Category: समाचार

  • बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

    ३ माघ, काठमाडौं । बर्दियामा विद्युतीय भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गत राति करिब १० बजे मधुवन नगरपालिका वडा नं ४ गमक्कामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहीपुर बस्ने २१ वर्षीय सुशीलकुमार थारू र २५ वर्षीय करण थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।

    मधुवन नगरपालिका वडा नं ४ गमक्कास्थित ओराली बजारदेखि ढोढरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०३२ च ७५५३ नम्बरको विद्युतीय भ्यान विपरित दिशाबाट आएको भे ११ प १९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना लगत्तै प्रहरीले उद्धार गरि बर्दिया अस्पताल पुर्याएको थियो । घाइते दुबैको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । विद्युतीय भ्यान र चालक बिक्रम बोहोरालाई प्रहरीले नियन्त्रणमा राखेको छ भने मृत्यु भएका दुवैजनाको शव बर्दिया अस्पतालमा राखिएको छ ।

  • देउवा नेतृत्वको कांग्रेसको कार्य समिति बैठक आज बस्दै

    देउवा नेतृत्वको कांग्रेसको कार्य समिति बैठक आज बस्दै

    पाटन (ललितपुर), माघ ३ गते । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

    उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि आगामी रणनीतिबारे छलफल गर्न सो बैठक डाकिएको हो ।

  • आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

    आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

    काठमाडौँ, माघ ३ गते । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ ।

    योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्राविधिक समिति बनाएर प्रारम्भिक काम थालिसकेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिए ।


    “प्राविधिक समितिको बैठक बसेर काम सुरु भइसकेको छ । समष्टिगत आर्थिक परिसूचकलाई विश्लेषण गरेर स्रोत अनुमान गर्नुपर्ने हुँदा नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय तथ्याङ्क कार्यालय, अर्थ मन्त्रालय तथा अन्य विषयगत मन्त्रालयसँग तथ्याङ्क र विवरण मागिएको छ”, उनले भने, “प्राविधिक समितिले स्रोत अनुमान समितिको बैठकका लागि तयारी गरिरहेको छ । कानुनले तोकेको समयभित्र बजेट सिलिङ पेश हुन्छ ।”

    राष्ट्रिय स्रोत अनुमान समितिले माघ मसान्तसम्ममा स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरिसक्नुपर्ने र सो सम्बन्धी प्रतिवेदन प्रत्येक वर्षको फागुन ७ गतेभित्र अर्थमन्त्रीसमक्ष पेश गरिसक्नुपर्ने ऐनको व्यवस्था छ । स्रोत अनुमान समितिले आवधिक योजनामा प्रक्षेपित लगानी तथा वित्तीय आवश्यकताको आधारमा आगामी तीन आर्थिक वर्षको लागि सङ्घ, प्रदेश र स्थानीय तहको कुल राष्ट्रिय स्रोत अनुमान गर्नुपर्ने व्यवस्था रहेको छ । हाल कार्यान्वयनमा रहेको १६औँ पञ्चवर्षीय योजना कार्यान्वयन कार्ययोजना बनाएर मन्त्रिपरिषदमा पठाइएको पनि आयोगका सचिव पन्थले जानकारी दिए ।


    स्रोत अनुमान गर्दा गत आर्थिक वर्षको आर्थिक र आर्थिक वर्षको छ महिनाको समष्टिगत आर्थिक परिसूचक, आगामी आर्थिक वर्षमा उपलब्ध हुनसक्ने राजस्व, विकास सहायता र आन्तरिक ऋणलगायतका सङ्घीय सञ्चित कोषमा जम्मा हुन सक्ने रकमका आधारमा वस्तुनिष्ठ भई स्रोतको अनुमान गर्नुपर्ने हुन्छ ।

