Category: समाचार

  • कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा

    कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु : नवनिर्वाचित सभापति थापा

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा आज नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे ।

    “जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ”, नवनिर्वाचित सभापति थापाले भने ।

    उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे । सभापति थापाले भने, “भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।”

    नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए । त्यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

  • नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

    नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

    “सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने । भापतिमा निर्वाचित भएपछि थापाले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेका थिए । यसपछि बाँकी निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

  • आइसिई हिरासतमा आप्रवासी मृत्यु बढ्दै

    आइसिई हिरासतमा आप्रवासी मृत्यु बढ्दै

    न्युयोर्क, १ माघ, (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वकालमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइसिई) का हिरासत केन्द्रहरूमा आप्रवासीहरूको मृत्यु बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । जनवरी ७ मा मिनियापोलिस, मिनेसोटामा प्रदर्शनकारी रेनी निकोल गुडमाथि भएको घातक गोलीकाण्डपछि आइसिईले प्रयोग गर्दै आएको टकरावपूर्ण रणनीति पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ ।

    तर आइसिईले आफैँ सार्वजनिक गरेको विवरणले अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका व्यक्तिहरूका लागि ती स्थानहरू अझै जोखिमपूर्ण र कहिलेकाहीँ घातकसमेत बन्ने गरेको देखाएको छ । एजेन्सीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२६ को सुरुआती केही दिनमै हिरासतमा रहेका धेरै व्यक्तिको मृत्यु भएको खुलासा गरिएको छ । यो अवस्था त्यही समयपछि आएको हो, जब सन् २०२५ मा आइसिई हिरासतमा आप्रवासी कैदीहरूको मृत्यु दुई दशककै उच्च स्तरमा पुगेको थियो र हिरासतमा राखिने व्यक्तिको सङ्ख्या तीव्र गतिमा बढेको थियो ।

    आइसिईको तथ्याङ्कअनुसार डिसेम्बर २०२५ को अन्त्यसम्म ६८ हजारभन्दा बढी वयस्कहरू आइसिई हिरासतमा थिए । यो सङ्ख्या डिसेम्बर २०२३ मा करिब ३६ हजार मात्रै रहेको थियो, जसले छोटो अवधिमै हिरासतमा रहेकाहरूको सङ्ख्या झन्डै दोब्बर भएको देखाउँछ ।

    सन् २०२६ को सुरुआतदेखि अहिलेसम्म आइसिईको हिरासतमा रहँदा कम्तीमा चार जनाको मृत्यु भइसकेको एजेन्सीले जनाएको छ । यी सबै मृत्यु वर्षको पहिलो १० दिनभित्र भएका हुन् । जनवरी ९ र १० को अवधिमा मात्र तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो । मृतकहरू सबै पुरुष थिए, जसको उमेर ४२ देखि ६८ वर्षबीच रहेको बताइएको छ । तीमध्ये दुई जना होन्डुरसका नागरिक, एक जना क्युबाली र एक जना कम्बोडियाली नागरिक थिए ।

    आइसिईका अनुसार दुई जनाको मृत्यु ‘मुटुसम्बन्धी स्वास्थ्य समस्या’ का कारण भएको थियो भने बाँकी दुई घटनाको स्पष्ट कारण उल्लेख गरिएको थिएन । पछिल्ला घटनामध्ये एउटा मात्रै ‘अनुसन्धान अन्तर्गत’ भनेर सूचीबद्ध गरिएको छ । सन् २०२५ लाई आइसिई हिरासतमा रहेका आप्रवासीहरूका लागि पछिल्ला २० वर्षकै सबैभन्दा घातक वर्षका रूपमा लिइएको छ । उक्त वर्ष अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका कम्तीमा ३० जनाको मृत्यु भएको थियो । यो सङ्ख्या सन् २००४ मा आइसिई स्थापना भएपछिको सबैभन्दा उच्च हो ।

    सन् २०२५ को मृत्यु सङ्ख्याले बाइडेन प्रशासनकाल ९सन् २०२१–२०२५० को सम्पूर्ण अवधिमा आइसिई हिरासतमा रेकर्ड गरिएका कुल मृत्यु सङ्ख्याभन्दा पनि बढी प्रतिनिधित्व गरेको छ । आइसिईका प्रतिवेदनहरूका आधारमा अमेरिकी अध्यागमन वकिल सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार ती चार वर्षमा हिरासतमा रहँदा जम्मा २६ जनाको मृत्यु भएको थियो ।

