Category: समाचार

  • कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह

    कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह

    काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा उनले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेका हुन् ।


    कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन् । “अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

    उक्त निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थालाई पुनः सञ्चालन गर्नुपर्ने उनले बताए । यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य रहेको बताउँदै उहाँले कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएकाले सबैले आपसी समन्वयसहित एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याए । कांग्रेसले देशमा विषम् परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको कार्यवाहक सभापति खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


    “कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएकाले हाम्रो काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गएपछि विसं २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन गरी नेतृत्व सहज रूपले परिवर्तन गर्न सक्ने अवस्था सुनिश्चित छ । तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टीपङ्क्ति एकताबद्ध भई अभियानका रूपमा लाग्न आवश्यक छ”, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

  • राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

    काठमाडौं, २८ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ः०० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको रास्ट्रपतिको कार्यालयले जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवन जेन जी आन्दोलनमा जलेको छ । अब बैठक नयाँ संसद भवन सिंहदरबारमा बस्नेछ ।

  • कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

    कांग्रेस विशेष महाधिवेशनः मङ्गलबार निर्वाचन प्रक्रिया अगाडि बढाइने

    काठमाडौँ, २८ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्मका लागि लम्बिएको छ ।
    मङ्गलबार बिहान ९ः०० बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    काग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए । दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ ।

    “पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ”, संयोजक पोखरेलले भने । उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको र हालसम्म ६३ प्रतिशत पुगेको जानकारी दिए ।

  • नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

    नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

    काठमाडौँ, २८ पुस । नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको छ । आज दुई पार्टीबीच दुई बँुदे सहमति गर्दै पार्टी एकता भएको हो । लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको मुद्दालाई नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत टुङ्गो लगाउने सहमति भएको छ ।

    सहमतिपत्रमा भानिएको छ, “नेपाली कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद वैज्ञानिक समाजवादलाई स्वीकार गर्दै लिम्बुवानको पहिचानको मुद्दालाई उठाइरहेको पार्टी लिम्बुवान क्रान्तिकारी पार्टीबीचमा दुई बुँदाहरूमा एकता गर्ने सहमति गरियो ।” यसैगरी लिम्बुवान पार्टीका सबै तहका समितिलाई सम्मानका साथ उपयुक्त ढङ्गले समायोजन गर्ने पनि सहमति भएको छ । नेकपाले प्रचण्डको नेतृत्वमा कम्यूनिष्ट घटकहरुलाई जोड्दै बलियो गठबन्धन बनाएको छ ।

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

    काठमाडौँ, २८ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ ।

  • तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

    तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

    धुलिखेल, २८ पुसः काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ ।

    अहिले सो सडक खण्डअन्तर्गत रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने क्रममा रहेको छभने तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्यसका लागि बेस हाल्ने काम भइरहेको छ ।

    त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धाप र अन्य खण्डमा सडक नाली र पर्खाल निर्माण एवं कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने सडकमार्गका रूपमा अगाडि बढाएको यो योजनालाई डाँडापारि क्षेत्रका महाभारत र खानीखोलाका नागरिकलाई जिल्ला सदरमुकाम आवतजावत गर्ने उद्देश्यले अगाडि बढाइएको थियो ।

    पछि बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्नका लागि कठिन हुने गरेको अवस्थालाई मध्येनजर गरेर त्यहाँका नागरिकको जीवनयापन र जिल्ला तथा प्रदेश राजधानीसँग सडक सञ्जालले जोड्नका लागि सो सडकलाई थप अगाडि बढाइएको छ । अहिले सो सडकलाई प्रदेश सरकारले प्रादेशिक मार्गका रूपमा लिएर कामलाई तीव्रता दिएको छ ।

    पहिलोपटक ठेक्का आह्वान गरी काम थालिएको तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएको श्रेष्ठ÷सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्नेगरी काम थालिएको भए पनि निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा अलपत्र जस्तै अवस्थामा रहेको थियो । तर, अहिले पालिका र प्रदेश सरकारले निरन्तर दबाब दिएपछि पटकपटकको म्याद थप पश्चात् पछिल्लो समयमा कामलाई निरन्तर अगाडि बढाइरहेको छ ।

    श्रेष्ठ÷साक्षम जेभीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काम तीव्र गतिमा अगाडि बढिरहेको र आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने बताए । अहिले कालोपत्र गर्ने कामदार ३० र ड्रेन वाल लगाउने जनशक्ति ३५ जना निरन्तर खटाएर काम भइरहेको र समयमा नै सबै काम सम्पन्न गर्नेगरी खटिरहेको उनले बताए ।
    पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले अघिल्लो वर्षहरूको तुलनामा अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । समयमा नै काम सम्पन्न गर्नेगरी काम भइरहेको र गुणस्तरलाई ध्यान दिँदै काममा जोड दिएको उनको भनाइ छ । त्यस्तै रजबास–चारकिल्ल–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको कामले गति लिइरहेको छ ।

