Category: समाचार

  • एमाले पनि निर्वाचनमा जोडिँदै, आइतबार सचिवालय बैठक

    एमाले पनि निर्वाचनमा जोडिँदै, आइतबार सचिवालय बैठक

    काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए ।

    “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा भट्टराईले भने । बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

  • कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

    कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

    काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई आत्मसाथ गरी आगामी दिनमा पार्टी हितविपरीत हुने गरी अनुशासन उल्लङ्घनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै यस्तो निर्णय गरिएको छ ।”

    यस्तै, विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पनि पार्टीमा फर्कनका आह्वान गरेको छ । त्यसरी फर्किने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

    यसैगरी विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ । कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णयसमेत गरेको मुख्यसचिव पौडेलले उल्लेख गरे ।

    बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रियासमेत अगाडि बढाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ ।

  • शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

    शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

    वीरगञ्ज (पर्सा), १२ पुस । वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो ।

    महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए । “वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको हो,’’ उनले भने । महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।

  • अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

    अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

    काठमाडौँ, १२ पुसः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ । प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ ।

    मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए । यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

  • कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव छैन : कुलमान

    कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव छैन : कुलमान

    काठमाडौँ, १२ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।


    मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन”, उनले भने, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।”

    उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए । उनले भने, “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ ।” कार्यक्रममा उनले राजनीतिक एकताको विषयमा आफ्नो धारणा स्पष्ट पारे ।


    कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए । “एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन”, उनले भने, “सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।”

    जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होऊन् भन्ने भएकाले नयाँ शक्तिहरुले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पु¥याउन कार्यकर्ताहरूलाई निर्देशन दिए । “घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ”, उनले भने ।
    मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गरे । “हामीसँग आम जनताको विश्वास छ”, उनले भने, “यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ ।” कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • बालेन, रास्वपा र कुलमानबीच पार्टी एकता पुनः अन्यौलमा

    बालेन, रास्वपा र कुलमानबीच पार्टी एकता पुनः अन्यौलमा

    १२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ऊर्जा मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकताका लागि भएका सघन छलफलहरु निष्कर्षमा पुगेका छैनन् । शुक्रबार नै बालेन र रास्वपाबीच पार्टी एकता हुने गरी छलफल अगाडी बढेको भए पनि शनिबार समेत ठोस सहमति जुट्न सकेन । खासगरी कुलमान घिसिङ र उनको पार्टी व्यवस्थापनको कुरा नमिल्दा पार्टी एकता अन्यौलमा परेको बताइएको छ ।

    बालेन र रास्वपा रवि लामिछानेबीच भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडी सारेर जाने बारे सहमति जुटेको थियो । पार्टी सभापतिमा रवि नै रहने गरी सहमति जुटेको स्रोतहरुले बताएका छन् । तर, कुलमानलाई पनि सँगै लैजाने बालेनको प्रस्तावपछि पार्टी एकता अन्यौलमा पुगेको हो । आज पनि दिनभर जसो विभिन्न तहमा यसबारे छलफल भएको विवरण आएका छन् ।

  • जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

    जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

    झापा, १२ पुसः जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।

    पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतकको शब सीमावर्ती भारतीय नाका गलगलिय हँुदै आज घर ल्याइएको छ । जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।

  • निर्वाचन जसरी पनि सफल पारौँ : प्रधानमन्त्री कार्की

    निर्वाचन जसरी पनि सफल पारौँ : प्रधानमन्त्री कार्की

    काठमाडौँ, १२ पुस ः प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छिन् । प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उहाँले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिन् ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरिन् । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिइन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार “यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ”, तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् ।


    निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको बताइन् । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए । प्रधानमन्त्रीलाई बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साथ दिएका थिए ।

  • निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    काठमाडौँ, १२ पुस । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ । अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरिन् । उनले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गरिन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

  • गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो….

    गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो….

    नारायण न्यौपाने/रासस

    काठमाडौँ, १२ पुस । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइ–नभ्याइ छ । जुनार टिप्ने मध्य समय मङ्सिरदेखि पुस १५ गतेसम्म भएकाले यहाँका जुनार–सुन्तला बगैँचामा किसान, कामदार र व्यापारी तछाडमछाड गरिरहेका छन् । स्थानीय वरिष्ठ पत्रकार डण्ड गुरुङ भन्छन्, “जन्मथलोको सुगन्धले पत्रकारिता पेसासँगै कृषि कर्ममा जोडिएको छु । हेर्नुस् त पाखैभरि पहेँलपुर जुनार–सुन्तला १ यहाँको बगैँचामा सुनै–सुन छ । बोटमा पैसा फलेको छ ।”

    प्रत्येक वर्ष व्यापारिले किसानको बगैँचाबाटै फल उठाउने भएकाले अहिले त्यस क्षेत्रमा उनीहरूको उल्लेख्य उपस्थिति छ । तीनकन्या बगैँचामा सुनौला रङका जुनार–सुन्तला हाँगै भाँचिने गरी लटारम्म फलेको देखिन्छ । फल थेग्न नसकेर झुलेका हाँगालाई टेको लगाएर अड्याइएको छ । पैसा कमाउन विदेश जानुपर्छ, पैसा रुखमा फल्छ र ? भन्नेलाई किसानले गलत सावित गरिदिएको उल्लेख गर्दै लटारम्भ जुनार देखाउँदै पत्रकार गुरुङ भन्नुहुन्छ, “हेर्नुस् त्यहाँ रुखमै झुप्पाका–झुप्पा पैसा फलेको छ ।” गोलञ्जोर–४ तीन कन्या माझकुभिण्डेका उत्पादित जुनार–सुन्तला गुणस्तरीय र रसिलो भएकाले खरिद गर्ने व्यापारी पैसाको बिटो बोकेर बगैँचामा घुमिरहेका पाइन्छ । त्यसक्षेत्रका किसानका बगैँचामा न्यूनतम ५० देखि अधिकतम एक हजारसम्म जुनार सुन्तलाका बोट रहेको पाइएको छ । जुनारबाट राम्रो मूल्य पाएपछि यहाँका किसानसमेत हर्षित छन् ।

