउने कुल वित्तीय समानीकरण अनुदानको ३४ दशमलव १८ प्रतिशत हुन आउँछ । सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानका लागि विभिन्न आधार तथा सूचकहरु तयार पारी त्यसको भार निर्धारण गरिएको आयोगको सिफारिसमा उल्लेख छ । जसमा मानव विकास सुचकाङ्कको १०, आर्थिक सामाजिक असमानताको ५, पूर्वाधार विकासको अवस्थालाई १५ र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमतालाई ७० प्रतिशत भार छुट्याइएको छ ।

    न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानको छुट्टाछुट्टै गणनी गरी कुल वित्तीय समानीकरण अनुदान निर्धारण गरिएको छ । यी तीनवटै शीर्षकको कुल अनुदानको रकम रु सात करोड भन्दा कम भएका स्थानीय सरकारलाई भने महानगरपालिकाहरुको सूत्रवापतको रकम कट्टा गरी थप गर्न पनि आयोगले सिफारिस गरेको छ । “चालीस वटा स्थानीय सरकारले न्यूनतम अनुदान र सुत्रमा आधारित अनुदानबाट रु सात करोडभन्दा कम रकम पाउने देखिएको छ ।

    अनुदान रकमले स्थानीय सरकारहरुको संविधान प्रदत्त जिम्मेवारी न्यूनतम रुपमा पूरा गर्न पर्याप्त नहुने ठहर गरी प्रत्येक स्थानीय सरकारहरुलाई न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी कम्तीमा रु सात करोड प्राप्त हुनेगरी स्थानीय सरकारहरुको आन्तरिक राजस्वको अवस्थासमेतको आधारमा महानगरपालिकाहरुको सूत्र बापतको रकममा करिब १० दशमलव ८० प्रतिशतले कट्टागरी उक्त रकम त्यस्ता ४० वटा स्थानीय सरकारको अनुदानमा थप गर्नुपर्नेछ”, आयोगको सिफारिसमा भनिएको छ ।

  • निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

    निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

    काठमाडौँ, ७ चैतः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन् । हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । उनी गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेका थिए ।

  • मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

    मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

    काठमाडौँ, ७ चैतः शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताए । पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ ।

    अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको र यो पनि विस्तारै हट्ने उनको भनाइ छ । अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उनले बताए ।


    विभागको अभिलेख अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र मधेशप्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागको पछिल्लो २४ घण्टे विवरणमा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीमा ७५.२, मोरङमा ६३.८ र धनकुटामा ६३.२, कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ ।

  • बुटवल-नारायणगढ सडक अवरुद्ध

    बुटवल-नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु (नवलपरासी), ७ चैतः वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल(नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो ।

    दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सड्क हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन पार हुन नसक्दा सवारीको जाम लागेको छ ।

    “हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, प्रहरी उपरीक्षक खड्काले भने, “पूर्वबाट पश्चिम जाने सवारीहरू उकालोमा चिप्लिएकाले अहिले सडक अवरुद्ध भएको छ ।” दाउन्ने खण्डमा सडक अवरोध भएकाले सवारी आवागमनमा समस्या भएको जनाउँदै मर्मत सञ्चालनको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

    यसैबीच नारायणघाट–बुटवल सडक आयोजना कार्यालयले यही चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको हो । अहिले साना तथा लामो दूरीका यात्रुवाहक र आकस्मिक सेवाका सवारीसाधन सञ्चालन भइरहे पनि समस्या भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

  • भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    काठमाडौँ, ७ चैतः काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

  • निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

    निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

    काठमाडौँ, ७ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप०) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २८६ घटना दर्ता भएका जनाएको छ । निर्वाचनपछि १९ घटना भएका प्रतिवेदनमा उल्लेख छ ।

