Category: समाचार

  • कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

    कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

    कर्णाली, १७ पुसः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर आज मृत्यु भएको हो ।

    कोठामा कोइला बाली सुतेको अवस्थामा निस्सासिएर बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक यादवका अनुसार आमा तारा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

  • करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

    करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

    रसुवा, १७ पुस । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएका उनले जानकारी दिए ।

    उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ । केरूङ नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका जनाउँदै सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेका बताए । सामान आयातको करबाट सङ्कलन हुने राजस्व गत वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म रु २२ अर्बभन्दा बढी नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

    स्याफ्रुबेँसी–सुवागढी खण्डको सडक जीर्ण हुँदा मालवाहक सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गरी जनधनको सुरक्षामा विशेष ध्यानदिन सरोकार भएका निकायलाई आग्रह गरिएको सवारी चालक रसुवा यार्साका सुकु तामाङले बताए ।

    गत असार २४ गतेको बाढीले दर्जनौँ स्थानका सडक कटान गरी गल्छी–रसुवागढी सडक सुधार आयोजनाले मर्मत गरे पनि सडकको ट्र्याक खोल्ने काम मात्र भएको थियो । उक्त समयमा टेवा पर्खाल मजबुत बनाउन नसक्दा सवारीसाधन सञ्चालनमा जोखिम बन्दै गएपछि सवारीचालकहरूले समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

  • जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

    जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

    काठमाडौ, १७ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको स्पष्ट गरे ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले सो आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहेको अवस्थामा आयोगले पत्राचार गरेको हो । यसैगरी आयोगलाई थप गरिएको समय सीमाभित्र प्रतिवेदन बुझाउने गरी आफूहरूले काम गरिरहेको उनले बताए । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट गठित तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको छ ।

  • प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?

    काठमाडौँ, १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए । दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति भएको उनको भनाइ छ ।

    “वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरुको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरुको मागबारे केस्रा केस्रा छलफल भएको छ”, उनले भने, “सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।” वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरु गम्भीर चासोका साथ लिएका थिए भने संयोजक प्रसाईंले अभियानको मागप्रति सरकारको ध्यानार्कषण गराएको जनाइएको छ ।

  • तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

    तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

    काठमाडौँ, १७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ ।

    आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र निज लेखकलाई दिइएको छ । बैठकले भदौ २३ र २४ गतेको घटनाको छानविन तथा जाँचबुझका लागि अनुसन्धानका दायरामा रहेको भन्दै आयोगले गत असोज १२ गते लेखकको विदेशमा भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । सो घटनाका सम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगमा बयान दिएका थिए ।

  • डा निकोलस भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह

    डा निकोलस भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह

    काठमाडौँ, १७ पुस : राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरुको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा बसेका डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, “निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पु¥याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।” आयोगले यस सम्बन्धमा निरन्तर अनुगमन गरिरहेको तथा आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा डा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, डा भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रासमेत घटेको पाइएको जनाएको छ ।

  • ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)

    ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)

    काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।

    Young couple share a tender moment celebrating the New Year’s with other people outside Red Square with the Spasskaya Tower and the St. Basil’s Cathedral, in the background, in Moscow, on Thursday, Jan. 1, 2026. (AP Photo)

    नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।

    People celebrate New Year’s Eve, in Rome, Thursday, Jan. 1, 2026. (AP Photo/Alessandra Tarantino)

    यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।

    Fireworks explode around the Burj Khalifa, the world’s tallest building, during New Year’s Eve celebrations in Dubai, United Arab Emirates, Thursday, Jan. 1, 2026. (AP Photo/Fatima Shbair)


    ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ ।

    इस्वी संवतको नयाँ वर्षको स्वागतार्थ बुधबार राति पोखराको लेकसाइडमा आयोजित सडक महोत्सवमा रमाउँदै गरेका सर्वसाधारण । तस्बिर ः जमुनावर्षा शर्मा / रासस

    इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

    “Baesemanne” (broom men) with long-handled juniper brooms, scary wooden masks and air-filled pig bladders “Soeiblaatere”, participate in the 102nd traditional “Achetringele” procession in Laupen, Switzerland, on Wednesday, Dec. 31, 2025, held to drive away evil spirits for the new year. (Anthony Anex/Keystone via AP)

    नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

    General view of the Hogmanay New Year’s Eve celebrations, in Edinburgh, Scotland, Wednesday, Dec. 31, 2025.(Steve Welsh/PA via AP)
    Police and the Rosguardia (National Guard) servicemen secure an area, closed for celebrations on New Year’s Eve, outside Red Square, in Moscow, on Wednesday, Dec. 31, 2025. (AP Photo)
    Fireworks light-up the sky in central London to celebrate the New Year on Thursday, Jan. 1, 2026. (AP Photo/Alberto Pezzali)
    Fireworks illuminate the night sky over Zurich, Switzerland, during the New Year’s Eve celebrations, on Thursday, Jan. 1, 2026. (Andreas Becker/Keystone via AP)
    इस्वी संवतको नयाँ वर्षकाे पहिलो दिन बिहीबार बिहान दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटबाट देखिएको सूर्योदय। तस्बिर : कुलदीप न्यौपाने / रासस
  • रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

    रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

    भक्तपुर, १७ पुसः आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् । विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् ।

    केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नंं ८ सिपाडोलको संङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरू आन्तरिक पर्यटकले भरिएका छन् । पर्यटन व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न यहाँ स्वदेशी पर्यटकको घुइँचो लागेको बताउनुभयो ।

    समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी बकेले भने, “रानीकोटबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ«े, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकले यहाँका होटल भरिएका छन्, व्यवसायीहरु उत्साहित छौँ ।”

    सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट, सर्यविनायकबाट रानीकोट हुँदै पनौती जाने छोटो दूरीको सडकका कारण पनि रानीकोटमा पर्यटक आवागमन सहज भइरहेको छ । अङ्ग्रेजी नयाँ वर्षको भीडले पर्यटन व्यवसायीलाई ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेँ भन्छन्, “पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नु अगाडि बनाएको गढी र पछि मल्ल राजाहरूले रानीका लागि दरबार बनाएपछि रानीकोट नाम रहेको यो क्षेत्र ऐतिहासिक रूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो । यहाँबा देखिने हिमाल र सूर्योदयले १२ महिना पर्यटकको आकर्षण बढ्न थालेको छ, नयाँ वर्षमा त झन् खचाखच हुने गरेको छ ।”

    ‘घ्याम्पेडाँडा रिसोर्ट’ का सञ्चालक राजेन्द्र प्याथ पनि आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसायमा उत्साह थपेको बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको उनले बताए । रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल हुन थालेको बताए । पिकनिकदेखि एकरात बस्न आउने पारिवारिक जमघट, विभिन्न निकायका कार्यक्रमलगायत आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनले बताए ।

    भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिभराउ भएका छन् । २०२५ को बिदाइ गर्दै २०२६ को पहिलो सूर्योदय र यहाँका हिमाली दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकले नगरकोटका आकर्षण थप बढाएको होटल व्यवसायी एवं होटल चौतारीको सञ्चालक बद्री माक बताउँछन् । उनी भन्छन्, “विदेशी पर्यटकको चाप पनि बढेको छ, स्वदेशी पर्यटकको चाप पनि उस्तै छ । अङ्ग्रेजी नयाँ वर्षमा करिब ५० प्रतिशत विदेशी पर्यटक र ५० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।”


    पछिल्लो समय सामान्यदेखि फाईभ स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाप बढेपछि व्यवसायीहरू उत्साहित छन् । यहाँ थप होटल खुल्ने क्रम पनि जारी छ । होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजु चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा निकै खुसी थपेको बताउँछन् ।

    यसपटक विगत वर्षको तुलनामा पर्यटकको आगमन बढेको उनले जानकारी दिए । होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने भन्छन्, न्नु“मैले होटल क्षेत्रमा काम गरेको २५ वर्ष भयो । कोरोनापछि होटल व्यवसाय अब त उठ्न सकिँदैन कि भन्ने लागेको थियो, तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि नै सबै होटल बुक हुन थालेका छन् । स्वदेशी पर्यटकको आगमन पनि बढ्दै गएको छ । यसले उत्साह थपिएको छ, अब केही हुन्छ भन्ने आशा जागेको छ ।”

    रासस

  • नेपालबाट एक वर्षमा विदेशिए १५ लाख नेपाली

    नेपालबाट एक वर्षमा विदेशिए १५ लाख नेपाली

    १७ पुस, काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।

    नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुनः बढिरहेको देखिएको छ । सन् २०१५ मा १० लाखभन्दा धेरै विदेशी पर्यटक पनि नेपाल भित्रिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ । विदेशीको हकमा हवाई मार्ग प्रयोगकर्ताको मात्र तथ्यांक राखिएको छ ।

  • आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    पाटन (ललितपुर), १७ पुस : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् ।

    महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ । यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

    आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु कायमै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।

    मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

  • नयाँ वर्ष सन् २०२६ सुरु

    नयाँ वर्ष सन् २०२६ सुरु

    काठमाडौँ, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ ।

    यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउँछन् ।३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन ।

    त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । इस्वी सन् अनुसारको पात्रोमा ‘लिपियर’ का रूपमा त्यसलाई व्यवस्थापन गर्न खोजे पनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको डा पन्तले बताए । पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

  • अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

    काठमाडौँ, १७ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गरे ।

    “शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हताउने काम गर्नेछ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक दाहालले भने । पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनले बताए ।


    संयोजक दाहालले राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । “हामीले आफ्नै आत्मसमीक्षा गरेर कमजोरी कहाँ भयो भनेर खोज्नुपर्छ । स्थापित शक्तिहरू अब नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पाखा लाग्ने मोडमा पुगेका छन्”, उनले भने ।

    दाहालले निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राखे । “युवापुस्ता जेनजी प्रदर्शनपछि हामीले राष्ट्रिय सहमति र राष्ट्रिय राजनीतिक एकतामा जानुपर्छ भनेका थियौँ । सर्वपक्षीय सहमति गर्ने वातावरण क्रमशः बन्न थालेको छ”, उनले भने ।

    वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिमा बसेर पनि निर्वाचन गर्ने वातावरण बनाउन सफल भएको नेकपाका संयोजक दाहालले उल्लेख गरे । “के हुन्छ भन्ने अन्योलभन्दा अब निर्वाचनमा केन्द्रित हुनुपर्छ । सरकारले अप्ठेरोबीच पनि विकल्प निर्वाचन नै हो भन्ने वातावरण बनाउँदै गएको छ”, उनले भने ।


    कार्यक्रममा नेकपाका संयोजक दाहालले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धि निजी क्षेत्रको सक्रियता बिना सम्भव नहुने तर्क गरे । “निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गरिएन भने विकास र समृद्धि सम्भव हुँदैन । निजी क्षेत्रको प्रवर्द्धन नगरी अर्थतन्त्र उकास्ने सपना पूरा हुँदैन”, उनले भने । उनले राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगार सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धिबाट समृद्धि सम्भव हुने धारणा राखे ।

  • भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

    भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी

    काठमाडौँ, १७ पुस । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन् । भृकुटीमण्डपको अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।”

    मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पारिन् । उनले भनिन्, “सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।” बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताइन् ।

  • समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं

    समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं

    कास्की, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताएका छन् । पोखरामा आज आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पारे ।

    उनले हाल भइरहेको खबरदारी आफूहरूका लागि सकारात्मक भएकोसमेत उल्लेख गरे । “पार्टीले बुझाएको बन्दसूचीमा केही आलोचना र गुनासो आएको छ । अन्तिम घडीमा बुझाइएकाले केही समस्या हुनसक्छ । रास्वपासँग विधि छ, विधि भन्दा बाहिर कुनै हालतमा जाँदैनौँ, ‘राइट टु रिकल’को व्यवस्थासमेत छ । परिवारवादलाई पार्टी विधानलेनै दिँदैन”, उनले भने ।


    सभापति लामिछानेले युवाहरूको विश्वास बालेन शाहप्रति रहेको र नयाँ परिर्वतनको झिल्कोको रूपमा उनीसँग सहकार्य गरेर प्रधामन्त्रीको रूपमा अघि सारिएको बताए । उनले भने, “युवाहरूको आन्दोलनपछि बालेनले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नुभयो । उहाँको सद्भाव, सल्लाह र सुझाव अनुसारनै अहिलेको सरकार बनेको हो । जेनजीको विश्वास बालेनसँग छ । देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ ।”

  • राप्रपा र राप्रपा नेपालबीच एकीकरण

    राप्रपा र राप्रपा नेपालबीच एकीकरण

    काठमाडौँ, १६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच आज एकीकरण भएको छ । यहाँ आज आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरिएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए ।


