Category: समाचार

  • राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

    राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

    काठमाडौँ, ९ माघः राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । त्यस अवसरमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

    समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत उपस्थित थिए । वसन्त पञ्चमीका अवसरमा विद्याकीदेवी सरस्वतीको पूजाआराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

  • कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

    कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौँ, ९माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

    तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ ।

    साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा

    काठमाडौँ, ९ माघ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो ।

    तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझावबमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो । स्थापनापश्चात महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय राखिएको थियो ।

    सशस्त्र प्रहरी महानिरीक्षकमा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका थिए । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठले प्रातकालीन भ्रमणको दौरान २०५९ साल माघ १२ गते गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए । उनीसँगै धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले साहदत प्राप्त गरेका थिए ।


    तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी तथा आतङ्कारी गतिविधि नियन्त्रण गर्नेलगायत १३ वटा कार्यादेश सुम्पेको थियो । त्यसपछि नेपाल सरकारले विभिन्न समयमा सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक र रेल्वे सुरक्षालगायत विभिन्न जिम्मेवारी दिँदै आएको छ ।

    यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेश प्रभावकारी ढङ्गले सम्पादन गर्दै सङ्गठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । हालका दिनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सङ्गठनका रूपमा उभ्याएको छ । सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई सशस्त्र प्रहरीले उच्च प्राथमिकतामा राखेको छ ।

    विसं २०६१ मङ्सिर १ गतेको निर्णयानुसार तत्कालीन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरूको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ भएको थियो । विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको छ । सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र दुई सय १५ वटा बिओपीमार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राजस्व सङ्कलनमा समेत सहयोग पुर्याउँदै आएको सहप्रवक्ता थापा बताउँछन् ।

    नेपालको अन्तरराष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सीमा इलाकाको बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, अन्य विकास निर्माणका कार्यमा सहयोग, सचेतनामूलक कक्षाहरू, स्वास्थ्य शिविर र सीमावासी जनतामा सीप तथा स्वरोजगारमूलक कार्यक्रम हुँदै आएका छन् ।

    सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मङ्सिर २२ गते चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।

  • राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

    राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

    काठमाडौँ, ९ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गर्दै उनले आजको यस शुभदिनमा आफ्ना बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन पनि रहिआएको बताएका छन् । “सङ्गीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र साइत जुराउनुपर्ने शुभकार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, उनले भनेका छन् ।


    आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकतामात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने अवसर पनि भएको उनको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उत्तिकै छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले यस पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतासमेतलाई दर्शाउँछ, विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लागेको छ ।”

  • आज माघ शुक्ल पञ्चमी–श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    आज माघ शुक्ल पञ्चमी–श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

    काठमाडौँ, ९ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

    चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही०जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

    वसन्त श्रवण

    यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिए ।
    वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

  • उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

    काठमाडौँ, ९ माघ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
    आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ ।

    निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ । तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ ।

  • निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

    निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

    काठमाडौँ, ९ माघ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ ।

    यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।

  • नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

    नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

    अबुजा, नाइजेरिया, ८ माघ (रासस–एएफपी) । नाइजेरियाको द्वन्द्वग्रस्त उत्तरपश्चिमा १५० भन्दा बढी चर्चका उपासकहरूलाई अपहरण गर्ने बन्दुकधारी र बन्धक बनाइएका व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ । आक्रमणकारीले बन्धकका परिवारसँग फिरौतीका लागि १७ वटा मोटरसाइकल माग गरेका छन् ।


    हालैका महिनाहरूमा पश्चिम अफ्रिकी राष्ट्रमा धार्मिक पूजा केन्द्रहरूलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो सामूहिक अपहरणमा, आक्रमणकारीहरूले आइतबार कडुना राज्यको काजुरु परिषद् क्षेत्रमा तीन फरक चर्चहरूमा आक्रमण गरेका थिए । आक्रमणका क्रममा ती चर्चबाट १७७ जनालाई बन्धक बनाएर लगेका थिए । अपहरितमध्ये ११ जना उनीहरूको कब्जाबाट भाग्न भाग्न सफल भएका थिए ।

