Category: समाचार

  • काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?

    काठमाडौंमा कुन कुन स्थानमा हुँदैछ मनोनयन दर्ता ?

    ६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ। कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ। क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ।

    काठमाडौँ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीका निर्वाचन कार्यालय स्थापना गरिएको छ। यस्तै, काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, काठमाडौँ क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस, क्षेत्र नं ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ।

  • गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?

    गुल्मीमा कुन पार्टीबाट को उम्मेदवार ?

    ६ माघ, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य राजनीतिक दलले उम्मेदवारी टुङ्गो लगाएका छन्। मङ्गलबार उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम रहेको छ। यस जिल्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा र राप्रपाले दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको पाइएको हो।

    नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर–१ मा प्रभावशाली नेता डा. चन्द्र भण्डारी र क्षेत्र नम्बर–२ मा लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ। नेकपा (एमाले)ले निर्वाचन क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य प्रदीपकुमार ज्ञवाली र क्षेत्र नम्बर–२ मा केन्द्रीय उपाध्यक्ष गोकर्णराज विष्टलाई उम्मेदवार बनाएको हो।

    नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य सुदर्शन बराल र क्षेत्र नम्बर–२ मा पनि केन्द्रीय सदस्य श्रीराम महतलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा सागर ढकाल र क्षेत्र नम्बर–२ मा गोवन्द पन्थीलाई उम्मेदवार बनाएको छ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर–१ मा क्षेत्रीय अध्यक्ष अजित श्रेष्ठ र क्षेत्र नम्बर–२ मा जिल्ला सदस्य जनक सेनलाई उम्मेदवार बनाएको पाइएको छ। यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम छन्। जसमा निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन्।

  • एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने

    एमालेका इश्वर पोखरेल काठमाडौं–५ बाट चुनाव लड्ने

    ६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आएका छन् । अध्यक्ष निरौलाका अनुसार काठमाडौँ क्षेत्र ४ बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लागिसकेको छ ।

    काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाँल, क्षेत्र नंं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नंं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । रासस

  • आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता

    आज प्रत्यक्षतर्फ देशैभर उम्मेदवारी दर्ता

    ६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको हो ।

    उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

    आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

    नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

    आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

  • दुर्गा प्रसाई पोखराबाट पक्राउ

    दुर्गा प्रसाई पोखराबाट पक्राउ

    ५ माघ, काठमाडौं । उदण्ड बोली र व्यवहारका कारण विवादित दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहेका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।

    माघ २ गते सरकारसँग सम्झौता गरेको प्रसाई नेतृत्वको समूहले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको थियो । काठमाडौँमा बोल्दै प्रसाईले नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले करोडौं रुपियाँ लिएको आरोप लगाएका थिए । सो आरोपपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रसाई पक्राउ परेको पुष्टि गरे ।

  • रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण

    रास्वपाको चुनावी सभा जनकपुरबाट सुरु, प्रदर्शनीमा बालेन आकर्षण

    ५ माघ, काठमाडौं । २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार मनोनयन दर्ता हुँदैछ । त्यसअगाडी नै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको चर्चित पात्र बालेन शाहलाई प्रदर्शनीमा उत्रार्दै विपक्षीलाई कडा चूनौति पेश गरेको छ । आइतबार घण्टीघर प्रवेशसँगै बालेनलाई रास्वपाले भब्य स्वागत गरेको थियो ।

    आज जनकपुरमा त्यसलाई आम जनता र कार्यकर्ताले समेत स्वीकार गरेका छन् । उनको स्वागतका लागि हजारौं आमसभामा पुगेका छन् । भीड थाम्नै हम्मेहम्मे परेको अवस्था आज थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गरेको सभालाई ‘परिवर्तन उद्घोष सभा’ भनेको थियो । चुनावी सभालाई सोमबार सम्बोधन गर्दै रास्वपाका शीर्ष नेताहरूले ‘अब की बार, बालेन सरकार’को उद्घोष समेत गरे ।


    जनकपुरको तिरहुतिया गाँछीमा ठूलो संख्यामा उपस्थित समर्थकबीच रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने वाचा गरेको छ । सभामा सहभागी हुन बालेन आइतबार अपराह्न नै जनकपुर आइपुगेका थिए। रास्वपा सभापति रवि लामिछाने सोमबार जनकपुर पुगेका थिए। लामो समय कांग्रेसबाट राजनीति गरेका तर २०७९ सालको निर्वाचनमा सर्लाहीबाट स्वतन्त्र भएर चुनाव जितेका नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन्। सिंह सोमबार बिहानै बालेनसँगै जानकी मन्दिरमा पूजापाठ गर्न गएका थिए।