    बाह्य पर्यवेक्षक र मानवअधिकार संस्थाहरूले आइसिई हिरासत केन्द्रहरूमा बन्दीहरूले पाउने चिकित्सा उपचारको स्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकन सिभिल लिबर्टीज युनियन (एसिएलयु) ले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनमा आइसिई हिरासतमा भएका ९५ प्रतिशत मृत्यु उचित हेरचाह उपलब्ध गराइएको भए रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालिएको थियो ।

    उक्त प्रतिवेदन सार्वजनिक अभिलेख अनुरोधमार्फत प्राप्त हजारौँ पृष्ठ कागजातको अध्ययनका आधारमा तयार पारिएको थियो । यसमा सन् २०१७ देखि २०२१ को अवधिमा आइसिई हिरासतमा भएका मृत्युहरूको विस्तृत विश्लेषण गरिएको थियो । ती कागजातहरूको समीक्षा गर्ने चिकित्सा विज्ञहरूले गलत वा अनुपयुक्त उपचारका साथै अत्यधिक ढिलाइ भएको चिकित्सा सेवाका व्यापक प्रमाणहरू फेला पारेका थिए ।

  • थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    नाखोन रत्चासिमा, थाइल्यान्ड, ३० पुस (रासस–एएफपी) । थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको अधिकारीहरूले बताएका छन्। राजधानी बैङ्ककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताहरूले क्षतिग्रस्त रेलका डिब्बाहरूमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

    थाइल्यान्डमा कार्यरत सबैभन्दा ठूलो निर्माण फर्महरू मध्ये एक ‘इटालियन–थाई डेभलपमेन्टल कम्पनी’ ले दुर्घटनाग्रस्तस्थलमा उच्च गतिको रेलको खण्ड निर्माण गर्ने सम्झौता गरेको थियो । कम्पनीले हालैका वर्षहरूमा यसको निर्माणस्थलमा धेरै घातक दुर्घटनाहरू व्यहोरेको छ। कम्पनीले मृतक र दर्जनौँ घाइतेप्रति समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई क्षतिपूर्ति दिने र उपचार खर्च बेहोर्ने बताएको छ ।

    थाई स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझसम्ममा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना हराइरहेका छन् । घटनामा परी घाइते भएका ६४ जनालाई अस्पताल भर्ना गरिएको छ । दुई वटा ठूलो विस्फोटको आवाज सुनेपछि आफू घटनास्थलमा गएको र तीन डिब्बा भएको रेलमा क्रेन खसेको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले बताए ।

    “क्रेन खस्दा यसबाट निस्केको धातु रेलको दोस्रो डिब्बाको बीचमा ठोक्किएको र आधा टुक्रा भएको देखिन्छ,” ५४ वर्षीय उनले एएफपीलाई बताए । थाइल्यान्डमा उच्च गतिको रेल सञ्जाल निर्माण गर्न चीनले सहयोग गरेको पाँच अर्ब डलरभन्दा बढी लगानीको परियोजनाको हिस्सा रहेको निर्माण स्थलमा दुर्घटना भएको हो ।

    बेइजिङको विशाल बेल्ट एन्ड रोड पूर्वाधार पहलअन्तर्गत सन् २०२८ सम्ममा बैङ्ककलाई लाओस हुँदै चीनको कुनमिङसम्म जोड्ने लक्ष्य राखिएको छ ।
    परियोजनाका सल्लाहकार इन्जिनियरिङ परामर्शदाता थिराचोटे रुजिविफाटले एएफपीसँग भन्नुभयो, “क्रेन खस्नुमा इटालियन–थाई डेभलपमेन्ट जिम्मेवार रहेको बताउनुभयो ।”

    थाइल्यान्डको सरकारी रेल सञ्चालक निकायले १५ दिनभित्र सत्यतथ्य खोज गर्न समिति गठन गर्ने र ‘दोषीहरूलाई कानुनको पूर्ण दाएरामा ल्याइने बताएको छ। रेल सञ्चालकले अनुसन्धान पूरा नभएसम्म इटालियन–थाईलाई निर्माण कार्य रोक्न आदेश दिएको पनि बताएको छ।

