Category: समाचार

  • थारु बस्तीमा बढ्यो माघीको चहलपहल

    थारु बस्तीमा बढ्यो माघीको चहलपहल

    कञ्चनपुर, २६ पुस । थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ ।
    माघीको आगमनसँगै थारु गाउँहरूमा बिहानदेखि साँझसम्म पुरुष र महिला दुवैको व्यस्तता बढेको छ । कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन् । महिलाहरू घरआँगनमा बसेर पातका दुना–टपरी बनाउन व्यस्त छन् । “माघीमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने चलन छ”, कृष्णपुर नगरपालिका–२, वाणिका दुर्गा चौधरीले भने, “यसले थारु समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध झल्काउँछ ।”

    उनका अनुसार थारु समुदायका मौलिक परिकारहरू माघी पर्वको केन्द्रमा रहन्छन्, ती परिकारहरूलाई घरकै महिलाहरूले पात गाँसेर बनाएका दुनाटपरीमा दिने चलन छ । माघीमा अनिवार्य मानिने ‘ढिक्री’, ‘अनदीको भात’, ‘सुँगुरको मासु’ र ‘जाँड’ बनाउने तयारी अहिले अन्तिम चरणमा पुगेको उनले बताए ।

    “माघीका लागि महिलाहरू घरघरमा अनदी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त छन्”, शुक्लाफाँटा नगरपालिका–२ का पूर्व बरघर भरतबहादुर चौधरीले भने, “घरका पुरुषहरू सुँगुरको जोहोमा लागेका छौँ ।” उनका अनुसार केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया र पोखरीमा माछा मार्ने कार्यमा समेत संलग्न भइरहेका छन् । बालबालिकादेखि वृद्धसम्मको सहभागितामा हुने यी तयारीले गाउँमा सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ रहेको छ ।

    साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल सुनिन थालिसकेको छ । “मघौटा नृत्यको अभ्यासले गाउँको वातावरण झन जीवन्त बनेको छ”, शुक्लाफाँटा नगरपालिका–७ का कालुराम डगौराले भने, “युवायुवतीहरू माघीमा देखाउने नृत्यको अभ्यासमा जुटेका छन् भने ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाउँदै बसिरहेका देखिन्छन् ।”

    माघी पर्वमा विवाहित चेलीबेटीहरूलाई माइती बोलाउने चलन रहेकाले उनीहरूलाई निम्ता दिन थालिएको छ । पर्वको स्वागतमा थारु बस्तीका कच्ची घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन् । आँगन सफा गरिएको छ, गोठघर मर्मत गरिएको छ । गाउँका साझास्थल, मन्दिर र बाटोघाटोमा सामूहिक सरसफाइ अभियान चलाइएको शुक्लाफाँटा नगरपालिका–३ का बरघर राजु चौधरीले जानकारी दिए ।


    कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र गतिमा भइरहेको छ । माघी पर्वलाई शत्रुता भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिइने गरिन्छ । “पुराना मनमुटाव माघीमा टुङ्ग्याउने, आपसी सम्बन्ध सुधार्ने र नयाँ वर्षलाई सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा थारु समाजमा गहिरो छ”, जोनापुर गाउँका बडघर सुरेश चौधरीले भने ।

    उनका अनुसार अनुसार माघी केवल खानपान र रमाइलोमा सीमित पर्व होइन, यो थारु समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको छ । माघीको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये गाउँको नयाँ नेतृत्व चयन हो । माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय–व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिन्छ ।

  • कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

    कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

    काठमाडौं, २६ पुसः नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो । विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा ¥याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

    दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताए । भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।

  • माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

    माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

    काठमाडौँ २६ पुसः आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।

    प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ । यस्तै, विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन ।

    सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा गर्ने छैन । बचत तथा ऋण सहकारी संस्थालाई आफना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ । सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा रु पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले बिहीबार सोसम्बन्धी व्यवस्थाको सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

  • अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    काठमाडौँ २६ पुसः क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ ।

    सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी वितरणका सम्बन्धमा क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन तुरुन्त लागू हुने विभागले उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी विभागले त्यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ ।

  • २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

    २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

    काठमाडौँ, २६ पुसः मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा माथि पुगेको हो ।

    बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत मङ्सिर मसान्तमा २७ दशमलव चार प्रतिशतले बृद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको । गत मङ्सिर मसान्तको कूल विदेशी मुद्रा विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत छ ।

    चालु आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस्तै, चालु आवको पाँच महिनामा खुद सेवा आय रु ३६ अर्ब ५४ करोडले घाटमा छ । अघिल्लो बर्षको सोही अवधिमा खुद सेवा आय रु २६ अर्ब ६७ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव सात प्रतिशतले कमी आई रु ३३ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो आय रु ३५ अर्ब २६ करोड थियो ।

    विदेश पढ्न जानेले लगे ५६ अर्ब ५२ करोड
    त्यस्तै सो अवधिमा भ्रमण व्यय पाँच दशमलव तीन प्रतिशतले बृद्धि भई रु ८८ अर्ब ९७ करोड पुगेको छ । त्यसमा शिक्षातर्फको व्यय रु ५६ अर्ब ५२ करोड रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भ्रमण व्यय रु ८४ अर्ब ५० करोड रहेकामा शिक्षातर्फको व्यय रु ४७ अर्ब ४५ करोड रहेको थियो ।

  • आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

    आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

    काठमाडौँ, २६ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

  • नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

    नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन

    काठमाडौँ, २६ पुसः नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।
    केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मनुभएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाले । उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका श्रीमती, दुई छोरा छन् ।

  • कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

    कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

    काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई दिनमात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् । यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनस्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक समितिले जनाएको छ ।

    स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिए । “भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरु भइसकेको छ”, कोइरालाले भने । आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आमनागरिकसम्म पु¥याउने अपेक्षा गरिएको छ ।

    यसैगरी महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौँ आउनेक्रम सुरु भएको आयोजक समितिको भनाइ छ । जनपरिचालन समितिका संयोजक जगदिश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सङ्ख्यामा सहभागिता रहने जानकारी दिए । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

  • पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

    पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

    काठमाडौँ, २५ पुस । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।

    राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत मङ्सिर मसान्तमा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २२ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि भई रु २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक०सँग रहेको विदेशी विनिमय सञ्चिति २७ दशमलव चार प्रतिशतले वद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको सुरुआती पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

    त्यसैगरी, यो अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । पाँच महिनामा खुद पुँजीगत ट्रान्सफर रु सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको थियो ।

    त्यसैगरी, मङ्सिर मसान्तसम्ममा रु सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटीमात्र० भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब तीन करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो ।

  • विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

    विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

    काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुुस २७ र २८ गते काठमाडौँमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ । विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डमा हुने महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनको तयारी भएको जानकारी दिएको हो ।

    समितिका संयोजक एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौँका विभिन्न छ फरकफरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको जानकारी दिए । पुस २७ गते आइतबार मध्याह्न १२ः०० बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने उनले बताए । समितिका संयोजक केसीले सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डप आउने कार्यक्रम रहेको बताए ।

  • ‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल

    ‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ कांग्रेस सभापतिहरूको अपिल

    कर्णाली, २५ पुस । कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्लाका नेपाली कांग्रेसका सभापतिहरूले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन् । नेपाली कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही, जुम्लाका सभापति कर्णबहादुर शाही, कालीकोटका सभापति अम्बहादुर शाही, डोल्पाका कार्यवाहक सभापति लवकुमार शाही, जाजरकोटका सभापति वेदराज सिंह, दैलेखका सभपाति मणिराम रेग्मी, रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओली, सुर्खेतका सभापति खड्गबहादुर पोखरेल र सल्यानका उपसभापति सन्तोष ओलीले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक निर्णयबिना कुनै व्यक्ति विशेषबाट आह्वान गरिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका हुन् ।

    पार्टी विधि र विधानअनुसार चल्दै आएको कांग्रेस व्यक्तिको चाहनाअनुसार पार्टी सञ्चालन हुन नसक्ने, नियमित महाधिवेशन र आमनिर्वाचनलाई असर गर्नेगरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई गम्भीर क्षति पुर्याउने र मुलुकलाई समेत अस्थिरतामा धकेल्ने स्पष्ट पार्दै उनीहरूले केन्द्रीयदेखि स्थानीय तहसम्मका सबै पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक सङ्घसंस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्न आग्रह गरेका छन् ।

    ‘विशेष महाधिवेशन’को पक्षमा देखिएका सल्यान सभापति केशरबहादुर विष्टबाहेक यहाँका नौ सभापतिहरूले निकाले संयुक्त विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत आह्वान गरिएको ‘विशेष महाधिवेशन’ले पार्टी र मुलुक दुवैलाई दुर्घटनातर्फ लैजाने खतरा छ । तसर्थ पार्टी एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा सहभागी नहुन सम्पूर्ण पार्टीपङ्क्तिलाई हार्दिक अपिल गर्दछौँ । केन्द्रीय कार्यसमितिबाट प्रकाशित कार्यतालिकाअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यसको विकल्पका रूपमा प्रस्तुत गरिएको विशेष महाधिवेशन स्वतः निष्क्रिय भइसकेको छ ।”

  • होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

    होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

    झापा, २५ पुस । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खसेर आज साँझ ६ः३० बजे सप्तरी जिल्लाको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए ।

    घाइतेलाई तत्कालै मेची आम्दा अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा साँझ ७ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । निर्माणाधीन भवनमा फलामको पाइप सार्ने क्रममा मण्डल चौथो तलबाट अचानक भुइँ तलामा खसेका थिए । घाइते मण्डलको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । शव मेची आम्दा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

  • अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ, २५ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५८ पैसा र बिक्रीदर २० रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • असावधानीका कारण आगलागीका घटना बढे

    असावधानीका कारण आगलागीका घटना बढे

    काठमाडौँ, २५ पुस । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति भयो । प्राधिकरणका अनुसार सुनसरी, सिरहा, सर्लाही, रौतहटका दुई स्थानमा आगलागी भएको छ । बारा, कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरामा आगलागी हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, म्यादी, रुकुमपूर्व, कालीकोटमा वनमा डडेढो लाग्यो । उदयपुर, रौतहट, सुर्खेत र डोटीमा जनावरको आक्रमणमा घटना घटे ।

    त्यसैगरी, पुस २२ गते बिहानदेखि २३ गतेसम्म देशभर १९ वटा विपद्मा घटना घटे । त्यसमध्ये १७ वटा आगलागीका घटना घटे । पुस २१ गते बिहानदेखि २२ गते बिहानसम्म देशभर कुल २४ वटा विपद्का घटना घटे । त्यसमा १८ वटा आगलागीमा घटना भएका छन् । हिउँदयाममा विभिन्न कारणले आगलागीका घटनामा वृद्धि भएको छ । सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट भएको, परालमा कुन्यूमा असावधानीवश आगो लागेको तथा गोठमा सामान्य सावधानी नअपनाइकन आगो बाल्दा क्षति भएको छ । सावधानी अपनाउन, आगो बालेपछि निभाउन तथा ज्वलनशील पदार्थ जथाभावी नराख्न प्राधिकरणले आग्रह गरेको छ ।

  • राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

    राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

    काठमाडौँ, २५ पुस ।राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता परिमार्जन, २०८२ जारी गरेको छ । समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त आचारसंहिताका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । राससले तयार गरेको २३ बुँदे आचारसंहितामा ऐन, नियम, विनियमको कार्यान्वयन, सामाजिक सद्भावको अभिवृद्धि, सबै राजनीतिक दलप्रति समान व्यवहार एवं महत्त्वजस्ता विषय समावेश छन् ।

    त्यसैगरी, पछिल्लो समय सूचना प्रविधिको दुरुपयोगलाई निरुत्साहित गर्ने उद्देश्यले एआई, इलस्ट्रेसन तथा प्रतीक चिह्नको प्रयोगमा सावधानी अपनाउने विषय पनि संहितामा समेटिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । राससले निर्वाचन केन्द्रित गरेर आफ्नो सञ्चारगृहमा आचारसंहिता कार्यान्वयन गर्ने र त्यसले आगामी निर्वाचनलाई स्वच्छ, सन्तुलित एवं निष्पक्ष सञ्चार सामग्री उत्पादनमा सहयोग पुग्ने कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको विश्वास छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु राज्यको महत्त्वपूर्ण जिम्मेवारी भएकाले सबै निकाय स्वनियमनमा बसेर सो कार्यलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

  • निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

    निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

    काठमाडौँ, २५ पुस । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ ।

    आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ । एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच हजार तिरेर लिन सकिनेछ । निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउनेगरी हेर्न वा सार्न दिनुपर्नेछ ।

    फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले र फोटोबाहेकको मतदाता नामावली जोसुकैले हेर्नसक्ने कुराको जानकारी मतदाता, दल र उम्मेदवारलाई दिनुपर्नेछ । कुनै मतदाताले आफ्नो मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिई त्यस्तो मतदाताको मात्र विवरण आउनेगरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।