    हो, त्यहाँका जुनार–सुन्तलाको एउटै बोटले किसानलाई वार्षिक रूपमा रु २५ हजारसम्म मूल्य बराबरको उत्पादन दिँदै आएको छ । अहिले त्यहाँ बगैँचाबाट जुनार प्रतिकिलो रु ५५ र सुन्तला रु १०० का दरले बिक्री हुँदै आएको छ । बजारमा उपभोक्ता मूल्य भने जुनारको प्रतिकिलो रु ९० र सुन्तलाको रु १३० रहेको छ । पत्रकार गुरुङले भने, “तपाईंहरू यहाँको बगैँचा घुम्नुस्, प्रत्येक घरका बगैँचामा जुनार र सुन्तला नामको पहेँलपुर सुनै–सुन फलेको छ । अहिले व्यापारी तछाड–मछाड गर्दै पैसाको बिटो लिएर बगैँचामा घुमिरहेको देख्नुहुन्छ ।” उनले भनेजस्तै बगैँचाका प्रत्येक बोटमै पैसा फलेको छ, जुनार–सुन्तला नोटसँग साटिन तम्तयार भएर झुलेको देखिन्छ । गोलञ्जोरको सातै वडाको महाभारत क्षेत्र हावापानीका हिसाबले जुनार–सुन्तला उत्पादनका लागि उर्वर मानिन्छ ।

    सरकारी तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा करिब रु ४० करोड मूल्य बराबरको जुनार–सुन्तला उत्पादन हुने गरेको छ । पत्रकार गुरुङकै सल्लाह र सुझावमा पालिकाले गत मङ्सिरको २३ देखि २५ गतेसम्म माझकुभिण्डेमा बृहत् जुनार प्रवर्द्धन मेलासमेत आयोजना गरको थियो । मेलाका अवसरमा बगौँचा पुगेर आफ्नै हातले टिपेर जुनार–सुन्तलाको स्वाद चाख्न तथा बगैँचा अवलोकन गर्न हजारौँ व्यक्ति आन्तरिक कृषि पर्यटकका रूपमा पुगे ।


    स्थानीय मौलिक फल जुनारको राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने, आर्थिक र पौष्टिक महत्त्वबारे जानकारी गराउने, कृषकलाई सम्मान गर्ने तथा उत्पादन बजारसम्म पु¥याउन सरकारसँग सहज सडकको माग गर्ने उद्देश्यले मेला गरिएको थियो । मेलामार्फत देश–विदेशका राष्ट्रिय सञ्चार माध्यममा समेत गोलञ्जोरको जुनारले स्थान र चर्चा पाएको थियो र छ ।

    राज्यप्रति स्थानीयवासीको एउटै गुनासो छ, बीस वर्षदेखि सडक कालोपत्र होस् भनी उठाएको आवाज कहिले पूरा हुन्छ रु पूर्वाधार कार्यालय सिन्धुलीका प्रमुख प्रमुख लक्ष्मीप्रसाद सापकोटा किसानको माग बमोजिम चिल्लो र कालोपत्र सडक भएमा सजिलै बजारसँग जोड्ने र उत्पादित फल समयमै बिक्री गर्न सजिलो हुने बताँछन् । जुनार किसानको मागअनुरूप खतियाखर्कबाट बाहुनतिल्पुङ र देउरालीसम्मको सडक प्रदेशिक सरकारको गुरु योजनामा परेकाले सबैको पहलमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता उनी औँल्याउँछन् । बिपी राजमार्गको महाभारत क्षेत्रको खनियाखर्कबाट करिब ३५ किमी कच्ची सडकको यात्रा गरी पुग्न सकिने माझकुभिण्डेमा पुग्ने जोकोही पाखैभरि लालुपातेझैँ झुलेका जुनार–सुन्तलाका बोट देखेपछि छक्कसँगै दङ्गसमेत अवश्य पर्ने छन् ।

    पछिल्ला वर्षमा त्यहाँ व्यावसायिक उत्पादन गरेका जुनार–सुन्तला किसानले हचुवाका आधारमा बोटबाटै मोलतोल गरी व्यापारीलाई बिक्री गर्दै आएका छन् । जुनार र सुन्तलाको फूल फल्नासाथ व्यपारी टोकनबापतको रकम लिएर किसानका बगैँचामा पुग्ने गरेका छन् । केही वर्षदेखि जुनारमा औँसा, सुडेपुतली र ढुसीलगायत रोग देखिएपछि किसानले जुनारस्रोत तथा अनुसन्धान केन्द्र स्थापनाका लागि माग गरिरहेका छन् । महाभारत शृङ्खलाको काखमा पूर्वउत्तर ढल्किएको तीनकन्या क्षेत्रबाट तल सुनकोशी गडतिर र रामेछाप क्षेत्रको भूगोल तथा गौरी शङ्करलगायत हिमाल छर्लङ्ग देखिने भएकाले प्राकृतिक दृश्यावलोकनका हिसाबले समेत यो भू–भाग महत्त्वपूर्ण मानिन्छ ।

    कस्तो फल हो जुनार, नाम कसरी रह्यो ?

