Category: समाचार

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, २ पुस : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहनेछ ।

  • निर्वाचन ७८ दिन बाँकी : दल र उम्मेदवारले १० मात्रै झण्डा प्रयोग गर्न सक्ने

    निर्वाचन ७८ दिन बाँकी : दल र उम्मेदवारले १० मात्रै झण्डा प्रयोग गर्न सक्ने

    काठमाडौँ, २ पुस । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो ।

    आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन × चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख गरेको छ ।

    प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ । यसैगरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन । चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ ।

    अनलाइन, वेवपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारबारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन । तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेवपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा पर्ने छैन । दलको झण्डाको वा दल एवम् उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन पाइनेछैन ।

    कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका कुनै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने गरी आचारसंहिताको प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ । रासस

  • माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

    माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

    किमाथाङ्का (सङ्खुवासभा), २ पुस । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी चन्द्रलाल राईले बताए ।


    माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन र भोटखोला– २ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलको रुख कटान गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राईले जानकारी दिए । उक्त आयोजनाले २५ बर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ । यो सँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्गको काम द्रूत गतमिा अघि बढेको छ ।

    प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

    त्यसैगरी जिल्लामा विभिन्न जलविद्युत आयोजना निर्माणका लागि हालसम्म लागि १४ हजारभन्दा बढी रुख काटिसकिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ रुख कटान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रूख काटिएका छन् । रासस

  • एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय

    एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौँ, २ पुस । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनसमेत रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ ।

    बैठकले यही पुस १२ देखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
    मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपछी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बैठकले युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।


    यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने तथा छ जना उपरथी र सातजना महासेनानीको सरूवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।

  • वैदेशिक रोजगारीमा हुने ठगीबाट बचाउन श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

    वैदेशिक रोजगारीमा हुने ठगीबाट बचाउन श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ प्रणाली सुरु गर्ने

    काठमाडौँ, २ पुसः वैदेशिक रोजगारमा हुने ठगी तथा झुटा प्रलोभनबाट जोगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउने सन्र्दभमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै सचिव डा कृष्णहरि पुस्करले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याइने जानकारी दिए । उक्त सेल यही पुस ८ गतेदेखि सञ्चालनमा आउने उनले बताए ।


    पछिल्लो समय सामाजिक सञ्जाल, फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममा राखिएका भ्रामक सूचनाबाट प्रभावित भई वैदेशिक रोजगारमा ठगिने खतरा बढ्दै गएको उल्लेख गर्दै सचिव डा पुस्करले श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित वातावरण निर्माण गर्न यो प्रणाली सुरु गर्न लागिएको बताए ।
    सचिव डा पुस्करका अनुसार ‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् ।

    जसअन्तर्गत कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगानालगायतका वैदेशीक रोजगारसँग सम्बन्धीत आवश्यक जानकारी समेटिएको हुनेछ ।

    सचिव पुस्करका अनुसार सातै प्रदेशका श्रम कार्यालय, ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो । “वैदेशिक रोजगारमा जान चाहने जुनसुकै श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार माने धेरै ठगी हुनबाट बच्न सकिन्छ”, उनले भने, “डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगाउनु हाम्रो प्रयास हो ।” सामाजिक सञ्जालमार्फत पैसाको लोभ देखाएर विदेश पठाइदिने भ्रामक आधारविहीन प्रचार गर्नेका पछि नलाग्न उनले आग्रह गरे । भयो ।

  • ……अनि मनभरि आशा बोकेर सिंहदबार छिर्नुभयो जयलाल

    ……अनि मनभरि आशा बोकेर सिंहदबार छिर्नुभयो जयलाल

    मधु शाही–रासस

    काठमाडौँ, २ पुसः एक हातमा कागजपत्र अर्को हातमा नाति । मलिन अनुहारले नै भनिरहेको थियो, उहाँ कुनै समस्यासँग जुधिरहनुभएको छ । मङ्गलबार सिंहदरबारको गेटमा देखिनुभएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति माग्नुभयो, “मभित्र जानुछ हजुर १ मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर भित्र नगई भएको छैन ।” प्रहरीलाई बिरामी नातिको उपचारका लागि सहयोग माग्न भित्र जानैपर्ने बाध्यता सुनाउनुभयो । भट्टले जति नम्र भएर कुरा गर्दै हुनुहुन्थ्यो उति नै नम्रतासहित प्रहरीले गृह मन्त्रालयको लेन्डलाइनमा फोन गरेर समस्या सुनाउन र अनुमति माग्न सुझाउनुभयो ।

