Category: समाचार

  • पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

    पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

    रासस
    कास्की, ८ पुसः पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ । महानगरभित्र पर्ने राजमार्ग क्षेत्र र नगर क्षेत्रका प्रमुख सडकका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई हटाउने तयारी सुरु गरिएको हो । पृथ्वी राजमार्गको पोखराको प्रवेशद्धार कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदीसम्मका सडकका दायाँका वर्कसप हटाउनका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ ।

    त्यसैगरी, नगर क्षेत्रका प्रमुख सडकको दायाँबायाँका सटर तथा खाली जमिनमा सञ्चालन भइरहेका कवाडी सङ्कलन केन्द्र, वर्कसप, कारवास तथा ग्रिल उद्योगका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको महानगरले जनाएको छ । “यस्ता उद्यमबाट महानगरको वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल प्रभाव परेकाले यस्ता उद्योग अन्यत्र व्यवस्थापनका लागि सूचना गरिएको हो”, महानगर प्रमुख धनराज आचार्यले भने ।


    यस्तै, महानगरले तोकिएका क्षेत्रमा सञ्चालनमा रहेका हार्डवेयर पसल, डिपो तथा अन्य व्यवसायीलाई समेत सडकपेटीमा निर्माण सामग्री र साइनबोर्डलगायत वस्तु तथा सामग्री नराख्न आग्रह गरेको छ । महानगरपालिकाको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा यस प्रकतिका व्यवसाय तथा उद्यम सञ्चालन तथा सामग्री राखेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगर प्रमुख आचार्यले बताए ।

    राजमार्ग र मुख्य सडक क्षेत्रका वर्कसपलगायतका उद्यम हटाउने अभियानलाई साथ दिन पनि महानगरले नगरवासीमा अपिल गरेको छ । “महानगरको यस निर्णय परिपालना गर्ने÷गराउने सन्दर्भमा आवश्यक सहयोग तथा सहजीकरण गरिदिनुहुन सम्बन्धित घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई अनुरोध गरिन्छ”, सूचनामा भनिएको छ ।

    पोखराका मुख्य बजार क्षेत्रमा ट्राफिक जामको कारक अव्यवस्थित पार्किङसहित मुख्य सडकसँगै जोडिएर खुलेका ग्यारेज र वर्कसपलाई समेत लिइएको छ । जसका कारणले ट्राफिक जामको समस्या भएको तथा बीच सडकमै मर्मत गर्न ल्याइएका सवारीसाधन रोकिनाले सडक साँघुरिँदा जाम भएको बताइन्छ ।

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    रासस
    मुस्ताङ, ८ पुसः माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन् ।

    हिउँदयामको मौसममा बेंसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुश्किल परेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पु¥याएको छ । चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पु¥याउनसक्ने जोखिम छ ।

    माथिल्लो मुस्ताङका नागरिकले हिउँदयामको जाडो थेग्न गुइँठाको साहारा लिन थालेका छन् । सुक्खा पठार माथिल्लो मुस्ताङमा वनजङ्गल नहुँदा दाउराको समस्या छ । बर्खायाममा विद्युत् र ग्यासको प्रयोग हुने भए पनि त्यहाँका नागरिकले पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन् ।

    लोमान्थाङ–३ ठिङ्गरका पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुइठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिए । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाममा सुकाएर गुइँठा बनाएर आगो ताप्ने, पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको जानकारी दिए ।


    माथिल्लो मुस्ताङमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकले याकचाँैरी र भेडाच्याङ्ग्रापालन व्यवसाय गर्ने गरेका छन् । यिनै याकचौँरी र भेडाच्याङ्ग्राको गोबरलाई स्थानीयले लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन् । यद्यपि यो प्रचलन माथिल्लो मुस्ताङमा सदियाँैदेखि निरन्तर चल्दै आइरहेको छ ।

    माथिल्लो मुस्ताङमा याकचौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतोलाई लगातार घाममा सुकाएर गुइँठा तयार गरेपछि बोराभित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइँठालाई आवश्यकताअनुसार ऊर्जाका रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ–२ किम्लिङका ढिन्डुक गुरुङले उल्लेख गरे । यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठा दाउराभन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान इन्धनका रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाइ छ ।

    खेतबारी र चरन क्षेत्रमा खेर गइरहेका पशुचौपायाको आलो गोबर सङ्कलन गरी स्थानीयले गुइँठा बनाउँछन् । यसरी यहाँ गुइँठालाई ऊर्जाका रुपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पमा गुइँठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचतमा योगदान पु¥याएको छ ।

  • अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

    अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

    चन्द्रपुर (रौतहट) । ८ पुस । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो ।

    केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिए । बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।

  • निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    काठमाडौँ, ८ पुस । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् ।

    निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ ।

    पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन ९पहिलो संशोधन० निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर गरेकालाई अयोग्य घोषणा गरिनेछ ।

    नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको भए पनि त्यस्ता उम्मेदवार अयोग्य हुने व्यवस्था छ । सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गेको मितिले छ वर्ष पूरा नभएकासमेत अयोग्य हुने कानुनी प्रबन्ध छ ।

    जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएका उम्मेदवार हुन पाउँदैनन् । प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन् ।

    नेपालको नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको उम्मेदवार भने योग्य हुने प्रबन्ध छ ।

  • संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    रासस
    काठमाडौँ, ८ पुस । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ ।

    तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।”

    सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, “सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।” सेनामा राजनीतिक महत्वकाङ्क्षा पटक्कै नभएको उल्लेख गर्दै भनिएको छ, “तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र रु” विद्यमान अवस्थालाई मूल्याङ्कन गरी सुरक्षा निकायलाई मजबुत बनाउनु राष्ट्रको हितमा भएको उल्लेख गर्दै भनिएको छ, “परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ”, लेखको पूर्ण विवरण यसप्रकार छ स्

    भदौ २३–२४ गतेपश्चातको परिस्थिति : नेपाली सेनाको भूमिका

    गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन र सोपश्चात् विकसित घटनाक्रममा सेनाको भूमिका र राष्ट्रिय सुरक्षाको सम्बन्धमा विभिन्न पक्षबाट बहस भएको देखिन्छ । लोकतन्त्रमा समालोचना अपरिहार्य हुन्छ । नेपाली सेनालगायत राज्यका संरचनाहरूको समालोचना, प्रशंसा तथा खबरदारी गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार हो । यसबाट उक्त निकायहरूलाई आआफ्नो जिम्मेवारी थप प्रभावकारी ढङ्गबाट निर्वाह गर्न सहयोगीसिद्ध हुने नै छ ।

    तत्कालीन सङ्कटको परिस्थितिमा भएको घटना सम्बन्धमा तीन महिनापछिसम्म पनि बहस कायम रहनु तथा विविध कोणहरूबाट विश्लेषण हुनु सुरक्षा सचेतनाको परिप्रेक्षमा सकारात्मक नै हो । नेपाली सेनाको भूमिकामा विभिन्न दृष्टिकोणबाट टिकाटिप्पणी तथा प्रश्नहरू आए । देशमा आइपरेको अकल्पनीय सङ्कटको अवस्थालाई पार लगाउने क्रममा राज्यको प्रमुख सुरक्षा अङ्गले खेलेको भूमिकाको सम्बन्धमा भएका टिकाटिप्पणी बारेमा यहाँ थप स्पष्ट पारिएको छ ।

