Category: समाचार

  • आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

    आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

    दमौली (तनहुँ), २२ पुसः नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो ।

    व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर, दरै र कुमाल समुदायका नमुना घर निर्माण गरिएको महोत्सव संयोजक एवं महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । उनका अनुसार यी नमुना घरमार्फत जनजातिहरूको जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्य राखिएको छ ।

    जिल्लामा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहेपनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमुना घर निर्माण गरिएको उनले बताए । अध्यक्ष तामाङका अनुसार महोत्सव अवलोकन गर्न आउने सर्वसाधारण, विद्यार्थी तथा पर्यटकले नमुना घरभित्र प्रयोग हुने घरायसी सामग्री, भाँडाकुँडा, कृषि औजार, पहिरन, संस्कार तथा संस्कृति र रीतिरिवाजका बारेमा नजिकबाट बुझ्ने अवसर पाउनेछन् । यसले नयाँपुस्तामा आफ्नै संस्कृतिप्रतिको चेतना अभिवृद्धि हुनुका साथै लोपोन्मुख परम्पराको संरक्षणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गरे ।


    छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवमा नमुना घरसँगै सांस्कृतिक झाँकी, मौलिक नृत्य, जातीय पहिरन प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका कक्ष (स्टल), साङ्गीतिक कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । आदिवासी जनजातिको पहिचान, मौलिकता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवले तनहुँको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको तामाङको भनाइ छ । उनले भने, “आधुनिकताको प्रभावले लोप हुँदै गएका हाम्रा मौलिक संस्कृति र परम्परालाई नयाँपुस्तासम्म पु¥याउन महोत्सव महत्वपूर्ण हुने विश्वास छ ।”

    महोत्सवका लागि आवश्यक तयारी सुरु भइसकेको जनाउँदै उनले स्टल निर्माण, सांस्कृतिक मञ्च व्यवस्थापन, समुदायगत प्रदर्शनीस्थल तयार गर्ने काम तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिए । आयोजकका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । आगामी माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको महोत्सवका संयोजक तामाङले जानकारी दिए ।

  • मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

    मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

    महेन्द्रनगर (धनुषा), २२ पुसः मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि र असमझदारीप्रति चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबैमा अपिल गरेका छन् ।

    उनले आज एक सन्देश जारी गर्दै मधेस विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर सङ्गमस्थल भएको उल्लेख गर्दै परापूर्वकालदेखि नै आपसी सम्मान, सहिष्णुता र भाइचाराको संस्कारलाई आत्मसात् गर्दै आएको बताए । प्रदेश प्रमुख कर्णले ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्य–मान्यताले मधेसी समाजलाई एकताबद्ध बनाउँदै आएकाले त्यसलाई आत्मसात् गर्न आग्रह गरे ।
    उनले समाजलाई विभाजन गर्ने तत्वहरूबाट सचेत रहन आग्रह गर्दै कुनै पनि किसिमको उत्तेजना वा आवेगमा नआई धैर्य अपनाउन सबै नागरिकलाई अनुरोध गरे ।

    विचार र आस्था फरक हुन सक्ने भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा भएको प्रदेश प्रमुख कर्णको भनाइ छ । उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावनामा चोट पुग्ने खालका गतिविधि नगर्न आग्रह गर्दै समाजमा अमनचयन कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । संवाद र सहकार्य नै हरेक समस्याको समाधान भएको उल्लेख गर्दै प्रदेश प्रमुख कर्णले मधेस केवल विविधताको भूमि मात्र नभई अटुट एकता र प्रेमको भूमि भएको पुनः प्रमाणित गर्न सबैलाई आह्वान गरेका छन् ।

  • कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मङ्गलबार बस्ने

    कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मङ्गलबार बस्ने

    काठमाडौँ, २१ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार पुनः बस्ने भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सोमबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक पुनः मङ्गलबार बिहान ११ः०० बजे बस्ने उनले बताए ।

    सोमबार सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

  • अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी

    अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी

    काठमाडौँ, २२ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म पाँच लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा छ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए । तीमध्ये एक लाख ३० हजार ४२९ वटा आवेदन रद्द भएका थिए भने दुई हजार २६१ आवेदन कार्यान्वयनको क्रममा छन् ।

    हाल दैनिक छ हजारदेखि पाँच हजार ५०० सम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया चार हजार ५०० प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको प्रहरीले जनाएको छ । अधिकांश विकसित मुलुकहरुले प्रवेशाज्ञाका लागि तथा सरकारी एवं निजी सङ्घ संस्थाहरुले समेत रोजगारीलगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् ।

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार आपराधिक गतिविधिमा संलग्न व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन् । जसले गर्दा विभिन्न देशमा रोजगारी वा अन्य अवसरहरूबाट वञ्चित हुनुपर्दछ । नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपलब्ध गराउँछ ।

    अपराधसम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्र पाउने आवेदकलाई नियमानुसार उपलब्ध गराउने गरिएको उनले जानकारी दिए । निर्देशिकाअनुसार कुनै व्यक्तिउपर कुनै फौजदारी मुद्दामा अभियोग लागि अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्ता सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट निजलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुने छैन ।