    भट्टले तुरुन्तै फोन गर्नुभयो र उसैगरी समस्या सुनाउँदै भित्र आउने अनुमति माग्नुभयो । टेलिफोनमा कुरा गरेको दुई तीन मिनेट नपुग्दै भट्टले नागरिकता देखाएर प्रवेश अनुमति पाउनुभयो । उहाँ पहिलोपटक सिंहदरबार पस्नुभएको भने होइन । भट्टले मङ्गलबार पहिले जसरी सिंहदरबार पस्न जस्तो सङ्घर्ष भने गर्नुपरेन । सहज र सम्मानित ढङ्गले सिंहदरबार प्रवेश पाउनु उहाँका लागि खुसीको क्षण थियो । “विगतमा सिंहदरबार छिर्न सांसद र नेतालाई गुहार गर्नुपर्थ्यो, यसपटक सजिलै प्रवेश पाएँ, अचम्मै पो लाग्यो”, भट्टले खुसी हुँदै भन्नुभयो, “बल्ल जनताको सिंहदरबार भएजस्तै महसुस गरेँ ।”

    भित्र प्रवेश गरेपछि भट्टले नातिलाई औँलाले इशारा गर्दै सिंहदरबारको परिवेश सुनाउनुभयो । सम्भव भएसम्म त्यहाँ घुमाउनुभयो । उहाँमा सिंहदरबारमा पस्नुको उत्साह मात्रै थिएन, त्योभन्दा ठूलो यहाँसम्म आउनुको आशा र जिम्मेवारी थियो । बोल्न र सुन्न नसक्ने नातिको अँध्यारो वर्तमानलाई चिर्न र उज्यालो भविष्यका लागि आशाको दियो बाल्नु थियो । भट्टले हामीलाई सुनाएअनुसार उहाँ ६३ वर्षको हुनुभयो, यो उमेरमा विगत चार÷पाँच वर्षदेखि नातिको स्वास्थ्य समस्या समाधानका लागि सङ्घर्षरत हुनुहुन्छ । “दैवको खेल भनु कि भाग्यको खेल”, उहाँ आफ्नै नियतिमाथि शङ्का गर्दै भन्नुहुन्छ, “नातिले बोल्न र सुन्नसक्ने भयो भने जीवनमा कुनै गुनासो हुन्थेन ।”

    भट्ट बिरामी नातिलाई निको बनाउनकै लागि दार्चुला मार्मा गाउँपालिका–२ बाट काठमाडौँमा आई बस्न थालेको दुई वर्ष भयो । नाति अरुण हुर्किंर्दै गएपछि न बोल्नसके न सुन्न । जिल्ला अस्पतालले विसं २०७८ मा उपचारका लागि कान्तिबाल अस्पताल जान सुझायो । सोहीअनुसार उक्त अस्पताल गए पनि नातिको उपचारमा थप जटिलता देखिएपछि अस्पतालले टिचिङ अस्पताल पठायो । बिरामी नातिको उपचारका क्रममा भोगेका दुःख सुनाउँदै भट्टले भन्नुभयो, “टिचिङमा उपचारकै लागि तीन वर्ष अस्पतालको श्ययामा बस्नुप¥यो । घरको आर्थिकस्थिति नाजुक छ । उपचारका क्रममा रु ६९ हजार तिर्न नसक्दा उपचार नै रोकियो ।”