    सभामा बालेनले मैथिली भाषामा सम्बोधन गरेका थिए। ‘केना कि अई त’ (के–कसो छ नि) भन्दै करिब २० मिनेट लामो भाषण उनले मैथिलीमै सुरु र समाप्त गरेका थिए। ‘भाषण होइन, काम गर्ने मान्छे हुँ। काम गर्छु। काम गर्ने दिने हो नि ?’ बालेनले भने, ‘मलाई मानिसहरूले भेट्दैनन् भन्छन्। महानगरमा हुँदा चार वर्ष मेयर मै व्यस्त रहेँ। राजीनामा गरेको छु, फुर्सदमा छु। पहिलो पटक जनकपुर आएर भाषण गर्दैछु।’

    बालेनको सम्बोधनका क्रममा शब्द–शब्दमा ‘बालेन–बालेन’ का नारा लगातार लागिरहेका थिए। ‘प्रदेशलाई अझ मजबुत बनाइनेछ। प्रदेशको काम वडामा धारा जोड्ने होइन,’ उनले भने, ‘दुई–तीनवटा पालिकासँग जोडिएका काम गर्नुपर्छ।’ उनले जनकपुर प्रदेशको राजधानी भए पनि प्रशासकीय अधिकृत ल्याउन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए। ‘काठमाडौं अधिकार माग्नै जाऊँ, घुम जाऊँ पशुपति र स्वयम्भू,’ बालेनले भने, ‘मधेशिया छोरा प्रधानमन्त्री होइते, त्यसकै लागि हो। सही सरकार बनाउनुछ, त्यसैले मत दिनुहोस्।’

    सेतो कुर्ता–पाइजामा र कालो हाफ बन्डी लगाएका बालेनले जनकपुरको सभामा गम्छा बेरेका थिए। सोमबार बिहान जानकी मन्दिरमा पूजा गरेर उनी सिरहाको लहान पुगेका थिए, जहाँ मधेश आन्दोलनका क्रममा सहिद भएका स्मारकमा माल्यार्पण गरेका थिए। त्यहाँबाट जनकपुर फर्किने क्रममा उनी धनुषाको मिथिला नगरपालिका–बनिगामा मावाली गाउँ पुगेका थिए।

    चुनावी सभामा रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनमा बालबालिकामाथि गोली चलाउने सरकारले देश र मधेशलाई गरेको अन्यायको हिसाब गरिने बताएका छन्। लामिछानेले आफूलाई षड्यन्त्र गरेर संसद्बाट निकालिएको दाबी पनि गरे। उनले भने, ‘पहिले सबैभन्दा धेरै मत ल्याउने सांसद बनेर संसद् छिरेको थिएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु।’

    उनले बालेनसँग सम्झौता गर्नुअघि भएको कुराकानीको प्रसंग पनि निकाले। उनले बालेन र आफूबीच भेटघाट भएको भोलिपल्ट उज्यालो घाम लागेको अनुभव सुनाए। लामिछानेले उक्त कुराकानीका क्रममा बालेन र आफूले एक–अर्कालाई सपना सुनाएको पनि बताए। उनले भने, ‘हाम्रो वार्ता पाँच मिनेटमा सकिएको थियो। थप समय त एक–अर्कासँग राम्ररी चिनजानमा लागेको थियो।’ लामिछानेले कोही मधेशवादी र कोही हिमालवादी नभएको बताउँदै भने, ‘यहाँ कोही मधेशवादी छैनन्। सबै नेपालवादी हुन्।’

    रास्वपाले यसअघि मधेशमा उन्नत बिउ रोपेर गएको भन्दै अब सपना पूरा भएको दाबी गरेको छ। ‘हामीलाई धेरैले भने—मधेशमा त धेरै भोट ल्याउनुभएन, मधेशका जनताले तपाईंलाई माया गर्दैनन्। तर मलाई थाहा थियो मधेशले माया गर्छ,’ लामिछानेले भने, ‘त्यसैले त मधेशमा उन्नत बिउ रोपिएको थियो। त्यो बिउ आज हुर्किएर फल लागेर लहलह भएको छ। आजको उपस्थिति त्यही हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, तपाईंका तमाम आँखामा देखिएका सपना हो। अब त्यो सपना खोसेर मधेशले फिर्ता लिन्छ। मधेशमा ढिलो आए पनि ठीक समयमा आयो।’