    गम्भीर वा जघन्य कसुरमा सजाय पाएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोगलगायत अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको हकमा त्यस्तो व्यक्तिले गरेको कसुर उल्लेख गरी प्रहरी चारित्रिक प्रमाणपत्र जारी हुँदै आएको छ ।

    यस्तै कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको, नाबालक, अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरू कारबाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सोभन्दा कम सजाय भई सजाय भुक्तान भएको, कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको व्यक्तिको विरूद्धमा पुनरावेदन परी पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिको हकमा कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ ।

  • निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

    निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

    काठमाडौँ, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताएका छन् । राजधानीमा आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उनले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्यको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले मुलुकलाई निर्वाचनतर्फ लैजान सबै पक्षलाई आग्रह गर्दै बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिए । “चुनाव सर्छ कि, हुँदैन कि भन्ने अन्योल सिर्जना गर्ने काम नगर्नुहोस् । निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो”, सभापति लामिछानेले भने, “देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन ।”

    उनले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिएका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढाएको बताए । सभापति लामिछानेले यो इतिहासको संवेदनशील मोडमा देशले राम्रो इतिहास लेख्न लागेको धारणा व्यक्त गरे । उनले थरुहट÷थारुवान आन्दोलनलाई पार्टीले आत्मसात् गर्ने र त्यसप्रति जिम्मेवारी लिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

  • अब पर्यटकीय गन्तव्यबारे ‘क्युआर कोड’ बाट जानकारी पाइने

    अब पर्यटकीय गन्तव्यबारे ‘क्युआर कोड’ बाट जानकारी पाइने

    रासस
    गण्डकी, २१ पुसः पर्यटन राजधानी मानिएको पोखराका विभिन्न २४ वटा पर्यटकीय गन्तव्यलाई ‘क्युआर कोड’मा पढ्न र सुन्न पाइने भएको छ । पोखरा आउने पर्यटकलाई यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको सहयोग र साराङ डिजिटलको प्राविधिक सहयोगमा यस्तो व्यवस्था गरिएको हो ।

    यो व्यवस्थासँगै पोखराका रत्न मन्दिर, रुपा ताल, सराङकोट, काहुँडाँडा, हरिहर गुफा, भद्रकाली, शीतलादेवी, राम मन्दिर, रामघाट, कवि शिरोमणि लेखनाथ सङ्ग्रहालय, सीता गुफा, लक्ष्मीनारायण नारायणस्थान, श्री गणेश भद्रकाली मन्दिर, काहुँ धरहरा, अकलादेवी मन्दिर, शीतलादेवी मन्दिरलगायत गन्तव्यबारे ‘क्युआर कोड’ ‘स्क्यान’ गरेर पढ्न र सुन्न पाइने भएको छ ।

    यसले पोखराका प्रमुख पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्नका लागि यहाँ आउने पर्यटकलाई ठूलो सहयोग पुग्ने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार क्युआरमार्फत पर्यटकीय गन्तव्यका सम्बन्धमा अरेविक, चाइनिज, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, इटालियन, जापानी, कोरियन, रसियन र स्पेनिश गरी ११ भाषामा पढ्न पाइने छ ।

    यसैगरी अङ्ग्रेजी, हिन्दी, चिनियाँ, फ्रान्सेली र नेपाली भाषामा पर्यटकीय गन्तव्यबारे जानकारी सुन्न पाइने व्यवस्था मिलाइएको छ । प्रत्येक गन्तव्यमा दुईवटा क्युआर कोडसहितको बोड राखिएको छ । बोर्डमा रहेको एउटा कोड स्क्यान गर्दा सम्बन्धित गन्तव्य र अर्को कोडमा पोखराका घुम्नै पर्ने अन्य गन्तव्यबारे जानकारी पाउन सकिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

  • नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

    नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

    काठमाडौँ, २२ पुस । नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशङ्कर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो । श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको छ ।

    श्रीवास्तवले भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा लिएर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालमै नक्कली नोट छाप्नका लागि आवश्यक सामग्री ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले श्रीवास्तवका साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान, मोनिटर एक थान, रङ्गीन प्रिन्टर एक थानलगायत उपकरण बरामद गरेको छ ।

  • सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल

    सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको पुनः अपिल

    काठमाडौँ, २१ पुसः गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।

    सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्‍याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले स्पष्ट पारेको छ ।

    “विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति दिनु दण्डनीय अपराध हो”, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । मन्त्रालयले शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।

  • जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

    जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

    वीरगञ्ज (पर्सा), २१ पुसः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यू आदेश जारी गरेको छ । आज दिउँसो १ः०० बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ः०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।


    उनले दुई समुदायबीच हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यूआदेश जारी गरिएको छ”, उनले भने ।


    स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ । प्रजिअ दाहालले कफ्र्यूको बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनको लागि अनुरोध गरे ।

    कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ । प्रशासनले आज दिउँसो १ः०० बजेदेखि दिउँसो १ः०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्जमहानगर क्षेत्रमा चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

  • एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने

    एमालेको सचिवालय बैठक मङ्गलबार बस्ने

    काठमाडौँ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्गलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठक मङ्गलबार बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौँमा बस्ने भएको छ ।

  • जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

    जेन जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

    काठमाडौँ, २१ पुस । प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    उनका अनुसार शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट भागी फरार भएको चोरी मुद्दाको प्रतिवादी रोहित खड्गी शाहीलाई प्रहरीले फेला पारेको हो । यसैगरी निज शर्माकै कोठामा काठमाडौँ वसुन्धराबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो रङको एफजेड मोटरसाइकल, भक्तपुर ठिमी एरियाबाट चोरी भएको वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०६२५ ६३७० लाई हटाई बागमती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरेको अवस्थाको केटिएम डुक मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत फेला पारको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।


    यसैबीच प्रहरीले सुनका गरगहनालगायतका सामान चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २२ वर्षीय मनोज थापा रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता भट्टराईले जानकारी दिए ।

    उनका अनुसार काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक कोठाबाट सुन, मोबाइल, घडीलगायतका धनमाल चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निज थापाको घर खानतलासी गर्ने क्रममा सुनका सामानसहित पक्राउ गरिएको हो ।

    \पक्राउ परेका निज थापाको घरबाट सुनजस्तो देखिने पहेँलो धातुले बनेको पोतेसहितको तिलहरी एक थान, सुनजस्तो देखिने पहेँलो धातुले बनेको औँठी एक थान, आइफोन एक थान, सामसुङ कम्पनीको आइप्याड एक थान, रियलमी कम्पनीको मोबाइल एक थान, आइटेल लेखिएको कि प्याड मोबाइल एक थान, गितार दुई थान, क्यासियो लेखिएको घडी एक थान तथा पाइनिङ लेखिएको पावर ब्याङ्क एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका निज थापाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा सम्पन्न

    रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा सम्पन्न

    काठमाडौँ, २१ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट\थारुवान अभियन्ताबीच समायोजन भएको छ ।
    आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो।

    सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट\थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गरे । सहमतिपत्रमा थारु समुदायको धार्मिक तथा सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धनका लागि थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी एवं संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ ।

    ‘टीकापुर घटना’लाई राजनीतिक घटनाका रूपमा स्वीकार गर्दै रास्वपाको नेतृत्वमा सङ्घीय सरकार गठन भएपछि शान्ति सुरक्षासँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिसहरूको उचित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । निजामती सेवा, न्यायिक क्षेत्र, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने पनि सहमति भएको छ । भूगोल, जनसङ्ख्या, क्षमता र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयाममा सर्वदलीय राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमतिमा भनिएको छ ।

  • टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

    टी–२० विश्वकपको ट्रफी नेपालमा आउनु गौरवपूर्ण : राष्ट्रपति पौडेल

    काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे ।


    राष्ट्रपति पौडेलले भने, नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।”

    उनले खेल क्षेत्रमा आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपालका लागि सकारात्मक सङ्केत भएको धारणा राखे । राष्ट्रपति पौडेलले नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवं आत्मविश्वास अभिवृद्धि गर्ने काम गरिएकामा अन्तरराष्ट्रिय क्रिकेट परिषद्प्रति धन्यवाद व्यक्त गरे ।
    उनले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलङ्कामा आयोजना हुन गइरहेको टी–२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।

  • आफैँलाई गोली हानी मृत्यु

    आफैँलाई गोली हानी मृत्यु

    भक्तपुर, २१ पुस । मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी आज ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ । ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।

    आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उनले बताए । घनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

  • युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

    युक्रेन ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

    मस्को, २१ पुस (रासस–एएफपी) । युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल भनुकोभोलगायतका अन्य दुई विमानस्थलमा कैयौँ उडानहरू ढिलाइ भएका छन् । करिब चार वर्षको युद्धमा रुसी ड्रोन आक्रमणको लहर सहेको युक्रेनले तत्काल कुनै टिप्पणी गरेको छैन ।

    रुसी उड्डयन नियामक रोसाभियात्सियाका प्रवक्ताले ग्रीनचि ुमय अनुसार विहान १ः०० देखि २ः०० बजेसम्मको बीचमा सेवा बन्द गर्ने घोषणा गरेका थिए । “उडानको सुरक्षा सुनिश्चित गर्न प्रतिबन्धहरू आवश्यक छन्,” आर्टेम कोरेन्याकोले टेलिग्राममा भनका छन् । उनले भने, “भनुकोभो, डोमोडेडोभो र झुकोभस्कीमा केही समय सेवा अवरूद्ध भएको र केही घण्टा पछि आंशिक रूपमा सेवा पुनः सञ्चालनमा ल्याइएको थियो ।

    मस्कोका मेयर सर्गेइ सोब्यानिनले आइतबार राजधानीतर्फ जाँदै गरेको कम्तीमा २७ वटा ड्रोन खसालेको जानकारी दिएका छन् । सन् २०२२ मा आफ्नो छिमेकीमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको रुसले युक्रेनी ड्रोन आक्रमणको जवाफमा पटकपटक आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।

  • सन् २०२५ चीनमा सन् १९६१ पछि अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष रेकर्ड

    सन् २०२५ चीनमा सन् १९६१ पछि अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष रेकर्ड

