Category: समाचार

  • मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण जारी

    मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण जारी

    मुस्ताङ, १५ पुस । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ० चक्रपथ सडक निर्माण जारी छ । चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ ।

    भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत पूर्वाधार विकास कार्यालयद्वारा यहाँको मुक्तिनाथ ¬पुराङ हुँदै झोङदेखि तेताङ जोड्ने १० किलोमिटर चक्रपथ सडक योजना कार्यान्वयनमा ल्याइएको हो । यहाँस्थित मुक्तिनाथ–तेताङ जोड्ने छ मिटर चौडा वैकल्पिक सडकमार्ग विस्तार गर्न रु सात करोड एक लाख ५६ हजार लागतमा निर्माण कम्पनीले २०८१ साल साउन २९ गते यहाँको पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्न कार्यालयले २०८३ साल साउन २९ गतेसम्म निर्माण कम्पनीलाई समयावधि तोकिएको छ ।

    मुक्तिनाथ–तेताङ जोड्ने सडकको ठेक्का सम्झौता मुताविक १० किलोमिटर सडकमध्ये ६.५ किलोमिटर नयाँ खोल्ने र ३।५ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर जगदीशचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार यहाँ सडकको नयाँ ट्रयाक खोल्ने कार्य सकिएता पनि गत असोजको वर्षाले आंशिक रूपमा क्षति पुर्याएकाले उक्त स्थानमा सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ ।

    वारागुङ मुक्तिक्षेत्रको वडा १, २, ३ र ४ वडालाई चत्रपथ सडकले जोड्नेगरी मुक्तिनाथ सडक स्तरोन्नति कार्य भइरहेको सबइन्जिनियर जोशीले जानकारी दिए । उनका अनुसार यहाँको मुक्तिनाथ–तेताङ सडक योजनाको ३९ प्रतिशत भौतिक प्रगति हुँदा वित्तीय प्रगति २८.५८ प्रतिशत छ । हालसम्म निर्माण कम्पनीले रु दुई करोड ५६ हजार भुक्तानी लगिसकेको छ ।

    प्रादेश सरकारद्वारा अघि बढाइएको मुक्तिनाथ–तेताङ सडक स्तरोन्नति पूरा भएमा माथिल्लो मुस्ताङका स्थानीय नागरिक तथा पर्यटक कागबेनी झरेर खिङ्गा हुँदै मुक्तिनाथ जानु नपर्ने जनाइएको छ । छुसाङदेखि माथिल्लो भेगका नागरिक मुक्तिनाथ जानुपरेमा छुसाङबाट तेताङ हुँदै वैकल्पिक चक्रपथ सडक प्रयोग गरेर मुक्तिनाथ जान सजिलो हुने यसबाट माथिल्लो मुस्ताङबाट मुक्तिनाथ जाने पर्यटक तथा स्थानीय नागरिकहरूका लागि दूरीमा छोटिने बताइएको छ । यो सडक सम्पन्न भएपछि वारागुङ मुक्ति क्षेत्रको छेङ्गुर, झोङ, पुडाक र तेताङ गाउँका स्थानीय नागरिकलाई यातायात आवागमनमा निकै सहज हुनेछ ।

    राससबाट

  • शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

    शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

    पाम बीच (फ्लोरिडा), १५ पुस (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गरेका छन् । यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध अझै लम्बिन सक्ने चिन्ता पनि व्यक्त गरे । राष्ट्रपति ट्रम्पले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब अढाई घण्टा लामो ‘उत्कृष्ट’ फोन वार्ता भएको जानकारी दिए । सोही पृष्ठभूमिमा जेलेन्स्कीसँग प्रत्यक्ष भेटपछि ट्रम्पले पुटिन अझै पनि शान्ति चाहन्छन् भन्ने आफ्नो विश्वास दोहोर्‍याए । यद्यपि युक्रेनमा रुसी आक्रमणहरू जारी नै छन् ।

    संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘रुस युक्रेनलाई सफल देख्न चाहन्छ’ भन्दै जेलेन्स्कीको ‘साहस’ को खुलेर प्रशंसा गरे । विशेष गरी रुसले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको भविष्य र भविष्यमा युक्रेनमाथि फेरि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने सुरक्षा ग्यारेन्टीका विषयमा दुवै नेताले शान्ति प्रक्रियामा अझै कठिन प्रश्नहरू बाँकी रहेको स्वीकार गरे । वार्तापछि ट्रम्प र जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसहित फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूसँग सामूहिक छलफल गरे । जेलेन्स्कीका अनुसार राष्ट्रपति ट्रम्पले सम्भवतः जनवरीमा युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा पुनः आमन्त्रण गर्न सहमति जनाएका छन् । बैठक वासिङ्टन वा अन्य कुनै स्थानमा हुन सक्ने ट्रम्पले बताए ।


    जेलेन्स्कीले शान्तिका लागि अमेरिकाको प्रयासप्रति धन्यवाद दिँदै ‘युक्रेन शान्तिका लागि तयार छ’ भने । भेटपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनसँग पुनः फोन वार्ता गर्ने योजना रहेको जानकारी दिए । पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभका अनुसार आइतबार भएको ट्रम्प–पुटिन वार्ता अमेरिकी पक्षको पहलमा भएको र ‘मैत्रीपूर्ण तथा व्यावहारिक’ रहेको थियो । जेलेन्स्कीसँगको भेटपछि ट्रम्प र पुटिन ‘तुरुन्तै’ फेरि कुरा गर्न सहमत भएको उशाकोभले बताए । तर उशाकोभले पूर्वी युक्रेनको डोनबास क्षेत्रलगायत विषयमा शत्रुताको पूर्ण अन्त्यका लागि किएभबाट ‘साहसी र जिम्मेवार राजनीतिक निर्णय’ आवश्यक पर्ने धारणा राखे । दुवै पक्षका अनुसार डोनबास क्षेत्रको भविष्य नै अहिलेको सबैभन्दा ठूलो अड्चन हो ।