    यस्तै, आयोगमा दर्ता भएका राजनीतिक दललाई त्यस्तो दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निजको निवेदनका आधारमा निर्वाचन कार्यालयले देहायबमोजिमको दस्तुर लिई जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावलीको विद्युतीय रूपमा उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि रु तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि रु तीन हजार लिनुपर्नेछ । त्यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने दिन पाइनेछैन ।

  • सुरक्षण मुद्रण केन्द्रले दुई महिनामा छाप्यो नौ हजार लाइसेन्स

    सुरक्षण मुद्रण केन्द्रले दुई महिनामा छाप्यो नौ हजार लाइसेन्स

    काभ्रेपलाञ्चोक, २५ पुस । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गर्नुभएको थियो । लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

    दुई महिना अवधिमा आठ हजार ९८३ लाइसेन्स छपाइ भएको विभागका आइटी निर्देशक केशव खतिवडाले जानकारी दिए । उनका अनुसार विभागले केन्द्रलाई १२ लाख प्रति लाइसेन्स छाप्न जिम्मा दिइसकेको छ । हाल नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी ३० लाखको हाराहारीमा लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको उनको भनाइ छ । “अत्यावश्यक लाइसेन्समात्र छपाइ भएको हो, छापिएका करिब नौ हजारमध्ये सात हजार लाइसेन्स वितरण भइसकेको छ”, खतिवडाले भने ।
    विभागले साधारण लाइसेन्स छाप्ने तयारी गरिरहेको जनाएको छ । एकैपटक १ लाख ‘डाटा’ पठाउन लागिएको खतिवडाले जानकारी दिए । केन्द्रले विभागसँगको सम्झौताबमोजिम बाँकी रहेका ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य राखेको जनाएको छ । हालसम्मको काम सुस्त देखिए पनि अबको माघ महिनादेखि गति बढाइने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङगानाले बताए । उनले भने, “सुरुआती चरण परीक्षणकाल भएकाले थोरै मात्र छपाइ भएको हो, अब एक हप्तादेखि नयाँ जनशक्तिसँगै कामको गति बढाइनेछ ।” उनका अनुसार माघदेखि दैनिक १० हजारका दरले स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ ।

    सुरुआती दुई हप्तामा केन्द्रमा पहिलोपटक छापिएका ५२० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिएको थियो । ढुङ्गानाका अनुसार नेपालकै ल्याबमा गरिएको परीक्षण सफल भएपछि विभागलाई लाइसेन्स बुझाइएको हो । विभागसँगको सम्झौताअनुसार सुरुको तीन महिना एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिने जनाइएको छ ।

    केन्द्रबाट छपाइ भएका कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन् भने त्यसभित्र केही दृश्य र केही अदृश्य रहने बताइएको छ । केन्द्रले लाइसेन्सबाहेक हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्ने तयारी गरिरहेको छ ।

    केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमूना छपाइ गरिएको थियो । हाल जडित दुई मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने छ । प्रेस पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने रु १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ ।

    सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न विसं २०८० मा कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको थियो । सोहीअनुरूप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई उपलब्ध गराउनेछ । साथै, तेस्रो चरणमा भने आगामी १५ वर्षभित्र सुरक्षण मुद्रण्नसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो ।

    सूचना–प्रविधि पार्क (आइटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई पाँच वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा परिणत गरिएको थियो । कुल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुईवटा ठूला व्यापारिकरप्रशासनिक भवन तथा चार सुविधासम्पन्न आवासीय भवन तथा गोदामघरलगायत भवन छन् ।

  • शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    शङ्खरापुर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

    काठमाडौँ, २४ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

    नेपालगञ्जको कोहलपुर नगरपालिका ५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा ५ घर भई हाल बूढानीलकण्ठ ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटीका ६० वर्षीय अर्जुन लामिछानेको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।


    नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २८ मध्ये २३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेका छ भने पाँच जना उपचारपछि फर्किएका छन् ।

  • आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

    काठमाडौँ, २४ पुस । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । उनले भने, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन गरेअनुरुप निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ ।”

    एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ । निर्वाचनका सिलसिलामा सेनाले चार वटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँगको समन्वय, सहयोग र सहकार्यमा तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सहज होस् भन्ने हेतुले उक्त तालिम र अभ्यास गरिने छ ।

    मतदानका समयमा निर्वाचनस्थल र केन्द्रमा खटिने क्रममा नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने छ । विगतमा जस्तै आगामी निर्वाचनलाई लक्षित गरी सेनाले देशका विभिन्नस्थलमा सुरक्षा वेश स्थापना गर्ने तयारी गरेको छ । फागुन २१ गते मतदान सम्पन्न भएसँगै मत पेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षालगायतका जिम्मेवारी सेनाले गर्नेछ ।

    तोकिएको मितिमा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गर्ने सिलसिलामा अहिले प्रदेशस्तरमासमेत सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन् । गोष्ठीमा प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ । सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधि सुरक्षाबीचका समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारकारुपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरु तयार रहेको सेनाको भनाइ छ ।

  • काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

    काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

    काठमाडौँ, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए । अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिएको बताए ।


    एमालेले निर्वाचनका लागि यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमाले काठमाडौँले क्षेत्र नं २ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकजना भन्दाबढी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ मा मणिराज फुँयाल र क्षेत्र नंं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरेको छ ।

    निरौलाका अनुसार काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेलले चाहेको खण्डमा उनलाई नै उम्मेदवार बनाउने र नचाहेको खण्डमा अन्यलाई पनि उम्मेदवार बनाउन नाम सिफारिस गरिएको छ । उनले काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठजना, काठमाडौँ क्षेत्र नंं ३ मा रामेश्वर फुँयाल, कृष्ण राईसहित ६ जना, क्षेत्र नं ४ मा सचिव डा राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको बताए ।


    त्यसैगरी काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता ईश्वर पोखरेलसहित आठजना, क्षेत्र नं ६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र नं ७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र नं ९ मा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र डा अजयक्रान्ति शाक्यसहित सात जना र क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

  • अमेरिकी राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

    अमेरिकी राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

    काठमाडौँ, २४ पुसः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

  • घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

    घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

    नारायणगढ, (चितवन), २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ ।

    अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।” केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

  • बुवाको सोंच र विश्वास : आरकेको संघर्ष र परिश्रममा सफलताको शिखर

    बुवाको सोंच र विश्वास : आरकेको संघर्ष र परिश्रममा सफलताको शिखर

    बागलुङ जिल्लाको साविक सुखौरा गाविस, हाल बरेङ गाउँपालिका वडा नंं.–५, गुल्मी र बागलुङको सिमानामा पर्ने एक दुर्गम पहाडी भुगोल । यही भुगोलमा विक्रम संवत् २०३८ सालमा जन्मिएका हुन् राजेन्द्रकुमार शर्मा, जसलाई आज धेरैले आरके शर्माका नामले चिन्छन् । अहिले अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रमा सफल उद्यमीका रुपमा स्थापित शर्माको बाल्यकाल भने अभाव, संघर्ष र कठिन परिश्रमले भरिएको थियो ।


