Category: समाचार

  • नेपालको आर्थिक वृद्धिदर पूर्वलक्ष्य भन्दा आधा घट्ने प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर पूर्वलक्ष्य भन्दा आधा घट्ने प्रक्षेपण

    काठमाडौँ, २८ माघ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो ।

    तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ४.६ प्रतिशत रहेको अनुमान छ ।

    बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा तीन प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ । गत आवको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा यस्तो वृद्धि २.९ प्रतिशत रहेको संशोधित अनुमान छ ।
    चालु आवको पहिलो त्रैमासमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा १.३६ प्रतिशतले विस्तार हुने अनुमान छ ।

    विशेषतः धानको उत्पादन घट्ने र पशुपन्छी, तरकारी बाली तथा फलफूल उत्पादनमा वृद्धि हुने अनुमानको आधारमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तुलनात्मक रूपमा न्यून रहने अनुमान गरिएको छ । चालु आवमा मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन भने बढ्ने अनुमान छ । गत आवमा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत र नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढेको अनुमान छ ।

    चालु आवको पहिलो त्रैमासमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ । चालु आवमा ऊर्जा र निर्माण क्षेत्रका क्रियाकलापमा विस्तार हुँदा सोको सकारात्मक प्रभाव समग्र उद्योग क्षेत्रमा पर्ने अनुमान छ । चालु आवको पहिलो त्रैमासमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि १.५२ प्रतिशतले विस्तार हुने अनुमान छ ।

    यही अवधिमा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको सोही अवधिको तुलनामा ३.०३ प्रतिशतले विस्तार हुने अनुमान छ । चालु आवमा थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता, सामान्य प्रशासन तथा रक्षा, पर्यटकीय गतिविधि र व्यक्तिगत सेवाका क्रियाकलापमा विस्तार हुँदा समग्र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान छ । बजेट मध्यावधि समीक्षा प्रतिवेदनअनुसार चालु आवको प्रथम छ महिनाको औसत मुद्रास्फीति १.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९७ प्रतिशत थियो ।

  • परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबीचको सहकार्यबारे छलफल

    परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता, नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबीचको सहकार्यबारे छलफल

    काठमाडौँ, २७ माघ । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ । भेटवार्तामा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति रहेको थियो । भेटका क्रममा नेपाल–कतार द्विपक्षीय लगानी प्रवद्र्धन, व्यापार विस्तार, सरकार–सरकार तथा निजी क्षेत्र–निजी क्षेत्र सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

    छलफलका क्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा संरचनागत सुधारहरू अघि बढाइएको बताए । उनले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणमार्फत आर्थिक वृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । उनले नेपालको ऊर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधी लगायतका विविध क्षेत्रमा कतारी लगानीको सम्भावना रहेकोमा जोड दिए ।

    त्यस्तै, परराष्ट्रमन्त्री बालामन्द शर्माले नेपालले विदेशी लगानीकर्ताका लागि नीतिगत सुधार र कूटनीतिक सहजीकरणलाई प्राथमिकतामा राखेको बताउँदै कतारी लगानीकर्तालाई ऊर्जा, पर्यटन, पूर्वाधार र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गरे । कतारका लागि नेपालका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीले कतारी निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै स्थिर नीति, सहज बैंकिङ प्रणाली र लगानी सुरक्षाले लगानी प्रवाह अझ बढ्ने विश्वास व्यक्त गरे ।

    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा निजी क्षेत्र नेतृत्वको विकास मोडेललाई प्रवद्र्धन गर्न महासङ्घले सक्रिय भूमिका खेल्दै आएको उल्लेख गरे । उनले कतारी लगानीकर्तालाई नेपालमा दीर्घकालीन साझेदारीका लागि आह्वान गर्दै ऊर्जा, पर्यटन, जलविद्युत्, होटल, कृषि प्रशोधन र पूर्वाधार क्षेत्रमा संयुक्त लगानीको ठूलो सम्भावना रहेको बताए ।


    कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीले नेपालमा लगानीको वातावरणबारे सकारात्मक धारणा राख्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान–प्रदान विस्तार गर्न इच्छुक रहेको बताए ।

    भेटवार्ताले नेपाल–कतार आर्थिक सम्बन्धलाई नयाँ उचाइमा लैजान र भविष्यमा ठोस लगानी सहकार्यका आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतिनिधि मण्डलले आजै गभर्नर प्राडा विश्वनाथ पौडेलसङ पनि भेट गरेको थियो । कतारी प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो ।

  • चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

    चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, २७ माघः प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छिन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिइन् ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् ।” निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गबाट सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् ।

    जनतालाई सुरक्षाको प्रत्याभूति दिँदा तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै उनले अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन् ।


    नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराउनुभएको थियोे । बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझाव प्रस्तुत गर्नाका साथै समसामयिक विषयमा छलफल गर्ने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

  • सरकारले चालु आर्थिक वर्षको आय–व्ययको अनुमान घटायो

    सरकारले चालु आर्थिक वर्षको आय–व्ययको अनुमान घटायो

    काठमाडौँ, २७ माघः चालू आर्थिक वर्ष २०८२–८३ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारको आय र व्ययको अनुमान घटाइएको छ । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्च दुवैको अनुमान घटाएको हो । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट विनियोजन गरेको थियो । जसमध्ये चालुगततर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख र वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर सुरुआती विनियोजन रहेको थियो ।

    संशोधित अनुमानअनुसार यस वर्ष चालु खर्च रु ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख, पुँजीगत खर्च रु दुई खर्ब ४३ अर्ब ३० करोड ३४ लाख र वित्तीय व्यवस्था रु तीन खर्ब १९ अर्ब चार करोड ३९ लाख बराबर मात्रै खर्च हुने देखिएको छ । कुल बजेट खर्च रु १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ । यो रकम सुरु विनियोजनको ८५ दशमलव ९६ प्रतिशत हो । अर्थात् सुरुआती विनियोजनको तुलनामा कुल संशोधित बजेट खर्च १४ दशमलव ०६ प्रतिशत बिन्दुले घट्ने देखिएको छ ।

    चालु आर्थिक वर्ष २०८२–८३ मा कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोडमध्ये रु १४ खर्ब ८० अर्ब राजस्व स्रोत परिचालन हुने अनुमान रहेको छ । उक्त कुल अनुमानित राजस्वमध्ये सङ्घीय सरकारको बजेट प्रयोजनका लागि रु १३ खर्ब १५ अर्ब प्रयोग हुने र बाँकी रु एक खर्ब ६५ अर्ब राजस्व बाँडफाँटको माध्यमबाट प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुमान छ । यसअनुसार सङ्घीय सरकारको कुल बजेटमा राजस्वको योगदान करिब ६७ दशमलव ४९ प्रतिशत रहने अनुमान छ ।

    चालु आर्थिक वर्ष २०८२–८३ को राजस्व प्राप्तिको अनुमानमा कर राजस्वको अंश रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख अर्थात् ८९ दशमलव ५७ प्रतिशत र अन्य राजस्व ९गैरकर० को अंश रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख अर्थात् १० दशमलव ४३ प्रतिशत रहेको छ । यसमा प्रत्यक्ष कर रु चार खर्ब सात अर्ब दुई करोड ९२ लाख र अप्रत्यक्ष कर रु नौ खर्ब १८ अर्ब ५५ करोड ४५ लाख रहेको छ । यस हिसाबले हेर्दा जम्मा कर राजस्वमा प्रत्यक्ष करको हिस्सा ३० दशमलव ७० प्रतिशत र अप्रत्यक्ष करको हिस्सा ६९ दशमलव ३० प्रतिशत रहेको छ ।

    चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीतिलाई साढे पाँच प्रतिशतमा सीमित राख्ने लक्ष्यका साथ बजेटको संशोधित अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् सिर्जना भएको असामान्य परिस्थिति, आयोजनाको पुनः प्राथमिकीकरण र खर्च कटौती गर्ने मन्त्रिपरिषद्को निर्णयलाई संशोधित अनुमानको आधार मानिएको छ ।

    त्यस्तै, आगामी प्रतिनिधि सभाको निर्वाचन खर्च, सामाजिक सुरक्षा, कर्मचारीको महँगी भत्ता र आन्दोलनका घाइते तथा मृतकका परिवारलाई दिनुपर्ने राहतका कारण चालु खर्चमा चाप बढेको प्रतिवेदनमा उल्लेख छ । “आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा जटिलता र निर्माण व्यवसायीलाई भुक्तानीमा भएको ढिलाइले गर्दा पुँजीगत खर्चको गुणस्तर अपेक्षाकृत सुधार हुन सकेको छैन”, प्रतिवेदनमा भनिएको छ । आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, निर्माणाधीन रणनीतिक आयोजनाको भुक्तानी र अनिवार्य दायित्व (तलब, भत्ता, पेन्सन) लाई खर्चको मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ ।

