Category: समाचार

  • सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

    सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

    कर्णाली, ३ चैतः सुर्खेतमा गत फागुनमा ७६ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयले सोमबार सार्वजनिक तथ्याङ्कअनुसार फागुनमा भएका सवारी दुर्घटना हुनुमा मानवीय त्रुटि प्रमुख कारण देखाइएको छ । करिब ८० प्रतिशत मानवीय त्रुटि र बाँकी यान्त्रिक खराबीका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख रोहीतकुमारी शाहीले जानकारी दिए ।


    उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल ४८, टेम्पो १०, मिनिबस सात, बस पाँच, जीप÷कार चार र ट्र्याक्टर दुई वटा दुर्घटना भएका छन् । चौँतिस टा सवारी दुर्घटना तीव्र गतिका कारण हुने गरेका कार्यालय प्रमुख शाहीले उल्लेख गरे । मादक पदार्थ सेवनबाट तीन, चालकको असक्षमताबाट तीन, चढ्दा\ओर्लंदा एक र ब्रेक फेल भएर आठ दुर्घटना भएको उनले बताए ।


    फागुनमा ट्राफिक तथा जनपद प्रहरीले ६४० जाँच गर्दा ४०२ लाई कारबाही गरेको जनाउँदै त्यसबाट रु तीन लाख ९१ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख शाहीले बताए । त्यस्तै, ट्राफिक प्रहरी एक्लैले जाँच गर्दा २३५ कारबाही परेका छन् । त्यसबाट रु एक लाख ९२ हजार ५०० राजस्व सङ्कलन गरिएको उनको भनाइ छ ।

    त्यसैगरी, चालकसँग एक मिनेट कार्यक्रमबाट छ हजार ६६३, पैदल यात्रु लक्षित कार्यक्रमबाट ५१६, सङ्घसंस्था लक्षित सचेतना कार्यक्रमबाट एक हजार ७५४ र सवारी चलाउने चालक सचेतना कार्यक्रमबाट १२८ गरी कुल १८ हजार ५४३ जना लाभान्वित भएको जनाइएको छ । ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम तीव्रताका साथ अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

  • भक्तपुरमा हुरीले दुई घरमा क्षति

    भक्तपुरमा हुरीले दुई घरमा क्षति

    भक्तपुर, ३ चैतः सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका २ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेको दुई घर भत्किएर क्षति पुगेको छ । सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको हो । उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा त्यसको भार थाम्न नसरी ट्रान्सफर्मर रहेको दुई वटा सिमेन्टको खम्बासमेत भाँच्चिएर थलेको छ । उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जानकारी दिए ।


    हुरीले घर नजिकै रहेको अर्को पनि विद्युत्को खम्बा ढलेपछि सडक अवरुद्ध बनेको उल्लेख गर्दै उनले सोही कारणले आवतजावत रोकिएको बताए । उनले हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको जानकारी दिए । हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घरलाई छोपेको छ ।

    हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नं २ का वडाध्यक्ष सोम प्रधानले बताए । घटनास्थलमा पुगेका उनले क्षतिको विवरण सङ्कलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिने उल्लेख गरे ।

  • होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    तेहरान, ३ चैत (रासस–एएफपी) । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्रहरू तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् । अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कच्चा तेलको मूल्य सोमबार करिब १०० डलर आसपास पुगेको देखिएको छ । इजरायलले इरानभित्र अझै पनि ‘हजारौँ लक्ष्य’ रहेको दाबी गर्दै दैनिक रूपमा नयाँ लक्ष्य पहिचान गरिरहेको जनाएको छ ।

    ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँग वार्तामा रहेको भए पनि तेहरान तत्काल युद्ध अन्त्य गर्ने सहमतिमा पुग्ने अवस्थामा नदेखिएको बताए । “मलाई लाग्दैन उनीहरू अहिले तयार छन्, तर उनीहरू निकै नजिक आइपुगेका छन्”, उनले भने । यसअघि इरानका विदेशमन्त्रीले भने वासिङ्टनसँग कुनै पनि प्रकारको वार्ता अस्वीकार गरिएको बताएका थिए ।
    अमेरिकी राष्ट्रपतिले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतजस्ता देशहरूलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूको सुरक्षाका लागि नौसैनिक जहाज पठाउन आग्रह गरेका छन् । फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उहाँले स्ट्रेट अफ होर्मुजबाट लाभ लिने देशहरूले त्यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सहयोग गर्नु उचित हुने बताए । संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपेली देशहरू र चीन खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहेका छन् ।

    बेइजिङले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनका प्रयासमा सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यस महिनाको अन्त्यमा हुने तय गरिएको शिखर सम्मेलन स्थगित हुन सक्ने चेतावनी पनि ट्रम्पले दिएका छन् । उनले आफ्नो आग्रह अस्वीकार भएमा त्यसले नाटोको भविष्यका लागि पनि नकारात्मक प्रभाव पार्न सक्ने बताए । तर जापान र अस्ट्रेलियाले भने अहिलेका लागि सैनिक तैनाथ गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।