    निर्वाचन प्रचारका क्रममा रौतहटको ईशनाथ नगरपालिका–४ मठियाटोलमा गत माघ २२ गते एकजना ४ वर्षीय बालिकाको गाडी ठक्करबाट मृत्यु भएको थियो। धनुषा जिल्ला मिथिला नगरपालिका–९ मा २०८२ फागुन १९ गते पुलमाथि राखिएको शङ्कास्पद वस्तु विस्फोट हुँदा १५ वर्षीया बालिका आशा भुजेल र आठ वर्षीय बालक सुशील माझी घाइते भएका थिए । पाँचथरको फिदिम र कास्कीको अन्नपूर्ण गाउँपालिकाको विद्यालयमा निर्वाचनअघि सुरक्षा निकायले हतियार सहित प्रवेश गरेको घटना पनि दर्ता भएको थियो ।

    अध्ययनले निर्वाचनपूर्व राजनीतिक प्रचारप्रसारमा बालबालिकालाई झण्डा र चिह्न बोकेर जुलुस तथा आमसभामा सहभागी गराउने, राजनीतिक नाराहरू लगाउने, प्रचार सामग्री वितरण गर्ने, राजनीतिक पोशाक लगाउने, गीत तथा नृत्य कार्यक्रममा भाग लिन लगाउने जस्ता गतिविधिहरू गरिएको थियो । कतिपय घटनामा बालबालिकामार्फत प्रचार भिडियो र सामाजिक सञ्जाल सामग्री निर्माण गरी मत माग्ने वा विशेष दलको समर्थन गर्ने सन्देश सम्प्रेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    विद्यालय पोशाकमै विद्यार्थीहरूलाई जुलुसमा सहभागी गराउने, राजनीतिक नेताहरूले विद्यालय भ्रमण गर्ने, विद्यालय नजिक चुनावी कार्यक्रम सञ्चालन हुने र बस प्रयोग हुने जस्ता गतिविधिले विद्यालयलाई बालमैत्री र राजनीतिक रूपमा तटस्थ स्थान बनाउन चुनौती पु–याएको अध्ययनले देखाएको छ । अभियानका अध्यक्ष तिलोत्तम पौडेलका अनुसार यस्ता क्रियाकलापले निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन गरेका छन् ।

    अभिभावकले बालबालिकामार्फत मत माग्ने भिडियो बनाउने, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले बालबालिकालाई राजनीतिक सामग्रीमा प्रयोग गर्ने, बालबालिकाले राजनीतिक सन्देश दोहो¥याउने वा प्रतिस्पर्धी दलको आलोचना गर्ने र भिडियो सामग्रीबाट आर्थिक लाभ उठाउने जस्ता गतिविधिले बालबालिकालाई जोखिममा राखेको प्रतिवेदनले औँल्याएको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले चुनावमा मतदान अधिकृत रूपमा भूमिका निभाउँदै गर्दा बालबालिकाको दुरुपयोगको अवस्था कम गर्न सकिएको बताउँदै सरोकारवाला निकायको सहकार्य र खबरदारीका कारण यो सम्भव भएको बताउनुभयो । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम संयोजक श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्न कानुनी रुपमा नै कडा व्यवस्था ल्याउनुपर्ने बताउनुभयो ।

    राष्ट्रिय माव अधिकार आयोगका खिमानन्द बस्यालले विगतको निर्वाचनको तुलनामा यसपालीको निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग केही कम भए पनि सुधारका धेरै काम बाँकी रहेको बताउनुभयो । निर्वाचन आयोगले केही उल्लङ्घनको सम्बन्धमा कारबाही गरेको थियो। श्रम संस्कृति पार्टीलाई दफा १३ को उपदफा ९१० को खण्ड ९घ० उल्लङ्घन गरेकोमा रु २५ हजार जरिवाना गरेको छ । जाजरकोट क्षेत्र नं १ का उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि समान प्रावधान उल्लङ्घन गरेकोमा रु २५ हजार जरिवाना गरिएको आयोगले जनाएको छ ।

    निर्वाचनअघिको तुलनामा मतदानको दिन बालबालिकासम्बन्धी प्रत्यक्ष उल्लङ्घनका घटना न्यून देखिएका थिए । मतदान केन्द्रको रूपमा विद्यालय भवनको व्यापक प्रयोगसम्बन्धी संरचनात्मक चुनौती देखा परेको छ । देशभरका १० हजार ९६७ मतदानस्थलमध्ये करिब ९ हजार ४५० विद्यालयमा स्थापना गरिएको थियो ।