    जुनारको इतिहास दुई सय वर्ष अघिको छ । जुनारलाई गोलञ्जोरमै उत्पत्ति भएको फल मानिन्छ । यसको इतिहास नेपालको लोपोन्मुख जाति हायु परिवारसँग जोडिएको छ । प्रारम्भमा जुनारका बिरुवा कोसेलीका रूपमा नजिकको गाउँ वितरण गरिएको भन्ने छ । करेसाबारीमा फलेको अनौठो फल फलेपछि स्थानीय हायु परिवारले तत्कालीन राजा÷महाराजलाई चखाउन पठाएका थिए । उहाँहरूले ‘जिउनार’ गरेको र मिठो रहेको सुनाएपछि त्यो फलको नाम ‘जुनार’ रहन पुगेको विश्वास गरिएको छ । दानेदार रसिलो जुनार भर्खरै जन्मिएको बालकदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई खुवाउन मिल्ने फल हो । स्थानीय तीन कन्यामै उत्पत्ति भएको मानिएको जुनारको व्यावसायिक खेती भने विसं २०३२ देखि हुँदै आएको छ ।

    नेपालको मौलिक फलका रूपमा परिचित जुनारखेती जिल्लाको एक हजार ११३ हेक्टरमा फैलिएको गोलञ्जोर गाउँपालिका प्रमुख शङ्करराज बराल बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने कुल ९० प्रतिशत जुनार गोलञ्जोरमा उत्पादन हुने गरेको छ । यो वर्ष ११ हजार मेट्रिक टन जुनार यसै क्षेत्रबाट उत्पादन हुने अनुमान छ । महाभारत शुङ्खलाको ७२ किमी क्षेत्र जुनार–सुन्तला उत्पादनका लागि उपयुक्त मानिएको छ ।

    अनौपचारिक तथ्याङ्कअनुसार त्यस पालिकाबाट मात्रै वार्षिक रूपमा रु ७५ करोड मूल्य बराबरको जुनार–सुन्तला बिक्री हुने गरेको छ । जुनार उत्पादन सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेल भन्छन्, “स्वादिला र गुणस्तरीय भएकाले होला, व्यापारीहरू पैसाको बिटो लिई बगैँचामै आएर जुनार किन्न व्यापारी तछाड–मछाड गर्छन्, त्यसैले भनिएको हो, यहाँको रुखमै पैसा फल्छ ।” त्यस पालिकाका सात वटै वडामा जुनारखेती छ ।

    साथै जिल्लाका अरु गाँउपालिका कमलामाई, सुनकोशी, तीनपाटन, हरिहरपुरगढीमा पनि पछिल्लो समय जुनारखेती विस्तार हुँदै गएको छ । गोलन्जरको एउटा मौलिक फल जिल्लाकै पहिचान बनेको प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष बराल भन्नुहुन्छ, “जिल्लाभरमा यसको एक अर्बभन्दा बढीको व्यापार छ । धेरैले रोजगारी पाएका छन् । अघिल्ला वर्षमा औँशा र सुडेपुतलीले दुःख दिएकामा अहिले त्यो नियन्त्रण हुँदै गएको छ । यद्यपि हरेक वर्ष रोगकिसाबाट फललाई जोगाउन सजग र सचेत रहनुपर्ने देखिन्छ ।

    सिन्धुलीमा उत्पादित जुनारको बजार पूर्वमा काकडभिट्टादेखि पश्चिमा पोखरा र बुटवलसम्म छ । बिपी राजमार्ग भएर पूर्व–पश्चिम यात्रा गर्ने जो कोहीको झोलामा कोसेलीका रूपमा जुनार रहने गरेको छ । सिन्धुलीमाढी, खनिया खर्क र खुर्कोट बजारमा हार मिलाएर बिक्रीका लागि राखिएको जुनारका थुप्राले एक पटक यात्रुको ध्यान खिच्ने गरेको छ । अहिले गाउँमा मात्र होइन, सहरबजारका हरेक फलफूल पसलमा जुनार राखिने गरिएको छ । सुन्तला र एभोगाडोको तुलनामा निकै सस्तो जुनार अत्याधिक रसिलो फल हो ।

    जुनारबाट जुस, स्क्वास, जाम, जेली, मार्मालेड, क्याण्डीजस्ता विभिन्न परिकार बनाउन सकिन्छ । त्यस्तै जुनार बगैँचामा अन्तरबालिकारूपमा भटमास, सिमी, अदुवा, दाल, बेसार र कफीखेतीलाई किसानले अघि बढाइएको छ । त्यसबाट किसान निकै लाभान्वित भएका छन् । नयाँ बालिका रूपमा त्यस क्षेत्रमा एभोकाडो र अम्बा पनि किसानले भित्र्याएको देखिन्छ । गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने भन्छन्, “जुनार–सुन्तला खेतीका लागि यहाँको हावापानी उपयुक्त छ, उत्पादित फल निकै मिठो छ ।” यस क्षेत्रमा उत्पादित जुनार–सुन्तलालाई सहजरूपमा बजारसम्म पुर्‍याउन तथा यसको महत्त्वबारे राष्ट्रिय अन्तरराष्ट्रिय रूपमा परिचित गराउने अभियानमा जनप्रतिनिधिहरू जुटिरहेको उनी बताउँछन् ।


