Category: समाचार

  • काठमाडौँमा अपरान्हबाट हुरीबताससहित वर्षा जारी

    काठमाडौँमा अपरान्हबाट हुरीबताससहित वर्षा जारी

    काठमाडौँ, ६ चैत । काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ । विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताए ।

    हुरी बतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ । यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ ।

  • ‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

    ‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

    बेइजिङ, ६ चैत (रासस–एएफपी) । चीनका विदेशमन्त्रीले बिहीबार आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताएका छन् । उनले मध्यपूर्वमा युद्धविरामको आह्वान गरे । बेइजिङ इरानको साझेदार हो, जसलाई गत महिनादेखि अमेरिका–इजरायली आक्रमणको निशाना बनाइएको छ, तर उसले अमेरिकी सैन्य अखडाहरू रहेका खाडी राष्ट्रहरूविरुद्ध तेहरानले गरेको आक्रमणको पनि आलोचना गर्दै आएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले बेलायती विदेशमन्त्री यवेट्टे कुपरलाई आफूहरूले शान्तिका लागि निरन्तर कदम चाल्नुपर्ने बताए ।

    ‘अन्तर्राष्ट्रिय व्यवस्थामा थप क्षति र विश्व शान्तिको जगको क्षय हुनबाट रोक्न’ आफुहरू मिलेर काम गर्नुपर्छ,” वाङले कूपरसँग भने । वाङले भने, “लामो द्वन्द्वले कोही विजेता हुन सक्दैन ।” युद्ध सुरु भएयता बेलायतको पहिलो मन्त्रीस्तरीय भ्रमणका क्रममा कुपरले गत साता साउदी अरबको भ्रमण गरेका थिए ।
    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्वमा बेलायतको समर्थन नरहेको भन्दै प्रधानमन्त्री केइर स्टार्मरसँग दुःखेसो पोखेका थिए ।

    बेलायतका विदेशमन्त्री कपुरले सोमबार बेलायतले आफू र आफ्ना सहयोगीहरूको रक्षाका लागि आवश्यक कदम चालेको तर बृहत् युद्धमा नतानिने बताएका थिए । स्टार्मरले भने, “बेलायतले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्नको लागि ‘व्यावहारिक’ योजनाको लागि सहयोगीहरूसँग काम गरिरहेको छ, तर त्यहाँ नेटो मिशनको प्रयोगलाई अस्वीकार गरे । बेइजिङले बिहीबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख अलि लारीजानीको इजरायली हवाई आक्रमणमा भएको घटनाको निन्दा गरेको छ ।

  • पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ, ६ चैतःहाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ ।

  • ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    भोजपुर, ६ चैत । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली सञ्चालन गर्न सहज भएएको छ । केही वर्षअघिसम्म विद्युत् अभावका कारण आधुनिक शिक्षण सामग्री प्रयोग गर्न नसकेका विद्यालय अहिले कम्प्युटर, प्रोजेक्टर तथा इन्टरनेटको प्रयोग गर्दै शिक्षण–सिकाइ प्रक्रिया सञ्चालन गर्न थालेका छन् ।

    जिल्लाका दुर्गम बस्तीमा विद्युत् सेवा पुगेपछि विद्यालयले डिजिटल माध्यमबाट पठनपाठन गराउन थालेका हुन् । यसले शिक्षकलाई विषयवस्तु स्पष्ट ढङ्गले प्रस्तुत गर्न र विद्यार्थीलाई पनि बुझ्न सजिलो हुने यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताए । ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुगेको उनको भनाइ छ । इन्टरनेट सुविधा पुगेपछि सिकाइलाई अझ सहज बनाएको उनले जानकारी दिए ।

    “ग्रामीण क्षेत्रमा विद्युत् सेवा विस्तारले शैक्षिक गतिविधि सञ्चालनमा सहज भएको छ”, उनले भने, “विद्युतीय सामग्रीको प्रयोग गरेर शिक्षण–सिकाइलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन सकिएको छ ।” विद्युत् विस्तारसँगै धेरै विद्यालयमा कम्प्युटर प्रयोग बढेको छ भने केही विद्यालयले प्रोजेक्टरमार्फत भिडियो तथा प्रस्तुतिका माध्यमबाट कक्षा सञ्चालन गर्न थालेका छन् । प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइप्रति रुचि बढेको शिक्षकहरूको अनुभव छ ।

    ग्रामीण क्षेत्रका विद्यालयमा पहिलेदेखि नै पाठ्यपुस्तकमा आधारित परम्परागत शिक्षण पद्धति बढी प्रयोग हुने गरेको थियो । तर अहिले विद्युत् सुविधा पुगेपछि डिजिटल सामग्री, शैक्षिक भिडियो, प्रस्तुतिकरण तथा अनलाइन स्रोतहरूको प्रयोग बढ्दै गएको छ । यसले शिक्षणलाई प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउन सहयोग पुगेको सरोकारवालाको भनाइ छ ।

    विद्यार्थीले पनि प्रविधिको प्रयोगबाट पढाइलाई थप रोचक र बुझ्न सजिलो भएको बताएका छन् । पहिले पुस्तकमा मात्र सीमित जानकारी अहिले भिडियो, तस्बिर तथा प्रस्तुतिकरणमार्फत बुझ्न पाउँदा सिकाइ प्रक्रिया प्रभावकारी बनेको उनीहरूको भनाइ छ । यद्यपि जिल्लाका सबै विद्यालयमा अझै समान रूपमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू हुनसकेको छैन ।

