Category: समाचार

  • लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

    लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

    काठमाडौँ, ९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नकिएपछि हेर्दाहेर्दैमा मङ्गलबारका लागि राखिएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए ।


    न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । साथै, आजका लागि पेसी तय भएको थियो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने

    न्यूयोर्कमा देवी प्रतिभाजीद्वारा वैदिक ज्ञानमय कथावाचन हुने

    योगेश आदी, न्युयोर्क

    नेपालको विभिन्नस्थानमा सामाजिक योगदानको लागि ज्ञान प्रवचन र धार्मिक कथावाचन गर्दै आउनुभएकी देवी प्रतिभाजीले क्रियापुत्री भवन गुम्बा निर्माणको हेतु न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा ३ दिने श्रीमद्भभागवत कथावाचन गर्ने भएको छ ।
    आगमी मे महिनाको १५ तारिखदेखि १७ तारिखसम्म गरिने वैदिक कथावाचन रेभेल इभेन्ट्सको सहकार्यमा हामी नेपाली इन्टरनेशनलले आयोजना गर्न लागेको रेभेल इभेन्ट्सको प्रवन्धक राजेश हमालले बताएको छ।
    कथावाचन यात्रा अमेरिकाको दौरान रहनु भएकी २३ वर्षीया देवी प्रतिभाजीले भारत तथा नेपालको विभिन्न स्थानमा वैदिक सनातन कथावाचन गर्दै आउनुभएकी छिन् । नेपालको काभ्रेमा जन्मनुभएकी देवीजीले नेपालको वाल्मिक विद्यापिठ हुँदै वृन्दावनसम्मको वैदिक ज्ञान हाँसिल गरेकी छिन् ।

    न्युयोर्कमा आयोजना हुने यस भागवत कथा अन्तर्गत कलश यात्रा, महाकलश यात्रा र रजतकलश यात्रा समेत हुने भएकोले सोको लागि स्थानसमेत बुक गर्न अनरोध गरिएको छ । कलश यात्रामा लाग्ने कलश इत्यादीवापत ३०१ देखि १००१ डलर सम्मको भेटी निर्धारण गरिएको छ ।

  • नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’

    नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’

    काठमाडौँ, ९ चैतः सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि सचिवालयको अनुरोध छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले यही चैत ११ गते राष्ट्रपति भवन शीतल निवासमा शपथ लिनेछन् । त्यसपछि यही चैत १२ गते निर्वाचित प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्य केसीले शपथ दिलाउनेछन् । नेपालको संविधानको धारा, ८८ मा ‘सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने’ व्यवस्था छ ।

    संविधानको धारा, ९१ ९५० मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । शपथ समारोहपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न (लोगो), संविधान, संसद् नियमावली, सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी सँगालोसहितका सामग्री उपलब्ध गराइनेछ ।

    सचिवालयका प्रवक्ता एकराम गिरिले नवनिर्वाचित सांसदको शपथको आवश्यक व्यवस्थापनतर्फ सचिवालय लागिरहेको जानकारी दिए । उनले भने, “सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरुको शपथ र अधिवेशनका प्रारम्भिक बैठक गर्ने तयारी भइरहेको छ ।”
    हलभित्रको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा पुगेको छ । सुरक्षालगायत विभिन्न पाटोबाट व्यवस्थापनको काम भइरहेको प्रवक्ता गिरिले स्पष्ट पारे । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ । अधिवेशन आह्वानपछि संसद् बैठकको तयारीमा लाग्ने सचिवालयले जनाएको छ ।

    निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सांसद सङ्ख्या फेरबदल भएसँगै सचिवालयले संसदीय दलको कार्यालय पनि सोहीअनुसार व्यवस्थापन गरिएको जनाएको छ । “सचिवालयभित्रै भएका संसदीय दलका कार्यालयलाई पार्टीको ‘स्ट्रेन्थ’ अनुसार व्यवस्थापन गरिएको छ”, प्रवक्ता गिरीले भने ।

    गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाली कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच तथा स्वतन्त्र सांसद एक जना निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको सचिवालयको भवन नं २ अन्तर्गत साबिकको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीका लागि व्यवस्था गरिएको छ ।

    यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालय भवनलाई नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयका रुपमा व्यस्थापन गरिएको छ । “त्यो अल्पकालीन व्यवस्था हो, निर्माणाधीन संसद् भवन सम्पन्न भएपछि सोही भवनभित्रै दलको कार्यालयहरु रहनेछन्,” प्रवक्ता गिरिले भने । नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’को समेत व्यवस्था गरिएको छ ।

  • १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

    १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

    काठमाडौँ, ९ चैतः खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो ।

    विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानी छन् । खानी अनुमतिपत्र प्रदान गर्ने नियमअनुसार उत्खनन अनुमति माग भएका कम्पनीमध्ये खानी प्रस्ताव अध्ययन गरी आवश्यकताअनुसार प्रक्रिया पूरा भएका विभागले निजी तथा स्वदेशमा दर्ता भएका विभिन्न अन्तरराष्ट्रिय कम्पनीका १६६ संस्थालाई अनुमति प्रदान गरेको सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।


    देशको खनिज सम्पदाको खोजतलास, अन्वेषण, विकास र उत्खननसमेत गर्दै आएको विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनमा प्रभाव नपर्ने, दर्ता तथा उत्पादनको अनुपातमा राजस्व सङ्कलन, स्थानीयको लाभ हुने गरी आवश्यक सर्तहरू तोक्ने गरेको जनाइएको छ । विभागले करिब एक सय चुनढुङ्गा खानीले उत्खननको इजाजत प्राप्त गरेको जनाएको छ ।

    भौगोलिक विकटता र यातायातको अभावलगायत कारणले देशमा खनिज सम्पदाको आवश्यक विकास हुन नसकेको सूचना अधिकारी बाँस्कोटाले जानकारी दिए । नेपालमा खनिज सम्पदाको विकास हुन नसक्नुका मुख्य कारणहरूमा पुँजी र आधुनिक प्रविधिको अभाव, भौगोलिक विकटता एवं नीतिगत समस्या पाइएको छ ।

    पूर्वाधारको कमी, खनिज सम्पदाको विस्तृत अन्वेषण हुन र वातावरणीय जोखिम, खनिज उत्खननका लागि आवश्यक महँगो प्रविधि, उपकरण र ठूलो पुँजीको अभाव, र लगानीमैत्री वातावरण नबन्नाका कारण खनिज उत्खनन चुनौतीपूर्ण बनेको छ । धेरैजसो खनिज पदार्थ दुर्गम र भिरालो स्थानमा रहेकाले उत्खनन पनि ढुवानीमा कठिन रहेको जनाइएको छ ।

  • साउन यता १७ गैंडा मरे

    साउन यता १७ गैंडा मरे

    चितवन, ९ चैतः चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २र२ वटा, अजिङ्गर, सुन गोहोरो १र१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् ।

    ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन् । यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकीएको उनले बताए । समुदाय स्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।

  • द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त

    द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त

    बेरुत, ९ चैत (रासस–सिन्ह्वा) । तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ। इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए।

    धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्, ती अधिकारीले भने। तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र व्यक्तित्वहरू विरुद्ध कानुनी कारबाहीसहित पूरा गर्नुपर्ने छवटा सर्त राखेको छ ।

    फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य इरानी शहरहरूमा संयुक्त आक्रमण गर्दा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले यसको इजरायल र मध्यपूर्वमा अमेरिकी आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलासहित प्रतिक्रिया दिएको थियो ।

  • व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

    व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

    भोजपुर, ९ चैतः यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहेका छन् । तामाङले सञ्चालन गरेको गाई फार्ममा हाल चार उन्नत जातका गाईरहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका उनले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।


    दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा बिक्री गर्दै उनले आम्दानी लिन सफल भएका छन् । दूध बिक्रीबाट सबै खर्च कटाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको उनको भनाइ छ । उनका अनुसार जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै बाँकी समयलाई कृषि तथा पशुपालनमा लगानी गर्दा आर्थिक रूपमा सुदृढ बन्न सकिन्छ ।

    “समय व्यवस्थापन गरेर काम गर्न सकियो भने सरकारी जिम्मेवारीसँगै उत्पादनमूलक क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ,” उनले भने, “युवाहरू वैदेशिक रोजगारीमा जानुभन्दा गाउँमै केही गरेर देखाउनुपर्छ भन्ने मेरो सन्देश हो ।” गाईपालनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न सहयोग पुग्नुका साथै थप लगानीका लागि प्रेरणा मिलेको उनले बताए । पछिल्लो समय दानापानी, औषधि तथा व्यवस्थापनमा हुने खर्च बढे पनि उचित योजना र मेहनतले राम्रो प्रतिफल लिन सकिने उनको अनुभव छ ।

    तामाङको यस पहलले स्थानीय किसानलाई समेत व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न मद्दत पुगेको छ । उहाँको फार्म अवलोकन गर्न आउने स्थानीयले गाईपालनसम्बन्धी जानकारी लिनुका साथै आफ्नै गाउँमा व्यवसाय सुरु गर्ने सोच बनाउने गरेका छन् । श्यामशिलाका ३९ जना किसानले उन्नत जातका गाई पाल्दै आएका छन् । यसले गाउँस्तरमै रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने सम्भावनालाई बलियो बनाएको छ ।

    पौवादुङमा गाउँपालिकालेसमेत कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा जनप्रतिनिधि नै यस क्षेत्रमा सक्रिय हुनु सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । स्थानीय तहले दिने अनुदान, तालिम तथा प्राविधिक सहयोगको प्रभावकारी उपयोग गर्न सकेमा किसानको जीवनस्तर सुधार गर्न सकिने सरोकारवालाको भनाइ छ ।

    भविष्यमा गाईको सङ्ख्या बढाएर फार्मलाई अझ विस्तार गर्ने योजना रहेको तामाङले जानकारी दिए । उनले दूध उत्पादनसँगै अन्य दुग्धजन्य पदार्थ उत्पादनतर्फ समेत ध्यान दिने सोच बनाएका छन् । गाउँमै बसेर मेहनत गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिँदै तामाङले युवाहरूलाई कृषि र पशुपालनतर्फ आकर्षित हुन आग्रह गरेका छन् ।

    गाई फार्मबाट उत्पादन भएको प्राङगारिक मलको सदुपयोग गर्ने लक्ष्यले उनले करिव ३०० रोपनी क्षेत्रमा किबी खेतीसमेत विस्तार गरेको जानकारी दिए । उनले थालेको कामलाई परिवारका सदस्यले आवश्यक सहयोग गर्दै आएका छन् ।

  • पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    गण्डकी, ९ चैतः आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ ।
    होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहने छ। विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटाँैडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।


    पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुुका साथै प्रचार सामग्री वितरण गरिने उनले बताए । उक्त क्रममा आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिने उनले बताए ।

    “सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका लागि पूर्वी नेपालका स्थानीयलाई निम्तो दिनुपनि हाम्रो कार्यक्रमको उद्देश्य हो”, उनले भने । महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा लेकसाइड क्षेत्रमा सञ्चालन हुनेछ । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव गरिँदै आइएको छ ।

    पोखरा पर्यटनको राजधानी रहेको र यस सहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यस अभियानले महत्वपूर्ण सहयोग पु¥याउने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए । कार्यक्रमका अवसरमा पूर्वी नेपाल र पोखराबीचको पर्यटकीय साझेदारी बढाउने लक्ष्य राखिएको छ । विगतमा पोखराबाट भद्रपुर र विराटनगरलगायत सहरसम्म सञ्चालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती सहरबाट पोखरासम्मस्तरीय पर्यटक बस सेवा सञ्चालनका लागिसमेत पूर्वका पर्यटन व्यवसायीसँग सहकार्यको प्रस्ताव राखिने छ ।

    पोखराको होटेल क्षेत्रमा मात्रै छ खर्बको लगानी भएको बताउँदै अध्यक्ष सुवेदीले यहाँ करिब एक हजार २०० को सङ्ख्यामा होटेल रहेको जानकारी दिए । पोखरामा सञ्चालित होटेलका कारण करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको सङ्घले जनाएको छ ।

  • नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क

    काठमाडौँ, ९ चैतः विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवं लगानी प्रवद्र्धन गर्न सो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।

    सो विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्कको व्यवस्थापन गर्न आइतबार पत्राचार गरेको छ । विश्वमा रहेका नेपाली मूलका नागरिकहरुको संस्था एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यसका लागि निकै लामो समयदेखि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै र माग गर्दै आएको थियो ।

    गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि उक्त संस्थाले स्वागत पनि गरेको छ ।
    आइतबार अध्यागमन विभागले सो निर्णय गरेर त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेसँगै सो संस्थाले विज्ञप्तिमार्फत् गृहमन्त्री ओमप्रकाश अर्याल र गृह प्रसाशनलाई धन्यवाद ज्ञापन गरेको हो ।

    एएनओका अध्यक्ष डिल्ली अधिकारीद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ “गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरुले आफूहरु सम्मानित भएको महसुुस गरेका छन् । यो निर्णयको कार्यान्वयनले नेपाली मन र नेपाली पनलाई नेपालसँग जोड्न ठूलो योगदान पुर्याउने विश्वास लिएका छौँ ।”

  • आज विश्व जल तथा मौसम दिवस मनाइँदै

    आज विश्व जल तथा मौसम दिवस मनाइँदै

    काठमाडौँ, ९ चैतः ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीले दिवसको अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको जानकारी दिए । विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पु¥याएको योगदानबारे विश्वभर सचेतना फैलाउने गरिन्छ ।

  • कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

    कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

    इन्द्राकुमारी केसी–रासस
    घोडाघोडी (कैलाली), ९ चैत । विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन् । वन क्षेत्रका ढलापडा रूख सङ्कलन बाहेक वन सम्वर्द्धन प्रणालीमा आधारित कुनै काम वन समूहले गर्न सकेका छैनन् । जसले गर्दा स्थानीयस्तरमा वन व्यवस्थापनबाट सृजना हुने रोजगारी गुम्नुका साथै वनको प्रभावकारी संरक्षण र व्यवस्थापन प्रभावित बनेको कैलाली लम्की चुहा नगरपालिका–३ स्थित मुक्तकमैया सामुदायिक वनका अध्यक्ष हितु चौधरी बताउँछन् ।


    कञ्चनपुर जिल्लामै पहिलो पटक २०७४ सालमा वैज्ञानिक वन व्यवस्थापन लागू गरेको सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरीले कार्यविधि खारेजीपछि प्रदेशले दिगो वन व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था नल्याउँदा समस्या भएको बताए । उनका अनुसार वन सञ्चालन कठिन बनेको छ । यही अवस्था जारी रहे सरकारलाई वन हस्तान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने उनको
    यो पीडा केवल सामुदायिक वन उपभोक्ता समूहको मात्र हैन । साझेदारी वनको पनि उस्तै छ ।

    कैलालीको भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारीका अनुसार वन संरक्षणदेखि व्यवस्थापन र वन पैदावार सदुपयोगसम्मका गतिविधिमा गम्भीर असर परेको छ । उनले भने, “यसले सरकारको राजस्वमा नकारात्मक प्रभाव पार्नुका साथै वनका बुढा रूखको समयमै सदुपयोग नहुँदा गुणस्तर घट्दै नोक्सानी भइरहेका छन् । साझेदारी वनको कार्ययोजना नै अलपत्र परेका छन् ।”

    एकातिर वनभित्र करोडौँ मूल्यका काठ दिनानुदिन कुहिँदै गएको छभने अर्कोतिर उपभोक्ताले काठ पाउन सकेका छैनन् । दिगो वन व्यवस्थापन रोकिँदा काष्ठ व्यवसायी मारमा परेको पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घ कैलालीका अध्यक्ष जोन शाह बताउँछन् । यता डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामबिचारी ठाकुर कार्यविधि अभावले गर्दा दिगो वन व्यवस्थापनमा कठिनाइ देखापरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रदेशस्तरबाट दिगो वन व्यवस्थापन कार्यविधि नआएसम्म वन व्यवस्थापन अघि बढाउन समस्या छ । यसले स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरमा राजस्व सङ्कलनमा समेत असर पारेको छ ।”

    कैलाली र कञ्चनपुरका वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेलगायतका २३ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेका थिए । उनीहरूको माग सम्बोधनका लागि सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा कार्यदल गठन गरी गत मङ्सिर ९ गते एक महिनाभित्रै कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने माग मन्त्रालयमा पेस गरिएको थियो । तर हालसम्म सो कार्यविधि कार्यान्वयनमा आएको छैन ।

    प्रदेश सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश संयोजक पुष्कलबहादुर बम बताउँछन् । उनले भने, “प्रदेश वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन भई दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत गर्ने कार्य अगाडि बढाइएको छ । यदि कार्यविधि कार्यान्वयनमा नआएमा सरोकारवाला अन्य सङ्घ–संस्थासँग सल्लाह गरेर अघि बढ्नेछौँ ।”

    के हो दिगो वन व्यवस्थापन ?

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेश राईका अनुसार दिगो वन व्यवस्थापन तीनवटा आधारभूत पक्षमा आधारित अवधारणा हो । उनका अनुसार यसको पहिलो आधार भनेको सामाजिक पक्ष हो, जसमा वन किन र के उद्देश्यका लागि व्यवस्थापन गरिँदैछ भन्ने कुरा स्पष्ट पार्नु हो । उक्त कुरा उपभोक्ता समूह वा वनको स्वामित्व लिने पक्षले तय गर्नुपर्ने उनको भनाइ छ ।

    “आफ्नो वन काठ उत्पादनका लागि हो कि काठ–दाउरा, जडीबुटी वा पर्यटन प्रवद्र्धनका लागि हो भन्ने कुरा पहिला नै निर्णय गर्नुपर्छ,” प्राध्यापक राईले भने । उद्देश्य निर्धारण भइसकेपछि अर्को चरणमा वन व्यवस्थापनको उपयुक्त तरिका छनोट गर्नु हो । यो भनेको वनको वातावरणीय पक्ष हो । “वनको वर्तमान अवस्था र क्षमताको मूल्याङ्कनका आधारमा वन व्यवस्थापनको उद्देश्य पूरा गर्न सक्ने वन संवद्र्धन प्रणाली अपनाउनुपर्छ,” उनले भने । “कस्तो किसिमले वनको पुनरुत्पादन गर्ने, वनलाई कसरी हुर्काउने र वन पैदावारको कसरी उपयोग गर्ने भन्ने प्राविधिक पक्ष यही चरणमा निर्धारण हुन्छ ।”

    प्राध्यापक राईका अनुसार दिगो वन व्यवस्थापन प्रक्रियाको तेस्रो र महत्त्वपूर्ण पक्ष भनेको आर्थिक हो, जसमा वन व्यवस्थापनको उद्देश्य र वन संवद्र्धन प्रणाली आर्थिक रूपमा पनि व्यवहारिक हुनुपर्छ । त्यो भनेको व्यवस्थापनमा लाग्ने खर्चभन्दा प्राप्त हुने आम्दानी बढी हुने गरी योजना बनाइनुपर्छ । “यी तीनै पक्ष स्पष्ट उद्देश्य, उपयुक्त प्राविधिक व्यवस्थापन र आर्थिक सम्भाव्यता पूरा भए मात्रै त्यसलाई दिगो वन व्यवस्थापन भन्न सकिन्छ,” उनले भने ।


    उनले हालको प्रक्रियामा खासै समस्या नभएको बताए । उनका अनुसार धेरैजसो सालका जङ्गल र उत्पादनमूलक वनलाई आम्दानीका हिसाबले काठ र दाउरा निकाल्ने उद्देश्यले व्यवस्थापन गरिएको छ । दिगो वन व्यवस्थापन सबै ठाउँमा एउटै ढाँचामा हुन नसक्ने राईको भनाइ छ । उनी भन्छन्, “कैलालीमा गर्ने वन व्यवस्थापन र डडेलधुरा वा दार्चुलामा गर्ने वन व्यवस्थापन एउटै हुँदैन, किनभने त्यहाँको वनको अवस्था र आवश्यकता फरक छन् ।”

    वैज्ञानिक वन व्यवस्थापन र अहिले चर्चामा रहेको दिगो वन व्यवस्थापनबारे प्राध्यापक राई भन्छन्, “यी दुई फरक मोडालिटी होइनन्, बुझाइको कमीले फरक जस्तो देखिएको हो ।”