    यसैबीच इरानले अन्य देशहरूलाई मध्यपूर्वमा फैलिएको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुन चेतावनी दिएको छ । फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटसँगको टेलिफोन संवादमा इरानका विदेशमन्त्री अब्बास अराघचीले द्वन्द्वलाई थप विस्तार गर्ने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेका छन् । उनले क्षेत्रीय सुरक्षाका नाममा अमेरिकी सैन्य उपस्थितिले समस्या समाधान गर्नुको सट्टा तनाव बढाइरहेको आरोप लगाए । छिमेकी देशहरूलाई ‘विदेशी आक्रमणकारीलाई बाहिर निकाल्न’ आह्वान गरे ।
    युद्धसँगै इरानले अमेरिकी सेना रहेको मध्यपूर्वका विभिन्न स्थानमा आक्रमण तीव्र बनाएको छ । इटालीको सेनाले कुवेतस्थित अली अल सलेम एयरबेसमा भएको ड्रोन आक्रमणमा इटालीको मानवरहित विमान नष्ट भएको तर मानवीय क्षति नभएको जनाएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले घटनालाई कम महत्त्व दिँदै आफ्नो देश कसैसँग युद्धमा नरहेको स्पष्ट पारे ।
    इराकी अधिकारीहरूका अनुसार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी कूटनीतिक सुविधा नजिकै रकेट प्रहार हुँदा पाँच जना घाइते भएका छन् । उता इरानको रिभोलुसनरी गार्ड्सले हालसम्म अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूतर्फ करिब ७०० मिसाइल र तीन हजार ६०० ड्रोन प्रहार गरिएको दाबी गरेको छ ।

    साउदी अरेबियाले पनि सोमबार मध्यरातयता ६० भन्दा बढी ड्रोन रोकेको जनाएको छ । दुबई विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि आगलागी हुँदा केही समयका लागि उडान स्थगित गर्नुपरेको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने इराकको कुर्दिस्तान क्षेत्रमा इरानी डिजाइनको ड्रोन आक्रमणमा फ्रान्सेली सैनिक मारिएपछि फ्रान्सका हितमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएका छन् ।
    यसबीच द्वन्द्व लेबनानसम्म फैलिएको देखिएको छ । इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । ऊर्जा बजारमा भने आपूर्ति सङ्कट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउन सुरु गर्ने निर्णय गरेको जनाएको छ । एसिया–ओसिनिया क्षेत्रका देशहरूले तत्काल भण्डार उपलब्ध गराउनेछन् भने युरोप र अमेरिकाले आगामी हप्तामा त्यसलाई पछ्याउने अपेक्षा गरिएको छ ।

    मध्यपूर्वबाट आउने तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले आफ्नो सरकारी राजपत्रमार्फत देशको तेल भण्डार स्तर घट्दै गएको सूचना जारी गरेको छ । यस कदमले भण्डार व्यवस्थापकहरूलाई केही तेल बजारमा छोड्न बाध्य पार्नेछ । स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्वका विभिन्न देशमा त्यसको प्रभाव देखिन थालेको छ । अस्ट्रेलियाका अधिकारीहरूले मूल्य वृद्धि र हडबडाहटमा किनमेल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । भारतमा भने आयात अवरोधका कारण रेस्टुरेन्टहरूले खाना पकाउने ग्यास बचत गर्न मेनु परिवर्तन गर्न थालेका छन् ।

    सिड्नी नजिकै बस्ने ल्यान्डस्केपर एम्मा फुटर्लेबले इन्धन महँगिएपछि आफ्नो बजेटमा दबाब परेको बताए । “यसले हाम्रो खर्चमा सीधा असर गरेको छ”, उहाँले भने ।
    उता तेहरानमा भने युद्ध सुरु भएको केही दिनपछि जीवन क्रमशः सामान्य बन्न थालेको देखिएको छ । गत हप्ताको तुलनामा सहरमा यातायात चहलपहल बढेको छ र केही क्याफे तथा रेस्टुरेन्ट पुनः सञ्चालनमा आएका छन् । फारसी नयाँ वर्ष नौरुज नजिकिँदै गर्दा लोकप्रिय ताजरिश बजारका धेरै स्टलहरू खुल्न थालेका छन् । नगद निकाल्न एटीएमहरूमा लामो लाइन देखिएको छ भने देशकै ठूलो बैंक मेलीको अनलाइन सेवा केही दिनदेखि अवरुद्ध भएको जनाइएको छ ।

    राजधानी बाहिरका क्षेत्रहरूमा पनि समान अवस्था देखिएको छ । क्यास्पियन सागर किनारको मजन्दरान प्रान्तस्थित टोनेकाबोन सहरका ४९ वर्षीय अलीले पसलहरू खुला र भीडभाड रहेको बताए । यद्यपि मूल्य बढेको अनुभव भइरहेको उनको भनाइ छ । उनका अनुसार मुख्य चोक भने हरेक रात बन्द गरिन्छ र सरकारी प्रदर्शनहरू आयोजना भइरहेका छन् । बाह्य इन्टरनेट सेवा बन्द भएकाले देशभित्रको इन्ट्रानेट मात्रै चलिरहेको बताइएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणबाट हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि यो तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले इरानभित्र करिब ३२ लाख मानिस विस्थापित भएको जनाएको छ ।

  • लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने

    लामिछानेको रिट हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने

    लामिछानेको रिट ‘’ मा मङ्गलबार सुनुवाइ हुने
    काठमाडौँ, ३ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

    यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो । महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको माग

    निर्माण सामग्रीको मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणाको माग

    काठमाडौँ, ३ चैतः नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धका कारण देखाउँदै निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासङ्घले यस्तो माग अगाडि सारेको हो ।

    महासङ्घका महासचिव रोशन दाहालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,“धमाधम निर्माण कार्य हुने सिजनमा इन्धनलगायत सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिने निश्चित छ । त्यसैले मूल्यवृद्धि स्थिर नभएसम्म सम्पूर्ण आयोजनाको निर्माण कार्य हाललाई स्थगित गर्न महासङ्घ बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौँ ।”

