Category: समाचार

  • नयाँ प्रधानमन्त्रीको शपथ आज

    नयाँ प्रधानमन्त्रीको शपथ आज

    काठमाडौँ, १३ चैत । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

    राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।

    गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन् ।

  • आज र भोली वर्षाको सम्भावना, यस्तो छ प्रक्षेपण

    आज र भोली वर्षाको सम्भावना, यस्तो छ प्रक्षेपण

    काठमाडौं, १३ चैतः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली भएको छ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेशका पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा अधिकांश बदली, पहाडमा साधारणतया बदली र तराई भेगमा आंशिक बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

    आज राति हिमाली भागमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेश लगायत पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    मौसमको उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दै महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हुने सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन तथा पछिल्लो मौसमसम्बन्धी जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ ।

  • पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

    पहिचानको महत्व बुझाउन परम्परागत वेषभूषामा सांसद्

    काडमाडाँैं, १२ चैतः आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खौली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन् । उनले सपथ लिन आउँदा सानी छोरीलाई परम्परागत वेषभूषामा सजाएर ल्याए । “मेरो समुदायका लागि आज गौरवको दिन हो”, सांसद चौधरीले प्रतिनिधिसभामा सपथ लिएपछि प्रतिक्रिया दिँदै भने, “सङ्घीयताको मर्मअनुसार मौलिक पहिचान लिएर थारु वेषभूषामा आएकी हुँ, आमा र देश मेरा लागि उस्ता उस्तै हो ।”

    उनले आफूले लगाएको पहिरन आमाले सिलाइ दिएको बताइन् ।
    संसद् देशका जनताको प्रतिविम्ब झल्किने साझा फूलबारी जस्तै भएकाले पहिचान खुलाएर आउनु सान्दर्भिक लागेको सांसद चौधरीले बताइन् । उनले भनिन्, “मैले छोरीलाई परम्परागत लुगा लगाएर ल्याएकी छु । जुन आउने पुस्तालाई संस्कृति हस्तान्तरण गराउनु जरुरी छ ।”

    शिरमा लगाएको पुर्खौली गहना ‘मङ्गौरी’, घाटीमा लगाउनेमाला ‘टौक’लगायत चाँदीले बनेका गहना देखाउँदै सांसद चौधरीले यी सबै गरगहना पुस्तौनी रहेको बताइन् । सङ्घीयताको मर्म र भावना अनुरुप प्रतिनिधिसभामा समावेशिताको अर्थ बुझाउन सांसद चौधरीले जस्तै परम्परागत वेषभूषामा उपस्थिति भएकी थिइन् ।
    परम्परागत पहिरनमा सबैको ध्यान तान्नुभएका सांसदमध्ये सांसद सुधन गुरुङ एक थिए ।

    गोर्खाका गुरुङले टोपीको शिरमा खुकुरीको आकृति झल्काउँदै गुरुङ समुदायको पोसाकमा संसद्मा पुगे । सधैँ जस्तै, कोटपाइन्टमा देखिने गुरुङ परम्परागत भेषमा सपथ खाएका थिए । पहिरनसँगै मुहारमा उत्साह र जोश झल्किएको थियो । आमसञ्चारलाई प्रतिक्रिया दिने क्रममा उनले भने, “जनताको भावना मर्न दिने छैनौँ ।”

    नेपाली कम्युनिष्ट पार्टीबाट सांसद भएकी दाङका सांसद भीमकुमारी बुढामगरले समावेशीको सन्देश दिन पुर्खौली वेषभूषामा सपथ ग्रहण गर्न आएको बताइन् । मगर समुदाय सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध समुदाय रहेको सुनाउँदै समाजमा समुदायको पहिचान स्थापित गर्न पहिरनले महत्वपूर्ण सन्देश झल्किने धारणा राखे । “सांस्कृतिक महत्व कहिल्यै भुल्नुहुँदैन”, सांसद बुढामगरले भने, “यही लगाएर हुर्किए यही लगाएर संसद्मा आएँ ।”

    रास्वपाका सांसद महोत्तरीका प्रमोदकुमार महतोले श्रीराम लेखिएको गम्झा, शिरमा रातो रुमाल र कुर्था सुरुवाल लगाएका थिए । उनका अनुसार तराई क्षेत्रको आभाव गराउने आधार पहिरन भएको बताउँदै उनले संसद्मा तराईको अस्थित्व महसुस गराउन लगाएको बताए । “पहिरनले अपनत्व महसुस गराउछ भने राष्ट्रिय भाव बलियो बनाउछ”, सांसद महतोले भने, “म सांसद नहुँदा मौलिक पहिरन नै लगाउछु । आज संसद्मा उपस्थिति हुँदा नलगाउने कुरै भएन ।”

    संसद्मा उपस्थिति अरु सांसदहरुले समुदायको भाव झल्किने पहिरनमा उत्साहका साथ देखा परेका थिए । ट्रान्सजेण्डरको प्रतिनिधित्व गर्दै रास्वपाबाट सांसद भएकी भूमिका श्रेष्ठ आफ्नो नेवार समुदायको संस्कृति झल्किने हाकुपटासी सारीमा देखिइन् । उनले त्यसै अनुसारको नेवार गरगहना लगाएकी थिइन् । संसद्मा एउटा सांसदले समुदायदेखि राष्ट्रको अस्थित्व सम्बोधन गर्नुपर्ने हुँदा परम्परागत पहिरनमा सजिएको बताइन् । “समुदायको सम्मानसँगै, जनताको सेवा गर्नुपर्छ”, सांसद श्रेष्ठले भनिन् ।

  • युवा सांसद् भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

    युवा सांसद् भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

    काठमाडौँ, १२ चैतः सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नो भूमिका जेन–जी बिद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताए । सपथसँगै आफ्नो संसदीय यात्रा सुरु भएको उल्लेख गर्दै २६ वर्षे खनालले भने, “यो मेरो एक्लो पाइला होइन, प्रत्येक मतदाताको भरोसा र हजारौँ युवाहरुको आशाको सामूहिक यात्रा हो ।”

    गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि प्रतिनिधिसभामा उनी र उनको उमेर समूहको प्रतिनिधित्व बढेको छ । त्यसैले आज भएको प्रतिनिधिसभा सदस्यहरूको सपथ ग्रहण समारोह केबल संवैधानिक प्रक्रिया मात्र नभइ संसद्मा युवा समूहको बाहुल्य प्रतिनिधित्वले संसद्लाई सुन्दर बनाएको छ ।