    विगतको अवस्था सम्झेर उहाँको मन आत्तिन्छ । जसोतसो गरी रु १७ लाख ५० हजार जुटाएर नातिको उपचार गरे पनि बाँकी उपचारका लागि खर्च जुटाउन नसक्दा सिंहदरबार धाउनुपरेको उहाँले बताउनुभयो । हातमा वडाको सिफारिस लिएर गृह मन्त्रालयमा पुग्नुभएका भट्टले दैनिक थेरापी गर्न ३० मिनेटको रु ९०० र एकपटक ‘म्यापिङ’ गर्न चार हजार ५०० खर्च लाग्ने गरेको सुनाउनुभयो । उहाँले सुनाएअनुसार घरमा सबै बिरामी छन् । श्रीमती पत्थरी र किड्नी तथा छोरा मुटुको बिरामी छन् । घरका तिनै जना दीर्घ रोगले थला परेपछि उहाँको बुढो काँधमा बोझिलो जिम्मेवारी आएको छ ।

    “आम्दानीको स्रोत छैन, कमाउने छोरो थला प¥यो । कलिलो नातिलाई जसरी पनि बचाउनु छ । धेरै चोटी सहयोगको सिंहदरबार आएको छु । हरेक सरकार आउँदा नाति बचाउन सिंहदरबार धाउँदै आएको छु”, उहाँले भन्नुभयो, “यसपटक नागरिक सरकार बनेको सुने । त्यसले केही सहयोग गर्छ कि भनेर झिनो आशा बोकेर सिंहदरबार पसेको हु ।”

  • पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

    काठमाडौँ, २ पुस । चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ ।
    क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजना र रत्ननगर नगरपालिकाको संरक्षकत्वमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्व सम्पदामा सूचीकृत निकुञ्ज तथा सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना र दिगो पर्यटन विकास महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

    सन् १९९७ देखि निरन्तर आयोजना गरिँदै आएको महोत्सवले चितवनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताइएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डले चितवनको पर्यटन प्रवर्द्धनका लागि महोत्सवमा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गरे । उनले भने, “चितवनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन र वर्तमान सन्दर्भमा आन्तरिक पर्यटन प्रवर्द्धन र गन्तव्य ब्रान्डिङका लागि हात्ती महोत्वसव प्रभावकारी भइरहेको छ । यस महोत्सवले नेपालको पर्यटन उद्योगलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”

    महोत्सवमा हात्तीको पूर्ण सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिने आयोजकको भनाइ छ । हात्तीमाथि कुनै पनि किसिमको व्यवहार निषेध गरिएको छ भने पशु चिकित्सकको नियमित निगरानी, तालिमप्राप्त माहुतेको मात्र सहभागिता र स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । सबै गतिविधि प्रतिस्पर्धाभन्दा पनि मानव–हात्तीबीचको सौहार्दता, संस्कृति र परम्पराको प्रवर्द्धनमा केन्द्रित रहने बताइएको छ ।

    महोत्सव अवधिभर करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, हात्ती स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीयस्तरका खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवर्द्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहनेछन् ।

    यसका साथै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको बजारीकरणमा पनि महोत्सवले भूमिका खेल्ने विश्वास गरिएको छ । महोत्सवको अवसरमा पुस ११ देखि १३ गतेसम्म सौराहाका होटल तथा रेस्टुराँहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवका कारण प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुँदै आएको आयोजकले जनाएको छ ।

  • मकवानपुरमा मजदुर चढेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १९ घाइते

    मकवानपुरमा मजदुर चढेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, १९ घाइते

    बागमती, २ पुस : मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बकैया गाउँपालिका–७ अँधेरी निवासी ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय शन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । दुर्घटनामा घाइते २२ जनामध्ये गम्भीर घाइते तीनै जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । घाइतेमध्ये केहीको हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोगटीले बताए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

  • निर्वाचन तयारीका ७० प्रतिशत काम सम्पन्न

    निर्वाचन तयारीका ७० प्रतिशत काम सम्पन्न

    काठमाडौँ, १ पुसः निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


    कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले भने, “राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोगले शून्यबाट उठेर काम सुरु गरेकामा हालसम्म करिब ७० प्रतिशत काम भएको छ । निर्वाचनको वातावरण बनिरहेको छ । निश्चित प्रक्रिया पूरा गरेर निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा हामी लागिरहेका छौँ ।”