    त्यस्तै, स्रोतको अनुमान भएपछि चालु वर्षको मध्यमकालीन खर्च संरचनासमेतलाई दृष्टिगत गरी खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था पनि ऐनमा रहेको छ । खर्चको सीमा निर्धारण गर्दा अनिवार्य दायित्व तथा जनाइएको प्रतिवद्धता बमोजिम भुक्तानी हुन बाँकी रकमसमेत समावेश गरी समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकुल असर नपर्ने गरी गर्नु पर्नेलगायतका विषयहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा राखिएका छन् ।

    यसअघि आयोगले आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग गरिसकेको छ । प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि माघ मसान्तभित्रमा प्रस्ताव पेश गरिसक्नुपर्नेछ । रासस

  • नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु

    नवलपरासीमा भ्यान र स्कुटर ठोक्किए, एकको मृत्यु

    ३ माघ, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका ११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत दिशातर्फ जाँदै गरेको गप्र०४-००१ प ९१०६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

    घाइते मध्य स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका ८ घर भई हाल देवचुली नगरपालिका ९ मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    दुर्घटनामा घाइते भएका स्कुटर पछाडि सवारी देवचुली नगरपालिका ८ बस्ने वर्ष २१ का नारायण परियारको उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने पिक अप भेन र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

  • कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

    कालिकोटमा जीप दुर्घटना, ३ जनाको मृत्यु

    ३ माघ, मान्म (कालीकोट) । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
    सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।


    मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् । मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए ।

    भीरबाट तीन वटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरी प्रमुख खत्रीले बताए । उनका अनुसार गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ । जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको खबर आएपछि सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी, सशस्त्र प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।

    रासस

  • निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै

    निर्वाचनको तयारीका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै

    ३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । यही माघ ४ गते आइतबा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता झाले बताए । बैठकमा सबै पदाधिकारी एवं केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

  • उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज

    उम्मेदवार छान्न एमाले सचिवालय बैठक आज

    ३ माघ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।
    प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।

    एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो । प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुँदैछ ।

  • नवनिर्वाचित कांग्रेसको कार्यसमिति बैठक आज

    नवनिर्वाचित कांग्रेसको कार्यसमिति बैठक आज

    ३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि ।

    आज पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेसले आसन्न निर्वाचनका लागि प्रतयक्षतर्फको उम्मेदवारी चयनको कामलाई समेत तिव्रता दिने बताएको छ ।

  • सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन

    सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन

    काठमाडौँ, माघ २ गते। सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय गरेको हो।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय गरेको बताए । सरकारले नेपालमा मानव तथा बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री खरेलले बताए ।

  • लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

    लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

    काठमाडौँ, माघ २ गते । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो ।

    “अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ”, बारले भनेको छ, “अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।”

    बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ ।

    “यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायापलिकाको अवधारणामा नै असर पुर्याउँदछ”, विज्ञप्तिमा भनिएको छ, “यस विषयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनको शासनको उल्लङ्घन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ ।”

    महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेको ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरेको थियो ।रासस

  • अमरेश कुमार सिंहले भने : अबको यात्रा रास्वपाबाट

    अमरेश कुमार सिंहले भने : अबको यात्रा रास्वपाबाट

    २ माघ, काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको जानकारी दिएका हुन् । उनले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।

    ‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ ।’ जनकपुरबाट बालेनले समेत रास्वपामा राजनीतिक यात्रा थाल्दैछन् । बालेन झापामा केपी शर्मा ओलीविरुद्ध उठ्ने तयारीमा छन् ।

  • आयोगको निर्णयपछि देउवा पक्ष विरोधमा

    आयोगको निर्णयपछि देउवा पक्ष विरोधमा

    २ माघ, काठमाडौं । शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले निर्वाच आयोग विरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजनीमा माग गर्दै प्रदर्शन गरेका हुन् । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधर गगन थापा-विश्वप्रकाश शर्मा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि त्यस निर्णय विरुद्ध उनीहरूले नाराबाजी गरेका हुन् ।

    तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका नेता तथा कार्यकर्ताहरूले आयोगले गरेको विवादित निर्णय खारेज हुनुपर्ने माग राखेका छन् । आजै कांग्रेसको देउवा पक्षले पत्रकार सम्मेलन गर्दै आफुहरुले मान्यता नपाए देशव्यापी आन्दोलनको चेतावनी समेत दिएका थिए । आज दिनभर निर्वाचन आयोग अगाडी दुबै पक्षका नेता कार्यकर्ता धर्नामा समेत बसेका थिए ।

  • आधिकारिकता पाएपछि विश्व प्रकाशले के भने ?

