Category: समाचार

  • म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

    म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात

    म्याग्दी, १४ माघ : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनको बताए ।

    समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तुु, भेडाबाख्रालाई गोठमै राखेर सुुख्खा घाँस खुुवाएर राखेका छन् । पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताउनुभयो । घोडेपानी र पुुनहिल घुुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।

    यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए । सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताए । गहुुँ, जौ, केराउ, सुुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ ।

  • एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    काठमाडौँ, १४ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ ।

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • बङ्गलादेशका अल्पसङ्ख्यकमाथि बढ्दो आक्रमण, विश्वभर चिन्ता

    बङ्गलादेशका अल्पसङ्ख्यकमाथि बढ्दो आक्रमण, विश्वभर चिन्ता

    हेग, १४ माघ (रासस–एएनआई) । बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूमाथि भइरहेको बढ्दो हिंसा र आक्रमणलाई लक्षित गर्दै हालै सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । सम्मेलनमा विशेषज्ञहरूले धार्मिक स्वतन्त्रता र मानवअधिकारको संरक्षणमा तत्काल कदम चाल्नुपर्ने जोड दिएका छन् ।

    प्रतिवेदनअनुसार, विगत केही वर्षमा बङ्गलादेशमा मस्जिद, मन्दिर र चर्चमाथि पनि हमला भएका छन्, जसले समुदायबीचको सम्बन्धमा तनाव बढाएको छ । सम्मेलनमा सहभागीहरूद्वारा सरकारसँग सशक्त कानूनी सुरक्षा र भीड हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गरिएको थियो ।


    विशेषज्ञहरूले चेतावनी दिँदै धार्मिक अल्पसङ्ख्यकमाथि निरन्तर हिंसा हुने हो भने सामाजिक स्थिरता र राष्ट्रिय एकतामा नकारात्मक असर पर्न सक्ने भनेका छन् । सम्मेलनले अन्तर्राष्ट्रिय समुदायलाई पनि सहयोगका लागि आह्वान गरेको छ ।

  • अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

    अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

    न्युयोर्क,१४ माघ (रासस–एएफपी) । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ ।

    अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ । दक्षिणी राज्यहरूमा पनि असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् ।

    उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ । आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य दुर्घटनाका कारण ज्यान गएको जनाइएको छ ।

    मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ । मङ्गलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन् । टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन् । देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द तथा प्रभावित भएका छन् ।

  • उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा

    उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा

    काठमाडौँ, १४ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

  • कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने

    कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने

    काठमाडौँ, १३ माघः नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताए ।


    उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,” चालिसेले भने, “हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको छ ।”

    स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ । “कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,” प्रवक्ता चालिसेले भने, “घोषणापत्रमार्फत हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गरिने छ ।”

    उनका अनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ । पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ । प्रवक्ता चालिसेले पार्टीले चुनाव प्रचारप्रसारलाई मितव्यी र मर्यादित बनाउने बताए । उनले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रूपमा पालना गरिने बताए ।

    “गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ, प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । कुनै पनि प्रतिपक्षी उम्मेदवारको व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने हाम्रो नीति रहेको छ” प्रवक्ता चालिसेले भने ।

  • घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

    घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

    काठमाडौँ, १३ माघः राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य अभिव्यक्ति बन्द गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सृजना गर्नसक्ने हुँदा शान्ति सुरक्षालाई थप मजबुत बनाउन आयोग नेपाल सरकारलाई आग्रह गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ, “कसैले पनि नेपालको संविधान, कानुन र मानवअधिकारका अन्तरराष्ट्रिय मूल्यमान्यताविपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवं मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवं सर्वसाधारणलाई आग्रह गर्दछ ।”

    आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरू दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

    “यस प्रकारका घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्तिसुरक्षामा समेत असर पर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, नेपालको संविधान र मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय कानुनहरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन ।” आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएको छ।

  • सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

    सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

    १३ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सबै सम्भव परियोजना अघि बढाउन निर्देशन दिएका छन्। लगानी बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना लगायतका प्रस्ताव प्राप्त भएका छन्।

    बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँग समन्वयमा समस्या समाधानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
    १३ माघ, काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्ड उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सम्भव सबै परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।

    अर्थ मन्त्रालयमा भएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसार अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजना अघि बढाउन निर्देशन दिएका हुन् । बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्ताव र नीति तयारी विषयमा जानकारी गराएका थिए । ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रिन हाइड्रोजन, पोडवे लगायत प्रस्ताव प्राप्त भएका छन् ।