    नाइजेरियाली सुरक्षा बलले अपहरणकारीहरूको खोजीमा रणनीतिक टोलीहरू तैनाथ गरेको छ जुन प्रायः सीमित राज्य र सुरक्षा उपस्थितिको साथ दुर्गम समुदायहरूमा फिरौतीको लागि अपहरण गर्ने दुष्ट गिरोहहरू मध्ये एक हो। बिहीवारको अन्तर्वार्तामा स्थानीय बासिन्दाहरूले भने, “आक्रमणकारीहरूले उनीहरूको रिहाइको लागि वार्ता सुरु गर्न १७ मोटरसाइकलको माग गर्र्दै परिवारहरूसँग सम्पर्क गरेका थिए । आक्रमणकारीले उनीहरूको वार्ता र रिहाइको सुरूमा करिब १७ हजार अमेरिकी डलर पर्ने मोटरसाइकलको माग गरेका छन् ।

    “अपहरणकारीले उनीहरूलाई १७ वटा मोटरसाइकल माग गरेको तर उनीहरूले हामीसँग कुनै पैसा चाहिन्छ भनेका छैनन्,” कुर्मिन वलीका गाउँ प्रमुख इशाकु डानाजुमीले भने । अपहरणकारीहरूले १७ वटा मोटरसाइकल हराएको बताएका छन्, उनीहरूलाई प्रतिस्थापन गर्न खोजिएको छ,” जिल्लाको अदारा विकास सङ्घका अध्यक्ष सेबास्टिन बार्डेले भने । नाइजेरियाका अधिकांश द्वन्द्वग्रस्त स्थानहरूमा बन्दुकधारीहरू प्रायः मोटरसाइकलमा यात्रा गर्छन् र यही साधनको सहयोगमा उनीहरूको लुक्ने ठाउँको खोजी गर्दै भाग्ने र सुरक्षा बललाई छल्ने गरेको पाइन्छ ।

    कडुनाका गभर्नर उबा सानीले बुधबार अबेर काजुरुको प्रभावित क्षेत्रको भ्रमण गरी राज्य बन्धकहरूको खोजी गर्न र उद्धार गर्न सुरक्षा एजेन्सीहरूसँग मिलेर काम गरिरहेको बताएका थिए । “हाम्रो प्रशासनले शान्ति, सुरक्षा र समावेशी विकासलाई निरन्तरता दिनेछ ।” पछिल्ला केही महिनाहरूमा, नाइजेरिया अमेरिकी सरकारको नजरमा रहेको छ, जसले नाइजेरियाली सरकारलाई देशको सुरक्षा सङ्कटमा इसाईहरूको सुरक्षा नगरेको आरोप लगाएको छ । यद्यपि, आक्रमणले इसाई र मुस्लिम दुवैलाई असर गर्दछ।

    अमेरिकाको आरोपका कारण दुई देशबीच कूटनीतिक दरार उत्पन्न भएको छ र अमेरिकाले डिसेम्बरमा नाइजेरियाको क्षेत्रमा इस्लामिक स्टेट समूहका कथित सदस्यहरूविरुद्ध आक्रमण सुरु गरेको छ। नाइजेरियामा विगत एक दशकभन्दा बढी समयदेखि बोको हराम लगायतका इस्लामिक अतिवादी समूहको निशानामा सर्वसाधारण किसान, कृषक र विदार्थीहरू पर्ने गरेका छन् ।

  • शुक्रबारदेखि मौसम बदली हुने

    शुक्रबारदेखि मौसम बदली हुने

    काठमाडौँ, ८ माघ पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाए ।

    शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघगर्जनसहित असिनाको सम्भावना रहेको पनि ढकालले बताए ।

    शनिबार केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढाउने विभागले जनाएको छ । मौसम बदलीको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले आज एक सूचना जारी गरी अनुरोध गरेको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने, गगनलाई प्रधानमन्त्री घोषणा गर्ने

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने, गगनलाई प्रधानमन्त्री घोषणा गर्ने

    काठमाडौँ, ८ माघः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

    कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ । सो बैठकले आगामी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गगन थापालाई अगाडी सारेर जाने तयारीमा कांग्रेस छ ।