    एकातिर बजारमा निर्माण सामग्रीको मूल्यवृद्धि हुने र अर्कोतर्फ राष्ट्रबैंकबाट जारी हुने मूल्य सूचकाङ्क वास्तविक नहुने भएकाले मूल्य स्थिर नहुँदासम्मको लागि सरकारको तर्फबाट नै ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न महासङ्घले अनुरोध गरेको हो । इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिबाहेक हालै निर्वाचनको मौका पारेर नेपालमा सीमित आयातकर्ताहरूले ‘कार्टेलिङ’ गर्दै सडक निर्माणमा प्रयोग हुने बिटुमिनको पनि कृत्रिम अभाव सिर्जना गरी आर्थिक समस्यामा पारेको महासङ्घको दाबी छ ।

    सडक कालोपत्र सुरु भएपछि बिटुमिनको अभाव हुँदा कालोपत्र गर्न ठिक्क पारिएको सडकमा थप क्षति हुने सम्भावना प्रबल भएको र ‘बुकिङ’ गर्दाको मूल्यभन्दा हाल प्रतिलिटर रु ४० सम्म मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरू दोहोरो पीडामा परेका महासङ्घको धारणा छ ।

    पछिल्लो समय भारतले बिटुमिनको निर्यात बन्द गरेका कारण मुलुकको निर्माण उद्योग थप प्रताडित भएको विज्ञप्तिमा उल्लेख छ । “निर्वाचनकै माहोलबीच सीमित उद्योगीहरूले फलामे डन्डी र सिमेन्टमा पनि मूल्यवृद्धि गर्दा सरकारी पूर्वाधार मात्र होइन निजी क्षेत्रको पूर्वाधारमा पनि ठूलो आर्थिक भार थपिएको छ”, विज्ञप्तिमा भनिएको छ,“हाल फलामे डन्डी प्रतिकेजी रु ८५ बाट रु १०० र सिमेण्टमा प्रतिबोरा रु ५० सम्म मूल्यवृद्धि भएको छ । सीमित उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप समस्याग्रस्त भएको छ ।”

    सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको व्यवस्था गर्न महासङ्घले विज्ञप्तिमार्फत सरकारका सम्बन्धित निकायसमक्ष माग गरेको छ ।

  • सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    रासस
    भैरहवा (रुपन्देही), ३ चैत । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख पन्छी सारसको । विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र होइन, प्रजननका लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ । स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र स्थानीय क्लबको सहकार्यले यहाँ सारस संरक्षण अभियानलाई नयाँ उचाइ दिएको छ ।

    प्रकृतिको काखमा सुरक्षित महसुस गरेका सारस यतिबेला लुम्बिनी वरिपरि ढुक्क भएर सन्तान वृद्धिमा लागेका छन् । सिमसार क्षेत्रमा मानव चहलपहल कम हुने भएकाले यी स्थान सारसको रोजाइमा पर्ने गरेका छन् । प्रजननको समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा प्रायः दुई वटा अण्डा पार्ने गर्छ । वर्षा ऋतुको समयमा करिब ३० देखि ३२ दिनसम्म ओथारो बसेपछि चल्ला कोरलिन्छन् । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्ने गर्छन् । यही अवधिमा आमा–बुबाले आहारा खोज्ने र जीवनयापन गर्ने तरिका सिकाउँछन् ।

    सारस संरक्षणकर्मी अर्जुन कुर्मीका अनुसार सारसका बच्चा दैनिक करिब एक इन्चको दरले हुर्कने गर्छन् । “बच्चा केही हुर्किएपछि सारसको जोडीले नाचेर आफ्नो व्यवहार देखाउँछन् । त्यो नृत्य चल्लालाई सिकाउँछन्”, उनी भन्छन् । सारसको जीवनचक्रमा रोचक पक्ष छन् । ओथारो बसेको समयमा भाले सारसले टाढाबाट आहारा खोजेर ल्याउने गर्छ । बच्चा निस्केपछि आहारा खोज्न धेरै टाढा जान नपरोस् भनेर उसले नजिकको आहारा टिप्न छाड्ने गरेको बताइन्छ । गङ्गटो, भ्यागुता, माछा र केही विशेष घाँसका जरा सारसका प्रिय आहार हुन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका हुँदै मर्चवार क्षेत्रसम्म अहिले सारसको प्रजनन गतिविधि देखिन थालेको छ । संरक्षणकर्मी कुर्मीका अनुसार अहिले नेपालमा ७०० जति सारस रहेका छन् । यीमध्ये लुम्बिनी आसपासमा मात्रै करिब ८० प्रतिशतभन्दा बढी जोडी सारस रहेका छन् । लोपोन्मुख मानिने यस पन्छीको संरक्षणमा अहिले स्थानीय बासिन्दा सक्रिय रूपमा जुटेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पन्छी’ घोषणा गरेर संरक्षण अभियानलाई संस्थागत रूप दिएको छ ।

    लुम्बिनी विकास कोषले सारसका लागि उपयुक्त क्षेत्र छुट्याएको छ । विश्व शान्ति स्तूपको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको छ, जहाँ अहिले धेरै जोडी सारस देख्न सकिन्छ । यसबाहेक मर्चवार र लुम्बिनीको सीमा क्षेत्र भइ, बभनी, अजमा लगायतका क्षेत्रमा ठूलो समूहमा सारसहरू रमाइरहेका हुन्छन् । सारस संरक्षणलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ । पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले शान्ति स्तूप परिसरमा करिब दुई किलोमिटर पैदलमार्ग निर्माण गर्ने तथा चरा अध्ययन गर्न चाहने का लागि वातावरणीय सिकाइ केन्द्र स्थापना गर्ने योजना लुम्बिनी विकास कोषले अघि सारेको छ ।

    चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये नेपालमा चार प्रजाति भेटिन्छन् । लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस, कालो टाउके सारस र सारस । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा संवेदनशील प्रजातिका रूपमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी मानिन्छन् । सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो । विगतमा यसको अण्डा र मासुको अवैध सिकार हुने गरेको भए पनि अहिले स्थानीयको सचेतनाले यस्तो गतिविधि धेरै हदसम्म नियन्त्रणमा आएको संरक्षणकर्मी कुर्मी बताउँछन् ।

    लुम्बिनी क्षेत्र सारस मात्र होइन, अन्य धेरै पन्छीको आश्रयस्थल हो । यहाँ कोइली, भद्राई, कालो चिबे, मधुमक्षी खाने चराहरू, विभिन्न प्रजातिका बकुल्ला, भुडीफोर, घोगीफोर, हरिहाँस, बिजुलगैरे र सानो जलेवालगायत गरी २२२ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । संरक्षणकर्मी धर्मेन्द्र पालका अनुसार सारससहितका चरा अवलोकनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई पर्यापर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

    सारसको संरक्षणसँगै लुम्बिनी अब गौतम बुद्धका अनुयायीहरूको आध्यात्मिक गन्तव्य मात्र नभई चराविद्, अनुसन्धानकर्ता र चरा अवलोकनकर्ताका लागि पनि आकर्षक अध्ययनस्थल बन्ने सम्भावना बढेको छ । शान्तिको भूमि लुम्बिनीमा सारसको मुक्त उडानले यहाँको प्राकृतिक सौन्दर्यलाई मात्र होइन, संरक्षणप्रतिको मानवीय संवेदनालाई झन् उजागर गरिरहेको छ ।

  • निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

    निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

    काँक्रेविहार (सुर्खेत), ३ चैत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएहरूका बेपत्ता भएको खबर प्राप्त भएको थियो । अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।

  • इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    काठमाडौँ, २ चैतः बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् ।

    साथै, यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

    ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीका साथ लागि परेको उनले बताए । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।

  • वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    काभ्रेपलाञ्चोक, २ चैतः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।


    उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिने छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीनवटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पु¥याएर स्थायी पुनर्निर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए ।


    क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताए । उनका अनुसार गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ ।

    कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायत काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्र गरी कामलाई तिव्रता दिइएको योगेशले बताए । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।

    अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,” योगेशले भने । उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो ।

    यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्नेगरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।

    क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो ।

    क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

    खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।

  • दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

    कर्णाली, २ चैतः सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका छोराछोरीसहित श्रीमती सम्पर्कविहीन रहेको प्रहरी चौकी गुमीलाई जानकारी दिएका थिए ।

    सो जानकारीपश्चात् चौकीका वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार सुरक्षाकर्मी र वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए । खोजतलासका क्रममा घरदेखि तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको सूचना अधिकारी बुढ्थापाले बताए । तीनैजनाको खोजतलासका लागि भेरी नदी तथा त्यसआसपासको क्षेत्रमा इलाका प्रहरी चौकीहरुबाट ३५ प्रहरी र स्थानीय परिचालन गरिएको छ ।

  • आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक

    आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक

    काठमाडौँ, २ चैतः निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् ।

    यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।


    गत फागुन २१ गतेको निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकामा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएका थिए ।

  • श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटिएपछि…

    श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटिएपछि…

    काठमाडौँ, २ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ । ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो । विभागले सो उद्योगलाई रु तीन लाख जरिवाना गराएको छ । ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्रीवितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

    ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्नेगरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ । पश्चिम एसियामा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ ।

  • अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ

    अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ

    तेहरान, २ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानलाई पछि पार्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ताका लागि तत्काल इच्छुक नभएको बताएका छन् । अराघचीले सीबीएसको ‘फेस द नेशन’ लाई दिएको आइतबार प्रसारित एक अन्तर्वार्तामा भने, “हामीले अमेरिकीहरूसँग कुरा गर्नुपर्ने कुनै कारण देख्दैनौं, किनकि हामीले उनीहरूसँग कुरा गरिरहेका समय उनीहरूले हामीलाई आक्रमण गर्ने निर्णय गरेका थिए । अहिले हामी स्थिर र बलियो छौँ। हामी केवल हाम्रा जनताको रक्षा गरिरहेका छौँ।”

    उनले स्पस्ट भाषामा भने, “अमेरिकीहरूसँग कुरा गर्ने कुनै राम्रो अनुभव छैन।” ट्रम्पले शनिबार अमेरिकाले इरानसँग सम्झौता चाहेको तर वर्तमान सर्तमा सम्झौता गर्न आफू तयार नभएको बताएका थिए । “हामीले कहिल्यै युद्धविरामको लागि आग्रह गरेका छैनौं, र हामीले कहिल्यै पनि वार्ताको लागि सोधेका छैनौं“ अराघचीले भने । उनले भने, “इरान ती देशहरूसँग वार्ता गर्न तयार छ जसले छनौट गरिएका तेल ट्याङ्करहरू हर्मुज निर्यात मार्गबाट पार गर्न वार्ता गर्न चाहन्छन्।” “म कुनै पनि देशको विशेष उल्लेख गर्न सक्दिनँ, तर हामीलाई धेरै देशहरूले सम्पर्क गरेका छन् जो उनीहरूको जहाजहरूको लागि सुरक्षित मार्ग चाहन्छन्,” उनले भने ।

  • गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

    रासस
    सिद्धार्थनगर (भैरहवा), २ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । पर्यटन क्षेत्रमा झण्डै रु एक खर्बभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए ।


    लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य हुन् । ती क्षेत्रको प्रवद्र्धनमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुन सकेको छैन् ।

    सिद्धार्थ उद्योग वाणिज्य सङघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवद्र्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए । उनले यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुनसक्ने उल्लेख गर्दै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन प्रवद्र्धन मात्र होइन समग्र आर्थिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।


    नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्न नयाँ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सशक्त बन्ने उनले बताए ।


    विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तरराष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने उनको धारणा रहेको छ । निजी क्षेत्रका प्रतिनिधिका अनुसार स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवद्र्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस् पहल गर्ने अपेक्षा गरिएको छ । उनीहरुले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रूपन्देहीको उद्योग–व्यापारमा पनि ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन् । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिइएको छ ।

  • अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँची, २ चैतः डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ । टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ ।

    सूचना अधिकारी खड्काका अनुसार उक्त १२ सदस्यीय टोलीलाई अगामी जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ । डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उनले जानकारी दिए ।

    सप्ताहको सुरुआतसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ वन अधिकृत सन्तबहादुर थिंग, रामबहादुर घलान, भू तथा जलाधार कार्यालयका प्रमुख राकेश कुँवर, अधिकृत अरुण आचार्यलगायत स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

    अन्तरक्रियामा वन डढेलोको कारण, यसको प्रभाव तथा रोकथामका उपायबारे छलफल गरिएको थियो । सहभागीले वन डढेलो नियन्त्रणमा सरकारी निकायसँगै स्थानीय समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिएका थिए । यसै अवसरमा वन डढेलोसम्बन्धी तथ्याङ्क सङ्कलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ डिजिटल प्रणाली पनि सञ्चालनमा ल्याइएको छ । जिल्लाभित्र रहेका ६ वटै सव डिभिजन वन कार्यालयले वन डढेलोसम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा प्रविष्टि गर्ने व्यवस्था मिलाइएको छ ।

    “वन डढेलो रिपोर्टिङ २०८२\०८३” नामक अनलाइन सिट सञ्चालनमा ल्याइएपछि डढेलोसम्बन्धी तथ्याङ्क समयमै सङ्कलन हुने र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ । वन संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण महत्वपूर्ण हुने भएकाले सम्बन्धित निकायले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । वन क्षेत्रमा डढेलो देखिएमा तत्काल जानकारी गराएर नियन्त्रणमा सहयोग गर्न स्थानीयवासीसँग अनुरोध गरिएको छ ।

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, २ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ । जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन- चट्याङ सहित मध्यम वर्षा-हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन-चट्याङ, असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनर चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    काठमाडौँ, २ चैत । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदावी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा टं«क लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी आयोगमा आवेदन दिएका थिए । सो आवेदनमाथि आयोगमा सुनुवाइ भएको थियो ।

    प्राधिकरणकाअनुसार पञ्चकन्या प्लास्टिकले रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलले रु ५२ लाख ११ हजार बराबरको महसुल तिर्न बाँकी छ । प्राधिकरणको आग्रह बमोजिम पञ्चकन्या प्लास्टिकले रु ७७ हजार ९७५ र पञ्चकन्या स्टिलले रु एक लाख ८६ हजार बराबर महसुल बुझाइसकेको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार उद्योगीको मागदाबी नपुग्ने निर्णय भएको छ । आयोगको निर्णयपछि प्राधिकरणलाई थप महसुल उठाउने मार्ग प्रशस्त भएको छ । आयोगको निर्णय चित्त नबुझेको अवस्थामा व्यवसायी अदालत जान समेत सक्नेछन् ।

    आयोगले निरन्तर रुपमा महसुलका सम्बन्धमा सुनुवाइ गर्दै आएको छ । आयोगले प्रचलित नियम कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ । सुनुवाइका लागि आयोगले आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका तर्फबाट कानुन विभागका तीन अधिकारीलाई उपस्थित भएका थिए । नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरूपण गर्दै आएको छ । आयोगले दिने निर्णय चित्त नबुझेको खण्डमा मात्रै आवेदकलाई अदालत जाने मार्ग प्रशस्त हुन्छ ।

  • एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

    एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

    काठमाडौँ, २ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ ।

    एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । शनिबारदेखि शुरु भएको एनआरएनए १२ औं अधिवेशन आज सम्पन्न हुँदैछ ।

  • पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    झापा, २ चैत । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२–८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् । उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिए ।
    सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छभने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।

  • जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    काठमाडौँ, १ चैतः अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइः मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा गरिएको अध्ययन सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले गरेको उक्त अध्ययनले गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनलाई केवल क्षणिक असन्तोष नभई भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत कमजोरीविरुद्ध युवाको सामूहिक तथा संरचनागत प्रतिक्रियाका रूपमा व्याख्या गरेको छ ।

    अध्ययनले डिजिटल प्रविधिमा हुर्किएको, शिक्षित र सचेत जेनजी पुस्ताले लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता, न्याय, अवसर र उत्तरदायित्वको अपेक्षा राखेको भए पनि ती अपेक्षा समयमा पूरा हुन नसक्दा व्यापक असन्तोष उत्पन्न भएको र यही असन्तोष आन्दोलनका रूपमा प्रकट भएको निष्कर्ष निकालेको छ ।