    राष्ट्रपति ट्रम्पले सम्झौता नजिकिएको दाबी गर्दै भने, “यो निकै कठिन मुद्दा हो तर समाधान सम्भव छ ।” जेलेन्स्कीले पनि यो विषयमा युक्रेन र रुसबीच गहिरो मतभेद रहेको स्पष्ट पारे । यसबीच, जेलेन्स्की अमेरिका भ्रमणमा रहँदा पनि युक्रेनमा आक्रमण जारी रहे तापनि राष्ट्रपति ट्रम्पले पुटिन युद्ध अन्त्यप्रति ‘गम्भीर’ रहेको विश्वास आफूलाई अझै रहेको बताए । उनले वार्ता असफल हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्नुभएन र ‘केही हप्ताभित्र स्थिति स्पष्ट हुनेछ’ भने ।

    हालैका हप्ताहरूमा अमेरिकी शीर्ष वार्ताकारहरूले शान्ति योजनाका मस्यौदामा उल्लेखनीय प्रगति गरेको ट्रम्प–जेलेन्स्की भेटले देखाएको छ । जेलेन्स्कीका अनुसार करिब २० बुँदे प्रस्ताव ‘करिब ९० प्रतिशत तयार’ भइसकेको छ । अमेरिकाले युक्रेनलाई केही नाटो–जस्तै सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ, जसको साटो युक्रेनले नाटो सदस्यता प्रयास स्थगित गर्न तयार रहेको सङ्केत गरेको छ ।

    रुसतर्फबाट राष्ट्रपति पुटिनले कब्जा गरिएका चार क्षेत्र र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याउँदै आउनुभएको छ । साथै, युक्रेनले नाटोमा सामेल हुने प्रयास त्याग्नुपर्ने, सेनाको आकार सीमित गर्नुपर्ने र रूसी भाषालाई आधिकारिक मान्यता दिनुपर्ने जस्ता शर्तहरू पनि राखिएका छन् । किएभले यी मागहरू सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ । क्रेमलिनले शान्ति सम्झौता सजिलै नटुङ्गिने चेतावनी दिँदै वार्ता लामो समय लिन सक्ने सङ्केत गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्प भने युक्रेन र रुसबीच युद्ध अन्त्यको सम्भावना अझै जीवित रहेको र प्रयास जारी रहनेमा आशावादी देखिन्छन् ।

  • प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?

    प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?

    १५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक तर्फका उम्मेदवारमा सबै नयाँ अनुहारले अवसर पाएका छन् । पार्टीले यसअघि संघ र प्रदेशमा सांसद बनिसकेकाहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति सार्वजनिक गरेको थियो । सोही अनुसार नेकपाको सूचीमा सबै नयाँ अनुहार छन् । यो पार्टीको खर्स आर्यको महिलातर्फ करुणा बस्नेत र पुरुषमा प्रमेश हमाल पहिलो नम्बरमा छन् । आदिवासी जनजाति दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति, मंगलसिंह प्रजालगायत छन् ।

    मधेशीतर्फ तारा महतो, रामसखी देवी, जगिकुमार बरबरिया यादव, सुरेन्द्रकुमार जयसवाल लगायत छन् । दलिततर्फ गीता गहतराज, पार्वती विक, गणेशबहादुर विश्वकर्मा, डा।मित्र परियार लगायत छन् । थारु समुदायबाट निशा चौधरी, अञ्जु दहित, भवनकुमार थारु, रामअवतार थारु लगायतको नाम माथिल्लो क्रममा छ । यसैगरी मुस्लिमतर्फ केसर जहा भन्ने सकिना मुस्लिम, जरिना बेगम जार्मिया खातुन, कमरुल नशा, ताज मोहम्मद मियाँको नाम छ ।

    खस आर्य (महिला)

