खोटाङ, २५ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको स्थानीयवासी वीरबल किरातीले जानकारी दिए । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।
बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए । स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि शिविरमा आउनेजानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था मिलाइएको हो ।
भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिइन् । “शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ । विवाह भोज खाएका सबै बिरामी भएका छन्”, उनले भनिन्, “विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ ।”
केही उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीहरूले बताएका छन् । भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले बताए । “विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल सङ्कलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाडौँ गएका एक बिरामीलाई टेकु पठाएका छौँ”, उनले भने, “फुडपोइजनले धेरै दुर्घटना हुनसक्छ । जन्तेढुङ्गामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले घटना नहोला भन्नेमा हामी विश्वस्त छौँ ।”
बिरामी चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । प्रभावित क्षेत्र बाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।
काठमाडौँ, २५ माघः राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।
“देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ”, राष्ट्रपति पौडेलले भने, “राज्यले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व सम्भव हुने हो भन्ने हामीले बिर्सन हुन्न ।”
उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको र हाम्रो राष्ट्रियगानले व्यक्त गरे झैँ नेपाल सयौँ थुङ्गाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको उल्लेख गरे । उनले भने, “यस फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य हुन्छ । हाम्रो संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही हो ।”
राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य–मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभएर ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू पनि भएको बताउँदै यिनको संरक्षण, संवद्र्धन र समुचित विकासका लागि राज्यले नीतिगत, संस्थागत र संरचनागत रूपमा थप प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक छ भन्ने आफूले ठानेको उल्लेख गरे ।
“आदिवासी ज्ञान प्रणाली केबल परम्परामा सीमित छैनन् । यी सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ पनि हुन्छ”, राष्ट्रपति पौडेलको भनाइ थियो, “नेपालका विभिन्न सूचीकृत आदिवासी जनजातिसँग सम्बन्धित परम्परागत ज्ञान, कृषि प्रणाली, कला, भाषा, विश्वदृष्टि तथा आध्यात्मिक अभ्याससम्म फैलिएको आदिवासी ज्ञान र बुद्धि एक जीवित राष्ट्रिय भण्डार हो, जसले हाम्रो समाजलाई सहअस्तित्व, सहिष्णुता र समृद्धितर्फ मार्गनिर्देशन गरिरहेको छ ।”
उनले सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसको मूलधारमा स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गर्दै रजत जयन्तीको यस ऐतिहासिक अवसरले आदिवासी जनजाति समुदायको ज्ञान, संस्कृति र पहिचानलाई राष्ट्रिय विकासको मूल प्रवाहमा थप मजबुत रूपमा समाहित गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
काठमाडौँ, २५ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईं हाजिरी जमानीमा रिहा भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । शुक्रबार काठमाडौँबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो ।
काठमाडौँ, २५ माघः नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रमा लामो समयसम्म अतुलनीय योगदान पु¥याएका कलाकार थापाको पार्थिव शरीरमा राष्ट्रिय सम्मानसहित अन्तिम दाहसंस्कार गरिएको हो । थापाको पार्थिव शरीरमा वरिष्ठ कलाकार निर शाह, सङ्गीतकार शम्भुजित बासकोटा, चलचित्र विकास बोर्डका प्रतिनिधि, कलाकार सङ्घ–संस्थाका पदाधिकारी, चलचित्रकर्मी तथा आफन्तजनले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
श्रद्धाञ्जली सभामा सहभागीहरूले स्व थापाको कला यात्रालाई स्मरण गर्दै उनको योगदान नेपाली चलचित्र इतिहासमा सदैव अमर रहने उल्लेख गरे । उनको शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टम सम्पन्न भएपछि आज पार्थिव शरीर पशुपति आर्यघाट अन्त्यष्टि गरिएको हो ।
स्व थापाले नेपाली चलचित्र क्षेत्रमा दशकौँसम्म अभिनय गर्दै दर्जनौँ सफल चलचित्रमा स्मरणीय भूमिका निर्वाह गरेका थिए । उनको अभिनयले नेपाली चलचित्रलाई नयाँ उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान दिएको चलचित्रकर्मीहरूको भनाइ छ । थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, समर्पित र कर्मठ कलाकार गुमाएको भन्दै चलचित्रकर्मीहरूले यस क्षतिलाई अपूरणीय बताएका छन् ।
काठमाडौँ, २५ माघः आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुदाँ नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट नेपाल बञ्चित भयो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनमा समेटियो ।
नेपालका लागि दीपेन्द्र सिह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए र उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४४ रन जोडे । त्यसैगरी कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९÷३९ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे । आरिफ शेखले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । आसिफ शेख सात रनमा आउट भए भने गुल्सन झा एक रनमा आउट भए ।
MUMBAI, INDIA – FEBRUARY 08: Lokesh Bam and Karan KC of Nepal walk from the field after Nepal lost by 4 runs during the ICC Men’s T20 World Cup India & Sri Lanka 2026 match between England and Nepal at Wankhede Stadium on February 08, 2026 in Mumbai, India. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)
बलिङमा इङ्ल्यान्डका लियम डसनले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो । इङ्ल्याडका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रूकले अर्धशतक बनाए । ज्याकबले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५५ रन जोडे । यसैगरी कप्तान ह्यारीले ३२ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई\दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले समान एक÷एक विकेट झारे । शनिबारदेखि सञ्चालन भएको विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ । नेपालले आफ्नो दोस्रो खेल यही माघ २९ गते इटालीसँग खेल्नेछ ।
आगामी जुन २३, २०२६ मा हुन गईरहेको न्युयोर्क राज्य विधानसभाको चुनावमा ‘चुनावी क्षेत्र कुईन्स प्रमुख विधानसभा जिल्ला नम्बर ३०’ मा नेपाली मुलका अमेरिकी नागरिक सोमनाथ घिमिरे डेमोक्र्याटिक पार्टीबाट चुनावी प्रत्याशी बनेका छन । भोट हाल्ने प्रक्रिया भने जून १३ बाट २१ सम्म जारिरहनेछ ।
यस क्षेत्र नम्बर ३० मा उड्साईड, ज्याक्सनहाईट, एल्महर्शट, मास्पेथ, र मध्येवर्ति कुविन्सका क्षेत्रहरु समावेश भएका छन । यस क्षेत्रमा बिभिन्न बहुभाषिक, बहु जातीय, बहु सास्कृतिक समुदायहरु रहेका छन । गिरिजा फाउन्डेसन मार्फत सामाजिक क्षेत्रमा कार्य गरेका घिमिरे यो क्षेत्रका मतदाता समुदायमा राम्रो घुलमिल र परिचित छन ।एक दरिलो, समावेशी र स्वच्छ समुदाय निर्माण गर्ने दृष्टिकोण बोकेका घिमिरे स्थानीय समुदायसंग निरन्तर भेटघाट, छलफल, र सभा गर्दै आएका छन । यसले गर्दा उनको स्थानीयहरुसंग घनिष्ठता बढेको बुझिन्छ । यस क्षेत्रको बिबिध समुदायबीच अनेकतामा एकता कायम गरि शान्ति, समृद्धि र प्रगति गर्न सकिने सम्भावना बढाउन सकिन्छ भन्ने अठोट बोकेका घिमिरेको दृष्टिकोणबाट स्थानीयहरु उनीप्रति प्रभावित भएको देखिन्छ ।
प्रत्याशी घिमिरेले यस क्षत्र नम्बर ३० का लागि प्रस्तुत गरेका कार्यक्रमहरु ; उनले गर्ने प्राथमिकतामा सहुलियतपुर्ण बसोबासको व्यवस्था, सरकारी स्कुलहरुको सुदृढिकरण, कामदारहरु अधिकारको सुरक्षा, साना व्यवसाय बिकासको लागि सहयोग, बिधान सभा क्षेत्र नम्बर ३० को जनताको प्रतिनिधित्व हुने समावेशिताको निश्चितता गर्ने कार्यक्रमहरु रहेकाछन । साथै आप्रवाशी र तिनका परिवारहरुको अधिकार सुरक्षाको लागि दरिलो रुपमा विधानसभा प्रस्तुत हुने बताएका छन ।
उडसाईड निवासी घिमिरे करिब तिन दशकअघि अमेरिका आएका हुन् । करिब दुई दशक उनले नेपाली अमेरिकन समुदाय र बिशेष गरि दक्षिण एशियाली समुदायसंग काम गरेकाछन । उनले २०२० को अमेरिका जनगणनामा फिल्ड सुपरभाईजर भई कार्य गरेका थिए । इन्हुरेड अन्त्राष्ट्रिय सस्थाबाट मानव अधिकारको क्षेत्रमा कार्या २२ मुलुकहरुको भ्रमण गरेका छन । उनि भन्छन सार्वजनिक क्षेत्र को कार्य भनेको गर्ने मात्र होईन । यो जनताको आवाज सुन्ने, उनीहरु बिछ उपस्थित हुने र आवस्यक पर्दा साथ् दिने पनि हुनुपर्छ । यसको लागि आफु निरन्तर लागि पर्ने दृढता ब्यक्त गरेकाछन ।