    भर्खरै जन्मिएको शिशुदेखि १०० वर्षसम्मका वृद्धलाई पनि जुनारका रख खुवाउँदा कुनै असर गर्दैन । बरु हुर्कन र ताकत प्राप्त हुन्छ । त्यसैले पनि जुनारको माग र महत्त्व बढेको छ । तर यति हुँदाहुुँदै पनि किसानको रोजाइमा भने जुनारको तुलनामा सुन्तला नै रहेको पाइन्छ । सुन्तला सर्लक छोडार खान सजिलो हुन्छ । रोग किराको सङ्क्रमण जुनारको दाँचोमा सुन्तलामा कम हुन्छ । स्थानीय गुणबहादुर ठकुरीका अनुसार सुन्तला एक गाडी लिएर बेच्न निस्कियो भने रु डेढ लाख कमाइन्छ भने सोही परिणामको जुनार बेच्दा रु ५० हजार मात्र हुन्छ ।

    तथापि, जुनार नेपालकै मौलिक फल रहेकाले यसको प्रचारप्रसार गरी किसानलाई बजारको पहुँच सहजताका लागि सरकारले कालोपत्रे कृषि सडक बनाइ दिनुपर्ने उनको भनाइ थियो । उहाँका अनुसार, उपयुक्त हावापानी भएकाले नेपाल र नेपालीका लागि आम्दानीको राम्रो स्रोत जुनार–सुन्तलाभन्दा राम्रो अरु केही छैन । पैसा कमाउन युवापुस्ता बाहिर जान पर्दैन । यही स्रोत राम्रो छ ।

    विसं २०३५ देखि व्यावसायिक जुनारखेती गर्दै आउनुभएका ठकुरीको हाल ६०० बोट जुनार सुन्तला छ । उहाँको वार्षिक कमाइ हाल रु ३० लाखसम्म हुँदैआएको छ । पछिल्लो समय रामेछाप, ओखलढुङ्गा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा पनि जुनारखेती व्यावसायिक रूपमा अघि बढिरहेको छ । जुनारखेती विस्तार र प्रवर्द्धन सरकारले कालोपत्र सडक, मेला र महोत्सव गर्नुपर्ने व्यावसायिक खेती गर्दै आएका किसानको भनाइ छ । हुन पनि बजार व्यवस्थापन, सहज पहुँच र प्रचारप्रसार गर्न सके रसिलो, पोषिलो अनि स्वादिलो नेपालकै स्थानीय मौलिक फल जुनारले अरु फलफूलसँग प्रतिस्पर्धा गर्न पर्दैन ।

    सिन्धुली जुनार सङ्घका अध्यक्ष कर्णबहादुर आलेमगर हावापानीका कारण धेरै गुणस्तरीय फल उत्पादनको सम्भावना रहेको बताउँछन् । यद्यपि कृषक गुणबहादुर ठकुरीका अनुसार माझकुभिण्डे आम्दानीको हिसाबले धेरै फल्ने, छिटो बिक्री हुने, पैसा पनि धेरै आउने भएकाले सुन्तला प्रतिको मोह बढ्दो छ ।

  • विभागले दुई फर्मलाई तिरायो नगद जरिवाना

    विभागले दुई फर्मलाई तिरायो नगद जरिवाना

    काठमाडौँ, १२ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरिएको जनाएको छ । यस्तै, विभागले अन्य १२ वटा उद्योग वा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

    काठमाडौँ र ललितपुरका विभिन्न होटल तथा रेष्टुरेन्टमा नियमित अनुमगन भइरहेको विभागले उल्लेख गरेको छ । चाडवाडको समयमा मात्रै अनुमगन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमित रूपमा अनुमगन, निरीक्षण, जरिवाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ ।

    बजारको स्वच्छता कायम राख्ने, कालाबजारी नियन्त्रण गर्ने, खाद्य पदार्थमा अखाद्य पदार्थ मिमिन नदिन सचेतता पूर्वक अनुमगन गरिएको विभागले जनाएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी र जनप्रतिनिधिको उपस्थितीमा बजार अनुमगन हुँदा कानुन कार्यान्वयनमा सहज भएको विभागको दावी छ ।

  • खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

    खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

    काठमाडौँ, १२ पुस । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौँ महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।

    उक्त यो ढुङ्गेधारा लिच्छवीकालीन हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गत भन्छन्, “प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्नसक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।”

    निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, “विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र नौदेखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।” पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै सङ्गत भन्नुहुन्छ, “यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङिको जीवन्त दशी हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।”

    उनका अनुसार सुन्धारा वास्तुकलात्मक छ । ढुुङ्गाहरूमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, “यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागीश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।”

    जयवागीश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्, “लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठाबाठा हुन् भनेर माताको आह्वान गरेका थिए । उनको आह्वानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयवागीश्वरी आएको विश्वास छ । शिला नदी तरेर आएपछि माताको इच्छाअनुसार उनले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।”

  • स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

    स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

    काठमाडौँ, १२ पुस । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका लागि सिफारिस गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मन्त्रिस्तरीय निर्णयका आधारमा टिकट छपाइ तथा प्रकाशन गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले जानकारी दिए ।

