Category: समाचार

  • टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा

    टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा

    काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
    क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ । टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ ।


    घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् । विश्वकप २०२६ छनोट यही जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म नेपालमै आयोजना हुँदैछ । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा

    काठमाडौँ, २० पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका छन् । नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा उनी सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ ।

    नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए । संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । दाहाल सोमबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।

  • मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित

    मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित

    जनकपुरधाम, २० पुसः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज यहाँ आयोजित साक्षरता प्रदेश घोषणा अभियान तयारी सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले मधेस प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि भए पनि वर्तमान अवस्थामा कमजोर हुनु दुःखको विषय भएको उल्लेख गरे ।
    मधेस प्रदेश आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि भए पनि शिक्षाको क्षेत्रमा कसरी तथा किन पछि परेको हो त्यो अध्ययनको विषय भएको उल्लेख गर्दै मन्त्री पुनले शिक्षा क्षेत्रको दिगो तथा प्रभावकारी विकासका लागि तीनै तहका सरकारले योजनाबद्ध तरिकाले कार्य गर्नुपर्नेमा जोड दिए । “अहिले प्रविधिको जमाना छ, साक्षर पनि नहुनु ठूलो विडम्वनाको विषय भएको छ”, मन्त्री पुनले भने ।

    सो अवसरमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशको शिक्षाको अवस्था सवै प्रदेशभन्दा कमजोर भएको उल्लेख गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रको विकासका लागि योजनावद्धरुपमा अगाडि बढेको छ भने । शिक्षा क्षेत्रको दीगो विकासका लागि सरकारी तथा गैरसकारी क्षेत्र हातोमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । मधेस प्रदेशसभा सदस्य अञ्जना पण्डितले मधेसको शिक्षाको समस्या समाधान गर्न तीनै तहका सरकारले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

  • प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

    प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

    काठमाडौँ, २० पुसः नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको उक्त चलचित्रमा अहिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गरेका छन् ।

    प्रवासमा पुग्ने जोकोहीले चलचित्रको कथामा आफू वा आफ्नो समाजलाई पाउने निर्देशक क्षेत्रीले बताए । उनले भने, “हामीले भौतिक रूपमा देखिने दुःखका धेरै चर्चा गरे पनि मानसिक रूपमा भोहिरहेको यातनालाई बेवास्ता गर्छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । चलचित्रले प्रवासी जीवनको एउटा नदेखिएको सरलझैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।”

    निर्देशक क्षेत्रीले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रित गरेर चलचित्र तयार गरेकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुने जानकारी दिए । छायाँकारसमेत रहेका निर्माता रविन आचार्यले निर्माण गर्नुभएको उक्त चलचित्रमा कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका छन् ।

  • निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

    निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

    काठमाडौँ, २० पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।

    निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुनेगरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ । आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुनेगरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन ।

    आचारसंहिताअनुसार कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन । राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितण गर्न वा प्रदर्शन गर्न गराउन नपाइने व्यवस्था गरिएको छ ।

    घर वा जग्गाधनीको स्वीकृति नलिई कसैको निजी संस्था वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था आचारसंहितामा गरिएको छ । बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नपाइने व्यवस्थासमेत आचारसंहितामा गरिएको छ । सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै प्रकारको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसमेत गर्न नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक, द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउनसमेत नपाइने व्यवस्था आचारसंहितामा गरिएको छ ।

  • पूर्वप्रधानमन्त्री खनाललाई दिइयो पुनः नागरिकता प्रमाणपत्र

    पूर्वप्रधानमन्त्री खनाललाई दिइयो पुनः नागरिकता प्रमाणपत्र

    काठमाडौँ, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज नागरिकताको प्रमाणपत्र प्राप्त पुनः प्राप्त गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको निवासमा आगजनीका कारण नागरिकतासँगै महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए ।

    नष्ट भएको नागरिकता पुनः प्राप्त गर्न उनी आज जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो अवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलको टोलीले पूर्वप्रधानमन्त्री खनाललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ, २० पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो । आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमलव १३, जलविद्युत शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ८८, लघुवित्त शून्य दशमलव ३२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव ८६ र अन्य समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।

    विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ३२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा धेरै रू ३० करोड, ६५ लाख, ८५ हजार, ७६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ ।

  • एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस

    एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस

    लुम्बिनी, २० पुसः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरिएको छ । नेकपा (एमाले)को आज सम्पन्न क्षेत्रीय भेलाले उपाध्यक्ष पौडेलको एकल नाम सिफारिस गरेको हो । यस्तै क्षेत्र नं ३ बाट समेत उपाध्यक्ष पौडेललाई पहिलो नम्बरमा उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीको जिल्ला सहसचिव बाबुराम पन्थीले जानकारी दिए ।

    रुपन्देही–३ बाट एमालेले उपाध्यक्ष पौडेलसँगै प्रदेश कमिटी सदस्य सिद्धार्थनगर नगरपालिकाका पूर्वप्रमुख हरि अधिकारी, रुपन्देही क्षेत्र नं ५ बाट निर्वाचित पूर्वसांसद वासु घिमिरे, अयोध्या थारू, हितराज पन्थी, नरबहादुर घर्ती, विश्वराज बराल, राजेन्द्र पन्थी, पम्फावती खनाल, सीता काफ्ले र लक्ष्मी केसीको नाम सिफारिस गरेको पन्थीले जानकारी दिए ।


    रुपन्देही क्षेत्र नं १ क्षेत्रीय समन्वय कमिटीको बैठकबाट पार्टी केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्मा, दधिराम न्यौपाने र डा कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको छ । यस्तै रुपन्देही क्षेत्र नं ५ बाट राष्ट्रियसभाका पूर्व सांसद खिमलाल भट्टराईको नाम एकलरुपमा सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा भने सोमबार क्षेत्रीय कमिटीको बैठक बसेर उम्मेदवारको नाम सिफारिस गरिने पन्थीले जानकारी दिए ।

  • काठमाडौं–हेटौडा सडकमा जिप दुर्घटना, नौ घाइते

    काठमाडौं–हेटौडा सडकमा जिप दुर्घटना, नौ घाइते

    मकवानपुर, २० पुस । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।

    काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।

  • नेपालले १ वर्षमा गर्यो ११६ जना विदेशीको प्रवेश अश्वीकार, ५०१ लाई डिपोट

    नेपालले १ वर्षमा गर्यो ११६ जना विदेशीको प्रवेश अश्वीकार, ५०१ लाई डिपोट

    १९ पुस, काठमाडौं । नेपालले एक वर्षको अवधिमा ११६ जना विदेशीलाई नेपाल प्रवेशमा अश्वीकार गरेको छ । अध्यागमन विभागका अनुसार सन् २०२५ मा नेपालको अध्यागमनले विभिन्न ३६ मुलुकका ११६ जनाको प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको हो । प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामा सबैभन्दा बढी भारत र चीनका नागरिक छन्।

    भिसाको म्याद सकिएका, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएका, आपराधिक अभिलेख भएका, सुरक्षा खतराको कारण वा विगतमा पटक पटक अध्यागमन नियम उल्लंघन गरेका विदेशी नागरिकलाई अध्यागमनले नेपालमा प्रवेश दिँदैन। यस अवधिमा नेपालबाट ५०१ जना विदेशी डिपोर्ट भएका छन्। त्यसमध्ये ४३७ जना ओभरस्टे (नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेका) र बाँकी ६४ विभिन्न अपराधमा संलग्न थिए।

    भिसाको उद्देश्यविपरित नेपालमा बसेका, लागूऔषध कारोवार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन, अभद्र व्यवहार लगायतका कसूरजस्ता अपराधमा सजायँ भुक्तान गरी डिपोर्ट भएका हुन्।

  • भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग

    भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग

    काराकस, १९ पुस (रासस–एएफपी) । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएकी छन् । सरकारले उनीहरु जीवित रहेको तत्काल प्रमाण मागेको उनले बताइन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताएका छन् । उनले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा आक्रमण भएको दावी गरे ।


