Category: समाचार

  • आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

    आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड


    काठमाडौँ, १८ माघः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

    कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो । निजी क्षेत्रले राज्यमा पु¥याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले चिन्ता व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई राज्यले प्रोत्साहन । संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।

  • मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

    मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र


    चितवन, १८ माघः पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौताअनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो ।

    मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको थियो । तेस्रो चरणको म्याद गत पुस १५ मा सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार डिजाइनको तथ्याङ्क गलत पर्दा सडकको नक्साङ्कन फरक परेकाले समयमा काम गर्न नपाएका कारण निर्माण कम्पनीलाई १८३ दिन म्याद थप गरिएको छ । निर्माण कम्पनीले सडकको काम गर्ने ठाउँ खाली हुन ढिलाइ भएको, रुख, खम्बा सार्न समयमा नसकिएको, निर्माण सामग्री सहज पाउन नसकिएको, सवारीको उच्च चापलगायत कारण निर्माण तोकिएको समयमा हुन नसकेको जनाउँदै आएको छ ।

    दरैले अहिलेका लागि नक्साङ्कनका विषयलाई सम्बोधन गर्दै समय थप गरिएको भए पनि अन्य विषय छलफलमा नै रहेको बताउनुभयो । उक्त खण्डमा हालसम्म ३७ दशमलव ५ प्रतिशत मात्र काम भएको छ । दरैका अनुसार नौ किलोमिटरभन्दा केही बढी कालोपत्र गरिसकिएको छ । धादिङको चरौदी क्षेत्रमा कालोपत्र भइरहेको छ । फिस्लिङलगायत क्षेत्रमा कालोपत्रको तयारी गरिएको छ । नाली, बेरियर, पुललगायत सडकका विभिन्न क्षेत्रका काम भइरहेका छन् । उहाँका अनुसार दैनिक १५० हाराहारी मजदुरले काम गरिरहेका छन् । आयोजनाका तर्फबाट आवश्यक सहजीकरण गरेर थप भएको समयमा सक्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनिएको उहाँको भनाइ छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा दुई दशमलव दुई किमी छ लेनको बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्दछ । सात दशमलव दुई किमी सडक चार लेन हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताउनुभयो । उहाँका अनुसार ‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ ।

    शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

  • नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

    नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो


    काठमाडौँ, १७ माघः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

    ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेकोे छ ।

  • वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

    वीरगञ्ज (पर्सा), १७ माघः चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ । चालु आवको छ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताउनुभयो ।

    गत आवको छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका १२४ विद्युत्बाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधनको आयातबाट रू २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ ।

    ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने रू एक अर्ब १७ करोड मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए । गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।

  • ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै काठमाडौं महानगर

    ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै काठमाडौं महानगर

    काठमाडौँ, १७ माघः काठमाडौँ महानगरपालिका (कामपा) ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि आइतबारदेखि थालिने भएको छ । त्यसका लागि घरदैलोमा पुग्ने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन पनि प्रदान गरिएको छ ।

    आर्थिक अवस्था कमजोर भएका र परिवारमा सदस्य साथमा नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । यसैगरी शारीरिक अशक्तता भएका, दीर्घरोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षण गरिन लागेको कामपाले जनाएको छ ।

    कार्यवाहक प्रमुख सुनिता डङ्गोलले धेरैका सन्तान विदेशमा रहेकाले पनि ज्येष्ठ नागरिकहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेली मेडिसिन प्रणाली बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौँ, कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकले हाम्रा लागि पनि कोही रहेछन् र पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।” सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिएको छ, भने यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण पनि प्रदान गरिएको छ । कार्यक्रमबारे कामपाका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले यो सेवामा औषधि व्यवस्थापन तथा पोषण परामर्श दिनुका साथै मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो । यसैगरी व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइनुका साथै सङ्कलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुने उहाँले बताउनुभयो ।

  • जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी

    जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी

    जुम्ला, १७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकामध्ये ८७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । सबै प्रक्रियाबाट सफल भई छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए ।

    निर्वाचनका लागि जिल्लामा जम्मा मतदाता ७१ हजार ७३९ रहेका छन् । कूल मतदातामध्ये महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको उनले  बताए। जिल्लामा अतिसंवेदनशील मतदानस्थलबारे सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गर्ने काम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्र र नौ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही प्रतिस्पर्धामा छन्  । यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट विर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेकपा (माओवादी)बाट विर्खबहादुर शाही चुनावी मैदानमा छन, भने भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

  • द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    द्रुतमार्ग पुग्दा यस्तो देखियो निर्माण प्रगति

    नारायण न्यौपाने–रासस
    लेनडाँडा (मकवानपुर), १६ माघ । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई–मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक’ निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ । आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।

    सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य सम्ममा थप दुई जोडी सुरुङ बे्रक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त दू्रतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।

    द्रूतमार्गअन्र्तगत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुनेछन् । हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोेजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । कार्यदलका अनुसार बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्टक्चर सम्पन्न भएको छ । विशिष्ट प्रकृतिका त्यस्ता पुलहरु एकैसाथ धमाधम निर्माण भइरहेकाले निर्धारित मितिमै आयोजना सम्पन्न हुने सुनिश्चित भएको सेनाले जनाएको छ ।

    चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । ती सबै पुलको कुल लम्बाइमात्रै पनि १२.८८५ किमीभन्दा बढी हुनेछ । आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । दू्रतमार्गको निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भएको तथा इन्टरचेन्जको कार्य भइरहेको जनाइएको छ । त्यस्ता इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहनेछ । आयोजनाका लागि आवश्यक पर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा बाहेक अन्य क्षेत्रको जग्गा अधिग्रहण यसअघि नै भइसकेका छन् । राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयाण्डर्ड’को रणनीतिक महत्वको यो देशकै पहिलो दू्रतमार्ग हो ।

    फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ । दू्रतमार्गको निर्माणपछि राजधानीसँगको यात्रालाई छोटो र ढुवानीलाई सहज बनाउँदै मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । उक्त आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौँबाट मध्यतराई पुग्न सकिने छ । द्रूतमार्ग निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकेहीलाई पनि उत्साह प्रदान गर्ने गरेको छ । मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउने एउटा रूपन्तरणकारी आयोजनाका रूप्मा द्रूतमार्गलाई हेरिएको छ ।

    यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार यस आयोजनाको स्थलगत निरीक्षण गरी स्थानीयको भावनाअनुरूप् धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुर्याउने गरी आयोजनालाई तीव्र रूप्मा अघि बढाउन निर्देशन दिएकी थिइन् । सुरुआती चरणमा दू्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृतमा ढिलाइका कारण कार्य प्रारम्भ प्रभावित भएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७४ वैशाख २१ गते उक्त आयोजना नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको थियो । आयोजनाको डिपिआर भने २०७६ भदौ १ गतेमात्र स्वीकृत भएको थियो । अन्तरराष्ट्रियस्तरको दू्रतमार्ग निर्माणपछि सडक निर्माणका क्षेत्रमा प्राप्त अनुभवले देशमा सडक सञ्जाल विस्तारमा राज्यको क्षमतासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

  • हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

    मुस्ताङ, १६ माघ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो ।

    यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको नियमित कामकाज पनि ठप्प भएको छ ।

    चीनतर्फ मालवस्तु पैठारी गर्न गएका एक दर्जन कन्टेनर लोमान्थाङ–२ छोसेरस्थित मुस्ताङ भन्सार कार्यालयमा थन्किएका छन् । कतिपय कन्टेनरको भन्सार जाँचपास भएको र कतिपय कन्टेनरको भन्सार घोषणा हुने क्रममा रहेकाहरू कागबेनी–कोरला सडक पूर्ण रूपमा बन्द रहेकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको नायबसुब्बा देवकोटाको भनाइ छ ।

    हिमपातअघि कोरलानाकास्थित चिनियाँ भन्सारमा मालवस्तु पैठारी गर्न गएका केही कन्टेनर उतै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले भारी हिमपातका कारण कागबेनी–कोरला सडक पूर्ण रूपमा अवरुद्ध रहेको बताउनुभयो । कोरला सडकको करिब ९० किलोमिटर दूरीमा दुई फिट हिउँ जमेर बसेकाले अवरुद्ध सडक सञ्चालन गराउन केही दिन लाग्ने उनको अनुमान छ ।

    कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले हिमपातबाट अवरुद्ध सडकलाई जतिसक्दो छिटो सञ्चालन ल्याउन आयोजना प्रतिबद्ध रहेको र आजदेखि वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट सडकको हिउँ पन्छाउन आवश्यक उपकरण परिचालित गरिने जानकारी दिए । छोसेर स्थित सशस्त्र प्रहरी बल नेपाल (बिओपी)का इन्चार्ज प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार भारी हिमपातका कारण कोरलानाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारी पनि घर फर्किएको छन् ।

    हिमपातपछि चिसो अत्यधिक बढेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । माथिल्लो मुस्ताङमा माइनस २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ डिग्रीम्म तापक्रम छ । चिसो अत्यधिक बढेका कारण पशुचौपाया र पशु गोठालालाई पनि समस्या परेको छ ।

  • निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

    निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

    काठमाडौँ, १६ माघ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

    त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

    आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ ।

    अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।रासस

  • आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

    आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

    काठमाडौँ, १६ माघ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

    राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।

    प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

    विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

  • उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    उद्यमसहितको वन व्यवस्थापनले आगलागी शून्य

    हेटौँडा (मकवानपुर), १६ माघः मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ । सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन् । झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम उनको नियमित कर्म बनेको छ।

    पात–पत्करका लागि डिपाट सामुदायिक वनमा १५ सय फिटका तीनवटा खाल्डा बनेका छन्भने प्रत्येक खाल्डामा १५ सय ट्रयाक्टर मल उत्पादन हुने गरेको छ । यही उत्पादनमा विमला व्यस्त थिइन् । उनी भन्छिन्, “खाल्डामा मलमात्र होइन, हाम्रो जीवन नै संगालेको महसुस हुन्छ, साना नानी लिएर घरमा आगो बल्ला भनेर रातभर नसुत्ने हामीलाई यही खाल्डाले आनन्दको निद्रा दिएको छ ।” उनलाई करिब १० वर्ष अगाडिसम्म हिउँदमा वन नजिकैको घर डढेलोले जलाउँला भन्ने डर थियो । विस्तारै वनमा काम, खेती र मल उत्पादनको विकल्प ल्याइयो र डढेलो पूर्ण रूप्मा नियन्त्रण भएपछि निद्रा लागेको उनको भनाइ छ ।

    अर्धसहरी जीवनशैली भएका र राजमार्ग छेउमा घर भएका विमलाको समुदाय नै यतिबेला सामुदायिक वनभित्र भेटिन्छ । दुईतीनवटा गाईवस्तु पाल्दा अरु काम गर्न नपाइने र त्यसैमा गुजारा नहुने कारण खेती गर्न नै मलले समस्या पारेकामा अहिले भने वनबाट मल र दैनिक ज्यालादारीका रूप्मा आम्दानी दुवै पाइरहेको विमला बताउँछिन् ।

    उनी भन्छिन्, “पहिला मलका लागि अनिवार्य रूप्मा पशु पाल्नुपर्ने बाध्यता थियो, गोठ बनाउने, घाँसदाउरा जोहो गर्ने र पशु स्याहारमै धेरै समय खर्च हुन्थ्यो”, “अहिले सामुदायिक वनबाटै कम्पोष्ट मल पाइने भएपछि धेरै सहज भएको छ ।” वनमा झरेका पात–पत्कर, झाडी सफाइबाट निस्किएको जैविक पदार्थ कम्पोष्टमा परिणत भएपछि खेतका लागि पर्याप्त मल उपलब्ध हुन्छ । यसले माटोको उर्वराशक्ति बढाएको छ, बाली उत्पादन राम्रो भएको छ र रासायनिक मल किन्ने खर्च पनि घटेको छ ।