    उनले निर्वाचनको लागि संविधान, ऐन÷कानुन पुरानो भएको र प्रविधि र केही पद्धति परिवर्तन गर्नुपर्छ भन्ने सन्दर्भ आएको उल्लेख गर्दै विभिन्न माग राख्दै हरेक दिन दुई÷चार वटा ज्ञापनपत्र आउने गरेको सुनाए । कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आयोगसँग मात्रै सम्बन्धित ऐन\कानुन, नियमलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राखेको जिज्ञासामा भण्डारीले मितव्ययी ढङ्गले खर्च गर्न आयोग सचेत रहेको बताए । उनले भने, “नागरिक सरकारले खर्च नियन्त्रण गर्न अघि सारेका सवालमा आयोग तयार छ, सरकारी कोषबाट हुने खर्च हामीले अत्यन्त मितव्ययी ढङ्गले गर्छौं, यसअघि २०७९ सालमा भएका दुई वटा निर्वाचन पनि सोही नीतिअनुसार काम गरेर देखाइसकेका छौँ । अब दल र दलका उम्मेदवारले गर्ने खर्चको हकमा पनि कडाइका साथ सीमा तोक्छौँ ।” उम्मेदवारले गर्ने खर्चको सवालमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको सङ्ख्याको आधारमा खर्च गर्न दिने गरिएको भण्डारीको भनाइ छ ।

  • पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बोलाउने तयारी

    पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बोलाउने तयारी

    काठमाडौँ, १ पुस । राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने भएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बोलाउने तयारी भइरहेको र पुस दोस्रो साता वा १२ गतेभित्रै बस्ने जानकारी दिए ।


    उनले भने, “मैले ठेकेदारलाई जतिसक्दो चाँडो काम पूरा गर्नु भनेको छु, मलाई लाग्छ, अब छिट्टै हल तयार हुन्छ, अब पुसको १२ गते बैठक बोलाउँछु ।” मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको सङ्घीय संसद् भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय संसद् भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । त्यसको १६ दिनपछि ठेकेदारसँग रु छ अर्ब ९२ करोडमा सम्झौता भएको थियो ।

    नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले भाडाबापत वर्षमा रु १५ करोड तिर्दै आएको छ । अध्यक्ष दाहालले सदन बस्ने विषयमा प्रधानमन्त्रीसँग सल्लाह गरिसकेको बताउँदै सदन बस्ने विषयमा कहीँकतैबाट विमति नभएको बताए । सभाको बैठक बोलाएर विधेयकमाथिको छलफल, आयोगको प्रतिवेदनको काम गर्न सकिने, मन्त्रीलाई आमन्त्रण गरेर सम्बन्धित विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।

    अध्यक्ष दाहालले भने, “हामीसँग चार वटा विधेयक छन्, एउटा विधेयक अध्यादेशमार्फत आएको छ, त्यो आर्थिक विधेयक हो । राष्ट्रियसभालाई छलफल गर्ने अधिकार छैन, त्यो प्रतिनिधिसभामा मात्रै छलफल हुने हो, त्यसकारण सरकारलाई विजेनसका बारेमा सोच्नुस् भनेर भनेको छुु ।”

  • सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

    सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

    काठमाडौँ, १ पुसः सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले भने, “सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुवै तर्फबाट आआफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।”

    अभियानका प्रतिनिधि प्रेमदीप लिम्बूले वार्तामा सकारात्मक र सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताए । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादका माध्यमबाट महाअभियानले उठाएका मागको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए । वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियान लिम्बूको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका थिए ।


    आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ । सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । विभिन्न राजनीतिक दल र सरोकार भएकाहरूसँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् । राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न उक्त समितिअन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । सोही समितिले आज अभियानका प्रतिनिधिसँग वार्ता गरेको हो ।

  • एमाले महाधिवेशन : मतदान बुधबार बिहान

    एमाले महाधिवेशन : मतदान बुधबार बिहान

    काठमाडौँ, १ पुस । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान बुधबार बिहान हुने भएको छ । आज साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ः०० बजेदेखि मतदान हुने छ ।

    “विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि आज साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको छ”, उनले भने । यसअघि आज साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

  • हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा पक्राउ, के हो कसुर ?

    हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा पक्राउ, के हो कसुर ?