    केही दुर्गम क्षेत्रका विद्यालयमा इन्टरनेट पहुँच र आवश्यक उपकरणको अभाव अझै चुनौतीका रूपमा रहेको शिक्षा क्षेत्रका सरोकारवाला बताउँछन् । स्थानीय तह तथा सरोकारवाला निकायले विद्यालयमा आवश्यक उपकरण उपलब्ध गराउने र शिक्षकलाई प्रविधि प्रयोगसम्बन्धी तालिम प्रदान गर्ने कामलाई प्राथमिकता दिएका छन् ।

    विद्युत् विस्तारसँगै प्रविधिको पहुँच बढ्दै जाँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक शिक्षण प्रणालीमार्फत गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर विस्तार हुँदै गएको देखिन्छ ।

  • खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खोटाङ, ६ चैत । खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजार बजेटमा सम्झौता गरेर कालोपत्रको काम सुरु गरेको जनाइएको छ ।

    सम्झौताअनुसार बिहीबारदेखि ठिक दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।
    ठेकेदार कम्पनीसँगको सम्झौताअनुसार आहालेदेखि याम्खासम्म ८.२ किलोमिटर सडक कालोपत्र गरिने जनाइएको छ । उक्त सडकले खानीडाँडा हुँदै खोटाङ जिल्लाको दक्षिणी भेगसँग सिधा सम्पर्क स्थापित गर्नेछ भने स्थानीय बासिन्दालाई आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

    कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बिहीबार उक्त सडकको शिलान्यास गरे । उनले खोटाङमा विकास निर्माणका काममा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
    पूर्वाधार विकास कार्यालय तथा निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै मन्त्री राईले नागरिकलाई समेत योजना कार्यान्वयनमा निगरानी गर्न आग्रह गरे ।

    मन्त्री राईका अनुसार उक्त सडक खोटाङ जिल्लाको भित्री भूभागमा प्रवेश गर्ने दोस्रो कालोपत्र कार्य सुरु भएको सडक हो । यसअघि रसुवा–पाँचधारे सडकमा कालोपत्र कार्य सुरु भइसकेको छ भने, खानीडाँडादेखि थामखर्क विमानस्थल जोड्ने अर्को सडकको बोलपत्र प्रक्रियासमेत अघि बढिरहेको छ । ठेकेदार कम्पनीका साइड इन्चार्ज गोविन्द लामिछानेका अनुसार सडक कटिङ, नाली निर्माण, रिटेनिङ पर्खाल, जाली, पाइप तथा कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्र यस योजनाका मुख्य काम हो ।

    प्राकृतिक प्रकोप नआएमा आगामी असारअघि नै कालोपत्र सुरु गर्ने योजना रहेको लामिछानेले बताए । खोटाङमा पूर्वाधार विकासमा ढिलाइ हुँदै आएको भन्दै यसपटक योजना समयमै सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । सडक कालोपत्र सम्पन्न भएपछि यातायात सहज हुनुका साथै समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ । दिक्तेल–खानीडाँडा–याम्खा–पञ्चमी सडक कालोपत्र सम्पन्न भएपछि जिल्लाको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

  • जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    काठमाडौँ, ६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।
    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ ।

    जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आन्दोलनका घाइतेलाई आग्रह गरिएको छ ।

  • नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    त्रिवेणी (नवलपरासी), ६ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ । गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ । वन क्षेत्रमा उपयोगविहीन रूपमा खेर गइरहेका झाडी तथा पातपतिङ्गरलाई व्यवस्थापन गर्दै त्यसबाट जैविक मल उत्पादन थालिएको हो ।

    वनमा रहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी त्यसको प्रयोगबाट मल उत्पादन गरिएको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले जानकारी दिनुभयो । उहाँका अनुसार यस अभियानले वन व्यवस्थापनलाई व्यवस्थित बनाउनेमात्र नभई डढेलो नियन्त्रणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी गर्मीयाममा हुने डढेलो न्यूनीकरणमा यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

    अध्यक्ष खनालले भने, “वनमा खेर गइरहेका झाडीको सदुपयोग हुने, डढेलोको जोखिम घट्ने र कृषिमा रासायनिक मलको प्रयोगलाई प्रतिस्थापन गर्दै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वासका साथ यो योजना सुरु गरिएको हो ।” अध्यक्ष खनालका अनुसार यसले वातावरण संरक्षणसँगै दिगो कृषिमा समेत टेवा पुर्याउनेछ । साथै, स्थानीय किसानलाई सस्तो तथा गुणस्तरीय मल उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको गुणस्तर ह्रास हुँदै गएको अवस्थामा वनले उत्पादन गरेको जैविक मलले दिगो रूपमा कृषि उत्पादन वृद्धिका लागि सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष खनालले बताए ।


    वनबाट सङ्कलन गरिएका झाडीलाई मसिनो गरी काटी त्यसमा गाईभैँसीको गोबर, खरानी, रातो माटोलगायत आवश्यक तत्व मिसाएर प्राविधिकको निगरानीमा मल तयार पारिने गरिएको छ । मध्यविन्दु जैविक मल उत्पादन कार्यक्रमका संयोजक धनेश्वर कुँवरले मल उत्पादन प्रक्रिया वैज्ञानिक ढङ्गले अगाडि बढाइएको बताए । उनका अनुसार मलको गुणस्तर कायम राख्न नियमित परीक्षण र अनुगमनसमेत गरिनेछ ।