    घट्दै उत्पादकत्व
    सुदूरपश्चिम प्रदेशमा दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृत नहुँदा वनको उत्पादकत्व घट्दै गएको छ । वनभित्र पुराना र वृद्धि रोकिएका रूखको अत्यधिक चापका कारण नयाँ बिरुवा हुर्कन नसकेको प्रदेश वन निर्देशक हेमराज बिष्ट बताउँछन् । निर्देशक विष्टका अनुसार हाल प्रदेशका धेरै वन क्षेत्रमा ‘ओभर म्याच्योर’ अर्थात् अत्यधिक वृद्ध रूख छन् । जसले सूर्यको प्रकाश रोक्दा वनको प्राकृतिक पुनरुत्पादन प्रभावित भएको छ ।

    नयाँ बिरुवा हुर्कन दैनिक पाँचदेखि सात घण्टा सूर्यको प्रकाश आवश्यक पर्छ । “पुराना रूखले ठाउँ र घाम दुवै छेक्दा नयाँ पुस्ताको विकास हुन सकेको छैन, जसले वनको समग्र उत्पादकत्व घटाइरहेको छ,” उनले भने । विष्टकाअनुसार दिगो वन व्यवस्थापन भनेको वनलाई निश्चित वैज्ञानिक चक्रमा व्यवस्थापन गर्दै पुराना रूख हटाउने र त्यही स्थानमा नयाँ बिरुवाको पुनरुत्पादन सुनिश्चित गर्ने प्रक्रिया हो । साल प्रजातिको रूखको हकमा ८० वर्षको चक्र मानिने गरिन्छ ।

    नेपालका अन्य ६ वटा प्रदेशमा दिगो वन व्यवस्थापन पद्धति लागू भइसकेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने कार्यविधि स्वीकृत हुन ढिलाइ भएको उनले बताए । विगतमा ‘वैज्ञानिक वन व्यवस्थापन’ खारेज भएपछि उत्पन्न नीतिगत शून्यतालाई चिर्न अहिले सबै सरोकारवाला दिगो वन व्यवस्थापनमा सहमत भइसकेको बताउँदै उनले भने, “कार्यविधि तयार भई मन्त्रालयमा पेस भइसकेको छ, नीति तथा कार्यक्रममा पनि समावेश छ, तर औपचारिक स्वीकृति भइसकेको छैन ।

    कार्यविधि स्वीकृत भएलगत्तै आगामी आर्थिक वर्षदेखि पाँचदेखि १० वटा वनमा नमुना परियोजनाका रूपमा दिगो वन व्यवस्थापन लागू गर्ने तयारी रहेको उनले बताए ।
    कार्यविधि निर्माणको तयारी
    सङ्घीय मन्त्रालयले २०८१ सालमा जारी गरेको दिगो वन व्यवस्थापन मापदण्डको आधारमा सातै प्रदेशले आफ्नै कार्यविधि निर्माण गर्नुपर्ने दायित्व पाएका थिए । सोहीअनुसार सुदूरपश्चिम बाहेकका प्रदेशले दिगो वन व्यवस्थापनअनुसार वन व्यवस्थापन गरिरहेका छन् । तर सुदूरपश्चिम प्रदेशमा कार्यविधि अन्योलमा छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार, सुदूरपश्चिममा कार्यविधि निर्माणको प्रारम्भिक चरणमा विवाद र असमझदारीका कारण प्रक्रिया अड्किएको थियो । अब भने चाँडै दिगो वन व्यवस्थापन कार्यविधि स्वीकृतको तयारी गरिएको छ ।

    संरक्षण साझेदार, सामुदायिक तथा साझेदारी वनका पदाधिकारी र उपभोक्ताको ज्ञापनपत्र र त्यसको छलफल पश्चात् वन सुदूरपश्चिम वन निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको बताउँदै कोइरालाले भने, “कार्यदलले सुझाव दिएपछि मापदण्डअनुसार दिगो कार्यविधि तयार पार्ने काम अघि बढाइएको छ ।” नीतिगत अन्योलताले रोकिएका कार्ययोजना र अधुरो व्यवस्थापनका कारण सुदूरपश्चिमका वन उपभोक्ता निर्णयको प्रतिक्षामा छन् । एकातिर वनभित्र करोडौँ मूल्यका काठ खेर गइरहेका छन् भने अर्कोतिर उपभोक्ता, स्थानीय अर्थतन्त्र र राजस्व सबै प्रभावित बनेका छन् ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ९ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९० रुपैयाँ २३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • ‘फ्लोरा एक्स्पो’मा सवा करोडको कारोबार

    ‘फ्लोरा एक्स्पो’मा सवा करोडको कारोबार

    काठमाडौँ, ९ चैतः पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।

    ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित यही चैत ५ गतेदेखि मेला सुरु भएको थियो । मेला कुल ६० हजार ७०० जनाले अवलोकन गरेका थिए । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई स्टल रहेका थिए । पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ ।

    गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकामा यस वर्ष ५४ दशमलव २७ प्रतिशतले घटेर रु १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने एक सय नौ दशमलव १६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसन अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए ।

  • कैफियत देखिएपछि विभागद्वारा जरिवाना

    कैफियत देखिएपछि विभागद्वारा जरिवाना

    काठमाडौँ, ९ चैतः नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित मुम्बई जाइकालाई रु १० हजार जरिवाना गरेको हो ।

    विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ । तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

  • सूर्यविनायक–धुलिखेल सडक :  तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

    सूर्यविनायक–धुलिखेल सडक : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

    राजकुमार पराजुली/रासस

    काभ्रेपलाञ्चोक, ९ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।

    आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भइ गत मङ्सिर २५ गते म्याद सकिएको थियो । सो कामका लागि लामा कन्स्ट्रक्सन प्रालिले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सडक आयोजनाले जनाएको छ । कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठका अनुसार समग्रमा ६५ प्रतिशत तथा पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ ।

    दोस्रो खण्डअन्तर्गत सूर्यविनायक–साँगामा भने ५५ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको यस सडकखण्डको पलुबजार क्षेत्रमा गत मङ्सिर तेस्रोसाता स्तरोन्नति सुरु गरिएको थियो । आयोजनाकाअनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानमा सडक तथा अन्य संरचना भत्काउने काम भइरहेको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ ।

    सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माण भइरहेको छभने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती तथा भिर भएकाले काम गर्न केही अफ्ठ्यारो भएको छ ।

    यस सडकखण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा निर्माण भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर अन्जु परियारले बताइन् । उनका अनुसार अन्य दुई पुलमा डिजाइनको प्रारम्भिक चरणमा स्थानीय तथा जनप्रतिनिधिले विभिन्न माग राखी अवरोध गरेकाले डिजाइन ढिला भएको हो । हाल ती समस्या समाधान भइसकेकोले डिजाइन भइसकेको छ । अब चाँडै पुल निर्माणको तयारी भइरहेको उनको भनाइ छ । चीनसँगको छोटोदूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा सवारी चाप बढेको हो । यही राजमार्गमा हाल कोटेश्वरबाट लामा–छोटा दुरीका सवारी मात्रै दैनिक दुई हजार पाँच सयभन्दा बढी छुट्ने गरेका छन् ।

  • होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

    होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

    तेहरान, ९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ ।

    ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत इरानलाई ४८ घण्टाको समयसीमा दिँदै जलडमरूमध्य खुला नगरे देशका प्रमुख पावर प्लान्टहरूलाई लक्षित गरी ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए । त्यसको प्रत्युत्तरमा इरानको सैन्य परिचालन कमान्डले अमेरिकासँग सम्बन्धित ऊर्जा, सूचना प्रविधि तथा डिसेलिनेसन पूर्वाधारहरू क्षेत्रभरि निशानामा पर्ने चेतावनी दिएको छ ।

    यसैबीच, इरानले नतान्जस्थित आणविक स्थलमा भएको आक्रमणपछि दक्षिणी इजरायलका अराद र डिमोना सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली हवाई सुरक्षालाई पार गर्दै प्रहार गरिएका मिसाइलहरूले आवासीय संरचनामा क्षति पुर्‍याएका छन् भने १०० भन्दा बढी मानिस घाइते भएका छन् । डिमोनामा रहेको संवेदनशील आणविक क्षेत्रमा नजिकै प्रहार हुँदा थप चिन्ता बढेको छ, यद्यपि इजरायलले आफ्नो आणविक क्षमताबारे औपचारिक रूपमा स्वीकार गरेको छैन ।

    इजरायलले यसको जवाफस्वरूप तेहरानमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । तीन हप्तादेखि जारी द्वन्द्वमा यो आक्रमण सबैभन्दा विनाशकारीमध्ये एक मानिएको छ । अरादमा विस्फोटपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट घाइतेहरूको खोजी गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको भयावह अनुभव सुनाएका छन् ।

    यस तनावको केन्द्रमा रहेको होर्मुज जलडमरूमध्य विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग हो । यहाँबाट विश्वको झन्डै पाँचौँ भाग कच्चा तेल ओसारपसार हुने गर्दछ । हालको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ, जसले आर्थिक अस्थिरताको सङ्केत दिएको छ ।

    ट्रम्पले नाटो सहयोगीहरूको आलोचना गर्दै जलडमरूमध्य सुरक्षित गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स र बहराइनसहित २२ राष्ट्रले इरानद्वारा जलमार्ग अवरुद्ध गरिएको भन्दै विरोध जनाएका छन् । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हालै इरानका तटीय भूमिगत संरचनामाथि बङ्कर–बस्टिङ बम प्रहार गरिएको छ, जसले इरानको समुद्री मार्ग नियन्त्रण क्षमतामा केही हदसम्म असर पारेको दाबी गरिएको छ । यसैबीच हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वतर्फ परिचालन भइरहेका छन् ।

    इरानले खाडी क्षेत्रका देशहरूलाई पनि निशाना बनाउँदै आएको छ । साउदी अरेबियाले रियाद नजिक तीनवटा ब्यालेस्टिक मिसाइल फेला परेको र तीन ड्रोन खसालिएको जनाएको छ । संयुक्त अरब इमिरेट्सले पनि इरानी आक्रमणको प्रतिकार गरेको बताएको छ । त्यस्तै, इरानले डिएगो गार्सियास्थित अमेरिका–बेलायत सैन्य अड्डामाथि लामो दूरीको मिसाइल प्रहार गर्ने प्रयास गरेको दाबी गरिएको छ, यद्यपि त्यो असफल भएको जनाइएको छ ।

    विश्लेषकहरूका अनुसार इरानको सैन्य क्षमता अपेक्षा गरिएकोभन्दा बढी टिकाउ देखिएको छ । शीर्ष नेतृत्वमा क्षति पुगे पनि सरकार र सैन्य संरचनाले लचकता प्रदर्शन गरेको ठानिएको छ । यस तनावपूर्ण अवस्थाबीच इरानमा रमजानको अन्त्य र नौरोज पर्व मनाइएको छ । सर्वोच्च नेता परिवर्तनपछि सार्वजनिक रूपमा कम देखिएका छन् भने धार्मिक गतिविधिहरू अन्य नेतृत्वमार्फत सम्पन्न भइरहेका छन् । सर्वसाधारणले नयाँ वर्ष मनाइरहँदा युद्धको त्रासले वातावरण गम्भीर बनेको अनुभव गरेका छन् ।

  • आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

    आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

    काठमाडौँ, ८ चैतः चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल रू १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले रू १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो । पछिल्लो आठ महिनामा रू १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र रू एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ । गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र रू पाँच खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट रू सात खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने रू एक खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ । त्यस्तै, छिमेकी मुलुक चीनसँग रू दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र रू ९८ करोड ३३ लाखको निर्यात हुँदा रू दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् ।

    नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग रू ५० करोड ६५ लाख, नर्वेसँग रू तीन करोड ३३ लाख र आइसल्याण्डसँग रू दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ ।यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा रू ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, रू ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र रू ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।


    त्यस्तै, रू ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने रू २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, रू ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, रू २३ अर्ब ४९ करोड ६७ लाखको सुन, रू १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा रू ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ । त्यस्तै, रू नौ अर्ब ४९ करोड, ६१ लाखको अलैँची, रू छ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, रू छ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, रू चार अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।

  • निषेधित क्षेत्रको पदयात्रा बारे अध्यागमन विभागले ल्यायो यी नयाँ नियम

    निषेधित क्षेत्रको पदयात्रा बारे अध्यागमन विभागले ल्यायो यी नयाँ नियम

    काठमाडौँ, ८ चैतः अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ । विभागले आज सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रुपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था उल्लेख गरेको छ । उक्त निषेधित क्षेत्रमा समूहगत रुपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झन्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जनाएको छ ।

    साथै, पदयात्रा अनुमतिसम्बन्धी प्रावधान कठिनाई भएमा सहजीकरणको लागि यसअघि नै छुट्टै सम्पर्क नम्बर : ९७७ ९७६१४२३६३६ को व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ ।

    विभागबाट विगतमा निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति जारी नहुँदा एकल रुपमा पदयात्रामा जान चाहने पदयात्रीले अनिवार्य रुपमा पदयात्रा साझेदार खोज्नुपर्ने भएकाले असहज भएको र पर्यटन प्रबद्र्धनमा समेत असर परेको भनी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) लगायत पर्यटन क्षेत्र सम्बद्ध सङ्घसंस्थाहरुबाट गुनासो प्राप्त भएको अवस्थालाई दृष्टिगत गरी एक पदयात्रीलाई समेत पदयात्रा अनुमति प्रदान गर्ने गरी चैत ८ गते विभागीय निर्णय भएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