अहिले प्रारम्भिक चुनावी अभियानमा खटिरहेका घिमिरे बलियो जनस्तरको क्षेत्र निर्माणमा जुटिरहेकाछ्न । साथै आफ्नो क्षेत्रका सहयोगी र शुभेच्छुक समुदायबाट जति सकिन्छ सानोतिनो आर्थिक सहयोग पनि अपेक्षा गरेकाछन र यसका लागि दाताहरुले अन्लाईन मार्फत सहयोग निम्न लिंकबाट गर्न सकिन्छ ।
भोजपुर, २५ माघ । स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएका छन् । खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला तथा देशका विभिन्न स्थानबाट आउने खेलाडी र खेलप्रेमीको उपस्थितिले यहाँको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको स्थानीयवासीले बताएका छन् ।
खेलकुदलाई पर्यटन प्रवर्द्धनको आधार बनाउँदै जिल्लाको पौवादुङमा गाउँपालिकाले हालै तेस्रो पौवादुङमा गोल्डकप तथा माघी मेला सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगिता तथा मेलाका कारण जिल्लाभित्र र बाहिरबाट आएका आगन्तुकको उपस्थितिले स्थानीय पर्यटन र व्यवसायमा सकारात्मक प्रभाव पारेको छ ।
गोल्डकप तथा माघी मेलाका अवसरमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो । घरेलु कृषि उपज, हस्तकला सामग्री तथा परम्परागत खानाका स्टलहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए । यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नुका साथै किसान र उद्यमीलाई प्रोत्साहन मिलेको गाउँपालिकाले जनाएको छ ।
स्थानीयस्तरमा सञ्चालन हुने यस्ता खेलकुद प्रतियोगिता तथा सांस्कृतिक मेलाले रोजगारी सृजना, आर्थिक गतिविधि विस्तार र गाउँको पहिचान निर्माणमा योगदान पुर्याउँदै आएका छन् । स्थानीयवासीले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
शुक्रबार सम्पन्न गोल्डकप तथा माघी मेलामा सहभागी हुन गाउँपालिकाका विभिन्न वडासहित छिमेकी जिल्ला तथा देशका अन्य स्थानबाट खेलाडी, प्रशिक्षक, दर्शक र खेलप्रेमीको बाक्लो उपस्थिति देखिएको थियो । प्रतियोगिता अवलोकनका लागि बाहिरबाट आएका आगन्तुकका कारण होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए । “यस्ता प्रतियोगिता हुँदा बाहिरबाट धेरै मानिस आउँछन्”, उनले भने, “यसले खेलकुदसँगै गाउँको चिनारी बढाएको छ । होटल तथा व्यापार व्यवसायलाई पनि फाइदा पुगेको छ ।”
खेलकुद क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पौवादुङमा गाउँपालिकाले विगतका वर्षदेखि नै पौवादुङमा गोल्डकप तथा माघी मेला आयोजना गर्दै आएको छ । गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय सम्भावना उजागर गर्ने र गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने रणनीति लिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । खेलकुद र संस्कृति जोडिएका कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको छ”, अध्यक्ष राईले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउने योजना छ ।”
२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । आइतबार नेपाली समय अनुसार सवा ३ बजे खेल सुरु हुनेछ । शनिबारदेखि सुरु प्रतियोगिताको पहिलो दिन तीन खेल भएका छन् । नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिए पनि विजयी हुन भने सकेनन् ।
नेपाल पनि बलियो टोली इंग्ल्यान्डसँग सरप्राइज जितको खोजीमा छ। तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्य लिएको छ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ नेपाल र इंग्ल्यान्ड टी–२०आईमा पहिलो पटक भिड्न लागेका हुन् ।
काठमाडौँ, २५ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौँ महानगरपालिका, वडा नं ८ कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सदस्य राखिएको छ । समिति पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारीका लागि काम गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति बनाएर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि काम भइरहेको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । मूल समारोह समितिअन्तर्गत सुरक्षा उपसमितिको बैठक शुक्रबार बसेको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको सुरक्षा उपसमितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको पनि उपस्थिति थियो । बैठकमा महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था मिलाउनेबारेमा छलफल भएको उनले बताए ।
मुस्ताङ, २५ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि निर्वाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ ।
सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोमस्थित इन्द्र बक्स गणले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि स्थापना गरिएको सेनाको सुरक्षा बेस क्याम्पबाट मुस्ताङमा २४ घण्टामा दुईपटक सेनाले गस्ती गर्न थालेको छ । यहाँ सेनाले निर्वाचन सुरक्षाको वातावरणलाई कायम राख्न हतियारसहित सेनाको टोलीले मुख्य बजार तथा ग्रामीण क्षेत्रमा गस्ती गर्न थालेको हो । सेनाले दिन र रातको समयमा निन्तर निर्वाचन सुरक्षा गस्ती गर्न थालेका हुन् ।
इन्द्रबक्स गणका अनुसार माथिल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङस्थित थुर्लङ फाँटमा रहेको निर्वाचन सुरक्षा बेसले र तल्लो क्षेत्रमा इन्द्रबक्स गणस्थित निर्वाचन क्षेत्रले सुरक्षा गस्ती गर्नेगरी कार्यक्षेत्र विभाजन गरिएको छ । योसँगै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न माथिल्लो मुस्ताङस्थित सैनिक निर्वाचन सुरक्षा बेसले निरन्तर गस्ती गर्न थालेको जनाइएको छ ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पनि माथिल्लो मुस्ताङको चराङमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिसकेको छ । त्यहाँ एक जना सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २४ जना सशस्त्र र बाँकी ११ जना निर्वाचन प्रहरी खटाउनेगरी ३५ जना सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा टोली तैनाथ गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले २३५ जना र २६६ जना निर्वाचन प्रहरी परिचालन गर्ने जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्लाभित्र र जिल्ला बाहिरबाट यहाँ छनोट भएका निर्वाचन प्रहरीको २८ माघसम्म अनुशिक्षण तालिम सञ्चालन हुने र त्यसपछि जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी युनिटमा खटाइने जानकारी दिए । खटिएका प्रहरी सुरक्षाकर्मीले मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षा तथा नियमित गस्ती गर्ने कार्यलाई तीव्रता दिने जनाएको छ ।
आसन्न निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ मतदान केन्द्र कायम छन् । पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा ११ हजार ३२८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुस्ताङमा आठ राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
रासस खोटाङ, २५ माघः जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा जडान गरिएको बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर लामो छ ।
बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेपछि निर्माण कम्पनीलाई प्रदान गरिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान भएपछि हर्षित भएका छन् ।
मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । खोटाङ र उदयपुर जोड्नेगरी कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडान गरेर सञ्चालन गरिएको बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जराले जानकारी दिए ।
दक्षिणी क्षेत्रमा पर्ने तीनवटा स्थानीय तहका नागरिकलाई पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवामा जोड्नका लागि सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले समेत पछिल्लो समय गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले केही समयअघिबाट गति लिएसँगै नागरिकमा आशा जगाएको छ ।
धाप्लाङघाट पुल निर्माण ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहले जानकारी दिए । उनका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो । त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ ।
सङ्घीय सरकारको रु २१ करोड ६५ लाख लगानीमा धाप्लाङघाटमा २०० मिटर लामो मोटरेबल पक्की पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब नौ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास थिए ।
पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा धाप्लाङघाटको पुल निर्माण सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउनेगरी निर्माणको कामलाई तीव्रता दिइएको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले जनाएको छ । सुनकोशीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज यसअघि नै सञ्चालनमा ल्याइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो ।