    झाडी सफाइ केवल स्वच्छताका लागि मात्र होइन, आम्दानीको स्रोत पनि बनेको छ । वन उपभोक्ता समूहले सफाइबाट सङ्कलित सामग्रीलाई व्यवस्थित रूप्मा मल उत्पादनमा प्रयोग गर्छ । सो मल बिक्री हुँदा समूहलाई आम्दानी हुन्छ, जसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउँछन् । विमलाका अनुसार यस आम्दानीले छोराछोरीको पढाइ, घर खर्च र दैनिक आवश्यकतामा सहयोग पुगेको छ । छोराछोरी पाल्न अब पहिलेजस्तो गाह्रो छैन, उनी भन्छिन् ।


    झाडी सफाइ र पत्कर सङ्कलनले वनभित्र सुक्खा पदार्थ थुप्रिन दिँदैन । यसको व्यवस्थापनले आगलागीको जोखिम घटाएको छ । पहिले हिउँद सुरु हुनासाथ डढेलोको डरले राति निद्रा लाग्दैनथ्यो । अहिले भने वन सफा, चिस्यानयुक्त र निगरानीमा भएकाले समुदाय ढुक्क छ । विमलामात्र होइन, यस क्षेत्रका सबै सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको दैनिकी र उपलब्धि उस्तै छ ।

    डिपाट सामुदायिक वनसँगै सीमा जोडिएको सुनाचुरी सामुदायिक वन उपभोक्ता सरिता ब्लोन बिहानै कागतीका बिरुवा स्याहार गर्न वन पुग्छिन् । उनी भन्छिन्, “पहिले वन संरक्षण भनेको पहरा दिनुमात्र होजस्तो लाग्थ्यो, अहिले वनमै खेती गर्न पाउँदा आम्दानी पनि भयो । वन हाम्रो आफ्नै खेतबारीजस्तो लाग्न थालेको छ ।”

    सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन आज आत्मविश्वासका साथ वनमा काम गरिरहनुभएको देखिन्छ । तर उहाँका लागि १० वर्षअघिको हिउँद अझै पनि डरलाग्दो स्मृतिका रूप्मा रहेको छ । वनको छेउमै घर भएकी उनी भन्छिन्, “राति निद्रा लाग्दैनथ्यो, डढेलोले घर भेट्ला कि भन्ने डर हुन्थ्यो ।” छिमेकीको गोठमा आगलागी भएको घटनापछि धेरै रात अनिँदो बसेको सम्झना अझै ताजा छ । तर अहिले अवस्था फेरिएको छ । वनमा झरेका पात–पत्कर सङ्कलन गरी कम्पोष्ट मल उत्पादन सुरु भएपछि आगलागीको जोखिम न्यून भएको छ । “अब ढुक्क छु”, उनी भन्छिन्, “अहिले वनको निजी सम्पत्तिजत्तिकै माया लाग्छ, माया लागेपछि आगो लाग्न नदिने प्रयास आफैँ हुन्छ ।”

    डिपाट सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर मोक्तान उज्यालो हुनेबित्तिकै वनमा जान्छन् । उनको नेतृत्वमा उक्त सामुदायिक वनमा कम्पोष्ट मल र तेजपत्ताखेती भइरहेको छ । दिनमा खेती र रातमा पहरेदारीको काम गर्नु आफूहरुको दैनिकी भएको उनी बताउँछन् । ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोग र वन समूहको आन्तरिक कोषको करिब रु ३५ लाख लगानीबाट उक्त मल उत्पादनको काम सुरु गरिएको अध्यक्ष मोक्तानको भनाइ छ ।

    उनी भन्छन्, “पत्कर जलाउने परम्परा हटेपछि वन सफा भएको छ, आगो सल्किने सम्भावना घटेको छ र किसानका लागि जैविक मलको स्थायी स्रोत बनेको छ ।” उनका अनुसार करिब १० वर्षदेखि आगलागी नभए पनि पछिल्ला सात वर्षयता पूर्ण रूप्मा आगलागी शून्य रहेको छ ।

    डिपाट सामुदायिक वन आज दिगो वन व्यवस्थापन र स्थानीय समृद्धिको उदाहरण बनेको अध्यक्ष मोक्तानको दाबी छ । उनका अनुसार कुनै समय वनभित्र थुप्रिने पात–पत्कर डढेलोको मुख्य कारण थिए । हरेक सुक्खा मौसमसँगै आगलागीको त्रास थियो । तर उपभोक्ता समूहले ती पत्कर सङ्कलन गरी कम्पोष्ट मल बनाउने निर्णय गरेपछि वन व्यवस्थापनको सोच नै फेरियो । कम्पोष्ट मल उत्पादन र बिक्रीबाट आएको आम्दानी वन संरक्षण, सरसफाइ, आगलागी नियन्त्रण पूर्वतयारी र उपभोक्ता सचेतनामा पुनः लगानी भइरहेको छ । यसले समुदायमा वनप्रतिको अपनत्व र जिम्मेवारी भावना बलियो बनाएको उनको भनाइ छ ।

    वन जोगाउन सक्रिय उपभोक्ता

    मनहरी गाउँपालिका–७ मा अवस्थित डिपाट सामुदायिक वनसँग सिमाना जोडिएको पशुपति सामुदायिक वन क्षेत्रमा पछिल्ला वर्षहरुमा एक उदाहरणीय अभ्यास सुरु भएको छ । विद्युत् प्रसारण लाइन विस्तारका क्रममा ठूला रुख हटाइएपछि हाइटेन्सन लाइनमुनि खाली जमिन बाँकी थियो । पुनः रुख रोप्न नमिल्ने ती स्थान लामो समयसम्म प्रयोगविहीन रहे, जसका कारण झाडी बढ्ने र हिउँदयाममा आगलागीको जोखिम उच्च बन्दै गएको थियो ।