    राजनीतिक यात्रा सुरु गरेको छोटो समयमा सांसदीय यात्रा सुरु गर्नुभएका २६ वर्षीया सांसद केपी खनालले इमान्दारिताका साथ काम गर्ने प्रण गरे । उनले “संसद्मा जेनजी उमेर समूहको उल्लेख्य प्रतिनिधित्व छ, त्यसैले हामी उत्साही छौँ, जिम्मेवारी पनि त्यत्तिकै महसुस भइरहेको छ । जनतालाई ‘डेलिभरी’ दिनु हाम्रो कर्तव्य हो । पारदर्शिता, इमान्दारिता र जवाफदेहिताका आधारमा काम गर्छौं ।” उनले संसद् समारोहमा बुवाआमालाई साथमै लिएर आएका थिए ।

    विगत १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय खनालले अब जनताकोे आवाज अब संसद्मा उठान गर्नका लागि तयार रहेको बताए । आफू कैलाली–२ बाट निर्वाचित भए पनि सुदूरपश्चिमको प्रतिनिधि नभई देशभरका जनताको सेवकका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । जेनजी उमेर समूहकी २५ वर्षीया सांसद रुवीकुमारी ठाकुरले मधेसका युवा र महिलाको मुद्दा प्राथमिकताका साथ सदनमा उठाउने प्रण गरे ।

    मैथिली र नेपाली भाषामा सपथ ग्रहण गरेपछि आफ्ना पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा भएको बताए । सिभिल इन्जिनियरिङ विषय अध्ययनरत उहाँले मधेसको बेरोजगारी र वैदेशिक रोजगारका मुद्दालाई पनि कानुनमार्फत सम्बोधन गर्ने आफ्नो योजना रहेको बताए ।


    युवा सांसद सस्मित पोखरेलले आफूले राजनीतिक र कानुनी छिद्रहरूको अध्ययन सुरु गरिसकेको बताए । त्यसका लागि नयाँ कानून निर्माण, आवश्यक संशोधनका लागि विशेषज्ञ टिम निर्माणमा गृहकार्य थालेको उल्लेख गरे । “सपथपछि जिम्मेवारी अझ बढेको महसुस भएको छ । अब पाँच वर्षमा के गर्ने भन्ने कुरा स्पष्ट छ”, उनले भने ।

  • निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल

    निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल

    काठमाडौँ, १२ चैतः गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच मन्त्री अर्यालले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेनजी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गरे ।

    उनले आफ्नो कार्यकालमा शान्तिसुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताए । “निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गर्यौं”, मन्त्री अर्यालले भने, “यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आमनागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ ।”

    उनले आफ्नो कार्यकालमा भएका मुख्य कार्यलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उहाँले जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र तीन जना प्रहरीलाई सहिद घोषणा गरिएको, घाइतेको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिए ।


    समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा दुई दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको कार्यशैलीको प्रशंसा गरे । मन्त्री अर्याल २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका थिए । उनले १९१ दिने कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या सम्बोधन र नागरिकता प्राप्तिमा सहजताजस्ता जनपक्षीय कार्यसम्पादन गरेको मन्त्रालयले जनाएको छ।

  • केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    काठमाडौँ, १२ चैतः प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताएकी छिन् । प्रतिनिधिसभाका नयाँ सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिइ नयाँ सरकार गठनको तयारी भएका बेला प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै गत भदौ २७ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा आफ्नो मनमा रहेको डर र अनिश्चय अहिले सन्तुष्टिमा परिणत भएको उल्लेख गरिन् ।


    उनले भनिन्, “देश सङ्कटमा रहेका बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ । परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ । अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु ।”

    प्रधानमन्त्री कार्कीको सम्बोधनको पूर्ण विवरण
    “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ । म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनुप¥यो । ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपाङ्गता व्यहोर्नुप¥यो । ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुप¥यो ।
    सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दछु । र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईंहरु एक्लो हुनुहुन्न ।

    तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु । हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु ।

    गत भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर देश सङ्कटमा रहेका बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ । परिवर्तनकामी युवापुस्ताको आग्रहमा, छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ । अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु ।

    हामी सबैलाई स्मरण होला २०८२ भदौ २३ र २४ गते को युवाहरुको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति । ७६ जनाको निधन, दुई हजार ६०० भन्दाबढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो । त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा सङ्गठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो ।

    सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास ग¥यौँ । आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकताबमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो र फागुन २१ गते तोकिएकै दिन ऐतिहासिक रुपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो ।

    यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरु, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो । म उहाँहरुको उच्च प्रशंसा गर्दछु । नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउनसमेत महत्वपूर्ण भूमिका खेलेको छ । यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु ।

    चौकी जलाइएका, हतियार लुटिएका, लुगा, जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर सङ्गठनलाई पुनःसक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु । राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ । यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ । आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरुको योगदान स–सम्मान सम्झिन चाहन्छु ।

    निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ । सबै राजनीतिक दल तथा उम्मेदवारहरुले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु । यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु ।

    यस्तै, सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादको पात्र हुनुहुन्छ । मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तरराष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु । मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ ।

    विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ । निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपाली हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ । आगामी चुनावमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सु–संस्कृत र समृद्ध चरणमा पु¥याउन सकिनेछ ।

    यस निर्वाचनले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ, निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ । सङ्कटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनःप्रमाणित गरेका छौँ । र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफैँ सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौँ ।

    यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनका पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको छ । यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई गलत सावित गरिदिएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

    युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकाङ्क्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु । यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु ।

    छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्नसक्ने अवस्था थिएन । तर हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ । जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न हामीले प्रेरित ग¥र्यौं । परिणामस्वरुप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाइएका प्रकरणहरुमा मुद्दा अघि बढाएका छन् । ठेक्का लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्नेजस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रुपमा कठोर कदम चालेको छ ।

    जेनजी आन्दोलनको जगमा बनेको यस सरकारले आन्दोलनकारीहरुसँग २०८२ मङ्सिर २४ गते ऐतिहासिक सम्झौता गरेको छ । उक्त सम्झौताबमोजिमका केही काम अधुरा रहेका कारण आगामी सरकारले प्राथमिकतासाथ अघि बढाउने विश्वास लिएकी छु । आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाटलगायत घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ र आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावहरुका सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ ।

    जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छुट, सहुलियत तथा सुविधा प्रदान गरी आर्थिक गतिविधि सहज रूपमा सञ्चालन गर्न र उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ । जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