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी–कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । निर्माण कम्पनी एमएएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ उदयपुरले मूल्य अभिवृद्धि करसहित रु ९६ लाख ७७ हजार ९३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरेको हो ।
गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात पूर्ण रूपमा विच्छेद भएको थियो । करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्री झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।
काठमाडौँ, २५ माघ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न÷नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न÷नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ । त्यसमा जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसारका लागि घरलैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ । आचारसंहिताको यो व्यवस्था पूर्ण पालना गर्नका लागि पटकपटक छलफल, अन्तक्र्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको भए तापनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले उक्त व्यवस्थाको उल्लङ्घन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्धारित समयअगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न-नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ । कोही कसैबाट आचारसंहिताको उल्लङ्घन गरी कुनै पनि तरिकाले प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले सूचित गरेको छ । आचारसंहिता अनुमगन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताको सम्पूर्ण पक्षका बारेमा ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ, २४ माघः जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित भएका छन् । श्रीलङ्काको राजधानी कोलम्बोमा भएको तीन दिने ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक अन्तरराष्ट्रिय गोष्ठीपश्चात आज भएको निर्वाचनमा डा भुसाल सो संस्थाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
डा भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन .(जान) का वर्तमान अध्यक्ष हुन् । सन् २०१७ देखि हालसम्म उनी सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको महासचिव थिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका जाइका अलमनाइहरुको सहभागिता रहेको उक्त सम्मेलनमा जानका अध्यक्ष डा भुसाल र उपाध्यक्ष डा किरण रुपाखेतीले नेपालको तर्फबाट कार्यक्रम प्रस्तुत गरेको जानका महासचिव शान्तिलक्ष्मी शाक्यले राससलाई जानकारी दिए ।
सो कार्यक्रममा नेपालका तर्फबाट डा भुसालको नेतृत्वमा छ सदस्यीय टोलीले सहभागिता जनाएको थियो । कार्यक्रममा श्रीलङ्काका लागि जापानी राजदूत आकिको इसोमाताले सार्क क्षेत्रको छाता सङ्गठनका रूपमा रहेको सो संस्थाले जापान र सार्क क्षेत्रका देशहरू बीचको सुमधुरसम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको महासचिव शाक्यले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष भुसालले जापानले सार्क क्षेत्रमा निस्वार्थ, भरपर्दो र दिगो रुपमा सहयोग गर्दै आएको र जापानबाट इमान्दारिता, जिम्मेवारीको जवाफदेहिता, अनुशासन, समयनिष्ठता र मेहनत सिक्नुपर्ने बताए । कार्यक्रममा सार्क क्षेत्रका जाइका अलमनाइहरूबाट भए गरेका गतिविधिको बारेमा प्रस्तुति भएको थियो । सार्क क्षेत्रका जाइका अलमनाइहरूको छाता सङ्गठनका रुपमा सो संस्थाको स्थापना सन् २००८ मा भएको थियो । यसको सचिवालय सन् २०१७ देखि काठमाडौँमा रहेको छ ।
काठमाडौँ, २४ माघः सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताएका छन् । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहेका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताए ।
उनले भने, “मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ । म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ । अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ । म जस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउने छु ।” आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाए ।
“सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु । जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु”, सभापति थापाले भने । उनले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे ।
काठमाडौँ, २४ माघः इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत पुुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
काबुल, २४माघ (रासस–सिन्ह्वा) । अफगानिस्तान अत्यधिक उच्च मृत्यु दर र निरन्तर आर्थिक अवरोधका कारण आमा र नवजात शिशुहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक बनेको संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोष ९यूएनएफपिए० लाई उदृत गर्दै शनिबार स्थानीय मिडियाले रिपोर्ट गरेका छन् । युएनएफपिएको प्रतिवेदन अनुसार अफगानिस्तानमा प्रति एक लाख जीवित जन्महरूमा ५२१ नवजात मृत्युको रेकर्ड गरेको छ, जुन एसिया–प्रशान्त क्षेत्रमा तथा विश्वव्यापी रूपमै सबैभन्दा उच्च मृत्युदर हो ।
एजेन्सीले हाल अफगानिस्तानमा करिब ५०० परिवारलाई स्वास्थ्य सेवा दिएको छ भने २०२६ मा लगभग ४५ लाख मानिसहरूलाई दुर्गम र कम सेवा भएका क्षेत्रहरूमा विशेष ध्यान दिएर आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने योजना बनाएको छ । कोष र प्रशिक्षित चिकित्सा कर्मचारीहरूको निरन्तर अभावले रोकथाम योग्य रोगबाट हुने मृत्यु घटाउने प्रयासहरूलाई चुनौती दिइरहेको जनाइएको छ ।
न्यूयोर्क,२४ माघ (रासस–एपी) । एलन मस्कले अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरेका छन् । करिब एक लाख उपग्रहलाई आकाशमा राखेर सूर्यको ऊर्जाबाट चल्ने सूचना केन्द्र निर्माण गरिनेछ, जसले कृत्रिम बुद्धिमत्ता प्रणाली र संवादात्मक कार्यक्रमहरू सञ्चालन गर्दा विजुली संकट रोक्न मद्दत गर्नेछ।
यसको लागि उनले आफ्नो अन्तरिक्ष संस्था र एआई व्यवसायलाई एकसाथ जोडेर ठूलो सार्वजनिक प्रस्ताव गर्ने योजना बनाएका छन् । तर विज्ञहरूले चेतावनी दिए, ‘अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्न धेरै प्राविधिक, आर्थिक र वातावरणीय चुनौतीहरू छन्।
कम्प्युटर चिपहरूले धेरै तातो उत्पादन गर्छन्, र अन्तरिक्षको शून्य हावामा तातो बाहिर जान कठिन हुन्छ। यस समस्याको समाधानका लागि विशाल रेडिएटर प्यानलहरू बनाउने योजना छ, तर यस्ता संरचना अहिलेसम्म कहिल्यै निर्माण भएका छैनन्।’
अन्तरिक्षमा उपग्रह बिग्रिनुको सम्भावना पनि उच्च छ, जसले आपतकालीन सञ्चार र मौसम पूर्वानुमानमा असर पार्न सक्छ। मस्कका अनुसार, आगामी ३०–३६ महिनाभित्र अन्तरिक्ष नै बुद्धिमत्ता प्रणालीको सबैभन्दा उपयुक्त स्थान बन्नेछ। तर विज्ञहरूले भनेका छन्,’ बिग्रेका उपकरण मर्मत गर्न मानिसहरू पुग्न नसक्ने र सूर्यको उच्च ऊर्जा कणले उपकरणमा असर पार्ने चुनौती रहन्छ।’ अन्य कम्पनीहरू पनि अन्तरिक्षमा सूचना केन्द्र स्थापना गर्ने प्रयास गर्दैछन्। विशेषज्ञहरूले यसलाई अन्तरिक्ष क्षेत्रमा शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन्।
काठमाडौँ, २४ माघः प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छिन् । अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताएकी छिन् । प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छिन् । सन्देशमा उनले “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ”, भनेकी छिन् । प्रधानमन्त्रीले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छिन् । अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
म्याग्दी, २४ माघ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले रु २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो । पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुुने गरेको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालुु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए ।
उनका अनुसार रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भएको हो । ‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायो इञ्जिनियरिङ’, ‘थिडिमेस’ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गर्न लागिएको शाहले बताए । अन्नपूूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रको ३०० मिटर क्षेत्रमा पहिरो रोकथामका लागि रु सात करोडमा वाम्ती÷कोण्डा÷टिस्ता जेभीले ठेक्का पाएको छ ।