    पूर्वतयारी नभएका, टुक्रे आयोजना र प्रतिफल सुनिश्चित नभएका अनुत्पादक कार्यक्रमहरूको बजेट रोक्का गरी प्राथमिकता प्राप्त आयोजनामा रकमान्तर गर्ने नीति लिइएको पनि अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै, बैठक भत्ता उपलब्ध नगराउने, बाह्य परामर्श सेवा नलिने, वैदेशिक भ्रमण नियन्त्रण गर्ने र नयाँ दरबन्दी सिर्जना नगर्ने जस्ता उपायहरूद्वारा चालु खर्च नियन्त्रण गर्ने लक्ष्य राखिएको उल्लेख छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा निकाय र निर्वाचन आयोगलाई आवश्यक पर्ने बजेटको स्रोत सहमति र व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ । वैदेशिक सहायता प्राप्तिमा देखिएको न्यूनता र राजस्व सङ्कलनको चापलाई मध्यनजर गर्दै आन्तरिक स्रोत (राजस्व र आन्तरिक ऋण) को अधिकतम उपयोग गरी बजेट सन्तुलन कायम गर्न खोजिएको पनि अर्थ मन्त्रालयले जनाएको छ । बजेट प्रणालीलाई नतिजामुखी बनाउन आयोजना बैङ्कको कार्यान्वयन, डिजिटल भुक्तानी प्रणालीको विस्तार र सार्वजनिक खरिद कानुनमा समसामयिक सुधार गरिने जनाइएको छ ।

  • बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक, अर्थतन्त्रमा परम्परागत समस्या यथावत

    बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक, अर्थतन्त्रमा परम्परागत समस्या यथावत

    काठमाडौँ, २७ माघः अर्थ मन्त्रालयले आज ‘आर्थिक वर्ष २०८२–८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कूल बजेटको करिब एक तिहाइ मात्र खर्च भएको छ, भने पुँजीगत खर्च सन्तोषजनक हुन नसकेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आवका लागि कूल रु १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पुस मसान्तसम्म रु ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ ।

    जुन कूल बजेटको ३५ दशमलव १४ प्रतिशत हो । खर्चको संरचना हेर्दा विनियोजित रकममध्ये चालु खर्च (वित्तीय हस्तान्तरणसहित) ४१ दशमलव २५ प्रतिशत, पुँजीगत खर्च १२ दशमलव १२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४० दशमलव ९५ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

    समीक्षा अवधिको समग्र खर्च गत आवको सोही अवधिको तुलनामा तीन दशमलव ३९ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, पुँजीगत खर्च न्यून रहनुका कारणका रूपमा आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति तथा वन क्षेत्रको उपयोगमा देखिएका जटिलता, साथै गत भदौ २३ र २४ गते भएका आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षतिलाई औंल्याइएको छ ।

    बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनामा विनियोजित रु एक खर्ब १९ अर्ब ५३ करोड ६५ लाख बजेट मन्त्रिपरिषद्को निर्णयअनुसार स्थगन गरिएको छ । स्थगन गरिएका आयोजनामध्ये खरिद प्रक्रिया सुरु भइसकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्ट्याइसहित फुकुवाका लागि अनुरोध भएका आधारमा रु ४२ अर्ब २८ करोड ३४ लाख भने फुकुवा गरिएको मन्त्रालयले जनाएको छ ।

    राजस्व परिचालनतर्फ चालु आवमा कूल रु १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जसमा सङ्घीय सरकारको हिस्सा रु १३ खर्ब १५ अर्ब रहने अनुमान गरिएको छ । प्रतिवेदनमा बजेट कार्यान्वयन र स्रोत व्यवस्थापन सुधारका लक्ष्य र नीतिहरू पनि सार्वजनिक गरिएका छन् । समीक्षा अवधिमा देखिएका संरचनागत र प्रणालीगत समस्या समाधान गर्दै बाँकी अवधिमा राजस्व परिचालन सुदृढ गर्ने र लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्ने मुख्य लक्ष्य राखिएको छ ।

    सार्वजनिक खर्चलाई मितव्ययी बनाउन २०७८ सालको मापदण्डलाई परिमार्जन गरी प्रभावकारी रूपमा लागू गर्ने र विनियोजित सीमाभित्र मात्र खर्च गर्ने नीति लिइएको छ । मन्त्रालयका अनुसार बजेट खर्च बढाउन सङ्घ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीअनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरिनेछ । अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने अवस्थाबाहेक सरकारी स्रोतबाट गरिने वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने नीति पनि लिइएको छ ।

    त्यसैगरी सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानहरूमा थप व्ययभार पर्नेगरी नयाँ सङ्गठन संरचना र दरबन्दी सिर्जना नगरिने जनाइएको छ । परामर्श सेवामा नियन्त्रण गर्दै ठूला आयोजनाबाहेक अन्य आयोजनामा सुपरीवेक्षण परामर्शदाता नियुक्त नगर्ने र नीति वा कानुनको मस्यौदा तयार गर्न बाह्य परामर्श सेवा नलिने व्यवस्था गरिने जनाइएको छ ।

    त्यस्तै, राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका आयोजनामा स्रोतको अभाव हुन नदिने तथा ती आयोजनाको बजेट अन्यत्र रकमान्तर नगर्ने सुनिश्चितता गरिएको छ । बहुवर्षीय आयोजनाको हकमा स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२ को पूर्ण पालना गरिने र मध्यमकालीन खर्च संरचनाका आधारमा मात्र स्रोत सहमति माग गर्ने व्यवस्था मिलाइने अर्थ मन्त्रालयले जनाएको छ । फागुन मसान्तसम्म खर्च नभएको वा बाँकी अवधिमा खर्च हुन नसक्ने बजेटलाई २०८२ चैत १५ गतेभित्र अनिवार्य रूपमा समर्पण गर्नुपर्ने व्यवस्थालाई पनि कडाइका साथ पालना गरिने जनाइएको छ ।

    पारिश्रमिक, भत्ता, रासन, बिजुली, सञ्चार र घरभाडाजस्ता अनिवार्य दायित्वको भुक्तानी चालु वर्षमै फछ्र्योट गरी आगामी वर्षमा दायित्व नसर्ने गरी व्यवस्थापन गर्ने, अर्थ मन्त्रालयको पूर्वसहमति बिना कुनै पनि निकायले थप आर्थिक दायित्व सिर्जना गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने पनि अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    वैदेशिक सहायतामा सञ्चालित आयोजनाको सोधभर्ना समयमै प्राप्त गर्न आवश्यक सहजीकरण र अनुगमन गर्ने, विकास सहायतालाई राष्ट्रिय आवश्यकता र उच्च प्रतिफलयुक्त रणनीतिक आयोजनामा मात्र परिचालन गर्ने नीति लिइनेजस्ता विषयमा प्रतिवेदनमा राखिएका छन् । नयाँ वैदेशिक सहायता आयोजनामा ‘प्रोजेक्ट रेडिनेस फिल्टर’ प्रभावकारी रूपमा लागू गरी तयारी पूरा भएका आयोजना मात्र छनोट गरिने जनाइएको छ ।

    त्यस्तै, राजस्व प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र करदातामैत्री बनाउँदै स्वेच्छिक कर परिपालना अभिवृद्धि गर्ने योजना अघि सारिएको छ । सीमानाकामा भन्सार प्रशासन र सुरक्षा निकायबीच समन्वय गरी राजस्व चुहावट नियन्त्रणका लागि बहु–निकायगत एकीकृत प्रयास गरिने जनाइएको छ । त्यस्तै, करयोग्य अनौपचारिक आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा ल्याउने र डिजिटल कारोबारलाई करको दायरामा समेट्दै कराधार विस्तार गरिने उल्लेख छ ।

    त्यसैगरी, कर बक्यौता असुली र बेरुजु फछ्र्योट कार्यलाई कार्ययोजना बनाएर तीव्रता दिइने प्रतिवेदनमा उल्लेख छ । गैरकर राजस्वको दायरा विस्तार गर्दै विद्यमान दरहरू समयसापेक्ष बनाइने र सरकारी लगानीका निकायबाट प्राप्त हुने लाभांश समयमै सङ्कलन गरिने व्यवस्था मिलाइने छ । गैर–बजेटरी रूपमा विभिन्न कोषमा रहेको सरकारी रकम सङ्घीय सञ्चित कोषमा दाखिला गराउने प्रक्रिया अघि बढाइने प्रतिवेदनमा उल्लेख छ ।

  • नेकपाले ल्यायो घोषणापत्र : महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन र जनजीविकाका सबाल सम्बोधन गर्ने प्रतिबद्धता

    नेकपाले ल्यायो घोषणापत्र : महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन र जनजीविकाका सबाल सम्बोधन गर्ने प्रतिबद्धता