    संवैधानिक दायरा र नागरिक सर्वोच्चता

    नेपालको संविधानले नेपाली सेनालाई पूर्णतः नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधिनमा राखेको छ । सेनाको परिचालन, भूमिका र सीमा स्पष्ट छन् । कार्यपालिकाको निर्णयबिना सेना आन्तरिक सुरक्षामा स्वतः प्रवेश गर्न सक्दैन । यही संवैधानिक मर्यादाले नेपाली सेनालाई आज पनि देशकै सबैभन्दा विश्वसनीय संस्था बनाएको हो । यो नेपाली सेनाको संविधान र लोकतान्त्रिक शासन प्रणालीप्रतिको सम्मान पनि हो । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशबिना हस्तक्षेप गरेको भए र २४ गते थप नागरिकको मृत्यु भएको भए परिस्थिति सम्हालिन कठिन त हुने नै थियो । बिनाआदेश आफैँ परिचालन भयो भनी त्यसको दोष पनि सेनामाथि नै पर्ने थियो ।

    गत भदौ २४ मा तत्कालीन अवस्थाले उच्च जोखिममा परेका विशिष्ट व्यक्तिहरू, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नेपाली सेनाको पहिलो दायित्व बन्यो । जीवन रक्षा कुनै व्यक्ति विशेषको संरक्षण होइन, यो राज्यको आधारभूत कर्तव्य हो । भदौ २४ मा अवस्था अझ व्यापक र अराजक बन्दा जीवन जोगाउने प्राथमिकतासहित संयमित रुपमा उपस्थित भयो सेना । उक्त दिन कुनै अकल्पनीय घटना भएको भए त्यसले निम्त्याउने थप द्वन्द्व र अस्थिरतातर्फ पनि गहिरिएर विचार पुर्याउनु पर्दछ ।

    भौतिक पूर्वाधार महत्त्वपूर्ण भए पनि जीवनभन्दा माथि कदापि हुँदैन । मानवीय क्षतिको मूल्यमा भौतिक संरचना जोगाएको भए पनि फेरि प्रश्न उठ्ने पक्का थियो कि, सेनाले सिंहदरबार जोगाउन जनतालाई किन गोली हान्यो रु सर्वसाधारण व्यक्तिहरूले पनि कठिन परिस्थितिमा सेनाले तत्काल सहयोग र उद्धार गरेको अनुभव सार्वजनिक गरेकै छन् । नेपाली जनताको जीवन रक्षालाई नै पहिलो प्राथमिकता दिएको थियो । भूकम्पजस्तो विपद्का समयमा मानिस घर÷सम्पत्ति छोडेर किन खुला ठाउँमा निस्कन्छन् रु यो पनि विचारणीय छ ।

    विश्वसनीयताको मेरुदण्ड, नागरिक सरकारको आदेशमा आधारित कार्यप्रणाली

    आन्तरिक दङ्गा नियन्त्रणमा प्रहरी र सशस्त्र प्रहरी बल नेपाल अग्रपङ्क्तिमा रहने संवैधानिक व्यवस्था छ । सेना अन्तिम उपायका रूपमा रहन्छ । यही विभाजनले लोकतन्त्रलाई सुरक्षित राख्छ । सोहीअनुसार आवश्यकताको सिद्धान्तले छिटोभन्दा छिटो पहलता लिई सेनाले उद्धार, मानवीय सहायता र संवेदनशील स्थानको संरक्षणमा संयमित भूमिका खेलेकै थियो । अप्रत्याशित रूपमा विकसित घटनाक्रममा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाली सेनाले सङ्कटको व्यवस्थापन गरेको कुरामा पर्याप्त सार्वजनिक बहस भएकै छन् ।

    सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरु आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै हो, जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । अन्ततः निर्णयको अधिकार कार्यपालिका र सम्माननीय राष्ट्रपतिको नै रह्यो र सेनाले त्यसलाई सम्मान ग¥यो । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।

    पृथ्वीनारायण शाहको तस्बिर : राष्ट्रिय एकताको प्रतीक

    भदौ २४ गते सेना प्रमुखको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर देखिनुलाई विभिन्न ढङ्गबाट आलोचना गरेको देखिन्छ । पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्नेमा कोही पनि सच्चा नेपाली जनताको दुईमत नहोला । राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् । सङ्कटको क्षणमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु कुनै राजनीतिक सन्देश होइन, राष्ट्रिय चेतनाको आह्वान हो । त्यस सन्दर्भमा सेनाको नेतृत्वले एकताको सन्देश दिने प्रयास गर्नु सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम गर्नु पर्दछ भन्ने सन्देश थियो ।

    सेनाको विश्वसनीयता र प्रतिबद्धता

    इतिहासतर्फ फर्केर हेर्दा आजको दिनसम्म नेपाली सेनाले कहिल्यै सत्ता हस्तक्षेप गरेको छैन । बरु, संवैधानिक सङ्क्रमणको समयमा संयम र अनुशासित भई नागरिक सर्वोच्चताको पक्षमा उभिएको छ । इतिहासकालदेखि हालसम्म नेपालमा भएका परिवर्तनहरूलाई सेनाले आत्मसाथ गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घका शान्ति मिसनहरूमा निरन्तर सहभागी हुँदै फौज खटाउने राष्ट्रहरुको सूचीमा अग्रस्थानमा रहेको नेपाली सेनाले आफ्नो व्यावसायिकता, मानवअधिकारप्रतिको प्रतिबद्धता र अन्तरराष्ट्रिय विश्वसनीयता प्रमाणित गरेको छ । सेनामा राजनैतिक महत्वाकाङ्क्षा पटक्कै देखिँदैन । तत्कालीन राजनैतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वाकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र रु

    वर्तमान राष्ट्रिय सुरक्षा र आगामी निर्वाचन

    आज देश निर्वाचनको दिशामा अघि बढिरहेको छ । यस्तो समयमा संस्थागत धैर्य, सुरक्षा संयन्त्रबीच स्पष्ट कार्यविभाजन र सबै निकायका नेतृत्वहरुको जिम्मेवारी महत्त्वपूर्ण रहेको छ । सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सरोकारवाला निकायहरुसँग समन्वय गर्दै संवैधानिक आदेशअनुसार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नजिकिँदै गएको निर्वाचनलाई भयरहित ढङ्गबाट सुसम्पन्न गर्न आम जनसमुदायसहित सबै एकजुट हुनु पर्दछ ।

    अन्त्यमा, गत भदौ २३–२४ गतेको जटिल परिस्थितिमा सेनालगायत सबै सुरक्षा निकायको भूमिकाको सन्दर्भमा नागरिक वृत्तमा सकारात्मक छलफल तथा बहस गरी सुझाव दिनुलाई राम्रै मान्नुपर्छ । सोहीअनुसार सेनाले आन्तरिक रूपमा उक्त कार्य गरेकै छ । यद्यपि परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ ।