    सभामा पार्टीका उपसभापति डीपी अर्यालले मधेशलाई चिन्ने र विकास गर्ने नेता नहुँदा मानव विकास सूचकांकमा मधेश पछाडि परेको बताए। उनले मधेशको विकाससँगै देशको उन्नतिका लागि मधेशले प्रधानमन्त्री पाउन लागेको दाबी गरे। अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा संघीयताविरोधी नरहेको बताए। ‘रास्वपा संघीयताविरोधी नरहेको सन्देश जनकपुरको सभाले पनि दिएको छ,’ उनले भने, ‘तर संघीय ढाँचामा सुधार आवश्यक छ। संघीयताको नाममा भएका बदमासी र विकृतिको अन्त्य गर्नुपर्छ।’

    सभाबाटै पार्टी प्रवेश गरेका अमरेशकुमार सिंहले आफूलाई रवि–बालेनको सिपाही भन्दै बालेन प्रधानमन्त्री हुने दाबी गरे। रास्वपा नेता सोबिता गौतमले पार्टीले मधेशको छोरालाई प्रधानमन्त्री बनाउन लागेको बताइन्। मधेशमा जन्मिएका बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउने उनको भनाइ थियो। देशको अवस्था परिवर्तनका लागि मधेश अग्रपंक्तिमा उभिनुपर्ने भन्दै उनले भनिन्, ‘यो देशको भाग्य परिवर्तनका लागि मधेशको अगुवाइ हुनैपर्छ।’ रास्वपा प्रवक्ता मनिष झाले आफू धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने घोषणा गरे।

  • बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट

    बालेनले जनकपुरमै बुझे झापा-५ को टिकट

    ५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा(५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए । झापाबाट चुनाव लड्नकै लागि बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए ।

    पदबाट राजीनामा दिएलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । त्यहाँ उनले वरिष्ठ नेताको पदभारग्रहण गरे । त्यसपछि उनी जनकपुर गएका थिए । हवाइमार्गबाट जनकपुर पुगेका उनले त्यहाँ आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेका छन् । बालेन झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

  • सञ्चारमन्त्री खरेल पनि चुनाव लड्ने, दिए राजीनामा

    सञ्चारमन्त्री खरेल पनि चुनाव लड्ने, दिए राजीनामा

    ५ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्नका लागि राजीनामा दिएका छन् । उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले खरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् ।

    रास्वपाबाट ललितपुर(२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिएका हुन् । यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । माघ ६ प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन गराउनु पर्ने भएकाले खरेलले आजै राजीनामा दिएका हुन् । उनले दल भने खुलाएका छैनन् ।

  • कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो

    कांग्रेसमा सहमतिमै टिकट बाँड्न सुरु, दोस्रो पक्षले समेत गगनलाई स्वीकार गर्यो

    ५ माघ, काठमाडौं । नेपाली कांग्रेस यस पटक चुनाव अगाडी एक पार्टीकै रुपमा चुनाव लड्ने भएको छ । निर्वाचन आयोगले गगनलाई सभापतिको मान्यता दिएसँगै देउवा समूह अदालत पुगेको छ । अदालती प्रक्रिया थाँती राख्दै कांग्रेसका देउवा, गगन र शेखर कोइराला पक्ष निर्वाचनमा एक भएर जान सहमत भएका छन् । यससँगै कांग्रेसले टिकट वितरण समेत थालेको छ । देउवा पक्षका निर्वाचनमा लड्ने नेताहरु धमाधम गगनतर्फ खुल्न थालेसँगै सो समूह तुलनात्मक रुपमा कमजोर बनेको छ ।

    यसअघि आज अदालतमा दायर रिट समेत फिर्ता लिने सहमति जुटेको समाचार सार्वजनिक भएको थियो । यसको भने देउवा पक्षले खण्डन गरेको छ । कांग्रेसले टिकट वितरण पारदर्शी बनाउन संसदीय बोर्ड गठन गरेको थियो । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।


    निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका थिए । यससँगै निर्वाचनमा कांग्रेसलाई आन्तरिक कलहको प्रभावको जोखिमबाट पुनः एक पटक राहत मिलेको छ ।

  • आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?

    आरजु देउवाले कैलालीमा पाइनन् टिकट, ५ क्षेत्रमा कांग्रेसबाट कोकसले पाए ?