    उनले भेनेजुएलाले विदेशी सेनाको उपस्थितिको विरोध गर्ने पनि बताए । यसका साथै भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गरे । स्पेनी भाषामा बोल्दै लोपेजले भेनेजुएलामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणको सामना गर्न सर्वसाधारणलाई एकजुट हुन आह्वान गरेका छन् । उनले भेनेजुएलाले सबै सशस्त्र सेना परिचालन गर्ने मदुरोको आदेशलाई पालना गरिरहेको बताए ।


    “उनीहरूले हामीमाथि आक्रमण गरेका छन् तर उनीसँग हामी झुक्ने छैनौँ,” रक्षामन्त्री लोपेजले भने । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणबाट ला कार्लोटा, शहरको मुटुमा रहेको सैन्य अखडा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना पनि प्रभावित भएका छन्। दुवै ठाउँमा भएका विस्फोटको भिडियो पनि सार्वजनिक भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ट्रम्प प्रशासनले हप्तौँदेखि दबाब दिएपछि यो आक्रमण भएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपतिमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन् । अमेरिकी हवार्य हमलापछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गर्नुभएको थियो भने राष्ट्रिय आपतकाल घोषणा गरेका थिए ।


    भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताएका थिए । भेनेजुएलाको राजधानी काराकासका कैयौँ क्षेत्रमा एकैपटक विस्फोटको आवाज सुनिएको थियो। विस्फोट भएका क्षेत्रमा सैन्य अखडा पनि रहेका छन् ।

  • आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

    आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

    काठमाडौँ, १९ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत् हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

    सय रोटी बर्तालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उनले भने ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।


    यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु गरिँदै छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्,” इतिहासकार श्रेष्ठले भने ।

    यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा आजदेखि मेला लाग्दै छ । यसका लागि सबै तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिले जनाएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।

  • निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो

    निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो

    काठमाडौँ, १९ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् ।

    यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, लम्जुङको एक, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले मात्रै रु ३३ लाख बराबरको खच गर्न पाउनेछन् । भौगोलिक विकटताका आधारमा खर्चको सीमा अन्यत्रभन्दा बढी राखिएको आयोगले जनाएको छ ।

    आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम रु २५ लाख बराबर मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ । पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै सबैभन्दा कम खर्च गर्न पाउने व्यवस्था गरिएको छ । ती निर्वाचन क्षेत्रमा काठमाडौँ १, ३, ६, ७ र ८ रहेका छन् ।

    यसैगरी तेह्रथुम, पर्सा १, २ र ३, रसुवा काठमाडौँ २, ४, ५, ९, १०, ललितपुर १ र २ मनाङ, कास्की २ र रुकुम पूर्वका उम्मेदवारले रु २७ लाख बराबरको खर्च गर्न पाउनेछन् । यस्तै, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । त्यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले रु ३१ लाख बराबरको चुनावी खर्च गर्न पाउछन् । आयोगले यसपटक बैंक तथा वित्तीय संस्थामा खाता खोलेर निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

  • बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य उपचारपछि ‘डिस्चार्ज’

    बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य उपचारपछि ‘डिस्चार्ज’

    झापा, १९ पुसः भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए ।


    उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर हुन् । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका छन् । घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौँ–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।

    घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए । उक्त जहाज काठमाडौँबाट भद्रपुरका लागि शुक्रवार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो ।

    जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्याएको थियो ।

  • कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान

    कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान

    काठमाडौँ, १९ पुस । काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् । सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनकोे विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति विकसित शहरमा विशेष गरेर शान्ति सुरक्षा, सडक दुर्घटना लगायत अन्य जानकारीका लागि यस्ता क्यामरा जडान गरेर सहायता लिइन्छ ।

    ती ‘क्यामरा एआई’ प्रबिधिमा आधारित ‘ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम’ (ओएनभीआइएफ) प्रोटोकलका भएका ‘हिक भिजन ब्राण्ड’ को नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार आठ ‘मिगापिक्सेल’ र चार ‘मेगाापिक्सेल’का ती क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्दछन् ।