    करुणा बस्नेत

    उमा अधिकारी

    सीता दाहाल

    पञ्चा सिंह

    निशा न्यौपाने

    कमला नहर्की

    गंगा खड्का बोगटी

    निर्मला साउद

    दिलकुमारी पन्त

    मञ्जु कोइराला

    उषाकुमारी पोख्रेल

    भगवती नेपाल

    इन्दिरा ढुंगाना

    जयानन्द कार्की रावल

    ज्ञानु आचार्य

    यमुना गुरागाईं

    सावित्री पोखरेल

    खस आर्य

    प्रमेशकुमार हमाल

    महेन्द्रबहादुर कार्की

    प्रेम बयक

    नहेन्द्र खड्का

    जितेन्द्र दाहाल

    सुजाता काफ्ले

    डम्बरबहादुर क्षेत्री

    विनोद कटुवाल

    राममणी पोख्रेल

    तीर्थबहादुर बुढा

    विष्णु लम्साल

    भीमबहादुर भण्डारी

    कृष्णबहादुर बुढा

    गोविन्दराज पौडेल

    विष्णुप्रसाद खनाल

    आदिवासी जनजाति

    दिपक जंगम

    भिमकुमारी बुढा

    सोमती गुरुङ

    सर्मिली लामा

    ममता राजवंशी

    अञ्जिता श्रेष्ठ

    विष्णुकुमारी थापामगर

    मेनुका थुलुङ

    सुनिता बुढामगर

    निर्मला श्रेष्ठ

    रामदेवी तामाङ

    सुनिता घले

    सीता श्रेष्ठ

    सोनम लामा शाक्य

    नलिनी सिं

    सविता तामाङ

    जमुना गइजु

    कल्पना लिम्बु

    परशुराम तामाङ

    दिलिप प्रजापती

    झक्कुप्रसाद घर्ती

    कृष्णकुमार राई

    बेखानसिंह तमु

    पासाङ शेर्पा

    भरतकुमार श्रेष्ठ

    वीरबहादुर बुढाथोकी

    दंगध्वज खोयाहाङ

    शेरबहादुर तामाङ

    मंगलसिंह प्रजा

    जेतबहादुर पुन

    रुकुम पाख्रिन

    रहलसिंह तामाङ

    डा.पुष्पराज कर्णिकार

    मधेशी

    तारा महतो

    रामसखी देवी

    सुनितादेवी यादव

    पुर्णा बुढा झा

    जयरानी सहनी

    पुनम जैसवाल

    संगीतादेवी यादव

    सुधा सिं

    कल्पनाकुमारी यादव

    जगिकुमार बरबरिया यादव

    सुरेन्द्रकुमार जयसवाल

    घनश्यामप्रसाद रजक

    किसुन मण्डल

    श्रीप्रसाद साह

    कमलराय यादव

    छेदी रजक

    अभिमन्यु यादव

    अरविन्द दास

    दलित

    गीता गहतराज

    पार्वती विक

    विनिता विक

    रेखा राम

    शारदा दमै

    तारा विश्वकर्मा

    सुमरियादेवी पासवान

    कमला ज्ञवाली सिर्पाइली

    गणेशबहादुर विश्वकर्मा

    डा।मित्र परियार

    शरद रसाईली

    शंकर दुलाल

    ठाकुरकुमार विक

    कृष्ण नेपाली

    गोपाल परियार

    थारु

    निशा चौधरी

    अञ्जु दहित

    सस्मति चौधरी

    उषाकुमारी चौधरी

    भवनकुमार थारु

    रामअवतार थारु

    लक्षबहादुर चौधरी

    मुस्लिम

    केसर जहा भन्ने सकिना मुस्लिम

    जरिना वेगम

    जार्मिया खातुन

    कमरुल नशा

    ताज मोहम्मद मियाँ

  • निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा

    निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा

    काठमाडौँ, १५ पुस ः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

    त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ ।

    त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

  • रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति

    रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति

    १४ पुस, कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीच त्रिपक्षीय सहमति भएको छ । सहमति पत्रमा लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । साक्षी बालेन बसेका छन् । सहमति अनुसार जेन जी आन्दोलनलाई आत्मसाथ गर्ने उल्लेख छ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने भएको छ । चुनाव चिन्ह समेत घण्टी नै रहने छ । पार्टीको अध्यक्षमा रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले गरी तीन जना हुने छन् ।

  • नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

    नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

    काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो ।

    पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।

    पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ । साथै अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ । नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ ।

    एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची बुझाउने आज अन्तिम दिन पार्टीले बन्दसूची बुझाएको जनाएको छ ।

  • पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

    पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

    काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिए । उनका अनुसार यसरी उम्मेद्वारको नामावली पठाउँदा एक निर्वाचन क्षेत्रबाट एक जना महिला उम्मेद्वारसहित कम्तीमा तीन जनाको नाम पठाउन भनिएको छ ।

    “एक निर्वाचन क्षेत्र भएका जिल्लालाई पुस २० गतेभित्र छनोट गरी प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएका छौँ”, उनले भने, “एकभन्दा बढी निर्वाचन क्षेत्र भएकालाई पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी जिल्ला कमिटीबाट पठाइएका नामावली पठाउन भनेका छौँ ।” जिल्ला कमिटीबाट आएका उम्मेद्वारको सूचीलाई प्रदेश कमिटीले जस्ताको तस्तै पठाउन पनि सक्ने र नाम थप गरेर पनि पठाउन सक्ने पार्टी सचिव डा भट्टराईले जानकारी दिए ।

    पार्टीले एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा जिल्ला कमिटीको सिफारिस र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय निर्वाचन कमिटीले एक महिलासहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न भनिएको छ । तल्लो तहबाट आएका उम्मेद्वारमध्ये मापदण्डका आधारमा निर्वाचन जित्ने उम्मेद्वारलाई पार्टीले टिकट दिने सचिव डा भट्टराईले जानकारी दिए ।

  • रन्जिता श्रेष्ठको पार्टी प्रचण्डको नेकपामा समाहित

    रन्जिता श्रेष्ठको पार्टी प्रचण्डको नेकपामा समाहित

    १४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ । नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा नै रहनेछ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरे ।


    एकीकरणपछि दुवै पार्टीका तिनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । यससँगै प्रचण्डले कुल १७ घटकलाई समेटेर एक दल बनाएका छन् । निर्वाचन नजिकिएसँगै यतिबेला दलहरुबीच एकीकरणको तिव्र लहर चलेको छ ।

  • अन्ततः कुलमान पनि रास्वपामा

    अन्ततः कुलमान पनि रास्वपामा

    १४ पुस, काठमाडौं । अन्ततः कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुने भएका छन् । उनलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति जुटेको हो । आजै सहमति पत्रमा हस्ताक्षरको तयारी छ । १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने गरी सहमति जुटेको छ । यसअघि पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी सहमति जुटेको छ । आज जेनजी अगुवा सुधन गुरुङको पहलमा सो सहमति जुटेको हो ।

  • मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङ, १४ पुस । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो ।