    ५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ । सोमबार सभापति गगन कुमार थापाले ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूलाई टिकट वितरण गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ ।

    कांग्रेस कैलालीका सचिव केशव मिश्रले कैलालीका नेता भीम बडुवाललाई उद्धृत गर्दै पाँचवटै क्षेत्रका उम्मेदवार टुंगो लागेको जानकारी दिए । जसअनुसार, क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भिम बडुवाल, ४ मा वीर बहादुर बलायर र ५ मा नरनारायण शाह ‘मनु’ उम्मेदवार बनेका छन् । यससँगै कैलालीमा आरजु देउवाले टिकट पाइनन् । कांग्रेसमा सभापति देउवा समेत टिकटको अपेक्षामा छन् ।

  • कुलमान घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने निश्चित

    कुलमान घिसिङ काठमाडौं ३ बाट उम्मेदवार बन्ने निश्चित

    ५ माघ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् । चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारीमा छन् । उनले रास्वपामा असन्तुष्टहरुलाई धमाधम टिकट दिइरहेका छन् ।

  • कांग्रेसबाट नुवाकोट-१ मा महत, २ मा जगदीश्वरनरसिंह केसीले पाए टिकट

    कांग्रेसबाट नुवाकोट-१ मा महत, २ मा जगदीश्वरनरसिंह केसीले पाए टिकट

    ५ माघ, काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् । सोही क्रममा कांग्रेसले नुवाकोट–२ मा केसीलाई उम्मेदवार बनाएको हो ।

    क्षेत्र नम्बर १ मा भने कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । नुवाकोट–२ मा अघिल्लो निर्वाचनमा अर्जुन नरसिंह केसी निर्वाचित भएका थिए । अर्जुन यसपटक कांग्रेसको समानुपातिक सूचीमा छन् । उनी खस आर्य पुरुषतर्फको एक नम्बरमा छन् ।

  • रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा

    रास्वपाको तेह्रथुमका जिल्ला तथा पालिका समितिको सामूहिक राजीनामा

    ५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला कार्यसमिति, सबै पालिका समिति तथा वडा कमिटीका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय नेतृत्वले पार्टीकै विधि र प्रक्रियाविपरीत उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। २३ र २४ भदौको जेनजी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक मोडमा प्रवेश गरेको सन्दर्भ उल्लेख गर्दै तेह्रथुमबाट युवा, सक्षम र अब्बल उम्मेदवारका रूपमा अवेर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई अन्य केही दल तथा पक्षको साझा उम्मेदवारका रूपमा अगाडि बढाउने राजनीतिक सहमति भएको उनीहरूको भनाइ छ ।

    उक्त सहमतिअनुसार घण्टी चुनाव चिह्नमार्फत आगामी निर्वाचनमा सहभागी गराउने निर्णय गरिएको र पार्टीको नियमित प्रक्रियाअनुसार प्रदेश तथा केन्द्रमा सबै औपचारिकता पूरा गरिएको उल्लेख गरिएको छ । तर, पार्टीले नै पारित गरेको उम्मेदवार छनोट प्रक्रियाविपरीत जिल्ला कार्यसमिति र प्रदेश समितिको भावनाविपरीत अमुक व्यक्तिलाई टिकट प्रदान गरिएको आरोप उनीहरूले लगाएका छन् ।

    यसले पार्टीको विधि र प्रणालीमाथि प्रश्न उठाउनुका साथै जिल्लास्तरमा बनेको व्यापक राजनीतिक सहमतिमाथि कुठाराघात भएको उनीहरूको निष्कर्ष छ । यस निर्णयले तेह्रथुमको जनभावनामा गम्भीर असर परेको पनि राजीनामा पत्रमा उल्लेख गरिएको छ । केन्द्र र प्रदेशसँग सहकार्य गर्दै गरिएको राजनीतिक सहमति कार्यान्वयन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै रास्वपा तेह्रथुम जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटिका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएको जनाइएको छ ।

    राजीनामा दिनेमा जिल्ला कार्यसमिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ नगरपालिका कमिटी संयोजक गणेश खापुङ, लालिगुराँस गाउँपालिका कमिटी सभापति सुमन लिम्बु, मेन्छयायेम गाउँपालिका कमिटी संयोजक छत्रबहादुर थापा, छथर गाउँपालिका कमिटी सचिव थिरबहादुर कटुवाल, फेदाप गाउँपालिका कमिटी संयोजक लक्ष्मण थापा, आठराई गाउँपालिका कमिटी सभापति चेतन गौतम तथा काठमाडौं सम्पर्क विभाग संयोजक गुणनिधि अड्तौला लगायत छन् । सामूहिक राजीनामा केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ ।

  • आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो

    आयोगले समानुपातिकतर्फ ८९ लाख १७ हजार थान मतपत्र छाप्यो

    ५ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।

    आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छाप्न बाँकी छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ । केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ । समानुपातिक तर्फको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिनेछ । फागुन २१ गतेलाई तय भएको प्रतिनिधि सभा निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

  • स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु

    स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु

    ्५ माघ, काठमाडौं । दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो रेल लिक छाडेर अर्को ट्रयाकमा पुगेपछि विपरीत दिशाबाट (म्याड्रिडबाट हुएल्भातर्फ) आइरहेको अर्को रेलसँग ठोक्किएको थियो । दुर्घटनामा कम्तीमा ७३ जना घाइते भएको र ३० जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले बताएका छन् ।