    अत्याधुनिक ‘बुलेट क्यामरा’ले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । उनले भने, “इन्बिल्ट एआई फिचर भएका यी क्यामराले सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस सहित सवारी साधनको आवत जावत हेर्न, गणना गर्न र स्थिति स्पष्ट देख्न सकिन्छ । साथै पिटिजेड (स्वचालित रुपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन र जुम आवट) हुने यी क्यामराबाट महत्वपूर्ण जानकारी , सूचना प्राप्त गर्न सहज हुने छ ।”

    अङग्रेजी नयाँ वर्षको उपलक्ष्यमा हालै आयोजित कार्यक्रममा ती क्यामरा काठमाडौ महानगरपालिका वडा नम्बर ३० को कार्यालयलाई हस्तान्तरण गरिएको म्याक्सिमा मल्टिनेशन ट्रेडिङ प्रालीका निर्देशक कमल तामाङले जानकारी दिए । सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगरलाई प्रविधि मैत्री बनाईँदै लगिने नीति अनुसार महानगर भित्र फाइबर सञ्चालन प्रणाली (तार रहीत)बाट सिसिटिभी मार्फत् निगरानी गरिने लक्ष्य रहेको जानकारी दिए । काठमाडौ महानगरपालिका –३० का वडाध्यक्ष दलबहादुर कार्कीले अब सुरक्षाका अवस्था र अन्य निगरानीका काम सिसिटिभी क्यामरा मार्फत निगरानीकक्षबाट गर्न सकिने बताए ।


    काठमाडौ महानगरपालिका–३० का वडा सचिव देवराज जोशीका अनुसार करिव ७० लाख रुपैयाँका लागतमा नयाँ किरण अल नेपाल जेभीबाट सिसिटिभी जडानका काम गराइएको हो । महानगरीय प्रहरीवृत्त माली गाउँका प्रमुख प्रहरी नायब उपरीक्षक धनबहादुर बोहरा सिसिटिभी क्यामरा तेस्रो आँखा भएको बताए । उनका अनुसार यस्ता क्यामराबाट कुनै स्थानमा घटना भएमा, अपराध भएमा त्यस्ता अपराधिलाई पक्राउ गर्ने, दुर्घटना भएमा तत्काल उद्धार गर्ने लगायतका काममा सहज हुन्छ ।

  • ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प

    ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ, १९ पुस । ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

  • कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

    कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला

    झापा, १९ पुसः कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ । कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको पहिचान र डिस्पोज गर्ने तयारी गरिरहेको बताए ।

    स्थानीयवासीले उक्त वस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हाल प्रहरीले उक्त स्थानलाई शिलबन्दी गरेको छभने राजमार्गको अर्को छेउबाट सुरक्षित रुपमा सवारीसाधन तथा यात्रीहरुको आवागमन भइरहेको प्रजिअ गेलालले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ । शङ्कास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

  • रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

    रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

    रसुवा, १९ पुसः गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ ।

    रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपश्चात् ३७ मेगावाट गत मङ्सिर महिनामा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो । सफाइ एवं मर्मत बाँकीनै रहेको र अर्कोतर्फ क्षमता अनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट आगामी जेठ\असारबाट उत्पादन हुने जनाइएको छ ।

    पानीको प्रवाह घट्न गएका कारण सुक्खायाममा विद्युत् उत्पादन घट्ने जलविद्युत् केन्द्रले जनाएको छ । बाढीका कारण उपकरण तथा संरचनामा क्षति पुग्दा उक्त जलविद्युत् केन्द्रले रु तीन अर्ब ५१ करोड क्षति बेहोर्नुपरेको थियो ।

  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

    काठमाडौँ, १८ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेकी हुन् । अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताइन् ।

    सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार पूर्वराष्ट्रपति भण्डारीले अदालतको अवलोकन गरी बारेमा जिज्ञासा राखेकी थिइन् । जेनजी आन्दोलनपछि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको अवलोकन गरेकी थिइन् ।