    हालसम्म तन्तु प्रजनन प्रविधिबाट नेपालमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाईब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादनको परीक्षणका लागि बिरुवा उत्पादनतर्फ जोड दिन थालेको हो । नेपालका विभिन्न स्थानमा विभिन्न फलफूलको बिरुवा उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशाला प्रयोगमा रहेपनि यहाँको केन्द्रले यसप्रकारको हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादनका लागि प्रयोगशालामार्फत एम नाईन रुट स्टक बिरुवाका लागि बीउ उत्पादन गर्न थालेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूले जानकारी दिनुभयो ।

    यसप्रकारको हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा प्रयास गरिएको भए पनि यहाँको केन्द्रको तुलनामा प्रशारण र विकास गर्न नसकेको उहाँको भनाइ छ ।

    यहाँस्थित मुस्ताङको घरपझोङ—२ मार्फास्थित केन्द्रमा २०७८ मा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन प्रयोगशालामार्फत हाईब्रिड स्याउको प्रविधि प्रशारणतर्फ काम गर्दैआइरहेको केन्द्रका जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो । त्यस अवधिमा केन्द्रले प्रविधिको उपयोग गरी विभिन्न प्रोटोकलको विकास गरिहेको उहाँको भनाइ छ ।

    यसका अलावा यहाँको केन्द्रले तन्तु प्रजनन प्रयोगशाला प्रविधिलाई पछ्याउँदै फिल्डमा पनि दिशानिर्देशको रुपमा काम गर्दै हाईब्रिड स्याउ बिरुवा उत्पादनको व्यवस्थापनमा जान सकिने निष्कर्षका साथ प्रयोगशालामार्फत बीउ उत्पादन गरी स्याउका एम नाईन रुट स्टक बिरुवा उत्पादनतर्फ अग्रसरता देखाएको अधिकृत लिम्बूको भनाइ छ ।

    यहाँस्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसवर्ष केन्द्रको नाममा रहेको मुस्ताङको घाँसामा एक रोपनी र केन्द्रको मार्फास्थित एक रोपनी जग्गामा तन्तु प्रजजन प्रयोगशालामा प्रशारण भएका करिब ६००० हाईब्रिड एम नाईन रुट स्टक स्याउका कलमी बिरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको अधिकृत लिम्बूले जानकारी दिनुभयो ।

    यसैगरी केन्द्रले आव २०८०÷८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय बिरुवा उत्पादन भइसकेको र यो परीक्षणको रुपमा रहेको जानकारी दिनुभयो । यसका लागि किसानलाई वितरण गर्नुअघि केन्द्रले पर्याप्त अध्ययन अनुसन्धान गर्ने तयारी गरेको बताउनुभयो । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो ।

    केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार नहुुँदा सीमित मात्रामा बिरुवा उत्पादन गर्न थालेको छ । केन्द्रमा पर्याप्त मात्रामा सिसा घर ९हाईटेक० भएमा तन्तु प्रजनन प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको अधिकृत लिम्बूले बताउनुभयो ।

    यसवर्षको दोस्रो फेजमा यहाँ जेठ महिनाबाट प्रयोगशालामा बिरुवा उत्पादनका लागि विभिन्न प्रोटोकल अपनाएर बीउ उत्पादन गरी रोपण गर्न थालिएको हो । मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा आफ्नो उत्पादन सुरु गरेको केन्द्रले यहाँको उच्च उचाई, मध्यम उचाई र न्यून उचाईको स्थानमा लगेर परीक्षण आरम्भ गर्ने तयारी गरिएको हो । केन्द्रले यसअघि उत्पादन गरेका एम नाईन रुट स्टक बिरुवामा गाला,फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउलाई रुट स्टक गरिसकेको र त्यसको परीक्षण हुन बाँकी रहेको अधिकृत लिम्बूले उल्लेख गर्नुभयो ।

    यहाँस्थित केन्द्रमा रहेको यस प्रकारको तन्तु प्रजनन प्रविधि प्रयोगशाला ९ल्याबमा एम नाईन रुट स्टकको एक अंशलाई ल्याबमा राख्ने र त्यसपछि विभिन्न विधि अपनाएर बिरुवाका लागि बिउ उत्पादन गर्ने गरिन्छ । यसप्रकारको प्रविधिबाट बृहत रुपमा तन्तु प्रजनन प्रविधिको प्रशारण गरी गुणस्तरीय तथा आनुवशिंक रुपमा चुस्त एकैनासको बिरुवा उत्पादन गर्न सकिन्छ ।

    जिल्लामा विसं २०७० पछि उच्चघनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको हो । थोरै क्षेत्रफलमा धेरै र छोटो समयमा सोचे अनुरुपमा उत्पादन दिने भएकाले यहाँका किसान यसप्रकारको हाईब्रिड स्याउ खेतीतर्फको आकर्षण बढेको हो । यहाँ ईटालीबाट आयात गरिएका हाईब्रिड स्याउलाई सङ्घीय र प्रादेशिक सरकारले अनुदान सहुलियतमा वितरण गरेपछि मुस्ताङमा हाईब्रिडखेती विस्तार भएको हो ।

    केन्द्रले आफ्नो प्रविधिको प्रशारण गरी हाईब्रिड स्याउका बिरुवा उत्पादन गरेमा हाईब्रिड स्याउका बिरुवा भनेको बेलामा सस्तो मूल्यमा उपलब्ध हुनसक्ने सुनिश्चितता रहेको केन्द्रले जनाएको छ । ईटालीबाट आयात गरिएको हाईब्रिड एउँटै रुट स्टक बिरुवको एक हजार बढी मूल्य पर्छ ।