  • निरन्तर कीर्तिमानी मूल्यमा सुनचाँदी

    निरन्तर कीर्तिमानी मूल्यमा सुनचाँदी

    काठमाडौँ, ३० पुसः स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।

    गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला रु चार हजार ९९० मा खरिदबिक्री भएको एक तोला चाँदी हिजो रु पाँच हजार १९५ मा किनबेच भएको थियो ।

    अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय

    रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय

    ३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सहकारी ठगीको मुद्दा भने यथावत् रहने भएको छ ।

    बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय कार्यालयले गरेको छ । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ । त्यसका साथै, रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ । तर, चितवन जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण कुनै पनि मुद्दा नचलेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय भएको छैन । सरकारको यो निर्णयको आलोचना भइरहेको छ ।

  • बालेनसँग महानगरमा भिडेका सुमन सायमी प्रचण्डको पार्टीमा समाहित

    बालेनसँग महानगरमा भिडेका सुमन सायमी प्रचण्डको पार्टीमा समाहित

    काठमाडौँ, ३० पुस । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच आज औपचारिक रूपमा पार्टी समायोजन भएको छ । यहाँ आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरे ।


    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय मुक्ति पार्टी नेपालसँगको समायोजनले विशेषगरी काठमाडौँ उपत्यकाका नागरिकका समस्या समाधानमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले काठमाडौँमा सुकुम्बासी, खोला किनारका पीडित, अव्यवस्थित बसोबास तथा सामाजिक–आर्थिक समस्याबाट ग्रसित नागरिकका पक्षमा सङ्घर्ष गर्दै आएका नेताहरू पार्टीमा समाहित हुनु सकारात्मक सङ्केत भएको बताए ।

    उनले भने, “काठमाडौँका सुकुम्बासी, खोला किनाराका पीडितलगायत थुप्रै नागरिकका समस्या समाधानका लागि अग्रसर रहेका नेताहरू र हाम्रो पार्टीबीच समायोजन भएको छ । अब हामी सङ्गठित रूपमा यहाँका नागरिकका समस्या समाधान गर्न सक्षम हुनेछौँ ।” पार्टीका सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए ।

    त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । उनले भावनात्मक निर्णय, भीडको दबाब वा क्षणिक स्टन्टभन्दा माथि उठेर आफूहरूले राजनीतिक निर्णय गरेको स्पष्ट पारे ।

    उनले भने, “हामी भावना, भीड वा स्टन्टका आधारमा होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितका आधारमा यहाँ आएका हौँ । जनताको मुक्ति हाम्रो मूल चाहना हो र त्यो लक्ष्य नेपाली कम्युनिष्ट पार्टीमार्फत मात्रै पूरा हुन सक्छ भन्ने विश्वासका साथ हामी यो समायोजनमा सहभागी भएका हौँ ।”

    कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता वामदेव गौतम, राजेन्द्र श्रेष्ठलगायत राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सायमी बालेनसँग महानगरमा भिडेका थिए ।

  • कांग्रेस विशेष महाधिवेशन : मतदान आजै, सभापतिमा गगन निर्विरोध

    कांग्रेस विशेष महाधिवेशन : मतदान आजै, सभापतिमा गगन निर्विरोध

    काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आजै राति मतदान हुने भएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले केहीबेर अगाडि एक सूचना जारी गरी मतदान राति ८ बजेदेखि सुरु हुन लागेको जानकारी दिएको हो ।


    निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले जानकारी दिए । पुनः नामावली प्रकाशन ५ः०५ बजेसम्म, उम्मेदवार मनोनयन दर्ता फिर्ता ५ः३५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ६ बजेसम्म र मतदान सुरु राति ८ बजेदेखि गरिने निर्वाचन समितिका संयोजक केसीले बताए ।


    पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् । सभापतिमा गगन थापाको मात्र उम्मेदवारी गरेको छ । महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरेको उम्मेदवारी परेको छ ।

  • विशेष महाधिवेशनले वैधानिकता पाउनेमा ढुक्क महामन्त्रीद्वय थापा र शर्मा

    विशेष महाधिवेशनले वैधानिकता पाउनेमा ढुक्क महामन्त्रीद्वय थापा र शर्मा

    काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने जिकिर गरे ।


    महामन्त्री थापाले भने, “विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको हो । हामी सत्यको पक्षमा उभिनुपर्छ । विशेष अधिवेशन समापनका विषयमा सम्वाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा कारवाहीको पत्र पठाइएको छ, त्यो गलत छ ।” युवाभावना अनुरूप अघि बढिरहेको नेपाली कांग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै उनले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाए ।