  • ५१ यात्रु बोकेको बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो

    ५१ यात्रु बोकेको बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो

    १८ पुस, काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगेको बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजमा ५१ जना सवार थिए । यात्रु तथा चालक दलका सदस्य सकुसल छन् । जहाजमा आगो नलागेका कारण ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । दुर्घटनाको कारण खुलेको छैन । एटीआर ७२ जहाज उडान नम्बर ९०१ मार्फत भद्रपुर उडेको थियो ।

  • ‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

    ‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

    भरतपुर (चितवन), १८ पुसः सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिए ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै पर्याप्त रूपमा यसको उपयोग गर्न नसकिएको बताए । उनले भारतमा गत वर्ष आयोजना भएको महाकुम्भको उदाहरण दिँदै नारायणी, देवघाटजस्ता क्षेत्रमा पनि सो प्रकारका पर्यटक ल्याउन सकिनेमा जोड दिए । “हामीले उपलब्ध स्रोतसाधनको पनि उपयोग गर्न सकेका छैनौँ, सुनको कचौरामा मागिरहेका छौँ”, उनले भने ।


    कुनै पनि व्यवसायीले पर्यटनमा लगानी गर्दा त्यो व्यक्तिको मात्र नभई समग्र समुदायका लागि हुने भएकाले सोअनुसारको मानसिकता विकास गर्न जरुरी भएको उनको भनाइ थियो । पर्यटनले प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष रूपमा रोजगारी सृजना गर्नेदेखि समग्र अर्थतन्त्र चलायमान बनाउनका लागि सहयोग गर्ने बताए । त्यस अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले भरतपुर प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । उनले भने, “देशभरा २७ वटा पाँचतारे होटल छन्, त्यसमध्ये चितवनमा मात्र छवटा छन्, पर्यटनमा राम्रो सम्भावना भएकाले पनि पर्यटकीय पूर्वाधारमा लगानी पनि बढेको छ ।”

    उनले भरतपुरमा रहेको पर्यटनको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नका लागि ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण भएको बताए । “भरतपुर भूगोलका हिसाबले मध्यभागमा छ, यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाँच सय ४६ भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन्, थारूको संस्कृति, जङ्गल सफारी, बोट सफारी गर्दा अचम्मको शान्ति प्राप्त हुन्छ”, उनले भने, “स्वास्थ्य र शिक्षाका हिसाबले पनि यो गन्तव्य बनेको छ ।”

    पर्यटनविज्ञ डा विश्व सुवेदीले चितवनलाई पर्यावरणमैत्री पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले र लुम्बिनीलाई सांस्कृतिक पर्यटन, पोखरालाई पदयात्रा पर्यटन र चितवनलाई वाइल्ड लाइफ सफारी पर्यटनका रूपमा विकास गरी जोड्न आवश्यक भएको बताए । यसका लागि पोखरा महानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका र भरतपुर महानगरपालिकाबीच सहकार्य गर्न लागिएको पनि बताए । साथै भरतपुर नगरपालिकाले यहाँ रहेका सातवटा ताललाई समेटेर लेकसाइड नयाँ सर्किट बनाउन लागेको उनको भनाइ छ । साथै भरतपुरको पर्यटकीय गतिविधि बढाउन सोहीअनुसारका गतिविधि पनि बढाउन लागेको बताए ।

  • भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

    भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

    पर्वत, १८ पुसः भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर धु्रव पोखरेलले बताए । पुल निर्माणका लागि रु छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

  • मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका नारी

    मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका नारी

    रासस
    कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै छिन् । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य खेलिरहेको उनलाई देख्दा जोकोही चकित पर्छन् ।

    दार्चुलाको धुलगडाबाट उनी तराई बसाइँ झरेको करिब तीन दशक बितिसकेको छ । पहाडको कठोर जीवन छाडेर सहज जीवनको खोजीमा तराई झर्दा परम्परा पनि हराउँदै गएको थियो । द्रोपती धामीलाई भने पहाडको त्यो संस्कृतिको सम्झना अझै ताजा छ । “पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्थ्यौँ”, उनी सम्झिन्छन्, “तर तराई झरेपछि विस्तारै त्यो परम्परा हराउँदै गयो ।”