    मन्त्री पुयन्तेले यो दुर्घटना ‘अत्यन्तै अचम्मलाग्दो’ भएको बताएका छन् । किनभने रेल सीधा ट्रयाकमा दुर्घटनाग्रस्त भएको थियो, जुन ट्रयाक गत वर्ष मे महिनामा मात्रै मर्मतसम्भार गरिएको थियो । मालागाबाट स्थानीय समयअनुसार १८ः४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटना भएको थियो ।


    मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी रेल कम्पनी इर्योले पहिलो पटक लिक छाडेको रेलमा करिब ३०० यात्रु रहेको जनाएको छ । अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए । रेल दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।

    यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन् । स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश दिएका छन् । सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटना देशकै सबैभन्दा भयावह दुर्घटना थियो, जसमा ८० जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।

  • बालेनले जानकी मन्दिरमा गरे पूजाआजा

    बालेनले जानकी मन्दिरमा गरे पूजाआजा

    ५ माघ, जनकपुर । सभालाई सम्बोधन गर्न मधेशको राजधानी जनकपुरधाम आएका रास्वपा नेता बालेन शाहले जानकी मन्दिरमा पूजा गरी आजको दिन सुरुवात गरेका छन् । जनकपुरधामबाट उनी मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान पुगेका छन् । उनी आज एकाबिहानै पूजाआजाका लागि जानकी मन्दिर पुगेका थिए ।

    पूजाआजापछि उनले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट पनि गरेका थिए । बालेनसँगै पूर्वसांसद अमरेश कुमार सिंह पनि भेटमा सहभागी थिए । जनकपुरधाममा आज आयोजना हुने सभाबाट अमरेश कुमार सिंह पनि रास्वपा प्रवेश गर्दैछन् ।

    सो सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछानेसँगै बालेन आइतबार साँझ जनकपुरधाम आइपुगेका थिए । त्यसअघि बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय बनस्थलीमा पदभार ग्रहण गरेका थिए । बालेन शाह २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दैछन् ।

  • आजबाट निर्वाचन आचारसंहिता लागू

    आजबाट निर्वाचन आचारसंहिता लागू

    ५ माघ, काठमाडौं । निर्वाचन आचारसंहिता लागू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ ।

    आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ ।

    अरु क–कसलाई लाग्छ आचारसंहिता ?

    स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ । उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने जनाइएको छ ।

    पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन् । मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन् ।

  • धरानका मेयर हर्क साम्पाङले दिए राजिनामा

    धरानका मेयर हर्क साम्पाङले दिए राजिनामा

    ४ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले राजिनामा दिएका छन् । साथै धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले समेत समेत आइतबार साँझ राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख आइन्द्र बिक्रम बेघा समक्ष पदबाट राजीनामा दिएका हुन् ।

    उनीहरु एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिदै छन् । नगर प्रमुख राई श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छन् । धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा चुनाव लड्दै छन् ।

  • डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने

    डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने

    ४ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन् । गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन् ।

    ‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ’खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले भनेका छन् । गोरखा–२ मा नेकपाले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । त्यस्तै, एमालेबाट चक्रे मिलन उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस र रास्वपाले भने उम्मेदवार तय गरिसकेको छैन ।

  • काठमाडौं महानगरको कार्यबाहक मेयरमा सुनिता डंगोल

    काठमाडौं महानगरको कार्यबाहक मेयरमा सुनिता डंगोल

    ४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

    मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् । बालेनको राजीनामापछि डंगोलले आकस्मिक कार्यपालिका बैठक आह्वान गरेकी छिन् । बैठकले अहिलेसम्मको योगदानका लागि मेयर बालेन शाहलाई धन्यवाद दिने निर्णय गरेको छ ।

  • जनकपुर पुगे बालेन, मधेश केन्द्रित अभियानमा सहभागी हुने

    जनकपुर पुगे बालेन, मधेश केन्द्रित अभियानमा सहभागी हुने

    ४ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरधाम पुगेका छन् । उनी आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो।

    सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन बालेन जनकपुरधाम आएका हुन् । जनकपुरधामको कर्यक्रम पश्चात् सिरहाको लहानमा आयोजित कार्यक्रममा सहभागी हुँदै झापा जाने कार्यक्रम रहेको छ। उनी मधेशमा रास्वपाको जनमत बढाउन सक्रिय हुनेछन् । चुनावी केन्द्रमा भने झापा ५ रहनेछ । जहाँ बालेनको भिडन्त केपी शर्मा ओलीसँग हुनेछ ।

  • मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर

    मेयर पदबाट बालेनले दिए राजिनामा, आजै पुगे घण्टीघर

    ४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । त्यसलगत्तै उनी रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिडले उनको स्वागत गरेको थियो ।

    उनी रास्वपा प्रवेश गरेर झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनी रास्वपाका वरिष्ठ नेता हुन् । उनले आजै पार्टीमा कार्यभार समेत ग्रहण गरे । घण्टीघरमा उनले १० मिनेट मात्र बिताएका थिए । त्यसलगत्तै उनी जनकपुर उडेका थिए ।

  • धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु

    धरानमा घर भित्रै छिर्यो बस, कम्तिमा ५ को मृत्यु

    धरान (सुनसरी), माघ ४ गते । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

    सुनसरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको साम्सी गाउँपालिकाको गैढाभेटपुरका धैरियाकुमार यादव, जनकपुरका १८ महिने बालक ऋषमकुमार मण्डल, सुनसरीको बराहक्षेत्र–३ का ओमेश राई, झापाको मेचीनगरका नयन थापा मगर तथा धरान–१३ का सुवेक्षा सुब्बा रहेका छन् ।

    धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टमा दुर्घटना भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारी गर्न आएको बस भेडेटार घुम्न जाने क्रममा डिजल सकिएपछि बाटोबाटै फर्काउने क्रममा दुर्घटनामा परेको हो । बसमा सवार घाइते १३ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिए ।

  • बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने

    बालेनले मेयरबाट राजिनामा दिँदै, भोलीबाट चुनावी अभियानमा होमिने

    ४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिँदैछन् । उनले सम्भवतः आज राजिनामा दिने तयारी छ । आजै रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने र भोलीबाट चुनावी अभियानमा होमिने तयारीमा बालेन छन् । आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

    ०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दैछन्। केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम रहेको छ। झापा ५ मा नेकपा एमालेका अध्यक्षको समेत उम्मेदवारी निश्चित भएसँगै यो क्षेत्रमा यस पटक रोचक भिडन्त हुनेछ ।

  • जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै

    जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभा बैठक बस्दै

    ४ माघ, काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो ।
    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालयमाअधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो ।

    आजको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

    सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ः०० बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए ।

    गत भदौ ३१ गते राष्ट्रियसभाको १८औं अधिवेशन अन्त्य भएको थियो । यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसक्नुभएको आयोगले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचनको तयारी अगाडि बढिरहेको र राष्ट्रियसभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउन लागेको अवस्थामा यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

  • एमालेले टुङ्ग्याएका यी हुन उम्मेदवार, कुन क्षेत्रमा को उठ्दै ?

    एमालेले टुङ्ग्याएका यी हुन उम्मेदवार, कुन क्षेत्रमा को उठ्दै ?

    ४ माघ, काठमाडौं । नेकपा एमालेले देशभरका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

    उनका अनुसार, केही बाँकी रहेका क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले थप छलफल गरेर नाम सार्वजनिक गरिनेछ। करिब ७ घण्टा लामो चलेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन हुँदैछ । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाएको छ ।

    अरु को कहाँबाट बने उम्मेदवार ?

    सुदूरपश्चिम

    कैलाली

    १. द्वारिका न्यौपाने

    २. सूर्यबहादुर थापा

    ३. गौरीशंकर चौधरी

    ४. लेखराज भट्ट

    ५. यज्ञराज ढुङ्गाना

    कञ्चनपुर

    १. कमला बोहरा

    २. वचनबहादुर सिंह

    ३. दीपक भट्ट

    अछाम

    १. झपटबहादुर बोहरा

    २. यज्ञ बोगटी

    बाजुरा

    १. लालबहादुर थापा

    डोटी

    १. दीपक धामी

    डडेल्धुरा

    १. चक्र स्नेही

    बझाङ

    १. अफिलाल ओखेडा

    बैतडी

    १. दामोदर भण्डारी

    दार्चुला

    १. गणेशसिंह ठगुन्ना

    कर्णाली

    सल्यान

    १. गुलाबजंग शाह

    रुकुम पश्चिम

    १. नन्दराम देवकोटा

    सुर्खेत

    १. धुर्व शाही

    २. कुलमणि देवकोटा

    कालिकोट

    १. नागेन्द्र शाही (नेसनल)