    काठमाडौँ, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज अपराह्न पत्रकार सम्मेलनमार्फत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरे । प्रतिबद्धतापत्रमा केही महत्वाकाङ्क्षी योजनासमेत सार्वजनिक गरिएका छन् । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पाँच वर्षभित्र रणनीतिक योजना कार्यान्वयन गरेर विशेष उपलब्धि हासिल गरिने विषय उल्लेख छ ।

    आर्थिक सुधारको नयाँ चरणः समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माण

    प्रतिबद्धतापत्रमा आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिइएको छ । आयात–व्यापार तथा उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी, आत्मनिर्भर तथा समावेशी मोडलमा ‘सिफ्ट’ गर्ने विषयलाई प्रतिबद्धता पत्रमा समेटिएको छ । ‘नयाँ चरणको आर्थिक सुधार’ र सामाजिक न्यायसहितको समृद्धिलाई विशेष जोड दिएर पार्टीले स्वाधिन र समृद्ध नेपाल निर्माणको मार्गचित्र तयार गर्ने गर्ने अग्रसरता लिएको छ । राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनका लागि विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा व्यक्त गरिएको छ । सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा तीनखम्बे आर्थिक नीति अवलम्बन गरिनेछ ।

    नेपालको अर्थतन्त्र गहिरो संरचनागत सङ्कटमा फसेको उल्लेख गर्दै विगतका दशकहरूमा अपनाइएका नवउदारवादी नीतिहरूले प्रारम्भिक रूपमा केही उत्पादन र रोजगारी सिर्जना गरे पनि दीर्घकालमा अर्थतन्त्रलाई आयात–निर्भर, गैर–उत्पादनमुखी तथा असमानतापूर्ण बनाएको उल्लेख गरिएको छ । “व्यापार घाटा बढ्दो छ, राष्ट्रिय बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ, सिण्डिकेट तथा मिलेमतो संस्थागत छन्, र गरिबी तथा आर्थिक असमानता कायमै छन् । सहकारी तथा गैरसरकारी क्षेत्रमा नियमन अभावले विकृति र दुरूपयोग बढेको छ,” प्रतिबद्धता पत्रमा भनिएको छ ।

    संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि पुरानो नीतिगत ढाँचाले मौलिक हकहरूको कार्यान्वयनमा बाधा पु¥याएको नेकपाको निष्कर्ष छ । बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिवेशमा पुरानो मोडल व्यावहारिक र औँचित्यपूर्ण नभएको भन्दै पार्टीले उत्पादन वृद्धि, रोजगारी सिर्जना, वित्तीय समावेशीता तथा आत्मनिर्भरतामार्फत सामाजिक न्यायसहितको आर्थिक समृद्धिको नयाँ चरण प्रस्ताव गरेको छ ।

    गरिबी १० प्रतिशतमा सीमित

    प्रतिबद्धतापत्रमा आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । सो अवधिमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने लक्ष्य प्रस्तुत गरिएको छ । प्राकृतिक स्रोतहरूको विवेकशील, दिगो र उत्पादनमुखी उपयोग, स्वदेशी र वैदेशिक लगानीमा वृद्धि, सामूहिकता र सहकारितामा आधारित उत्पादन प्रणालीको विकास र विस्तार, स्रोतसाधनको दक्षतापूर्ण विनियोजन, खर्च क्षमतामा उल्लेख्य वृद्धि, उत्पादन तथा रोजगारी वृद्धि, समावेशी विकास र वैकल्पिक वित्त परिचालनमार्फत आगामी पाँच वर्षभित्र (दोहोरो अङ्कको) १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिने उल्लेख छ ।

    प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक पाँच लाख रोजगारी सुनिश्चित गरिने, विदेशमा रहेका जनशक्तिको ज्ञान, सीप, अनुभव र पुँजीलाई रोजगारी–स्वरोजगारी तथा लगानीका लागि अनुकूल वातावरण बनाउन रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई उद्यमी बनाइने प्रतिबद्धतापत्रमा समेटिएको छ ।

    आर्थिक मोडल परिवर्तनमा विशेष जोड

    प्रतिबद्धता पत्रले अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने विषयलाई विशेष जोड दिएको छ । अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने प्रतिबद्धता गरिएको छ । आर्थिक सुधारको नयाँ चरणलाई समाजवादका आधार निर्माणको रूपमा प्रस्तुत गर्दै यसले नेपाललाई आत्मनिर्भर तथा समृद्ध बनाउने दाबी गरिएको छ ।

    परिणाममुखी सार्वजनिक प्रशासन

    विद्यमान प्रक्रियामुखी तथा तदर्थवादी सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, तटस्थ, पारदर्शी, प्रविधिमैत्री, परिणाममुखी तथा भ्रष्टाचारमुक्त बनाउन गरी विकास गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । संविधानको मर्मअनुरूप सङ्घीयता कार्यान्वयन गर्न सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न संसद्को पहिलो अधिवेशनबाट सङ्कल्प प्रस्ताव पेस गरिनेछ । कार्यसम्पादन सम्झौतामा आधारित स्पष्ट तथा पारदर्शी मूल्याङ्कन प्रणाली लागू गरिनेछ ।

    आगामी दशक कृषि लगानी दशक

    आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा दातृ निकायको सहभागितामा लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दुई वर्षभित्रमा धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु, माछामा पूर्ण आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ । आगामी एक वर्षभित्र सबै किसानलाई किसान परिचयपत्र वितवरण गर्ने लक्ष्य प्रतिबद्धतापत्रमा उल्लेख छ । त्यसैगरी एकीकृत कृषि ऐन बनाएर एक वर्षभित्र किसान अधिकार सुनिश्चित गरिने छ ।

    पाँच वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन

    आगामी पाँच वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । सो अवधिमा राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पु¥याइने छ । दीर्घकालीन लक्ष्यअन्तर्गत शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने लक्ष्य लिएको छ ।

    हरित जलवायु कोषको उपयोग

    सन् २०४५ सम्म शून्य कार्वन उत्सर्जन (नेट जिरो इमिसन)को लक्ष्य लिइएको छ । प्रतिबद्धता पत्रमा हरित जलवायु कोष तथा हानीनोक्सानी क्षतिपूर्तिको अधिकतम उपयोग गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी आधुनिक प्रविधिमा आधारित विपद् व्यवस्थापन पूर्व सूचना प्रणालीको विकास गरेर जनताको जिउधनको सुरक्षा गर्ने नीति लिइएको छ । वन क्षेत्रको अवैध अतिक्रमण तथा दोहन रोक्नुको साथै रुख कटान, आगलागी र बाढीपहिरोको कारण खाली हुन गएको क्षेत्रमा नयाँ गुणस्तरीय जातको वृक्षारोपण गरी वन संरक्षण गरिने प्रतिबद्धतामा उल्लेख छ ।

    स्वास्थ्य बिमालाई शत प्रतिशत पुर्‍याइने

    स्वास्थ्य बिमा अनिवार्य तथा प्रगतिशील स्वास्थ्य बिमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाएर स्वास्थ्य बिमाको आबद्धतालाई सबैलाई अनिवार्य गर्ने लक्ष्य लिइएको छ । हाल करिब ३० प्रतिशतमा सीमित रहेको स्वास्थ्य बिमालाई आगामी विसं २०८८ सम्म शत प्रतिशत पुर्‍याइने लक्ष्य राखिएको छ । गरिबीको रेखामुनि रहेका नागरिकमध्ये हाल करिब १० प्रतिशत मात्रै बिमामा समेटिएको अवस्थालाई विसं २०८८ सम्म शत प्रतिशत पुर्‍याइनेछ । गरिब, अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बिमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणाममुखी, तथ्याङ्किक र पारदर्शी बनाइनेछ ।

    प्रतिबद्धता पत्रअनुसार स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, जनमुखी, समावेशी तथा दिगो बनाई स्वस्थ तथा समुन्नत नेपाल निर्माण गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    स्वतन्त्र नेपाल, सन्तुलित कूटनीति

    नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गर्दै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिबद्धता पत्रमा छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिई पारस्परिक सम्मान, विश्वास र लाभमा आधारित सन्तुलित सम्बन्ध विकास गर्ने लक्ष्य राखिएको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने उल्लेख गर्दै प्रतिबद्धता पत्रमा भनिएको छ – संयुक्त राष्ट्रसङ्घ, सार्क, बिमस्टेकलगायत बहुपक्षीय मञ्चहरूमा नेपालको सक्रिय र सशक्त उपस्थिति कायम राखिने छ ।

    असमान सन्धि–सम्झौताको पुनरावलोकन गरी पारस्परिक लाभमा आधारित नयाँ सम्झौताहरू गर्ने र आर्थिक कूटनीतिलाई प्राथमिकता दिई वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन र रोजगारीका अवसर बढाउने नीति प्रतिबद्धता पत्रमा उल्लेख छ ।

    आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सूचना प्रविधिको अधिकतम प्रयोग

    सूचना प्रविधिका लाभहरू समानरूपमा नागरिक तहसम्म पुर्‍याउन राज्यको सक्रिय भूमिका सुनिश्चित गरिने प्रतिबता व्यक्त गरिएको छ ।सुरक्षित, जिम्मेवार र समावेशी प्रयोगबाट डिजिटल डिभाइड हटाई नागरिक सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ । प्रतिबद्धता पत्रमा विज्ञान तथा प्रविधि र नवप्रवर्तनलाई देशको समग्र रूपान्तरणको प्रमुख आधार बनाइने उल्लेख छ । यस क्षेत्रको विकास गरी रोजगारी सिर्जना, प्रतिस्पर्धात्मकता विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।


    त्यस अवसरमा प्रतिबद्धतापत्र मस्यौदा समितिका सदस्य प्रमेश हमालले पार्टीले आत्मसात गरेको दृष्टिकोणका आधारमा प्रतिबद्धतापत्रका विषयवस्तु तय गरिएको बताउनुभयो । नेकपाले प्रतिबद्धता लेखनका लागि नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरेको थियो । प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेत्री रञ्जिता श्रेष्ठ, नेताहरू वामदेव गौतम, अग्निप्रसाद सापकोटा, फम्फा भुसाल, डा वेदुराम भुसाललगायत सहभागी थिए । विभिन्न २६ वटा वाम घटक मिलेर नेकपा गठन भएको हो ।

  • कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

    कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

    सिरहा, २७ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले पूरा गर्ने बताएका छन् । आज सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई सही दिशा दिन कांग्रेसजस्तो जिम्मेवार शक्तिको आवश्यकता रहेको उल्लेख गरे ।

    सम्बोधनका क्रममा उहाँले कांग्रेस केवल राजनीतिक दल मात्र नभइ सङ्कटको सारथी भएको दाबी गरे । “हामी नयाँ सोच र सङ्कल्पका साथ आएका छौँ,” सभापति थापाले भने, “कुनै उत्तेजना, झगडा वा घृणा नफैलाई सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामथ्र्य कांग्रेससँग मात्र छ ।” त्यसकारण आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्नसमेत उनले आह्वान गरे ।


    बिपी कोइरालाको मेलमिलाप नीति र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले खेलेको भूमिका स्मरण गर्दै उनले भने, “२०३३ सालमा बिपीले ज्यानको बाजी लगाएर देश जोगाउन खोज्नु वा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु कांग्रेसको राष्ट्रिय चरित्र थियो । आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ ।”

    उनले कांग्रेसले कहिल्यै प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारे । नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै महामन्त्री थापाले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए । “नागरिक रिसाएका छन् किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्,” उनले भने, “नेताको सफा नियत र ठीक नीति भयो भने नेपालबाट भ्रष्टाचार हट्छ र मुलुक अगाडि बढ्छ । त्यसैले आफ्नो बारेमा नसोची नागरिकहरूले के भन्न खोजिरहेका छन्, भन्ने बुझ्ने प्रयास गरौँ । अनि जनतामा आशा जगाउन सकिन्छ ।”

    उनले जनताको आक्रोशलाई राजनीतिक फाइदाका लागि प्रयोग गर्दै ‘आगोमा घिउ थप्ने’ प्रवृत्तिबाट जोगिनुपर्ने बताए । सबैखाले अतिवादबाट मुक्त भएर नागरिकका समस्या बुझ्न र समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो । यसअघि सभापति थापाले लहानचोकमा रहेको मधेस आन्दोलनका प्रथम सहिद रमेश महतो लगायतको प्रतिमामा माल्यार्पण गरेका थिए ।

    सुशासन र भ्रष्टाचार नियन्त्रणमा अबको प्राथमिकता

    धरान (सुनसरी) नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । आज सुनसरी निर्वाचन क्षेत्र नं २ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उहाँले बद्लिएको कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै सुशासन स्थापनामा आधारसहित अघि बढ्नुपर्ने उल्लेख गरे ।

    सभापति थापाले कांग्रेसप्रति जनताले व्यक्त गरेको विश्वासलाई निर्वाचनमार्फत मतमा रूपान्तरण गर्न कार्यकर्तालाई आग्रहसमेत गरे । उनले नेपाली कांग्रेस परिवर्तनको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै कांग्रेसले विगतमा व्यक्त गरेका प्रतिबद्धता पूरा भए नभएको विषय जनतामाझ स्पष्ट रूपमा राख्नसमेत आग्रह गरे । निर्वाचन आचारसंहिताका कारण विस्तृत धारणा राख्न कठिनाइ रहेको बताउँदै सभापति थापाले पार्टीलाई अझ जिम्मेवार र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।
    राससबाट

  • रामेछाप बस दुर्घटना अपडेटः मृतक १२ पुगे, १० जनाको सनाखत

    रामेछाप बस दुर्घटना अपडेटः मृतक १२ पुगे, १० जनाको सनाखत

    रामेछाप, २७ माघः रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए । मृतक दुई जनको सनाखत हुन बाँकी रहेको उनले बताए ।

    रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार उक्त दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका थिए । घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

  • रामेछापमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा ९ को मृत्यु

    रामेछापमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा ९ को मृत्यु

    २७ माघ, काठमाडौं । काठमाडौंबाट ओखलढुंगा छुटेको यात्रुवाहक बस रामेछापमा दुर्घटनामा परेको छ । रामेछापस्थित तामाकोसी नदिमा बस खस्दा भएको दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार दुर्घटना लगत्तै सुरक्षा निकाय र स्थानीय उद्दारमा जुटेका छन् । ६ जनाको उपचारका क्रममा मृत्यु भएको र तीन जनाको शव फेला परेको प्रहरीले बताएको छ । प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको बस नदिमा खसेको हो । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । पुरै विवरण आउन बाकी छ ।

  • लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    भोजपुर, २७ माघ । जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत (रैथाने) ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।

    सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवमार्फत स्थानीय पहिचानलाई बलियो बनाउने र समुदायभित्र रहेको ज्ञानलाई साझा गर्ने प्रयास गरिएको आयोजकहरूको भनाइ छ ।

    रैथाने ज्ञान महोत्सवका अवसरमा किरात संस्कृतिसँग जोडिएको साकेला शिलीसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । प्रशिक्षणमा स्थानीय युवा तथा सहभागीहरूले परम्परागत नृत्य, गीत र संस्कृतिको अभ्यास गरेका छन् । यसले युवा पुस्तामा आफ्नो मौलिक संस्कृतिप्रति चासो र गर्वको भावना विकास गर्न सहयोग पुगेको बताइएको छ ।

    त्यसैगरी, ‘पर्यटनमा रैथाने स्वाद र स्वामित्व’ विषयमा पर्यटन क्षेत्रमा आबद्ध सचिन डाँगी, दिलकुमार राई र पावीहाङ राईबीच समूहगत बहस कार्यक्रम गरिएको छ । छलफलमा वक्ताहरूले रैथाने खानपान, स्थानीय उत्पादन र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै रोजगारी र आर्थिक अवसर सृजना गर्न सकिने धारणा व्यक्त गर्नुभयो । स्थानीय समुदायको स्वामित्व र सहभागिताबिना पर्यटन दिगो नहुनेमा उनीहरुले जोड दिए ।


    महोत्सवअन्तर्गत ‘शिक्षामा स्वदेशी सपना’ विषयमा गाउँपालिका अध्यक्ष थामबहादुर राई, सूर्य राई र रजत राईले समूहगत बहस गर्नुभएको छ । बहसमा स्थानीय आवश्यकताअनुसारको शिक्षा प्रणाली विकास, सीपमूलक शिक्षा र स्वदेशमै सम्भावना सृजना गर्ने विषयमा गहन विचारविमर्श गरिएको छ । त्यसैगरी, ‘लोक रिझाइको राजनीति’ विषयमा रिझन रानामगर, यजस्वी राई र प्रकाश राईबीच समूहगत बहस गरिएको छ ।

    रैथाने मूल्य, मान्यता र संस्कृतिलाई नीति निर्माण तथा राजनीतिक अभ्याससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल गरिएको कार्यक्रम संयोजक तायाजोङ मिडिया एन्ड प्रोडक्सन प्रालिका प्रमुख राजन राईले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रका विज्ञ, संस्कृतिकर्मी र स्थानीय अगुवाहरूलाई एउटै थलोमा भेला गरी रैथाने ज्ञानका विषयमा गहन छलफल गरिएको हो ।

    गाउँपालिका अध्यक्ष थामबहादुर राईले रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले विगत तीन वर्षदेखि गाउँपालिकाले निरन्तर रूपमा रैथाने ज्ञान महोत्सव आयोजना गर्दै आएको बताए । विशेषगरी गाउँघरमा रहेका मौलिक संस्कृति, परम्परा र सीपलाई जगेर्ना गर्दै तिनलाई दिगो बनाउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