  • जाँचबुझ आयोगको समय २० दिन थप

    जाँचबुझ आयोगको समय २० दिन थप

    काठमाडौँ, ८ माघः नेपाल सरकारले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई तीन महिनाको समय दिइए पनि प्रतिवेदन तयारीको काम पूरा नभएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक पुनः अवधि थप गरिएको हो । आयोगका लागि यसअघि थपिएको समय आजै सकिँदै छ ।

    बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने र नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोक्ने निर्णय भएको पनि उनले जानकारी दिए । बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरिने जनाइएको छ ।

  • झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

    झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

    झापा, ८ माघ : जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।

    उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिए । यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए ।


    क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख १० हजार ८५७ मतदाता, ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित ४३ वटा मतदानस्थल र १४५ मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।

  • नेपाल नेदरल्याण्ड्ससँग पराजित

    नेपाल नेदरल्याण्ड्ससँग पराजित

    काठमाडौँ, ८ माघ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको हो । यो जितसँगै समूह बी मा रहेको नेदरल्याण्ड्सले तीन खेलबाट छ अङ्क जोडेको छ । आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ ।

    नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा समेटियो । नेपालका लागि रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन् । त्यस्तै सीता राना मगरले अविजित २७ रनको योगदान गरिन् भने बिन्दु रावलले १८ रन बनाइन् ।

    नेदरल्याण्ड्सका लागि इसाबेल भान डर वोनिङले तीन विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो ।

    नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन जोडिन् । त्यस्तै स्टेर कालिसले ३० रन बनाउँदा रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन् । नेपालका रुबिना क्षेत्रीले दुई विकेट लिइन भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान एकरएक विकेट लिए ।

  • बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

    बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

    बैतडी, ८ माघः दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।

  • चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

    चिनी उद्योगको मेसिनमा च्यापिएर मृत्यु

    बरहथवा (सर्लाही), ८ माघः सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो ।

    काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ ।

  • प्रतिनिधिसभा निर्वाचन काठमाडौ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

    प्रतिनिधिसभा निर्वाचन काठमाडौ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

    काठमाडौँ, ८ माघ : सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।

    काठमाडौँ, निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छ । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदान स्थल ४०, मतदान केन्द्र १०० छ । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उहाँले सुनाउनुभयो । क्षेत्र नं। २ काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

    काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र रहेको छ । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् ।

    क्षेत्र नं. ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजारु ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । क्षेत्र नं. ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ ।

    क्षेत्र नं. ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । क्षेत्र नं.८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् । क्षेत्र नं. १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् ।

    काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३०, क्षेत्र नंं. २ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नंं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं. १० मा पनि २७ उम्मेद्वार मनोनयन पत्र दर्ता गराएको पनि जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जानकारी पनि उनले जानकारी दिए ।

  • बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

    बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

    मेलबर्न, ८ माघ (रासस–एपी) । सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिंसा र घृणाविरुद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गरेका छन् ।

    गत डिसेम्बर १४ मा यहुदी पर्व हनुक्काका क्रममा दुई बन्दुकधारीले १५ जनाको हत्या गरेका थिए । अधिकारीहरूका अनुसार उक्त आक्रमण इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । प्रधानमन्त्री अल्बानिजले बोन्डी घटनालाई उल्लेख गर्दै आतङ्ककारीको मनमा घृणा र हातमा बन्दुक भएकाले यति ठूलो क्षति भएको बताए । सरकारले दुवै समस्यालाई एकसाथ सम्बोधन गर्ने प्रतिबद्धता पूरा गरेको स्पष्ट पारे ।


    सरकारले सुरुमा एउटै विधेयक ल्याउने योजना बनाए पनि अन्ततः बन्दुक नियन्त्रण र घृणा–विरोधी भाषणलाई छुट्टाछुट्टै विधेयकका रूपमा संसद्मा प्रस्तुत गरेको थियो । मङ्गलबार ढिलो सिनेटबाट दुवै विधेयक पारित भएका छन् । सत्तारूढ लेबर पार्टीको तल्लो सदनमा बहुमत भए पनि माथिल्लो सदनमा सम्झौता गरेर अघि बढ्नुपरेको प्रधानमन्त्रीले स्वीकार गरे ।