    साझेदारी वनको स्वरोजगार कार्यक्रमअन्तर्गत आवश्यक जनशक्ति वन उपभोक्ताबाटै व्यवस्थापन गरिएको छ । यस कार्यक्रममार्फत झाडी सङ्कलनदेखि मल प्रशोधन र तयारीसम्मको सम्पूर्ण प्रक्रियामा स्थानीय उपभोक्तालाई रोजगारी उपलब्ध गराइएको संयोजक कुँवरले बताए । यसले ग्रामीण क्षेत्रमा आयआर्जनको अवसर बढाउने अपेक्षा गरिएको छ ।

    हाल पहिलो चरणमा मल उत्पादन प्रक्रिया जारी रहेको छ । करिब एक सय दिनमा मल तयार हुने र त्यसपछि लागत विश्लेषण गरी उचित मूल्य निर्धारण गरेर बिक्रीवितरण गरिने योजना रहेको संयोजक कुँवरले बताए । आगामी दिनमा उत्पादन विस्तार गरी अन्य स्थानमा पनि आपूर्ति गर्ने तयारी गरिएको छ ।

    यस पहलले वन संरक्षण, वातावरणीय सन्तुलन, रोजगारी सृजना तथा कृषि उत्पादन वृद्धिमा बहुआयामिक लाभ पुर्याउने विश्वास गरिएको मध्यविन्दु साझेदारी वनका अध्यक्ष खनालले बताए । सरकारी तह तथा सरोकारवाला निकायले समेत यस्ता कार्यक्रमलाई प्रोत्साहन गरेमा दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अध्यक्ष खनालले बताए ।

  • दुई फर्मलाई विभागको जरिवाना

    दुई फर्मलाई विभागको जरिवाना

    काठमाडौँ, ६ चैत : कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ ।
    स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ महानगरपालिका सिनामङ्गलमा रहेको जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

    त्यसैगरी, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई रु २० हजार जरिवाना गरेको छ । ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो । यस्तै, विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

  • शुक्रबारदेखि तीन दिन भारी वर्षा–हुरीको सम्भावना

    शुक्रबारदेखि तीन दिन भारी वर्षा–हुरीको सम्भावना

    काठमाडौं, ५ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरको हो । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ ।

    विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ ।

    प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ । विभाग मौसमसम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

  • अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

    अध्यागमनले भिजिट भिसामा आएका खेलाडीलाई प्रतिवन्ध लगाएपछि एन्फाद्वारा सञ्चालित खेल स्थगित

    काठमाडौँ, ५ चैतः राजधानीमा जारी सहिद स्मारक महिला लिग र पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि स्थगित गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

    अध्यागमन विभागले आजै एन्फालाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन आग्रह गरेको थियो । विभागले श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीका आधारमा आजैदेखि छानबिन अगाडि बढाउने जनाएको थियो ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च

    प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च

    काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता रु २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए ।
    निर्वाचन सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनले सुनाए । पचास प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो । तेह्र प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।

    निर्वाचन प्रयोजनका लागि आयोगबाट रु सात अर्ब ८१ करोड पाँच लाख ७६ हजार माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट रु छ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये हालसम्म रु तीन अर्ब ५४ करोड २८ लाख ७९६ खर्च भएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ ।

    निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकामा अन्तरराष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र तीन वटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए । राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए । विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिमूलक लोकतन्त्रको यस अभ्यासमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवं सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकामा सम्पूर्ण मतदाताहरुमा आयोग धन्यवादसहित आभार प्रकट गरेको छ ।

    निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न भई आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय, सञ्चारमाध्यम एवं सञ्चारकर्मी सबैप्रति पनि आयोगले धन्यवाद प्रकट गरेको छ ।

  • संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

    संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

    काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाएको छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका छन् ।
    रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट २५, नेपाली कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट सात र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पाँच तथा एक स्वतन्त्र सांसद निर्वाचित भएका छन् । नेपालको संविधानको धारा, ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था छ । धारा, ७६ को उपधारा (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ भन्ने उल्लेख छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा होमिएको थियो । प्रधानमन्त्रीमा नियुक्त हुन प्रतिनिधिसभा सदस्य र संसदीय दलको नेता हुनुपर्ने संवैधानिक बाध्यता छ । वरिष्ठ नेता शाहलाई संसदीय दलको नेताका अघि सार्ने रास्वपाको तयारी छ । रास्वपा एक्लैका तर्फबाट संसद्मा झन्डै दुई तिहाइ सांसद रहेकाले संविधानको धारा, ७६ (१) अनुसार संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुने कानुनविद्को भनाइ छ ।

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने र ज्येष्ठ सदस्यले सांसदहरुलाई शपथ गराउने कानुनी व्यवस्था छ । “सांसदको शपथपछि संसदीय दलको नेता चयन हुने र त्यसपछि संसद्मा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीका रुपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था हो”, संवैधानिक कानुनका ज्ञाता डा खिमलाल देवकोटाले रासससँग भने, “त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ ।”

    नेपालको संविधान जारी भएपछि पहिलोपटक धारा ७६ को उपधारा (१) अन्तर्गत एकल बमुहमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्ति हुन लागेको हो । “एकै दलको बहुमत नआएको अवस्थामा धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार गठन हुने प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्ने हो”, डा देवकोटाले भने, “अहिले त्यो अवस्थामा जानु परेन, राष्ट्रपतिले ७६ ९१० अनुसार बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने हो ।”