    यसरी पदयात्रा गर्दा अनिवार्य रुपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिने र अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुने गरी शर्त निर्धारण गरिएको छ ।

    साथै, एजेन्सीमार्फत एक समूहमा ठूलो सङ्ख्यामा निषेधित क्षेत्रमा पदयात्रामा जाँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन सहज नहुने, एक ट्रेकिङ गाइडबाट पदयात्रीका गतिविधि निगरानीमा असहज हुनेलगायतको अवस्थालाई मध्यनजर गरी एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात पदयात्री रहने गरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको छ ।

  • देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

    देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

    काठमाडौँ, ८ चैतः राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने दिए । “अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतामा पठाउँछौँ ।”

    उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्याङ्क सङ्कलन गरिनेछ । कार्यालयले प्रत्येक १०÷१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको उनको भनाइ छ । सन् २०१३ मा भएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ उत्पदानमा एक प्रतिशतभन्दा कम योगदान रहेको कार्यालयका निर्देशक बरालले जानकारी दिए । त्यतिबेला एकसय वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो । यसपटक भने देशभरि दुई हजार ५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

    काठमाडौँ, ८ चैतः मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो । मोरङको रङ्गेली नगरपालिका७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट, के भयो कुराकानी ?

    काठमाडौँ, ८ चैतः प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालुवाटारमा भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे । उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालयलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”

    सभापति लामिछानेले भने, “यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईंप्रति हाम्रो उच्च सम्मान छ ।”

    उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गरेको योगदान मुलुकले सधैँ सम्झिने उल्लेख गर्दै आगामी दिनमा पनि प्रधानमन्त्री कार्कीको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा रहेको बताए । प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश नहुने गरी काम गर्न सुझाव दिइन् । “ युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् । चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्दै देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ”, प्रधानमन्त्री कार्कीले भनिन्, “इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिनेगरी अगाडि बढ्नु होला ।”

    उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको र सभापति लामिछानेले सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे । “सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ । यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन”, उनले भने, “अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौं ।” पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै सभापति लामिछानेले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरे ।

  • ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

    ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

    काठमाडौंँ, ८ चैतः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिने भएका छन् । ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष बुधबार बिहान ११ः १५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सञ्चालन गर्नेछन् । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले यही चैत १२ गते सङ्घीय संसद भवनमा प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

  • कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

    कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

    काठमाडौँ, ८ चैतः नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी उक्त निर्णय गरिएको उनले बताए ।


    बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाटीले प्राप्त गरेको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रूपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको निष्कर्ष निकालेको छ ।

    मुलुकको मौजुदा परिस्थितिमा कांग्रेस सभापतिको रूपमा थापाले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभइसकेको वर्तमान अवस्थामा सभापति थापालाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

    उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा यही चैत ६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकमा उपसभापति शर्माले गर्नुभएको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई प्राप्त सुझावसमेत समावेश गरी परिमार्जनसहित पारित गरिएको छ ।

    यसैगरी बैठकले पश्चिम एसियामा चर्किएको युद्ध चाँडै अन्त्य हुने अपेक्षा गर्दै युद्धग्रस्त क्षेत्रमा लाखौँ नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल स्वदेश ल्याउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरू बारे न्यायिक जाँचवुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग बैठकले माग गरेको छ ।

    यसैगरी पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृतिम अभाव सिर्जना गरिएकातर्फ कांग्रेसले ध्यानाकर्षण गराउँदै पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि पनि माग गरेको छ ।

    आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे, सह–महामन्त्रीहरू डा डिला सङ्ग्रौला पन्त, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही र मुक्ताकुमारी यादव तथा सदस्यहरू ओमकारप्रसाद श्रेष्ठ, सुरेन्द्रप्रसाद चौधरी, अमृत अर्याल, डा गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार केसी, इ मोहन आचार्य, प्रतिमा गौतम, जानकी सिंह, नानु वास्तोला, अजयवावु शिवाकोटी, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, हिमालय कर्माचार्य, नरेन्द्रकुमार केरुङ, दीपकजङ्ग शाह, रेशमबहादुर बानियाँले आफ्नो धारणा राखेका थिए ।

    यसैगरी सदस्यहरू कृष्णबहादुर केसी, उज्ज्वल बराल, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, प्रकाश पन्थ, कुसुमदेवी थापा मगर, नगेन्द्र कुमाल, मधु शाही, सीता मिजार, मनकुमारी गुरुङ, नवोदिता चौधरी, प्रवक्ता देवराज चालिसे, प्रदीपराज शर्मा, सुरेशकुमार योङ्ग्या, जगतप्रसाद जोशी, शम्भुबहादुर बुढाथोकी, तिलक रानाभाटले पनि आफ्ना धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु राजेन्द्रगोपाल सिंह, प्रेमबहादुर खड्का, डा केदारनरसिंह केसी, प्रमोदहरि गुरागाइँ, तीर्थजङ्ग शाही, धर्मराज गौतम, वजरंग नेपाली, सन्तोषी साउँद ऐरी, गीता सत्याल, शारदादेवी कोइराला, रामानन्दप्रसाद यादव, उमा दाहाल, विष्णुदेवी पाण्डे, रामबहादुर कार्की, रामादेवी खड्का, चिनी पोखरेल, हिमबहादुर रावल, शिवनारायण सिंह गनगाई, छाया सुनार, गङ्गा सुनार, लीला नेपाली, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्यबहादुर विक, दिनेश सुनार, प्रमिला राई, छिन्दुल्होमु शेर्पा, अष्टकुमार कवे, छन्दबहादुर पहराई मगर, भीम श्रीस, बाला अधिकारी, मुना भुसाल, विनिता खड्का, सम्झना खत्री, विजयकुमार स्वाँर, मथुराप्रसाद घिमिरे, जगदीशचन्द्र उपाध्याय, चन्द्रकलाकुमारी यादव, रामपल्टन साह, राधेश्याम पाठक, रामरुप प्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

  • वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

    वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

    काठमाडौँ, ८ चैतः शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्याङ्क विश्लेषण गर्दा, सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थियो । आज भने वायु प्रदूषण घटेर ६० एक्युआईमा झरेको छ ।

    योसँगै काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७औँ स्थानमा छ । एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

    वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार र शनिबार हावाहुरीसहित परेको वर्षाका कारण वायु प्रदूषण घटेको बताए । उनका अनुसार वर्षाले हावामा रहेका धुलो तथा प्रदूषणका कणलाई जमिनमा झार्न मद्दत गर्छ भने हावाहुरीले ती कणलाई उडाएर अन्यत्र लैजाने हुँदा प्रदूषण कम हुन्छ । “यदि लामो समयसम्म वर्षा भएन र मौसम सुक्खा रह्यो भने वायुमण्डलमा धुलोका कण थुप्रिँदै जान्छन्”, महानिर्देशक सुवेदीले भने, “काठमाडौँ कचौरा आकारको सहर भएकाले प्रदूषण सजिलै बाहिर निस्कन सक्दैन ।”