    सङ्कटको समयमा राष्ट्रिय सुरक्षाका अङ्गहरूबीच थप आपसी समन्वय, सद्भाव र सहकार्य हुनु जरुरी छ । उक्त घटनाक्रममा सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको छ । तत्कालीन परिस्थितिमा न त हस्तक्षेप गरेको छ, न कुनै राजनीतिक महत्वाकाङ्क्षा राखेको छ । जीवन रक्षालाई सधैँ प्राथमिकतामा राख्यो, संयमता अपनायो र अन्ततः निकास प्रक्रियाबाटै खोजियो । सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।
    (स्रोतः जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा)
    –––

  • मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

    मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

    रसुवा, ८ पुस । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारीचालकको पास नवीकरण प्रक्रिया आइतबारबाट सुरु भएको हो । निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार यही आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि र एक जनाको नयाँ पास जारी गरिएको र बसाइ सरी रसुवा जिल्ला बाहिरबाट आएका व्यक्तिको भने सरोहारवाला पक्षको सहमतिका आधारमा पछि गरिने छ ।

    बसाइ सरी आएका मानिसको नवीकरण नर्गन जनदबाब आइरहेकाले नयाँ कार्यालय प्रमुखसमेत आएपछि सो सम्बन्धमा आवश्यक निर्णय हुने उनले बताए । मितेरी पुल सञ्चालनका विषयमा चिनियाँ पक्षबाट एकीन जवाफ प्राप्त भएपछि मात्र आधिकारिक जवाफ दिन सकिने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले स्पष्ट गरे । अन्तरराष्ट्रिय नाका भएकाले सम्बद्ध दुई देशका अधिकारीबीचको बैठकपछि मात्र रसुवागढी नाका सञ्चालन हुने दिन तोक्न सकिने उनले बताए ।

  • मनाङमा भेटियो नयाँ ताल, प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

    मनाङमा भेटियो नयाँ ताल, प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

    मनाङ, ८ पुसः जिल्लाको चामे गाउँपालिका ४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो । सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।

    सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । सर्वेक्षणपछि संरक्षण, विपद् न्यूनीकरण तथा स्थानीय समुदायसँगको समन्वयमा दीर्घकालीन व्यवस्थापनका योजना लागू गर्ने उद्देश्यले अध्ययन गरिने उनले बताए ।


    प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावना भएकाले राष्ट्रियस्तरमै सर्वेक्षण प्रक्रिया अघि बढाइएको अध्यक्ष घलेले उल्लेख गरे । स्थानीयबासिन्दा तथा गोठालाले दिएका जानकारीका आधारमा चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलसहितको संयुक्त टोलीले उक्त तालको सतह समुद्री सतहबाट करिब पाँच हजार २०० मिटरमा रहेको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष घलेले बताए ।


    “तालको विस्तृत अध्ययन आवश्यक छ । यदी सबैभन्दा अग्लो स्थानमा भएको पुष्टि भएमा विश्वमा प्रचारप्रसारका साथै दाबी गर्ने योजना बनाउनु पर्ने हुन्छ । यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने तयारीमा हामीले कदम चाल्नेका छौँ”, अध्यक्ष घलेले भने । टोलीका अनुसार ताल अत्यन्तै दुर्गम क्षेत्रमा हिमाली भू–भागको बीचमा अवस्थित छ । पहुँचमार्ग कठोर, मौसम, उचाइ र जोखिमपूर्ण भौगोलिक संरचनाका कारण तालसम्म पुग्न कठिन भए पनि प्राप्त प्रारम्भिक विवरणले काजिनसारा ताललाई मनाङको मात्र नभई देशकै महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा प्रचारप्रसार गर्नुपर्ने उनले बताए ।

    तालको उचाइ, क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ । काजिनसारा तालले मनाङको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास पालिका अध्यक्ष घलेले व्यक्त गरे । उनका अनुसार तालसम्म सुरक्षित पदमार्ग निर्माण, आवतजावतका वैकल्पिक मार्ग पहिचान, पर्यटकमैत्री पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई प्राथमिकता दिएर दीर्घकालीन योजना तयार पार्ने काम भइरहेको छ ।

    अध्यक्ष घलेले सो क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले योजनाबद्ध विकासमा पर्यावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य हुने बताए । “स्थानीय गोठाला सिङ्गरखर्क क्षेत्रका पहाड र चौरमा चौँरी, भेडाच्याङ्ग्रा चराउन जाँदा टाढाबाट निलो जलाशयको दृश्य देख्ने गरेको बताउँदै आएका थिए”, उनले भने, “उनीहरूको सूचनालाई आधार मानेर चामे गाउँपालिकाले विसं २०७८ मा सुरुआत गरेको अन्वेषणका क्रममा तालको लम्बाइ करिब एक किलोमिटर र चौडाइ करिब ६०० मिटर रहेको अनुमान गरिएको छ ।”

    ताल मापन गर्ने उद्देश्यले तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुङ्गेल हेलिकोप्टरमार्फत त्यसतर्फ सर्वेक्षणमा पुगेका थिए । अध्यक्ष घलेका अनुसार तालको गहिराइको मापन हालसम्म उपलब्ध भएको छैन । प्रारम्भिक प्रतिवेदनमा ताललाई हिम नदीको जलस्रोतबाट बनेको उच्च हिमाली ‘ग्लेसियर’ (हिउँ र बरफबाट बनेको नदी) का रूपमा उल्लेख गरिएको उनले जानकारी दिए ।


    ताल अवस्थित क्षेत्र चारैतिर प्रसिद्ध हिमशृङ्खलाले घेरेको प्राकृतिक महत्त्वपूर्ण क्षेत्र हो । पूर्वमा मनास्लु हिमाल, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतस्थित पेरी हिमाल पर्ने हुँदा दृश्यावलोकनका दृष्टिले काजिनसारा ताल अत्यन्त आकर्षक छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यस ताललाई तिलिचो ताल, अन्नपूर्ण पदमार्ग तथा नार–फू क्षेत्रसँग समन्वय गरी पर्यटकीय सम्भावनाको रूपमा विकास गर्न सकिने देखिएको छ ।

    हाल विश्वकै उच्च स्थानमा अवस्थित तिलिचो ताललाई चुनौती दिने तालका रूपमा काजिनसारा ताल रहेको छ । तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनले देखाएको छ । भौगोलिक उत्थान, हिमनदीको विस्तार तथा जलस्रोतको क्रमिक परिवर्तनका कारण विगतमा पहिचान गर्न नसकिएका उच्च हिमताल भेटिनु स्वाभाविक रहेको विज्ञहरूको भनाइ छ ।

    नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले नेपालकै अग्लो स्थानमा रहेको गाउँपालिका नार्पाभूमि भए पनि आधिकारिक रूपमा नापी विभागको अध्ययन टोलीले मापन नगरेको अवस्थामा काजिनसाराको विषयमा यसै भन्न नसकिने बताए । काजिनसारा विश्वकै अग्लो स्थानमा पर्ने तालको सूचीमा रहनु सबै मनाङीका लागि खुसी तथा गौरवको विषय बन्ने उनको भनाइ छ । यस तालको विषयमा अध्ययन तथा सर्वेक्षणमा सरकारको चासो हुनुपर्ने स्थानीयको भनाइ छ । यस तालको अध्ययन तथा सर्वेक्षण एवं मान्यताले पूर्ण भएमा नेपालले कजिनसारा ताल विश्वकै अग्लो स्थानमा अवस्थित भनेर दाबी गर्नुपर्ने देखिन्छ ।

  • बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

    बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

    भरत केसी–रासस
    लुम्बिनी, ७ पुसः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्रिय राजमार्ग विस्तार गर्ने आयोजना अघि बढेको एक वर्ष हुन लाग्दा आवश्यक नदीजन्य सामग्री र माटोको अभाव देखिएको हो । संरचना निर्माणका कामले गति लिए पनि नदीजन्य सामग्री अभाव हुँदा काम प्रभावित भएको छ । आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ ।

    बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरी निर्माण भइरहेको छ । आवश्यक नदीजन्य सामग्रीका लागि स्रोतको खोजी भइरहेको निर्र्माण कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिए । उनले यसक्षेत्रका स्थानीय तहहरुलाई सम्भावित स्रोतको खोजी गर्न सहयोगको अनुरोध गरे ।

    बुटवल–कोठी नदी खण्ड

    बुटवलदेखि रुपन्देहीको सैनामैना सालझण्डीदेखि कपिलवस्तुको सीमावर्ती क्षेत्र कोठी नदीसम्म पहिलो भागको रुपमा सडक विस्तार भइरहेको छ । यो खण्डमा मात्रै आठ लाख ७१ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्ने इन्जिनियर श्रेष्ठले बताए । हालसम्म यहाँ जम्मा ६३ हजार घन मिटर मात्रै सैनामैना नगरपालिकाको पहलमा प्राप्त भएको छ । अरु सामग्रीका लागि बुटवल उपमहानगरलगायतसँग आग्रह गरे पनि सुनिश्चित हुन सकेको छैन । यही खण्डमा माटो भर्नका लागि आवश्यक आठ लाख ७९ हजार घन मिटर माटोमध्ये हालसम्म २७ हजार घन मिटर मात्रै सङ्कलन भएको छ ।

    हालै पाल्पाको तिनाउ गाउँपालिकासँग एक लाख घन मिटर माटो उत्खनन गर्ने सम्झौता भएपछि केही सहज भएको आयोजनाका साइट इन्जिनियर अशोक पौडेलले बताए । यही खण्डको चार किलोमिटर क्षेत्रमा माटो भर्ने काम भइरहेको छ ।

    २५ किमीको खण्डमा ६७ वटा ‘बक्स कल्भर्ट’मध्ये ३७ वटाको निर्माण अन्तिम चरणमा पुगेको, दुईवटा ‘एनिमल क्रसिङ’ लगभग सम्पन्न भइसकेको, १२ वटा ठूला पुलमध्ये अधिकांशमा पाइलिङसहितको काम अन्तिम चरणमा पुगेको र छ वटा बक्स ब्रिजमध्ये दुई स्थानमा निर्माण भइरहेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन् । सो खण्डमा आवश्यक १९ हजार प्रिकास्ट नाली निर्माण पूरा भइसकेको छ । पाँच वटा ‘भेहिकल अण्डरपास’ को काम सुरु भइसकेको छ । यस भागअन्तर्गतको सडक खण्डमा हालसम्म करिब १७ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

    कोठी नदी–बेल नदी खण्ड

    कोठी नदीदेखि कपिलवस्तुको इमिलिया नजिकैको बेल नदीसम्मको सडकखण्डलाई आयोजनाको दोस्रो भाग मानेर काम भइरहेको छ । यहाँ पनि सामग्री अभाव उस्तै छ । यद्यपि पहिलो भागमा भन्दा केही सहज छ । यो खण्डमा मात्रै छ लाख २० हजार घन मिटर माटो आवश्यक भएकामा हालसम्म तीन लाख घन मिटर प्राप्त भएको छ । जुन बुद्धभूमि नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाबाट आपूर्ति भइरहेको छ ।

    नदीजन्य सामाग्रीतर्फ पाँच लाख घन मिटर आवश्यक भए पनि हालसम्म ९० हजार घन मिटर मात्रै उपलब्ध भएको छ । यो खण्डमा ६६ वटा बक्स कल्भर्टमध्ये २६ वटा, १६ वटा एनिमल क्रसिङमध्ये १३ वटा, ठूला आठ पुलमध्ये छ वटा अन्तिम चरणमा पुगेका छन् । दुई वटा बक्स ब्रिजमध्ये एउटामा निर्माण भइरहेको छ । यहाँको १३ किलोमिटर क्षेत्रमा माटो भर्ने काम जारी छभने ‘प्रिकास्ट नाली’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । यो खण्डमा हालसम्म करिब १९ प्रतिशत भौतिक र १४ प्रतिशत वित्तीय प्रगति भएको इन्जिनियर पौडेलको भनाइ छ ।

    चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कूल रु १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार मा सडक स्तरोन्नति गत माघदेखि गरिरहेको छ । दोस्रो चरणमा बेल नदीदेखि चन्द्रौटासम्म १९ किलोमिटर दूरीको खण्डमा नयाँ ठेक्काको प्रक्रिया चलिरहेको छ ।


    पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्तरको बनाउने गरी नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि नै सडकलाई विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गत समावेश गरी सडक विभाग, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक योजना कार्यालय बुटवलमा स्थापना गरेर काम गरिरहेको छ ।विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर (नेपाली ३५ अर्ब रुपैयाँ) उपलब्ध गराउने सम्झौता भएसँगै राजमार्गको स्तरोन्नति सुरु भएको हो ।

  • माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको जेन-जीको एक गुटलाई प्रहरीले लखेट्यो

    माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको जेन-जीको एक गुटलाई प्रहरीले लखेट्यो

    काठमाडौँ, ७ पुस । मिराज ढुङ्गाना नेतृत्वको जेनजी गुटको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालबाट अनुमति नलिइ माइतीघर मण्डला क्षेत्रमा कुनै पनि किसिमका सभा, विरोध, धर्ना, ¥यालीजस्ता कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था उल्लङ्घन गरी प्रदर्शनमा सहभागी भएको आरोपमा रविकिरण हमालसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जेन्जी समूहले उठाएका माग, मुद्दा सम्बोधन नभएको भन्दै माइतीघर मण्डला क्षेत्रमा नाराबाजीसहित प्रदर्शनमा उत्रेका आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनीहरुलाई प्रहरीले केही समयमै छाडेको थिए । यो गुटले वर्तमान प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने र सर्वदलीय सरकार बनाउनु पर्ने भन्दै आन्दोलन थालेको हो ।

  • एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

    एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

    काठमाडौँ, ७ पुस । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ । एमसिए–नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

    यसैगरी एमसिए(नेपालले हालै उक्त सडकखण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव छ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यी आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्डमा स्तरोन्नति गरी १२ मिटर चौडा गरिनेछ भने नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मत गरिनेछ । आज एक कार्यक्रमबीच एमसिए(नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा–कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलाबाट लमहीसम्मको सडकखण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

  • सुनकोशी मरिण डाइभर्सनमा पुन: ठेक्का लगाउने तयारी

    सुनकोशी मरिण डाइभर्सनमा पुन: ठेक्का लगाउने तयारी

    ७ पुस, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो ।


    सम्झौताबमोजिम ठेक्का तोडेपछि निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । आयोजनाको अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने एवम् टेण्डरका कागजात बनाउने काम भइरहेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सोमबार रामछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको निरीक्षण गरी टेण्डर रद्ध गरिएपछिको साइटको अवस्था र नयाँ टेण्डर निकाल्नका लागि भइरहेको प्रगतिको जानकारी लिए ।