    उनले भने, “कांग्रेस कसैको निजी पार्टी होइन, आफूहरूलाई कारवाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारवाही गर्न पर्दैन ? केन्द्रिय कमिटी भङ्ग भएको छ, बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको यो विशेष महाधिवेशन आधिकारिक छ ।” महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहु¥याउन नपर्ने बताउँदै उनले कांग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलनमलिन र भ्रममा नपर्न सुझाव दिए ।


    महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचान आयोग, संविधान र पार्टीको विधानका आधारमा अहिले देखिएको विवादको समाधान निस्कने धारणा राखे । उनले पार्टीको आधिकारिक विशेष महाधिवेशन भएको र निर्वाचन प्रक्रिया अघि बढाइ सकेकाले उम्मेदवार भइसकेको व्यक्तिलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताए । सहमहामन्त्री फर्मूला अन्सारीले नेपाली कांग्रेस विशेष अधिवेशनको मूल कार्यदेश नेताको चयन र नीतिको तर्जूमा गर्ने भएको बताए ।

    उनले भने, “आदेश दिएर पार्टी चलाउने समय गयो, देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले पार्टीको माग हो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न सक्दैन ।” नेपाली कांग्रेसको कार्य समितिको आज सानेपामा बसेको बैठकले भने उनीहरु तीन जनालाई नै पार्टीको हित र अनुशासन विपरित कार्य गरेको भनी पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको जनाएको छ ।

  • कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही, फुट्यो काङ्ग्रेस

    कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही, फुट्यो काङ्ग्रेस

    पाटन (ललितपुर), ३० पुसः नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि निष्कासन गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप छ । बैठकबाट बाहिरिनेक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी पेस गरेको १५ औँ महाधिवेशनको कार्य तालिकासहित सबै निर्णयहरु पारित गरेको जानकारी दिए । यससँगै नेपाली कांग्रेस पार्टी निर्वाचनको मुखमै फुटेको छ । पार्टीको औपचारिकताको विवाद भने कायम नै छ ।

  • निर्वाचन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

    निर्वाचन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

    काठमाडौँ, ३० पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।
    बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।

    आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् ।

    नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० उम्मेदवार रहेका सहायक प्रवक्ता जिसीले बताए । उक्त पार्टी अन्य दलसँग एकता गरेकाले तयसअघि पेस भएका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएका उनको भनाइ छ ।

    यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार÷चार जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई÷दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

    संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक\एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।

  • कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचन

    कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचन

    काठमाडौँ, ३० पुस ः नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका अगाडि बढाएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनको काम आज बिहान ९.१५ बजेसम्मका लागि समय तोकेको छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

    पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

  • आजको मौसम : मधेशमा हुस्सु-कुहिरो, पहाडी भागमा आंशिक बादल

    आजको मौसम : मधेशमा हुस्सु-कुहिरो, पहाडी भागमा आंशिक बादल

    काठमाडौँ, ३० पुस : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुर कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • बुधबार बिहानका लागि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    बुधबार बिहानका लागि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    पाटन (ललितपुर), २९ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको भए पनि केही छलफल र तयारी आवश्यक भएकोले भोलिका लागि सारिएको उनले जानकारी दिए ।

  • बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

    बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

    काठमाडौँ, २९ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते सोमबार बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्म फिर्ता लिन सक्ने भनी निर्वाचन आयोगले सूचना प्रकाशित गरेको थियो । उक्त अवधिमा एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेद्वारले नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् ।

    नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० उम्मेदवार रहेको सहायक प्रवक्ता जिसीले बताए । उक्त पार्टी अन्य दलसँग मिलेकाले पेस भएका ११० जना उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएको जनाइएको छ । यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेकपा (एमाले) का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार÷चार जना उम्मेदवारले पनि नाम फिर्ता लिएका छन् । यस्तै, नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुई÷दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक-एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् ।

    यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक÷एक जना उम्मेदवारले नाम फिर्ता लिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।

  • कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीको प्रस्ताव पारित

    कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीको प्रस्ताव पारित

    काठमाडौँ, २९ पुसः नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पारित भएका छन् । सोमबारको बन्दसत्रमा महामन्त्री थापाले राख्नुभएको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राखेको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो ।

    सोमबारदेखि सुरु भएको बन्दसत्रमा सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिका छुट्टाछुट्टै नौ समूह बनाएर गहन छलफल गरी आज पारित गरिएको हो । आजै दिउँसोदेखि निर्वाचनका कामलाई समेत अगाडि बढाइएको छ । आज उम्मेदवारी दर्ता गरी बुधबार मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

  • भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा भारतीय लड्र्सलाई

    भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा भारतीय लड्र्सलाई

    चितवन, २९ पुसः यहाँस्थित चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिविसी) भारतीय चेन होटल लड्र्स इन होटल एन्ड रिसोर्टले व्यवस्थापन गर्ने भएको छ । यस सम्बन्धमा सोमबार साँझ दुई कम्पनीबीच सम्झौता भएको हो । यसबाट नेपालको पर्यटन व्यवसाय थप प्रवद्र्धन हुने जनाइएको छ । भरतपुर महानगरपालिका–१० विमानस्थल अगाडि रहेको सिविसी जिल्लाका अग्रणी व्यवसायीहरुको साझेदारीमा निर्माण गरिएको थियो । सिविसीका कार्यकारी अध्यक्ष दिनुप बराल र रिसोर्टका एसोसिएट भाइस प्रेसिडेन्ट शैलेज एन टेरीबीच सोमबार साँझ सम्झौता भएको हो ।

    सम्झौतासँगै लड्र्स सिविसी प्लाजाका नाममा होटल सञ्चालनमा आएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा टेरीले आफूहरुले भारतमा ७० , अमेरिकामा एक र नेपालमा योसहित तेस्रो होटलको व्यवस्थापन गरेको बताए । काठमाडौँ, नेपालगञ्जपछि भरतपुरमा आफूहरुले होटलको व्यवस्थापन सुरु गरेको बताए । यो आफ्नो समूहको ७४औँ होटल भएको भन्दै उनले नेपालको काठमाडौँमा थप एक र विराटनगरमा एक होटल व्यवस्थापन गर्न लागेको जानकारी दिए ।


    यस वर्ष लड्र्स ग्रुपले विभिन्न देशमा गरी थप १५ होटलको व्यवस्थापनको तयारी गरेको छ । उनले चेनमा चल्ने भएकाले विश्वबजारमा बजारीकरण गरेर पाहुना ल्याउने काममा लाग्ने बताए । यो समूहले तीन तारेदेखि पाँच तारे होटलको व्यवस्थापन गर्दै आएको छ । ७४ होटलमा तीन हजारभन्दा बढी कोठा रहेको र वार्षिक सरदर ५० प्रतिशतभन्दा बढी भरिने गरेको उनले जानकारी दिए ।

    सोही अवसरमा सिविसीका कार्यकारी अध्यक्ष बरालले होटल ‘लड्र्स’ सिबिसी प्लाजासँगै सपिङ स्टोर ‘सेल्सबेरी’ एउटै कम्प्लेक्समा सञ्चालनमा रहेको बताए । एक लाख सात हजार स्क्वायरफिटमा फैलिएको कम्प्लेकसमा यी सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तला रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको छ । उनले अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त विभिन्न देशमा चेन होटल सञ्चालन गरेका लड्र्ससँगको सहकार्यले व्यवसाय प्रवद्र्धन हुनेमा विश्वास व्यक्त गरे ।


    होटलमा ६० कोठा छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्वीट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा छन् । होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेका छन् । रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ । भवनको माथिल्लो तलामा स्विमिङ पुल छ । सम्झौतासँगै होटलको खानामा १० प्रतिशत र कोठाहरुमा २५ प्रतिशत छुट गरिएको छ ।

  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त, मन्त्रिपरिषद्का अन्य निर्णय के के

    प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त, मन्त्रिपरिषद्का अन्य निर्णय के के

    काठमाडौँ, २९ पुस । सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो । आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने कृषि विकाससम्बन्धी कार्यक्रममा भाग लिनका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गरेको जानकारी दिए ।


