Category: समाचार

  • सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

    सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

    काठमाडौँ, ६ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ ।

    गत मङ्गलबार रु दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो । यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ । चाँदी प्रतितोला तीन हजार ८८५ बाट बढ्दै बिहीबार चार हजार ८० सम्म पुगेको थियो । आज एक तोला चाँदीको मूल्य रु चार हजार १०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  • बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न राखियो ‘ट्रास बेरियर’

    बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न राखियो ‘ट्रास बेरियर’

    काठमाडौँ, ६ पुसः सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ । गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगङ्गा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो ।

    सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ । काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

    ट्रास बेरियरबाट सङ्कलित फोहरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ । नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहर वस्तुलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफँै तलमाथि हुने ढङ्गले रबरको कन्भेयर बेल्ट र तैरिने भागसहितको संरचना जडान हुनेछन् ।

  • पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

    पसिनाका गन्धमा सफलता खोज्ने तिवारी

    रासस
    पथरी (मोरङ), ६ पुस । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका साथ आठ वर्ष अगाडि उहाँले एउटा कुखुराको फार्म खोलेका थिए । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा अहिले १५ होलिस्टेन गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।

    विदेशलाई त्यागेर नेपालमै कृषि पेसा अगालेका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँगै साटेका छन् । आफ्नो पसिनाको गन्धमा सफलता खोज्न तिवारीले सुरुसुरुमा धेरै समस्या भोग्नुपरेको थियो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्ने तिवारी गाउँमा परिवारका साथ हासीखुसी जीवन बिताइरहेका छन् । कुखुरासँगै गाईपालनमा लागेका किसान युवराज तिवारीले अहिले गाउँमै सफलता हासिल गरेका छन् । गाउँमै केही गर्ने उद्देश्य साथ पशुपालनमा लागेका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ ।

    बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारमा देखिने तिवारी गाई र बाछाको पहिलो आवाजमै ओछ्यान छोड्नुपर्ने बताउँछन् । बिहान ३ः०० बजे गाईको गोठमा पसेका तिवारी ५ः०० बजे दूधको क्यानसँगै पथरी बजारमा भेटिन्छन् । गोठमा नौवटा दुहुना, दुईवटा ब्याउनेसहित १५ वटा गाई छन् । गोठ नजिकैको फार्ममा एक हजार ५०० बढी ब्रोइलर कुखुरा छन् । गोठमा भएका गाईले दैनिक ७० लिटरभन्दा बढी दूध दिन्छ । तिवारी दूध बिक्रीका लागि बिहान ५ः०० र बेलुका ४ः०० बजे पथरी बजारमा पुग्ने गर्नुहुन्छ ।

    युवराज तिवारीले आठ वर्षअघि देखेको एउटा सानो सपना पूरा हुदै गएको छ । ब्रोइलरबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि रु तीन लाख खर्च गरेर गाईको गोठ बनाए । सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त ठूलो अनुभव तर आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ सोच बोक्नुभएका युवराजका यात्रा कहिल्यै थाकेनन् ।

    श्रीमती र दुई छोरीको साथ पाएका उनले गाउँमै सफलता हासिल गर्दै आउनुभएको छ । श्रीमती चन्द्रकला बिहान श्रीमान्सँगै दूध दुहुन, खोले पकाउन, कुटी काट्न गोठमा लाग्छन् । बिबीएस अध्यानरत दुई छोरी कुखुराको स्याहार र दानापानी तिर लाग्छन् । पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनमा खुसी छन् । बाबुआमाको मेहेनतका कारण आज हामीले उच्च शिक्षा हासिर गर्न सकेको बताउँछन् ।

    तिवारी बिहानको झिस्मिसेमा गोठमा हुँदा गाउँले निद्रामा हुन्छन् । प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजलाई क्यानमा भरिएको दूधले नयाँ ऊर्जा दिन्छ । तिवारी मुस्कुराउँदै भन्छन्, “दूध बेच्ने बेला सुत्न पाइन्नँ, बेलुका पनि बजार पुग्नैपर्छ, तर थकित भएका बेला ग्राहकले दिने प्रतिक्रियाले थप काम गर्न ऊर्जा मिल्छ”, कृषिमा सफलता पाउँदै गर्नुभएका तिवारीबाट धेरै किसानलाई ऊर्जा मिलेको छ । पहिलापहिला दुई–तीन सय कुखुरा हुर्काउन गार्हो हुने तिवारीका फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिलापहिला यसले के गरेको भन्ने गाउँलेहरू आजभोलि उहाँको प्रगतिको तारिफ गर्दै केही सिक्न आउने गरेका छन् ।

    सरकारी अनुदानको आशा नराखेका तिवारीलाई यतिबेला भने समस्या थपिँदै गएको छ । समयको बचत र कामको भार कम गर्न भए पनि दूध दुहुने मेसिन आवश्यक परेको बताउनुहुन्छ । नगर र वडाबाट अनुदान पाए केही सहज हुने आशा तिवारीले राखेका छन् । वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी ज्ञान, गोठ सफा गर्ने तरिका, आधुनिक गोठ निर्माण र सामान्य पशु उपचारको तालिम पाए सहज हुने तिवारी बताउँछन् ।

  • दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

    दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

    रासस
    कञ्चनपुर, ६ पुस । जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकाससँगै सुगम बन्दै गएको छ । वर्षायाममा हिलोले हिँडिनसक्नु हुने र हिउँदमा सुक्खा धुलोले जनजीवन कष्टकर बनाउने यहाँका सडकको नियति अब इतिहासको पानामा सीमित हुनपुगेको छ ।

    पछिल्ला केही वर्षमा लालझाडीले सडक पूर्वाधारमा मारेको फड्कोले स्थानीय बासिन्दाको जीवनस्तरमात्र होइन, समग्र गाउँको आर्थिक र सामाजिक मुहारमै परिवर्तन ल्याएको छ । लालझाडीको कञ्जका स्थानीय बासिन्दा बलराम राना पुराना दिन सम्झिँदै भन्छन्, “वर्षात सुरु हुनेबित्तिकै बाहिरी संसारबाट काटिन्थ्यौँ, सडकमा गोडासम्म डुब्ने हिलो हुन्थ्यो, कोही बिरामी परेमा अस्पताल लैजानका लागि एम्बुलेन्स आउने त टाढाको कुरा, मान्छेले बोकेर लैजान पनि बाटो भेटिँदैनथ्यो ।”

    हिउँदमा पनि कच्ची सडकमा सवारीसाधन गुड्दा उड्ने धुलोले सडक छेउका घर र खेतीपाती पूरै छोपिन्थे, जसका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या आमजस्तै थियो । खोलामा पुल नहुँदा काठको डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्नु यहाँका बासिन्दाको बाध्यता थियो । तर, गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीय रामप्रसाद राना बताउँछन् । “पहिले नदीमा झोलुङ्गे पुल बन्यो, त्यसले डुङ्गा तर्ने दिनको अन्त्य ग¥यो”, उन्छन्, “त्यसपछि दोदा नदीको बल्मी नजिकै पक्की पुल बनेपछि आवतजावतमा थप सहजता आएको छ, पहिले र आजको लालझाडीको तस्बिर पूरै फेरिएको छ ।”

    स्थानीय महेश्वरी राना आफ्नै घरअगाडि कालोपत्र सडक देख्दा चकित हुनुहुन्छ । “हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ कि हाम्रै घरअगाडि यति चिल्लो बाटो बन्ला”, उनले “सङ्घीयता र स्थानीय सरकार आएपछि जनप्रतिनिधिले सडकलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज यो सम्भव भएको हो ।” अहिले लालझाडीका मुख्य प्रशासनिक केन्द्रदेखि भित्री बस्तीसम्म कालोपत्र सडकको सञ्जाल फैलिँदैछ । धुलो र हिलोको सास्ती खेप्ने ती दिनहरू अब सम्झनामा मात्र बाँकी रहेको अर्का स्थानीय रामप्यारा चौधरी बताउँछन् ।