    काठमाडौँ, १ पुसः विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भन्ने राजकुमार तामाङ लामालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा पाँचथरमा उजुरी परेको आधारमा पक्राउ गरिएको हो । सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँको कपनबाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि लामालाई पाँचथर पठाइएको जानकारी दिए ।


    उनका अनुसार लामालाई काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित घरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको हो । यसअघि लामा २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङसमेत घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेका थिए । सोही मुद्दामा जेल परेका लामा विसं २०७६ मा प्रजातन्त्र दिवसमा जेलमुक्त भएका व्यक्ति हुन् ।

  • पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

    पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

    काठमाडौँ, १ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख बराबर विनियोजन भएको थियो ।

    चालुगततर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोडको वार्षिक विनियोजन रहेकामा हालसम्म ३३ दशमलव सात प्रतिशत अर्थात् रु तीन खर्ब ९८ अर्ब चार करोड ७२ लाख खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा ३५ दशमलव ३२ प्रतिशत अर्थात् रु एक खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख खर्च भएको छ ।

    यसरी चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सरकारको कुल खर्च वार्षिक विनियोजनको २८ दशमलव ७४ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यसवर्षका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट विनियोजन भएकोमा हालसम्म रु पाँच खर्ब ६४ अर्ब ४६ करोड १२ लाख खर्च भएको हो । बजेट खर्च मात्र नभई राजस्व सङ्कलन पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पाँच महिनामा २७ प्रतिशत अर्थात् रु चार खर्ब १४ अर्ब ९० करोड बराबर मात्रै उठाउन सकेको छ ।

    मङ्सिर मसान्तसम्म रु पाँच खर्ब २० अर्ब ४४ करोड राजश्व उठाइसक्ने सरकारको लक्ष्य थियो । तर उक्त लक्ष्यको तुलनामा प्राप्ति ७८ दशमलव ७४ प्रतिशतमा खुम्चिएको छ । त्यस्तै, मङ्सिर महिनामा मात्र रु ९५ अर्ब २० करोड कर उठाउने लक्ष्य राखेको सरकारले त्यसको ८४ दशमलव ३१ प्रतिशत अर्थात् रु ८० अर्ब २७ करोड बराबर मात्रै असुली गरेको छ ।

    हालसम्म कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् रु तीन खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजश्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् रु २४ अर्ब सात करोड बराबर सङ्कलन भएको छ । यसवर्ष रु ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म नौ दशमलव ५८ प्रतिशत अर्थात् रु पाँच अर्ब १२ करोड १० लाख बराबर अनुदान लिएको छ । हालसम्मको सरकारको आम्दानी र खर्चको हिसाब हेर्दा बजेट घाटा डेढ खर्ब हाराहारी पुगेको छ अर्थात् सरकारले गरेको आम्दानीभन्दा खर्च रु एक खर्ब ४९ अर्ब ५५ करोड ८५ लाखले बढी छ ।

  • राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

    राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

    काठमाडौँ १ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।


    क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो । नेपालले आगामी जनावरी १२ देखि फेब्रुअरी १ तारिखमा नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दैछ ।

  • एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

    एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

    चितवन, १ पुस । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् ।

    जम्मा दुई ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ । गणनामा एक हजार १०० अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिए ।

    निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब रु तीन करोड खर्च लाग्ने बताइएको छ । त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको हो । जुन प्रतिक्यामेराको मूल्य करिब रु ३५ हजार रहेको छ ।

    नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए । त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो ।

    सन् २००९ यता हरेक चार वर्षमा बाघको सर्वेक्षण हुँदै आएको छ । बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ । अहिले सन् २०२६ का लागि गणना हुनलागेको हो ।बाघको सर्वेक्षण खासगरी हिउँदको समयमा गरिन्छ ।

    किनभने यो चिसो समयमा बाघ सुक्खा ठाउँमा र झाडी नभएको खुला क्षेत्रमा बढी हिँडडुल गर्ने भएकाले क्यामेरामा ट्रयाप गर्न सहज हुने निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गणनाका लागि सो क्षेत्रमा दुई वर्गकिलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखिन्छ र उक्त क्यामेराले २४सै घण्टा जुनसुकै वस्तु चलायमान हुँदा स्वाचालित रूपमा तस्बिर लिएर रेकर्ड गर्छ ।