    बेइजिङ, २१ पुस (रासस–एएफपी) । चीन सन् २०२५ मा सन् १९६१ पछि औसतमा सबैभन्दा बढी गर्मी बर्षका रूपमा रेकर्ड भएको चीनको मौसम विज्ञान प्रशासनले आइतबार जानकारी गराएको छ। चीनमा गत बर्ष देशव्यापी औसत तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो । राष्ट्रिय जलवायु केन्द्रका वरिष्ठ इन्जिनियर शी सुआईका अनुसार यो आँकडा देशको सामान्य वार्षिक तापक्रम ९.९ डिग्री सेल्सियसभन्दा १.१ डिग्री सेल्सियस बढी हो । गत वर्ष सिन्जियाङ, जियाङ्सी र हुबेइसहित १६ प्रान्तीय स्तरका क्षेत्रहरूले सन् १९६१ पछि औसतमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरेका थिए।

    जूनदेखि अगस्टसम्मको राष्ट्रिय औसत तापमान २२.३ डिग्री सेल्सियस थियो र यो सामान्य भन्दा १.१ डिग्री सेल्सियस बढी हो । सन् २०२४ मा सन् १९६१ पछि सबैभन्दा गर्मी बर्षा ऋतुको रूपमा रेकर्ड भएको छ। “बेइजिङले गत वर्ष सन् १९६१ पछि सबैभन्दा बढी वार्षिक वर्षा रेकर्ड गरेको थियो र उत्तरी चीनमा वर्षा ऋतुको लम्बाइ र कुल वर्षा दुवै ऐतिहासिक उच्च भएको थियो,” शीले भने ।

    यस महिनाको तथ्याङ्कलाई समीक्षा गर्दै शीले सबैभन्दा बढी मौसमी असन्तुलन व्यहोर्ने बर्ष बन्न सक्ने अर्को चेतावनीमुलक सन्देश दिएका छन् । उनले भने, “उत्तरी चीनले कम तापक्रम, हिउँ र चिसो वर्षाको सम्भावित प्रतिकूल प्रभावहरूको लागि तयार रहनुपर्दछ, देशको दक्षिणी भागले मौसमी खडेरीबाट सावधान रहनुपर्दछ।”

  • निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

    निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

    काठमाडौँ, २१ पुस । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो ।

    आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ ।
    कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

  • खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

    खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

    काठमाडौँ, २१ पुस । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेकी छिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

  • धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने

    धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कडा कारबाही गरिने

    काठमाडौँ, २१ पुसः नेपाल सरकारले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
    गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ ।

    बैठकमा विभिन्न धार्मिक समुदाय र एकअर्काका धर्मलक्षित सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने, अर्काको धर्ममा खलल पुर्‍याएका घटनाबारे छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द कोइरालाले जानकारी दिए । यसैगरी धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको बैठक बस्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।


    प्रवक्ता कोइरालाका अनुसार निर्वाचनको सम्बन्धमा सुरक्षा निकायले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय भएको थियो । विशेष गरी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायले हालसम्म गरेका तयारी र मन्त्रालयले गर्नुपर्ने समन्वयबारे पनि छलफल भएको थियो । यस्तै, जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै सुरक्षा निकायलाई थप क्रियाशील बनाउने विषयमा विस्तृत छलफल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

  • धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल

    धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल

    जनकपुरधाम, २१ पुसः जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गरेका छन् ।

    सूचनामा भनिएको छ,“विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, धर्मलक्षित टीकाटिप्पणी गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड तथा आगजनी र लुटपाट गर्नेलगायत गैरकानुनी तथा हिंसात्मक र सामाजिक द्वेष फैलाउनेलाई प्रचलित कानुनबमोजम कार्यवाही हुनेछ ।”

    यसैगरी जिल्लामा क्रियाशील विभिन्न धार्मिक सङ्घसङ्गठन, राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत सरोकार भएकाहरुलाई शान्तिपूर्ण वातावरण बनाउन सहयोगका लागि आग्रहसमेत गरिएको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

    काठमाडौँ, २१ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । अर्कोतिर कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा रहेको छ ।

  • म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा

    म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा

    याङ्गुन, म्यानमा, २१ पुस (रासस–एएफपी) । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ । सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्तिमा भनिएको छ,“सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिाले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार १३४ जना पुरुष र महिला कैदीलाई क्षमादान प्रदान गरेका छन् । त्यसैगरी ५२ जना विदेशी कैदी पनि रिहा गरी आफ्ना देशमा प्रत्यर्पण गरिने बताइएको छ ।


    फेब्रुअरी सन् २०२१ मा भएको सैनिक विद्रोपपछि हजारौं प्रदर्शनकारी र मानवअधिकारकर्मीलाई पक्राउ गरिएको थियो । यसले म्यानमाको छोटो लोकतान्त्रिक अनुभवलाई समाप्त पार्दै देशलाई गृहयुद्धतर्फ धकेल्यो । राष्ट्रिय सुरक्षा परिषद्का अनुसार, वार्षिक कैदी रिहाइ कार्यक्रम ‘मानविय र दयालु कारण’ का आधारमा आयोजना गरिएको हो ।