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीका अनुसार गाउँपालिकाले योजनाबद्ध रूपमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाउँदै आएको छ । हालसम्म २७.५ किलोमिटर सडक कालोपत्र गरिसकिएको उनले जानकारी दिए । गाउँपालिका, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारको त्रिपक्षीय सहकार्यमा चानदेव–बल्मी सडक, वडा नं २ को चक्रपथ र वडा नं १ को रणनीतिक महत्वको सडक कालोपत्र गरिएको छ । अधिकृत सार्कीका अनुसार गाउँपालिका अध्यक्ष विशेष पूर्वाधार कार्यक्रममार्फत छवटै वडाका सडक स्तरोन्नति तथा कालोपत्रको कार्य भइरहेको छ ।

    गाउँपालिकाले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया सुरु गरेको छ । “चालु आर्थिक वर्षमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १३.६ किलोमिटर, एडिबीको पीएलआर कार्यक्रमअन्तर्गत १३.५ किलोमिटर र पाँच किलोमिटर चक्रपथ कालोपत्र गर्दैछौँ”, सार्कीले भने । उनका अनुसार कञ्चनपुरमै सबैभन्दा पहिला नगर अस्पताल निर्माण गर्ने पालिका पनि लालझाडी नै बनेको छ, जुन अब सञ्चालनको तयारीमा छ ।

    पूर्वाधार विकासअन्तर्गत दोदा नदीमा नन्द गाउँ–बल्मी र लालझाडी–भकुण्डा जोड्ने पक्की पुल सञ्चालनमा आइसकेका छन् । यसैगरी जाइँ–देखतभूली र देखतभूली–दुबहा सिकलपट्टी जोड्ने पुल निर्माणको अन्तिम चरणमा छन् । यी पुलले वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य गरिदिएका छन् ।

    सडक र पुलको निर्माणले किसानलाई पनि ठूलो राहत दिएको छ । सडक बनेपछि किसानले आफ्नो उत्पादन (विशेषगरी उखु र तरकारी) खेतबाटै सिधै चिनी मिल वा बजारसम्म लैजान पाएका छन्, जसले गर्दा बिचौलियाको चलखेल घटेको छ । सडक सुविधा पुगेपछि एम्बुलेन्स र दमकलजस्ता आपत्कालीन सवारीसाधन गाउँका कुनाकुनासम्म पुग्न थालेका छन् । सडक छेउछाउमा नयाँ पसल, बजार र साना उद्योग खुल्ने क्रम बढेसँगै स्थानीय युवा गाउँमै स्वरोजगार बन्न थालेका छन् ।

  • कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

    कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

    म्याग्दी, ६ पुस : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो । शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो ।

    जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए । “प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो”, उनले भने, “स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छाँै ।”

    लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ । कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ ।

    सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताउनुभयो । यो खण्डको धेरै दूरी अन्नपूर्ण गाउँपालिका–३ को भूगोलमा पर्छ । मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ ।

    सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताए । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो ९तातोपानी–घाँसा० र तेस्रो घाँसा कैह्कुखोला–खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो । सोह्र किलोमिटर दूरीको कैह्कुखोला–खन्ती खण्डको दुई वर्षअघि नै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो ।

    भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडक योजनाअन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सकिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले रु १० अर्ब ५७ करोड रहेका आयोजनामा ८२ प्रतिशत अथवा रु आठ अर्ब २० करोड खर्च भइसकेको बताए ।

  • कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

    कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

    कर्णाली, ६ पुस : कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र मुलुकलाई विश्वसामु चिनाउन हैसियत राख्छन् भन्ने बुझाउन तथा उनीहरूलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।


    अध्यक्ष शाहीले भने, “करिब एक हप्ताको अवधिमा हामी महिला र पुरुष बास्केटबल प्रतियोगिता गर्नेछौँ । यसमा सातै प्रदेश र विभागीय टोलीको सहभागिता हुनेछ । त्यस्तै ह्वीलचियर क्रिकेट, ह्वीलचियर महिला र पुरुष पाँच किलोमिटर दौड तथा ह्वीलचियर नृत्य प्रतियोगिता गरिनेछ ।” यसमा दुई सय ह्वीलचियर प्रयोगकर्ता खेलाडीको सहभागिता हुने उनले बताए ।


    खासगरी अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोण बदल्न, राज्यको ध्यानाकर्षण गर्न, क्षमता अभिवृद्धि गर्न, समावेशी खेलकुदको प्रवर्द्धन तथा अपाङ्गता खेलाडी चिनाउन, राष्ट्रिय खेलकुदजस्तै पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि कर्णालीमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश विश्वभर फैलाउन प्रतियोगिता गर्न लागिएको अध्यक्ष शाहीले बताउए ।

    आयोजकका अनुसार ह्वीलचियर बास्केटबल प्रतियोगिता वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशाला र क्रिकेट प्रतियोगिता कालिञ्चोकको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । त्यस्तै, ह्वीलचियर दौड प्रतियोगिता वीरेन्द्रनगरको एयरपोर्टदेखि बाङ्गेसिमलसम्मको पाँच किलोमिटर दूरीमा सञ्चालन हुनेछ । प्रदेश सरकारले अपाङ्गतासम्बन्धी स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष शाहीले उक्त प्रतियोगितालाई पर्यटनसँग जोड्न प्रयास गरिने उनको भनाइ छ।

  • निर्वाचन ७४ दिन बाँकी : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

    निर्वाचन ७४ दिन बाँकी : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

    काठमाडौँ, ६ पुस : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।

    अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।

    निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यात्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिनेछ । सवारीसाधन नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ ।

    विदेशी नम्बर प्लेटका सवारीसाधन भने प्रयोग गर्न नपाइने र कुनै पनि अनुमति नदिइने प्रस्तावित आचारसंहितामा उल्लेख छ । राजनीतिक दलले प्रक्रिया पूरा गरी सोहीबमोजिमको सङ्ख्या र प्रकारका सवारीसाधन प्रयोग गर्न सक्नेछन् । सवारीसाधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन बर्जित गरिएको छ । अनुमति प्राप्त गरेको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पाउने छैनन् ।

    प्रस्तावित आचारसंहिताअनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाउने छैनन् । हिँड्डुल गर्न नस्क्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरीयापुत्री, शारीरिक रूपले असक्तता वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको खण्डमा भने सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने उल्लेख छ ।

    राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

    रावलपिन्डी (पाकिस्तान), ६ पुस (रासस–एएनआई) । संघीय अनुसन्धान एजेन्सी ९एफआईए० को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ ।

    रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको बताइएको छ । इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुव्र्यवहार) अन्तर्गत सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ । उनकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ ।

    यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मनगढन्त र राजनीतिक प्रतिशोध भएको बताएका थिए । डनका अनुसार, पिटिआई संस्थापकले नीति अनुसार उचित प्रक्रियाको पालना गरेको र प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको, मूल्याङ्कन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानुनी रूपमा राखिएको बताए ।

  • सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

    सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र, ७० भन्दा बढी लक्ष्यमा आक्रमण

    वासिङ्टन, ६ पुस (रासस–एएफपी) । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताए । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो । वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाम्यारा युनेस्को सूचीमा सूचीकृत प्राचीन भग्नावशेषको लागि प्रसिद्ध छ र पहिले जिहादी लडाकूहरूको नियन्त्रणमा रहेको थियो । उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

    यसको जवाफमा, अमेरिकी सेनाले ‘सिरियाका विभिन्न स्थानमा युद्धपोत, आक्रमण हेलिकोप्टर र तोपखानाको प्रयोग गरी ७० भन्दा बढी लक्ष्यमा हमला गरेको’ सेन्ट्रल कमाण्डले जनाएको छ । सेन्ट्रल कमाण्डका अनुसार, ‘सञ्चालनमा सयभन्दा बढी सटीक हतियार प्रयोग गरेर आतङ्कवादी पूर्वाधार र हतियार भण्डारमा लक्षित गरिएको’ थियो । राष्ट्रपतिले आफ्नै सामाजिक सञ्जालमा लेखे, “अमेरिका जिम्मेवार आतङ्ककारीहरूमा गम्भीर प्रतिशोध गरिरहेको छ ।”