    मन्त्री घिसिङले आयोजनास्थलमै आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गरी हाल भइरहेको मूल्याङ्कनको काम दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेण्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । उनले भने, ‘हालसम्म भएको काम, बाँकी काम, निर्माणका क्रममा देखिएका थप कामलाईसमेत समेट्ने गरी मूल्याङ्कन गरेर सोही बमोजिम नयाँ टेण्डर गर्नुपर्दछ, सुरुङ बनिसकेको आयोजनाको निर्माणमा ढिलाइ गर्नुहुँदैन, नयाँ तालिका बमोजिम निर्माण सम्पन्न हुने सुनिश्चित गरी नयाँ टेण्डरको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।’


    ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिंदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको,सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले पटेल—रमण जेभीसँगको ठेक्का टोडिएको थियो । आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीलेकार्यसम्पादन जमानत वापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रिया अगाडि बढाएको थियो ।

    आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम सुरु गरेको थियो । असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ ।

    आयोजनाको १३।३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ । हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।


    सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादकत्वको बृिद्ध किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युतसमेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

    महसुल नतिरेकाले विद्युतको लाइन काटियो
    आयोजना निर्माणका क्रममा खपत गरेको विद्युतको महसुल नतिरेपछि पटेल—रमण जेभीको लाइन काटिएको छ । पटेल—रमण जेभीको नाममा १ करोड ११ लाख रुपैयाँ बक्यौता छ । वक्यौता रकम तिर्न पटक पटक ताकेता गर्दासमेत नतिरेकाले लाइन काटिएको नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ ।

  • सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

    सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

    काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

    भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि थिए । यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । दुई नेताबीच संसद पुनर्स्थापनाको विषयमा चरणवद्ध छलफल जारी छ । स्रोतहरुका अनुसार कांग्रेस सभापति देउवा स्वयमः संसद पुनर्स्थापनाको पक्षमा छन् । सोही अनुसार उनले कांग्रेसका सांसदहरुलाई हस्ताक्षर अभियान चलाएका छन् ।

  • निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

    निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

    काठमाडौँ, ७ पुस । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उनले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी गराए ।


    “सरकारले निर्वाचन मिति घोषणा भएको साढे चार महिना बितिसकेको छ, अब हामीसँग करिब दुई महिना मात्र बाँकी छ । आयोगले प्रक्रियागत रूपमा थोरै कामबाहेक सबै काम सम्पन्न गरिसकेको छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने । उनले मनोनयनपत्र दाखिल भइसकेपछि सुरक्षासम्बन्धी नीति तत्काल परिमार्जन नगरे निर्वाचनको समयमा समस्या आउनसक्ने भन्दै शान्ति सुरक्षासम्बद्ध निकाय र गृह मन्त्रालयलाई समयमै तयारीका लागि आग्रहसमेत गरे । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विगतमा गरिएको जोखिम वर्गीकरण यसपटक केही फरक देखिनसक्ने भन्दै सोहीअनुसार रणनीति अपनाएर तयारी गर्नुपर्नेमा जोड दिए ।
    “उम्मेदवार, पुराना र नयाँ शक्तिबीचको द्वन्द्व तथा शक्ति सङ्घर्षका कारण कतिपय स्थानमा शान्त मानिएका क्षेत्र जोखिमयुक्त र जोखिम मानिएका क्षेत्र सामान्य हुनसक्ने सम्भावना छ । त्यसैले निर्वाचनको विकल्प निर्वाचन मात्र हो, अरु कुनै विकल्प छैन भन्ने ध्येयका साथ सबैले निर्वाचन सफल बनाउन आवश्यक सहयोग गर्न मेरो आग्रह छ”, उनले भने ।


    भण्डारीले गृह मन्त्रालयले शान्ति सुरक्षाका विषयमा आवश्यक प्रत्याभूति गरिसकेको र निर्वाचन आयोग तथा सरकारबीचको छलफलबाट सुरक्षामा कुनै कमजोरी नरहेको प्रतिबद्धता जनाइएको बताए । उनले फागुन २१ गते हुने निर्वाचनका लागि मौजुदा कानुनअनुसार कार्यविधि, निर्देशिका र आचारसंहिता पनि तर्जुमा भइसकेको जानकारी गराउँदै अब दलीय सहमति र सरकारसँगको समन्वयमा आचारसंहिता लागू गरिने उल्लेख गरे ।


    बैठकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम पेस गर्ने समय परिवर्तन गर्दा निर्वाचन प्रक्रियामा धक्का लाग्ने भन्दै समय परिवर्तन नगर्न राजनीतिक दलसमक्ष आयोगले आग्रहसमेत गरेको छ । घोषित निर्वाचन गर्न छोटो समय र सीमित जनशक्ति रहेकाले तालिका परिवर्तन गर्दा असहज हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्पष्ट पारे ।

  • प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

    प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

    काठमाडौँ, ७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छिन् । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् ।

    प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।”

    उनले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गरिन् । मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्दै प्रधानमन्त्री कार्कीले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीलाई आह्वान गरिन् । “सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,” उनले भनिन्, “हामीसँग भएको समयलाई उपयोग गरेर निर्वाचनमा सहभागी होऔँ ।”

    प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटि र गल्तीका कारण भदौ २३ र २४ का घटना घटेको भन्दै त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले सामना गरिरहेको बताइन् । ती घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश तथा परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याइन् ।

    “जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो । जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ,” प्रधानमन्त्री कार्कीले जोड दिँदै भनिन्, “हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ । देशमा शान्ति र स्थायित्व कायम गर्ने सर्तमा हामी सबैले आफ्ना स्वार्थ त्याग्नुपर्छ, त्यसैमा मुलक र हामी सबैको भलाइ छ ।”

  • सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

    सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

    काठमाडौँ, ७ पुस । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ । यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।

  • पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

    रासस
    पर्वत, ७ पुस । यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।

    बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै रु ७० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यसवर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।

    अहिले गाउँ गाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्याण्डिका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । बाँकी केही किसानले बोटबाटै दाना बिक्री गर्दै आएका छन्,भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेकोसमेत भुसालले बताए ।


    जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ । भुसालले सञ्चालन गरेको उद्योगमा आफू बाहेक सात जनालाई रोजगारी दिनुभएको छ । लप्सीसँगै अमला, अदुवा लगायतका परिवार बनाएर हुने कूल आम्दानीबाट खर्च कटाएर वर्षमा रु १० देखि १२ लाखसम्म बचत हुने गरेको उनले बताए ।


    चार वर्ष पहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकार अमेरिका पठाउनुभएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहेपनि अहिले पठाउने संयन्त्र नरहेको बताए । नेपालीहरुले विदेश फर्किदा कोसेली र पाहुँरको रुपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ ।

    जिल्लाका झण्डै ४० वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती सुरु भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले किसानलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ ।

    उद्योगमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानी लगायतको प्रशोधनसमेत हुँदै आएको छ । भने पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट लाखौं रुपैया आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताउनुभयो । लप्सी, अमला र अदुवा यामको बेलामा प्रशोधन हुने भए पनि मकै, भट्टमास, बदाम लगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए ।

  • अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

    अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

    काभ्रेपलाञ्चोक, ७ पुस । अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो ।

    उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । सम्झौताअनुसार म्याद सकिँदा ४० प्रतिशत विस्तारकार्य अधुरो अवस्थामा रहेको हो ।

    कन्स्ट्रक्सनका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार साँगा–धुलिखेल खण्डमा समग्रमा ६० प्रतिशत तथा पीचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किमी र पुल बजार–जनागाल क्षेत्रमा करिब एक किमी सडक कालोपत्र गरिएको छ, भने पीचकार्यलाई तीव्रता दिइएको हो । यसअघि गत मङ्सिर तेस्रो साता डेढवर्षदेखि रोकिएको सूर्यबिनायक–धुलिखेल सडकखण्डको पलुबजार क्षेत्रमा स्तरोन्नतीकार्य सुरु गरिएको थियो । पुल बजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि अवरुद्ध करिब तीन सय मिटर सडकको स्तरोन्नतीकार्यलाई केही विषयमा सम्झौता गरेपछि प्ुनःनिरन्तरता दिने सहमति भएको थियो ।

    सूर्यविनायक धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोले साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र दोस्रो सूर्यविनायक–साँगा खण्डमा भने ४५ प्रतिशत काम सकिएको बताए । उनका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका र भत्काउने प्रक्रिया भइरहेको छ । आयोजनाका इञ्जीनीयर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको छ । उहाँका अनुसार पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ आठ सय मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ बनेपाबाट साँगातर्फ बाँया लेनको कालोपत्रको तयारी भइरहेको छ ।

    यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कट्टिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको उनले जानकारी दिए ।


    सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्य अन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा– ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि छ लेनमा विस्तार थालिएको हो ।

  • सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

    ७ पुस, काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नु पर्नेछ ।


    पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको आइतबार अनुगमन गरी निर्माणलाई तिब्रता दिई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मासहित आयोजनास्थल पुग्नु भएका मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुंग्याउन निर्देशन दिए । समयमै गर्नु पर्ने निर्णय नगरेका कारणले निर्माण कार्यमा कुनै पनि हालतमा ढिलाइ हुन नहुने घिसिङले बताए ।


    उनले भने, समयमा साइट उपलब्ध गराउन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबू बाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट १९ महिना म्याद थप माग भएको रहेछ, यस विषयलाई आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल निर्णय गर्नुहोस्, निर्णय नगरेर आयोजनाको निर्माण कुनै पनि हालतमा प्रभावित हुन दिनुहँदैन ।’


    इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा सुरुङ मार्ग निर्माणका लागि २५ फागुन २०७८मा चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ७ अर्ब ३४ करोड २१ लाख ९करसहित०मा ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम चैत २०८३ भित्र सुरुङको निर्माण सम्पन्न गर्नुपर्ने छ । त्यसपछि कम्पनीले १८२५ दिन सुरुङ सञ्चालन एवम् मर्मत सम्भार गर्नेछ । नेपाल सरकारको आफ्नै स्रोतबाट सुरुङ मार्गको निर्माण भइरहेको हो ।


    सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँदसमेत ढुंगा खस्ने, माटो बगेर आउने तथा सुख्खा पहिरो जाने कारणले थुप्रै दुर्घटना भएर मानवीय क्षति हुँदै आएको छ । वर्षायाममा समस्या झन् विकराल बन्ने गरेको र यसले गर्दा घण्टौंसम्म ट्राफिक अवरोध हुने गरेको छ । उक्त समस्या समाधान गर्न सिद्धबाबामा सुरुङ मार्ग निर्माण गरिएको हो । सुरुङ मार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा सुविधा हुने, समय र दूरी घट्ने, दुर्घटना तथा सवारी साधन खर्च घट्ने देखिएको छ ।

  • निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

    निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

    काठमाडौँ, ७ पुस । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ ।

    दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । राष्ट्रिय जनगणना, २०७८ को विवरणका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा आवश्यक संशोधन गरिएको थियो । पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित १३ दशमलव ४४ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७२ प्रतिशत, खस आर्य ३० दशमलव २८ प्रतिशत, मधेसी १६ दशमलव १५ प्रतिशत, थारु छ दशमलव ५२ प्रतिशत र मुस्लिम चार दशमलव ८९ प्रतिशत हुने गरी उम्मेद्वारको नाम समावेश गर्नुपर्नेछ ।

    बन्दसूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ । कूल ५० प्रतिशत सिट सङ्ख्या निर्धारण गर्दा नाम समावेश गर्नुपर्ने महिलाको सङ्ख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण सङ्ख्यामा नाम समावेश गर्नुपर्नेछ । उम्मेद्वारको नाम सूचीकृत गर्दा कम्तीमा चार दशमलव तीन प्रतिशत पिछडिएका क्षेत्रका उम्मेद्वारको नाम समावेश गर्नुपर्नेछ ।

    यसैगरी अपाङ्गता भएका व्यक्तिको नाम उल्लेख गरेको हुनुपर्नेछ । बन्दसूची आयोगमा पेस गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले स्वीकृत गरी सो निर्णयको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने जनाइएको । सूचीमा रहेका प्रत्येक उम्मेद्वारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ ।

    समानुपातिक उम्मेद्वारको बन्द सूची पेस गर्दा उम्मेद्वारको योग्यता निर्धारण गरिएको छ । त्यसमा नेपालको नागरिक हुनुपर्ने, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ ।
    समानुपातिक निर्वचन प्रणालीका लागि आवेदन दिएका दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वारको बन्दसूची पेस गर्नुपर्ने समय सीमा तोकिएको छ ।

  • भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

    भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

    रासस
    भक्तपुर, ७ पुस ।भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।

    परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा दर्ता भएका उल्लेख गरे । उनका अनुसार आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी, दुई वटा मानव बेचबिखनका घटना भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगसम्बन्धी अपराधका घटना बढी देखिएका उनले बताए ।


    त्यस्तै, जिल्लामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी भएका जानकारी दिँदै परिसरका सूचना अधिकारी जवेजुले मङ्सिरमा ७१ वटा आर्थिक अपराधका घटनाअन्तर्गत बैंकिङ कसुरसम्बन्धी ६७ मुद्दा परेका बताए । सार्वजनिक चासो रहेको कर्तव्य ज्यानका दुई वटा मुद्दाको सफल अनुसन्धान गरेको, फैसला कार्यान्वयनबाट ३७ जना पक्राउ गरी रु ३८ लाख १३ हजार ८०० जरिवाना भराएको उनले बताए । सूचना अधिकारी जवेजुले निजहरूलाई सात वर्ष छ महिना १६ दिनको कैद सजायको फैसला गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ परेका ४९ मध्ये ३३ वटा मुद्दामा मिलापत्र र १६ वटाको काम बाँकी रहेको जानकारी दिए ।


    सूचना अधिकारी जवेजुका अनुसार १८ देखि ४० वर्षसम्मका ३३, ४० देखि ६० वर्षसम्मका निवेदनमा १६ जना पीडित छन् भने पीडकको उमेर समूहका आधारमा तथ्याङ्क विश्लेषण गर्दा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना रहेका छन् । मङ्सिर महिनामा आठ जना महिला हराएकामध्ये छ जना फेला पारेका छन् भने सात जना पुरुष हराएकामध्ये पाँच जना फेला, ११ जना हराएका बालिकामध्ये सबै फेला पारेका छन् । घरेलु हिंसामा श्रीमान् श्रीमतीको झगडाका २० वटा उजुरी परेकामा हालसम्म ११ वटाको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