    सङ्घीय संसद् सचिवालयले यही चैत १२ गते नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ । संसद् सचिवालयले आजै छवटा राजनीतिक दलका प्रतिनिधिसँग अनौपचारिक छलफल गर्दैछ । छलफलमा सांसदको शपथ, अभिमुखीकरण, संसदीय दलका बारेमा कुराकानी हुनेछ । निर्वाचनको नतिजा प्रकाशन भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले प्रतिवेदन पेस गर्ने व्यवस्था छ । आयोगले आज समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

    निर्वाचन सम्पन्न भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहेको डा देवकोटाले बताए । संविधानको धारा, ९३ (१) मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । उपधारा (१)मा लेखिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नेछ ।

    त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समयसमयमा दुबै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ ।” संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने र सात दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । अबको संसद् बैठक सिंहदरबास्थित निर्माणाधीन नयाँ संसद् भवनमा बस्नेछ ।

  • राप्रपा संसदीय दलको नेतामा शाही चयन

    राप्रपा संसदीय दलको नेतामा शाही चयन

    काठमाडौँ, ५ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका थिए । उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ ।

    दलका नेता शाहीले ओलीलाई प्रमुख सचेतकमा चयन गर्नुभएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ चार सिट गरी कूल पाँच सिट प्राप्त गरेको थियो ।

  • लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

    लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

    काठमाडौँ, ५ चैतः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि सुनुवाइ सुरू भएको थियोे ।

    आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको लिखित जवाफ साथ पेस भएको नदेखिँदा सो त्रुटि सच्च्याइएको भनिएको मिति २०८२÷१०÷०२ को टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण भए सोसमेत प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयबाट झिकाइ यस अदालतबाट मिति २०८२÷११÷२७ मा भएको आदेशबमोजिम हुनेगरी मिति २०८२÷१२÷०९÷२ मा हेर्न नमिल्ने न्यायाधीशरहित इजलाससमक्ष लगाउका मुद्दासमेत साथै राखी नियमानुसार गर्नु ।”

    यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो निवेदनलाई नियमित सुनुवाइका गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । सो निर्णयविरूद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

  • प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

    जुम्ला, ५ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छिन् । मुगुस्थित रारा तालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला आ्रएकी प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालय भौतिक संरचनादेखि शिक्षालयको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान चन्दननाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । कर्णाली प्राविधिक शिक्षालयका निमित्त कार्यालय प्रमुख मुक्ति भण्डारीले शिक्षालयका समस्यालाई प्रधानमन्त्री कार्कीसमक्ष राखिएको बताए ।

  • पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

    पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

    गण्डकी, ५ चैतः पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था ९ना० को आयोजनामा ‘एक्युरेसी’ विधामा सुरु गरिएको सो प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६६ खेलाडी सहभागी छन् ।

    प्रतियोगिता यही चैत ७ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिए । सहभागी खेलाडीलाई पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोैदीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । यस अघि कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा देशभर सोलो उडानमा रोक लगाएका कारण २०औँ संस्करणको प्रतियोगिता हुन सकेको थिएन ।

    पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाउँदा प्रतियोगिता रोकिएको थियो । यस अघि प्याराग्लाइडिङ प्रतिको बढ्दो आकर्षणसँगै नेपालले १८औँ एसियाली खेलकुदमा सो खेलमा रजत पदक जितेको थियो । नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणले नै देशले खेलकुदमा उक्त उपलब्धी हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याएको अध्यक्ष केसीको भनाइ छ ।

    “खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्ज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो । अहिलेको विषम् परिस्थितिमा देशको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केही हदसम्म माथि उठाउन सक्ने विश्वास लिएका छौँ”, उनले भने ।
    प्रतियोगितामा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार पाउने छन् । महिलातर्फ च्याम्पियनले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार तथा टिम स्पर्धामा पहिलो हुनेले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउने छन् ।

    यसैबीच प्रतियोगिताको उद्घाटन गर्र्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यका रुपमा विश्वमाझ परिचित बनेको बताए । कतिपय विदेशी पर्यटक प्याराग्लाइडिङकै लागि पोखरा आउने गरेकाले यो केवल खेल मात्र नभएर पोखराको पहिचान जस्तै बनिसकेको उनले भने ।
    प्रतियोगिताका प्राविधिक निर्देशक योगेश भट्टराईका अनुसार हवाइ खेलकुदको अन्तरराष्ट्रिय संस्थाको मापदण्डअनुसार हुने यस प्रतियोगिताका खेलाडीले प्राप्त गर्ने नम्बरले अन्य खेलका लागि अन्तरराष्ट्रिय मान्यता पाउनेछन् । प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स, कोरिया, स्पेनलगायत देशका खेलाडी सहभागी भएका छन् ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र

    प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र

    काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गरेका थिए ।

    आयोगका सचिव एवं समानुपातिक प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गर्नुभएको हो । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चारजना सांसद निर्वाचित भएको आयोगले चैत २ गते सोमबार नै घोषणा गरिसकेको थियो ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्र १\१ स्थानमा निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

  • कम्बोडियाबाट २० नेपालीको उद्धार

    कम्बोडियाबाट २० नेपालीको उद्धार

    काठमाडौँ, ५ चैतः कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो । विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरुलाई अन्य गैरकानुनी काममासमेत लगाइएको थियो ।

    कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जनाएको छ ।

    त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया गएको देखिन्छ ।

    नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नआउन पनि राजदूतावासले सबैमा अनुरोध गरेको छ ।

  • ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

    ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

    कैलाली, ५ चैत्र (रासस) । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ना.६ख७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पती गम्भीर घाइते भएका थिए ।

    घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको प्रनाउ तिमिल्सिनाले बताए । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौँ, ५ चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो ।

  • कैलालीमा श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

    कैलालीमा श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

    सुदूरपश्चिम, ५ चैतः कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् । गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


    बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । उनले भने, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन”, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ ।

  • मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    सिबी अधिकारी–रासस
    काठमाडौँ, ५ चैतः गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ । अनि जिज्ञाशा उब्जिन्छ—यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन रु एकछिन अडिएपछि यो प्रश्नको उत्तर भेटिन्छ । ती तस्बिर त तिनै योद्धाहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनका आह्वान गर्दा जीवन अर्पण गरेका थिए ।

    यहाँका अनुहारहरू केवल तस्बिर मात्रै होइनन्, यी त आशा, विद्रोह र बलिदानका साक्षी हुन् । भित्तामा टाँसिएका यी तस्बिरलाई नियाल्नुभयो भने अझै पनि ठूलो आवाजमा केही भनिरहेका जस्तो लाग्छ—हामीले दिएको बलिदानलाई बिर्सिनु त हुने छैन । बाहिर हालैको जेनजी आन्दोलनमा सहिद भएकाहरू र भित्र गृहमन्त्री ओमप्रकाश अर्यालको टेबल अगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाह तस्बिर । यसले इतिहास र वर्तमान एउटै कोठामा भेटिएजस्तो लाग्छ ।

    गृहमन्त्री अर्याल भन्छन्, “यी दुवै तस्बिरले नेपालको इतिहास बोक्छन् । कार्यालयमा छिर्दै गर्दा जेनजी आन्दोलनका सहिदहरूका तस्बिरले सुशासनको आह्वान सम्झाउँछ, जसले हामीमाथि भरोसा गरेर आफ्नो जीवन अर्पण गरे । यस्तै, टेबल अगाडि राष्ट्र निर्माताको तस्बिरले पनि हामी यहाँ हुनुको अर्थबोध गराउँछ ।”
    बाहिर सडकमा जीवन सामान्यजस्तै चलिरहेको छ, तर देश भने परिवर्तनको नयाँ मोडमा उभिएको छ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले निर्वाचन सम्पन्न गरिसकेको छ । अब नयाँ सरकार बन्ने तयारी हुँदैछ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने स्पष्ट जनमत छ ।

    मन्त्री अर्याल हरेक पटक ती तस्बिरहरूतर्फ फर्केर हेर्दा अझै पनि आफूलाई हरेर केही जवाफ माग्दै गरेको र केही प्रतिबद्धता खोज्दै गरेको अनुभूति हुने गरेको बताउँछन् । “के हामीले उनीहरूको सपना पूरा गर्न सक्छौँ ? यो प्रश्न म आफैँलाई र अरु सबैलाई हो”, उनी भन्छन् । यो प्रश्नको उत्तर सजिलो छैन, तर एउटा कुरा स्पष्ट छ—गृह मन्त्रालयको भित्तामा झुन्डिएका ती तस्बिरहरू केवल सम्झना होइनन्, चेतावनी पनि हुन् । ती तस्बिरमार्फत सहिदहरूले हरेक दिन सरकार र नागरिकलाई सम्झाइरहन्छन्—सुशासन केवल शब्दमा होइन, जिम्मेवारीमा झल्कनुपर्छ ।

    जेनजी–जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ कात्तिक १७ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सहिद घोषणा गरेबमोजिम यहाँ गृह मन्त्रालयमा सुशासन योद्धा र अमर प्रहरीहरूको तस्बिरसहितको विवरण राखिएको छ । यसमा ४५ जना सहिदको तस्बिर, नाम ठेगानासहितको विवरण छ ।

    मन्त्रालयको प्रवेशद्वार नजिकै सहिदको तस्बिर, गृहमन्त्रीको कार्यकक्षमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनका गुरु गोरखनाथको तस्बिर पनि छ । यसले पुर्खाप्रतिको सच्चा सम्मान, सहिदको स्मरण र गुरुप्रतिको सत्कार झल्केको छ । जेनजी योद्धा र अमर प्रहरीका तस्बिर गृह मन्त्रालय मात्रै हैन सिंहदरबारको दक्षिण प्रवेशद्वार तथा विभिन्न मन्त्रालय र देशभरका सिडिओ कार्यालयमा पनि राखिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, विभिन्न सडक चोक र महत्त्वपूर्ण सार्वजनिक स्थानमा पनि यी तस्बिर राखिएका छन् । यो मुलुकमा भ्रष्टाचार नियन्त्रण, बेथितिको अन्त्यसहित परिवर्तनको मागसहित जेनजी युवाले गरेको बलिदानी र त्यस क्रममा सहादत प्राप्त गरेका राष्ट्रसेवक अमर प्रहरीको बलिदानीको चीरस्मरणका लागि राष्ट्रका तर्फबाट गरिएको सम्मान हो ।

    जेनजी आन्दोलनपछि गठित नागरिक सरकारको प्रमुख कार्यभार फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु थियो, जुन कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भइसकेको छ । निर्वाचनपछि मुलुक नयाँ सरकार निर्माणको चरणमा प्रवेश गर्दैछ । निर्वाचनको सबै नतिजा आएसँगै राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारको सिट बाँडफाँड पनि मिलाएर निर्वाचन आयोगलाई बुझाइसकेका छन् । निर्वाचनबाट झण्डै दुई तिहाइ सांसदसहित रास्वपाले नयाँ सरकारको नेतृत्व गर्र्दैछ ।