    शनिबार बिहान याङ्गुनस्थित इन्सेइन जेल बाहिर सयौं नागरिकहरूले आफ्ना परिवारका सदस्यहरूको रिहाइको प्रतीक्षामा कागजात बोकेर उपस्थित भएका थिए । यसैबीच, म्यानमाको सेनाले महिना लामो चरणबद्ध निर्वाचन सुरु गरेको छ । सेनाले यसलाई लोकतन्त्र फर्काउने प्रयासको रूपमा प्रचार गरे पनि मानवअधिकारकर्मी र पश्चिमी कूटनीतिज्ञहरूले यसलाई सैनिक शासनको पुनः ब्रान्डिङ भएको भन्दै आलोचना गरेका छन् ।

    सैन्य समर्थक युनियन सॉलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले पहिलो चरणमा निर्णायक अग्रता लिएको छ । आधिकारिक नतिजा अनुसार हालसम्म तल्लो सदनका ९० प्रतिशत सीट यूएसडीपीले जितेको छ ।

  • ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    बेलायत, २१ पुस । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
    दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।

    कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । “ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छभने चिनेजानेकै नेपालीहरुमार्फत तेश्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

    यस्ता अपराधहरु नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायको लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए । समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा ं४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

  • बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह

    बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह

    ढाका, २१ पुस (रासस–एएफपी) । भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ । बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गरेका छन् ।


    “हामी कुनै पनि परिस्थितिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र बङ्गलादेशको अपमान स्वीकार गर्दैनौँ”, उनले भनेका छन्, “दासत्वका दिनहरू समाप्त भइसकेका छन् ।” उनका अनुसार छिमेकी राष्ट्रहरूबीच बढेको तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल टोलीहरूलाई ‘सल्लाह’ दिएपछि बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले शनिबार रिलिज गरेको थियो ।

    नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई औपचारिक पत्र लेख्न निर्देशन दिइएको जानकारी दिए । उनले भने, “यदि कुनै बङ्गलादेशी क्रिकेटर अनुबन्धित भएर पनि भारतमा खेल्न नसक्ने अवस्था सिर्जना हुन्छ भने सम्पूर्ण बङ्गलादेशी क्रिकेट टोलीले विश्वकपमा खेल्न आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।” यही कारण देखाउँदै उहाँले बङ्गलादेशका विश्वकप खेलहरू श्रीलङ्कामा आयोजना गर्न अनुरोध गर्न पनि बोर्डलाई निर्देशन दिएका छन् ।
    भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुने तय भएको छ । तालिकाअनुसार बङ्गलादेशले आफ्ना चारवटा समूह चरणका खेल भारतमा खेल्ने कार्यक्रम रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना सबै खेल श्रीलङ्कामै खेल्नेछ, जुन भारत र पाकिस्तान दुवैलाई बहुराष्ट्रिय प्रतियोगिताहरूमा तटस्थ स्थल प्रयोग गर्न दिने सम्झौताअन्तर्गत गरिएको व्यवस्था हो ।

    सन् २०२४ मा ढाकामा भएको जनविद्रोहपछि भारतको निकट सहयोगी मानिने तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पदच्युत भएसँगै भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा तिक्तता आएको बताइन्छ । भारतको विदेश मन्त्रालयले गत महिना मुस्लिम बहुल बङ्गलादेशमा ‘अल्पसङ्ख्यकहरूविरुद्ध निरन्तर शत्रुता’ भएको भन्दै आलोचना गरेको थियो । तर बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले भारतले हिंसाको परिमाणलाई बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाएका छन् ।


    बिसिबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आइतबारपछि बोर्डको आपतकालीन बैठक बस्ने जानकारी दिए । “हाम्रा क्रिकेटरहरूको गरिमा र सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो र यही आधारमा हामी उचित समयमा निर्णय गर्नेछौँ”, उहाँले शनिबार राति पत्रकारहरूसँग भनेका थिए ।

    यसअघि आइपिएलका विभिन्न टोलीबाट खेलिसकेका मुस्ताफिजुरलाई कोलकाताले गत डिसेम्बरमा १० लाख अमेरिकी डलरभन्दा बढी रकममा अनुबन्ध गरेको थियो । तर बिसिसिआईका सचिव देवजित साइकियाले ‘हालैको घटनाक्रमलाई ध्यानमा राख्दै’ कोलकातालाई ३० वर्षीय खेलाडीलाई ‘रिहा गर्न’ सल्लाह दिइएको बताए । सन् २०२६ को आइपिएल मार्च २६ बाट सुरु हुने तय छ ।

    नजरुलले आइपिएललाई बङ्गलादेशी प्रसारणकर्ताहरूबाट ब्लक गर्न पनि आग्रह गर्ने बताएका छन् । मैले बङ्गलादेशमा आइपिएल प्रतियोगिताको प्रसारण रोक्न सूचना तथा प्रसारण सल्लाहकारलाई अनुरोध गरेको छु”, उनले भने । यसैबीच, बलिउड सुपरस्टार शाहरुख खानको बहुमत स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई ‘उचित प्रक्रिया र परामर्शपछि’ रिलिज गरिएको स्पष्ट पारेको छ ।

  • भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

    भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो

    वाशिङ्टन, २१ पुस (रासस–एएफपी) । भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले शनिबार राति हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएका थिए ।

    समाचारअनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको छ, जहाँ उहाँहरूमाथि लागूऔषध तस्करी तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ । अमेरिकी विशेष फौजले शनिबार बिहान सबेरै राजधानी काराकास तथा वरपरका क्षेत्रमा हवाई आक्रमणसहितको सैन्य कारबाही सञ्चालन गरी मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।


    अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मध्यरात १२ बजेपछि प्रारम्भिक प्रतिबन्ध समाप्त भएको र त्यसपछि नियमित उडानहरू पुनः सञ्चालन गर्न अनुमति दिइएको बताएका छन् । उनका अनुसार सम्बन्धित वायुसेवा कम्पनीहरूलाई आवश्यक सूचना दिइसकिएको छ र उडान तालिका छिट्टै अद्यावधिक गरिनेछ । यसअघि अमेरिकी संघीय उड्डयन निकायले जारी गरेको सूचनामा क्यारिबियन क्षेत्रमा जारी सैन्य गतिविधिका कारण उडान सुरक्षामा जोखिम देखिएको उल्लेख गर्दै उक्त हवाई क्षेत्र प्रयोग नगर्न निर्देशन दिएको थियो ।

  • मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

    मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

    काराकास, २१ पुस (रासस–एपी) । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गरे ।


    यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृति बिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।

    मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क नजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उनलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो । ब्रुकलिनको सङ्घीय जेलमा मुद्दाको पर्खाइमा उनलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ ।

    ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिएका छन् । यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उनी जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् । यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेकी छिन् । भेनेजुएलाको कानूनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गरेकी छिन् ।

    (260103) — PALM BEACH, Jan. 3, 2026 (Xinhua) — A screen shot taken from a video released by the White House shows U.S. President Donald Trump holding a press conference at the Mar-a-Lago estate in Palm Beach, Florida, the United States, Jan. 3, 2026. U.S. raid “a heavily fortified military fortress in the heart of Caracas” to capture Maduro — Trump (Xinhua)

    ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताए । उनले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पु¥याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गरे ।


    शनिबार बिहान काराकासमा विस्फोटहरू सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो । भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण” भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’। आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ । उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन । अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ ।

    मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो । “सबैजना डराएका छन्, धेरै परिवार सुत्न सकेनन्”, काराकासका बासिन्दा नोरिस प्रादाले भने । यसबीच, अमेरिकाको फ्लोरिडास्थित डोरल सहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाएको देखियो ।

    अन्तर्राष्ट्रिय रूपमा पनि यस घटनाले तरङ्ग ल्याएको छ । कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसनबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । अमेरिकी कङ्ग्रेसका दुवै दलका केही सांसदहरूले कङ्ग्रेसको स्वीकृति बिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानूनी आधार र क्षेत्रीय स्थिरताबारे स्पष्ट जवाफ माग गरेका छन् ।

  • दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

    दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

    सियोल, २१ पुस (रासस–एपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो । ती क्षेप्यास्त्रहरू करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन् । दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपणसम्बन्धी विवरणको विश्लेषण गरिरहेका छन् ।

    दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको र मिसाइल प्रक्षेपणबारे अमेरिका तथा जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको जनाएको छ । जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र नभई, क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा पुर्‍याएको बताए ।

    विशेषज्ञहरूका अनुसार यी प्रक्षेपणहरू उत्तर कोरियाले हालैका हप्ताहरूमा देखाउँदै आएको हतियार प्रदर्शनको पछिल्लो कडी हुन् । उत्तर कोरियाले आगामी सत्तारूढ वर्कर्स पार्टीको सम्मेलनअघि रक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा समीक्षा गर्ने उद्देश्य राखेको हुनसक्ने विश्लेषण गरिएको छ । यो सम्मेलन पाँच वर्षपछि पहिलोपटक हुने अपेक्षा छ । पर्यवेक्षकहरूका अनुसार सम्मेलनले अमेरिकासँगको नीतिगत दिशा र लामो समयदेखि रोकिएका वार्ताहरू पुनः सुरु हुने–नहुने सङ्केत दिन सक्छ ।

    उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता विफल भएपछि आणविक हतियार विस्तारमा ध्यान केन्द्रित गर्दै आउनुभएको छ । युक्रेन युद्धको पृष्ठभूमिमा रुससँगको सहकार्य र चीनसँगको सम्बन्ध सुदृढ गर्दै उहाँले कूटनीतिक प्रभाव बढाएको विश्लेषण छ । दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार पार्टी सम्मेलन जनवरी वा फेब्रुअरीमा हुनसक्ने सम्भावना छ ।

    आइतबारको प्रक्षेपण राष्ट्रपति लीको चारदिने चीन भ्रमणअघि भएको हो । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्दै उत्तर कोरियाको प्रमुख सहयोगी तथा ठूलो व्यापारिक साझेदार चीनलाई कोरियाली प्रायद्वीपमा शान्ति प्रवद्र्धनका लागि रचनात्मक भूमिका खेल्न आग्रह गर्ने तयारीमा हुनुहुन्छ । दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि उत्तर कोरियालाई वार्तामा फर्काउन चीनको प्रभाव प्रयोग गर्न अनुरोध गर्दै आएका छन्, तर बेइजिङको वास्तविक प्रभाव कति छ भन्नेबारे प्रश्न उठ्दै आएको छ । पछिल्ला वर्षहरूमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रयासलाई चीन र रुसले बारम्बार अवरुद्ध गरेका छन् ।