    तराई झरेसँगै मौलिक पहिरनको स्थान आधुनिक पहिरनले लिन थाल्यो । टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती, डोरीजस्ता पहिरन लगाउन छाडिँदै गए । द्रोपती धामीका अनुसार लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले गर्दा धेरैले पुरानो पहिरन त्यागे । “केहीलाई आधुनिक बन्ने रहर थियो, केहीलाई लगाउने रहर हुँदाहुँदै पनि सिउने मान्छे नै भेटिएन”, उनी भन्छिन् ।


    परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको ‘छलो’ नृत्यको रौनक पनि हराउँदै गयो । यही अवस्थाले द्रोपतीलगायत केही महिलालाई चिन्तित बनायो । त्यसैक्रममा गाउँका महिलाहरू भेला भएर मौलिक पहिरन जोगाउने निर्णय गरे । छलो समाज गठन गरियो । समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्ना भन्छिन्, “पहिरन सिउन सबैलाई आउँदैनथ्यो, पहाडमा लगाइनेजस्तै पहिरनका लागि कपडा छानेर सिउने मान्छे खोज्यौँ र सिउन लगायौँ ।”

    अहिले ती महिलाहरू सुदूरपश्चिमको महत्त्वपूर्ण चाड गौरा, देउडा प्रतियोगिता, विभिन्न सामाजिक समारोह, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफ्नै मौलिक पहिरनमा सहभागी हुन थालेका छन् । परम्परागत पहिरनमै छलो नृत्यसमेत देखाउने गर्दछन् ।

    परम्परागत पहिरन तयार गर्न रु तीनदेखि पाँच हजारसम्म खर्च लागे पनि त्यसले पहिचान जोगाएको अनुभूति उहाँहरूमा छ । “यो पहिरनले हामीलाई हाम्रो संस्कृति सम्झाउँछ”, चन्द्रा भन्छिन्, “अरूलाई पनि संस्कृति जोगाउन प्रेरित गर्छ ।” छलो समाजमा २२ वर्षदेखि ६८ वर्षसम्मका ४० बढी महिला आबद्ध छन् । पाका महिलाले तन्नेरीलाई मौलिक पहिरनको महत्व बुझाउनेमात्र होइन, छलो नृत्य पनि सिकाउँदै आएका छन् । पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन थियो । तर अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले नै परम्परा जोगाइरहेका छन् ।

    परम्परागत पहिरनले पहिचान जोगिएपछि अहिले आधुनिक पहिरन लगाउने महिलाहरू पनि स्वःस्फुर्त रूपमा मौलिक पहिरन सिउन थालेका छन् । पछिल्ला पाँच वर्षयता महिला सङ्गठित रूपमा परम्परा र पहिरन संरक्षणमा लागेका छन् । पचपन्न वर्षीया अमला ठगुन्ना संस्कृति र पहिरन जोगिएकामा निकै खुसी छिन् । “अरु समुदायले आफ्नो पहिरन लगाएको देख्दा हामीले किन छाड्यौँ भनेर मनमा द्वन्द्व चल्थ्यो”, उनि भन्छिन्, “अहिले आफैँ पहिरन लगाएर छलो देखाउन जाँदा छुट्टै आनन्द मिल्छ ।”

    पहाडमा महिलाहरूले छिट (फर्कावाद)को कपडाबाट बनाइएको आठदेखि १२ पाटासम्मको घाँघरो–चोलो लगाउने गर्थे । यस्तो पहिरन लगाउने महिलालाई सभ्य र सम्पन्न परिवारको रूपमा हेरिन्थ्यो । घाँघरो–चोलोसँगै आँगडो, टाउकामा सेतो कपडाको टँको, कम्मरमा सेतो पागडो बाँधिन्थ्यो । गहनामा सुनको नथिया, कानको मुदणा, नाकको बुलाकी, हातमा चाँदीका बाला, घाँटीमा चाँदीको सुत्ता र खुट्टामा पायल लगाइन्थ्यो ।