    गृहमन्त्री अर्याल गृह मन्त्रालयलगायत विभिन्न निकायमा राखिएका जेनजी योद्धा र अमर प्रहरीको तस्बिरले उनीहरूको बलिदानको उच्च कदर गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सधैँ झक्झक्याइ रहने बताउँछन् । “जेनजी युवाहरूको ऐतिहासिक आन्दोलनले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन सम्पन्न भएर सुशासन र आर्थिक समृद्धिको यात्रा तय गर्ने आधार बनेको छ । अब यो प्रक्रिया र परिवर्तनको आकाङ्क्षाबाट अलमल गर्ने छुट कसैलाई छैन । जेनजीको भावनाअनुरुप देश विकास र सुशासनसहितको समृद्धिको यात्रामा अगाडि बढ्नुको विकल्प छैन । यो कुरा सहिदहरूका यी तस्बिरले हरेक दिन सम्झाइरहने छ”, उनी भन्छन् ।
    जेनजी आन्दोलनको रापमा देशमा ७६ जनाको मृत्यु भयो । सयौँ घाइते भए । त्यसको केही दिनपछि अर्थात् नागरिक सरकार बन्यो । विसं २०८२ असोज ३० गते अर्यालले गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । यसबीचमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग सरकारले १० बुँदे सम्झौता गरेको थियो । अब त्यो सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ सरकारको काँधमा आउँदैछ । त्यसमा जेनजी पुस्ताले मागेका सुशासन, पारदर्शी राज्य प्रणाली र भ्रष्टाचारको अन्त्य गर्दै देश निर्माणका आकाङ्क्षा जोडिएका छन् ।

    गृहमन्त्री अर्यालले नागरिक सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानकहरू स्थापित गरेको बताए । “निर्वाचनमार्फत राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरका छौँ । आगामी सरकारले यी मानकहरूका साथै नवयुवाको चाहनाअनुसार अरु थुप्रै दायित्व निर्वाह गर्नुपर्नेछ । त्यसमा सबैको सकारात्मक पहलकदमी रहनुपर्छ”, उनको भनाइ छ,“यो बीचमा थुप्रै चुनौती थिए, तर हामी सुबैको प्रयास र संयमले कानुनी राज्यको बहाली गरी संविधानमा पुगेको क्षतिलाई निर्वाचनमार्फत परिपूरण गरेका छौँ । विगतको निर्वाचनभन्दा गुणस्तरीय निर्वाचन गरेर सहज रूपमा सत्ता हस्तान्तरणको बाटो बनेको छ ।यसलाई सम्हालेर अगाडि बढ्नुपर्छ ।”

  • बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    कञ्चनपुर, ५ चैतः यहाँ जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ । बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर घरायसी खर्च धान्दै आएका छन् । कृषियोग्य जमिन कम भएको र वैकल्पिक आम्दानीको अभावका कारण यहाँका बासिन्दा बाख्रापालनमै आश्रित भएका हुन् ।

    स्थानीय साइमले धामीले आफूलगायत यहाँका धेरैजसो परिवारले बाख्रापालनबाटै जीविको चलाइरहेको बताए । उनले हाल ४० वटा बाख्रा पाल्दै आएका छन् । धामीका अनुसार उनले वर्षमा छ देखि १० वटासम्म खसी बिक्री गर्दै आएका छन् । “खसी बेचेर आएको पैसाले घरको नुन, तेल, लत्ताकपडा र अन्नपानीको जोहो मिलाउने गर्छौं”, उनले भने ।


    यहाँ जिउँदो खसी प्रतिकिलो करिब रु ५०० का दरले बिक्री हुने गरेको छ । धारापानी बस्ती खोला नजिकै रहेकाले अधिक बलौटे र ढुङ्गे माटोका कारण उब्जनी राम्रो हुँदैन । त्यसमाथि बाँदरले अन्नबाली सखाप पार्ने समस्या पनि छ । “अन्नबाली लगाउँदा बाँदरले नोक्सान गरिदिन्छन्, त्यसैले हाम्रो लागि बाख्रापालन नै एक मात्र भरपर्दो आम्दानीको स्रोत बनेको छ”, धामीले थपे, “बाख्रापालनबाट वार्षिक रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरे पनि त्यो रकमले घरधन्दा चलाउन मात्र ठिक्क हुने गरेको छ ।”

    यहाँ वन क्षेत्र प्रशस्त भएकाले बाख्रा चराउन समस्या छैन । स्थानीय बालाराम गौतमले २४ वटा बाख्रा पालिरहेको बताए । बाख्रापालन आम्दानीको मुख्य स्रोत भए पनि त्यसको व्यवसायीकरणमा भने समस्या रहेको बताए । “यहाँ बाख्रा बिरामी भए उपचार पाइँदैन, कतिपय अवस्थामा उपचार नपाएर खोर नै रित्तो हुने गरेको छ”, उनले गुनासो गरे । “परम्परागत तरिकाले गोठमा राखेर बाख्रापालन गर्दै आएका छौँ । उन्नत जातका बाख्रापालन गरे उत्पादन र आम्दानी दुवै बढ्ने सुनिए पनि हामीले त्यसअनुसार गर्न सकेका छैनौँ ।”