    ठूला राजनीतिक दलले सत्ता केन्द्रित राजनीति गरेका कारण नेपाली समाजमा उत्पन्न चरम निराशालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले जनतालाई आश्वस्त गर्दै मुलुकमा विद्यमान सङ्कटको समाधान गर्नसक्ने विचार व्यक्त गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले लिएका राजनीतिक मुद्दा सङ्कटमा परेकाले आफू राप्रपामा फर्किएको बताउँदै देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गमाथिको हस्तक्षेपविरुद्ध आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

    पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेताहरूले दुई पार्टीबीचको एकताप्रति खुसी व्यक्त गर्दै असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबर्जस्त अगाडि बढाउन नहुनेमा जोड दिए । उनीहरुले यथास्थितिमा निर्वाचनमा जाँदा मुलुक थप द्वन्द्वमा धकेलिने धारणा राख्दै राजनीतिक दल, जेनजी र परम्परागत शक्तिको प्रतिनिधिबीच छलफल गरी सहमति गर्नुपर्ने बताए । एकीकरणपश्चात् अध्यक्ष लिङ्देनपछि दोस्रो वरियता क्रममा थापालाई राखिएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    १६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी गराएको छ । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल–मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।

    यस्तो छ घटेपछिको मूल्य

  • असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि शान्तिपूर्ण हुनुपर्छ, र सरकारको प्रतिक्रिया पनि शान्तिपूर्ण तथा कानुनी प्रक्रियाभित्रै सीमित हुनु अत्यावश्यक छ,” उनले भने ।

    महतले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका आडमा भएका हिंसालाई कुनै पनि बहानामा वैधानिकीकरण गर्न नहुने बताए । ती घटनाबाट राष्ट्रले ठूलो आर्थिक र मनोवैज्ञानिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै महतले लगानीकर्ताको विश्वास घटेको र पुँजी पलायनको सम्भावना बढ्दै गएको बताए ।

  • प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

    प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

    काठमाडौँ, १६ पुस । नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ ।

    महासङ्घको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना अभिलेख भएका छन् । त्यसमा ११८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । दुई जना पत्रकारको मृत्यु भएको छ । गत वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटामात्र यस्ता घटना भएका थिए । सन् २०२४ को तथ्याङ्कसँग तुलना गर्दा सन् २०२५ मा हननका घटनामा करिब तेब्बरको हाराहारीमा वृद्धि भएको महासङ्घले जनाएको छ ।

    महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने किसिमका कानुनी प्रावधान अघि सारिएको, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा कठोर संशोधन गरिएको र फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक निर्णय गरिएको उल्लेख गरेको छ । भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्र २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।

    उक्त आन्दोलन र त्यसपछिको हिंसात्मक घटनामा १०० भन्दाबढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए । सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा करिब ६० करोड रुपैयाँ बराबरको संस्थागत क्षति र १८ करोड रुपैयाँ बराबरको निजी सम्पत्तिको क्षति भएको महाङ्घले जनाएको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए । त्यसैगरी आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा हुनसक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन पत्रकार जगत् र सरोकारवालालाई आह्वान गरेको छ ।

  • पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

    पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

    रासस
    काठमाडौँ, १६ पुस । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ ।

    विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो । सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ ।

  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त

    बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त

    बेइजिङ, १६ पुस (रासस–सिन्ह्वा) । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको निधनमा चीनले गहिरो शोक व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार बताएका छन् । प्रवक्ता जियानले बङ्गलादेशको अन्तरिम सरकार र उहाँको परिवार प्रति चीनले गहिरो सहानुभूति व्यक्त गरेको पनि बताए । मिडिया रिपोर्टका अनुसार मङ्गलबार खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको हो ।

    जिया चिनियाँ जनताको पुरानो मित्रका रुपमा लामो समयदेखि चीन–बङ्गलादेश मित्रताका लागि प्रतिबद्ध रहेको लिनले बताए । बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा जियाले चीन–बङ्गलादेश सम्बन्ध विकास गर्न सक्रिय प्रयास गरेको र दुई देशले दीर्घकालीन मित्रता, समानता र आपसी साझेदारी स्थापना गरेकोसमेत लिनले बताए । “चीन–बङ्गलादेश मैत्री प्रवद्र्धन र द्विपक्षीय सम्बन्धको विकासमा उहाँको महत्त्वपूर्ण योगदानलाई सदाका लागि स्मरण गरिने लिनले उल्लेख गरेका छन् ।

  • शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

    शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या

    काठमाडौँ, १६ पुसः शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।

    मौसम सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । सोसडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनाले स्पष्ट पारेको छ ।

    पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौँ जाने सवारी साधनहरु काठमाडौँ–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

  • ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    काठमाडौँ, १६ पुस । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् । नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ ।

    त्यसैगरी निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ । आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।

    साथै रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर, महिला, दलित वा अल्सङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिक रुपमा विपन्नका हकमा भने स्थानीय तहको सिफारिस पत्र हुनुपर्नेछ । साथै मतदाता नम्बर, उम्मेदवारको सम्पत्ति विवरण, घर सङ्ख्या, घर रहेको स्थान, जग्गाको विवरण, सङ्घीय कानुन बमोजिम अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र पनि उम्मेदवारले पेस गर्नुपर्नेछ ।

    कुनै लाभको पदमा नभएको भनी गरेको स्वघोषणा, कुनै जिम्मेवारी वा निर्वाचित पदमा रहेको भए राजीनामा दिएको दर्ताको निस्सा, कुनै अयोग्यता नभएको घोषणापत्र, उम्मेदवार आफै वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सहीछाप गरिएको उम्मेदवारको मनोनयनपत्र पनि पेस गर्नुपर्नेछ । यस्तै, २०७९ सालको प्रदेशसभा सदस्यतर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको भए फिर्ता लिएको कागजात पनि पेस गर्नुपर्नेछ ।

    प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम भएको व्यहोरा खुल्ने कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटका लागि प्रारम्भिक तयारी गरिरहेका छन् ।

  • अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

    अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद

    काठमाडौँ, १६ पुसः देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

    संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

    शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा

    वीरगञ्ज (पर्सा), १६ पुसः वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
    पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

    वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो । आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ ।

  • सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

    सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

    मध्यविन्दु (नवलपरासी), १५ पुस । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखिको शीतलहरले सडक चिप्लो तथा हिलाम्य बनेपछि अवरुद्ध भएको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि राजमार्गमा समस्या भइरहेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व_का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार सवारीसाधनको जाम विस्तारै हटाउने प्रयास भइरहेको छ । बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ भएको पनि उनले बताए । जोशीका अनुसार दाउन्नेबाट दुम्कीबास जङ्गलसम्म करिब एक हजार पाँच सय सवारीसाधन जाममा फसेका छन् । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी ई विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढिरहेको जानकारी दिए ।

    विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले सोमबारदेखि समस्या भएपछि यात्रुलाई निकै सास्ती भएको बताए । “चिसोले बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई निकै दुःख भएको छ । घण्टौँदेखि गन्तव्य नपुगेका यात्रु र सडकमै रोकिएका मालबाहक सवारीले दाउन्नेदेखि दुम्कीवाससम्मको अवस्था थप कष्टकर बनिरहेको छ”,उनले भने । यसैबीच आयोजनाले आज सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारीसाधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

  • काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

    काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

    काठमाडौँ, १५ पुस । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको बताउनुभयो । चिसो अझै बढ्ने अनुमान गरिएको छ । आज जुम्लाको तापक्रम माइनस ४.५ रहेको छ ।

    विभागले आज राति सार्वजनिक गरेको बुलेटिनमा पुस १६ गते तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहने तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यही पुस १७ गते पनि उस्तै अवस्था रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । देशका तराई भू–भागमा हुस्सु\कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको जनाइएको छ।

  • कृषिमन्त्री परियारको सय दिन : किसानको बक्यौता रकम भुक्तानीदेखि कृषि बजार सुधारसम्म

    कृषिमन्त्री परियारको सय दिन : किसानको बक्यौता रकम भुक्तानीदेखि कृषि बजार सुधारसम्म

    काठमाडौँ, १५ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीमा डा मदनप्रसाद परियार बहाली भएको आज १०० दिन पूरा भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा रहेर आम किसानहरूसँग प्रत्यक्ष वा परोक्ष जोडिएका समस्या समाधान गर्न र उनीहरू आवश्यकता सम्बोधन गर्न उनी लागिपरेका छन् ।