    प्रक्षेपणपछि दक्षिण कोरियाले आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको थियो । बैठकमा अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन हुने गरी गरिने ब्यालेस्टिक मिसाइल प्रक्षेपण तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् । परिषद्को छलफल र आवश्यक कदमबारे राष्ट्रपति लीलाई जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसैबीच, उत्तर कोरियाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । शनिबार अमेरिकाले भेनेजुएलाका नेता निकोलस मदुरोलाई नियन्त्रणमा लिई अमेरिका लगेको घटनापछि क्षेत्रीय तथा विश्व राजनीतिमा तरङ्ग देखिएको छ । सियोलस्थित इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्राध्यापक लीफ–एरिक इस्लीका अनुसार यस्ता घटनाले किम जोङ–उनजस्ता नेताहरूलाई आणविक प्रतिरोध क्षमतामा अझ जोड दिन प्रेरित गर्न सक्छ ।

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले आइतबार किमले शनिबार एक हतियार कारखानाको निरीक्षण गरी त्यहाँ उत्पादित बहुउद्देश्यीय सटीक निर्देशित हतियारहरूको समीक्षा गर्नुभएको जनाएको छ । उहाँले उत्पादन क्षमता करिब २।५ गुणा बढाउन निर्देशन दिनुभएको उल्लेख गरिएको छ । गत साता उत्तर कोरियाले लामो दूरीको रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको थियो भने डिसेम्बर २५ मा पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाउने तस्बिरहरू सार्वजनिक गरेको थियो ।

  • कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो

    कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो

    कङ्गो, किन्शासा, २१ पुस (रासस–सिन्ह्वा) । अफ्रिकी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्रमा भएको ड्रोन आक्रमणसम्बन्धी समाचारप्रति संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले गम्भीर चासो व्यक्त गरेको छ । कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन प्रमुख मोनुस्कोले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने सबै प्रकारका आक्रमणको कडा निन्दा गर्नुभएको छ । उक्त क्षेत्रमा सरकारी सुरक्षा बल र ‘एम–२३’ आन्दोलन नामक विद्रोही समूह बीच भीषण झडप भइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय मिसनले सबै पक्षलाई युद्धविरामको कडाइका साथ पालना गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न तथा कूटनीतिक पहलमार्फत सम्पन्न शान्ति सम्झौताहरू कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्थाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, आवासीय क्षेत्रमा भएको हवाई आक्रमणपछि अस्पतालमा महिला तथा बालबालिकासहित ४२ जना घाइते भर्ना गरिएका थिए । उपचारका क्रममा दुई जनाको मृत्यु भएको जनाइएको छ ।

    मासिसी क्षेत्र पूर्वी कङ्गोमा द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक मानिन्छ । पछिल्लो ड्रोन आक्रमणको घटना गत साता ‘एम–२३’ विद्रोही समूह, कङ्गो सेना तथा तिनका समर्थकबीच झडप भएको हो । उभिरा रणनीतिक महत्त्वको सहर हो, जसलाई ‘एम–२३’ समूहले सन् २०२५ देखि छोटो समयका लागि नियन्त्रणमा लिएको थियो र एक सातापछि फिर्ता भएको दाबी गरेको थियो ।
    पूर्वी कङ्गो विगत धेरै दशकदेखि निरन्तर हिंसाबाट ग्रसित रहँदै आएको छ । सन् २०२१ को अन्त्यदेखि ‘एम–२३’ विद्रोह पुनः सक्रिय भएपछि अवस्था अझै जटिल बनेको छ । कङ्गो सरकारले छिमेकी रुवान्डाले विद्रोही समूहलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ, तर रुवान्डाले ती आरोपहरू अस्वीकार गर्दै आएको छ ।

  • सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण

    सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण

    दमास्कस, २० पुस (रासस–एपी) । बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

    मन्त्रालयका अनुसार शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक सहर पालमिराको उत्तरतर्फ रहेको एक पहाडी संरचनाभित्रको भूमिगत सुविधालाई लक्षित गरी आक्रमण गरिएको थियो । सो स्थानमा आइएसका सदस्यहरूले हतियार तथा विस्फोटक सामग्री भण्डारण गरेको सूचनाका आधारमा कारबाही गरिएको जनाइएको छ ।

    बेलायत र फ्रान्स विगत एक दशकभन्दा बढी समयदेखि आइएसविरुद्ध सङ्घर्ष गर्दै आएको अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनका सदस्य राष्ट्र हुन् । जारी विज्ञप्तिअनुसार बेलायती वायु सेनाले भोयजर रिफ्युलिङ ट्याङ्करको सहयोगमा टाइफुन एफजिआर–४ लडाकू जेट प्रयोग गरेको थियो भने फ्रान्सेली लडाकू विमानहरू पनि संयुक्त आक्रमणमा सहभागी भएका थिए ।