    यहाँ उत्पादन हुने एक नाईन रुट स्टक बिरुवमा विभिन्न प्रजातीका स्याउको कलमी गर्न सकिने छ । मुस्ताङमा ८३७ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । जसमध्ये ५७२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । यहाँको पाँच पालिकामा गरी ६२ हेक्टर क्षेत्रफलमा २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भएको थियो ।
    रासस

  • म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

    म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन

    याङ्गुन, १४ पुस (रासस–एपी) । म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आइतबार मतदान सुरु भएको छ । तर देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन सुरुदेखि नै विवादको घेरामा परेको छ । तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ । पहिलो चरणमा देशका ३३० मध्ये १०२ स्थानमा मतदान भइरहेको छ । दोस्रो चरण जनवरी ११ र तेस्रो चरण जनवरी २५ मा हुने तय भएको छ । निर्वाचनको अन्तिम नतिजा फेब्रुअरीसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

    सत्ता कब्जापछि निरङ्कुश शासन चलाउँदै आएका वरिष्ठ जनरल मिन आङ ह्लाइङले निर्वाचनपछि राष्ट्रपति पद सम्हाल्ने व्यापक अनुमान गरिएको छ । सैनिक सरकारले निर्वाचनलाई ‘चुनावी लोकतन्त्रतर्फ फर्कने प्रक्रिया’ का रूपमा चित्रण गरे पनि प्रमुख विपक्षी दलहरूलाई प्रतिबन्ध लगाइएको र मतदातालाई डर–धम्की दिइएको आरोपले यसको वैधानिकता कमजोर बनाएको छ ।

    राष्ट्रिय तथा क्षेत्रीय विधानसभाका लागि ५७ दलबाट चार हजार ८०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । तर देशव्यापी रूपमा प्रभाव जमाउने सम्भावना भएका दलहरू सीमित छन् । सेनाको समर्थन प्राप्त युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी सबैभन्दा सङ्गठित र बलियो प्रतिस्पर्धी मानिएको छ । आलोचकहरूले यो निर्वाचनलाई सैन्य शासनलाई वैधानिकता दिन गरिएको ‘ढोङ’ भनेका छन् । फेब्रुअरी २०२१ मा निर्वाचित प्रधानमन्त्री आङ सान सुकीको सरकार अपदस्थ गरेपछि सुरु भएको सैन्य शासनलाई नागरिक शासनको आवरण दिन निर्वाचन डिजाइन गरिएको उनीहरूको आरोप छ । सन् २०२० को चुनावमा नेसनल लिग फर डेमोक्रेसीले ठूलो जित हासिल गरे पनि सुकी र उनको दललाई पुनः सत्तामा आउनबाट रोकिएको थियो ।

    विपक्षी दलहरूको बहिष्कार, अभिव्यक्ति स्वतन्त्रतामाथिको कडाइ र दमनको वातावरणका कारण नतिजामा जनइच्छाको प्रतिबिम्ब नदेखिने उनीहरूको तर्क छ । संयुक्त राष्ट्रसङ्घका लागि म्यान्मासम्बन्धी मानव अधिकार विज्ञ टम एन्ड्रुजले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “नागरिक र राजनीतिक नेताहरूलाई जेल हाल्दै बन्दुकको डरमा गराइएको प्रक्रिया निर्वाचन होइन, नाटक मात्र हो ।”

    यद्यपि, निर्वाचन आयोजनाले चीन, भारत र थाइल्यान्डजस्ता छिमेकी देशलाई सैनिक सरकारलाई समर्थन जारी राख्न कूटनीतिक बहाना दिन सक्ने विश्लेषकहरूको भनाइ छ । पश्चिमी मुलुकहरूले भने म्यान्माका जनरलहरूमाथि प्रजातन्त्रविरोधी कदम र विपक्षमाथिको दमनका कारण प्रतिबन्ध कायमै राखेका छन् । मतदानका दिन नागरिकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । याङ्गुनको एक मतदान केन्द्रमा मत हालेकी ५१ वर्षीया खिन मार्लरले शान्ति आउने आशामा मतदान गरेको बताइन् । लडाइँका कारण गाउँ छाड्नुपरेको उल्लेख गर्दै उनले भनिन्, “शान्ति भएपछि गाउँ फर्कने आशाले मतदान गरिरहेकी छु ।”

    तर केही मतदाताले सेनाको दबाब महसुस गरेको बताएका छन् । मोन राज्यकी एक महिलाले सैनिकहरूले बन्दुकसहित गाउँमा आएर मतदान गर्न दबाब दिएको दाबी गरिन् । मानव अधिकार समूहहरूका अनुसार यस्ता धम्कीका घटनाहरू मतदानअघि नै देखिएका थिए । असी वर्षीया पूर्व नेत्री आङ सान सुकी हाल २७ वर्षको जेल सजाय भोगिरहेकी छिन् । उनको दल नेसनल लिग फर डेमोक्रेसी नयाँ सैन्य नियमअनुसार दर्ता गर्न अस्वीकार गरेपछि सन् २०२३ मा विघटन गरिएको थियो । अन्य धेरै दलहरूले पनि निर्वाचन बहिष्कार गरेका छन् ।

    सन् २०२१ देखि हालसम्म २२ हजारभन्दा बढी व्यक्ति राजनीतिक कारणले हिरासतमा छन् भने सात हजार ६०० भन्दा बढी सर्वसाधारण सुरक्षा बलद्वारा मारिएको तथ्याङ्क सार्वजनिक छ । गृहयुद्धका कारण ३६ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । यस्तो अवस्थामा पनि शक्ति अन्ततः जनरल मिन आङ ह्लाइङकै हातमा रहने विश्वास दुवै पक्षमा देखिन्छ ।