    उनका अनुसार आवश्यक ज्ञान, सीप र लगानी भए बाख्रापालनलाई गुजारामुखीभन्दा पनि बलियो आम्दानीको स्रोत बनाउन सकिने गौतमको बुझाइ छ । “हामीसँग खरी जातका बाख्रा छन्, तौल कम हुने भएकाले मूल्य पनि कम पाइन्छ” उनले भने, “दुई दशकभन्दा बढी समयदेखि बाख्रापालन गर्दै आए पनि आधुनिक प्रविधि र तालिमको अभावले अपेक्षित प्रगति गर्न सकिएको छैन । सरकारबाट तालिम र अनुदानको व्यवस्था भए हामीलाई धेरै सहज हुन्थ्यो ।”

    बस्तीका अन्य किसानहरू पनि उस्तै समस्याबाट जुझिरहेका छन् । साइमले र बालारामजस्तै सुरेन्द्र महराले ४०, मूल्याल साहुले ३५ र मोहन महराले १७ वटा बाख्रापालन गर्दै आएका छन् । उहाँ सबैको जीविका यसै व्यवसायमा निर्भर छ । पछिल्लो समय चितुवाको आक्रमणले किसानहरू थप समस्यामा परेका छन् । सुरेन्द्र महराका अनुसार दैनिकजसो चितुवाले बाख्रा मार्ने गरेको छ । वनमा चराउन पठाएका बाख्रामध्ये दिनमै दुईदेखि चार वटासम्म चितुवाले मारेर खाने गरेको उनले दुःखेसो पोखे । “चितुवाले बाख्रा नखाएको दिन नै हुँदैन । रातदिन भोक–निन्द्रा नभनी बाख्राको स्याहारसुसारमा लागेका छौँ, तर चितुवाले यसरी नोक्सान गर्दा निकै पीडा भएको छ । यस समस्याका कारण बाख्रापालन व्यवसाय विस्तार गर्नसमेत कठिन भएको छ”, महराले भने ।


    स्थानीय मोहन महराका अनुसार वन क्षेत्र नजिकै भएकाले चितुवाको जोखिम उच्च रहेको छ । बाख्रा चराउन पठाउँदा सुरक्षा व्यवस्था नहुँदा किसान सधैँ त्रासमा बस्न बाध्य छन् । “पशु स्वास्थ्य सेवा, तालिम, उन्नत जातका बाख्रा, गोठ सुधार र बिमा जस्ता सुविधाको अभावले पछाडि परेका छौँ”, उनले भने, “सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग प्राप्त भए बाख्रापालन व्यवसायलाई व्यवस्थित र लाभदायक बनाउन सकिन्छ ।”

    धारापानी बस्तीका बासिन्दाले बाख्रापालनलाई दिगो र सुरक्षित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पशु उपचार सेवा विस्तार, तालिमको व्यवस्था, अनुदान कार्यक्रम र वन्यजन्तु नियन्त्रणका उपाय तत्काल लागू गर्न यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

  • पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

    भोजपुर, ५ चैतः भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
    यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो ।

    “प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पु¥याउनु हाम्रो दायित्व हो”, अध्यक्ष राईले भने, “क्षतिको विवरण सङ्कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताए । ती सबै परिवारलाई राहत उपलब्ध गराइने उनले जानकारी दिए । हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन् ।

  • चैत्र शुक्ल पक्षः आज चैते दसैंको घटस्थापना

    चैत्र शुक्ल पक्षः आज चैते दसैंको घटस्थापना

    काठमाडौँ, ५ चैतः चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनुभयो । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए ।

    यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ । शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन् । आषाढ शुक्ल पक्ष, आश्विन शुक्ल पक्ष, पौष शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो । नेपाली परम्परामा आषाढ र पौष शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ ।

  • कांग्रेस सभापति थापाले बुझाए राजीनामा

    कांग्रेस सभापति थापाले बुझाए राजीनामा

    ५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

    चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए । थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।

  • आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    आगामी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौँ, ५ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ६ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ती जारी गरी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ६ गते शुक्रबार बस्न लागेको जानकारी दिए ।
    उक्त बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।

    बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । उक्त बैठकमा उपस्थिती हुनका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।

  • डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

    डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

    काठमाडौँ, ५ चैत । सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।
    “सचेतना कार्यक्रमले डेङ्गु सङ्क्रमण घट्दै गएको पाइएको छ,” उनले भने, “गर्मी सुरुसँगै डेङ्गु सङ्क्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौँ ।”

    पाँच गुणाले घट्यो सङ्क्रमण

    महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गतवर्ष डेङ्गु सङ्क्रमण पाँच गुणा घटेको पाइएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा पाँच गुणा डेङ्गु सङ्क्रमण घटेको छ । सन् २०२४ मा ४१ हजार ८६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो भने सन् २०२५ मा त्यसको करिब पाँच गुणा कम आठ हजार ५७६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

    शाखा प्रमुख डा दाहालले सरकारको डेङ्गु सङ्क्रमणविरुद्ध सञ्चालन गरेको अभियानले गर्दा घटेको बताए । “डेङ्गु सङ्क्रमण फैलिन नदिनका लागि डेङ्गु सार्ने लामखु्ट्टेको लार्भा नष्ट गर्ने अभियानमा सबैका सहयोगभयो”, उहाँले भन्नुभयो, “जसले गर्दा डेङ्गु सङ्क्रमण सार्ने लामखुट्टे फैलिन पाएन र डङ्गु सङ्क्रमण कम भयो ।”

    सरकारले प्रत्येक शुक्रबार सरकारी कार्यालयमा डेङ्गु सङ्क्रमण सार्ने लार्भा खोज र नष्ट गरे अभियान सञ्चालन गरेको थियो । शाखाका प्रमुख डा दाहालले समुदायको पहलमा नै डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सकिएको बताए । उनले प्रत्येक वर्ष डेङ्गु सङ्क्रमण कम हुँदै गएको बताए ।