    जुम्ला

    १. शान्तिबहादुर महत

    मुगु

    १. पूर्णबहादुर रोकाया

    हुम्ला

    १. दल फडेरा

    डोल्पा

    १. लङ्क रोकाया

    दैलेख

    १. रविन्द्रराज शर्मा

    २. लक्ष्मीराज शर्मा

    जाजरकोट

    १. डम्मरबहादुर सिंह

    लुम्बिनी

    नवलपरासी

    १. रामप्रसाद पाण्डे

    २. भगवतीप्रसाद यादव

    रुपन्देही

    १. बाँकी

    २. बाँकी

    ३. बासुदेव घिमिरे

    ४. बाँकी

    ५. खिमलाल भट्टराई

    कपिलवस्तु

    १. विश्राम चौधरी

    २. अध्यक्षले टुङ्गाउने

    ३. बिरेन्द्र कडौनिया

    दाङ

    १. बाँकी

    २. बाँकी

    ३. घनश्याम पाण्डे

    बाँके

    १. सूर्य ढकाल

    २. बाँकी

    ३. दलबहादुर सुनार

    बर्दिया

    १. शालिकराम अधिकारी

    २. विमला विक

    पाल्पा

    १. नारायण आचार्य

    २. विष्णुप्रसाद पोडेल

    रुकुम पूर्व

    १. बाँकी

    रोल्पा

    १. गोकुल घर्ती

    प्यूठान

    १. सूर्य थापा

    अर्घाखाँची

    १. पिताम्बर भूसाल

    गुल्मी

    १. प्रदीप ज्ञवाली

    २. गोकर्ण विष्ट

    गण्डकी

    नवलपुर

    १. भागीरथ सापकोटा

    २. तिलबहादुर महत क्षेत्री

    गोरखा

    १. आर.सी. लामिछाने

    २. मिलन गुरुङ

    लमजुङ

    १. पृथ्वीसुब्बा गुरुङ

    तनहुँ

    १. भगवती न्यौपाने

    २. केदार सिग्देल

    स्याङ्जा

    १. मिनप्रसाद गुरुङ

    २. खिमबहादुर थापा

    म्याग्दी

    १. हरिकृष्ण श्रेष्ठ

    कास्की

    १. बैणबहादुर क्षेत्री

    २. कृष्ण थापा

    ३. दामोदर बैरागी

    बागलुङ

    १. हिरा केसी

    २. मञ्जु शर्मा चालिसे

    मुस्ताङ

    १. इन्द्रधारा विष्ट

    मनाङ

    १. पोल्देन सोताङ गुरुङ

    पर्वत

    १. पदम गिरी

    बागमती

    सिन्धुली

    १. प्रदीप केसी (कटुवाल)