    म आज यहाँ सरकारका कामको फेहरिस्त वा उपलब्धि सुनाउन उपस्थित भएकी होइन । हामीले के गर्न सक्यौँ र के सकेनौँ भन्ने मूल्याङ्कन गर्ने जिम्मा यहाँहरुलाई नै छाड्न चाहन्छु । यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ । कुनै सुविधाको लोभ नगरी मितव्ययी ढङ्गले हामी चलेका छौँ । यस क्रममा सबै काम राम्रो र त्रुट्रिहित ढङ्गले ग¥यौँ भन्ने पनि दाबी छैन । तर यहाँहरुसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ । पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जर्मर्को गरेका छौँ ।

    यस अवधिमा केही राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईंहरूकै कारण सम्भव भएको हो । यस निम्ति तपाईंहरू सबैप्रति नतमस्तक छु । यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनुहोला । अन्त्यमा, मुलुकका सबै संस्था र सबैपक्षले आ–आफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प छैन । यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु ।

    अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु । र आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु । जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ ।

  • प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…

    प्रतिनिधिसभा सदस्यको सपथमा जे देखियो…

    रासस
    काठमाडौँ, १२ चैतः पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भीडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था सङ्घीय संसदमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु एकै साथ प्रवेश गर्दा स्वभाविकरुपमा सबैमा चासो र आकर्षण देखियो ।

    गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन सांसदहरुले आज पद तथा गोपनीयताको सपथ दिने समारोहका लागि संसद सचिवालयबाट सांसदहरुका लागि दुई घन्टा अगावै बोलाइएको थियो । सवारी जाम तथा नियमित गइरहेको स्थान नभएकाले कतिपय सांसदहरु अलमलमा परेर सपथ हुने समय २ः०० बज्न पाँच मिनेट अघिसम्म पनि प्रवेश गर्दै थिए ।


    मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट सुनिश्चित गर्ने संसदमा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहार भएकाले पनि समर्थक, कर्मचारी र पत्रकारमा पनि चासो बढेको पाइयो । भीड र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरीका साथै संसद्का मर्यादापालकलाई भ्याइनभ्याइ थियो ।

    जनताका प्रतिनिधिको स्वीकृति बिना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र करसम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो । तर संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने यस महत्वपूर्ण थलो भने अहिले अल्पकालीन संरचनाबाट सञ्चालित छ ।

    विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले र सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको शपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो । सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।


    सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले पुरानो भवन क्षतिग्रस्त भएका र नयाँ भवन पूर्ण तयार भइनसकेको अवस्थामा विशेष हलको प्रबन्ध गरिएको बताए । उनका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ । उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिथ्यो ।

    कुन द्वारबाट हलभित्र छिर्ने भन्ने स्पष्ट नहुँदा कुनै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट ओर्लिएर सुरुमा बन्द भएको ढोकातर्फ पुगेका थिए । सञ्चारकर्मी र सुरक्षाकर्मीबाट घेरिएका कारण उनीहरुलाई झन् अलमल भएको थियो । आफै गाडी चलाएर आएका नेता शाह सपथपछि अरुभन्दा चाँडै बाहिरिए । यसअघिको संसदमा रहेका प्रधानमन्त्रीसमेत भइसकेका कतिपय नेता यस पटक सदनमा नरहेकाले पत्रकारको प्रश्न सोध्ने र नेताको जवाफ दिने शैली रोचक नै थियो ।

    नयाँ वानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा जस्तो व्यवस्थित संरचना निर्माण भइनसकेकाले धुलोमैलो रहेको सिंहदरबारको संसद् भवनको परिसरमा पत्रकारहरुका लागि प्रतिक्रिया दिन र तस्बिर खिच्न असुविधा भएको देखिन्थ्यो । हलमा स्थान अभावका कारण राष्ट्रिय सञ्चारमाध्यमका सीमित क्यामरापर्सनले मात्र सपथस्थलमा प्रवेश पाएका थिए । दर्शकदीर्घा पनि तयार भइनसकेकाले संसद् भवनको भईँ तलामा राखिएको ठूलो स्क्रिनमा कार्यक्रमको दृष्य देखाइएको थियो ।

    संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो । सपथपछि सांसदहरुलाई प्रतीक चिन्ह (लोगो) र ब्याज उपलब्ध गराइएको थियो । सपथमा आएका सदस्यहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि ल्याएका थिए ।

    रास्वपाका सांसद पुकार बमले बच्चा पनि साथ ल्याएका थिए । सोही पार्टीका सांसद रहबर अन्सारी विद्यालयका विद्यार्थीको पोसामा आउँदा जिज्ञाशाको पात्र बनेका थिए । जातजाति र संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांसदहरु आफ्ना भेषभूषा तथा मर्यादित पोसाकमा सजिएर आएका थिए । अपाङ्गता भएका सांसदहरु ह्विलचेयरमा आएका थिए । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ ।

  • त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

    त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

    काठमाडौँ, १२ चैतः आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिएका छन् । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए । सिंहदबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरुले शपथ लिएका हुन् । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरुमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गङ्गा छन्त्यालले छन्त्याल, करिस्मा कठरियाले ‘कठरीया थारू’ भाषामा शपथ लिएका छन् ।


    त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए । सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए । कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिए ।

    अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जितले नेपाल भाषामा शपथ लिए । नितिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिए । त्यसैगरी ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिए ।

    माधवराज राईले बान्तावा, कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिए । रेनुका काउचाले मगर खाम भाषामा शपथ लिइन् । प्रमोदकुमार महतो, राजकिशोर महतोले मगही भाषामा शपथ लिए ।
    अङ्किता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शङ्कर यादव,सीताराम साहले मैथिली भाषामा शपथ लिए । कृपाराम रानाले राना थारू भाषामा शपथ लिए ।


    त्यसैगरी पूर्णप्रसाद लिम्बू,सन्तोष सुब्बा, सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिए । खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिए । प्रतिनिधिसभाका सहायक प्रवक्ता (उपसचिव) अनन्तप्रसाद कोइरालाले मातृभाषामा शपथ लिने भनेर सुरुमा ६२ जनाले नाम टिपाएकामा पछि बिस्तारै थपिँदै गएको र कतिले लिएको भन्ने यकिन गर्ने काम भइरहेको बताए ।

  • रास्वपा संसदीय दलको नेतामा शाह चयन

    रास्वपा संसदीय दलको नेतामा शाह चयन

    काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

  • ‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

    ‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

    काठमाडौँ, १२ चैत । सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि संसद् भवन पुग्नुभएका कतिपय दलका सांसद एकापसमा चिनजान गर्दै थिए । कोही सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिए भने कोही सांसद निर्वाचित भएकामा बधाई लिँदै थिए ।