    निर्माण कम्पनीका सम्र्पक प्रबन्धक सुजन गिरीले करिब ९५ प्रतिशत स्ट्रक्चरको काम सम्पन्न भइसकेको बताए । १५ दशमलव ५ किलोमिटर सडकखण्डको काममा ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलानको काम भइरहेको छ । आगामी असारसम्ममा सम्पन्न गर्नुपर्ने कामका लागि करिब एक सय जना जनशक्ति खटाएर काम भइरहेको उनको भनाई छ ।


    महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोकको पिन्थलीबाट रजबास हुँदै चारकिल्ला, तीनखुट्टे, खोलाघारी देवीटार, घर्तिछाप, गोकुले भएर खानीखोलाको तालढुङ्गा र मकवानपुर जिल्लाको भोर्लेनी झुरझुरे भएर मदन भण्डारी लोकमार्ग जोड्ने करिब ८० किलोमिटर सडकको काम तीव्र गतिमा भइरहेको बताए । विभिन्न चरणमा ठेक्का भई नौ खण्डमा निर्माण कम्पनीहरूले ठेक्का सम्झौता गरेर निर्माण कार्य भइरहेको कामको करिब १८ किलोमिटरबाहेक अहिले अन्य खण्डमा भने काम निरन्तर भइरहेको उनले बताए ।


    बाँँकी खण्डहरू निरन्तर काम भइरहेको भए पनि काममा ढिलाइ भइरहेको तीनखुट्टे देवीटार खण्डको कामलाई निरन्तरका लागि दबाबबीच अहिले पछिल्लो समयमा छिटो गतिमा काम भइरहेको जनाएको छ । उहाँका अनुसार आगामी असारभित्रमा महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण भइसक्ने विश्वास लिएको छ ।

    त्यसका लागि पालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत कामको अनुगमन भइरहेको तथा स्थानीय बासिन्दालाई पनि कामको गुणस्तर र निरन्तरता दिन सम्बन्धित पक्षलाई सहयोग गर्ने र घच्घच्याउने काममा लाग्न आग्रह गरेको उनले बताए । सो क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ । जुन कार्य सम्पन्न भएपछि यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ । जसमध्ये केन्द्रीय विद्युतीकरण भने सम्पन्न भइसकेको छ ।

  • विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

    विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

    काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिनुभयो ।

    सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताए । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ ।

  • ढिक्री बनाउन व्यस्त थारू समुदाय

    ढिक्री बनाउन व्यस्त थारू समुदाय

    तुलसीपुर (दाङ), २८ पुसः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ ।उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । सुङ्गुरको मासु, माछा, घोँगीलगायतसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका प्रख्यात परिकार हुन् ।

    कसरी बनाइन्छ ढिक्री ?

    चामलको पीठोबाट ढिक्री बन्छ । चामलाई मुछेर त्यसलाई लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो आकार दिए पनि दसैँमा भने गोलो आकारको बनाइन्छ । त्यस्तै तिहारमा चेप्टो, दियो जस्तो बनाइन्छ । त्यसलाई पानीको बाफमा आधा घण्टा जति उसिनेपछि ढिक्री तयार हुन्छ । खासगरी उसिनेर ढिक्री बनाइने भएकाले त्यसले स्वास्थ्यमा असर गर्दैन । किनकि त्यसमा चिल्लो पनि हुँदैन भने चिनी पनि राखिँदैन । यसरी ढिक्री खाएमा मान्छेको आयु बढ्ने पौराणिक मान्यता रहेको छ ।

  • आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो

    आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो

    काठमाडौँ, २८ पुस । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ ।

    महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • १ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

    १ वर्ष अगाडी हराएको एक बस त्रिशूलीमा भेटियो, उत्खनन गरिँदै

    दमौली (तनहुँ), २८ पुसः तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

    उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताए । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    निर्वाचन ५२ दिन बाँकी : आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    काठमाडौँ, २८ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

    आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् ।

    कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।

  • ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

    ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

    संगीता राई–रासस
    धरान (सुनसरी), २८ पुसः ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ ।

    ऐतिहासिक गढीको सम्बन्ध र भुमिकालाई जोड्दै आयोजना गरिएको यस कार्यक्रम महत्वपूर्ण रहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले बताए । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ”, उनले भने, “इतिहासमा हाम्रा अग्रजले कहाँ कसरी लडे, कसरी किल्ला खडा गरे र ती किल्लाको महत्व तथा भुमिका के थियो भन्ने कुरा पुनः स्मरण गर्ने अवसर यो कार्यक्रमले दिएको छ ।”

    संक्षिप्त इतिहास
    धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गर्ने क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोगमा ल्याएका थिए । कोशी प्रदेशमा पनि यी मार्ग र किल्ला महत्वपूर्ण रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।

    विशेषगरी पूर्वमा हतुवागढी–भोजपुर, साँगुरीगढी–धनकुटा, विजयपुरगढी–सुनसरी, हेदङ्गनागढी–संखुवासभा, चौदण्डिगढी–उदयपुर, चन्द्रगढी–झापा र गढीथुम्का–इलामजस्ता मुख्य गढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छन् । विजयपुरगढी क्षेत्र तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरको रूपमा विसं १७२७ मा स्वतन्त्र भएको थियो । त्यसभन्दा पहिले यो क्षेत्र मकवानपुरको सेन राज्यको अधीनमा थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए र तत्कालिन समयमा लालकोट, माथिल्लोकोट, तल्लोकोट र साँगुरीगढीजस्ता बलिया किल्ला÷गढी यहाँ अवस्थित थिए । विजयपुर त्यतिबेला पूर्वीक्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्र थियो र यहाँबाट सिक्किमसम्मको प्रशासन सञ्चालन हुने गरेको थियो ।

    नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले किरात राज्यमाथि आक्रमण गर्न सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात क्षेत्रका राजा कर्ण सेनमाथि विजय हासिल गरेका थिए । त्यसपछि विजयपुर क्षेत्र नेपालमा समाहित भयो र पूर्वीसीमासम्म गोर्खाली विजय अभियान अघि बढेको बताइन्छ ।

    विजयपुरगढी–साँगुरीगढी पदयात्रा सेनाले बर्सेनी आयोजना गर्दै आएको छ । साँगुरीगढीको ऐतिहासिक स्थलसँगै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । “पुराना गढी र किल्लाको संरक्षण, पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनासँग मिलेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ”, उनले भने, “यस वर्षको कार्यक्रम विशेषगरी धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक महत्वलाई जोडेर आयोजना गरिएको छ । गत वर्षसम्म साँगुरीगढी ‘रन’ कार्यक्रमको रूपमा मात्र सञ्चालन हुँदै आएको भए पनि यस वर्ष धरानको विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण दौड आयोजना गरिएको छ ।”

    विजयपुरगढी र साँगुरीगढीबीचको ऐतिहासिक सम्बन्ध उजागर गर्दै, भविष्यमा यी स्थललाई पर्यटनका लागि प्रवद्र्धन गर्ने, गढी–किल्लाको संरक्षण सुनिश्चित गर्ने र स्थानीय ऐतिहासिक भूक्षेत्रको महत्व स्थापित गर्ने अवसर प्रदान हुने विश्वास लिइएको छ । पदयात्राले केवल ऐतिहासिकस्थलको स्मरण मात्र नभएर राष्ट्रिय एकता र देशप्रेम प्रवद्र्धन गर्ने काम गर्नुका साथै आगामी पुस्तामा इतिहासप्रतिको चेतना जगाउने सेनाको भनाइ छ ।

    पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष) र १० किलोमिटर दौड (पुरुष÷महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।

    दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु २५ हजार रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

    हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वीपृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ ।

    कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो ।

  • अल्पायुमै अस्ताए प्रशान्त….

    अल्पायुमै अस्ताए प्रशान्त….

    काठमाडौँ, २८ पुस । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने । नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थियो गायक तामाङ । उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ ।

    गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग जोडिएका थिए । नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताए । उनले ती दिन स्मरण गर्दै भने, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम ग¥यौँ । हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उनलाई जिताउन खर्च गर्न थाल्यौँ ।”

    उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए । तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए । दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराएका थिए ।

    “विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनु पर्छ भनेर मैले पहिलो पटक पाश्र्व गायनमा ल्याएँ । उहाँको सरलता देखेर म छक्क परेको थिएँ । विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भुत थियो । उनमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएँन”, निर्देशक श्रेष्ठले उहाँको स्मरण गर्दै भने ।

    पछि तामाङ अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिए । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाएका गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे । गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो।

    अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायक भन्दा पनि अभिनेताको रुपमा अगाडि बढाए । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा थिए ।


    सोही क्रममा दिल्लीमा रहेका उनको निधन भयो । कोभिड १९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थालेका थिए । निर्माता घतानीका अनुसार उनी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्थे । श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनको थियो ।


    “आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्थे । छोरीमा उनले आमाको प्रतिविम्व देख्ने गरेको बताउँथे’, निर्माता घतानीले भने । कोभिड १९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयम् कोभिडको बिरामी थिए । आफ्नो आमाको अन्त्येष्टीमा सहभागी हुन नपाएको पिडा उनको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाइ समय दिने उनको स्वभाव थियो । उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका हुन् । सन् २०२२ मा उनको छोरी जन्मिएकी हुन् ।


    उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उनकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् । नेपाली भाषाको गीत सङ्गीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल तामाङलाई हरेक नेपालीले सधैँ सम्झिरहने छन् ।

  • राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री उपस्थित

    राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री उपस्थित

    काठमाडौँ, २७ पुस । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी भएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन् ।

    प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवालगायतको उपस्थिति थियो ।

  • सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

    सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

    काठमाडौँ, २७ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आगोगले आज सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूवाट यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूलाई जानकारी गराएको छ ।

    हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगमा सोमबा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ । साथै बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

  • कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

    कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सोमबार बिहान ८ बजेदेखि

    काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिइन् ।

    बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ । बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताए । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।

  • कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

    कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि, बहुमत कट्यो

    काठमाडौँ, २७ पुसः काठमाडौँको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज आठ ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

    उनका अनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भातृ, भेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ ।

  • चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

    चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

    काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।”

    महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताए । “कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” उनले भने । कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताए ।

  • नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

    नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

    काठमाडौँ २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गरे । महामन्त्री शर्माले भने, “आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।”

    उनले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताए । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो । उनले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए ।

  • विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

    विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

    काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने बताए ।

    उनले भने, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।”

    पार्टीभित्रको सत्ता सङ्घर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यताको सङ्घर्ष भएको जनाउँदै महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा हजारौँ नरनारी सडकमा आएर आक्रोश र असन्तुष्टि व्यक्त गरेको पक्षलाई मनन गर्न आवश्यक रहेको बताए । उनले मुलुकमा त्यत्रो घटना भइसकेपछि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अनदेखा र सामान्य घटनाका रूपमा लिन नमिल्ल्ने बताए ।

    उनले कांग्रेस लास र दासहरुको पार्टी नभएको समेत बताए । महामन्त्री थापाले यो विशेष महानिधवेशनलाई नाम जस्तै विशेष बनाएर टुङ्ग्याउनुपर्ने बताउँदै आफूहरूले अधिवेशनको उद्घाटन पार्टी सभापतिले गरेको र कार्यवाहक उपसभापति उपस्थित भएको हेर्न चाहे पनि त्यो हुन नसकेको बताए ।
    कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय समस्याको हल खोज्ने र समाधान गर्ने जिम्मेवारी पार्टीको भएको बताउँदै उहाँले कांग्रेसले विगतदेखि नै त्यही कार्य गर्दै आएको स्मरण गरे । महामन्त्री थापाले पार्टीका लागि निर्वाचन मात्र ठूलो कुरा नभएकाले त्यसभन्दा फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताए ।

    उनले भने, “नागरिकमा भरोसा जोगाउनु छ, कांग्रेसले नै २००७ सालदेखि नडगमगाइ जनतामा विश्वास जगाइरहन सफल भएको इतिहास छ । अहिलेको नवयुवामा आशा जगाइराख्न युवालाई मुलुकमै बसिराख्ने तथा कामका लागि विदेशिनुपर्ने बाध्यता हटाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । अब भरोसा दिलाउने काम हाम्रो हो । हामी दिलाउछौँ ।” महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिले गरेको निर्णय आफूले मन्ने बताउँदै विधानअनुसार महाधिवेशनभन्दा ठूलो कोही नभएको स्पष्ट पारे ।

  • ड्रोन विवादले कोरियाली तनाव उत्कर्षमा

    ड्रोन विवादले कोरियाली तनाव उत्कर्षमा

    सियोल, २७ पुस (रासस–एपी) । उत्तर कोरियाले दक्षिण कोरियामाथि सीमा पार गरी ड्रोन उडाएको गम्भीर आरोप लगाउँदै त्यसको ‘कडा जवाफ’ दिने चेतावनी दिएको छ । शनिबार उत्तर कोरियाली सेनाले जारी गरेको विज्ञप्तिमा दक्षिण कोरियाले गरेको भनिएको ड्रोन घुसपैठलाई ‘अक्षम्य उन्माद’ को संज्ञा दिँदै त्यसको परिणाम अवश्य भोग्नुपर्ने बताइएको छ । दक्षिण कोरियाले भने यी सबै आरोप तुरुन्तै अस्वीकार गरेको छ ।

    उत्तर कोरियाको कोरियाली पिपुल्स आर्मीका जनरल स्टाफले राज्य सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार आइतबार उत्तर कोरियाको सीमावर्ती सहरमाथि उडिरहेको एक दक्षिण कोरियाली ड्रोनलाई विशेष इलेक्ट्रोनिक युद्ध प्रविधि प्रयोग गरी खसालिएको थियो । उक्त ड्रोनमा दुईवटा क्यामेरा जडान गरिएको र ती क्यामेराले उत्तर कोरियाका अनिर्दिष्ट क्षेत्रहरूको तस्बिर खिचिरहेको दाबी गरिएको छ ।

    विज्ञप्तिमा उत्तर कोरियाले इलेक्ट्रोनिक आक्रमणपछि पनि सेप्टेम्बर २७ मा अर्को दक्षिण कोरियाली ड्रोन उत्तर कोरियाको हवाई क्षेत्रमा घुसपैठ गरेको आरोप लगाएको छ । अधिकारीहरूले उक्त ड्रोनबाट उत्तर कोरियाका ‘महत्त्वपूर्ण वस्तुहरू’ सम्बन्धी भिडियो डाटा फेला परेको दाबी पनि गरेका छन् । “हाम्रो सार्वभौमसत्तामाथि गुण्डाहरूले पटक–पटक गरेको अपमानजनक अतिक्रमण र खुला उत्तेजक कार्यहरूको हामी कडा निन्दा गर्दछौँ”, उत्तर कोरियाले जनाएको छ । विज्ञप्तिमा दक्षिण कोरियालाई आधिकारिक नाम गणतन्त्र कोरिया (आरओके) उल्लेख गर्दै ‘आरओकेका सैन्य युद्धोन्मादीहरू आफ्ना अक्षम्य उन्मादका लागि निश्चित रूपमा महँगो मूल्य तिर्न बाध्य हुनेछन्’ भन्ने चेतावनी दिइएको छ ।

    दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने उत्तर कोरियाले दाबी गरेको समयमा वा स्थानमा कुनै पनि दक्षिण कोरियाली ड्रोन सञ्चालन नगरिएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार उत्तर कोरियाले उल्लेख गरेको ड्रोनको प्रकार पनि दक्षिण कोरियाको सेनाले प्रयोग गर्ने ड्रोनसँग मेल खाँदैन ।

    दक्षिण कोरियाली रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी किम होङ–चियोलले उत्तर कोरियामा फेला परेका ड्रोनहरू सर्वसाधारणले उडाएका हुन् कि होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । उनले दक्षिण कोरियाको तर्फबाट उत्तर कोरियालाई उक्साउने कुनै उद्देश्य नरहेको र कोरियाली प्रायद्वीपमा विश्वास निर्माण गर्ने प्रयासहरू निरन्तर जारी रहनेसमेत स्पष्ट पारेका छन् ।


    यो घटनाक्रमले दक्षिण कोरियाको वर्तमान उदार सरकारद्वारा उत्तर कोरियासँग सम्बन्ध सुधार्ने प्रयासलाई थप जटिल बनाउने देखिएको छ । जुन महिनामा पदभार ग्रहण गरेका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न र दीर्घकालीन शत्रुतालाई कम गर्न सक्रिय पहल गर्दै आएका छन् । तर उत्तर कोरियाले उनका प्रस्तावहरूलाई हालसम्म दृढतापूर्वक अस्वीकार गर्दै आएको छ ।

    राष्ट्रपति लीले हालै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर भेटमा दुई कोरियाबीचको वैमनस्य कम गर्न चीनलाई मध्यस्थकर्ताको भूमिकामा सहयोग गर्न आग्रह गरेका थिए । राष्ट्रपति सीले भने धैर्य र संयम अपनाउनुपर्ने सुझाव दिएको बताइएको छ ।

    उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय आणविक कूटनीति असफल भएपछि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको संवाद प्रायः त्यागेको छ । त्यसयता उत्तर कोरियाले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई अझ शक्तिशाली बनाउने दिशामा ध्यान केन्द्रित गर्दै आएको छ । साथै, उसले दक्षिण कोरियासँगको सम्बन्ध समाप्त भएको घोषणा गर्दै कोरियाली प्रायद्वीपमा शत्रुतापूर्ण ‘दुई–राज्य’ प्रणालीको अवधारणा अघि सारेको छ ।

    ड्रोन उडानको विषय पछिल्ला वर्षहरूमा दुई कोरियाबीचको निरन्तर विवादको स्रोत बनेको छ । दुवै पक्षले एकअर्कामाथि आ–आफ्नो क्षेत्रमा ड्रोन पठाएको आरोप लगाउँदै आएका छन् । सन् २०२४ को अक्टोबरमा उत्तर कोरियाले दक्षिण कोरियाले आफ्नो राजधानी प्योङयाङमाथि प्रचार सामग्री खसाल्न तीन पटक ड्रोन उडाएको आरोप लगाएको थियो । दक्षिण कोरियाली सेनाले भने त्यसबेला ती दाबी पुष्टि गर्न नसक्ने बताएको थियो ।

    त्यस घटनापछि उत्तर कोरियाले बल प्रयोग गर्ने धम्की दिएसँगै तनाव तीव्र बनेको थियो, यद्यपि दुवै पक्षले कुनै ठूला सैन्य कारबाही नगरेपछि स्थिति क्रमशः शान्त भएको थियो । अर्कोतर्फ, दक्षिण कोरियाले पनि उत्तर कोरियाले कहिलेकाहीँ आफ्नो क्षेत्रमा ड्रोन उडाउने गरेको आरोप लगाउँदै आएको छ ।


    डिसेम्बर २०२२ मा दक्षिण कोरियाले पाँच वर्षपछि पहिलो पटक उत्तर कोरियाली ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको प्रतिक्रिया स्वरूप चेतावनी गोली चलाएको, लडाकु जेट र निगरानी ड्रोन परिचालन गरेको घोषणा गरेको थियो । हालको ड्रोन विवादले पुनः एक पटक कोरियाली प्रायद्वीपमा बढ्दो अविश्वास र तनावलाई उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।

  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    काठमाडौँ, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन् । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उनको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरे ।


    मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

  • चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

    चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

    रासस

    काठमाडौँ, २७ पुस । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेर उनलाई स्मरण गरे ।

    सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने काठमाडौँको चन्द्रागिरि डाँडामा पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेर श्रद्धाभाव प्रकट गरे ।

    शनिबार थर्डपोल ग्रुपद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा डा दिनेशराज पन्तले पृथ्वीनारायण शाहले यही डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको इतिहास सुनाए । चन्द्रागिरि डाँडा नेपाल एकीकरणको अभियानसँगै जोडिएर आउने एक ऐतिहासिक स्थल रहेको बताउँदै उनले नेपाल र नेपालीको पहिचान दिलाउने एक वीर योद्धा तथा राष्ट्र निर्माताका रूपमा पृथ्वीनारायण शाहको स्मरण गरे ।
    वरिष्ठ कवि एवं गीतकार एसपी कोइराला ‘चिरेर हेर यो मेरो छाती’ शीर्षकको कवितामा लेख्छन् :

    चिरेर हेर यो मेरो छाती झण्डाले बनेको ।
    उठेर हेर अलिक माथि माटोले भनेको ।।

    उनले नेपालका पुर्खाले यो देशका लागि गरेको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले पनि भोलिका लागि केही गरेर नाम राख्नुपर्ने धारणा राखे । नेपालीपन राष्ट्र र राष्ट्रियताका लागि अब केही गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

    अर्का वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी आफ्नो कवितामा लेख्छन्,

    तराई हो अन्नबाली पहाड हो पानी ।
    अन्न पानीजस्तै मिली बाँच्नुपर्छ हामी ।।

    पृथ्वीनारायण शाहले नेपाली भूभागको एकीकरण गरी सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेको प्रसङ्ग उनले कवितामा प्रस्तुत गरेका छन् । आफ्नो देशप्रेमलाई उनी यसरी व्यक्त गर्छन् ः

    सक्छौ त माया गर यो देशलाई ।
    सक्दैनौ बिन्ती गाली नगरिदेऊ ।।
    शिरमा छ देशको असङ्ख्य पीडा ।
    रिसले जीउमा काँडा नकोरिदेऊ ।।

    यसैगरी अर्का वरिष्ठ कवि डा राजुबाबु श्रेष्ठ आफ्नो कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गर्दै लेख्छन्,

    उसैले कोरेको हो खुकुरीले बैरीहरूको गर्धन छप्काएर
    यो देशको गाढा सीमा रेखा
    उसैले सिर्जेको हो
    टुक्राटुक्रा जोडेर
    एउटा सिङ्गो सार्वभौम यो देश
    उसैले बनाएको हो
    गुमनाम यो देशको सुकिलो पहिचान ।

    यो राष्ट्रको निर्माण पृथ्वीनारायण शाहले गरेको इतिहासको व्याख्या गर्दै कवि श्रेष्ठले तर उनैको सालिक ढाल्न उद्धत रहेकोप्रति दुःख पोख्छन् ।
    ‘मानचित्रमा उभिएर’ शीर्षकको कवितामा कवि मणि लोहनीले हामी सबै नेपालीले पुज्ने मन्दिर, हामीले बुद्ध भेटेको गुम्बा, हामीले भाक्ने देउराली होस् या हामीले प्रार्थना गर्ने मस्जिद या चर्च एउटै भएको राष्ट्रिय एकताको भाव प्रस्तुत गर्छन् । वर्तमान नेपाल पृथ्वीनारायण शाहले भनेकै चार जात छत्तीस वर्णको फूलबारीजस्तै रहेको उनको काव्य भाव थियो ।

    यस्तै राष्ट्रप्रेमका भावनाहरू कवि हेम प्रभासको ‘अब म पनि घर जान्छु’, नारायण निराशीको ‘आफ्नो सुरक्षा गर’ र एलिसा ढुङ्गानाको ‘रिसको विपक्षमा’ शीर्षकका कविताहरूमा पोखिएका छन् ।

    त्यसैगरी, प्रभाती किरणको ‘स्वाभिमान’, प्रधुम्न जोशीको ‘कस्तो होला भगवान्को घर’, कृष्ण बञ्जाडेको ‘मेरो अपूरो रहर’, दिनेश परियारको ‘बिषे नगर्चीको सम्झना’ र अनिता कोइरालाको ‘मानवताको मलामी बन्न सक्दिन’ शीर्षकका कवितामा पनि राष्ट्र र राष्ट्रियताको महत्वका साथै मुलुकको वर्तमान विषम परिस्थिति र राजनीतिक विसङ्गतिका बारेमा प्रशस्त मात्रामा उल्लेख गरिएको छ ।

    सर्जकहरूले चार किल्ला तोडेर सुनौला सपना देख्ने र सयौँ फूल जोडेर राष्ट्रिय एकताको माला उन्ने वीर पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाललाई धर्तीकै स्वर्गको एक देशका रूपमा तुलना गरेका छन् ।

    चन्द्रागिरि डाँडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा बर्सेनि राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । कार्यक्रममा चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक शर्मा पौडेलले देशका विभिन्न स्थानमा सालिक ढालिरहेको अवस्थामा नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको स्मरण गराए ।

  • ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    अमरगढी (डडेल्धुरा), २७पुस । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा परी दुवै जना घाइते भएको र घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

    जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताए । परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट फरार छन् । उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

    आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

    काठमाडौँ, २७ पुसः आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

    पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

    नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअ¬ड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । उनले २० वर्षको उमेरमा गद्दीआरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए ।


    यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ । यो दिवसमा व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ । युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व छ ।

    शाहको एकीकरण अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यत्तिकै समयसान्दर्भिक छन् ।

    भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाँले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न दलका नेता र राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिएका छन् ।

  • कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टीको भविश्य तय हुँदै

    कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टीको भविश्य तय हुँदै

    काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ ।

    उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।


    उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ ।

    विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसक्नुभएको आयोजक समितिले जनाएको छ । सहभागी प्रतिनिधिको नाम दर्ता अहिले बिहान ८ः०० बजेदेखि कार्यक्रमस्थल भृकुटीमण्डप मूल ढोकासँगैको प्रदर्शनकक्षहरूबाट हुने व्यस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

    त्यसैगरी, महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ ।

    विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेको छैन ।

    विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ

    महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्तिमार्फत विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।


    महाधिवेशन प्रतिनिधिहरूले ‘बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको’ भनी विशेष कारणसहित निवेदन दर्ता गरेको विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय भएको उनीहरुको भनाइ छ ।

    महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरु कटिबद्ध एवं प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । महाधिवेशनलाई पार्टीको संस्थापन पक्षले असहमति जनाएको बताइएको छ ।

  • कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

    कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

    १२ दिन अगाडी एक भएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय उज्यालो पार्टीबीचको एकता भंग भएको छ । राष्ट्रिय उज्यालो पार्टीको अध्यक्ष बनेका कुलमान घिसिङले यो एकता एकतर्फी रुपमा रास्वपाको तर्फबाट भंग गरी आफुलाई जानकारी गराइएको जानकारी दिए । यस क्षणमा आफु दुखि भएको समेत उनको प्रतिक्रिया छ । रास्वपासँगको एकता भंगभएपछि उनले पत्रकार सम्मेलन गर्दै यस प्रक्रियाबारे जानकारी गराएका हुन् ।