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मिएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गरे । उनले देशका विभिन्न जिल्लामा ३९ गुरुकुल, वेदविद्याश्रम, मन्दिर तथा आश्रमहरूको स्थापना गरी निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गर्दै सयौँ विद्यार्थीलाई संस्कृत तथा वैदिक शिक्षामा दीक्षित गराएको संस्कृत भाषाविद् तथा कालिका संस्कृत विद्यापीठका पूर्वप्राचार्य डा रामचन्द्र कँडेलले जानकारी दिए ।


    उनका नेतृत्वमा स्थापना भएका परमानन्द संस्कृत गुरुकुल, त्रिपुरेश्वर महादेव मन्दिर, तथा विभिन्न सन्यास आश्रमहरू आज वैदिक अध्ययन, आध्यात्मिक साधना र सांस्कृतिक संरक्षणका प्रमुख केन्द्रका रूपमा परिचित छन् । सामाजिक र आर्थिक रूपमा पछाडि परेका परिवारका बालबालिकालाई शिक्षाको पहुँच पु¥याउने उहाँको दृष्टिकोणले संस्कृत शिक्षालाई सीमित वर्गबाट बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    सभ्य समाज र सुसंस्कृत परिवार निर्माणमा सहयोग पुर्याउने अभिप्रायले स्थापना भएको श्रीपरमानन्द–संस्कृत–गुरुकुलम् हाल तनहुँ जिल्ला, देवघाटधामस्थित श्रीहरिहर सन्न्यास आश्रमअन्तर्गत कक्षा ६ देखि आचार्य ९एमए० तहसम्म अध्ययन गर्ने विशाल संस्कृत शिक्षण अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा रहेको छ । निःशुल्क अध्ययन, भोजन, आवासको व्यवस्था रहेको यस शिक्षण संस्थामा ३५० जना विद्यार्थीहरू अध्ययनरत छन् । नेपाल सन्त समाजका अध्यक्ष तथा यस संस्थाका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको नेतृत्व र व्यवस्थापनबाट विद्यापीठ तथा आश्रमका नियमित गतिविधि सञ्चालन भइरहेका छन् ।

    टोखा नगरपालिका–६ धापासीस्थित श्रीहरिहर सन्न्यास आश्रममा २१ जेठ २०८२ विसंमा सम्पन्न स्वामी परमानन्द सरस्वतीको तस्बिर अङ्कित उक्त हुलाक टिकटको प्रथम आवरण कार्यक्रममा सरकारी अधिकारी, हुलाक सेवा विभागका प्रतिनिधि, धार्मिक–शैक्षिक संस्थाका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    सरकारी अधिकारीहरूले राष्ट्रको धार्मिक, शैक्षिक र सांस्कृतिक पहिचान सुदृढ गर्न योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानस्वरूप यस्तो हुलाक टिकट प्रकाशन गरिएको जनाएका छन् । यसले नयाँ पुस्तालाई नेपालको सनातन वैदिक परम्परा र संस्कृत शिक्षाप्रति सचेत गराउने अपेक्षा गरिएको संस्मरणात्मक हुलाक टिकट प्रकाशन प्रक्रियाको प्रारम्भिक समन्वय गर्नुभएकी विष्णुदेवी गैरेले बताइन् ।


    विसं २०५३ माघ १८ मा ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीको योगदानलाई राज्यस्तरबाट २९ वर्षपछि मरणोपरान्त गरिएको यो सम्मानलाई ऐतिहासिक मानिएको श्री हरिहर सन्यास आश्रम, देवघाटले जनाएको छ । रु १० दरका पाँच लाखको सङ्ख्यामा प्रकाशित हुलाक टिकट हाल देशभरका हुलाक कार्यालयमार्फत सर्वसाधारणका लागि उपलब्ध गराइएको हुलाक सेवा विभागले जनाएको छ ।

  • निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यमा मतदान गर्ने यी हुन् अस्थायी मतदाता

    निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यमा मतदान गर्ने यी हुन् अस्थायी मतदाता

    काठमाडौँ, १२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन् । व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् ।

    नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन् । अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजमा मतदाता नामावली हेर्ने निर्वाचन आयुक्त रहने व्यवस्था छ । सो समितिमा निर्वाचन आयोगका सचिव, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । निर्वाचन आयोगका सबै महाशाखाका सहसचिव आयोगका वरिष्ठ कम्युटर अधिकृत सदस्य रहने व्यवस्था छ । यस्तै, मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा तोके बमोजिमको उपसचिव सदस्यसचिव रहनेछन् ।

    यसैगरी जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला कारागार प्रमुख सदस्य रहनेछन् । निर्वाचन अधिकारीलाई सदस्य सचिवका रुपमा रहने व्यवस्था गरिएको छ । अस्थायी मतदाता नामावली सङ्कलनका लागि सम्बन्धित निकायसँग कर्मचारीको विवरण माग गर्ने र विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । अस्थायी मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनुपर्नेछ । निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी वा सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली निर्धारित ढाँचामा तयार पार्नुपर्ने व्यवस्था छ ।

  • मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

    मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

    काठमाडौँ, ११ पुस । सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निण गरेको हो ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदिश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णसमेत गरिएको जनाकारी दिए । बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गर्नुका साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गरिएको पनि उनले बताए ।

    यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ, ११ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।
    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो ।

    बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

    सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

    भक्तपुर, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उनले सो बताएका हुन् ।

    मन्त्री खरेलले भने, “सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्ण रूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो, अहिले एमाले अध्यक्ष केपीओलीसँग पनि छलफल भयो ।’

    अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिएको मन्त्री खरेलले जानकारी दिए । अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने र मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्नेगरी सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँलाई अवगत गराएको बताए ।

    सरकारले निर्वाचनको वातावरण बनाएकाले ढुक्कसँग चुनावमा सहभागी हुन आफूले आग्रह गरेको जानकारी दिँदै मन्त्री खरेलले भने, “एमाले चुनावको पक्षमा छ, एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुप¥यो भन्ने जुन कुरा उहाँले राख्नुभयो ती सबै सरकारले सम्बोधन गर्छ । सरकारले चुनावको वातावरण बनाउछ ।”

    एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको उनले बताए । सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

  • अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

    अध्यक्ष ओली र मन्त्री खरेलबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौँ, ११ पुस । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गर्नुभएको छ ।

    राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए । राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ ।

  • बालानन्द बने परराष्ट्र मन्त्री, भयो सपथ

    बालानन्द बने परराष्ट्र मन्त्री, भयो सपथ

    काठमाडौँ, ११ पुस । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्
    । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो । नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका उनी प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष हुन् ।

  • उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

    उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

    सियोल, ११ पुस (रासस–एपी) । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ । यस क्रममा नेता किम जोङ उनले दक्षिण कोरियाले यस्तै प्रविधि हासिल गर्न दबाब दिइरहेको भन्दै कडा आलोचना गरेका छन् ।

    उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले आठ हजार ७०० टन क्षमताको आणविक–प्रोपेल्ड पनडुब्बी निर्माण भइरहेको एक शिपयार्डको निरीक्षण गरेका छन् । उनले यस पनडुब्बीलाई उत्तर कोरियाली नौसेनाको आधुनिकीकरण र आणविक प्रतिरोध क्षमताका लागि अत्यन्तै महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरे । उत्तर कोरियाले यसलाई ‘रणनीतिक निर्देशित मिसाइल पनडुब्बी’ वा ‘रणनीतिक आणविक आक्रमण पनडुब्बी’ भन्दै भविष्यमा आणविक हतियारले सुसज्जित गर्ने योजना रहेको सङ्केत दिएको छ ।

    निरीक्षणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा दक्षिण कोरियाले आफ्नै आणविक–सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई उत्तर कोरियाको सुरक्षा र समुद्री सार्वभौमिकतामाथिको ‘आक्रामक कार्य’ भने । उनका अनुसार यस्ता योजनाले उत्तर कोरियालाई आफ्नो नौसेना र आणविक प्रतिरोध क्षमता अझ सशक्त बनाउन बाध्य बनाएको छ ।

    राज्य मिडियाले किमले कहिले शिपयार्ड भ्रमण गर्नुभएको हो भन्ने स्पष्ट नगरे पनि सार्वजनिक तस्बिरहरूमा उहाँले वरिष्ठ अधिकारीहरू र आफ्नी छोरीसँगै विशाल जहाजको निरीक्षण गरिरहेको देखिन्छ । मार्चपछि पहिलो पटक पनडुब्बीको स्पष्ट तस्बिर सार्वजनिक गरिएको हो ।

    पनडुब्बी कहिले पूर्ण रूपमा तयार हुन्छ भन्ने खुल्न नसके पनि दक्षिण कोरियाका विज्ञहरूका अनुसार बाहिरी संरचना लगभग तयार देखिनु भनेको इन्जिन र सम्भावित रिएक्टर जस्ता मुख्य प्रणालीहरू भित्रै जडान भइसकेको सङ्केत हुन सक्छ । हानयाङ विश्वविद्यालयका पनडुब्बी विशेषज्ञ मुन केउन–सिकका अनुसार यो जहाज केही महिनाभित्र समुद्र परीक्षणमा जान सक्ने सम्भावना छ ।

    आणविक–सञ्चालित पनडुब्बी किमले सन् २०२१ मा घोषणा गर्नुभएको दीर्घकालीन सैन्य लक्ष्यहरूमध्ये एक हो । यस सूचीमा ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल, हाइपरसोनिक हतियार, जासुसी उपग्रह र बहुवारहेड मिसाइलहरू पनि समावेश थिए, जसमध्ये केहीमा उत्तर कोरियाले पहिले नै प्रगति गरिसकेको छ ।

    यदि उत्तर कोरियाले लामो समयसम्म गोप्य रूपमा सञ्चालन गर्न सक्ने र पानीमुनिबाट मिसाइल प्रहार गर्न सक्षम पनडुब्बी तैनाथ गर्‍यो भने, यो क्षेत्रीय सुरक्षाका लागि गम्भीर चुनौती हुने विज्ञहरूको भनाइ छ । यद्यपि, कडा अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहेको देशले यस्तो प्रविधि र स्रोत कसरी जुटायो भन्ने प्रश्न पनि उठिरहेको छ । केही विश्लेषकहरूले रुससँगको पछिल्लो सैन्य सहकार्यबाट उत्तर कोरियाले प्राविधिक सहयोग पाएको हुन सक्ने अनुमान गरेका छन् ।

    यसैबीच, दक्षिण कोरियाले पनि आफ्नै आणविक–सञ्चालित पनडुब्बी प्राप्त गर्ने प्रयास अघि बढाएको छ । राष्ट्रपति ली जे म्युङले अमेरिकी समर्थनको माग गर्नुभएको छ भने राष्ट्रपति ट्रम्पले सैद्धान्तिक रूपमा प्रविधि साझेदारीका लागि खुलापन देखाएका छन् ।