    यस अवधिमा मन्त्री परियारको प्रयासबाट कृषि जन्य उत्पादन प्रवद्र्धन र बजारीकरण, प्रविधिको प्रयोग र कृषि अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधार तथा कार्य सम्पादन भएका छन् । यसबीचमा उनीबाट देशका विभिन्न स्थानमा किसानको खेत बारीमै पुगेर भेटघाट तथा छलफलमार्फत आम किसानका समस्याहरू बुझी सम्भव भएसम्म तत्काल समाधान गर्ने प्रयास भएका छन् । मन्त्री परियारको प्रत्यक्ष संलग्नता र निर्देशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सम्पादन भएका महत्त्वपूर्ण कार्य तथा उपलब्धिहरू निम्न बमोजिम रहेका छन्…

    दुग्ध उत्पादक किसानको बक्यौता रकम भुक्तानी

    १. दुग्ध विकास संस्थान (डिडिसि) ले २०८२ भदौ मसान्तसम्मको दुग्ध उत्पादक कृषकहरूको बाँकी बक्यौता रकम रु एक अर्ब तीन करोड रहेकामा असोजदेखि पुस ९ गतेसम्म तीन महिनाको समयावधिमा रु ८१ करोडको भुक्तानी भइसकेको र बाँकी रहेको रकम करिब २२ करोड आगामी फागुन मसान्तसम्म भुक्तानी भइसक्ने अपेक्षा गरिएको छ ।

    २. पाँचथर भ्रमणको क्रममा बन्द र जीर्ण अवस्थामा रहेको राँके चिज उत्पादन केन्द्रको अवलोकन गरी दुग्ध कृषकहरूको गुनासो र उत्पादनको खपत बजार सुनिश्चित हुनुपर्ने मागबमोजिम २० दिनभित्र नयाँ संरचना बनाउन दिइएको निर्देशन बमोजिम द्रुत गतिमा कार्य भइरहेको छ ।

    ३. संस्थानका विभिन्न कार्यस्थलहरू बालाजु, लैनचौर, र हेटौडामा स्थलगत अनुगमनको क्रममा दुग्ध किसान र कर्मचारीहरूसँग छलफल गरी आवश्यक सुधारका लागि निर्देशन भएको छ ।

    ४.मन्त्रीको निर्देशनमा राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत निरन्तर पहल गरी निजी डेरी उद्योगहरूले दुग्ध उत्पादक किसानलाई तिर्न बाँकी रहेको दूधको बक्यौता रकम भुक्तानि भई यस अवधिमा करिब रु साढे दुई अर्बबाट करिब एक अर्बमा झरेको छ ।

    ५. दुग्ध पदार्थ, ऊन र मासुजन्य वस्तुको उत्पादन तथा निर्यात प्रवर्द्धन गर्न खोरेत रोग नियन्त्रणको लागि गरिएको खोप कार्यको प्रभावकारिता अनुगमन गर्न सिरोमनिटरिङको लागि ११ हजार ८०४ वटा नमूना सङ्कलन, परीक्षण तथा नतिजा अभिलेखीकरण गरिएको र खोरेत रोग निदानको लागि सात हजार २५ वटा नमूना सङ्कलन तथा परीक्षण गरिएको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य कृषि बजारको सुधार

    १. कालीमाटी फलफूल तथा तरकारी बजारलाई थप व्यवस्थित बनाई प्रभावकारी रूपमा सञ्चालन गर्न हालको विद्यमान समिति संरचना, पूर्वाधार सुधार, व्यवस्थापन सुधार, सरसफाइलगायत विषयमा मन्त्रीको निर्देशनबमोजिम आवश्यक सर्वेक्षण गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएको र सो प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको छ ।

    २. कालीमाटीमा रहेको माछा बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि छुट्टै बजारको परिकल्पना अगाडि बढाइएको छ ।

    ३. चोभारमा निर्माण भई अलपत्र अवस्थामा रहेका फलफूल तथा पुष्प व्यापारका लागि निर्माण भएका बजार संरचनाहरूको स्थलगत अवलोकन गरी यथासिघ्र संचालनमा ल्याउनका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ ।

    ४. अत्तरिया, कोहलपुर र धरान कृषि थोक बजारहरूमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला निर्माण कार्य प्रारम्भ गरिएको छ ।

    माछा उत्पादन व्यवस्थापन

    १. मकवानपुर, बारा र पर्सा जिल्लाका मत्य उत्पादक किसान र मत्स्य प्रवर्द्धन केन्द्रसँग मत्स्यपालनको क्षेत्रमा देखिएका विभिन्न समस्याहरू, आयातित माछासँग प्रतिस्पर्धा, क्षमता विकास तथा बजारीकरणका लागि मूल्यशृङ्खलामा सहजीकरणका विषयमा छलफलगरी समाधानार्थ आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिइएको छ ।