    त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ परियोजना स्वीकृत भएको जानकारी गराए । बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुआब्जा, स्थानीय तहसँगको समन्वय लगायत विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक सहजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

  • नेप्से परिसूचकमा भारी गिरावट

    नेप्से परिसूचकमा भारी गिरावट

    काठमाडौँ, १३ माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो । जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । आज विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक एक, वित्त दुई दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ९०, जलविद्युत् एक दशमलव ४१, लगानी एक दशमलव ७०, जीवन बीमा एक दशमलव ८५, र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूह एक दशमलव ७४, व्यापार शून्य दशमलव ५१ र अन्य समूह एक दशमलव ९७ प्रतिशतले घटेको छ ।

    सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ५६ प्रतिशतले बढेको छ । साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू १७ लाख ८० हजार ८८८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

  • दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    काठमाडौँ, १३ माघः प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छिन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् ।


    प्रधानमन्त्री कार्कीले भनिन्, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।” प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।


    उनले भनिन्, “प्राकृतिक विपद्को बेला खुला ठाउँको आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्ने वित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्नुपर्छ ।”

    यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री, विभिन्न मन्त्रालयका सचिवलगायत थिए । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । कुल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिव ४५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

    द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।

    यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुने छ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।

  • एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

    एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

    काठमाडौँ, १३ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

    मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ को मृत्यु

    सालामान्का (मेक्सिको), १३ माघ (रासस–एएफपी) । मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

    गुआनाजुआटो राज्यको एक लाख ६० हजार जनसङ्ख्याको सानो सहर सालामान्कामा खेल सकिएलगत्तै सशस्त्र व्यक्तिहरू सामुदायिक फुटबल मैदानमा प्रवेश गरे । घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको पछि अस्पतालमा निधन भयो । घाइतेमध्ये एक महिला र एक बालकसमेत छन् ।

    मेयर सेजर प्रिटोले सङ्गठित अपराध समूहहरूलाई हिंसाको दोष दिँदै राष्ट्रिय सरकारसँग आफ्नो समुदायमा ‘शान्ति, सुरक्षा र स्थिरता पुनःस्थापना’ गर्न आग्रह गरे । उनले भने, “हामी एउटा गम्भीर सामाजिक विघटनको सामना गर्दैछौँ । अपराधी समूहहरूले स्थानीय अधिकारीहरूलाई वशमा पार्ने प्रयास गरिरहेका छन् ।” सालामान्कामा यसअघि शनिबार राति मानव अवशेष भएका चार झोला फेला परेका थिए भने नजिकैका दुई समुदायमा सोही दिन छ जनाको मृत्यु भएको थियो । गत हप्तामा सरकारी तेल कम्पनी पेमेक्सको सालामान्कास्थित रिफाइनरीमा बमको धम्की पनि दिइएको थियो ।

    गुआनाजुआटो औद्योगिक र पर्यटनको केन्द्र भए पनि आधिकारिक तथ्याङ्कअनुसार यो राज्य मेक्सिकोमा सबैभन्दा हिंसक मानिन्छ । हिंसाको अधिकांश भाग तेल चोरी र ड्रग कार्टेल—सान्ता रोजा डे लिमा गिरोह र जलिस्को न्यु जेनेरेसन—बीचको द्वन्द्वसँग जोडिएको छ । बन्दुकधारीहरूको खोजी भइरहेको छ ।
    मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा हत्या दर एक दशकको सबैभन्दा तल्लो तहमा झरेको बताउनुभए पनि विज्ञहरूले तथ्याङ्कको पूर्ण विश्वसनीयता स्वीकार गरेका छैनन् ।

    सन् २००६ मा कार्टेलहरूमाथि कारबाही सुरु भएदेखि मेक्सिकोमा चार लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ । एक लाख २० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्, धेरैलाई जबरजस्ती भर्ती वा अपहरण गरिएको मानिन्छ । अपराधले ग्रस्त राष्ट्रमा सामूहिक चिहान र दफन नगरिएका शवहरू नियमित रूपमा फेला पर्छन् ।

  • सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

    सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

    म्याग्दी, १३ माघ । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ ।
    जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका लागि पक्की संरचना निर्माणको काम थालेको हो । कार्यालयका इन्जिनियर नरजङ गुरुङले हिउँद लागेर नदीमा पानीको सतह घटेपछि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालित भएको बताए । म्याग्दी नदीलाई ‘डाइभर्सन’ गराएर जोखिमयुक्त ठाउँमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि जग खन्न थालिएको उनले बताए ।


    एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्यावियन पर्खाल निर्माण गरिने भएको छ । रु तीन करोड ६८ लाख ८६ हजार चार सय ८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी÷जेमी जेभीसँग रु दुई करोड ७१ लाख आठ सय ४४ मा २०८२ वैशाख १० गते ठेक्का सम्झौता भएको छ । विसं २०८३ असार २० गतेसम्मको ठेक्का अवधि रहेको योजना निर्धारित समयभित्रै सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए ।


    विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीयस्थल पनि हो ।

    गत आव २०८१÷८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका थिए ।

    गत वर्ष सङ्घीय सरकारको बजेटबाट यसपालिको योजनाभन्दा माथिल्लो क्षेत्रमा (सरस्वती माविको पछाडि) ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । प्रदेश सरकारको बजेटबाट उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट पनि सोही क्षेत्रमा नदी नियन्त्रणका लागि थप संरचना निर्माण अघि बढेको छ ।

  • गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

    काठमाडौँ, १३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    त्यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

    साथै कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना छ ।

  • देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    काठमाडौँ, १३ माघः देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् ।

    यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ ।

    सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानिनोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ ।

    जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिमबारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ ।

    प्रविधिको प्रयोग एवं मानवसंशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्वचेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकाबीच समन्वय, सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ ।

    यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।

  • ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

    ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

    गलकोट (बागलुङ), १३ माघः बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी तीव्र गतिमा निर्माण भइरहेको हो ।

    यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो ।

    ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । रु २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरणअन्तर्गत रु ७० लाखको र चालु आवमा दोस्रो चरणअन्तर्गत रु दुई करोड ५० लाखको काम भइरहेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुईतला पक्की भवन बनाउने काम भइरहेको छ ।

    डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष रु दुई करोड ५० लाखको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

    पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ–९ का वडाध्यक्ष थापाले जानकारी दिए ।

    “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स–साना पूर्वाधार पछि बन्दछन्”, उनले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।”

    ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको गियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यानकेन्द्र, दृश्य अवलोकनस्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।

    दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपाकिलाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामिनसक्नु धार्मिक पर्यटक भित्रने उनले बताए ।


    “नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउनेगरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो–कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छे«, नीलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।”

    समुन्द्री सतहबाट करिब दुई हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १३ माघः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३० पैसा र बिक्रीदर २३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

    चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौँ, १३ माघः नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

    आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ ।

    प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

  • परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

    परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

    काठमाडौँ, १२ माघः बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो ।

    एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई सङ्घको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।

    भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले सङ्घको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिवेशन सम्पन्न गर्न लागेको जानकारी गराए । परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र सङ्घले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । यस सम्बन्धमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र सङ्घले सहकार्य गर्न सकिने बताइएको छ ।भेटमा कोषाध्यक्ष सुजन थापा, सङ्घका सिइओ राजेन्द्रकुमार राउतको पनि उपस्थिति रहेको थियो ।

  • आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

    आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग

    काठमाडौँ, १२ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठवटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिइन् ।

    आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरे पनि हालसम्म जवाफ प्राप्त नभएको उनले बताइन् ।


    काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण मागिएको हो । सो दफाअनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।

    यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको हो । सो दफामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ । सो दफाको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने भन्ने व्यवस्था छ । यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको हो ।

    दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो । हालसम्म स्पष्टीकरण माग गरिएका आठ जनामध्ये खरेलले मात्र स्पष्टीकरण पेस गरेको आयोगका सहायक प्रवक्ता श्रीसले जानकारी दिए । खरेलले गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत गराइएको आयोगले जनाएको छ ।

    आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो । परिषद्ले हालसम्म आयोगलाई स्पष्टीकरण पेस गरेको छैन । सरकार मातहतकै परिषद्लेसमेत आयोगलाई समयभित्र स्पष्टीकरण पेस नगरेको हो ।

    नेपाली कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ । बस्नेतले पनि हालसम्म स्पष्टीकरण बुझाएका छैनन् ।


    कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । उनले पनि आयोगलाई स्पष्टीकरण बुझाएका छैनन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । यसको जवाफ पनि प्राप्त नभएको आयोगले जनाएको छ ।

  • विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

    विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

    काठमाडौँ, १२ माघः सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो ।

    बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

  • पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

    पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

    महेन्द्रनगर (धनुषा), १२ माघः पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गरेका छन् । मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरे । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भए । उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

    पूर्वराजा शाहले जानकी मन्दिरदेखि करिब ५०० मिटरको दूरीमा रहेको राम मन्दिरको समेत दर्शन गरेका थिए । उनले राजदेवी मन्दिरको पनि दर्शन गरे । त्यसैगरी आजै साँझ गङ्गासागरमा आयोजना गरिएको गङ्गा आरतीमासमेत सहभागी भए ।

  • म मधेस बुझ्न आएको हुँः सभापति थापा

    म मधेस बुझ्न आएको हुँः सभापति थापा

    बरहथवा (सर्लाही), १२ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन् । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए । सिमरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

    नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उनले भने, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।”

    काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसद्मा धेरै पटक उठाएको उल्लेख गर्दै उनले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उनले स्पष्ट पारे ।

  • लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

    लुम्बिनीका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

    देवदह (रुपन्देही), १२ माघः रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताए । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उनको भनाइ छ ।

    यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उनले बताए । आफूहरुले गरेको यो कार्यले नेपालभरी सन्देश पुग्ने गिरीले बताए । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको उनले जानकारी दिए । बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ ।

    यसक्रममा सरसफाईसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताउनुभयो । बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताए । “नेपाल प्रवेश गरेपछि त्यो कुरा पर्यटकलाई भान होस्, भन्ने हाम्रो प्रमुख उद्देश्य हो ”उनले भने, “सरकारले मात्र गरेर हुँदैन । सङ्घ–संस्थाले पनि काम गर्नुपर्छ । देशप्रति नागरिकको पनि दायित्व छ । यो देशलाई चिनाउन हामी सबै लाग्नुपर्छ ।” नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया नाका हो ।

  • ‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

    ‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ

    वालिङ (स्याङ्जा), १२ माघः पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्नेक्रम बढ्दै गएपछि पुराना र लोप हुनलागेका वस्तुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।

    “पुरानो पुस्ता गोल घरकाबारेमा जानकार हुनुहुन्छ, कतिपय बस्नुभएकै पनि होला” उनले भने, “समयको विकास र आधुनिकतासँगै पछिल्ला पुस्ताले यसप्रकारका घर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला संस्कृति तथा परम्पराकाबारेमा जानकारी दिनका लागि गोल घर निर्माण गरेका हौँ ।”

    बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणकोरुपमा रहने भएको हो । खरले छाएका घर हराउँदै गएका बेला एकदमै पुरानो गाउँले परिवेशलाई झल्काउने उद्देश्यसहित गोल घर निर्माण गरिएको उनले बताए । गाउँ गाउँमा पुरानो गोल घर हराएर गएकाले महोत्सवस्थलमा आउने दर्शकहरुको अवलोकनका लागि गोल घर (कुडुले) घर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष एवम् गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताए । खरले छाएको गोलघर दुई तलाको रहने छ । घरको छानो र पाली खरैखरले छाएको छ ।

    “कुडुले घरभित्र विशेष गरी हाम्रा पुराना पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिने छ” उनले भने, “घरमा पुरानो जीवनशैलीलाई झल्को दिने खालका जातो, ढिकी, हलो जुवा, ठेको, छानामा फर्सी, कुभिण्डोलगायतका सामग्री राखेर सजाइने छ ।” घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको छ ।

    घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवलाई लक्षित गरेर निर्माण गरेको गोल घरलाई महोत्सवपछि पनि संरक्षण गरेर राख्ने जनाएको छ । विसं २०६३ बाट प्रत्येक दुई÷दुईवर्षमा वालिङ महोत्सव हुँदै आएको छ । यो नवौँ संस्करणको महोत्सव माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवको तयारी पूरा भएको छ ।

  • मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मात्र मतदान हुने

    मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मात्र मतदान हुने

    मनाङ, १२ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो”, उनले भने ।


    नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

    सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

    सिरहा, १२ माघः सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका र मन्त्री भइसकेका नौ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । विशेषगरी सिरहा क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री रहनुभएका बब्लु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    त्यसैगरी क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साह चुनावी मैदानमा छन् । उनीहरु दुई पुराना र अनुभवी नेता भएकाले पनि उनीहरुको प्रतिस्पर्धाले यहाँको चुनावी माहोललाई थप तताएको छ । सिरहा क्षेत्र नं ४ मा भने पाँच जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक, र नेकपा (एमाले)बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा छन् ।