    उनका अनुसार सन् २०२३ मा ५२ हजार ७९० जना, सन् २०२२ मा ५४ हजार ७८४ जनामा डङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै गत असारदेखि भदौसम्म एक हजार युवा परिचालन गरेर डङ्गु सार्ने लामखुट्टे नियन्त्रण र जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

    यसवर्ष पनि गर्मीयाम सुरुसँगै डङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको उनले बताए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गु रोग लाग्दछ ।

  • मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

    मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

    पेरिस, ४ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ । इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण हुने चेतावनी दिएको छ ।

    यसअघि नै निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट प्रहारको जवाफस्वरूप टायर आसपासका क्षेत्रमा हिजबुल्लाहका लक्ष्यमा निरन्तर आक्रमण गरिरहेको जनाएको छ ।

    यता, इरानले युद्धको असर विश्वव्यापी हुने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विश्वव्यापी प्रतिक्रिया सुरु भइसकेको र यसले सबै वर्गलाई असर गर्ने बताए । उनले उक्त अभिव्यक्तिसँगै अमेरिकी राष्ट्रिय आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जोसेफ केन्टको राजीनामापत्रसमेत साझा गरेका छन् । ट्रम्प प्रशासनद्वारा नियुक्त केन्टले इरानविरुद्धको युद्धलाई समर्थन गर्न नसक्ने भन्दै आफ्नो पद त्यागेको घोषणा गरेका छन् ।
    इरानी सैन्य नेतृत्वले पनि कडा प्रतिक्रिया जनाउँदै सुरक्षा प्रमुख अली लारिजानीको हत्याको ‘निर्णायक र खेदजनक बदला’ लिने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले मध्य इजरायलमा मिसाइल प्रहार गरेको दाबी गर्दै लारिजानीसहित मारिएकाहरूको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ । हमासले पनि इरानप्रति ऐक्यबद्धता जनाउँदै यो द्वन्द्वले सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थिरता जोखिममा पार्ने उल्लेख गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले लारिजानीको मृत्यु पुष्टि गरिसकेको छ ।

    खाडी क्षेत्रमा पनि सुरक्षा चुनौती तीव्र बनेको छ । संयुक्त अरब इमिरेट्समा अस्ट्रेलियाली सैन्य मुख्यालय नजिक इरानी प्रक्षेप्य खसेको जानकारी सार्वजनिक भएको छ । साउदी अरेबियाले प्रिन्स सुल्तान एयर बेस नजिक ब्यालेस्टिक मिसाइल रोकेको जनाएको छ भने आठवटा ड्रोनसमेत निष्क्रिय पारेको छ । कुवेत र कतारले पनि रकेट तथा ड्रोन आक्रमणहरू विफल पारेका छन् । यसैबीच, अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य नजिक इरानी क्षेप्यास्त्र केन्द्रहरूमा शक्तिशाली ‘बङ्कर बस्टर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ । यो क्षेत्र विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिन्छ, जसले द्वन्द्वको आर्थिक प्रभावलाई अझ गम्भीर बनाएको छ ।

    इजरायलतर्फ पनि क्षति बढ्दो छ । तेल अभिव नजिक इरानबाट प्रहार गरिएको मिसाइल आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ, जससँगै यस प्रकारका आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । उता बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण हुँदा परिसरभित्र आगलागी भएको बताइएको छ । युद्धले अन्तर्राष्ट्रिय आयाम लिँदै जाँदा युक्रेनले पनि आफ्नो भूमिका देखाएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार इरानद्वारा डिजाइन गरिएका ड्रोनविरुद्ध सहयोग गर्न २०० भन्दा बढी युक्रेनी विशेषज्ञहरू मध्यपूर्वका विभिन्न देशमा परिचालन गरिएका छन् ।

    इरानभित्र भने सरकारले राष्ट्रव्यापी र्‍याली आह्वान गरेपछि विभिन्न सहरहरूमा ठूलो भीड जम्मा भएको छ । फारसी नयाँ वर्ष ‘नौरोज’ को अवसरमा हुने यस्ता जमघटलाई सरकारले आन्तरिक एकता प्रदर्शनका रूपमा उपयोग गर्न खोजेको देखिन्छ । अन्तर्राष्ट्रिय राजनीतिक मतभेद पनि सतहमा आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा सहयोग नगरेको भन्दै नाटो र बेलायतको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरप्रति निराशा व्यक्त गर्दै उहाँले सहयोगको आवश्यकता नरहेकोसमेत उल्लेख गरेका छन् ।


    यसबीच लेबनानमा मानवीय क्षति बढिरहेको छ । दक्षिणी क्षेत्रमा इजरायली आक्रमणमा तीन सैनिक मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ९१२ पुगेको छ । यो अघिल्लो दिन ८८६ थियो । समग्रमा, घटनाक्रमहरूले युद्धको दायरा फराकिलो हुँदै गएको र यसको प्रभाव विश्वव्यापी बन्ने सङ्केत प्रष्ट रूपमा देखिएको छ ।

  • प्रधानसेनापति सिग्देलले गरे पूर्वसेनापतिहरुसँग छलफल

    प्रधानसेनापति सिग्देलले गरे पूर्वसेनापतिहरुसँग छलफल

    काठमाडौँ, ५ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उनले मङ्गलबार छलफल र अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले हालै सम्पन्न निर्वाचनमा सफल सुृरक्षा व्यवस्थापन गरेको थियो ।