  • पोखरा विमानस्थल अनियमितताबारे पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    पोखरा विमानस्थल अनियमितताबारे पूर्वसचिवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ, ८ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आगोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिए ।

    प्रतिवदीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल, प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक स्व ध्रुवदास भोछिभोया, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ छन् ।


    त्यस्तै, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योति थापा, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत\उपप्रबन्धक प्रमोद नेपाल तथा राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत\उपप्रबन्धक सविन फुयाल छन् ।

    अधिकाशलाई रु ४६ करोड, १५ लाख, ८४ हजार ४३४ बिगो छ । त्यसमध्ये नरेन्द्र सैजु, प्रमोद नेपाल र सविन फुयाललाई रु आठ करोड ९५ लाख २ हजार ७८० बिगो छ ।

  • सवारीसाधन आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

    सवारीसाधन आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

    काभ्रेपलाञ्चोक, ८ चैत । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो ।

    लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो ।

    साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २।५ किलोमिटर र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।

    उक्त सडकखण्डमा सुरुमा ‘सिटीभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिनेछ योगेशले बताउनुभयो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो ।

    हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस)को काम नभएको र चिसो कम हुँदै गएपछि पक्की बनाउने योजना बनाइएको योगेशले बताए । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको ‘स्लोप मेन्टेन’ र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने छ ।

    यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उसले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

    उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरीनाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा रहेको छ । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।

  • पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    तानसेन (पाल्पा), ८ चैत । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए । चिदीको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यहाँको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु२ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको हो । खाली टिपर झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन

    घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन

    चन्द्रकला भण्डारी–रासस
    झापा, ८ चैत । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका विभिन्न जिल्लामा विस्तारका क्रममा रहेको जनाइएको छ ।

    अस्पताल जान नसक्ने र अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि ‘जीवन रक्षा होम केयर’ले ‘पेन म्यानेजमेन्ट’देखि शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका उपचार सेवा घरमै उपलब्ध गराउँदै आएको संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख डा चेवनराज कार्कीले बताए । घरै बसेर स्वास्थ्यलाभ गरिरहेका क्यान्सरका बिरामीका लागि होम केयरले प्रदान गर्ने उपचार सेवा वरदान सावित हुने गरेको छ । जुनसुकै समयमा खबर आउनासाथ होम केयरको चिकित्सा टोली आवश्यक उपकरण र औषधिसहित बिरामीको घरमै पुग्ने गरेको उनले बताए ।


    होम केयरको चिकित्सा टोलीमा अनुभवी चिकित्सकसहित १५ जनाभन्दा बढी नर्स, हेल्थ असिस्टेन्ट र कर्मचारी प्रत्यक्ष रूपमा जोडिएका छन् । जिल्लाको विभिन्न सहरका स्थानीय अनुभवी नर्स र हेल्थ असिस्टेन्टहरू होम केयरको नेटवर्कमा जोडिएको हँुदा जुनसुकै बेला र अवस्थामा जहाँ पनि उपचार पुर्याउन सहज भएको उनले बताए ।


    टोलीले एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी, ड्रेसिङलगायतका सेवा घरमै उपकरण पुर्याएर दिने गरेको छ भने रगत, पिसाब, दिसालगायत जाँच ‘सेम्पल’ लिएर प्रयोगशालामा जाँच गरी घरमै रिपोर्ट उपलब्ध गराउँदै आएको छ । “यो एकप्रकारको घरमै अस्पताल पुर्याउने प्रयास हो”, डा कार्की भन्छन्, “शल्यक्रियापछि लामो समय अस्पताल बसेर घर फर्किएका बिरामीलाई सानो विषयमा पनि पटकपटक अस्पताल धाइरहनुपर्ने झन्झट नहोस् भनेर हामीले घरमै अस्पतालको सेवा पुर्याएका हौँ ।”

    रोजगरीका क्रममा छोराछोरी टाढा रहेको परिवारका वृद्धावस्थाका बुबाआमा बिरामी पर्दा एम्बुलेन्स खोजेर अस्पताल पुर्याउने र कुरुवा बस्ने आफन्त तत्काल पाउन पनि कठिनाइ पर्न सक्छ । यस्तो अवस्थामा होम केयरको सेवा झनै प्रभावकारी हुने गोमेन्द्र महाविद्यालयका अध्यापक आशीष शर्मा बताउँछन् ।
    “विदेशतिर होम केयर सेवा प्रचलित नै हुन्छ, तर हाम्रो ठाउँमा नयाँ हो”, उनी भन्छन्, “हाम्रो परिवारले पनि जीवन रक्षा होम केयरको सेवा लिएको छ । डा कार्कीको टिमको सेवाभाव प्रशंसनीय लाग्यो ।”

    होम केयरको चिकित्सा टोलीले भेन्टिलेटरसहितको एम्बुलेन्समा जटिल बिरामीलाई काठमाडौँ, विराटनगर, धरान र सिलीगुढीका सुविधासम्पन्न अस्पतालमा सुरक्षित पुर्याउने सेवासमेत प्रदान गर्दै आएको छ भने जिल्लाकै कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको हेरचाह गरिदिने कुरुवा सेवा दिँदै आएको छ ।

    होम केयर सेवालाई व्यापार गर्ने थलो नबनाउने र सामाजिक सेवाको माध्यम बनाउने संस्थापक डा कार्कीको भनाइ छ । घरमै सेवा पुर्याएबापत होम केयरले लिने सेवा शुल्क महँगो छैन । सामान्य ड्रेसिङका लागि रु ३०० देखि ३५० र डाक्टर भिजिटको न्यूनतम शुल्क लिएर होम केयरले अहोरात्र जुनसुकै देहाती बस्तीमा स्वास्थ्य सेवालाई सर्वसुलभ पुर्याइरहेको छ । वृद्धाश्रमहरूमा ‘बेसलाइन रेट’मा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेर विर्तामोडका विभिन्न वृद्धाश्रमहरूमा होम केयरले प्रस्ताव पठाएको जनाएको छ ।

    बिर्तामोडबाट सुरु भएको ‘जीवन रक्षा होम केयर’को सेवालाई विराटनगरमा पुर्याइसकेको र धरानमा चाँडै पुर्याउने लक्ष्य रहेको डा कार्कीले सुनाए । होम केयर सेवा दिने कोशी प्रदेशकै पहिलो संस्था ‘जीवन रक्षा होम केयर’ले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा पुर्याइरहेको छ । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने विभिन्न कार्यक्रमसमेत यसले गर्दै आएको छ ।