    आधिकारिकता पाएपछि विश्व प्रकाशले के भने ?

    २ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा नयाँ चरणबाट सक्रिय हुने प्रक्रियामा प्रवेश गरेको बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेस नवीन कांग्रेस बन्ने बाटोमा प्रवेश गरेको बताएका हुन् ।

    ‘जे भएको छ यसलाई नवीन नेपालका लागि नवीन कांग्रेस भन्ने रुपमा लिनुपर्छ । कसले नेपाली कांग्रेसको नाम चुनावचिह्न लिने भन्ने दाबीहरू पनि भए ।आयोगले गर्ने निर्णय विशेष महाधिवेशनको पक्षमा गयो भने आन्दोलन गर्ने भन्ने कुराहरू पनि सुनियो,’ उनले भने, ‘पार्टीका सबै श्रद्धय अग्रजलाई नम्र अनुरोध गर्छु( अब हामी पुराना आवेगका कुरालाई बिर्सिनुपर्छ । एक भएर उभिनुपर्छ ।’

    उनले अब चुनावको तयारी जुट्न सबैलाई आग्रह पनि गरे । ‘माघ ६ गते उम्मेदवारी गर्नुछ । गगन थापा नेतृत्वको कांग्रेसले उम्मेदवारी छनोट गर्दैछ । साथीहरूले लिस्टिङ गर्दै हुनुहुन्छ । भोलि हामी बैठक बस्दा त्यसलाई हेरेर पार्टीको कामको गतिलाई अघि बढाउँछौँ,’ उनले भने, ‘विशेष महाधिवेशनलगत्तै नेपाली कांग्रेस परिचालन समिति, घोषणा पत्र समिति, संसदीय बोर्डको बारेमा निर्णय भइसकेको छ । अध्यावधिकको काम पनि आज सकिएको छ ।’

    उनले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेबीच दरार रहननहुने पनि बताए । ‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने या नगर्नेबीचमा केही दरार रहँदैन । विधि र विधानको जगमा कांग्रेसलाई अघि बढाउनुपर्छ,’ उनले भने, ‘प्रश्न वैशाखसम्म महाधिवेशन पर्खिने भन्ने थिएन । चुनावअघि बदलिएर जाने कि नजाने भन्ने थियो । विशेष महाधवेशनले टुंगोमा पुर्‍यायो । यसलाई आवेगको विषय नबनाइ अघि बढ्न आह्वान गर्दछु ।’

  • कुन-कुन आधारमा आयोगले गगनलाई दियो आधिकारिकता ?

    कुन-कुन आधारमा आयोगले गगनलाई दियो आधिकारिकता ?

    २ माघ, काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ । आयोगका अनुसार ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई एक आधार मानिएको छ ।

    विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधिका रुपमा रहने विषयलाई समेत आधार मानिएको छ । विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएको समेत आयोगको ठहर छ ।

  • विशेष महाधिवेशन गरेको समूहले पायो काङ्ग्रेसको आधिकारिक मान्यता

    विशेष महाधिवेशन गरेको समूहले पायो काङ्ग्रेसको आधिकारिक मान्यता

    २ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ ।

    विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको छ । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ । काङ्ग्रेसको आधिकारिक सभापति गगन थापा बनेका छन् । रुख र झण्डा समेत उनीसँगै रहने छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    २ माघ, काठमाडौं । देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