    पुस ३ गतेदेखि क्यामेरा राखिने

    “गणनाका खटिने टोलीलाई क्यामेरा जडान गर्न र निकाल्न एक साताको समय लाग्छ भने ट्रयापिङका लागि कम्तीमा १५ दिन राखिन्छ । यही पुस १ र २ गते औपचारिक उद्घाट्न तथा ओरियन्टेसन कार्यक्रम रहेको छ । यही पुस ३ गतेदेखि फिल्डमा गएर क्यामेरा ओछ्याउने काम सुरु हुन्छ”, वरिष्ठ इकोलोजिष्ट आचार्यले भने ।
    क्यामेरा ओछ्याउन सहजताका लागि बाघ पाइने क्षेत्रलाई सिस्टमेटिक बनाउनलाई ब्लकमा विभाजन गरिएको छ । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी मुख्य तीन ब्लकमा विभाजन गरिएको छ । हरेक ब्लकलाई फेरि क्याम्प–क्याम्पमा बाँडेर प्राविधिक कर्मचारी खटाएर क्यामेरा राख्ने काम गरिन्छ । एउटा पाटे बाघको पाटा अर्कोसँग नमिल्ने र फोटोमा कुनै द्विविधा नहुने भएकाले यस प्रविधिको गणनालाई वैज्ञानिक मानिन्छ ।

    क्यामेराबाट तथ्याङ्क आइसकेपछि निकुञ्ज विभागमै विश्लेषण र जम्मा गरी सङ्ख्या एकिन गरिन्छ । अन्तिम परिणाम आगामी जुलाई २९ अर्थात् अन्तरराष्ट्रिय बाघ दिवसका दिनसम्म प्रतिवेदन सार्वजनिक गर्ने भन्ने योजना रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताए । निकुञ्ज विभागले बाघ गणना सम्पन्न भएपछि गैँडाको पनि गणना गर्ने तयारी रहेको जनाएको छ । त्यस्तै सम्बन्धित निकुञ्जले बाघ र गैँडाको जस्तो नियमित र राष्ट्रियस्तरको नभए पनि चितवन र बर्दियामा घडियाल गोही, पर्सा र चितवनमा गौरी गाई र कोशीमा अर्नाको गणना गर्ने गरेका छन् ।

    नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?

    पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।

    उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।

    नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

    वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा समेत बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ ९क्यारिङ क्यापासिटी० र आहारा तथा बासस्थानको गुणस्तरका बारेमा समेत गहिरो अध्ययन हुनुपर्नेमा जोड दिए ।


    नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का सदस्यसचिव डा नरेश सुवेदीले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेकोे उल्लेख गर्दै बाघको उचित व्यवस्थापनमा जोड दिए । उनले भने, “वन मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा स्थानीय समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।” उनले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


    जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवान राज दाहालले भने, “अहिले नै बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।” पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

    नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर दुई सय ३५ पुगेको थियो । विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताए । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

    देशभरका खोरमा १८ समस्याग्रस्त बाघ

    बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ ।

    तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक–एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ ।

    सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा सात सय ५०, इण्डोनेसियामा चार सय, नेपालमा तीन सय ५५, थाइल्याण्डमा एक सय ८९, भुटान एक सय ५१, मलेसियामा एक सय ५०, बङ्गलादेशमा एक सय ४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् ।

  • सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौँ, १ पुस । चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।

  • रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    चितवन, १ पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेका खाली जग्गामा राखिएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो । ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो ।

    बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नुहुने छ । हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ । रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उनले बताए । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

    यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ । पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

  • एमालेको नयाँ नेतृत्वका लागि आज मतदान

    एमालेको नयाँ नेतृत्वका लागि आज मतदान

    काठमाडौँ, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

    उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

    रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए । “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ”, उनले भने, “तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।”

    अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

  • चार लेनको मादी पुल अन्तिम चरणमा

    चार लेनको मादी पुल अन्तिम चरणमा

    रासस
    दमौली (तनहुँ), १ पुस ः मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

    उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए ।


    सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनले भने, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    तीन सय १५ मिटर लामो पुलमा छवटा स्पान रहनेछ । पुलको वारिपारि दुई–दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उनले भने, “मिडल स्पान दुईवटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ ।”
    रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।

    सूचना अधिकारी पाण्डेले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काममात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँचमार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए । निर्माण कम्पनी व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माणको काम सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्नेगरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक एक सय ५० कामदार खटाइएको छ ।

    छवटा स्पानमध्ये दुईदुई स्पानको काम सकिएको र बीचको दुईवटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए । पुलको दायाँबायाँ पाँच सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उनले उल्लेख गर्नुभयो । उनले भने, “बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।” पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।

  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ, १ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २० पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ नौ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

    निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

    काठमाडौँ, १ पुस । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् ।

    सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक दलले मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छन् भन्ने मान्यता रहन्छ । संविधान प्रदत्त व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएर राजनीतिक दलले सोहीअनुसार उम्मेदवार छनोट गर्ने गरिन्छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार केही राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिएर समानुपातिकतर्फ सहभागी नभएको देखिएको छ ।

    आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि १०० राजनीतिक दलले दर्ता गराएका छन् । उनीहरूका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ । यस्तै, प्रत्यक्षतर्फ कूल ११४ राजनीतक दल दर्ता भएका छन् । आयोगले तोकेको कार्यविधि पूरागरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल र राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल चुनाव चिन्ह लिइ १२ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

    आयोगका अनुसार प्रत्यक्ष मात्रै सहभागी हुने राजनीतिक दलमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, राष्ट्रिय समुन्नति पार्टी छन् ।
    यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टी छन् । यी राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीमा भाग लिए पनि समानुपातिक निर्वाचन प्रणालीमा भने भाग नलिने भएका छन् । समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत एवं आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय दलले भने अर्को दलको निर्वाचन चिन्हमा समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेका हुन् ।

  • योजना आयोगको उपाध्यक्षमा डा श्रेष्ठ नियुक्त

    योजना आयोगको उपाध्यक्षमा डा श्रेष्ठ नियुक्त

    काठमाडौँ, १ पुस । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उनले बताए ।

  • कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

    कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

    चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन् । सोमबार सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरुले माला, अबिर लगाएर फलफूल खुवाएर हात्तीको बिदाइ गरे । हात्तीलाई आज साँझ भैरहवाका लागि पठाइने छ भने पुस २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाइने छ ।

    विदेश पठाउन लागिएका हात्तीमा सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद रहेका छन् । हात्तीसँगै माउतेहरू रुद्रकलीका बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका पचुखाँ चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालसमेत कतार जाने कार्यक्रम रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा पन्तका अनुसार दुवै जनाले कतारमा हात्तीको स्याहारसुसारका विषयमा त्यहाँका माउतेलाई तालिम दिएर फर्कने छन् ।

    नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार हात्तीलाई कतार पठाउन लागिएको हो । कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरु गएर अध्ययन गरेपछि हात्ती पठाउन लागिएको उनले जानकारी दिए । यी दुई हात्ती जन्मिएदेखि स्याहारसुसार गर्दै आउनुभएका हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरण चौधरी अहिले हात्ती विदेश पठाउन भनेपछि नरमाइलो महसुस भएको बताउँछन् । उनले भने, “सुत्केरी हुँदादेखि स्याहारसुसार गरेर, तालिम गराएर निकुञ्ज पोष्टमा पठाइएको हो । मायाँ लाग्छ । विदेश पठाउँदा नरमाइलो महसुस भइरहेको छ”, उनले भने, “माथिको आदेशअनुसार पठाउनुप¥यो । जे होस् राम्रो होस् भन्ने आफ्नो चाहना रहेको छ ।”

    रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले पनि विगत चार वर्षदेखि स्याहार हात्ती अर्को देश पठाउन लाग्दा दुःख लागेको बताए । यहाँबाट बिदाइ गरिएका हात्तीलाई ट्रकमा राखेर भैरहवा विमानस्थल पु¥याइने छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरी कतार दुतावासलाई हस्तान्तरण गरिने जनाइएको छ । कतारको दोहास्थित अलखोर पार्ककको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हात्ती प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिए ।


    यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । पन्तका अनुसार पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

    विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये छ वटाको मृत्यु भएको छ । नेपालमा हाल सरकारी तवरबाट पालिएका १०५ वटा हात्ती रहेका छन्, जसमध्ये चितवनमा ५८ वटा रहेका निकुञ्ज प्रशासनले जनाएको छ । यस्तै, नेपालमा निजी क्षेत्रबाट पालिएका ७३ वटा हात्ती छन् भने जङ्गली हात्ती ४०० भन्दा बढी भएको अनुमान गरिएको छ ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोही आधारमा कतार सरकारको कूटनीनिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।

  • एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

    एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

    काठमाडौँ, २९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ । महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । उनका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ ।

    महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए । आज साँझ ८ः३० बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए । एमाले पार्टीको नयाँ नेतृत्वका लागि भोलि पुस १ गते अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

  • सरकार र राष्ट्रियता बचाउ अभियानले गरे वार्ता टोली गठन

    सरकार र राष्ट्रियता बचाउ अभियानले गरे वार्ता टोली गठन

    काठमाडौँ, २९ मङ्सिरः सरकारसँग वार्ता गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन सदस्यीय समिति गठन गरेको छ । सो अभियानले राखेका सम्बोधन गर्न सकिने मागबारे छलफल गर्न सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेसँगै अभियानले पनि वार्ता टोली गठन गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाभियानले केन्द्रीय सचिव प्रेमदीप लिम्बूलाई वार्ता समितिका संयोजक र सदस्यहरूमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापा मगरलाई राखेको छ । विज्ञप्तिमा भनिएको छ, “आइतबार मात्रै सरकारले आगामी २ पुसमा वार्ता गर्ने भनी भनेको छ, हामीले पनि छलफलका लागि वार्ता टोलीको नाम टुङ्गो लगाएर पठाएका छौँ ।” अभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेलगायत विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

  • जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

    जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

    काठमाडौं, २९ मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गर्न आग्रह गरेका छन् । आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा मन्त्री अर्यालले भने, “हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले चाहेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।”

    जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फबाट भएको कमीकमजोरीले नै यो अवस्था सिर्जनाको भएको उनको भनाइ छ । अब पनि कुनै बहानामा जेनजीको आन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज, अवमूल्यन गर्ने होभने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न नसकिने उनले बताए । यसै आन्दोलनले गर्दा अब नवपुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने विश्वाससमेत उनले व्यक्त गरे ।

  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    काठमाडौँ, २९ मङ्सिर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छभने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

    निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

  • नेपाली शान्ति सैनिकको अदलीबदली

    नेपाली शान्ति सैनिकको अदलीबदली

    काठमाडौँ, २९ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् ।

    चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

  • कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो : गगन

    कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो : गगन

    पाटन (ललितपुर), २९ मङ्सिरः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् । नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए ।


    “कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो, तसर्थ कांग्रेसलाई हिम्मत र साथ आवश्यक छ, विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्यायो, नेपाली कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको छ, कांग्रेसले सबैलाई समेट्ने प्रयास गरेको छ”, महामन्त्री थापाले भने ।


    निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको हो भन्दै महामन्त्री थापाले कांग्रेसले राम्रो काम गरे मतदाताले आफै पछ्याउने बताए । भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको हैन भन्दै उनले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाईमा पु¥याउने जिम्मेवारी रहेको बताए ।


    “कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने छ, गल्ती कमजोरी सुधार्नुपर्ने छ”, उनले भने । विगतमा पार्टी छोडेकाहरुको पार्टी पुनरागमनले कांग्रेसले शक्ति हासिल गर्ने महामन्त्री थापाको भनाइ थियो । कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले विगतको स्थानीय चुनावमा कांग्रेसले जिल्लाभर ५६ प्रतिशत जीत हासिल गर्न सफल भएको उल्लेख गर्दै यसपटक कांग्रेसले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार र वडा नं १३ का वडाध्यक्ष गणेश केसी, सुशील सापकोटा, जितेन्द्र गजुरेललगायत कांग्रेसमा प्रवेश गरेका थिए ।