    सुखौरामा बस्दाको पारिवारिक आर्थिक अवस्था निम्न–मध्यम थियो । गाउँका अधिकांश परिवारलाई आफ्नै खेतबारीको उब्जनीले छ महिना पनि धान्न मुस्किल पथ्र्यो । यही बाध्यताले आरकेका बुवा भारतको गुहावटीमा रोजगारी गर्न जान्थे । तर, आर्थिक अभावका बीच पनि शर्माको परिवार सामाजिक चेतना र सेवाभावले परिचित थियो । पछि उनका बुवा गाउँका उपप्रधानपञ्च भइसकेका व्यक्ति थिए ।

    गाउँमा कुनै समस्या आए वा सामूहिक निर्णय आवश्यक परे, वा तत्कालीन समय माँ विधालय स्थापना सिक्षक माग वा गाउँका समस्या समाधानका लागि जिल्ला जानेबारे गाउँलेहरु शर्मा परिवारकै आँगनमा सल्लाह लिन आइपुग्थे । समाजसेवाको यही संस्कारले आरकेको बालमनमा नेतृत्व, जिम्मेवारी र सहानुभूतिका बीउ रोपिदिएको थियो ।


    बाल्यकालमै उनले गाउँले जीवनको कठोर यथार्थ नजिकबाट देखे । त्यो समय गाउँमा धेरैले चप्पलसमेत लगाउने चलन थिएन । चिसो मौसममा पनि नाङ्गो खुट्टै घाँसदाउरा गर्नुपथ्र्यो । बिहान–बेलुकी घाँसदाउरा, खेतपातीको काम र पढाइ–यिनैबीच आरकेको दैनिकी बित्थ्यो । झण्डै एक घण्टा पैदल हिंडेर पुगिने गाउँकै विद्यालयबाट उनले प्राथमिक तहको अध्ययन पूरा गरे ।

    शारीरिक श्रम र अध्ययनलाई सँगसँगै अगाडि बढाउनु नै उनको पहिलो संघर्षको पाठशाला थियो ।
    विस २०५० सालमा प्राथमिक शिक्षा सकेपछि परिवार चितवन बसाइँ स¥यो । तर, आरके भने पढाइ निरन्तरता दिन दिदी घर नवलपरासी पुगे । त्यहाँको भीमसेन आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि उनी पुनः परिवारसँगै चितवन फर्किए । चितवनको विश्व प्रकाश माध्यमिक विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरे । बसाइँसराइ, नयाँ वातावरण र सीमित साधनका बाबजुद पनि उनले पढाइप्रति कहिल्यै हार मानेनन् । अध्ययनलाई निरन्तरता दिए ।


    गरिबी, आर्थिक अभाव र श्रमको मूल्यलाई नजिकबाट नियाल्दै हुर्किएका आरके शर्माले करिब २३ वर्षअघि जीवनका दुईवटा मात्र लक्ष्य बोकेर विदेसिने निर्णय गरे । त्यो गन्तव्य थियो– कतार । सपना ठूलो थियो, साधन साना थिए । तर, उनले भरोसा गरेका थिए आफ्नै मेहनत र इमानदार श्रममा ।


    कतारमा सुरुवाती दिनहरु सजिला थिएनन् । धेरै घण्टा काम, नयाँ भाषा, नयाँ संस्कृति र प्रतिस्पर्धाले उनलाई बारम्बार चुनौती दियो । तर, सुखौराको पहाडमा घाँसदाउरा गर्दै हुर्किएको मनोबलले उनलाई थाक्न दिएन । उनले प्रत्येक अवसरलाई सिकाइका रुपमा लिए, अनुभव संकलन गरे र बिस्तारै आफ्नै बाटो निर्माण गरे ।


    आज आरके शर्मा केवल एक सफल व्यवसायी मात्र होइनन्, संघर्षबाट सम्भावनातर्फ उक्लिएको एउटा प्रेरक पात्र हुन् । मेहनत, धैर्य र दूरदृष्टिको मेलले उनले व्यावसायिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् । गाउँको साधारण परिवेशबाट उठेर अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान बनाउनु उनको यात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।


    विश्वसन्देशको यस अंकमा हामी यही यात्राको कथा प्रस्तुत गर्दैछौं– सुखौराको माटो, घाँसदाउरा र संघर्षबाट जन्मिएको एउटा सपना, जसले निरन्तर मेहनतका बलमा विश्वव्यापी सफलता चुम्न सकेको छ । आरके शर्माको जीवनकथा आजका युवाका लागि मात्र होइन, हरेक संघर्षरत मनका लागि प्रेरणाको उज्यालो दीप हो ।

    चितवनदेखि मध्यपूर्व र अमेरिकासम्म
    चितवन बसाइँसराइपछि राजेन्द्रकुमार शर्मा (आरके शर्मा)को परिवारको जीवन झन् चुनौतीपूर्ण बन्यो । पाँच भाइ र तीन दिदीबहिनीसहितको ठूलो परिवार, दाजुहरुको उद्यममा ठूलो नोक्सान बेहोर्दा करिब ७० प्रतिशत सम्पत्ति विक्रीपछि सीमित आम्दानी र बढ्दो खर्चले घरको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गयो । पहाडको संघर्षपछि तराईमा सहज जीवनको अपेक्षा गरिएको थियो, तर चितवनले पनि आरकेको परिवारलाई सहजता दिएन । संघर्ष त गरियो, तर आर्थिक अभाव टार्न सकिने अवस्था बनेन ।


    प्लस टु अध्ययन पूरा गरेपछि आरकेले परिवारको आर्थिक बोझ हल्का बनाउने उद्देश्यले भारत जाने निर्णय गरे । सपना थियो– काम पाइएला, आम्दानी होला र घरको अवस्था केही सुध्रेला । तर, भारत पुगेपछि वास्तविकता निकै कठोर साबित भयो । रोजगारी खोज्दै उनले धेरै हण्डर खानुप¥यो । दिनौंसम्म काम नपाएर भौंतारिनु, अपरिचित ठाउँमा असहज जीवन बिताउनु, यी सबै अनुभवले उनलाई झन् परिपक्व बनाउँदै लग्यो ।