    ठाडो उजुरीतर्फ २०१ दर्ता भएकामा १६७ फछ्र्यौट भएका भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका उजुरीको सङ्ख्या ४४ रहेकामा ४० फछ्र्यौट भएको जनाएको हो । लागुऔषधका आठ घटनामा १२ जना पक्राउ परेका जनाउँदै प्रहरी नायब उपरीक्षक जेवेजुले विभिन्न लागुऔषधसमेत बरामद गरिएको बताए । जिल्ला प्रहरी कार्यालय भक्तपुरले मङ्सिरमा पाँच वटा आत्महत्याका घटना भएको पुष्टि गरेको छ ।

  • सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनामा महत्वपूर्ण कामको सूची

    सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनामा महत्वपूर्ण कामको सूची

    काठमाडौँ, ७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा विभिन्न उपलब्धि हासिल भएको दावि गरेका छन् । उनले गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएका थिए । मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरे । उनले सो अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको दावि गरे । मन्त्री खरेलले भन्नुभयो, “धेरै चुनौतीका बीच यति मुख्य उपलब्धि हासिल भएका छन् । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ ।”

    यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा ‘फोरजी’ सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएका छन् । मन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वल्र्डको शुभारम्भ, स्व पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिए ।


    यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेटतर्फ काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको मन्त्री खरेलले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा १५ वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि, जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तारलगायतका कार्य सम्पन्न गरिएका उनले बताए ।
    मन्त्री खरेलले जेन्जी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलनको क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका उपलब्धि सार्वजनिक गरे ।
    ‘मुलुक निर्वाचनमा होमियो’

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएको बताए । उनले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले भने, “मुलुक अहिले निर्वाचनमा होमिसकेको अवस्था छ । सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ । सबै राजनीतिक दल, निर्वाचन आयोग र जनता सबैतिर अहिले निर्वाचनको वातावरण छाएको छ ।”

    मन्त्री खरेलले सरकारले जेनजी आन्दोलनको भावनाअनुसार सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको बताए । उनले भने, “आगामी फागुन २१ गते निर्वाचन हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात् गर्दै सुशीला कार्की नेतृत्वको सरकारले काम अघि बढाएको छ । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरु भई नै रहेका छन् । समग्रमा यो नागरिक सरकार भएकाले जेनजी आन्दोलनको मर्मअनुसार अघि बढेको छ ।”

  • लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

    लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा

    घोराही (दाङ), ७ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ । बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आइतबार घोराही आइपुगेको हो ।

    र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट सङ्घका अध्यक्ष तथा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव कैलाश रोकालगायतले स्वागत गरे । घोराही बजार परिक्रममा गर्दै र्‍याली घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत क्रिकेट मैदानमा पुगेर समापन गरिएको थियो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी लैजाने कार्यक्रम छ ।

  • गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

    गहना चोरी गरी बिक्री गर्ने दुई जना काठमाडौंमा पक्राउ

    काठमाडौँ, ६ पुस । सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय रामकृष्ण विक रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक सङ्लग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । प्रहरीले पक्राउ परेका क्षेत्रीको साथबाट रेडमी मोबाइल एक थान, आइफोन चार थान, फलामको छिनो एक थान र अमेरिकी डलरसमेत बरामद गरेको छ । यस्तै, विकसँग सुनको ब्रासलेट एक थान, औँठी एक थान, नथी एक थान, तिलहरि एक थान, सिक्री एक थान, पाउजू एक थान, बाला एक थानलगायतका गरगहना बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

    विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

    काठमाडौँ, ६ पुस । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    छनोट हुने खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने र आरिफ सेख छ्न । यसैगरी आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेशकुमार सिंह पनि छनोटमा परेका छन् ।

  • प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

    प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

    काठमाडौँ, ६ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी थिए ।

  • जेनजी अगुवा ढुङ्गानाले गरे सरकारविरुद्ध आन्दोलनको घोषणा

    जेनजी अगुवा ढुङ्गानाले गरे सरकारविरुद्ध आन्दोलनको घोषणा

    काठमाडौँ, ७ पुस । जेनजी अगुवा मिराज ढुङ्गानाको समूहले जेनजीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ । सो समूहले आज यहाँ पत्रकार सम्मेलन गरी युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । सो अवसरमा जेनजी अगुवा ढुङ्गानाले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका पक्षमा भएको गत आन्दोलनको मर्म र भावनाबमोजिम परिणाम आउन नसकेकाले आफूहरू पुनःसडकमा आउन बाध्य भएको बताए ।


    उनले राज्यको पुनःसंरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय र संविधान पुनर्लेखनसहित संवैधानिक सुधार, पक्राउ परेका जेनजी अभियन्ताको तत्काल रिहाइ र आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्ने माग गरे ।

    सो समूहले आन्दोलनका घाइतेलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था, सहिद परिवारको सम्मान, रोजगारी र सुरक्षासहितको स्थायी व्यवस्था, सबै तह र निकायमा भएका भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग गठन गर्न, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न, उखुकिसान र सहकारीपीडितलाई न्याय दिन तथा जेनजी आन्दोलनका क्रममा उठाइएका मागमुद्दालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

  • चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

    चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

    गोपालप्रसाद बराल–रासस

    महोत्तरी, ६ पुस । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो । “यतातिर गत बुधबारदेखि नै मध्यान्हसम्म बाक्लो हुस्सुले ढाक्दै आएको छ, लगातारको चिसो बतासले काममा निस्कन सकिएको छैन”, जिल्लाको सुदूर दक्षिणपूर्वी भेगको मटिहानी–८ का ३० वर्षीय युवा इसरापूmल राइन भन्छन्, “यसले जीवन गुजारामै सकस बढाएको छ ।”

    जिल्लाको दक्षिणी क्षेत्रमा लाग्दो पुससँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत शुक्रबारदेखि योक्रम बढेको हो । बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा गत बिहीबारसम्म झलमल्ल घाम लागको थियो । “बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै टिकिन्न कि जस्तो बनाइसक्यो ।” मध्याह्नपछि हुस्सु फाट्दै गए पनि पारिलो घाम लाग्न नसक्दा र दिनभरि नै चिसो बतास चलिरहँदा जाडोले कुनै काममा निस्कन नसकेको उनको भनाइ छ ।

    यो बढ्दो चिसोले गरिब बस्ती अत्यधिक प्रभावित भएका छन् । अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब जाति समुदायका बस्तीमा सडकमा फालिएका झुत्रा लुगा, प्लाष्टिक र झित्राझिक्री बालिने ‘घुर’ मात्र सहारा बनेको छ । “लकडीकाठी (दाउरा) कहीँ पाइँदैन, कोही फर्केर हेर्ने आउँदैनन् , के गराँै ? यही घुरको धुवाँ तापेर जाडो काट्नु परेको छ”, भङ्गाहा–४ रामनगरको मुसहरीटोलकी हेमनी सदा मुसहरले भनिन् ।