    उत्तर कोरियाले हालै नयाँ एन्टी–एयर मिसाइल परीक्षण गरेको र पूर्वी तटबाट थुप्रै मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् । रुस–युक्रेन युद्धपछि उत्तर कोरियाले आफ्नो सैन्य र आणविक कार्यक्रम तीव्र बनाउँदै जाँदा कोरियाली प्रायद्वीपमा तनाव थप बढेको छ ।

  • मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

    मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

    मुस्ताङ, ११ पुसः कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।

    कोरला नाका पूर्ण रुपमा सञ्चालनमा आएदेखि हालसम्म यहाँको कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताए । यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको उनले बताए ।


    यसै महिना बिवाइडी कम्पनीले कोरला नाकाबाट पाँच सय बढी विद्युतीय सवारीसाधन चीनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ । सोही कम्पनीको ३०० बढी विद्युतीय सवारी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताए । यहाँको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट रु पाँच अर्ब छ करोड ६२ लाख सङ्कलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए ।


    नेपाली बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीले कोरला नाकाबाट चीनमा बनेका विद्युतीय सवारीसाधन आयात गर्दैआएका छन् । इन्धनको बचत तथा कार्बन उत्सर्जन घटाउन यस प्रकारका विद्युतीय सवारीसाधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारीसाधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा विद्युतीय सवारीसाधनको माग बढेको हो ।

    हिउँदयामको प्रतिकूल मौसममा समेत चीनबाट धमाधम कोरला नाका हुँदै विद्युतीय सवारीसाधन भित्रिएपछि कोरला नाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाइएको छ । हिउँदयामसँगै ४६१० मिटरको उचाइमा अवस्थित कोरला नाकाको बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्री रहेको छ । प्रतिकूल मौसमका बाबजुत कोरला नाकाबाट विद्युतीय सवारीसाधन नेपाल भित्रिदै छन् ।

    यहाँस्थित मुस्ताङ भन्सारमा जाँचपास सकेका विद्युतीय सवारीसाधनलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म चालकले गन्तव्यतर्फ पु¥याउन थालेका छन् । यसरी मुस्ताङबाट बाहिरिएका विद्युतीय सवारीसाधनलाई पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीको शोरुमसम्म पु¥याउने गरेका छन् ।
    त्यसअघि यहाँ भित्रिने विद्युतीय सवारीसाधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरला नाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन् । प्रतिकूल मौसमका कारण कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनतर्फबाट धमाधम मालवस्तु र विद्युतीय सवारीसाधन भित्रिँदा कोरला नाकाबाट दुई देशबीचको आयात\निर्यात चलायमान भएको हो ।

    नाकाबाट धमाधम विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी–जोमसोम–कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेशन’हरु व्यस्त छन् । हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिक धमाधम बेँसी झरिसकेको भए पनि कोरला नाकामा आयात\निर्यातको कारोबार घटेको छैन । भन्सार प्रमुख खड्काले विद्युतीय सवारीसाधनका अलावा हालसम्म दैनिक १०\१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल–चीन निकासी\पैठारी भइरहेको जानकारी दिए ।

  • कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

    कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

    काठमाडौँ, ११ पुस । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।

    आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जस्थित निवासमा छलफल गरिरहेका छन् । मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम छ ।

  • एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

    एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

    काठमाडौँ, ११ पुसः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन् । माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा अग्रसर हुन अनुरोध गरेका छन् ।

  • विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    ११ पुस, काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।


    नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने पाइँदैन । प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा लाइनको सुरक्षित सञ्चालन, मर्मतसम्भार र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी लाइनको केन्द्रबाट दायाँ र बायाँ दुवैतर्फ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोकिएको हुन्छ । राइटअफ वेको चौडाइ प्रसारण लाइनको भोल्टेज स्तर, टावरको उचाइ, तारको झुन्डिने अवस्था स्याग तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण गरिन्छ ।


    ६६ तथा १३२ केभी प्रसारण लाइनका लागि तारेको केन्द्रबाट दायाँवायाँ ९\९ मिटर गरी १८ मिटर, २२० केभी प्रसारण लाइनको १५\१५ गरी ३० मिटर र ४०० केभीको २३\२३ गरी ४६ मिटर राइट अफ वे रहने व्यवस्था छ । प्रसारण लाइन निर्माण गर्दा टावर प्याड रहने ठाउँको जग्गा मुआब्जा रकम दिएर अधिग्रहण गरिन्छ । अर्थात जग्गाको स्वामित्व आयोजनाको नाममा रहन्छ । तर, राइट अफ वेमा भने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी निश्चित प्रतिशत क्षतिपूर्ति दिइन्छ । हाल राइट अफ वेमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिंदै आएको छ ।


    सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो । ‘सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति दिई त्यस्तो जग्गामा परेको विद्युतीय प्रसारण लाइनको राइट अफ वे क्षेत्रको कित्ताकाट गरिदिन प्रचलित कानून बमोजिम सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा कायम रहने गरी कित्ताकाट गर्न सकिनेछ,’ भूउपयोग नियमावलीमा उल्लेख छ ।