    अन्ततः उनले एक ट्राभल एजेन्सीमा रोजगारी पाए । पढाइ–लेखाइ भएकाले उनलाई ट्राभल एजेन्सीमा उधारो रकम उठाउने जिम्मेवारी दिइयो । यही जिम्मेवारीले आरकेको जीवनको दिशा नै बदलिदियो । उधारो रकम उठाउने सिलसिलामै उनी करिब २३ वर्षअघि कतार पुगे । त्यो यात्राले केवल रकम संकलन गर्ने काम मात्र दिएन, जीवनको नयाँ अध्याय खोलिदियो ।


    त्यो समय आरकेको मन अत्यन्तै तनावग्रस्त थियो । बुवा–आमा दुवै दमको रोगबाट पीडित थिए । उपचार खर्चको चिन्ता, घरमा नवजात छोरीको जिम्मेवारी– यी सबैले उनलाई भित्रैदेखि दबाइरहेका थिए । कतार पुगेर उधारो उठाउने व्यक्तिसँग भेट हुँदा भने उनले अर्कै यथार्थ देखे । आरके सम्झन्छन्, ‘उधारो रकम उठाउन गएको थिएँ, तर ती व्यक्ति आफैं गहिरो आर्थिक समस्यामा परेका रहेछन् । त्यसपछि मैले आफ्नो अवस्था सम्झिएँ र कतारमै बसेर काम गर्ने निर्णय लिएँ ।’


    त्यही निर्णय आरकेको जीवनको टर्निङ पोइन्ट बन्यो । उनले कतारमै काम खोजे र कतारीहरुसँग मिलेर काम गर्न थाले । सुरुमा उनी एक निर्माण कम्पनीमा एकाउन्टेन्टका रुपमा आबद्ध भए । कामसँगै उनले व्यवस्थापन, वित्तीय अनुशासन र व्यावसायिक संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभवका आधारमा उनले पछि क्याटरिङ र निर्माण व्यवसायमा लगानी गरे ।


    कतारमा संघर्षका दिनहरु बिताउँदै गर्दा उनलाई आफ्ना बुवाका शब्द सधैं सम्झनामा आउँथे । आरके भन्छन्, ‘बुवाले जहिल्यै पनि जागिरभन्दा व्यवसाय गर्न प्रेरित गर्नुहुन्थ्यो । आफ्नै केही गर्नुपर्छ भन्ने उहाँको प्रेरणाले नै मलाई अघि बढायो ।’ बुवाको त्यही सोच र विश्वास आज उनको सफलताको आधार बनेको छ ।


    समयसँगै आरके शर्मा कतारमै बसेर आफ्नो आर्थिक अवस्था सुधार गर्ने दिशामा केन्द्रित भए । निर्माण कम्पनीमा एकाउन्टेन्टबाट सुरु भएको यात्रा लगानीकर्ता र सञ्चालकसम्म आइपुग्यो । आज उनी कतारस्थित पिजन इन्जिनियरिङका सञ्चालक हुन् । उनका कम्पनीहरु अहिले हस्पिटालिटी, सेक्युरिटी र पूर्वाधार विकासका क्षेत्रमा सक्रिय छन् । यी व्यवसायहरु केवल कतारमै सीमित छैनन्– मध्यपूर्वका विभिन्न देशदेखि अमेरिकासम्म फैलिएका छन् ।


    आरके शर्माको नेतृत्वमा रहेका कम्पनीहरुले झण्डै ३ हजारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । कतारमा आयोजना भएको फिफा विश्वकपका बेला भने उनका कम्पनीहरुले ४५ सयसम्मलाई रोजगारी उपलब्ध गराएका थिए । कतार फिफा विश्वकपका धेरै क्षेत्रहरुमा शर्माकै नेतृत्वका कम्पनीहरु सूचिकृत थिए । निर्माण, हाउसकिपिङ, सेक्युरिटी र हस्पिटालिटी सेवा प्रदान गरेका थिए, जुन उनको व्यावसायिक विश्वसनीयताको प्रमाण हो । फिफाले पनि उनका कम्पनीलाई विश्वसनीय भन्दै टिप्पणी गरेको थियो ।


    निर्माण क्षेत्रलाई प्राथमिकतामा राखे पनि उनका कम्पनीहरु हाउसकिपिङ, हस्पिटालिटी, रियल इस्टेट र सेक्युरिटी सर्भिसमा समान रुपमा सक्रिय छन् । आज आरके शर्माको व्यवसाय मध्यपूर्वदेखि अमेरिकासम्म बिस्तार भइसकेको छ– जसले एक समय आर्थिक अभावमा भारत भौंतारिएको युवालाई अन्तर्राष्ट्रिय उद्यमीका रुपमा स्थापित गरेको छ ।


    चितवनको संघर्ष, भारतको हण्डर र कतारको अवसर । यी सबै चरण पार गर्दै आरके शर्माले प्रमाणित गरेका छन् कि सपना ठूलो हुनुपर्छ, तर त्यसलाई पूरा गर्ने साहस र धैर्य अझ ठूलो । उनको कथा आज हजारौं युवाका लागि आशा र प्रेरणाको उदाहरण बनेको छ ।

    १८ घण्टा कामदेखि व्यावसायिक साम्राज्यसम्म
    आरके शर्माको सफलताको कथा चम्किलो उपलब्धिको मात्र होइन, निरन्तर संघर्ष र अथक मेहनतको दस्तावेज हो । आज हजारौंलाई रोजगारी दिने उद्यमी बनेका शर्मा आफ्ना सुरुवाती दिन सम्झँदा भन्छन्– ‘मैले कतिपय दिन १८ घन्टासम्म काम गरें ।’ लामो समय उनी विदाबिनै काममा खटिए । छ वर्षसम्म लगातार १५ घण्टासम्म काम गर्नु उनको दैनिकी बन्यो । त्यही पसिना, अनुशासन र धैर्यको परिणामस्वरुप आज उनका कम्पनीहरुको पे–रोलमा झण्डै ३ हजार कर्मचारी आबद्ध छन् ।


    शर्मा आफूले गरेको मेहनतले एक दिन सफलता त अवश्य दिन्छ भन्ने विश्वासमा थिए । तर, यति छिट्टै, यति ठूलो सफलता हात लाग्ला भन्ने कल्पना भने उनले गरेका थिएनन् । सामान्य जीवन चलाउने, बिरामी बुवा–आमाको उपचार गर्ने र परिवारलाई आर्थिक सुरक्षा दिने उद्देश्य लिएर कतार पुगेका उनी आज एउटा सशक्त व्यावसायिक साम्राज्यका सञ्चालक बनेका छन् । उनको लगानी विदेशमा मात्र सीमित छैन– नेपालका विभिन्न क्षेत्रमा पनि फैलिएको छ, जसले मातृभूमिप्रतिको उनको प्रतिबद्धता झल्काउँछ ।