    पूर्वाञ्चल युनिभिर्सिटीमा एमबीए अध्ययनरत डा कार्की व्यवस्थापकीय रूपमा पनि स्वास्थ्य क्षेत्रलाई नयाँ प्रविधिमार्फत सुधार्ने प्रयास गरिरहेको बताउँछन् । मोबाइल एपमार्फत ‘टेलिमेडिसिन’ सेवा दिने र कारागार तथा सुधारगृहमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको उनले बताए । ‘जीवन रक्षा होम केयर’को स्थापना गरेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट र नयाँ सेवा प्रदान गरेको कारण डा कार्कीले हालै वर्ष उत्कृष्ट व्यक्तिका रूपमा ‘पौरखी जेनजी सम्मान’ प्राप्त गरेका छन् । उनी भन्छन्, “अहिलेसम्मका काममा सबैको हौसला प्राप्त भइरहेको छ । भविष्यमा हामी अझ धेरै राम्रा योजनाका साथ समाजको सेवा आउनेछौँ ।”

  • पाँचथरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

    पाँचथरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

    रासस
    पाँचथर, ८ चैत । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् ।

    स्वास्थ्य परीक्षणका लागि नआएका र गाउँ समाजमा आफ्नै काममा व्यस्त रहेका मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिए । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नै नगराइ बसेका मानिससमेत भेटिएको र उनीहरूलाई परामर्श तथा उपचारको प्रबन्ध गरिएको घिमिरेले बताए । “न्यूनतम १२ प्रतिशत स्वस्थ देखिने मानिसहरूमा नसर्ने रोगका लक्षण फेलापरेका छन्”, घिमिरेले भने, “हामीले गत वर्षदेखि नै नसर्ने रोग पहिचानको अभियान चलाइरहेका छौँ । जसमा उल्लेख्य मात्रामा बिरामी भेटिने गर्नुभएको छ ।”

    यहाँका स्वास्थ्य संस्थाहरूले विवाह, भोजभतेरजस्ता सामाजिक तथा धार्मिक कार्यक्रममा पनि सहभागीहरूको स्वास्थ्य परीक्षण गर्ने गरेका छन । मानिसहरू ठूलो स्वास्थ्य समस्या भएपछि मात्रै उपचारका लागि आउने र यो अवस्थासम्म धेरै ढिला भइसकेको हुने देखिएकाले खोजपड्ताल कार्यक्रम चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले नै मधुमेह र उच्च रक्तचापका बिरामीका लागि निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको घिमिरेले जानकारी दिए ।


    यस्तै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ‘सेटलाइट क्लिनिक’ सञ्चालन गर्ने व्यवस्था गरी स्थानीय स्वास्थ्य संस्थाको पहुँचमा नरहेका व्यक्तिहरूलाई प्राथमिक उपचार, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनका साधनको प्रयोगलगायत विषयमा जानकारी गराउँदै आएको छ । यो कार्यक्रम यहाँका सबै वडामा प्रत्येक महिनामा दुई दिन सञ्चालन हुने गरेको उनले जानकारी दिए ।


    नसर्ने रोगको खोजपड्तालकै क्रममा यहाँका चार जना बासिन्दामा कालाजार र छ जनामा क्षयरोग फेलापरेको छ । सामान्यतया जालाजारको सङ्क्रमण पहाडी क्षेत्रमा विरलै हुने भए पनि यहाँ चार जना बिरामी फेला परेपछि स्वास्थ्य संस्थामार्फत सचेतनाका कार्यक्रमलाई विस्तार गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । यस्तै क्षयरोगका बिरामीलाई नियमित औषधि सेवनमार्फत निको पार्न र अन्य बिरामीको पहिचानका लागि खोजपड्ताल कार्यक्रमलाई निरन्तरता दिइएको घिमिरेको भनाइ छ । खोजपड्ताल कार्यक्रमले आगामी दिनमा बजेट विनियोजन तथा औषधि खरिद गर्न सहज भएको र सम्बन्धित बिरामी रोगबाट जटिल अवस्थामा पुग्नबाट बचेको उनले बताए ।


    गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले खोज र खोप अभियानअन्तर्गत धेरै बिरामी फेला पर्ने गरेका कारण खोज पड्ताल, सचेतना, उपचार र औषधि वितरणका लागि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहित गरिएको बताए ।

  • रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा, ८ चैत । धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१–८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए ।

    अस्पतालद्वारा हालै आयोजित सामाजिक जवाफदेहिता सम्बन्धी कार्यक्रममा दिइएको जानकारी अनुसार १७ शय्याको सो अस्पतालले सामाजिक सेवाअन्तर्गत १८५ प्रकारका औषधि वितरण गरिरहेको छ । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

    विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो । तत्कालीन समयमा डा विजय खनालले अस्पतालमा पहिलो सेवा प्रदान गर्नुभएको जनाइएको छ । कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिँदै तत्काल नयाँ एम्बुलेन्स उपलब्ध गराउन माग गरेका थिए । सो अस्पतालाई निक साइमन संस्थाले चिकित्सकीय एव अन्य सहयोग गर्दै आएको छ । अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, घाउ–खटिरालगायतका शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालनमा छन् । साथै भिडियो एक्स–रे, दन्त सेवा र प्रयोगशाला सेवा पनि विस्तार गरिएको छ ।

    कार्यक्रममा जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले अस्पतालको सेवा सुधार हुँदै जानकारी दिनुभयो । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा धामीझाँक्रीको निर्भर रहनुपर्ने अवस्थाबाट अहिले आधुनिक उपचार सेवा उपलब्ध हुनु सकारात्मक परिवर्तन भएको बताए । विसं २०७२ को विनाशकारी भूकम्पले अस्पतालका पुराना संरचना पूर्ण रूपमा ध्वस्त बनाएको थियो ।

    यसपछि करिब दुई वर्षसम्म ‘टेन्ट’मै बिरामी राखेर सेवा दिनुपरेको अवस्था थियो । अस्पतालको सेवा तत्काल सुचारु गर्न तत्कालीन वरिष्ठ जनस्वास्थ्य अधिकृत डा गुण शर्माले अथक योगदान दिएका थिए । नेपाल रेडक्रस सोसाइटी र विदेशी दातृ संस्थाको सहयोगमा प्रिफेब्रिकेटेड मोडेलको अस्पताल निर्माण भएपछि सेवा प्रवाह सहज बनेको हो ।

    अस्पतालका मेसु डा अमितकुमार साहले अस्पतालमा जटिल उपचार सेवासमेत सम्भव भएको बताए । कार्यक्रममा डा सुनिलकुमार दास, सञ्चालक समिति अध्यक्ष निवेश श्रेष्ठ, जनस्वास्थ्य अधिकृत आचार्यलगायतले अस्पतालको सेवा सुधारका बारेमा जानकारी दिँदै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी दिए । पत्रकार महासङ्घका अध्यक्ष केशवप्रसाद पौडेल तथा विभिन्न सञ्चारकर्मीहरूले अस्पतालको पारदर्शिता र सामाजिक जवाफदेहिताको अभ्यास प्रशंसनीय रहेको बताए ।