    सेन्ट्रल कमाण्डले पाम्यारा आक्रमणपछि अमेरिकी र साझेदार सेनाले सिरिया र इराकमा १० वटा अभियान सञ्चालन गरेका छन्, जसमा २३ आतङ्ककारी मारिएका वा पक्राउ परेका छन् । सिरियाको विदेश मन्त्रालयले शुक्रबारको आक्रमणमा सिधा टिप्पणी नगरे पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ,“देश आतङ्कवादी समूहसँग लड्न प्रतिबद्ध छ र ‘सिरियामा कुनै सुरक्षित ठाँउ नहोस् भनेर अभियान जारी राख्नेछ ।”

    पाम्यारा आक्रमणमा मारिएका अमेरिकीहरू आइओवा राज्यको राष्ट्रिय गार्डका सर्जन्ट विलियम होवार्ड र एडगर टोरेस टोवार र मिशिगनका नागरिक अयाद मन्सूर साकात हुन् । उहाँ अनुवादकको रूपमा कार्यरत थिए । यो आक्रमण लामो समयदेखि सत्तामा रहेका बशर अल–असदको पदच्युत पछि पहिलो घटना हो । गृह मन्त्रालयका प्रवक्ता नुरुद्दिन अल–बाबा अनुसार, आक्रमण गर्ने व्यक्ति सुरक्षा बलको सदस्य थियो र आफ्नो चरम इस्लामवादी विचारका कारण हटाइने तयारीमा थियो ।

    आईएससँग लड्न अमेरिकी सेनाका कर्मचारीहरूले ‘आतङ्कवादी विरोध अभियान’ मा सहयोग गरिरहेका थिए । सन् २०१४ मा आईएसले सिरिया र इराकमा ठूलो भू–भाग कब्जा गरेको थियो । जिहादीहरू अन्ततः स्थानीय भूमि सेनाले अन्तर्राष्ट्रिय हवाई आक्रमणको सहयोगमा पराजित भए पनि आईएस अझै सिरियामा सक्रिय छ । हाल अमेरिकी सेनाहरू सिरियाको कुर्द नियन्त्रण क्षेत्रमा र जॉर्डन सिमानामा रहेका अल–तान्फमा तैनाथ छन् ।

  • भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

    भारतमा हात्तीको बथानसँग रेल ठोक्कियो, सात हात्तीको मृत्यु

    नयाँदिल्ली, ५पुस (रासस–एएफपी) । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको छ । वरिष्ठ असम पुलिस अधिकारी राकेश रेड्डीलाई उदृत गर्दै एएफपीले सात वटा हात्तीहरुको घटना स्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ ।

    मिजोराम राज्यबाट नयाँ दिल्लीतर्फ गइ रहेको उक्त रेलको पाँचवटा डिब्बा दुर्घटना हुँदा लिगबाट खसेको बताइएको छ । अधिकारीहरूले तोकिएको हात्ती कोरिडोरहरूमा गति नियन्त्रण प्रणाली लागू गरेको भए पनि पछिल्लो दुर्घटना यी क्षेत्रहरू बाहिर भएको भारतीय रेलवेका प्रवक्ता कपिन्जाल किशोर शर्माले बताए ।

    रेल चालकले हात्तीको झुण्ड देखेर आपतकालीन ब्रेक लगाए ता पनि हात्तीहरु रेलमा आएर ठोक्कीदा दुर्घटना भएको उनले बताए । वन विनाश र तिनीहरूको बासस्थान नजिकको निर्माण गतिविधिले हात्तीहरूलाई खानाका लागि टाढा– टाढा जान बाध्य पारी मानिसहरूसँगको द्वन्द्वमा आएको जनाइएको छ । संसदीय तथ्याङ्क अनुसार सन् २०२३– २०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो ।

  • मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

    मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

    ढाका, ५ पुस (रासस–एएफपी) । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिबार दशौं हजार शोकाकुल व्यक्तिहरू उनको अन्त्येष्टिका लागि भेला भएका छन्। गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर मृत्यु भएको थियो भने शनिबार अन्त्येष्टिको कार्यक्रम तय भएको थियो ।

    अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ गरिएको थियो । शुक्रबार राजधानी ल्याइएको हादीको शवलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदमा गाडिएको छ । अन्त्येष्टि कार्यक्रममा अन्तरिम नेता मुहम्मद युनुसले भावुक सम्बोधन गर्दै भने, “हामी यहाँ बिदाइ गर्न आएका होइनौँ । तपाईं हाम्रो हृदयमा हुनुहुन्छ र जबसम्म देश रहन्छ तबसम्म तपाईं सबै बङ्गलादेशीहरूको हृदयमा रहनुहुनेछ।”

    गत बर्षको आन्दोलका एक प्रमुख नेता ३२ वर्षीय हादी भारतका कट्टर आलोचक हुन् । उनले आगामी फेब्रुअरीमा हुने आम चुनाव लड्ने तयारी गरेका छन् । प्रार्थनामा सहभागी हुन टाढाबाट आएका एक सरकारी कर्मचारी इकबाल हुसेन साइकोटले हादीले भारतको कडा विरोध गरेकै कारण हत्या गरिएको दावी ग।ृ । साइकोटले एएफपीसँग भने, “उनी आफ्नो सार्वभौम भूमिलाई माया गर्ने लाखौँ बङ्गलादेशी जनतामाझ अमर रहनेछन् ।” हादीको मृत्युले बङ्गलादेशमा व्यापक अशान्ति निम्त्याएको छ भने प्रदर्शनकारीहरूले जिम्मेवारहरूलाई पक्राउ गर्न माग गरिरहेका छन् ।

    बिहीबार अबेर विद्यार्थी नेता हादीको मृत्युपछि आक्रोशित प्रदर्शनकारीहरूले ढाकामा प्रमुख प्रमुख पत्रिकाहरू प्रोथम आलो र डेली स्टारको कार्यालयसहित धेरै भवनहरूमा आगो लगाएका थिए । आलोचकहरूले प्रकाशनहरूले छिमेकी भारतलाई समर्थन गरेको आरोप लगाएका छन् । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को विद्रोहपछि ढाकाबाट भागेर नयाँदिल्लीमा आश्रय लिँदै आउनुभएको ढाकाको दावी छ।

  • साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

    साफ महिला च्याम्पियनसिप : एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

    काठमाडौैँ, ५ पुस । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।

    कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन् । त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् । सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन् ।

    त्यसपछि खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो । इस्ट बङ्गालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । त्यसपछि खेलमा गोल हुनसकेन र अन्तत इस्ट बङ्गालले एपिएफमाथि ३–० को सहज जित निकाल्र्दै प्रतियोगिताको उपाधि जित्यो । गत मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।

  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    भद्रपुर (झापा), ५ पुसः यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टी–स्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।


    दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र हालसम्म नाम, थर तथा वतन नखुलेका अन्दाजी २६ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ ।

  • रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार

    रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार

    ५ पुस, काठमाडौं । कारागारबाट रिहा भएर चितवन हुँदै काठमाडौं आए लगत्तै रास्वपा सभापति रवि लामिछाने भेटघाटमा सक्रिय भएका छन् । उनले जेनजी आन्दोलनका घाइते र शहीदका परिवारलाई भेटेका छन् । उनले शनिबार उपत्यकाका विभिन्न अस्पतालमा उपचारार्थ जेनजी घाइतेसँग भेट गरी अवस्थाबारे जानकारी लिए । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका थिए ।

    सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रहेका लामिछानेलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । सो क्रममा रविले सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको बताए । उनले जेनजी घाइतेहरूलाई आफू साथमा रहेको बताउँदै सपना पूरा गर्न लागिपर्ने पनि बताए ।