अन्नपूूर्ण–३ कै गुइठेभिरमा ३०० मिटर दुरीको सडकको पहिरो रोकथामका लागि जिएसपिएल÷वुद्धीसरा जेभीले रु नौ करोडमा ठेक्का सम्झौता गरेको छ । लाटोखोला, रूपसे, नागढुङ्गा, सेतोखोला खण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले रु सात करोडमा ठेक्का पाएको छ । रूपसे खण्डमा १६० मिटर दुरीमा ढलान सकिएको छ ।
लाटोखोलामा ‘रक एङ्करिङ’ गरेर पहिरो रोकथाम र फराकिलो पार्ने काम अन्तिम चरणमा पुगेको छ । तल्लो र माथिल्लो बैसरीको पहिरो रोकथाम गर्न जिएसआई÷हुटैराज जेभीले रु दुई करोडको ठेक्का लिएको छ । सडक मुनीको पहाडमा ‘ड्रिलिङ’ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । ‘रक एङ्करिङ’ गर्न फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ ।
‘रक एङ्करिङ’ गर्नुपर्ने ठाउँको तीन दशमलव पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारीसाधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारीसाधन चल्ने बनाउन सातदेखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाउन लागिएको छ । अन्नपूूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथाम भएपछि सडकमा सवारीसाधन आवतजावत सहज र जोखिममा परेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुुने अपेक्षा गरिएको बताए ।
काठमाडौँ, २४ माघः अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताए ।
“बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भने ।
अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । “उहाँको परिवारका सदस्य भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ”, अध्यक्ष निरौलाले भने । लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ ।
चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए । उनी शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।
सेरिका थापा २४ माघ, काठमाडौं : सुनचाँदी बजारले पछिल्ला महिनाहरुमा इतिहासमै बिरलै देखिएको मूल्यको उचाइ छोएको छ । तोलाको तीन लाख रुपैयाँ नाघ्दै साढे तीन लाखतर्फ उन्मुख सुनको भाउले बजार मात्र होइन, समग्र नेपाली समाजलाई नै गहिरो प्रभाव पारेको छ । ‘अब सुन किन्न सकिएला त ?’, ‘यहीं रोकिएला कि अझै बढ्ला ?’, ‘विवाह, संस्कार कसरी गर्ने ?’ यस्ता प्रश्नहरु आज शहरदेखि गाउँसम्म, धनीदेखि मध्यम र गरिब वर्गसम्म उस्तै गुञ्जिरहेका छन् ।
नेपाली समाजमा सुन केवल धातु होइन । यो संस्कार हो, परम्परा हो, सामाजिक सुरक्षाको माध्यम हो र कठिन समयको सहारा पनि हो । तर, आज यही सुन नेपाली नागरिकको पहुँचभन्दा टाढिँदै जाँदा यसको मूल्यवृद्धिले आर्थिकभन्दा बढी सामाजिक र सांस्कृतिक बहस जन्माइरहेको छ ।
किन बढ्यो सुनको भाउ ? सुनको मूल्य वृद्धिलाई केवल माग–आपूर्तिको सामान्य नियमबाट बुझ्नु अपूरो हुन्छ । यसको जरो अन्तर्राष्ट्रिय राजनीति, विश्व अर्थतन्त्र र लगानीकर्ताको मनोविज्ञानसँग गहिरो रुपमा गाँसिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार हालको मूल्यवृद्धि विश्वव्यापी अस्थिरताको प्रत्यक्ष परिणाम हो ।
‘सुन सधैं सुरक्षित लगानीको प्रतीक मानिन्छ,’ उनी भन्छन्, ‘अहिले ग्रीनल्याण्ड, भेनेजुएला, इरान, युरोप र अमेरिकाबीचको टकराव, युद्धको सम्भावना, आर्थिक मन्दीको डर र मुद्रा अवमूल्यनले गर्दा विश्वभरका लगानीकर्ता जोखिमयुक्त क्षेत्रमा पैसा राख्न चाहँदैनन् । त्यसैले उनीहरु सुनतर्फ आकर्षित भएका हुन् ।’ विश्व बजारमा जब अनिश्चितता बढ्छ, लगानीकर्ता शेयर, बण्ड, क्रिप्टो जस्ता जोखिमयुक्त साधनबाट हटेर सुन जस्तो भौतिक र स्थिर सम्पत्तिमा पैसा सार्छन् । यही मनोविज्ञानले अन्तर्राष्ट्रिय बजारमा सुनको माग आकासिएको छ, जसको असर सिधै नेपालसम्म आइपुगेको छ ।
केन्द्रीय बैंकहरु नै सुनतर्फ फर्किंदै पछिल्ला वर्षहरुमा सुनको माग व्यक्तिगत लगानीकर्ताबाट मात्र होइन, राष्ट्र–राज्यहरुबाट पनि बढिरहेको छ । धेरै देशका केन्द्रीय बैंकहरुले अमेरिकी डलरमा रहेको आफ्नो विदेशी मुद्रा सञ्चिती घटाएर सुनको भण्डारण बढाइरहेका छन् । डलरको दीर्घकालीन स्थायित्वप्रति बढ्दो शंका, विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन र आर्थिक नाकाबन्दीको डरले देशहरुलाई सुनतर्फ उन्मुख गराएको विश्लेषकहरुको बुझाइ छ ।
जब केन्द्रीय बैंक जस्ता ठूला खेलाडी नै बजारमा प्रवेश गर्छन्, त्यसको प्रभाव मूल्यमा पर्नु स्वाभाविक हुन्छ । ‘अहिलेको अवस्थामा सुनको मूल्य कहिले ‘ब्याक’ हुन्छ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन,’ वज्राचार्य भन्छन्, ‘अवस्था सामान्य नहुँदासम्म यस्तै ट्रेन्ड रहन सक्छ ।’
नेपाली बजार : भाउ बढ्यो, कारोबार घट्यो अन्तर्राष्ट्रिय बजारमा सुनको चमक बढिरहँदा नेपाली बजारमा भने त्यसको अर्को पाटो देखिएको छ– कारोबारमा भारी गिरावट । व्यवसायीहरुका अनुसार अहिले नेपालमा दैनिक दुई केजी सुनको कारोबार हुन पनि मुस्किल परेको छ । कोभिड–१९ महामारी अघिसम्म दैनिक ५० केजीभन्दा बढी सुन किनबेच हुने बजार आज लगभग ठप्प जस्तै छ ।
महिनामा औसत ७५० केजी सुन खपत हुने बजारमा खपत घटेपछि आयात पनि कम गरिएको छ । पछिल्लो समय जम्मा १९३ केजी मात्र सुन आयात भइरहेको छ, त्यो पनि पूर्ण रुपमा बजारमा नगएर विभिन्न बैंकहरुमा मौज्दातका रुपमा थुप्रिएको अवस्था छ । ‘अहिले सुन किन्न आउनेभन्दा बेच्न आउने धेरै छन,’ वज्राचार्य भन्छन्, ‘मूल्य बढेकै कारण पुराना गहना बेचेर नगद बनाउने प्रवृत्ति बढेको छ ।’
नेपाल किन फरक ? भारत, चीन वा पश्चिमी मुलुकहरुमा सुनलाई दीर्घकालीन लगानीको साधनका रुपमा हेर्ने गरिन्छ । मूल्य बढ्दा किन्ने, घट्दा पनि भण्डारण गर्ने संस्कृति त्यहाँ विकसित छ । तर, नेपालमा अवस्था फरक छ । नेपालमा सुन मुख्यतः सांस्कृतिक र पारिवारिक आवश्यकतासँग जोडिएको छ । विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान, सामाजिक प्रतिष्ठा– यी सबैसँग सुन गाँसिएको छ । मूल्य बढ्दा नेपाली लगानीकर्ता सुन थुपार्नेभन्दा बेच्ने मानसिकतामा देखिन्छन् । यसले देखाउँछ कि नेपालमा सुन अझै पनि लगानीभन्दा बढी आवश्यकता र संस्कारको वस्तु हो ।
नेपालमा कहाँबाट आउँछ सुन ? नेपालमा सुनको मुख्य आयात केन्द्र दुबई हो । व्यक्तिगत रुपमा ल्याइने सुनबाहेक बैंकहरुमार्फत आयात हुने सुन प्रायः दुबईबाटै आउँछ । कहिलेकाहीँ सिंगापुरबाट पनि सीमित परिमाणमा सुन आयात हुने गरेको छ । व्यवसायीहरुको अनुमानअनुसार नेपालमा करिब ४० टन सुन रहेको छ । यो सुन सरकारी भण्डारमा नभई सर्वसाधारण नागरिकसँग रहेको मानिन्छ । तर विडम्बना, सरकारसँग नेपालमा कति सुन छ भन्ने कुराको यकिन तथ्यांक छैन । यसले नीतिगत कमजोरी मात्र होइन, सुनजस्तो महत्वपूर्ण सम्पत्तिबारे राज्यको दृष्टिकोण कति कमजोर छ भन्ने पनि देखाउँछ ।
मध्यम वर्गमाथि सबैभन्दा ठूलो मार सुनको मूल्यवृद्धिको सबैभन्दा ठूलो असर मध्यम र न्यून आय भएका परिवारमा परेको छ । विवाहको तयारी गरिरहेका परिवारहरु योजना बदल्न बाध्य छन् । कतिपयले सुनको परिमाण घटाएका छन्, कतिपयले कृत्रिम गहनातर्फ ध्यान दिन थालेका छन् । ग्रामीण भेगमा सुन अझै पनि आर्थिक सुरक्षाको अन्तिम सहारा मानिन्छ । संकट पर्दा बेच्न सकिने, ऋण लिन सकिने सम्पत्ति भएकाले सुनको मूल्य बढ्नु त्यहाँ खुशीभन्दा बढी चिन्ताको विषय बनेको छ ।
संस्कृति र बजारको द्वन्द्व नेपाली समाजमा सुनसँग जोडिएको सांस्कृतिक दबाब अझै बलियो छ । सामाजिक प्रतिष्ठा, छरछिमेकको तुलना र परम्परागत सोचले गर्दा ‘सुनबिना विवाह अधुरो’ भन्ने मानसिकता अझै जीवित छ । तर, बजारको वास्तविकताले यो सोचलाई चुनौती दिइरहेको छ । सुनको मूल्यले संस्कृतिलाई नै पुनर्विचार गर्न बाध्य बनाइरहेको अवस्था देखिन्छ ।
अब के होला ? सुनको भाउ घट्ला कि अझै बढ्ला ? यसको स्पष्ट उत्तर अहिले कसैसँग छैन । विश्व राजनीति, युद्ध, आर्थिक मन्दी, डलरको भविष्य– यी सबै कारकले सुनको मूल्य निर्धारण गर्छन् । तर यति भने स्पष्ट छ– तीन लाख नाघेको सुनको भाउले नेपाली समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा नयाँ मोडमा पु¥याएको छ । सुन अझै चम्किरहेको छ, तर त्यो चमक आम नागरिकका लागि उज्यालोभन्दा बढी चुनौती बन्दै गएको छ ।
के नेपालमा सुन खानी छ ? संसारभर सुनको मूल्यले ऐतिहासिक उचाइ चुमिरहँदा, यही पहेंलो धातुको उपलब्धता र भविष्यलाई लिएर विश्वस्तरमा गम्भीर बहस सुरु भएको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार अहिलेसम्म संसारभरका खानीबाट करिब २ लाख १६ हजार २ सय ६५ टन सुन निकालिसकिएको छ । चकित पार्ने तथ्य के छ भने उक्त सुनको ठूलो हिस्सा सन् १९५० पछि मात्रै पत्ता लागेको हो ।
file
अर्कोतर्फ, अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले भूमिगत खानीहरुमा अझै करिब ६४ हजार टन सुन निकाल्न सकिने अनुमान गरेको छ । अर्थात्, सुन सकिँदै छ भन्ने होइन, तर सजिलै उपलब्ध हुने सुनको युग भने बिस्तारै समाप्त हुँदैछ । यही सन्दर्भमा, सन् १९७९ पछि पहिलो पटक अहिलेको स्तरमा सुनको भाउ तीव्र गतिमा बढिरहेको छ । विश्व बजारमा सुनको मूल्य आकासिंदै गर्दा प्रश्न उठ्छ– नेपाल जस्तो प्राकृतिक स्रोतले भरिएको देश यस दौडमा कहाँ उभिएको छ ?