    अध्ययनले राजनीतिक दल, राज्य निकाय, समुदाय र परिवार सबैको जिम्मेवार भूमिका आवश्यक रहेको सुझाएको छ। राजनीतिक दललाई चुनावी अभियान, जुलुस, प्रचार सामग्री तथा डिजिटल सामग्रीमा बालबालिकालाई प्रयोग नगर्न, बालअधिकारको सम्मान गर्दै बालमैत्री चुनावी अभ्यास अपनाउन र विद्यालय तथा बालबालिका केन्द्रित स्थानमा चुनावी गतिविधि नगर्न सिफारिस गरिएको छ ।

    प्रतिवेदनले निर्वाचन आयोगलाई बालबालिकाको प्रयोग निषेध गर्ने आचारसंहिताको प्रभावकारी अनुगमन, मतदाता शिक्षा कार्यक्रममा बालअधिकार सचेतना समावेश, सरकार र नीति निर्मातालाई कानुनी प्रावधान सुदृढ गर्ने, डिजिटल माध्यममा बालबालिकाको राजनीतिक प्रयोग रोक्न निर्देशिका बनाउन सुझाव दिएको छ ।

    अभियानले सुरक्षा निकाय, परिवार, विद्यालय र समुदायलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ। अध्ययन सन् ५० जिल्लाका १०७ सदस्य संस्था, सातवटै प्रदेशका प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ, बालबालिका क्षेत्रका विभिन्न सञ्जाल र नागरिक समाजको सहकार्यमा गरिएको थियो । अध्ययनका निम्ति अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।

  • भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    रुकुम पूर्व, ७ चैत्र (रासस) । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

    अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

    अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हँुदा थप समस्या भएको छ । यद्यपि यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।

  • कीर्तिमानी दरमा पुग्यो डलरको मूल्य

    कीर्तिमानी दरमा पुग्यो डलरको मूल्य

    काठमाडौँ, ७ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जुन नयाँ कीर्तिमान हो । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिड एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाइक एकको खरिददर १९० रुपैयाँ १ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

    यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीवर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    केन्द्रीय बैड्ङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नो रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैया ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस कोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हडकड डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ४९० रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र विक्रिदर ३९० रुपैयाँ २३ पैसा रहेको छ ।

    भारतीय रुपैयां एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि सशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैडकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैड्डकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • आज ईद उल फित्र पर्व मनाइँदै

    आज ईद उल फित्र पर्व मनाइँदै

    काठमाडौँ, ७ चैतः अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।

    खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले राससलाई जानकारी दिए । शनिबार बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।

    यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको पनि उनले बताए । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।

    आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गरिने उनले बताए । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

  • बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरा, ६ चैतः लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ । मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ । हिमपात भएपछि बडिमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र बस्तीमा हिमपात भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिए ।


    उनका अनुसार हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायत क्षेत्रका स्थानीय बढी प्रभावित बनेका छन् । आज यहाँका डाँडा सेताम्मे भएका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी बढी प्रभावित भएका बताउँदै आवश्यक सर्तकता अपनाउन उनले सबैमा आग्रह गरे । बाक्लो हिमपातले बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैनलगायत अग्ला डाँडा सेताम्मे बनेका छन् ।

    यहाँका लेकाली भेगमा अहिले पनि हिमपात र भारी वर्षा भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले जानकारी दिए । उनका अनुसार जिल्लामा भारी वर्षा भइरहेकाले बाढीपहिरो र भूक्षयको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसधारणलाई आग्रह गरिएको हो । मौसम विभागले वर्षासँगै हुरीबतासको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध गरे ।