    तर अहिले ती बेवास्तामा परेका क्षेत्र महिलाका लागि आम्दानी र वन संरक्षण दुवैको आधार बनेका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन लाइनमुनि जडीबुटी, अदुवा र बेसारखेती सुरु गरेपछि वन व्यवस्थापनको स्वरूप् नै फेरिएको छ । खाली जमिन उत्पादनशील बन्दा झाडी बढ्न पाएन, सुक्खा पदार्थ थुप्रिन छाड्यो र आगलागीको सम्भावना उल्लेखनीय रूमा घट्यो ।

    लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियारका अनुसार खेती सुरु भएपछि वनमा बेवास्ता हुने ठाउँ नै बाँकी रहेन । “पहिले यहाँ झाडीमात्र हुन्थ्यो, हिउँद लागेपछि आगो लाग्ला कि भन्ने डर हुन्थ्यो”, उनी भन्छन्, “अहिले खेत बनेपछि सफाइ पनि हुन्छ, निगरानी पनि बढेको छ भने आगलागीको जोखिम घटेको छ ।”

    दलित समुदायकी चम्पामायाका लागि यो अभ्यास आर्थिक आम्दानीभन्दा पनि सामाजिक परिवर्तनको कथा बनेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएपछि उनले लेखपढ गर्न सिकेकी छन्, बैठकमा आफ्ना कुरा राख्न थालेकी छिन् र समूहको नेतृत्वसमेत गरेकी छन्, “पहिले दलित भनेर हेयको नजरले हेरिन्थ्यो, अहिले काम र क्षमताका आधारमा चिनिन थालेकी छु”, उनको अनुभव छ ।

    समूहले खेतीसँगै वन संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । नियमित झाडी सफाइ, सुक्खा घाँस र पत्कर हटाउने, आगलागी हुनसक्ने स्थानमा सतर्कता अपनाउने र समुदायस्तरमा निगरानी गर्ने काम भइरहेको छ । यसले वन क्षेत्रमा डढेलो हुन नदिनेमात्र होइन, माटो मलिलो बनाउन पनि सहयोग पुगेको समूहको दाबी छ । जडीबुटीखेतीबाट बाँकी रहने जैविक पदार्थ कम्पोष्ट मलमा प्रयोग हुँदा माटोको उर्वराशक्ति बढेको छ ।

    वन उपभोक्ता समूहका अनुसार महिलाको सक्रिय सहभागिताले वन संरक्षण थप प्रभावकारी बनेको छ । आम्दानीसँग जोडिएपछि वन जोगाउने जिम्मेवारी पनि साझा बनेको छ । पछिल्ला वर्षमा पशुपति सामुदायिक वन क्षेत्रमा कुनै ठूला आगलागीका घटना नभएको समूहले जनाएको छ । पशुपति सामुदायिक वनको यो अभ्यासले देखाएको छ– सिर्जनात्मक सोच, महिलाको नेतृत्व र सामुदायिक सहभागिता भए वन संरक्षण र जीविकोपार्जनसँगसँगै अघि बढ्न सक्छ । बेवास्तामा परेका जमिन उत्पादनशील बनेका छन्, आगलागीको जोखिम घटेको छ र समुदायमा सामाजिक रूपन्तरणको नयाँ बाटो खुलेको छ ।

    वातावरणीय फाइदा : कार्बनदेखि जैविक विविधतासम्म

    डिभिजन वन कार्यालय मनहरीका वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार सुक्खा पत्कर, हुरीबतास र मानवीय लापरवाहीका कारण हरेक वर्ष हजारौँ हेक्टर वन क्षेत्रमा आगलागी हुने गरे पनि मनहरी गाउँपालिकाका सुनाचुरी, डिपाट, पशुपति र मनकामना सामुदायिक वनमा विगत १० वर्षदेखि आगलागी नभएको र पछिल्ला सात वर्षयता पूर्ण रूप्मा शून्यमा झरेको छ । “आगोको जोखिम उच्च मानिने क्षेत्रमा आगलागी शून्य हुनु संयोग होइन”, उनी भन्छन्, “यो सचेत योजना, सामुदायिक सहभागिता र वनलाई आम्दानीसँग जोड्ने दूरदृष्टिको परिणाम हो ।”

    डढेलो नलाग्दा कार्बनडाइअक्साइड, मिथेन र सुक्ष्म कणजस्ता हरितगृह ग्यासको उत्सर्जन घटेको छ, जसले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुर्याएको छ । जैविक मल प्रयोग बढेकाले माटोको गुणस्तर, चिस्यानधारण क्षमता र कार्बन सञ्चिति बढेको छ । मनहरी क्षेत्रमा निर्माण गरिएका रिचार्ज पोखरीले भूजल पुनःभरण, मुहान संरक्षण, वन्यजन्तुका लागि पानीको उपलब्धता र जल सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

    विजयसाल, सतिसाल, दार, चिउरी र नीमजस्ता स्थानीय प्रजातिको रोपाइँ तथा लोपोन्मुख सालक (प्याङ्गोलिन) संरक्षणका प्रयासले जैविक विविधता संरक्षणलाई थप मजबुत बनाएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईका अनुसार वनलाई आम्दानीसँग जोडेर आगलागीजस्तो प्रमुख विनाशकारी कारक शून्यमा झारिनु सामुदायिक वनभित्रको सुशासन र दिगो विकासको स्पष्ट उदाहरण हो ।

  • अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

    रासस
    मुस्ताङ, १५ माघः भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर परिचालन गरी भर्खरै सडक खुलाउने पहल भएको छ ।

    वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्ने काम सुरु गरिएको छ । यसका लागि आयोजनाको डोजर कागबेनी–मुक्तिनाथ सडकको बाक्लो हिउँ पन्छाउन त्यसतर्फ पुगिसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    कागबेनी–मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्रअधिकार भित्र रहे पनि कोरला सडक आयोजनाले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीको समस्यालाई मध्यनजर गरी आयोजनाले सडकको हिउँ पन्छाउन डोजर पठाइसकेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    मङ्गलबारको भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छाउन डोजर परिचालन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । स्थानीय प्रशासन र गाउँपालिकाको समन्वयमा सडकको डोजरले कागबेनीको पहिलो मोडदेखि सडकको हिउँ पन्छाउन सुरु गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म सडकमा बाक्लो हिउँ जमेकाले साँझसम्ममा सडकको हिउँ पन्छाएर यातायात सहज पारिने वडाध्यक्ष गुरुङले बताए । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छाउने कार्य भर्खरै सुरु भएको उनको भनाइ छ ।