  • बङ्गलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन

    बङ्गलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन

    ढाका, १४ पुस (रासस–एएफपी) । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक सङ्गठन (एनसिपी) सँग सिट बाँडफाँडका लागि सम्झौताको घोषणा गरेको छ । केही विद्यार्थी नेताहरूले गठबन्धनको विरोध गरेका छन् । सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट जमात–ए–इस्लामीले बहुमत ल्याउने र सरकारको नेतृत्व लिन तम्तयार बनेको देखिन्छ ।

    पूवै पूधानमन्त्री हसिनाको १५ वर्षे निरंकुश शासनमा दबाइएका इस्लामिक आन्दोलनहरू उहाँको पतनपछि पुनः सङ्गठित भएका छन् र जमातले फेब्रुअरी १२ को मतदानलाई दशकौँको सबैभन्दा ठूलो अवसरको रूपमा हेरेको पाइन्छ । आइतबार जमातले लामो वार्तापछि विद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टीसँग सम्झौता गरेको बताएको छ, जसमा एनसिपीका केही सदस्यहरूले यस कदमको विरोधसमेत गरेका छन् । जमातका नेता शफिकुर रहमानले सानो लिबरल डेमोक्र्याटिक पार्टीसँग छुट्टै सम्झौताको घोषणा गरेका छन् ।


    उनले भने, “हामी गठबन्धनमा आठ दल थियौँ । अहिले दुई नयाँ दल हामीमा आएका छन्।” जमातको नेतृत्वमा रहेको गठबन्धनमा इस्लामिक धर्मप्रति विशेष वफादार राजनीतिक दलहरूको प्रभुत्व छ, जसमध्ये अधिकांशले अघिल्लो संसद्हरूमा थोरै मात्र सिट जित्न सफल भएका थिए । करिब १७ करोड जनसङ्ख्या भएको बहुसङ्ख्यक मुस्लिम राष्ट्र बङ्गलादेशमा सन् २०२४ को विद्रोहपछि देशमा राजनीतिक अस्तव्यस्तताको अवस्था रहेको छ। इस्लामवादी शक्तिहरूको पुनरुत्थानले जनसङ्ख्याको १० प्रतिशत भन्दा कम रहेको सुफी मुस्लिम र हिन्दूसहितका समूहमा चिन्ता पैदा गरेको छ।

    कट्टरपन्थी इस्लामिक समूहहरूले सङ्गीत र नाटक महोत्सव, महिला फुटबल खेल र चङ्गा उडाउने उत्सवसहित सांस्कृतिक गतिविधिहरूमा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् । जमातसँग गठबन्धन हुनुअघि एनसिपीका कम्तीमा ३० जना सदस्यले पार्टी प्रमुख नाहिद इस्लामलाई पत्र लेख्दै सहमतिको विरोध गरेका थिए । शनिबार एक पत्रमा उनीहरूले एनसिपीको विचारधारा र लोकतान्त्रिक मूल्यहरूप्रति उसको प्रतिबद्धता जमातको भन्दा भिन्न रहेको बताएका छन् ।

    एनसिपीको टिकटमा चुनाव लड्न खोजेकी तस्नीम जाराले शनिबार पार्टीबाट राजीनामा दिनुभएको छ भने आइतबार अर्का आकाङ्क्षी उम्मेदवार तस्नुवा जाबिनले पनि राजीनामा दिएका छन् । पार्टीकी वरिष्ठ नेता सामन्था शर्मिनले आइतबार एक सामाजिक सञ्जालमा लेखेका छन्, “इस्लामवादीहरूसँगको गठबन्धनका लागि पार्टीले ठूलो मूल्य चुकाउनु पर्नेछ।” लोकतान्त्रिक, समतामूलक र जनमुखी हुने मध्यमार्गी राजनीतिको वाचा गर्दै गत मार्चमा एनसिपीको गठन भएको थियो ।

    पार्टीले जमातसँगको गठबन्धनको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन। हसिनाको अवामी लिगलाई निर्वाचनमा सहभागी हुनबाट प्रतिबन्ध लगाएपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले चुनाव जित्ने अनुमान गरिएको छ । बिएनपीका कार्यबाहक अध्यक्ष तारिक रहमान १७ वर्ष बेलायतमा निर्वासनमा बसेर बिहीबार स्वदेश फर्किएपछि उनको दलमा ऊर्जा पुगेको देखिएको छ ।

  • प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो

    प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो

    चन्द्रपुर (रौतहट), १४ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् ।

    विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान केन्द्र रहेकोमा यसवर्ष १८ वटा थपिएर पाँच सय ४१ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसैगरी विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा दुई सय ७६ वटा मतदानस्थल कायम रहेकोमा यसवर्ष एउटा स्थल थपेर दुई सय ७७ वटास्थल कायम गरेको उनले बताए । उनका अनुसार गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको हो । जिल्लामा २१ हजार एक सय ५६ जना मतदाता थपिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६ सय ११ जना मतदाता रहेका छन् । मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको कार्यालय प्रमुख दासले जानकारी दिएका छन् । विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ जना मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् यसमा एक सय ५७ वटा वडा रहेका छन् ।

    विसं २०७९ को निर्वाचनमा क्षेत्र नंं १ बाट तत्कालीन नेकपा एसको तर्फबाट माधवकुमार नेपाल, क्षेत्र नं २ बाट स्वतन्त्र किरण साह, क्षेत्र नं ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए । निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ मतदातामध्ये दुई लाख ८२ हजार चार सय ३० मतदाताले मतदान गरेका थिए ।

  • प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

    प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

    टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिए । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ हजार नौ सय ७७ र एक अन्य मतदाता रहेको उनले जानकारी दिए ।