    सङ्घीय संसद् सचिवालयले अपराह्न २ः०० बजेका लागि शपथ समारोहको आयोजना गरेको थियो । समारोहमा सहभागी हुन सांसदहरु आ–आफ्ना वेशभूषामा सजिएर संसद् भवन पुग्नुभएको थियो । शपथ समारोहको समय नजिकिँदै गर्दा भवन परिसरमा रहेका सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य सहयोगीको ध्यान भवनको दक्षिणतर्फको प्रवेशद्वारतर्फ केन्द्रित थियो ।

    अपराह्न करिब १ बजेर ५५ मिनेट जाँदा दक्षिणतर्फको प्रवेशद्वारबाट प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा.प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी संसद् भवनको मूल प्रवेशद्वार अघि रोकियो । गाडीबाट ओर्लेर संसद् भवनको मूल प्रवेशद्वारतर्फ प्रस्थान गर्ने क्रममा उनी सञ्चारकर्मीको घेरामा परे । सञ्चारकर्मीको घेरामुक्त गरेर नेता शाहलाई भवनको बहुउद्देश्यीय हलमा जाने ढोकातर्फ ल्याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

    सुरक्षाकर्मीको सहयोगमा शपथ हलतर्फ जाने क्रममा उपस्थितले ‘बालेन सरकार’ भन्दै अभिवादन टक्र्याउँदा नेता शाह मुस्काउँदै भित्र प्रवेश गरे । कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता शाह शपथ समारोहस्थल प्रवेश गरे । किराँती भाषामा ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभ सङ्केतको अर्थ पनि जनाउँछ भने यसलाई खासगरी रक्षा कवचका रुपमा लिइन्छ । समारोह स्थलमा उहाँ बैठक कक्षको पहिलो लहरमा बसे ।

    रास्वपाबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित उनको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले रहेका थिए । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथ समारोहमा सहभागी नवनिर्वाचित सांसदहरुलाई स्वागत गर्नुभयो । बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपस्थित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोह सकिएलगत्तै वरिष्ठ नेता शाह संसद् भवनबाट आफैँ गाडी चलाएर बाहिरिए ।


    झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रस्तावित गरेको छ । रास्वपाले नेता शाहलाई संसदीय दलका रुपमा चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आजै अपराह्न बैठक आह्वान गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाह युवापुस्ताबीच लोकप्रिय छन् । पेसाले ‘स्ट्रक्टचरल इन्जिनियर’ शाह चर्चित ‘(यापर’का रुपमा पनि परिचित हुनुहुन्छ ।

  • संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

    संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

    काठमाडौँ, १२ चैत । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको हो । यसअघि मुलुकका प्रमुख तीन दलको पहिचानमा रहँदै आएको थियो ।

    विसं २०६३ मा लोकतन्त्रको स्थापना र तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि गठन भएको अन्तरिम संसद्मा यी तीनवटै दल एउटै बेन्चमा थिए । तर, २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेको सभा र त्यसपछिका संसद्हरुमा भने कांग्रेस, एमाले र माओवादीमध्ये कुनै दुई दल सत्तामा हुँदा प्रायः एक दल प्रतिपक्षमा बस्ने गरेको अवस्था थियो ।

    तीनवटै दल एउटै बेन्चमा बस्न लागेको भने यो पहिलोपटक हो । यसपटक तीन दलमध्ये कांग्रेस प्रमुख प्रतिपक्ष र अन्य दुई दल प्रतिपक्षको भूमिका रहनेछन् । एउटै विपक्षी बेन्चमा तीन दल रहनेछन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज मात्र प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । समारोहमा सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराए । शपथका क्रममा तीन दलका सांसदहरु प्रतिपक्षी बेन्चमा उभिएर शपथ लिए । राजनीतिक दलहरुको सिट सङ्ख्याका आधारमा सङ्घीय संसद् सचिवालयले दलहरूको बस्ने बेन्चको व्यवस्था गरेको छ ।

  • ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

    ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

    काठमाडौँ, १२ चैतः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

    नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

  • चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुदिप राउत–रासस

    सप्तरी, १२ चैतः सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बित्यो । योबीचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा प¥यो, तर त्यो रहर अन्त्य भइसकेको थिएन । उनले फेरि अध्ययन सुरु गरिन् । २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन् । राउतको औपचारिक अध्ययनको यात्रा त्यत्तिमा रोकिएन, घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि उनले ‘प्लस टू’ मात्र होइन, गत वर्ष स्नातक (बिएड) समेत उत्तीर्ण गरिन् ।


    “योबीचमा मैले विभिन्न गैरसरकारी सङ्घसंस्थामा काम गरेँ, यस क्रममा औपचारिक शिक्षाको महत्त्व बुझेँ । पढाइमा तल्लो तहमा हुँदा धेरै अवसरबाट वञ्चित भएको महसुस हुन्थ्यो । बाहिर गएर पढ्ने सम्भावना थिएन, तर घर नजिकै क्याम्पस खुलेपछि पढ्न सहज भयो”, राउतले खुसी व्यक्त गर्दै अगाडि भनिन्, “अब यही स्नातकोत्तर पनि सञ्चालन भएमा पढाइलाई अझ अगाडि बढाउने चाहना छ । चाँडै त्यो सपना गर्ने अपेक्षामा छु ।”

    यस्तै, कथा डिकुरा पोखरेलको पनि छ । १५ वर्षअघि उदयपुरको गाईघाटस्थित त्रियुगा क्याम्पसबाट १२ कक्षाको अन्तिम परीक्षामा उनलाई एउटा विषय लाग्यो । त्यहीबीचमा विवाह भयो र पढाइ रोकियो । पछि सुरुङ्गास्थित घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि पोखरेलले पुनः १२ कक्षा उत्तीर्ण गरी नेपाली विषयमा स्नातक गरिन् । हाल स्नातकोत्तर सकेर अध्यापन गराइरहेकी छिन् ।