    २. मनोजजंग थापा

    रामेछाप

    १. माधवप्रसाद ढुङ्गेल

    दोलखा

    १. पार्वत गुरुङ

    सिन्धुपाल्चोक

    १. आङदोर्जे शेर्पा

    २. शेरबहादुर तामाङ

    काभ्रे

    १. अमित लामा

    २. बाँकी

    धादिङ

    १. भूमी त्रिपाठी

    २. धनबहादुर घले

    नुवाकोट

    १. बद्री मैनाली

    २. केशव पाण्डे

    रसुवा

    १. प्रेमबहादुर तामाङ

    मकवानपुर

    १. रामेश्वर राना

    २. महेश बर्तौला

    चितवन

    १. कृष्णराज (कमल) पाठक

    २. अस्मिन घिमिरे

    ३. शंकरराज थपलिया

    काठमाडौं

    १. मोहन रेग्मी

    २. मणिराम फुयाल

    ३. रामेश्वर फुयाल

    ४. बाँकी

    ५. बाँकी

    ६. अमनकुमार मास्के

    ७. बाँकी

    ८. राजेश शाक्य

    ९. बाँकी

    १०. विनोद श्रेष्ठ

    ललितपुर

    १.चेतनाथ सञ्जेल

    २. प्रेमबहादुर महर्जन

    ३. बाँकी

    मधेश

    सप्तरी

    १. सुमन प्याकुरेल

    २. सतिश सिंह

    ३. ताराकान्त चौधरी

    ४. बालकृष्ण चौधरी

    सिराहा

    १. केदार यादव

    २. नविनकुमार यादव

    ३. लिलानाथ श्रेष्ठ

    ४. बिल्टु यादव

    धनुषा

    १. रामचन्द्र मण्डल

    २. उमाशंकर अग्रहरि

    ३. जुली महतो

    ४. रघुवीर महासेठ

    महोत्तरी

    १. लक्ष्मी महतो कोइरी

    २. रामपरिक्षण यादव

    ३. बाँकी

    ४. सरोज यादव

    सर्लाही

    १. बाँकी

    २. बाँकी

    ३. हरि उप्रेती

    रौतहट

    १. अजय गुप्ता

    २. शैलेन्द्र साह

    ३. कुन्दन कुशवाहा

    ४. रामजी शाह

    बारा

    १. अच्युत मैनाली

    २. बलवीर चौधरी

    ३. ज्वाला शाह

    ४. किसान श्रेष्ठ

    पर्सा

    १. बाँकी

    २. बाँकी

    ३. प्रमोद जैसवाल

    ४. जालिम मियाँ अन्सारी

    कोशी

    ताप्लेजुङ

    १. बाँकी

    पाँचथर

    १. ऐन्द्रसुन्दर नेम्वाङ

    इलाम

    १. काजिमान कागते

    २. सुहाङ नेम्वाङ

    झापा

    १. रामचन्द्र उप्रेती

    २. देवराज घिमिरे

    ३. बाँकी

    ४. बाँकी

    ५. केपी शर्मा ओली

    संखुवासभा

    १. डा. अर्जुन कार्की

    धनकुटा

    १. राजेन्द्र राई

    भोजपुर

    १ . शेरधन राई

    तेह्रथुम

    १. भानुभक्त ढकाल

    सुनसरी

    १. सूर्य पन्दाक

    २. बाँकी

    ३. बाँकी

    ४. भगवती चौधरी

    मोरङ

    १. घनश्याम खतिवडा

    २. दिलीप बगेडिया

    ३. दिलीप राई

    ४. जीवन घिमिरे

    ५. बाँकी

    ६. बाँकी

    सोलुखुम्बु

    १. कल्पना राई

    ओखलढुंगा

    १. अस्मिता थापा

    उदयपुर

    १. दुर्गा थापा स्वोती

    २. अमर रायमाझी

    खोटाङ

    १. देवविक्रम राई

  • एमालेको निर्णय : आगामी प्रधानमन्त्रीको उम्मेदवार केपी ओली

    एमालेको निर्णय : आगामी प्रधानमन्त्रीको उम्मेदवार केपी ओली

    ४ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए । ‘आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले पार्टीलाई पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेको दाबी पनि गरेका छन् । ‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ । जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्नेछ,’ उनले भने ।

  • झापा ५ मा ओली र बालेन भिडन्त पक्का

    झापा ५ मा ओली र बालेन भिडन्त पक्का

    ४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सो क्रममा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइएको उनले बताए ।

    झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारीबीच झापा–५ को चुनावलाई चासोका साथ हेरिएको छ । झापामा मेयर बालेनको सचिवालयका लागि घर नै लिएर चुनावी गतिविधि बाक्लो बन्दै गएको छ । दुबै दलले यस पटक यो क्षेत्रको जितलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

  • बर्लिन दूतावासले चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण गर्ने

    बर्लिन दूतावासले चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण गर्ने

    जर्मनी, माघ ३ गते । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ। गत नोभेम्बरमा चेक रिपब्लिकमा सञ्चालित घुम्ती सेवा शिविरमार्फत राहदानी बनाउन आवेदन दिएकाको तयार भएको राहदानी वितरण गर्न लागिएको दूतावासले सूचनामार्फत जनाएको छ। आगामी जनवरी २४ मा चेक रिपब्लिकको प्रागस्थित एभरेस्ट रेष्टुरेण्टमा १२ बजेदेखि ३ बजेसम्म राहदानी वितरण हुने सूचनामा उल्लेख छ। आफ्नो राहदानी संकलन गर्न आउँदा पुरानो (हाल प्रयोगमा रहेको) राहदानीसमेत लिएर आउन भनिएको छ।

    एनआरएनए चेक रिपब्लिकको सहयोगमा दूतावासले राजधानी प्रागमा गत नोभेम्बर २२ र २३ तारिख दुई दिने घुम्ती शिविर सञ्चालन गरेको थियो। बर्लिन दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले घुम्ती शिविरमा राहदानी बनाउन आवेदन दिएका चेक रिपब्लिकका १०३ जना नेपालीको राहदानी वितरण गर्न लागिएको जानकारी दिए । बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित, पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।

  • पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु

    पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु

    इस्लामाबाद, माघ ३ गते । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने अन्य व्यक्ति घाइते भएका छन् । उद्धार अधिकारीका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनीट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो । दुर्घटना स्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेलाई तत्काल नजिकका अस्पताल लगिएको थियो । उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक सङ्ख्या १४ पुगेको जनाइएको छ ।

    कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको बताइएको छ । सूचना प्राप्त हुना साथ रेस्क्यु टोली घटना स्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए । दुर्घटनामा महिला र बालबालिकासमेत परेको पुष्टि भएको छ । मृतक तथा घाइते सबै इस्लामाबादका बासिन्दा रहेको उद्धार अधिकारीले बताएका छन् । रासस-सिन्ह्वा