    लगातार वर्षा भएपछि चैते धानका लागि सिँचाइको व्यवस्था सहज भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गहुँको बाली पसाउने, ओसर, स्याउलगायत फलफूल पलाउने बेलामा वर्षा हुनु किसानका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए । “गहुँको बाला लाग्ने बेला भएको छ । फलफूलका बिरुवा फुल्ने बेलामा आएको वर्षाले राहत दिएको छ । चैते धान लगाउन पनि सिँचाइको रूपमा वर्षाले काम गरेको छ”, उनले भने । आज बिहानदेखि निरन्तर वर्षा भएपछि जिल्लामा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित बनेका छन् । चिसो बढेकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढ्यो

    वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढेको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तु बेँसी झर्ने भएकाले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएपछि जङ्गली जनावर घोरल, रतुवालगायत विभिन्न प्रजातिका जनावर न्यानो खोज्दै बेँसीतर्फ आउने भएका सोही मौकामा चोरीसिकारीको सम्भावना बढेको हो ।

    वन्जयजन्तु तथा जङ्गली जनावरको चोरीसिकारी नगर्न डिभिजन वन कार्यालयले सबैलाई आग्रह गरेको छ । जङ्गली जनावरको चोरीसिकारी भएमा वन ऐनअनुसार कानुनी कारबाही गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए । वन्यजन्तुको चोरीसिकारी रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

  • बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    भक्तपुर, ६ चैत । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसहित मन्त्रीहरूको टोलीले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन् । भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु पुगेर मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्रीलगायतले एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त गरेका हुन् ।

    उनीहरुले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे । त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि ओली निवास गुण्डु पुगेर उनलाई समवेदना व्यक्त गर्नुका साथै अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यसैगरी नेकपाका नेता एवं पूर्वमन्त्रीहरू लीलामणि पोखरेल र शशि श्रेष्ठ, प्रतिनिधिसभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित रास्वपा नेता राजीव खत्रीले पनि आज गुण्डु पुगेर ओलीलाई समवेदना व्यक्त गरे । ठमेल पर्यटन परिषदका अध्यक्ष ध्रुव अधिकारीलगायत विभिन्न दलका नेता तथा व्यवसायीहरुले ओली निवास पुगेर समवेदना व्यक्त गरे ।

  • संयोजक दाहाललाई प्रतिवेदन हस्तान्तरण

    संयोजक दाहाललाई प्रतिवेदन हस्तान्तरण

    काठमाडौँ, ६ चैत । नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक विष्णुपुकार श्रेष्ठले सो प्रतिवेदन संयोजक दाहाललाई बुझाएका हुन् । सो अवसरमा पार्टीका संयोजक दाहालले बुद्धिजीवी एवं पेसाकर्मीको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचन अगाडि र पछाडिका राजनीतिक परिस्थितिका बारेमा आफ्ना धारणा राखे ।


    उनले पार्टीलाई अब विचाराधारात्मक हिसाबले धारिलो बनाउँदै सङ्गठनलाई व्यवस्थित गरेर जनसरोकारका सवालमा परिचालन गर्न बुद्धिजीवीहरूबाट प्राप्त समीक्षा तथा सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । संयोजक दाहालले प्रतिवेदनलाई अध्ययन गरी पार्टीले जनसङ्घर्षलाई आधारभूत तहबाट अगाडि बढाउने बताए ।

    विभिन्न १५ वटा घटक बुद्धिजीवी एवं पेसाकर्मीलाई समेटेर गठन गरिएको समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासङ्घ, इन्जिनियरिङ एसोसिएसन, कानुन व्यवसायी सङ्गठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू समावेश गरिएको थियो । सो अवसरमा पार्टीका नेता नन्दकिशोर पुन, देवप्रसाद गुरुङ सहभागी थिए ।

  • पूर्वी नेपालमा वर्षा सुरु

    पूर्वी नेपालमा वर्षा सुरु

    काठमाडौँ, ६ चैत । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ ।
    जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले अहिले पूर्वी नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जानकारी दिए । अहिले देशभर नै मौसम बदली रहेको अन्य क्षेत्रमा हल्का वर्षा भइरहेकामा नेपालको मध्य क्षेत्रभन्दा पूर्वका विभिन्न जिल्लामा वर्षा भइरहेको उनले बताए ।