    शहीद परिवारसँगको छलफलपछि पत्रकारसँग बोल्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए। सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । उनले जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको बताए । शहीद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।

  • समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

    समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : कुलमान

    चितवन, ५ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा आज उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भने, “कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस् । राजनीतिलाई आफ्नो पेसा नभइ समाज सेवामा लगाउन आवश्यक छ । अबको राजनीति सेवा समर्पित हुनुपर्छ ।”

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा आशुतोष विजय पन्त, रिमा विश्वकर्मा, सीता पाण्डेले पछिल्लो राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई रक्षा गर्दै नयाँ शक्तिका रूपमा आफूहरू आएको बताए । बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला नगर तथा पालिका भेलाको मितिसमेत तय गरेको छ ।

  • निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

    निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

    नारायणगढ (चितवन), ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएका छन् । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताएका हुन् । उनले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरे ।


    सभापति लामिछानेले भने, “निर्वाचनअघि जेनजी आन्दोलनको बलमा बनेको सरकारले उनीहरूका सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस् । रास्वपा जेनजीका माग पूरा गर्न र निर्वाचन सम्पन्न गर्ने हकमा सरकारसँग सधैँ खडा हुनेछ ।” उनले सुशासनका सवालमा सरकार दृढतापूर्वक उभिनुपर्नेमा जोड दिए ।

    सभापति लामिछानेले भने, “मेरो व्यक्तिगत माग केही छैन । जेनजीले जेका लागि बलिदानी दिएका थिए त्यो पूरा गर्न सरकार अडिग रहोस्, त्यसमा हामी साथ दिन्छौँ । सुशासनका भाइ–बहिनीले बगाएको रगत, तिनका परिवारको सपनाबारे सरकारले कुनै कसर बाँकी नराखोस् ।” देश जटिल परिस्थितिमा उभिएकाले सबैले संयमित भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले आवेग वा उत्तेजनामा काम गरेर केही हासिल नहुने धारणा राखे । सभापति लामिछानेले प्रतिशोधपूर्ण राजनीति आफूबाट नहुने र सधैँ लोकतन्त्रमा विश्वास गर्दै जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

  • निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी

    निर्वाचन सार्ने चेष्टा नगर्न सरकारलाई प्रचण्डको चेतावनी

    काठमाडौँ, ५ पुस । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताएका छन् । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए ।

    आज प्रचण्ड सरकारप्रत तुलनात्मक रुपमा आक्रोसित सुनिएका छन् । उनले भने, “घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित नगरोस् ।”

    निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएको जनाउँदै उहाँले संसद् पुनःस्थापनाको हल्ला चिरेर अघि बढ्नुपर्नेमा जोड दिए । “साँच्चै फागुन २१ गते निर्वाचन होला त ? मानिसहरुको मनमा संसद् पुनःस्थापना होला ? कि निर्वाचन होला भन्ने प्रश्न जन्मिरहेको छ”, उनले भने, “निर्वाचन नै सहज बाटो हो, निर्वाचनमार्फत नै मुलुकलाई नयाँ दिशा दिन सकिन्छ ।” उनले संसद् पुनःस्थापनाको बाटो सहज नभएको बताए ।


    संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनको पक्षमा लड्ने, उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकारका लागि योगदान गर्ने नै जेनजी पुस्ताको अभिभावक र प्रतिनिधि भएको बताए । देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उहाँले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।

  • महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    जमुना वर्षा शर्मा–रासस
    पोखरा, ५ पुस । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ ।

    दुई जना मात्र बस्न मिल्ने, हेर्दा सानो र आकाशमा उड्दा रङ्गीचङ्गी पुतली जस्तै देखिने भएकाले यसलाई स्थानीयहरु पुतली जहाज पनि भन्छन् । कुनै समय पर्यटकीय नगरी पोखरामा साहसिक पर्यटकलाई अल्ट्रालाइट अर्थात ‘पुतली जहाज’ ले लोभ्याइरहेको थियो । खुला आकाशमा हावाको वेगसँगै कावा खाँदै ३६० डिग्रीमा प्रकृतिको मनोरम दृश्यवलोकन गर्न पाइने यो साहसिक गतिविधिमा रुची राख्नेहरुको रोजाइमा पर्ने यो जहाजमा अहिले पर्यटकको कमी हुन थालेको छ ।

    शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो भयो, नागरिक उड्डयन प्राधिकरणले ‘टेक अफ’ र ‘ल्याण्डिङ’ को शुल्क बढाएपछि उडान शुल्क महँगो हुन ग¥यो, यसले व्यवसायमा ठूलो मार परेको छ ।”

    केही वर्षअघिसम्म रु आठ हजार पाँच सयमा पर्यटकले आकाशमा उडेर आनन्द लिन पाउँथे भने अहिले यो शुल्क बढेर रु १७ हजार ५०० पुगेको छ । शुल्क दोब्बर हुँदा अल्ट्रालाइट गर्ने पर्यटक सङ्ख्या घटेको उनको भनाइ छ। ‘एड्भेञ्चरको माता’ को उपनाम पाएकी श्रेष्ठ नेपालमा साहसिक हवाई पर्यटनको परिकल्पनाकार मानिन्छन् । ‘एभिया क्लब नेपाल’ ले विसं २०५३ मा प्रबन्ध निर्देशक नताशा श्रेष्ठ र उनका रुसी साझेदारहरुले यसलाई नेपाल भित्र्याएका हुन् ।

    पोखराको भूगोल अल्ट्रालाइटका अनुकूल मानिन्छ । पोखरामा अल्ट्रालाइट दक्षिण एसियामै पहिलो पटक सञ्चालनमा आएको हो । श्रेष्ठले नेपालमा यसको सम्भावना राम्रो रहेको उल्लेख गर्दै यसमार्फत विश्व बजारमा नेपाल चिनाउन र पर्यटन भित्र्याउन सकिने धारणा राखिन् । दक्ष जनशक्ति र राज्यको पर्यटनमैत्री नीतिको अभावले निजी क्षेत्रका व्यवसाय धरासायी हुँदै जानु र नयाँ लगानीमा सम्भावना कम हुँदै जाँदा पर्यटन क्षेत्रलाई असर गरेको उनको भनाइ छ । “सुरुमा पोखरामा यस्तो साहसिक खेल भित्र्याउँदा धेरैलाई अनौठो लागेको थियो, तर आज यो पोखराको पहिचान बनेको छ”, श्रेष्ठ भनिन्, “हामीले पोखराको पर्यटनलाई केवल ताल र गुफामा सीमित नराखी आकाशको उचाइसम्म पु¥याउन सफल भएका छौँ यसको प्रवर्द्धन विस्तार जरुरी छ । ”

    उनका अनुसार सुरुवाती दिनहरूमा अल्ट्रालाइट उडाउन पूर्णरूपमा रुसी पाइलटहरूमा भर पर्नुपर्ने अवस्था थियो । एभिया क्लबले नै अनुभवी रुसी पाइलट ल्याएर यसको उडान सुरु गरेको हो । तर, अहिले नेपाली युवा पाइलटले नै उडान गर्न थालेका छन् । हाल पोखरा एभिया क्लब र पोखरा अल्ट्रालाइट प्रालिले मात्र यो सेवा प्रदान गरेको पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार कुनै समय दिनको ४० उडान गर्दै आएका कम्पनिले अहिले दिनको चार वटा उडानमा सीमित हुनुपर्ने अवस्था आएको छ ।
    पर्यटकलाई आकर्षित गर्ने गतिविधिमा राज्यले पर्यटनमैत्री नीति बनाएर सहजको वातावरण गराउन सके नीति क्षेत्रलाई राहत मिल्ने र पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ । कुनै समय साहासिक गतिविधिमा रुची राख्ने पर्यटकले रुचाएको अल्ट्रालाइट अहिले पर्यटकको अभाव र चर्को शुल्कले सुस्ताउनु दुर्भाग्य भएको उनको बुझाइ छ ।

    केही वर्षअघि विदेशी साथिसँगै अल्ट्रालाइटको उडान भरेका पोखराका रामबजारका विकास गुरुगंले अहिले शुल्क बढी भएको गुनासो गरे । “अहिले शुल्क महँगो भयो, शुल्क घटाउने हो भने आन्तरिक पर्यटक आकर्षित गर्न सकिन्छ”, उनले भने । उनले साहसिक खेलमा प्याराग्लाइडिङ अल्टालाइट आआफ्नै विशेषता रहेको सुनाए । गुरुङले भने, “विदेशी पर्यटकहरू त झन् पोखराको यो उडानलाई विश्वकै उत्कृष्टमध्ये एक मान्छन्, धेरै देशमा उडान भरेका मेरा एक जर्मनी साथिले पोखराको आकाश उडेपछि यहाँको सुन्दरताको निकै तारिफ गरेका थिए ।”

  • नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

    नेपालको जस्तै जेनजी आन्दोलन भोगेको बंगलादेश किन छ अशान्त ?