    सफलतासँगै शर्माले सामाजिक उत्तरदायित्वलाई कहिल्यै भुलेनन् । नेपालमा अप्ठ्यारो पर्दा, प्राकृतिक विपत्तिका बेला वा मानवीय संकट आउँदा उनले मन फुकाएर सहयोग गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र पनि उनी अदक्ष श्रमिकका साथीका रुपमा परिचित छन् ।

    श्रमिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका शर्माले विदेशमा पसिना बगाउने नेपाली श्रमिकको सम्मान र सुरक्षा नै देश विकासको आधार हो भन्ने विश्वास राख्छन् । आफूसँग काम गर्ने श्रमिकप्रतिको उनको सोच व्यवहारमै देखिन्छ । उनी गर्वका साथ भन्छन्, ‘मसँग काम गर्ने झण्डै ३ सय सहकर्मीका छोरा–छोरी आज इन्जिनीयर, नर्स, डाक्टर र पाइलट पढिरहेका छन् ।’

    श्रमिकका सन्तानले राम्रो शिक्षा पाएको देख्दा उनलाई असाध्यै सन्तुष्टि मिल्छ । उनका लागि यो केवल व्यक्तिगत खुसी होइन, सामाजिक परिवर्तनको संकेत हो ।
    मध्यपूर्व र मलेसियासमेत जोड्दा झण्डै ३० लाख नेपाली श्रमिक कार्यरत छन् । उनीहरुलाई केवल श्रम बेच्ने हैन, दक्ष जनशक्तिका रुपमा रूपान्तरण गर्नुपर्नेमा शर्माको जोड छ ।

    उनी भन्छन्, ‘ग्याजेट र प्रविधिको सही प्रयोग गर्न सके अदक्ष कामदारलाई पनि दक्ष बनाउन सकिन्छ । सरकार र एनआरएनएले अबका १० वर्षमा कस्ता सम्भावना छन् भन्ने अध्ययन गरेर दीर्घकालीन योजना बनाउनुपर्छ ।’ आफूले गर्न सक्ने ठाउँबाट पहल गरिरहेको उनी स्पष्ट पार्छन् । उनको विश्वासमा, नेपालको गरिबी घटाउने निरन्तर काम गर्ने वास्तविक शक्ति भनेका यही श्रमिक दाजुभाइ तथा दिदीबहिनी हुन् ।


    एनआरएनएभित्र विभिन्न समूहमा विभाजित अवस्थालाई एकतामा ल्याउन पनि शर्माको भूमिका निर्णायक रह्यो । एक समय उनी स्वयं एउटा समूहको अध्यक्षका रुपमा काम गरे । तर, पछिल्लो अधिवेशनमा नेतृत्वमा नआउने घोषणा गर्दै उनले दुई समूह जोड्ने पुलको भूमिका निर्वाह गरे । अहिले उनी स्टेरिङ कमिटीमा बसेर संस्थागत एकता र सुधारका लागि सक्रिय छन् । उनको ध्यान एकताको १२औं महाधिवेशन सफल पार्नमा केन्द्रित छ ।

    पदभन्दा उद्देश्य ठूलो हुनुपर्छ भन्ने उनको व्यावहारिक उदाहरण हो । उनी पछिल्लो समय विदेशमा रहेका नेपालीका हकअधिकारका लागि पोर्चुगलमा दूतावास स्थापना गर्न होस् वा इराकमा पासपोर्ट नवीकरणका लागि घुम्ती शिविरदेखि, कोभिडको बेला मध्यपूर्वबाट ५६० अक्सिजन सिलिण्डर एयरलिफ्टबाट पठाउने संयोजन होस् वा उनको निजी पहलमा भूकम्पका बेला धादिङको पूराई सेर्थुंगवासीलाई न्यानो कम्बल बाँड्ने काम लगायत मानवीय कार्य वा बेलाबेला सीमान्तकृत चेपाङ विधार्थीलाई छात्रवृत्तिका लागि आरके शर्माको आरोह–अवरोधले भरिएको जीवन यात्राले एउटा स्पष्ट सन्देश दिन्छ– मेहनत कहिल्यै खेर जाँदैन ।

    गाउँको सामान्य परिवेश, आर्थिक अभाव, विदेशको कठोर श्रम र निरन्तर संघर्ष पार गर्दै उनले प्रमाणित गरेका छन् । इमानदार, मेहनत, धैर्य र सामाजिक उत्तरदायित्वसँगै अघि बढे एक दिन अवश्य सफलताको शिखरमा पुगिन्छ । उनको जीवनका विभिन्न पाटाबाट यही शिक्षा पाइन्छ– आज पसिना बगाउनेले भोलि केवल आफ्नै होइन, अरुको जीवन पनि उज्यालो बनाउन सक्छ ।


    उनले अध्ययनलाई पनि लगातार अघि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ कोभिडको बेलामा विश्वको नम्बर वान युनिभर्सिटी एचसी पेरिसबाट साना तथा मझौले उधम अनि मुख्य विषय लियर एमबीए अध्ययन गरेका छन् भने उनले रेमिट्यान्सको सामूहिक लगानी प्राधिकरण स्थापना गरेर कसरी राष्ट्र विकास र श्रमिकको आर्थिक अवस्था मजबुत गराउन सकिन्छ भन्ने विषयमा थेसिस लेखेका छन् । अहिले उनी बेलायतको प्रसिद्ध विश्वविधालय डरहम युनिभर्सिटीबाट उद्यमशीलताका बारेमा डक्टरेट अन बिजनेस एडमिनिस्टे«ेसन अध्यनरत छन् ।

  • राजनीतिमा राम्रो व्यवहार र संस्कार-समुन्नत लोकतन्त्रको आधार

    राजनीतिमा राम्रो व्यवहार र संस्कार-समुन्नत लोकतन्त्रको आधार

    कुमार न्यौपाने
    हाल : न्युयोर्क

    राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन, यो राष्ट्र निर्माण, समाज रुपान्तरण र नागरिकको भविष्य सुरक्षित गर्ने सबैभन्दा प्रभावशाली माध्यम पनि हो । राजनीतिमा देखिने व्यवहार, सोच र नैतिकताले देशको वर्तमान मात्र होइन, भविष्यको दिशा पनि निर्धारण गर्छ । त्यसैले राजनीतिमा राम्रो व्यवहार, उच्च नैतिकता र परिपक्व राजनीतिक संस्कार अत्यन्त आवश्यक हुन्छ । दुर्भाग्यवश, आजको समयमा राजनीतिलाई गाली, आरोप–प्रत्यारोप, झूट र व्यक्तिगत स्वार्थसँग जोडेर हेर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले लोकतन्त्रको मर्ममाथि प्रश्न खडा गरेको छ ।