    यसअघि भारी हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ सफा गर्न यहाँस्थित सशस्त्र प्रहरी बल नेपालको टोली बुधबार बिहान खटिएको भए पनि हिमपात नरोकिएका कारण हिउँ पन्छाउन कार्यलाई स्थगित गरेको थियो । आज जिल्लास्थित सुरक्षाकर्मीहरुको जनशक्तिले अवरुद्ध सडकको हिउँ पन्छाउन निकै समय लाग्ने भएकाले सडक विभागको डोजर परिचालन गरिएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।


    भारी हिमपातका कारण मुक्तिनाथ सडक अवरुद्ध हुँदा सयौँ दर्शनार्थी भक्तजन बुधबार बिहानदेखि कागबेनीमा अलपत्र परेका थिए । हिउँ पन्छाएर सडक खुल्ने आशामा बसेका मुक्तिनाथ जाने दर्शनार्थी बुधबारदेखि कागबेनीमै रोकिएका छन् । कतिपय दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन् । हिमपातका कारण कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध मुक्तिनाथ मन्दिरसमेत सुनसान बनेको छ । दर्शनार्थी उपस्थित हुन नसकेपछि मुक्तिनाथ मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित हुन पुगेको छ ।

  • राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

    राष्ट्रपति पौडेल जापान भ्रमणमा जाँदै

    काठमाडौँ, १५ माघः सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही माघ १८ देखि २१ गतेसम्म जापानमा हुने कार्यक्रममा सहभागी हुनेछ । बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए । मन्त्रिपरिषद्ले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

  • जेन जी आन्दोलनमा हिरासतबाट भागेर ग्याङ निर्माण, राजधानीमा मध्यरातमा लुटपाट आतंक

    जेन जी आन्दोलनमा हिरासतबाट भागेर ग्याङ निर्माण, राजधानीमा मध्यरातमा लुटपाट आतंक

    काठमाडौँ, १५ माघः पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो । उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय ग¥र्यो ।

    त्यसक्रममा प्रहरीले विभिन्न शङ्कास्पद क्षेत्रमा ‘चेक प्वाइन्ट’ राखेर निगरानी बढायो । काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतङ्क मच्चाइरहेको सो समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद गरिएको सामग्रीसहित सार्वजनिक गरेको छ ।

    प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट बा १२ च ७७०१ नंको कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी तथा ६ थान मोटरसाइकल बरामद गरेको छ ।

    उनीहरुलाई पक्राउ गर्न प्रहरीले बुधबार साँझ ६ देखि आज बिहान ३ बजेसम्म ‘अप्रेशन’ चलाएको थियो । सिसीटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । जाँचका क्रममा प्रहरीमाथिनै जाइलाग्न खोजेपछि गोली प्रहार गरेर सो समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । जेनजी आन्दोलनपछि सो समूह सक्रिय भएको अनुसन्धानले देखाएको छ ।

    तामाङको समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यरातका समयमा महिला तथा पुरुषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनीहरुले मध्यराति १२ देखि बिहान ४ बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेका थिए ।

    लुटपाटका लागि उनीहरु तीन\तीन जनाको समूह बनाएर मोटरसाइकमा हिँड्ने गर्थे । विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति १२ देखि बिहान ४ बजेसम्म लुटपाट मच्चाउने गरेका थिए । लुटपाट सकिएपछि उनीहरु पुनःट्याक्सी र निजी कारमा चढेर नियमित दैनिकीमा फर्कने गरेका थिए ।

    सो समूहका नाइके विनय जेनजी आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट भागेपछि उनले आफ्नो नेतृत्वमा सो समूहलाई सक्रिय पारेका थिए । उक्त समूह स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध, गौशालामा तीन\तीन र भक्तपुरको ठिमीमा १३ लुटपाटको घटना घटाएको प्रहरीले जनाएको छ । गएराति सो समूह मुलपानी क्षेत्रमा लुटपाटका लागि निस्केको थियो । मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको ‘चेकप्वाइन्ट’ नरोकी प्रहरीमाथि नै जाइलाग्ने गर्नेगरी अघि बढेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

    प्रहरीको गोली लागेको लुटेरा समूहका सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समूहका कमाण्डर रहेका आयन लुटपाटका क्रममा मोटरसाइकल चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । विनय यसअघि २०७९ चोरी र २०८२ मा डाँका चोरीमा संलग्न रहेको थिए ।

    आयनविरुद्ध भने २०७९ पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि अपराधिक रहेको बताए । पेमा र सलोन भने दाजुभाइ रहेको उनले जानकारी दिए । प्रहरीबाट जोगिन सो समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने गरी प्रयोग गर्ने गरेको थियो ।

  • दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा

    दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगो नियन्त्रणमा

    काठमाडौँ, १५ माघः काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिएका िथए । आगलागीको कारण भने खुलेको छैन ।

  • सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय

    सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३ सय

    काठमाडौँ, १५ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो ।

    यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

    दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

    सियोल, १५ माघ (रासस–एएफपी) । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ ।

    त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आएकी हुन् । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा छन् ।


    अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिएकी थिइन् । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन ।

    कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित भएका थिए । अभियोजकहरूले उनी आफूलाई कानूनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उनका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।

    किमले भने अन्तिम बयानमा आरोपहरू अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गरेकी थिइन् । तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी मागेकी थिइन् । “मलाई सुम्पिएको जिम्मेवारीबारे सोच्दा धेरै गल्ती गरेको स्पष्ट हुन्छ”, उनले भनिन् । किममाथिका घोटालाहरूले पूर्वराष्ट्रपति युनको राजनीतिक एजेन्डालाई बारम्बार छायाँमा पारेका थिए ।

    सन् २०२३ मा सार्वजनिक भएको एक भिडियोमा उहाँले महँगो लक्जरी ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि ‘डायर ब्याग काण्ड’ ले देशव्यापी आलोचना जन्माएको थियो । यसले सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा पनि भूमिका खेलेको विश्लेषकहरू बताउँछन् । यस प्रकरणसँगै धार्मिक समूह युनिफिकेशन चर्चका नेता र केही शीर्ष नेताहरूमाथि पनि अनुसन्धान र सजायको प्रक्रिया अघि बढेको छ । अदालतका निर्णयहरूले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको राजनीतिक सङ्कटलाई अझ गहिरो बनाएको देखिएको छ ।

  • किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

    किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

    सियोल, १५ माघ (रासस–एपी) । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण कोरिया र जापानले यसलाई पहिले ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा वर्णन गरेका थिए ।

    राज्य सञ्चार माध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम आफ्नी किशोरी छोरीसँगै विशाल लन्च ट्रकको छेउमा हिँडिरहेको देखिन्छ । दक्षिण कोरियाको गुप्तचर सेवाले सन् २०२४ को सुरुतिर किम जु ए नामकी छोरीलाई उहाँको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालिएको जनाएको थियो ।केसिएनएले किम जोङ उनलाई उद्धृत गर्दै परीक्षण प्रक्षेपण देशको ‘रणनीतिक प्रतिरोध’ क्षमताको प्रभावकारिता बढाउन गरिएको बताएको छ । यस शब्दावली उत्तर कोरियाले आफ्ना आणविक हतियार क्षमताका लागि प्रयोग गर्दै आएको छ । समाचार अनुसार लन्चर प्रणालीको गतिशीलता र प्रहारको शुद्धता दुवैमा सुधार गरिएको छ ।

    विज्ञहरूका अनुसार उत्तर कोरियाका ठूला आकारका रकेट लन्चर प्रणालीहरूले परम्परागत आर्टिलरी र ब्यालेस्टिक मिसाइलबीचको सीमा झन् अस्पष्ट बनाएका छन्, किनकि ती प्रणालीहरूले आफ्नै थ्रस्ट उत्पादन गर्न सक्छन् र उडानक्रममै मार्गनिर्देशन गर्न सक्षम छन् । उत्तर कोरियाले यस्ता केही प्रणालीहरू आणविक हतियार बोक्न सक्ने दाबी पनि गरेको छ ।

    किमले देशको सैन्य शक्ति निरन्तर मजबुत बनाउनु मजदुर पार्टीको अपरिवर्तनीय दायित्व रहेको बताउनुभयो उहाँले पाँच वर्षपछि पहिलो पटक हुन लागेको आगामी पार्टी सम्मेलन ‘देशको आणविक युद्ध प्रतिरोधलाई अझ सुदृढ पार्ने अर्को चरणका योजनाहरू’ घोषणा गर्ने महत्त्वपूर्ण मञ्च हुने स्पष्ट पारे ।

    फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको उक्त सम्मेलन उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक तथा प्रचारात्मक कार्यक्रम मानिन्छ, जहाँ नयाँ राजनीतिक र आर्थिक प्राथमिकताहरू निर्धारण गरिन्छ । डिसेम्बरयता उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, लामो दूरीको रणनीतिक क्रूज मिसाइल र नयाँ एन्टी–एयर मिसाइलको परीक्षण गरिसकेको छ । विश्लेषकहरूका अनुसार यी गतिविधिहरू सम्मेलनअघि हतियार विकासका उपलब्धि प्रदर्शन वा समीक्षा गर्ने उद्देश्यले गरिएको हुनसक्छ ।

    केसिएनएले आगामी चरणको आणविक विकास योजना कस्तो हुनेछ भन्नेबारे विस्तृत विवरण दिएको छैन । तर विदेशी विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्ना प्रतिद्वन्द्वीहरूको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न एउटै क्षेप्यास्त्रमा धेरैवटा वारहेड राख्ने क्षमतामा निपुणता हासिल गर्न खोजिरहेको छ । साथै, अमेरिकी मुख्य भूमिलाई लक्षित लामो दूरीका मिसाइलका वारहेडहरूलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा उत्पन्न हुने उच्च ताप र दबाबबाट जोगाउने प्रविधि उसले पूर्ण रूपमा विकास गरिसकेको छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

    सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक कूटनीति विफल भएपछि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपि सीमित आणविक निःशस्त्रीकरणका सर्तमा आर्थिक र राजनीतिक प्रोत्साहन प्रस्ताव गरिएमा किम पुनः वार्तामा फर्कन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

  • इराकका प्रधानमन्त्रीका उम्मेदवार मलिकीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा

    इराकका प्रधानमन्त्रीका उम्मेदवार मलिकीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको हस्तक्षेपको निन्दा

    बगदाद, १५ माघ (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले नूरी अल–मलिकीले प्रधानमन्त्री पद सम्हालेमा देशलाई सबै सहयोग अन्त्य गर्ने चेतावनी दिएपछि इराकका मुख्य प्रधानमन्त्री पदका उम्मेदवार मलिकीले बुधबार वाशिङ्गटनको ‘हस्तक्षेप’ को निन्दा गरेका छन् ।

    “हामी इराकको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ,” मलिकीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी यसलाई इराकको ‘लोकतान्त्रिक प्रणाली’ को उल्लङ्घन मान्छौँ । यो प्रणालीसन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछि लागु भएको थियो ।

    राष्ट्रपति ट्रम्पले मङ्गलबार मलिकीलाई शीर्ष पदका लागि चयन गरिएमा इराकले ‘धेरै खराब छनौट’ गर्ने बताएका थिए । उनले भने, “मलिकीको ‘मनपरी नीति र विचारधाराको कारण यदि उनी निर्वाचित भए संयुक्त राज्य अमेरिकाले इराकलाई सहयोग गर्नेछैन ।” ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’ ले मलिकीलाई इराकको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अनुमोदन गरेको छ ।