    यसका साथै, जनमत पार्टीकातर्फबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । पुरानै र पटकपटक मन्त्री भइसकेका नेताको बाहुल्यता रहेको यस क्षेत्रमा नेपाली कांग्रेसले भने नयाँ अनुहारका रूपमा चन्द्रकला देवी यादवलाई अगाडि सारेको छ । त्यस्तै, यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तपेश्वर यादवलाई आफ्नो उम्मेदवार बनाएको छ ।

  • एक दिनमा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

    एक दिनमा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

    काठमाडौँ, १२ माघः पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार देशभर १६ वटा आगलागीका घटना घटेका थिए । असावधानीका कारण परालको कुन्युमा आगो लागेको, हावाहुरीले आगो उडाउँदा अन्य क्षति भएको तथा आगो ताप्दा असावधानीका कारण आगो फैलन गई घाइते भएका जस्ता विवरण सार्वजनिक भएका छन् । विपद्मा परेर कूल रु २५ लाख ३० हजार बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी सात जना घाइते भएका छन् ।

    प्राधिकरणको विवरण अनुसार मोरङमा दुई, सुनसरी, भोजपुर, सप्तरी, सिरहामा एक\एक वटा आगलागीका घटना भएका थिए । सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान, कैलालीमा पनि आगलागीका घटना घटेका थिए । त्यसैगरी बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सप्तरी, कपिलवस्तु र डोटीमा भने जनावरको आक्रमणका घटना घटेका छन् । प्राधिकरणले विपद्बाट जोगिन, सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

  • प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    काठमाडौँ, १२ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ ।

    आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे ।

    आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य रहने व्यवस्था छ । सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने जनाइएको छ ।

  • गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा समाजसेवी खिलप्रसाद शिवाकोटी पुरस्कृत

    गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा समाजसेवी खिलप्रसाद शिवाकोटी पुरस्कृत

    झापा बिर्तामोड

    गोपीकृष्ण स्मृति प्रतिष्ठानले समाजसेवा बिधाको “गोपीकृष्ण स्मृति पुरस्कार” वितरण गरेको छ । प्रतिष्ठानले बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी क्याम्पसमा स्वर्गीय गोपीकृष्ण खनालको ७९ औं जन्मजयन्तिको अवसर पारेर समाजसेवा बिधाको पुरस्कार वितरण गरेको हो ।

    प्रत्येक २ बर्षमा एउटा बिधाको पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानले यस बर्ष समाजसेवा बिधाको पुरस्कार वितरण गरेको र यस अघि पत्रकारिता र साहित्यको पुरस्कार बितरण गरिसकेको प्रतिष्ठानका सचिव तीर्थ सिग्देलले जानकारी दिए । सचिव सिग्देलका अनुसार यसअघि पत्रकारिता पुरस्कार पत्रकार नकुलकाजी र साहित्य पुरस्कार साहित्यकार कोमलप्रसाद सिग्देललाई प्रदान गरिएको थियो ।

    यस बर्ष समाजसेवा बिधा पुरस्कारबाट खिलप्रसाद शिवाकोटी पुरस्कृत भएका छन् । प्रतिष्ठानकी उपाध्यक्ष सरु खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, प्रतिष्ठानकी संरक्षक रुपादेवी खनालले शिवाकोटीलाई पुरस्कृत गरेका थिए । शिवाकोटीलाई नगद ५० हजार पाँच रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

    स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश प्रतिष्ठानका सचिव तीर्थ सिग्देलले गरेको कार्यक्रममा प्रमुख अतिथि बस्नेत, सम्मानीत ब्यक्तित्व शिवाकोटी, साहित्यकार पे्रमप्रकाश फलारी पोखरेल, साहित्यकार केशव आचार्यलगायतले शुभकामना मन्तव्य राख्दै स्वर्गीय खनालले पत्रकारिता र साहित्यबाट समाजमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन डाक्टर पुन्यप्रसाद सिग्देलले गरेका थिए ।

    कार्यक्रममा स्वर्गीय खनालका समकालिन मिमलाल सापकोटा, साहित्य चौतारी झापा बिर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठ, साहित्यकार हरिनारायण भट्टराईसहित समाजसेवी, शिक्षासेवी, साहित्यकारलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा श्रष्ठाहरुले कबिता र गजलसमेत प्रस्तुत गरेका थिए ।