    पूर्वशिक्षक शङ्करदत्त जोशीका अनुसार ती गहना गाउँघरकै लुहार र तिरुवा जातिका व्यक्तिहरूले बनाउँथे । पहाडको कष्टकर जीवनलाई त्यागेर तराई बसाइँसराइपछि अन्य समुदायको चालचलनमा रम्न थालेसँगै पुरानो लवाइखवाई हराउँदै गएको उनी बताउँछन् । “परम्परा हरायो भने पहिचान नै हराउँछ”, उनी भन्छन्, “त्यसैले परम्परा जोगाउने महिलालाई सबैले हौसला दिनुपर्छ ।”

    छलोमा बाजा बजाउँदै आएका जयबहादुर टमटाले अहिले पञ्चेबाजाको अभाव रहेको गुनासो गर्नुभयो । “बाजाबिना छलो अधुरो हुन्छ”, उनी भन्छन्, “बाबुबाजेकै पालादेखि बजाउँदै आएका हौँ, यसलाई निरन्तरता दिन स्थानीय सरकारले चासो दिनुपर्छ ।”

    शुक्लाफाँटामा केही महिलाको प्रयासले मौलिक पहिरन र छलो नृत्य पुनर्जीवित हुँदै गएको छ । “महिलाहरूको यो पहल केवल नाचगान वा पहिरनमा सीमित छैन, यो सुदूरपश्चिमको पहिचान, इतिहास र सांस्कृतिक आत्माको संरक्षणको सङ्घर्षका रूपमा रहेको छ”, सुदूरपश्चिमको संस्कृतिलाई नजिकबाट नियाल्दै आउनुभएका कृष्णबहादुर ठगुन्ना भन्छन्, “परम्परा जोगाउने यो यात्रामा स्थानीय तह, राज्य र समाजको साथ जरुरी देखिन्छ ।”

  • चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

    रासस
    भोजपुर, १८ पुस । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।

    गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु २८ देखि ३० हजारसम्ममात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए । उनका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ । “गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ”, राउतले भने, “मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ ।”

    मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उनले बताए । हाल २० रोपनी क्षेत्रमा चिराइतोखेती गर्दै आउनुभएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन् । उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतोखेतीबाट वार्षिक औसत रु तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनको भनाइ छ ।

    टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतोखेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन् । यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ ।

    स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्यालगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ । औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ । यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । यद्यपि अन्तरराष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापन अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।

    किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरेमा यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन् । स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बालीको संरक्षण र प्रवर्द्धनतर्फ जानुपर्ने उनीहरूको माग छ ।

  • तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात

    तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात

    काठमाडौँ, १८ पुस । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु रहनेछ ।

    मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

  • निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

    काठमाडौँ, १८ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।

    आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनिएको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१–८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ ।

    हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु तीन करोडबराबरको हुनुपर्नेछ । ट्रक तथा कन्टेनर भाडामा दिनेले रु एक करोड र कुरियर सेवाका लागि रु ३० लाखबराबरको कारोबारको विवरण पेस गर्नुपर्नेछ ।

    कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरबसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ । एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ । सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहित रहेको छ ।

  • परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

    परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

    काठमाडौँ, १८ पुस । रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार रहेको बताएका छन् ।

    रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको यहाँस्थित रुसी राजदूतावासले जनाएको छ ।

  • सन् २०२५ मा १२८ पत्रकारको हत्या

    सन् २०२५ मा १२८ पत्रकारको हत्या

    ब्रसेल्स, १८ पुस (रासस–एएफपी) । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भन्नुभयो, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।” प्रेस समूहले विशेष चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी क्षेत्रहरूमा गाजामा हमास र इजरायलबीचको द्वन्द्वका क्रममा ५६ जना मिडिया पेशेवर मारिएका तथ्य प्रकाशमा ल्यायो ।

    बेलाङ्गरले भने, “हामीले यस्तो कहिल्यै देखेका छैनौँः यति छोटो समयमा, यति सानो क्षेत्रमा यति धेरै मृत्यु ।” यमन, युक्रेन, सुडान, पेरु, भारत र अन्य स्थानमा पनि पत्रकारहरूको हत्या भएको थियो । उनले आक्रमणको पछाडि रहेका व्यक्तिहरूलाई ‘दण्डहीनता’ को चेतावनी दिंदै निन्दा गरे । “न्यायबिना, यसले पत्रकारका हत्याराहरूलाई फस्टाउन दिन्छ”, उनले भने ।