    सुमित्रा र डिकुरा त प्रतिनिधि पात्र मात्र हुन् । गाउँमै क्याम्पस स्थापना भएपछि उनीहरुजस्तै सयौँ छोरी–बुहारीले यहाँ आफ्ना अधुरा सपनालाई पूरा गर्ने अवसर पाएका छन् । सप्तरीको उत्तर–पश्चिमी सीमान्त गाउँ शिशुवारीमा अवस्थित यो क्याम्पस स्थानीयको पसिना र चन्दाबाट ठडिएको हो । विसं २०६९ साउन १५ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यस क्याम्पसले उच्च शिक्षाको ढोका खोलिदिएको छ । हाल यहाँका ३०० भन्दा बढी बुहारीहरू स्नातक उत्तीर्ण भई कोही निजामती सेवा त कोही शिक्षण पेसामा प्रवेश गरेर आफ्नो संसार आफैँ बदल्न सफल भएका छन् ।

    क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन् । “यहाँको गाउँले वातावरण, न्यून शुल्क र सुरक्षित वातावरणले गर्दा बुहारीहरूका लागि यो क्याम्पस माइतीको घरजस्तै बनेको छ”, उनी भन्छन् ।
    क्याम्पस प्रमुख तिम्सिनाका अनुसार आर्थिक रूपमा कमजोर परिवारका लागि वार्षिक रु १४ हजार मात्र शुल्क निर्धारण गरिएकाले यो क्याम्पस अन्य सामुदायिक क्याम्पसभन्दा करिब ३० प्रतिशत सस्तो र सहज पहुँचयोग्य बनेको छ । साथै, अतिविपन्न विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने व्यवस्था पनि गरिएको छ । क्याम्पसको यो गुणस्तरीय र सुलभ शिक्षाले धेरैको जीवनमा व्यावसायिक परिवर्तन ल्याएको छ ।

    उदयपुरको मुर्कुचीबाट विवाह गरी आएकी टुना माया मगरले यहीबाट स्नातक गरी शिक्षक सेवा आयोग उत्तीर्ण गरिन् । हाल उनी जनप्रभावत मावि दौलतपुरमा स्थायी शिक्षिका छन् । यस्तै, दुई वर्षअघि यही अध्ययन गर्नुभएकी मनिशा विकले पनि शिक्षक सेवा उत्तीर्ण गरेर राष्ट्रिय प्राविमा अध्यापन गराइरहेकी छिन् ।
    यस्तै, कथा छ प्रेमा थापामगरको पनि । उहाँले शिशुवारी क्याम्पसमा प्लस टू अध्ययन गरे पनि त्यतिबेला क्याम्पसमा स्नातक तह सञ्चालन नभएकाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसबाट स्नातक गरिन् । “त्यतिबेला यहाँ स्नातक तहको अध्ययन हुन्थेन, त्यसैले बाहिर बसेर पढ्नुप¥यो । हाल भने धेरै दिदीबहिनीहरूले गाउँमै पढ्न पाएका छन्, त्यो देख्दा खुसी लाग्छ,” उनले भनिन् । “हाल शिशुवारीमा स्नातक नगर्ने कुनै घर छैन, यो यस क्याम्पसको गौरव हो ।”

    लहान माइती भएकी करिनाकुमारी महतोले गत वर्ष बिहे गरेर शिशुवारी आएपछि पनि अध्ययनलाई छोडिनन् । हाल कक्षा १२ मा अध्ययनरत उनलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका श्रीमान् कृष्ण महतोले उत्तिकै हौसला दिइरहेकी छिन् । “खेतीपाती र पशुपालन गर्ने बुबाआमाले बाहिर राखेर पढाउन सक्ने अवस्था थिएन । हाल घरको काम भ्याएर पनि पढ्न पाएकी छु, घरपरिवार सबै खुसी हुनुहुन्छ”, महतोले भनिन् ।
    शिशुवारी क्याम्पसले सुरुङ्गाका छोरी–बुहारीहरूका लागि केवल ‘डिग्री’ मात्र बाँडेको छैन, एउटा आत्मविश्वास र आत्मनिर्भरताको बाटो पनि कोरिदिएको छ । पारिवारिक उल्झन र आर्थिक अभावका कारण बीचैमा पढाइ छाडेर गृहिणीमा सीमित भएकाहरू हाल उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका छन् ।

    मट्ठीदानबाट ठडिएको ‘ज्ञानको मन्दिर’

    यो परिवर्तनको कथा त्यतिबेला सुरु भयो, जब गाउँमा ‘ज्ञानको मन्दिर’ ठड्याउन स्थानीयले मुट्ठीदान सुरु गरे । लहानका गणपतलाल सारडाले २१ कट्ठा जग्गा दान गरेपछि सुरु भएको यो अभियानमा स्थानीय नारायणप्रसाद पराजुलीले रु तीन लाख बराबरको जग्गा थपे । अन्य गाउँलेले गच्छेअनुसार रु १० हजारदेखि रु ५१ हजारसम्म नगद सहयोग गरे ।

    क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार १४ वर्षको अवधिमा स्थानीयबाट मात्र रु १७ लाखभन्दा बढी नगद सहयोग जुटेपछि विद्यालयको विकासमा सहयोग पुगेको हो । ‘स्थानीयको अपनत्व’ का कारण क्याम्पसले स्थानीयस्तरमा गुणस्तरीय शिक्षा दिन सहज भएको उनको भनाइ छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा–१ का वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार) क्याम्पसले विभिन्न बाधा झेलेर पनि स्थानीयमा शिक्षाको ज्योति बाल्न योगदान गरिरहेको बताउँछन् ।

    “मैले जिम्मेवारी लिँदा भवन जीर्ण थियो, शिक्षकहरूको तलब झन्डै दुई लाख बक्यौता थियो र जम्मा १० जना विद्यार्थी मात्र थिए”, उनी विगत कोट्याउँछन् । “तर हार नखाई चलाइएको घरदैलो अभियानले ५२ जना छोरी–बुहारीलाई क्याम्पस भर्ना गरायो । शिक्षकहरूले महिनौँसम्म तलब नपाउँदा पनि कक्षा रोकेनन्, जसको नतिजास्वरूप आज यो क्याम्पस कोशी प्रदेशमै बिएडतर्फको नतिजामा पहिलो हुन सफल भएको छ ।” राउतको यो तेस्रो कार्यकाल हो ।

    यही क्याम्पसको स्नातक पहिलो ब्याचका विद्यार्थी एवं हाल सञ्चालक समिति सदस्य काशि कार्कीका अनुसार यहाँ पढेका कैयौँ विद्यार्थीहरू नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेर राष्ट्र सेवामा जुटिसकेका छन् । कुनै समय सामान्य लेखपढ मात्र भएको यो गाउँमा हाल प्रायः हरेक घरमा कम्तीमा एकजना स्नातक उत्तीर्ण छोरी वा बुहारी भेटिन्छन् । “यो अभियानको सबैभन्दा ठूलो सफलता हो । हाल तराई मधेस समृद्धि कार्यक्रममार्फत बनेको पक्की भवनमा कक्षा सञ्चालन भइरहेको छ भने भारतीय दूतावासको रु पाँच करोड लागतमा निर्माणाधीन तीनतले अत्याधुनिक भवन आगामी वैशाखमा उद्घाटन गर्ने तयारी छ । यी पूर्वाधार बनेमा थप सहज हुनेछ”, उनले भने ।