    सिड्नी, ५ पुस (रासस–सिन्ह्वा) । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूले घरको बाँकी संरचना भत्काउने प्रयास गर्नुका साथै त्यहाँ टाँसिएको पूर्व प्रधानमन्त्री शेख हसिनाको पोस्टरमा आगो लगाउने प्रयास गरेको देखिएको छ ।

    उस्मान हादीको मृत्यु पश्चात् देशभर अशान्ति फैलिँदै गएपछि इन्किलाब मोन्चोले आम नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको एक पोस्टमा सङ्गठनले हिंसा, तोडफोड तथा आगजनी नगर्न स्पष्ट अपिल गरेको छ । पोस्टमा भनिएको छ, “विनाश र आगोको माध्यमबाट केही समूहले बङ्गलादेशलाई एक अप्रभावी राज्य बनाउने लक्ष्य राखिरहेका छन् । उनीहरू हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई कमजोर पार्न खोजिरहेका छन् । तपाईंहरूले बुझ्नै पर्छ—३२ र ३६ एउटै होइन ।”

    उक्त सन्देशमा थप भनिएको छ, “फेब्रुअरीको निर्वाचन नजिकिँदै गर्दा देशमा अशान्ति सिर्जना भएमा वास्तवमा कसलाई फाइदा पुग्छ भन्ने गम्भीरतापूर्वक विचार गर्नुहोस् । बङ्गलादेशमा स्थिरता कायम राख्न सरकारलाई पूर्ण सहयोग गर्नुहोस् र कुनै पनि प्रकारको हिंसाबाट टाढा रहनुहोस् ।” यसैबीच, अङ्ग्रेजी भाषाको प्रतिष्ठित दैनिक द डेली स्टारको कार्यालयमा भएको तोडफोडपछि भवनको छतमा फसेका एक जना पत्रकारले आफ्नो कष्टप्रद अनुभव सार्वजनिक गरेका छन् । उनका अनुसार भीडको एक समूहले प्रथम आलोको कार्यालयमा आक्रमण गरेपछि द डेली स्टारको भवनतर्फ अगाडि बढेको बाहिरबाट आएको फोन कलमार्फत जानकारी प्राप्त भएपछि उनीहरू सतर्क भएका थिए ।

    चेतावनी प्राप्त भएपछि समाचार कक्षमा कार्यरत कर्मचारीहरूले सुरक्षित रूपमा भवन खाली गर्ने प्रयास गरे । तर, त्यतिन्जेलसम्म भीडले भुइँतलासम्म पुगेर व्यापक तोडफोड गरिसकेको थियो र त्यसपछि भवनमा आगो लगाइएको थियो । बाक्लो धुवाँ फैलिँदै गएपछि तल झर्न असम्भव देखेर पत्रकारहरूको समूहले १० औँ तलाको छततर्फ भागेर ज्यान जोगाउनुपरेको थियो ।

    केही समयपछि फायर सर्भिसका कर्मचारीहरू घटनास्थलमा पुगे र तल्लो तलामा लागेको आगो नियन्त्रणमा लिन सफल भए । उद्धार कार्यका क्रममा चार जना अग्नि नियन्त्रकहरू छतमा पुगेर त्यहाँ फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको बताइएको छ । घटनापछि उत्पन्न असुरक्षा र क्षतिको अवस्थाका कारण शुक्रबार प्रथम आलो र द डेली स्टार दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ ।

  • जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ

    जेनजी सुशासन सहिदकी आमा : कान्छो सन्तानको निधनले मन आतिएको छ

    नारायण न्यौपाने–रासस
    काठमाडौँ, ५ पुस । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो । नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्न्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्‍याउने कार्यमा उमेश सशक्त रूपमा खटिइ राति अबेर घर फर्कनुभयो ।

    बानेश्वरमा प्रहरीले कति साथीहरूलाई छाती र टाउकोमा गोली हानेर ढाल्यो, धेरै घाइते भएका छन्, त्यसमध्ये केहीलाई आफैँले बोकेर अस्पताल पुर्‍याएँ भनी सोही दिन उमेशले दिदी सुमित्रालाई सुनाउनुभयो । ठूलो सङ्ख्यामा युवालाई गोली लागेको र हताहती भएपछि सरकारप्रति आक्रोशित भीड भोलिपल्ट सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न पुग्यो ।

    सोही सिलसिलामा उत्तेजित भीडले गौशालास्थित गाई फर्ममा आगजनीको प्रयास गरेकामा त्यसलाई रोक्न चिच्याउँदै अघि बढिरहेका बेला उमेशको दायाँ छातीमा गोली लाग्यो । उहाँ त्यही ढल्नु भएको थियो । साथीहरूले उठाएर बानेश्वरस्थित फण्ट लाइन अस्पताल पुर्‍याए । शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा पुर्‍याउँदा नपुर्‍याउँदै उमेशको निधन भयो ।

    उमेशलाई गोली लागेको सूचना महत परिवारले दिउँसो करिब २ः३० बजे उमेशकै मिल्ने साथी सुवास खत्रीले सुनाउनु भएको थियो । सुवासका पिता सुवर्णले उमेशलाई विदेश नजाउञ्जेल स्नुकर खेलाउने रोजगारी उपलब्ध गराउनुभएको थियो । त्यसबापत उमेशले मासिक रु १० हजार तलब प्राप्त गर्नुहुन्थ्यो ।

    घरको आर्थिक अवस्था कमजोर रहेकाले उमेशका बाआमा सिन्धुपाल्चोकबाट १९ वर्षअघि काठमाडौँ आएर चाबहिलमा तरकारी र सागसब्जी बेच्नुहुन्थ्यो । त्यही सागसब्जी बेचेर महत दम्पतीले घरपरिवारको गुजारा चलाउने र छोराछोरीलाई शिक्षादीक्षा दिलाउनुभएको थियो ।

    श्यामबहादुर महत र कालीमाया महतका चार सन्तानमध्ये एक छोरा र एक छोरीपछि विसं २०६२ असोज ११ गते उमेशको जन्म भएको थियो । सानो उमेरमै उमेशलाई पत्थरीसहित मिर्गौलाको समस्या भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो । बिरामीकै बीचमा उमेशले विद्यालय कपनको एक विद्यालय र उच्च माध्यमिक विद्यालयको शिक्षा चुच्चेपाटीस्थित लुम्बिनी कलेजबाट पूरा गर्नुभयो । लामो उपचार र स्वास्थ्य ठीक भएपछि पछिल्लो समय उहाँ वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने तयारी हुनुहुन्थ्यो । दिदी सुमित्राका अनुसार जुन दिन उमेशलाई गोली लाग्यो, त्यही दिन वैदेशिक रोजगारीमा जान भिसा लागेको खबर आयो ।