    २. माछापालनमा प्रयोग हुने विद्युत् मिटरलाई कृषि मिटरमा समावेश गर्न ऊर्जा मन्त्रालयसँग अनुरोध गरिएको छ ।

    ३. केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको स्थलगत निरीक्षण गरी नेपालमा उत्पादित माछाको लागत न्यूनीकरणलगायतका समस्याहरू सम्बोधन गर्नको लागि आवश्यक अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको ।

    ४. मत्स्य क्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई माछामा आत्मनिर्भरतर्फ उन्मुख गराउन यस अवधिमा एक करोड ६९ लाख ६१ हजारभन्दा बढी भूरा माछाको उत्पादन भई किसानहरूलाई वितरण भएको ।

    च्याउ उत्पादन प्रवर्द्धन

    १. च्याउ उत्पादक किसानहरूलाई च्याउ उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग हुने पराल ढुवानीमा सहजीकरणका लागि गृह मन्त्रालय र यातायात व्यवस्था विभागसँग अनुरोध गरिएको छ ।

    २. विगत लामो समयदेखि च्याउ उत्पादक किसानहरूको माग पूरा नभइरहेको अवस्थामा गुणस्तरीय च्याउको उत्पादन प्रवर्द्धन तथा च्याउ उत्पादन कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यही वर्षदेखि पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा घोषणा गरिएको छ ।

    केरा उत्पादन प्रवर्द्धन

    १. नेपाली केरा उत्पादक किसान र नेपाली उत्पादनलाई जैविक सुरक्षा प्रदान गर्न आयात नियन्त्रणका लागि सरोकारवाला निकायहरूसँग अनुरोध गरिएको छ ।

    २. स्वदेशी केरा उत्पादनलाई प्रवर्द्धन गर्न जातीय सम्भावना, आम उपभोक्ताको रोजाइका जात तथा नेपाली केराको बजारीकरणका लागि प्याकेजिङमा सुधार गरी प्रतिस्पर्धी बनाउनका लागि ४५ दिनभित्र कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको छ ।

    मह उत्पादन प्रवर्द्धन

    १. मह उत्पादक कृषकहरूको समस्याहरूको बारेमा किसान, उद्योगी र व्यवसायीसमेतको उपस्थितिमा मन्त्रालयमा छलफल भई नेपाली मह उत्पादन, प्याकेजिङ र बजारीकरण तथा निर्यातमा रहेका समस्या समाधानार्थ एक अध्ययन कार्यदल गठन गरिएको छ ।

    २. आयातित र स्वदेशमै उत्पादित महको गुणस्तरबारे प्रयोगशाला परीक्षण गरी प्रतिवेदन पेस गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिईएको छ ।

    खाद्य स्वच्छता तथा गुणस्तर सुधार

    १. काठमाडौँ उपत्यकामा ठूलो मात्रामा भित्रिने तरकारी नाकामा नै विषादी अवशेष विश्लेषण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिई परीक्षण कार्य सुरुआत भएको छ ।

    २. उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य स्वच्छता तथा खाद्य पदार्थको गुणस्तर कायम गर्न खाद्य पदार्थको परीक्षणलाई थप प्रभावकारी बनाइएको । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८९२० को प्रावधानबमोजिम खाद्य पदार्थको जाच विश्लेषण गर्दा कैफियत देखिएका पाँच किसिमका खाद्य पदार्थ फिर्ता गर्न तथा सोही ऐनको दफा ३८९४० बमोजिम कैफियत देखिएका खाद्य पदार्थ बिक्री वितरण नगर्न आदेश जारी गरिएको छ ।

    ३.यस अवधिमा तरकारी तथा फलफूल बालीका करिब १० हजार नमूनाहरूमा विषादी अवशेष द्रुत परीक्षण विधिमार्फत विषादी परीक्षण गरिएको जसमा करिब ०।०७ प्रतिशत नमूना उपयोग अयोग्य पाइएको छ । थप दुई वर्गका विषादी परीक्षणका लागि आवश्यक किट खरिदको प्रक्रिया अगाडि बढाइएको छ ।