    प्रसारण लाइनको राइट अफ वेमा पर्ने निश्चित क्षेत्र पर्ने तर पुरै क्षेत्रको कित्ताकाट नहुँदा जग्गाधनीहरुलाई कित्ताकाट, नामसारी तथा बैंक तथा वित्तीय संस्थामा धितो राख्न नपाउँदा आर्थिक तथा समाजिक समस्या पर्दै आएको थियो । अब राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रलाई कित्ताकाट गर्न सकिने हुँदा जग्गाको कारोबार सहज हुने र जग्गाधनीले आफ्नो सम्पत्तिको कानुनी उपयोग गर्न पाउने देखिएको छ ।

  • मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

    मुग्लिनमा आजदेखि सुन्तला महोत्सव हुँदै

    मुग्लिन (चितवन), ११ पुस । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए ।

    प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उहाँले जानकारी दिनुभयो । महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।

    महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि रु १० करोडको कारोबार गर्ने गरेको बताए । यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनले बताए ।

    सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ । सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।

  • हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

    हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

    ११ पुस, हुम्ला । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

    आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए । स्थानीयको पहलमा आगो निभाइएको उनले बताए ।

    आगलागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले बताए । “अहिले आगो निभाइसकिएको छ”, उनले भने । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।

  • पशुपतिनाथलाई जाडोबाट जोगाउन  गरियो धनुर्मास पूजा

    पशुपतिनाथलाई जाडोबाट जोगाउन गरियो धनुर्मास पूजा

    काठमाडौँ, ११ पुस । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।
    बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ ।

    बिहीबार रातभर धनुर्मास पूजा गरेपछि शुक्रबार आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । शनिबार बिहानदेखि भने नियमित पूजा आराधना गरिन्छ ।

  • निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

    निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

    म्याग्दी, ११ पुस । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघमा उखु पेल्ने चलन छ । रामबहादुरका छोरा नातिहरूले पनि हलगोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता दिएका छन् ।

    रामबहादुरका नाति ध्रुव खत्रीले उखु पेल्ने विद्युतीय उपकरणको विकास भए पनि कोलमा उखु पेल्ने चलन अझै कायमै रहेको बताए । “त्यसबेला काठको कोलमा उखु पेल्न दुःख भएपछि हाम्रा हजुरबुबाले भारतबाट ल्याएको कोलका पाटपुर्जा नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर यहाँ ल्याउनुभएको रहेछ”, उनले भने, “एक सय किलोग्राम तौल भएको तीनवटा पाटपुर्जा ल्याएपछि यस क्षेत्रका किसानलाई उखु पेल्न सजिलो भएको थियो ।”

    सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले नाउडाँडाबाट कोल बोकेर सिम ल्याएका थिए । त्यसबेला ग्रामीण क्षेत्रमा गुलियोका लागि उखुको रस पकाएर बनाइने खुदो प्रयोग हुन्थ्यो । त्यसबेला गुलियोका लागि पनि घरैपिच्छे उखुखेती गर्ने चलन थियो । पुर्खाले सुरु गरेको कोल हाल्ने चलनलाई आफूहरूको पालामा पनि निरन्तता दिएको खत्रीले बताए । कोलमा उखु पेलेबापत १० लिटर बराबर रु एक सय शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट किसानहरू आउने गरेका छन् ।

    मङ्गला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलले उखुको रसबाट बनाएको खुदोलाई धार्मिककार्यका साथै मानिसलाई घाँटी दुखेको र गाईभैँसी बिरामी भएमा औषधिका रूपमा खुवाउने चलन छ । गर्मीमा खुदो मिसाएको पानी पिउँदा शीतल हुने उनको अनुभव छ ।

    मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ । कोलमा पेल्दा धेरै रस आउने, शुद्ध, स्वस्थ हुने उपभोक्ता राजाराम उपाध्यायले बताउनुभयो । कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ ।

    चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । खुदोलाई पूजाआजामा पनि प्रयोग गरिने मङ्गला गाउँपालिका–२ सिमलचौरकी रूपा जिसीले बताए । विवाह, व्रतबन्धका लागि लड्डु र कसार बनाउनका लागि खुदो आवश्यक पर्छ । यसैगरी देवीदेवतालाई प्रसादका रूपमा पनि खुदो चढाउने चलन छ ।

  • निर्वाचन ६९ दिन बाँकी : कसलाई लाग्छ आचारसंहिता ?

    निर्वाचन ६९ दिन बाँकी : कसलाई लाग्छ आचारसंहिता ?

    काठमाडौँ, ११ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीलाई पूर्ण रूपमा आचारसंहिता लाग्छ ।

    यसैगरी, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्छ । स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।

    राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्नेगरी प्रस्ताव गरिएको छ । सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुमगन समितिका पदाधिकारी तथा अनुमगनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्ववद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र त्यसका कर्मचारीलाई पनि पूर्ण रूपमा आचारसंहिता लाग्नेछ ।

    त्यस्तै, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदारलाई पनि आचारसंहिता लाग्छ । वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई पनि आचारसंहिता लाग्ने छ । आयोगले प्रस्ताव गरेको आचारसंहिता आवश्यक सुझाव र सल्लाहसहित केही दिनभित्रै लागू हुने जनाइएको छ ।

  • आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    काठमाडौँ, ११ पुस । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

    विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ । जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो ।

    नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।
    नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई रु एक सय वृद्धभत्ता दिने घोषणा गरेका थिए । हाल ज्येष्ठ नागरिकले रु चार हजार वृद्धभत्ता पाउने गरेका छन् । करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिँदै आएका छन् ।