    वर्षामापन केन्द्रमा आज साँझ भएको रेकर्डअनुसार पछिल्लो तीन घण्टामा सिरहामा ३२.२, उदयपुरमा २४.८, मोरङमा २१.८, सिन्धुपाल्चोकमा २०.२, खोटाङमा ११.२ मिलीमिटर वर्षा भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा हल्कामात्रै वर्षा भएको छ । साँझ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात भएको छ । अहिले वर्षा पूर्वकेन्द्रित रहेको छ ।

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरमा ४६.४ मिलीमिटर वर्षा भएको छ । त्यसपछि काठमाडौँमा ४५.२ र दाङमा ४२.६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षाको नजिक हो । विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ जारी गरेको बुलेटिनअनुसार आज राति देशभर अधिकांश बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङ–असिना–हुरीबताससहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोसी, मधेस र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ ।

    त्यसैगरी, शनिबार देशभर अधिकांश बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन–चट्याङ–असिनाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार रातिदेखि भने विस्तारै मौसम खुल्दै जाने जनाइएको छ ।

  • चट्याङ लागेर गुल्मीका छ जना घाइते

    चट्याङ लागेर गुल्मीका छ जना घाइते

    गुल्मी, ६ चैतः वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

    घाइतेहरूको छाती, नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको मुसिकोट नगरपालिका वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइपुर्‍याइएको उनले बताए ।


    उक्त घटनामा स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीन वटा बाख्रासमेत मरेका छन् । घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । आजै दिउँसो मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङमा ६४ वर्षीय नारायण थापासहित उनका नातिनी तीन वर्षीया आस्मा गिरी र छ वर्षीया आशिका गिरीसमेत घाइते भएका सूचना अधिकारी सारुले जानकारी दिए । उनका अनुसार घाइतेहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

    उक्त घटनामा स्थानीय गोकर्ण थापाकोे एउटा बोकासमेत जलेर मरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्खाबाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

    देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

    काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित टोलीसँगको भेटमा उहाँले एनआरएनएका पहलमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । संसद्का नव निर्वाचित सदस्यहरूसँग समन्वय गर्न सुझाव दिँदै उनले आगामी सरकार यसप्रति सकारात्मक रहनेमा विश्वास प्रकट गरे ।

    मन्त्री शर्माले उक्त टोलीलाई बधाई दिँदै सङ्घ एकताबद्ध रहँदै १२औँ अन्तरराष्ट्रिय महासभा तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकामा खुसी व्यक्त गरे । परराष्ट्र सचिव अमृतबहादुर राईले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । एनआरएनए सरकारको विश्वासिलो साझेदार रहेकाले आगामी दिनमा सहकार्य गर्ने बताउँदै उहाँले नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएकामा खुशी व्यक्त गरे ।

    नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा सङ्घ र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिए । उनले सङ्घभित्र एकता कायम गर्न सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

  • दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

    दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

    त्रिवेणी (नवलपरासी), ६ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज एक सूचना जारी गरेको हो । सो सूचनामा पानी पर्दा यातायात सञ्चालनमा समस्या हुने हुँदा रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालन गरेमा थप समस्या निम्तिन सक्ने उल्लेख गरिएको छ ।

    सो सूचनाअनुसार यही चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो । छोटा तथा लामो दुरीका यात्रुवाहक बस र अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिने बताइएको छ । सडक योजनाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । आज दिउँसोदेखि भएको वर्षाले उक्त सडक खण्डमा चिप्लो हुँदा सवारीको जाम लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।

  • हुरीबताससहित वर्षा : मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

    हुरीबताससहित वर्षा : मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

    काठमाडौँ, ६ चैतः जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो । विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ । उनले मकवानपुर गढीमा ४४ दशमलवव दुई२ मिलीमिटर वर्षा भएको जानकारी दिए ।