    “समग्रमा जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश मात्र होइन । यो भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत असफलताविरुद्धको सामूहिक तथा संरचनागत प्रतिक्रिया हो”, अध्ययनको सारांशमा भनिएको छ, “सुशासन र संस्थागत सुधार, मेरिटमा आधारित प्रशासन, अनिवार्य डिजिटल गभर्नेन्स, समयसीमाबद्ध नीति कार्यान्वयन, गुणस्तरीय रोजगारी सिर्जना, शिक्षा र सीपलाई श्रम बजारसँग समन्वय, डिजिटल अधिकारको संरक्षण तथा नीति निर्माणमा युवाको संस्थागत सहभागिता सुनिश्चित भए मात्र युवाको विश्वास पुनःस्थापना, सामाजिक स्थायित्व र दिगो लोकतान्त्रिक तथा आर्थिक विकास सम्भव हुने देखिन्छ ।”

    अध्ययनले आन्दोलनका प्रमुख सामाजिक कारणमा राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वास, डिजिटल स्वतन्त्रतामा प्रतिबन्ध, राजनीतिक नेतृत्व र तिनका आफन्तको विलासी जीवनशैली, राज्य सेवामा सीमित व्यक्तिको पहुँच, रोजगारमुखी शिक्षा अभाव, योग्यताअनुसार रोजगारी नपाउनु, तथा राजनीतिक नियुक्तिमा नातावाद–कृपावादलाई औँल्याएको छ । त्यस्तै, समाजका सीमान्तकृत समुदाय विकासको मूल प्रवाहमा समाहित हुन नसक्दा उनीहरूको आक्रोश आन्दोलनका रूपमा प्रकट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    त्यसैगरी यो अध्ययनले आन्दोलनको प्रमुख आर्थिक कारणका रूपमा बढ्दो बेरोजगारी, रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, न्यून आय, न्यून ज्याला, आर्थिक अस्थिरता, उद्यमशीलताको सीमित अवसर र आय असमानता बढ्दै जानुलाई औँल्याएको छ । अध्ययनका अनुसार शिक्षा प्रणाली र श्रम बजारबीच ठूलो अन्तर रहेको छ । उच्च शिक्षा प्राप्त गरे पनि योग्यताअनुसारको रोजगारी नपाउनु युवाको असन्तोषको प्रमुख कारण बनेको उल्लेख गरिएको छ ।

    अध्ययनले आन्दोलनका सुशासनसम्बन्धी कारणमा प्रशासनिक प्रक्रियाको झन्झटिलोपन, सेवा प्रणालीमा एकद्वार प्रणालीको अभाव, मालपोत, कर तथा सेवा शुल्क बुझाउने कार्यालयमा सेवा भावनाको कमी, सार्वजनिक संस्थामा पारदर्शिताको अभाव, कार्यक्षमताको कमी तथा न्याय प्रणालीमा ढिलासुस्तीलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ । भ्रष्टाचारको सन्दर्भमा अधिकांश युवाले नेपालमा भ्रष्टाचार सामान्य स्तरभन्दा व्यापक भएको धारणा व्यक्त गरेका छन् । उनीहरूले भ्रष्टाचारलाई व्यक्तिगत नैतिक कमजोरी नभई प्रणालीगत असफलताको परिणामका रूपमा बुझेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    भ्रष्टाचार नियन्त्रणका निकायमा राजनीतिक नियुक्ति हुने र ती पदाधिकारी राजनीतिक नेतृत्वप्रति बढी उत्तरदायी हुने धारणा युवामा रहेकोले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको बुझाइ युवामा रहेको प्रतिवेदनमा उल्लेख छ । डिजिटल स्वतन्त्रतालाई युवाले लोकतन्त्र र सुशासनको महत्वपूर्ण सूचकका रूपमा लिएका छन् । उनीहरूले डिजिटल अधिकारलाई नागरिकको नैसर्गिक अधिकार मान्ने गरेको अध्ययनले देखाएको छ । डिजिटल सेवामा केही सुधार देखिए पनि पहुँचको असमानता, प्राविधिक कमजोरी र व्यवस्थापकीय समस्या अझै कायम रहेको अध्ययनमा उल्लेख छ ।

    स्थलगत सर्वेक्षणअनुसार आन्दोलनले आर्थिक स्थिरता र निजी क्षेत्रको लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको छ । यसले लगानीकर्ताको मनोविज्ञान र उद्यमशीलताको आत्मविश्वास कमजोर बनाएको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आन्दोलनका क्रममा देशभर आगजनी, तोडफोड तथा लुटपाटका घटनाका कारण करिब रु ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

    यद्यपि, अध्ययनले आन्दोलनका केही सकारात्मक प्रभाव पनि देखाएको छ । जसमा परम्परागत राजनीतिक नेतृत्वको दम्भमा कमी आउनु, राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा उत्तरदायित्वको भावना बढ्नु, युवापुस्तामा राजनीतिक चेतनाको वृद्धि हुनु तथा भ्रष्टाचारविरुद्ध संस्थागत दबाब सिर्जना हुनु समावेश छन् ।

    अध्ययनले जेनजी आन्दोलनबाट प्राप्त सङ्केतलाई आधार मानेर विभिन्न नीतिगत सुधारका सुझाव दिएको छ । राजनीतिलाई पेसाभन्दा राष्ट्रनिर्माण र राष्ट्रसेवाका लागि गरिने पवित्र कार्यका रूपमा बुझ्नुपर्ने, राजनीतिक नियुक्ति पारिवारिक आधारमा नभई खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने, शिक्षा प्रणालीलाई सीप र रोजगारीसँग जोड्नुपर्ने, सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा समावेश गर्नुपर्ने तथा आय असमानता घटाउनुपर्ने लगायत सुझाव समेटिएका छन् ।