    त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएड र प्लस टूतर्फ शिक्षा र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको यस क्याम्पसले विद्यार्थीलाई कम्प्युटरको आधारभूत सीप र शिक्षक सेवा आयोगको तयारी कक्षासमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । क्याम्पस प्रमुख तिम्सिनाका अनुसार हाल यहाँ प्लस टूतर्फ २०० र स्नातकतर्फ २२५ जना विद्यार्थी अध्ययनरत छन्, जसमा छोरी–बुहारीहरूको बाहुल्यता छ ।

    स्थानीयको चन्दा र गाँस काटेर गरिएको सहयोगबाट सञ्चालित यस क्याम्पसले विपन्न परिवारका छोरी–बुहारीहरूका लागि वास्तवमै अँध्यारोमा एउटा उज्यालो दियोको काम गरिरहेको छ । चुलोचौकोको धुवाँबाट निस्किएर उच्च शिक्षासम्म पुग्ने यहाँका छोरी—बुहारीहरूको यात्राले शिशुवारीलाई केवल एउटा शैक्षिक संस्था मात्र होइन, सामाजिक परिवर्तनको एउटा बलियो केन्द्र बनाएको छ ।

  • बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपा बैठक आज

    बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपा बैठक आज

    काठमाडौँ, १२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक डाकेको सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिए । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथपछि बैठक हुने उनले बताए । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले नेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो ।

  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

    काठमाडौँ, १२ चैतः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराए ।

    प्रतिनिधिसभा सस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

    सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो ।

    बहुउद्देश्यीय हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

  • कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

    कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

    काठमाडौँ, १२ चैतः नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ ।

    आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ । प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । वैशाख महिनाभरि वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । सार्वजनिक कार्यतालिकाअनुसार जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी आगामी जेठ मसान्तसम्म केन्द्रमा पठाउनु पर्नेछ । केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी आगामी असार १५ गतेसम्म टुङ्गो लगाउने समयसीमा तोकिएको छ ।

    यस्तै, अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्तसम्मलाई तोकिएको छ । केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराई अधिवेशन प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ ।

    कार्यतालिकाअनुसार, आगामी भदौ २ गते सबै वडा समितिको सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ भने भदौ ७ गते गाउँ नगरपालिका अधिवेशन गरिनेछ । भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने र महाधिवेशन गरिनेछ । यस्तै, आगामी असोज २ र ३ गते जिल्ला अधिवेशन गरिनेछ । यस्तै, महाविधेशनका अन्य कार्यक्रम तय गर्नुका साथै विभिन्न १६ वटा निर्णय गरिएका पार्टी केन्द्रीय कार्यालयका कावा मुख्यसचिव दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    काठमाडौँ, १२ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

  • जेनजी आन्दोलनमा जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

    जेनजी आन्दोलनमा जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

    राँझा (बाँके), १२ चैतः नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ । आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा सेवा बन्द भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयबाट सेवा सञ्चालन भएको थियो । गत मङ्सिरदेखि चैत ८ गतेसम्म जलेर नष्ट भएका १३ हजार ४०९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको कार्यालयका प्रमुख मालपोत अधिकृत सबिनसिंह चौधरीले जानकारी दिए ।


    “जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ, हाम्रोतर्फबाट सकेसम्म सहज रूपमा सेवा प्रवाह गरिरहेका छाँै,” उनले भने, “एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड भए पनि सेवा प्रवाहमा कुनै समस्या नहुनेगरी काम गरिरहेका छाँै ।” विसं २०७४ पछिका स्रेस्ताहरु ‘डिजिटलाइज्ट’ भएकाले स्रेस्ता कायममा समस्या नभए पनि त्योभन्दा अगाडिका जग्गाधनी प्रमाणपुर्जाको रोक्का यकिन नहुँदा स्रेस्ता कायम गर्दा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेलगायतका प्रक्रियागत कार्यले लामो समय लाग्ने गरेको चौधरीले जानकारी दिए ।

    सेवाग्राहीको सहजताका लागि गत हप्ता मात्रै सेवाग्राही सहायता कक्ष स्थापना गरेर आवश्यक सहयोग र समन्वयको कार्य सुरु गरिएको उनले बताए । लेखापढी व्यवसायीमार्फत सेवा लिँदा आर्थिक रुपमा बोझ हुनेहुँदा नागरिक सहायता कक्षमार्फत सेवा लिन आग्रह गर्दै कार्यालय प्रमुख चौधरीले मालपोत विभागको ‘अनलाइन’ प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुने बताए ।

  • अमेरिकी डलरको भाउ अझै बढ्यो

    अमेरिकी डलरको भाउ अझै बढ्यो

    काठमाडौँ, १२ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ २३ पैसा र बिक्रीदर १९० रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७६ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा रहेको छ ।

    यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

    तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

    तेहरान, १२ चैत (रासस–एएफपी) । इरानको सरकारी टेलिभिजनले एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बुधबार मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनालाई इरानले अस्वीकार गरेको जनाएको छ । “जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानले नकारात्मक प्रतिक्रिया दिएको छ,” ती अधिकारीले भने। “ट्रम्पले युद्धको निष्कर्षको कल्पना गर्दैमा युद्धको अन्त्य नहुने यो इरानका लागि पनि मान्य हुन्ुपर्नेछ,” उनले भने ।


    इरानले उक्त कथित शान्ति योजनाबारे कुनै आधिकारिक भनाइ दिएको छैन । अमेरिकासँग युद्धपूर्व वार्ताको नेतृत्व गरेका विदेशमन्त्री अब्बास अराघचीले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । मेहर र तस्निम एजेन्सीजस्ता इरानी मिडियाले प्रेस टिभीको रिपोर्टलाई आधार बनाएर समाचार सम्प्रेषण गरेका छन् । यसअघि बुधबार दुई वरिष्ठ पाकिस्तानी अधिकारीले मध्यस्थताको प्रयासमा इस्लामाबादले इरानलाई १५ बुँदे योजना दिएको र यसमा करिब एक महिना लामो इरान युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव समावेश रहेको पनि उल्लेख छ ।