  • काङ्ग्रेस देउवा पक्षले आज पत्रकार सम्मेलन गर्ने

    काङ्ग्रेस देउवा पक्षले आज पत्रकार सम्मेलन गर्ने

    २ माघ, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने भएका छन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । खड्काले पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव पौडेलले जानकारी दिए । अहिले निर्वाचन आयोगले कुन पक्षलाई आधिकारिकता दिन्छ भन्नेमा सबैको चासो छ ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    २ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगम सञ्चालक समितिको पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको थियो । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ ।

    निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार नेपालमा मूल्य समायोजन गरिएको निगम सञ्चालक समितिले जनाएको छ ।

  • आज २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइदै

    आज २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइदै

    २ माघ, काठमाडौं । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समारोह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ ।

    उक्त दिन दिउँसो २स्२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो । वि.सं १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।

    यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६७० जनाको ज्यान गएको थियो भने ७ लाख भन्दा बढी आवासमा क्षति पुगेको थियो । भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउने उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।

  • गगनले आयोगमा बुझाए दस्तावेज र विवरण

    गगनले आयोगमा बुझाए दस्तावेज र विवरण

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ । सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु आज आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण पेस गरेका हुन् ।

    विवरण पेस गर्दै सभापति थापाले विशेष महाधिवेशनले गरेका निर्णय, पारित गरेका दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्य समितिको विवरण पेस गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । विशेष महाधिवेशनले सभापतिसहित सिङ्गो केन्द्रीय कार्य समिति नै परिवर्तन गरिएको विवरण पेस गरिएको उनले बताए ।


    विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी फुटेको नभई विधानअनुसार विधिवत् भएको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको जानकारी दिए । त्यही विवरण अद्यावधिक गर्न पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग आएको उनले सुनाए ।


    थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेले आयोग आउनुअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा टिकट वितरण गर्ने प्रयोजनका लागि संसदीय समिति एवं बोर्ड गठन गर्ने निर्णय भएको बताए । निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा गर्न सभापति थापाको नेतृत्वमा अर्को समिति गठन भएको उनले बताए ।

    नवनिर्वाचित केन्द्रीय समितिले वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता एवं एशोसियशनका अर्का पूर्वअध्यक्ष प्रेमबहादुर खड्कासहितका कानुन व्यवसायी लिएर आयोगमा आएको थियो । सभापति थापाले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई दोस्रो विशेष महाधिवेशनबाट पारित भएका नीति तथा कार्यक्रमलगायत दस्तावेज र नव निर्वाचित केन्द्रीय कार्य समितिको विवरणलगायत कागजात पेस गरेका थिए ।

    थापा नेतृत्वको नेपाली कांग्रेसले छिटो विवरण अद्यावधिक गर्न माग गरेको छ । आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापा नेतृत्वको कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले आगामी फागुन २१ गते हुने निर्वाचनका लगि मनोनयन दर्ता गर्ने समय नजिक आएकाले छिटो केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यको विवरण अद्यावधिक गर्न माग गरेका हुन् । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष निर्वाचन हुने १६५ क्षेत्रका लागि माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।

  • काठमाडौंमा सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

    काठमाडौंमा सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

    काठमाडौँ, १ माघ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ । दुर्घटना न्यूनीकरण विशेष अभियानअन्तर्गत प्रहरीले आज थप स्कुल कलेजका ६६ जना विद्यार्थीलाई सचेतना, एक हजार ५१२ जनालाई रात्रिकालीन विशेष सचेतना, पाँच हजार ३१५ जना दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, दुई हजार ७४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, तीन हजार ६१४ जनालाई यात्रुसँग सचेतनामूलक कार्यक्रम गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।