दशकौंदेखि सुनखानीको चर्चा तर प्रगति शून्य नेपालका विभिन्न जिल्लामा सुनका खानीहरु रहेको तथ्य नयाँ होइन । नदी, खोला, पहाड र चट्टानसँग जोडिएर नेपालमा सुनको अस्तित्व दशकौंदेखि चर्चा हुँदै आएको छ । तर विडम्बना, आजसम्म नेपालका सुनखानीहरुको यथार्थ अवस्था, परिमाण र व्यावसायिक सम्भावना यकिन गर्न सकिएको छैन ।
भूगर्भशास्त्री कृष्णप्रसाद काफ्लेको लामो अध्ययन तथा प्रतिवेदनले नेपालका धेरै भू–भागमा सुनको सम्भावना रहेको देखाएको छ । उनका अनुसार म्याग्दी, कालीगण्डकी, भेरी, महाकाली, सुनकोशी लगायतका नदी प्रणाली र आसपासका पहाडी क्षेत्रहरुमा सुनका कण र भण्डार पाइने सम्भावना प्रचुर छ । तर, यी अध्ययनहरु अधिकांशतः कागजमै सीमित भएका छन् । समुचित उत्खनन्, आधुनिक प्रविधि प्रयोग, वातावरणीय मूल्यांकन र आर्थिक सम्भावनाबारे गहिरो अनुसन्धान आजसम्म हुन सकेको छैन ।
संविधानसभापछिको आशा निराशामा परिणत नेपालका सुन खानीको व्यावसायिक उत्खनन्को सन्दर्भमा सबैभन्दा आशावादी क्षण भने पहिलो संविधानसभा निर्वाचनपछिको समय मानिन्छ । तत्कालीन प्रधानमन्त्रीको पहलमा नेपालका सुनखानी उत्खनन्का लागि अन्तर्राष्ट्रिय कम्पनीहरुसँग संवाद अघि बढाइएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार त्यसबेला म्याग्दी खोलाको सुन खानी उत्खनन्का लागि एक अमेरिकी कम्पनी नेपाल आएको थियो । ‘सरकारकै पहलमा आएको त्यो कम्पनीले १० हजार जनालाई रोजगारी दिने र उत्खनन्बाट निस्किएको सुनको ४० प्रतिशत नेपाललाई दिने प्रस्ताव गरेको थियो,’ वज्राचार्य सम्झन्छन्, ‘यो नेपालका लागि ऐतिहासिक अवसर हुन सक्थ्यो ।’तर त्यो अवसर धेरै समय टिक्न सकेन । सरकारी संयन्त्रभित्रै देखिएको कानूनी जटिलता र प्रक्रियागत अल्झनका कारण अमेरिकी कम्पनी अन्ततः रित्तो हात फर्किन बाध्य भयो ।
कानुनी जटिलता : लगानीमा बाधा अमेरिकी कम्पनी फर्किनुको मूल कारण नेपालको खनिजसम्बन्धी कानूनी संरचना नै भएको सरोकारवालाहरु बताउँछन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार नेपालको कानूनले विदेशी व्यक्ति वा कम्पनीलाई सिधै खानी उत्खनन् गर्न दिने व्यवस्था गरेको छैन । ‘हाम्रो कानूनअनुसार विदेशी व्यक्ति वा कम्पनीले प्रत्यक्ष रुपमा खानीको काम गर्न पाउने स्पष्ट व्यवस्था छैन,’ बाँस्कोटा भन्छन्, ‘यसले विदेशी लगानी भिœयाउन ठूलो अवरोध सिर्जना गरेको छ ।’
हालसम्म पनि नेपालमा खानी तथा खनिज पदार्थ ऐन २०४२ कै आधारमा खानीसम्बन्धी काम हुँदै आएको छ । यद्यपि, २०५६ सालमा नियमावली बनाइए पनि त्यो न त सरल छ, न त अन्तर्राष्ट्रिय लगानीमैत्री । यसले गर्दा विदेशी कम्पनीहरु नेपालमा सुनजस्ता मूल्यवान खनिजमा लगानी गर्न इच्छुक हुँदाहुँदै पनि कानूनी अनिश्चितताका कारण पछि हटिरहेका छन् ।
नेपालका सुन पाइने खोला तथा नदी तटीय क्षेत्रमा निरन्तर सुन बगिरहेको छ । त्यो सुन कुन ठाउँबाट निस्किएको भन्ने पनि यकिन छैन । तर, सयौं व्यक्तिले बालुवामा चालेर दैनिकी चलाइरहेका छन् । निरन्तर बालुवामा सुन चालेर दैनिकी गुजार्ने सयौं परिवार छन् । तर, राज्यले भने सुनखानीको विस्तृत अध्ययनसमेत गरेको छैन । नेपालमा विदेशी कम्पनीले बेलाबेलामा चासो र आफूहरुको व्यावसायिक संलग्नताका बारेमा चासो व्यक्त गर्दै आइरहेका छन् ।
बग्दै सुन, छुट्दै अवसर विशेषज्ञहरुका अनुसार नेपालका धेरै नदी प्रणालीमा सुनका कण प्राकृतिक रुपमा बगिरहेका छन् । आधुनिक उत्खनन् प्रविधि प्रयोग नगर्दा यो सुन पानीसँगै बगेर सीमापार भइरहेको छ । अर्कोतर्फ, देशभित्र बेरोजगारी बढ्दो छ, वैदेशिक रोजगारीमा युवाको निर्भरता बढिरहेको छ । यदि सुन खानीको व्यवस्थित उत्खनन् गर्न सकिएको भए हजारौं रोजगारी सिर्जना हुन सक्थ्यो, राज्यले ठूलो राजस्व पाउन सक्थ्यो र आयातमा निर्भर अर्थतन्त्रलाई केही हदसम्म टेवा मिल्थ्यो ।
आज विश्व बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा छ । केन्द्रीय बैंकहरु सुन भण्डारण बढाइरहेका छन् । लगानीकर्ता सुरक्षित सम्पत्तिको खोजीमा सुनतर्फ आकर्षित छन् । तर, यहीबेला नेपालका सम्भावित सुन खानीहरु भने नीति, कानून र उदासिनताका कारण मौन छन् । यो अवस्था केवल आर्थिक अवसर गुमाउनु मात्र होइन, दीर्घकालीन रुपमा राष्ट्रिय स्वार्थसँग जोडिएको प्रश्न पनि हो । देशको विकासका लागि पनि यो महत्वपूर्ण कोशेढुंगा बन्न सक्छ ।
नीतिगत सुधार अबको आवश्यकता विश्लेषकहरुका अनुसार नेपालले अब ढिला नगरी खानीसम्बन्धी ऐन र नियमावलीलाई समयसापेक्ष र लगानीमैत्री बनाउनुपर्छ । विदेशी प्रविधि र पूँजीलाई राष्ट्रिय हित सुरक्षित गर्दै भिœयाउने स्पष्ट ढाँचा आवश्यक छ । साथै, विस्तृत भूगर्भीय सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन र स्थानीय समुदायको सहभागितासहित सुन खानीको सम्भावनालाई व्यवहारमा उतार्न सकिए नेपालले ठूलो आर्थिक लाभ लिन सक्छ । सुन केवल भविष्यको सपना होइन, अहिलेको अवसर हो । संसारभर सुन सकिँदै जाँदा यसको मूल्य अझै बढ्ने सम्भावना छ । यही बेला नेपालले आफ्नै भूमिमा लुकेको सम्भावनालाई चिन्न नसक्नु ऐतिहासिक चूक हुन सक्छ ।
खनिज नेपालका प्रमुख प्राकृतिक सम्पदा नेपाल २५०० किलोमिटर लामो हिमालयन पर्वत शृङ्खलाको केन्द्रीय भागमा अवस्थित भूपरिवेष्ठित विकासोन्मुख देश हो । नेपालको करिब ८३ प्रतिशत भूभाग पहाडी तथा हिमाली क्षेत्रले ओगटेको छ । यस्तो भौगोलिक बनावट र जटिल भूवैज्ञानिक संरचनाका कारण नेपाल प्राकृतिक स्रोतसाधन, विशेषगरी खनिज स्रोतको दृष्टिले अत्यन्त सम्भावनायुक्त देश मानिन्छ । जलस्रोत, वन, जैविक विविधता, जडीबुटीका साथै धातुजन्य, अधातुजन्य, इन्धन तथा बहुमूल्य रत्न खनिज नेपालका प्रमुख प्राकृतिक सम्पदा हुन् ।
खनिज स्रोतहरु पुनः नवीकरण नहुने प्राकृतिक स्रोत भएकाले तिनको वैज्ञानिक अन्वेषण, योजनाबद्ध उत्खनन र दिगो उपयोग अत्यन्त आवश्यक हुन्छ । खनिज क्षेत्रको विकासले औद्योगिकीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, निर्यात प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिन सक्छ । यद्यपि, नेपालमा खनिज स्रोतको सम्भावना हुँदाहुँदै पनि यो क्षेत्र अपेक्षित रुपमा विकास हुन सकेको छैन ।
सुन पाइने नेपालका खानी नेपालमा खनिजको प्रयोग र उत्खननको इतिहास प्राचीन कालदेखि नै रहेको पाइन्छ । ऐतिहासिक प्रमाणअनुसार नेपालमा साना स्तरमा फलाम, तामा, सिसा, जस्ता, कोबाल्ट तथा सुनको उत्खनन तथा प्रशोधन गरिन्थ्यो । विभिन्न स्थानमा पाइने पुराना खानी खाल्डा, सुरुङ, धातु पगाल्ने भट्टीका अवशेष तथा स्ल्यागहरुले विगतको खानी गतिविधिको पुष्टि गर्छन् ।