    बेलायती वायु सेनाले पेभवे–४ निर्देशित बम प्रयोग गरी उक्त भूमिगत केन्द्रका तलतर्फ रहेका धेरै पहुँच सुरुङहरूलाई लक्षित गरेको जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणपछिको विस्तृत मूल्याङ्कन प्रक्रिया जारी रहे पनि प्रारम्भिक सङ्केतहरूले ‘लक्ष्य सफलतापूर्वक संलग्न गरिएको’ देखाएको छ ।

    बेलायतका रक्षामन्त्री जोन हेलीले यस कारबाहीले मध्यपूर्व क्षेत्रमा आइएस र यसको ‘हिंसात्मक विचारधारा’ को कुनै पनि पुनरुत्थान रोक्न बेलायत आफ्ना सहयोगी राष्ट्रहरूसँग काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको सन्देश दिएको बताएका छन् । यस आक्रमणबारे सिरियाली सरकारको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । सिरिया गत वर्षको अन्त्यतिर औपचारिक रूपमा आइएसविरोधी अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल भएको थियो ।

    सन् २०१९ मा सिरियामा निर्णायक सैन्य पराजय भोगेपछि पनि आइएसका स्लीपर सेलहरू अझै सक्रिय रहेको मानिन्छ । ती समूहहरूले सिरिया र इराकमा छिटपुट तर घातक आक्रमणहरू गर्दै आएका छन्, जहाँ एक समय उनीहरूले तथाकथित ‘खिलाफत’ घोषणा गरेका थिए । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार आइएससँग अझै पनि सिरिया र इराकका आफ्ना पुराना गढ क्षेत्रमा करिब पाँच हजारदेखि सात हजार सदस्यहरू सक्रिय छन् ।

    गत महिना, पालमिरा नजिकै भएको एक आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषे मारिएपछि त्यसको प्रतिशोधस्वरूप ट्रम्प प्रशासनले सिरियामा आइएस लडाकूहरू र हतियार केन्द्रहरूलाई ‘उन्मूलन’ गर्ने उद्देश्यले अमेरिकी सैन्य आक्रमण सुरु गरेको थियो । अहिलेको बेलायत–फ्रान्सको संयुक्त हवाई कारबाही पनि त्यही व्यापक सुरक्षा प्रयासको निरन्तरता मानिएको छ ।

  • साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

    साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

    एडेन, यमन, २० पुस (रासस–एएफपी) । यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तिमा ८० सैनिकहरू शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताएका छन्।

    “संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका कम्तिमा ८० जना मारिएका, १३० जनालाई बन्धक बनाइएको र १५२ सदस्य घाइते भएका छन्,” समूहका अधिकारीले बताएका छन् । साउदी समर्थित सेनाले शुक्रबार युएई समर्थित एसटिसीले कब्जा गरेको भूभाग फिर्ता लिन अभियान सुरु गरेको छ । रियाद र अबु धाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको सङ्घर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको छ ।

    साउदी नेतृत्वको गठबन्धनले पृथकतावादीको कब्जामा रहेको सैन्य शिविरलाई लक्षित गरी गरेको आक्रमणमा अधिकांश मृत्यु भएको अधिकारीले बताएका छन् । यमनी एसटिसी पूमुखले शनिबार एसटिसीले संसाधन–सम्पन्न हद्रामावाटलाई पुनः कब्जा गर्ने घोषणा गरेको छ । रियाद–समर्थित सरकारी सैन्य अधिकारीहरूले पनि शनिबार छिमेकी माहरा प्रान्तका अधिकारीहरूले कुनै प्रतिरोध बिना आफ्नो निष्ठा फिर्ता लिएको बताएका छन्।

    साउदी समर्थित सेनाले आइतबार हद्रामावाट प्रान्तको राजधानी मुकल्लामा आफ्नो उपस्थितिलाई मजबुत बनाउने काम गरिरहेको दुई सरकारी सैन्य अधिकारीले एएफपीलाई बताएका छन् । रियाद र अबु धाबीले यमनको विभाजित सरकारमा लामो समयदेखि प्रतिद्वन्द्वी समूहहरूलाई समर्थन गर्दै आएका छन्। एसटिसीले डिसेम्बरमा गरेको आक्रमणमा उसले हद्रमावाट र माहरालाई नियन्त्रणमा लिएको थियो । यसले साउदी अरबलाई आक्रोशित बनायो, जसले दुई तेल–धनी शक्तिहरूबीचको सम्बन्धमा तनावको सिर्जना गर्यो ।

    साउदी नेतृत्वको गठबन्धनले गत हप्तामा बारम्बार पृथकतावादीहरूलाई कथित इमिराती हतियार ढुवानी रोक्न चेतावनी दिएको र हवाई आक्रमण गरेको छ । शुक्रबार हद्रामावतस्थित अल–खाशा सैन्य शिविरमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको थियो । शनिबार एसटिसीका एक सैन्य अधिकारीले एएफपीसँग भने,“साउदी युद्धक विमानहरूले मुकल्लाको पश्चिममा रहेको बार्सिदमा समूहको अर्को शिविरमा ‘व्यापक’ हवाई आक्रमण गरेका थिए ।