    तेहरानले शत्रुता अन्त्यका लागि आफ्नै पाँच सर्त अघि सारेको प्रेस टिभीले नाम उल्लेख नगरीकन एक इरानी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
    सर्तमा देश र यसका नेताहरू विरुद्ध ‘आक्रमण र हत्या’ अन्त्य गर्ने, इजरायल र संयुक्त राज्य अमेरिका दुवैले युद्ध पुनः सुरु नगर्ने सुनिश्चितता गर्ने बलियो संयन्त्र स्थापना गर्नु, साथै पुनर्निर्माणको दृष्टिकोणले भएको विनाशको क्षतिपूर्ति पनि समावेश छ।

    इरानको सर्तहरूमा विशेष गरी तेहरान समर्थित लेबनानी समूह हेजबुल्लाहको लागि एक अप्रत्यक्ष सन्दर्भसहितको सबै क्षेत्रीय मोर्चा र सबै प्रतिरोध समूहविरुद्ध शत्रुताको अन्त्य पनि उल्लेख छ । इरानी अधिकारीका अनुसार तेहरानले अन्तर्राष्ट्रिय मान्यता पनि चाहन्छ र वर्तमान युद्धको केन्द्रमा रहेको विश्व व्यापारको प्रमुख समुद्री मार्ग हर्मुजको जलमार्गमा आफ्नो सार्वभौमिकता प्रयोग गर्ने इरानको अधिकारको सुनिश्चितता चाहन्छ ।

  • बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

    बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

    ढाका, १२ चैत (रासस–सिन्ह्वा) । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुवेको आशङ्का गरिएको छ। दुर्घटनाको केही समयपछि ११ जना यात्रु मात्र पौडी खेली जीवन जोगाउन सफल भएको उनीहरूले बताएका छन्। बङ्गलादेशको राजबारी जिल्लाको एक सडकमा बुधबार साँझ ५ः१५ बजे ढाकाका लागि छ्टेको यात्रुवाहक बस अनियन्त्रित भई पद्मा नदीमा खस्दा कम्तीमा दुई महिलाको मृत्यु भएको छ भने अन्य धेरै जना पानीमा डुबेको आशङ्का गरिएको छ ।

    राजबारीका डेपुटी कमिस्नर तथा जिल्ला प्रशासक सुल्ताना अख्तरले बसमा ४० जना यात्रु सवार रहेको र बुधबार साँझ समाचार तयार पार्दासम्म दुई महिलाको शव पानीबाट निकालिएको छ । डुबेको बस पानीमुनि रहेको अधिकारीहरुले बताएका छन् । फायर सर्भिस र सिभिल डिफेन्सका अधिकारी ताल्हा बिन जासिमले नदीमा डुबेका भनिएका यात्रुको खोजी अभियान जारी छ र बसलाई उद्धार गर्न स्थानीय प्रयासलाई सशक्त पारिएको छ ।

    उद्धारका लागि डुङ्गाहरू बोलाइएको छ। प्रत्यक्षदर्शीका अनुसार करिब ४० जना यात्रु बोकेर बस राजबारीबाट हिँडेको थियो ।

  • सडक विस्तारका क्रममा पहिरो खस्दा नुवाकोटमा दुई जनाको मृत्यु

    सडक विस्तारका क्रममा पहिरो खस्दा नुवाकोटमा दुई जनाको मृत्यु

    त्रिशूली (नुवाकोट), ११ चैतः नुुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ । योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा आज दिउँसो २ः०० बजेतिर माथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोमा पुरिएर स्थानीय फूलमान तामाङ र स्काभेटर चालक अमृत तामाङको मृत्यु भएको हो ।

    सडक निर्माणअन्तर्गत उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका ३५ वर्षीय फूलमानलाई घटनालगत्तै पहिरोबाट मृत अवस्थामा उद्धार गरिएको थियो ।
    पहिरोमा परेर स्काभेटरसहित बेपत्ता भएका चालक २४ वर्षीय अमृतको शव नेपाली सेनासहितको सुरक्षा निकायले पाँच घण्टापछि उद्धार गरेको हो । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा पठाइएको छ । घटनास्थलमा थप क्षतिको सम्बन्धमा प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।

  • प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोली दुई बजे बाँकी संसदको सपथ

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोली दुई बजे बाँकी संसदको सपथ

    काठमाडौँ, ११ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
    राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको छ ।

    यसैको तयारीका लागि आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले शपथ लिएका हुन् । उनी ७८ वर्षका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार भोलि बिहीबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउने छन् । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नेछन् । भोली दुई बजे बाँकी संसदको सथप हुनेछ ।

  • यौनधन्दा गर्ने युगाण्डाका २० महिला ठमेलबाट पक्राउ

    यौनधन्दा गर्ने युगाण्डाका २० महिला ठमेलबाट पक्राउ

    काठमाडौँ, ११ चैतः ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् ।

    प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

  • सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

    सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

    काठमाडौँ, ११ चैत । सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा मुद्दाको लगत ४० हजार ७४१ रहेको थियो । त्यसमध्येबाट ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट भएको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्च अदालतमा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ६९ प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आव २०८१–०८२ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

    उक्त प्रतिवेदन अनुसार उच्च अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदन–प्रतिवेदनको सङ्ख्या २५ हजार २२५ थान र यस आवमा नयाँ दर्ता भएका ५८ हजार १८५ गरी मुद्दाको जम्मा लगत ८३ हजार ४१० कायम भएकामा ६१ हजार ४५४ मुद्दा अर्थात् ७३ दशमलव ६७ प्रतिशत फर्छ्यौट भएको छ । जुन गत वर्षको तुलनामा ८ दशमलव ८५ प्रतिशतले बढी मुद्दा फर्छ्यौट भएको हो । जिल्ला अदालतमा गत आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख १० हजार २६ र यस आवमा नयाँ दर्ता भएका एक लाख ८५ हजार १५ गरी मुद्दाको जम्मा लगत दुई लाख ६८ हजार ४४ कायम भएकामा एक लाख ६६ हजार ४६७ मुद्दा अर्थात् ६२ दशमलव १० प्रतिशत फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ९० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हो ।

    प्रतिवेदनमा सर्वोच्च अदालतलगायत मातहत अदालत तथा न्यायाधीकरणमा अघिल्लो आवदेखि जिम्मेवारी सरेको मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या एक लाख ६२ हजार ३४४ रहेको जनाइएको छ । गत आवमा नयाँ दर्ता भएका दुई लाख ३४ हजार २५३ गरी जम्मा मुद्दाको वार्षिक लगत तीन लाख ९६ हजार ५९३ कायम भएकामा दुई लाख ४७ हजार ३३ अर्थात् ६२ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट भई एक लाख ४९ हजार ५६० मुद्दा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • तीन महिनाका लागि एन्फा निलम्वन