    १. राजनीतिमा राम्रो व्यवहारको अर्थ
    राजनीतिमा राम्रो व्यवहार भन्नाले सभ्य भाषा प्रयोग, विपक्ष वा असहमतिको सम्मान, इमानदार सोच, जिम्मेवार निर्णय, पारदर्शी कार्यशैली र जनताप्रतिको जवाफदेहिता बुझिन्छ । फरक विचार हुनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर ती विचारलाई प्रस्तुत गर्ने तरिका सभ्य र मर्यादित हुनुपर्छ । राजनीतिक बहस व्यक्तिमाथि होइन, विचार र नीतिमाथि केन्द्रित हुनुपर्छ । जब राजनीति शिष्ट र मर्यादित हुन्छ, तब समाजमा सकारात्मक सन्देश फैलिन्छ ।

    २. सभ्य भाषा र राजनीतिक संवाद
    राजनीतिक नेतृत्वको भाषा समाजका लागि उदाहरण बन्छ । जब नेताहरुले सार्वजनिक मञ्चमा अपशब्द, कटाक्ष र घृणात्मक अभिव्यक्ति प्रयोग गर्छन्, तब त्यसको प्रत्यक्ष असर समाजमा पर्छ । विशेषगरी युवापुस्ताले त्यही व्यवहारलाई सामान्य ठान्न थाल्छ । सभ्य भाषा प्रयोग गर्नु कमजोरी होइन, बरु आत्मविश्वास र परिपक्वताको परिचायक हो । स्वस्थ बहस, तथ्यमा आधारित तर्क र सम्मानजनक संवादले राजनीतिक वातावरणलाई सकारात्मक बनाउँछ ।

    ३. इमानदारी र नैतिकता

    आज कुनै कुरा पेचिलो छ भने त्यो हो गल्तीको अस्वीकार र आत्मालोचना शून्यता । इमानदारीबिना राजनीति केवल स्वार्थको खेल बन्छ । राम्रो राजनीतिक व्यवहारको केन्द्रमा सत्य, नैतिकता र मूल्यहरु हुनुपर्छ । जनतासँग गरिएका वाचा पूरा गर्नु, गल्ती स्वीकार गर्नु र सही निर्णय लिनु इमानदार राजनीतिज्ञको पहिचान हो । भ्रष्टाचार, पक्षपात र शक्ति दुरुपयोगले केवल सरकार होइन, सम्पूर्ण प्रणालीप्रति जनताको विश्वास तोड्छ । इमानदार राजनीतिले भने नागरिक र राज्यबीचको भरोसालाई बलियो बनाउँछ ।

    ४. पारदर्शिता र जवाफदेहिता
    लोकतन्त्रमा सत्ता जनताको हातबाट आएको हुन्छ, त्यसैले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ । बजेट, नीति, कानुन र निर्णय प्रक्रियामा पारदर्शिता हुनु राम्रो राजनीतिक व्यवहारको अनिवार्य अङ्ग हो । जनताले प्रश्न सोध्न पाउनुपर्छ र नेताहरुले जवाफ दिन जान्नुपर्छ । जब राजनीतिमा पारदर्शिता हुन्छ, तब अफवाह, अविश्वास र असन्तोष स्वतः घट्छ ।

    ५. विपक्षको सम्मान र सहिष्णुता
    लोकतन्त्रमा विपक्षको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । विपक्षबिना सत्ता निरंकुश बन्न सक्छ । त्यसैले विपक्षलाई शत्रु होइन, लोकतन्त्रको संरक्षकका रुपमा हेर्नु राम्रो राजनीतिक संस्कार हो । असहमति हुँदा पनि व्यक्तिगत आक्रमण नगरी, नीतिगत आलोचना गर्ने संस्कृति विकास गर्नुपर्छ । सहिष्णुता र सहकार्यले मात्र राष्ट्रिय हितका विषयमा सहमति सम्भव हुन्छ । नेपालको सन्दर्भमा विगतमा विपक्षको भूमिकामा आएको स्खलनले पछिल्लो घटना हुनमा आगो थपेको मान्न सकिन्छ ।

    ६. जनताप्रतिको प्रतिबद्धता र सेवाभाव
    राजनीति सेवा हो, व्यापार होइन । पद, सुविधा र शक्ति अस्थायी हुन्छन्, तर जनताको भरोसा दीर्घकालीन सम्पत्ति हो । राम्रो व्यवहार भएको राजनीतिले जनताको दुःख–सुख बुझ्छ, समस्यामा साथ दिन्छ र समाधान खोज्न अग्रसर हुन्छ । चुनावको समयमा मात्र होइन, सधैं जनतासँग जोडिएर बस्नु सच्चा राजनीतिज्ञको पहिचान हो ।

    ७. संयम, धैर्य र जिम्मेवार निर्णय
    राजनीतिमा आवेग र उत्तेजनाले ठूलो क्षति पु¥याउन सक्छ । सामाजिक सञ्जाल, मिडिया दबाब र भिडको भावनाले प्रभावित भएर निर्णय लिनु राम्रो व्यवहार होइन । संयमित सोच, गहिरो अध्ययन र दीर्घकालीन दृष्टिकोणबाट गरिएका निर्णयले मात्र राष्ट्रलाई सही दिशामा लैजान सक्छ ।

    ८. राजनीतिक संस्कार र भावी पुस्ता
    आजका राजनीतिज्ञहरुको व्यवहारले भोलिका पुस्ताको राजनीतिक सोच निर्माण गर्छ । यदि आज राजनीति अशिष्ट, स्वार्थी र अनैतिक बन्यो भने भोलि त्यसको मूल्य समाजले चुकाउनुपर्नेछ । त्यसैले राजनीतिमा राम्रो व्यवहार केवल वर्तमानको आवश्यकता होइन, भविष्यको लगानी पनि हो । नागरिकमा सामाजिक संस्कारको उच्च ज्ञानले भावी पुस्तालाई कसरी दिशा निर्देश गर्ने भन्ने सूत्र हुन्छ ।

    निष्कर्ष
    राजनीतिमा राम्रो व्यवहार कुनै आदर्शवादी कल्पना मात्र होइन, सफल र स्थिर लोकतन्त्रको अनिवार्य शर्त हो । सभ्यता, इमानदारी, पारदर्शिता, सहिष्णुता र जनसेवाको भावनाबिना राजनीति अर्थहीन बन्छ । यदि राजनीतिमा राम्रो व्यवहार स्थापित गर्न सकियो भने जनविश्वास बलियो हुन्छ, लोकतन्त्र सुदृढ हुन्छ र राष्ट्र समृद्धिको बाटोमा अगाडि बढ्छ । अन्ततः राजनीतिलाई मर्यादित बनाउनु प्रत्येक राजनीतिज्ञ मात्र होइन, सचेत नागरिकको पनि साझा जिम्मेवारी हो ।

  • आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

    आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

    त्रिवेणी (नवलपरासी), २४ पुसः निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो ।

    तर पटक पटक म्याद थप पछि बल्ल अहिले पुलले पूर्णता पाएको कावासोती नगरपालिका–४ का वडाअध्यक्ष नारायणप्रसाद लोहनीले बताए । कावासोती नगरपालिका–३ र ४ जोड्ने केरुङ्गे खोलामा पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहजता भएको वडाअध्यक्ष लोहनीले बताए । एक सय ४० मिटर लम्बाइको पुल करिब रु १० करोड ५० लाखको लागतमा निर्माण भएको हो ।

    लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका अध्यक्ष लोहनीले बताए । बर्खाको समयमा खोलामा बाढी आउँदा घुमेर बजार क्षेत्रमा जानुपर्ने अवस्था रहेको र अन्य समयमा पनि खोलाबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अब त्यो बाध्यता अन्त्य भएको अध्यक्ष लोहनीले बताए ।

    “पुल नहुँदा सास्ती थियो, बाढी आउँदा अन्यत्रबाट घुमेर बजार क्षेत्र निस्किनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हटेको छ, ढिलै भए पनि पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ,” अध्यक्ष लोहनीले भने । सडक डिभिजन कार्यालय भरतपुरमार्फत निर्माण भएको पुलले जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट बासिन्दालाई समेत सदरमुकाम कावासोती पुग्न सहज बनाएको छ ।

    हुप्सेकोटका बासिन्दालाई छिटो रूपमा कावासोतीको सदरमुकाम पुग्न पुलका कारण सहज भएको हुप्सेकोटका स्थानीय रुक्माङ्गत भुर्तेलले बताए । “हामीलाई सदरमुकाम पुग्न डण्डा हुँदै घुमेर जानुपर्ने अवस्था थियो, अब हसौराबाट नयाँ पुल हुँदै सिधै कावासोती पुग्न सकिने भएको छ,” भुर्तेलले भने ।

  • निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

    निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

    काठमाडौँ, २४ पुस । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

  • ऊर्जामन्त्री घिसिङले दिए राजीनामा

    ऊर्जामन्त्री घिसिङले दिए राजीनामा

    काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई बधाई र धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    “निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।”

    मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे । घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।

  • काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते

    काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना : चार जनाको मृत्यु, २२ घाइते

    काठमाडौँ, २३ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

    उनले भने, “बस दुर्घटनामा अहिलेसम्म मृतकको सङ्ख्या चार पुगेको छ । घाइते २२ जना छन् । घाइतेको उपचार भइरहेको छ ।” आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो । घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाली दूतावासमा विश्व ध्यान दिवस विशेष कार्यक्रम आयोजना

    नेपाली दूतावासमा विश्व ध्यान दिवस विशेष कार्यक्रम आयोजना

    २३ पुस, अबुधाबी । विश्व ध्यान दिवस–२०२५ को अवसरमा नेपाली दूतावास, अबुधाबीले २१ डिसेम्बर आइतबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । जीवन–विज्ञान प्रतिष्ठान नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा दूतावासका कर्मचारी–परिवार, प्रतिष्ठानका प्रशिक्षक तथा साधकहरुसहित यूएईमा विभिन्न व्यवसाय तथा पेशामा संलग्न नेपालीहरुको उल्लेखनीय उपस्थिति थियो ।

    कार्यक्रममा नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ध्यान मानवजीवनकै आधारभूत आवश्यकता भएको बताउँदै शान्ति, सद्भाव र मानसिक सन्तुलनका लागि नियमित ध्यान अभ्यास अनिवार्य रहेको उल्लेख गरे । उनले ध्यानले तनाव व्यवस्थापन, शारीरिक–मानसिक स्वास्थ्य वृद्धि तथा सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताए । जीवन–विज्ञान प्रतिष्ठानका प्रशिक्षक चन्द्रबहादुर क्षेत्रीले ध्यानका वैज्ञानिक पक्ष, व्यावहारिक विधिहरु तथा दैनन्दिन जीवनमा ध्यानका फाइदाबारे प्रस्तुति दिए ।

    कार्यक्रममा उपस्थित सहभागीहरुलाई करिब १५ मिनेटको सामूहिक ध्यान सत्रमार्फत अभ्यास पनि गराइएको थियो । दूतावासका अनुसार विश्व ध्यान दिवस मनाउनुले नेपाली समुदायभित्र स्वस्थ र सन्तुलित जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । दूतावासले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • नेपाली समाज यूएईको क्षमता अभिवृद्धि तालिम सम्पन्न

    नेपाली समाज यूएईको क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २३ पुस, यूएई । नेपाली समाज यूएईको आयोजनामा गत आइतबार, १४ डिसेम्बर २०२५ का दिन नेपाली समाजमा आबद्ध विभिन्न संघसंस्थाका सचिव तथा महासचिवहरुलाई लक्षित गरी सार्वजनिक भाषण, माइन्युट लेखन तथा आधारभूत पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बुर्दुबईस्थित अरबियन कोर्टयार्ड होटलको द बोधी लाउन्ज हलमा सम्पन्न उक्त तालिम नेपाल पत्रकार महासंघ यूएई शाखाको समन्वयमा आयोजना गरिएको हो । यूएईमा क्रियाशील सामाजिक संघसंस्थाका अगुवा अभियन्ताहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।


    तालिम कार्यक्रममा यूएईका अनुभवी प्रशिक्षकहरु निमेश गिरी, लक्ष्मण खनाल र मेघराज सापकोटाले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रम संयोजक तथा नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरीका अनुसार तालिममा ७० भन्दा बढी सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरुलाई आरम्भ लाइफजेन स्पिच हब प्रालिको तर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
    नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले यूएईमा सामाजिक संस्थाहरुको सक्रियता बढ्दै गइरहे पनि व्यक्तित्व विकास, नेतृत्व तथा सञ्चार सीप अभिवृद्धि गर्ने कार्यक्रमहरुको अभाव महसुस भएको बताए ।

    सोही आवश्यकता पहिचान गरी यो तालिम आयोजना गरिएको उनको भनाइ छ । योजनाअनुसार सामाजिक सुरक्षा कोषसम्बन्धी सचेतना कार्यक्रम पनि समावेश गर्ने तयारी रहे पनि समय अभावका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अध्यक्ष मोक्तानले भविष्यमा अझ व्यापक र प्रभावकारी रुपमा यस्ता क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।