    नयाँ बन्दुक कानूनले बन्दुक स्वामित्वमा थप प्रतिबन्ध लगाउने र हतियार हस्तान्तरण गर्नुपर्ने व्यक्तिलाई क्षतिपूर्ति दिने सरकारी पुनर्खरीद कार्यक्रम सुरु गर्ने व्यवस्था गरेको छ । घृणा–विरोधी भाषण कानूनले आतङ्कवादी सूचीमा नपरेका तर चरमपन्थी गतिविधिमा संलग्न समूहहरूलाई पनि गैरकानूनी घोषणा गर्न सक्ने आधार दिएको छ, जसमा गुप्तचर संस्था एएसआइओको भूमिका रहनेछ ।

    गृहमन्त्री टोनी बर्कका अनुसार बोन्डी आक्रमणका आरोपी बुबा–छोरा यी नयाँ कानूनअन्तर्गत बन्दुक राख्न अयोग्य ठहरिने थिए । घटनामा मारिएका बुबासँग कानूनी बन्दुक थियो भने घाइते छोरामाथि १५ वटा हत्या सहित दर्जनौँ गम्भीर अभियोग लगाइएको छ । विपक्षी नेसनल पार्टीले घृणा–विरोधी भाषण कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै विरोध जनाएको छ ।

    यद्यपि सरकारको भनाइमा, सन् १९९६ को तस्मानिया नरसंहारपछि जस्तै, यो कदम पनि जनसुरक्षाका लागि अपरिहार्य हो । त्यस घटनापछि अस्ट्रेलियाले कडा बन्दुक कानून लागू गरी करिब सात लाख हतियार फिर्ता किनेको थियो । नयाँ पुनर्खरीद कार्यक्रमका लागत बाँडफाँटलाई लिएर केही राज्य र क्षेत्रसँग असहमति भए पनि सङ्घीय सरकारले वार्ता जारी राख्ने जनाएको छ ।

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    राष्ट्रिय समाचार समिति
    मुस्ताङ, ८ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् ।

    यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो ।

    यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । यहाँ आवेदन दिन म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।

  • नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

    नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

    काठमाडौँ, ८ माघः आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो ।

    यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ । महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, ८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवालो लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारीसाधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

    महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

    राष्ट्रिय समाचार समिति
    महोत्तरी, ८ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४ मा १३ जना छन् ।

    यसैगरी, स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    जिल्लामा १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दलगतभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी छ । जिल्लाका चारवटै क्षेत्रमा गरी उम्मेदवारी दर्ता गराउने १९ महिलामध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए । निर्वाचन क्षेत्र–१ मा पाँच, २ मा पाँच, ३ मा २ र ४ मा सात गरी जम्मा १९ जना महिला उम्मेदवार छन् ।

  • मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    राष्ट्रिय समाचार समिति
    बागमती, ८ माघः कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडाँैतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

    प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

    काठमाडौँ, ८ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके–३ बाट खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ ।

    दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राजनीतिक दलहरूले नै दलित समुदायलाई भोट बैङ्क बनाएको तर अवसरबाट सधैँ वञ्चित गर्दै आएको टिप्पणी गरेका छन् । उनी भन्छन्, “पार्टीभित्र दलित नेताको योगदान अरू समुदायको जत्तिकै हुन्छ, तर निर्वाचनको समयमा उनीहरूले टिकट पाउँदैनन् । टिकट दिँदा नै एक प्रकारको विभेद हुँदै आएको छ, दलितको जनसङ्ख्यालाई हेर्ने हो भने पनि १३ प्रतिशत छ ।”

    नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का अध्यक्ष विन्दु परियारले परिवर्तनका लागि पटकपटक लडेको पुरानो प्रजातान्त्रिक दल कांग्रेस, मजदुर, गरिब, किसान, दलित, महिला, जनजाति, मधेसी आदिको अधिकारका लागि सङ्घर्ष गरिरहेको दाबी गर्ने नेपाली कम्युनिष्ट पार्टी र एमाले नै दलितप्रति अनुदार देखिएको टिप्पणी गरे । यसरी दलित समुदायलाई प्रत्यक्षमा टिकट नदिनुले प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने देखिन्छ । संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था जस्तै दलितको सवालमा पनि अनिवार्य व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