    त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलीमिटर तथा कीर्तिपुरमा १६ दशमलव आठ मिलीमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताए । हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट विस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको उनले बताए । उनले आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे ।


    विभागका अनुसार हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् । विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आज राति र भोलिसम्म मधेस प्रदेशलगायत कोसी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागको अनुरोध छ ।

  • हुरीका कारण चितवनमा केरामा मात्र ४ करोड माथिको क्षति

    हुरीका कारण चितवनमा केरामा मात्र ४ करोड माथिको क्षति

    चितवन, ६ चैतः हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ ।

    सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उनले बताए । हुरीले भरतपुर महानगरपालिकाको वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३, कालिकाको वडा नं २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पु¥याएको छ । रेग्मीका अनुसार बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ ।

    उनले भने, “एउटा फार्ममा ८८ प्रतिशत क्षति भएको पायौँ । सबैको अवस्था त्यस्तो छैन ।” हुरीले मालभोग केरामा ठूलो क्षति पुगेको छ । मालभोग केरामा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको उनले जानकारी दिए । समग्रमा ४३ दशमलव ३५ प्रतिशत केरामा क्षति भएको उनले बताए । कार्यालयमा एक हजार ८०० हेक्टरमा लगाइएको केरा सूचीकृत गरिएको छ ।

    केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भने, “केराखेतीको बिमा सुरु हुने समय ढिलो हुने भएकाले पनि किसान मर्कामा परेका छन् ।” किसानले क्षतिपूर्तिसमेत पाउन कठिन हुँदा अझै समस्या हुने गरेको उनले बताए । उनका अनुसार गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन् । अहिलेको क्षतिपूर्ति त कहिले पाउने हो थाहा नभएको उनले बताए । अहिलेसम्म जिल्लामा केराखेती गरेका किसानले रु चार करोडको क्षतिपूर्ति माग गर्दै बिमा कम्पनीमा निवेदन बुझाएको उनले बताए । थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले यकीन तथ्याङ्क आउन समय लाग्ने बताए ।

    चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो यही चैत २ गते आएको हुरीका कारण जिल्लामा लगाइएको मालभोग केरामा ठूलो क्षति पुगेको छ । अहिले जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ । केरा सुपरजोनका रुपमा जिल्लामा काम हुँदै आएको बताउँदै उनले हुरीका कारण कति क्षत्रफलमा लगाइएको केरामा क्षति भयो भन्ने विषयमा सङ्घले तथ्याङ्क सङ्कलन गरिरहेको बताए ।


    केरामा हावाका कारण भएको क्षतिले केरा उत्पादक किसान चिन्तित भएको उनको भनाइ छ । गत वर्षमा वैशाखको अन्तिमतिर आउने हुरी यस वर्ष चाँडो आउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको उनले बताए । उनले भने, “केरा उत्पादन गर्ने किसानले बिमा गरेका छन् । तर बिमाबाट पाउने रकम ढिलो हुँदा अझै किसान निरास बन्दै गएका छन् ।” रत्ननगर नगरपालिका–११ निवासी कृषक बाबुराम भट्टले लगाएको छ बिघा केरामा क्षति पुगेको छ । जग्गा भाडामा लिएर केराखेती गर्दै आएका भट्ट चैत सुरु भएसँगै हुरीका कारण क्षति बेहोर्नु परेको बताउँछन् ।

    आफूले लगाएको केरा उत्पादन लिने समयमा हुरीले ढलाए पछि अहिले केरा बगान सरसफाइका लागि मजदुर लगाएर काम गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले लगाएको केरा अधिकांश ढलेको अवस्थामा पुगेको छ । प्रतिहेक्टर मालभोग २४ टन र जी नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा व्यावसायिक रुपमा ७०० किसानले केराखेती गर्दै आएका छन् ।

  • प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    जनकपुरधाम, ६ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छिन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गरे । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिएकी थिइन् ।

    पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताइन् । प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताइन् । उनले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन् ।

    उनले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । यसअघि जनकपुरधाम जनकपुरविमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिवसहित मधेस प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेललगायतले स्वागत गरे ।