    तीन महिनाका लागि एन्फा निलम्वन

    काठमाडौँ, ११ चैतः राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा कानुनी व्यवस्था पालना नगरेको कारण निलम्वन गरेको राखेपको पत्रमा उल्लेख गरेको छ ।

    विशेषगरी एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र कानुनअनुसार काम नगरेको भन्दै यो कदम चालिएको परिषद्ले जनाएको छ । यसअघि परिषद्ले पटकपटक निर्देशन दिए पनि कार्यान्वयन नभएको, साथै महासङ्घको विधान र राष्ट्रिय कानुनबीच समन्वय नगरेको भन्दै अन्ततःनिलम्वनको निर्णय गरिएको राखेपद्वारा जारी पत्रमा जनाएको छ ।

  • प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

    प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

    काठमाडौँ, ११ चैतः प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।


    प्रधानमन्त्री कार्कीले आज भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । यसअघि हिजो (मङ्गलबार) उनले नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् ।

    त्यस्तै गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छिन् । यो मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गर्नेछ ।

  • एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ

    एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ

    काठमाडौँ, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

    निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल-मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पर्ने भएको छ ।

    निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

  • सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो

    सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो

    जेनेभा, ११ चैत (रासस–एएफपी) । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्गठनले यसलाई सुडानको विनाशकारी युद्धमा जीवनमाथिको आक्रमण भनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पूर्व डारफुरको राजधानी शहरमा रहेको शिक्षण अस्पतालमा शुक्रबार भएको आक्रमणमा घाइते हुनेको सङ्ख्या पनि ८९ बाट बढेर १४६ पुगेको छ । हाल उक्त अस्पताल पूर्ण रूपमा सञ्चालनमा छैन ।

    सुडानका लागि संगठनकी उपप्रतिनिधि तथा स्वास्थ्य आपतकालीन प्रमुख हाला खुडारीले यस घटनालाई ‘भयानक आक्रमण’ बताए । उनका अनुसार मृतकमध्ये सात महिला, १३ बालबालिका, एक चिकित्सक र दुई नर्स रहेका छन् । घाइतेहरूमा बिरामी, उनीहरूका परिवारका सदस्य तथा आठ स्वास्थ्यकर्मी समेत रहेका छन् । उनले भने, “अस्पतालको बाह्य सेवा र आकस्मिक कक्षमा विशेष गरी गम्भीर क्षति पुगेको छ ।”

    यो अस्पताल यसअघि पनि सन् २०२४ को अगस्टमा भएको अर्को आक्रमणमा क्षतिग्रस्त भएको थियो । पछिल्लो आक्रमणपछि अस्पताल अब सञ्चालनयोग्य नरहेको बताइएको छ । उक्त अस्पतालले पूर्व डारफुरका विभिन्न क्षेत्रमा रहेका करिब २० लाखभन्दा बढी जनतालाई सेवा प्रदान गर्दै आएको थियो । अब बिरामीहरूले अर्को सन्दर्भ अस्पताल पुग्न करिब १६० किलोमिटर टाढा जानुपर्ने अवस्था आएको छ ।

    खुडारीले भने, “अस्पतालमाथिको आक्रमण केवल भवनमाथिको आक्रमण मात्र होइन, उपचार खोजिरहेका मानिस, अरूको ज्यान बचाउन जोखिम उठाउने स्वास्थ्यकर्मी र सङ्कटको समयमा बाँच्ने सम्भावनामाथिको आक्रमण पनि हो ।” “स्वास्थ्य सेवामा पहुँच घट्दै गएको छ र क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गर्ने प्रयासहरू पनि प्रभावित भइरहेका छन् ।” उनका अनुसार सन् २०२६ का लागि सुडानको स्वास्थ्य प्रतिक्रिया योजनामा हालसम्म मात्र ५.७ प्रतिशत रकम उपलब्ध भएको छ ।

    सन् २०२३ को अप्रिलदेखि सुरु भएको द्वन्द्वमा सरकारी सेना र अर्धसैनिक बलबीचको संघर्षका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब १ करोड १० लाख मानिस विस्थापित भएका छन् । मानवअधिकार समूह ‘आपतकालीन वकिलहरू’ का अनुसार उक्त अस्पतालमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो । पश्चिमी सुडानको विशाल डारफुर क्षेत्रमा अर्धसैनिक बलको प्रभाव रहेको छ भने देशको पूर्व, मध्य र उत्तर भागमा सरकारी सेनाको नियन्त्रण रहेको छ । अर्धसैनिक नियन्त्रणमा रहेको उक्त शहरमा नियमित रूपमा सरकारी सेनाले आक्रमण गर्दै आएको छ ।

  • श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    कोलम्बो,११ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभरि इन्धन र बिजुलीको खपत घटाउने उपायहरू अपनाउन सुझाव दिइएको छ ।

    निर्देशिकाअनुसार, कर्मचारीहरूले व्यक्तिगत सवारीसाधन प्रयोग नगरी सम्भव भएमा सार्वजनिक यातायात वा समूहिक यातायातको प्रयोग गर्नुपर्छ । साथै, क्षेत्रीय कार्यका लागि सवारी साधनको सङ्ख्या घटाउन दैनिक यातायात योजना तयार गर्न सरकारी निकायहरूलाई निर्देशन दिइएको छ । बिजुली र ऊर्जा बचतका लागि सुझावहरूमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग, एयर कन्डिसनको सट्टा बिजुली पङ्खाको प्रयोग र सिँढीको प्रयोग प्रोत्साहित गरी लिफ्टको सीमित प्रयोग समावेश छ ।

    स्थानीय सरकारका निकायहरूले अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्रबाहेक सडक बत्ती अस्थायी रूपमा बन्द गर्न निर्देशन पाएका छन् । निर्देशिकाले संस्थाहरूका प्रमुखलाई पनि प्रविधि उपलब्ध भएमा कर्मचारीलाई कार्यालय उपस्थितिका सट्टा घरबाट काम गर्न अनुमति दिन प्रेरित गरेको छ । सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न, जनता माझ उदाहरण प्रस्तुत गर्न र राष्ट्रिय ऊर्जा संरक्षण तथा सुरक्षा प्रयासमा पूर्ण समर्थन जनाउन आग्रह गरिएको छ ।