    विसं २०७९ को प्रतिनिधिसभामा १५ जना (५ दशमलव ८१ प्रतिशत) को प्रतिनिधित्व रहेको थियो । विसं २०६४ को संविभानसभामा ५० जना दलित (८ दशमलव ३२ प्रतिशत) को उपस्थिति थियो । २०७० सालको संविधानसभामा ४० जना (६ दशमलव ६५ प्रतिशत) र २०७४ सालमा प्रतिनिधिसभामा २० जना (७ दशमलव २७ प्रतिशत) रहेको थियो ।

    यो सङ्ख्या हेर्ने हो भने संसद्मा दलितको प्रतिनिधित्व क्रमशः घट्दो क्रममा देखिन्छ । ५९ जनाको राष्ट्रियसभामा आठ जना मात्रै दलितको सहभागिता छ । संविधानको धारा, ४२ (१) अनुसार सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था हुनेछ भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

  • रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

    रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

    रुकुमपूर्व, ७ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन् । संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गरे । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित बनेको बताइन् ।


    अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा रुकुमपूर्वका जनतामा नयाँ आशा पलाएको बताइन् । सहिद जीवन काजी (चन्द्रबहादुर) थापाकी ८६ वर्षीया आमा चन्द्रकुमारीले सहिदका सपना पूरा गर्न सुझाव दिइन् । सहिद परिवारको कुरा सुनेपछि संयोजक दाहालले सहिदका सपना आफूले बिर्सनै नसक्ने बताए ।

    सहिदको सम्मानमा राज्यका तर्फबाट विभिन्न योजना अघि बढेको जानकारी गराए । घरदैलो अभियानका क्रममा उनले रुकुमपूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरे ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

    प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौँ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।


    आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ ।

    निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।

    आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उहाँले बताउनुभयो । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।

  • करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

    करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

    काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ ।

    गत पुस मसान्तसम्ममा कूल रु नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाखको वस्तु आयात हुँदा रु एक खर्ब ४२ अर्ब एक करोड ८० लाख बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ । वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारका रूपमा रहेको भारतसँग पछिल्लो छ महिनामा रु पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने रु एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र रु चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ ।

    अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा रु एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख छ । चीनबाट रु एक खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा रु ६४ करोड नौ लाख बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ । नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रु नौ करोड १५ लाखको आयात र रु ५१ करोड दुई लाखको निर्यात गर्दा रु ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ । रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ ।

    यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पुस मसान्तसम्ममा रु ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रु ३३ अर्ब सात करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र रु २७ अर्ब चार करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यसैगरी यो अवधिमा रु २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रु ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रु १४ अर्ब चार करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

    वस्तु आयातबाट सङ्कलिन यो अवधिको भन्सार राजस्व रु दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार बराबर छ । त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै रु ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रहेको छ भने रु सात अर्ब १९ करोड ९५ लाखको अलैँची, रु चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, रु तीन अर्ब ११ करोडको कार्पेटलगायत छन् ।

  • दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

    दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

    वालिङ (स्याङ्जा), ७ माघः दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

    क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीसहित दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

    क्षेत्र नं १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, एमालेका मीनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मीलगायत उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा ११ राजनीतिक दल र चार जना स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी परेको क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विश्वकर्मालगायत छन् ।

  • बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    दशरथचन्द (बैतडी), ७ माघ । बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखीएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका अनुसार जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन् ।

    विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।

    मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । दुर्गम स्थानमा रहेका मतदानस्थलको अनुगमन निरीक्षण गर्ने काम भइरहेको उनले उल्लेख गरे । “निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो”, प्रजिअ पौडले भने, “सुरक्षा योजना लागु गर्न दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमनको काम भइरहेको छ ।”

    आसन्न निर्वाचनमा भाग लिन १० दल र दुई स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । उनका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् ।

  • प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

    प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

    काठमाडौँ, ७ माघः निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो ।

    यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

  • तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    काठमाडौँ, ७ माघः स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ ।

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।