    निर्यात प्रवर्द्धनका लागि जोनिङ कार्यक्रम

    १.नेपालबाट निर्यात हुने प्रमुख पशुजन्य पदार्थजस्तै मासु, दुध, छुर्पी, घ्यूको अन्तरराष्ट्रिय बजार विस्तार सुनिश्चित गर्न ‘जोनिङ एन्ड कम्पार्टमेन्टलाइजेसन’ कार्यक्रममार्फत खोरेत रोगमुक्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकार र कोशी प्रदेश सरकारको संयुक्त पहलमा इलाम जिल्लाका तीन वटा जोनमा कार्य सञ्चालन भइरहेको छ ।

    २. चीन सरकारसँग राँगाभैंसीको मासु निर्यातका लागि भएको सम्झौताअनुसार उत्पादन वृद्ध गर्न सङ्घीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त पहलमा सिन्धुली र मकवानपुर जिल्लाका चार वटा स्थानीय तहहरूमा खोरेत रोगमुक्त क्षेत्र घोषणाका लागि जोनिङ तथा कम्पार्टमेन्टलाइजेसनसम्बन्धी कार्यको सुरुआत भएको छ ।

    सङ्क्रामक तथा महामारीजन्य पशु रोग नियन्त्रण

    १. पशुपन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि पशुपन्छीको सङ्क्रामक रोगविरुद्धको ३६ लाख डोज पिपिआररचरचरे भ्यागुतेररानीखेत लगायतका ११ प्रकारको खोप उत्पादन गरी वितरण गरिएको छ ।

    २. पशुपन्छीको सङ्क्रामक रोग नियन्त्रण एवं रोकथामका लागि २३ हजार ६३५ वटा नमूना सङ्कलन तथा परीक्षण गरी रोग निदानका कार्य गरिएको छ ।

    पशुपन्छीको नश्ल सुधार

    १. पशु नश्ल सुधारका कार्यक्रममार्फत कृत्रिम गर्भाधान गराई पशुपालनको उत्पादकत्व वृद्धि गर्न एक लाख २६ हजार ३५३ लिटर तरल नाइट्रोजन र पाँच लाख ३१ हजार २७० डोज जमेको वीर्य उत्पादन तथा खरिद गरी वितरण गरिएको छ ।

    २.पशु नश्ल सुधारका लागि तीन लाख १७ हजार ३८० सङ्ख्या पशुवस्तुमा कृत्रिम गर्भाधान सेवा पुर्‍याइएको छ ।

  • समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

    समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

    काठमाडौँ, १५ पुसः आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए ।


    सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), श्रम संस्कृति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रहेको छन् ।

    यस्तै नेपाली जनता दल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन् । केही दलहरूले साझा निर्वाचन कायम गरी एकापसको सूची मिलाएर ११० स्थानमा बन्दसूची बुझाएका छन् । उक्त सूचीअनुसार औसत प्रति निर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको सङ्ख्या ६० देखिएको छ । यस्तै न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ । यसैगरी एकल चिह्न लिएका दलहरू १० रहेका छन् ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशतका आधारमा दलहरूले उम्मेदवारी दिएका छन् । यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेदवारी दिन आवेदन दिएकामा जम्मा ६४ दलले मात्रै उक्त प्रणालीका लागि उम्मेदवारी दिएका हुन् ।

    प्राप्त बन्दसूचीका सम्बन्धमा यही पुस १५ देखि ० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताए । आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग भाग जति भएमा पुस २१ गतेदेखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ । यही पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२ बमोजिम नेपाल सरकारले २०७८ को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा दलहरूले बन्दसूची पेस गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ लाई संशोधन गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि यही पुस ४ गते अध्यादेश जारी भएको थियो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख थियो । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने छ ।

    पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    मतपत्र छपाइ तयारी सुरु

    यसैबीच उम्मेदवारीको मनोनय प्रक्रिया सुरु भएसँगै आयोगले निर्वाचनका लागि आवश्यक करिब चार करोड थान मतपत्र छपाइको प्रक्रिया अघि बढाएको छ । आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू, उच्चाधिकारी र सम्बन्धित शाखाका कर्मचारीले आज बैठक गरी मतपत्रको सम्भावित ढाँचा, आकार र ‘डिजाइन’बारे परामर्श गरेका छन् ।

  • पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

    पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

    काठमाडौँ, १५ पुस । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

  • काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौँ, १५ पुस । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाइते उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    यस्तै, आजै काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको इभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईँ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।