आधुनिक र व्यवस्थित खनिज अन्वेषणको सुरुआत भने विसं २०१८ मा नेपाल खानी ब्युरो स्थापना भएपछि भएको हो । त्यसपछि विसं २०२४ मा नेपाल भूवैज्ञानिक सर्वेक्षण स्थापना गरियो । यी दुई संस्थालाई २०३४ मा गाभी नेपाल सरकारले खानी तथा भूगर्भ विभागको स्थापना ग¥यो । निरन्तर अध्ययनबाट देशका विभिन्न भागमा सम्भावनायुक्त खनिज क्षेत्रहरु पहिचान गरियो ।
नेपालमा सुन मुख्यतया नदीजन्य प्लेसर सुनका खानी पाइन्छ । महाकाली, कर्णाली, कालीगण्डकी, सुनकोशी र भोटेकोशी नदीहरु सुनका लागि प्रसिद्ध छन् । हाल साना स्तरमा परम्परागत तरिकाले सुन संकलन भइरहेको छ । कालीगण्डकी क्षेत्रमा प्राथमिक सुनको सम्भावना देखिए पनि विस्तृत अन्वेषण हुन बाँकी छ । नेपालमा माणिक, नीलम, टुरमालिन, एक्वामारिन, गार्नेट जस्ता रत्न पाइन्छन् । गणेश हिमाल, रोलवालिङ, इलाम र मुस्ताङ रत्न सम्भावनायुक्त क्षेत्र हुन् । तर, प्रशोधन प्रविधि र बजार व्यवस्थापन कमजोर भएकाले यो क्षेत्र अपेक्षित रुपमा विकास हुन सकेको छैन ।
काठमाडौँ, २४ माघ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन् । आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पटिकरण सोधेकामध्ये २४ जनाले बुझाएपनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन् ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाइ आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ । जिल्लामा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउनेकार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारवाही गरिएको आयोगले जनाएको छ ।
काठमाडौँ, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुकुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ ।
वासिङ्टन, २४ माघ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन् । भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रमुख डेमोक्रेट नेताहरूले कडा निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पको स्वामित्वमा रहेको ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको करिब एक मिनेट लामो भिडियोको अन्त्यतिर पूर्वराष्ट्रपति ओबामालाई बाँदरको शरीरमा झण्डै एक सेकेन्डका लागि अनुहारसहित देखाइएको छ ।
ओबामाहरू देखिने दृश्यमा पृष्ठभूमिमा ‘द लायन स्लीप्स टुनाइट’ गीत बजिरहेको सुनिन्छ । उक्त भिडियोमा मतपत्र गणना गर्ने कम्पनी डोमिनियन भोटिङ सिस्टमले सन् २०२० को राष्ट्रपति निर्वाचन ट्रम्पबाट चोर्न सहयोग गरेको भन्ने झुटो आरोपलाई पुनः दोहोर्याइएको छ । शुक्रबार बिहानसम्म राष्ट्रपतिको सामाजिक सञ्जाल प्लेटफर्ममा उक्त भिडियो हजारौँ पटक लाइक गरिएको देखिएको थियो ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको कार्यालयले उक्त पोस्टको आलोचना गरेको छ । न्युसम सन् २०२८ को एक सम्भावित डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार छन् । उनी राष्ट्रपति ट्रम्पका प्रमुख आलोचकहरूमध्ये एक हुन् । “राष्ट्रपतिको घृणित व्यवहार । प्रत्येक रिपब्लिकनले यसको निन्दा गर्नुपर्छ”, न्युसमको प्रेस अफिसको आधिकारिक एक्स खातामा पोस्ट गरिएको छ ।
पूर्व शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार तथा बाराक ओबामाका निकट विश्वासपात्र बेन रोड्सले पनि उक्त तस्बिरको आलोचना गरेका छन् । “यो ट्रम्प र उनका जातिवादी अनुयायीहरूलाई सताउन दिनुहोस् कि भावी अमेरिकीहरूले ओबामालाई हाम्रो इतिहासमा दागका रूपमा होइन, प्रिय व्यक्तित्वका रूपमा अध्ययन र अँगाल्नेछन्”, उनले एक्समा लेखेका छन् ।
बाराक ओबामा अमेरिकी इतिहासका एक मात्र अश्वेत राष्ट्रपति हुन् । उनले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गरेका थिए । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल तथा अन्य प्लेटफर्महरूमा अति–यथार्थवादी तर बनावटी दृश्यहरूको प्रयोगलाई निरन्तर बढावा दिएका छन् । ती पोस्टहरूमा प्रायः आफ्ना आलोचकहरूको निन्दा गर्दै आफूलाई महिमामण्डित गरिएको देखिन्छ ।
उनले आफ्ना रूढिवादी समर्थकहरूलाई एकताबद्ध र सक्रिय बनाउन उत्तेजक पोस्टहरू प्रयोग गर्दै आएका छन् । गत वर्ष राष्ट्रपति ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइएको एउटा भिडियो पोस्ट गरेका थिए । जसमा बाराक ओबामालाई ओभल अफिसमा गिरफ्तार गरिएको र सुन्तला रङको जम्पसुट लगाएर जेलमा देखाइएको थियो ।
त्यसपछि उनले सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजलाई नक्कली जुँगा र सोमब्रेरो लगाइएको एआई क्लिप पनि पोस्ट गरेका थिए । जेफ्रीजले उक्त छविलाई खुला जातिवादी व्यवहारको संज्ञा दिएका थिए । ह्वाइट हाउसमा फर्किएपछि राष्ट्रपति ट्रम्पले विविधता, समानता र समावेशीकरण, अर्थात् डिइआई कार्यक्रमहरूविरुद्ध अभियान चलाएको भन्दै विरोधीहरूको आलोचना खेपेका छन् । राष्ट्रपति ट्रम्पका प्रारम्भिक निर्णयहरूमध्ये एक सङ्घीय सरकारका सबै डिइआई कार्यक्रमहरू, सेनासम्बन्धी नीतिहरू समेत, समाप्त गर्नु रहेको थियो ।
उहाँले ‘अवेक’ पहलका रूपमा उपहास गर्नुभएको सशस्त्र फौजलाई मुक्त गर्ने अभियानअन्तर्गत अमेरिकाको भेदभावपूर्ण इतिहास समेट्ने थुप्रै पुस्तकहरू केही सैन्य एकेडेमीका पुस्तकालयका सेल्फबाट हटाइएको छ । अमेरिकाका सङ्घीय भेदभावविरोधी कार्यक्रमहरू सन् १९६० को दशकको नागरिक अधिकार आन्दोलनबाट जन्मिएका थिए । ती आन्दोलनहरू मुख्यतः अश्वेत अमेरिकीहरूको नेतृत्वमा सयौँ वर्षको दासत्वपछि समानता र न्यायका लागि सञ्चालन गरिएका थिए । सन् १८६५ मा दासत्व उन्मूलन भए पनि त्यसपछि अन्य संस्थागत स्वरूपका जातिवाद लागू भएको इतिहास रहेको देखिन्छ ।
इस्लामावाद, २४ माघ (रासस–एएफपी) । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले आफू घटनाबारे बोल्ने अख्तियारप्राप्त नभएको भन्दै नाम नबताउने शर्तमा एएफपीसँग भने, “देशभरिका मस्जिदहरू उपासकहरूले खचाखच भरिएका समय शुक्रबारको प्रार्थनापछि विस्फोट भएको थियो।”
मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राजधानी इस्लामावादस्थित शिया समुदायको मस्जिदमा भएको विस्फोटमा भएको हताहतको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । अर्को एक सुरक्षा स्रोतले एएफपीसँग भनेको छ, “आक्रमणकारीलाई गेटमा रोकिएको समय आक्रमणकारी आफैँले विस्फोट गराएको थियो।” पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालमा एएफपीका पत्रकारहरूले कैयौँ वयस्क र बालबालिकालाई स्ट्रेचरमा राखेर वा हात र खुट्टामा समातेर वा उचाल्दै लैजाँदै गरेको देखेको बताए ।