    विश्वभर हाल ५३३ पत्रकार जेलमा रहेको आइएफजेले बताउको छ । यो विगत आधा दशकमा दोब्बरभन्दा बढी भएको तथ्य हो । हङकङमा १४३ जना पत्रकारलाई जेलमा राखिएको छ, जहाँ अधिकारीहरूले असहमतिलाई खारेज गर्दै राष्ट्रिय सुरक्षा कानून लागू गरेका थिए । पश्चिमी राष्ट्रहरूले यसलाई आलोचना गर्दै हङकङलाई सबैभन्दा खराब जेलरको सूचीमा शीर्ष स्थान दिएको छ ।

    आइएफजेको तथ्याङ्क रिपोर्टर्स विदाउट बोर्डर्सको तुलनामा बढी देखिन्छ । यस वर्षको आइएफजे टोलमा नौ दुर्घटनामा मृत्यु भएका पत्रकारहरू पनि समावेश छन् । रिपोर्टर्स विदाउट बोर्डर्सले ६७ जना पत्रकारको हत्या रिपोर्ट गरेको छ भने युनेस्कोले ९३ जना राखेको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाइयो

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाइयो

    काठमाडौँ, १७ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस भित्र यतिबेला महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनका लागि दवाव दिइरहेका छन् ।

  • आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

    आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

    काठमाडौँ, १७ पुस । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२–८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबीच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको छ । गत आव २०८१–८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षकोभन्दा यस वर्ष आर्थिक क्रियाकलापमा बढोत्तरी हुने जनाएको हो ।

    “आव २०८२–८३ मा मुद्रास्फीतिको चाप कम रहको छ । विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृिद्ध सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृिद्ध भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

    चालु आवमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ । “अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवद्र्धन गर्दै पुनःनिर्माण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोलगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहको छ”, केन्द्रीय बैंकले प्रतिवेदनमार्फत भनेको छ ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आव २०८१÷८२ मा नेपालको आर्थिक वृिद्धदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव दुई, १२ दशमलव आठ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको मुलुकको कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६ दशमलव पाँच प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५ दशमलव नौ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम चार दशमलव दुई प्रतिशत रहेको छ ।

    प्रतिवेदनअनुसार गत आवमा प्रमुख कृषिबालीको उत्पादन तीन दशमलव सात प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव दुई प्रतिशतले घटेको छ । त्यस्तै तरकारी उत्पादन १० दशमलव एक र मसला उत्पादन शून्य दशमलव सात प्रतिशतले बढेको छ भने फलफूल उत्पादन तीन दशमलव तीन प्रतिशतले घटेको छ। पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक र मासु उत्पादन शून्य दशमलव तीन प्रतिशतले घटेको छ भने अण्डा उत्पादन एक प्रतिशतले बढेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन आठ दशमलव ८२ र दाउरा उत्पादन चार दशमलव ७४ प्रतिशतले बढ्दा औषधिजन्य वस्तुको उत्पादन एक दशमलव ९१ प्रतिशतले घटेको छ ।

    गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४ दशमलव पाँच प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव २०८०÷८१ मा यस्तो क्षमता उपयोग ४८ दशमलव तीन प्रतिशत रहेको थियो । विसं २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरको कूल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार गत आवमा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या एक दशमलव सात प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ ।

    त्यस्तै, गता आवमा घर÷भवन नक्शा पास सङ्ख्या एक दशमलव दुई प्रतिशतले र घरजग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व १८ दशमलव छ प्रतिशतले घटेको छ । विसं २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२ दशमलव पाँच प्रतिशतले र कर्जा प्रवाह आठ दशमलव दुई प्रतिशतले वृिद्ध भएको छ । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा–निक्षेप अनुपात ७६ दशमलव छ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कूल निक्षेपमा यस प्रदेशको अंश ६५ दशमलव आठ प्रतिशत र कूल कर्जामा ५९ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।