    बिहानीपख लाग्ने हुस्सुले सडक यातायात र हवाई यातायात सेवा प्रभावित हुन थालेका छन् । बाक्लो हुस्सुकै कारण मध्याह्नअघिका हवाई सेवा धेरैजसो प्रभावित हुँदैछन् । मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानी सेवा रोकिने गरेको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ ।

    यस्तै, एकाबिहानैको समयका सार्वजनिक सडक यातायातका साधनलाई पनि हुस्सु छिचोल्न नसक्दा ठाउँठाउँमा रोकिनुपरेको चालक बताउँछन् । बाक्लो हुस्सुसँगैको चिसो हावा बहने क्रमले बिहान बेलुका जाडो निकै छिप्पिएको छ । चिसो निकै बढेपछि खेतीपाती र बन्दव्यापारका काम ठप्प झैँ भएका छन् । मध्याह्नपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि बाहिरफेरो निस्कन गारो बन्दै गएको छ । यसले बजारको चहलपहल देखिन छाडेको गौशाला–५ गौशाला बजारका व्यापारी अजय साह बताउँछन् ।

    एक्कासी बदलिएको मौसमले व्यापार व्यवसायमात्र नभएर नियमित खेतीपातीका काममा बिहानैदेखि लाग्न नसकिएको किसान बताउँछन् । लाग्दो पुसमै यस्तो चिसो बढेपछि यहाँका बुढापाका अझ पछिका दिन कस्तो होला भन्दैछन् । “अहिले नै जाडोले धर्मराएको छ, पुस अझै निकै बाँकी छ, १५ माघ नलागी पारिलो घाम देखिने छाँट छैन, खै कसरी दिन कट्ने हुन् ?”, भङ्गाहा–५ सीतापुर बजारमा बस्दै आउनुभएका ८५ वर्षीय हाजी विहारी अन्सारी भन्छन्, “चिसोले उठ्न बस्न पनि नसकिने भइयो, दुःख पाइने छाँट छ ।”

    बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा देखिन्छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक बिहानको काममा जान पातलिएको छ । काममा जान नपाएपछि यो सोझै गुजारासँग जोडिने हुँदा गरिब बस्तीमा भोकभोकै बस्नपर्ने अवस्था पनि बन्दैछ । “मुटु कमाउने जाडो छ, कसरी काममा निस्कने होला ?”, औरही–७ भोइलटिम्कियिाका ६० वर्षीय घुरन सदा भन्छन्, “बनी गर्न ननिस्के मुखमा माड लाग्दैन, अब भोकभोकै पर्ने बेला आउने भयो ।” जाडो सबैलाई उतिकै आए पनि आपूmहरुको गरिबीले समारिन नसकिएर दुःख बढेको उनी बताउँछन् ।
    चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी र स–साना नानीहरुको स्याहार, सम्भार कठिन भएको छ ।

    घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरु बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । यसैबीच, महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाकोतर्फबाट सूचना जारी गरिएका छन् ।

    यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साह बताउँछन् ।

    चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान बेलुका जाडो छल्ने उपायका लागि पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । असहाय र गरिब बस्तीमा आगो ताप्ने दाउराको प्रबन्ध गरिनु पहिलो प्राथमिकता रहेको बर्दिबास हेल्प फाउण्डेसनका अध्यक्ष कुमार भण्डारीको भनाइ छ । यस कार्यमा स्थानीय तहले स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक प्रबन्ध जुटाउनपर्ने भण्डारीको सुझाव छ ।

    यससँगै गरिब बस्तीमा न्यानोको प्रबन्ध र खानपिनका कुरामा पनि सहयोग गर्न सकिनेगरी तयारी गरिन आवश्यक रहेको उनी बताउँछन् । यसैबीच, जिल्ला समन्वय समितिको कार्यालयले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । “अब चिसोले प्रभाव बढाउँदै लग्यो, यसअनुरुप हाम्रो तयारी आवश्यक छ”, जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण भन्छन्, “समयमै गरिने पूर्वतयारीले क्षति रोक्न सकिन्छ ।” यसको पहलकदमी स्थानीय तह र जिल्लास्थित विपद् व्यवस्थापन समितिले थाल्नुपर्ने उनको भनाइ छ ।

  • मौन पीडामा रहेकी कालिमायाको याचना…..

    मौन पीडामा रहेकी कालिमायाको याचना…..

    रासस
    दमौली (तनहुँ), ६ पुस । यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन्, झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दैनन् र घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।

    कालिमायाले झलकलाई देखाउँदै भनिन्, ‘देखिहाल्नुभयो, झलकको अवस्था । यसरी बाँधेर राख्न मलाई रहर होला ? ” उनका अनुसार झलकलाई दुर्घटनामा पर्ने डर, अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउका काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो ।

    कालिमायाको पीडा व्यथाका कथा कहालीलाग्दो छ । झलक चार वर्षका हुँदा उनीले जीवनसाथी अर्थात् श्रीमान् गुमाउनु प¥यो । उनले भनिन्, ‘श्रीमानले अकल्पनीय रुपमा सदाका लागि छाडेर जानुभएपछि मैले नै फरक क्षमता (अपाङ्गता) भएको बाबुको हेरचाह गर्दै आएको छु । बाबुको सहायताका लागि विभिन्न निकाय धाए, सहायताको याचन मागे । आजसम्म आश्वासन र सहानुभूतिमात्र पाएको छु । ”

    केही समयअघि एक सस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गरायो । तर यो सहायताले पनि कालिमायाको आशामा पूरै उज्यालो थप्न सकेन । उनले भनिन्, “ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन, लड्ने डर झनै बढी हुन्छ । अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ । ”

    कालिमायाको माग धेरै छैन । उनलाई चाहिएको छ, झलकका लागि सुरक्षित र व्यवस्थित कोठा । बाहिर निस्केर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय । उनले भनिन्, “जग्गा म आफैँ व्यवस्थापन गर्छु । तर कोठा बनाउन सहयोग चाहिएको हो ।” झलकको अवस्था देखेपछि अधिकारकर्मीद्वय ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणका लागि पहल गरिने आश्वासन दिएका छन् ।

  • चितवनमा गैरआवासीय नागरिकता लिने बढे

    चितवनमा गैरआवासीय नागरिकता लिने बढे

    चितवन, ६ पुसः नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको उनले बताए ।

    जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । यो नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फर्म भरेर पासपोटको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा र नातेदार वा चिनजानको व्यक्तिले सनाखत गर्नुपर्ने उनले बताए ।

    विदेशमा बसेका नोपालीहरूले नेपालमा लगानी गर्न सहजताका लागि गैरआवासीय नागरिकता लिने गरेको उनले जानकारी दिए । जिल्लामा दुई जनाको नागरिकता रद्द गरिएको उहाँले बताउनुभयो । दोहोरो नागरिकता रहेको वा राज्यविरोधी गतिविधि गरेकाहरूको नागरिकता रद्द गरिएको हो । साउनयता यस कार्यालयबाट वंशजका आधारमा तीन हजार ७५९ जना र वैवाहिक अङ्गीकृत नागरिकता ११ जनाले लिएका छन् ।

  • भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

    भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

    ताप्लेजुङ, ६ पुसः बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।