अस्पतालमा चिकित्सक र प्रत्यक्षदर्शीहरूले एम्बुलेन्स र गाडीहरूको पछाडिबाट रगतले लत्पतिएको कपडासहित पीडितहरूलाई उतार्न मद्दत गरेका देखिन्थ्यो । घाइतेका नजिकका साथी र आफन्तहरूले अस्पतालको सुरक्षा वार्डमा कडाइ भएपछि आपन्तहरूलाई भेट्न दिनका लागि कराइरहेको देखिन्थ्यो । एएफपीका पत्रकारहरूको अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलले घेरा हालेको देखिन्थ्यो, जहाँ जमिनमा रगतको आहाल देखिएको थियो।
सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा मस्जिदको अगाडिको ढोका नजिकै कैयौँ लाश र रातो कार्पेटले ढाकिएको प्रार्थना हलमा भग्नावशेष छरिएको देखिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्न व्यक्तिहरूलाई पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन्। अफगानिस्तानसँग सीमा जोडिएको देशको दक्षिणी र उत्तरी दुवै प्रान्तमा पाकिस्तानी सुरक्षा बलले विद्रोह चर्किरहेका बेला कुनै पनि समूहले तत्काल आक्रमणको जिम्मेवारी लिएको छैन।
पाकिस्तान सुन्नी बहुल राष्ट्र हो तर यहाँ शिया समुदायको जनसङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ र विगतमा यस क्षेत्रमा आक्रमणमा उनीहरू निशाना बनिएका छन्।
–बढ्दो विद्रोह–
इस्लामाबादले दक्षिणी बलुचिस्तानमा पृथकतावादी सशस्त्र समूहहरू र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी तालिबान र अन्य इस्लामिक लडाकूहरूले अफगान भूमिलाई आक्रमण गर्न सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ। अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र द्विपक्षीय सम्बन्ध खस्किएको छ र दुवै देशका सेनाबीच सीमामा नियमित रूपमा झडप भइरहने गरेको छ ।
इस्लामावादमा नोभेम्बरमा अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए, जुन लगभग तीन वर्षमा राजधानीमा भएको पछिल्लो ठूलो आक्रमण थियो। पाकिस्तानी सेनाले दक्षिणी बलुचिस्तानमा पनि दबाबको सामना गरिरहेको छ, जहाँ गत हप्ता पृथकतावादी विद्रोहीले जिम्मेवारी लिएको आक्रमणमा ३६ सर्वसाधारण र २२ सुरक्षाकर्मीको मृत्यु भएको थियो। ती आक्रमणहरूले प्रतिकारको लहर सुरु गर्यो जसमा अधिकारीहरूले सुरक्षा बलले लगभग २०० लडाकूहरू मारेको बताए।
किएभ, २४ माघ (रासस–एपी) । युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च–स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः कार्यभारमा फर्किएपछि दुई देशबीच देखिएको सम्बन्ध सुधारको यो अर्को सङ्केत मानिएको छ ।
फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी पूर्णस्तरको आक्रमण हुनुअघि बढ्दो तनावका कारण सन् २०२१ को अन्त्यतिर मस्को र वासिङ्टनबीच उच्च–स्तरीय सैन्य सञ्चार रोकिएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान चलाउँदा युद्ध तत्काल अन्त्य गर्ने वाचा गरेका थिए । उनका केही शान्ति प्रस्तावहरूले क्रेमलिनलाई अनुकूल देखिएको भन्दै आलोचना पनि भएको छ, जसमा युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने धारणा समावेश छन् ।
पुनःस्थापित सैन्य सञ्चार च्यानलले दुवै पक्ष स्थायी शान्तितर्फ काम गरिरहेका बेला नियमित सैन्य–सैन्य सम्पर्क सुनिश्चित गर्ने अमेरिकी युरोपेली कमान्डले जनाएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा वरिष्ठ अमेरिकी र रुसी सैन्य अधिकारीहरूबीच भएको बैठकपछि यो सहमति बनेको हो ।
युरोपमा अमेरिकी र नाटो दुवै सेनाका कमान्डर रहनुभएका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविच अबु धाबीमा रहेका थिए । त्यहाँ अमेरिकी, रुसी र युक्रेनी अधिकारीहरूबीच युद्ध अन्त्यसम्बन्धी वार्ता दोस्रो दिनमा प्रवेश गरेको थियो ।
यसैबीच, रुसले युक्रेनको पावर ग्रिडमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनका अनुसार यसले नागरिक मनोबल कमजोर पार्ने उद्देश्य बोकेको छ । करिब एक हजार किलोमिटर लामो पूर्वी र दक्षिणी मोर्चामा लडाइँ जारी नै छ । सैन्य हटलाइन पुनः सुरु हुनु युद्धपछि बढेको तनाव कम गर्ने र अमेरिकी तथा रुसी सेनाबीच आकस्मिक टकराव रोक्ने प्रयासका रूपमा हेरिएको छ ।
मार्च २०२३ मा कृष्ण सागरमाथि अमेरिकी एमक्यू–९ ड्रोन र रुसी लडाकू विमानबीच भएको घटनाले यस्तो जोखिम उजागर गरेको थियो । रुसले उक्त ड्रोन खसालिएको आरोप अस्वीकार गर्दै नो–फ्लाई जोन उल्लङ्घनको प्रतिक्रिया मात्र भएको दाबी गरेको थियो ।
नाटो सदस्य राष्ट्रहरूले सहयोगी हवाई क्षेत्रमा रुसी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नाटो विमानहरू परिचालन गरिएको थियो । त्यसपछि एस्टोनियाको हवाई क्षेत्रबाट पनि रुसी लडाकू विमानहरू हटाइएको थियो । युक्रेन र रुसबीचको वार्तापछि कैदी आदानप्रदान पनि भएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार १५७ रुसी सैनिक र तीन नागरिक फिर्ता ल्याइएका छन् । युक्रेनी अधिकारीहरूले १५० सैनिक र सात नागरिक रुसी कैदबाट फर्किएको जानकारी दिएका छन् । रिहा गरिएका रुसी सैनिकहरू हाल बेलारुसमा चिकित्सकीय सहयोग लिइरहेका छन् ।
युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले फर्किएका धेरै सैनिकहरू कठिन मनोवैज्ञानिक अवस्थामा रहेको र केही गम्भीर रूपमा कुपोषित देखिएको बताए । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसको आक्रमणपछि करिब ५५ हजार युक्रेनी सैनिकको मृत्यु भएको बताएका छन् । उनका अनुसार अझै धेरै व्यक्ति बेपत्ता मानिएका छन् ।
युद्धपछिको कुनै पनि सम्भावित रुसी आक्रमण रोक्न अमेरिका र युरोपबाट सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उनले दोहोर्याएका छन् । मानव अधिकार समूहहरूका अनुसार गत वर्ष युक्रेनी नागरिक हताहत २०२४ को तुलनामा ३१ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि करिब १५ हजार नागरिक मारिएका छन् र ४० हजारभन्दा बढी घाइते भएका छन् ।
अन्य घटनाक्रममा, युक्रेनले रुसी सेनाले फ्रन्ट लाइनमा स्टारलिङ्क इन्टरनेट टर्मिनल प्रयोग गर्न नसक्ने अवस्था आएको दाबी गरेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले किएभ भ्रमणका क्रममा गोला–बारुदको संयुक्त उत्पादन र ऊर्जा सहकार्य विस्तारमा सहमति भएको जानकारी दिए । युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर १८३ ड्रोन र दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । रुसले भने आफ्नो हवाई रक्षाले विभिन्न क्षेत्रमा ९५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