    “रैथाने ज्ञानको संरक्षण गरेर संस्कृति तथा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले हामीले निरन्तर कार्यक्रम गर्दै आएका छौँ”, अध्यक्ष राईले भने, “विभिन्न विषयका विज्ञलाई भेला गरी उहाँहरूको धारणालाई सार्वजनिक गर्दै ज्ञान हस्तान्तरणको माध्यममा जोड्ने प्रयास गरेका छौँ ।”

    उनका अनुसार रैथाने ज्ञान महोत्सवले स्थानीय पहिचानको संरक्षणमात्र नभई सामाजिक एकता, सामुदायिक सहभागिता र स्थानीय विकासमा पनि सकारात्मक योगदान पुर्याएको छ । आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

  • आजको मौसम पूर्वानुमान : देशैभर बादल लाग्ने

    आजको मौसम पूर्वानुमान : देशैभर बादल लाग्ने

    काठमाडौँ, २७ माघ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ ।

    देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरोको सम्भावना रहेको तथा तत्काल वर्षा हुने सम्भावना नरहेकाले तराई भूभाग र उपत्यकामा वायु प्रदूषण पनि रहिरहने भएकाले प्रदूषणबाट सुरक्षित रहन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ ।

  • ‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन

    ‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन

    गण्डकी, २७ माघः हाइकर्स क्लब नेपालले पोखरा र आसपासका गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विगत सात वर्षयता सञ्चालन गर्दै आएको हाइकिङको ६७औँ शृङ्खला फेवाताल किनाराको पदमार्ग ‘राउण्ड फेवा, भ्युफेवा’ मा सरसफाइसहित सम्पन्न गरेको छ । हरेक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङको यो शृङ्खला फेवातालको किनारस्थित रानिवनभित्रको पदमार्ग ‘राउन्ड फेवाः भ्यु फेवा’को सरसफाइसहित सम्पन्न गरिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

    हाइकिङका माध्यमबाट विभिन्न गन्तव्यको प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ आदि कार्य गरिँदै आइएको उनले बताए । उनका अनुसार हाइकिङका क्रममा पदमार्ग क्षेत्रमा रहेको प्लाष्टिकजन्य फोहर चार बोरा सङ्कलन गर्दै त्यसको व्यवस्थापन गरिएको थियो । पोखरामा विभिन्न सेवा पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरू हरेक महिनाको तेस्रो शनिबार हाइकर्स क्लब नेपालले सञ्चालन गर्दै आएको हाइकिङमा सहभागी बन्ने गरेका छन् ।

  • ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का महसुस

    ताप्लेजुङमा मध्यराती भूकम्पको धक्का महसुस

    काठमाडौँ, २७ माघ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपालभारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

  • प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न

    प्रहरीको दुईदिने रणनीतिक सम्मेलन सम्पन्न

    काठमाडौँ, २७ माघ । प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुईदिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ । प्रहरी व्यवस्थापन र परिचालनः विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक सम्मेलन सोमबार सम्पन्न भएको हो ।

    दुईदिने सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय, अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधारः नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरणको विषयमा गहन छलफल भएको थियो ।

    यस्तै, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापनमा प्रथम उद्धारका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवद्र्धनमा प्रहरी भूमिकालगायत विषयमा सहभागी र विषय विज्ञबीच बृहत् रूपमा छलफल एवं अन्तरक्रिया भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उक्त सम्मेलनमा नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीको समग्र मूल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गरिएको थियो ।

    यसैगरी, विद्यमान सङ्गठन सञ्चालनको अवस्था र सुधारका उपाय समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपाय पहिचान गर्नु एवं नेपाल प्रहरीप्रतिको दृष्टिकोण र जनअपेक्षाका सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रमा सुधारका उपाय पहिचान गरिएको थियो । सम्मेलनको समापनसत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा सहभागीको व्यावसायिक एवं व्यावहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गरे ।


    उनले प्रविधिका माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखापरेका नवीनतम चुनौती समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्न नागरिकको रचनात्मक सहयोगको निरन्तर आवश्यकता रहेको बताए । प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझाव आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवं वृत्तिविकासमा मार्गदर्शक हुने बताए ।

    सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरीप्रतिको विश्वासमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । यसैबीच सोमबार प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान र शान्तिसुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम र अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भए पनि सञ्चारमाध्यम लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा नागरिकबीचको सन्देश वाहकका रूपमा स्थापित संस्था भएको बताए । उनले कुनै पनि घटनाक्रमबारे सर्वसाधारणको पहिलो धारणा सञ्चारमाध्यममार्फत निर्माण हुनेहुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्यतथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु जरूरी रहेको बताए ।

    उनले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक भएर डिस इन्फर्मेसन हुने, डिप फेक र एआईको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटो सामग्रीले बढावा पाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।


    प्रहरी महानिरीक्षक कार्कीले सञ्चारमाध्यम र प्रहरीले आपसी सम्मान, निष्पक्षता, व्यावसायिकता, संस्थागत मर्यादा र आचारसंहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले सञ्चारमाध्यमसँग भएको अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्तिसुरक्षा र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे ।

  • अदालतको अवहेलनामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

    अदालतको अवहेलनामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

    काठमाडौँ, २६ माघः उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख गणेशप्रसाद अर्याललाई अदालतको अवहेलनामा एक महिना कैद र रु पाँचहजार जरिवाना हुने आदेश गरेको छ । कामु मुख्य न्यायाधीश टेकनारायण कँवर र न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अर्याललाई जरिवाना गर्न आदेश गरेको हो ।

    “अदालतको आदेशलाई अनदेखा गरी अवहेलना गरेको देखियो, निज कार्यालय प्रमुखले अदालतको आदेशको परिपालना नगरेको यस अदालतमा पर्न आएका यस्तै प्रकृतिका अन्य निवेदनहरूमा समेत यसपूर्व अवहेलनामा कारबाही हुने ठहर्याई फैसला भएको छ”, आदेशमा भनिएको छ, “प्रस्तुत निवेदकको हकमा विपक्षीलाई न्याय प्रशासन ऐन, २०६३ को दफा १७ उपदफा ९४० एक महिना कैद र रु पाँच हजार जरिवाना हुने ठहर्छ ।”

    मालपोत प्रमुखविरूद्ध धनुषा निवासी राम रती देवीले व्यक्तिको जग्गा दर्ताका लागि निवेदन दिएको छ वर्षसम्म कुनै निर्णय नदिएपछि अदालतमा जग्गा दर्ता गराउन परमादेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए । अदालतले रिट निवेदनमाथि सुनुवाइ गर्दै एक महिनाभित्र दर्ता गर्न परमादेश जारी गरेको थियो । करिब डेढ वर्षसम्म पनि अदालतको आदेशको अवज्ञा गरेपछि पीडितहरूले फेरि अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । सोही मुद्दामा मालपोत कार्यालय प्रमुख अर्याललाई कैद तथा जरिवाना हुने ठहर गरिएको हो ।

    यस्तै, अर्को निवेदक भएको मुद्दामा अदालतले उक्त मालपोत कार्यालयका प्रमुखलाई रु ५०० जरिवाना गरेको थियो । कार्यालय प्रमुखले उचित कारणसहित पूर्व आदेश कार्यान्वयन गरेर अदालतलाई चित्तबुझ्दो हुने गरी निवेदन दिएमा सजाय माफी गर्न सकिनेसमेत आदेशमा उल्लेख छ । फौजदारी न्याय प्रणालीमा पटकपटक गल्ती दोहो¥याउँदै गएमा सजाय बढ्दै जाने कानुनी व्यवस्था छ ।

  • मासु खानेक्रममा नुवाकोटमा हड्डी अड्किएर एकको मृत्यु

    मासु खानेक्रममा नुवाकोटमा हड्डी अड्किएर एकको मृत्यु

    त्रिशूली (नुवाकोट), २६ माघः भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा एक महिलाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले ४१ वर्षीया गङ्गामाया तामाङको घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा आज त्रिशूली अस्पचालमा निधन भएको जानकारी दिए ।

    उनका अनुसार ल्होसार पर्व मनाउन आफन्तको घरमा पाहुना गएकी तामाङले शनिबार भोजमा खानासँगै कुखुराको मासुसँग खाने क्रममा घाटीमा हड्डी अड्किएको थियो । घटनालगत्तै उपचारका लागि अस्पताल पु¥याएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामाले बताए । हाल काठमाडौँको स्वयम्भूमा बस्दै आएकी तामाङ ल्होसार पर्व मनाउनको लागि यही शुक्रबार मात्रै तारकेश्वर–५ गोस्र्याङस्थित दिदीको घरमा आएकी थिइन् ।

  • ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

    ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

    काठमाडौँ, २६ माघः नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको हो ।

    आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आयात गर्न फ्रेबुअरी महिनाको निर्धारित कोटामा दुई हजार मेट्रिक टन थप गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । हाल दैनिक औसत ११० बुलेट ग्यास नियमित रूपमा आयात भइरहेको उनले बताए । काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।

  • प्रतिनिधि सभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

    प्रतिनिधि सभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

    काठमाडौँ, २६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।

    हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो ।

    यी जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि भइसकेको उहाँले बताउनुभयो । हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

    गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्पmको मतपत्र छपाइ सुरु भएको हो ।

  • बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

    बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

    काठमाडौँ, २६ माघः राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१–८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

    तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन गरेको यो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो ।सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा २७ शिशुको १ वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रति एक हजार जीवित जन्ममा ३१ रहेको छ । नवजात शिशु मृत्युदर हेर्दा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको एक महिनाअघि नै मृत्यु हुने गरेको देखिएको छ ।

    प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ र सबैभन्दा कम बागमती प्रदेशमा १० रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३८ र बागमती प्रदेशमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४८ र गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको छ ।

    प्रतिवेदनअनुसार ९६ दशमलव ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर पहुँच पुगेको छ । प्रदेशगत रूपमा विद्युत् पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा ९९ दशमलव ५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ८० दशमलव ८ प्रतिशत रहेको छ । टेलिफोन सेवातर्फ हेर्दा ९५ दशमलव पाँच प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोनको पहुँच रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९७ दशमलव एक प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२ दशमलव छ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको देखिन्छ । प्रत्येक पाँचमध्ये चार घरपरिवार अर्थात् ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने गरेको पाइयो ।

    अध्ययन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्यदेखी दशमलव छ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ, भने ७२ दशमलव सात प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल प्रयोग गरेका छन् । सोही उमेर समूहका पुरुषमध्ये ९० दशमलव चार प्रतिशतसँग मोबाइल फोन रहेको र ७८ दशमलव ७ प्रतिशतले हालै मोबाइल प्रयोग गरेको देखिएको छ ।

    सर्वेक्षणअघि एक महिनामा १५ देखि ४९ वर्ष उमेर समूहका पाँच दशमलव एक प्रतिशत महिलाहरु र ४१ दशमलव आठ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । त्यस्तै, १५ वर्षअगाडि नै सात दशमलव छ प्रतिशत पुरुष र दुई दशमलव एक प्रतिशत महिलाले चुरोट वा बिँडी सेवन सुरु गरेको देखिएको छ ।


    कूल प्रजनन दर अनुसार प्रति महिला औसत एक दशमलव नौ जीवित सन्तान जन्मिने गरेको देखिएको छ । १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा प्रति एक हजार किशोरीमा ४८ जीवित जन्म भएको छ भने २० देखि २४ वर्ष उमेर समूहका ११ दशमलव दुई प्रतिशत महिलाले १८ वर्षभन्दा अगाडि नै सन्तान जन्माएको पाइएको छ ।

    हालै विवाहित १५ दशमलव ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् भने ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् । सर्वेक्षणभन्दा दुई वर्षअघिसम्म सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएका छन् । त्यस्तै, ९० दशमलव पाँच प्रतिशतले स्वास्थ्य संस्थामा, ९१ दशमलव चार प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५ दशमलव तीन प्रतिशतले शल्यक्रियामार्फत प्रसूति गराएका छन् ।

    पाँच वर्षमुनिका बालबालिकामध्ये २४ दशमलव तीन प्रतिशत तौल कमी ९लिखुरे० र ३१ दशमलव पाँच प्रतिशत उचाइ कमी ९पुड्को० रहेका छन् । सात दशमलब छ प्रतिशत ख्याउटे र दुई दशमलव छ प्रतिशत बढी तौल भएका बालबालिका देखिएका छन् । लिखुरे बालबालिका सबैभन्दा बढी मधेस प्रदेशमा ९३३।२ प्रतिशत० र सबैभन्दा कम बागमती प्रदेशमा ९९।६ प्रतिशत० रहेका छन् ।

    तीन आमामध्ये दुई आमाले अर्थात् ६९ दशमलव ७ प्रतिशतले छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने गरेको पाइयो । यो दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ७६ दशमलव छ प्रतिशत रहेको छ । त्यस्तै १२ देखि २३ महिनाका बालबालिकामध्य ८० दशमलव सात प्रतिशतले पहिलो वर्षमै सबै खोप पूरा गरेका छन् । सर्वेक्षण भन्दा दुई साता अघि सम्मको अवधिमा सात दस आठ प्रतिशत बालबालिकालाई झाडापखाला लागेको र तीमध्ये २० दस्जमलव छ प्रतिशतलाई जिङ्क र पुनर्जलीय झोल खुवाइएको देखिन्छ ।

    यो अध्ययन अनुसार ३६ देखि ५९ महिनाका बालबालिकामध्य ५७ दशमलव ९ प्रतिशत प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी भएका छन् ।आधारभूत तह (कक्षा १–५) मा ४ दशमलव ५ प्रतिशत, कक्षा ६–८ मा ३दशमलव ६ प्रतिशत र माध्यमिक तह (९–१२) मा १३ दशमलव २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । त्यस्तै पाँच वर्षमुनिका बालबालिकाका ८५ दशमलव चार प्रतिशत जन्मदर्ता भएको छ । यो दर कर्णाली प्रदेशमा सबैभन्दा बढी ९५ दशमलव ८ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ७८ दशमलव ४ प्रतिशत रहेको छ ।

    नेपालको ९८ दशमलव दुई प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरेको भए पनि ६० दशमलव ४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको छ । त्यस्तै ९२ दशमलव चार प्रतिशतले सुधारिएको चर्पी प्रयोग गरेका छन् भने ८६ दशमलव चार प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ ।

    स्वास्थ्य बिमातर्फ हेर्दा १५ देखि ४९ वर्ष उमेर समूहका १७ दशमलव आठ प्रतिशत महिला र १९ दशमलव छ प्रतिशत पुरुष बिमामा आबद्ध छन् ।यो बहुसूचक सर्वेक्षणले सङ्घीय तथा प्रदेश तहका योजना तर्जुमा, नीति निर्माण, दिगो विकास लक्ष्यको अनुगमन तथा बहुआयामिक गरिबी मापनका लागि महत्वपूर्ण तथ्याङ्कीय आधार प्रदान गर्ने विश्वास लिइएको छ ।

    सर्वेक्षणका क्रममा देशभरका ५४० गणना क्षेत्रबाट १२ हजार ९६० परिवार छानिएका थिए । यसमा महिला, पुरुष, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र खानेपानीको गुणस्तरसम्बन्धी विवरण सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

  • नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड

    नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड

    काठमाडौँ, २६ माघः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले राखेको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको बताएका छन् । नेकपा काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताए ।

    “नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गरेका छौँ, यो पार्टीमा हाल साना र ठूला २६ पार्टी जोडिएका छन् भने हजारौँ कार्यकर्ताहरु जोडिएका छन्”, उनले भने । पूर्वप्रधानमन्त्री दाहालले नेकपाले सुरुदेखि नै निर्वाचन भनेको र अहिले सिँगो देश निर्वाचनमा होमिएको बताए । नेकपा दिनदिनै बलियो हुँदै गएको उनको भनाइ छ । उनले नेकपा जनताको भरोसाको केन्द्र हुँदै गएको उल्लेख गरे ।


    पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने काम हुन लागेको बताए । देशैभर नेकपामा जनलहर छाउँदै गएको उनको भनाइ थियो । नेकपाले अगाडि सारेको नीतिको पक्षमा जनतामा आशा र भरोसा थपिंदै गएको दाहालले बताए । नेकपा काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश फरक दिशामा अगाडि बढेको बताए । उनले जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउन नेकपाको जीत आवश्यक रहेको उल्लेख गरे ।


    नेकपा काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमाल शर्माले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेकपा नयाँ चुनाव चिह्नका साथ अगाडि बढेको भन्दै आगामी निर्वाचनमा नेकपालाई जीताउन आग्रह गरे । कार्यक्रममा वरिष्ठ खेलाडी रेनुका श्रेष्ठसहित दर्जनौँ व्यक्ति एमाले छाडेर नेकपा प्रवेश गरेका छन् ।

  • राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

    राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

    काठमाडौँ, २६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे ।

    उनले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको उल्लेख गर्दै एक महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको संयुक्त अधिराज्यले नेपालको विकासमा निरन्तर पुर्‍याउँदै आएकोप्रति धन्यवाद व्यक्त गरे । उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबुत बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा नेपालीको उपस्थितिले दुई देशबीच रहीआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याइ रहेको उल्लेख गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    उनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुङ्गोमा पु¥याउन उचित हुने आफूलाई लागेको बताए । राष्ट्रपति गोर्खा विग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदन उपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए ।

    सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सधैँ अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गर्नुभयो । ब्रिटिश गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईँहरू नेपालका छोरा, छोरी हो भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति मायाँ र सम्मान प्रकट गर्ने गरेको उल्लेख गरे । सो अवसरमा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो ।

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    काठमाडौँ, २६ माघः नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो ।

    भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको सङ्ख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित थियो ।

    छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भूमिकालाई महत्वपूर्ण हुने बताए ।

    उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको पनि जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटल तथा पूर्वाधार क्षेत्रमा विस्तारको सम्भावना भएको बताए । उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उल्लेख गरे ।


    कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा कतार निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

    उक्त भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, पर्यटन प्रवद्र्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कतारी प्रतिनिधि मन्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को बैंठकका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा आइतबार नेपाल आएको हो ।

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    रासस
    काठमाडौँ, २६ माघः यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिरलगायत आसपासका क्षेत्रमा विशेष सरसफाइदेखि अन्य तयारी सञ्चालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी काम अघि बढाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए । उनले भने, “महाशिवरात्रिको तयारीका लागि समिति पूर्ण रूपमा सक्रिय छ । साधु–सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पु¥याउने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायत क्षेत्रमा काम भइरहेको छ ।”

    महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको र सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँगको समन्वयमा तयारीलाई तीव्रता दिइएको प्रवक्ता जोशीले बताए । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिले महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ ।

    महाशिवरात्रि पर्वलाई लक्षित गर्दै अहिले पशुपतिनाथमा साधु–सन्तहरूको आगमन हुने क्रम तीव्र रूपमा सुरु भएको छ । देशका विभिन्न भू–भागका साथै छिमेकी मुलुक भारतबाट साधु–सन्तहरू पशुपतिनाथ क्षेत्रमा आउन थालेका छन् । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा यहाँ साधु–सन्तहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तहरू पशुपति क्षेत्रमा आइपुगी आ–आफ्ना धुनी स्थापना गर्न थालेका छन् ।

    साधु–सन्तहरूले पशुपति क्षेत्रका विभिन्न स्थानमा ध्यान, तपस्या र साधनाका लागि धुनी तयार गरिरहेका छन् । यस वर्ष महाशिवरात्रि पर्व फागुन ३ गते परेको छ । महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि बढ्दै गएको छ । साधु–सन्तहरूको आगमनसँगै भक्तजनको आवागमन पनि बढ्न थालेको कोषले जनाएको छ ।

    महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व भएकाले स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । यस पर्वलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् ।

  • वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

    वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

    वीरगञ्ज (पर्सा), २६ माघ । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा रू एक खर्ब १६ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा रू ३७ अर्ब ८५ करोड सङ्कलन भएको छ । दोस्रो धेरै राजस्व सङ्कलन यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने रू १३ अर्ब ९८ राजस्व सङ्कलन भएको छ ।

    कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए । चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रू छ अर्ब ८३ करोड, कपडा आयातबाट रू पाँच अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट रू चार अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै मदिराजन्य पेयपदार्थको आयातबाट भने रू एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व उठेको छ।

  • निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

    निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

    काठमाडौँ, २६ माघः निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ ।

    डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पु¥याउने लक्ष्यसहित यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ । स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक÷एक स्वयंसेवक परिचालन हुनेछन् । सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रियाअघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता वा मातृशिशु कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने विधि तय गरिएको छ ।

    मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका नियामक निकायसँग पनि सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालसँग आयोगले यसअघि नै सहमति गरिसकेको छ ।

    प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

  • रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने

    रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने

    गुल्मी, २६ माघ : गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो ।

    सडक डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग अन्तर्गत अति संवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग गर्नुपर्ने जनाउँदै माघ २६ गतेदेखि फागुन १५ गतेसम्म उक्त सडक आंशिक रुपमा अवरुद्ध हुने भएको हो । उक्त काममा सहजीकरणका लागि सडक डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई समन्वयका लागि पत्राचार अनुरोध गरको छ ।

    उक्त अवधिमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । त्यसैगरी सवारी आवागमन खुला हुने समय प्रत्येक दिन बिहान ९ देखि १० बजे, दिउँसो २ देखि ३ बजे र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता–तल्लोफाँट–रुपाकोट–दोकुवा–सलाघारी–चोरकाटे तथा साँझदेखि बिहानसम्म मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ ।

    उक्त कार्यमा जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गरिदिनसमेत अनुरोध गरेको छ । प्रशासनले सडक स्तरोन्नति कार्यलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग अपेक्षा गरेको छ ।

  • कोइलाखानी विस्फोट घटना : शव ल्याउन समस्या

    कोइलाखानी विस्फोट घटना : शव ल्याउन समस्या

    खोटाङ, २६ माघ : भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।

    कामदार कोइलाखानीभित्र काम गर्दैगर्दा भएको विष्फोटमा पर्नुभएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता हुनुभएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता हुनुभएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ ।

    मेघालयमासँगै बसेर काम गर्दै आउनुभएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताउनुभएको छ । विष्फोटपछि उद्धार गर्नेक्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेकोसँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।

    विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय जानुभएको आफन्तले जनाएका छन् । विष्फोटमा गम्भीर घाइते हुनुभएका नरबहादुरको उपचारको क्रममा यही माघ२३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । घटना भएकै दिन ज्यान गुमाउनुभएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिनुभएको छ ।

    विस्फोटमा पर्नुभएका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् । उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आउनुभएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताए ।

    विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराएको मृतकका आफन्तले बताएका छन् । विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट नेपालमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ । विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिएका छन् । शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरुआत गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिएका छन् ।

  • अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    मध्यविन्दु (नवलपरासी), २६ माघः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडक खण्डमा ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएको थियो ।

    दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको प्ररही उपरीक्षक खड्काले बताए । गम्भीर घाइते भएका खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो । दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नं को मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते छन् । प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

  • इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

    इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

    दुबई, २६ माघ (रासस–एपी) । इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् । आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राज्य अमेरिकासँग संवाद भइरहेका बेला र देशभित्र विरोध चर्किएको पृष्ठभूमिमा उक्त टिप्पणी आएको हो । तेहरानमा आयोजित शिखर सम्मेलनमा कूटनीतिज्ञहरूसँग बोल्दै विदेशमन्त्री अब्बास अराघचीले इरान युरेनियम संवर्धन गर्न सक्षम हुनैपर्ने अडानमा कायम रहने सङ्केत दिनुभयो । यही विषय १२ दिनसम्म चलेको इरान–इजरायल युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तीव्र विवादको केन्द्रमा रहेको थियो ।

    इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार ओमानमा अमेरिकी पक्षसँग भएको वार्तालाई ‘एक कदम अगाडि’ भएको बताएको भए पनि अराघचीका भनाइले आगामी वार्ता सजिलो नहुने सङ्केत गरेको छ । यसबीच संयुक्त राज्य अमेरिकाले विमान वाहक युएसएस अब्राहम लिङ्कन, युद्धपोत र लडाकू विमानहरू मध्यपूर्वमा तैनाथ गरेको छ, जसलाई ट्रम्प प्रशासनले दबाबको माध्यमका रूपमा लिएको छ । अराघचीले इस्लामिक गणतन्त्रको शक्ति बदमाशी, प्रभुत्व र बाह्य दबाबविरुद्ध उभिन सक्ने क्षमतामा रहेको बताए । उनले ‘आणविक बम’ शब्दलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै इरान कुनै बम बनाउन नलागेको तर शक्तिहरूलाई अस्वीकार गर्न सक्ने क्षमताकै कारण डर पैदा भएको दाबी गरे ।


    इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको बताउँदै आएको छ । तर पश्चिमी देशहरू र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार सन् २००३ सम्म इरानसँग बम विकाससम्बन्धी सङ्गठित सैन्य कार्यक्रम थियो । इरानले ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिरहेको छ, जुन हतियारस्तरभन्दा केही कम हो ।

    राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जालमा वार्तालाई क्षेत्रीय मित्र राष्ट्रहरूको मध्यस्थतामा भएको प्रगति भन्दै शान्तिपूर्ण समाधानका लागि संवाद नै इरानको रणनीति रहेको उल्लेख गरे । तर उनले इरानी राष्ट्रले बलको भाषा स्वीकार नगर्ने स्पष्ट गरे । दोस्रो चरणको वार्ता कहिले र कहाँ हुने भन्ने अझै स्पष्ट छैन । वार्ताकै समयमा अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कुपर ओमानमा उपस्थित हुनु अमेरिकी सैन्य दबाबको सङ्केतका रूपमा हेरिएको छ । अराघचीले विगतका वार्ताका क्रममा पनि अमेरिकी आक्रमण भएको अनुभव स्मरण गर्दै यदि वार्तामा एक कदम पछि हटे स्थिति कहाँ पुग्छ भन्ने अनिश्चित रहेको चेतावनी दिए ।