    त्यस्तै आगामी माघ २६ देखि फागुन १ गतेसम्म मेक्सिकोमा आयोजना हुने एएमएल÷सीएफटीको ‘प्लेनरी तथा वर्किङ ग्रुप’ बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई अनुमति दिएको छ । बैठकले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक’ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गरेको छ । सरकारले आगामी माघ ६ र ७ गते चीनको सिजाङ्ग (ल्हासा) मा आयोजना हुने नेपाल–चाइना कोअडिनेशनसम्बन्धी तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

    नेपाल न्याय सेवा, कानसुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका आठ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने सरकारको निर्णय छ । म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा आगामी माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधारलाई स्वीकृति दिएको छ ।

    सरकारले समस्याग्रस्त सङ्घसंस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा मधुकर राना (ललितपुर)लाई मनोनयन गरेको छ । आगामी माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने बालश्रमसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलाई स्वीकृति दिएको छ ।

    स्पेनको म्याड्रिडमा हुने अन्तरराष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको आगामी माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले जानकारी दिए । सरकारले इलामको फिक्कल, सोलुखुम्बुको सोताब, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्नेगरी मालपोत कार्यालय र नापी कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

    त्यसैगरी सरकारले आगामी माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको ‘सेक्सन अफ द एजेटिभ बोर्ड’मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटालाई सहभागी हुन स्वीकृति दिएको छ ।

  • विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

    विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

    काठमाडौँ, २९ पुसः अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गर्ना साथ श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले श्रीलङ्कामा त्यहाँको ‘ए’ टोली र भारतमा मुम्बई क्रिकेट एसोसिएनसनको टोलीसँग अभ्यास खेल खेल्नेछ ।

    नेपाली टोली हाल रुपन्देहीको ‘एक्स्ट्राटेक ओभल’मा अभ्यास गरिरहेको छ । नेपाली टोली सुरुमा श्रीलङ्का र त्यसपछि अन्तिम तयारी गर्न भारतको मुम्बईमा जानेछ । नेपाली टोली अर्को साता श्रीलङ्का जाने क्यानले जनाएको छ । करिब एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई फकिने क्यानले जनाएको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।

  • ‘कमजारी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार हुनुपर्छ’

    ‘कमजारी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार हुनुपर्छ’

    काठमाडौँ, २९ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य राजनीतिक दलहरूले आफ्ना कमीकमजारी सुधार गर्दै देशको समृद्धिका लागि एकाकार भएर लाग्नुपर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई थप एकताबद्ध, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नयाँ सङ्कल्पसहित पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याए । संयोजक दाहालले सबै प्रमुख राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतमा आफ्ना कमजोरीको मूल्याङ्कन गर्न जरुरी रहेकामा जोड दिए ।


    उनले भने, “सबै ठिकै चलिरहेको छ भन्नेगरी परम्परागत तरिकाले मात्रै देशमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण सङ्कटको अवस्थाबाट गुज्रेको छ, यसलाई थप एकताबद्ध, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि नितान्त नयाँ सङ्कल्पसहित पहलकदमी लिन जरूरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टी एकता प्रक्रियालाई अगाडि बढाएका छौँँ ।”

    संयोजक दाहालले देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्न नेपालको इतिहासमा पहिलोपटक एकैसाथ २० वटा कम्युनिष्ट र समाजवादी घटकलाई एकताबद्ध गर्न सफल भइएको उल्लेख गरे । पार्टी एकताको प्रक्रिया दिनप्रतिदिन झन शक्तिका साथ अगाडि बढिरहेको छ । खाली घटक सङ्गठन मात्रै होइन देशलाई माया गर्ने थुप्रै व्यक्ति व्यक्तित्वहरू पनि जोडिरहेका छन् । अब एकताको उद्देश्य र जेनजी पुस्ताले अगाडि सारेको सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त देश बनाउन सबै प्रतिबद्ध भएर लाग्ने छौँ ।” उनले भने ।

  • त्रिशूली किनारमा बालुवाले पुरिएको बस गत साल वेपत्ता गाडी भएको पुष्टी

    त्रिशूली किनारमा बालुवाले पुरिएको बस गत साल वेपत्ता गाडी भएको पुष्टी

    काठमाडौँ, २९ पुसः त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेँसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पाट्र्सपुर्जा फेला परेको हो । पाटपुर्जा देखिएको सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका थिए । गणपति डिलक्समा सवार ३१ जनामध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । सो मध्ये १४ जनाको शव फेला परेको थियो । अन्य हालसम्म बेपत्ता छन् ।

  • पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

    पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

    काठमाडौँ, २९ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताएका छन् । नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै उनले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पारे ।

    महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आँफैमा विद्रोह भएको धारणा राखे । “यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने । महामन्त्री थापाले पार्टीभित्र गुठ भन्दापनि गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्न जरूरी रहेको उल्लेख गरे । उनले बाहिरको हल्लाको पछि नलाग्नसमेत सबैलाई आग्रह गरे ।

    “अहिले बाहिर अनेक हल्ला चलाइएको छ, कोही भागबण्डाका लागि भनिएको छ, म हल्लाको पछि लागेको छैन, तपाईहरू पनि नलाग्नुस्”, उनले भने, “यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ । बाहिर हुने कुनै सहमतिलाई पनि यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ ।” महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनलाई उपलब्धिपूर्वक ढङ्गले टुङ्ग््याउनुपर्ने बताए ।

  • कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

    कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

    काठमाडौँ, २९ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार नेतृत्व चयन गर्ने भएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन निर्वाचन गरी नेतृत्व चयन गर्न लागेको स्पष्ट गरेको छ । पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।


    विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको थियो । निर्वाचन समितिका संयोजक केसीले मध्याह्न २ः०० देखि ३ः०० बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि छन् ।

  • अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

    अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

    मुस्ताङ, २९ पुस ः अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुसअगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए ।


    राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडकअन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी–छुसाङ) ९ दशमलव ८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी–छुसाङ सडक कालोपत्र गर्न आयोजनाले रु २८ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि यहाँको घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । यहाँ एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ ।

    यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । विसं २०७३÷७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब पाँच किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुसअगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो ।

    यसैगरी, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए ।

    सवइञ्जिनियर जोशीका अनुसार घरपझोङ–२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए । पुराना बहुवर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ ।

    मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्यअन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् ।

    लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए । “हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बँेसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,” अध्यक्ष गुरुङले भने, “चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वंय प्रभावित हुन्छन् ।”

    चिसोका कारण यहाँको घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । मुस्ताङमा चिसो अत्यधिक बढे पनि यहाँका तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् ।

  • रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    नारायणगढ (चितवन), २९ पुसः खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी छिन् ।

    विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आउनुभएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिएकी उनले भनिन्, “थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।”

    ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छिन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छिन् । चार–पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ ।


    चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोरेका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, “पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।”

    सानैदेखि पेन्टिङप्रति रुचि राख्नुभएकी चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् । क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् ।

    “आर्ट भनेको प्यासन हो”, उनले भनिन्, “यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।” यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छिन् । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छिन् । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ ।

    चौधरीले भनिन्, “खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।” सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ ।

  • कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

    कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी

    काठमाडौँ, २९ पुसः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्र पुनः जारी रहने जानकारी दिए ।

    उनले महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रियासमेत जारी रहने बताए । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ । महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ ।

  • नुवाकोटमा आठ हजार मतदाता बढे

    नुवाकोटमा आठ हजार मतदाता बढे

    त्रिशूली (नुवाकोट) २९ पुसः आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ मा एक लाख २३ हजार ९२९ तथा क्षेत्र नं २ मा एक लाख २३ हजार ९३९ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो ।

    कूल मतदातामध्ये महिला एक लाख १८ हजार ९७५, पुरुष एक लाख २८ हजार ८९० तथा तीन तेस्रोलिङ्गी रहेका निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि नुवाकोटमा १३२ निर्वाचन स्थलमा २९३ मतदान केन्द्र कायम गरिएका छन् । अघिल्लो चुनावभन्दा यस तीन मतदान केन्द्र बढाइएको छ ।

  • निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

    निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

    काठमाडौँ, २९ पुसः प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।

    आयोगका अनुसार, जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका तर्फबाट बन्द सूचीमा रहेका नाम फिर्ता लिइएको हो । जनता समाजवादी पार्टीको २१ जनाले नाम फिर्ता लिएका छन् भने जनमत पार्टीका तर्फबाट २० जनाले नाम फिर्ता लिएका छन् ।

    जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै एकता भएकाले बन्दसूची मिलाउनका लागि केहीको नाम फिर्ता लिएर नयाँ व्यवस्थापन गरिएको सो दलले जनाएको छ । अन्तिमसूची सार्वजनिक हुँदा केही सङ्ख्या थप हुनसक्ने आयोगले प्रष्ट पारेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । यही पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने व्यवस्था छ ।

  • इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

    दुबई, २९ पुस (रासस–एपी) । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन् । तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन् ।


    आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि साइबर आक्रमणदेखि लिएर प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पहरूबारे आफ्नो राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिए । “सेनाले सबै कुरा गहिराइमा हेरिरहेको छ र हामीसँग निकै बलिया विकल्पहरू छन्”, उनले भने । इरानले प्रतिशोध लिएमा ‘पहिल्यै कहिल्यै नदेखिएको स्तरको जवाफ’ दिने चेतावनी पनि उनले दिए । राष्ट्रपति ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ ।

    तर प्रदर्शनकारीमाथि भइरहेको दमन र मृतकको सङ्ख्या बढिरहेकाले बैठकअघि नै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । “इरान वार्ता गर्न चाहन्छ”, उनले भने । यद्यपि, उक्त बैठक प्रस्तावबारे इरानी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया आएको छैन । यसैबीच, क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको ठूलो तैनाथी र मध्यपूर्वको सुरक्षा अवस्था पनि ह्वाइट हाउसका लागि प्रमुख चिन्ताको विषय बनेको छ ।

    इरानले चेतावनी दिँदै यदि अमेरिकाले प्रदर्शनकारीहरूको नाममा हस्तक्षेप गर्‍यो भने अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ । मानव अधिकार कार्यकर्ताहरूका अनुसार पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ । इरानमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र एसोसिएटेड प्रेसले मृतक सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छैन ।

    विदेशमा रहेका विश्लेषकहरूका अनुसार सूचना अवरोधले सुरक्षा निकायभित्रका कठोर धारलाई थप बल मिलेको आशङ्का गरिएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म राजधानी तेहरान र दोस्रो ठूलो सहर मशहदसहित विभिन्न सहरमा ठूलो सङ्ख्यामा मानिसहरू सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमा आएका भिडियोहरूमा प्रदर्शनकारीहरूले मोबाइल फोनको उज्यालो देखाउँदै नारा लगाएको देखिन्छ ।

    इरानी संसद्मा पनि कडा अभिव्यक्ति आएका छन् । प्रभावशाली सांसद मोहम्मद बाघेर कालिबाफले इरानमाथि आक्रमण भएमा इजरायल र यस क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य केन्द्रहरू वैध लक्ष्य हुने चेतावनी दिए । संसद्मा ‘अमेरिका मूर्दावाद’ भन्ने नारा समेत लागेको राज्य सञ्चारमाध्यमले देखाएका छन् । मध्यपूर्वमा अमेरिकी सेनाले आफ्नो तथा सहयोगीहरूको सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । इजरायलले पनि अमेरिका–इरानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरानसम्बन्धी छलफल गरेका छन् ।


    भ्याटिकनमा पोप लियो चौधौँले इरानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै संवाद र शान्तिको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि प्रदर्शनकारीविरुद्धको हिंसाबाट ‘स्तब्ध’ भएको प्रतिक्रिया दिँदै इरानी अधिकारीहरूलाई संयम अपनाउन र सञ्चार सेवा पुनःस्थापना गर्न आग्रह गरेका छन् । डिसेम्बर २८ देखि सुरु भएको यो आन्दोलन इरानी रियालको तीव्र अवमूल्यन र अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्रको विरोधबाट सुरु भई अहिले इस्लामिक शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा रूपान्तरण भएको छ ।

  • बैतडीमा जिप दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    बैतडीमा जिप दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

    बैतडी, २८ पुसः जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप आज बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा परेर सिगास –१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परेर बैतडीको सिगास – १ बस्ने वर्ष १९ की बिमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका– ८ बस्ने वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका– १ बस्ने वर्ष २५ की लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते रहेका छन् । घाइतेको डडेल्धुरा अस्पताल उपचार भइरहेको छ ।