कोलम्बो, २३ माघ (रासस–एपी) । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि–२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ । श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले शुक्रबार प्राप्त रिपोर्टका आधारमा पाकिस्तानलाई निर्णय पुनः सोच्न अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार बहिष्कार अगाडि बढेमा यसले विभिन्न पक्षलाई असर पार्नेछ, किनकि फेब्रुअरी १५ मा हुने खेलका लागि सुरक्षा व्यवस्था, होटल बुकिङ र टिकट बिक्रीसहित सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको छ ।
डि सिल्भाले श्रीलङ्का क्रिकेटले पाकिस्तान क्रिकेट बोर्डका आफ्ना समकक्षीहरूलाई दुई देशबीचको लामो र बलियो क्रिकेट सम्बन्धको आधारमा पत्र पठाएको बताए । यद्यपि, उनले उक्त पत्रको विस्तृत विवरण सार्वजनिक गर्न चाहेनन् । श्रीलङ्का सन् २००९ मा लाहोरमा श्रीलङ्का टोलीमाथि भएको आतङ्कवादी आक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग परेको पाकिस्तान भ्रमण गर्ने पहिलो राष्ट्रिय टोली बनेको थियो । सो आक्रमणपछि पाकिस्तानमा लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट स्थगित भएको थियो ।
यसपालि श्रीलङ्का र भारतले सह–आयोजना गरिरहेको टि–२० विश्वकप पाकिस्तान सरकारको निर्णयका कारण विवादमा परेको छ । पाकिस्तान सरकारले यस हप्ताको सुरुमा आफ्नो टोली भारतसँग खेल्न मैदान नउत्रने घोषणा गरेपछि बहिष्कारको स्थिति उत्पन्न भएको हो । पछि पाकिस्तान सरकारले यो निर्णय बङ्गलादेशसँगको एकताका रूपमा लिइएको स्पष्ट गरेको छ । सुरक्षा चिन्ताको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न माग गरेपछि बङ्गलादेश टोलीलाई प्रतियोगिताबाट हटाइएको थियो र त्यसको सट्टा स्कटल्यान्डलाई सहभागी गराइएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले स्वतन्त्र मूल्याङ्कनपछि भारतमा बङ्गलादेश टोलीका लागि कुनै सुरक्षा जोखिम नभेटिएको र खेल स्थानान्तरणको माग ढिलो भएको जनाएको छ । हालैका प्रतियोगिताहरूमा भारत र पाकिस्तानलाई तटस्थ स्थलमा खेल्न अनुमति दिइएको उदाहरण प्रस्तुत गर्दै पाकिस्तानले आइसिसीको निर्णय असङ्गत भएको आरोप लगाएको छ ।
भारत र पाकिस्तानबीच दशकौँदेखि सैन्य र कूटनीतिक तनाव रहँदै आएको छ, जसको असर क्रिकेटमा पनि देखिँदै आएको छ । क्रिकेट दुवै देशमा करोडौँ मानिसले अत्यन्त चासोका साथ पछ्याउने खेल हो । यसैबीच, सन् २०२२ मा गम्भीर आर्थिक सङ्कट भोगेको श्रीलङ्का हाल अन्तर्राष्ट्रिय मुद्राकोषको पुनःउत्थान कार्यक्रमअन्तर्गत अघि बढिरहेको छ । पर्यटन श्रीलङ्काको प्रमुख आर्थिक आधार भएकाले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितालाई आर्थिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ ।
काठमाडौँ, २३ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी भएको दाबी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी सल्यान सम्पर्क समितिले आज यहाँ आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रममा उनले नयाँ र पुरानाको निधो विचार, एजेन्डा र सङ्घर्षले गर्ने बताए ।
“गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ ? आजको सबैभन्दा नयाँ विचार गणतन्त्र हो । त्यसको नेतृत्व नेकपाले गरेको हो । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र उत्पीडित वर्ग र समुदायलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा कसैले ल्याएको छ ?”, संयोजक दाहालले भने । संयोजक दाहालले नयाँ दल भन्नेले जनतासामु पार्टीको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए । उनले नयाँ आन्दोलन र मुद्दाको नेतृत्व गर्ने पार्टीलाई पुरानो भनेर लगाइएको आरोप नै गलत भएको बताए ।
नेकपाका नेता प्रकाश ज्वालाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सृजना र समृद्धिमार्फत समाजवादको यात्रातर्फ आफ्नो पार्टी अघि बढिरहेको बताए । नेकपा सल्यान निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रमेश मल्लले जनता र पार्टीको शिर निहुरिन नदिने गरी आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भक्तपुर, २३ माघः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै एउटाको पक्ष वा विपक्ष नरही निष्पक्ष समाचार सम्प्रेषण गरिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् । उनले जनक शिक्षा सामग्री केन्द्र लिमिडेड सानोठिमीमा सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमाध्यम एकतर्फी र एकपक्षीय ढङ्गले अर्को उम्मेदवारलाई प्रभाव पर्ने गरी समाचार वा विचार व्यक्त नगर्न र निष्पक्ष सामग्री बनाइदिन आग्रह गरे ।
देशभर निर्वाचनमय वातावरण बनिरहेको अवस्थामा निर्वाचनको अन्तिम अन्तिम चरणमा आइरहँदा समाचारलाई भन्दा आफ्ना विचारलाई सम्प्रेषण गर्दा पनि पक्ष वा विपक्ष नगर्न उनले आग्रह गरे । उनले भने, “सञ्चार माध्यममा तपाईंहरुले विचारलाई सम्प्रेषण गर्दा सबैको आ–आफ्नो मौलिकता र विचार छ, तर त्यो विचार व्यक्त गर्दा कुनै दल वा व्यक्ति वा कुनै उम्मेदवारको पक्ष र विपक्षमा गर्न पाइदैन, त्यसैले समाचार सत्यतथ्यमा आधारित रहेर मात्रै सम्प्रेषण गरिदिन आग्रह गर्दछु ।”
आचारसंहिता उल्लङ्घनमा परेका उजुरीमाथि छानबिन र कारबाही अगाडि बढाएको भन्दै उहाँले अचारसंहिता लागू भए वा भएन, त्यसको परिपालन भयो भएन, त्यसको पनि विभिन्न तह र तप्काबाट अनुगमन भइरहेको बताए । आयोगले आचारसंहिता उलङ्घनको अनुगमन पनि गरिरहेको उल्लेख गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको बताए ।
काठमाडौँ, २३ माघ ः पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको साप्ताहिक पत्रकार सम्मेलनमा आज दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ ।
छपाइ भएको मतपत्रको सात हजार १३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बू, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको छपाइ तथा प्याकिङ्ग सम्पन्न भइसकेको उनले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइ सकिएको आयोगले जनाएको छ ।
गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीअन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यका लागि हस्ताक्षर सम्पन्न गरेको छ । आयोगले मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रमसहित प्रत्येक वडास्तरमा स्वयंसेवक खटाउने तयारी गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ जारी छ । अनुगमनमा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुलाई सक्रिय पारिएको आयोगले जनाएको छ ।