    निर्वाचन कार्यालयको विवरण अनुसार जिल्लाको पालिका अनुसारको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । स्थानीय तह अनुसार भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ जना, षडानन्द नगरपालिका– २१ हजार आठ सय ९६, अरुण गाउँपालिका– १२ हजार छ सय ४३, आमचोक गाउँपालिका– १२ हजार चार सय ४४, पौवादुङमा गाउँपालिका– १० हजार छ सय ६३, टेम्केमैयुङ गाउँपालिका– १३ हजार पाँच सय ५७ मतदाता कायम छन् ।

    यस्तै रामप्रसाद राई गाउँपालिका– ११ हजार नौ सय, साल्पासिलिछो गाउँपालिका– आठ हजार सात सय २४ र हतुवागढी गाउँपालिका १३ हजार सात सय ५० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख सुवेदीले बताए । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी गरिरहेको प्रमुख सुवेदीले जानकारी दिए ।

  • प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

    प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

    काठमाडौँ, १४ पुसः निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।

    यसैगरी ढुवानी रु १० हजार, गोष्ठी अन्तरक्रियाका लागि रु एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च रु १४ हजार ५०० खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन रु ७० हजार, प्रतिनिधि परिचालन रु ३० हजार र विविध शीर्षकमा रु ३० हजार खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

    उम्मेद्वारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।

  • रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेन–रवि सहमति अनुमोदन

    रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेन–रवि सहमति अनुमोदन

    काठमाडौँ, १४ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ ।

    रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    बैठकले राष्ट्र हितका लागि बृहद् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकको व्याप्त भ्रष्टाचार, बेतिथि र सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने निर्णय गरेको छ ।

  • जसपा नेपाल र लोसपा, नेपालबीच पार्टी एकताको समझदारी

    जसपा नेपाल र लोसपा, नेपालबीच पार्टी एकताको समझदारी

    काठमाडौँ, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । आज जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीको संयुक्त बैठकले एकताको सहमति गरेको हो ।

    देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतको अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात् गरी जसपा, नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण गर्ने निर्णय गरियो ।”

  • एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने

    एमालेले समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने

    काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि सामानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउने निर्णय गरेको एमालका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिए ।

    उनका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिकतर्फ उम्मेदवार बन्द सूचीलाई नै अन्तिम रुप दिएर आयोगमा बुझाउने छ । उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेस गरिएको समानुपातिकतर्फको बन्द सूचीका विषयमा छलफल भएको बताए । निर्वाचन आयोगले सोमबारसम्म निर्वाचनमा भाग लिने दललाई समानुपातिकतर्फको बन्द सूची बुझाउने समय तोकेको छ ।

    “अध्यक्ष ओलीले आज पेस गरेको बन्द सूचीबारे छलफल गरी पारित गरिएको छ । अध्यक्ष ओलीले आवश्यक ठानेमा बन्द सूचीलाई सच्चाएर आयोगमा पठाउने निर्णय गरिएको छ”, उनले भने । बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रत्याभूति सरकारले अझै बनाउन नसकेको बताए । उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले पार्टीको जनवर्गीय सङ्गठन नेशनल भोलिन्टियर्स फोर्स प्रत्येक बुथमा राख्नुपर्नेमा जोड दिए । पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।

  • बालेन–रवि सहमतिको प्रभाव : नेप्से परिसूचक ४७ अङ्क बढ्यो

    बालेन–रवि सहमतिको प्रभाव : नेप्से परिसूचक ४७ अङ्क बढ्यो

    काठमाडौँ, १३ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।

    मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको रू २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ । आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता गर्ने सहमति भएको थियो । जसलाई शेयर लगानीकर्ताले सकारात्मक रुपमा लिएको सन्देश आजको कारोबारले गरेको छ ।

  • रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

    रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

    रसुवा, १३ पुस : छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको जानकारी दिए ।

    गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए ।

    ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व रू २० अर्ब नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए । ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो ।

  • सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

    सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

    पोखरा, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए ।

    उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्र्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।

  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    आज पनि बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ, १३ पुस । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
    आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    दुवै धातुको मूल्य हालसम्मको उच्च हो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

    चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

    गाईघाट (उदयपुर), १३ पुस । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्धवृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताए ।

    जोगीदह हाडखोलाका कृष्णदेव चौधरी भन्छन्, “तीन दिनदेखि लगातार शीतलहर चलिरहेको छ, गाउँघरका बूढापाका सबै घर बाहिर निस्कन सकेका छैनन्, घरमै घुर तापेर बस्नु परेको छ ।” उनका अनुसार चिसो बढेका कारण आफूहरू पनि खेतबारी, वनजङ्गल घाँसदाउरा गर्नसमेत नसकिएको कारण गाईवस्तुलाई घाँस समस्या परेको छ । चिसोको कारण विद्यालय जाने साना नानीहरू विद्यालय जान नसकेका मोथ्याईका रामकृष्ण राजधामीले बताए ।

    सत्यदेवी मावि भुल्केका शिक्षिका सम्झना आचार्यका अनुसार चिसो बढेसँगै विद्यालयमा कक्षा ५ भन्दामुनिका नानीहरूको उपस्थिति न्यून हुँदै गएको छ । यस्तै चिसोको कारण साना कक्षा १ २, ३ मा अध्ययनरत बालबालिका विद्यालय उपस्थित हुन छाडेका कारण साना कक्षामा विद्यार्थी उपस्थिति हुन छाडेको जनता आधारभूत विद्यालय असारीका शिक्षक कृष्ण दनुवारले बताए । चिसोको कारण मानिसको आवत जावतमा कमी भएको छभने जङ्गल घाँसदाउरा जाने कार्य पनि प्रभावित भएको छ । घामसमेत देख्न नपाइएको त्रियुगा नगरपालिका–२ खैजनपुरका स्थानीय रमेश कार्कीले गुनासो गरे ।

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    म्याग्दी, १३ पुस । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् ।

    धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएका बताए । तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँचमार्ग निर्माण गरिसकेका छन् । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । खानी उत्खननका लागि अध्ययन थालिएकामा मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताए ।


    उनका अनुसार मच्छिमको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामा खानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउहरू देख्न सकिन्छ । तामाखानीको सुरुङ छन् । पहाडमा तामा रसाएको देख्न सकिन्छ ।

    स्थानीयवासीले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त खानीबाट निकालेको तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा तयार पार्ने गरिन्थ्यो । खानीको तामाले बनाएका भाँडा स्थानीयले घरमा सजाएर राखेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए ।

    उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहानहरु (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । मच्छिमको साथै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगङ्गाको ठाडाखानी, कुइनेखानी र मङ्गलेखानीमा तामाखानी छन् । धवलागिरिको नर्जा, मालिकाको रुम, डाँडागाउँ, निस्कोटमा स्लेट ढुङ्गा खानी छन् ।

  • रवि र बालेनबीच भएको सात बुँदामा के छ ?

    रवि र बालेनबीच भएको सात बुँदामा के छ ?

    १३ पुस, काठमाडौं । रवि लामिछाने र र बालेन शाहबीच भएको सम्झौताले गत भदौमा भएको जेन जी आन्दोलनलाई अपनत्व लिएको छ । यससँगै आन्दोलनको आयोजकका हैसियतमा त्यसको नैतिक जिम्मेवारी रास्वपा र बालेनको हुने छ । सम्झौताको पहिलो बुँदामा नवयुवा (जेनजी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ ।

    उनीहरुले घाइते र शहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिवद्धता जनाउदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरुले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने भनेका छन् ।

    रवि र बालेनले आफूहरुलाई पहिलो र दोस्रो पक्षको रुपमा प्रस्तुत गर्दै अब बृहत एकता गर्ने उद्घोष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिन्ह र झण्डा पुरानै हुनेछ । सम्झौतापत्रमा, पार्टीको नेतृत्व रविले र आगामी सरकारको नेतृत्व बालेन शाहले गर्ने सहमती भएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

    पटकपटक एकताको छलफल र संवाद भएपनि, सम्झौतापत्रमा कुलमान घिसिङ र उनी आवद्ध उज्यालो नेपाल पार्टीका वारेमा केही उल्लेख छैन । तर बृहत एकताका क्रममा उनीहरुलाई पनि समेट्ने संकेत छ । सम्झौतापत्रमा भनिएको छ, ‘पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।’

    यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाका साथ उनीहरुले निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्तावेज अद्यावधिक गर्ने घोषणा गरेका छन् । घोषणा अनुसार, अब बालेन पक्षका समानूपातिक उम्मेद्वारहरु पनि स्वतः रास्वपाबाट प्रतिस्पर्धा गर्नेछन् । र, सम्भवतः दुई दिनभित्रै उनीहरुले आपसी सहमती गरेर निर्वाचन आयोगमा समानूपातिक उम्मेद्वारहरुको सूची बुझाउनेछन् । प्रत्यक्षतर्फको मनोनयन भने अझै तीन साता बाँकी छ ।

    उनीहरुले आफूहरुको अभियानलाई बैकल्पिक राजनीतिक शक्तिको नाम दिएर रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन भनेका छन् ।
    सम्झौतापत्रमा भनिएको छ, ‘लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।’

    सम्झौतापत्रमा पार्टीका अरु पदाधिकारीहरुको भूमिका, दुई पक्षविच सम्झौता गर्दा उम्मेद्वारहरुको चयन एवं व्यवस्थापनको विषय उल्लेख छैन । यसअघि पनि रवि लामिछाने र बालेन शाहविच पटकपटक एकैसाथ निर्वाचनमा जानेवारे छलफल भएपछि टुंगोमा पुगेको थिएन । कारागारमा रहेका रवि उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तिब्रता पाएको हो ।

  • आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात

    आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात

    काठमाडौँ, १३ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ । कोशी , गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

    प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

    काठमाडौँ, १३ पुस : प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए । दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बताए ।


    आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए । सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्पmको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।

  • रास्वपा र बालेन मिल्दा कुलमान छुटे

    रास्वपा र बालेन मिल्दा कुलमान छुटे

    काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति हुँदा कुलमान घिसिङ भने छुटेका छन् । यसबारे प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले सहमति नेताको चाहना अनुसार नभई जनताको चाहना अनुसार भएको बताएका छन् । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले मात्र हस्ताक्षर गरेका छन् ।

    सहमति अनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने उल्लेख छ । पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

    त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् । यस सहमतिमा कुलमानलाई समेत सहभागी गराउने बालेनको प्रयास रास्वपाका कारण सम्भव भएन ।

  • रास्वपा र बालेन शाह मिले, भयो ७ बुँदे सहमति

    रास्वपा र बालेन शाह मिले, भयो ७ बुँदे सहमति

    काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उनीहरुबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् ।

    सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ । यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् ।

  • समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आयोगको आग्रह

    समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आयोगको आग्रह

    काठमाडौँ, १३ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची पेश गर्न अनुरोध गरेको हो ।

    उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    “समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेश गर्नुपर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।