    यो इरानसँग फरक सम्बन्ध भएका शिया समूहहरूको गठबन्धन हो जुन हालैका वर्षहरूमा इराकको मुख्य सत्ताधारी गठबन्धन पनि हो। आफ्नो पोस्टमा मलिकीले अमेरिकी हस्तक्षेपको निन्दा गरेका छन् । उनले भने, “हस्तक्षेपले ‘इराकी कोअर्डिनेशन फ्रेमवर्क’को आफ्नो उम्मेदवार मनोनयन गर्ने निर्णयको उल्लङ्घन गर्दछ ।

    उनले भने, “त्यो निर्णय अनुरूप उहाँ ‘अन्तसम्म काम जारी राख्नुहुनेछ, यसले इराकी जनताको उच्च हित प्राप्त गर्दछ।” इराकमा दुई पटक ९सन् २००६–सन् २०१४० सम्म प्रधानमन्त्री रहेका मलिकीले इरानसँगको सम्बन्ध प्रगाढ बनाउने र साम्प्रदायिक मुद्दालाई अघि बढाएको आरोप लागेपछि अमेरिकासँग मतभेद भएका थिए । चतुर राजनीतिज्ञ रहेका ७५ वर्षीय मलिकी इराकको राजनीतिमा एक केन्द्रीय व्यक्ति र इराकी शक्तिको एक हस्ती बनेका उनको अनुमोदन कुनै पनि शासकीय गठबन्धनको लागि अपरिहार्य मानिन्छ।

  • कमला नदीमा बनाइयो अस्थायी ‘डाइभर्सन’

    कमला नदीमा बनाइयो अस्थायी ‘डाइभर्सन’

    सिरहा, १५ माघः हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ ।

    हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, “हाल सबै प्रकारका सवारीसाधनहरूको सहज आवत–जावत सुरु भइसकेको छ । यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।”

    गत मङ्सिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए । त्यस क्रममा उनले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै तत्काल अस्थायी रूपमा आवत–जावतको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका थिए । घिसिङको निर्देशनलगत्तै निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो ।

    यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए ।

    चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा
    विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ र मर्मतको काममा खटिएका निर्माण कम्पनीले जनाएको छ ।

    पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्सट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले यहाँ काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, “हामी बाँकी संरचनात्मक कामहरू द्रुत गतिमा गरिरहेका छौँ, असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।”

    विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पु¥याएपछि समस्या भएको हो । पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन् । स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो ।

    उनले भने, “लामो समयसम्म काम हुनसकेन, तर नागरिक सरकारको पहलपछि काम सम्पन्न हुने चरणमा पुगेको छ । डाइभर्सनले तत्काललाई सजिलो बनाए पनि अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ । त्यसमा सबै गम्भीर बन्नुपर्छ ।” हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ ।

  • उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

    उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

    काठमाडौँ, १५ माघः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

  • चितवनमा मोटरसाइकल नहरमा खस्यो, एक जनाको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्यो, एक जनाको मृत्यु

    चितवन, १५ माघः भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

  • बाहिरियो वर्षा गराउने प्रणाली

    बाहिरियो वर्षा गराउने प्रणाली

    काठमाडौँ, १४ माघ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।


    उक्त प्रणालीले आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन । उक्त प्रणलीले काठमाडौँमा २.२, ललितपुर ४.८ र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।

    रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ति जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो ।

    आज राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना छ । बिहीबार तराई भू–भागका धेरै स्थानमा हुस्सु÷कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको हुनसक्ने जनाइएको छ ।

  • महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

    महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

    नयाँदिल्ली, १५ माघ (रासस–एएनआई) । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देशभर शोकको लहर फैलिएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उहाँसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।

    शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति गहिरो समवेदना प्रकट गरे । उनले बारामती क्षेत्रको विकासमा अजित पवारको ठूलो योगदान रहेको स्मरण गर्दै उनी साहसी र प्रतिबद्ध नेता भएको उल्लेख गरे । शिवसेना (युबिटी) कै सांसद प्रियङ्का चतुर्वेदीले पनि यस समाचारलाई स्तब्ध र हृदयविदारक बताउँदै मतभेद भए पनि सँगै काम गरेको अनुभव स्मरण गरे ।

    उनले पवार परिवारका सबै सदस्य तथा बारामतीका जनताप्रति सहानुभूति व्यक्त गरे । बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।


    प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ । विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उहाँको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा थिए ।

    उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए । पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार छन् ।

  • हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

    हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

    मुस्ताङ, १४ माघ : मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ ।

    माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बस्ती र उच्चलेंकमा भारी हिमपात भएको हो । एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले लोमान्थाङमा बस्तीमै दुई फिट हिउँ परेको बताए । “भारी हिमपातका कारण यहाँको जनजीवन निकै कष्ठकर छ, बस्तीभित्र बाक्लो हिउँ जमेकाले बाहिर निस्कन सक्ने अवस्था छैन”, कर्मचारी नेपालीले भने । “घरका धाराहरू सबै जमेका छन्, हिउँकै पानी तताएर खानेकुरा पकाएर खानुपर्ने अवस्था छ, पशु गोठाला र स्थानीय नागरिकलाई निकै ठूलो समस्या देखिएको छ ।”

    भारी हिमपातका कारण स्थानीय नागरिकको घर माथिको छतमाथि बाक्लो हिउँ थुप्रिएकाले यहाँका परम्परागत घर चुहिने भत्किने जोखिम बढेको सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । कोरलास्थित सीमा सुरक्षाका लोमान्थाङ–२ न्हेचुङ छोसेरमा बसेका बिओपी सशस्त्र प्रहरीको सुरक्षाकर्मीको टोलीले स्थानीयवासीका केही घरमाथि थुप्रिएको हिउँ पन्छ्याइको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

    यसैगरी मङ्गलबार राति परेको भारी हिमपातका कारण जोमसोम–कोरला सडक र कागबेनी–मुक्तिनाथ सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातका कारण सडक अवरुद्ध भएसँगै दर्जनौँ सवारीसाधन मुस्ताङको कागबेनीमै राकिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।


    यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी हिमपातका कारण यात्रा जोखिम हुने भएकाले उच्च सर्तकता अपनाउन यात्रुलाई अनुरोध गरेको छ । कोरला सडक, मुक्तिनाथ सडक अवरुद्ध भएको र मुस्ताङ–डोल्पा सडक, मनाङ मुस्ताङ पदमार्ग, मनाङ–मुस्ताङ सरिबुङ पदमार्ग, मुस्ताङ–मनाङ मेसोकोन्दो पदमार्ग, धौलागिरि पदमार्ग अन्तर्गत धम्पुस पिक पदमार्ग लगायतका स्थानमा तत्काल यात्रा नगर्न नगराउन हुन पदयात्रीलाई अनुरोध गरिएको छ ।

  • भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन :अध्यक्ष ओली

    भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन :अध्यक्ष ओली

    काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् । उनले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले यस्तो आदेश कहिल्यै नदिएको र दिन नसक्ने बताए ।


    उक्त घटनाबारे सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै अध्यक्ष ओलीले घटनापछि तत्कालै पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको बताए । घटनामा ज्यान गुमाएका १९ जना नानीबाबुहरूप्रति अध्यक्ष ओलीले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले उक्त घटना आफ्ना लागि पनि गहिरो पीडाको विषय बनेको बताएका छन् ।
    सरकारले प्रारम्भमा घुसपैठको सम्भावना देखेर माइतीघरमा प्रदर्शन रोक्ने निर्णय गरे पनि शान्तिपूर्ण सभाका लागि युवाले अनुमति मागेपछि प्रशासनले सहजै अनुमति दिएको अध्यक्ष ओलीको भनाइ छ । माइतीघरमा बिहान सुरु भएको जेनजी युवाको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण रहेको र त्यहाँ न गोली चलेको न लाठीचार्ज भएको उनले स्पष्ट पारे ।
    करिब मध्याह्नतिर केही घुसपैठकारी समूहले प्रदर्शनकारी युवालाई घेरेर निषेधित क्षेत्रतर्फ लैजान थालेको अध्यक्ष ओलीको दाबी छ । आयोजकले पटकपटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा बालबालिका तथा विद्यालय पोशाकमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लगेको उनको भनाइ छ ।

    अध्यक्ष ओलीका अनुसार संसद् भवनअघि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि अवस्था ‘आन्दोलन’को नभई ‘राज्यविरुद्धको आक्रमण’को तहमा पुगेको हो । संसद् भवनभित्र सुरक्षा निकायमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार बल प्रयोग गर्नुपरेको उनले बताए । अध्यक्ष ओलीले लेखेका छन्, “यदि सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए के हुन्थ्यो ? संसद् भवन जलेको भए देशले कस्तो क्षति भोग्नुपथ्र्यो ?” विस्फोटक सामग्रीसहित आएका समूहहरूको उद्देश्य अराजकता फैलाउने रहेको कुरा पछिल्ला घटनाले पुष्टि गरेको अध्यक्ष ओलीको भनाइ छ ।

    भदौ २४ गते भएको विध्वंशतर्फ सङ्केत गर्दै उनले आफ्नो राजीनामापछि नै सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतजस्ता राष्ट्रिय धरोहरमा आगजनी भएको स्मरण गराए । प्रधानमन्त्रीले विश्वका सबै देशमा प्रमुख संवैधानिक अङ्गहरूको सुरक्षा कानुनअनुसार हतियारसहित गरिने उल्लेख गर्दै सुरक्षाकर्मीले सरकारको होइन, कानुनको सपथ लिने बताए । त्यस दिन पनि गोली सरकारको आदेशमा नचलेको उनको स्पष्टीकरण छ । अध्यक्ष ओलीले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक प्रचारमा नलाग्न नागरिकलाई आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी पुर्‍यायो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए ।

  • नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु

    नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवाको मृत्यु

    काठमाडौँ, १४ माघः काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

    रास्वपा सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

    काठमाडौँ, १४ माघः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी हिजोदेखि अस्पताल भर्ना भई उपचाररत छन् । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको जानकारी दिए । उनको नशाबाट आइभी एन्टिबायोटिकमार्फत उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढेर सेलुलाइटिस भएपछि अस्पतालमा भर्ना हुनुभएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले बताए ।

    उनका अनुसार चिकित्सकको सल्लाहअनुसार सङ्क्रमण जोखिमयुक्त हुनसक्ने भएकाले केही दिन अस्पतालमै निगरानीसहित उपचार भइरहेको छ । “चोट आफैँमा गम्भीर नभए पनि सङ्क्रमण फैलिनसक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र सभापति पुनःनियमित राजनीतिक तथा साङ्गठनिक गतिविधिमा फर्किनु हुनेछ”, सहप्रवक्ता रावलले भने ।

  • पूर्वमाओवादी धारलाई एकतामा आउन प्रचण्डको आह्वान

    पूर्वमाओवादी धारलाई एकतामा आउन प्रचण्डको आह्वान

    काठमाडौँ, १४ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका पूर्वमाओवादी धारका सबैलाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित नेकपा र नेकपा माओवादी (एकता पक्षधर)बीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षा गरेर राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गरे ।


    “मुलुकलाई समृद्ध बनाउन र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पनि एक पटक फेरि एकताद्वारा सामथ्र्यवान् बन्नुपर्ने आवश्यकता छ”, संयोजक दाहालले भने, “विभाजित अवस्थामा रहेका पूर्वमाओवादीको घर र आउनुपर्ने ठाउँ ‘यहीँ’ हो ।” मुलुक अप्ठयारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले निर्वाचनबाट परिवर्तनकारी शक्तिलाई विजयी बनाउनुपर्ने बताए । कार्यक्रममा नेकपा (माओवादी)को एकता पक्षधर समूहका संयोजक चिरञ्जीवी ढकालको नेतृत्वमा सो पार्टीका केन्द्रीय सदस्यसहित नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन् ।

  • राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

    काठमाडौँ, १४ माघः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

    सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।