    दिदी सुमित्रा भन्नुहुन्छ, “आमाबाले साँझ बिहान तरकारी बेचेर दुःख गरेर हामीलाई पढाउने, बढाउने र काम गर्नुभयो ।” परिवारमा भने चञ्चले र हासमुखी स्वभावको परिचय बनाउनुभएका उमेश सानैदेखि खेलकुदमा फुटबल प्रेमी तथा खानपिनमा मःम र कफीको पारखी हुनुहुन्थ्यो । त्यसका लागि दिदीसँग खर्च मागी रहनुहुन्थ्यो । केही वर्षअघि फुटबल खेल्दा उहाँको हातसमेत भाँचिएको थियो ।

    छिमेकी मिल्ने अग्रज दाजु सुवास खत्रीका अनुसार उमेश साथीभाइका बीचमा सबैसँग बोल्ने, छिटो घुलमिल हुने, कसैलाई नबिझाउने र चित्त नदुखाउने युवा हुनुहुन्थ्यो । उमेशलाई सम्झँदै सुवास भन्नुहुन्छ, “साथीभाइको बीचमा उसले सबैको माया र सद्भाव पाएको थियो । पढाइमा मध्यम श्रेणीको ऊ निकै हासिलो र व्यवहारिक थियो ।”

    भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, राजनीतिमा युवाको पुस्तान्तरण र निष्क्रिय तुल्याइएको फेसबुकसहितका सामाजिक सञ्चाललको सञ्चालनको माग राखेर नयाँबानेश्वर केन्द्रित आन्दोलनका क्रममा भदौ २३ गते ठूलो सङ्ख्यामा युवाको हताहती भयो । धेरै घाइते भए ।

    जेनजी आन्दोलनका क्रममा मुलुकभर भएका आगजनी, तोडफोडसहितका हिंसात्मक घटनामा ७६ जनाको ज्यान गयो भने रु ८४ अर्बभन्दा बढी सरकारी र निजी सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । त्यसआन्दोलनका क्रममा प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनलगायतका देशका महत्त्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति भयो ।

    गत भदौ २४ गते कान्छो छोरा उमेश गुमाउनुपरेको दिनको स्मरण गर्दै आमा कालीमाया महत भन्नुहुन्छ, “म १०ः०० बजेतिर काममा निस्किए, ऊ सुतिरहेको थियो । केही छिनपछि उठेर सिक्न आएकालाई स्नुकर खेलाएछ । आन्दोलनमा जाने कुरा गरेपछि खत्री दाइले नजा भन्नुभएछ । ऊ आन्दोलनमा गएको कुरा गोली लागेको खबर सुनेपछि मात्रै थाहा पाएँ ।”

    कान्छोको पढाइलेखाइ राम्रो र चलाख भएकाले छिमेकी साथी सुवासको बाले स्नुकर खेलाउने रोजगारी दिएर मासिक रु १० हजार दिँदै आउनुभएको उमेशकी आमाको भनाइ छ । छोरा उमेशको निधनपछि पुरानो थातथलो सिन्धुपाल्चोक फर्केर भूकम्पको अनुदानबाट निर्माण गरिएको सानो भवनमा बस्दै आउनुभएको छ ।

    पुरानो थातथलो भए पनि नयाँ श्रृष्टि गर्नुपरेकाले दैनिक गुजारा चलाउनसमेत उहाँहरूले सङ्घर्ष गर्नुपरेको छ । दैनिक ज्यालादारी र बेसाह खोजेर घर चलाउनुभएको छ । नेपाली पुरानो मान्यताअनुरूप घरका मानिस गुमाएको एक वर्षसम्म मूलघरमै बस्नुपर्छ–छोड्न मिल्दैन भन्ने भएपछि उहाँहरू पुरानो घर फर्कनुभएको हो ।

    सहिद घोषणा गरेपछि राज्यले उपलब्ध गराउने रकम रु १५ लाख भने प्राप्त गरिसक्नुभएको छ । जेनजी पुस्ताको आन्दोलनका बलमा वर्तमान सरकार गठन भएको आजै मात्र १०० दिन पुगेको छ ।

    यसबीचमा जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्दै जाने सिलसिलामा जेनजी र सरकारबीच १० बुँदे सहमति भएको छ । त्यसमा सरकारले निर्धारित समयमा चुनाव गराउने, वित्तीय अनुशासन र सुशासनका लागि ठोस कदम चाल्ने तथा ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने विषय उल्लेख छ ।

    सुशासन सहिद उमेशकी आमा रुँदै भन्नुहुन्छ, “कान्छो निधनपछि मन आतिएको छ, शरीर छटपटिन्छ, सरकारले आफैँले बुझेर के गर्दा जनता र देशको भलो हुन्छ, त्यो गरोस् कसैलाई केही भन्न र गर्न सक्दिन ।” राजनीतिक दल, सरकारले आफैँले जानेर गर्नुपर्ने काम गर्न फेरि पनि युवाले दबाब दिनुपर्ने र ज्यान गुमाउन पर्ने अवस्था सदाका लागि अन्त्य होस् भन्ने उहाँको सरकारलाई सुझाव छ ।

    सहरका अरु युवापुस्ताझैँ खानपिनमा मःम र पिज्जा मनपराउने उमेशलाई अनेक दुःख गरेर भए पनि आमाबाले त्यो पुर्‍याउनुभएको थियो । उमेशकी आमा भन्नुहुन्छ, “छोरालाई बिरामी हुँदा सानोमा धेरै दुःख गरेँ विभिन्न रोगबाट बचाएँ, अहिले आन्दोलनको गोलीबाट बचाउन सकिन ।”

  • बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन सार्वजनिकपछि उत्साहित ‘रूपाकोट मझुवागढी’

    बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन सार्वजनिकपछि उत्साहित ‘रूपाकोट मझुवागढी’

    केदार मगर–रासस

    खोटाङ, ५ पुस । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणवद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन सार्वजनिक गरेपछि उत्साहित यहाँका जनप्रतिनिधिले त्यसलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गरेका छन् ।

    सार्वजनिक मार्गदर्शनमा बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । मार्गदर्शनमा बाँसको प्रयोगद्वारा भूकम्पप्रतिरोधी, वातावरणमैत्री र लागत किफायती भौतिक संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढङ्गको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित विभिन्न प्रकारका घरहरूको नमूना डिजाइनहरूसमेत समावेश गरिएको छ ।

    बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग लिएर चरणबद्ध आन्दोलनमा उत्रनुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले मार्गदर्शन सार्वजनिक भएसँगै आफूले यसलाई चाँडै कार्यान्वयनमा लैजाने बताए । “हामीले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँससम्बन्धी उद्योग प्रवर्द्धनको काम गर्दै आएका छौँ । यसमा सङ्घीय सरकारले समेत प्राथमिकताका मार्गदर्शन सार्वजनिक गरेको छ”, उनले भने, “यो हाम्रा लागि ठूलो उपलब्धि हो । यसलाई तत्काल कार्यान्वयनको चरणमा लैजानुपर्छ ।”

    बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न नगरप्रमुख भट्टराई गत साउन–१४ गते काठमाडौँ गएर माइतीघरमण्डलामा सत्याग्रह बस्नुभएको थियो । उहाँ सत्याग्रह बसेको चार महिनापछि बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको हो ।

    सार्वजनिक मार्गदर्शनले देशभर बाँस उद्योग स्थापना गर्न, वातावरणमैत्री भवन निर्माण गर्न तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि ऐतिहासिक कदम भएको नगर उपप्रमुख विशन राईले प्रतिक्रिया दिए । “सरकारको यो निर्णयले खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने बाटो खुलेको छ । यो देशभरका स्थानीय तह तथा उद्यमीका लागि खुसीको कुरा हो”, उनले भने, “हाम्रो नगरपालिकामा १३ किसिमका बाँस पाइन्छन् । सरकारले नीतिगत रूपमै मार्गदर्शन सार्वजनिक गरेसँगै बाँससम्बन्धी काम गरिरहेका निकायहरूसँगको सहकार्यमा प्रवर्द्धनको काम सुरु गर्छौं ।”

    मार्गदर्शन सार्वजनिक गर्दै मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामग्रीको रूपमा रहेको बाँसलाई निर्माण सामग्रीको रूपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताए र उनले निर्माण सामग्रीको रूपमा बाँसलाई प्रयोग गर्न सकेमा स्थानीय युवाका लागि रोजगारी सिर्जना भएर ग्रामीण अर्थतन्त्रसमेत मजबुत हुनसक्ने तथा आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
    नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन–१५ गतेदेखि तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रूपमा मनाउने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्नेलगायतका निर्णयहरू समेटेर खोटाङ घोषणापत्र पारित गरेको छ ।

    खोटाङ घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायतका विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडलाई आधार मानेर घोषणापत्र जारी गरिएको हो ।

  • राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

    राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

    काठमाडौँ, ५ पुस । नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गरी आफूले लिन चाहेको मुद्दती निक्षेप बराबरको रकम र ब्याजदरसमेत प्रस्ताव गरी यही पुस ७ गतेभित्र आवेदन दिन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

    सूचनाअनुसार, क वर्गका वाणिज्य बैङ्कमा रु ९६ करोड, ख वर्गका विकास बैङ्कमा रु १८ करोड र ग वर्गका वित्त कम्पनीमा रु छ करोड बराबरको रकम लगानी गर्न लागेको हो । बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कूल पूँजीकोष कायम रहेको, कूल कर्जा सापटीको आठ प्रतिशत र खुद् निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।

  • निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

    निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

    काठमाडौँ, ५ पु्सः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए ।

    यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो ।

    मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरावलोकनका लागि सूचनामार्फत जानकारी गराएको थियो ।

    पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए दावी विरोध गर्न आग्रह गरेको थियो । एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले उल्लेख गरेको थियो ।

    यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रकार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।


    नेपाल सरकारले २०७८को जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची १ लाई संशोधन गर्न सिफारिस गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ अनुसार समावेशी समूहको प्रतिशत उल्लेख छ ।

    प्रतिनिधिसभा सदस्यअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८को जनसङ्ख्याका आधारमा समावेशी आधार प्रतिशतका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

  • आन्दोलनको पहिलो ‘टार्गेट’ निजी क्षेत्र पर्नु दुःखद् : अध्यक्ष ढकाल

    आन्दोलनको पहिलो ‘टार्गेट’ निजी क्षेत्र पर्नु दुःखद् : अध्यक्ष ढकाल

    त्रिवेणी (नवलपरासी), ४ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रकाश ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र पहिलो ‘टार्गेट’मा पर्नु दुःखद् भएको बताएका छन् । नवलपुर उद्योग वाणिज्य सङ्घको एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले हरेक समयमा हुने गरेका आन्दोलनका क्रममा निजी क्षेत्र पहिलो टार्गेटमा पर्ने गरेको भन्दै यो दुःखद् भएको बताए ।

    आन्दोलनका क्रममा निजी क्षेत्रका संरचना लुटपाट, तोडफोडका घटनाले उद्योगी व्यवसायीको आत्मविश्वास कमजोर पार्ने हुँदा यो सोचनीय विषय बनेको अध्यक्ष ढकालले बताए । गत भदौको आन्दोलनमा निजी क्षेत्रका हरेक प्रतिष्ठानमा लुटपाट र आगजनी तथा तोडफोडका घटना भएको भन्दै यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउनुपर्ने अध्यक्ष ढकालले बताए ।

    अध्यक्ष ढकालले नेपालको पुँजी परिचालन गरी ठूला आयोजना देशभित्र सञ्चालन गर्न सकिने बताए । नेपालका केही हुँदै हुँदैन भन्ने भाष्यलाई चिर्नका लागि आफूहरूले नेपालकै पुँजी परिचालन गरी सबै क्षेत्रका व्यवसायीलाई समेटी रु १० अर्बको लगानीमा कम्पनी स्थापना गरेको बताए ।

  • नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै

    नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै

    कीर्तिपुर (काठमाडौँ), ४ पुसः नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही पुस १० गते दशरथ रङ्गशालामा हुने समारोहमा नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । त्रिवि उपकुलपति प्रा डा दीपक अर्यालले नोबेल पुरस्कार विजेताको सहभागिताले विश्वविद्यालयको अन्तरराष्ट्रिय गरिमा बढ्ने बताए ।


    सम्मेलनमा यसपटकको दीक्षान्त समारोहमा कुल १६ हजार ३०० भन्दा बढी विद्यार्थी र तिनका अभिभावकसहित ४१ हजार सहभागी हुनेछन् । विश्वविद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । यसमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए ।

    दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले गर्नुहुने जानकारी पनि कार्यक्रममा दिइयो । त्यसैगरी शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन दीक्षान्त समारोहको विशेष अतिथिका रूपमा र ५२ जना त्रिवि सभासदहरु दीक्षान्त पोशाक (गाउन)सहित उपस्थित हुनेछन् । कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउनेछन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१ व्यवस्थापनका ४३ हजार ६१०, कानुन संकाय दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका थिए ।

  • भरतपुरको सिटी हल निर्माणमा ढिलाई, मन्त्री कुलमानले गरे स्थलगत अनुगमन

    भरतपुरको सिटी हल निर्माणमा ढिलाई, मन्त्री कुलमानले गरे स्थलगत अनुगमन

    ४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले भरतपुर चितवन स्थित निर्माणाधिन भरतपुर सिटीहलको शुक्रबार साँझ निरीक्षण गरेका छन् । २०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटीहल निर्माण कार्य सुस्त भएको पाईए पछि निर्माणाधिन हलको निरीक्षण गरेका हुन् । हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटीहलको रुफ (छाना)को डिजाईनमा समस्या आएका कारण निर्माण कार्य करिब डेढ बर्ष अवरुद्ध भएको थियो ।

    हाल रुफ (छाना)को संसोधित डिजाईन स्वीकृत भईसकेपछि निर्माण कार्य सुचारु भएको छ । निर्माण कार्यको समयावधि संसोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ । निर्माण सम्झौता रु। ८७ करोड ८८ लाख रहेको सिटीहलमा २००० जना क्षमताको मुख्यहल र ३०० क्षमताको सहायक हल सहित ७ वटा ब्लक रहनेछन् । मन्त्री घिसिङले मुख्य रुपमा रुफ संरचनाको डिजाईनमा भएको त्रुटिका कारण ढिला भएको पाईएको बताए । उनले सिटी हलको रुफ (छाना) संरचनाको निर्माण संगसंगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिए ।

  • जेनजी आन्दोलनका घाइते पत्रकारलाई सरकारले नगदसहित गर्यो सम्मान

    जेनजी आन्दोलनका घाइते पत्रकारलाई सरकारले नगदसहित गर्यो सम्मान

    काठमाडौँ, ४ पुस । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको रपोर्टिङका क्रममा घाइते पत्रकारलाई सम्मान गरेको हो । मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारलाई सम्मान गरे । कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई रु एक लाख नगद तथा सम्मान, श्याम श्रेष्ठ कान्तिपुर टेलिभिजन, उमेश कार्की नेपाल प्रेस तथा दीपेन्द्र ढुङ्गाना नयाँ पत्रिकालाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो ।

    सो अवसरमा सञ्चारमन्त्री खरेलले देश र जनताको पक्षमा जोखिम उठाएर काम गर्ने पत्रकारको योगदानको उच्च कदर गर्दै राज्यकोतर्फबाट सम्मान गरिएको उल्लेख गरे । उनले विभिन्न आन्दोलनलगायत कार्यक्रममा अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारको सुरक्षाका लागि सरकार, आन्दोलनरत पक्ष वा आयोजक तथा सञ्चारगृह जिम्मेवार र उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याए । मन्त्री खरेलले आन्दोलनका क्रममा गम्भीर घाइते भएका पत्रकारको उपचार खर्च राज्यले बेहोर्ने बताउँदै घाइते पत्रकारलाई निरन्तर सम्पर्कमा रहन आग्रहसमेत गरे । उनले भने, “राज्यले तपाईँहरूको उपचार खर्च व्यहोर्नुपर्छ, व्यहोर्छ । मैले त्यतिबेला पनि भनेको थिएँ । आज पनि भन्छु । यत्रो दुनियाँको खर्च व्यहोरिरहेको सरकारले तपाईँको किन नव्यहोर्ने ? तर यसमा मिसइन्फरमेसनचाहिँ नहोस् । सरकारले वास्ता गरेन हैन, गर्छ । तर सम्पर्क त हुनुपर्यो ।”

    सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा सञ्चार क्षेत्रमा करिब रु ७८ करोडको क्षति भएको उल्लेख गर्दै त्यसको पुनस्र्थापना कसरी गर्ने भन्नेमा आफू चिन्तित रहेको बताए । बिहीबारदेखि सरकारले गोरखापत्र संस्थानका पत्रकारहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सुरु भएको जानकारी दिँदै मन्त्री खरेलले छिट्टै रेडियो नेपाल नेपाल, नेपाल टेलिभिजन तथा राससलगायत निकायका पत्रकारलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बताए ।

    मन्त्री खरेलले निजी क्षेत्रका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षाको योजनामा समेट्नेगरी अभियान नै सञ्चालन गर्न तथा बेरोजगार घाइते पत्रकारको रोजगारीको व्यवस्था गर्नेगरी क्रियाशील हुन नेपाल पत्रकार महासङ्घलाई आग्रह गरे । सञ्चारमन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासङ्घले गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले सरकारले पत्रकारहरूको कामको सम्मान गरेको भन्दै खुसी व्यक्त गरिन् ।

    सम्मानितमध्येबाट पत्रकार शम्भु दङ्गालले अग्रपङ्क्तिमा परिचालन हुने पत्रकारको सुरक्षाका लागि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने, पत्रकार सुरक्षा कोषको प्रबन्ध गर्नुपर्ने, पत्रकारहरूलाई सामाजिक सुरक्षाको योजनामा आबद्ध गर्नुपर्नेमा जोड दिए । पत्रकार दीपेन्द्र ढुङ्गानाले घाइते पत्रकारलाई उपचार खर्च उपलब्ध गराउनुपर्ने तथा आगामी दिनमा अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षाका लागि नीतिगत सुधार गरिनुपर्ने खाँचो औँल्याए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका उच्च पदाधिकारी तथा नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा सञ्चार क्षेत्रका विभिन्न निकायका पदाधिकारीको उपस्थिति थियो ।

  • रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

    रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

    काठमाडौँ, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा सुशील शाह र शीतल भुसाल हुन् ।

  • रास्वपा सभापति लामिछाने धरौटीमा रिहा

    रास्वपा सभापति लामिछाने धरौटीमा रिहा

    भैरहवा (रुपन्देही), ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार उनलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो ।

    रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो । आज बिहान पहिलो उडानबाट भैरहवा ल्याउने भनिए पनि खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान हुन नसके पछि उनलाई भरतपुरसम्म हवाइमार्ग र त्यसपछि सडक मार्ग हुँदै करिब साढे ५ बजे मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

    अदालतका सूचना अधिकारी पदम अर्यालले रविलाई आजै रिहा गर्नुपर्ने भएकाले आज साँझसम्म अदालत खुलेको बताए । रिहा हुँदै रविले भने, “न्याय अझै पाउन बाँकी नै छ । म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ । मैले बोल्ने समय आउँदै छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ ।”


    रविले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी बुझाएका थिए । जिल्लाले त्यसरी छाड्न नमिल्ने बताउँदै अस्वीकार गरेको थियो । त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुगेका थिए । उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

    आदेशअनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको बिगोवापतको दुई करोड ७४ लाख ८४ हजार र एक करोड धरौटी गरी तीन करोड ७४ लाख ८४ हजार प्रभु बैंकमा जमानत बुझाएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए । पछि फैसला हुँदा धरौटी र बिगोवापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा स्वीकार गर्नुपर्ने जनाइएको छ ।

    विसं २०८१ माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर त्यस विरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए । उच्च अदालतले २०८१ चैतमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।


    त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो । उनले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उहाँलाई रुपन्देही कारागारबाट साउन ३१ गते काठमाडौँ कारागार सरुवा गरिएको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको रु ५५ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोग छ ।

    रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये रु १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए । जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।

  • मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

    मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

    मुस्ताङ, ४ पुसः यहाँका वारागुङ मुक्तिक्षेत्र(३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैलेरचराङ ९मुस्ताङ० ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको हो । उनीसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार मुस्ताङको चैले र चराङमा पुगेर सवस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गरेका छन् ।


    भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स÷भिसान जेभीले रु ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमलराज राउतले जानकारी दिए । उनका अनुसार मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यले प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको बताए ।


    प्राधिकरणले एक वर्षअघि सवस्टेसन निर्माण प्रक्रिया अघि बढाए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय खर्चिनुपरेको आयोजना प्रमुख राउतको भनाइ छ । आयोजना र निर्माण कम्पनीबीच चैले र चराङमा उक्त सवस्टेसन १५ भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जनाउँदै उनले चैले र चराङमा दुई वटा ‘थ्रिएमबिए’ को ३३ केभी सवस्टेसन निर्माण हुने उल्लेख गरे ।


    प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सवस्टेसन रहेको थासाङ-२ कोवाङ सवस्टेनबाट १०३ किलोमिटर दूरीमा पर्ने चैले र चराङमा दुई वटा सवस्टेसन निर्माणको ठेक्का लगाएको हो । उक्त सवस्टेसन तीन हजार ८०० मिटर उचाइमा हाइअल्टिच्युडलाई थेग्नसक्ने गरी निर्माण गर्नुपर्ने भएकाले यसको लागत सामान्य डिजाइनभन्दा बढी भएको आयोजना प्रमुख राउतको भनाइ छ ।

    उनका अनुसार अनुसार यहाँ निर्माण हुने सवस्टेसन हिउँ परे पनि समस्या नहुने र यसमा हाइअल्टिच्युडमा पनि काम गर्नेगरी यसकोे विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । निर्माणस्थलको अवलोकन गर्दै आयोजना प्रमुख राउतले सवस्टेसन सम्पन्न् भएपछि विद्युत् आपूर्ति सहज हुनुका साथै विद्युत् भोल्टेजमा पनि सुधार हुने विश्वास व्यक्त गरे ।


    यसैगरी माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले मुस्ताङको थासाङमा ३३ केभीको एउटा मात्रै सवस्टेसन हुँदा जिल्लामा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको बताए । विद्युत् आपूर्तिलाई दीर्घकालीन रूपमा समाधान गर्न पालिका र सराकोर भएका निकायको पहलमा नया सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

    स्वस्टेसन निर्माणलाई तीव्रता दिन प्राधिकरण र निर्माण कम्पनीका कर्मचारीलाई ताकेता दिँदै आएको अध्यक्ष विष्टले बताए । उक्त सवस्टेसन सम्पन्न भएमा विद्युत्को समस्या समाधान हुनुका साथै पर्यटन, कृषि र औद्योगिक विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।

    यसअघि आयोजनाअन्तर्गत मुस्ताङको कोवाङबाट लोघेकर दामोदरकुण्ड-१ चराङसम्म विद्युत् प्रसारण लाइन विस्तार सुरु गरिएको थियो । दुई वर्ष सम्झौता अवधि रहेको उक्त प्रसारण लाइनको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको निर्माण कम्पनीका प्रतिनिधि नवराज कडरियाले जानकारी दिए । केही ठाउँमा प्रसारण लाइन विस्तार गर्ने स्थानमा समस्या देखिँदा काममा ढिलाइ भएको उनको भनाइ छ ।