    त्यसैगरी १५ वटा ट्राफिक कोणमा सरसफाइ, २०७ जनालाई मस्कटसहित सडक नाटक प्रदर्शन, १४० जनालाई आरक्षण सिट यात्रुमैत्री व्यवहार, सरसफाइ कार्यक्रममा संलग्न १४ जना, सडक दुर्घटनामा दिवङ्गत भएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा २९० जना सहभागी भएका छन् । २१ जना दुर्घटना पीडित घाइतेसँग भेटघाट, १२५ जनालाई आकाशे पुलबाट बाटो काट्न सिकाइएको, ३० जना चालकलाई लागुपदार्थ सेवन गरे नगरेको जाँच, २३ हजार ७०३ जना सडक प्रयोगकर्ता आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् ।

    साथै १५ हजार ३७ जनालाई पर्चापम्प्लेट वितरण तथा नो हर्नलगायतका स्टिकर चार हजार ९६४ वटा स्टिकर टाँस गरेको छ । ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ गत २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।


    यो अभियानमा एक हजार ६३५ जना ट्राफिक स्वयंसेवक परिचालन, सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिनसक्छ भन्ने यथार्थलाई आत्मसात् गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

  • सुनसरीमा ट्रक पल्टिँदा पाँचको मृत्यु, तीन जना घाइते

    सुनसरीमा ट्रक पल्टिँदा पाँचको मृत्यु, तीन जना घाइते

    इटहरी (सुनसरी), १ माघः विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा आज बिहान पल्टिदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो । ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ । चालक भने फरार रहेका जनाइएको छ ।

  • कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक

    कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौँ, १ माघः नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी थिए । गत पुस २७ गतेदेखि जारी विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको महाधिवेशनले आजै बिहान उनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।

    यसैसन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान उल्लङ्घन हुनेगरी कामकाज गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीबाट निष्काशन गरेको थियो । केन्द्रीय समितिको उक्त कारवाहीपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । सो विवाद बढेपछि कांग्रेसका दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेका छन् । सभापति थापा आजै निर्वाचन आयोगमा पुगेर पार्टीको विधान महाधिवेशनबारे विस्तृतमा जानकारी गराएका छन् ।

  • पाटेबाघको आक्रमणबाट सुर्खेतमा एक सातामा तीन जनाको मृत्यु

    पाटेबाघको आक्रमणबाट सुर्खेतमा एक सातामा तीन जनाको मृत्यु

    काँक्रेविहार (सुर्खेत), १ माघः पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।

    गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो । सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घाँसदाउरा गर्न जानेहरू पाटेबाघको आक्रमणमा पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए ।


    गत पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । एक साताभित्रै तीन जनाको ज्यान गएपछि निकुञ्ज क्षेत्र आसपासका बासिन्दामा त्रास छाएको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनले बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आतङ्क सिर्जना गरेको भन्दै स्थानीय त्रासित बनेका उल्लेख गरे ।


    जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत टेकबहादुर रावलले बाघले दुई वटा घरपालुवा गाईगोरुलाई पनि आक्रमण गरेर मारेको जानकारी दिए । बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतङ्क फैलाउन थालेपछि डिभिजन वन कार्यालय सल्यानले उक्त बाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गर्दै तत्काल कार्यान्वयन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई पुस ३० गते पत्राचार गरिएको अधिकृत रावलले जानकारी दिए । स्थानीयमा त्रास बढ्नुका साथै दैनिक कामका लागिसमेत घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि पत्राचार गरिएको उनको भनाइ छ ।

    “बाघको आतङ्क नियन्त्रण गर्न पालिकासहित स्थानीयको अनुरोध आएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधनसमेत) को दफा १० ‘क’ र ‘ख’ तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधनसमेत) को दफा ३६ क अनुसार सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ”, वन अधिकृत रावलले भने । संरक्षित वन्यजन्तुका रूपमा रहेको पाटेबाघलाई नियन्त्रण वा मार्ने आदेश जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न विशेषज्ञ टोली परिचालन गर्नका लागि बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको उनले बताए ।

  • राष्ट्रिय स्वाधिनताका लागि सङ्घर्षका उतारचढावबाट डराउनु हुँदैनः अध्यक्ष ओली

    राष्ट्रिय स्वाधिनताका लागि सङ्घर्षका उतारचढावबाट डराउनु हुँदैनः अध्यक्ष ओली

    काठमाडौँ, १ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरेका छन् ।

    नेकपा (एमाले)द्वारा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका साथ अहिले पनि लागिरहेको स्पष्ट पारे । लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गरे ।