    रास्वपाका तर्फबाट पदको बार्गेनिङ गरेको भन्दै मिडियाबाजी गरिएकोमा समेत उनको आपत्ति छ । ‘मैले म साधारण सदस्य नै रहेर बस्छु, भनेको थिए, रास्वपाका तर्फबाट एकतर्फी एकता भंग गरिएको जानकारी मलाई दिइयो,’ उनले भने । रास्वपासँग एकता गरेपछिका १२ दिन निकै पिडादायी रहेको समेत उनले सुनाए । यसबीचमा रास्वपाको तर्फबाट उज्यालो नेपाल पार्टीको गतिमा ब्रेक लगाउने मात्र काम भएको भन्दै उनले अब एक पटक मुलुकको सेवा गर्ने अवसर दिन आह्वान समेत गरे ।

  • अब उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान, आजै पत्रकार सम्मेलन

    अब उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान, आजै पत्रकार सम्मेलन

    २६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । यससँगै आज पार्टीले पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने भएको छ । पार्टीले ६ बजे पत्रकार सम्मेलनको जानकारी दिएको छ । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्षमा कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय थिए ।

  • रास्वपा र कुलमानको एकता भाँडियो, रास्वपा सचिवालयको आकस्मिक बैठक

    रास्वपा र कुलमानको एकता भाँडियो, रास्वपा सचिवालयको आकस्मिक बैठक

    काठमाडौँ, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ ।

    पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताए । “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ, सोही विषयमा सचिवालय बैठकमा छलफल हुनेछ”, उनले भने । यससँगै दुई पार्टीबीचको एकता भाँडिएको छ । अब कुलमान एक्लै आफ्नो राजनीतिक अभियान अगाडी बढाउने तयारीमा होमिएका छन् ।

  • युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

    मस्को, २६ पुस (रासस–एपी) । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो ।

    मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको हो । तर युक्रेनले उक्त आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनको निवासमाथि युक्रेनी आक्रमण भएको भन्ने रुसी दाबीलाई सार्वजनिक रूपमा नकारेका छन् ।


    रुसी पक्षका अनुसार ओरेसनिक ब्यालेस्टिक मिसाइलसँगै अन्य भूमि र समुद्रबाट प्रक्षेपण गरिने मिसाइलहरू प्रयोग गरी युक्रेनका ऊर्जा तथा रणनीतिक पूर्वाधारमाथि आक्रमण गरिएको थियो । शुक्रबार राति भएको ड्रोन र मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

    युक्रेनको पश्चिमी सहर लिभिभको महत्त्वपूर्ण पूर्वाधारमा अज्ञात प्रकारको ब्यालेस्टिक मिसाइल प्रहार भएको मेयर एन्ड्री सडोभीले जानकारी दिनुभएको छ । युक्रेनी वायु सेनाको पश्चिमी कमान्डका अनुसार उक्त मिसाइलले करिब १३ हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा यात्रा गरेको थियो र यसको प्राविधिक विशेषतामाथि अनुसन्धान भइरहेको छ ।

    मृतकमध्ये एक जना आपतकालीन स्वास्थ्यकर्मी रहेको किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताए । आक्रमण स्थलमा उद्धार कार्य गरिरहेका पाँच जना उद्धारकर्मी घाइते भएको युक्रेनको सुरक्षा सेवाले जनाएको छ । आक्रमणका कारण राजधानी किएभका विभिन्न जिल्लामा क्षति पुगेको छ । देस्न्यान्स्की जिल्लामा एउटा ड्रोन बहुतले भवनको छतमा खस्दा क्षति पुगेको छ भने सोही जिल्लाको अर्को स्थानमा आवासीय भवनका तल्ला क्षतिग्रस्त भएका छन् । डिनिप्रो जिल्लामा ड्रोनका टुक्रा खस्दा बहुतले भवनमा आगलागी भएको जनाइएको छ ।

    किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणपछि राजधानीका केही क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले चिसो मौसमको फाइदा उठाउँदै ठूलो मात्रामा आक्रमण गर्न सक्ने चेतावनी दिएको केही घण्टामै यो हमला भएको हो । उनले हिउँले ढाकिएका सडक र प्रतिकूल मौसमलाई लक्ष्य बनाउँदै रुसले जनजीवन थप कष्टकर बनाउन खोजेको आरोप लगाए ।