  • यूएई हाम्रो दोस्रो घर हो–माया गरौं, कानूनको सम्मान गरौं

    यूएई हाम्रो दोस्रो घर हो–माया गरौं, कानूनको सम्मान गरौं

    निश्चल दाहाल
    ‘अतिथि देवो भवः’ नेपाली समाजको गहिरो संस्कार हो । यो उक्ति सम्मानको मात्र होइन, जिम्मेवारी र सीमाको पनि शिक्षा हो । अतिथि भएर आएको मान्छेले घरधनीको नियम, मर्यादा र संवेदनशीलतालाई बुझ्नुपर्छ । अति भयो भने देवता पनि रिसाउँछन् भन्ने उखान आज यूएईमा बसोवास गरिरहेका नेपालीहरुको सन्दर्भमा केवल उखान होइन, गम्भीर आत्मसमीक्षाको चेतावनी बनेको छ ।


    यूएईमा हाल विभिन्न अनुमानअनुसार ८ देखि ९ लाख नेपाली नागरिक कार्यरत छन् । निर्माण, सेवा, होटल, उड्डयन, सुरक्षा, स्वास्थ्य, घरेलु श्रम र व्यापारलगायत प्रायः सबै क्षेत्रमा नेपालीहरुको उपस्थिति छ । यूएईको कुल जनसंख्यामा हाम्रो संख्या सानो भए पनि प्रवासी श्रमिक समुदायभित्र नेपालीहरु उल्लेखनीय छन् । हामी यहाँ नेपालमा अवसर नपाएर मात्र होइन, सुरक्षित वातावरण, व्यवस्थित प्रणाली, समयमै तलब र कानूनको भरोसा भएको देशको खोजीमा आएका हौं ।

    यो यथार्थ स्वीकार गर्नु कमजोरी होइन, आत्मसम्मान हो । तर यहींबाट मूल प्रश्न उठ्छ– अवसर पाउनु मात्र पर्याप्त हो कि त्यस अवसरको मर्यादासँग बाँच्नु पनि उत्तिकै आवश्यक हुन्छ ? यूएई कानूनद्वारा शासित मुलुक हो । यहाँका नियम स्पष्ट छन् र कडाइका साथ कार्यान्वयन हुन्छन् । राजनीतिक गतिविधि, सभा–जुलुस, संगठन, नाराबाजी र दलगत क्रियाकलाप कानुनी रुपमा प्रतिबन्धित छन् ।

    सामाजिक सञ्जाल कडा निगरानीमा हुन्छ । अफवाह फैलाउने, राज्य वा मित्रराष्ट्रविरुद्ध टिप्पणी गर्ने, धार्मिक वा सामुदायिक भावना भड्काउने सामग्री गम्भीर अपराध मानिन्छ । लागू औषधमा यहाँ शून्य सहनशीलताको नीति छ– सानो मात्रामा सेवन, बोकेको वा अनजानमै ल्याइएको अवस्थामा पनि दीर्घकालीन जेल सजाय हुन सक्छ । मादक पदार्थ तोकिएका होटल वा लाइसेन्स प्राप्त स्थानबाहेक सेवन गर्न पाइँदैन । सार्वजनिक स्थानमा झगडा, गालीगलौज, हात हालाहाल वा अश्लिल व्यवहार सबै कानुनी अपराध हुन् ।

    लेखक


    यति स्पष्ट नियम हुँदाहुँदै पनि हामीमध्ये केहीले ‘यहाँ पनि त यस्तै चल्छ’ भन्ने भ्रम पालिरहेका छौं । यूएईमा कानून नमान्नु साहस होइन, आत्मघाती मूर्खता हो भन्ने सत्यलाई अझै गम्भीर रुपमा बुझ्न सकिएको छैन । पछिल्ला वर्षहरुमा यूएईमा पक्राउ परेका वा कारबाहीमा परेका नेपालीहरुको सूची हेर्दा चिन्ताजनक तस्वीर देखिन्छ । हुण्डी र ‘मनी लण्डडिङ’, लागू औषध सेवन तथा ओसारपसार, नक्कली कागजात प्रयोग, अवैध बसोवास, श्रम कानून उल्लङ्घन, घरेलु हिंसा र विवाहबाह्य सम्बन्धबाट उत्पन्न कानुनी जटिलता– यी घटनाहरु अपवाद होइनन् ।

    संलग्न व्यक्ति संख्या सानो भए पनि यसको असर सारा नेपाली समुदायमा पर्छ । सुरक्षा निकायहरुले व्यक्तिको मात्र होइन, समुदायगत व्यवहार पनि मूल्यांकन गर्छन् । केही व्यक्तिको गैरकानुनी गतिविधिका कारण भोलि नेपालीहरुका लागि भिसा प्रक्रिया कडा हुनु, निगरानी बढ्नु र रोजगारदाताको विश्वास घट्नु सम्भावित जोखिम हुन् । यसलाई व्यक्तिगत मामिला भनेर टार्न मिल्दैन, किनकि यसको मूल्य अन्ततः सारा समुदायले तिर्नुपर्ने हुन्छ ।


    विडम्बना के छ भने, विश्वकै सुरक्षित देशहरुमध्ये एकमा बस्दै पनि हाम्रो व्यवहार कहिलेकाहीं असुरक्षित देखिन्छ । अन्तर्राष्ट्रिय सुरक्षा सूचकांकहरुमा यूएई सधैं अग्रपंक्तिमा पर्छ । कम अपराध दर, तीव्र प्रहरी प्रतिक्रिया, कडा कानून र सामाजिक अनुशासनले यहाँ महिलाहरु राति एक्लै हिँड्न सक्ने र परिवार सुरक्षित महसुस गर्ने वातावरण बनाएको छ । यस्तो देशले हामीलाई सुरक्षा मात्र होइन, आत्मसम्मानसहित बाँच्ने अवसर पनि दिएको छ । तर ‘यहाँ त केही हुँदैन’ भन्ने लापरवाह सोच नै यहाँ सबैभन्दा ठूलो जोखिम हो ।


    विदेशमा समुदाय नै शक्ति हुनुपर्ने हो । तर यूएईमा नेपाली–नेपालीबीचको गुटबन्दी, तनाव र वैमनस्यता बढ्दो छ । सामाजिक सञ्जालमा खुलेआम गालीगलौज, चरित्र हत्या, व्यक्तिगत रिसइवीलाई सामुदायिक मुद्दा बनाउने प्रवृत्ति सामान्य बन्दै गएको छ । साना विवाद प्रहरी र अदालतसम्म पुग्नु, रोजगारदातासमक्ष एकअर्कालाई बदनाम गर्नु– यी सबै व्यवहारले हामीलाई कमजोर, असंगठित र अविश्वसनीय देखाउँछन् । विदेशी भूमिमा बसेर पनि हामी एकअर्कालाई सहयोगी होइन, प्रतिस्पर्धी शत्रुजस्तै व्यवहार गरिरहेका छौं ।


    यूएईमा राजनीति कानुनी रुपमा निषेध छ । तर व्यवहारमा नेपालकै राजनीतिक ध्रुवीकरण यहाँ पनि देखिन्छ । दलगत झण्डा, बैठक र सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप भइरहेका छन् । यो यूएईको कानुन मात्र होइन, डायस्पोरा शिष्टाचारको पनि उल्लंघन हो । यहाँ राजनीति गर्नु व्यक्तिगत मात्र होइन, सामुदायिक जोखिम हो भन्ने बुझाइ अझै कमजोर छ ।


    दूतावास र कन्सुलेट पूर्ण छैनन्, आलोचना आवश्यक छ । तर प्रमाणबिनाको आरोप, अपमानजनक भाषा र सामाजिक सञ्जालमार्फत नियोगलाई अन्तर्राष्ट्रिय रुपमा बदनाम गर्ने प्रवृत्तिले सुधारभन्दा बढी क्षति पु¥याउँछ । विदेशी भूमिमा नेपाली नियोग कमजोर देखिनु भनेको नेपाली नागरिक कमजोर देखिनु हो ।
    हुण्डी, तस्करी र मानव बेचबिखन यूएईमा अत्यन्त गम्भीर अपराध हुन् । कानुनी सजायभन्दा पनि गम्भीर प्रश्न नैतिक हो– हामी कस्तो डायस्पोरा निर्माण गरिरहेका छौं ?


    डायस्पोरा आत्मबोध बिना टिक्दैन । यूएई हाम्रो दोस्रो घर हो । घरलाई माया गर्नु भनेको त्यहाँका नियमको सम्मान गर्नु हो । स्वतन्त्रता मनपरी होइन, जिम्मेवारी हो । अवसर केवल कमाइ होइन, संस्कारको परीक्षा पनि हो ।
    अति नगरौं– यही हाम्रो सुरक्षा, सम्मान र भविष्य हो ।