    फरक प्रसङ्गमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाए । कार्यक्रममा वामनेता मेघराज पौडेललाई सम्मान गरिएको थियो भने विमोचित पुस्तकका सम्बन्धमा समालोचक डा देवी नेपालले टिप्पणी गरेका थिए । सिन्धुपाल्चोकको पिस्करमा २०४० पुस ३० गते माघे सङ्क्रान्ति मेला मनाउनेहरुमाथि तत्कालीन सरकारले दमन गर्दा केही व्यक्ति सहिद हुनुका साथै र दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

  • दाङमा बस र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

    दाङमा बस र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

    घोराही (दाङ), १ माघः दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी, शिला परियार र मोटरसाइकलमा सवार लमही–५ कोलहीका अशोक चौधरी तथा बस मालिक सुशील वली घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • विप्लव र मिराज ढुङ्गानाबीच चार बुँदे सहमति, चुनाव हुन नदिने रणनीति

    विप्लव र मिराज ढुङ्गानाबीच चार बुँदे सहमति, चुनाव हुन नदिने रणनीति

    काठमाडौँ, १ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच जेनजी विद्रोहका मागहरू पुरा गर्न सङ्घर्ष गर्नेलगायत चार बुँदे सहमति भएको छ ।

    सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधान संशोधन, स्थिर सरकार र भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने जस्ता विषय समावेश सहमतिपत्रमा नेकपाका महासचिव चन्द र संयोजक ढुङ्गानाले आज माइतीघर मण्डलामा हस्ताक्षर गरेका छन् ।

    ढुङ्गाना नेतृत्वको समूह पछिल्लो केही दिनदेखि विभिन्न माग राखी माइतीघर मण्डलामा धर्नामा बस्दै आएको छ ।

  • उत्तरायणको पहिलो दिन : मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    उत्तरायणको पहिलो दिन : मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौँ, १ माघः सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

    यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ ।

    आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।

    तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

    सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

    यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

  • निर्वाचन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

    निर्वाचन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

    काठमाडौँ, १ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ । यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ ।

    मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ । यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ ।
    सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ ।

    यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन् । नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।

  • कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित, को को परे ?

    कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित, को को परे ?

    काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।


    पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षेत्र) निर्वाचित भए ।

    यस्तै, खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी र देवप्रसाद तिमिल्सिना निर्वाचित भए ।


    यस्तै, जयबाबु सिवाकोटी र प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह खुला केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    महिला खुल्ला नौ सदस्यीय केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित भए । केन्द्रीय सदस्य कोशी प्रदेशतर्फ शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेसतर्फ मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीतर्फ उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भए ।


    गण्डकीतर्फ विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीतर्फ पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीतर्फ रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमतर्फ निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भए । केन्द्रीय सदस्य (अपाङ्गता)तर्फ प्रकाश पन्त, (अल्पसङ्ख्यक)तर्फ शिवनारायण सिं गनगाई, केन्द्रीय सदस्य दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित भए ।

    केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)तर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा अमिता प्रधान र छोन्दुल्होम शेर्पा, आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन भए ।


    केन्द्रीय सदस्य (खसआर्य महिलातर्फ) उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री, खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित भए । केन्द्रीय सदस्य (मधेसी महिलातर्फ) अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र र निलम साह, (मधेसी खुला)मा रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध भए ।

    केन्द्रीय सदस्य (मुस्लिम महिला) पदमा सनम वेगम, मुस्लिम खुल्ला पदमा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारू महिलामा नवोदिता चौधरी र सुनिता राना, थारू खुल्लातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्रतर्फ खुल्ला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित भए ।

    घोषित समितिका सभापति थापाले आजै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने आजै दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ ।