Category: समाचार

  • डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

    डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

    म्याग्दी, ४ पुस । म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ । सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पुरा गर्न चुनौति छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।

    पहिलो पटकको म्याद गत जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सवस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।


    एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ७३ वटा टावरको जग राखिएकोमा ६० वटा टावर खडा भएका छन् । रुख काट्नुपर्ने पाँच वटा बाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । तीन किलोमिटरमा तार तान्ने काम पनि सकिएको छ । प्रसारण लाइन र सवस्टेशनको उपकरण आयात भइसकेको छ ।

    डाडाखेतको सवस्टेशनमा ९० प्रतिशत, प्रसारण लाइनमा ६५ प्रतिशत र राहुघाट सव स्टेशनमा ६० प्रतिशत प्रगति भएको छ । एलएनटिका आयोजना ब्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थप गरेर मे १६ को म्यादभित्र सम्पन्न गराउने प्रतिवद्धता जनाए । एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सव स्टेशन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

    कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एशियाली विकास बैङ्कको ऋण लगानी छ । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न लागि विस २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्ले बैठकले स्विकृति प्रदान गरेको थियो । आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रुख छन् ।


    पाँच सय चार रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनको लागि पहिलो किस्ता वापतको रकमसमेत उपलब्ध गराएपनि डिभिजन वन कार्यालयले कटान आदेश दिन ढिलाइ गरेको आयोजना प्रमुख अग्रवालले बताए । रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई रु एक करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत रु चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सीनाले बताए ।


    म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् । चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपुर्ति गराउन थालेका हुन् ।

  • लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ ५ पुस देखि

    लुम्बिनी लायन्सको ‘ट्रफी सेलिब्रेसन टुर’ ५ पुस देखि

    काठमाडौँ, ५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ । लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आइ पूरा हुनेछ । तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ । पुस ६ गते दाङको तुल्सिपुर–घोराहीमा टुर आयोजना हुनेछ ।

    पुस ७ गते रुकुमको रुकुमकोट–खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहने जनाइएको छ । साथै पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ ।

    लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ । एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदू्रपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो । लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो । एनपिएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो ।

  • रास्वपाद्वारा समन्वय कार्यदल गठन

    रास्वपाद्वारा समन्वय कार्यदल गठन

    काठमाडौँ, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ । पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना छन् ।

    प्रवक्ता झाले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिकतर्फ तीन सय २५ आवेदन प्राप्त भएका जानकारी दिए । बैठकले आवेदन प्रक्रिया जारी रहँदा अगाडिको प्रक्रिया सुरु गर्ने निर्णय गरेको उनले बताए । सचिवालय बैठकले पारदर्शी उम्मेदवार छनोटका लागि अडिट समितिको संयोजकको जिम्मेवारी उपेन्द्र पाण्डेलाई दिएको छ । यस्तै, आवेदकलाई सातै प्रदेशमा यही पुस ५ गते छलफलका लागि आमन्त्रण गरिने प्रवक्ता झाले जानकारी दिए ।


    छलफल सहजीकरणका लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्रीय समिति सदस्यलाई प्रदेशगत रूपमा जिम्मेवारी तोकिएको छ । पार्टीले निर्वाचन लक्षित गतिविधि र साझा बुझाइ तयार गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा शुक्रबार ‘निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गर्ने निर्णय गरेको छ ।

  • जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

    जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

    काठमाडौँ, ४ पुस । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा भागेका दुईजनालाई पक्राउ गरेको हो ।


    पक्राउ पर्नेमा काठमाडौँको टोखाका ४६ वर्षीय श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पक्राउ डङ्गोलले मानव बेचविखन र गौतमले अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराधमा कैद भुक्तान गरिरहेको बताए । पक्राउ दुवैलाई कैद भुक्तानका लागि बिहीबार केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।

  • पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

    पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

    काठमाडौँ, ४ पुस । गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका लामो समयपछि आजदेखि खुला गरिएको छ । सम्पदा बचाउ अभियानकर्मीको समूहले आज पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगैको सो ढोका खोल्न अनुरोध गरेको थियो ।


    अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले आजैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको हो । करिब एक दशकदेखि यो ढोका बन्द गरिएको थियो । अभियानकर्मीले विश्व सम्पदा क्षेत्रमा आफूखुसी जथाभावी गर्न थालेपछि त्यसो नगर्न सुझाव दिएको रायमाझीले बताए । सदस्य सचिव भुसाललाई अनुरोध गरेको केही समयमै ढोका खुला भएको उनले सुनाए । रायमाझीले यसअघि पशुपतिनाथ मूल मन्दिरभित्रको फलामको रेलिङ हटाउन पनि भूमिका खेलेका थिए ।

  • भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

    भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

    दोधारा चाँदनी (कञ्चनपुर), ३ पुसः प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ । स्वर्गिय विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गर्ने र सोही स्थानमा विपिनको शालिक निर्माण गर्ने कार्यपालिकाले निर्णय गरेको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार शालिक निर्माणका लागि नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरिसकेको छ ।

    “कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी शालिक बनाउने निर्णय भएको छ”, अध्यक्ष धामीले भने, “अहिले विनियोजित रकमले पूर्ण छैन, आगामी आर्थिक वर्ष थप बजेट विनियोजन गरेर शालिक स्थापना गर्ने कार्यलाई पूर्णता दिइन्छ ।” यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनीहरु इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको निधन भएको हो ।

    गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।

  • एमाले अध्यक्षमा पराजित पोखरेलले के भने ?

    एमाले अध्यक्षमा पराजित पोखरेलले के भने ?

    काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार सही र लोकतान्त्रिक तरिकाले पार्टीलाई सञ्चालन गर्न नवनिर्वाचित नेतृत्वलाई सुझाव दिएका छन् ।

    निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भई अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिँदै निवर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको दौरानमा उठाएका जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीलाई नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बहसले नयाँस्तरमा निरन्तरता पाउने विश्वास पनि व्यक्त गरे ।

    नयाँ नेतृत्वलाई बधाई र शुभकामना दिँदै उनले आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने विश्वास दिलाए ।

  • एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा

    एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा

    काठमाडौँ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्र्षशील एवं जेलनेल भोगेको नेताका रुपमा स्थापित छन् । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथसहयोगसहित यथासक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिन्छन् ।


    एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ओली काठमाडौमा सम्पन्न ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९ मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भए । झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौँ आरोहअवरोह झेलेर मुलुकको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीनपटक देशको नेतृत्व गरिसकेका छन् ।


    पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । गत मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु भएको ११औँ महाधिवेसनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् । विघटित प्रतिनिधिसभामा दोस्रो ठुलो दलका रुपमा रहेको एमालेलाई विशेष गरी जेन्जी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ ।

    अध्यक्ष ओली विसं २०७१ साउन १ गते काठमाडौँमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी २०७८ मङ्सिर दोस्रो साता चितवनामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष भए । समृद्धि, विकास र राष्ट्यिताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा छवि कमाएका अध्यक्ष ओली आत्मविश्वाससहित हठी नेताका रुपमा चिनिन्छन् ।

    काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई वधाई दिनुहुँदै पार्टी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा। तस्बिर : चन्द्र


    नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनी दोस्रो पटक सरकारको नेतृत्वमा पुगे । विसं २०७५ जेठ ३ मा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि पहिलो वरियताको अध्यक्ष भएका उनी पार्टीभित्रको विवाद तथा विभाजनबीच संसद् विघटन गर्ने उनको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि सरकार बाहिर पुगेका थिए ।


    निम्नमध्यम् वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमायाका सुपुत्र पूर्व प्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटक पटक कठोर यातना भोग्ने नेता हुन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ मा जन्मिएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओली आफ्नो बाल्यकालमा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेको अहिले पनि स्मरण गर्ने गर्छन् ।


    तेह्रथुम छोडेर २०२० सालमा उहाँको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तर घुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्थामै समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर केन्द्रित थिए । अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका पक्षमा भएका आन्दोलनमा सदैव उनी नेतृत्वदायी भूमिकामा छन् ।


    अध्यक्ष ओलीले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यताप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुन् ।


    पन्ध्र वर्षको किशोर उमेरमा २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको माक्र्सवादी अध्ययन दलमा सामेल भए । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो । माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उनले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । कम्प्युनिष्ट आन्दोलनमा होमिनुभएका ओली २०२६ सालमा पहिलो पटक पञ्चायती सरकारको गिरफ्तारीमा परेका थिए ।


    पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन ओलीले बिताएका थिए । अध्यक्ष ओली जेलमा रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापक र २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्य बने । यसैगरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी संहाले ।


    नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष भए ।
    नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा ९एमाले० बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य भए ।

    बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ओली २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य भए । यसैबीच पार्टी जिम्मेवारीका क्रममा पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारी उनले सम्हाले ।

    पछि उनी उपप्रधानमन्त्री र परराष्ट्र पनि बने । बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उनी पहिलो पटक मुलुकको गृहमन्त्री बनेका थिए । राससबाट

  • एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

    एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

    रासस
    काठमाडौँ, ३ पुसः नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो । पारित प्रस्तावमा मुलुकलाई संविधानको लिकमा फर्काउन संसद् पुनःस्थापनालगायत विषय समेटिएका छन् ।

    भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भइ काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । समापनसत्रमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले पुराना पार्टी सकिए भन्ने गलत भाष्यलाई चिरेको उल्लेख गर्दै अब आफूहरु विकास, सुशासन, समृद्धि र संसद् पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गरे ।


    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणका लागि सञ्चालित विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण युद्धमा सहभागी हुने क्रममा जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । महाधिवेशनले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदनकुमार भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत आन्दोलनका अग्रजहरुप्रति समेत श्रद्धासुमन अर्पण गरेको छ ।

    यसैगरी एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पार्टीका पूर्व स्थायी कमिटी सदस्य प्रदीप नेपाल, पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, केन्द्रीय कमिटी सदस्य कमल गौतम, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुङ्गेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी, डा ऋतुराज गड्तौला, देवी पोखरेल, बालकृष्ण भट्टराई, बालकृष्ण मैनाली, मोहन विश्वकर्मा, त्रिरत्न शाक्य, बैकुण्ठनाथ दहाल र गणेश पौडेल, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरु ऐना गिरी, चित्रबहादुर कार्की, रामचन्द्र थपलिया, कालीचन्द्र साह, पूर्व सांसदहरु विदुर सापकोटा र यज्ञराज न्यौपाने, पार्टीका अग्रज व्यक्तित्व छत्रबहादुर बोहरा, महिला कार्यकर्ता विमला महत, लुम्बिनी प्रदेशसभा सदस्य तथा नेत्री सरिता पुनलगायतप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    गत भदौ २३ र २४ गते मुलुकमा घटित घट्नाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका सम्बन्धमा एमाले संवेदनशील, चिन्तित र गम्भीर रहेको र उक्त घटना पश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै सङ्कटको दिशातिर उन्मुख भइरहेको पृष्ठभूमिमा ११औँ राष्ट्रिय महाधिवेशनले मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने सङ्कल्प गरेको छ ।

    RSS

    सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासनलगायत विभिन्न माग राखेर नवयुवाले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति एमालेको ११औँ महाधिवेशनले दुःख व्यक्त गरेको छ । नवयुवाको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको एमालेको ठहर छ । महाधिवेशनले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, सबै तथ्यको सार्वजनिकीकरण र सङ्लग्न दोषीलाई कार्बाहीको माग गरेको छ ।

    यस्तै भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रुपमा गरिएको देश दोहनको एमालेले भ्रत्र्सना र निन्दा गरेको छ । यसमा संलग्नलाई पार्टीले कानुनी कारबाहीको माग गरेको छ । महाधिवेशनले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनुपर्नेमा जोड दिएको छ । एमाले ताजा जनादेशका लागि जनतामाझ जाने, जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुने मान्यतामा अविचलित रहेको र पार्टी कहिल्यै निर्वाचनबाट पछि नहट्ने उल्लेख गरेको छ । यसका लागि सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा एमालेले जोड दिएको छ ।

    लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका दलहरुसँग सरकारले सार्थक संवाद, परामर्श र सहकार्य गर्न एमालेले माग गरेको छ । प्रहरीबाट लुटिएका हतियार र गोलीगठ्ठा फिर्ता ल्याउन, भागेका कैदीलाई फेरि जेलमा फर्काउन र समाजमा शान्ति सुरक्षाको वातावरण बनाउन ठोस कदम चाल्न एमालेले सरकारसँग माग गरेको छ । साथै सो पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाको समेत माग गरेको छ ।

    राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्ध सङ्कटमा परेको तथा जनताका सङ्घर्षका उपलव्धि नै धरापमा परेको अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधानका पक्षधर सबै शक्ति, संसद्मा रहेका दल, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका साथ अगाडि बढ्न समेत एमालेको ११औँ महाधिवेशनले आह्वान गरेको छ । गत भदौ २४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत १७० भन्दा बढी नेता तथा कार्यकर्ताको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख गर्दै उक्त घटनाप्रति एमालले दुःख व्यक्त गरेको छ । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेत्री डा आरजु देउवामाथि साङ्घातिक आक्रमण, पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारमाथिको आगजनीको एमालेले निन्दा गरेको छ ।

    मुलुकको विकास र समृद्धिका लागि नव युवाहरुसँग अझ सार्थक संवाद गर्न, सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न एमाले सदैव तत्पर रहेको र पार्टीले सङ्गठनात्मक संरचनामा युवा सहभागिता बढाउन विभिन्न निर्णय गर्दै अगाडि बढेको एमालले जनाएको छ । महाधिवेशनले सार्वभौम समानता, आपसी सहयोग, विश्वास र न्यायका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालन हुनुपर्छ भन्ने मान्यतालाई जोड दिएको र एमाले नेपालको राष्ट्रिय हित, असङ्लग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्व शान्तिलाई केन्द्रबिन्दुमा राखेर छिमेकीलगायत मित्र राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

  • एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

    एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

    काठमाडौँ, ३ पुसः नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरे ।

    अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५\२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा थिए । आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिए । अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराए ।

  • एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा

    एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा

    काठमाडौँ, ३ पुसः नेकपा (एमाले) का नवनिर्वाचित महासचिव शङ्कर पोखरेल राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेता हुन् । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित उनी मालेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को कुशल व्याख्याताको रुपमासमेत चिनिन्छन् ।


    महासचिव पोखरेलको जन्म विक्रम सम्बत् २०१९ फागुन १५ गते हालको लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेमा बुबा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रुपमा भएको हो । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेका उनले दाङको तुल्सीपुरस्थित महेन्द्र मावि टारीगाउँमा एसएलसी परीक्षाको तयारी गर्दागर्दै तत्कालीन शासन व्यवस्थाका कारण पढाइ छोड्न बाध्य हुनुप¥यो । त्यसपछि भारतको बनारसबाट ‘प्राइभेट’ परीक्षार्थीको रुपमा ‘बोर्ड’ परीक्षा उत्तीर्ण पोखरेलले व्यवस्थापन सङ्कायमा स्नातक तहको अध्ययन बनारसबाटै गरे ।


    विसंं २०३५ मा विद्यार्थी राजनीतिमा होमिएका पोखरेल २०३६ साल र २०३७ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए । यसक्रममा २०३७ सालमा उनी जेल परे । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पटक–पटक पक्राउ परेका नेता पोखरेल भारतमा अध्ययनरत छँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीको हक हितको पक्षमा सङ्घर्षरत थिए ।


    अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्षलगायतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका पोखरेलले नेपाल फर्किएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बागमती अञ्चल कमिटीमा रहेर काम गरे । राजनीतिक यात्राका क्रममा तत्कालीन पार्टी नेता मदन भण्डारीसँग नजिक भई उनी पार्टी गतिविधिमा सक्रिय भए ।


    विद्यार्थी फाँटमा क्रियाशील भइरहेको अवस्थामा २०४५ सालमा नेता पोखरेल देशको सबैभन्दा ठूलो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भए । उनी अनेरास्ववियुको उपाध्यक्ष हुँदै २०४७ सालमा माले–माक्र्सवादी एकतासँगै भएको ‘नेप्रवियु’सँगको एकतापछि अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बने । विद्यार्थी नेताको छबि बनाउन सफल नेता पोखरेल २०५१ सालमा प्रतिनिधिसभा सदस्यको जिम्मेवारीसँगै पार्टी राजनीतिमा क्रियाशील भए ।


    नेता पोखरेलले २०५४ सालमा तत्कालीन विद्यार्थी नेत्री सुजिता शाक्यसँग जनवादी विवाह गरेका थिए । उनका दुई छोरी छन् । एमालेको २०५४ सालमा नेपालगञ्जमा सम्पन्न छैठौंँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पोखरेल २०५९ सालमा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बने । विसं २०६५ मा बुटवलमा सम्पन्न आठौंँ महाधिवेशनबाट सचिवमा निर्वाचित पोखरेल २०७१ सालमा सम्पन्न नवौँं महाधिवेशनपछि पार्टी स्थायी कमिटी सदस्य भए ।


    नवनिर्वाचित महासचिव पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा राजधानी काठमाडौँमा सञ्चालित आन्दोलनको नेतृत्व गरे । पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (माओवादी) नेतृत्वको सरकारपछि २०६६ सालमा गठन भएको नेकपा .एमाले) नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री बने ।


    त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । लामो समय पार्टी स्कुल विभागको जिम्मेवारीमा रहेर उनले पार्टीको प्रशिक्षण कार्यक्रममा सक्रिय भए । नेता पोखरेल २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनबाट सर्वसम्मतिले महासचिव चुुनिएका थिए । एमालेको ११औँ महाधिवेशनमा प्रत्यासी नेता सुरेन्द्र पाण्डेलाई २२९ मतान्तरले पराजित गर्दै दोस्रो पटक महासचिवमा निर्वाचित भए । राससको सहयोगमा

  • रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश

    रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश

    लुम्बिनी, ३ पुसः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज रिहा गर्न आदेश भएको हो ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले अदालतबाट अन्तिम फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सृजना गरेमा र तिर्न बुझाउन मञ्जुर भए सो को कागज गरी प्रतिवादी रवी लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी मुद्दाको रोहबाट थुनामुक्त गर्नु भनी आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।


    सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पूर्पक्ष गरी पाउँ भनी माग गरेका थिए ।

    सोही मागअनुसार लामिछानेले बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखिएकाले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता हुने ठहर गरी बैंक जमानत स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउन आदेश गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए । यसरी सुरु रुपन्देही जिल्ला अदालतले विसं २०८१ माघ १३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गरी प्रतिवादीले निवेदन साथ पेस गरेको बैंक जमानत (ग्यारेन्टी)रु दुई करोड ७४ लाख ८४ हजार बिगोका हक सुरक्षित गर्ने भनी आदेशमा भनिएको छ ।

  • कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

    कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

    नोम पेन (कम्बोडिया), ३ पुस (रासस–सिन्ह्वा) । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ । कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार देखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे र पर्सात प्रान्तका विभिन्न स्थानमा आक्रमण गर्न ट्याङ्क–माउन्टेड मेसिन गन, ड्रोन, आर्टिलरी र एफ–१६ लडाकू जेट प्रयोग गरेको बताए ।

    सोचेटाले द्वन्द्वका कारण कम्बोडियाका नागरिकहरु आक्रमणको सिकार भएको उल्लेख गर्दै घाइतेहरूको सङ्ख्या ७७ पुगेको जनाए । आधिकारिक तथ्याङ्कका अनुसार द्वन्द्वले एक लाख ३० हजार भन्दा बढी कम्बोडियन परिवारका करिब चार लाख ३८ हजार व्यक्तिहरूलाई सुरक्षित आश्रयका लागि आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ । कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर– ७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक अर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

  • बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

    बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

    सिड्नी, ३ पुस (रासस–सिन्ह्वा) । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरी बलले बुधबार दिउँसो २४ वर्षीय अकरमलाई ५९ वटा अपराधको आरोप लगाएको छ, जसमा १५ वटा हत्या र एक आतंककारी कार्य गरेको आरोप लगाइएको छ ।

    अधिकारीहरूका अनुसार नाभिद र उनका बुबा साजिद अकरमले आइतबार सिड्नीको प्रसिद्ध बोन्डी समुन्द्र तटमा भएको यहुदी उत्सवमा गोली चलाउँदा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । मङ्गलबार कोमाबाट उठेपछि बुधबार अकरम प्रहरीको निगरनीमा अस्पतालमा उपचाररत रहेको जनाइएको छ । दोस्रो कथित बन्दुकधारी, अकरमका ५० वर्षीय बुबा साजिदको रूपमा पहिचान गरिएको छ, जसको आक्रमण स्थलमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

    हत्या र आतङ्कवाद अपराधका साथै, नावीद अकरमलाई गम्भीर शारीरिक क्षति पुगाउने उद्देश्यले बन्दुक चलाएको, सार्वजनिक रूपमा प्रतिबन्धित आतङ्कवादी प्रतीक प्रदर्शन गरेको र क्षति पुगाउने उद्देश्यले भवनमा विस्फोटक राखेको र हत्याको ४० वटा अभियोग लगाइएको थियो । अधिकारीहरूले आक्रमण इस्लामिक स्टेटको विचारधाराबाट प्रेरित भएको र नावीद अकरमको गाडीमा इस्लामिक स्टेटका दुईवटा झण्डा र इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू फेला परेको पुष्टि गरे ।

    आक्रमणपछि साजिद अकरमसहित १० देखि ८७ वर्ष उमेर समूहका १६ जनाको मृत्यु भएको पुष्टि भएको थियो । आक्रमण पछि चार बालकसहित ४१ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । बुधबार सम्म, २० जना घाइते व्यक्तिहरू सिड्नी अस्पतालमा उपचाररत रहेका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

  • एमाले अध्यक्षमा ओली निर्वाचित

    एमाले अध्यक्षमा ओली निर्वाचित

    नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न ११ औं महाधिवेशन तथा निर्वाचन बाट ओली अत्यधिक बहुमत सहित विजयी भए । उनले १६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मात्र भोट पाए । ओली लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पदाधिकारीमा धेरै ओली प्यानलका विजयी भएका छन् ।

  • धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

    धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

    गलकोट (बागलुङ), ३ पुस । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी नागरिकताबाट वञ्चित भएको बारेमा उजागर भएको थियो ।

    सो समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे । उनले नागरिकता प्राप्त गरेसँगै पहिलोपटक रु आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

    लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन थिए । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिए । नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।


    सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आएका तर बोल्न नसक्ने भएकाले उनलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिएका हुन् । बाँसका सामग्री बनाउँदै आउनुभएका उहाँको जीवनको उत्तराद्र्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो ।

  • झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन पक्राउ

    झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन पक्राउ

    काठमाडौँ, ३ पुस । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुर महालक्ष्मी–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    पक्राउ परेकाहरु माथि नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, ३ पुस । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यता सफा रहने जनाइएको छ ।

    महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ५ देखि ७ डिग्री सेल्सियस रहने र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस बीच रहनेछ ।

  • एमाले महाधिवेशनमा मतदान सम्पन्न, २२२७ मत खस्यो

    एमाले महाधिवेशनमा मतदान सम्पन्न, २२२७ मत खस्यो

    काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।

    उनले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उनले भने, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।” एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।

  • अवकाशपछिको जाँगर : मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

    अवकाशपछिको जाँगर : मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

    राष्ट्रिय समाचार समिति
    राँझा (बाँके), ३ पुस : धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहनुभएको छ । उहाँले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाउनुभएको छ । त्यसबापत उहाँले राम्रो आम्दानीसमेत गरिरहनुभएको छ । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहनुभएको छ ।

    २५ घारबाट सुरु गरिएको उहाँको व्यावसायिक यात्राले हाल उहाँलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायीक पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब रु २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ । बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यतिबेला कार्तिके मह काड्ने र बिक्री गर्ने चटारो छ । यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, “बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ । तोरीको कार्तिके मह प्रतिकिलो रु ५०० र जङ्गली मह रु ७५० मा थोक मूल्यमा बिक्री गरिरहेका छौँ ।” यसरी आम्दानी गर्न उहाँको सङ्घर्ष पनि कम छैन । उहाँले मौषमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया ९बढैयाताल र राजापुर क्षेत्र० र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गर्नुभएको छ ।

    जङ्गली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिनुभयो । “मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ । मह काड्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन् । एक सय घार मौरी राम्ररी पाल्न सके मासिक रु एक लाखसम्म सजिलै कमाउन सकिन्छ ।”

    यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काड्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उहाँले यस व्यवसायलाई थप व्यवस्थिति गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उहाँले सुनाउनुभयो । खत्रीले आत्मविश्वासका साथ भन्नुभयो,“मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन् । त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ । हाल दुई सय ५० घार पु¥याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु ।”

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ३ पुस । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ४९ पैसा र बिक्रीदर २० रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुयैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

  • बागमतीमा प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

    बागमतीमा प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

    मकवानपुर, ३ पुस । बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको, लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोपसमेत लगाएका छन् ।

    ज्ञापनपत्रमा सरकारले जनताका आवाज उठाउने थलो प्रदेशसभालाई लामो समय बन्द गर्न नहुने भन्दै विभिन्न विषय उठान गरिएका छन् । ज्ञापनपत्रमा प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

    संसदीय व्यवस्थामा सरकारले अधिवेशन नबोलाएको खण्डमा प्रदेशसभा नियमावलीअनुसार एक चौथाइ सांसदको निवेदनमा विशेष अधिवेशन वा बैठक बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै सोही प्रक्रिया अपनाउने अवस्था आउन नदिन चेतावनी दिइएको छ । ‘जेनजी विद्रोह’ पछि देश सङ्कटमा रहेको र सङ्घीय संसद्समेत विघटन भएको अवस्थामा प्रदेशसभा नै अनिर्णयको बन्दी बनाइएको ती पार्टीहरूको आरोप छ ।

  • निर्वाचन ७७ दिन बाँकी : नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

    निर्वाचन ७७ दिन बाँकी : नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

    काठमाडौँ, ३ पुस । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् ।

    परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, प्रक्रिया मतदान प्रक्रिया, नोटा (नो भोट) मतगणना आदि बारे विषयवस्तु समावेश छन् ।

    यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानुन, परिच्छेद छमा निर्वाचन आचारसंहिताको पालना, अनुगमन र पर्यवेक्षण र परिच्छेद सातमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकार तथा निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषय उल्लेख छन् ।

  • त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

    त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

    कैलाली, ३ पुुस । चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ । यहाँको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।


    त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् । “नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मङ्ल परियारले भने, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ ।”

    त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लाग्नुभएका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फकिएको बताउँनुुभयो । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायत ठूला सहर जाने गर्छन् ।

  • प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, नेताहरुलाई बयानमा बोलाउने तयारी

    प्रधानमन्त्री कार्कीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट, नेताहरुलाई बयानमा बोलाउने तयारी

    काठमाडौँ, २ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा आयोगका पदाधिकारीले एक महिना आयोगको म्याद थप गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीसँग छलफलका लागि समय लिइएको र अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने बताए । मन्त्रिपरिषद्को असोज ५ को निर्णयअनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु बयानमा नजाने बताउँदै आएका छन् ।

  • तत्कालीन सचिव र सहसचिव कार्कीसहित चार विरुद्ध भ्रष्टाचार मुद्दा

    तत्कालीन सचिव र सहसचिव कार्कीसहित चार विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, २ पुस । तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले नेपाल ट्रस्टको जग्गा प्रकरणमा उहाँहरू तीन जना र एक कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।

    नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा भाडामा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो । मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।

  • जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

    जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

    राष्ट्रिय समाचार समिति
    काठमाडौँ, २ पुस । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बिमा दाबीको करिब रू २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा उक्त रकम भुक्तानी भइसकेको जनाएको हो । सम्पत्ति बिमातर्फ करिब रू तीन अर्ब ८२ करोड र मोटर बिमातर्फ करिब रू एक अर्ब २२ करोड भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

    इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ करिब रु सात करोड ५० लाख, परिवहन बिमातर्फ करिब रू एक करोड ५५ लाख र अन्य बिमातर्फ करिब रू पाँच करोड ५० लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ । अग्रिम भुक्तानीसहित करिब तीन अर्ब दुई करोड पुनःबिमा दाबी भुक्तानी भएको छ ।

    जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनःबिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रू तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनःबिमा दाबी भुक्तानी गरेको छ । नेपाल पुनःबिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीबाट परेका कूल दुई हजार ८६२ वटा पुनःबिमा दाबीको दाबी रकम करिब रू १६ अर्ब ६२ करोड रहेको अध्यावधिक तथ्याङ्क छ ।

  • प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाई भेट

    प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको बिदाई भेट

    काठमाडौं, २ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर आज प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो ।

    सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्टमित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे । प्रधानमन्त्रीले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फिर्ता हुन लाग्नुभएकोमा बधाई तथा सुखद यात्राको कामना गरिन् ।

    साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन् । चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरेकी छिन् ।

  • एमालेमा मतदान सुस्त : दिनभरमा ८ सयले मात्र गरे भोट

    एमालेमा मतदान सुस्त : दिनभरमा ८ सयले मात्र गरे भोट

    काठमाडौँ, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिले ५ः०० बजेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको हो ।

    उनले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गर्नु भएको बताए । उनका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ । उनले साँझ ८ः०० बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।

    एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको छ । आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

  • एमाले महाधिवेशन : मतदान सुरु

    एमाले महाधिवेशन : मतदान सुरु

    काठमाडौँ, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ ।
    केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् ।

    एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् । आज ढिला गरी मतदान सुरु भएको हो ।