    त्यस्तै, आर्थिक नीतिहरू कम्तीमा पाँच वर्षका लागि स्थिर बनाउनुपर्ने, सेवा प्रवाहलाई पारदर्शी, छिटो र जनमैत्री बनाउनुपर्ने, व्यापार र व्यवसायसम्बन्धी सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका संवैधानिक निकायमा प्रतिस्पर्धाका आधारमा सक्षम र इमानदार व्यक्ति नियुक्त गर्नुपर्ने सुझाव पनि दिइएको छ । डिजिटल क्षेत्रको नियमन नियन्त्रणमुखी नभई अधिकारमैत्री बनाउनुपर्ने, माध्यमिक शिक्षामा अनिवार्य व्यावसायिक विषय समावेश गर्नुपर्ने तथा लगानीकर्ताले रोजगारी सिर्जना गर्ने परियोजनामा लगानी बढाउनुपर्ने अध्ययनको सिफारिस छ ।

    अध्ययनले नैतिक शिक्षा पुनः माध्यमिक तहमा अनिवार्य विषयका रूपमा समावेश गर्नुपर्ने सुझाव पनि दिएको छ । अध्ययनले आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणलाई तत्कालीन प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उल्लेख गरेको छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको, बजारमा कर्जाको माग कम रहेको तथा ब्याजदर ऐतिहासिक रूपमा कम भएकाले सरकारले बैंकिङ क्षेत्रबाट ऋण लिएर पुनर्निर्माण कार्यलाई तीव्रता दिन सक्ने अध्ययनले सुझाव दिएको छ । यस्तो लगानीले राष्ट्रिय आय र समग्र माग बढाएर अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने पनि अध्ययनको निष्कर्ष छ ।

    अध्ययनअनुसार आन्दोलनमा सहभागी युवामध्ये करिब ९८ प्रतिशतले माध्यमिक वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेका छन् । उमेरगत रूपमा १६ देखि २५ वर्ष समूहको सहभागिता सबैभन्दा धेरै रहेको पाइएको छ । पेसागत दृष्टिले विद्यार्थी, बेरोजगार र स्वरोजगार युवाहरूको उपस्थिति उल्लेखनीय देखिएको छ ।

  • मनकामना दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

    मनकामना दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

    गोरखा, २ चैत .: गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो । प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ ।

    भारतको तमिलनाडू राज्यको चेन्नईबाट मनकामना दर्शन गर्न आएका भारतीय दर्शनार्थी शनिबार बेलुका पूजाआजा सकेर फर्कने क्रममा सहिद लखन गाउँपालिका–३ कानटार नजिकै दुर्घटनामा परेका थिए । बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस भिरबाट खस्दा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मीना र ६० वर्षीया तमिलारशीको घटनास्थलमै मृत्यु भएको थियो ।

    उक्त दुर्घटनामा नौ भारतीय नागरिक घाइते भएका थिए । घाइतेहरु पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन् । पाँच जना गम्भीर घाइते रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त माइक्रोबसमा ११ महिला र पाँच पुरुष सवार थिए । चालकको अवस्था सामान्य छ भने सहचालक घाइते भएका छन् । चौबीस भारतीय दर्शथार्नी दुई माइक्रोबस चढेर मुक्तिनाथको दर्शन गर्न गएका थिए । उनीहरु मुक्तिनाथ हुँदै मनकामनाको दर्शन गरी फर्किने क्रममा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी

    चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी

    काठमाडौँ, २ चैतः उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ ।
    पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ ।

    पार्टी प्रवक्ता डा राजु थापाका अनुसार यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाको रूपमा लिँदै सङ्गठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको छ ।

  • एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

    एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

    काठमाडौँ, २ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ । सङ्घका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिए । “निर्वाचन नहुने र सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षलगायत सबै पदमा सहमतिका लागि छलफल जारी छ”, उनले भने ।

    एनआरएनएले यसअघि भौतिक र अनलाइन दुवै माध्यम प्रयोग गरी निर्वाचन गराउने तयारी गरेको थियो । निर्वाचन भएमा चार हजार २८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको सङ्घले जनाएको थियो । यसैबीच, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले करिब चार सय प्रतिनिधि मात्रै भौतिक रूपमा उपस्थित रहेको जानकारी दिनुभयो ।

    मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण धेरै प्रतिनिधि भौतिक रूपमा सहभागी हुन नसकेको उनले बताए । मध्यपूर्वमा भइरहेको युद्धको प्रभावले धेरै प्रतिनिधि भौतिक रूपमा उपस्थित हुन पाउनुभएन । एकताको महाधिवेशन भएकाले अनलाइनमार्फत भए पनि सबै उत्साहपूर्वक सहभागी भइरहेका छौँ”, बस्नेतले भने ।

  • जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

    काठमाडौँ, १ चैतः जेनजी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने राकेश लामा रहेका छन् ।

    परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको र राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारमा सातवटा मुद्दा दर्ता भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि प्रहरी वृत्त बौद्धको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

  • भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

    भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

    गोरखा, १ चैतः सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत विकले जानकारी दिनुभयो ।

    समितिले १४ भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सो माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्डअन्तर्गत सहिद लखन गाउँपालिका–३ कान्टार नजिक भिरबाट खसेर दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा मनकामनाको पूजाआजा गरी फर्केका तमिलनाडु राज्य, चेन्नईका सात जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतकहरुको प्रदेश अस्पताल गोरखामा शवपरीक्षण गरी शव भारतीय दूतावासलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अन्य सात गम्भीर घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

  • महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

    महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

    काठमाडौँ, १ चैतः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् । “भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ ।

    पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ, यिनै पृष्ठभूमिमा पार्टीलाइ आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ,” महामन्त्री पौडेलले भनेका छन् ।

    अहिलको परिस्थितिमा नेपाली कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयहरु के हुन सक्छन् सुझाव दिन पार्टी कार्यकर्ता र शुभेच्छुकसँग उनले अनुरोध गरेका छन् । महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले चाँडै नै आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ । उनले पार्टीको आधिकारिक इमेल तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताए ।

  • पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि

    १ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

    दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । ‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’ युद्धका कारण भारत आउने पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा नै असर गरेको छ ।

  • घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

    घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

    काठमाडौँ, १ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभागमा राजस्व चुहावटसम्बन्धी छानबिनमा संलग्न रहँदा अधिकारीले एक व्यवसायीबाट ठूलो रकम घूस लिएको र उक्त रकम विभिन्न माध्यम प्रयोग गरी शुद्धिकरण गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको हो ।

    अधिकारीले राजस्व अनुसन्धान विभागमा दर्ता रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य सम्भावित कसुरबाट बचाउन सहजीकरण गरिदिने नाममा एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट घूस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अधिकारीले रु ७० लाख घूस÷रिसवत लिएको आयोगको ठहर छ ।

    अनुसन्धानका क्रममा अधिकारीले प्राप्त घूस रकम प्रत्यक्ष रूपमा प्रयोग नगरी विभिन्न व्यक्तिसँगको मिलेमतोमा बैङ्क खातामार्फत घुमाएर प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । निजले विकास चापागार्इं, देवेन्द्र केसी र रवीन्द्र लामिछानेलगायतसँगको सल्लाह तथा मिलेमतोमा रकम विभिन्न बैङ्क खातामा जम्मा गराई त्यसलाई तहीकरण गर्दै घूसको स्वरूप परिवर्तन गर्ने प्रयास गरेका आयोगले उल्लेख गरेको छ ।

    उक्त रकम ग्लोबल आइएमई बैङ्क, लुम्बिनी विकास बैङ्क र लक्ष्मी सनराइज बैङ्कलगायतका बैङ्क तथा वित्तीय संस्थामा रहेको खातामार्फत जम्मा गराई चरणबद्ध रूपमा कारोबार गरिएको जनाइएको छ । यसरी विभिन्न खातामार्फत रकम घुमाएर स्रोत लुकाउने तथा घूस रकमलाई वैध देखाउने प्रयास गरिएको आयोगको दाबी छ ।

    अनुसन्धानबाट उक्त रकमको केही भाग मध्यपुर थिमी नगरपालिकास्थित दिव्यश्वरी आयोजना क्षेत्रभित्र रहेको जग्गा खरिदमा प्रयोग गरिएको पनि खुलेको छ । भक्तपुर जिल्लाको साबिक वडा नं १७ ९हाल वडा नं २० मा पर्ने कित्ता नं ९९८ को करिब १६४ वर्गमिटर क्षेत्रफल भएको जग्गा खरिदका लागि उक्त रकम प्रयोग गरिएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।

    यस्तै, अनुसन्धानका क्रममा घूस रकमको केही अंश देवेन्द्र केसीसमेत सञ्चालक रहेको पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाको कर्जा भुक्तानीमा समेत प्रयोग भएको पाइएको छ । आयोगका अनुसार ‘द कुटी रिसोर्ट’ नामक परियोजनासँग सम्बन्धित कर्जा तिर्न घूसबाट प्राप्त रकम प्रयोग गरिएको प्रमाण भेटिएको हो ।

    आयोगले यो प्रकरणमा संलग्न व्यक्तिहरूबीच आपसी सल्लाह र मिलेमतोमा घूस रकमलाई विभिन्न बैङ्क खातामा जम्मा गरी त्यसलाई क्रमशः अन्य आर्थिक कारोबारमार्फत वैध देखाउने प्रयास गरिएको निष्कर्ष निकालेको छ । यस्तो कार्यले भ्रष्टाचारसँगै सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरसमेत आकर्षित हुने देखिएको आयोगले जनाएको छ ।

  • कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    पाटन (ललितपुर), १ चैतः नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले निर्वाचन आयोगको बन्दसूचीमा समावेश भएका नाममध्येबाट आदिवासी जनजाति र खसआर्यतर्फ छ–छ, थारुमा एक, दलित र मधेसीमा तीन–तीन र मुस्लिममा एक जनाको नाम आयोगमा पठाउने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।


    “हाम्रो पार्टीले प्राप्त गरेको २० सिटका आधारमा नाम टुङ्ग्याएका छौँ, राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी हाम्रो सिट ६२ रहेको छ, जसअनुसार २१ जना महिला अनिवार्य छ । यस आधारमा हाल १५ जना महिलासहित नामावली पठाएका छौँ । क्लस्टरमा तलमाथि परेमा आयोगले भनेअनुसार गर्नेछौँ,” उनले भने ।


    पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहितको सहभागिता रहेको थियो । बेठकमा सहमहामन्त्रीहरू बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा र प्रकाश रसाइली स्नेही र सदस्यहरु ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा गोपाल दहित, राजेन्द्रकुमार केसी र प्रवक्ता चालिसेले आआफ्नो धारणा राखेका थिए ।

  • राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस

    राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस

    काठमाडौँ, १ चैतः नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रियसभामा हाल रिक्त एक विज्ञ सदस्यमा उहाँको नाम सिफारिस भएको हो ।

    स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट मनोनीत गर्ने संवैधानिक प्रावधान छ । सङ्घीय संसद्मा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।